Category: फिचर

  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    २२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ ।


    भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए । यसअघि प्रधानमन्त्री ओल िर माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो ।

  • गाजामा इजरायली हवाई आक्रमण, थप १६ जना मारिए

    गाजामा इजरायली हवाई आक्रमण, थप १६ जना मारिए

    २१ वैशाख, काठमाडौं । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार इजरायली हवाई आक्रमणका कारण १६ जनाको मृत्यु भएको छ, जसमा कम्तीमा तीन जना बालबालिका पनि रहेका छन् । नागरिक सुरक्षा प्रवक्ता महमुद बासालका अनुसार गाजा पट्टीको दक्षिणी क्षेत्रमा पर्ने खान युनिस गभर्नरेटमा रातभरि भएका आक्रमणमा छ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच र दुई वर्षका दुई बालक अल–मावासी क्षेत्रमा रहेको एक अपार्टमेन्टमा रहेका थिए । पछिल्लो विवरणअनुसार सोही अल–मावासी क्षेत्रमा एउटा पालमाथि गरिएको आक्रमणमा थप १० जनाको मृत्यु भएको छ, जसमा एक बालक र सात महिला परेका छन् ।

    इजरायली सेनाले घटनाबारे हालसम्म कुनै आधिकारिक टिप्पणी दिएको छैन । एएफपीले सम्पर्क गर्दा प्रवक्ताले विवरण सङ्कलन भइरहेको जानकारी दिएका थिए । सेनाले बिहान जारी गरेको वक्तव्यमा गत दुई दिनको अवधिमा गाजा क्षेत्रमा १०० भन्दा बढी ‘आतङ्ककारी लक्ष्यहरू’ मा आक्रमण गरिएको बताइएको छ । वक्तव्यअनुसार केही हतियार गोदाम फेला पारिएको र केही लडाकुहरूलाई मारिएको दाबी गरिएको छ । इजरायलले मार्च १८ बाट दुई महिनाको युद्धविराम पछि पुनः गाजामा सैन्य कारबाही सुरु गरेको हो । यो द्वन्द्व हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली भूमिमा गरेको आक्रमणपछि सुरु भएको थियो ।

    हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमण पुनः सुरु भएदेखि हालसम्म दुई हजार ४३६ जना नागरिकको मृत्यु भइसकेको छ । कुल मृतक सङ्ख्या ५२ हजार ५३५ पुगेको जनाइएको छ । इजरायलले हाल गाजामा मानवीय सहायता आपूर्ति रोकिदिएको छ । इजरायली पक्षका अनुसार नाकाबन्दीको उद्देश्य बन्धक मुक्त गर्न दवाब सिर्जना गर्नु हो । संयुक्त राष्ट्रसङ्घका निकायहरूले इजरायललाई नाकाबन्दी हटाउन आग्रह गरेका छन् ।

  • दक्षिण अफ्रिकामा सडक दुर्घटना, १५ जनाको मृत्यु

    दक्षिण अफ्रिकामा सडक दुर्घटना, १५ जनाको मृत्यु

    २२ वैशाख, काठमाडौं । दक्षिण अफ्रिकाको ग्रामीण क्षेत्रमा एउटा मिनीबस ट्याक्सी र पिकअप ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ ।
    प्रान्तीय यातायात प्रवक्ता उनाथी बिनकोसेका अधिकारीले जोहानेसबर्गबाट करिब एक हजार किलोमिटर दक्षिणमा पर्ने पूर्वी केप शहर माकोमा नजिकै स्थानीय समय अनुसार शनिबार मध्यरातमा भएको दुर्घटनामा परी १५ जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको जानकारी दिए । मृत्यु हुनेमा दुवै गाडीका चालक रहेको र के भएको हो भन्नेबारे अनुसन्धान गरिने बिनकोसेले बताए । दुर्घटनामा कोन्से शहरबाट केपटाउनतर्फ जाँदै गरेको मिनीबसमा सवार १३ जना यात्रुको मृत्यु भएको थियो ।

    दक्षिण अफ्रिकामा परिष्कृत र व्यस्त सडक सञ्जाल छ । तीव्र गति, लापरबाहीपूर्वक सवारी साधन चलाउनु र पूराना सवारी साधनका कारण हुने दुर्घटनाले सडक दुर्घटनामा परी हुने मृत्यु पनि उच्च दरमा हुने गरेको छ । सडक यातायात व्यवस्थापन निगमको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ मा सडक दुर्घटनामा परी ११ हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो भने दुर्घटनामा पीडित भएका ४५ प्रतिशतभन्दा बढी पैदलयात्री रहेका थिए ।

  • गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिरः संयुक्त राष्ट्रसङ्घीय संस्था

    गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिरः संयुक्त राष्ट्रसङ्घीय संस्था

    २२ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सी (युएनआरडब्लूए) ले गाजा क्षेत्रमा अहिलेको मानवीय अवस्था अत्यन्तै गम्भीर र कल्पना गर्नै नसकिने भएको बताएको छ । एजेन्सीका अनुसार गाजामा जीवन निर्वाहका लागि आवश्यक वस्तुहरूको आपूर्ति पूर्ण रूपमा रोकिएको नवौं हप्ता भइसकेको छ, जसले गर्दा अवस्था झनै बिग्रन सक्ने खतरा छ । यस्तो भयावह स्थिति रोक्न अन्तर्राष्ट्रिय समुदायले तत्काल र समन्वित प्रयास गर्नुपर्ने एजेन्सीले आग्रह गरेको छ । युएनआरडब्लूएले युद्धविरामको लागि पुनः आग्रह गरेको छ ।

    त्यस्तै, हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयले गाजामा नाकाबन्दी तथा सीमाहरू बन्द भएकाले शीघ्र मानवीय सङ्कट आउन सक्ने चेतावनी दिएको छ । कार्यालयको प्रेस वक्तव्यमा भनिएको छ, “इजरायली प्रशासनले शिशु आहार, पोषण पूरक सामग्री तथा अन्य मानवीय सहायता प्रवेश गर्न नदिएको कारण ७० हजार भन्दा बढी बालबालिका गम्भीर कुपोषणका कारण अस्पतालमा छन् ।” वक्तव्यमा पाँच वर्ष मुनिका तीन हजार ५०० भन्दा बढी बालबालिका भोकमरीको कारण मृत्युको नजिक रहेको जनाएको छ ।

    यसले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा मानवीय सहायता आपूर्ति सहज बनाउनका लागि नाका खोल्न र अत्यावश्यक सामग्री प्रवेशको व्यवस्था मिलाउन तत्काल कदम चाल्न आग्रह गरेको छ । इजरायलले सन् २०२५ मार्च २ देखि गाजामा वस्तु तथा आपूर्तिको प्रवेश रोक्दै आएको छ । यो निर्णय जनवरी महिनामा भएको पहिलो चरणको युद्धविराम समाप्त भएपछि गरिएको हो, जबकि दोस्रो चरण अझै लागू भएको छैन ।

  • चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने

    चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने

    २२ वैशाख, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्नुहुने क्रेमलिनले आइतबार जनाएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्ने जनाएको छ । रुसी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई देशका राष्ट्रप्रमुख र सरकारका मन्त्रीहरू सहभागी हुने भ्रमणको शिलशिलामा द्विपक्षीय दस्तावेजहरूको शृङ्खलामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।”

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे ९ मा रुसले आयोजना गरेको दोस्रो विश्वयुद्धमा जर्मनीमाथिको युद्धमा विजय प्राप्त गरेको उपलक्ष्यमा युक्रेनमा जारी युद्धमा तीन दिने युद्धविरामको आदेश दिएका छन् । चीनले तीन वर्षे युद्धमा आफूलाई तटस्थ पक्षका रूपमा चित्रित गरेको छ यद्यपि पश्चिमा सरकारहरूले रुससँगको घनिष्ठ सम्बन्धले मस्कोलाई महत्वपूर्ण आर्थिक र कूटनीतिक सहयोग दिएको बताएका छन् ।

  • पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रबाट पाँच प्रहरी अपहरण

    पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रबाट पाँच प्रहरी अपहरण

    २१ वैशाख, काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक पृथकतावादी समूहले जेल भ्यानमा आक्रमण गरी पाँच जना प्रहरीलाई अपहरण गरेको दाबी गरेको छ । शुक्रबार राति ३० देखि ४० जना सशस्त्र व्यक्तिहरूले बलुचिस्तान प्रान्त पार गर्ने एउटा मुख्य राजमार्ग अवरुद्ध गरी प्रहरीको निगरानीमा रहेको जेल भ्यानलाई रोक्का पारेको प्रहरी अधिकारीले जानकारी दिए ।

    “कैदीहरूलाई पछि छोडिएको थियो, तर पाँच जना प्रहरी अपहरणमा परेका छन्,” एक उच्च प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा एएफपीलाई बताए । उनका अनुसार अपहरणमा परेका प्रहरीको उद्धारका लागि अभियान जारी छ । उक्त समूहले त्यस क्षेत्रमा रहेका केही सरकारी भवन र एक बैङ्कमा समेत आगजनी गरेको जनाइएको छ ।

    एक सरकारी अधिकारीले जानकारी दिए अनुसार सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा दुई आक्रमणकारी मारिएका छन् । पाकिस्तान विगत केही दशकदेखि बलुचिस्तानमा पृथकतावादी विद्रोहको सामना गरिरहेको छ, जहाँ राज्य सुरक्षा बल, विदेशी नागरिक तथा गैर–स्थानीय नागरिकहरू आक्रमणको निशानामा पर्छन् ।

    उक्त क्षेत्रको सबैभन्दा सक्रिय समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले कलात जिल्लामा भएको आक्रमणको जिम्मा लिएको छ। बीएलएले विगतमा विदेशी लगानीमा निर्माण भइरहेका ऊर्जा परियोजना, विशेषगरी चीनद्वारा समर्थित योजनाहरूलाई लक्षित गर्दै आएको छ । यस वर्ष मार्चमा सोही समूहले एक रेल नियन्त्रणमा लिई सयौं यात्रुहरूलाई बन्धक बनाएको थियो र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेको थियो ।

  • मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी के हुँदैछ ?

    मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी के हुँदैछ ?

    काठमाडौं । सरकारले मनसुनजन्य विपद् पश्चातको पुनर्निर्माणका लागि सक्रियता बढाएको बताएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आइतबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसबारे जानकारी गराएको हो ।

    पश्चिम नेपालमा गएको भू–कम्प तथा गत वर्षको मनसुनजन्य विपद् पश्चातको पुनर्लाभ (पुनर्निर्माण तथा पुनस्र्थापना योजना) कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए ।

    विगतमा भएका मनसुनजन्य विपद्का कारण सृजित जनधनको क्षतिको स्मरण गर्दै सम्भावित मनसुनजन्य विपद्को प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई प्राधिकरणबाट यथाशीघ्र अन्तिमरुप दिने तथा कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तिब्रता दिन सरोकारवाला सबै निकायलाई निर्देशन दिने बैठकले निर्णय गरेको उनले बताए ।

    कार्यकारी प्रमुख इन्जिनियर भट्टका अनुसार विगत वर्षमा मनसुनजन्य विपद्बाट उच्च जोखिम व्यहोरेका कारण यस वर्ष छिट्टै पूर्वतयारी थालिएको हो । बर्सेनि मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी आरम्भ गर्ने गरिएकामा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी थालेको उनले बताए ।

    “सुरक्षा निकाय तथा विभिन्न निकायलाई पूर्वतयारीका साथ रहन आग्रह गरेका छौँ”, कार्यकारी प्रमुख इन्जिनियर भट्टले भने । पूर्वतयारीलाई कसरी द्रुतगतिमा अगाडि बढाउने तथा यसबारे प्रदेश सरकार, स्थानीय तह र सङ्घीय सरकारका अन्य निकायसम्म कसरी पु¥याउने तथा कसरी प्रतिकार्य गर्नेबारे बैठकमा छलफल गरिएको उनको भनाइ छ ।

  • कक्षा १२ को परीक्षा दिँदै ७३ वर्षीया परीक्षार्थी

    कक्षा १२ को परीक्षा दिँदै ७३ वर्षीया परीक्षार्थी

    २१ वैशाख, काठमाडौं । माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ ।

    सबैभन्दा बढी काठमाडौँमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।

    त्यसैगरी आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कूल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षका लागि फर्म भरेको अध्यक्ष शर्माले जानकारी दिए । यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।

    यसैबीच, काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छिन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । प्रवेशपत्रमा उहाँको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ ।

    चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन् । उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यामिक विद्यालयबाट उर्तीण गरेकी हुन् । उनका श्रीमान विद्यालयका शिक्षक हुन् ।

  • अन्तर्वार्ता : स्थिर सरकार नबन्दा विकासले गति लिन सकेन

    अन्तर्वार्ता : स्थिर सरकार नबन्दा विकासले गति लिन सकेन

    २१ वैशाख, काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले वर्तमान सरकारप्रति जनताको आशा र भरोसा भए पनि तीव्र गतिमा काम हुन नसकेको टिप्पणी गरेका छन् । ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खतिवडाले भने, “देशमा देखिएका सबै विषयमा सरकारले जुन गति लिनुपर्ने हो, त्यो गति लिएको देखिँदैन, यद्यपि व्यक्तिगत रुपमा म वर्तमान गठबन्धन सरकार निरन्तर रहनुपर्छ भन्ने पक्षमा छु ।” स्थिर सरकार नभएका कारण पनि देशमा विकास हुन नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खतिवडाको भनाइ छ । सभापति खतिवडासँग राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

    पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ, तपाईंको दिनचर्या कसरी बितिरहेको छ ?
    राजनीति गर्ने मान्छेलाई बिहानदेखि बेलुकासम्म फुर्सद नै हुँदैन । राति १२ बजे पनि कहिलेकाहीँ फोन आउँछ । बिहान उठ्न नपाउँदै फोन आउँछ । मेरो वडामा कुन योजना प¥यो भन्दै जानकारी लिनेहरु पनि हुनुहुन्छ । सङ्घीयता के हो ? सङ्घीयता कहाँ पुगिरहेको छ भन्ने विषय स्थानीय तहमा धेरैलाई थाहा नहुन पनि सक्छ । त्यो व्यक्तिलाई मेरो पालिका र वडामा कुनकुन योजना प¥यो भन्नेतिर मात्रै ध्यान हुन्छ । हाम्रो वडामा तपाईंको पालामा योजना नपरे कहिले पर्ने भन्छन् । स्थानीय, प्रदेश र सङ्घीय गरी हामी तीन तहको सरकारमा छौँ । सबै सरकारले आ–आफ्नो क्षेत्र हेरेको उस्लाई ध्यान हुँदैन । विधायक भनेको कानुन बनाउने वा निति निर्माण गर्ने मात्रै होइन, जनताका प्रत्येक सरोकारका विषयसँग सम्बन्धित हुनुपर्छ ।

    एउटा सानो बाटोमा पहिरो गयो भने मात्रै पनि सांसदलाई फोन गर्ने बानी अझै पनि छ । बाटोमा पाइप फुटेर सामान्य पानी बगेको छ भने पनि मलाई नै फोन आउँछ । कुलेसाका विषयमा झगडा भयो भने पनि फोन आउँछ । बाख्राले बाली आइदियो भने पनि फोन आएको सम्झना छ । अहिले जनताको सबै तहका नेतृत्वसँग पहुँच छ । यो काम सहज सञ्चारमाध्यमका कारण सम्भव भएको हो । सम्पर्क नभए सामाजिक सञ्जालमा नकारात्मक प्रचार भइहाल्छ ।

    एउटा विरामीका लागि हेलिकप्टर पठाउन र त्यहाँबाट ल्याउनदेखि कार्यक्रममा सहभागी हुनेगरीको काम गर्नुपर्ने अवस्था छ । अहिले म राज्यव्यवस्था समितिको सभापति भएको नाताले पनि समितिमा केही महत्वपूर्ण विधेयकहरु छन । प्रहरी, निजामति, अख्तियार, नागरिकता र निर्माण सामग्रीसम्बन्धी विधेयक मेरै समितिमा छन् ।

    अहिले यी विधेयकलाई छिटो टुङ्गो लगाउनुपर्ने चाप छ । सबैलाई कानुन चाहिएको छ । ती कानुनमा आफू अनुकूलका विषय समेटिनुपर्ने पनि धेरैको माग छ । अहिले सङ्घीय संसद् चलिरहेको छ । संसद् चलिरहँदा विधेयककै विषयमा छलफल पनि भइरहेको छ । साथीहरु अहिले बिहान ५ बजे नै विभिन्न विषय लिएर आउनुहुन्छ । संसद् र समितिको बैठकका कारण कतिपय कार्यक्रममा सहभागी हुन सकेको छैन ।

    तपाईं सभापति हुनुभएको राज्यव्यवस्था तथा सुशासन समितिले अहिले के गरिरहेको छ ?
    राज्य व्यवस्था तथा सुशासन समितिको आफ्नै कार्यक्षेत्र छ । यसले संवैधानिक निकायहरु, आयोगसँग बसेर छलफल गरेर आफ्नो काम गर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगसँग छलफल गरेकार काम गर्छ । सांसदहरुले केही सोध्नुपर्ने भयो भने प्रधानमन्त्री कार्यालयलाई समितिले बोलाउँछ । सम्पत्ति शुद्धीकरण, राजस्व, निजामति, सेना र गृहसँग सम्बन्धित विविध विषयमा समिति केन्द्रित छ । कहिलेकाहीँ फास्ट्र¥याक बन्न ढिला भएपछि सम्बन्धित मन्त्रीलाई समितिमा आमन्त्रण गरेर सोधियो । हामीले आफैँले पनि स्थलगत अनुगमन ग¥यौँ । उहाँले द्रुतगतिमा काम गर्नुभएको रहेछ । त्यसको सकारात्मक सन्देश गएको छ ।

    समितिले काठमाडौँको तीनकुने क्षेत्रमा चक्काजाम वा आमसभा गर्न नपाउने निर्णय गरेको छ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने सिलसिलामा दुई जना युवाले मृत्युवरण गर्नुप¥यो । त्यसमा हामीले दोषीमाथि कारबाही गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न निर्देशन दिएका थियौँ । त्यो कार्यान्वयन भएको छ । मान्छे विदेश पठाउने विषयमा कुनैबेला विमानस्थलमा प्रहरी र निजामति कर्मचारीबीच कुटाकुट भयो । त्यसलाई हामीले प्रणालीमा ल्याएर एउटा पद्धतिको विकास गरेका छौँ । के गर्दा जनता र सरकारलाई सहज हुन्छ भन्ने विषयमा केन्द्रित भई समितिले काम गरिरहेको छ । समितिको मूल काम भनेको विधेयकमाथि छलफल गर्ने, कानुन बनाउने र कानुन संशोधनमा लैजाने नै हो ।

    अध्ययन अनुगमन विधेयक समितिमा भएको छलफलपछि संसद्बाट पारित गरिसकेका छौँ । त्यसैगरी भ्रष्टाचारसम्बन्धी कानुन पनि संसद्बाट पारित भएको छ । संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार पनि संसद्बाट पारित भइसकेको छ । समितिमा छलफलमा रहेका सबै विधेयकमा छलफल भएको अब यहाँबाट छिट्टै सक्ने तरखरमा छौँ ।

    ओखलढुङ्गाबाट जननिर्वाचित सांसद पनि हुनुहुन्छ, तपाईंले निर्वाचनका समयमा जनतासामु गरेका प्रतिबद्धताहरु कति पूरा गर्नुभयो ?
    मैले जिल्लामा अपेक्षाकृत रुपमा काम गर्न सकेको छैन । तर केही आशाकृत कामहरु सुरु भएका छन् । मेरै पहलमा ओखलढुङ्गाका विभिन्न सडक कालोपत्र भएका छन् । छ वर्षदेखि ओखलढुङ्गाले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाहेक एक रुपैयाँ पनि नपाएको अवस्थामा मैले निर्वाचन जितिसकेपछि सबैभन्दा ठूला खानेपानीका आयोजना ओखलढुङ्गामा परेको छ । ओखलढुङ्गाकै पलापौवा भन्ने ठाउँमा झण्डै रु ४८ करोडको बोलपत्र आह्वान भई काम सुरु भएको छ ।

    भदौरेमा २२\२५ किलोमिटर टाढाबाट करिब रु २२ करोडको खानेपानी आयोजनाको काम भएको छ । दूधकोसीमा १९ किलोमिटर बाँध बनाएर ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हामीले छुने बित्तिकै ढुङ्गामाटो सुन हुने होइन । तर जे काम गर्न खोजेका छौँ । त्यो काम अलिकति आशाकृत रुपमा अगाडि बढेका छन् । तर जुन गतिमा काम गर्नुपर्ने हो, त्यो गतिमा काम नभएको पक्कै हो ।

