Category: फिचर

  • रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु

    रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु

    २० वैशाख, रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटनामा परेको छ । सो क्रममा दुई जनाको ज्यान गएको छ । थप दुई जना गम्भीर घाइते छन् । चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका–१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको छ । यसअघि आजै दिउँसो लुप्र०२००१च ०१७७ नम्बरको जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

    मृत्यु हुने श्रीमान श्रीमती हुन् । दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार जीपचालक दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ४४ वर्षीय लीलामणि भण्डारी र सोही स्थानका ५० वर्षीया दुर्गा ओली छन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

    स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

    रासस

    २९ वैशाख, काठमाडौं । आज दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ । स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ ।

    स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए । बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ । दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिएको छ । स्वयम्भूनाथ क्षेत्रमा विभिन्न पूजाआजा, रक्तदान तथा प्रसाद वितरणका कार्यक्रम हुने जनाइएको छ ।

  • वैशाख शुक्ल पूर्णिमा :चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

    वैशाख शुक्ल पूर्णिमा :चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

    रासस
    २९ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ ।

    नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

    किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङ्को ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

    किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको छ ।

  • लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना हुँदै

    लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना हुँदै

    २९ वैशाख, लुम्बिनी । भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध पूर्णिमा विशेष समारोह आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा कार्यक्रम हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए ।

    विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय तथा प्रदेशमन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत सहभागिता रहने छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथीमा परेकाले यस दिनलाई बुद्ध जयन्तीको रुपमा नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गरिएको छ ।

    विकास कोषले पच्चीस सय ६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने जनाएको छ । विकास कोषले बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहमा वैशाख तीन दिनसम्म बुद्धजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

    २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस-२०८२ को अवसरमा सोमबार लुम्बिनीमा निकालिएको शोभायात्रामा सहभागीहरु । तस्बिर : राधेश्याम विश्वकर्मा/ रासस

    कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले वैशाख २८, २९ र ३० गते तीनदिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताए । उनले लुम्बिनीको विकासका लागि सुशासनको आवश्यकता पनि उत्तिकै अपरिहार्य बताउँदै बुद्धजयन्ती मुलुक र विश्वकै लागि गौरवको विषय भएको बताए । गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्माणको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको उपाध्यक्ष लामाले बताए। गौतमबुद्धको जन्म २६४९ वर्ष अघि ईपू६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले दक्षिण एसियाका दुई ठूला शक्तिशाली राष्ट्र भारत र पाकिस्तान युद्ध उन्मुख भइरहेका बेलामा बुद्धजयन्तीका दिन लुम्बिनीबाट शान्तिको सन्देश जाओस् भन्ने प्रयत्न लुम्बिनी विकास कोषले राखेको बताए । तीनदिने कार्यक्रमअन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ सम्पन्न भएको छ । बुद्धजयन्तीको मुल कार्यक्रम अघि आज भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थनासभा र शोभायात्रा हुनेछ ।

    यसका साथै बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तिधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने उनले बताए । बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते हरेक वर्ष आयोजना हुने बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ । लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिनेगरी शोभायात्रा गरिने छ ।

  • हिमालबाट जारी सिजनमा ७७ करोड रोयल्टी सङ्कलन

    हिमालबाट जारी सिजनमा ७७ करोड रोयल्टी सङ्कलन

    २९ वैशाख, काठमाडौं । यस वर्ष वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् ।

    विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका १०२, ल्होत्सेमा नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन् ।

    वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । आरोहण अनुमति जारी रहेकाले अझै सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ ।

  • विदेशमा रहेका नेपालीले ९ महिनामा पठाए झण्डै १२ खर्ब रेमिट्यान्स

    विदेशमा रहेका नेपालीले ९ महिनामा पठाए झण्डै १२ खर्ब रेमिट्यान्स

    २९ वैशाख, काठमाडौं । विप्रेषण (रेमट्यान्स) आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले वृद्धि भई आठ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष सोही प्रकृतिको आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब एक अर्ब ९४ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा रु ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४९ हजार ६५२ रहेको छ ।

  • हिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

    हिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

    २९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।

    “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।” उनले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन् ।

  • गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौं : राष्ट्रपति

    गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौं : राष्ट्रपति

    २९ वैशाक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् । पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

    वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।

    राष्ट्रपतिले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको पनि सन्देशमा व्यक्त गरेका छन् । गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना समेत व्यक्त गरेका छन् ।

  • आज २५६९ औं बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

    आज २५६९ औं बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ ।

    मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ । विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

    आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिए । दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ, भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको भट्टराईले बताए ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्षसमेत रहेका भट्टराईका अनुसार, बुद्ध जयन्तीको मुख्य समारोह अन्तरराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुनेछ । यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ । लुम्बिनीको यो झकिझकाउले यहाँ आउने हरेक आगन्तुकलाई शान्ति र आनन्दको अनुभूति गराएको प्रतिक्रिया दिएका छन् । यसपटक लुम्बिनीमा जयन्तीका अवसरमा आयोजित कार्यक्रमका लागि एक करोड खर्च हुने अनुमान गरिएको छ ।

  • इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

    इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

    २८ वैशाख, काठमाडौं । गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खान युनिस क्षेत्रमा दुई बालबालिका र तिनका बाबुआमाको ज्यान गएको नासिर अस्पतालले जानकारी दिएको छ ।

