Category: फिचर

  • श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

    श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

    १८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताए । श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ भनेका छन् । श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै लेखेका छन्, “ आज मे १–अन्तरराष्ट्रिय श्रमिक दिवस । देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।
    श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू ग¥यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुप¥यो ।

    तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् । अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ । छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ । श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ । जय श्रमिक, जय देश

  • उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

    उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

    १८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

    उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् ।


    नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको उल्लेख गर्दै राष्ट्रपतिले समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकले गरेको बताए ।


    “मुलुकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास लिएको छु । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ”, सन्देशमा उनले भनेका छन् ।


    राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेका छन् ।

    श्रमिकहरूको पेसागत मर्यादा र सम्मान एवं उनीहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

  • आज श्रमिक दिवस, सार्वजनिक बिदा

    आज श्रमिक दिवस, सार्वजनिक बिदा

    १८ वैशाख, काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।

    सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल ग¥यो ।

    पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस। २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो ।

    विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ । यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ । जस अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ ।

  • रुसी आक्रमणबाट युक्रेनको कुस्र्कमा २८८ सर्वसाधारण मारिए

    रुसी आक्रमणबाट युक्रेनको कुस्र्कमा २८८ सर्वसाधारण मारिए

    १७ वैशाख, काठमाडौं । रुसले बुधबार युक्रेनले कुस्र्क क्षेत्रमा गरेको महिनौँ लामो आक्रमणका क्रममा २८८ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
    युक्रेनविरुद्ध मस्कोले गरेको पूर्ण आक्रमणको प्रतिशोधस्वरूप किएभले सन् २०२४ को अगष्टमा आफ्ना सैनिकहरू सीमापार पठाएको थियो । क्रेमलिनले हालैका दिनहरूमा उत्तर कोरियाली सेनाको सहयोगमा पश्चिमी सीमा क्षेत्रबाट युक्रेनी सेनालाई हटाएको बताएको छ भने किएभले कुस्र्कमा अझै लडिरहेको बताएको छ ।

    “रूसको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अगस्ट यता ७९१ जनाको स्वास्थ्यमा क्षति पुगेको छ, जसमध्ये २८८ जनाको मृत्यु भएको छ,” कुस्र्क क्षेत्रका गभर्नर अलेक्जेन्डर खिन्स्टीनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन् । उनले अधिकारीहरूले सीमा क्षेत्रबाट मारिएका नागरिकहरूको सबै शवहरू अझै सङ्कलन भइरहेको बताए ।

    खिन्स्टाइनले ती सर्वसाधारणको मृत्यु कसरी भयो भन्नेबारे विस्तृत विवरण भने खुलाएनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क क्षेत्रमा बन्दी बनाइएका कुनै पनि युक्रेनी सेनालाई दण्डित गर्ने र उनीहरूलाई ‘आतङ्ककारी’ को रूपमा व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध आक्रमण सुरु गरेको थियो ।

  • गुहेश्वरीमा एक महिला मृत फेला

    गुहेश्वरीमा एक महिला मृत फेला

    १७ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनले भने, “गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।”

  • सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, विद्यालय खुल्ने

    सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, विद्यालय खुल्ने

    काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ। अब यो सहमतिलाई मन्त्रीपरिषद्ले अनुमोदन गर्ने भएको छ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् । सहमति अनुसार अब काठमाडौं केन्द्रित सडक आन्दोलन फिर्ता हुने भएको छ । सहमति अनुसार अब शिक्षकको उपचारमा सहुलियत हुने भएको छ । आजैबाट भर्ना र परीक्षाका काम सुचारु हुने भएका छन् । तोकिएको समयमा माग सम्बोधन नभए अझ कडा आन्दोलन हुने शिक्षक महासंघले जनाएको छ ।

  • आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

    आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

    १७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१\८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ ।

    यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जिडिपीको आकार हो । तथ्याङ्क कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जिडिपीको आकार पनि सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०८०\८१ को अर्थतन्त्रको आकार ५७ खर्ब नौ अर्ब बराबर रहेको कार्यालयले जनाएको छ ।
    त्यसैगरी, चालु आर्थिक वर्ष २०८१÷८२ को आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव ९९ प्रतिशत र उपभोक्ता मूल्यमा चार दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ ।

    गत आर्थिक वर्ष नेपालले तीन दशमलव ९९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान तीन दशमलव २८ प्रतिशत र गैरकृषि क्षेत्रको चार दशमलव २८ प्रतिशत रहने तथ्याङ्क कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०\८१ मा कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३६ प्रतिशत रहेको थियो । त्यस्तै, चालु आवमा प्राथमिक क्षेत्र तीन दशमलव २५, द्वितीय क्षेत्रको चार दशमलव ६५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर चार दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ ।

    निरन्तर दुई आर्थिक वर्षमा नकारात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्रमा यसवर्ष भने सकारात्मक वृद्धि देखिने अनुमान गरिएको छ । गत आर्थिक वर्ष उद्योग क्षेत्रमा दुई दशमलव ०२ प्रतिशत र निर्माण क्षेत्रमा दुई दशमलव २० प्रतिशतको ऋणात्मक वृद्धि देखिएको थियो । तर यसवर्ष उद्योग क्षेत्र तीन दशमलव ७८ प्रतिशत र निर्माण क्षेत्र दुई दशमलव २१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा देखिने अनुमान गरिएको छ । विद्युत् क्षेत्रमा १३ दशमलव ८२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।


    त्यस्तै, चालु आर्थिक वर्ष २०८१\८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय १७ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ६७ अमेरिकी डलर रहने संशोधित अनुमान रहेको छ । प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले कोभिड–१९ महामारी, जाजरकोट भूकम्प तथा बाढी पहिरोका कारण अघिल्ला वर्षहरुमा कमजोर देखिएको आर्थिक वृद्धिदरमा अहिले निरन्तर सुधारको गति देखिएको बताए ।

  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

    १७ वैशाख, काठमाडौं । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ गरिएको र अहिले उक्त पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न कारागार कार्यालयय डिल्लीबजारलाई पत्र पठाएको थियो । उनले भने, “नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई रिहाइ गरिएको छ । अनधिकृत पत्र लेख्ने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टलाई नियन्त्रणमा लिइएको छ ।” जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको आज गरिएको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो ।

  • सर्वोच्चको फेक पत्रले रेशम चौधरी पक्राउ प्रकरण : राजनीतिमा हङ्गामा

    सर्वोच्चको फेक पत्रले रेशम चौधरी पक्राउ प्रकरण : राजनीतिमा हङ्गामा

    १७ वैशाख, काठमाडौं । एक कर्मचारीले लेखेको फेक पत्रका आधारमा रेशम चौधरी पक्राउ परेसङ्गै बुधबार राजनीतिमा हलचल मच्चिएको छ । प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई काठमाडौंमा एक कार्यक्रम स्थलबाटै पक्राउ गरेको थियो । तर, उनलाई पक्राउ गर्ने सम्बन्धि पत्र नै फेक भएको खुलेको छ । सर्वोच्च अदालतले अर्को सूचना जारी गर्दै सो पत्र आधिकारिक नभएको स्पष्ट पारेको छ । साथै चौधरीलाई छाड्न समेत सर्वोच्चले पत्र लेखेको छ । यससङ्गै चौधरी आजै रिहा समेत भएका छन् । फेक पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमान विष्ट पक्राउ परेका छन् ।

  • क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी, अमेरिकासँगको सम्बन्ध कस्तो रहला ?

