Category: फिचर

  • सत्यनिरूपण र बेपत्ता आयोग गठन, अध्यक्ष र सदस्य नियुक्त

    सत्यनिरूपण र बेपत्ता आयोग गठन, अध्यक्ष र सदस्य नियुक्त

    ३१ वैशाख, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा (सङ्खुवासभा) का महेश थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी (जाजरकोट), डा टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर) रहेका छन् । त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौला (तेह्रथुम) तथा सदस्यमा गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौँ) र विनिता नेपाली (कास्की) सदस्य रहेका छन् ।

    त्यसैगरी सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पुनःगठन गरेको छ । पुनःगठित समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहनुभएको छ भने सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे रहेका छन् ।

  • निरन्तर बढ्दै बेरुजु, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गर्न सुझाव

    निरन्तर बढ्दै बेरुजु, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गर्न सुझाव

    ३१ वैशाख, काठमाडौं । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । तीनवटै तहका सरकार र तिनको मातहतमा रहेका सार्वजनिक निकाय तथा सङ्गठित संस्थाको आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षणबाट देखिएको बेरूजुको स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति तथा भविष्यमा गर्नुपर्ने सुधारलगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरिएको हो ।

    महालेखापरीक्षक तोयम रायाले आजै उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका थिए । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरूजु रू सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरूजु गत वर्षकोभन्दा ९ दशमलव ४५ प्रतिशतले बढेको छ ।

    त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रू पाँच खर्ब ५१ अर्ब एक करोड गरी कूल रू १२ खर्ब ८४ अर्ब २० करोड बराबर पुगेको हो । यसरी हालसम्मको कूल बेरूजु रू १२ खर्ब ८४ अर्ब २० करोड नाँघेको छ । प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०÷८१ मा मात्रै रू ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरूजु थपिएको छ ।

    यो वर्ष सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको रू ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखापरीक्षण सम्पन्न भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । लेखापरीक्षणबाट विभिन्न सैद्धान्तिक बेरूजुका अतिरिक्त रू ९१ अर्ब ६० करोड लगती बेरूजु देखिएको छ । सोमध्ये तीन हजार ९३ सङ्घीय सरकारी कार्यालयको रू ३१ खर्ब छ अर्ब १६ करोड लेखापरीक्षणबाट रू ४७ अर्ब ७४ करोड अर्थात् एक दशमलव ५४ प्रतिशत बेरूजु देखिएको छ ।

    प्रदेशतर्फ एक हजार १६५ कार्यालयको रू तीन खर्ब आठ अर्ब ५६ करोडको लेखापरीक्षणबाट रू चार अर्ब २० करोड अर्थात् एक दशमलव ३६ प्रतिशत देखिएको छ । त्यसैगरी स्थानीय तहतर्फ यस वर्षको ७५३ र बक्यौता आठसमेत कूल ७६१ को रू ११ खर्ब १८ अर्ब ४६ करोडको लेखापरीक्षणबाट रू २५ अर्ब ३२ करोड अर्थात् दुई दशमलव २६ प्रतिशत बेरूजु देखिएको छ । समिति र अन्य संस्थातर्फ ६९५ निकायको रू पाँच खर्ब २२ अर्ब १३ करोडको लेखापरीक्षण भएकामा रू १४ अर्ब ३३ करोड बेरूजु कायम भएको छ ।

    त्यसैगरी, ४३ सङ्गठित संस्थाको ४५ आय वर्षको रू ४४ खर्ब सात अर्ब पाँच करोडको लेखापरीक्षण गरिएको छ । सोको अतिरिक्त ४२ सङ्गठित संस्थाको लेखापरीक्षणका लागि परामर्श उपलब्ध गराएबमोजिम रू १५ खर्ब ७७ अर्ब ४९ करोडको लेखापरीक्षण भएको महालेखाले जनाएको छ । वित्तीय लेखापरीक्षणको अतिरिक्त ११ विषयको कार्यमूलक, एक विषयको वातावरणीय, एक विषयको सूचना प्रविधि र दुई विषयको विशेष लेखापरीक्षण गरिएको जनाइएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७९–८० वर्षसम्मको बाँकी बेरूजु रू छ खर्ब ६९ अर्ब ८६ करोड रहेकोमा समायोजन तथा फछ्र्यौट गरिएको अङ्क घटाई यो वर्षको थपसमेत रू सात खर्ब ३३ अर्ब १९ करोड बेरूजु बाँकी रहेको छ । त्यस्तै लेखापरीक्षणका क्रममा तथा सम्परीक्षणबाट यो वर्ष रू १४ अर्ब ४८ करोड असुल भएको महालेखाले जनाएको छ । कारबाही गरी टुङ्गो लगाउनुपर्ने रू पाँच खर्ब ५१ अर्ब दुई करोड रहेकोमध्ये राजस्व बक्यौता रू चार खर्ब ७२ अर्ब ३५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान रू छ अर्ब २५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण रू १४ अर्ब ३३ करोड, जमानत बसी दिएको ऋणको भाखा नाघेको साँवा ब्याज रू ४९ अर्ब ३७ करोड र लेखापरीक्षण बक्यौता रू आठ अर्ब ७१ करोड रहेको छ ।

    प्रदेश सरकारतर्फ लेखापरीक्षण अङ्कको तुलनामा एक दशमलव ३६ प्रतिशत बेरूजु कायम भएकामा सबैभन्दा बढी मधेस प्रदेशको दुई दशमलव ५७ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशको शून्य दशमलव ८२ प्रतिशत रहेको छ । स्थानीय तहतर्फ लेखापरीक्षण अङ्कको तुलनामा दुई दशमलव २६ प्रतिशत बेरूजु कायम भएको छ । यो वर्षको लेखापरीक्षणबाट पाँच प्रतिशतभन्दा कम बेरूजु हुने स्थानीय तह ६९२ वटा रहेका छन् । त्यस्तै, पाँचदेखि १५ प्रतिशतसम्म बेरूजु हुने ६८ र १५ प्रतिशतभन्दा बढी बेरूजु हुने एक स्थानीय तह रहेको छ ।

    त्यस्तै, यो वर्ष तीन हजार ९३ सङ्घीय सरकारी कार्यालयको लेखापरीक्षण गरिएकामा एक हजार १०५ कार्यालय अर्थात् ३५ दशमलव ७३ प्रतिशतमा उल्लेख्य बेरूजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी प्रदेश सरकारी कार्यालयतर्फ एक हजार १६५ निकायको लेखापरीक्षण गरेकोमा ३३३ कार्यालय अर्थात् २८ दशमलव ५८ प्रतिशतमा उल्लेख्य बेरूजु देखिएन । सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थातर्फ यो वर्ष लेखापरीक्षणबाट रू १४ अर्ब ४८ करोड ४१ लाख असुल गराएको पनि महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

    अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा दिँदै आएको राजस्व छुटमा महालेखाले प्रश्न उठाएको छ । “भन्सार विभागको तथ्याङ्क प्रणाली (आसिकुडा) को तथ्याङ्कअनुसार २०८०÷८१ मा भन्सार राजस्वतर्फ रू ७९ अर्ब ८७ करोड ३९ लाख छुट दिएको देखिन्छ । आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फसमेत छुट दिएकामा सोको अभिलेख मन्त्रालय र आन्तरिक राजस्व विभागले राखेका छैनन्”, प्रतिवेदनमा भनिएको छ । साफ्टा सुविधाअन्तर्गत मालवस्तु पैठारी गर्दा भन्सार महसुल रू चार अर्ब ८७ करोड ९९ लाख र मूल्य अभिवृद्धि करसमेत छुट भएको देखिएको महालेखाले उल्लेख गरेको छ ।

    “अर्थ मन्त्रालयले २०८० फागुन मसान्तसम्म विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानसमेतको रू ३४ अर्ब २७ करोड ५२ लाख पैठारी मूल्यमा रू छ अर्ब ६० करोड ९९ लाखसमेत विगत चार वर्षमा रू २० अर्ब ६२ करोड ६९ लाख राजस्व छुट दिएको छ । वैदेशिक ऋण वा अनुदानमा सञ्चालित आयोजनाका लागि आयोजना विकास सम्झौताको सर्तको अधीनमा रही रू ४३ अर्ब ५६ करोड ४८ लाख ३० हजार पैठारी मूल्यका मालवस्तुमा रू सात अर्ब ५२ करोड ९८ लाख ८५ हजार राजस्व छुट दिएको देखिन्छ”, महालेखाको प्रतिवेदनमा भनिएको छ, “यसरी सुविधामा पैठारी हुने सामग्री तथा उपकरणमा लाग्ने राजस्व छुट दिएको वस्तु तथा रकमको अद्यावधिक अभिलेख अर्थ मन्त्रालयले राखेको छैन ।”

    सम्बन्धित आयोजनाले बोलपत्र आह्वान गर्नुअगावै मास्टरलिष्ट स्वीकृत गराएको अवस्थामा मात्र छुट दिने र सुविधामा पैठारी भएका मालवस्तुको उपयोग सोही आयोजनामा भएरनभएको अनुगमनसमेत हुनुपर्ने व्यवस्था मिलाउन महालेखाले सुझाव दिएको छ । पछिल्ला वर्षमा राजस्व छुटको दायरा बढ्दै गएकाले सोको प्रभाव विश्लेषण गर्नुका साथै राजस्व छुटको एकीकृत तथ्याङ्क संसद्मा पेसगरी पारदर्शिता कायम गर्न भनिएको छ ।

  • विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

    विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

    ३१ वैशाख, मलेखु । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
    पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

    मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जना पुरुषको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

  • गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

    गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

    ३१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका ठूला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । गैर–आवासीय नेपाली सङ्घ (एनआरएनए)द्वारा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले विश्वभर फैलिएको नेपाली डायस्पोरामा नवीनता र वित्तीय पुँजी रहेको र त्यसलाई सदुपयोग गरेर देश विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, “एनआरएनए अलगअलग होइन, एकजुट भएर जानुपर्दछ । नेपाली जहाँ पनि राजनीति गर्छन् भन्ने सन्देश प्रवाह भएको छ । यो सकारात्मक होइन । यसलाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।”

    एनआरएनले उठाएका मुद्दामा महासङ्घले समर्थन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले गैरआवासीय नेपालीलाई अधिकार मात्र खोज्नेभन्दा पनि देशप्रतिको कर्तव्यलाई सम्झेर काम गर्न आग्रह गरे । “म विदेश यात्राका क्रममा डायस्पोराबाट कहिलेकाहीँ नकारात्मक टिप्पणी हुने गरेको सुनेको छु । अमेरिका, अष्ट्रेलिया, कोरियाको तुलनामा हाम्रो देशमा कम विकास भएको छ ।

    त्यसैले एनआरएनएसँगको अनुभव, पुँजी, सीप र प्रविधिलाई नेपालमा प्रयोग गरेर नेपाललाई पनि अरू देश जस्तै समृद्ध मुलुक बनाउने काम गर्न आग्रह गर्दछु,” उनले भने । नेपालको पूर्वाधार विकासका लागि उद्योग वाणिज्य महासङ्घको पहलमा १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम भइरहेको जानकारी दिँदै एनआरएनएलाई पनि कम्पनीमा सहभागी हुनआह्वान गरे ।

  • सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

    सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

    ३१ वैशाख, किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । घरमै बसिरहेका अवस्थामा अचानक चट्याङ लागेर तामाङको मृत्यु भएको हो ।

    हावाहुरीसँगै बर्षेको चट्याङ लागेर गम्भीर घाइते तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको र उनको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए । त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए ।

    गम्भीर घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्मलाको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । जिल्लामा चट्याङ लागेर एक वर्षको अवधिमा पाँच जनाको मृत्यु भइसकेको छ ।

  • कोरियामा नेपालले रोक्यो ‘एनओसी’

    कोरियामा नेपालले रोक्यो ‘एनओसी’

    ३१ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ । शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर दक्षिण कोरियाका लागि एनओसी जारी गर्ने काम तत्कालका लागि स्थगन गरिएको बताएको छ । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको मन्त्रालयको भनाइ छ ।

    ‘पढ्ने समय कम भएका विश्वविद्यालयमा भर्ना हुने र पैसा कमाउनतर्फ लागेर अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘काम पाउन नसकेकाहरू मानसिक समस्या तथा डिप्रेसनमा पर्ने गरेका छन्, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी भर्ना भएकाले समस्या देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    कोरिया अध्ययन गर्न जाने व्यवस्थामा नियमन गर्नु आवश्यक देखिएकाले एनओसी वितरण स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ । यसको नियमन र व्यवस्थित गर्न कार्यदल गठन गरिएको र कार्यदलको सिफारिसका आधारमा थप निर्णय गर्ने गरी हाललाई एनओसी रोकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    दक्षिण कोरिया धेरै नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेमध्ये १० औं मुलुकभित्र पर्छ । गत आर्थिक वर्षमा ६ हजार ८ सय ८९ जनाले दक्षिण कोरियाका लागि एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । त्यतिबेला १ लाख १२ हजार ५ सय ९३ जना विद्यार्थीले विदेश पढ्न जान एनओसी लिएका थिए । ६६ देशमा ९४ विषय अध्ययनका लागि शिक्षा मन्त्रालयले एनओसी प्रदान गरेको तथ्यांक छ ।

    २०८० साउनदेखि ०८१ असारसम्म सबैभन्दा बढी जापानका लागि ३४ हजार ७ सय ३१ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएको शिक्षा मन्त्रालयले जनाएको छ । जापानपछि नेपाली विद्यार्थीको आकर्षण क्रमशः क्यानडा, अस्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायतमा देखिन्छ । क्यानडा पढ्न जान १५ हजार ९ सय ८२, अस्ट्रेलिया जान १४ हजार ३ सय ७२ जना, बेलायत जान १३ हजार ३ सय ३९ जना, अमेरिका जान ११ हजार २ सय ६१ जना विद्यार्थीले एनओसी लिएका छन् ।

