७ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका आइतबार दिउँसो थाइल्यान्ड बैंकक प्रस्थान गरेका छन् । उनको सिंगापुरमा आँखा र पेटको उपचार भए पनि यसपटक ‘फलोअप’का लागि थाइल्यान्ड गएका हुन् । देउवा प्रत्येक दुईरतीन वर्षमा स्वास्थ्य फलोअपका लागि सिंगापुर जाने गर्दथे । देउवासँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि थाइल्यान्ड गएकी छिन् ।
थाइल्यान्डमा सोमबारदेखि सुरु हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक नियोगको ८१ औं सत्रमा आरजु सहभागी हुने छिन् । पारिवारिक स्रोतका अनुसार सिंगापुरमा हेरिरहेका डाक्टर बैंककमा रहेकाले देउवाको फलोअप त्यहीं हुन लागेको हो ।
तर, कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला देउवा त्यहाँ रहँदा राजनीतिक भेटघाटसमेत गर्न सक्ने अनुमान लगाइएको छ । देउवा बैंककमा एक सातासम्म बस्ने छन् । उनको साथमा स्वकीय सचिव भानु देउवा र छोरा जयबिरसिंह देउवासमेत छन् । देउवाले पार्टीको कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खडकालाई दिएका छन् ।
७ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासङ्घको निरन्तर आन्दोलन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले आइतबार निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको थियो । उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको थियो । धेरै सुरक्षाकर्मी परिचालन गरिएको थियो । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो ।
७ वैशाख, बरहथवा । सर्लाहीमा छुट्टाछुट्टै स्थानमा बालकसहित दुई जनाको शव फेला परेको छ । पर्सा गाउँपालिका–४, जिगड्वास्थित इँट्टा भट्टामा काम गर्ने भारतको बिहार राज्यका ४ वर्षीय सुजित माझीको इँट्टा भट्टा परिसरमा खनेको खाडलमा जमेको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
पर्सा–२, सङ्ग्रामपुरस्थित सैलश बाबा मन्दिरमा लागेको मेला हेर्न गएका बालक तीन दिनदेखि बेपत्ता थिए । उनका परिवारका सदस्यले खोजविनका लागि प्रहरी चौकी नारायणपुरमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा माझी खाडलमा डुबेको अवस्था फेला परेका प्रहरीले जनाएको हो ।
यस्तै लालबन्दी नगरपालिकास्थित लखन्देही खोलामा एक पुरुषको शव फेला परेको छ । लालबन्दी–२, जुटपानीस्थित जीर्ण झोलुङ्गे पुलमुनि स्थानीय ४५ वर्षीय लक्ष्मण महतोको शव फेला परेको प्रवक्ता राईले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
७ वैशाख, काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेतालाई प्रहरीले रिहा गरेको छ । सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानबहादुर शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतलाई नियन्त्रणमा लिइ अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा अध्यक्ष लिङ्देनसहित सात जनालाई नियन्त्रणमा लिएका थियौँ । अहिले सबै जनालाई रिहा गरिएको छ ।”
७ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२\८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेस गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार योजना आयोगले आगामी आर्थिक वर्षको प्रस्तावित बजेट तथा कार्यक्रममाथि सम्बन्धित मन्त्रालय, निकाय तथा आयोगसँग नीतिगत एवं कार्यक्रमगत छलफल गरी सोको प्रतिवेदन अर्थमन्त्री समक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेस भएको हो ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानुनी तथा संरचनागत सुधारहरु भइरहेका र त्यसको परिणाम स्वरुप पछिल्ला दिनमा अर्थतन्त्रका समस्त सूचकहरु सकारात्मक बन्दै गएका बताए । उनले अर्थतन्त्रमा सुधार आइरहेको र आगामी आर्थिक वर्षको बजेट सबल अर्थतन्त्र निर्माणमा केन्द्रित हुने दाबी गरे । आयोगका उपाध्यक्ष प्रा डा अधिकारीले आगामी आर्थिक वर्षको बजेट बनाउन सहज होस् भन्ने उद्देश्यले मन्त्रालय, निकाय र आयोगसँग व्यापक परामर्श र छलफल गरी प्रतिवेदन तयार पारिएको बताए ।
प्रतिवेदनमार्फत आयोगले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने सुझाव दिएको छ । मन्त्रालय तथा निकायहरूले विगत आर्थिक वर्षहरूमा सिर्जित दायित्व तथा आगामी वर्षहरूका लागि आवश्यक पर्ने अनिवार्य दायित्वका लागि हुने आवश्यक पर्ने खर्च रकम प्रस्ताव गरेर मात्र बजेट सीमाभित्र रहेको बजेटका आधारमा आयोजना प्राथमिकीकरण तथा पुनःप्राथमिकीकरण गर्नुपर्ने आयोगको सुझाव छ ।
दीर्घकालीन सोच २१०० तथा सोह्रौँ योजनाले लिएका लक्ष्य हासिल गर्न आवश्यक कार्यक्रम तथा आयोजना प्राथमिकताका साथ प्रस्ताव तथा बजेट विनियोजन हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, आगामी आर्थिक वर्षको बजेटमा विनियोजन कुशलता बढाउनुपर्ने आयोगको निष्कर्ष छ । “कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्दा समन्वयात्मक अतिरिक्त लाभ (सिनर्जी) सिर्जना तथा दिगो बनाउन सहयोगी हुने र कार्यान्वयन गर्दा शून्य विरोधाभाष सिर्जना हुने कार्यक्रमलाई प्राथमिकताका साथ प्रस्ताव तथा विनियोजन गरिनुपर्छ”, आयोगले भनेको छ ।
उत्पादन र उत्पादकत्व वृद्धि गर्न सघाउने र रोजगारी सिर्जना हुने आयोजना तथा कार्यक्रमका लागि प्राथमिकताका साथ बजेट छुट्याउन भनिएको छ । त्यस्तै, आगामी आर्थिक वर्षमा खर्च हुने र खर्च गर्न सकिने आयोजना तथा कार्यक्रमका लागि मात्र बजेट विनियोजन गर्नुपर्नेमा आयोगको जोड छ । चालु आर्थिक वर्षमा दायित्व सिर्जना भएका र आगामी वर्षसम्ममा सम्पन्न हुने चरणमा रहेका वहुवर्षीय आयोजना तथा कार्यक्रमका लागि प्राथमिकताका साथ बजेट छुट्याउनुपर्ने आवश्यकतासमेत औँल्याइएको छ ।
सोह्रौँ योजनाका लक्ष्य, उद्देश्य, रणनीति तथा नतिजा खाका र दिगो विकास लक्ष्यका सूचकलाई केन्द्रविन्दुमा राखेर कार्यक्रम तथा बजेट प्रस्ताव गर्न आयोगले अर्थलाई प्रतिवेदनमार्फत सुझाव दिएको छ । त्यस्तै, क्रमागत कार्यक्रम तथा आयोजनाको प्रकृतिअनुसार कार्यान्वयनको अवस्था, आयोजना अवधि, सिर्जित दायित्व तथा खर्च गर्ने अवस्थाको आधारमा पुनःप्राथमिकीकरण गरी बजेट विनियोजन गर्न भनिएको छ ।
“क्रमागत कार्यक्रम तथा आयोजनाको पुनरावलोकन गरी दोहोरोपना रहेका एउटै प्रकृतिका कार्यक्रम वा आयोजना एक आपसमा गाभ्ने वा खारेज गर्नुपर्ने नीति लिईनुपर्छ”, आयोगले भनेको छ । त्यस्तै बजेटमा पर्ने आयोजनाको विवरण राष्ट्रिय आयोजना बैंकमा निर्धारित समयावधिभित्र अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने र सोको आधारमा मात्र बजेट विनियोजन गर्न भनिएको छ । थप नयाँ कुनै पनि संस्थागत संरचना निर्माण नगर्ने र मौजुदा संरचनाको अधिकतम उपयोग गर्ने नीति बजेटले अबलम्बन गर्नुपर्ने आयोगको सुझाव छ ।
