Category: फिचर

  • अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

    अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

    २० वैशाख, काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दा बढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो । शिविरमध्ये शुक्रबार युएइमा कार्यरत नेपाली नागरिकको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका थिए । नेपाली सेवाग्राहीलाई अहिल्या हस्पिटल अबुधावीका डा याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले निःशुल्करुपमा आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गरेको थियो ।

    स्वास्थ्य परीक्षणसँगै डा श्रेष्ठले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रियासमेत गर्नुभएको नेपाली दूतावासले जनाएको छ । कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विविध विषयमा सचेतनामूलक जानकारीसमेत उपलब्ध गराएको थियो । सो अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमितरुपमा सञ्चालन गरिएको थियो ।

    राजदूतावासले सेवा प्रवाहसँगै यूएइमा कार्यरत नेपालीलाई शारिरीक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकताअनुसार समयसमयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । राहदानी नवीकरणसम्बन्धी विशेष काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने कार्यमा गैरआवासीय नेपाली सङ्घ, युएइ तथ नेपाली समाज, युएइले स्वयंसेवक उपलब्ध गराइ सहयोग गरेको थियो ।

    राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको छ ।

  • माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

    २० वैशाख, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको तीन वर्षअघि निर्माण सुरू भएको आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको हो । आयोजना प्रमुख लोकबहादुर नायकले बाँध, विद्युत्गृह र पाइपलाइन जडान सकिएको आयोजनाको विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको बताए ।

    “२०८२ को वैशाख महिनासम्म परीक्षण उत्पादन सुरू गर्ने कार्यतालिका बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक स्तरोन्नतिका कारण अवरूद्ध भएपछि प्रभावित बनेको छ”, उनले भने, “सडकका कारण भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित विद्युत्गृहका उपकरण ढुवानी रोकिँदा जडान गर्न ढिलाइ भएको हो ।”

    सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युत्गृह निर्माण भएको छ । विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माण गर्न थालिएको छ । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ ।

    देव ऊर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बिएफएल ब्याङलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । रु तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवद्र्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ ।

  • सरकारको नीति : जलवायुसम्बन्धी अन्तरराष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइने

    सरकारको नीति : जलवायुसम्बन्धी अन्तरराष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइने

    १९ वैशाख, काठमाडौं । सरकारले जलवायुसम्बन्धी अन्तरराष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदको संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिने उल्लेख गरे ।

    “जलवायु परिवर्तनका कारण नेपालले भोग्न परेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न विसं २०८२ जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गरिनेछ । उक्त संवादमा व्यक्त धारणाहरूका आधारमा जलवायु अनुकूलन र असर न्यूनीकरणका कार्यक्रम लागू गरिनेछ । सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

    सरकारले वनस्पति उद्यान व्यवस्थापन र जडीबुटी स्रोतको संरक्षण, विकास र उपयोग गर्नुका साथै नदीजन्य स्रोतको उत्खनन, प्रशोधन तथा व्यापारमा तीन तहका सरकारबीच सहकार्य हुने कानुनी प्रबन्ध गर्ने र पूर्वाधार निर्माणमा सामग्री अभाव हुन नदिने गरी नदीजन्य स्रोत परिचालन गर्ने भएको छ । जलस्रोतको बहुपक्षीय उपयोग गर्दै विद्युत्को माग अधिक हुने समयका लागि आपूर्ति व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्न नदी पथान्तरण र जलाशययुक्त आयोजनाको कार्यान्वयन गर्ने सरकारको योजना छ ।

    त्यसैगरी सरकारले देशभरिका नदी प्रणालीहरूको समुचित संरक्षण र संवर्द्धनका लागि कानुनी र संरचनागत व्यवस्था गरी एकीकृत जलस्रोत व्यवस्थापनको अवधारणा अनुरूप नदी बेसिन गुरुयोजनाको कानुनी र संरचनागत प्रबन्ध गर्ने भएको छ । “जलवायु परिवर्तन र भूकम्पजन्य सङ्कटग्रस्त क्षेत्रमा जल उत्पन्न विपद् व्यवस्थापन र सिँचाइ प्रणालीको पुनःनिर्माण गरिनेछ, जल तथा मौसम केन्द्रको सञ्जाल विस्तार र स्तरोन्नति गरिनेछ, जलस्रोतको एकीकृत तथा बहुपक्षीय विकास गर्दै कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सेवा विस्तार गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    सरकारले कृषकको सुविधालाई प्राथमिकता दिई सिँचाइ प्रणालीको पुनस्र्थापना गर्नुका साथै जल पुनर्भरण, ताल तलैया संरक्षण र जलाशय निर्माणमा जोड दिने र आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गर्ने भएको छ । “ऊर्जा विकास मार्गचित्र, २०८१” कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधार गर्ने नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्ने सरकारको योजना छ ।

    सुक्खायाममा विद्युत् आपूर्तिको मागलाई सम्बोधन गर्न र ऊर्जा सुरक्षा कायम गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि उपयुक्त वित्तीय मोडेल अपनाउने र तीन तहका सरकारको सहकार्यमा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य तथा वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् आपूर्ति विस्तार गर्ने सरकारको योजना छ ।

    निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका प्रसारणलाइनको विस्तार गर्ने र विद्युत् प्रसारण संरचना निर्माण गर्न ट्रान्समिसन एवं ह्विलिङ चार्ज निर्धारणलगायत अन्य आवश्यक नीतिगत र नियामकीय व्यवस्था मिलाउने सरकारको योजना छ । सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत जलविद्युत् निर्माणका लागि स्वःपुँजी परिचालन गर्नुका साथै त्यस्ता आयोजनामा वैदेशिक रोजगारीमा गएका नागरिकको विप्रेषण रकमसमेत परिचालन गर्न प्रयास गर्ने भएको छ ।

  • युवालाई आर्थिक र सामाजिक रुपान्तरणमा परिचालन गर्ने लक्ष्य

    युवालाई आर्थिक र सामाजिक रुपान्तरणमा परिचालन गर्ने लक्ष्य

    १९ वैशाख, काठमाडौं । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रूपमा परिचालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युवामा स्वयंसेवी र सदाचारी भावना विकास गर्ने उल्लेख गरे । राष्ट्रपति पौडेलले भने, “युवाको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । सङ्घ, प्रदेश, स्थानीय तह र खेल सङ्घको सहकार्यमा स्पोट्र्स स्कुल कार्यक्रम सुरु गरिनेछ ।” विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ ।

    रङ्गशालालगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने र खेलकुदलाई निजी क्षेत्रका संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिने सरकारको योजना छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने सरकारको योजना छ । सरकारले अन्तरराष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ ।

  • कृषि उत्पादन बढाउन जलस्रोत उपयोगको लक्ष्य

    कृषि उत्पादन बढाउन जलस्रोत उपयोगको लक्ष्य

    १९ वैशाख, काठमाडौं । सरकारले जलस्रोतको बहुपक्षीय उपयोगमार्फत कृषि क्षेत्रको विकास र प्रवर्द्धन गर्ने लक्ष्य निर्धारण गरेको छ । नदी पथान्तरण र जलाशययुक्त आयोजनाको कार्यान्वयनलाई जोड दिने भएको छ । हाल भेरी बबई डाइभर्सन आयोजना र सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यान्वयनको चरणमा छन् । यी दुवै आयोजना नदी पथान्तरणतर्फका ठूला र राष्ट्रिय गौरवका आयोजना हुन् ।

    सोही आधारमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नदी पथान्तरणका आयोजनालाई विशेष प्राथमिकतामा राखिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त सदनमा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रममा जलाशययुक्त आयोजना कार्यान्वयन गर्ने लक्ष्य राखिएको बताए ।

    देशभरका नदी प्रणालीको समुचित संरक्षण र संवर्द्धनका लागि कानुनी र संरचनागत व्यवस्था गर्ने, एकीकृत जलस्रोत व्यवस्थापनको अवधारणाअनुरुप नदी बेसिन गुरुयोजनाको कानुनी र संरचनागत प्रबन्ध गर्ने कार्यक्रम समेटिएको उनले उल्लेख गरे । जलवायु परिवर्तन र भूकम्पजन्य सङ्कटग्रस्त क्षेत्रमा जल उत्पन्न विपद् व्यवस्थापन र सिँचाइ प्रणालीको पुनःनिर्माण गर्ने विषयलाई महत्वका साथ नीति तथा कार्यक्रममा समेटिएको छ । जल तथा मौसम केन्द्रको सञ्जाल विस्तार र स्तरोन्नति गर्ने कार्यक्रम पनि सरकारको आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    जलस्रोतको एकीकृत तथा बहुपक्षीय विकास गर्दै कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सेवा विस्तार गर्ने, किसानको सुविधालाई प्राथमिकतामा राखेर सिँचाइ प्रणालीको पुनःस्थापना गर्ने कार्यक्रमलाई पनि महत्त्व दिइएको छ । जलस्रोतको दिगो उपयोग, भूमिगत, जल पुनःभरण, तालतलैया संरक्षण र जलाशय निर्माणमा जोड दिइएको छ ।

  • निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने

    निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने

    १९ वैशाख, काठमाडौं । सरकारले विद्युत् प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिएको छ । आज सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममा अन्तरदेशीय प्रसारणलाइन निजी क्षेत्रलाई निर्माण गर्न दिन सकिने उल्लेख गरिएको छ । “निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका प्रसारणलाइनहरूको विस्तार गरिनेछ ।

    विद्युत् प्रसारण संरचना निर्माण गर्न ‘ट्रान्समिसन’ एवं ‘ह्विलिङ’ चार्ज निर्धारणसहित अन्य आवश्यक नीतिगत र नियामकीय व्यवस्था मिलाइनेछ”, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ । आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गरिने जनाइएको छ । ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधार गर्ने, नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्नेलगायत विषयहरू सरकारको नीति तथा कार्यक्रममा परेका छन् ।

    सुख्खायाममा समेत विद्युत् आपूर्तिको मागलाई सम्बोधन गर्न र ऊर्जा सुरक्षा कायम गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि उपयुक्त वित्तीय ढाँचा अपनाइने जनाइएको छ । “तीन तहका सरकारहरूको सहकार्यमा राष्ट्रिय ‘ग्रिड’ नपुगेका स्थानमा ‘अफग्रिड’ सौर्य तथा वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् आपूर्ति विस्तार गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ । ‘

    जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जलविद्युत् निर्माणका लागि स्वःपुँजी परिचालन गराइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्ता आयोजनामा वैदेशिक रोजगारीमा गएका नागरिकको विप्रेषण रकमसमेत परिचालन गर्न प्रयास गरिने उल्लेख छ । ‘विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण कार्य योजना, २०८०’ अनुसार घरायसी, कृषि, औद्योगिक, व्यावसायिक, पर्यटकीय र यातायात क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग प्रवर्द्धन गर्ने नीति सरकारको छ ।

  • कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिने

    कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिने

    १९ वैशाख, काठमाडौं । सरकारले ‘इन्टर्न’लाई पनि ‘स्टार्टअप’मा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणाली लागू गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिने उल्लेख गर्दै योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिने बताए ।

    उनले दक्ष जनशक्ति पलायन रोक्न विगतमा भए गरेका तर हाल रोकिएका श्रम प्रोत्साहनका अभ्यासलाई निरन्तरता दिइने बताए । राष्ट्रपति पौडेलले देशभित्रै उद्यमशीलता विकासगरी युवा रोजगारी सिर्जना गर्ने र आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने बताए । श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने बताइएको छ ।

    स्वरोजगारी तथा ज्याला रोजगारी दुवैका माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने राष्ट्रपति पौडेलले बताए । उनले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नीति, कानुन तथा कार्यविधि संशोधन र तर्जुमा गरिने उल्लेख गरे । “राष्ट्रिय र अन्तरराष्ट्रिय श्रमबजारका मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

    नीति तथा कार्यक्रममा सबै प्रकृतिका, जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेगरी कोषको भूमिका र दायरालाई विस्तार गरिने उल्लेख छ । कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लखे छ ।

  • सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने

    सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने

    १९ वैशाख, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणालाई थप सुुदृढ गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गरिने उनले उल्लेख गरे ।

  • सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी सहकारीपीडितको रकम फिर्ता गरिने

    सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी सहकारीपीडितको रकम फिर्ता गरिने

    १९ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा समस्याग्रस्त सहकारीका थोरै रकम भएका बचतकर्ताको रकम फिर्ता गर्न यस्तो नीति लिइएको उल्लेख छ । सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    यस्तै, सहकारीको तथ्याङ्क व्यवस्थित गर्न सरकारले विद्युतीय सूचना प्रणाली स्थापना गर्ने उल्लेख गरिएको छ । सहकारीको यकिन तथ्याङ्क नहुँदा समस्या समाधानमा असहज भइरहेको थियो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि समस्याग्रस्त सहकारीमा रु पाँच लाखभन्दा थोरै बचत भएका पीडितलाई बचत फिर्ता गर्ने भनी उल्लेख गरिए पनि हालसम्म फिर्ता हुन नसकेको भनी सहकारीपीडितले आन्दोलन गरिरहेका छन् ।

  • सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गरिने

    सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गरिने

    १९ वैशाख, काठमाडौं । सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिने बताए ।

    “परियोजनाको वर्गीकरण गरी आगामी आवमा सम्पन्न हुने र यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी समयतालिका निर्धारण गरिनेछ”, सम्बोधनका क्रममा उनले भने । राष्ट्रपति पौडेलले विकास निर्माणका क्रममा देखापरेका कमीकमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेरिने बताए ।

  • सरकारले आफ्नै भू–उपग्रह सञ्चालनको आधार तयार गर्ने

    सरकारले आफ्नै भू–उपग्रह सञ्चालनको आधार तयार गर्ने

    १९ वैशाख, काठमाडौं । सरकारले दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग र पूर्वाधारको व्यवस्थापनमार्फत गुणस्तरीय दूरसञ्चार सेवाको देशव्यापी पहुँच विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त वैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गरेका छन् । राष्ट्रपति पौडेलले भने, “सार्वजनिक सेवा प्रसारण संस्थाको सवलीकरण गर्दै आमसञ्चार सामग्री उत्पादन, प्रकाशन र प्रसारणलाई प्रभावकारी बनाइनेछ ।” सरकारले हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गरी कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र व्यावसायीकरण पनि गर्ने भएको छ ।

    सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “एक स्थानीय तह, एक स्मार्ट हुलाक अवधारणाको कार्यान्वयन गरिनेछ, सुरक्षण मुद्रणलाई दिगो र भरपर्दो रुपमा सञ्चालनमा ल्याइनेछ ।” डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै सरकारले सूचना प्रविधिका क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्तारका लागि डिजिटल ‘इकोसिस्टम’ निर्माण गर्ने सरकारको योजना छ । आर्टिफिसियल इन्टिलिजेन्टको विकास र प्रयोगका लागि संस्थागत र कानुन आधार तयार गरी सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भू–उपग्रह सञ्चालनको आधार तयार गर्ने सरकारको योजना छ ।

  • नीति तथा कार्यक्रम : सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गर्ने लक्ष्य

    नीति तथा कार्यक्रम : सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गर्ने लक्ष्य

    १९ वैशाख, काठमाडौं । सरकारले सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरी उच्च प्रतिफलयुक्त आयोजनामा लगानी केन्द्रित गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भने, “अनावश्यक सार्वजनिक संरचना खारेज गर्ने, गाभ्ने वा पुनर्संरचना गरिनेछ । चालु खर्च वाञ्छित सीमामा राखी, सार्वजनिक क्षेत्रको लगानीलाई निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा परिपूरक हुने गरी केन्द्रित गरिनेछ ।”

    सरकारले औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नेगरी कर प्रणालीमा संरचनात्मक रूपान्तरण गर्नाका साथै कर प्रशासन सुधार र सूचना प्रविधिको प्रयोगबाट करदातामैत्री राजस्व प्रणाली विकास गर्ने भएको छ ।