    अन्य स्थानमा पनि केही मानिसको ज्यान गएको छ । इजरायली पक्षले केवल लडाकुहरूलाई लक्षित गर्ने दाबी गर्दै आए पनि, सर्वसाधारणको मृत्युका घटनाहरू बढिरहेका छन् । यसैबीच, गाजामा खाद्यान्न, औषधि र पानीको गम्भीर अभाव देखिएको छ । सहयोगी संस्थाहरूले मानवीय संकट चुलिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    गाजाको उत्तर भागमा बालबालिकाहरूले पानीको ट्याङ्कर पछ्याउँदै गरेका मार्मिक दृश्यहरू देखिएका छन् । धेरै बासिन्दा नुनिलो र असुरक्षित पानी पिउन बाध्य छन् । युद्धले अहिलेसम्म ५२ हजार ८०० भन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो स्थितिमा सबै पक्षहरूलाई शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन आग्रह गरिन्छ ।

  • श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

    श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

    २८ वैशाख, कोलम्बो । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् । दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ । उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० जना यात्रु सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमार्फत् भने, “हामी यो यान्त्रिक खराबी हो वा बस गुडिरहेका समय चालक निदाएर दुर्घटना भएको हो भन्ने कारण पत्ता लगाउने प्रयासमा अनुसन्धान गरिरहेका छौँ ।”

    “दुर्घटनाका कारण घटनास्थलमा नै १५ र अन्य छ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ र हामीले अन्य १४ जना गम्भीररूपमा घाइते भएका छन्,’” नाम नबताउने शर्तमा ती अधिकारीले भने । उक्त बस श्रीलङ्काको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल). को दूरीमा रहेको केन्द्रीय शहर कुरुनेगालातर्फ जाँदै थियो। श्रीलङ्कामा वर्षेनी औसत तीन हजार सडक दुर्घटना हुने गरेका छन् । अत्यधिक दुर्घटना हुनेगरेका कारण श्रीलङ्काका सडकहरू संसारकै सबैभन्दा खतरनाक सडकमध्ये पर्ने गरेका छन् ।

    श्रीलङ्काको पोल्गाहावेला शहरको रेलमार्ग पास गर्ने क्रममा सन् २००५ अप्रिलमा एक रेललाई ठक्कर दिँदा बसमा रहेका कम्तीमा ३७ जनाको मृत्यु भएको थियो । आइतबारको बस दुर्घटना श्रीलङ्कामा भएका सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक हो । सन् २०२१ को मार्चमा दुर्घटनास्थलबाट करिब १०० किलोमिटर पूर्व पासारामा बस दुर्घटना हुँदा १३ यात्रु र त्यसका चालकको मृत्यु भएको थियो ।

  • स्वार्थ समूहसँग आफ्नो चिनजान नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

    स्वार्थ समूहसँग आफ्नो चिनजान नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

    २८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको दावि गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, “पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।”

    उनले आजको बैठकमा १५ जेठमा राजावादीले गर्ने भनेको आन्दोलनबारे प्रश्न गरे । उनले संविधान भित्रको जायज माग उठाउन पाइने भन्दै नाजायज माग राखेर आन्दोलन नगर्न समेत सचेत गराए । सो दिन राजावादीले राजतन्त्र फर्काउने निर्णयक आन्दोलन नाममा आन्दोलनको घोषणा गरेका छन् ।

  • विश्व पौडेललाई गभर्नर बनाउने तयारी, गभर्नर सिफारिस समितिबाट राजिनामा

    विश्व पौडेललाई गभर्नर बनाउने तयारी, गभर्नर सिफारिस समितिबाट राजिनामा

    २८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् । यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, भट्टको नाममा प्रधानमन्त्री ओली नै सहमत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेको छ ।

    सोही पृष्ठभूमिमा पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन् । समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए । यसअघि पनि राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएपछि अधिकारीलाई नयाँ सदस्य बनाइएको थियो । पौडेलको ठाउँमा सरकारले अर्थशास्त्रीहरूमध्येबाट कसैलाई सदस्य नियुक्त गर्नुपर्ने छ ।

  • सगरमाथा संवादका लागि भारत सरकारले नेपाललाई दियो १५ इभी कार

    सगरमाथा संवादका लागि भारत सरकारले नेपाललाई दियो १५ इभी कार

    २८ वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गरे । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् ।

    त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन् । उनले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताइन् । संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उपाय खोजीका लागिसमेत सामूहिक प्रयत्नको ‘मोडल’ तय गर्ने जानकारी दिँदै उनले यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताइन् ।

    मन्त्री डा राणाले संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्व तथा पाहुनाको स्वागतको प्रतीक्षामा रहेको बताइन् । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा पु¥याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गरे । उनले जलवायु परिवर्तनका साझा चुनौती समाधानमा अवलम्बन गरिने उपायमा भारत सरकार नेपालको साथमा रहेको बताए ।

  • सगरमाथालाई नजिकैबाट नियाल्न ‘गौरीटाप’

    सगरमाथालाई नजिकैबाट नियाल्न ‘गौरीटाप’

    कमलकुमार बस्नेत/रासस

    २८ वैशाख, सोलुखुम्बु । बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए । नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेस्र्याएका थिए । कोही हिमाल र गुँरासलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए त कोही राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मालगायतका कलाकारसँगको तस्बिर आफ्नो क्यामेरा र मोबाइलमा कैद गर्दै थिए ।

    सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २०० जनाले शुक्रबार र शनिबार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए । ‘स्पार्क कार’को आयोजनामा सञ्चालित ‘स्पार्क एड्भेञ्चर’ कार्यक्रमले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई यहाँसम्म ल्याएको थियो ।