    क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी, अमेरिकासँगको सम्बन्ध कस्तो रहला ?

    १७ वैशाख, काठमाडौं । प्रधानमन्त्री मार्क कार्नीले सोमबार क्यानाडाको चुनाव जितेका छन् । उनको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उनको सङ्कट व्यवस्थापनको अनुभवले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न तयार पारेको हो । सार्वजनिक प्रसारणकर्ता सिबिसी र अन्य आउटलेटहरूले लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरेका छन् । तर उनीहरूले संसद्मा बहुमत प्राप्त गर्नेछन् वा छैनन् भन्ने अझै स्पष्ट छैन । कन्जर्भेटिभ नेता पियरे पोइलिभ्रे प्रधानमन्त्री बन्न असफल भए । तर उनको पार्टी बलियो विपक्ष गठन गर्ने बाटोमा थियो ।

    पहिले कहिल्यै निर्वाचित पदमा नरहेका र गत महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गरेका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैंकको गभर्नरका रूपमा सेवा गरेका थिए । ट्रम्पको व्यापार युद्ध र विलयको धम्कीले क्यानाडालीहरूलाई आक्रोशित बनायो र संयुक्त राज्य अमेरिकासँगको व्यवहारलाई अभियानको शीर्ष मुद्दा बनायो ।

    साठ्ठी वर्षीय पूर्व लगानी बैंकर कार्नीले आफ्नो अभियान ट्रम्पविरोधी सन्देशमा आधारित संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न क्यानाडाको विदेशी व्यापार सम्बन्धहरू विस्तार गर्ने वाचा गरे । र भने, “अब हामी अमेरिकालाई विश्वास गर्न सक्दैनौँ ।” कार्नीले ट्रम्पको धम्कीलाई कठोर शब्दहरूमा वर्णन गरेका छन् । “डोनाल्ड ट्रम्प हामीलाई तोड्न चाहन्छन्, ताकि अमेरिकाले हामीलाई आफ्नो बनाउन सकोस्”, उनले चुनावी अभियानमा भने, “उनीहरूलाई हाम्रो स्रोत चाहिन्छ, उनीहरूलाई हाम्रो पानी चाहिन्छ, उनीहरूलाई हाम्रो जमिन चाहिन्छ, उनीहरूलाई हाम्रो देश चाहिन्छ । उनीहरूले त्यो पाउन सक्दैनन् ।”

    जब सिबिसी प्रक्षेपण घोषणा गरियो, ओटावा स्थलमा उल्लासको जयजयकार भयो जहाँ लिबरल समर्थकहरूले परिणामहरू हेरिरहेका थिए । “म यस अर्थमा खुसी छु कि हामीले श्री ट्रम्पसँग उनकै स्तरमा कुरा गर्न सक्ने कोही पाएका छौँ”, ७२ वर्षीया डोरोथी गोबल्टले भने, “ट्रम्प एक व्यापारी व्यक्ति हुन्, कार्नी एक व्यापारी व्यक्ति, मलाई लाग्छ उनीहरु दुवै सम्बन्धित हुन सक्छन् ।’ ट्रुडोले राजीनामा दिनुअघि ट्रम्पले उनको उपहास गरेका थिए । प्रधानमन्त्रीलाई ‘गभर्नर’ भन्दै क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न आग्रह गरेका थिए ।

  • अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा

    अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा

    १७ वैशाख, न्यूयोर्क । कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर योजनाका बारेमा चिन्ता व्यक्त गरिएका बेला मङ्गलबार प्रकाशित सर्वेक्षण तथ्याङ्कअनुसार अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको हो । “अमेरिकी उपभोक्ता विश्वास सूचकाङ्क अप्रिलमा ७।९ अङ्कले घटेर ८६.० मा झरेको छ,” कन्फरेन्स बोर्डले उपभोक्ता विश्वास सूचकाङ्कलाई उद्धृत गर्दै जानकारी गराएको छ । प्रतिक्रियाहरूमा उपभोक्ता विश्वास सूचकाङ्कमा आएको गिरावट ‘सर्वकालिक उच्च’ स्तरमा पुगेको छ ।

    यो सन् २०२० को मे यताकै सबैभन्दा कम भएको एक प्रवक्ताले एएफपीलाई पुष्टि गरेका छन् । कन्फरेन्स बोर्डका वरिष्ठ अर्थशास्त्री स्टेफनी गुइचार्डले भने, “अप्रिलसँगै लगातार पाँचौं महिना उपभोक्ताको विश्वास घटेको पाइएको छ ।” “व्यापारको अवस्था, रोजगारीको सम्भावना र भविष्यको आयजस्ता तीन अपेक्षाका अवयवहरू तीव्र रूपमा बिग्रिएका छन्, जसले भविष्यको बारेमा व्यापक निराशावादलाई प्रतिबिम्बित गर्दछ,” उनले भने ।


    अमेरिकी राष्ट्रपति ट्रम्पको कर योजनाले लगानीकर्ताहरूलाई निराश बनाएको छ, जसले बजारको अस्थिरतालाई बढावा दिएको छ र उपभोक्ताको विश्वासमा गिरावट आएको छ। गुइचार्डका अनुसार ४८.५ प्रतिशत उपभोक्ताले आगामी १२ महिना शेयरको मूल्य घट्ने अपेक्षा गरेका छन्, जुन अक्टोबर २०११ पछिको सबैभन्दा उच्च हिस्सा हो । “औसत १२ महिनाको मुद्रास्फीतिको अपेक्षा यस महिनामा सात प्रतिशत पुगेको छ जुन नोभेम्बर २०२२ पछि उच्चतम हो र यो अर्को चिन्ताजनक सङ्केत हो,” गुइचार्डले भने । मुद्रास्फीतिको सम्भावना कायम रहिरहेमा व्यवसायहरूले भविष्यमा उनीहरूको लागत अझ बढ्नेछ भन्ने प्रत्याशामा मूल्य हरू बढाउँदछन् र यसले मूल्य वृद्धिको दुष्चक्र निम्त्याउन सक्छ ।

    राससको सहयोगमा

  • शिक्षक महासङ्घ र सरकारबीच मध्यरातीको वार्ता निष्कर्षविहिन, आज पनि हुने

    शिक्षक महासङ्घ र सरकारबीच मध्यरातीको वार्ता निष्कर्षविहिन, आज पनि हुने

    १७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मध्यराती भएको शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्री रघुजी पन्तले भने शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताए । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमा सञ्चारकर्मीसँग बताएका हुन् । वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनाइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।


    महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थिए । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको थियो । शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ । आज मन्त्रिपरिषद् बैठकले कतिपय माग सम्बोधन गर्ने र त्यसका आधारमा महासंघले आन्दोलनको स्वरुप फेर्ने तयारी समेत गरेको छ ।

  • आजको मौसम : लुम्बिनी प्रदेशको तराई भेगमा हुरी चल्ने पूर्वानुमान

    आजको मौसम : लुम्बिनी प्रदेशको तराई भेगमा हुरी चल्ने पूर्वानुमान

    १७ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

    कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

    डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

    १७ वैशाख, दिपायल । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए । बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

  • उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

    उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

    १७ वैशाख, काठमाडौं । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ । राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा आगलागी भएको हो । “अप्रिल २९ को दिउँसो १२ः२५ मा एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो”, सिसिटिभीले भन्यो, “दिउँसो २ः०० बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् ।”

    राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको बताएको सिसिटिभीले जनाएको छ । उनले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानूनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन् ।


    अनलाइनमा सेयर गरिएको र एएफपीद्वारा प्रमाणित गरिएको फुटेजमा दुई तले रेस्टुरेन्टमा भीषण आगो लागेको र बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको देखाइएको छ । चीनको टिकटकको संस्करण डुयिनमा प्रकाशित अन्य प्रमाणित भिडियोहरूमा प्यारामेडिकहरूले एक पीडितलाई स्ट्रेचरमा एम्बुलेन्समा चढाइरहेको र धेरै अग्नि नियन्त्रकहरू पाइपहरूको सहायताले आगो निभाउँदै गरेको देखाइएको छ । घातक आगलागीहरू चीनमा फितलो भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाही दृष्टिकोणका कारण अपेक्षाकृत सामान्य छन् ।

    यसै महिना उत्तरी चीनको हेबेई प्रान्तमा रहेको एक वृद्धाश्रममा भएको आगलागीमा २० जनाको मृत्यु भएको थियो । जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । त्यसको एक महिनाअघि पूर्वीचीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।

  • सन् २०१४ यता विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु

    सन् २०१४ यता विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु

    १७ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले पछिल्लो एक दशकमा विश्वभर ७२ हजारभन्दा बढीको मृत्यु भएको वा वेपत्ता पारिएका व्यक्तिको अभिलेखीकरण गरिएको जनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार गत वर्ष आप्रवासन मार्गमा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको योपछिल्लो एक दशकमा एक बर्षमा भएको सबैभन्दा बढी आप्रवासीको मृत्यु थियो । आईओएमकी प्रमुख एमी पोपले एक विज्ञप्ति जारी गर्दै असुरक्षा, अवसरको अभाव र अन्य दबाबका कारण र घरमा सुरक्षित वा व्यवहारिक विकल्प नहुँदा मानिसहरूले आफ्नो ज्यान जोखिममा पारेको दुःखद स्मरण गराएको बताएकी छिन् ।
    सन् २०१४ यता विश्वव्यापी रूपमा भएका सबै आप्रवासी मृत्यु र बेपत्तामध्ये करिब तीन चौथाइ मानिस असुरक्षा, द्वन्द्व, विपद् र अन्य मानवीय सङ्कटबाट भागेर आएको उहाँको संयुक्त राष्ट्रसङ्घीय निकायको प्रतिवेदनमा उल्लेख छ । आईओएमको वेपत्ता आप्रवासीको रिपोर्टमा भनिएको छ, “मानवीय सङ्कटबाट हजारौं अफगानी, रोहिङ्ग्या र सिरियाली नागरिकको मृत्यु भएको छ र प्रभावित मुलुकका चार जनामध्ये एक जना ती मुलुकका नागरिक रहेका छन् ।

    संयुक्त राष्ट्रसङ्घको सङ्कट प्रतिकार्य योजना वा मानवीय प्रतिकार्य योजना रहेको विश्वका ४० देशमध्ये एकबाट भाग्ने क्रममा ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । दिवङ्गत पोपले अन्तर्राष्ट्रिय लगानीका लागि समुदायभित्र स्थायित्व र अवसर सिर्जना गर्न आग्रह गर्दै आप्रवासन आवश्यकता नभई विकल्प भएको बताएका थिए । उनले भनेका थिए, “जब कुनै देशमा बस्नसम्भव छैन, हामीले सुरक्षित, कानुनी र व्यवस्थित मार्गहरू खोज्न सँगै काम गर्नुपर्छ जसले जीवनको रक्षा गर्दछ।”

    मध्य भूमध्यसागरीय क्षेत्र विश्वकै सबैभन्दा घातक आप्रवासन मार्गका रुपमा रहेको र पछिल्लो एक दशकमा करिब २५ हजार मानिसले समुद्रमा ज्यान गुमाएको आईओएमले जनाएको छ । तीमध्ये १२ हजारभन्दा बढी युद्धग्रस्त लिबियाबाट प्रस्थान गरेपछि समुद्रमा हराएका थिए भने अन्य अनगिन्ती सहारा मरुभूमिमा ट्रान्जिट गर्ने क्रममा बेपत्ता भएका थिए। सन् २०२१ मा तालिबानले पुनः सत्ता सम्हालेयता विगत एक दशकमा सङ्कटग्रस्त अफगानिस्तानबाट बाहिरिने क्रममा पाँच हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

    यस अवधिमा म्यान्मामा उत्पीडनमा परेका रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका तीन हजार १०० भन्दा बढी सदस्यको मृत्यु भएको थियो । आईओएमको मिसिङ माइग्रेन्ट प्रोजेक्टकी संयोजक तथा प्रतिवेदनकी लेखिका जुलिया ब्ल्याकले भनिन्, “प्रायजसो आप्रवासीहरू दरारबाट गुज्रन्छन्।” उनले भनेकी छिन्, “विशेषगरी युद्ध क्षेत्र र विपद् क्षेत्रमा तथ्याङ्कको अभावका कारण वास्तविक मृत्यु हुनेको सङ्ख्या हामीले रेकर्ड गरेको भन्दा धेरै हुन सक्छ ।”

  • पाकिस्तानी जेलमा रहेका ८०० भन्दा बढी अफगानी कैदी रिहा

    पाकिस्तानी जेलमा रहेका ८०० भन्दा बढी अफगानी कैदी रिहा

    १६ वैशाख, इश्लामावाद । पाकिस्तानमा जेलमा रहेका ८२० जना अफगानी कैदीलाई रिहा गरिएको छ । उनीहरूलाई गत साता रिहा गरी स्वदेश फर्काइएको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले मङ्गलबार जानकारी गराएको हो । ती बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै अफगानिस्तान फर्केको मन्त्रालयले जनाएको छ ।

    अहिले विदेशमा बसिरहेका करिब ७० लाख अफगानी शरणार्थीहरु अधिकांश कागजातविहिन रहेका छन् र उनीहरूमध्ये अधिकांश छिमेकी देश पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन् । अफगानिस्तानको अन्तरिम सरकारले शरणार्थीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान गर्न बारम्बार आह्वान गर्दै आएको छ ।

  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    पोखरीमा डुबेर दुई बालकको मृत्यु

    १६ वैशाख, महेन्द्रनगर । महोत्तरीको मनरा शिसवा नगरपालिका–१ ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पथरघाटा लक्ष्मीपट्टी गाउँ निवासी रूपेश सिंहका ९ वर्षीय छोरा आयुषकुमार सिंहको आज डुबेर मृत्यु भएको हो ।

    आयुषकुमार आफ्नो आफन्तको घरमा आएका थिए । प्रहरीका अनुसार, पोखरीमा डुबेर अशक्त भएका उनीहरूको उपचारका लागि मनरा नगर अस्पताल लगिएको थियो तर उपचारका क्रममा दुवैको ज्यान गएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।

  • कांग्रेस महामन्त्री गगन थापासँग किन माग्यो सर्वोच्च अदालतले लिखित जवाफ ?

    कांग्रेस महामन्त्री गगन थापासँग किन माग्यो सर्वोच्च अदालतले लिखित जवाफ ?