    नीति तथा कार्यक्रममा भनिएको छ, “वैदेशिक सहायतालाई विकासको आवश्यकता र प्राथमिकताका आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गरिनेछ । वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त औद्योगिक तथा भौतिक पूर्वाधार आयोजनामा केन्द्रित गरिनेछ ।” राष्ट्रपति पौडेलले जलवायु वित्त कोषमा नेपालको पहुँच, नवीन प्रविधिको विकास, निजी क्षेत्रको लगानी तथा अर्थतन्त्रको उत्पादनशीलता अभिवृद्धि हुनेगरी सहायता परिचालन गरिने उल्लेख गरे । यस्तै, परियोजना लगानीको आवश्यकता पूरा गर्न वैकल्पिक वित्त कोष स्थापना गरिने उल्लेख गरे ।


    सरकारले वित्त परिचालनसम्बन्धी विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गर्नाका साथै सोह्रौँ योजनाको रणनीतिअनुरूप सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारीमुखी आर्थिक वृद्धि एवम् संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा कार्यान्वयन गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ जोड दिइने जनाइएको छ । सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको सङ्क्रमणलाई सहज तुल्याउने रणनीति पनि लागू गर्ने भनिएको छ ।

    “व्यापार सम्झौता विस्तार, वैकल्पिक वित्त र वस्तु विनिमयसम्बन्धी कानुन निर्माण गरिनेछ । नवीन वित्तीय उपकरणमार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पुँजी आकर्षित गर्ने र धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने छ”, राष्ट्रपति पौडेलले उल्लेख गरे ।

    उनले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने पनि उल्लेख गरे । “दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिनेछ । बैङ्क तथा वित्तीय संस्थाको गैरबैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ । सूचना प्रविधि पूर्वाधार विस्तार गरी ‘डिजिटल’ अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ”, राष्ट्रपति पौडेलले भने ।

  • कालीगण्डकी तर्न साँघुको भर

    कालीगण्डकी तर्न साँघुको भर

    १९ वैशाख, मुस्ताङ । थासाङ गाउँपालिका–२ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय राजमार्गसँग जोडिँदासोही वडाका सौरु र सिरकुङ कालीगण्डकीका कारण अगम्य भएका छन् । चालीस परिवारको बसोबास रहेको सौरु र सिरकुङका मान्छेको जीविकोपार्जनको स्रोत कृषि र पशुपालन हो । कालीगण्डमा पुल नहँुदा उनीहरुलाई आफ्ना उत्पादन स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पु¥याउन समस्या छ ।

    याकचौँरी र बाख्रापालन गर्दै आएका सौरु र सिरकुङका गाउँले हिउँदमा अस्थायी साँघुबाट नदी तर्छन् तर वर्षायाममा तीन घण्टाभन्दा बढी पैदल कोखेठाटीको बाटोबाट राजमार्गमा पुग्नुपर्ने बाध्यता छ । बर्खामा वडा र गाउँपालिका कार्यालय, माध्यमिक तहका विद्यार्थीलाई विद्यालय पुग्न र स्वास्थ्य सेवा प्राप्त गर्न सास्ती भएको सौरुका सोजन हीराचनले बताए ।

    सङ्घीय व्यवस्था प्रारम्भ हुनुअघि साविक जिल्ला विकास समितिले पनि सौरु र सिरकुङलाई राजमार्गसँग जोड्न कालीगण्डकीमा पुल बनाउने प्रयास नगरेको होइन । स्थानीयको सहयोगमा बनाइएको पुलको आरसिसी पिल्लर बाढीले पुरेपछि हालसम्म पुल बन्ने लक्षण नदेखिएको उनको गुनासो छ ।

    विक्रम सम्वत् २०७७ साल ३० वैशाखमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालले ५७० मिटर लामो सस्पेन्सन पुलको योजना अघि बढायो । इलाइट रुविना कन्ट्रक्सनसँग रु पाँच करोडमा ठेक्का सम्झौता भएको सस्पेन्सन पुलको काम हाल अलपत्र परेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए ।

  • बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

    बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

    १९ वैशाख, काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम राजप्रासादमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजा चाल्र्सले विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै बेलायत सरकारले नेपालको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए ।


    बेलायती राजाले नेपालसँगको आफ्नो देशको मैत्रीपूर्ण सम्बन्ध सुमधुर एवं परस्परमा लाभदायक रहेको जनाउँदै त्यसप्रति सन्तुष्टि व्यक्त गरेको लण्डनस्थित नेपालको दूतावासले जनाएको छ । दुई शताब्दी लामो द्विदेशीय सम्बन्धको चर्चा गर्दै राजदूत घिमिरेले नेपालको सामाजिक–आर्थिक विकासका खातिर संयुक्त अधिराज्यबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गरे ।

    राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राजाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै संयुक्त अधिराज्यका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । त्यस अवसरमा राजदूत घिमिरेकी धर्मपत्नी सरिता घिमिरे, बकिङ्घम राजप्रासाद, बेलायती विदेश मन्त्रालय तथा नेपालको दूतावासका वरिष्ठ कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।

  • ढोरपाटनमा सकियो सिकारयामः ११ नाउर र सात झारलको सिकार

    ढोरपाटनमा सकियो सिकारयामः ११ नाउर र सात झारलको सिकार

    १९ वैशाख, ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो ।

    सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका थिए । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडीलगायत ब्लकमा पुगेका थिए ।

    ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि सिकारी ढोरपाटन आएका थिए । सिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको सिकार थिए । १२ बँदेलको सिकार अनुमति दिए पनि एउटा पनि सिकार भएन ।

