१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राती भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको समेत उनले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
१४ वैशाख, दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् । पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका–१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताउनुभयो । “फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो÷भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो”, उनले भने, “साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ ।” पछिल्लो समय यहाँ फोटो र भिडियो बनाउनेकोे भीड लाग्ने गर्छ । स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन् ।
पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी अमिर तिरुवा बताउँछन् । “यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन्”, उनले भने, “पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन् ।” उनले यहाँ विभिन्न म्युजिक भिडियोसमेत छायाङ्कनका हुने गरेको बताए ।
पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि साँझको समय फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । विसं २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणाधीन अवस्थामा छन् ।
पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ । महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुलसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको जानकारी दिए ।
“पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन्, त्यसमा टापु पनि छ, पर्यटकले बोटिङ गरेर त्यो टापुमा जान सक्छन् ।” उनले भने, “पोखरीसँगै हरियाली बनाउन पाँच हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन् ।” उनले पछिल्लो समय पुल अवलोकनका लागि दैनिक दुई–तीन सय जना पुग्ने गरेका बताए । महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा छ ।
१४ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उहाँले बताउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ ।
मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।
१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः ‘युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने’ बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग रोममा सम्पन्न भेटपछी ‘ट्रुथ सोसल’ मार्फत व्यक्त विचारमा ट्रम्पले पुटिनसँग व्यवहार गर्ने तरिकामा फेरबदल हुन सक्ने सङ्केत पनि गरे ।
“नागरिक क्षेत्रमा, शहर र गाउँहरूमा क्षेप्यास्त्र आक्रमण गर्नुको कुनै जायज कारण देखिँदैन । यसले मलाई यस्तो अनुभूति दिएको छ कि पुटिन सम्भवतः युद्ध अन्त्य गर्न गम्भीर हुनुहुन्न,” ट्रम्पले उल्लेख गरे । “उहाँले मलाई केवल समय कटाइरहनु भएको जस्तो लाग्छ र अब उहाँप्रति फरक रणनीति अपनाउनुपर्ने हुनसक्छ ? अहिले धेरै निर्दोष मानिसहरू मारिइरहेका छन् ।” यसैबीच, क्रेमलिनले जनाएको अनुसार, रूसी राष्ट्रपति पुटिनले शुक्रबार मस्कोमा अमेरिकी प्रतिनिधि स्टिभ विटकोफसँगको भेटमा युक्रेनसँग बिना पूर्वशर्त वार्ता गर्न तयार रहेको बताएका छन् ।
१३ वैशाख, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग¥र्यो भने पोखराले रु ३० लाख पायो । ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औँ मिनेटमा अग्रता बनायो । उसका लागि इमोह इजाकियलको गोल गरे । पहिलो हाफमा ललितपुरले १–० को अग्रता बनायो ।
खेलको ६४औँ मिनेटमा भने सुदील राइले पोखरालाई खेलमा फर्काए । स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाएका थिए तर रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे । त्यसपछि खेलको ७४औंँ मिनेटमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट गोल गरे । ललितपुर प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो ।
ललितपुरले लिग चरणको सुरूआतमा काठमाडौंँसँग २–२ को बराबरी खेलेको थियो । त्यसपछि पोखरामाथि ३–२ को जित निकाल्यो । धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २–१, बुटवलविरुद्ध २–० को जित र झापासँग १–१ को बराबरी खेल्दै प्रतियोगितामा अपराजित रह्यो । यस्तै, ३ जित र ३ बराबरीसहित १२ अङ्क जोड्दै ललितपुरले अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो । ललितपुरले धनगढीलाई २–१ ले हराउदै फाइनल यात्रा तय गरेको थियो । पोखराले लिग चरणको सुरुआत चितवनसँग २–० को हारबाट गरेको थियो । त्यसपछि ललितपुरसँग ३–२ ले पराजित भयो ।
काठमाडौँमाथि २–० को जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग १–१ गोलको बराबरी खेलेपछि बुटवलमाथि २–० को जित निकालेको थियो । २ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अङ्क जोड्दै गोलअन्तरको आधारमा काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुग्ने चौँथो टोली बनेको थियो । इलोमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै ३–० को जित निकाल्यो । दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
१३ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंककारी समूहको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । शाहले शनिबार एक समवेदना सन्देश जारी गर्दै उक्त आक्रमणका कारण हिन्दूवादी यात्रीहरूको निधन भएकोप्रति आफू दुःखी भएको बताएका छन् । ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरुको दुःखद् निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ’ पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनामा परी ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जलि । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना ।’
‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीत यस्ता अपराध हुनु पाप कर्म रहेको शाहले बताएका छन् । ‘वसुधैव कुटुम्बकम्’को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीहरूको दिव्य मानवीय मान्यता हो । त्यो मान्यता विपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ ।’ यस्तो घटनाको विश्वव्यापी भर्त्सना र निन्दा हुनुपर्ने आफ्नो धारणा रहेको शाहले विज्ञप्ति मार्फत बताएका छन् ।
१३ वैशाख, भ्याटिकन । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् । भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन् । सोमबार ८८ वर्षको उमेरमा निधन भएका अर्जेन्टिनाका धर्मगुरुले आफ्नो १२ वर्षे शासनकालमा सदियौं पुरानो चर्चलाई अझ समावेशी दिशामा डोरÞ्याउने प्रयास गरेका थिए ।
सेन्ट पिटर्स बेसिलिकामा तीन दिनसम्म राखिएको उनको शवदाहगृहमा करिब दुई लाख ५० हजार मानिसहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनको अन्तिम बिदाइमा भाग लिन शुक्रबार बिहानैदेखि भ्याटिकन सिटीमा ठूलो सङ्ख्यामा मानिसहरू भेला हुन थालेका थिए । लस एन्जलसबाट शनिबारको प्रार्थनासभामा भाग लिन आएकी ३९ वर्षीया एन्ड्रिया उगाल्डेले भनिन्, “उहाँ पोप मात्र हुनुहुन्न, उहाँ मानव हुनुको परिभाषा हो ।”
स्थानीय समयअनुसार बिहान १० :०० बजे सुरु उक्त समारोहमा करिब दुई लाख मानिस सहभागी भएको अपेक्षा छ । करिब ५० राष्ट्रप्रमुखहरू अतिथिको सूचीमा रहेको शोक समारोहलाई व्यवस्थित गर्न इटालियाली र भ्याटिकन अधिकारीहरूले ठूलो सुरक्षा अभियान चलाएका छन् । उक्त क्षेत्रलाई नो फ्लाई जोन राखिएको छ, लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको छ भने सुरक्षाकर्मीहरूलाई भ्याटिकन सिटीका भवनहरूका छतछतमा तैनाथ गरिएको छ ।
In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine’s President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)
सन् २०१३ मा पोप बेनेडिक्ट सोह्रौंले राजीनामा दिएपछि पदभार ग्रहण गरेका फ्रान्सिसको मृत्यु भएको भ्याटिकनको आधिकारिक शोकको नौ दिनमध्ये पहिलो दिन उनको अन्त्येष्टि गरिनेछ । शोकपछि कार्डिनलहरू सम्मेलनका लागि भेला हुनेछन् र विश्वभरिका क्याथोलिक धर्मालम्बीहरूको नेतृत्व गर्न नयाँ पोप चयन गर्नेछन् ।
फ्रान्सिसका धेरै सुधारहरूले परम्परावादी क्रिश्चियन नेतृत्वलाई चिढाएको भएपनि उनको क्रिश्चियन इतर पक्षधरबाट पनि प्रशैसा हुने गरेको छ । आप्रवासीहरूमाथिको न्यायिक व्यवहारदेखि विश्व तापमान वृद्धिका बिषयमा उनले दिएका प्रतिक्रिया कतिपय राजनीतिक नेतृत्वका लागि आलोचनाको बिषय बनेका थिए । तैपनि ब्यूनस आयर्सका पूर्व आर्कबिशपको करुणा र करिश्माले उनलाई विश्वव्यापी स्नेह र सम्मान दिलाएको छ ।
ट्रम्प प्रशासनले आप्रवासीहरूलाई सामूहिक रूपमा देश निकाला गरेकोमा पोपले आलोचना गरेका थिए । राष्ट्रपति ट्रम्प आफ्नी पत्नी मेलानियासँग ‘विश्वलाई माया गर्ने’ ‘एक असल व्यक्ति’ लाई श्रद्धाञ्जली दिन शुक्रबार अबेर रोम हुँदै भ्याटिकन सिटी पुगेका छन् । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा ट्रम्पले अन्य मुलुकका दर्जनौं नेतासँग भेट्ने सम्भावना छ । ट्रम्पले आफूले सुरु गरेको कर वृद्धिका विषयमा वार्ता गर्न इच्छुक छन् ।
जेलेन्स्कीले फेब्रुअरीमा ह्वाइट हाउसमा भएको प्रदर्शनपछि पहिलो पटक बैठक हुने आशा व्यक्त गरेका छन् । अन्त्येष्टिमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मु ,अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइली, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा, फ्रान्सका इमानुएल म्याक्रोँ र लेबनानका जोसेफ औन पनि सहभागी छन् । समारोहमा बेलायतका राजकुमार विलियमसहित एक दर्जनभन्दा बढी राजपरिवारको पनि उपस्थिति रहने छ ।
फ्रान्सिसले गाजामा इजरायली कदमको विरोध गरेका कारण आक्रोशित इजरायलले आफ्ना राजदूतलाई मात्र पठाउने भएको छ । पाँच हप्तासम्म निमोनियासँग जुधेपछि सुधार भई निवास फर्केका फ्रान्सिसको अस्पताल छोडेको एक महिना नबित्दै मस्तिष्कघातसँगै हृदयाघातका कारण निधन भएको थियो ।
A missionary man from Belize records a video after the funeral of Pope Francis in St. Peter’s Square at the Vatican, Saturday, April 26, 2025. (AP Photo/Andreea Alexandru)
उनको अन्तिम सार्वजनिक कार्य, उनको मृत्युको अघिल्लो दिन, सम्पूर्ण विश्वको ईस्टर सन्डे आशीर्वाद थियो जसमा उनले ‘कमजोर, सीमान्तकृत र आप्रवासीहरू’ को रक्षा गर्न अपील गर्दै आफ्नो पोपको पदवीबाट विश्रामको घोषणा गरेका थिए । जेसुइटले असीसीका सेन्ट फ्रान्सिसको नामबाट आफ्नो नामकरण गर्न रोजेका उनले ‘गरिबहरूको लागि एक चर्च’ स्थापना गर्न चाहेका थिए । उनमा महङ्गो लुगा र पोप महलको लालसा थिएन । चर्चका २६६ औँ पोप भ्याटिकन गेस्टहाउसमा बस्थे । आफ्नो मनपर्ने रोम चर्च, सान्टा मारिया म्यागियोरमा भएका वेथितिविरूद्ध हस्तक्षेप गर्न चाहन्थे । उहाँ एक शताब्दीभन्दा बढी समयपछि भ्याटिकनको पर्खालबाहिर गाडिने पहिलो पादरी बनेका छन् ।
उनको अन्तिम बिदाइ समारोहमा २२४ जना कार्डिनल, ७५० जना बिशप र पादरीका साथै विश्वका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन् । विश्वभरिका क्याथोलिकहरूले ब्यूनस आयर्सलगायत अन्य स्थानहरूमा पनि यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका छन्। नम्र पोपले आफ्नो मृत शरीरलाई एउटा साधारण संगमरमरको चिहानमा काठको एउटा कफिनभित्र राख्न आग्रह गरेका थिए । अन्त्येष्टिपछि कफिनलाई रोमको प्राचीन मन्दिर रहेको फोरी इम्पेरियली र कोलोसियम हुँदै सान्टा मारिया म्यागियोर बेसिलिकामा लगिनेछ ।
भ्याटिकनले भनेको छ, “‘गरिब र सामान्य जनजीवनका बाँच्ने आवश्यकताका लागि सङ्घर्षशील’ मानिसहरूको एक समूहले शववाहन चिहानमा आइपुग्दा स्वागत गर्नेछ । फ्रान्सिसका प्रशंसकहरूले उनलाई चर्चको धारणा परिवर्तन गर्न र दशकौंको लिपिकीय यौन दुव्र्यवहार काण्डपछि विश्वासलाई पुनर्जीवित गर्न मद्दत पुर्याएको श्रेय दिन्छन्।