    १६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज लिखित जवाफ माग्ने आदेश गरेको हो ।

    आदेशमा भनिएको छ, “संविधानको धारा १०५ ले आत्मसात गरेको सन्दर्भमा अदालतमा विचाराधीन मुद्दामा निस्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नुनगराउनु ।” कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरूको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए । अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको उल्लेख गर्दै कांग्रेस महामन्त्री थापाविरूद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग गर्दै अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।

  • अन्तर्वार्ताः ‘राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने हो’

    अन्तर्वार्ताः ‘राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने हो’

    १६ वैशाख, काठमाडौं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनलले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन् । त्यसो त आचार्यले चलचित्र ‘बलिदान’ मै आफूलाई भिन्न रुपमा प्रस्तुत गरेर वाहवाही पाएका छन् । तर, प्रदर्शनरत चलचित्र ‘भूठान’ मा उनी हाँसो हराएको मान्छेका रुपमा प्रस्तुत भएका छन् । कलाकारितामा ‘ह्युमर कमेडी’ को प्रयोग गर्ने अभिनेता आचार्यले यस चलचित्रमा दुई दृश्यमा मात्र हाँसेको हेर्न पाइन्छ । यसकारण पनि पछिल्लो केही चलचित्रदेखि उनलाई हास्य कलाकार नभई अभिनेता भन्न थालिएको छ ।

    सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई गम्भीरतापूर्वक लिएर पात्रलाई जीवन्त बनाएका बहुआयामिक आचार्य विविधता मन पराउँछन् ।“मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने म भिन्न देखिएको छु,” अभिनेता आचार्य भन्छन् । प्रस्तुत छ, अभिनेता आचार्यसँग कला यात्रा, चलचित्र निर्देशन र राजनीति प्रवेशको सम्भावना, नेपाली चलचित्रको विदेशी बजारलगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः


    चलचित्र ‘भूठानमा’ हाँसो हराएको मान्छेको भूमिका गर्न कसरी तयार हुनुभयो ?
    मकहाँ धेरै चलचित्रहरुको पटकथा आउने गरेको छ । अहिले धेरैमा छोराछोरी विदेश र अभिभावक नेपाल रहेको कथा पाउने गरेको छु । तर, म आफूलाई नयाँ रुपमा प्रस्तुत गरौँ भन्ने सोचका साथ ती कथाहरु पढ्ने र सुन्ने गर्छु । तर, ‘सिचुएसनल कमेडी’ नभई संवादमा आधारित वा हाउभाउले गर्ने ‘कमेडी’ भएका कथा आइरहेका थिए । त्यही समयमा मैले ‘भूठान’ को पटकथा पाएँ । त्यो एकैपटकमा बुझ्न सहज थिएन, तर बुझ्दै गएपछि त्यसमा रहेको विविधताले मलाई आकर्षण ग¥यो ।

    ‘बलिदान’ चलचित्रमा अभिनय गर्दा मैले सक्दिन कि भन्ने डर थियो, तर चलचित्र हेरेपछि धेरैले राम्रो गरेको प्रतिक्रिया दिनुभयो । ‘महाजात्रा’ मा पनि मैले केही फरक गर्ने कोसिस गरेको थिएँ । तर, निर्देशक प्रदीप भट्टराईले त्यसमा ‘ह्युमर’ हाल्नुभयोे । तर ‘भूठान’ को पात्र नितान्त फरक छ । एकै पटक पढ्दा बुझिँदैन, अनि मैले दुई÷तीनपटक पढिसकेपछि मेरो पात्र केही फरक र आफूले सोचेजस्तो पाएँ, त्यसछि कुरा अगाडि बढेको हो ।

    तपाइँले चलचित्र ‘भूठान’ मा निर्वाह गर्नुभएको पात्र कसरी तयार भयो र ?
    म पटकथा पढेपछि रुने दृश्यमा पनि ‘ग्लिसिरिन’ को प्रयोग गर्दिनँ । किनकि कथा र पात्र जोडिएपछि त्यसको भावना हामीमार्फत देखिनुपर्छ । चलचित्र ‘भूठान’ को कथाले मलाई केही आभाष गराइसकेको थियो । चलचित्र छायाङ्कन अगाडि भएको कार्यशालाले मलाई सहयोग ग¥यो । तर, पनि आफैँलाई मैले निर्वाह गरेको विष्णुबहादुर केसी बन्न नसकिरहेको लागिरहेको थियो । एक दिन निर्देशक विनोद पौडेलले ‘दाइ, तपाइँ नेपाल जान पाउनु भएन भने के गर्नु हुन्छ रु’ भन्नुभयो । म एक्कासि निराश भएँ । किनकि विभिन्न कार्यक्रमका दौरान विदेश धेरै घुमिसकेको छु । म कार्यक्रम सकिनेबित्तिकै नेपाल फर्किन रुचाउने मान्छे । म निराश भएपछि अब यही भाव चलचित्रभर हुनुपर्छ भनेर निर्देशक पौडेलले भन्नुभयो । यसरी नै पात्र तयार भयो ।

    छायाङ्कन अगाडि तपाइँको पात्रसँग मिल्दोजुल्दो व्यक्तिहरू भेट्नुभयो ?
    त्यहाँ (अमेरिका) मा रहनुभएका नेपाली मूलका भूटानीसँग भेटघाट गरेर उहाँको कुरा सुनेको छु । हाम्रो संस्कार र संस्कृतिमा केही फरक छैन, तर उहाँहरू आफ्नो देश फर्कन पाउनुभएको छैन । त्यो दुःखद हो । युवा काममा व्यस्त भए पनि वृद्ध उमेरका अभिभावकहरू भने खुसी कम हुनुहुन्छ कि जस्तो लाग्यो । म त्यसरी बस्नु परेको भए सायद जीवित रहन सक्दिन थिएँ । मैले त्यो कल्पना पनि गर्न नसक्ने तीतो सत्य हो ।

    चलचित्र ‘भूठान’ मा तपाइँ पूर्ण रुपमा निर्देशकमा समर्पित हुनुभयो ? आफैँले यस क्षेत्रमा ५० वर्ष बिताइसक्दा पनि त्यो समर्पण गर्न सकिन्छ र?
    म कथामा ‘कन्भिन्स’ भएपछि निर्देशकलाई समर्पित गर्छु, किनकि चलचित्रको कप्तान नै निर्देशक हुन्छन् । म कार्यशाला गर्दा होस् वा दृश्य छायाङ्कन गर्दा आफ्नो काम दोहो¥याउनु पर्दा पनि झर्को नमानी गर्छु । किनकि हामी सबैको प्रयत्न राम्रो काम गर्ने नै हुन्छ । मैले चलचित्रमा चुम्बन गरेको छु, जहाँ शरीर नभई भावनाले एकअर्कालाई स्पर्श गरेको हो । श्रीमान्–श्रीमतीबीच यो स्वाभाविक हो । फेरि हामीले अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राखेर चलचित्र निर्माण गरेका हौँ । मैले गरेका केही नयाँ दृश्य कलात्मक छन्, भद्दा लाग्ने छैनन् ।

