Category: फिचर

  • ढकमक्क फुलेका गुलमोहरले पर्यटक लोभ्याउँदै

    ढकमक्क फुलेका गुलमोहरले पर्यटक लोभ्याउँदै

    रासस

    ४ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

    “कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन”, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भने, पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ ।

    झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ । चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फुलेका गुलमोहरले हरेक यात्रुलाई आकर्षित गर्ने गरेको छ । शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेका अध्यक्ष प्रसाईँले बताए । पालिकाले गत वर्ष त्यस वरपर दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ ।

    पालिकाले गुलमोहरको रुख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ । पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन् । इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्ति गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन् ।


    यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं ६ मा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल रहेको छ । झोलुङ्गे पुल हेर्न जानेसमेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन् । गुलमोहरले आकर्षित गर्दा यहाँका सवारीसाधनहरुमा यात्रुको चाप बढाएका छ ।

  • रामबहादुरले एक दशकपछि पुनः देख्न थाले संसार

    रामबहादुरले एक दशकपछि पुनः देख्न थाले संसार

    ४ जेठ, गोरखा । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनर्लाइ ज्वाइँ कर्ण माहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याएका थिए । उनी जस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् । आफ्नै गाउँमा गत म¬ङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो ।

    निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उनको पालो सबैभन्दा पछि थियो । जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोले, उनी बसिरहेको कुर्चीबाट उठे र विस्तारै आँखाका परेला खोल्न थाल्थे । “एक दशकदेखि अन्धकार बनेको रङ्गीन संसार देखेँ । ऊ, मेरो ज्वाइँ”, घरबाट बोकेर ल्याएका कर्णमाहिलातिर देखाए, सबैतिर हेर्न हतार नगर्न चिकित्सक गुरुङले सुझाव दिए । उनले आफूलाई संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिए ।


    दुर्गम भेगमा रहेको गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका ८८ वर्षीय रामबहादुर गुरुङले दुवै आँखाको ज्योति गुमाएको १० वर्ष पुग्यो । “२०६८ सालमा बारी जोत्दा हलोको फालीले लागेर दाहिने आँखा गुमाएको थिएँ, त्यसको चार वर्षपछि देब्रे आँखा पनि देख्न छाडेँ”, गुरुङले भने । त्यसयता गुरुङलाई आफ्नो घरआँगन परदेश लाग्न थाल्यो, आफन्तहरू परायाजस्ता । आफैँ हिँड्न नसक्ने भएपछि उहाँलाई परिवारले सुताउने, उठाउने, खाना खुवाउने र शौचालयसम्म लैजाने, ल्याउने गर्नुपथ्र्यो ।

    “पहिले त स्वरले चिन्थेँ । स्वर पनि र्बिसिएर विस्तारै चिन्न छाडेको थिएँ । म फलानो हुँ भन्यो भने बल्ल याद आउँथ्यो”, गुरुङले भने, “घरमा बूढी पनि रोगी, छोरा बाहिर विदेशमा छ । एउटा बुहारीले घरबारीको काम, हामी बुढाबूढीको स्याहार, नातानातिनीको स्याहार सबै हेर्नुपर्छ । बुढेसकालमा अरु केही गर्न नसके पनि आफ्नो काम चाहिँ आफँै गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो सपना आज पूरा भयो”, शल्यक्रियापछि आँखाको ज्योति पाउनुभएका गुरुङले भने ।


    शल्यक्रियापछि ससुरा आफैँ हिँड्डुल गर्न सक्ने भएपछि कर्णमाइलालाई पनि सन्तोष मिलेको छ । “बुढो मान्छे, त्यसमाथि आँखा नदेख्ने भएपछि साह्रै बिजोग हुनेरहेछ”, उनले भने, “अब त सबै देखेँ, हिँड्छु भनेका छन् । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ ।”

    धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग तथा मात्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा गुम्दामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा धार्चेको गुम्दा, सिङ्ला, लप्सीबोट, यामगाउँ, खानीगाउँलगायत आसपास क्षेत्रका चार सय सात जनाले सेवा लिएका थिए ।

    शिविरमा रामबहादुरसहित ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । तीन दिनसम्म चलेको शिविरमा वरिष्ठ आँखारोग विषेशज्ञ डा कमलबहादुर खड्का नेतृत्वको टोलीले सेवा दिएको थियो । विकट ठाउँमा आएर वृद्धवृद्धालाई सेवा दिन पाउँदा खुसी लागेको डा खड्काले बताए । “गाउँघर यस्तै हो, कति दुःख कति सुख । जे होस् यति टाढा आएर सेवा दिने मौका मिल्यो । खुसी लागेको छ”, उनले भने ।
    राससबाट

  • तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, चारजना घाइते

    तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, चारजना घाइते

    ४ जेठ, लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।

    घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

    घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो । दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ । खुकुरी प्रहार गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

  • गण्डकी प्रदेश सरकारले बजेटको आकार घटाउँदै

    गण्डकी प्रदेश सरकारले बजेटको आकार घटाउँदै

    ४ जेठ, पोखरा । समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२\८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको छ ।

    आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालका अनुसार मन्त्रालयगत रूपमा बजेटको ‘सिलिङ’ घटेको जानकारी दिए । “झण्डै तीन अर्बले बजेट घट्ने अनुमान गरिएको छ, समानीकरण र समपूरकतर्फको बजेट कटौती हुँदा बजेट निर्माणमा दबाब बढेको हो, प्रदेशको आन्तरिक स्रोत पनि बढ्न सकेको छैन”, उनले भने ।


    आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा लक्ष्यको जम्मा ५२ प्रतिशत राजस्व सङ्कलन भएको उनले बताए । चालु आवमा लक्ष्यको झण्डै ७० प्रतिशतमात्र राजस्व उठ्ने देखिएको उनको भनाइ छ । प्रदेश नीति तथा योजना आयोगले सङ्घ सरकारले ल्याउने बजेटका आधारमा प्रदेशको बजेट केही थपघट हुनसक्ने जनाएको छ ।

    अहिलेकै अवस्थामा भने प्रदेश सरकारले ल्याउने बजेट घटेर आउने आयोगको भनाइ छ । आयोगले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई मात्र रु नौ अर्ब ४८ करोडको ‘सिलिङ’ तोकेर पठाएको छ । चालु आवमा उक्त मन्त्रालयमा रु १२ अर्ब ७० करोड बजेट थियो ।

    ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको ‘सिलिङ’ रु तीन अर्ब ९० करोड तोकिएको छ । चालु आवमा उक्त मन्त्रालयका लागि रु चार अर्ब चार करोड ५३ लाख बजेट विनियोजन गरिएको थियो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पनि चालु आवको भन्दा कम जम्मा रु एक अर्ब ९० करोडको बजेट ‘सिलिङ’ तोकिएको छ । चालु आवमा दुई अर्ब बढीको बजेट उक्त मन्त्रालयलाई छुट्टिएको थियो ।

    यस्तै स्वास्थ्य मन्त्रालयका लागि रु ती अर्ब दुई करोड ६७ लाख, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलाई रु एक अर्ब ३५ लाख, वन तथा वातावरण मन्त्रालयका लागि रु ९० करोड, उद्योग तथा पर्यटन मन्त्रालयतलाई रु ६५ करोडको ‘सिलिङ’ तोकेर बजेट निर्माणको काम भइरहेको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि रु एक अर्ब १५ लाख, आर्थिक मामिला मन्त्रालयतर्फ रु १३ करोड ३६ लाखको ‘सिलिङ’ तोकिएको छ । प्रदेश सरकारले आगामी बजेटमा कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिनेगरी बजेट बाँडफाँटको तयारी अगाडि बढाएको छ ।

    प्रदेशको दास्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर बजेटका प्राथमिकता निर्धारण गरिने भएको हो । आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयसँग बजेट निर्माणबारे छलफल सुरु गरेको छ । यसअघि स्थानीय तह, निजी क्षेत्रलगायतसँग बजेटका विषयमा छलफल गरिएको थियो । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा नीतिगत सुधारका विषयलाई बढी जोड दिइने जनाएको छ ।

    कार्यान्वयनयोग्य र प्रदेशको यर्थाथअनुसारको बजेट ल्याइने तयारी गरिएको हो । बजेट तर्जुमा र समन्वयका विषयमा विषयगत मन्त्रालयय र मातहतका निकायसँग छलफल भइरहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    रासस

  • आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित वर्षा

    आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित वर्षा

    ४ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भागका केही स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भानवा रहेको महाशाखाले जनाएको छ ।

  • अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

    अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

    एजेन्सी
    ३ जेठ, काठमाडौं । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ । केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १४ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको बताएका छन् । केन्टुकीको दक्षिणपूर्वमा रहेको लरेल काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान आँधी आएको थियो । अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।

