Category: फिचर

  • प्रहरी परिसरको गेटबाटै भागेका थुनुवालाई आजै असनबाट पक्राउ

    प्रहरी परिसरको गेटबाटै भागेका थुनुवालाई आजै असनबाट पक्राउ

    ७ जेठ, काठमाडौं । म्याद थप गरेर ल्याउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट भागेका एक जना थुनुवालाई आजै प्रहरीले असनबाट पक्राउ गरेको छ । यसरी पक्राउपर्नेमा थुनुवामा दोलखाको बैदेश्वर गाउँपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२४ नरदेवी बस्ने वर्ष २४ का निशान परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थपगरी ल्याउने क्रममा उनी आज १२ः२१ बजेको समयमा जिल्ला प्रहरी परिसर, काठमाडौँको गेट नजिकबाट भागेका थिए ।

    उनको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–२४ असनको याट्खा टोलबाट आजै साँझ १८ः१८ बजे लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बोहराले बताए । गत वैशाख ३१ गते उनलाई काठमाडौँ महानगरपालिका–१५ चमतीबाट पक्राउ गरी अभद्र व्यवहार कसुरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकामा आज यहाँ म्याद थपका लागि ल्याइएको थियो ।

  • पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

    पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

    ७ जेठ, काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । समितिको आजको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले जानकारी दिए ।

    यसअघि समितिले उक्त विमानस्थल निर्माणमा अनियमिता भएको उजुरीका आधारमा सदस्य राजेन्द्र लिङदेनको संयोजकत्वमा छानबिन अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले प्रतिवेदनमा औँल्याएका विषयका आधारमा समितिले छानबिन अघि बढाउन आयोगलाई आज निर्देशन दिएको हो । उपसमितिले गत वैशाख १५ गते बुझाएको प्रतिवेदनका आधारमा थप अध्ययन, अनुसन्धान गरी दोषी देखिएमा मुद्दालगायतका कानुनी कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई दिन आयोगलाई पत्राचार गरिएको जनाइएको छ ।

  • त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, गृहका सहसचिव पक्राउ

    त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, गृहका सहसचिव पक्राउ

    ७ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मापरेको छ । अख्तियारले बुधबार नै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई समेत पक्राउ गरेको छ । उनलाई बिहीबार उपस्थित हुनेगरी साँझ छाडिएको छ ।

    उनी यसअघि विमानस्थल अध्यामगन कार्यालयको प्रमुख थिए । उनलाई पक्राउ गर्नुका साथै छापा मार्नुको कारण मानव तस्करीसँग सेटिङ गरेको आरोप लागेको स्रोतले बताएको छ । उनको मोबाइल अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा संलग्नता रहेको पाइएको र यसबारे विस्तृत अनुसन्धान भइरहेको समेत स्रोतको दावि छ ।


    प्रारम्भिक अनुसन्धानमा साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पार गराउने गरिएको थियो । विमानस्थल अध्यागमनमा २४ घन्टा ड्यूटी हुने भएकाले तीन समूहमा कर्मचारी खटाउने गरिन्छ । त्यसमा हरेक समूहका प्रमुखसँग समेत मिलेमतो हुने आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

  • नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल

    ७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे । “वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ”, उनले भने, “नियमन र सुपरीवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछ । यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनुपर्नेछ ।”

    बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उनले बताए । राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर मात्रै निर्णय लिने उहाँको भनाई छ । “नीति निर्माण भनेको संवादमा आधारित हुनुपर्छ । म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन । सबै सरोकारवाला निकायहरुसँग छलफल गरेर जान्छौँ”, गभर्नर पौडेलले भने । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टको राजीनामा स्वीकृतको विषय राष्ट्र बैंकको आन्तरिक मामिला भएको धारणा पनि उनले राखे । नवनियुक्त गभर्नर डा पौडेलले रु ५० र एक हजार दरका बैंक नोट छपाइसँग सम्बन्धित निर्णयमा हस्ताक्षर गरेका छन् ।

  • काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति

    काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति

    ७ जेठ, काठमाडौं । काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति पुगेको छ । आज बिहान गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौँ महानगरपालिका ८ पिङ्लास्थान नजिक सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बससहित आठ वटा सवारीसाधनमा क्षति भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार उक्त दुर्घटनामा बाबा गोकर्णेश्वर यातायातको बससहित एउटा हायस, तीन वटा कार, दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा क्षति पुगेको छ । उक्त दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौँको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका-२ भई हाल टोखा बस्ने २२ वर्षीय विकाश कट्टेल र खोटाङ हलेसी टुवाचुङ नगरपालिका-५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका उनले बताए ।

    अनियन्त्रित भएर पल्टिएको बा५ख ६७३५ नम्बरको सार्वजनिक बसका चालक भने फरार भएकाले निजको खोजी जारी रहेको बताउँदै प्रहरी उपरीक्षक बोहराले घटनाको विस्तृत रूपमा अनुसन्धान भइरहेको जानकारी दिए ।

  • आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

    आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

    ७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ ।

    विभागका महानिर्देशक कमलराम जोशीले अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको बताए । “यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश “भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ,” उनले भने, सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।”