सम्बन्धविच्छेद भएका विश्वासीहरूलाई सान्त्वना प्राप्त गर्न अनुमति दिने, तेस्रोलिङ्गी विश्वासीहरूको बप्तिस्मालाई अनुमोदन गर्ने र समलिङ्गी दम्पतीहरूका लागि आशिष दिने र समलिङ्गी क्याथोलिकहरूको न्याय गर्न इन्कार गर्ने कतिपयले उहाँलाई कट्टरपन्थी ठानेका थिए। उनले चर्चले गर्भपतनको विरोध गरेकोमा अडिग रहेका थिए ।
फ्रान्सिसको १२ वर्षे पोपको पहिलो यात्रा इटालियन टापु लाम्पेडुसामा भएको थियो जुन प्रायः भूमध्यसागर पार गर्ने आप्रवासीहरूको लागि कलको पहिलो बन्दरगाह हो । उनले ग्रीसको लेस्बोस टापुको भ्रमण गरेका थिए । अलपत्र शरणार्थीहरूलाई घरसम्म पुग्ने वातावरण बनाउन पहल गरेका थिए । तीमध्ये केही शरणार्थीहरू उनको अन्त्येष्टिमा उपस्थित हुने बताइएको छ । राससबाट
१३ वैशाख, काठमाडौं । पोप फ्रान्सिसको अन्तिम संस्कारको अवसरमा भएको छोटो कुराकानीमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयेन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच औपचारिक भेट गर्ने सहमति भएको आयोगकी प्रवक्ता पाउला पिन्हाले जानकारी दिएकी छिन् सो अवसरमा विभिन्न विश्व नेताहरूबीच कूटनीतिक संवादहरू भएका थिए । “छोटो कुराकानीमा राष्ट्रपति भन डेर लेयेन र राष्ट्रपति ट्रम्पले भेट गर्ने सहमति जनाए,” आयोगकी प्रवक्ता पाउला पिन्हाले बताइन्, यद्यपि मिति भने खुलाइएको छैन । अर्जेन्टिनी पोपको अन्तिम संस्कारको क्रममा विश्व नेताहरूले कूटनीतिक भेटघाटको अवसर लिएका थिए ।
दुई नेताबीचको आगामी बैठक हाल अमेरिका र युरोपेली सङ्घबीचका व्यापारिक तनावको पृष्ठभूमिमा हुँदैछ । शुक्रबार वासिङ्टन भ्रमणमा रहेका युरोपेली सङ्घका अर्थ आयुक्त वाल्दिस डोम्ब्रोभ्स्किसले, सम्झौता गर्न अझ काम गर्न बाँकी रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले विगतमा बारम्बार ईयूप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
१३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छिन् । भारत, काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आयोजित सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरिन् । मन्त्री डा राणाले भनिन्, “नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।”
आतङ्कवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उनले नेपाल आफ्नो भूमि कुनै पनि आतङ्कवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट गरिन् । यसैले काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको मन्त्री डा राणाले बताइन् । नले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतङ्कवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको बताइन् ।
नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री डा राणाले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि हो भनिन् । “हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन् । हामी सधैँ खुसी या सङ्कटको समयमा एकसाथ उभिएका छौँ ।
भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो”, उनले भनिन् । मन्त्री डा रााणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन् । त्यस अवसरमा उनले उक्त आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरिन् ।
१३ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको आज बसेको बैठकले चारबुँदे निष्कर्ष निकालेको छ । बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले संसदीय काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ कार्यसम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट सम्पूर्ण सदस्यलाई निर्देशन गर्ने निष्कर्ष निकालेको छ । मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव चनाखो रहँदै जनसरोकार र राष्ट्रिय महत्वका नीति, योजना र विषयलाई संसद्मार्फत सशक्त ढङ्गले उठान गर्ने बैठकले निष्कर्ष निकालेको पार्टीका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती विधेयकलगायत र अन्य विचाराधीन विधेयकलाई गुणस्तरीय कानुन बनाउने गरी यथाशीघ्र निष्कर्षमा पुर्याउन एमाले संसदीय दल र सदस्यहरूले प्रभावकारी पहलकदमी लिने निष्कर्ष निकालेको हो । मुख्य सचेतक बर्तौलाले भन्नुभयो, “संसद्मा हुन सक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावली विपरीत हुने क्रियाकलापको विपक्षमा सदैव उभिँदै संसद्लाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोका रूपमा स्थापित गर्दै अगाडि बढाउन जीवन्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।”
१३ वैशाख, मोरङ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो ।
पर्यटकको चहलपहल बढ्दा पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित भएका छन् । भारतको विहार राज्यबाट इलामको कन्याम घुम्न आउनुभएका कम्लेश शर्मा भन्छन्, “नेपाल वास्तवमै स्वर्गको टुक्रा रहेछ सुनेकोभन्दा पनि धेरै राम्रो लाग्यो, साथीहरूसँग नेपाल घुम्न आएको दुई दिन भयो एक साता बसेर मात्र फर्कने योजना बनाएका छौँ ।”
कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको हो । “हामी होटल व्यवसायी एकदमै खुसी छौँ, आशा छ पर्यटन वर्ष २०८२ ले कोरोना माहामारीपछि थलिएको होटल व्यवसाय अव चलायमान हुनेछ”, होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले भने ।