    मिसौरीका अधिकारीहरूले शुक्रबारको आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको बताएका छन् । क्षतिग्रस्त घरका छाना उडेका छन् भने विद्युत् सेवा अवरुद्ध भएको छ । सेन्ट लुइसमा करिब एक लाख घरहरु विद्युत कटौतीका कारण प्रभावित भएका छन् । हावाहुरीले बढी प्रभाव पारेका स्थानहरुमा घरघरमा गएर निरीक्षण भइरहेको अग्नी नियन्त्रण विभागले जनाएको छ ।

  • ट्रकको ठक्करबाट मनोहरामा मोटरसाइकल चालकको मृत्यु

    ट्रकको ठक्करबाट मनोहरामा मोटरसाइकल चालकको मृत्यु

    ३ जेठ, काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज दिउँसो बा६०प १७९५ नंको मोटरसाइकललाई बाप्र–०३–००१ ख १२४७ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै, प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर पोडेपाटी नजिक रहेको गोपाल न्यौपानेको गाई–बाच्छा मठमन्दिर बचाउ तथा समाज विकास अभियानको टहरामा विद्युत् चुहावट भई आगलागी हुँदा गएराति करिब रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।


    ललितपुरको महालक्ष्मी नगरपालिका–८ नरकटे उखुटोलस्थित काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने चरण चौधरीको नर्भिक इन्स्टिच्युट अफ टेक्नोलोजी नेपाली प्राइभेट लिमिटेड कम्पनीको गोदाममा समेत विद्युत् चुहावट भई आगलागी प्रहरीले जनाएको छ । आगलागी हुँदा १२ वटा एलिग्रेटर ड्राफ्ट मेसिन जलेर करिब रु ७७ लाख बराबरको धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • भारतीय अभिनेत्री नोरा फतेही नेपालमा

    भारतीय अभिनेत्री नोरा फतेही नेपालमा

    ३ जेठ, काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताएकी छिन् । आज त्रिभुवन न्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताइन् । “म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो”, अभिनेत्री फतेहीले भनिन्, उनले नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको बताइन् ।

    उनी संयुक्त अरब इमिरेट्सबाट आज फ्लाई दुबईबाट नेपाल आएकी हुन् । उनको
    नृत्य टोलीमा रहेका अन्य २३ सदस्य शुक्रबार नै नेपाल आइसकेका छन् । उनले आजै तारागाउँस्थित ह्यात चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रम प्रस्तुति दिनेछिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेहीलाई नेपाल ल्याइएको वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिए ।

    उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानित रूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ ।”

    आयोजक कार्कीका अनुसार अभिनेत्री फतेही आइतबार बिहान भारत फर्किनेछिन् । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् । उक्त कार्यक्रममा नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ ।

  • जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु

    जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु

    एजेन्सी
    ३ जेठ, काठमाडौं । जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्याँस चुहावटको घटना भएको छ। सो घटनामा एक जना श्रमिकको दुःखद निधन भएको छ भने दुई जना श्रमिकहरू अस्पतालमा उपचाररत रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटना बिहान करिब १० बजेको समयमा भएको बताइएको छ।

    प्रशोधन केन्द्रको पाइप प्रणालीमा ग्याँस चुहावट भएको र केही श्रमिकहरू अचेत अवस्थामा भेटिएका छन्। प्रारम्भिक अनुमानअनुसार, चुहिएको ग्याँस विषालु हाइड्रोजन सल्फाइड हुन सक्ने जनाइएको छ। हाल घटनाको कारणबारे सम्बन्धित कम्पनीले आवश्यक अनुसन्धान गरिरहेको छ। सात लाख ७० हजार वर्ग मिटर क्षेत्रमा फैलिएको यो प्रशोधन केन्द्र समुद्री किनारमा अवस्थित र जापानकै एक प्रमुख इन्धन प्रशोधन स्थलको रूपमा परिचित छ।

  • युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

    युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

    एजेन्सी
    ३ जेठ, काठमाडौं । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। स्थानीय सैनिक प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त आक्रमणमा पूर्ण रूपमा क्षति पुगेको सानो बसको तस्बिरसहित जानकारी दिँदै मृतकको सङ्ख्या नौ पुगेको जनाएको हो। यसअघि अधिकारीहरूले आठ जनाको ज्यान गएको बताएका थिए। सुमी जिल्लातर्फ गइरहेको बसलाई बिलोपिल्लिया नगर नजिकै लक्षित गरी आक्रमण गरिएको सैनिक प्रशासनले जनाएको छ।