    त्यसैगरी मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको जोशीले बताए । जोशीले अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ र सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भू–भाग, कर्णाली प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग, गण्डकी प्रदेशको पश्चिमी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र बागमती प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको बताए ।


    “त्यसैगरी मधेश प्रदेशको पूर्वी भू–भाग र गण्डकी प्रदेशको मध्य भू–भागमा सरदर भन्दाबढी रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ र देशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ,” उनले भने । विभागले न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ जनाएको छ ।

    “कर्णाली र बागमती प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशको मध्य भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशको तराई भू–भागमा न्यूनतम तापकम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग र कोशी प्रदेशको उत्तरी भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दाबढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।”

    विभागका अनुसार यस आँकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपहरूको आँकलन र दक्षिण एसियाली जलवायु मौसमी दृष्टिकोण मञ्च आँकलनको आधारमा तयार गरेको हो ।

  • नवनियुक्त गभर्नरले गरे पदभार ग्रहण

    नवनियुक्त गभर्नरले गरे पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त गभर्नर प्रा डा विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । उनले बुधबार केन्द्रिय बैंक पुगेर पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनले ५० र १ हजार दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर समेत गरे । पत्रकार सङ्ग छोटो कुराकानी गर्दै पौडेलले अर्थ नीति सफल बनाउन राष्ट्र बैङ्कले भुमिका खेल्ने बताए ।

  • चितवनमा पौडी पोखरीमा डुबेर युवकको मृत्यु, आठ जना पक्राउ

    चितवनमा पौडी पोखरीमा डुबेर युवकको मृत्यु, आठ जना पक्राउ

    ७ जेठ, चितवन । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए ।साथीहरूसँग पौडी खेल्न गएका निजलाई डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

  • डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

    डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

    एजेन्सी\रासस
    ७ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार कोभिड–१९ सङ्कटबाट उत्पन्न भएको तीन वर्षभन्दा बढी वार्तापछि भविष्यको स्वास्थ्य सङ्कटसँग जुध्न एउटा ऐतिहासिक महामारी सम्झौता स्वीकृत गरेको छ । यो सम्झौताको उद्देश्य भविष्यका कुनै पनि महामारीमा विश्वव्यापी समन्वय र निगरानी तथा खोपहरूको पहुँच सुधार गरेर कोभिड–१९ महामारीको वरिपरि रहेको अव्यवस्थित प्रतिक्रिया र अन्तर्राष्ट्रिय अव्यवस्थालाई रोक्नु हो । डब्लुएचओको निर्णय गर्ने वार्षिक सभाले मङ्गलबार जेनेभाको मुख्यालयमा उक्त योजना स्वीकृत गरेको हो ।

    “यो एक ऐतिहासिक दिन हो”, डब्लुएचओ प्रमुख टेड्रोस अधानम घेबरेयसले मतदानपछि भने । धेरै चरणको तनावपूर्ण वार्तापछि गत महिना सहमतिमा सम्झौताको पाठलाई अन्तिम रूप दिइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट आफ्नो देश फिर्ता लिने निर्णय गरेपछि संयुक्त राज्य अमेरिका ती वार्ताहरूबाट बाहिरिएको थियो । अमेरिका बाहिरिने प्रक्रिया पूरा हुन एक वर्ष लाग्छ ।

    “हामी सदस्य राष्ट्रहरूको नेतृत्व, सहकार्य र प्रतिबद्धताका कारण ऐतिहासिक डब्लुएचओ महामारी सम्झौता अपनाउन विश्व आज सुरक्षित छ”, टेड्रोसले एक विज्ञप्तिमा भने, “यो सम्झौता सार्वजनिक स्वास्थ्य, विज्ञान र बहुपक्षीय कार्यका लागि एक विजय हो । यसले हामीलाई सामूहिक रूपमा भविष्यका महामारी खतराहरूबाट विश्वलाई अझ राम्रोसँग सुरक्षित गर्न निश्चित गर्नेछ । हाम्रा नागरिक, समाज र अर्थतन्त्रहरू फेरि कोभिड–१९ को समयमा भोग्नु परेको जस्तो नोक्सान भोग्न नपरोस् भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले पनि मान्यता दिएको छ ।”

    सम्झौताको उद्देश्य अधिक अन्तर्राष्ट्रिय समन्वय र निगरानी तथा खोप र उपचारहरूमा अधिक न्यायसङ्गत पहुँचमा ध्यान केन्द्रित गरेर महामारीहरू राम्रोसँग पत्ता लगाउन र लड्न सुधार गर्नु हो । पछिल्लो कोभिड–१९ महामारीको समयमा खोपहरूको पहुँचबाट काटिएको महसुस गर्दै धनी र विकासोन्मुख देशहरूबीच असहमतिले वार्ताहरू तनावपूर्ण बन्यो । यो सम्झौताले राज्यको सार्वभौमसत्तामा अतिक्रमण गर्ने ठान्नेहरूको विरोधको सामना गर्‍यो ।

