Category: फिचर

  • धौलागिरिमा बन्दैछन् तीन वटा लामा झोलुङ्गे पुल

    धौलागिरिमा बन्दैछन् तीन वटा लामा झोलुङ्गे पुल

    ४ वैशाख, म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएकोे हो । धौलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग रु चार करोड ७० लाख ३६ हजार दुई सय ५० मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

    पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ । आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ६० लाख बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए । रासस

  • गाजामा सबै प्रकारको मानवीय सहायता रोक्ने इजरायलको घोषणा

    गाजामा सबै प्रकारको मानवीय सहायता रोक्ने इजरायलको घोषणा

    ४ वैशाख, काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता रोक्ने बताएका छन् । गाजा पट्टीमा तीव्र हवाई र भूमि आक्रमणहरू पुनः सुरु भएका छन् । “इजरायलको नीति स्पष्ट छ स् कुनै पनि मानवीय सहायता गाजामा प्रवेश गर्दैन र यो सहायता रोक्नु हमासलाई जनताको माध्यमका रूपमा प्रयोग गर्नबाट रोक्ने मुख्य दबाब तत्वहरू मध्ये एक हो”, मार्च २ देखि सहायताको प्रवेश रोक्ने इजरायलको निर्णयपछि ठूलो मानवीय सङ्कटका बीच काट्जले एक विज्ञप्तिमा भनेका छन्, ‘हाल गाजामा कुनै पनि मानवीय सहायतालाई अनुमति दिने कसैको योजना छैन र त्यस्तो सहायता सक्षम पार्ने कुनै तयारी छैन ।”

    संयुक्त राष्ट्रसङ्घले सोमबार गाजाले सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएपछिको सबैभन्दा गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको चेतावनी दिएको छ । “मानवीय स्थिति अहिले सम्भवतः शत्रुता सुरु भएको १८ महिनामा सबैभन्दा खराब छ”, संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ । एक विज्ञप्तिमा ओसिएचएले डेढ महिनादेखि गाजामा कुनै आपूर्ति नपुगेको र चिकित्सा आपूर्ति, इन्धन, पानी र अन्य आवश्यक वस्तुहरूको अभाव रहेको बताएको छ ।

    “गाजाभित्र प्रतिबन्धहरूका साथसाथै क्रसिङहरूको बन्दका कारण घट्दो आपूर्तिले उनीहरूलाई (सहायता कार्यकर्ताहरू) बाँकी भण्डारको सबैभन्दा बढी उपयोग गर्न रासन र वितरण घटाउन बाध्य गरेको छ”, ओसिएचएले भन्यो । इजरायलले जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौता दुई महिनापछि यसको अर्को चरणका बारेमा मतभेदका कारण टुट्न पुगेपछि प्यालेस्टिनी क्षेत्रमा आफ्नो तीव्र सैन्य आक्रमण पुनः सुरु गरेको छ । त्यसयता हजारौँ मानिस विस्थापित भएका छन् । इजरायलले गाजा पट्टीमा २४ लाख प्यालेस्टिनीका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहायताको प्रवेशलाई कडाइका साथ नियन्त्रण गरेको छ ।

  • पोर्चुगलमा ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता हुने

    पोर्चुगलमा ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता हुने

    ४ वैशाख, काठमाडौं । मोन्तिजो नेपाली समाज, पोर्चुगलले प्रथम ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर समाजले यही अप्रिल २० तारिखका दिन प्रथम मोन्तिजो कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । खेलकुदको माध्यमबाट नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रवल भट्टराईले जानकारी दिए ।

    पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलमा क्रियाशील नेपाली सङ्घसंस्था र क्लबका गरी १६ भन्दा टोलीको सहभागिता रहने उनले बताए । प्रतियोगिताबाट बचत भएको रकमले पोर्चुगलमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको योजना रहेको उनले जानकारी दिए । प्रतियोगिताको विजेताले तीन हजार ५०० युरो नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले दुई हजार युरोसहितपुरस्कार प्राप्त गर्नेछ ।

    यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकीपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई कप तथा प्रमाणपत्रले पुरस्कृत गरिने समाजले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि पोर्चुगलस्थित सङ्घसंस्था, क्लबका साथै खेलप्रेमीहरूलाई समाजले विशेष आग्रहसमेत गरेको छ । मोन्तिजोस्थित नगरपालिकाको खेल मैदानमा खेल हुने समाजले जनाएको छ । सन् २०२३ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै विभिन्न खालका सामाजिक एवं रचनात्मक गतिविधिहरू गर्दै आएको छ ।

  • मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते

    मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते

    ४ वैशाख, काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

    बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, कुलेखानी–भीमफेदी–काठमाडाँै सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको छ । काठमाडौंबाट हेटौंडा जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उनले बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।
    –––

  • देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

    देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

    ४ वैशाख, काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । विभागका अनुसार कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

  • इ–सेवाको खाताबाट अनधिकृत रुपमा एक करोड ट्रान्सफर

    इ–सेवाको खाताबाट अनधिकृत रुपमा एक करोड ट्रान्सफर

    ३ वैशाख, काठमाडौं । आर्थिक अपराधका गिरोहले खाता ‘सस्पेण्ड’ हुन लागेको बताउँदै अनधिकृत रुपमा चार हजारभन्दा बढीको इ–सेवाको खातामा पहुँच पु¥याइ करोडौँ रकम ट्रान्सफर गरेको पाइएको छ । ‘फिसिङ लिङ्क’ पठाइ इ–सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बूढालाई प्रहरीले पक्राउ गरेको छ । उनले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिङ्क पठाइ खाता सस्पेण्ड हुन लागेको भनी चेतावनी दिइ भेरिफाइका लागि लिङ्क खोल्न लगाई इ–सेवामा अनधिकृत पहुँच पुयाइ रकम ठगी गरेका हुन् ।

    उनले चार हजारभन्दा बढी व्यक्तिहरूको इ–सेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको खातामा एक करोड दुई लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । रकम चोरीमा संलग्न उनलाई काठमाडौँको कालीमाटीबाट पक्राउ गरी आज कार्यालयले घटना विवरण सार्वजनिक गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उनले बताए ।

  • अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको प्रतिक्रिया

    अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको प्रतिक्रिया

    ३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङजस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ ।

    ट्रम्पले सुरुमा फेन्टानिल आपूर्ति शृङ्खलामा चीनको कथित भूमिकाको कारण चीनबाट आयात हुने सामानमा कर लगाउनुभएको थियो । हालै, वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासमाथि ती करहरू तीव्र रूपमा बृद्धि भएका छन् । यस वर्ष राष्ट्रपति ट्रम्पले चीनबाट आउने धेरै सामानमा थप १४५ प्रतिशत कर लगाएका छन् । फेन्टानिल र अन्य अवैध लागूपदार्थमा २० प्रतिशत र व्यापार अभ्यासमा १२५ प्रतिशतभन्दा बढी कर समावेश छन् । ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता केही प्राविधिक उत्पादनहरूमा पछिल्लो कर वृद्धिबाट अस्थायी छूट दिएको छ।

    मङ्गलबार अमेरिकी राष्ट्रपतिले भन्नुभयो, “बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्न आवश्यक छ,” राष्ट्रपति ट्रम्पका प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको विज्ञप्तिमा भनिएको छ। यसप्रति बेइजिङको तर्फबाट लीनले बुधबार प्रतिक्रिया दिँदै भन्नुभयो, “अमेरिकाले नै यो कर युद्ध सुरु गरेको हो र चीनको अडान स्पष्ट छ कि कर युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन । यसको मतलब, चीन युद्ध गर्न चाहँदैन, तर परेमा यसको सामना गर्न डराउँनेछैन ।”

  • घोडेपानी–पुनहिल घुम्ने पर्यटक बढे

    घोडेपानी–पुनहिल घुम्ने पर्यटक बढे

    ३ वैशाख, काठमाडौं । अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या विसं २०८० को तुलनामा विसं २०८१ मा बढेको छ । पर्यटक प्रहरी चौकी घोडेपानीका अनुसार विसं २०८० मा ३१ हजार ४३९ जना पर्यटक आएकामा विसं २०८१ मा ३२ हजार ३५० आएका छन् ।

    चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक अरविन्द्र कडेलले अघिल्लो वर्षको तुलनामा विसं २०८१ मा ९११ जना बढी पर्यटक आएको जानकारी दिए । सबैभन्दा बढी कात्तिक महिनामा पाँच हजार ८१८ र त्यसपछि चैतमा पाँच हजार ६५८ जना पर्यटक आएका छन् । समुन्द्र सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।

    घोडेपानीमा बास बस्ने पर्यटकहरु एकाबिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । घोडेपानीमा साना ठूलागरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्नसक्ने क्षमता रहेको छ । पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु ४० लाख एक हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न नेपालीले रु ५० र विदेशीले रु १५० प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्छ ।

    पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । अनुकूल मौसम र याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्वध्यक्ष डमबहादुर पुनले बताए ।

    पोखरेबगर–चित्रे–घोडेपानी सडकको घोप्टेखर्कको पहिराका कारण यातायात अवरुद्ध हुँदा सार्वजनिक यातायातमार्फत घोडेपानी घुम्न आउने पर्यटकलाई समस्या भएको उनले बताए । अन्नपूर्ण चक्रीय पदमार्ग परिक्रमा गरी तातोपानी हुँदै कास्कीको वीरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै गरी चार वटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन ।

  • भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइदै

    भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइदै

    काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकका लागि सीमापार आवागमन सहज बनाउने विभिन्‍न प्रयास भइरहेको जनाएको छ । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भएको ‘नेपाल फेस्टिभल’ अन्तर्गत ‘दिगो पर्यटन सुदृढीकरण स् धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवर्द्धन’ शीर्षकको सत्रमा बोल्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भारतीय पर्यटक आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारी गराए । ‘हामीले भारतीय पर्यटक आवागमन सहजतामा विभिन्‍न प्रयास गरिरहेका छौं । यसका साथै धार्मिक तथा साहसिक पर्यटनक समेट्ने नेपालको समग्र दीर्घकालीन दृष्टिकोण र नीतिगत सुधारका काम पनि भइरहेका छन्,’ ऐरले भने ।

    भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले बोर्डले सीमापार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य विस्तार गर्ने लक्ष्य लिएको उनले बताए । कार्यक्रममा बोर्डका तर्फबाट वरिष्ठ निर्देशक ऐर र वरिष्ठ अधिकृत सागर उपाध्यायले प्रतिनिधित्व गरेका थिए । नेपाल र भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले वर्षको अन्तिम साता एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र दिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम उद्घाटन भारतका संस्कृतिमन्त्री गजेन्द्रसिंह शेखावत, नेपालका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौधरी र भारतका लागि नेपालका राजदूत डा। शंकरप्रसाद शर्माले संयुक्त रूपमा गरेका थिए ।

    तीन दिनसम्म चलेको कार्यक्रममा नेपाल–भारत सम्बन्ध, व्यापार सहकार्य तथा पर्यटनको भविष्य सम्बन्धी विविध समसामयिक विषयमा बहस तथा गोष्ठी आयोजना गरिएको थियो । उक्त सत्रमा नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल, भारतको पर्यटन मन्त्रालयका उपमहानिर्देशक डा. आरके सुमन, गोल्डेन एपका अध्यक्ष निरजसाह देव, एभरेस्ट चेम्बरका अध्यक्ष युवराज बराल तथा धुलिखेल माउन्टेन रिसोर्टकी प्रमुख कार्यकारी अधिकृत लीना खड्का श्रेष्ठ सहभागी थिए ।

    पर्यटन बोर्डको प्रदर्शनी कक्ष (पेभेलियन) ले नेपाली संस्कृति, प्रकृति, साहसिक यात्रा, अध्यात्मिक तथा वेलनेस पर्यटन जस्ता विषयवस्तु प्रस्तुत गरेको थियो । स्टलमार्फत विभिन्न प्रचार सामग्री, जानकारीमूलक पुस्तिका तथा नेपाली पहिचान झल्काउने सामग्री वितरण गरिएको थियो । कार्यक्रममा नेपाली परिकार प्रदर्शनीले भारतका आगन्तुकलाई नेपालको स्वाद चाख्ने अवसर प्रदान गरेको थियो ।