    यो विस्फोट युक्रेन र रूसबीच इस्तानबुलमा करिब तीन वर्षपछि भएको प्रत्यक्ष वार्ताको केही घण्टापछि भएको हो। वार्तामा दुवै पक्ष कैदीहरूको साटासाटमा सहमत भए पनि युद्धविराम नभएको र सम्भावित युद्धविरामका विषयमा विचारहरू आदान–प्रदान मात्र गरिएको जनाइएको छ। वार्तापछि किएभले युक्रेनको ठूलो भूभाग ध्वस्त पारिएको र लाखौँ मानिस विस्थापित भएको युद्ध रोक्नका लागि ‘बिना सर्त युद्धविराम’ चाहेको स्पष्ट पारेको छ। तर, मस्कोले यस्ता आह्वान अस्वीकार गर्दै करिब एक हजार कैदीहरू साटासाट गर्ने सहमतिको पक्षमा बल दिएको छ।

    युक्रेनका मुख्य वार्ताकार तथा रक्षामन्त्री रुस्तम उमरोभले अबको अर्को चरणमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुने बताएका छन्। यसैगरी मस्को र वासिङ्टनले पनि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच द्वन्द्व व्यवस्थापनबारे उचित छलफल आवश्यक रहेको जनाएका छन्।

  • इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

    इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

    एजेन्सी
    ३ जेठ, काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ । रिहा गरिएका व्यक्तिहरूलाई उपचारका लागि गाजाको केन्द्रमा रहेको देइर अल–बलाहस्थित ‘शहीदहरूका अल अक्सा अस्पताल’ पु¥याइएको स्थानीय प्यालेस्टिनी स्रोतहरूले जनाएका छन् ।

    अन्तर्राष्ट्रिय रेडक्रस समितिले एक विज्ञप्ति जारी गर्दै, बन्दीहरूलाई रिहा गर्न र उनीहरूलाई अस्पतालमा स्थानान्तरण गर्न अभियानले सहज बनाएको स्पष्ट पारेको छ । साथै, उक्त प्रक्रिया रिहा भएका व्यक्ति र उनीहरूका परिवारहरूबीच पुनः भेटघाट तथा सम्पर्क कायम गर्न पनि सहयोगी भएको जनाइएको छ ।


    इजरायली पक्षले गाजा क्षेत्रमा हजारौं महिला, बालबालिका तथा अन्य नागरिकलाई हिरासतमा लिई तीमध्ये धेरैलाई जबरजस्ती बेपत्ता पारेको आरोप लागेको छ । यसै क्रममा करिब ६० जना प्यालेस्टिनी इजरायली हिरासतमा यातनाका कारण ज्यान गुमाइसकेको बताइएको छ ।

  • बैतडीमा खुकुरी प्रहारबाट दुई जना घाइते

    बैतडीमा खुकुरी प्रहारबाट दुई जना घाइते

    ३ जेठ, बैतडी । स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई जना महिला घाइते भएका छन् । पुर्चौंडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले आज बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार आज बिहान धनवीरले दुवै जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको पाइएको छ ।

    घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छभने दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी प्रवक्ता बडूले जानकारी दिनुभयो । खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न गएको जनाउँदै उनले दिनेशलाई खुकुरी प्रहार गर्न गएका धनवीरले निजलाई घरमा नभेटेपछि दुई वृद्धामाथि आक्रमण गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प

    अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प

    एजेन्सी
    ३ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रूपमा व्यक्त गरेका छन् । अदालतले भेनेजुएली आप्रवासीहरूलाई शीघ्र निष्कासन गर्ने सरकारको प्रयासलाई रोकेको सन्दर्भमा उनले सो प्रतिक्रिया दिएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् ।

    “संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले जनताको मतद्वारा म प्राप्त गरिएका जिम्मेवारीहरू निर्वाह गर्न नदिएको अवस्था उत्पन्न भएको छ। यो दिन राष्ट्रका लागि चिन्ताजनक र खतरापूर्ण देखिन्छ।” राष्ट्रपति ट्रम्पले यस निर्णयले गम्भीर आपराधिक क्रियाकलापमा संलग्न, गिरोहसँग आवद्ध तथा मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त आप्रवासीहरूलाई पनि निष्कासन नगरी लामो कानुनी प्रक्रियामा राख्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