    प्रचूर सम्भावनाका बाबजुद ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि काठमाडौँबाट करिब ५० विद्युतीय सवारीसाधनमा उनीहरु सोलुुखुम्बु आइपुगेका थिए । “स्पार्क एड्भेञ्चरको उद्देश्य ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र विद्युतीय सवारीसाधनमार्फत ग्रिन मोबिलिटी प्रवर्द्धन गर्नु हो, पहिलो संस्करण लम्जुङको भुजुङ र दोस्रो संस्करण दोखलाको शैलुङमा आयोजना गरिएको थियो, यसपटक गौरीटाप रोजाइमा प¥यो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने ।


    निर्देशक घिमिरेका अनुसार सगरमाथालाई नजिकबाट नियाल्नका लागि गौरीटाप काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो । कालोपत्र सडकलगायतका पूर्वाधारको सुविधा हुँदा पनि आवश्यक प्रचारप्रचारको अभावमा गौरीटाप पर्यटकीय गन्तव्य बन्न नकसेको उनको भनाइ छ । समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सत्ययुगमा माता गौरीले तपस्या गरेको स्थान भएको लामो समयदेखि गौरीटापमा रहनुभएका लौरेश्वर बाबाले बताए ।
    “माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा ‘गौरी’ नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको र सो क्रममा गाईको टाप (खुर) ढुङ्गामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ”, उनले भने । चारपाङ्ग्रे सवारीसाधनमै पुग्न सकिने गौरीटापबाट सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ । लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर र शिव पञ्चायन मन्दिर छन् ।

    नेपाली चलचित्रका अभिनेता राजेश हमालले गौरीटाप अत्यन्तै सुन्दर र रमणीय स्थान रहेको उल्लेख गर्दै यहाँ आउनपाउँदा खुसी लागेको बताए । “काठमाडौँदेखि गौरीटापसम्म सहज यात्रा गर्दै यहाँ आइपुगेका थियौँ, यहाँबाट देखिने सगरमाथालगायतका हिमाल र सूर्योदयको दृश्य निकै सुन्दर लाग्यो, यहाँको पर्यटन प्रवद्र्धन गर्न आवश्यक सहयोगका लागि म सबैलाई आह्वान गर्दछु”, उनले भने । गौरीटापमा अघिल्लो टेन्टक्याम्पिङ गर्दै रमाइलो गरेपछि शनिबार दिउँसो उक्त टोली ओखलढुङ्गाको रुम्जाटार झरेको थियो । उक्त टोलीलाई रुम्झाटारमा स्थानीय पालिकाका जनप्रतिनिधिका साथै गुरुङ, राई, नेवारलगायतका समुदायले स्वागत गरेका थिए । रुम्जाटारस्थित बौद्ध गुम्बामा स्वागत गरिनुका साथै गुम्बाबारे आवश्यक जानकारी दिइएको थियो ।

    शनिबार साँझ कलाकारहरु विमलराज क्षेत्री, सुनिता दुलाल, सन्दीप क्षेत्री, राजा राजेन्द्र, आस्था राउत र राजु लामा एण्ड मंगोलियन हर्टले आफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले सांस्कृतिक एकता, रैथाने खाना र संस्कृतिको प्रवद्र्धन गर्न आग्रह गरे । उनीहरुले ‘घुमिफिरी रुम्जाटार’ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित रहेको उल्लेख गर्दै यसैमार्फत यहाँको प्रचारप्रसार गर्न सकिने बताए ।

    बिबिसी मास्टरसेफ सन्तोष साहले यहाँको रैथाने परिकार खान पाउँदा निकै खुसी लागेको बताए । “विशेष गरी गुन्द्रुक र न्यूरोको अचारको स्वाद निकै मीठो लायो, यहाँसम्म आएर यहाँको कला र संस्कृति, भूगोल जान्न पाउनुलाई मैले ठूलो उपलब्धि मानेको छु”, उनले भने । गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार कुनै समय भेडापालन र राडीपाखीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडीपाखी रुम्जाटार विमानस्थलबाट काठमाडौँसम्म पु¥याइन्थ्यो ।

  • तीनकुने आन्दोलनपछि फरार शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

    तीनकुने आन्दोलनपछि फरार शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

    २८ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार उनीमाथि आवश्यक अनुसन्धान सुरु भएको छ । यसअघि उनी फरार अवस्थामा थिए । यसै घटनामा राप्रपा नेता रवीन्द्र मिश्र हिरासतमा छन् ।

  • अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न बैठक

    अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न बैठक

    २८ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक रूपमा कर वृद्धि गरे बेइजिङको कडा प्रतिशोधका कारण उत्पन्न व्यापार युद्धलाई कम गर्न अमेरिका र चीनका वरिष्ठ अधिकारीहरूबीच शनिबार जेनेभामा बैठक भएको छ। गत महिना ट्रम्पले चीनमाथि नयाँ कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच भएको पहिलो वार्तामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर र चीनका उपप्रधानमन्त्री हे फेङसहितका अधिकारीबीच भेटवार्ता भएको हो । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि स्विट्जरल्याण्डका राजदूतको निवासमा शनिबार मध्याह्नदेखि सुरु भएको बन्द कोठाको छलफल आइतबार पनि जारी रहने बताइएको छ ।