कतिपय नियमित र चालु प्रकृतिको खर्चसमेत वैदेशिक सहायताबाट व्यहोर्नुपर्ने अवस्था देखिएकाले बजेट तथा कार्यक्रम प्रस्ताव गर्न कठिनाइ देखिएको आयोगले औँल्याएको छ । प्रादेशिक सन्तुलन र तीन वटै तह बीचको समन्वय प्रभावकारी हुने गरी कार्यक्रम प्रस्ताव गर्न भनिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा विकास आयोजना बाँडफाँटसम्बन्धी मापदण्ड बमोजिम कार्यक्रम तथा आयोजना बाँडफाँट हुनुपर्ने आयोगको सुझाव छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताबिच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनोहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल छलफलमा सहभागी थिए । छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।
६ वैशाख, काठमाडौं । गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ । इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ । मृतकमा महिला र बालबालिकासहित रातभर मारिएका १५ जना छन् । अस्पताल कर्मचारीहरूका अनुसार तीमध्ये केही तोकिएको मानवीय क्षेत्रमा आश्रय लिइरहेका थिए ।
दक्षिणी सहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैले मवासी क्षेत्रको एउटा टेन्टमा आश्रय लिएका थिए । त्यहाँ सयौँ हजार विस्थापित मानिस बसिरहेको अस्पताल कर्मचारीले बताएका छन् । इजरायलले यसलाई मानवीय क्षेत्रको रूपमा तोकेको छ । शवहरू ल्याइएको युरोपेली अस्पतालका अनुसार रफाह सहरमा छुट्टै आक्रमणमा एक आमा र उनकी छोरीसहित अन्य चार जनाको मृत्यु भएको छ । सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित लगभग एक हजार दुई सय मानिस मारिएका थिए । साथै लडाकूहरूले दुई सय ५१ जनालाई अपहरण गरेका थिए । त्यसपछि युद्ध सुरु भयो । अधिकांश बन्धकलाई युद्धविराम सम्झौता वा अन्य सम्झौतामा रिहा गरिएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । मन्त्रालयले नागरिक र लडाकूहरू बीच भिन्नता देखाउँदैन । युद्धले गाजाको विशाल भाग र यसको अधिकांश खाद्य उत्पादन क्षमताहरू नष्ट गरेको छ । युद्धले करिब ९० प्रतिशत जनसङ्ख्यालाई विस्थापित गरेको छ । लाखौँ मानिस टेन्ट शिविर र बम विस्फोट भएका भवनहरूमा बसिरहेका छन् ।
सहायता समूहहरूले इजरायलले गाजामा नाकाबन्दी गरेकोमा चेतावनी दिएका छन् । गाजामा इजरायलले छ हप्ताभन्दा बढीका लागि सबै खाना र अन्य सामानहरूको प्रवेश प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार हजारौँ बालबालिका कुपोषित भएका छन् र मौज्दात घट्दै जाँदा अधिकांश मानिसले दिनमा एक पटक मात्र खाना खाइरहेका छन् ।
६ वैशाख, काठमाडौं । अधिकारीहरूले शनिबार एक गोलीकाण्डमा एक सयभन्दा बढी कैदी चाड कारागारबाट भागेको बताएका छन् । सो क्रममा तीन जनाको मृत्यु भएको थियो भने कारागार भ्रमण गर्ने राज्यका गभर्नर घाइते भएका थिए । देशको मध्यमा रहेको मोङ्गो सहरबाट पाँच किलोमिटर टाढाको उच्च सुरक्षा कारागारमा विद्रोह हुँदा शुक्रबार राति उक्त घटना भएको हो । “त्यहाँ करिब एक सय जना भागेका छन्, तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्”, मोङ्गो अवस्थित गुयेरा प्रान्तका महासचिव हसन सुलेमाने एडमले भने ।
एक स्थानीय मोङ्गो अधिकारीले नाम नछाप्ने सर्तमा कैदीहरूले बन्दुक चोरी गर्न प्रबन्धकको कार्यालयमा प्रवेश गरेको बताए । “त्यसपछि गार्डहरूसँग गोली हानाहान भयो, त्यही समयमा गभर्नर आइपुगे । उनी घाइते भए”, उनले भने । मोङ्गो अधिकारीले त्यहाँ तीन जनाको मृत्यु भएको पुष्टि गरे र भागेका कैदीहरूको कुल सङ्ख्या एक सय ३२ रहेको बताए । खानाको अभाव भएको गुनासो गरेपछि कैदीहरूले विद्रोह गरेको उनले बताए । चाडका न्यायमन्त्री युसुफ टोमले यस क्षेत्रमा उड्न लागेको जानकारी दिँदै भने, “आउँदो घण्टामा म मोङ्गोमा पुगेपछि सटीक जानकारी दिन सक्षम हुनेछु ।”
६ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गरेका छन् । शुक्रबार साँझ कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने जस्ता गलत भाष्य निर्माण गरिएको समेत बताएको महासङ्घले जनाएको छ । उनने भने, “नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ, विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ, नेपालमा पनि विदेशमा जस्तै मेहनत गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।”
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी रु १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रह गरे । उक्त कम्पनीले मुलुकभित्र तथा बाहिर रहेका नेपालीहरुको छरिएर रहेको पुँजी सङ्कलन गरी जलविद्युत्, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न गइरहेको उनले बताए । उनले उक्त कम्पनीमा सहभागी भइ लगानी गर्न अनुरोध गरे । अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षयकोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उहाँले त्यस कोषमा रु १५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । कार्यक्रममा बागलुङवासीसमेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो ।
६ वैशाख, मान्म । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन् । स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा जानुभएका शाही आज बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए ।
स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा भेटिएको र अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । “घटनाको अनुसन्धानका लागि प्रहरी त्यसतर्फ गइरहेको छ”, उहाँले भन्नुभयो, “घटनाका विषयमा अनुसन्धान हुनेछ ।”
६ वैशाख, भक्तपुर-रासस । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको छ । वर्षा भएपछि आज सडक एकतर्फी सञ्चालन गरिएको हो । काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको भक्तपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । वर्षापछि सडकमा हिलोका कारण सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउनेलाई मात्रै साँगाबाट आउन दिएको उनले बताए ।
भक्तपुर हुँदै काभ्रे जाने दुईपाङ्ग्रेलगायत हल्का चारपाङ्ग्रे सवारीसाधनहरू जगातीबाट च्याम्हसिंह हुँदै ताथली नाला सडकबाट बनेपा निस्कने गरी व्यवस्था मिलाइएको छ । भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने जगातीमै रोकिएको छ । सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगाखण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने र सवारीसाधन चिप्लिने समस्या हुने गरेको छ ।
६ वैशाख, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ । यस अवधिमा साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड थियो ।