    अब आफैँ चलचित्र निर्देशन गर्ने तयारी पनि छ ?
    म चलचित्र निर्देशक बन्दिन होला । टेलिशृङ्खलामा छोटो समय र समूह हुने भएकाले गरेको हुँ । तर, चलचित्रको सुरुआतदेखि चलचित्र प्रदर्शन भएर चलचित्र भवनमा रहँदासम्म निर्देशकको दायित्व हुन्छ । मेरो उमेरका कारण पनि मैले त्यसरी समय दिन सक्दिनँ । अहिले मलाई विविधता भएको भूमिकाले आकर्षित गर्ने गरेको छ । म आफूलाई अभिनेताकै रुपमा व्यस्त पार्न चाहन्छु ।

    मह सञ्चारमार्फत चलचित्र बनाउने योजना के छ ?
    चलचित्र निर्माणमा पनि अहिले योजना बनिसकेको छैन । तर, हाम्रा मित्र किरण केसीले विषयवस्तुसहित अन्य विविध विषयमा प्रयत्न गरिरहनुभएको छ । हामीले नगर्ने भन्ने होइन, तर तत्काल नै योजना बनिसकेको छैन । मैले हालै अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि अभिनय गरेको छु, त्यसलाई छोरा मोहित (मोहितवंश आचार्य) र सरोज ओलीजीले निर्माण गर्नुभएको छ । त्यसको पनि जिम्मेवारी मैले उहाँहरु दुवैलाई नै दिएको छु । किनकि पुस्तान्तरण पनि हुन जुरुरी छ ।

    गत वर्ष नेपाली चलचित्रको बजार बढेको देखियो । ‘पूर्णबहादुरको सारङ्गी’ को व्यापार इतिहास नै बन्यो, तपाइँले समग्र चलचित्र क्षेत्रलाई कस्तो रुपमा बुझ्नुभएको छ ?
    हाम्रो चलचित्र हेर्न आउने दर्शक बढ्नु हामी सबैका लागि खुसीको खबर हो । ती दर्शकलाई पुनः चलचित्र भवनसम्म फर्काइरहनु हाम्रो दायित्व हो । तर, चलचित्र निर्माणमा सङ्ख्यात्मक वृद्धिले मात्र हामीलाई दीर्घकालीन रूपमा फाइदा पुग्दैन । हाम्रो घरेलु बजारले धान्न सक्ने र चलचित्र बुझेका निर्माता वा निर्माण समूह बढ्नुपर्छ । कुनै एक चलचित्रको व्यापार हेरेर चलचित्र निर्माणमा हौसिँदा त्यसले सुखद परिणाम नदिन पनि सक्छ । त्यसकारण चलचित्र बुझेर मात्र निर्माणमा आउन म नवप्रवेशीलाई आग्रह गर्दछु ।

    नेपाली चलचित्र अहिले विदेशमा पनि प्रदर्शन हुन्छन् रु तपाइँले बजार बढेको पाउनुभएको छ?
    विदेशमा नेपाली बढेपछि हाम्रो चलचित्र बढी हेरिएको हो । त्यहाँ पुग्नुभएका नेपालीले नै हेर्नुभएको छ । त्यहाँका स्थानीयले नहेरेसम्म बजार कसरी बढ्यो भन्न सकिन्छ रु किनकि यहाँ रहेका नेपाली नै अहिले अस्ट्रेलिया, अमेरिकालगायतका देशमा पुगेका छन् । पहिला यहाँ हेर्थे, अहिले विदेशमा हेर्छन् । स्थानीयले नहेरेसम्म विदेशी बजार बढ्यो भन्न सकिन्न । पछिल्लो समय नेपाली दर्शक बढेका मात्र हुन् ।

    तपाइँले प्रहसन धेरै गर्नुभयो, नाटक गर्ने रहर भएन वा संयोग जुरेन ?
    मलाई प्रहसन र नाटक उस्तै लाग्छ । हामीले प्रयोग गर्ने मञ्च नै हो । प्रहसनमा हास्यव्यङ्ग्य हुन्छ भने नाटकमा विविधता हुन्छ । हामीले गत वर्ष ‘मह जात्रा’ नामक प्रहसन प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेका थियौँ । त्यही कुनै नाटक घरमा गरेको भए, नाटक हुन सक्थ्यो । त्यसकारण यी दुईमा धेरै भिन्नता लाग्दैन । हामीले प्रत्यक्ष दर्शकसमक्ष आफूलाई मञ्चमा प्रस्तुत गरिरहेका हुन्छौँ ।

    आगामी दिनमा कस्ता चलचित्र गर्ने सोच बनाउनुभएको छ ?
    म विविधता रुचाउने भएकाले यही गर्छु भन्ने छैन । तर, आफूलाई आएको प्रस्तावमा ‘ह्युमर’ भएका चलचित्र गर्छु । ‘भूठान’ मा काम गरे भन्दैमा म त्यस्तै मात्र चलचित्रमा काम गर्न रुचाउछु भन्ने पक्कै होइन । आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्न चाहन्छु । मेरो आउँदो चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा मैले हरिबहादुरको भूमिका गरेको छु । यसले पनि मैले भनिरहेको विविधता झल्काउँछ होला ।

    तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले मह जोडीका रुपमा सहकार्यको ४५ वर्ष पूरा गर्नुभयो, यो सम्बन्ध टिकाइरहन महत्वपूर्ण कुरा के रह्यो ?
    म र मदन दाइ ९मदनकृष्ण श्रेष्ठ० ले सहकार्य गरेको यही वैशाख १४ मा ४५ वर्ष पूरा भएको छ । हाम्रो जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया महत्वपूर्ण बन्यो । दर्शकले हामीलाई एकसाथ हेर्न इच्छा नराख्नु भएको भए हामीले यत्रो यात्रा पार गर्न गाह्रो हुन्थ्यो । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत ग¥यो, हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवैको नाम दियो, एउटा स्थान बनायो । हामीले एकअर्कासँग कहिल्यै आरिस ९इगो० राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरहयौँ ।

    तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले फरक फरक चलचित्रमा अभिनय गरिरहनुभएको छ, यद्यपि दर्शकले एकसाथ हेर्ने इच्छा जाहेर गरेका छन् । तयारी छ केही ?
    दर्शकलाई जस्तै हामीलाई पनि सँगै काम गर्दा खुसी लाग्छ । त्यहाँ काम नगरेर पारिवारिक माहोलमा रमाएको महसुस हुन्छ । त्यसकारण कथा अनुकूल हुने बित्तिकै हामीसँगै देखिने नै छौँ । फेरि हामीलाई एकअर्काको सानो भूमिका छ भन्ने पनि लाग्दैन तर त्यो पात्रको अर्थ हुनुपर्छ । हामी मह जोडी छौँ भनेर मात्र दर्शकलाई खुसी बनाउन सकिँदैन । हामीले निर्वाह गर्ने भूमिका सशक्त, कथामा महत्वपूर्ण भएमा पैसा र समय खर्चेर चलचित्र भवन आइपुग्नुभएका दर्शक पनि खुसी बन्नुहुन्छ । हामीसँगै काम गर्छौं, केही समय मात्र लागेको हो । किनकि मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ?