    मुलुकको विकासको अवस्थालाई कसरी हेर्नुभएको छ ?
    जनप्रतिनिधिको पहिलो काम जनतासँगको पहुँच निर्माण गर्नु हो । बेलायत र अमेरिकाका सांसदको काम भनेको कानुन निर्माण गर्ने मात्रै हुन्छ । तर हाम्रोमा कानुन निर्माणसँगै जनतासँग जोडिएका प्रतिबद्धता पनि पूरा गर्नुपर्छ । वितेको दुई वर्षमा कहिले तीन महिना, कहिले चार महिनासम्म सरकारले विश्वासको मत लिने मात्रै काम भयो । स्थायी सरकार बन्न सकेन । तीन÷तीन महिनामा केहीले कोसँग कहिले कोसँग गठबन्धन गर्ने काम भयो । हामीले सुरुमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० सँग गठबन्धन ग¥यौँ त्यसपछि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भयो । अहिले कांग्रेस र एमालेको गठबन्धनको सरकार छ । हामीले गठबन्धन त जोसँग पनि गरिरहेका छौँ । तर जनतालाई सिधैँ छुने खालका कामहरु हामीले गर्न सकेका छैनौँ ।

    शिक्षकका मागलाई तपार्इंले कसरी हेर्नुभएको छ ?
    शिक्षकका माग हामीले आजसम्म सम्बोधन गर्न सकेका छैनौँ । विशेषगरी युरोप र अमेरिकामा शिक्षहरुले डाक्टर र इञ्जिनियरले भन्दा बढी तलब पाउँछन । किनभने त्यही शिक्षकले डाक्टर र इञ्जिनियर बनाएका हुन्छन् । राजनीतिज्ञभन्दा देशको आर्थिक अवस्थाको बारेमा शिक्षक र निजामती कर्मचारीलाई जानकारी छ । यो अहिलेको व्यवस्था ल्याउनमा कर्मचारी र शिक्षकको ठूलो योगदान छ । उहाँहरु अहिले व्यवस्था फाल्न पनि लाग्नुभएको होइन । अहिलेको संविधान र व्यवस्था बलियो बनाउन लाग्नुभएको हो । यही व्यवस्थाभित्र रहेर कसरी हुन्छ सक्ने मागहरु पूरा गर्नुपर्नुपर्छ ।

    वर्तमान गठबन्धनको सरकारप्रति तपाईंको बुझाइ कस्तो छ ?
    हामीले अर्काको आलोचना मात्रै गरेर हुँदैन । आफू मात्रै ठीक अरु सबै बेठीक देख्ने प्रवृत्तिको विकास गर्नु हुँदैन । त्यसैले यी सबै विषयमा सरकारले जुन गति लिनुपर्ने हो । त्यो गति लिएको देखिँदैन । यद्यपी यो सरकार गठबन्धनको साझेदार हो । व्यक्तिगत रुपमा पनि यो गठबन्धन तिरन्तर रहनुपर्छ भन्ने पक्षमा छु ।

    देशमा सबैभन्दा ठूला पार्टी नै असफल भयो भने देशको अवस्था के हुन्छ ? के अहिले व्यवस्था विरोधीसँग मिलेर सरकार बनाउने रु अथवा अन्य साना दलसँग मिलेर सरकार बनाउने । त्यसो गर्नु हुँदैन । के सरकार बनाउने र ढाल्ने खेल मात्रै गर्ने हो त ? जनताका पक्षमा काम गर्नुपर्दैन । कम्ती दुई ठूला पार्टी मिल्दा जनतालाई एउटा आभास दिन सकिन्छ । अब हामीले यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ ।

  • ऊर्जा राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली

    ऊर्जा राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली

    २१ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन् । राज्यमन्त्री खर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए ।

    उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

  • गभर्नर नियुक्तिमा ढिलाई, सिफारिस समिति सदस्यमा अधिकारी नियुक्त

    गभर्नर नियुक्तिमा ढिलाई, सिफारिस समिति सदस्यमा अधिकारी नियुक्त

    २१ वैशाख, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो । यससँगै गभर्नर नियुक्ति प्रक्रिया पनि लम्बिएको छ ।

    सरकारले राष्ट्र बैंकलाई लामो समय रिक्त राखेकोमा भने आलोचना हुँदै आएको छ । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सिफारिस समितिमा नियुक्तिबारे जानकारी गराएका हुन् । यसअघि अधिकारी गभर्नर थिए । उनको कार्यकाल सकिएसँगै गभर्नर पद खाली छ ।

  • प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल

    प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल

    २१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी छ । भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी भएका थिए ।

  • कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु

    कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु

    २१ वैशाख, चन्द्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत यहाँको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ । आज हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नंको कारले निजगढतर्फ जाँदै गरेको ना३प ९५१२ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    कारको ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहीटोल बस्ने ६० वर्षीय बलिराम सहनी घाइते भएकामा स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

    यसैगरी, मोटरसाइकल पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनीको सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाएको थियो । उहाँको पनि उपचारकै क्रममा मृत्यु भएको हो । ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको र मृतकको शवपरीक्षण गरी आफन्तलाई बुझाइए प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

  • विकासमा वेथिति : घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्रे

    विकासमा वेथिति : घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्रे

    २१ वैशाख, गोरखा । गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८।३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो । दुई लेनको उक्त सडकको चौडाइ सात मिटर छ । एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले रु २९ करोड ७७ लाख लागतमा सो सडक कालोपत्र गरेको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर कपिल काप्रीले जानकारी दिए । विसं २०८१ चैत मसान्तभित्र काम सक्ने गरी २०७७ साउन १५ गते ठेक्का सम्झौता भएको हो ।

    “ठेक्का सम्झौता भएपछि कोभिड–१९ का कारण केही ढिलाइ भएको थियो”, इन्जिनियर काप्रीले भने, “सडक कालोपत्रसँगै एक मिटर चौडाइको नाली निर्माण र विभिन्न ठाउँमा ग्याविन तथा मेसिनरी पर्खाल निर्माणको काम सम्पन्न भइसकेको छ । सडक कालोपत्र भएपछि स्थानीय उत्साहित भएका बारपाक सुलिकोट गाउँपालिका–७ का अध्यक्ष कृष्ण गुरुङले बताए । हाल सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।

    “यो ट्रयाक २०५४ सालतिरै खुलेको हो । तर हालसम्म पनि कालोपत्र हुन सकेको थिएन”, उनले भने, “सधैँ कच्ची सडकमै यात्रा गर्नुपर्ने चिन्ता थियो ।” सडक कालोपत्र नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको वडाध्यक्ष गुरुङ बताए । उनी भन्छन्, “पहिला कच्ची सडक हुँदा यातायातको समस्या थियो । बर्खामा ठाउँठाउँमा पहिरो जाने, सडक हिलाम्य हुँदा सास्ती थियो । सडक कालोपत्र भएपछि बर्खाको समयमा समेत सहजै यातायात सञ्चालन हुने छ ।” बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र समेत जोड्ने उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न भएपछि पालिकावासीलाई जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहज हुने छ ।