पछिल्लो नौ महिनामा रू दुई खर्ब ३३ अर्ब १७ करोड ऋण थपिएको छ । यसरी चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रू २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको कार्यालयले जनाएको छ । “चैत मसान्तसम्ममा सार्वजनिक ऋण कूल ग्राहस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा ४६ दशमलव ७५ प्रतिशत हुन आउँछ ।
कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव १९ र आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ८१ प्रतिशत छ”, प्रतिवेदनमा भनिएको छ । मुलुकको हालसम्मको कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण रू १३ खर्ब एक अर्ब ९४ करोड र बाह्य ऋण दायित्व रू १३ खर्ब ६५ अर्ब ३२ करोड बराबर छ ।
सरकारले यस आर्थिक वर्षका लागि करिब साढे पाँच खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकामा गत चैत मसातसम्म ६७ प्रतिशत हाराहारी उठिसकेको छ । “चालु आर्थिक वर्षमा जम्मा रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्ममा रू तीन खर्ब ६६ अर्ब नौ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक प्राप्ति ६६ दशमलव ९३ प्रतिशत रहेको छ”, प्रतिवेदनमा भनिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सरकारले रू दुई खर्ब ९१ अर्ब १४ करोड आन्तरिक ऋण उठाएको हो भने रू ७४ अर्ब ९५ करोड बाह्य ऋण उठाएको हो । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको आन्तरिक ऋणको प्राप्ति ८८ दशमलव २२ प्रतिशत र बाह्य ऋणको प्राप्ति ३४ दशमलव ५४ प्रतिशत बराबर हो । यस आर्थिक वर्षका लागि सरकारले रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण र रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ ।
सार्वजनिक ऋण निरन्तर बढ्दै गएसँगै त्यसको साँवा–ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मात्रै करिब साढे दुई खर्बभन्दा बढी रकम साँवा ब्याज भुक्तानीमा खर्च भएको छ । “चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा चैत मसान्तसम्म रू दुई खर्ब ५२ अर्ब ४८ करोड भुक्तानी भएको छ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ, “यो वार्षिक विनियोजनको आधारमा ६२ दशमलव ६७ प्रतिशत हो । जिडिपीको आधारमा चैत मसान्तसम्ममा कूल ऋण सेवा खर्च चार दशमलव ४३ प्रतिशत रहेको छ ।”
पछिल्लो नौ महिनामा आन्तरिक ऋणको साँवाव्याज भुक्तानीका लागि मात्रै रू दुई खर्ब १२ अर्ब ९३ करोड खर्च भएको छ । आन्तरिक ऋणको साँवा तिर्नका लागि रू एक खर्ब ७० अर्ब नौ करोड र ब्याज तिर्नका लागि रू ४२ अर्ब ८४ करोड बराबर खर्च भएको हो । त्यस्तै, बाह्य ऋणको साँवा ब्याज तिर्नका लागि रू ३९ अर्ब ४३ करोड बराबर खर्च भएको छ । जसमध्ये बाह्य ऋणको साँवा तिर्नका लागि रू ३२ अर्ब ९३ करोड र ब्याज तिर्नका लागि रू छ अर्ब ६१ करोड खर्च भएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनले मात्रै रू ७० अर्ब नौ करोड बराबर सार्वजनिक ऋणको दायित्व थपिएको कार्यालयले जनाएको छ । नेपालले वैदेशिक ऋण ‘स्पेशल ड्रइङ राइट’ एसडिआर) अन्तर्गतका पाँचवटा विदेशी मुद्रामा लिन्छ । जसमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, चिनियाँ युआन र जापानी येन पर्दछन् । चालु आर्थिक वर्षमा एसडिआरको विनिमय दरमा आएको वृद्धिले वैदेशिक ऋण दायित्वमा थप प्रभाव परेको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
६ वैशाख, श्रीलंका । बहुमूल्य बौद्ध अवशेषको दुर्लभ प्रदर्शनको सुरुआतमा शुक्रबार दशौँ हजार तीर्थयात्री श्रीलङ्काको पवित्र सहर क्यान्डीमा भेला हुँदा ट्राफिक अव्यवस्था र सार्वजनिक विरोधलाई निम्तिएको छ । दाँतको मन्दिर बाहिर रातभरि क्याम्प गरेका भक्तजनहरूले सुरक्षा जाँचपछि उनीहरूलाई होल्डिङ क्षेत्रमा सीमित गरिएको र घण्टौँसम्म खाना र पानीबाट वञ्चित रहेको गुनासो गरे ।
राष्ट्रपति अनुरा कुमार दिसानायकेले श्रीलङ्काका बौद्धहरूले बुद्धको बायाँ कुकुर दाँत भनेर विश्वास गर्ने वस्तुमा फूल चढाएर औपचारिक रूपमा प्रदर्शनीको सुरुआत गरे । प्रदर्शनी जनताका लागि खुल्नुभन्दा केही समयअघि नै दिसानायके कोलम्बोमा रहेका कूटनीतिज्ञहरूका साथ १६औँ शताब्दीको मन्दिरमा अतिथिका रूपमा आमन्त्रित रहेको उनको कार्यालयले जनाएको छ ।
TOPSHOT – Devotees rest on the pavement under a scaffold to queue overnight at Sri Lank’s holiest Buddhist temple, the Temple of the Tooth, in the central pilgrim city of Kandy on April 18, 2025, ahead of an exposition of the sacred relics. The public display of what Buddhists believe to be a tooth relic of the Buddha is taking place after 16 years. (Photo by Ishara S. KODIKARA / AFP)
मन्दिरभित्र प्रदर्शन गरिएका अवशेषहरू पार गर्न तीर्थयात्रीहरूलाई अनुमति दिन ढोका खोलिएपछि भागदौड रोक्न प्रहरी हतारिएको थियो । धेरै वृद्ध व्यक्तिहरू बेहोस भए र नजिकैका मानिसहरूले सहयोग गरे । मन्दिर परिसर बाहिर तीन दिशाबाट लाइनहरू झण्डै दुई किलोमिटरसम्म फैलिएका थिए र दशौँ हजार भक्तजनले अवशेषको एक झलक हेर्ने प्रयास गरिरहेका थिए । प्रहरीले १० दिने प्रदर्शनको अवधिमा दैनिक लगभग दुई लाख मानिसले क्यान्डी भ्रमण गर्ने अनुमान गरेको थियो तर स्थानीय अधिकारीहरूले भीडको अनुमान नराम्रोसँग कम गरेको बताए ।
कोलम्बोबाट एक सय १५ किलोमिटर उत्तरपूर्वमा रहेको क्यान्डीमा पुग्ने मुख्य सडकहरू विशेष ट्राफिक व्यवस्था र तीर्थयात्रीहरूका लागि आरक्षित पार्किङ क्षेत्रहरू हुँदाहुँदै पनि लामो समयसम्म अवरुद्ध भएका थिए । सन् १९९८ मा तमिल पृथकतावादीहरूले गरेको आत्मघाती आक्रमणमा १६ जनाको ज्यान गएको मन्दिरमा करिब १० हजार प्रहरी अधिकारी तैनाथ गरिएको छ र सशस्त्र सेनाले सुरक्षा बलियो बनाएको छ ।
क्यान्डीमा कक्षाहरू रद्द गरिएका छन् र सहरमा पठाइएका ठूलो सङ्ख्याका सुरक्षाकर्मीहरूलाई बस्नका लागि विद्यालयहरू प्रयोग गरिएका छन् । सन् २००९ मार्चमा अन्तिम पटक दाँतको अवशेष प्रदर्शन गर्दा दश लाखभन्दा बढी मानिसले युनेस्कोमा सूचीकृत मन्दिरको भ्रमण गरेको अनुमान गरिएको थियो ।
सन् १९९८ को बम विस्फोटले मन्दिरको भित्ताहरू र झ्यालहरू नष्ट गरेको थियो, जसले स्थलको इतिहासमा धेरै पटक प्लास्टर गरिएका १८औँ शताब्दीका भित्ते चित्रहरू उजागर गरेको थियो । उजागर गरिएका भित्ते चित्रहरूको एक भाग मन्दिरको कडा सुरक्षा गरिएको सङ्ग्रहालयमा प्रदर्शित छ, जसले तिनीहरू सन् १७०७ र सन् १७३९ बीचको समयका हुन् भन्छ । यो अवधिमा क्यान्डी द्वीपमा शासन गर्ने राजतन्त्रको सिंहासन थियो ।