    दोस्रो याम (फागुन–वैशाख)का लागि वैशाख १६ गतेसम्म सिकारीले सिकार खेलेका थिए । सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टस काठमाडौँले सिकारीमार्फत दुई नाउर, दुई र दुई बँदेल सिकार गर्न अनुमति पाएको थियो । यो कम्पनीले एउटा नाउर र एउटा झारल मात्र सिकार गरेको छ । ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकन सिकारीले दुई नाउर र दुई झारल सिकार गर्ने अनुमति पाएकामा सबै वन्यजन्तुको सिकार गरेको उनले बताए ।

    त्यसैगरी हिमालयन सफारिज प्रालि काठमाडौँमार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनमति पाएकामा तीन नाउर र एक झारल सिकार गरेका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका थिए । त्यसमध्ये दुई नाउर र एक झारलको सिकार गरेका छन् । नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झरल र तीन बँदेल सिकार गर्ने अनुमति पाएकामा दुई नाउर मात्र सिकार गरेको सुवेदीले जानकारी दिए ।


    ओपन नेपाल वाइल्डलाइफ सफारिज एन्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएकामा एक नाउर र दुई झारलको सिकार गरेको उनले बताए । दोस्रो सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, फ्रान्सबाट सिकारी आएका थिए । ढोरपाटनमा हरेक वर्ष (असोज–मङ्सिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा सिकार हुने गर्छ ।

  • सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

    सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

    १९ वैशाख, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

    सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरेका छन् । यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ । नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।

    सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

  • व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन

    व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन

    १९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण गत महिना अमेरिकी उत्पादनमा आएको मन्दीले यस क्षेत्रमा तरङ्ग ल्याएको बिहीबार प्रकाशित सर्वेक्षण तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपतिले अप्रिलको सुरुमा अधिकांश देशहरूविरुद्ध व्यापक करहरू सार्वजनिक गरेका थिए । तर धेरै राष्ट्रहरूको सन्दर्भमा उनले कर वृद्धिको मार्ग परिवर्तन गरेका थिए । यद्यपि यो चीनका लागि भने लागु भएको छैन अर्थात् चीनले लिएको प्रतिशोधको बदलामा राष्ट्रपति ट्रम्पले कर वृद्धिलाई कुल १४५ प्रतिशतसम्म पुर्‍याएका छन् ।


    करको अस्थायी स्थगनपछि के हुने भन्ने आगामी अनिश्चितताले वित्तीय बजारमा भ्रम सिर्जना गरेको छ, जसले विश्वव्यापी अस्थिरतालाई बढावा दिएको छ। यसको प्रभाव अमेरिकी सामानहरूमा समेत परेको छ । इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट (आईएसएम) को उत्पादन सूचकाङ्क अप्रिलमा ४८.७ प्रतिशतमा झरेको छ, जुन मार्चमा यसको स्तरभन्दा निकै तल छ र विस्तार र सङ्कुचनलाई छुट्याउने ५० अङ्कभन्दा तल छ ।

    ब्रिफिङ डट कमकाअनुसार यो बजारको सहमतिभन्दा केही राम्रो थियो । आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले एक प्रतिक्रियामा भने, “माग र उत्पादन पछि हटेको छ र अधिक कर्मचारी कटौतिको कार्य जारी छ । सम्बन्धित कम्पनीहरूले अज्ञात आर्थिक वातावरणको प्रतिक्रिया दिएका छन्। उनले भने, “करका कारण मूल्य केही बढेको छ, जसले गर्दा नयाँ माग आउने ब्याकलगहरू, आपूर्तिकर्ता डेलिभरीमा मन्दी र विनिर्माण सूची वृद्धि भएको छ।”

  • भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

    भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् । साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् । पर्साको वीरगञ्ज निवासी प्रिशा विहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।

    गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । विहीबार दोस्रो नेपाली विद्यार्थीको सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन् । परराष्ट्रमन्त्री राणाले यो घटनाले निकै मर्माहित बनाएको भन्दै सामाजिक सन्जालमा लेखेकी छन्, ‘प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ उनी थप लेख्छिन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।’

  • भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

    भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

    काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा मृत फेला परेकी छिन् । वीरगञ्ज घर भएकी प्रिशा साह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको नेपाली सञ्चारमाध्यमले भारतीय स्रोतलाई उदृत गर्दै पुष्टी गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेका छन् ।

    उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन् । तर, घटनाको क्रममा कोठामा कोही नभएको समेत समाचारमा उल्लेख छ । गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

    त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।

  • भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

    भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

    १८ वैशाख, काठमाडौं । छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ । भारतको इण्डियन एक्सचेञ्ज मार्केट ९आइएक्स०मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युत्को समय चार घण्टा बढाइएको हो । समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ ।

    भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि बढाइएको हो । उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।

    औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । प्राधिकरणले मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुञ्जेल भारतबाट अधिकतम मूल्यमासमेत आयतको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकमा देखिएको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले नेपालको आन्तरिक उत्पादनले मात्र मागअनुसारको विद्युत् आपूर्ति गर्न पर्याप्त नभएको अप्ठ्यारो परिस्थितिमा भारत सरकारबाट ६०० मेगावाट विद्युत् आयातको समयावधि थप चार घण्टा बढाइ गरिएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिएको छ ।

  • छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर लागे

    छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर लागे

    १८ वैशाख, गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए । “कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्”, उनले भने, “मौसम बिग्रिएर दुःख दिइरहेको छ ।” चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइन्छ । यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ । चुमनुब्रीको वडा नं ३ र धार्चे गाउँपालिकाको वडा नं ३ का लेकमा पनि यार्सागुम्बा पाइन्छ ।

    छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न वैशाखको पहिलो सातादेखि नै लेकतिर जान थालेका निवर्तमान वडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् । “स्थानीय जान त गएका छन्, तर लेकमा अझै हिउँ जमिरहेको छ”, उनले भने, “यो वर्ष हिउँ ढिला प¥यो, लेक गएका पनि हिउँ पन्छ्याउँदै होलान् ।” वैशाख लागेपछि लेक गएकाहरू असारतिर मात्र फर्कने गर्छन् । स्थानीय बासिन्दाले करिब दुई–अढाइ महिनालाई पुग्ने गरी याक–चौंरीलाई रासनपानी तथा लत्ताकपडा बोकेर लैजान्छन् ।

    यार्साको मोसम सुरु भएपछि अधिकांशले घरमा ढोका लगाएर जहान परिवार, घरपालुवा पशुचौपाया सबै लेकमै लिएर जान्छन् । “लेकमा अस्थायी क्याम्प बनाउँछन्, बालबच्चा पनि लेकमै लान्छन्, याक, चौंरी पनि लेकमै लान्छन्”, लामा पासाङ भन्नुहुन्छ, “कसै–कसैका घरमा हिँड्न नसक्ने बुढाबुढी छन् भने रोङ्बा (तल्लो भेगका मान्छे)लाई घर कुरुवा राखेर आफू सबै लेकमै जान्छन् ।”

    यहाँका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाबाट हुने कमाइ हो । उनीहरुले यार्सागुम्बा बेचेर रु दुई लाखदेखि चार लाखसम्म कमाउने गर्दछन् । “अचेल लेकमा किरा पाउनै छोड्यो, दिनभरि खोज्दा एउटा, दुईटा मात्र पाइन्छ”, छिरिङ फुञ्जो भन्छन्, “अब केही वर्षपछि त त्यही पनि पाउन छोड्छ होला ।” यार्सागुम्बा सङ्कलनका लागि प्रत्येक घरले स्थानीयस्तरको समितिलाई रु ५०० र पालिकाका लागि रु ५०० तिर्नुपर्ने व्यवस्था छ ।

  • छ महिनामा दुई हजार बढी पर्यटक पुगे शुक्लाफाँटा

    छ महिनामा दुई हजार बढी पर्यटक पुगे शुक्लाफाँटा

    १८ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ ।
    सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले बताए । उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

    कात्तिकमा ३१६, मङसिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन् । उनका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ । आव २०८०÷८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेका थिए । आन्तरिक पर्यटक चार हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । विसं २०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ ।

    दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठुलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिङ्गे गैंडा, चितुवा, घोडगधा, बाह्रसिङ्गा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन् । निकुञ्जभित्र रहेका रानी ताल लगायतका अन्य तालमा मगर गोही पाइन्छन् । रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । निकुञ्जमा १२ प्रजातीका घस्रने वन्यजन्तु, २० प्रजातीका उभयचर, २४ प्रजातीका माछा र ३५ प्रजातीका पुतली पाइन्छन् ।

  • मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी

    मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी

    १८ वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताएकी छिन् । राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम महिला राष्ट्रपति भण्डारीले भनिन्, “मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।”

    सरकार सञ्चालनमा रहेका पार्टी अल दल केन्द्रित भए कि भन्ने कुरा आउन थालेको प्रसङ्ग उल्लेख गर्दै उनले व्यक्तिको आकाङ्क्षा र महत्वाकाङ्क्षाभन्दा हाम्रो राष्ट्रिय आकाङ्क्षा के हो भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्ने बताइन् । उनले भनिन्, “दलीय व्यवस्थामा राजनीतिक दल धेरै हुनु स्वाभाविक हो, तर कुनै पनि दलको स्पष्ट बहुमत नआउने÷नहुने, सरकार छिटो परिवर्तन भइरहने तथा सत्ता र शक्तिका लागि साना दलले ‘बार्गेनिङ’ गर्ने अवस्थामा सुधार गर्न राष्ट्रिय सहमतिसहितको दिगो कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।”

    सरकारले जिम्मेवारी बोधका साथ दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यक्रम ल्याउने प्रक्रिया सुरु गरेको प्रसङ्ग उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनताका बढ्दो माग र सुविधालाई सम्बोधन गर्ने क्रममा पछिल्ला दिनमा भइरहेको तीव्र बसाइँसराइलगायत कारण आउनसक्ने चुनौतीकाबारे अब सोच्नुपर्ने बेला आएको बताइन् । उनले भनिन्, “राज्यको महत्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहँदा राजनीतिक दललाई पनि त्यही नै सुझाव दिने हो । विकासको परिभाषामा पनि हामीले समय अनुकूल सोच्नु पर्नेछ । अहिलेको नयाँ पुस्ता अलि तीव्रगतिमा विकास चाहन्छ । पहिलाको जस्तो अवस्था छैन, त्यसतर्फ पनि जिम्मेवार पक्षको ध्यान जान आवश्यक छ ।”