    एएफपीका पत्रकारहरूका अनुसार मध्याह्न भोजनको समयमा केही समयको विश्रामपछि प्रतिनिधिमण्डल जेनेभा तालको बायाँ किनारामा रहेको एउटा ठूलो पार्क नजिकै आकाशे नीलो सटर भएको एकान्त भिल्लामा फर्केको थियो। ट्रम्पले यस वर्षको सुरुदेखि नै चीनमाथि लगाएको कर हाल १४५ प्रतिशत रहेको छ भने केही चिनियाँ सामानमा अमेरिकी कर २४५ प्रतिशत पुगेको छ । त्यसको बदलामा चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ, जसले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार प्रतिबन्धलाई थप मजबुत बनाएको छ ।

    ट्रम्पले शुक्रबार चिनियाँ आयातमा उच्च कर घटाउन सक्ने सङ्केत दिँदै सामाजिक सञ्जालमार्फत ‘चीनमाथि ८० प्रतिशत कर लगाउनु सही देखिन्छ’ भनेका छन् । “राष्ट्रपति ट्रम्प चीनसँग मिलेर काम गर्न चाहनुहुन्छ,उहाँ स्थितिलाई कम गर्न चाहन्छन्, अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले फक्स न्यूजसँगको कुराकानीमा भने । ट्रम्पकी प्रेस सचिव कारोलिन लिभिटले अमेरिकाले एकतर्फी रुपमा कर नघटाउने स्पष्ट पार्दै चीनले पनि सहुलियत दिनुपर्ने बताइन् । कुनै पनि अवस्थामा वार्ताको त्यो स्तरमा एक प्रतीकात्मक इशारा हुनेछ । करहरू निषेधात्मक रूपमा समर्पित रहनेछन्।

    ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’का वरिष्ठ सल्लाहकार बिल रेइन्स्चले वासिङ्टन र बेइजिङबीचको सम्बन्ध राम्रो नभएको बताए । “हामीसँग व्यापार–निषेधात्मक शुल्कहरू दुवै दिशामा जाँदैछन्”, अमेरिकी सरकारको अमेरिका–चीन आर्थिक तथा सुरक्षा पुनरावलोकन आयोगका पूर्व सदस्य रहेका रेन्सले भने, “सम्बन्ध बिग्रँदै गएको छ ।” उनले थपे, “तर यो बैठक राम्रो सङ्केत हो।”

    ‘चाइना युरोप इन्टरनेसनल बिजनेस स्कूल’मा अर्थशास्त्र र वित्तका प्राध्यापक शु बिनले एएफपीसँग भने, “मलाई लाग्छ, यो मूलतः दुवै पक्षले कुराकानी गरिरहेका छन् भन्ने देखाउनका लागि हो र यो आँफैमा धेरै महत्त्वपूर्ण छ किनभने चीन एक मात्र देश हो जसले ट्रम्पको कर वृद्धिको प्रतिशोधस्वरूप चीन आयात हुने अमेरिकी सामानमा कर वृद्धि गरी ‘टिट फर ट्याट्’ नीतिलाई अवलम्बन गर्नुभएको छ । अमेरिकाले पहिले कर हटाउनुपर्नेमा जोड दिँदै आफ्नो बेइजिङले हितको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ ।

    बेसेन्टले स्विट्जरल्याण्डमा हुने बैठक ‘ठूलो व्यापार सम्झौता’ मा नभई ‘तनावलाई कम गर्ने’ उद्देश्यमा केन्द्रित हुने बताएको छ । जेनेभास्थित विश्व व्यापार सङ्गठनका प्रमुख नगोजी ओकोन्जो इवेलाले शुक्रबार वार्ताको स्वागत गर्दै यसलाई ’तनाव कम गर्ने दिशामा सकारात्मक र रचनात्मक कदम’ भएको बताए । व्यापार युद्धका बावजुत गत महिना चीनको निर्यात बढेको भन्ने समाचारले चीनका उपराष्ट्रपति शुक्रबार चर्चामा आएका थिए । यो अनपेक्षित विकासलाई विशेषज्ञहरूले अमेरिकी करको प्रभाव कम गर्न दक्षिणपूर्व एशियामा व्यापारको पुनः मार्गको लागि जिम्मेवार ठहराएका थिए।

    ट्रम्पले कुनै पनि देशसँग भएको पहिलो सम्झौता अर्थात् बेलायतसँग भएको व्यापार सम्झौता सार्वजनिक गरेको दुई दिनपछि बेसेन्ट र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता भएको होे । बेलायती कार, इस्पात र आल्मुनियममा कर समायोजन गर्ने लण्डनसँगको पाँच पृष्ठको अनौपचारिक कागजातले निराश लगानीकर्ताहरूलाई संयुक्त राज्य अमेरिका हालको कर्तव्यहरूबाट क्षेत्र–विशिष्ट करमा राहतको लागि वार्ता गर्न इच्छुक छ भन्ने पुष्टि गरेको छ ।

    त्यसको बदलामा बेलायतले अमेरिकी बीफ र अन्य कृषि उत्पादनका लागि आफ्नो बजार खुला गर्न सहमति जनाएको थियो । तर अधिकांश बेलायती सामानमा १० प्रतिशत आधारभूत कर कायमै रहेको र अमेरिकासँगको वार्तामा रहेका अन्य मुलुकका लागि पनि यसलाई कायम राख्न ट्रम्प प्रतिबद्ध रहेको लिभिटले शुक्रबार सञ्चारकर्मीसँग बताए । त्यसको केही घण्टापछि ट्रम्पले उहाँको खण्डन गर्दै सही सम्झौतामा पुग्न सकेमा मात्र आधारविन्दुमा केही लचिलोपन हुन सक्ने सुझाव दिएका थिए । “कुनै न कुनै बिन्दुमा अपवाद हुन सक्छ। हामी हेर्छौं” उनले भने, “यदि कसैले हाम्रो लागि केही असाधारण काम ग¥यो भने, त्यो सँधै सम्भव छ।”