यहाँ विशेषगरी भारतीय पर्यटक आउनेगरेका छन् । भन्सार पास भएर आइसकेका भारतीय पर्यटकलाई बढिमात्रामा चेकजाँचको झन्झट हुने गरेको गुनासो आइरहेकामा हाल पर्यटन वर्षलाई लक्षित गरेर सीमानाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँसेर सहज बनाउको अध्यक्ष लिम्बू बताउँछन् । कोशी प्रदेश सरकारले सीमानाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँस्न सुरू गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारीसाधनमा पर्यटन वर्षको स्टिकर टाँसेर अभियानको सुरूआत गरेका थिए । पर्यटकलाई सहज होस् भनेर यो अभियान सुरू गरेको प्रदेश सरकारले जनाएको छ । दैनिक १०० को हाराहारीमा भारतीय पर्यटकको सवारी भेडेटार आइरहेको बताउँदै अध्यक्ष लिम्बूले भेडेटार र आसपासमा १५ देखि २० हजार पर्यटकलाई राख्न सकिने व्यवस्थित होटल तथा होमस्टे रहेको उनको भनाइ छ ।
गत सालभन्दा यो साल सुरुआती दिनमै आन्तरिक पर्यटकको चहलपल बढेको अनुमान गर्न सकिने धनकुटा साँगुरीगडी–६ नाम्जेका होमस्टे सञ्चालक नगेन्द्र मगरले बताए । अरू दिनभन्दा शुक्रबार र शनिबार पर्यटकको चाप बढी हुने यस ठाउँमा अरू दिनमा पनि पर्यटकको चाप बढ्न थालेको उनको भनाइ छ ।
नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत १९ वटा घर आबद्ध रहेको र ती घरमा ९० देखि १०० जनासम्म राख्न सकिने उनको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटन गर्नेको सङ्ख्या बढेको बताउँदै घुम्नका लागि गाडी भाडामा जाने गरेको यातायात व्यवसायी मोरङ बेलबारी–९ का नगेन्द्र भट्टराईले बताए। कोशी प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन वर्ष २०८२ सञ्चालन गरिरहँदा प्रदेशको समग्र आर्थिक क्षेत्र चलायमान हुने र यो कार्यक्रम सफल बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउँछन् ।
चैत २७ गते गुराँसको राजधानी मानिने तेह्रथुमको तीनजुरे मिल्केमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गरेका थिए । पर्यटन वर्षमा विशेषगरी धार्मीक, प्राकृतिक, सांस्कृतिक पर्यटक कोशी घुम्न आउने कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउँछन् । उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक यहाँ आउने गरेका छन् । पर्यटन वर्षमा पन्ध्र लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
१३ वैशाख, लुम्बिनी । लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरे । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ । महोत्सवअन्तर्गत अन्तरराष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ ।
नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । महोत्सवमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
१३ वैशाख, काठमाडौं । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो विमान समुद्रमा दुर्घटनाग्रस्त हुँदा पाँच थाई प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । बैंककको दक्षिणमा रहेको प्राचुआप खिरी खान प्रान्तको तटमा बिहान ८ः०० बजे दुर्घटना भएको हो । प्रहरी प्रवक्ता आर्केयोन क्रेथोङले जहाजमा रहेका छ जना अधिकारीमध्ये पाँच जनाको मृत्यु भएको र छैटौँ गम्भीर घाइते भएर अस्पतालमा रहेको बताए । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन विमानको ब्ल्याक बक्स डाटा रेकर्डरको जाँच गरिरहेका छन् ।
राजधानीबाट एक सय ३० किलोमिटर ९८० माइल० दक्षिणपश्चिममा सप्ताहन्तमा लोकप्रिय यात्रा स्थल चा–आम जिल्लाको किनारबाट करिब एक सय मिटर तल विमान खसेको स्थानीय मिडियाले जनाएको छ । सामाजिक सञ्जालमा सेयर गरिएको फुटेजमा विमान समुद्रमा खस्नुअघि घुमाउरो हुँदै गएको र मानिसहरू घटनास्थलमा पुग्न छातीसम्मको पानीबाट हिँडिरहेको देखाइएको छ । प्रहरी प्रमुख कित्रात फानफेटले पूर्ण अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “रोयल थाई प्रहरीले आफ्नो ज्यान गुमाउने बहादुर अधिकारीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
१३ वैशाख, झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।
दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएका घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ । “म ड्राइभरको सिट पछाडि नै थिएँ”, घाइते शिक्षक भण्डारीले भने, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ ।”
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उनले बताए ।
१३ वैशाख, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरी स्रोतले जानकारी दिएको छ । ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घूस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरिएको थियो जसका कारण उनले कार्यकालको आधा समयमा राजीनामा दिन बाध्य हुनुपरेको थियो । नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै प्रहरी स्रोतले दिएको जानकारी अनुसार ७५ वर्षीय उनलाई देशको उत्तरपूर्वी क्षेत्रबाट पक्राउ गरिएको हो ।
अदालतमार्फत् पक्राउ आदेश खारेज गर्ने उनको प्रयासलाई बिहीबार अदालतले अस्वीकार गरेको थियो । अभियोजकहरूले एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको आरोप लगाएका छन्। कोलर डी मेलो ब्राजिलको कानुनको उल्लङ्घन गर्ने पहिलो राष्ट्रपति भने होइनन् ।
सन् १९६४ देखि १९८५ सम्म देशको नेतृत्व गरेका सातमध्ये चार जना राष्ट्रपतिलाई दोषी ठहराइएको, जेल चलान गरिएको वा महाभियोग लगाइएको थियो । सन् २०२२ को चुनावमा पराजित भएपछि अति दक्षिणपन्थी पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई ‘कू’ को षडयन्त्र गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिइएको छ ।
१३ वैशहाख, काठमाडौं । रूस र इरानबीच प्रतिवर्ष ५५ अर्ब घनमिटर ग्यास रूसबाट इरानमा ढुवानी गर्ने सम्झौता भएको छ ।रुस र इरानबीच शुक्रबार भएको नयाँ ग्यास सम्झौताले उनीहरूको गठबन्धनलाई थप मजबुत बनाएको रूसी अधिकारीले बताएका छन् । इरानका पेट्रोलियम मन्त्री मोहसेन पाकनेजादले मस्कोको भ्रमणका क्रममा आफ्ना रुसी समकक्षी सर्गेइ सिभिलेभसँग ग्यास सम्झौतामा हस्ताक्षर गरेका छन् । युक्रेनको आक्रमणका क्रममा इरान रुसको प्रमुख सहयोगीका रुपमा उदाएको छ । मस्को र तेहरान दुवैलाई पश्चिमा मुलुकले ठूलो प्रतिबन्ध लगाएका छन् ।