  • सुशासनमा प्रश्न : ३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

    सुशासनमा प्रश्न : ३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

    ३१ वैशाख, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् । साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् । “आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपरयो”, स्थानीय रामबहादुर दनुवारले भने । उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिए ।

    लालपूर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पूर्जा दिलाउन प्रयास गरेका थिए । छब्बीस परिवारलाई नगरप्रमुख खरेलले पूर्जा वितरण गरे खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पूर्जा बनाई वितरण गरिएको उनले बताए । “पहिलो चरणमा बनेको पूर्जा २६ जना जग्गाधनीलाई वितरण गरियो, अब पूर्जा बन्न बाँकी जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ”, उनले भने ।

  • खाडी क्षेत्रको भ्रमणमा ट्रम्प, के गर्दैछन् ?

    खाडी क्षेत्रको भ्रमणमा ट्रम्प, के गर्दैछन् ?

    एजेन्सी
    ३१ वैशाख, काठमाडौं । मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना भए पनि व्यापारिक सम्झौताहरूको आशा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साउदी अरेबिया पुगेका छन् । यो उनको खाडी क्षेत्रको भ्रमणको पहिलो चरण हो र त्यसपछि कतार र संयुक्त अरब इमिरेट्स जाने कार्यक्रम छ । यो भ्रमण अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको पहिलो प्रमुख विदेश भ्रमण हो । ह्वाइट हाउसले उनले यस क्षेत्रमा ‘ऐतिहासिक फिर्ती’ को अपेक्षा गरेका छन् ।


    आठ वर्षअघि पनि ट्रम्पले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो विदेश भ्रमणका लागि साउदी अरेबियालाई रोजेका थिए । त्यसबेला उनले स्मरणीय रूपमा चम्किरहेको कक्षका साथ पोज दिएका थिए । तरबार नृत्यमा भाग लिएका थिए ।
    परम्परागत पश्चिमी मित्रराष्ट्रहरूलाई छोडेर फेरि तेल–धनी खाडी राष्ट्रहरूमा यात्रा गर्ने उनको निर्णयले उनीहरूको बढ्दो भू–राजनीतिक भूमिका र क्षेत्रमा उनको आफ्नै व्यापारिक सम्बन्धलाई प्रकाश पार्छ ।

    भ्रमण अघिका दिनहरूमा ह्वाइट हाउसले भारत र पाकिस्तानबीच युद्धविराम गर्न, गाजामा अमेरिकी बन्धकलाई रिहा गर्न र इरानसँग अर्को चरणको आणविक वार्ता गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यी पहलहरू गत हप्ता ट्रम्पले इरान समर्थित हुथी विद्रोहीहरूसँग युद्धविरामको घोषणा गरेपछि आएका छन् ।

    तर खाडी भ्रमणको समयमा ध्यान सम्भवतः व्यापारिक सम्झौताहरू सुरक्षित गर्ने हुनेछ । “ह्वाइट हाउसका स्रोतहरूले राष्ट्रपतिले ‘सम्झौताहरू’ मा ध्यान केन्द्रित गर्नुहुने सङ्केत गरेका छन्”, अटलान्टिक काउन्सिलको स्कोक्रोफ्ट मिडल इस्ट सेक्युरिटी इनिसिएटिभका प्रतिष्ठित फेलो डेनियल बी शापिरोले लेलेका छन् ।

    रियाद, दोहा र अबु धाबीले ७८ वर्षीय अर्बपति ट्रम्पलाई भव्य शाही स्वागतका साथ रेड कार्पेट ओछ्याउने अपेक्षा गरिएको छ । ट्रम्पकी प्रवक्ता क्यारोलिन लेभिटले भ्रमणअघि भनिन्, “राष्ट्रपति ‘अतिवाद पराजित भएर त्यसको स्थानमा व्यापार र सांस्कृतिक आदानप्रदान’ हुने दृष्टिकोण प्रवद्र्धन गर्न मध्यपूर्वमा आफ्नो ऐतिहासिक फिर्तीको अपेक्षा गर्दै हुनुहुन्छ ।”

    खाडी राष्ट्रहरूले ट्रम्पको दोस्रो कार्यकालमा आफूलाई प्रमुख कूटनीतिक साझेदारका रूपमा स्थापित गरेका छन् । दोहा हमास र इजरायल बीच वार्ताको प्रमुख मध्यस्थकर्ता रहेको छ भने जबकि साउदी अरेबियाले युक्रेनको युद्धमा वार्ताको सहजीकरण गरेको छ । साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले अमेरिकी व्यापार र लगानीमा छ खर्ब डलर खर्च गर्ने वाचा गरेसँगै राज्यमा फर्कने कुरा महिनौँदेखि चर्चामा रहेको छ ।

    “म एक अद्भुत व्यक्ति क्राउन प्रिन्सलाई यसलाई लगभग १० खर्ब डलरमा पुर्‍याउन सोध्दैछु । मलाई लाग्छ उहाँहरूले त्यसो गर्नेछन् किनभने हामी उहाँहरूसँग धेरै राम्रो भएका छौँ”, प्रस्तावको जवाफमा ट्रम्पले भने । रक्षा मन्त्रालय नजिकका एक साउदी अधिकारीका अनुसार रियादले अर्बौं डलरको अत्याधुनिक हवाई रक्षा प्रणालीसहित नवीनतम अमेरिकी एफ–३५ लडाकू जेटहरू सुरक्षित गर्न दबाब दिनेछ । “हामी ट्रम्पको कार्यकालमा डेलिभरी हुने सर्त राख्नेछौँ”, स्रोतले एएफपीलाई भन्यो ।

  • बेलायतमा नेपाली भजन महोत्सव

    बेलायतमा नेपाली भजन महोत्सव

    ३१ वैशाख, बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीहरुको सांस्कृतिक झाँकीसहितका टोली वेष्टमिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए । ‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाउँ, सभ्य र उन्नत जीवनलाई अँगालौँ’ भन्ने नारासहित सम्पन्न महोत्सवमा आठवटै टोलीले आ–आफ्नो भजन प्रस्तुत गरेका थिए ।

    महोत्सव उद्घाटन गर्दैै उल्भरह्याम्टन काउन्सिलका मेयर लिन्डा लिचले, बेलायतमा जीवन बिताइरहेका नेपालीहरुले आफ्नो संस्कृति संरक्षणमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे । उनले भने, “म नेपाली समाजले आफ्नो संस्कृति जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्छु र यस अभियान आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वस्त छु ।” महोत्सवमा यसपटक धेरै टोली सहभागी भएको र सहभागीको सङ्ख्या पनि बढेको जानकारी दिँदै कार्यक्रम संयोजक नेपाली समाज वेष्टमिडल्यान्डस्का पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक शिव खरेलले नेपाली संस्कृति संरक्षणका लागि बेलायतमा रहेका नेपाली समुदाय सचेत बन्दै गएकामा भन्दै खुसी व्यक्त गरे ।