    उनका अनुसार, यस्तो प्रक्रिया खर्चिलो र दीर्घकालीन हुने भएकाले राष्ट्रको सुरक्षामा असर पर्न सक्ने देखिन्छ। गत मार्च महिनामा, राष्ट्रपति ट्रम्पले विदेशी शत्रु ऐन अन्तर्गत केही भेनेजुएली आप्रवासीहरूलाई न्यायिक प्रक्रिया अघि नबढाई एल साल्भाडोर पठाउने निर्णय लिएका थिए । सो निर्णय सर्वोच्च अदालतले अप्रिल १९ मा अस्थायी रूपमा रोकेको थियो। शुक्रबारको फैसलामार्फत अदालतले टेक्सास राज्यमा रहेका थप आप्रवासीहरूको प्रस्तावित निष्कासन कार्यलाई समेत हालका लागि स्थगन गरेको छ।

  • ‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व’

    ‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व’

    ३ जेठ, काठमाडौं । जलवायु परिवर्तनका प्रभाव घटाउन क्रियाशील विभिन्न क्षेत्रका विज्ञले हिमाल हिमाल जीवनशैलीका प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व भएकामा जोड दिएका छन् । सगरमाथा संवादको दोस्रो दिन आज ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा उनीहरुले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपररिहार्य भएकामा जोड दिएका हुन् ।हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म संस्कृति र रहनसहन, वन्यजन्तु, जैविक विविधता र पर्यटनका लागि पनि हिमालको संरक्षण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।


    विश्ववन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले प्रमुख वक्तव्य दिएका थिए । अक्सफामका नदी बेसिन प्रबन्धक राजन सुवेदी, ओमानका सगरमाथा आरोही नाधिरा अल–हार्थी, युगान्डाको जल तथा वातावरण मन्त्रालयका सहायक आयुक्त मौरीन अनिनो, सगरमाथा प्रदूषण नियन्त्रण समिति प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले आफ्ना अनुभव र विज्ञतासहित धारणा व्यक्त गरे ।
    हिमाली क्षेत्रले पृथ्वीको २२ प्रतिशत भाग ओगटेको छ । हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीले विश्वका करिब आधा जनसङ्ख्याको जीविकोपार्जनमा सहयोग गर्दै आएको जनाइएको छ । हिन्दूकुश हिमालय क्षेत्र, यसको अद्वितीय र विविध संस्कृति, भाषा, धर्म, विश्वास, एक हजारभन्दा बढी भाषाहरू र परम्परागत ज्ञान प्रणालीले वार्षिक रूपमा सात करोडभन्दा बढी पर्यटकलाई आकर्षित गर्दछ । हिमाली पारिस्थितिकीय प्रणालीको अखण्डतालाई सुदृढ गर्ने नवीन समाधान पहिचान गर्ने, धेरै जनसङ्ख्यालाई लाभ पु¥याउन प्राकृतिक पुँजीमा लगानी बढाउने तरिकाहरू अन्वेषण गर्ने उद्देश्यसहित यो सत्र सञ्चालन गरिएको थियो ।

  • गृहमन्त्री लेखक र पाण्डे सगरमाथा आधार शिविरमा

    गृहमन्त्री लेखक र पाण्डे सगरमाथा आधार शिविरमा

    ३ जेठ, सोलुखुम्बु । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर भ्रमणमा पुगेका छन् । पर्यटकीय यामका सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न भन्दै उनीहरु आज खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् । दुवै मन्त्रीलाई लिएर गएको हेलिकप्टर बिहानै खुम्बु क्षेत्रमा अवतरण गरेको थियो ।


    भ्रमणका क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए । उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै सरकारको नीति यस्तो सेवालाई सहज र संयमित बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे ।


    गृहमन्त्री लेखकले भने , “सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले अब फरक ढङ्गले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ, हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौँ ।” हालसम्म सगरमाथा क्षेत्रमा उद्धारबाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने भन्ने स्थानीय माग हुँदै आएको छ ।

    गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको हो । अर्कोतर्फ पर्यटन व्यवसायीहरुले अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन् । गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
    त्यसैगरी पर्यटनमन्त्री पाण्डेले सरकार नेपालको पर्यटन विकासमा गम्भीर रहेको बताए । उनले सगरमाथा जस्तो विश्व प्रसिद्ध गन्तव्यको अवस्थालाई नियालेर आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनका काम अघि बढाइने उल्लेख गरे । “हामीले हिमाल र हिमाली क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौँ, यसै सन्दर्भमा हामी आधार शिविरमा उपस्थित भएका छौँ र यहाँको समस्या उजागर गर्दै समाधानतर्फ उन्मुख हुनेछौँ”, मन्त्री पाण्डेले भने ।