पाकनेजादले इरान र रूसबीच ग्यास आपूर्तिका लागि एक नयाँ सम्झौतामा हस्ताक्षर भएको घोषणा गर्दै भने, “सम्झौता अनुसार अब रूसबाट इरानले पहिलो चरणमा एक वर्षमा ५५ अर्ब क्यूबिक मीटर ग्यास आयात गर्नेछ ।” दुई देशलाई छुट्याउने अजरबैजानमार्फत ग्यास पठाइने उनले बताए । रूसका सिभिलेभले मूल्य निर्धारण भइनसकेको तर यसै वर्षदेखि ग्यास ढुवानी सुरु हुने बताए । रूस र इरानले यसै वर्ष रणनीतिक साझेदारीका लागि अर्को एक स्म्झौतामा पनि हस्ताक्षर गरेका छन् । संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक कार्यक्रम त्याग्न दबाब दिइरहेका बेला ग्यास सम्झौता भएको हो ।
अमेरिकी दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटवार्ता गरेकै दिन इरानी मन्त्रीसम्झौताका लागि मस्को भ्रमणमा थिए । यसैबीच, किएभ र पश्चिमा देशहरूले इरानले युक्रेनको आक्रमणका लागि मस्कोलाई हतियार पठाउन लागेको बताएका छन् ।
१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन् । शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गरे । ट्रम्पले भने, “यदि आणविक हतियार नियन्त्रणका लागि सम्झौता भएन भने इरानविरूद्धको आक्रमण सम्भव छ । हामीले आक्रमण गर्नु पर्नेछ किनभने इरानसँग आणविक हतियार हुनु विश्व सुरक्षाका लागि खतरा हो ।”
वासिङ्टन र तेहरानबीच ओमानमा शनिबार तेस्रो चरणको आणविक कार्यक्रमबारे वार्ता जारी रहेका बेला ट्रम्पको यो भनाइ आउनुले युद्धको नयाँ जोखिम उत्पन्न भएको छ । दुवै पक्षले आणविक सम्झौताका लागि रोममा भएको अन्तिम बैठकको अन्त्यमा आशावादी रहेको बताएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको टेलिफोन वार्तापछि ट्रम्पले मङ्गलबार भने, “हामी हरेक मुद्दामा एउटै पक्षमा छौँ ।” इजरायललाई इरानविरुद्ध एकतर्फी आक्रमण गर्नबाट ट्रम्पले रोकेको समाचारबारे उनलाईटाइमले सोधेको प्रश्नमा उनले भने, “यो सही होइन ।”
उनले भने, “मैले उनीहरूलाई रोकेको थिइनँ र मलाई लाग्छ कि हामी आक्रमण बिना सम्झौता गर्न सक्छौँ त्यसैले मैले उनीहरूका लागि सहज वातावरण बनाउन कोशिस गरेको हो ।” “म त्यो अन्तिम विकल्प उनीहरूलाई दिएको छु किनकि म बम खसाल्नुभन्दा सम्झौतालाई प्राथमिकता दिन्छु,”उनले भने । नेतन्याहूले अमेरिकालाई इरानसँगको युद्धमा तानेकोमा आफू चिन्तित रहेको कुराको खण्डन गर्दै ट्रम्पले भने, “उनी युद्धमा जान सक्छन् । तर हामी तानिएका छैनौं। यदि हामीले सम्झौता गर्न सकेनौं भने म युद्धमा जान सक्छु।सम्झौता भएन भने म इरानविरूद्धको लडाइको नेतृत्व गर्नेछु,” ट्रम्पले टाइमसँग भने ।
ट्रम्पले सन् २०१८ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको पालामा इरानसँग भएको आणविक सम्झौता तोडेका थिए । मध्यपूर्वको एक मात्र आणविक शक्ति सम्पन्न राष्ट्र मानिने इरानविरूद्ध इजरायल र पश्चिमा शक्तिले लामो समयदेखि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् । इरानले आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी वा राष्ट्रपति मसूद पेजेशकियानसँग भेट गर्न चाहनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “अवश्य भेट्नेछु ।”
१३ वैशाख, काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
१३ वैशाख, दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ ।
दमौली बजारमा अहिले एकतर्फी कालोपत्रको काम चलिरहेको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। पूर्वी खण्डका अन्य ठाउँमा कालोपत्रको काम अन्तिम चरणमा पुगेपनि दमौली खण्डमा घरटहरा हटाउन ढिलाई हुँदा काममा ढिलाई भएको थियो । यो खण्डको काम ८२ दशमलब ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
चार लेनतर्फ ३३ दशमलब ५६ र दुई लेनतर्फ ३.२ किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ । उनले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भएको छ ।” पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
१२ वैशाख, गोरखा । गोरखा भूकम्पको १०औँ स्मृति दिवसको अवसरमा आज बारपाकमा ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी’ गरिएको छ । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएको ७ दशमलव ८ म्याग्निच्यूडको विनाशकारी गोरखा भूकम्पको स्मृति दिवस पारेर पत्रकार प्रकाश तिमिल्सिनाको फोटो प्रदर्शन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो प्रदर्शनीको उद्घाटन गरे ।
भूकम्पका बेला खिचिएका बारपाकका ६० वटा फोटो प्रदर्शनीमा राखिएको पत्रकार तिमिल्सिनाले जानकारी दिए । पूर्वप्रधानमन्त्री दाहालसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टलगायत स्थानीयबासीले प्रदर्शनी अवलोकन गरे । भूकम्पका कारण केन्द्रबिन्दु बारपाक गाउँमा मात्र ७२ जनाले ज्यान गुमाएका थिए ।
१२ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले मे १६ देखि १८ २०२५ सम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् । टर्कीको इस्तानबुलमा २१ देखि २३ अप्रिलसम्म आयोजित ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० वार्षिक सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन र दिगो भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञलाई सहभागी हुन आमन्त्रण गरेका हुन् ।
आगामी सगरमाथा संवाद २०२५ प्रवर्द्धन गर्दै सम्मेलन क्रममा पर्यटन बोर्ड र पाटाबीच साझेदारी सम्झौता समेत भएको छ । जस अन्तर्गत ’टुरिज्म ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका संस्था सुदृढीकरणका कार्यक्रममा सहकार्य गरिने छ । त्यसैगरी सीईओ जोशीले वैश्विक पर्यटन समुदायलाई विशेष अपिल गर्दै जुन ३ देखि ५ सम्म काठमाडौंमै हुने ‘हिमालयन ट्राभल मार्ट’ मा पनि सहभागी हुन अन्तर्राष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीलाई आग्रह गरे । यस मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदा प्रवर्द्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ ।