    महोत्सवमा ६०० भन्दाबढीको सहभागिता थियो । उनले भने, “नेपाली समुदायमा नेपाली धर्म र संस्कृतिप्रतिको धारणा पुनःजागरण गराउन महोत्सव आयोजना गर्न थालिएको हो, यसमा हामी सफल भएका छौँ ।” साझा नेपाली समाज युकेका अध्यक्ष दीपक सापकोटाले कार्यक्रमले नेपाली धर्म र संस्कृतिको संरक्षण र प्रचारका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रवासमा बसेर पनि नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने र खासगरी नयाँपुस्तालाई सनातन संस्कार र संस्कृति सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

    नेपाली समाज वेष्टमिडल्यान्ड्सका अध्यक्ष भीम शर्माले कार्यक्रमले बेलायतमै जन्मिएका नेपाली पुस्तालाई आफ्नो संस्कृतिबारे जान्नका लागि यो ठूलो अवसर भएको बताए । महोत्सवमा सहभागी भजन मण्डलीले भजन प्रस्तुत गर्नुका साथै नेपाली कला, संस्कृति, वेषभूषा झल्किने नृत्य प्रस्तुत गरेका थिए । त्यसअवसरमा निःशुल्क रुपमा नेपाली खानाका परिकार उपलब्ध गराइएको थियो ।
    रासस

  • चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो

    चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो

    एजेन्सी
    ३१ वैशाख, काठमाडौं । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख तनाव कम गर्दै अस्थायी रूपमा भन्सार शुल्कहरू घटाउन सहमति जनाएपछि चीनले घरेलु एयरलाइन्सलाई नयाँ बोइङ विमान स्वीकार गर्नमाथिको प्रतिबन्ध हटाएको एक रिपोर्टमा उल्लेख छ । गत महिना अमेरिकी विमान निर्माताले चिनियाँ एयरलाइन्सले दुवै पक्षले लगाएको भारी भन्सार शुल्कका कारण नयाँ विमानको डेलिभरी स्वीकार गर्न छाडेको पुष्टि गरेको थियो । तर मङ्गलबार ब्लुमबर्ग न्युजका अनुसार चिनियाँ अधिकारीहरूले घरेलु वाहकहरूलाई उनीहरू अमेरिकी–निर्मित विमानको अर्डर पुनः सुरु गर्न सक्छन् भनेर भन्न थालेका छन् ।

    बोइङले तत्काल टिप्पणीको अनुरोधमा प्रतिक्रिया दिएन । दुई देशले सोमबार ९० दिनका लागि भन्सार शुल्क घटाउने र वार्ता जारी राख्ने घोषणा गरेपछि यो समाचार आएको हो । वासिङ्टनले चीनबाट हुने धेरै आयातमा एक सय ४५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको थियो भने बेइजिङले अमेरिकी सामानमा एक सय २५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको थियो ।

    जेनेभामा वार्तापछि सोमबारको घोषणाले संयुक्त राज्य अमेरिकाले ३० प्रतिशतमा कर घटाएको र चीनले आफ्नो १० प्रतिशतमा कटौती गरेको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परिणामलाई ‘पूर्ण पुनर्निर्धारण’ भनेका छन् र समकक्षी सी जिनपिङसँग चाँडै वार्ता हुनसक्ने बताए । कम्पनीले सन् २०२५ मा चीनलाई करिब ५० वटा विमान आपूर्ति गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी केली ओर्टबर्गले गत महिना बताए । चीनको विदेश मन्त्रालयले पनि तुरून्त टिप्पणीको अनुरोधको जवाफ दिएको छैन।

  • अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ

    अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ

    एजेन्सी
    ३१ वैशाख, डच वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै छिटो अन्त्य हुने अवस्थामा छ । तर आत्तिनुपर्ने ठूलो आवश्यकता छैन । यो घटना हुन अझै १० को पावर ७८ वर्ष बाँकी छ – अर्थात् एक अङ्कको पछाडि ७८ वटा शून्य । यद्यपि यो अघिको अनुमान १० को पावर एक हजार एक सय वर्षबाट ठूलो संशोधन हो । रेडबाउड युनिभर्सिटीको अनुसन्धान पेपरले जर्नल अफ कोस्मोलोजी र एस्ट्रोपार्टिकल फिजिक्समा प्रकाशित गरेको छ । “ब्रह्माण्डको अन्तिम अन्त्य अपेक्षाभन्दा धेरै चाँडै आउँदैछ तर सौभाग्यवश यसले अझै पनि धेरै लामो समय लिन्छ”, प्रमुख लेखक हिनो फाल्केले भने ।


    रेडबाउडका तीन वैज्ञानिकले सबैभन्दा ‘टिकाउ’ खगोलीय पिण्डहरू – सेतो पुड्का ताराहरू – अन्ततः कहिले मर्नेछन् भनेर गणना गर्न सुरु गरे । उनीहरूले आफ्नो गणना प्रसिद्ध ब्रिटिश भौतिकशास्त्री स्टिफन हकिङको नाममा राखिएको हकिङ विकिरणमा आधारित गरेका थिए । सन् १९७० को दशकको मध्यमा हकिङले ब्ल्याक होलले विकिरण चुहावट गर्छ, विस्तारै एक गिलास पानीमा एस्पिरिन जस्तै घुलनशील हुन्छ–जसले तिनीहरूलाई एक सीमित जीवनकाल दिन्छ भन्ने धारणा राखेका थिए । रेडबाउडका वैज्ञानिकहरूले यसलाई ब्रह्माण्डका अन्य वस्तुहरूमा विस्तार गरे र ‘वाष्पीकरण समय’ घनत्वमा निर्भर गर्दछ भनी गणना गरे ।

    यसले उनीहरूलाई सबैभन्दा लामो जीवित रहने पिण्ड सेतो पुड्को ताराको सैद्धान्तिक विघटन गणना गर्न सक्षम बनायो । “यस्ता प्रश्नहरू सोधेर र चरम मामिलाहरू हेरेर हामी सिद्धान्तलाई राम्रोसँग बुझ्न चाहन्छौँ र शायद एक दिन हामी हकिङ विकिरणको रहस्य उजागर गर्न सक्छौँ”, सह–लेखक वाल्टर भान सुइजलेकोमले भन्नुभयो, “मानवजातिले ब्रह्माण्डको अन्त्यबारे धेरै चिन्ता गर्नु पर्दैन ।