    अहिलेको नयाँ पुस्ताले हास्यव्यङ्ग्यमा कस्तो गरिरहेका छन् ? बेलाबखतमा उच्छृङ्खल भए भन्ने पनि आउँछ नि ?
    मह जोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधै भन्न पाइने व्यवस्था थिएन । हामीले अभिव्यक्त गर्ने कुराहरूलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गथ्र्यौं । अहिले द्विअर्थी लाग्ने संवाद वा उच्छृङ्खल भएको भन्ने सुनिन्छ, केही भएका पनि छन् । तर, दर्शकले रुचाउनुभएको छ । ती फेरि नेपाली मात्र नभई विदेशी च्यानल वा डिजिटल माध्यममा उत्तिकै छन् । दर्शकले रुचाउनु भएकै कारण त्यस्ता कार्यक्रम बढेका छन् । यद्यपि यो क्षणिक लहर हो जस्तो लाग्छ । विस्तारै यो परिवर्तन हुँदै जान्छ ।

    पछिल्लो समय टेलिभिजनमा शृङ्खला कम पाइन्छ, किन जस्तो लाग्छ ?
    हामी कहाँ शृङ्खला निर्माण लागत बढेको र त्यसबापत प्राप्त हुने लाभ कम भएकाले शृङ्खला निर्माणमा कमी आएको हुनसक्छ । विदेशमा रहेका उद्योगले प्रायोजन गरेर शृङ्खला निर्माणमा सघाउने गरेको सुन्छु । तर, यहाँ त्यो अवस्था निकै कम छ । यसलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रुपमा बुझेर सघाउनुपर्छ । भारतीय टेलिभिजन नेपालमा हेरिनुले अहिले बिस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ । उदाहरणका लागि विवाह नै लिन सकिन्छ । पहिले र अहिले वैवाहिक कार्यक्रममा तपाइँले सहजै अन्तर देख्न सक्नुहुन्छ । त्यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन् । त्यसकारण नेपाली कार्यक्रम, शृङ्खलालगायतलाई प्रोत्साहन गर्न सरकार नै अग्रसर हुनु जरुरी छ ।

    ‘चिना हराएको मान्छे’ को लोकप्रियतापछि किताब लेखनबारे सोच्नु भएको छ कि ?
    मैले एउटा पाण्डुलिपि तयार गरेको छु । सम्भवतः तीनदेखि चार महिनामा त्यो किताबका रुपमा आउनेछ ।

    राजनीतिमा आउने तपाइँको चाहना छ ?
    म बिस्तारै ‘रिटायर्ड’ हुँदैछु । त्यसकरण राजनीतिमा आउने सोच पनि मैले बनाउनु हुँदैन । हामीले अहिले राजनीतिमा युवा आउनुपर्छ भनिरहेका छौँ, युवालाई नै प्रोत्साहन गर्ने हो । उहाँहरूसँग नयाँ जोस, जाँगर र काम गर्ने शैली हुन्छ । हामीले युवालाई सघाउने र अगाडि बढाउने हो ।

  • भन्सार विधेयक बहुमतले पारित

    भन्सार विधेयक बहुमतले पारित

    १६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेयकमा भएको व्यवस्थाले सीमा क्षेत्रको जनतालाई दुःख दिने बताए । अवैध रुपमा चोरी पैठारी भएका सामान समाउने नाममा व्यक्तिको निजी सम्पत्ति जफत गर्ने व्यवस्था विधेयकमा राख्न नहुने सांसद साहको धारणा थियो ।

    सांसद हेमराज राईले छिमेकी मुलुकसँगको खुला सीमानाका कारण भन्सार प्रशासनका कामको प्रभावकारिता कमजोर भएको बताए । पर्याप्त जाँच उपकरणहरु राख्नुपर्ने र सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाउने कुरामा पनि उनले जोड दिए । सांसद गङ्गा कार्कीले व्यापार व्यवसाय गर्नेलाई परेका समस्या समाधान गर्न विधेयक सहयोगी हुने बताए । विधेयकका माध्यमबाट आयात–निर्यात सहज हुने उनले बताए । सांसद शिव नेपालीले भन्सार प्रशासनमा प्रविधिको प्रयोगलाई विधेयकले बढावा दिने विश्वास व्यक्त गरे ।

    सांसद गणेश पराजुलीले भन्सार क्षेत्रमा देखिएका समस्या समाधानका लागि नयाँ कानूनी व्यवस्था आवश्यक रहेको र नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट विकासशील देशमा रुपान्तरण हुँदा व्यहोर्ने कर तथा गैरकर अवरोधबारे बुझ्न सहज हुने बताए । विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, माधव सापकोटा, रणेन्द्र बराली, किरण कुमार साहलगायत प्रतिनिधिसभा सदस्यले आफ्ना धारणा प्रस्तुत गरेका थिए । विधेयकका सम्बन्धमा सांसदहरूले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अर्थ समितिमा पर्याप्त छलफल भएर परिष्कृत रुपमा संशोधनसहित विधेयक आएको बताए ।

    “भन्सार बिन्दुहरुमा बेथिति नहोस् । व्यवसायीहरु पनि अनावश्यक रूपमा पीडित नहुन् भन्नेलगायत सुझाव आएका छन् । यी सुझाव सकारात्मक छन् । यो विधेयक पारित हुँदा भन्सार व्यवस्थापनमा गुणात्मक सुधार आउने छ । भन्सार प्रशासनमा सुशासन र पारदर्शिता प्रवद्र्धनमा सहयोग पुग्नेछ,” उनले भने । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक भएकाले सरकारले यो विधेयक सदनमा पेस गरेको हो ।

  • काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि कालोपत्रे

    काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि कालोपत्रे

    १६ वैशाख, काभ्रेपलाञ्चोक । जिल्लाको कोशीपूर्व क्षेत्रको एक सडकखण्ड १५ वर्षपछि पक्की बनाइएको छ । विसं २०६६ मा बाटो खोलिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–बाफल करिब चार किलोमिटर सडक स्तरोन्नति गरी पक्की बनाइएको हो । ठेकेदार कम्पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि कालोपत्र सम्पन्न गरेको छ । गत साल मङ्सिर ३ गते जिल्लास्थित पूर्वाधार विकास कार्यालय धुलिखेल र निर्माण व्यवसायी पिएसके÷एभरेष्ट जेभीबीच ठेक्का सम्झौता गरेको थियो । आगामी मङ्सिर २ गतेसम्म ठेक्काको समयसीमा रहे पनि निर्माण कम्पनीले यही वैशाख पहिलो साता कालोपत्र सम्पन्न गरेको हो ।

    उक्त सडकखण्ड बागमती प्रदेश सरकारको रु नौ करोड ३२ लाख ६५ हजार ५०० मा ठेक्का सम्झौता भएको थियो । कम्पनीका व्यवस्थापक प्रदीप गौतमका अनुसार पहिलो चरणमा तीन हजार ८०० मिटर ‘आसफाल्ट’ सम्पन्न भएको छ । अब यही ठेक्काअन्तर्गत थप ४०० मिटर ढलान भइरहेको गौतमले बताए । यसैबीच सोही क्षेत्रअन्तर्गत अरनिको राजमार्गसँग जोडिएर दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे सडकअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती सडकखण्डमा स्तरोन्नति भइरहेको छ ।


    बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना–‘ए–एफ’ आयोजना कार्यान्वयन इकाइ भक्तपुरमार्फत साढे छ किलोमिटर सडक विस्तार भइरहेको जनाएको छ । यसमध्ये गत असोजको बाढीपहिरोले करिब डेढ किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि आयोजनाले त्यस क्षेत्रमा थप नयाँ डिजाइन गर्नुपर्ने जनाएको छ । अर्को डिजाइन नहुँदासम्म यो क्षेत्रमा हाल काम नहुने आयोजनाका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार विस्तारित सडकखण्डमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    एसियाली विकास बैङ्क ९एडिबी०को लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले रु १२ करोड ९भ्याटबाहेक०मा ठेक्का सम्झौता गरेको थियो । २०८० साल चैत १३ गते ठेक्का सम्झौता गरी दुई वर्षमा सक्ने समयसीमा छ । हालसम्म योजनाको २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

  • नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

    नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

    १६ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोड्ने अभियानमा तिब्रता दिएको छ । यसै उद्देश्यसहित बोर्डले आज यहाँ ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम आयोजना गरेको छ । पर्यटकीयउपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रवर्द्धनका लागि प्रोत्साहित गर्न र मुलुकको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने काम भइरहेको बोर्डले जनाएको छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले विद्यमान पर्यटन प्रवर्द्धन र प्रचारका लागि नयाँ पुस्तालाई जोडेर प्रविधिको उपयोग गर्नुपर्ने बताए । उनले भने, “लामो इतिहास भएको पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको छ । पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकाले हामीले पनि नयाँ गन्तव्यको खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने भएको छ ।”

    हाल देशभरबाट विभिन्न समूह र व्यक्तिगत तवरबाट युवा पुस्ताले घुमफिर गर्ने र नयाँ गन्तव्यको खोजी गरिरहेको सन्दर्भ उल्लेख गर्दै सिइओ जोशीले त्यसको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “देशभरका सातै प्रदेशमा ‘कन्टेन्ट क्रियटर’का रूपमा लागिरहेका युवा पुस्ताले खोजीका साथै दूरदराजका वैभव र विशेषतालाई प्रचार एवं प्रवर्द्धन गरिरहनुभएको छ । उहाँहरूलाई पर्यटकीयउपज उत्पादकसँग जोड्नका लागि पनि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।”

    कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटकीय गन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रवर्द्धन हुन नसकेका गन्व्यहरूको भिडियो सामग्रीसमेत समावेश गरिएका थिए । सिइयो जोशीले आगामी दिनमा पर्यटन प्रवर्द्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेका युवा पुस्तासँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेकासमेत बताए । लेखक कनकमणि दीक्षितले कार्यक्रममा सहभागी पर्यटनउपज उत्पादक र कन्टेन्ट क्रियटरलाई गुणस्तरीय पर्यटन विकासमा लाग्न आग्रह गरे ।

  • यमनमा रोकिएन अमेरिकी आक्रमण, थप ६८ जनाको मृत्यु

    यमनमा रोकिएन अमेरिकी आक्रमण, थप ६८ जनाको मृत्यु

    १६ वैशाख, काठमाडौं । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकी सेनाले एक महिना लामो सैन्य अभियान चलाइरहेको छ । जसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण गरिएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डले दिएको जानकारी अनुसार, यी आक्रमणहरूमा सयौं हुथी लडाकू र नेताहरू मारिएका छन्, यद्यपि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

    हुथी विद्रोहीहरू, जसलाई अन्सार अल्लाह पनि भनिन्छ । यमनमा सक्रिय शिया मुस्लिम जैदी सम्प्रदायसँग सम्बन्धित एक सशस्त्र विद्रोही समूह हो । सन् १९९० को दशकमा सादा प्रान्तबाट सुरु भएको यो समूहले शिया समुदायको अधिकार र यमनमा राजनीतिक सुधारको माग गर्दै सङ्घर्ष थालेको थियो । सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेपछि उनीहरू देशको प्रमुख शक्तिको रूपमा उदाएका हुन् । इरानबाट सहयोग प्राप्त गरेको आरोप लाग्दै आएको यस समूहसँग हाल साउदी अरब नेतृत्वको गठबन्धन र अमेरिका लगातार सङ्घर्षमा छन् । हुथीहरूले हाल रेड सागरमा अन्तर्राष्ट्रिय जलयातायात र इस्रायलमाथि आक्रमण गर्दै अन्तर्राष्ट्रिय स्तरमा चुनौती खडा गरिरहेका छन् ।

    हुथी समूहले जनाएअनुसार, राजधानी साना नजिकैको क्षेत्रहरूमा भएको पछिल्लो रातको अमेरिकी हवाई आक्रमणमा कम्तिमा ६८ जनाको ज्यान गएको छ । यी आक्रमणहरू अमेरिकाले हुथी समूहका मिसाइल र ड्रोन कार्यक्रमका आधारहरूमा लक्षित गरी गरेको दाबी गरिएको छ । अप्रिल १८ मा भएको अमेरिकी आक्रमण रस ईसा इन्धन बन्दरगाहमा लक्षित थियो, जसमा ७४ जनाको मृत्यु र १७१ जना घाइते भएको हुथीहरूले बताएका छन् । यो अहिलेसम्मको सबैभन्दा घातक हमला मानिएको छ । अमेरिकी सेनाले बन्दरगाहमा इन्धन आपूर्ति बन्द गर्न आक्रमण गरिएको जनाउँदै यो हमला हुथीहरूको आर्जन स्रोत रोक्न गरिएको जनाएको छ ।

    अमेरिका अनुसार, हुथी समूहले रेड सागरमा हुने अन्तर्राष्ट्रिय व्यापारिक जलयातायात र इस्रायलमाथि हमला गरी क्षेत्रीय सुरक्षामा खतरा पैदा गरिरहेको छ । अमेरिकाले आफ्नो ‘स्वतन्त्र नौवहन अधिकार’ कायम राख्न र हुथीहरूको आक्रमणलाई रोक्न आफूले दबाब बढाइरहेको स्पष्ट पारेको छ । अमेरिकाले स्पष्ट रूपमा इरानलाई हुथी लडाकूहरूलाई निरन्तर समर्थन गरिरहेको आरोप लगाएको छ । केन्द्रीय कमान्डको वक्तव्यमा भनिएको छ, “इरानको समर्थनबिना हुथीहरूले निरन्तर हमला गर्न सक्दैनन् ।”

    हुथी समूहले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरूबाट बाह्य सूचना प्रवाह रोक्न कदम चालेको छ । आइतवार हुथी समूहले साटलिंक इन्टरनेट उपकरणहरू (उपग्रहमार्फत इन्टरनेट सेवा) प्रयोग नगर्न र यस्ता उपकरणहरू तुरुन्तै सुरक्षासम्बन्धी निकायलाई बुझाउन आदेश दिइएको छ । हुथीहरूले चेतावनी दिँदै भनेका छन्, “यदि कसैले यस्ता उपकरण बेचबिखन, प्रयोग, स्थापना, सञ्चालन वा नियन्त्रण गरेको पाइएमा, कडा कानुनी कारबाही हुनेछ ।”

    अमेरिकाले यो सैन्य अभियान रेड सागरमा रहेका ‘यूएसएस ह्यारी एस। ट्रुम्यान’ र अरब सागरमा रहेका ‘यूएसएस कार्ल भिन्सन’ नामका दुई विमानवाहक युद्धपोतहरूबाट सञ्चालन गरिरहेको छ । सन् २०२२ मा युएईको अबुधाबी नजिक हुथीहरूले मिसाइल र ड्रोनबाट हमला गर्दा तीन जनाको मृत्यु भएको थियो । त्यसपछि हुथी र अमेरिका समर्थित गठबन्धनबीचको सङ्घर्ष अझै चर्किएको हो । युद्धले लामो समयदेखि यमनलाई मानवीय सङ्कटमा पारेको छ, जहाँ लाखौं नागरिकहरू खाद्य, पानी र स्वास्थ्य सेवाको अभावमा छन् ।