६ वैशाख, ललितपुर । जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको छ भने तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ । चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार, यस्ता घटनाको सूचना प्राप्त हुनेबित्तिकै प्रशिक्षित रेस्क्यु टोली तत्काल घटनास्थलमा पुगी रेस्क्यु गर्छन् । “हामीसँग अनुभवी रेस्क्यु टिम छन्, जसले उपत्यकाभित्र मात्र होइन, नेपालभर पुगेर जनावरलाई उद्धार गर्ने गर्छन्”, शाहले भने ।
केही दिनअघि मात्र रामेछापमा दुई पटक चितुवा रेस्क्यु गरिएको पनि उनले जानकारी दिए । सूचना प्राप्त भएको केही समयमै चिडियाखाना र सम्बन्धित निकायको समन्वयमा उद्धार कार्य सम्पन्न गरिएको थियो । शाहका अनुसार, चिडियाखानाको केन्द्रीय टोली काठमाडौँ उपत्यकामा सक्रिय रहन्छ भने चितवन, बर्दिया, शुक्लाफाँटा र कोशी क्षेत्रमा पनि रेस्क्यु शाखाहरू सञ्चालनमा छन् ।
चिडियाखानाले जनावरमाथि दुव्र्यवहार, आक्रमण वा बेवास्ता नगरी तुरुन्तै सम्बन्धित निकाय वा चिडियाखानामा जानकारी गराउन आमसर्वसाधारणसँग प्रमुखले अनुरोध गरेका छन् । यसले वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
६ वैशाख, बाँके । लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा अलपत्र रहेको नेपालगञ्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताए ।
“लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबलका लागि रङ्गशालालाई चिटिक्क पारिएको छ, आठौँ राष्ट्रिय खेलकुदपछि ठूलो प्रतियोगिता नेपालगञ्ज रङ्गशालामा भएकाले स्थानीय खेलाडी तथा फुटबलप्रेमीमा खुसी छाएको छ”, अध्यक्ष शाहीले भने, “नियमति रुपमा ठूला खेलकुद प्रतियोगिता हुनसके नेपालगञ्ज रङ्गशालाको रौनक अझै बढ्दै जानेछ ।”
अन्तरराष्ट्रियस्तरको प्रतियोगिता भएकाले लुम्बिनी कप महिला फुटबललाई लक्षित गरी केही महिनादेखि नै रङ्गशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा दुबो पलाएर यतिबेला रङ्गशालामा हरियाली छाएकोे लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजक अन्तरालाका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । विगतमा सरसफाइ र मर्मतमा उचित बजेट नहुँदा जीर्ण बन्दै गएको यो रङ्गशालामा नियमित अभ्यास हुन सकेको थिएन ।
आठौँ राष्ट्रिय खेलकुदपछि पहिलोपटक प्रतियोगिता सुरु भएपछि रङ्गशालामा चहलपहल बढेको साविक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए । आठौँ राष्ट्रिय खेलकुदका बेला रोपिएको रु ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिए पनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर अहिले नेपालगञ्ज रङ्गशाला आकर्षक देखिएको छ ।
जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा शुक्रबार सुरू भई वैशाख १२ गतेसम्म चल्ने ‘लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा भारतको सिलगुडीसहित आठवटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता समूहले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता समूहले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिए ।
६ वैशाख, बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् ।
गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउँछन् । शालिग्राम सङ्ग्रहालय चार वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक सङ्ग्रहालयमा आउने गरेको उनको भनाइ छ । ऋषि प्रपन्नचार्य भन्छन्, “सङ्ग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो सङ्ख्यामा बढेको छ, अझै बढ्दै जाने हामीहरुले आकलन गरेका छौँ, अहिले दक्षिण भारतबाट आउनेको सङ्ख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै सङ्ग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर जाने गरेका छन् ।”
त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ससाना शालिग्रामदेखि ३०० किलोसम्मको शालिग्राम छन् । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ । गैँडाकोटबाट घुम्न आउनुभएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालिग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताए । पारिवारिक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै सङ्ग्रहालय निकै आकर्षक रहेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शालिग्राम सङ्ग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको सुनाए । नवलपरासीबाट घुम्न आएकी मेनुका पौडेलले शालिग्रामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न आएको सुनाइन् । ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न पाएको उनको भनाइ छ । पौडेलले धेरै पहिला सामान्य खालको शालिग्राम दर्शन गरे पनि एकै ठाउँमा यति धेरै नदेखेको सुनाए ।
काठमाडौं । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।
विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै नखुलेको डीएसपी रानाले बताए । स्थानीयका अनुसार विष्टको केही दिनअघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनको संलग्नताको आशंका गरिएको छ । घटनास्थलमा पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।
५ वैशाख, काठमाडौं । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् । आक्रमणपछि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको र कम्तीमा २० जनाको मृत्यु भएको बताइएको थियो । रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाले जनाएको छ ।
रेड सी र एडेनको खाडीमा रहेका असैन्य पानीजहाज र सैन्य जहाजमाथिको आक्रमणलाई अन्त्य गर्न सकियोस् भनी वासिङ्टनले मार्च १५ देखि हुथी विद्रोहीमाथि दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ । विद्रोहीहरूले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आक्रमण सुरु गरेका थिए । इजरायली सेनाले अमेरिकी आक्रमणपछि यमनबाट आउँदै गरेको क्षेप्यास्त्रलाई रोकेको शुक्रबार जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेनाले इरान समर्थित हुथी ‘आतङ्ककारी’का लागि इन्धनको यो स्रोतलाई समाप्त गर्न र उनीहरूलाई अवैध राजस्वबाट बञ्चित गर्न कदम चालेको छ । दश वर्षभन्दा बढी समयदेखि जहाजहरूलाई आतङ्कित पार्ने हुथी प्रयासविरूद्ध आर्थिक सहयोग गरेको छ ।” “यी आक्रमणको उद्देश्य हुथीको शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नु रहेको छ । हुथीले यमनमो शोषण जारी राखेका छन् र आफ्नो विरोधी यमनी नागरिकहरूलाई समेत ठूलो पीडा दिइरहेका छन्।”
वासिङटनले यस वर्षको सुरुमा विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरे पनि अमेरिकी लगानीका जहाजहरूले ‘रास इसा’ बन्दरगाहमार्फत इन्धन आपूर्ति जारी राखेका छन्,” सैन्य कमान्डले इन्धनको स्रोत निर्दिष्ट नगरीकन उल्लेख गरेको छ । हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले पाँच जना प्यारामेडिक्ससहित २० जनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको सङ्ख्या यो भन्दा निकै बढी भएको बताए ।