    हामी पृथ्वी ग्रहबाट नभागुन्जेलसम्म केही हुँदैन ।” वैज्ञानिकहरू हाम्रो सूर्य लगभग एक अर्ब वर्षमा समुद्रहरूलाई उमाल्दै जीवनका लागि अति तातो हुनेछ भन्ने सोच्छन् । लगभग आठ अर्ब वर्षमा हाम्रो तारा अन्ततः पृथ्वीतिर विस्तार हुनेछ, अन्ततः हाम्रो बाँझो र निर्जीव ग्रहलाई डुबाएर यसलाई आगोको मृत्युमा परिणत गर्नेछ ।

  • भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

    भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

    एजेन्सी
    ३१ वैशाख, पञ्जाव । भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् ।

    यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नु, कलेजोमा क्षति र मृत्युसम्म निम्त्याउन सक्छ ।
    उक्त घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए ।

    जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहका अनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनापछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
    पञ्जाब प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै घटनाको विस्तृत छानबिन भइरहेको र दोषीहरूलाई कानूनी दायरामा ल्याइने जनाएको छ ।
    पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिए । गत वर्ष मात्रै पनि भारतको दक्षिणी राज्य तामिलनाडुमा यस्तै घटनामा ५३ जनाको मृत्यु भएको थियो ।

  • बेलायतको श्रम बजारमा मन्दी, तलब वृद्धिमा गिरावट, बेरोजगारी दर वृद्धि

    बेलायतको श्रम बजारमा मन्दी, तलब वृद्धिमा गिरावट, बेरोजगारी दर वृद्धि

    एजेन्सी
    ३० वैशाख, लण्डन । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै उच्च हो ।

    यद्यपि, बेरोजगारी दर भने अघिल्लो वर्षको तुलनामा केहि बढेको देखिएको छ । फेब्रुअरीदेखि मार्च महिनाको अवधिमा कम्पनीहरूको तलब सूचीमा रहेका कर्मचारी सङ्ख्या ४७ हजारले घटेको छ भने प्रारम्भिक अनुमानअनुसार अप्रिल महिनामा थप ३३ हजारले कमी आउने सम्भावना देखिएको छ ।

    तलब वृद्धिदर पनि केही मन्द भएको देखिएको छ । बोनस बाहेकको औसत साप्ताहिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको छ, जुन अघिल्लो त्रैमासिकको ५.९ प्रतिशतभन्दा केही कम हो । बोनससहितको कुल तलब ५.५ प्रतिशतले बढेको देखिएको छ । मुद्रास्फीतिसँग समायोजन गर्दा वास्तविक तलब वृद्धिदर १.८ प्रतिशत रहेको छ । अर्कोतर्फ, रोजगारको अवसर पनि घट्दै गएका छन्। अहिले कुल रोजगारीको अवसर सात लाख ६१ हजार पुगेको छ, जुन महामारीपूर्वको स्तरभन्दा थोरै कम हो ।

    आर्थिक विश्लेषकहरूले श्रम बजारमा देखिएको मन्दी पछाडि उच्च तलब कर र हालै गरिएको न्यूनतम तलब वृद्धिलाई मुख्य कारणका रूपमा औंल्याएका छन् । खुद्रा तथा आतिथ्य सेवाका क्षेत्रहरूमा विशेष गरी मार्च र अप्रिल महिनामा रोजगारीमा कटौती देखिएको छ । यद्यपि श्रमिक मागमा केही गिरावट देखिएको भए पनि तलब वृद्धिदर अझै उच्च भएकाले बेलायतको केन्द्रीय बैङ्क (बैङ्क अफ इङ्गल्याण्ड)लाई मुद्रास्फीति नियन्त्रणमा चुनौतीको सामना गर्नुपरेको बताइएको छ ।

    बैङ्क अफ इङ्गल्याण्डले यसै महिनाको प्रारम्भमा आफ्नो प्रमुख ब्याजदर ०.२५ प्रतिशतले घटाउँदै ४.२५ प्रतिशतमा झारेको थियो । तथापि, थप ब्याजदर घटाउने विषयमा नीतिनिर्माताहरू अझै मुद्रास्फीति घटेको थप प्रमाणको प्रतीक्षामा रहेको बताएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले आफ्नो श्रमशक्ति सर्वेक्षणमा तथ्याङ्क सङ्कलनको पद्धतिमा सुधार आएको उल्लेख गरे पनि सर्वेक्षणको सहभागिता दर महामारीपूर्वको तुलनामा अझै कम रहेकाले केही विवरणहरूमा सीमा रहेको स्वीकार गरेको छ । विश्लेषकहरूको धारणा अनुसार श्रम बजारमा आएको चिसोपन केवल आन्तरिक नीति परिवर्तनले मात्र नभई, विश्वव्यापी व्यापारिक अनिश्चितताहरूका कारण व्यापारिक विश्वासमा परेको प्रभावको परिणाम पनि हो ।

  • नयाँ बजेटबारे अर्थमन्त्री र विकास साझेदारबीच छलफल

    नयाँ बजेटबारे अर्थमन्त्री र विकास साझेदारबीच छलफल

    ३० वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्वका साथ अघि बढाइरहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा उहाँले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताए ।

    “केही समयदेखि आर्थिक सुधार थालेका छौँ । त्यसबाट सकारात्मक नतिजा पाइरहेका छौँ । भविष्यमा पनि आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिनेछाँै”, उनले भने, “अध्यादेशबाट गरिएका कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव, विभिन्न नीति तथा निर्णय नीतिगत सुधारका महत्वपूर्ण पक्षहरु हुन् ।”

    अर्थमन्त्री पौडेलले आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी दिए । स्रोत सुनिश्चिताको हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा मितव्यितता, खर्च कटौती र सीमित साधन स्रोतलाई अत्याधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने बताए ।

    “वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गर्ने, त्यसको सही र प्रभावकारी सदुपयोग गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ । पूँजीगत खर्च र त्यो खच नहुँदाकोे समस्या समाधानका लागि पनि ध्यान दिएका छौँ,” अर्थमन्त्री पौडेलले भने । संसद्मा प्रस्तुत गरेपछि आगामी बजेटलाई सबैले यथार्परक भनेर मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्रीले मुलुकको विकासमा मित्रराष्ट्र र विकास साझेदारका निरन्तर सहयोगको अपेक्षा सरकारले गरेको बताए । अर्थ सचिव घनश्याम उपाध्यायले आगामी वर्षको बजेटले आर्थिक अनुशासन र निजी क्षेत्रको आत्मविश्वास वृद्धिलाई प्राथमिकतामा राख्ने बताए ।

    अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले गत वर्षको तुलनामा चालु आवमा अर्थतन्त्र सुधारोन्मुख भएको बताए । मुुलुकको विकास साझेदार एवं तिनका प्रतिनिधिले राजस्व परिचालन, स्रोतको अधिकतम सदुपयोग, यथार्थपरक बजेट निर्माण तथा कार्यान्वयनलगायत विषयमा सुझाव दिँदै भविष्यमा पनि नेपाललाई सहायता निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अष्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्याण्ड, युरोपेली सङ्घ, विश्व बैङ्क, एसियाली विकास बैङ्क, संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य सङ्गठनलगायत विकास साझेदार सहभागी थिए ।

  • अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

    अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

    ३० वैशाख, धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो । सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी चल्न थालेका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । रोशी खोलामा बाढी आएपछि सोमबार रातीदेखि सडक अवरुद्ध भएको हो ।

    सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले बताए । यसअघि गत वर्ष असोज १० देखि १२ गतेसम्म रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो । त्यसपछि सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार भएर अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरेको थियो ।

  • बनेपामा बन्ने भयो ‘इन्डोर’ छायाङ्कन स्टुडियो, प्रधानमन्त्रीले गरे शिलान्यास

    बनेपामा बन्ने भयो ‘इन्डोर’ छायाङ्कन स्टुडियो, प्रधानमन्त्रीले गरे शिलान्यास

    रासस
    ३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको मागबमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताए ।

    उनले चलचित्रकर्मीले करिब छ दशकदेखि उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेको पनि बताए ।प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त स्टुडियो निर्माण गर्ने निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत विविध कारणले काम अवरुद्ध भएको थियो ।

    “त्यसबेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौं । यसका लागि बजेट विनियोजन हुन्छ । काम थालेपछि सफल हुुन्छ । यसलाई पनि सफल बनाउनुुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युुग परिवर्तन सुरु भएको छ”, प्रधानमन्त्री ओलीले भने, “ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सधँै सकारात्मक र सहयोगी छौँ ।”

    बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा सो अवसरमा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले १० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए । उनले राजनीतिमा कतिपयले अभिनय गर्न थाले पनि आफूूहरु राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङ, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी थिए ।

  • राप्रपाका नेता मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    राप्रपाका नेता मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    ३० वैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार तीर्थराज भट्टराईका अनुसार मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक म्याद थपका लागि आज अदालत लगिएको थियो ।

    राजावादीले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ । नेता मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । उक्त आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं पनि थुनामै हुनुहुन्छ । प्रसाईंलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।

  • सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै

    सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै

    ३० वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने जानकारी दिइन् ।

    उनका अनुसार संवादमा करिब ३५० जना सहभागी हुनेछन् । बाह्र देशको उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ । पहिलो संस्करणको सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ । सगरमाथा संवाद नेपालले स्थापना गरेको एउटा अन्तरराष्ट्रिय मञ्च हो । मानव जगतका विभिन्न समस्या र मुद्दाबारे संवाद गर्ने, छलफल गर्ने तथा समाधानका लागि एउटा निष्कर्षमा पुग्ने यसको उद्देश्य रहेको छ ।

    “संवादको तयारी अन्तिम चरणमा पुगेको छ । हामीले तयारीका विभिन्न चरण पार गरी यहाँसम्म आइपुगेका छौँ । हामीले १० वटा जति पूर्वसंवादलगायतका तयारी पूरा गरेका छौँ,” मन्त्री डा राणाले भनिन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उक्त समारोहमा परराष्ट्रमन्त्री डा राणाले स्वागत मन्तव्य दिने कार्यक्रम छ । उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ ।

    कार्यक्रममा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिवले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाट्नपछि १२ छुट्टाछुट्टै विषयमा कार्यक्रम सञ्चालन हुनेछन् । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा संभावनामा जोड दिइने कार्यक्रम रहेको मन्त्री डा राणाले बताइन् ।

    सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिनेछन् मन्त्री डा राणााले नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिन्छ भन्ने दृढ विश्वास रहेको उल्लेख गर्दै विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको बताइन् ।

  • ५१ लाख ९० हजार ठगीको अभियोगमा दुई पक्राउ

    ५१ लाख ९० हजार ठगीको अभियोगमा दुई पक्राउ

    ३० वैशाख, काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    उनका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा निज दुई जनालाई पक्राउ गरिएको हो । । पक्राउ परेकामध्ये साउदले तीन जनालाई आयरल्याण्ड पठाउने भन्दै रु ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके पठाउने भन्दै रु दश लाख लिई ठगी गरेको खुल्नमा आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

    उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

  • मौसम बदली, ठाउँठाउँमा भारी वर्षा

    मौसम बदली, ठाउँठाउँमा भारी वर्षा

    ३० वैशाख, काठमाडौं । सोमबार देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभे्रपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो । गुल्मीमा ५६.४ मिलीमिटर वर्षा भएको छ । यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काभ्रेमा पछिल्लो छ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको उनले बताउनुभयो । अहिले सो क्षेत्रमा वर्षा रोकिएको छ । पनौतीको कतिपय ठाउँमा क्षति हुनेगरी बाढी आएको छ ।

    पछिल्लो एक घण्टामा बागमती, लुम्बिनी र कर्णालीका कतिपय पहाडी भूभागमा वर्षा भइरहेको उनले बताए । हाल चितवन, मकवानपुर, बारा र पर्सा आसपास पानी पर्ने बादल रहेको तथा मेघगर्जनसहितको पानी परिरहेको छ । उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । भोलि कोशी, गण्डकी र बागमतीका पहाडी भूभागमा वर्षा हुने तर पश्चिम तराईमा गर्मीकै अवस्था रहने जनाइएको छ ।

  • कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

    कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

    ३० वैशाख, ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो ।

    सिरीजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजङ्घा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते राति करिब ११ः०० बजेको समयमा करिब आठ हजार मिटरको उचाइमा पुगेका थिए । त्यही क्रममा मार्गेटाको श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फ्रान्सेली आरोही मार्गेटा मोरिङसँगै रहेका गाइड योगेन्द्र तामाङले जानकारी दिएको प्रहरीले जनाएको छ । मृतकको शव समुद्री सतहदेखि करिब सात हजार ५०० मिटर उचाइमा रहेको जनाइएको छ ।

  • म्यान्मामा सेनाको हवाई आक्रमणमा २० बालबालिका सहित २२ जनाको मृत्यु

    म्यान्मामा सेनाको हवाई आक्रमणमा २० बालबालिका सहित २२ जनाको मृत्यु

    रासस
    २९ वैशाख, काठमाडौं । म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो । म्यान्माको ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो ।

    त्यो समयको चुनावपछि सेनाले परिणाम अस्वीकार गर्दै नेतृ आङ सान सु चीको सरकारलाई अपदस्थ ग¥यो र देशको बागडोर सम्हाल्यो । त्यसपछि देशभर विरोध र आन्दोलनहरू भए, तर सेनाले ती प्रदर्शनहरू नियन्त्रणमा ल्याउने प्रयास ग¥यो । अहिले पनि म्यान्मामा यही सैन्य नेतृत्वले शासन गरिरहेको छ, जसलाई ‘जुन्टा’ भनेर चिनिन्छ ।