    साथै, नेपाली हस्तकला र स्थानीय उत्पादन प्रदर्शनीले नेपालको समृद्ध हस्तकला परम्परा उजागर गरेको थियो । यस किसिमका कार्यक्रममा दुई देशको संस्कृति र गन्तव्यहरूको प्रदर्शनीले दुई देशबीचको आपसी मित्रता र सांस्कृतिक आदान–प्रदान थप बलियो बनाउने बोर्डको विश्‍वास छ ।

  • उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाइने

    उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाइने

    काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाउन समिति गठन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (शासकीय मामला क्षेत्र) को संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) रहेको समिति गठन गर्ने निर्णय गरेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल संयोजकत्वमा गठित आयोगले हालै प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा अर्थतन्त्र सुधारका लागि विभिन्न सुझाव दिइएको छ । जसमा क्षेत्रगत रूपमा सुझावहरू दिइएको छ ।

  • विश्व बैंकबाट थप साढे १८ अर्ब ऋण लिँदै नेपाल

    विश्व बैंकबाट थप साढे १८ अर्ब ऋण लिँदै नेपाल

    काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणको कामका लागि विश्व बैंकबाट १८ अर्ब ७६ करोड रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुने यो आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर (१८ अर्ब ७६ करोड ९० लाख रुपैयाँ) सहुलियतपूर्ण ऋण लिन सैद्धान्तिक सहमति दिएको छ ।

    यो ऋणसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय समेत गरिएको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले साना किसान सिँञ्चाइ कार्यक्रमका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८ लाख ८० हजार लाख स्विस फ्र्यांक (३१ करोड ३९ लाख रुपैयाँ) प्राप्त गर्ने निर्णय समेत गरेको छ ।

  • सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध

    सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध

    ३ वैशाख, काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।

    शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताइन् । मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको बताइन् ।

  • सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प

    सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प

    ३ वैशाख, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची मिन्हलाई हनोईको भ्रमणको अन्तिम दिन श्रद्धाञ्जलि अर्पण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भ्रमणले संयुक्त राज्यलाई ‘बिगार्ने’ लक्ष्य राखेको बताएका छन् । मलेसिया र कम्बोडिया समावेश हुने दक्षिणपूर्वी एसिया भ्रमणको एक हिस्साका रूपमा सी भियतनाममा हुनुहुन्छ । ती मुलुकका नेताहरूले अमेरिकी भन्सार शुल्कको सामना गरिरहेको बेला बेइजिङले आफूलाई ट्रम्पको स्थिर विकल्पका रूपमा स्थापित गर्न खोजिरहेको छ ।

    बेइजिङको सरकारी मिडियाका अनुसार चिनियाँ राष्ट्रपति सीले सोमबार आफ्नो देश र भियतनामलाई ‘एकपक्षीय धम्कीको विरोध गर्न र विश्वव्यापी स्वतन्त्र व्यापार प्रणालीको स्थिरतालाई कायम राख्न’ आह्वान गरे । केही घण्टापछि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई उनीहरूको बैठक संयुक्त राज्यलाई चोट पु¥याउने उद्देश्यले थियो भनेका छन् । “म चीनलाई दोष दिन्नँ । म भियतनामलाई दोष दिन्नँ । म दिन्नँ । मैले देखेँ कि उनीहरू आज भेट्दैछन्, र त्यो अद्भुत छ”, उनले भने, “त्यो एक सुन्दर बैठक हो, हामीले संयुक्त राज्य अमेरिकालाई कसरी बिगार्ने भनेर पत्ता लगाउने प्रयास जस्तै ।”