“अमेरिकी आक्रमणपछि रास इसा तेल बन्दरगाह आक्रमणमा कम्तीमा ५० जना कामदार र कर्मचारीहरू घाइते भएका छन्,” उनले सामाजिक सञ्जाल एक्समा जारी सन्देशमा उल्लेख छ । उनले भने, “केही मृत शरीरका अंगहरुको पहिचान हुन बाँकी छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।”
५ वैशाख, काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले राससलाई जानकारी दिए । बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ ।
बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो । दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ । पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०(२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ ।
५ वैशाख, काठमाडौं । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो । दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गरेका छन् । भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको उद्घाटन गर्दै उनले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।
सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले विकासमा राजनीति गर्न नहुनेमा जोड दिए । उनले भने, “अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु प¥या पनि छैन । त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन”, उनले थपे । “म आग्रह गर्न चाहान्छु सबैलाई सधै राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ ।”
विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गर्नुभयो । “देशको विकास गर्नैुपर्छ । हामी सबै मिलेर विकास गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ”, उनले भने । “डेमेक्रेसीलाई बलियो पार्ने, विकास गर्ने र सुशासनलाई बलियो बनाउने कुरामा एकजुट भएर अघि बढ्न फेरि पनि आग्रह गर्छु ।” देश विकासका लागि स्थिरता चाहिने भन्दै उहाँले दुई ठूला दल मिलेर सुशासन र विकासमा लागेको बताए ।
देश अनेक उतारचढावबाट चल्दै आए पनि २०४७ सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको बताए । उनले भने, “विकासले गति लिएको छैन भन्ने कुरा होइन । विकासमा काफी प्रगति भएको छ, थप प्रगति गर्न आवश्यक छ ।” भौतिक निर्माणका क्रममा एकैपटक सबै काम गर्नुपर्नेमा जोड दिँदै उनले बनाउने र भत्काउने काम गर्न नहुने बताए । प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गरे । उनले भने, “राम जन्मेदेखिको लामो इतिहास छ । यो वास्तवमा एउटा सभ्यताको सुरुआत भएको भूभाग हो ।” नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको यो सडक निर्माणका लागि २०७७ साल असोज २६ गते इण्डो सगुन जेभीसँग सम्झौता गरिएको थियो । सडकको सोही वर्ष माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इ कृष्ण आचार्यले जानकारी दिए ।
छ दशमलव ०८ किलोमिटर सडक ५० मिटर चौडा रहेको छ भने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्टलाइट जडान र बिजुली भूमिगत गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पँुगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जानेगरी ड्रेन तयार गरिएको आचार्यले जानकारी दिए ।
५ वैशाख, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार कम्बोडियाको भ्रमणका लागि राजधानी नोम पेन पुगेको चीनको ग्लोबल टेलिभिजन (सीजीटीएन)ले जनाएको छ । स्रोतका अनुसार चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयास स्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमणपछि कम्कोडिया पुगेका हुन् । बिहीबार नोम पेनको विमानस्थलमा उहाँलाई सैन्य स्वागतसहित राजा नोरोडोम सिहामोनीले स्वागत गरेका थिए । राष्ट्रपति सी ले पूर्व नेता हुन सेन र उहाँका छोरा तथा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नुअघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो । नोम पेन एसियामा चीनका भरपर्दो समर्थक हुन मानेटले सीको भ्रमणलाई अर्थपुर्ण र मित्रताको प्रतिकको रुपमा वर्णन गरेका छन् । उनले दुई देशबीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताए । यसै क्रममा उनले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले ‘महत्वपूर्ण भूमिका खेलेको पनि बताए । उनका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षगाँठ मनाउँदैछन् ।
चालु महिनाको सुरुमा ट्रम्पले गरेको चर्को कर घोषणापछि विश्वब्यापी रुपमा यस विषयमा बहस भइरहेको छ । कम्बोडियाली वाणिज्य मन्त्रालयका अनुसार हुन मानेटले वासिङ्टनलाई ‘आपसी समझदारी र वार्ताका लागि कम्बोडियाको विश्वास व्यक्त गर्दै अमेरिकी सामानहरूमा आफ्नो कर घटाउने प्रतिवद्धता सहित पत्र लेखेका छन् । राससको सहयोगमा
काठमाडौं । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ । द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा नौ वर्षीय महमुद अजजोरको हात दुवै काँधमुनि हराइरहेको देखाइएको छ । “महमुदकी आमाले मलाई बताएकी सबैभन्दा कठिन कुरामध्ये एउटा के थियो भने जब महमुदलाई पहिलो पटक आफ्नो हात काटिएको महसुस भयो, उनले आमालाई भनेको पहिलो वाक्य थियो, ‘म तपाईंलाई कसरी अँगालो हाल्न सक्छु रु’”, विश्व प्रेस फोटो सङ्गठनले जारी गरेको विज्ञप्तिमा अबु इलुफले भनेका छन् । प्रतिष्ठित फोटो पत्रकारिताको ६८औँ संस्करणको विजेता एक सय ४१ देशका तीन हजार सात सय ७८ फोटोग्राफरले पेस गरेको ५९ हजार तीन सय २० प्रविष्टिबाट चयन गरिएको थियो ।
“यो एउटा शान्त फोटो हो जसले चर्को स्वरमा बोल्छ । यसले एउटा केटाको कथा बताउँछ, तर व्यापक युद्धको पनि जसले पुस्तौँसम्म प्रभाव पार्नेछ”, वर्ल्ड प्रेस फोटोका कार्यकारी निर्देशक जौमाना एल जेइन खोरीले भने । सन् २०२४ मार्चमा इजरायली आक्रमणबाट भाग्दा अजजोर घाइते भएको सङ्गठनले एक विज्ञप्तिमा जनाएको छ । “उनी आफ्नो परिवारलाई अगाडि बढ्न आग्रह गर्न फर्किएपछि, एउटा विस्फोटले उनको एउटा हात काटिदियो र अर्कोलाई क्षतविक्षत पारिदियो”, वर्ल्ड प्रेस फोटो साइटेशनले भनेको छ ।