    स्थानीय बासिन्दाका अनुसार बिहान १० बजे (स्थानीय समय अनुसार) विद्यालयमाथि आक्रमण भएको थियो । यो गाउँ मार्च २८ मा आएको विनाशकारी ७।७ म्याग्निच्युडको भूकम्पको केन्द्रबाट करिब १०० किलोमिटर टाढा पर्छ । “अहिलेसम्म २२ जनाको मृत्यु पुष्टि भएको छ,” विद्यालयमा कार्यरत ३४ वर्षीया एक शिक्षिकाले भनिन्, “हामीले बालबालिकालाई छरिएर बस्न आग्रह गरेका थियौं, तर लडाकु विमान धेरै छिटो बम खसाल्यो ।”

    सगाइङ क्षेत्रका एक शिक्षा अधिकारीले पनि मृत्यु सङ्ख्या उस्तै रहेको पुष्टि गरे । जुन्टातर्फबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन । सन् २०२१ मा जुन्टाले प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार अपदस्थ गरेपछि म्यानमार गृहयुद्धमा फसेको छ । विभिन्न सशस्त्र जातीय समूह र जनआन्दोलन लडाकुहरूसँग लगातार लडाईं हुँदै आएको छ । मार्चमा गएको भूकम्पपछि पुनर्निर्माण र पुनस्र्थापना कार्यको लागि भन्दै जुन्टाले मे महिनाभरि युद्धविरामको घोषणा गरेको थियो । तर यो आक्रमणले युद्धविरामको विश्वसनीयता माथि गम्भीर प्रश्न उठाएको छ ।

  • पर्यटकीय गन्तव्य मौलाकालीमा सञ्चालनमा आयो इला होटल

    पर्यटकीय गन्तव्य मौलाकालीमा सञ्चालनमा आयो इला होटल

    २९ वैशाख, चितवन । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई ग्रुप तथा मौलाकाली केवलकारका अध्यक्ष चन्द्र ढकालले बताए ।

    स्थानीयको साझेदारीमा आइएमई समूहले केवलकार र होटल सञ्चालन गरेको हो । केबलकार र होटल निर्माणले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिमा आउने पर्यटकका लागि सहज भएको ढकालले बताए । ढकालका अनुसार आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ । यहाँबाट नवलपुर, देवघाट एवं चितवनको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको यस स्थानमा होटल सञ्चालनमा आएसँगै रात्रिकालीन बास बस्ने पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

    उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले मौलाकालीकामा केवलकार र होटलले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । केवलकार सञ्चालनमा आएसँगै भारतीय र तेस्रो मुलुककासमेत पर्यटक आएको भन्दै उहाँले होटल सञ्चालनले पर्यटकको बसाइँ लम्भ्याउन सहयोग पुग्ने उनको भनाइ थियो । मौलाकालिका मन्दिरमा जाने यस केवलकार सञ्चालनमा आएपछि २५ प्रतिशतभन्दा बढी भक्तजन आउने गरेका छन् । होटल सञ्चालनसँगै भक्तजनको सङ्ख्या थपिने अपेक्षा गरिएको छ ।

    आइएमई ग्रुपले हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने गु्रपका अध्यक्ष ढकालले जानकारी दिए । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ ।

  • गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध

    गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध

    २९ वैशाख, त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व० नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गए राति पुल भाँचिएको हो । पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए । सामान बोकेको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको हो ।

    ट्रक पार गर्ने क्रममा ट्रक रहेको स्थानमा केही तल पुल दबिएको छ । साथै पुलको छेउछाउमा समेत चर्किएको छ । ट्रक हटाएपछि मात्र पुल माथिबाट सवारी सञ्चालन गर्न सक्ने÷नसक्ने यकिन हुने प्रमुख बञ्जराले बताए ।

  • प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

    प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

    रासस
    २९ वैशाख, काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।”

    आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन् । अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ ।

    मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए । उनले भने, “मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन । चौँथो शिविर पुगेका आरोही आज र भोलि मङ्गलबार सबैजना आधार शिविर आउनुहुन्छ होला ।”

    मौसम खराबीका कारण अबको तीन÷चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ । मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ । सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो । मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो । मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो । तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो ।

    हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ्ङ)सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ । कञ्चनजङ्घा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ । मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गरेका थिए । यस्तै मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गरे ।

    नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गरे । इक्वेडरका पेट्रिसियो एरेभालोले पनि सोही दिन आरोहण गरे । मे ११ तारिखकै दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमालको पनि आरोहण गरेका छन् । आरोहीहरु अहिले सगरमाथाको दोस्रो र तेस्रो शिविर आसपास प्रतिक्षारत छन् । त्यसैगरी यस याममा पाँच नेपाली, तीन चिनियाँ आरोही र एक किर्गिस्तानीले मकालु आरोहण गरेको विभागको फिल्ड कार्यालयले जनाएको छ ।

    वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि सुरु भएको हो । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेका थिए । योे याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।

  • उपसभामुखले भेटिन् बङ्गलादेशका सरकार प्रमुख, के भयो कुराकानी

    उपसभामुखले भेटिन् बङ्गलादेशका सरकार प्रमुख, के भयो कुराकानी

    २९ वैशाख, ढाका । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताए । प्राध्यापक युनुसले भने, “बङ्गलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सात राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ ।”


    उनले नेपाल र बङ्गलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरे । गत अक्टोबरमा बङ्गलादेश–नेपाल–भारतमाझ नेपालबाट बङ्गलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो । उनले बङ्गलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे । “हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ”, उनले भने ।

    त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरिन् । “नेपालका सबै सांसदहरु बङ्गलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ ।”

    उहाँले हाल बङ्गलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन् । उनले यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याइन् । त्यसअवसरमा दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ ।

    प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखिन् । त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकार युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बङ्गलादेशका परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो ।

  • विश्वव्यापी अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध शिक्षा महत्वपूर्णः प्रधानमन्त्री

    विश्वव्यापी अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध शिक्षा महत्वपूर्णः प्रधानमन्त्री

    रासस
    २९ वैशाख, लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको बताए ।

    उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको बलमा नभई बुद्धबाट प्राप्त शान्तिको सन्देशले मात्र रोक्न सक्ने धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले भारत–पाकिस्तान बीचको द्वन्द्व नेपालसहित अन्तरराष्ट्रिय जगतको अनुरोधपछि दुवै पक्ष संयमित भएका तथा त्यसको परिणामस्वरुप युद्ध रोकिनुका साथै क्षति हुनबाट जोगिएकामा खुसी व्यक्त गरे ।

    केही दिनअघि छिमेकी मुलुक भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको प्रसङ्ग उल्लेख गर्दै उने तर स्थिति त्योभन्दा बढी अघि बढ्न नपाएको र संयमताका लागि दुवै पक्षलाई धन्यवाद समेत दिए । “हामीले सुरुदेखि नै तनावको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्यौँ, उहाँहरुसँग पनि कुरा ग¥यौँ । उहाँहरुले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो”, प्रधानमन्त्री ओलीले भने । विद्यमान विश्वपरिवेशमा बुद्धको शान्तिको सन्देश जतासुकै आवश्यक रहेको उनको भनाइ थियो ।