    सो अवसरमा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले सगरमाथा क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि विभिन्न सुझाव र माग प्रस्तुत गरेका थिए । तीमध्ये आधार शिविरमा सञ्चार सेवा विस्तार, लुक्ला–खुम्बु जोड्ने सडकको स्तरोन्नति, बेसक्याम्पमा आपत्कालीन हेलिकप्टर सङ्ख्या वृद्धि, आरोही कल्याणकारी कोषको स्थापनाजस्ता माग प्रमुख थिए ।

    यस्तै कीर्तिमानी आरोही कामी रिता शेर्पालगायत प्रतिनिधिले सम्पर्क अधिकृतको सङ्ख्या बढाउन, खुम्बु क्षेत्रमा बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई पाँच वर्षको म्याद थप गर्नुपर्ने सुझाव राखे । पर्यटनमन्त्री पाण्डेले प्रस्तुत सुझावप्रति सकारात्मक दृष्टिकोण व्यक्त गर्दै सरकारका तर्फबाट व्यवसायी तथा स्थानीयको चासो र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

    धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

    ३ जेठ, काभ्रेपलाञ्चोक । धुलिखेलमा विद्युत्को खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाको अनुसन्धानका लागि कार्यालयबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।

    तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ । विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यसक्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले लाइनको वरिपरी गाईवस्तु नछाड्न, विद्युत्को खम्बालगायतका विद्युतीय सामग्री नछुन सार्वजनिक आह्वान गरेको थियो । मृतक परियारको शवलाई खम्बाबाट निकालेर शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

  • देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री

    देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री

    ३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमत सरकार आवश्यक भएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई बिगार्न नदिन र बिना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेको बहुमतको सरकारका आवश्यक भएको बताए ।

    “मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला गर्यौं, स्वार्थ समूहको भ्रमबाट मुक्त हुनुपर्छ, एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनुपर्छ”, अध्यक्ष ओलीले भने, “म युवालाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उकास्न चाहन्न । एमालेमा आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ ।” उनले मेस्सी, एम्बापे जस्ता फूटबल खेलाडी एकै पटक नबनेको प्रसङ्ग उल्लेख गर्दै उनले रहर लाग्ने वित्तिकै चिकित्सक, इञ्जिनियर कोही नबन्ने भनाइ राखे । कार्यक्रममा युवा चिकित्सक, इञ्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए । त्यस अवसरमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो ।

  • शनिवारीय तस्वीर समाचार : जुम्लाको स्याउदेखि वीरगन्जको गुलमोहसम्म

    शनिवारीय तस्वीर समाचार : जुम्लाको स्याउदेखि वीरगन्जको गुलमोहसम्म

    ३ जेठ, काठमाडौं । मौसम परिवर्तनसँगै यतिबेला देशैभर अपर्झट वर्षा हुने क्रम जारी छ । हिमालहरु खुल्न थालेका छन् । तराई भेगमा भने चर्को गर्मी छ । वसन्त ऋतुको अन्त्य हुने क्रम जारी छ । बोटविरुवामा नयाँ पालुवा पलाएको छ । यस अंकमा शनिवारीय तस्वीर कथा राखिएको छ । जसमा जुम्लामा स्याउका बगैचादेखि वीरगन्जको गुलमोहसम्म उल्लेख छ ।

    सावित्री अर्थात् वर्साइत पर्व नजिकिँदै गर्दा सुनसरीको कोसी गाउँपालिकाको लौकही बजारमा बिक्री गर्न राखिएको चङ्गेर र बैना । चङ्गेर र बैना प्रतिगोटा २५० रुपियाँले बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर : नवीन गड्तौला / रासस
    झापाको बिर्तामोडबाट खुदुनाबारी हुँदै इलाम जाने सडकमा पर्ने बिरिङ खोलामा भत्किएको पुलमा सवारीसाधन मार्फत जोखिमपूर्ण यात्रा गर्दै स्थानीय । तस्बिर : राजकुमार ओली रासस
    वीरगन्जस्थित मधेस विश्वविद्यालय परिसरमा ढकमक्क फुलेको गुलमोहर । शुक्रबार पानी परेपछि यहाँको मौसम खुलेको छ । तस्बिर : हिमाल लम्साल / रासस
    जुम्लाको गुठीचौर गाउँपालिका-४स्थित स्थानीयको स्याउ बगैँचा । वैशाखको दोस्रो साता परेको असिना पानीले स्याउ बगैँचामा क्षति गरेपछि उत्पादनमा कमि आउने भएको छ । तस्बिर : विजय रावत / रासस
    सिरहाको लहान-१ स्थित मटिहर्वा चोकमा शनिबार बिहान तरकारी तथा कृषि उपज किनबेच गर्दै स्थानीय । यहाँका किसानले आफूले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि स्थानीय बजारमा ल्याउने गरेका छन् । तस्बिर : सुदिप राउत / रासस
  • आज पनि देशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