    चीन र भियतनामले सोमबार आपूर्ति शृङ्खला, कृत्रिम बौद्धिकता (एआई), संयुक्त समुद्री गस्ती र रेलमार्ग विकास सहित ४५ सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । सीले सोमबार भियतनामका शीर्ष नेता तो लामसँगको बैठकमा उहाँहरूको देशहरू ‘इतिहासको निर्णायक विन्दुमा उभिएका छन्, र संयुक्त हातहरू अगाडि बढ्नुपर्छ’ भने । भियतनाम समाचार एजेन्सीका अनुसार लामले वार्तापछि दुई नेताले ‘धेरै महत्त्वपूर्ण र व्यापक साझा धारणाहरू प्राप्त गरेको’ बताए । आफ्नो भ्रमणको अन्तिम दिन सीले मध्य हनोईमा स्वर्गीय नेताको समाधिमा आफ्नो नाम र ‘भियतनामका महान नेता राष्ट्रपति हो ची मिन्ह दीर्घायु रहुन्’ शब्दहरू अङ्कित रातो माला चढाए ।
    उनी यतनाम–चीन रेलवे सहयोगको शुभारम्भमा पनि सहभागी हुने कार्यक्रम छ । उक्त रेलवेले यस वर्ष घोषणा गरिएको भियतनामको सबैभन्दा ठूलो उत्तरी बन्दरगाह सहरलाई चीनसँगको सिमानामा जोड्ने आठ अर्ब डलरको रेल परियोजना व्यवस्थापन गर्न मद्दत गर्नेछ । उत्पादन पावरहाउस भियतनामको वर्षको पहिलो तीन महिनामा सबैभन्दा ठूलो निर्यात बजार संयुक्त राज्य अमेरिकाले विश्वव्यापी भन्सार अभियानको हिस्साका रूपमा भियतनामी सामानहरूमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको लगभग दुई हप्तापछि सीको भ्रमण भएको हो ।

    भियतनाम र अन्य धेरै देशमा अमेरिकी करहरू रोकिए पनि चीनले अझै पनि ठूलो भन्सार शुल्कको सामना गरिरहेको छ र क्षेत्रीय व्यापार सम्बन्धलाई कडा बनाउन र सीको यस वर्षको पहिलो विदेश भ्रमणका क्रममा तिनीहरूको प्रभावलाई कम गर्न खोजिरहेको छ । सी मङ्गलबार पछि मलेसिया र त्यसपछि कम्बोडिया जानुहुने र यसले व्यापक क्षेत्रका लागि ‘प्रमुख महत्त्व राख्ने’ बेइजिङले बताएको छ । यसअघि सीले भियतनाम र चीनलाई ‘बहुपक्षीय व्यापार प्रणाली, स्थिर वैश्विक औद्योगिक र आपूर्ति शृङ्खला र खुला र सहकारी अन्तर्राष्ट्रिय वातावरणको दृढतापूर्वक रक्षा गर्न’ आग्रह गरेका थिए ।

    (250415) — HANOI, April 15, 2025 (Xinhua) — Chinese President Xi Jinping, also general secretary of the Communist Party of China Central Committee, meets with Vietnamese President Luong Cuong in Hanoi, Vietnam, April 15, 2025. (Xinhua/Zhang Ling)


    उनले सोमबार भियतनामको प्रमुख राज्यद्वारा सञ्चालित नहान दान अखबारमा प्रकाशित एउटा लेखमा ‘व्यापार युद्ध र भन्सार शुल्क युद्धले कुनै विजेता उत्पादन गर्दैन र संरक्षणवादले कतै नेतृत्व गर्दैन’ भन्ने बेइजिङको लाइनलाई पनि दोहोर्‍याए । दुवै कम्युनिस्ट पार्टीद्वारा शासित चीन र भियतनाम पहिले नै ‘व्यापक रणनीतिक साझेदारी’ साझा गर्दछन् जुन हनोईको सर्वोच्च कूटनीतिक स्थिति हो ।