  • लमजुङ एउटै जिल्लामा १७ जलविद्युत आयोजना, सबैबाट उत्पादन

    लमजुङ एउटै जिल्लामा १७ जलविद्युत आयोजना, सबैबाट उत्पादन

    २८ वैशाख, लमजुङ । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेको पाइएको छ । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् । लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त सङ्ख्याका आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

    उक्त केन्द्रका अनुसार जिल्लामा सबैभन्दा बढी मस्र्याङ्दी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मस्र्याङ्दी, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधीखोला आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ ।

    त्यसैगरी चार–चार मेगावाट क्षमताको खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, दुई दशमलव चार मेगावटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको स्याँगे माइक्रो हाइड्रो र ८० किवाको मिदिम माइक्रो हाइड्रोबाट विद्युत् उत्पादन भइरहेको छ । जिल्लामा ४० हजार ५४२ ग्राहक रहेको उक्त केन्द्रले जनाएको छ ।

    केन्द्रीय विद्युत् लाइन केहीकेही भागबाहेक जिल्लाको अधिकांश भागमा पुगेको कार्यालय प्रमुख भट्टराईले बताए । उनका अनुसार जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म दुई करोड ३९ लाख, आठ हजार ९२५।९० युनिट बिजुली बिक्री भएको छ । सोबाट रु १९ करोड ५३ लाख ५४ हजार उठेको छ । केन्द्रका अनुसार जिल्लामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

    सोमध्ये मस्र्याङ्दी बेँसी ५० मेगावाट, सुपर न्यादी हाइड्रो ४० दशमलव २७, अपर खुदी २१ दशमलव २१, न्यादी फिदी २१ मेगावाट, मिदिमखोला–१ आयोजनाबाट १३ दशमलव ४२४, १२ दशमलव छ मेगाावट क्षमताको लोयर न्यादी, छ दशमलव ८२ मेगावाट क्षमताको हिदीखोला, चार दशमलव आठ मेगावाट क्षमताको मिडिल मिदिम, दुई मेगावाट क्षमताको चेपेखोला क्यास्केड, एक दशमलव छ मेगावाटको लोदोखोला साना आयोजना र शून्य दशमलव ९९६ मेगावाट क्षमताको लोअर मिदिम आयोजना निर्माणाधीन छन् । लमजुडमा दुई हजार ५०० मेगावाट क्षमता विद्युत् उत्पादन हुनसक्ने अनुमान छ ।
    राससबाट

  • पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

    पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

    २८ वैशाख, म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ ।

    गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक आउने गरेको बताए । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल समुदायको संस्कृति, रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक आउँछन् । “पहाडको फेदीमा रहेको गुर्जाबाट डाँडाले छेक्ने भएकाले हिमाल देखिँदैन”, उनले भने, “दृष्यावलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सके बसाइ लम्ब्याउन सकिन्छ ।”

    गुर्जाबाट एक घण्टा पैदलयात्रा गरेपछि तास्नाधुरी पुगिन्छ । गुुर्जा गाउँको शिरमा भिरालो पाखोमा तास्नाधुरी अवस्थित छ । तास्नावरपरको पाखामा वसन्तयाममा गुराँस र बर्खामा बुकी फुलेर रङ्गिन्छ । तास्नाको बुकीपाटन घरपालुवा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्ने चरन खर्क हो । हालै गुुर्जा घुुमेर आउनुभएका बेनीका नारायण शर्माले हिमाल हेर्दै हाइकिङ गरेर तास्नाधुरी पुग्दा उकालो यात्राको थकान भुुलाएको अनुुभव सुनाए । डाँडामा बसेर पृष्ठभूमिमा हिमाललाई नजिकबाट नियाल्न पाउँदा मन प्रफुल्ल भएको उनले बताए । प्रकृतिसँग रमाउन तास्नाधुुरी उपयुक्त गन्तव्य भएको शर्माको अनुभव छ ।

    गुर्जामा पाहुनाको बसाइ लम्ब्याउन तास्नाधुरीलाई सहायक गन्तव्यका रूपमा विकास गर्न पूूर्वाधार निर्माण थालिएको छ । वडाध्यक्ष झक छन्त्यालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट गुुर्जाको नाइलीबारीबाट तास्नाधुरी जोड्ने पदमार्ग निर्माण गरिएको बताए । बीस जना बेरोजगार युवायुवती परिचालन गरेर तीन किलोमिटर पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ ।

    गोठला र स्थानीयवासीले घाँस, दाउरा गर्न तास्नाधुरी जावतजावत गर्न प्रयोग गरेको परम्परागत बाटोलाई स्तरोन्नति गरेर पदमार्ग बनाइएको हो । माटो काट्ने र ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । पदमार्ग बनेपछि भिर र पाखोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने तथा बाटो बिराउने समस्या हटेको छ, यात्रा सुरक्षित भएको छ ।

    बिचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जागाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । गुर्जाबाट ढोरपाटन, गुर्जा, पुथा, चुरेन हिमालको आधार, डोल्पा र पूर्वीरुकुम जान सकिन्छ ।

  • मुग्लिन-नारायणगढ सडकमा ट्रक पल्टियो, यातायात एकतर्फी बन्द

    मुग्लिन-नारायणगढ सडकमा ट्रक पल्टियो, यातायात एकतर्फी बन्द

    काठमाडौं , मुग्लिन-नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा पूर्णरुपमा बन्द भएको बाटो एकतर्फी खुलेको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो ।

    कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुईतर्फी सूचारु हुन अझै केहीबेर लाग्ने छ ।

  • पूर्वी कङ्गोमा भीषण बाढी, कम्तिमा १०० को मृत्यु

    पूर्वी कङ्गोमा भीषण बाढी, कम्तिमा १०० को मृत्यु

    २८ वैशाख, काठमाडौं । (एजेन्सी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार एएफपीलाई जानकारी दिएका छन् । मुसलधारे वर्षाका कारण बिहीबार–शुक्रबार राति सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले भौतिक संरचनाका साथै व्यापक मानवीय क्षति पुगेको क्षेत्रीय अधिकारी बर्नार्ड अकिलीले एएफपीसँग बताए ।

    मुसलधारे वर्षाका कारण कासाबा नदीको किनारबाट रातिको समयमा वरपरका खाली ठाउँमा रहेका ढुङ्गा, ठूला रूख र माटो बगाएर खोलामा ताल बनेको र सोही तालको किनारामा रहेका घरहरू भत्किएका उनले बताए । “मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन्”, उनले भने, “विपत्का कारण एक सयभन्दा बढीको मृत्यु भएको, २८ जना घाइते भएका र करिब १५० घर भत्किएका छन् ।”

    क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण कम्तीमा १०४ जनाको मृत्यु भएको र व्यापक भौतिक क्षति भएको बताए। अर्का एक स्थानीय बासिन्दाले एएफपीलाई बताएअनुसार शनिबारसम्म ११९ जनाको शव फेला परेको छ । टाङ्गानिका तालको छेउमा रहेको र तालबाट मात्र पुग्न सकिने उक्त गाउँमा इन्टरनेट सेवा नभएको एक स्थानीय मानवीय सहायताकर्मीले एएफपीलाई बताए ।

    प्रजातान्त्रिक गणतन्त्र कङ्गाका विशेष गरी पूर्वमा ठूला तालहरूको किनारमा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार हुने गरेका छन् । सन् २०२३ मा दक्षिण किवु प्रान्तको किवु तालको किनारमा रहेका विभिन्न समुदायका करिब ४०० जनाको बाढीका कारण मृत्यु भएको थियो ।

  • बजारमा दही र महीको माग बढ्दै

    बजारमा दही र महीको माग बढ्दै

    २८ वैशाख, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टीप्यालेससम्म, मही र दहीको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ । पछिल्लो केही वर्षदेखि भोजभतेरमा मही तथा दहीको प्रयोग अनिवार्यजस्तै बन्दै गएको कावासोतीस्थित पानस पार्टीप्यालेसका सञ्चालक गुरु पोख्रेलले बताए । “पहिले गाउँघरमा मही र दही भोजमा अनिवार्यजस्तै थियो । अहिले पनि त्यसैगरी भोजमा मही र दही राख्न थालिएको छ”, उनले भने ।

    गाउँमा मात्र होइन, सहरबजारका पार्टीप्यालेसमा पनि अब मही विशेष पेयका रूपमा प्रस्तुत गरिन थालेको छ । पार्टीप्यालेसका सञ्चालक पोख्रेलका अनुसार पहिला चिसो पेय र बोतलको पेय राखिन्थ्यो । अहिले ग्राहक आफैँले मही माग्छन् । हामीले भोजभतेरको ‘मेनु’मा नै दही महीलाई समावेश गर्न थालेका छौँ ।”
    जिल्लामा पछिल्लो समय आयोजना गरिने सभासमारोह एवं औपचारिक कार्यक्रममा पनि महीको प्रयोग हुन थालेको छ । यस्ता कार्यक्रममा खाजाका रूपमा तयारी जुस वा चिया दिइने गरेकामा गर्मी मौसममा मही नै रोजाइमा पर्न थालेको देवचुली नगरपालिका–१० का राजु चापागाईँले बताए ।


    “स्वाद, स्वास्थ्य र संस्कृतिको सङ्गम बनेको मही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ”, उनले भने, विशेषगरी गर्मी मौसममा महीले चिसो र शीतल पार्ने हुँदा यसको प्रयोग बढ्दो छ । देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार मही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ । भोजमा कोल्ड ड्रिङ्कको सट्टा मही राख्दा स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ ।

    माग बढ्न थालेपछि स्थानीय पशुपालक तथा दुग्ध उत्पादक किसानले दही र महीको आपूर्तिमा ध्यान दिन थालेका छन् । भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र महीको माग आउने क्रम बढेको गौरादेवी नवीन कृषि तथा पशु फार्म कावासोती–६ का सञ्चालक गङ्गाधर न्यौपानेले बताए । “हिजोआज भोजमा एकैचोटी सयौँ किलो दहीको माग आउँछ । यसले किसानलाई फाइदा पुगेको छ”, उनले भने ।

    राससको सहयोगमा

  • गलकोटमा बने एकैपटक दुई स्वास्थ्य चौकी

    गलकोटमा बने एकैपटक दुई स्वास्थ्य चौकी

    रासस

    २८ वैशाख, ढोरपाटन । बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ । दुईवटै स्वास्थ्य चौकी निर्माण अघिल्लो वर्ष सुरु गरिएको थियो । दुदिलाभाटी स्वास्थ्य चौकी २०८० मङ्सिरमा सम्झौता गरी काम सुरु भएको थियो । विष्णु निर्माण सेवाले रु एक करोड ८१ लाख ५८ हजार ६८० लागतमा निर्माणको जिम्मा पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । उक्त भवन गत माघमा सम्पन्न भएको थियो ।