    “बुद्धको सन्देशको महत्व व्यक्तिको मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि र हरेक ठाउँमा उत्तिकै छ”, प्रधानमन्त्री ओलीले भने । विश्वमा युद्ध होडबाजिका नाममा ठूलो सङ्ख्यामा हतियार निर्माण गर्ने र थुप्रो लगाउने काम भइरहेको उल्लेख गर्दै उनले यो विश्वको मानव अस्तित्वका लागि खतरनाक विषय भएको बताए । यस खालका खतरनाक चिजबाट उन्मूक्तिका लागि फेरी पनि विश्व शान्ति र स्थिरताका पक्षमै हामी उभिनुपर्ने हुन्छ भने ।


    बुद्धको जन्मथलोको विकासमा योगदान गर्नुहुने सबैलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनीहरु प्रति आभार व्यक्त गरे । लुम्बिनीको विकासका लागि गुरुयोजना निर्माण गरेर विशेष योगदान पु¥याउने प्रोफेसर केञ्जो टाङ्गेप्रति आभार व्यक्त गर्दै उनले गुरुयोजना पूरा गर्न अझै बाँकी रहेको र गुरुयोजना यथासक्य छिटो सम्पन्न गर्नेगरी काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । शान्ति, मानवता र करूणा उपदेशलाई आत्मसात गर्दै बुद्धका सन्देश संसारभर फैलाउन आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए । मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धका उपदेश मैत्रीभाव र करूणाको प्रवृत्ति हरेक मानिसले आत्मसात गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले बुद्धको शिक्षाको मुख्य उद्देश्य शान्ति, मानवतावाद र करूणा रहेको उल्लेख गर्दै बुद्वका उपदेश र आदर्श हामीले आत्मसात गर्नुपर्ने बताए । बुद्वका शिक्षा र उपदेश फैल्याउन बौद्ध विश्वविद्यालय स्थापना गरिएको बताउँदै उहाँले विश्वविद्यालयले खोज अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिए ।

    बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बुद्धको शिक्षा त्रिपिटकको निर्माण र बुद्धको शिक्षाको सङ्ग्रह गर्न भिक्षु आनन्दको योगदानको स्मरण गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखेर सुरक्षित गरिएको उल्लेख गरे । उनले भिक्षु आनन्दले तक्षशिलामा गएर त्रिपिटकलाई लिखित गर्नुभएको पहिलो दस्तावेज अहिले पनि भारतको पटना सङ्ग्रहालयमा रहेको बताए ।

  • बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा

    बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा

    २९ वैशाख, धुलिखेल । दुई हजार ५६९औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेपलाञ्चोकका लागि केही गरौँ’ भन्ने नाराका काभ्रे सेवा समाजको आयोजनामा भएको शान्ति पदयात्राको पूर्वराष्ट्रपति डा रामवरण यादवले पनौतीस्थित राजकुमार महासत्त्वको पूर्व जन्मघर रहेको पनौतीमा उद्घाटन गरे । सो क्रममा डा यादवले बुद्धजयन्तीका अवसरमा पवित्र दिनमा आयोजना गरेको शान्ति पदयात्राले पवित्र कार्यको सुरूआत भएको बताए ।

    शाक्यमुनि गौतम बुद्धले कपिलवस्तुमा जन्मेर विश्वमा शान्तिको सन्देश फैलाएको बताउँदै उनले त्योभन्दा अगाडि पवित्रस्थल पनौतीमा अर्को अवतारका रूपमा जन्मेका कारण पनि यस ठाउँको छुट्टै महत्त्व रहेको उल्लेख गरे । सो अवसरमा उनले सारा संसारमा राम्रो सभ्यताको विकास र सहअस्तित्व कायम रहँदै शान्तिसँग बस्न पाउने अवस्थाको सिर्जना होस् भन्ने कामना गरे ।


    पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगर बुद्धभूमिका रूपमा पहिचान बनाउँदै अगाडि बढिरहेको र अझ यसको विकास र पहिचान स्थापित गर्नका लागि विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल भइरहेको बताए । पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरूषोत्तम कर्माचार्यले गौतम बुद्धको पूर्वजन्मभूमि भएको पनौतीको यात्रा गर्दा यात्रा सफल र शुभ हुने भएको बताउँदै यसले पनौतीको प्रचारमा पनि थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    उनले विश्वमा शान्ति छाओस् र पनौती सबैसामु परिचित होस् भन्ने उद्देश्यले काभ्रे सेवा समाजले आयोजना गरेको कार्यक्रममा पनौती पर्यटन विकास केन्द्रको पनि साथ रहेको बताए । शान्ति पदयात्रामा सहभागी पत्रकार भीम गौतमले गौतम बुद्धको पूर्वजन्मभूमि रहेको नमोबुद्ध जति परिचित छ, त्यसको थप प्रचारका लागि आयोजना गरेको शान्ति पदयात्राले पनौतीदेखि सुन्थान, शुङ्ख र नमोबुद्धसम्म पैदलयात्रा गर्दा आनन्द प्राप्त हुनाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


    काभ्रे सेवा समाजका निवर्तमान अध्यक्ष प्रल्हाद केसीले विगतका वर्षमा झैँ यस वर्षमा पनि विश्वसामु नमोबुद्धलाई चिनाउनका लागि शान्ति पदयात्रा आयोजना गरेको बताए । गौतम बुद्धको पूर्वजन्मस्थल पनौती र राजकुमार महासत्वले नमोबुद्धको जङ्गलमा गरेको जीवन त्यागको ऐतिहासिक कथनसँग पनौती र नमोबुद्ध जोडिएको कारण पनि धार्मिक पर्यटन प्रवर्द्धनका लागि सो शान्ति पदयात्रा आयोजना गरेको बताए । स्थानीय सरकार, विभिन्न सङ्घसंस्था र स्थानीय बासिन्दाहरूको सहभागितामा पनौतीको पुरानो बजार पनौती डबलीदेखि नमोबुद्ध स्तूपासम्म आयोजना गरेको सो पदयात्रामा सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो ।

  • काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किए, एकको मृत्यु

    काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किए, एकको मृत्यु

    २९ वैशाख, काठमाडौं । काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  • बिहे भोजले जन्तीसहित एक सय बढी बिरामी

    बिहे भोजले जन्तीसहित एक सय बढी बिरामी

    रासस
    २९ वैशाख, जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायतका अनिय मिस्ठान्न खाएको केही समेय पछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताए ।

    साठी जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए । केही भने उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । “खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ । घटनास्थल पुगेर हामीले खाजाको नमुना ल्याएका छौँ । परीक्षणका लागि प्रयोगशालामा पठाएको र परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,” यादवले भने ।