“यस युवा बालकको जीवन बुझिने योग्य छ र यो तस्बिरले महान फोटोपत्रकारिताले के गर्न सक्छ भन्ने देखाउँछ, एक जटिल कथामा तहगत प्रवेश विन्दु प्रदान गर्ने र त्यो कथासँगको भेटलाई लम्ब्याउने प्रोत्साहन”, निर्णायक समितिकी अध्यक्ष लुसी कोन्टिसेल्लोले भनिन् । कोन्टिसेल्लो फ्रान्सेली पत्रिका ले मोन्डेको साप्ताहिक पत्रिकाकी फोटोग्राफी निर्देशक हुन् । विजेता फोटोग्राफर अबु इलुफलाई सन् २०२३ डिसेम्बरमा गाजाबाट निकालिएको थियो र उनी अहिले कतारको राजधानी दोहामा अजजोर बस्ने उही अपार्टमेन्ट कम्प्लेक्समा बस्छन् । इजरायलले हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि गाजामा विनाशकारी आक्रमण सुरु गरेको थियो । अक्टोबर ७ मा हजारौँ लडाकूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गरेका थिए । आक्रमणमा अधिकांश सर्वसाधारणहित करिब एक हजार दुई सय मानिस मारिएका थिए भने लडाकूहरूले दुई सय ५१ जनालाई अपहरण गरेका थिए ।
EPA-EFE/REX/SHUTTERSTOCK\BBC
गाजाको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको बताएको छ । यसले नागरिक र उग्रवादीहरू बीचको भिन्नता देखाउँदैन तर मृतकहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका थिए । तिनमा कम्तीमा एक वर्षमुनिका आठ सय ७६ शिशु थिए । मन्त्रालयले एक लाख १६ हजारभन्दा बढी मानिस घाइते भएको बताएको छ । हमासले आवासीय क्षेत्र र नागरिक भवनहरूबाट आक्रमण र अन्य सैन्य गतिविधिहरू गरेको भन्दै इजरायलले भारी नागरिक क्षतिका लागि हमासलाई दोष दिन्छ । प्रतियोगिताका आयोजकहरूले आप्रवासन र जलवायु परिवर्तनका मुद्दाहरूलाई प्रकाश पार्ने दुई वर्ल्ड प्रेस फोटो फाइनलिस्टहरूको नाम पनि राखेका छन् । गेट्टी इमेजेजका लागि जोन मुरद्वारा खिचिएको कालो फोटोमा चिनियाँ आप्रवासीहरूले अमेरिका–मेक्सिको सीमा पार गरेपछि आफूलाई तताइरहेको देखाइएको छ भने मुसुक नोल्टेको पानोस पिक्चर्स, बर्था फाउन्डेसनका लागि खिचेको एक तस्बिरले ब्राजिलको अमेजन बेसिन क्षेत्रमा सुकेको नदी किनारामा खाना बोकिरहेको एक युवकलाई देखाइएको छ ।
वर्ल्ड प्रेस फोटो फाउन्डेसनले पहिले घोषणा गरेको क्षेत्रीय परिणामहरूमा एसोसिएटेड प्रेस एसिया–प्रशान्त र ओसिनिया क्षेत्रका विजेताहरूमध्ये एक थियो । फोटोग्राफर जे सी हङले कोरिया एडपसन फ्रड शीर्षकको तस्बिरका साथ एकल वर्गमा जित हासिल गरेका थिए । नोएल सेलिसले फिलिपिन्सबाट फोर स्टर्म, १२ डेज शीर्षकको फोटोका लागि स्टोरिज वर्गमा जित हासिल गरे ।
काठमाडौं । म्यानमारको सैन्य सरकारले नयाँ वर्षको उपलक्ष्यमा करिब पाँच हजार कैदीलाई आममाफी अन्तर्गत बाँकी सजाय मिनाह गरी उनीहरूलाई रिहा गर्ने बिहीबार घोषणा गरेको छ । सन् २०२१ मा म्यान्माको सेनाले त्यहाँको निर्वाचित सरकार र निर्वाचनमा दुई तिहाईभन्दा बढी समर्थन प्राप्त आङ् साङ सूचीको नेशनल लिग फर डेमोक्र्यासी पार्टीका नेता तथा दलका निर्वाचित सांसदलाई नियन्त्रणमा लिई सेनाप्रति बफादार व्यक्तिलाई सरकार प्रमुख बनाएको थियो । सेनाको ‘कू’ पछि लोकतान्त्रिक अभ्यासमाथि अङ्कुश लगाउँदै भएको दलविरोधी अभियानले देशलाई बहुपक्षीय गृहयुद्धमा फसाएपछि जुन्टाले हजारौँ प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरेको नागरिक अधिकारवादी समूहहरूले बताएका छन् ।
म्यान्मामा राष्ट्रिय पर्व वा बौद्ध धर्मसम्बन्धी चाडहरूको अवसरमा आममाफी दिने प्रचलन रहेको छ । आनीबानीमा कुनै समस्या नदेखिएका व्यक्तिका लागि आममाफीको घोषणा गरिन्छ । सरकारले अपदस्थ नागरिक नेतृ आङ सान सुचीसहित अधिकांश उच्च–ओहोदाका राजनीतिक कैदीहरूलाई अझै पनि हिरासतमा राखेको छ । जुन्टाले जारी गरेको वक्तव्यमा चार हजार ८९३ जना कैदीलाई राज्य निर्माण प्रक्रियामा सहभागी हुन, जनताको मानसिक शान्तिका लागि र अनुकम्पाका आधारमा माफी दिइने उल्लेख छ । ‘राज्यको तर्फबाट माफी व्यक्त गर्न’ जुन्टाले गम्भीर अपराध गर्नेहरू बाहेक अन्य कैदीहरूको सजाय छ भागको एक भाग घटाइ छुटका लागि योग्य कैदीलाई आममाफी दिइने बताएको छ ।
स्थानीय समयअनुसार बिहान ११ः३० बजे याङ्गुनको इन्सेन जेलको गेटबाट करिब ३० वटा बस बाहिरिएका एएफपी म्यान्मा प्रतिनिधिले जनाएका छन् । बसमा सवार सयौँमध्ये केही ढोकाबाहिर ओर्लिए र आफ्ना प्रियजनको नाम लेखिएको प्लेकार्ड बोकेका आँसुले भरिएका परिवारहरूसँग पुनर्मिलन गरे। जुन्टाले १३ जना विदेशी नागरिकलाई पनि उनीहरूको पहिचान वा अपराधको विवरण नदिई माफी दिने र देश निकाला गरिने बताएको छ ।
यस वर्ष १० देश सम्मिलित आसियान समूहको नेतृत्व गरिरहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमलाई भेट्न बैङ्कक जाने क्रममा जुन्ता प्रमुख मिन आङ ह्लाइङले आममाफीको घोषणा गरेका हुन् । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले विगतमा शान्ति योजनामा प्रगति नभएको भन्दै जुन्टाका अधिकारीहरूलाई शिखर सम्मेलनमा भाग लिन प्रतिबन्ध लगाएको थियो। तर अनवरले गत महिना गएको ७।७ म्याग्निच्यूडको भूकम्पपछि म्यान्मा पठाइएको मलेसियाली मानवीय सहायता टोलीको सुरक्षाका विषयमा छलफल गर्न बिहीबार मिन आङ ह्लाइङलाई भेट्ने बताएका छन् । जुन्टाले उक्त बैठकको पुष्टि गरेको छैन । रासस
४ वैशाख, मस्को । रुसको सर्वोच्च अदालतले बिहीबार अफगानिस्तानका वास्तविक शासकहरूसँग मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने उद्देश्यले प्रतीकात्मक सङ्केतका रूपमा तालिबानको पदनाम ‘आतङ्कवादी सङ्गठन’ बाट हटाएको छ । देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने अमेरिकी सेनाहरू बाहिर निस्किएपछि इस्लामिक समूह तालिबानले सन् २०२१ अगस्टमा अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । मस्कोले अमेरिकी फिर्तीलाई ‘असफलता’ भनेको थियो र त्यसयता तालिबान अधिकारीहरूलाई सम्भावित आर्थिक साझेदार र आतङ्कवाद विरुद्ध लड्ने मित्रका रूपमा हेर्दै उनीहरूसँग सम्बन्ध सामान्य बनाउन कदम चालेको छ ।
“तालिबानको गतिविधिमा पहिले स्थापित प्रतिबन्ध – जसलाई आतङ्कवादी भनेर मान्यता दिइएका सङ्गठनहरूको एकीकृत सङ्घीय सूचीमा समावेश गरिएको थियो – निलम्बित गरिएको छ”, तास राज्य समाचार एजेन्सीका अनुसार सर्वोच्च अदालतका न्यायाधीश ओलेग नेफेदोभले एक फैसलामा भने, “यो निर्णय तुरुन्त कानूनी रूपमा लागू हुन्छ ।” शीर्ष तालिबान अधिकारीहरूले रुसको धेरै पटक भ्रमण गरेपछि रुसका अभियोजक जनरलले गत महिना अदालतलाई समूहको ‘आतङ्कवादी’ पद हटाउन आग्रह गरेका थिए । तालिबान प्रतिनिधिमण्डलले सन् २०२२ र सन् २०२४ मा सेन्ट पिटर्सबर्गमा भएको रुसको प्रमुख आर्थिक फोरममा भाग लिएको थियो र समूहका शीर्ष कूटनीतिज्ञले गत अक्टोबरमा मस्कोमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभलाई भेटेका थिए ।
लेबल निलम्बन गर्ने निर्णयले अन्तर्राष्ट्रिय वैधानिकता खोजिरहेका तालिबान अधिकारीहरूका लागि औपचारिक मान्यता प्रदान गर्दैन । तर यसले उच्च–प्रोफाइल कार्यक्रमहरूमा सैन्य समूहका प्रतिनिधिहरूसँग भेट्ने रुसी अधिकारीहरूको लाज बचाउन मद्दत गर्दछ । तालिबानप्रति मस्कोको दृष्टिकोण पछिल्लो दुई दशकमा नाटकीय रूपमा परिवर्तन भएको छ । मुख्यतया सन् १९८० को दशकमा सोभियत सङ्घसँग लडेका पूर्व मुजाहिदीन लडाकुहरूद्वारा यो समूह सन् १९९४ मा अफगान गृहयुद्धको समयमा गठन भएको थियो ।