    आज पनि देशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

    ३ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री

    मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री

    ३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमालेका महासचिव एवं जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत मदन – आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गर्नुभएको हो ।

    “मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं । उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ । मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु”, प्रधानमन्त्रीले लेखेका छन् । प्रधानमन्त्री ओलीले ३२ वर्ष अगाडि आजको दिन आफूहरूले जननेता भण्डारी र कुशल सङ्गठक आश्रितलाई गुमाएको बताएका छन् ।

    “जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो”, प्रधानमन्त्रीले भनेका छन् । तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित २०५० जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा निधन भएको थियो ।

  • आज ३२ औँ मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज ३२ औँ मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    ३ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका छन् ।


    विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो । विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो ।

    उक्त परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ । त्यसपछि एमाले कार्यालय कहिले धूम्रबाराही त कहिले थापाथली सारिएको थियो । हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ । मदन आश्रित स्मृति दिवसका दिन भने बल्खुस्थित सोही कार्यालय र त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउने गरेको छ ।

  • कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

    कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

    ३ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आरेकी छिन् । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले सो आग्रह गरेकी हुन् । परराष्ट्रमन्त्री डा राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।

    मन्त्री डा राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरेकी छिन् । यसअघि पनि मन्त्री डा राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गरेकी छिन् ।


    सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री डा राणाले विश्व समुदायसँग आग्रह गर्दै आएकी छिन् । शुक्रबारको सो भेटका क्रममा मन्त्री डा राणाले सगरमाथा संवादमा भएको कतारको सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्नका लागि गर्न सकिने सहकार्यका बारेमा पनि कुराकानी गरेकी छिन् ।

  • अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता

    अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता

    २ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग २०० अर्ब डलरभन्दा बढीको सम्झौता घोषणा गरेको छ । सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्वपूर्ण खनिजहरू समावेश गरिएको छ । जीई एरोस्पेसले इतिहाद एयरवेजबाट जिइ इन्जिनद्वारा सञ्चालित बोइङ र विमान खरिद गर्नका लागि १४।५ बिलियन डलरको सम्झौता गरेको ह्वाइट हाउसले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । ‘इमिरेट्स ग्लोबल एल्युमिनियम’ ले ओक्लाहोमा राज्यमा चार अर्ब डलरको प्राथमिक एल्युमिनियम गाल्ने परियोजनामा लगानी गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    एक्सोनमोबिल, अक्सिडेन्टल पेट्रोलियम र इओजी रिसोर्सेजले अबु धाबीको नेसनल आयल कम्पनीसँग ६० अर्ब डलरको तेल र प्राकृतिक ग्यासको उत्पादनका लागि सहकार्य गरिरहेको छ । यसैगरी आरटीएक्सले इमिरेट्स ग्लोबल एल्युमिनियम र युएईको काउन्सिल तवाजुनसँग चर्चित ‘ग्यालियम प्रोजेक्ट’ मा साझेदारी गरिरहेको छ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साउदी अरब र कतारको भ्रमणपछि युएईको भ्रमण गरेका हुन् ।

  • चितवनमा धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

    चितवनमा धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

    २ जेठ, चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् । भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् । उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए ।


    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफँैमाथि प्रहार गरेको उनले जानकारी दिए ।

    घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । निज गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिए । घटना आज बिहान ९ः४५ बजेको समयमा भएको हो । रासस

  • काठमाडौंको बानेश्वर नजिक कारको ठक्करबाट घाइते बालकको मृत्यु

    काठमाडौंको बानेश्वर नजिक कारको ठक्करबाट घाइते बालकको मृत्यु

    २ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उचारका क्रममा आज मृत्यु भएको छ ।
    मृत्यु हुनेमा भारतको सितामढी घर भई हाल काठमाडौँ–३१ कात्यानी चोक तीन वर्षीय बालक शिवाङ्श झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनका अनुसार कात्यानीबाट भिमसेनगोलातर्फ जाँदै गरेको कात्यानी बस्ने ५५ वर्षीय रमेशकुमार श्रेष्ठले चलाएको बा प्र ०१–०३१ च ९५६३ नम्बरको सुजुकी डिम्याक्स गाडीले ठक्कर दिँदा केएमसी अस्पताल सिनामङ्गल लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको हो । सवारी चालक श्रेष्ठ, सवारी साधन र कागजपत्र प्रहरी बृत्त वानेश्वरको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

  • हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति

    हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति

    २ जेठ, गाईघाट । वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आज बिहान वर्षासँगै हावाहुरी र आँधी आउँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय तथा घरमा क्षति भएको हो । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जिल्लाको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडामा हावाहुरीका कारण स्थानीय हर्क श्रेष्ठको घर, ध्रुव खत्री, सम्भव अधिकारीको घरको छानो उडाएको जानकारी दिए ।

    उदयपुरगढी गाउँपालिका–६ को जगेटारस्थित माध्यमिक विद्यालयको सबै छानो हावाहुरीले उडाएको छ । त्रियुगा नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीका कारण करिब रु २२ लाख ६० हजारभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक दोङले बताए । जिल्लाको अन्य स्थानमा थप क्षति भएका हुनसक्ने भन्दै तथ्याङ्क सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए ।

  • कामदारको हत्या आरोपमा दम्पत्ति पक्राउ

    कामदारको हत्या आरोपमा दम्पत्ति पक्राउ

    २ जेठ, म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पत्ति पक्राउ परेका छन् । ४६ वर्षीय मनबहादुर दमाईको हत्या आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पत्ति पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जङ्गलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । हत्या आरोपी दम्पत्तिलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

    अनुसन्धानका क्रममा ती दम्पत्तिले हत्या गरी शव लुकाएको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । आरोपित दम्पत्तिले बाउँसोको बिँडले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेपछि घटनालाई लुकाउन जङ्गलमा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पौडेलले बताए । आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • सर्वोच्चको आदेशपछि थुनामुक्त भए राप्रपा उपाध्यक्ष मिश्र

    सर्वोच्चको आदेशपछि थुनामुक्त भए राप्रपा उपाध्यक्ष मिश्र

    २ जेठ, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
    न्यायाधीशद्वय डा कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको हो । आदेशमा भनिएको छ, “हालसम्मको अनुसन्धान तहकिकातको अवस्थालाई हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण सङ्कलन सम्पन्न भइसकेको, थप प्रमाण सङ्कलन गर्नुपर्ने भए सो बमोजिम सङ्कलन गर्न पनि नसकिने अवस्था नरहेको तर, निजलाई हिरासतमै राख्नुपर्ने सम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरी दिनु ।”

    राप्रपा नेता मिश्रलाई गत चैत १५ गते पक्राउ गरिएको थियो । प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँबाट पटक पटक अनुमति लिएको थियो । उनलाई अनुसन्धानकै लागि हालसम्म हिरासतमा राखिएको थियो । जिल्ला अदालतबाट गत वैशाख १० मा हिरासतमा राख्न अनुमति दिँदा नै निजबाट सङ्कलन गर्नुपर्ने प्रमाणहरु सङ्कलन भइसकेको अवस्था देखाइ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको हो ।

  • देशैभर विद्युत अनियमित, सिंहदरवारमा मोवाइलको उज्यालामा समिति बैठक चलाइयो

    देशैभर विद्युत अनियमित, सिंहदरवारमा मोवाइलको उज्यालामा समिति बैठक चलाइयो

    काठमाडौं । काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध हुँदा मोवाइलको बत्तिमा बैठक चलाउनु परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको छ । बैठकमा सहभागी सांसदहरुका अनुसार विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको हो ।

    अबेरसम्म उपसमितिमा शिक्षा विधेयकबारे छलफल भएको थियो । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई अघि बढाउन प्राथमिकता दिइरहेको छ । उता नेपाल विद्युत प्राधिकरणले बिहीबार भारतका कारण बिजुली अवरुद्ध भएको स्पष्टीकरण दिएको थियो । तर, सोही समस्या आज पनि दोहोरिएपछि सामाजिक संजालमा सरकार र प्राधिकरणको चर्को आलोचना भइरहेको छ ।

  • हावाहुरीका कारण रुख ढल्दा सुनवलमा २ जनाको मृत्यु

    हावाहुरीका कारण रुख ढल्दा सुनवलमा २ जनाको मृत्यु

    २ जेठ, सुनवल । हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ । रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए । प्रतिक्षालयमाथि नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    रुखले च्यापेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ । यसैगरी शुक्रबार बिहान कैलालीमा पनि हावाहुरीले ढालेको रुखले लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको थियो।