    File Photo REUTERS/Danish Siddiqui/THT

    सम्झौताको रोगजनक पहुँच र लाभ–साझेदारी संयन्त्रको विवरण बाहिर निकाल्न देशहरूसँग २०२६ मे महिनासम्मको समय छ । पिएबिएस संयन्त्रले महामारीको सम्भावना भएका रोगजनकहरूमा पहुँच साझा गर्ने र त्यसपछि तिनीहरूबाट प्राप्त फाइदाहरू साझा गर्नेः खोप, परीक्षण र उपचारसँग सम्बन्धित छ । एक पटक पिएबिएस प्रणालीलाई अन्तिम रूप दिइएपछि सम्झौता अनुमोदन गर्न सकिन्छ । सन्धि लागु हुन ६० वटा अनुमोदन आवश्यक छ । दक्षिण अफ्रिकाकी प्रेसियस मात्सोसो र फ्रान्सका विश्व स्वास्थ्य राजदूत एन–क्लेयर एम्प्रोले सम्झौतामा अग्रसर भएको वार्ताहरूको सह–अध्यक्षता गरेका थिए) ।

    “यसको उद्देश्य नियम–आधारित, भविष्य–सुरक्षित प्रणाली सिर्जना गर्नु हो जुन समयको परीक्षणमा खरो उत्रिनेछ । यसले देशहरूको सार्वभौमिकतालाई कमजोर पार्दैन र पार्नेछैन”, उनले सोमबार सभालाई भने, “बढ्दो भूराजनीतिक तनाव र भूकम्पीय परिवर्तनहरूको समयमा यो सम्झौता विश्व अझै पनि एकसाथ रहेको प्रमाण हो ।”

  • अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, ऋणी लाभान्वित हुने

    अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, ऋणी लाभान्वित हुने

    एजेन्सी\रासस
    ७ जेठ, काठमाडौं । अष्ट्रेलियाको केन्द्रीय बैंकले हालै मौद्रिक नीतिमा परिवर्तन गर्दै आफ्नो औपचारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा ल्याएको छ। यो सन् २०२५ को दोस्रो ब्याजदर कटौती हो, जुन निर्णय मंगलबार बैंकको सञ्चालक समितिको बैठकपछि सार्वजनिक गरिएको हो। बैंकले जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि (मुद्रास्फीति) लाई स्थिर र नियन्त्रणमा राख्ने उद्देश्यसहित ब्याजदर घटाइएको उल्लेख गरिएको छ।

    सन् २०२२ मा अष्ट्रेलियामा मुद्रास्फीति अत्यन्त उच्च विन्दुमा पुगेको थियो, जसले गर्दा त्यतिबेला केन्द्रीय बैंकले निरन्तर रूपमा ब्याजदर बढाउँदै आएको थियो। ती नीतिहरूले समग्र माग र आपूर्तिबीच सन्तुलन ल्याउन केही हदसम्म सफलता पाएको बैंकले जनाएको छ। हालको स्थितिमा मूल्यवृद्धि केही ह्रास भएको देखिएको र आर्थिक गतिशीलता बढाउन ब्याजदर घटाउने निर्णय गरिएको हो।

    साथै, बैंकले पछिल्ला तीन महिनामा विश्वभर आर्थिक अनिश्चितता बढेको र यसको असर अष्ट्रेलियाली अर्थतन्त्रमा पनि पर्ने भएकाले सावधानीपूर्वक नीति बनाइरहेको जनाएको छ। घरेलु बजारको अवस्था अझै स्पष्ट नभएको र उपभोक्ता तथा व्यवसायीहरूको व्यवहार कसरी परिवर्तन हुन्छ भन्ने कुराले आगामी निर्णयहरूलाई प्रभावित पार्ने बैंकको भनाइ छ।

    यस परिवर्तनले ऋण लिनेहरूलाई राहत मिल्ने र लगानी प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। तर, आर्थिक वातावरण अझै पूर्ण रूपमा स्थिर नभएकाले केन्द्रीय बैंकले आगामी महिनाहरूमा पनि परिस्थिति अनुसार कदम चाल्ने जनाएको छ।

  • जापानी कम्पनी होन्डाले इभी सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

    जापानी कम्पनी होन्डाले इभी सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

    एजेन्सी\रासस
    ७ जेठ, काठमाडौं । जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय सवारी साधन (विद्युतचालित गाडी) सम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मको लागि तोकिएको लगानी १० ट्रिलियन येन (झण्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करीब ४८ अर्ब डलर) बनाउने घोषणा गरेको छ। यो लगानीमा ३० प्रतिशत कटौती हो। कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो तीव्र रुपमा विद्युतचालित सवारी साधनको स्वीकृति नपाएको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता बढिरहेको जनाउँदै यस्तो निर्णय लिएको हो।