    भियतनामले चीन र संयुक्त राज्य अमेरिका दुवैसँग राम्रो सर्तमा रहन प्रयास गर्दै लामो समयदेखि ‘बाँस कूटनीति’ दृष्टिकोण अपनाएको छ । बाँस कूटनीतिले लचिलोपन र स्वतन्त्रताको सिद्धान्तमा निहित विदेशी सम्बन्धमा भियतनामको विशिष्ट दृष्टिकोणलाई जनाउँछ । यो अवधारणाले भियतनाममा गहिरो सांस्कृतिक महत्त्व राख्ने बाँसको बोटबाट प्रेरणा लिन्छ राख्छ । दुई देशबीच घनिष्ठ आर्थिक सम्बन्ध छ तर हनोईले विवादित दक्षिण चीन सागरमा बेइजिङको बढ्दो दृढताबारे अमेरिकाको चिन्ता साझा गर्दछ ।

  • पाकिस्तानबाट ६० हजार भन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

    पाकिस्तानबाट ६० हजार भन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

    ३ वैशाख, काबूल । पाकिस्तानले पछिल्ला १३ दिनमा झण्डै ६० हजार अफगान नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ( आईओएम) ले जानकारी दिएको छ । आईओएमका अनुसार सन् २०२५ अप्रिल १ देखि १३ तारिखसम्म टोरखम र स्पिन बोल्डक नाकाबाट धेरै अफगान नागरिक अफगानिस्तान फर्किएका छन् । सङ्गठनले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

    सन् २०२३ सेप्टेम्बर यता पाकिस्तान र इरानबाट करिब २४ लाख ३० हजार अफगान नागरिकहरू फर्किसकेका छन्, जसमा धेरैजसोलाई स्वेच्छाले नभई बाध्य भएर फर्कनु परेको बताइएको छ । पाकिस्तान सरकारले सन् २०२५ भित्र करिब ३० लाख अफगान नागरिकलाई फिर्ता पठाउने योजना बनाएको छ । हाल करिब ७० लाख अफगान नागरिक विदेशमा बसोबास गरिरहेका छन्, जसमा अधिकांश पाकिस्तान र इरानमा छन्। तीमध्ये धेरैजसोसँग आवश्यक कागजातहरू छैनन् ।

  • नारायणघाट–बुटवल सडकः साना पुल निर्माण सम्पन्न

    नारायणघाट–बुटवल सडकः साना पुल निर्माण सम्पन्न

    ३ वैशाख, नवलपुर । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट–दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रुपमा राखेर निर्माण गरिएका छन् । “निर्माण भएका साना पुलमध्ये अधिकांशमा सवारीसाधन सञ्चालन भइसकेका छन्”, उनले भने, “निर्माण सकिएका दुई ठूला पुलसमेत सञ्चालनमा आइसकेका छन् ।” यस खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा पाँचवटा निर्माण सम्पन्न भएका छन् ।

    निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताए । आगामी असारसम्म थप तीन ठूला पुल निर्माण सम्पन्न हुने उनले जानकारी दिए । “गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुनेछन्”, उनले भने, “यी चारवटै पुलका जनशक्ति र उपकरण अहिले विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलाको पुल निर्माणमा परिचालन गरिएको हुँदा ती पुल निर्माणमा ढिलाइ हुने भएको छ ।”

    अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साता अगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालको भनाइ छ । गैँडाकोटबाट दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ५२ दशमलव ५ किलोमिटर कालोपत्र गरिएको सडकमा यात्रा गर्न मिल्छ । “यस खण्डमा निर्माण भएका पुल, चोरमारा बजार, दुम्कीवास र दाउन्नेमा कालोपत्र गर्न बाँकी छ”, उनले भने, “दाउन्नेको चार किलोमिटर क्षेत्रबाहेक अन्य सबै ठाउँमा यो वर्खा अगाडि नै कालोपत्र सक्ने गरी काम भइरहेको छ ।”

    यस खण्डमा चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत रहेको सूचना अधिकारी खनालले जानकारी दिए । नारायणघाटबाट बुटवलसम्मको एक सय १४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ भने दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुने जनाइएको छ ।

    ग्लोबल टेण्डरमार्फत ठेक्का पारेर चीनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले सरकारसँग २०७५ माघमा सम्झौता गरी गत चैत ८ गतेदेखि सडक विस्तारको काम थालेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख गरिएको भन्दा चार गुणा बढी रुख काट्नु परेको, रुख कटानको स्वीकृति ढिला आएको, बिजुलीको पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड–१९ सङ्क्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ । ४२ महिना ९२०७९ साउन० मा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको तेस्रोपटक थप गरिएको म्याद आगामी असारमा सकिँदैछ ।
    राससको सहयोगमा