  • गैरआवासीय नेपालीको समेत लगानी रहेको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

    गैरआवासीय नेपालीको समेत लगानी रहेको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

    २१ वैशाख, बेनी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए ।

    उनका अनुसार, बाँध, सुरुङ, विद्युत्गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत्गृहमा टर्बाइनलगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारणमा जोड्नका लागि आठ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

    कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र छ सय ३४ मिटर पेनस्टक टनेल रहेको छ । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ ।

    रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर÷त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।

  • वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

    वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

    २१ वैशाख, भक्तपुर । गत रातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए । भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको जनाइएको छ ।

    सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगबाट आउन दिएको उनले जानकारी दिए । उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ । भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ ।

    गाडी चिप्लिएर सयौँ फिट तल खस्ने जोखिम रहेपछि सवारीसाधनलाई एकतर्फी गरिएको हो । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । वर्षामा जोखिम बढे पनि समस्या समाधानका लागि तीव्रगतिमा काम हुन नसक्दा समस्या आएको छ ।

  • कक्षा १२ को परीक्षा सुरु, जापानमा एक परीक्षा केन्द्र

    कक्षा १२ को परीक्षा सुरु, जापानमा एक परीक्षा केन्द्र

    २१ वैशाख, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा हुने कक्षा १२ को परीक्षा देशभर एक साथ सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । उनले निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

    सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए । यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।

    परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन भने परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।

    परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

    परीक्षाको मर्यादाविपरीत शिक्षक–कर्मचारी–निरीक्षक–परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च÷अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ ।

    परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ ।

  • आजको मौसम : देशका विभिन्न भेगमा वर्षा

    आजको मौसम : देशका विभिन्न भेगमा वर्षा

    २१ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । देशका हिमाली एवम् पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ । देशको पहाडी भागका केही स्थान र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • वर्षाका कारण नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

    वर्षाका कारण नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

    २१ वैशाख, नवलपुर । गत रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

    उनले गत रातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरे । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए ।

    त्यसैगरी, गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

  • सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति

    सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति

    २० वैशाख, काठमाडौं । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो । सहमतिपत्रमा मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एसोसिएसनका तर्फबाट महासचिव सञ्जिव तिवारीले हस्ताक्षर गरेका छन् । सहमति गरेसँगै आवासीय चिकित्सकले गर्दै आएको आन्दोलन फिर्ता भएको छ ।

    सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकले गत माघ २५ गते गरेको निर्णयबमोजिम निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा, स्नातकोत्तर तहमा अध्ययन गर्ने सबै आवासीय चिकित्सकलाई सार्वजनिक शिक्षण संस्थाले दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सरोकारवालालाई निकायलाई निर्देशन दिने, आवासीय चिकित्सकको बिदा, ड्युटी समय, अतिरिक्त सुविधालगायत विषयमा मन्त्रालयले कार्यदल गठन गरी १५ कार्यदिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ ।

    यस्तै, चिकित्सा शिक्षा आयोगको १८औँ बैठकको निर्णयबमोजिम आयोगले सबै विद्यार्थीको एकीकृत रूपमा ‘म्याचिङ’ तथा भर्ना हुन पाउनेगरी व्यवस्था मिलाउन मन्त्रालयले समन्वय गर्ने र चिकित्सकहरू नियमित कार्यमा फर्कने सहमति भएको छ । छलफलमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि सहभागी थिए ।

  • नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

    नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

    २० वैशाख, काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले बताए ।


    काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

    उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ । सूचनामा भनिएको छ, “रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने व्यहोरासमेत जानकारी गराइन्छ ।”

  • अस्ट्रेलियामा आज निर्वाचन, महँगी र अमेरिकी कर नीति प्रभाव चर्चामा

    अस्ट्रेलियामा आज निर्वाचन, महँगी र अमेरिकी कर नीति प्रभाव चर्चामा

    २० वैशाख, सिड्नी । जीवनयापनको खर्च, जलवायुको चिन्ता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धि एजेन्डा बनेको आमनिर्वाचनमा शनिबार लाखौं अस्ट्रेलियाली नागरिकले मतदान गर्नेछन् । मतदाताहरूले वामपन्थी झुकाव भएका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीज र परम्परावादी प्रतिद्वन्द्वी पिटर डटनमध्ये एकलाई रोजिरहेका छन् । अल्बानीजको सत्तारुढ लेबर पार्टीले दोस्रो कार्यकालका लागि चुनाव जित्ने जनमत सर्वेक्षणहरूले देखाएका छन् । मतदानको पूर्वसन्ध्यामा प्रधानमन्त्री अल्बानीजले च्यानल सेभेनसँग भने, “पवित्र मतदान मतदाताले दिने एक प्रकारको अभिमत हो जसमा जीत दलहरूको आजको लक्ष्य हो ।”

    प्रधानमन्त्री अल्वानीजले भने, “यदि म अस्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएँ भने आगामी तीन वर्षमा मैले अष्ट्रेलियाका लागि गर्न सकिने विकासको नेतृत्व लिनेछु । सबै क्षत्रका समस्यालाई सम्बोधन गर्ने प्रयास गरिनेछ ।” सर्वेक्षणमा केही प्रतिशत अङ्कले पछि परे पनि डटनले ‘शान्त अस्ट्रेलियालीहरू’ले अझै पनि आश्चर्यचकित पार्न सक्ने बताउनुभएको छ । उनले च्यानल नाइनसँग भने,“मलाई लाग्छ कि उनीहरू मतदान केन्द्रमा गएर भन्नेछन्ः ‘तपाईंलाई के थाहा छरु म एन्थोनी अल्बानीजलाई विगत तीन वर्षका कामका लागि मन पराएको छैन ।”

    आफू पराजित भए विपक्षी नेता नै रहने कि नरहने भन्ने प्रश्नमा डट्टनले आफू जितको कुरा मात्र गरिरहेको बताए । उनले भने, “म ५४ वर्षको भएँ । म अझै पनि धेरै जवान छु र म यो देशको विकासका लागि एक ज्वलन्त उदाहरण बन्नेछु ।” पहिलो मतदान अस्ट्रेलियाको पूर्वी तटमा स्थानीय समयअनुसार बिहान ८ ः०० बजे सुरु भएको थियो भने त्यसपछि देशका पश्चिमी शहर र दूरदराजका टापु क्षेत्रमा मतदान भएको थियो ।

    निर्वाचनका लागि एक करोड ८१ लाख मतदाताले नाम दर्ता गराएका छन् । तीमध्ये एक तिहाइभन्दा बढीले प्रारम्भिक मतदान गरेको निर्वाचन अधिकारीले बताएका छन् । २० अष्ट्रेलियन डलर (१३ अमेरिकी डलर) जरिवाना लागू गरिएको मतदान गर्नु अस्ट्रेलियालीहरूका लागि अनिवार्य छ र यसले गर्दा शीर्ष ९० प्रतिशतभन्दा बढी मतदान हुने विश्वास गरिएको छ ।