    राससको सहयोगमा

  • विद्युत अवरोधको घटनामा साइबर आक्रमण पुष्टी नभएको इयूको स्पष्टीकरण

    विद्युत अवरोधको घटनामा साइबर आक्रमण पुष्टी नभएको इयूको स्पष्टीकरण

    १६ वैशाख, काठमाडौं । स्पेनको विद्युत अवरोध साइबर आक्रमणबाट भएको भन्ने कुनै सङ्केत नभेटिएको इयूले जनाएको छ । स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमानहरूलाई खारेज गर्दै युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले भने, “अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत भेटिएको’ छैन ।” “दुवै देशका ग्रिड अपरेटरहरूले कारण पत्ता लगाउन र बिजुली आपूर्ति बहाल गर्न काम गरिरहेका छन्,” युरोपेली सङ्घका सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्ने युरोपेली परिषद्का प्रमुख कोस्टाले स्पेन र पोर्चुगलका नेताहरूसँग टेलिफोन सम्पर्कपछि एक्समा लेखेका छन् ।


    म्याड्रिड र बार्सिलोनामा मानिसहरू घर तथा कार्यालयबाट सडकमा निस्केको र आफ्नो स्मार्टफोनमा अवरूद्ध भएको नेटवर्कको पर्खाइमा रहेको देखिन्थे । अनलाइन पत्रपत्रिकाहरूले मानिसहरू लिफ्टमा फसेको, रेल सेवा, मेट्रो रेल सेवा र उडानसमेत अवरूद्ध भएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।

    इन्टरनेट गतिविधि अनुगमन साइट नेटब्लकले एएफपीलाई बताएअनुसार विद्युत अवरोधका कारण देशको अधिकांश डिजिटल पूर्वाधारमा सेवा प्रभावित बन्न पुगेको छ । यसले वेब कनेक्सन सामान्य प्रयोगको १७ प्रतिशतमा झरेको बताएको छ । फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा पनि केही समय विद्युतमा अवरोध आएको र सेवा प्रभावित भएको थियो यद्यपि, त्यहाँ अहिले सेवा पुनः सञ्चालनमा आएको छ ।

  • जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन

    जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन

    १६ वैशाख, टोकियो । जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको हृदयघातका कारण निधन भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हयाशीको हृदयघातका कारण मृत्यु भएको सोमबार पुष्टि गरेको हो । सेप्टेम्बर १९०९ मा जन्मिएकी हयाशीको २६ अप्रिलका दिन गिफु प्रान्तको आफ्नो गृहनगर टोकीको एक अस्पतालमा निधन भएको हो ।

    गत वर्षको डिसेम्बरमा ११६ वर्षको उमेरमा ह्योगो प्रान्तको आसिया शहरकी एक महिलाको निधन भएपछि उहाँ देशकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी थिइन् । हयासीको मृत्युसँगै अब जापानको सबैभन्दा वृद्ध व्यक्ति आइची प्रान्तको कोटाकी ११४ वर्षीया माइन कोन्डो बनेका छन् ।

  • तनहुँमा मोनोरेलको सम्भाव्यता अध्ययन गरिँदै

    तनहुँमा मोनोरेलको सम्भाव्यता अध्ययन गरिँदै

    १६ वैशाख, दमौली । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका ५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । काठमाडौँस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सकिने उनको भनाइ छ ।

    छिम्केश्वरी माई मन्दिरको दर्शनका लागि आउने अशक्त, अपाङ्गता, वृद्धवृद्धालाई लक्षित गरी ठूल्ढुङ्गाबाट मन्दिरसम्म छ सय मिटर दूरीको मोनोरेल सञ्चालन गर्ने लक्ष्य लिइएको तामाङले बताए । उनले भने, “पहिलो चरणमा नापजाँच सुरु गरिएको छ । लागतसहितको प्रतिवेदन एक हप्ताभित्र आइपुग्छ । त्यसपश्चात् थप प्रक्रिया अगाडि बढाउँछौँ ।” छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ ।

    छिम्केश्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, “हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।” गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडि बढाएको चुमानको भनाइ छ ।

    छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल नेटवर्क र टावर व्यवस्थापनलगायत समस्या रहेकाले त्यसको क्रमशः निराकरण हुँदै जाने उनले बताए । सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको भन्दै चुमानले खानेपानीको बजेट स्रोत भएर विस्तृत परियोजना प्रतिवेदन गरेर ठेक्का लगाउन बाँकी रहेको जानकारी दिए । छिम्केश्वरीमा पानीको अभाव हुँदा विकास निर्माणमा बाधा पुग्दै आएको छ ।

    खानेपानी सुविधाका लागि खानेपानी मन्त्रालयबाट बजेट विनियोजन भई विस्तृत परियोजना प्रतिवेदनको चरणमा रहेको चुमानको भनाइ छ । उनले भने, “वडा नं ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडि बढाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भइरहेको छ । डिपिआर सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।” उहाँका अनुसार खानेपानीका लागि करिब रु १० करोड लाग्ने अनुमान छ ।

    विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्षलगायत बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्वार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्वार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ ।

    गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई यहाँ अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

    छिम्केश्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष २०७५–७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आव २०७६–७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

  • सरकार र शिक्षकबीचको वार्ता सकारात्मक, आज होला सहमति ?

    सरकार र शिक्षकबीचको वार्ता सकारात्मक, आज होला सहमति ?

    १६ वैशाख, काठमाडौं । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति हुन नसकेको सहभागीले बताएका छन् । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए । महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले भने, “केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।”

    शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे । उनले महासङ्घसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए । महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए ।

    उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे । मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

  • लुम्बिनीमा पर्यटक चढाउन किनिएका विद्युतीय सवारी प्रयोगविहित

    लुम्बिनीमा पर्यटक चढाउन किनिएका विद्युतीय सवारी प्रयोगविहित

    १६ वैशाख, लुम्बिनी । लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ । यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ । विसं २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए । चालकसहित भ्यानमा सवार दुई जना कोषका पदाधिकारी वा कर्मचारी कोही थिएनन् ।

    कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले उक्त सवारी अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि रु २८ लाख खर्च लाग्ने प्राविधिकले जनाएका छन् । बस्नेतले चलाउनुभएको उक्त सवारीको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका–७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भएका थिए । साथै लु३१प १८६ नं को मोटरसाइकलमा ठूलो क्षति भएको उनको भनाइ छ । उनका अनुसार यहाँ लु१झ ६९४ नंको भ्यान पछाडितर्फ ठोक्किएको छ ।

    “ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ । लु१झ ६९५ नं भ्यानको चारवटै पाङ्ग्रा पञ्चर भएको छ । पाँचमध्ये चार बसको एसी बिग्रिएको छ । लु १झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ”, उनले भने । एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन, तीनैमध्येबाट हुन् ।

    लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच वटा विद्युतीय बस वातानुकूलीत, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्नसक्ने उक्त बस÷भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ । अदालतले सेतोलाई हरियो नं प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, “उक्त समय सीमा नाघीसक्यो, अवस्था जस्ताको त्यस्तै छ ।”

    “कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, “अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइनेछ ।”