    मल्म स्वास्थ्य चौकी २०८० असारमा सम्झौता भई काम सुरु भएको थियो । जयकालिका भगवती÷केसी निर्माण सेवा जेभीले रु दुई करोड ३१ लाख ३६ हजारको लागतमा निर्माण गर्नेगरी जिम्मा पाएको उक्त भवन गत वर्ष पुसमा सम्पन्न भएको थियो । प्रवक्ता भण्डारीका अनुसार, गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । पालिकाका सबै स्वास्थ्य चौकीको सुविधायुक्त भवन बने, यहाँबाट दिइने सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ । आम नागरिकले विश्वास गर्नेगरी स्वास्थ्य संस्थाबाट सेवा दिने प्रयास भइरहेको छ । कोही बिरामी भए गाउँमै उपचार पाउने भएका छन् ।

    दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले ५० वर्ष अगाडि बनेको साँघुरो कच्ची भवनबाट सेवा प्रभावकारी हुन नसकेको बताए । एउटै कोठाबाट धेरै सेवा दिँदा बिरामीलाई लाइनमा बसाल्नुपर्ने समस्या भएको भन्दै अब उक्त समस्या समाधान हुने उनको भनाइ छ । पालिकाको ११ वटै वडामा नगरपालिकाले स्वास्थ्य सेवा पुर्याएको छ । गलकोटमा एउटा नगर अस्पतालसहित १४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए ।

    उनका अनुसार नगरपालिकामा सात स्वास्थ्य चौकी, तीन सहरी स्वास्थ्य केन्द्र र तीन आधारभूत स्वाथ्य सेवा केन्द्र छन् । नगरपालिकाले नौ स्थानमा बर्थिक सेन्टर र पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा दिँदै आएको छ । गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गरी बर्थिङ सेन्टर सञ्चालन गरेपछि दूरदराजका नागरिकले सहज रूपमा सेवा पाउनुका साथै घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको प्रमुख पौडेलले जानकारी दिए ।

  • चितवनको कान्दामा दुई घण्टा बोकेर पुर्याइयो हाते ट्रयाक्टर

    चितवनको कान्दामा दुई घण्टा बोकेर पुर्याइयो हाते ट्रयाक्टर

    २८ वैशाख, भरतपुर । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् । पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताए । उनले भने, “युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने भयो ।”

    राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा विकट ठाउँ पनि हो । अहिलेसम्म विद्युतीकरणसमेत नभएको कान्दा पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा पुग्न सकिन्छ । उनीहरूले शनिबार बोकेरै हाते ट्रयाक्टर कान्दा पुर्याएका हुन् । हाते ट्रयाक्टर बोक्न सबै गाउँले उपस्थित भएका थिए । यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो ।

    त्यसपश्चात यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा रुपान्तरणका काम भइरहेका छन् । जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन सहयोग गर्न यस हाते ट्रयाक्टरले धेरै सहयोग पुग्ने विश्वास अध्यक्ष सीताबहादुरको छ ।

    स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्न पाउँदा नयाँ युगमा प्रवेश गरेको अनुभूति गरेको बताए । उनले सबै कुराले पछाडि परेको कान्दालाई राज्यले ध्यान दिन नसकेको गुनासो गरे कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा विकट कान्दामा हाते ट्रयाक्टर पुगेको हो । पैसठ्ठी घर रहेका कान्दामा मितेरी कृषक समूहमार्फत किसान एकीकृत भएर कृषि पेसा गरिरहेका छन् । यस्तै सोही ठाउँको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि कृषिखेती गरिएको छ ।

    त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसोबास गरेर अध्ययन गर्ने चेपाङ बालबालिकालाई खुवाउने गरिएको छ । हाते ट्रयाक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताए । उनले यहाँका किसानलाई हाते ट्रयाक्टर उपलब्ध भएपछि बारी जोत्न र उत्पादन बढाउन सहयोग मिल्ने बताए । “कृषि उत्पादनसँग यहाँ अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने गरेका छौँ”, उनले भने, “बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसतर्फ आकर्षित भइरहनुभएको छ ।”

    सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले राज्य र निजी क्षेत्रको सहकार्य र सहयोगबाट नै चेपाङ समुदायमा रुपान्तरण ल्याउन सकिने बताए । कान्दामा लामो समयदेखि काम गरिहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुमार पौडेलले हाते ट्रयाक्टर पुर्याउनका लागि सहजीकरण गर्नुभएको थियो । उहाँले चेपाङ समुदायले लामो समयदेखि परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेकाले व्यावसायिकताका लागि सहजता ल्याउन किसानको अवस्था देखेर हाते ट्रयाक्टर उपलब्धताका लागि पहल गरिएको बताए ।

    “किसानले चाहना गरे पनि आर्थिक अवस्थाले भ्याउने थिएन, अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन नसकेपछि सहयोगी हात खोजेका हौँ”, उनले भने, यहाँका चेपाङ समुदायको जीवनस्तर कृषिमार्फत सुधार्न सकिने भन्दै त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्दै आएका छन् । हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूलखेती गर्न सकिन्छ ।
    राससबाट

  • कस्तो रहनेछ नेपालमा आजको मौसम ?

    कस्तो रहनेछ नेपालमा आजको मौसम ?