‘हिमालयन ट्राभल मार्ट केवल व्यापारिक भेला होइन, यो नेपालले दिन सक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ,’ जोशीले भने । ‘सदाका लागि ज्ञान, भविष्यका लागि दिगोपन’ भन्ने मूलनारा साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दिगो भविष्य निर्माण’ विषयमा मन्तव्य दिँदै सीईओ जोशीले नेपालको इको–टुरिज्म मोडेल, समुदाय–आधारित पर्यटन अभ्यास र प्रमुख दिगो पहलबारे जानकारी गराएका हुन् ।
उनले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोण समेत प्रस्तुत गरे । त्यसैगरी सीईओ जोशी नेतृत्वको बोर्डको प्रतिनिधिमण्डलले ‘ग्लोबल सस्टेनेबल टुरिज्म काउन्सिल’ का सीईओ डा। र्यान्डी डब्र्यान्डसँगको छलफलमा गन्तव्य प्रमाणीकरण, सदस्यता, अनुसन्धान तथा क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य विस्तार गर्ने सहमति गरेको छ ।
सम्मेलन अवधिभरि बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्यांक वैज्ञानिक, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) विशेषज्ञ तथा वातावरणविद्सँग विभिन्न छलफल र बैठक गरेको छ । सम्मेलन क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यका रूपमा पुनस्र्थापना गर्ने रणनीति सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।
१३ वैशाख, काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले काश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्काविरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ । भारतले विवादित मुस्लिम–बहुल काश्मीरमा एक चौथाइ शताब्दीमा नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमणपछि पाकिस्तानलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध वर्षौंदेखिको न्यूनतम स्तरमा झरेको छ ।
“हामी दुवै सरकारलाई, अधिकतम संयम अपनाउन र हामीले देखेको अवस्था र घटनाक्रम अझ बिग्रिन नपरोस् भनी सुनिश्चित गर्न अपील गर्दछौँ”, संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले बिहीबार न्युयोर्कमा पत्रकारहरूलाई भने, “पाकिस्तान र भारतबीचको कुनै पनि मुद्दा अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ र हुनुपर्छ भन्ने हाम्रो विश्वास छ ।”
भारतीय प्रहरीले तीन फरार बन्दुकधारीमध्ये दुईलाई पाकिस्तानी भनेर पहिचान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पहलगाम लोकप्रिय पर्यटकीय स्थलमा २६ नागरिकको हत्या गर्ने बन्दुकधारीहरूलाई पक्रने प्रतिज्ञा गरेका छन् । “म सारा विश्वलाई भन्छु ः भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुनासम्म खोज्नेछौँ”, उनले भने ।
कुनै पनि संलग्नतालाई अस्वीकार गर्दै इस्लामाबादले पहलगाम आक्रमणसँग पाकिस्तानलाई जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भनेको छ र कुनै पनि भारतीय कारबाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ । “पाकिस्तानको सार्वभौमसत्ता र यसका जनताको सुरक्षामा कुनै पनि खतरालाई सबै क्षेत्रमा दृढ पारस्परिक उपायहरूद्वारा सामना गरिनेछ”, पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले शीर्ष सैन्य प्रमुखहरूसँग दुर्लभ राष्ट्रिय सुरक्षा समितिको बैठक गरेपछि पाकिस्तानी विज्ञप्तिमा भनिएको छ ।
Members of Kashmiri refugee organization “Pasban-e-Hurriya” chant slogans behind a burning banner with pictures of Indian Prime Minister Narendra Modi with others during a demonstration to denounce the suspension of the water sharing treaty by India, in Muzaffarabad, the capital of Pakistan-administered Kashmir, Friday, April 25, 2025. (AP Photo/M.D. Mughal)
सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गरे पनि यसको अलग–अलग भागलाई शासन गर्दै आएका छन् । विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित कश्मीरमा विद्रोह गर्दै आएका छन् । भारतको वायुसेना र नौसेना दुवैले बिहीबार सैन्य अभ्यास गरेका छन् । भारतीय प्रहरीका अनुसार तीन बन्दुकधारी पाकिस्तान–आधारित लश्कर–ए–तैयबा समूहका सदस्य हुन् । लश्कर–ए–तैयबा संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन सङ्गठन हो ।
उनीहरूले प्रत्येक व्यक्तिलाई पक्राउ गर्ने सूचनाका लागि २० लाख रुपैयाँ (२३ हजार पाँच सय डलर) इनामको घोषणा गरेका छन् । आक्रमणको एक दिनपछि नयाँदिल्लीले पानी साझेदारी सन्धि निलम्बन गर्यो, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गर्यो, कूटनीतिक सम्बन्धहरू कम गर्यो र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लियो ।
जवाफमा इस्लामाबादले बिहीबार भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गर्न र आफ्नो छेउबाट मुख्य सीमा क्रसिङ बन्द गर्न आदेश दिएको छ । सिन्धु नदीबाट पानीको आपूर्ति रोक्ने भारतको कुनै पनि प्रयास ‘युद्धको कार्य’ हुने चेतावनी पनि पाकिस्तानले दिएको छ ।
पहलगाम हालैका काश्मीरी विद्रोही आक्रमणहरूमा नाटकीय परिवर्तन हो जसले सामान्यतया भारतीय सुरक्षा बलहरूलाई लक्षित गर्दछ । विशेषज्ञहरूका अनुसार सैन्य प्रतिक्रिया अझै आउन बाँकी हुन सक्छ । केहीले यो केही दिनभित्र आउन सक्छ भन्ने अनुमान गरेका छन् भने अरूले हप्ताहरू लाग्ने बताएका छन् । सन् २०१९ मा काश्मीरमा भएको आत्मघाती आक्रमणमा ४१ जना भारतीय सैनिक मारिएपछि भारतीय वायुसेनाले पाकिस्तानभित्र आक्रमण गर्यो । यसले दुई मुलुकलाई पूर्ण युद्धको सँघारमा पुर्याएको थियो ।