    कम्पनीका अध्यक्ष तोशिहिरो मिबेका अनुसार अब सन् २०३० सम्ममा होन्डाको कुल सवारी साधन बिक्रीमध्ये विद्युतचालित सवारीको हिस्सा २० प्रतिशत मात्र रहनेछ, जुन पहिलाको लक्ष्य ३० प्रतिशत थियो। क्यानडामा निर्माण गर्न लागिएको ब्याट्री र विद्युतचालित सवारी उत्पादन केन्द्रको निर्माण कार्य सन् २०२८ मा सुरु हुने भनिएको थियो, तर अब उक्त योजना दुई वर्ष पछाडि सारिएको छ। कम्पनीले त्यस अवधिमा अवस्था मूल्यांकन गरेर योजना अगाडि बढाउनेछ।

    यद्यपि लगानी घटाइएको भए पनि, कम्पनीले सन् २०४० सम्म आफ्ना सम्पूर्ण नयाँ सवारी साधनहरूलाई विद्युतचालित वा इन्धनको सट्टा बिजुली प्रयोग गर्ने बनाउने दीर्घकालीन लक्ष्य यथावत राखेको छ। त्यसैगरी, होन्डाले सन् २०३० सम्म हालको तुलनामा दोब्बर अर्थात् २२ लाख हाराहारीमा मिलेजुले (हाइब्रिड) सवारीको बिक्री गर्ने लक्ष्य राखेको छ। आगामी चार वर्षभित्र १३ वटा नयाँ मिलेजुले सवारी बजारमा ल्याउने योजना पनि कम्पनीको छ। त्यसैगरी, होन्डाले अत्यधिक नाफा दिने मोटरसाइकल व्यवसायमा ध्यान केन्द्रित गर्ने भएको छ। हाल ४० प्रतिशत रहेको विश्व बजार हिस्सालाई ५० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

  • इलोन मस्कको कम्पनी स्टारलिंकले बङ्गलादेशमा थाल्यो सेवा

    इलोन मस्कको कम्पनी स्टारलिंकले बङ्गलादेशमा थाल्यो सेवा

    एजेन्सी
    ७ जेठ, काठमाडौं । इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’ ले बङ्गलादेशमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । स्टारलिङ्कले मङ्गलबार साँझ आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, ‘स्टारलिङ्कको उच्च गतिको र न्यून विलम्ब भएको इन्टरनेट सेवा अब बङ्गलादेशमा उपलब्ध भएको’ उल्लेख गरेको छ ।

    बङ्गलादेश सरकारका प्रमुख सल्लाहकारका विशेष सहायक फैज अहमद तैयबले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, स्टारलिङ्कले बङ्गलादेशमा औपचारिक रूपमा सेवा सुरु गरिसकेको पुष्टि गरे । तैयबज्यूका अनुसार, यो सेवा परम्परागत सेवाहरूको तुलनामा केही महँगो भए तापनि गुणस्तरीय, स्थायी तथा उच्च गतिको इन्टरनेटको विकल्पका रूपमा उपयोगी हुने विश्वास गरिएको छ ।

    यो सेवाले गैरसरकारी संस्था, स्वतन्त्र पेशाकर्मी, नवप्रवर्तनकर्ता तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वर्षभर अवरोधरहित इन्टरनेट सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

  • बिर्तामोडका भित्रि सडक धमाधम कालोपत्र

    बिर्तामोडका भित्रि सडक धमाधम कालोपत्र

    रासस
    ७ जेठ, झापा । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ ।

    विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताए । यो सडक आरपी समता जेभीले रु ५८ करोडमा निर्माणको ठेक्का लिएको हो ।


    बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा रु पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले रु ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले रु एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ ।

    वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको रु छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताए । विर्तामोड–४ स्थित हर्कलाल मार्गको स्तरोन्नति तीन खण्डमा भइरहेको छ । प्रदेश र नगरपालिकाको लगानीमा निर्माणाधीन उक्त सडकको बीचको खण्डमा कालोपत्र भइसकेको छभने पहिलो र अन्तिम खण्डमा काम जारी छ । उक्त सडकको पहिलो खण्ड रु एक करोड १३ लाख, दोस्रो खण्ड रु छ करोड र अन्तिम खण्ड रु एक करोड ११ लाखमा ठेक्का लागेको हो ।

    कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको रु दुई करोड ६० लाख समपूरक बजेटबाट दाहाल गाउँबाट लालमाटी चोक पश्चिम खण्डसम्म एक किलोमिटर क्षेत्रमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । यहाँ केही दिनमा सडक कालोपत्र गरिने निर्माण व्यवसायी दिनेश मैनालीले जानकारी दिए । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाईँले सडक स्तरोन्नतिको निरन्तर अनुगमन भइरहेको बताए ।

  • गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

    गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

    एजेन्सी
    ७ जेठ, काठमाडौं । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म गाजा पट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । इजरायलले हालैका दिनहरूमा यस क्षेत्रमा अर्को ठूलो आक्रमण सुरु गरेको छ र हमासले कब्जा गरेका दर्जनौँ बन्धकलाई फिर्ता गर्ने तथा उग्रवादी मूहलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ ।

    सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अनिकालको डर उत्पन्न गरेको यस क्षेत्रका २० लाख प्यालेस्टिनीमाथिको नाकाबन्दी हटाउन दबाब दिइएको बताउँदै पहिलो पटक साढे दुई महिनामा गाजामा सहायता ट्रकहरूको सानो सङ्ख्या प्रवेश गर्न अनुमति दिन थालेका हुन् ।