    २८ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ ।

    सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गणडकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • टिपर दुुर्घटनामा चालकको मृत्यु

    टिपर दुुर्घटनामा चालकको मृत्यु

    २८ वैशाख, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

    गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा ‘अनलोड’ गर्न ‘टिपर’ ‘ब्याक’ गर्ने क्रममा बा२क ३४६४ नम्बरको ‘टिपर’ डिलबाट सात मिटर तल खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो ।

  • अमेरिकी राष्ट्रपति खाडी क्षेत्रका मुलुकको भ्रमणमा आउँदै, पहिलो औपचारिक भ्रमण

    अमेरिकी राष्ट्रपति खाडी क्षेत्रका मुलुकको भ्रमणमा आउँदै, पहिलो औपचारिक भ्रमण

    २७ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार साउदी अरेबिया, कतार तथा संयुक्त अरब इमिरेट्सको भ्रमणमा आउने भएका छन् । दोस्रो कार्यकालको प्रमुख अन्तर्राष्ट्रिय भ्रमणका रूपमा रहेको यो यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

    यस भ्रमणलाई ह्वाइट हाउसले ‘ऐतिहासिक पुनरागमन’ को रूपमा व्याख्या गर्दै, राष्ट्रपति ट्रम्पको खाडी क्षेत्रप्रतिको गहिरो सम्बन्ध र सम्मान दर्शाउने अवसर भएको जनाएको छ । व्यापार, रक्षा, ऊर्जा, तथा प्रविधिका क्षेत्रमा सम्भावित सहकार्यको पृष्ठभूमिमा खाडी राष्ट्रहरूले उहाँको उच्च सत्कारको तयारी गरेका छन् ।

    यद्यपि, इजरायल–हमास द्वन्द्व, इरानको आणविक कार्यक्रम तथा यमन र सिरियाको अस्थिरता जस्ता विषयले क्षेत्रीय सङ्कट समाधानमा थप संवेदनशीलता र समन्वयको आवश्यकता औंल्याएका छन् । ट्रम्पले यसपटक इजरायल भ्रमण नगर्ने तय भएको छ, जसले केही विश्लेषकहरूलाई अमेरिकाको परम्परागत कूटनीतिक प्राथमिकतामा परिवर्तनको सङ्केतका रूपमा बुझाइएको छ ।

    साथै, ओमानमा हुन लागेको इरानसँगको अप्रत्यक्ष वार्ता, गल्फ क्षेत्रको नामप्रति ट्रम्पको अभिव्यक्ति र हालै उहाँको परिवारद्वारा सञ्चालित कम्पनीहरूको खाडीमा व्यापारिक गतिविधि यी सबै विषयमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भइरहेको छ । तर ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको भ्रमण पूर्णतः राष्ट्रिय हित र क्षेत्रीय शान्तिका निम्ति केन्द्रित हुने स्पष्ट पारेको छ ।

  • फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी

    फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी

    २७ वैशाख, काठमाडौं । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पु¥याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो । फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो ।

    यसले थप राष्ट्र र खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विश्वभर महिला फुटबलमा लगानी तीव्र बनाउन मद्दत गर्ने विश्वास गरिएको छ । अठचालिस टोली सहभागीताको नयाँ ढाँचामा अब १२ समूह रहनेछ, जसले कुल खेल सङ्ख्या ६४ बाट बढाएर १०४ पु¥याउनेछ र प्रतियोगिता एक हप्ता थप लम्बिनेछ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भन्नुभयो, “यो केवल थप १६ टोली खेलाउने कुरा मात्र होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई समग्र रूपमा महिला फुटबल संरचना विकास गर्न प्रेरित गर्नेछ ।”

    महिला विश्वकपको सुरुआत सन् १९९१ मा १२ टोलीसहित भएको थियो। त्यसपछि सन् २०११ सम्म १६ टोलीले भाग लिए भने क्यानडा र फ्रान्समा सम्पन्न सन् २०१९ संस्करणमा २४ टोली सहभागी थिए । सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा सह–आयोजित प्रतियोगितामा पहिलोपटक ३२ टोली सहभागी भएका थिए । सन् २०२७ मा आगामी विश्वकप ब्राजिलमा आयोजना हुनेछ । यसैबीच, पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना हुँदैछ, जुन संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

  • भारत–पाकिस्तानबीच जल, आकास र जमिन सबैमा आक्रमण नगर्ने सहमति

    भारत–पाकिस्तानबीच जल, आकास र जमिन सबैमा आक्रमण नगर्ने सहमति

    भारत र पाकिस्तानबीच जल, स्थल र आकास तीन वटै क्षेत्रमा आक्रमण नगर्ने सहमति भएको छ । साथै आगामी १२ मेमा दुबै मुलुकका उच्च अधिकारीहरुबीच वार्ता गर्ने सहमति समेत जुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबिरामको घोषणा गरेका थिए ।

    अमेरिकाको मध्यस्थतामा यस्तो सहमति जुटेको उनको दावि छ । दुई मुलुकबीच युद्धबिराम भएसँगै अब आइपीएलका रोकिएका खेल समेत सूचारु हुनेछन् । उता, पाकिस्तानले सबै विमानस्थल खुला ग्रेको समेत समाचार सार्वजनिक भएको छ ।

  • भारत र पाकिस्तानबीच युद्धविराम : ट्रम्पले गरे घोषणा

    भारत र पाकिस्तानबीच युद्धविराम : ट्रम्पले गरे घोषणा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्पका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् ।

    ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् । उता भारतीय विदेश सचिव विक्रम मिश्रीले समेत यसको पुष्टी गरेका छन् । तत्कालका लागि युद्ध विराम गर्ने र थप मुद्दामा वार्ता गर्ने सहमति भएको समेत उनले बताएका छन् ।