“यी आतङ्कवादीहरूको जति पनि थोरै भूमि छ त्यसलाई धुलोपिठो बनाउने समय आएको छ”, मोदीले बिहीबार मृतकहरूको सम्झनामा दुई मिनेट मौन धारण गरेपछि भने, पहलगाम आक्रमणमा मारिनेमा एक नेपालीबाहेक सबै भारतीय थिए । भारतले विगतका आक्रमणहरूको जवाफ दिन समय लिएको छ । हालका वर्षहरूमा भएको सबैभन्दा खराब आक्रमण सन् २०१९ फेब्रुअरीमा पुलवामामा भएको थियो । उक्त आक्रमणमा विद्रोहीहरूले विस्फोटकले भरिएको कार उडाएर प्रहरी काफिलामा ठोक्काउँदा ४० जनाको मृत्यु र कम्तीमा ३५ अन्य घाइते भएका थिए ।
भारतीय लडाकू विमानहरूले १२ दिनपछि पाकिस्तानी क्षेत्रमा हवाई आक्रमण गरेका थिए । मङ्गलबारको आक्रमण पर्यटकहरू पहलगामको लोकप्रिय स्थलमा शान्त पहाडी दृश्य मनाइरहेका बेला बन्दुकधारीहरू जङ्गलबाट निस्केर आएर स्वचालित हतियारहरूले भीडमाथि गोली बर्साएका थिए । बाँचेकाहरूले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेका थिए र इस्लामिक विश्वास घोषणा दिन सक्नेहरूलाई छोडिदिएका थिए ।
भारतीय सुरक्षा बलले ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिएर आक्रमणकारीहरूका लागि व्यापक खोजी सुरु गरेको छ । यस आक्रमणले हिन्दू राष्ट्रवादी समूहहरूलाई क्रोधित बनाएको छ, र भारतभरका संस्थाहरूमा काश्मीरका विद्यार्थीहरूले उत्पीडन र धम्की अनुभव गरेको रिपोर्ट गरेका छन् ।
काठमाडौं । नेपालभित्र कम्तीमा ७ हजार मिटर उचाइको हिमाल आरोहण नगरी सिधै सगरमाथा आरोहणमा जान अब रोक लगाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक २०८१’ मा यस्तो व्यवस्था गरिएको छ । जसले २०३५ सालको पर्यटन ऐन विस्थापित गर्ने छ । सरकारले ७ हजार मिटरभन्दा अग्लो नेपालको कुनै पनि हिमाल आरोहण गरेको अभिलेख पेस गरेपछि मात्र सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमतिपत्र जारी गर्ने उक्त विधेयकमा उल्लेख छ ।
यसका साथै स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य गर्दै विधेयकमा स्वास्थ्य स्थिति सन्तोषजनक नदेखिए पर्वतारोहण गर्न वा पर्वतारोहण दलसँग जान अनुमति नदिइने प्रावधान समेत विधेयकमा समेटिएको छ । अहिले सगरमाथामा अन्धाधुन्ध अनुमति दिइएको भन्दै आलोचना हुने गरेको छ । नयाँ प्रावधान अनुसार पर्वतारोहण दलको सदस्य, सम्पर्क अधिकृत, सरदार, पर्वतारोहण पथप्रदर्शक र अन्य पर्वतारोही सहयोगीका लागि नेपाल सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पछिल्लो एक महिनाभित्र गरिएको स्वास्थ्य परीक्षण प्रमाणपत्र समेत पेस गर्नुपर्ने प्रावधान विधेयकमा छ ।
विधेयकमा हिमालचुलीमा साहसिक पर्यटन गतिविधि गर्न भने अनुमति लिनुपर्ने भएको छ । हिमालचुलीबाट प्याराग्लाइडिङ, स्काई डाइभिङ, हेली स्किइङ, अल्ट्रालाइट वा यस्तै प्रकृतिका अन्य साहसिक पर्यटन क्रियाकलाप गर्न चाहे पर्वतारोहीले पर्यटन मन्त्रालय वा तोकिएको निकायबाट अनुमति लिर्नुपर्ने गरी सर्त राखिएको छ । एक पटक आरोहण अनुमति लिएको समूहले सोही वर्ष आरोहण नगरे दस्तुर फिर्ता नहुने समेत प्रावधान राखिएको छ । तर, काबु बाहिरको परिस्थितिमा भने सरकारले निर्णय गरेर समय सार्न सक्ने भएको छ । पर्वतारोहण दलले निर्धारित पर्वतारोहण मार्गमात्र प्रयोग गर्नुपर्ने भएको छ ।
काठमाडौं । भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् । भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । ‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेशमन्त्री जयशंकरले एक्समा लेखेका छन् ।
आफूले विदेशमन्त्रीसँगको भेटमा पललगाम घटनमा भएको क्षतिप्रति नेपाल सरकारका तर्फबाट समवेदना प्रकट गरेको राजदूत शर्माले बताए । ‘सो घटनाको विरुद्धमा भारत सरकार र भारतीय जनतासँग नेपाल सरकार र नेपाली जनताको ऐक्यबद्धता रहेको जानकारी मैले गराएँ,’ राजदूत शर्माले भने, ‘नेपालका प्रधानमन्त्री, विदेशमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले प्रकट गर्नुभएको समवेदना तथा ऐक्यबद्धताबारे पनि जानकारी गराएँ ।’
साथै, विदेशमन्त्री जयशंकरसँग अन्य दुईपक्षीय विषयमा पनि छलफल भएको उनले बताए । ‘यसबीचमा दुई देशका विदेशमन्त्रीबीचमा पटकपटक भेटघाट भइरहेको छ । तिनै भेटमा भएका विषयहरुमा छलफल भयो,’ उनले भने ।
१२ वैशाख, काठमाडौं । शुक्रबार एक कार बम विस्फोटमा एक वरिष्ठ रूसी सैन्य अधिकारी मारिएको रुसको शीर्ष आपराधिक अनुसन्धान एजेन्सीले बताएको छ । रूसी सशस्त्र बलको जनरल स्टाफमा मुख्य परिचालन विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल यारोस्लाभ मोस्कालिकको मस्को बाहिर बालाशिखामा उनको कारमा राखिएको विस्फोटक उपकरणद्वारा हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ । समितिका प्रवक्ता स्वेतलाना पेत्रेन्कोले विस्फोटक उपकरणमा छर्राको गोली लागेको बताए ।
उनले अनुसन्धानकर्ताहरू घटनास्थलमा रहेको जानकारी दिए । रुसी सञ्चारमाध्यमले एक अपार्टमेन्ट भवनको आँगनमा जलिरहेको सवारी साधनको भिडियोहरू प्रसारण गरेका छन् । समितिले सम्भावित संदिग्धहरूको उल्लेख गरेको छैन । यो आक्रमण लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्यापछि भएको हो । डिसेम्बर १७ मा उहाँको अपार्टमेन्ट भवन बाहिर पार्क गरिएको विद्युतीय स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा मृत्यु भएको थियो । रुसी अधिकारीहरूले किरिलोभको हत्याका लागि युक्रेनलाई दोष दिएका थिए ।
१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गरेका छन् । गत राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालमा गैरआवासीय नेपालीहरु नेपालमा लगानी बढाउन चाहेको र त्यसका लागि लगानीमैत्री वातावरण बनाउने विषयमा छलफल भएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।
“प्रधानमन्त्रीसँग नेपाली समुदायले अष्ट्रेलियाको अर्थतन्त्रमा गरेको योगदानका साथै त्यहाँ रहेका नेपाली समुदायले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा चर्चा भयो”, अध्यक्ष पोख्रेलले भने । त्यसअवसरमा व्यापार तथा लगानी प्रवद्र्धन फ्रेमवर्कको सदुपयोग, दुई देशबीचको द्विपक्षीय सम्बन्ध विस्तार तथा उच्च तहको भ्रमणका विषयमा पनि छलफल भएको उनले बताए ।