    तर संयुक्त राष्ट्रसङ्घका निकायहरूले प्रवेश गरेका थोरै ट्रकहरू खाद्यान्न, औषधि र अन्य आपूर्तिको विशाल आवश्यकता पूरा गर्न कहीँ पनि पर्याप्त नभएको बताएका छन् । यस वर्षको सुरुमा युद्धविरामको समयमा दैनिक छ सय ट्रक प्रवेश गरेका थिए । उत्तरी गाजामा एक परिवारको घर र एक विद्यालय–बनेको–आश्रयमा भएका दुई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    (250519) — GAZA, May 19, 2025 (Xinhua) — The photo released by Israel Defense Forces on May 19, 2025 shows Israeli troops during an operation in the Gaza Strip. Israeli Prime Minister Benjamin Netanyahu said on Monday that Israel will take control of Palestine’s entire Gaza Strip, while speaking on recently intensified Israeli military operations. (Israel Defense Forces/Handout via Xinhua)

    मध्य सहर देइर अल–बालाहमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने नजिकैको निर्मित नुसिरात शरणार्थी शिविरमा भएको अर्को आक्रमणमा १५ जनाको मृत्यु भएको अल–अक्सा शहीद अस्पतालले जनाएको छ । दक्षिणी सहर खान युनिसमा भएको दुई आक्रमणमा १० जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ । इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । सेनाले केवल उग्रवादीहरूलाई लक्षित गरेको बताउँछ । सेनाले नागरिक मृत्युका लागि हमासलाई दोष दिन्छ किनभने यो समूह घना जनसङ्ख्या भएका क्षेत्रहरूमा सञ्चालन गर्दछ ।

    गाजामा युद्ध हमास–नेतृत्वका उग्रवादीहरूले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको थिया । युद्धमा हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिस मारिए भने दुई सय ५१ अन्यलाई अपहरण गरियोको थियो । उग्रवादीहरूले अझै ५८ बन्दीलाई थुनामा राखेका छन् । अधिकांश युद्धविराम सम्झौताहरू वा अन्य सम्झौताहरूमा फिर्ता गरिएपछि लगभग एक तिहाइ जीवित रहेको विश्वास गरिन्छ ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणले गाजाको ठूलो भाग नष्ट गरेको छ, अधिकांश महिला तथा बालबालिकासहित ५३ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको छ । युद्धले प्यालेस्टिनी जनसङ्ख्याको करिब ९० प्रतिशतलाई विस्थापित गरेको छ र तीमध्ये अधिकांश धेरै पटक विस्थापित भएका छन् ।

  • चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

    चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

    एजेन्सी
    ७ जेठ, काठमाडौं । चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ । ‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७ः५० बजे लङ् मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो । उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलता पूर्वक स्थान लिन सफल भएको छ ।

    यस उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान, रेडियो तथा टेलिभिजन प्रसारण सेवाहरू प्रदान गरिने अपेक्षा गरिएको छ । साथै, यस प्रक्षेपणसँगै लङ् मार्च रकेट शृङ्खलाको यो ५७७ औँ उडान रहेको छ, जसलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

  • गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त

    गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त

    एजेन्सी
    ६ जेठ, न्युयोर्क । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजा पट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट वा क्षतिग्रस्त भएको घोषणा गरेको छ । युएनआरडब्लुएले सोमबार आफ्नो एक्स प्लेटफर्ममार्फत ‘गाजाका परिवारहरूले अकल्पनीय विनाशको सामना गरिरहेका छन्’ भन्दै ‘सुरक्षा क्लस्टरका अनुसार पट्टीका ९२ प्रतिशत घरहरू क्षतिग्रस्त वा नष्ट भएका छन्’ भनी जोड दिएको छ ।

    राष्ट्रसङ्घीय एजेन्सीले ‘अनगिन्ती बासिन्दाहरू धेरै पटक विस्थापित भएका छन् र आश्रय अभाव भएको छ’ उल्लेख गर्दै यो अझै पनि महत्त्वपूर्ण सहायता प्रदान गर्ने भूमिमा रहेको कुरामा जोड दिएको छ । युएनआरडब्लुएले आफ्नो विज्ञप्तिमा ‘गाजा पट्टीमा लगाइएको नाकाबन्दी हटाउने आवश्यकता’ मा जोड दिएको छ ।

    जनवरी १९ देखि लागु भएको युद्धविराम सम्झौताअन्तर्गत दुई महिनाको विरामपछि इजरायली कब्जा सेनाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो । यद्यपि यस कब्जाले अभूतपूर्व मानवीय त्रासदीको सामना गरिरहेको गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा बमबारी जारी राख्दै दुई महिनाको अवधिमा युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको छ ।

  • मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या

    मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या

    एजेन्सी ।
    ६ जेठ, काठमाडौं । बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित सात जनालाई गोली हानेर मारेका छन् । त्यहाँ लागुपदार्थ कार्टेलहरूबीचको हिंसाले क्याथोलिक चर्चको निन्दा निम्त्याएको छ । मध्य राज्य गुआनाजुआटोमा भएको यो आक्रमण स्थानीय समयानुसार सोमबार बिहान २ः०० बजे सान फेलिप सहरको एक प्लाजामा भएको थियो । त्यहाँ स्थानीय प्रहरीले गोली हानाहानको रिपोर्टपछि सबै पुरुषसहित सात शव र क्षतिग्रस्त भ्यान फेला पारेको स्थानीय सरकारले एक विज्ञप्तिमा बताएको छ ।

    अधिकारीहरूले त्यस क्षेत्रमा सक्रिय सान्ता रोसा डी लिमा गिरोहसँग सम्बन्धित सन्देशहरू भएका दुई ब्यानर पनि फेला पारेको विज्ञप्तिमा उल्लेख छ । गुआनाजुआटो एक फस्टाउँदो औद्योगिक केन्द्र र धेरै लोकप्रिय पर्यटन गन्तव्यहरूको घर हो, तर आधिकारिक हत्या तथ्याङ्कअनुसार यो मेक्सिकोको सबैभन्दा घातक राज्य पनि हो । हिंसात्मक अपराध सान्ता रोसा डी लिमा गिरोह र ल्याटिन अमेरिकी राष्ट्रको सबैभन्दा शक्तिशाली मध्ये एक जलिस्को न्यु जेनेरेसन कार्टेल बीचको द्वन्द्वसँग जोडिएको छ ।

    क्याथोलिक चर्चका मेक्सिकाली नेताहरूले सोमबार गोली हानाहानको निन्दा गर्दै यसलाई बहुसङ्ख्यक क्याथोलिक रहेको देशको ‘सामाजिक संरचना कमजोर हुने, दण्डहीनता र विशाल क्षेत्रहरूमा शान्तिको अभावको चिन्ताजनक सङ्केत’ भनेका छन् । “यति धेरै समुदायलाई घाइते बनाइरहेको हिंसाको लहरमा हामी उदासीन रहन सक्दैनौँ”, मेक्सिकोका बिशपहरूको सङ्गठन मेक्सिकोको एपिस्कोपल कन्फरेन्सले एक विज्ञप्तिमा भन्यो, “गोली प्रहार पीडादायी आवृत्तिका साथ दोहोरिरहेका धेरैमध्ये एक थियो ।”

    डिसेम्बरमा मेक्सिकोको चर्चले युद्धरत कार्टेलहरूलाई युद्धविराम घोषणा गर्न आह्वान गरेको थियो । आधिकारिक आँकडा अनुसार गुआनाजुआटोले गत वर्ष मेक्सिकोको कुनै पनि राज्यमा सबैभन्दा धेरै तीन हजार एक सय ५१ हत्या रेकर्ड गरेको थियो । जुन राष्ट्रिय स्तरमा हत्याको १० दशमलव पाँच प्रतिशत हो ।
    सन् २००६ मा सेनाले लागुपदार्थ विरुद्ध अभियान सुरु गरेयता मेक्सिकोमा करिब चार लाख ८० हजार हिंसात्मक मृत्युको सङ्ख्या पुगेको छ ।

  • १८ औं गभर्नर बने विश्व पौडेल

    १८ औं गभर्नर बने विश्व पौडेल

    काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर प्रा डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मङ्गलबार बसेको मन्त्रीपरिषद बैठकले उनलाइ गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको बताए ।

    डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत भइसकेका छन् । यसअघि गभर्नर सिफारिस समिति सदस्य रहनुभएका उहाँले पछि त्यसबाट राजीनामा दिएका थिए । गभर्नर नियुक्तिको विषय पछिल्लो समय निकै चर्चामा थियो ।

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

    मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

    ६ जेठ, बरहथवा । सर्लाहीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । आज क्षेत्रीय सडकखण्डअन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३–०२–००६ प ७८६८ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नं को मोटरसाइकल आपसमा ठोक्किएका थिऐ ।

    दुर्घटनामा ५२६ नं को मोटरसाइकल चालक रौतहटको साविक बिसुनपुर्वा गाविस बस्ने ३३ वर्षीय नागेन्द्र साह सोनार र ७८६८ नं को मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–२३, वसन्तपुर बस्ने ३० वर्षको विवेक मानन्धरको मृत्यु भएको हो । दुर्घटनालगत्तै बागमतीस्थित मोडल अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा दुवैको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

    ५६२ नं को मोटरसाइकल पछाडि सवार रौतहटको साविक बिसुनपुर्वा–४ की ३२ वर्षीया चनचला देवी साह र भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षकी मुनीदेवी साहको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो । दुवैको शव चन्द्रपुरस्थित अस्पतालमा राखिएको छ ।

  • खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

    खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

    ६ जेठ, जनकपुर । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

    कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा आज दिउँसो दुवै जनाको डुबेर मृत्यु भएको उनले बताए । घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको सिंहले बताए ।

  • युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    ६ जेठ, काठमाडौं । युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका साथै जलवायु परिवर्तनका प्रभाव र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासबारे जानकारी दिने उद्देश्यले यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका २१ राजदूत र प्रतिनिधिलाई यहाँ भेला गराएको छ ।