Photo : Jim Huylebroek/The New York Times
सोभियत–अफगान युद्ध मस्कोका लागि कडा पराजय भयो र यसले सोभियत सङ्घको पतनलाई तीव्र बनायो । सोभियत–अफगान युद्धमा हजारौँ युवा सोभियत पुरुष मारिए र घाइते भए । उत्तर ककेससमा पृथकतावादीहरूलाई समर्थन गरेको भन्दै मस्कोले सन् २००३ मा तालिबानलाई आतङ्कवादी कालो सूचीमा राखेको थियो । तर सन् २०२१ मा तालिबानको सत्तामा पुनरागमनले रुस र यस क्षेत्रका अन्य देशहरूलाई प्रभावका लागि प्रतिस्पर्धा गर्दा रणनीति परिवर्तन गर्न बाध्य पारेको छ ।
तालिबानले कब्जा गरेपछि काबुलमा व्यापार प्रतिनिधि कार्यालय खोल्ने पहिलो देश रुस थियो र अफगानिस्तानलाई दक्षिणपूर्व एसियामा जाने ग्यासको ट्रान्जिट हबका रूपमा प्रयोग गर्ने योजना घोषणा गरेको छ । सन् २०२४ जुलाईमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तालिबानलाई ‘आतङ्कवाद विरुद्धको लडाइँमा सहयोगी’ भनेका थिए । रुस र तालिबान अधिकारीहरू दुवैले इस्लामिक स्टेट–खोरासान ९आइएस–के० लाई उन्मूलन गर्ने प्रयास गरिरहेका छन् । आइएस–के अफगानिस्तान र रुस दुवैमा घातक आक्रमणका लागि जिम्मेवार इस्लामवादी समूह हो । यसमा सन् २०२४ मार्चमा मस्कोको कन्सर्ट हलमा भएको आक्रमण पनि समावेश छ जसमा एक सय ४५ जनाको मृत्यु भएको थियो ।
अन्य देशहरूले पनि तालिबान अधिकारीहरूसँग सम्बन्ध बढाउने प्रयास गरेका छन् । यद्यपि कुनै पनि राज्यले अझै औपचारिक रूपमा तिनीहरूलाई मान्यता दिने कदम चालेको छैनन् । कजाकिस्तानले गत वर्ष तालिबानलाई आफ्नो ‘आतङ्कवादी सङ्गठन’ को सूचीबाट हटाएको घोषणा गरेको थियो । सन् २०२३ मा चीन काबुलका लागि नयाँ राजदूत नियुक्त गर्ने पहिलो देश बन्यो र यसका नयाँ शासकहरूसँग बढ्दो आर्थिक सम्बन्ध बनाएको छ ।
४ वैशाख, सिमकोट । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् । भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले जानकारी दिए ।
उनका अनुसार बाँकी बाख्रा हराइरहेका छन् । एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पसेको पहिरोका कारण २६ वटा बाख्रा मरेका र केही बेपत्ता रहेका उल्लेख गरे । आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडीगोठमा क्षति पुर्याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताए । वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली–२ अमृत बुढा, अदानचुली–१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्याएको उनले जानकारी दिए । यहाँका अधिकांश घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।
४ वैशाख, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ-२ र १ वडाका साना व्यापारीले समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइ कोरलापासमा बसेर नेपाली तथा चिनियाँ सामानको बिक्री गर्न पसल सञ्चालन गरेका हुन् ।
विसं २०८० को कात्तिक २७ गतेदेखि नेपाल-चीन कोरलानाका खुलेपछि सीमावर्ती क्षेत्र छोसेरका स्थानीय तथा साना व्यापारीहरू कोरलानाकामा पसल र रेष्टुरेन्ट चलाएर बस्न थालेका लोमान्थाङ-२ छोसेरका युवा पासाङ वाङ्दीले बताए । कोरलानाका अवलोकनका लागि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्थानीयस्तरमा उत्पादित सामाग्रीका साथै चिनियाँ सामान बिक्री गरेर आम्दानी गरिरहेको उनको भनाइ छ ।
“कतिपयले नाकामा पुगेका पर्यटकलाई खाजानास्ता र चियाकफी समेत बनाएर खुवाउँछन् । नाकामा एक दर्जन व्यापारीले त्रिपाल टाँगेर व्यापार गर्दै आइरहेका छन् । कोरलानाका अग्लो सुक्खा पठार भूमि दशगजा क्षेत्रमा त्रिपालमुनि बसेर व्यापर गरिरहेका छौँ । बिहान उठ्ने बित्तिकै रेष्टुरेन्ट व्यवसायसँगै चिनियाँ पसलमा व्यापार सुरु हुन्छ । साँझ बिक्री गर्न राखिएका सबै सामान त्रिपालमुनि लगेर थन्क्याउँछौँ । यसरी हाम्रो दैनिकी चलेको छ”, वाङ्दीले भने । उनले आफू पनि यहाँ व्यापार गर्न स्टल थापेर बसेको बताए ।
नेपाल र चीनको सिमानामा रहको कोरलानाकामा चिनियाँ व्यापारीले राखेका पसल । नाका अवलोकन गर्न पुगेका नेपाली पर्यटकलाई लक्षित गर्दै उनिहरुले पसल सञ्चालनमा ल्याएका हुन् । तस्बिर : सुन्दरकुमार थकाली\रासस
दुई महिनादेखि कोरलापासमा व्यापार गर्न बसेका पासाङले चिनियाँ व्यापार सन्तोषजनक रहेको उल्लेख गरे । दैनिक बिहान ९ बजे कोरलानाकाको तिब्बती भूमि लिग्चेमा पुगेर चिनियाँ सामान किनेर दिउँसो २ बजे फर्किने गरेका लोमान्थाङ १ छोसेरकी लाक्पाछेसुङ गुरुङले उल्लेख गरिन् । चीनले बिहान ९ बजे चीनतर्फको नाका छिरेर दिउँसो २ बजेपछि मात्रै फर्किने नियम रहेको उनले जानकारी दिइन् । दजगजा क्षेत्रबाट चीनको भूमि लिग्चेसम्मको करिब ३०० मिटर दूरी रहेको भन्दै त्यहाँबाट आफैँले बोकेर सामान ल्याउनुपर्ने उहाँले सुनाउनुभयो ।
गुरुङले चीनको नाका प्रवेश गरेर जान सरकारले वितरण गरेको सीमापार पास देखाएर मात्रै जान पाइने उल्लेख गरिन् । “गाउँका धेरैजसो युवा विदेश गइसके, म भने यही नाकामा पसल चलाएर बसेकी छु”, उनले भनिन्, “दैनिक रु छ(सात हजारको व्यापार हुन्छ, फाइदा रु दुई-तीन हजार हुन्छ ।” गुरुङले कोरलानाकामा नेपाली पर्यटक आउने क्रम बढ्दै जान थालेको बताइन् ।
नाका खुलेपछि बर्खायामभरि नाकामा त्रिपालमुनि बसेर दिउँसो चिनियाँ सामग्रीको पसल चलाएको बताउँदै उनले भनिन्, “हिउँदयाममा चिसो हुन्छ, पर्यटक पनि आउँदैनन्, यसैले जाडो महिनामा पोखरा झरेर व्यापार गर्ने गरेकी छु । घरायसी प्रयोजनबाहेक यहाँको सामान तल लैजान पाइँदैन, भन्सारले रोकिदिन्छ, यसैले पनि दुईचार पैसा आम्दानी होला कि भनेर यहाँ बसेकी हुँ ।”
कोरलानाकामा बसेर व्यापार गर्न उत्तिकै चुनौतीपूर्ण छ । पठार सुक्खा अग्लो स्थानमा लामो समय बसेर व्यापार गर्दा लेक लाग्ने समस्या हुने गुरुङले बताइन् । नाका अवलोकनका लागि पुगेका कतिपय पर्यटकलाई लेक लागेर बिरामी हुने गरेका बताउँदै सरकारले कोरलानाका खुलाए पनि आवश्यक वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ बसेका व्यापारी तथा पर्यटकलाई स्वास्थ्यमा समस्या हुने गरेको उनले बताइन् । नाकामा खानेपानी र भरपर्दो शौचालय नहुँदा व्यापारी तथा पर्यटकले सास्ती भोग्नु परेको व्यापारीहरू बताउँछन् ।
नाकामा व्यापार गर्न बसेका व्यापारीलाई चीन सरकारले खानेपानीको सुविधा उपलब्ध गराएको गुरुङले जानकारी दिइन् । कोरलानाकामा कमजोर संरचनाको अस्थायी शौचालय निर्माण गरिए पनि त्यो भरपर्दो नभएको व्यापारीहरू सुनाउँछन् । नाकामा चीनको सामान ल्याएर बिक्री गर्ने स्थान रहे पनि खुल्ला पठारमा स्टल राख्दा हावा, धुवाँ र धुलोको समस्याले स्वास्थ्य समस्या हुने गरेको उनीहरूको भनाइ छ । पर्यटकले जथाभावी फोहोर फाल्ने तथा व्यापारी फोहोर व्यवस्थापन गर्न नसक्दा सीमानाका दुर्गन्धित तथा प्रदूषित बन्ने गरेको छ ।