अध्यक्ष पोख्रेलका अनुसार एनआरएनएको एकीकृत वार्षिक साधारणसभा आयोजना गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो ।
१२ वैशाख, काठमाडौं । नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिका–९ कालिमाटीडो बस्ने बङ्गलादेशको चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहम्मद मुस्तफिजुर रहमान, चाँदपुर तोरागर हाजिगञ्ज घर भएका ४१ वर्षीय मुहम्मद फरहाद हुसेन चौधरी र चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ एमडी हानिफ, काठमाडौँ–८ गौशाला बस्ने मागुरा मागुरासदर थाना बेरोइलग्राम घर भएका ४७ वर्षीय मिल्टन भन्नेकाजी शाहतब हुसेन र बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मोलिकलाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार बङ्गलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा निजहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरिएको हो ।
निजहरूले नेपाल हुँदै वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानियालगायत मुलुकमा पठाउन सहज हुने भनी एजेन्टमार्फत पर्यटक भिसामा बङ्गलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रतिव्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितहरूबाट ४५ हजार ५०० अमेरिकन डलर लिई सम्पर्कविहीन भएका भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूका साथबाट राहदानी १९ थान, मोबाइल चार थान, अमेरिकन डलर नौ हजार ८५०, बङ्गाली टाका ३९ हजार ९०५ र नेपाली रु २५ हजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित शिवसताक्षी गेष्ट हाउसबाट काठमडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रवक्ता आचार्यले बताए ।
१२ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ । ८ वैशाखका दिन ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन गर्न मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहेका छन् । समितिलाई दुर्घटना कसरी, किन, र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण सङ्कलन गरी प्रतिवेदन तयार पार्न र यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाव स्वरूप पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
१२ वैशाख, म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् । “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर र बाख्रापालन सुरु गरेको थिएँ”, उनले भने, “कुखुरामा डुबेको थिएँ, बङ्गुर पालेर उठे ।”
उनको फार्ममा हाल ५० वटा बङ्गुर र २० वटा बाख्रा छन् । मासु र पाठापाठीका लागि ल्याडरेस जातका बङ्गुर पालेका छन् । फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन् । सापकोटाले प्रतिकिलो रु छ सयका दरले मासिक छ हजारदेखि सात हजार किलोग्राम बङ्गुरको मासु र प्रतिगोटा रु सात हजारका दरले वार्षिक तीन सय बङ्गुरका पाठापाठी बिक्री हुने बताए ।
मासुको बिक्री गर्न सापकोटाले मङ्गला गाउँपालिका–२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गरेका छन् । बाबियाचौरका साथै मुस्ताङका होटलमा बङ्गुरको मासु खपत हुने गरेको छ । फार्ममा विमलसहित परिवारका थप चार जना सदस्यले रोजगारी पाएका छन् । बुबा तारानाथ सापकोटा, आमा चित्रकला र श्रीमती सुकमायाले विमललाई बङ्गुरपालनमा सघाउँछन् । “छिमेकी र आफन्तले बाहुनले बङ्गुर पाल्न हुँदैन भनेर सुझाएका थिए”, तारानाथले भने, “पहिले बङ्गुर नपाल्न सुझाव दिनेहरू अहिले व्यापार देखेर छक्क पर्छन् ।”
सापकोटाको बङ्गुर फार्म व्यवस्थित र सफा छ । माउ, भाले, पाठापाठी राख्ने फरकफरक कोठा छन् । रोगबाट बचाउन फार्मको नियमित सरसफाइ गर्नुहुन्छ । फार्मको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । सो फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलोपटक गत चैतमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा बीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो । परियोजनाका साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मङ्गला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन् ।
सापकोटाको अनुभवमा महामारीजन्य रोगबाट बचाउनु बङ्गुरपालनको प्रमुख चुनौती हो । दाना आयात गरेर खुवाउनुपर्दा आम्दानीको ठूलो हिस्सा दानामा खर्च हुने गर्छ । बङ्गुरका पाठापाठी र मासुको माग बढेकाले फार्मको क्षमता विस्तार गर्ने उनको योजना छ । “घरव्यवहार र परिस्थितिका कारण कक्षा १० पढेपछि व्यवसायमा जोडिएको थिएँ”, उनले भने, “विदेश जाने योजना बनाएको छैन । स्वदेशमै व्यवसायलाई निरन्तरता दिन्छु । बङ्गुरपालनबाट सन्तुष्ट छु ।”
१२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा यस्तो बताइएको छ । राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सन्देशमा उनले भनेका छन्, “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मिति भौतिक संरचना प्रमुख रहेका छन् । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान आकृष्ट गराउँदछु ।’
नेपाल सरकारले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणको अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सम्पन्न गरिसकेको र बाँकी रहेका कामहरु सम्पन्न गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको उल्लेख गर्दै उनले सन्देशमा पुनर्निर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधि प्रयोग गरिएकामा खुसी व्यक्त गरेका छन् ।
उनले पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । सन्देशमा राष्ट्रपतिले प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने हुँदा भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि भूकम्पीय जोखिम न्यूनीकरण, पुनर्निर्माण एवं पुनःस्थापनालगायत कार्यमा सबै नागरिक एकआपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।