    मतदान निकै प्रतिस्पर्धात्मक नभए शनिबार रातिसम्ममा नतिजा आउन सक्छ । ६२ वर्षीय अल्बानीजले नवीकरणीय ऊर्जालाई अङ्गीकार गर्ने, बिग्रँदो आवास सङ्कटको सामना गर्ने र खस्कँदो स्वास्थ्य सेवा प्रणालीमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । लिबरल पार्टीका नेता तथा पूर्व प्रहरी अधिकारी डट्टन आप्रवासनमा कटौती गर्न, अपराधनियन्त्रण गर्न र आणविक शक्तिमाथि लामो समयदेखि लगाइएको प्रतिबन्ध हटाउन चाहन्छन् ।

    केही सर्वेक्षणहरूले डट्टन ट्रम्पको पक्षमा खुलेर देखिएका छन । उनले यस वर्ष विश्वव्यापी मञ्चमा विशेष ‘गुरुत्वाकर्षण’साथ उदाएका ‘ठूलो विचारक’ को रूपमा प्रशंसा गरेका छन् । ५९ वर्षीय मतदाता एलन ह्विटम्यानले शनिबार मतदान गर्नुअघि भने “मेरो मतलब, डोनाल्ड ट्रम्प चोट लागेको सर्पजत्तिकै आक्रामक देखिनुभएको छ र हामी सबैलाई यो थाहा छ र हामीले यसको वरिपरि सुटुक्क छिप्नुपर्छ ।”

  • थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या

    थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या

    २० वैशाख, बैंकक । दक्षिणी थाइल्यान्डमा विद्रोहीबाट प्रभावित एक बन्दुकधारीले एक बालकसहित तीन जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीका अनुसार लामो विद्रोहबाट प्रभावित थाइल्यान्डको नरथिवाट प्रान्तको टाक बाई जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार राति आक्रमणकारीले गोली चलाउँदा नौ वर्षीया बालिका र एक जना वृद्धासहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    “एकजना पीडितको घटनास्थलमै मृत्यु भएको र अन्य दुईको जना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी अधिकारी वाताना थुरारतलेलाई उदृत गर्दै एएफपीले जनाएको छ । उनले आक्रमणकारी विद्रोही समूहसँग सम्बन्धित रहेको आशङ्का प्रहरीले गरेको वाताउनाले बताए । थाइल्याण्डको दक्षिणका नाराथिवत, पट्टानी र याला प्रान्तमा धार्मिक पृथकतावादीहरूले सन् २००४ पछि अहिलेसम्म सात हजार भन्दा बढी मानिसको हत्या गरेको जनाएका छन् । सन् २००४ मा, थाई सुरक्षा बलले टाक बाईको प्रहरी चौकी बाहिर प्रदर्शनकारीहरूको भिडमा गोली हान्दा सात जनाको मृत्यु भएको थियो ।

  • तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

    तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

    २० वैशाख, सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमो उक्त निर्माण कम्पनीले महिनादिन अघिदेखि काम ठप्प गरेपछि ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए ।

    “सम्झौताअनुसार असार मसान्तसम्म काम सम्पन्न हुनुपर्ने हो । तर, एक महिनाअघिदेखि निर्माण कम्पनीले काम ठप्प पारेको छ । म्याद थपको लागि निवेदन पनि दिएको छैन”, उनले भने, “सम्झौताअनुसार काम नभएपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेका छौँ ।”

    यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो । पुल निर्माणको क्रममा पुलको दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बिमाबापतको रकम दाबी गरेको थियो । हाल उक्त मुद्दा अदालतमा विचाराधीन भएकाले निर्माण सम्झौता र कारबाही प्रक्रिया के हुने भन्नेबारेमा निर्देशनालयले कानुनी परामर्श गरिरहेको प्रमुख महतोले बताए ।

    पुलको निर्माणको अन्तिम चरणमा रहेको बेला बाढीले क्षति पु¥याएपछि कम्पनीले क्षतिबापत बिमाबाट पाउनुपर्ने रु आठ करोड रकम नपाएपछि आफूहरू अदालत जानुपरेको निर्माण कम्पनीका ‘लुम्बिनी बिल्डर्स’ का ‘साइट इञ्चार्ज’ सुदीप थापाको भनाइ छ । उक्त रकम प्राप्त नगर्दा आर्थिक अभावले पुल निर्माणको बाँकी काम रोक्नुपरेको उनले जानकारी दिए ।


    विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ । ‘पप्पु कन्ट्रक्सन’ले तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ले गर्दै आएको थियो । यसबिचमा अन्तिमपटकका लागि ०८२ असारसम्मको थपिएको म्याद पनि त्यत्तिकै गुज्रिएको छ ।

    स्थानीयले वर्षौंदेखि कमलामा काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ सास्ती भोग्नुपरेको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यावदले बताउनुभयो । उहाँका अनुसार सिरहा र सप्तरीका मानिसलाई प्रदेश राजधानी जनकपुर आउजाउ गर्न भारतीय बजार जयनगर वा रू एक सय तिरेर डङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ । त्यस्तै आधा घण्टाको बाटोलाई मिर्चैया, ढल्केवर हुँदै करिब तीन घण्टा लामो घुमाउरो यात्रा गर्नुपर्ने हुनेछ ।

    तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी सडक मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । सम्पन्न भई उद्घाटनको तयारी भइसकेको अवस्थामा कमला नदीमा आएको बाढीले भासिएको अलपत्र पुलको पुनः निर्माण कार्यमा ढिलाइ मात्र भएको छैन, पुल बन्नेनबन्ने अनिश्चित भएको छ ।

  • अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

    अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

    २० वैशाख, काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।

    बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए । “हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छाँैं, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ”, बोर्डले उल्लेख गरेको छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवद्र्धक रहेको बताए । “यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो”, उनले भने । बोर्डको विवरणमा वर्षको चार महिना (जनवरी–अप्रिल) को अवधिमा चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका थिए ।

  • आवाज नथुनिऊन्, कलम नथाकून्ः प्रधानमन्त्री

    आवाज नथुनिऊन्, कलम नथाकून्ः प्रधानमन्त्री

    २० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आज उहाँले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम चलाउने सम्पूर्ण सञ्चारकर्मी, मिडिया संस्थाहरू तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने प्रत्येक चेतनशील नागरिकप्रति हार्दिक सम्मानसहित शुभकामना व्यक्त गरे । “‘स्वतन्त्र प्रेस’ शब्द मात्र होइन, यो लोकतन्त्रको आत्मा हो–जहाँ सत्य बोल्ने अधिकार हुन्छ, त्यहाँ जनता सबल हुन्छन्, कलम बन्दुकभन्दा बलियो हुन्छ”, प्रधानमन्त्री ओलीले लेखेका छन्, “आवाजहरू नथुनिऊन्, कलमहरू नथाकून् र खबरहरू तथ्यको उज्यालो मार्गमा हिँडिरहून् ।”

    आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभरि नै मनाइँदैछ । सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो । योसँगै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन राखेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु भएको हो ।

  • विश्व युद्धको वार्षिकोत्सवको नाम परिवर्तन गरी ‘विजय दिवस’ राख्ने ट्रम्पको घोषणा

    विश्व युद्धको वार्षिकोत्सवको नाम परिवर्तन गरी ‘विजय दिवस’ राख्ने ट्रम्पको घोषणा

    २० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मे ८ र नोभेम्बर ११ दुवैको नाम ‘विजय दिवस’ राख्ने इच्छा घोषणा गरेका छन् । “म मे ८ लाई दोस्रो विश्वयुद्धको विजय दिवस र नोभेम्बर ११ लाई पहिलो विश्वयुद्धको विजय दिवसका रूपमा पुनः नामकरण गर्दैछु”, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् । मे ८ मा युरोपेली सङ्घद्वारा र मे ९ मा पूर्व सोभियत देशहरूमा मनाइने विजय दिवसले जर्मनीको बिना शर्त आत्मसमर्पणको औपचारिक स्वीकृतिको वार्षिकोत्सवलाई चिह्नित गर्दछ ।

    हिरोसिमा र नागासाकीमा आणविक बम विस्फोटपछि सन् १९४५ सेप्टेम्बरको सुरुमा जापानले आत्मसमर्पण नगरेसम्म एसियामा युद्ध जारी रहेको थियो । यद्यपि संयुक्त राज्य अमेरिकामा केहीले यो अवसर मनाउँछन् । मे ८ सार्वजनिक बिदा होइन वा युरोपमा जस्तै व्यापक रूपमा मनाइँदैन । “हाम्रा धेरै सहयोगी र साथीहरूले मे ८ लाई विजय दिवसका रूपमा मनाउँदैछन्, तर हामीले दोस्रो विश्वयुद्धमा विजयी परिणाम ल्याउन अन्य कुनै पनि देशभन्दा धेरै गरेका छौँ”, ट्रम्पको पोस्टमा भनिएको छ ।

    नोभेम्बर ११ लाई मूल रूपमा पूर्व अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले पहिलो विश्वयुद्धमा सशस्त्र द्वन्द्वको अन्त्य गर्ने सन् १९१८ को युद्धविरामको वार्षिकोत्सव मनाउन ‘युद्धविराम दिवस’ (आर्मीस्टिस डे) नाम दिएका थिए । यो अब संयुक्त राज्य अमेरिकामा ‘भेटेरन्स डे’ का रूपमा मनाइने सार्वजनिक बिदा हो र यसले अमेरिकी सशस्त्र सेनामा सेवा गरेका अमेरिकीहरूलाई सम्मान गर्ने उद्देश्य राख्दछ ।

    “हामीले दुवै युद्धहरू जितेका थियौँ, शक्ति, बहादुरी, वा सैन्य प्रतिभाको सन्दर्भमा कोही पनि हाम्रो नजिक थिएन, तर हामीले कहिले पनि केही उत्सव मनाउँदैनौँ–त्यो किनभने हामीसँग अब नेताहरू छैनन्, जसले कसरी गर्ने भनेर जान्दछन् १” ट्रम्पले भने, “हामी फेरि आफ्नो विजयको उत्सव मनाउन थालिरहेका छौँ ।” दोस्रो विश्व युद्धमा सोभियत सङ्घ नाजी जर्मनीविरुद्ध बेलायत र संयुक्त राज्य अमेरिकासँग मित्र राष्ट्र थियो । सोभियत सङ्घमा रूस १५ गणराज्यमध्ये सबैभन्दा ठूलो थियो ।

    सोभियत सङ्घले युद्धमा सबैभन्दा धेरै हताहत भोगेको थियो । सोभियत सङ्घमा दुई करोडभन्दा बढी मारिएका थिए । ह्वाइट हाउसले अहिलेसम्म छुट्टीको नाम परिवर्तन गर्ने कुनै कार्यकारी आदेश वा घोषणा औपचारिक रूपमा जारी गरेको छैन । आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले बारम्बार अमेरिकी सार्वजनिक जीवनका केही भागको नाम परिवर्तन गर्न खोखेका छन् । चाहे त्यो राष्ट्रिय बिदा होस्– जस्तै ‘इन्डिजिनस पिपल्स डे’ लाई ‘कोलम्बस दिवस’ मा परिवर्तन गर्ने– वा भौगोलिक विशेषता, जस्तै ‘गल्फ अफ मेक्सिको’ लाई ‘गल्फ अफ अमेरिका’ का रूपमा पुनः नामकरण गर्ने ।

  • जापानको बेरोजगार दर २.५ प्रतिशत, सुधारको अवस्था

    जापानको बेरोजगार दर २.५ प्रतिशत, सुधारको अवस्था

    २० वैशाख, टोकियो । जापानको औसत बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बिन्दुले घटेर २.५ प्रतिशतमा झरेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२५ को मार्चसम्ममा रोजगारीमा जोडिने व्यक्तिको सङ्ख्या तीन लाख ७० हजारले बढेर छ करोड ७९ लाख ३० हजार पुगेको छ । रोजगारीको गिरावट सन् १९५३ देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थाले यताकै उच्च हो भने बेरोजगारको सङ्ख्या ३० हजारले घटेर १७ लाख ५० हजारमा झरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

    मन्त्रालयका एक अधिकारीका अनुसार कामदारको अभाव कायमै रहेकाले वेरोजगार व्यक्तिले कामबाट निकालिएपछि तत्कमालै नयाँ दरबन्दी पाउन सम्भव भएको छ । मन्त्रालयका अनुसार मार्चमा मात्रै बेरोजगारी दर अघिल्लो महिनाको २.४ प्रतिशतबाट बढेर २.५ प्रतिशत पुगेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको छुट्टाछुट्टै तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४ मा जापानको औसत रोजगारी उपलब्धता अनुपात एक वर्ष अघिको तुलनामा ०.०४ बिन्दुले घटेर १.२५ मा झरेको छ, जसको अर्थ प्रत्येक १०० रोजगारी खोज्नेहरूका लागि १२५ रोजगारीका अवसर उपलब्ध थिए । मार्चमा रोजगार र आवेदकको अनुपात फेब्रुअरीको तुलनामा ०.०२ अङ्कले बढेर १.२६ पुगेको श्रम मन्त्रालयले जनाएको छ ।

  • इयूमा टिकटकलाई ५३ करोड युरो जरिवाना

    इयूमा टिकटकलाई ५३ करोड युरो जरिवाना

    २० वैशाख, काठमाडौं । युरोपेलीहरूको व्यक्तिगत तथ्याङ्क चिनियाँ अधिकारीहरूको पहुँचबाट बचाउने सुनिश्चतता गर्न असफल भएको आरोपमा टिकटकलाई शुक्रबार ईयूले ५३ करोड युरो (करिब ६० करोड अमेरिकी डलर) को ठूलो जरिवानाको घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाको समेत चासो बनेको टिकटकले ब्रसेल्सबाट जरिवानाको अपिल गर्ने योजना बनाएको बताएको छ।