नेपाल—चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुलेपछि हालसम्म तीन हजार बढीले चीन प्रस्थान गर्ने सीमापार पास पाइसकेका छन् । उपल्लो मुस्ताङका नागरिकका लागि घरायसी सामान किनमेल गर्न खुलेको यो नाकाबाट व्यापारी प्रयोजनका लागि नेपाली तथा चिनियाँ सामान आयात, निर्यात गर्न पाँच महिनादेखि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको लोमान्थाङ–२ छोसेरका वडाध्यक्ष कर्मानाम्ग्याल गुरुङले जानकारी दिए ।
नेपाल र चीनको सिमानामा रहको कोरलानाकामा चिनियाँ व्यापारीले राखेका पसल । नाका अवलोकन गर्न पुगेका नेपाली पर्यटकलाई लक्षित गर्दै उनिहरुले पसल सञ्चालनमा ल्याएका हुन् । तस्बिर : सुन्दरकुमार थकाली\रासस
नाकाबाट भन्सारले सामान ल्याएर बिक्रीवितरण गर्न नदिएपछि कतिपयको रोजीरोटी खोसिएको उनले बताए । वडाध्यक्ष गुरुङले नाका खुल्ला भयो भनेर मात्रै नहुने भन्दै त्यसका लागि सरकारले भन्सार सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरेर आयात, निर्यातलाई सहज बनाइदिनुपर्नेमा जोड दिए ।
नेपाल–चीन कोरलानाकास्थित न्हेचुङ भन्सारले स्थानीय व्यापारीलाई व्यापारिक प्रयोजनका लागि सामान ल्याउन नदिएपछि आफूहरू अप्ठ्यारोमा परेको लोमान्थाङ–३ ठिङ्गरका साना व्यापारी कर्माम्टुक गुरुङले दुःखेसो पोखे । कोभिड सङ्क्रमणकालमा लगातार चार वर्षसम्म बन्द रहेको कोरलानाका खुले पनि उपल्लो मुस्ताङका नागरिकलाई खासै सुविधा प्राप्त नभएको यस क्षेत्रका नागरिकको गुनासो छ ।
नाका खुलेको डेढ वर्ष पुग्दा गत पुसदेखि न्हेचुङ भन्सार कार्यालयले राजस्व सङ्कलन गर्न छाडेको छ । केही महिनाअघि उपल्लो मुस्ताङका एक व्यक्तिले अवैध रूपमा ठूलो परिमाणमा विद्युतीय चुरोट ‘भेप’ आयात गरेपछि मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको थियो । त्यसपछि भन्सार कार्यालयले चीनबाट सामान ल्याएर बिक्रीवितरण गर्ने कार्यलाई प्रतिबन्ध गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले कोरलानाकाबाट सामान ल्याएर बिक्री गर्ने कार्यमा परेको कानुनी जटिलता र अप्ठ्याराहरूको समाधान खोज्न सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए । “कोरला नाकाबाट नेपालीले किराना सामग्री, कस्मेटिक, पेयपदार्थ, कृषि उपकरण, फर्निचरलगायत सामान आयात गर्दथे । यता नेपालबाट स्थानीय कृषि उत्पादन चीनतर्फ निर्यात हुन्थ्यो । अहिले त्यसखालको आयात, निर्यात पूर्ण रूपमा ठप्प भएको छ”, उनले भने ।
४ वैशाख, काठमाडौं । सोलुखुम्बुको थामेमा यही वैशाख ९ गते आरोही सम्मेलन (समिर्टस् समिट) हुने भएको छ । ‘जलवायु न्यायका लागि साथसाथै’ संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलनमा आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच समूहगत छलफल हुने बताइएको छ । साथै सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा उक्त आरोही सम्मेलन जोडिएको छ । सम्मेलनलाई आज सगरमाथा संवाद सचिवालयले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी सञ्चालन गर्न स्वीकृत दिएको छ ।
साथसाथैका अध्यक्ष प्रजिता कार्कीले कार्यक्रमका लागि सरोकारवाला संघसंस्थासहित सरकारले पनि अपनत्व लिएकोमा उत्साहित भएको बताइन् । सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थानी, चर्चित आरोहीहरु कामारिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, तेम्वाछिरी शेर्पा, माया गुरुङसहितलगायतको सहभागिता हुने उनले जानकारी दिइन् । आरोही सम्मेलनमा जलवायु परिवर्तनका कारण गत वर्ष थामेमा हिमपहिरो गई समस्यामा परेका पीडितको सहभागिता रहने आयोजकले जनाएको छ ।
यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टेवा, नेप्लीज युथ फर क्लाइमेट एक्सन (एनवाईसिए) सहितका सङ्घसंस्था सहआयोजकका रुपमा छन् । नेपाल सरकारले यही जेठ २ देखि ४ गतेसम्म जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य शीर्षकमा विभिन्न देशको सहभागिता हुने गरी सगरमाथा संवाद आयोजना गर्दैछ । (((
४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको अर्को मिति तय गरेको छ । रास्वपाले यही वैशाखमा महाधिवेशन गर्ने भनेपनि पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठकले विसं २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित पार्टीको ‘जन–यात्रा अभियान’ को कार्यविधि सर्वसम्मतले पारित गरेको कार्यवाहक प्रवक्ता झाले बताए । बैठकबाट प्रादेशिक कमिटीहरुलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरुलाई सक्रिय बनाउन प्रदेश इन्चार्ज तोकेको छ ।
जसअनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेसमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिमा हरि ढकाललाई इन्चार्ज तोकिएको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’ बारे खाका प्रस्तुत गरेका थिए । सोसम्बन्धी पूर्ण प्रतिवेदन आगामी असार ७ गते काठमाडौँमा हुने नीति सम्मेलनमा सार्वजनिक गरिने उनले जानकारी दिए ।
४ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षण गरेका छन् । विस्तार क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा जारी निर्माण कार्यबारे समेत जानकारी लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भूधरातलका कारण सवारीसाधन केही समय बन्द गराएर विस्तारको काम भइरहेको छ ।
सवारी आवागमन रोकेर काम गर्दा यात्रुले सास्ती खेप्नुपरेको गुनासो समेत आउने गरेको छ । तर, सकेसम्म कम समस्या हुने गरी समय व्यवस्थापन गरेर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तार भइरहेको सडकको उक्त खण्डलाई प्राथमिकतासाथ निर्माणको काम अघि बढाइएको आयोजनाको भनाइ छ ।
दाउन्ने क्षेत्रको निरीक्षण क्रममा मन्त्री दाहालले सवारीसाधन तथा यात्रुलाई सकेसम्म कम समस्या हुने गरी निर्माणलाई गति दिन निर्देशन दिए । झरी पर्ने सुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै उनले वर्षायाम अघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन उनको निर्देशन छ ।
सडक विस्तार तथा निर्माणको कार्य गरिरहेको एडीबी आयोजनाले उक्त जटिल सडक खण्डलाई परम्परागत भन्दा फरक शैलीबाट द्रुत र दिगो बनाउने गरी काम भइरहेको जनाएको छ । आयोजना निर्देशक चुडाराज ढकालले उक्त स्थानमा धरातलीय विशिष्टता र जटिलताका कारण कालोपत्र भन्दा ढलान प्रविधि उपयुक्त हुने बताए । सोही कारण त्यस खण्डमा जतिसक्दो छिटो सडक ढलान गरी सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको उनले बताए ।