    तीनदिने भ्रमणमा रहेको इयुको टोलीमा यहाँस्थित इयुका आवासीय राजदूत एवं प्रतिनिधि सहभागी हुने प्रतिनिधिमण्डलले जनाएको छ । इयुको कूटनीतिक टोलीलाई भ्रमणका माध्यमबाट नेपालको विकासका प्राथमिकता बुझ्ने र सहयोगका क्षेत्रहरू पहिल्याउन मद्दत पुग्ने प्रतिनिधिमण्डलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    यहाँ रहँदा उक्त टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरी नेपालको आन्तरिक तथा विदेशी नीतिका विषयमा छलफल गर्नाका साथै नागरिक समाज निजी र सञ्चार क्षेत्रका प्रतिनिधिहरूसँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ । कूटनीतिक टोलीले नेपाल विद्युत् प्राधिकरणमा पुगेर यसका गतिविधिबारे जानकारी लिने तथा पाटन र भक्तपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने जनाइएको छ ।

  • गभर्नर नियुक्ति प्रक्रियासँगै नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

    गभर्नर नियुक्ति प्रक्रियासँगै नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

    ६ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८६ प्रतिशतको वृद्धि हो । आज तीन सय १० कम्पनीको एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता शेयर ७३ हजार ५४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३१ करोड २७ लाख ९० हजार एक सय ९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव ४२ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ९१, विकास बैङ्क दुई दशमलव ९५, वित्त दुई दशमलव ४४, जलविद्युत् दुई दशमलव ४५ र लगानी समूह दुई दशमलव ३३ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ३२, उत्पादन तथा प्रशोधन एक दशमलव ८९, लघुवित्त एक दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव ३३, निर्जीवन बीमा एक दशमलव ७४, व्यापार एक दशमलव ४९ र अन्य समूह शून्य दशमलव ८४ प्रतिशतले बढेको छ ।

    सिन्धु विकास बैङ्क लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य तीन दशमलव ०९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ४१ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको १४ लाख ७२ हजार तीन सय कित्ता खरिदबिक्री भएको छ ।

  • सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

    सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

    ६ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गतवर्ष यस्ता कारोबार तथा गतिविधिबारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब ४९ प्रतिशतले बढेको छ ।

    “सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या सन् २०२३ मा छ हजार २५५ रहेकोमा सन् २०२४ मा सो सङ्ख्या करिब ४९ प्रतिशतले वृद्धि भई नौ हजार ३०४ पुगेको छ”, राष्ट्र बैंकले भनेको छ ।

    गत वर्ष राष्ट्र बैंकमा प्राप्त प्रतिवेदनमध्ये सन् २०२४ मा जम्मा एक हजार ८९४ प्रतिवेदन विश्लेषण गरिएको जनाइएको छ । सोमध्ये एक हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने अनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि पठाइएको राष्ट्र बैंकले जनाएको छ । यसरी पठाइएका प्रतिवेदनमध्ये ८०८ वटा प्रतिवेदनमध्ये भविष्यमा थप जानकारी प्राप्त भएमा राष्ट्र बैंकले पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको पनि राष्ट्र बैंकले उल्लेख गरको छ ।

    त्यस्तै, सूचक संस्थाहरूले राष्ट्र बैंकमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकामा गत वर्ष अर्थात् सन् २०२४ मा सो सङ्ख्या १९ लाख ७२ हजार ८५५ पुगेको जनाइएको छ । स्तै, सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरुको सङ्ख्यामा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

    “सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संङ्या सन् २०२३ को अन्त्यमा एक हजार ४९६ रहेकामा सन् २०२४ को अन्त्यमा एक हजार ९०५ पुगेको छ”, राष्ट्र बैंकले भनेको छ ।

  • एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    ६ जेठ, किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् ।

    विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिए । कीर्तिमानीका लागि मुक्कुट, उनका भाइहरुरु ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र उनकी २३ वर्षीया एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन् ।

    “एउटै बुबाआमाका पाँच छोराछोरीसहित छ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको छ”, बहिनी पासाङ याङ्जीले दाबी छ,“भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोहीमध्ये हालसम्मै कान्छी महिला भएको हाम्रो दाबी छ ।” एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासङ्घ सङ्खुुवासभा र शेर्पा सङ्घले सम्मानसमेत गरेको छ ।

  • रास्वपा सभापति रविको मुद्दा हेर्दाहेर्दैमा

    रास्वपा सभापति रविको मुद्दा हेर्दाहेर्दैमा

    ६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा राखिएको छ । न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको हो ।

    सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पूर्पक्षका लागि थुनामा रहनुभएका लामिछानेका तर्फबाट दायर भएको उक्त बन्दी प्रत्यक्षीकरणको रिट पटक पटक हेर्न नमिल्ने सूचीमा परेको थियो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सोमबार पेशी तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएपछि सुनुवाइ हुन सकेको थिएन ।