    उसले युरोपेली प्रयोगकर्ताको तथ्याङ्कका लागि चिनियाँ अधिकारीहरूबाट ‘कहिल्यै अनुरोध प्राप्त नभएको’ बताएको छ। आयरल्याण्डको तथ्याङ्क सुरक्षा अनु्गमन संस्थाका अनुसार चीनको स्वामित्वमा रहेको विश्वप्रसिद्ध सामाजिक सञ्जाल टिकटकले अनुसन्धानका क्रममा चीनमा युरोपेली तथ्याङ्क ‘होस्ट’ गरेको स्वीकार गरेको थियो।

    टिकटकले डाटा ट्रान्सफरको वैधानिकताको बारेमा अनुसन्धान गरेपछि इयूले लगाएको यो दोस्रो ठूलो जरिवाना हो । सन् २०२३ मा आयरल्याण्डको तथ्याङ्क संरक्षण आयोगले टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना गरेको थियो । टिकटक विशाल चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको एक विभाग हो। टिकटकका साथै गुगल, मेटा र एक्स जस्ता अन्य सामाजिक सञ्जाल युरोपेली मुख्यालय आयरल्याण्डमा भएकोले आयरिस प्राधिकरण सामाजिक प्लेटफर्मको लागि युरोपमा प्रमुख नियामक हो ।

    डिपिसीका उपआयुक्त ग्राहम डोयलले भने, “टिकटकले युरोपेली प्रयोगकर्ताहरूको व्यक्तिगत तथ्याङ्क चीनमा कर्मचारीहरूको पहुँचबाट टाढा गरेका थिए र ईयूले ग्यारेन्टी गरेको स्तरको सुरक्षा प्रदान गरिएको थियो भनी पुष्टि, सुनिश्चितता र प्रदर्शन गर्न असफल भएको छ ।” डोयलले एक विज्ञप्तिमा भन्नुभएको छ, “टिकटकले चिनियाँ आतङ्कवाद विरोधी, जासूसीविरोधी र टिकटकले पहिचान गरेका अन्य कानूनअन्तर्गत युरोपेलीहरूको व्यक्तिगत तथ्याङ्कमा चिनियाँ अधिकारीहरूको सम्भावित पहुँचलाई सम्बोधन गरेको छैन।”

    उक्त फैसलाको जवाफमा टिकटक युरोपकी क्रिस्टिन ग्राहनले भने, “टिकटकले कहिल्यै पनि युरोपेली प्रयोगकर्ताको तथ्याङ्क चीनलाई उपलब्ध गराएको छैन ।” उनले भने, “हामी यो निर्णयसँग असहमत छौँ र यसलाई पूर्ण रूपमा अपिल गर्न चाहन्छौँ।” चीनले जासुसी वा प्रोपोगान्डाका लागि व्यक्तिगत तथ्याङ्क प्रयोग गर्न सक्ने डरले टिकटक वर्षौंदेखि पश्चिमा सरकारहरूको घेराबन्दीमा परेको छ ।

  • अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने

    अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने

    २० वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने ८०० अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा भन्सार छुटको शुक्रबारदेखि अन्त्य गरेको छ । यसले शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटहरूलाई ठूलो धक्का पुर्याएको छ । ह्वाइट हाउसले चीनबाट संयुक्त राज्य अमेरिकामा ‘सेमीसिन्थेटिक ओपिओइड्स’ भनिने एक प्रकारको लागू पदार्थको अवैध प्रवाहका कारण उत्पन्न भइरहेको स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न महत्वपूर्ण कदम भएको बताएको छ ।


    शुक्रबारदेखि व्यावसायिक रूपमा ढुवानी हुने सामानमा अब १४५ प्रतिशतको नयाँ कर लाग्नेछ, जुन चीनबाट आउने सामानमा लगाइएको करको हालको स्तर हो । अमेरिकी हुलाक सेवामार्फत पठाइने वस्तुहरूमा उनीहरूको मूल्यको १२० प्रतिशत वा १०० डलरको शुल्क लाग्नेछ, जुन अर्को महिना २०० डलरमा वृद्धि हुनेछ। न्यूनतम वस्तुसँग सम्बन्धित (डे मिनिमिस) छुटको उन्मूलनले अब कम मूल्यको आयातलाई पनि करको अधीनमा राख्नेछ,” अमेरिकी संस्था इवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोले ग्राहकहरूका लागि जारी हालैको सूचनामा लेखेका छन् ।


    विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धको यो पछिल्लो कदम हो । ह्वाइट हाउसले चीनबाट आउने अटोमोबाइल्स, स्टिल र आल्मुनियमलगायत विभिन्न क्षेत्रमा २५ प्रतिशत थप कर लगाएको छ । त्यसको जवाफमा बेइजिङले अमेरिकी आयातमा १२५ प्रतिशत कर लगाएको थियो ।
    मेक्सिको र क्यानडाबाहेक अन्य अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूले १० प्रतिशतको आधारभूत करको सामना गरिरहेका छन् । उनीहरूले हालको उत्तर अमेरिकाको स्वतन्त्र व्यापार सम्झौताले नसमेटेका सामानहरूमा उच्च २५ प्रतिशत करको सामना गर्नेर्छन्।

    यस कदमले चीनबाट सस्तो सामान ढुवानी गर्ने शेन र टेमुसहित धेरै ठूला फर्महरूको व्यापार मोडेलमा प्रहार गर्ने खतरा छ । यद्यपि, न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीबद्ध प्राय चिनियाँ ई–कमर्स साइटहरूको शेयरमा शुक्रबार धेरै हदसम्म वृद्धि देखिएको थियो । सम्भवतः यसले बेइजिङ र वाशिङ्गटनबीचको व्यापार वार्ताको बारेमा आशावादलाई प्रतिबिम्बित गर्दछ । तथ्य यो पनि हो कि यी परिवर्तनहरूमध्ये धेरैको पहिले नै वित्तीय बजारमा मूल्य निर्धारण गरिएको थियो ।
    स्थानीय समयअनुसार १४ः४० मा टेमुको मालिक पिडिडी ३.७ प्रतिशतले बढेको थियो भने अलिबाबा ४.० प्रतिशतले बढेको थियो ।

    शेनले लण्डनको सार्वजनिक शेयर बजारमा सूचीकरण गर्ने लामो समयदेखिको योजनालाई स्थगित गरेको यसै साताको सुरुमा फाइनान्सियल टाइम्सले जानकारी गराएको थियो । ट्रम्पले पहिलो पटक फेब्रुअरीमा छूट रद्द गर्न आह्वान गर्नुभएको थियो तर यस कदमले व्यवस्थापकीय अवरोध उत्पन्न गरेपछि पछि हट्नुभएको थियो । त्यतिबेला बेइजिङले संयुक्त राज्य अमेरिकाले ‘व्यापार र आर्थिक मुद्दाहरूलाई राजनीतिकरण गरेको र तिनीहरूलाई औजारको रूपमा प्रयोग गरेको’ आरोप लगाएको थियो।