    मुलुकमा राजनीतिक स्थिरता नहुनमा निर्वाचन प्रणालीको दोष नरहेको बताउँदै उनले भनिन्, “यो व्यक्ति विशेषका मनको कुरामात्रै हा । धेरै पार्टीले जिते, त्यसमा के बिग्रियो त रु जसले जिते पनि नेपाली नै जित्ने हो । पाँच वर्षसम्म दलले मिलेर गएपनि हुन्छ नी ।” उहाँले देशको विद्यमान विकासको ढाँचासहित शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने खाँचो औँल्याइन् ।

  • प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

    प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

    १८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि काठमाडौंमा छन् । उनले शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।

  • फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री

    फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री

    १८ वैशहाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनकाविरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् । एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरे ।


    “फालिएको राजतन्त्र पक्षधरको अराजकता गत चैत १५ गतेको तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखियो । उनीहरुको प्रशंसा नगर्ने कलाकारको चलचित्र नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीले फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ”, प्रधानमन्त्री ओलीले भने “यसमा श्रमजीवी वर्ग विगतमा झैँ सचेत हुनुपर्छ ।”

    ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेको उल्लेख गर्दै उनले रगत पसिना बगाएर लोकतान्त्रिक प्रणाली ल्याएकाले यसको रक्षा गर्ने बताए । “हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लड्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डा राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रङ रहेको छ । हामी सङ्घर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ”, प्रधानमन्त्री ओलीले भने । कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेल, नेपाल उद्योग वणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

  • विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री

    विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री

    १८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेतृ डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । कांग्रेसको जनसम्पर्क समिति समन्वयले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताइन् । “विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरु हाल विभिन्न मुलुकको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ, उहाँहरु हाम्रा लागि सफ्ट पावर हुनुहुन्छ, हामीले त्यसको उपयोग गर्नुपर्छ”, उनले भनिन् ।

    डा राणाले अहिले गैर आवासीय नेपाली कार्डको विषय मुख्य रहेको उल्लेख गर्दै यो जारी गर्न आवश्यक रहेको बताइन् । “तपाईंहरुले लामो समयदेखि एनआरएन कार्डको विषय उठाउँदै आउनुभएको छ, कार्ड जारी गर्न ढिलाइ भइसकेको छ, आजसम्म यहाँहरुले देखाउनुभएको धैर्यताको म कदर गर्छु”, उनले भनिन् । अहिले नेपालमा स्थायी सरकार गठन भएकाले चाँडै कार्ड जारी हुनेमा उनले विश्वास विश्वास गरिन् ।

    एनआरएन कार्डको विषयमा संविधान निर्माणको समयमा व्यापक छलफल भएको उल्लेख गर्दै डा राणाले कांग्रेस यो विषयमा सुरुदेखि नै प्रतिबद्ध रहेको उल्लेख गरिन् । अहिले विदेशमा रहेका नेपालीहरुमा सामाजिक सुरक्षा कोषसम्बन्धी आवश्यक जानकारी कम भएकाले पनि समस्या भइरहेको उनको भनाइ थियो । कांग्रेस नेपालको एक मात्रै लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उहाँले पार्टीप्रति विश्वास र भरोसा गर्न आग्रह गरिन् । “हामी लोकतान्त्रिक पार्टी हो भन्दै आउने र जाने भइरहेका छन्, तर लोकतन्त्रमा विश्वास राख्ने पार्टी कांग्रेस मात्रै हो”, उनले भनिन् ।

  • राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

    राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

    १८ वैशाख, म्याग्दी । रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।
    तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ ।

    आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ । आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो ।

  • पर्सामा रातको १० बजेपछि ‘डिजे’ बजाउन प्रतिबन्ध

    पर्सामा रातको १० बजेपछि ‘डिजे’ बजाउन प्रतिबन्ध

    १८ वैशाख, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्नका लागि अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले ध्वनि प्रदूषणका गतिविधि निरुत्साहित गर्नका लागि आह्वान गरेको हो । “सांस्कृतिक कार्यक्रमहरूमा गरिने आतसबाजी र पटाकाको प्रयोगलाई पूर्ण रूपले प्रतिबन्ध लगाउने निर्णय भएको छ”, उनले भने, “यो निर्णयविरुद्ध कार्य गर्ने÷गराउनेलाई कानुनको दायरामा ल्याइनेछ । सीमावर्ती क्षेत्रबाट हुने पटाका, डिजेलगायतका उपकरणको प्रवेशलाई कडाइका साथ नियमन गरिनेछ ।”

    बैठकले होटल, क्याटरिङ र पार्टी प्यालेसमा प्रयोग गरिने डिजेलगायतका उपकरणको प्रयोगलाई रातको १०ः०० बजेपश्चात् पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ । प्रशासनले विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रमको बुकिङ गर्दा सम्बन्धित होटल÷पार्टी प्यालेसले आयोजकसँग डिजे, पटाकाको प्रयोगलाई पूर्ण बन्देज लगाइएको विषय खुलाई सो बेहोराको सहमतिपत्रमा हस्ताक्षर गराएर मात्र बुकिङ गर्ने निर्णय गरेको प्रजिअ अर्यालले जानकारी दिए ।
    साथै, यस क्षेत्रका व्यवसायीहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व र बक्यौता रकम नियमित रूपमा बुझाउने र सोको सूक्ष्म अनुगमन गरी कारबाहीको दायरामा ल्याउने पनि निर्णय भएको छ । जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले ऐन कानुनविपरीत पटाका तथा आतसबाजी गर्नेलाई विस्फोटक पदार्थ ऐनबमोजिम कारबाहीको दायरामा ल्याइने जानकारी दिए । “सुरक्षा निकायले पनि निरन्तर अनुगमन गरेर कानुनविपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउनेछौँ”, उनले भने ।
    होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले विवाह तथा अन्य सांस्कृतिक कार्यक्रममा बजाइने डिजेलाई व्यवस्थित गर्न आवश्यक भएको बताए । यहाँका सिटी पार्टी प्यालेसका सञ्चालकहरूले बजाउनका लागि अनावश्यक दबाब आउने गरेकाले त्यस्ता गतिविधिलाई पनि निरुत्साहित गरिनुपर्नेमा जोड दिए ।