  • गभर्नर नियुक्ति गर्न मन्त्रीपरिषद बैठक जारी

    गभर्नर नियुक्ति गर्न मन्त्रीपरिषद बैठक जारी

    काठमाडौं । गभर्नर नियुक्ति गर्न मन्त्रीपरिषद बैठक सुरु भएको छ । आज बसेको गभर्नर सिफारिस समिती बैठकले विश्व पौडेलको नाम पहिलो नम्बरमा राखेर तीन जनाको नाम सिफारिस गरेको छ । सो नाम बोकेर अर्थमन्त्री मन्त्रीपरिषद बैठकमा पुगेका छन् ।

  • विश्व पौडेललाई गभर्नर बनाउने सहमति, सिफारिस समितिको बैठक सुरु

    विश्व पौडेललाई गभर्नर बनाउने सहमति, सिफारिस समितिको बैठक सुरु

    काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । अर्थमन्त्री विश्नु प्रसाद पौडेल संयोजकत्वको समितिले गभर्नरमा अर्थविद डा विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी छ । यसअघि आज प्रधानमन्त्री केपि शर्मा ओली र काङ्ग्रेस सभापति शेर बहादुर देउबा बीच पौडेललाइ गभर्नर बनाउने सहमति जुटेको थियो । लामो कसरतपछि सत्तारुढ दुई दल बीच गभर्नरमा सहमति जुटेको हो ।

  • जुम्लामा मार्सीधान रोपाइँ सुरु

    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    ६ जेठ, जुम्ला । जिल्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो । कृषि विकास कार्यालय र पातारासी गाउँपालिकाको मार्सी धान संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा रोपाइँ महोत्सव सम्पन्न भएको कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए । स्वदेशी तथा विदेशीको रोजाइमा परेको मार्सीधानको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि रोपाइँ महोत्सव तथा धान दिवस मनाइएको उनले जानकारी दिए ।


    यहाँ विगतका वर्षदेखि धान रोपाइँ भइरहको पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले बताए । सङ्घीय सरकारको सहयोगमा धान संरक्षण गर्ने उद्देश्यले छुमचौर जिउलो आधा क्षेत्र घेरबार गरिएको जनाउँदै पूरै क्षेत्र घेरबार भए काली मार्सी धानको खेती बढ्ने बताए । विश्वको अग्लो ठाउँमा फल्ने धान यहाँ उत्पादन हुने भन्दै यसको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उल्लेख गरिन् । समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा पर्ने छुमचौरमा धानखेती भएपछि जिल्लामा विभिन्न कार्यक्रम गरी रोपाइँ सुरु भएको हो ।

    सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषक, स्थानीय सरकारलगायत सरोकार भएका निकाय यसको संरक्षण र प्रवर्द्धनमा लागेका उपाध्यक्ष रोकायाले बताए ।जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने कृषि विकास कार्यालयले जनाएको छ ।

  • सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

    सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

    ६ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते सम्मेलन आयोजना गर्न लागेको हो ।

    नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा भाग लिन हालसम्म १६ देशका एक सय ७७ आरोहीले नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ ।

    सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरूले सहभागिता जनाउनेछन् । “सम्मेलनमा ७१ वर्षअघिदेखिका सगरमाथा आरोहीको सहभागिता रहनेछ ।

    कीर्तिमानी आरोहीको अनुभव आदनप्रदान हुनेछ । फरक क्षमता भएका कीर्तिमानी आरोहीको प्रस्तुति रहनेछ”, अध्यक्ष नेपालले भने । उनका अनुसार सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गरिनेछ ।

    जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा बृहत् छलफल हुने अध्यक्ष नेपालले जानकारी दिए । हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसीको आदानप्रदान हुनेछन् । प्रकृतिका लागि विश्वव्यापी कोष ९डब्लुडब्लुएफ०, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०, अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा हिमालका समस्याका बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

    पर्यटन व्यवसायीको छाता संस्थाहरू नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाललगायत संस्थाको समन्वय र सहकार्य रहेको अध्यक्ष नेपालले जानकारी दिए ।

    सम्मेलनले नेपाल भ्रमण गर्न आउने तथा बढी खर्च गर्ने पर्यटकलाई हौसला प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटनमा महत्त्वपूर्ण इभेन्टका रूपमा आयोजना हुने यस समिटर सम्मेलन साहसिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

  • ज्यानमारा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ घाइते

    ज्यानमारा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ घाइते

    रासस
    ६ जेठ काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेको जानकारी दिइन् ।

    उनका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले जानकारी दिए ।

    “घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्”, प्राधिकरणकी सहसचिव श्रेष्ठले भनिन् । विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका उनले जानकारी दिइन् । कोशीमा चट्याङका कारण रु एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।

    प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने रु तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित, एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका प्राधिकरणकी सहसचिव श्रेष्ठले जानकारी दिइन् ।


    उनका अनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् । नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनले बताए ।


    सहप्राध्यापक सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उहाँले उल्लेख गरे । चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए ।


    मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उनले सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईबस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको बताए । त्यस्ता कामहरू मध्याह्नअगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतःन्यूनीकरण हुने उनको भनाइ छ ।

    जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन् । ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले जानकारी दिए । उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने उनले बताए ।