  • अमेरिकी अर्थतन्त्र अप्रत्यासित रुपमा सङ्कुचित

    अमेरिकी अर्थतन्त्र अप्रत्यासित रुपमा सङ्कुचित

    १८ वैशाख, काठमाडौं । सन् २०२५ को पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा सङ्कुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयको अनुमान रहेको छ । सन् २०२४ को अन्तिम महिनामा २.४ प्रतिशतले वृद्धि भएको विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकमा वार्षिक ०.३ प्रतिशतका दरले घटेको मन्त्रालयले उल्लेख गरेको छ । ब्रिफिङ डट कमका अनुसार बुधबारको आँकडा बजारको ०.४ प्रतिशतको वृद्धिको अनुमानभन्दा कम हो ।

    वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिलो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ्य उत्पादनमा आएको मन्दीले आयातमा आएको वृद्धि, उपभोक्ता खर्चमा आएको कमी र सरकारी खर्चमा आएको मन्दीलाई प्रतिबिम्बित गरेको छ ।” ट्रम्प सत्तामा फर्केको जनवरी २० देखि १०१ औँ दिनका अवसरमा यो तथ्याङक सार्वजनिक गरिएको हो । यो समयमा उनले अमेरिकी व्यापार सम्बन्धलाई पुनस्र्थापित गर्न अप्रिलको सुरुदेखि शीर्ष व्यापारिक साझेदारहरूलाई व्यापक कर लगाउने योजनाहरू प्रस्तुत गर्दै मार्चमा धेरै चरणहरूमा कर वृद्धिको घोषणा गरेका छन् ।


    ती शुल्कहरूको सुरुवातले वित्तीय बजारमा शेयर बिक्रीलाई बढावा दियो, जसले अस्थिरतालाई कोभिड–१९ महामारीपछिको न्यूनस्तरमा पुर्यायो र लगानीकर्ताहरूलाई तर्सायो । जर्ज वासिङ्टन युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक तारा सिन्क्लेयरले एएफपीसँग भने, “विशेषगरी राष्ट्रपति भएको पहिलो १०० दिनमा सामान्यतया सरकारी नीतिमा त्यति धेरै परिवर्तन हुँदैन तर अहिले यो अवस्था फरक छ ।” “मलाई लाग्छ यो एकदम स्पष्ट छ कि नाटकीय नीतिगत परिवर्तनहरू थिए जसले अर्थव्यवस्थालाई प्रत्यक्ष रूपमा कमजोर पारिरहेको छ,” उनले भने ।

    अप्रिलमा ट्रम्पको नीतिको आलोचना गर्दै भएको नाटकीय शेयर बजारको गिरावटपछि ट्रम्प प्रशासनले व्यापार वार्ताको लागि अनुमति दिन दर्जनौं देशहरूलाई उच्च कर वृद्धिको लागि ९० दिनको विरामको घोषणा गर्दै अधिकांश देशहरूको लागि आधारभूत १० प्रतिशत दर कायम गरेको थियो ।
    यसले स्टिल, आल्मुनियम र अटोमोबाइल्स र संयुक्त राज्य अमेरिकामा नबनेका पार्टपुर्जाहरूमा क्षेत्र–विशिष्ट उपाय र चीनमाथि कुल १४५ प्रतिशत नयाँ व्यापक करहरू घोषणा गरेको छ।

    त्यसको जवाफमा बेइजिङले अमेरिकी सामानमाथि कडा र लक्षित कर लगाएको थियो । वाणिज्य मन्त्रालयका अनुसार गत वर्ष अमेरिकी अर्थतन्त्र २.८ प्रतिशतले वृद्धि भएको थियो । नयाँ वर्षको सुरुवातमा विश्लेषकहरूले सन् २०२५ मा दुई प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि दर रहने अनुमान गरेका थिए । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमन र नयाँ कर वृद्धिको नीति पछि धेरै विश्लेषकहरुले आफ्नो विकास दृष्टिकोणमा तीव्र कटौती गरेका छन् ।
    आयातले वृद्धिमा नकारात्मक प्रभाव पार्छ र कुल गार्हस्थ गणनामा निर्यातको सकारात्मक प्रभावको प्रतिकार गर्दछ ।

    जर्ज वासिङ्टन युनिभर्सिटीका सिनक्लेयरले भने, “आयातमा यो वृद्धि यो प्रत्यक्ष करभन्दा अगाडि बढ्न खोज्ने मानिसहरूबाट आएको हो र यो राष्ट्रपतिको नीतिहरूको प्रत्यक्ष प्रतिक्रियाबाट प्रभावित छ ।” मन्त्रालयले भनेको छ, “लगानी, उपभोक्ता खर्च र निर्यातमा भएको वृद्धिले आयातमा आएको गिरावटलाई आंशिक रूपमा पूर्ति गरेको छ ।”

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    १८ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । केही स्थानमा आंशिक बदली हुनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
    –––