  • नेपाल-चीन सीमानामा भूकम्पको धक्का

    नेपाल-चीन सीमानामा भूकम्पको धक्का

    काठमाडौं । नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । नेपाल(चीन सीमा क्षेत्रमा भूकम्प गएकाले नेपालको उत्तरी क्षेत्रमा धक्का महसुस भएको हो । भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गी काउन्टीमा थियो । काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले उक्त भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन गरेको छ । केन्द्रका अनुसार नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दुरीमा आज बिहान ४ बजेर ५ मिनेट भूकम्प गएको थियो ।

    नेपाल-चीन सीमा क्षेत्रको सिगात्सेको दिङ्गी काउन्टीमा पटक(पटक भूकम्प गएको छ । यसअघि २०८१ सालको पुस २३ गते ७ म्याग्निच्युडको र फागुन २४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि पटक-पटक परकम्पहरु गइरहेका छन् । पुस २३ को भूकम्प र त्यसपछिका ठूला परकम्पले सिगात्सेमा जनधनको पनि क्षति पुगेको थियो । नेपाल भूकम्पको जोखिमका दृष्टिले अति संवेदनशील मानिन्छ । वैशाख दुई गते एकैदिन जाजरकोट केन्द्रविन्दु भएर दुईपटक भूकम्प गएको थियो ।

  • बहिनीको हत्या आरोपमा दाजु पक्राउ

    बहिनीको हत्या आरोपमा दाजु पक्राउ

    २ वैशाख, काठमाडौं । लामो अनुसन्धानपछि प्रहरीले काठमाडौँ उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१२ मङ्गलबजार बस्ने भगवती बोहराकी ११ वर्षकी छोरी दुर्गा बोहरा बेपत्ता भएको घटनाको अनुसन्धानका क्रममा उक्त तथ्य पत्ता लागेपछि आफ्नै दाजुलाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले आज घटना विवरण सार्वजनिक गर्दै जानकारी दिएको छ ।

    कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार चैत ४ गते राति हराएको भनी जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको निवेदनपश्चात् खोजतलास गर्ने क्रममा मिति चैत २९ गते खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्याङ्कीमा सडेगलेको अवस्थामा उनको शव फेला परेको थियो ।

    उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटना मृतकका वर्ष १५ को कान्छो दाइले कर्तव्य गरी हत्या गरेको खुल्न आएको र उनलाई वैशाख १ गते मङ्गलबजार पक्राउ गरी आजै ललितपुर प्रहरीलाई बुझाइएको छ । खोजतलास तथा अनुसन्धानका क्रममा अवालेको पाँच तले घरको भुइँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा दुर्गा बोहराको शव फेला परेको थियो । बाबुराजा अवालेको उक्त घरमा मृतक र परिवार भाडामा बसेपछि अन्यत्र डेरा सरेका थिए ।

    उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि अन्यत्र डेरा सरेपश्चात् सो घरमा कोही नबसी घर खाली रहेको थियो । चैत ४ गते मृतक र उनका दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । दाजु बहिनीसँगै गएको फुटेज भेटिएपश्चात् दाजुमाथि शङ्का लागि सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडा लिन भनी दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटेर उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुइँमा लडाइँ छोडी भागेको अनुसन्धानका क्रममा बयान दिएको प्रहरीले जनाएको छ ।

    चैत ४ गते दाजुबहिनीले नै लागुऔषधको ट्याब्लेट खाएका थिए र त्यसको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको कुरा बताएको र चैत ५ बिहान नशाले छाडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको देखेको र बहिनीको शव ट्याङ्कीमा हालेर हिँडेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । आरोपीको परिचय भने प्रहरीले खुलाएको छैन ।

  • बोइङ जेटको डेलिभरी नलिन एयरलाइन्सलाई चीनको आदेश

    बोइङ जेटको डेलिभरी नलिन एयरलाइन्सलाई चीनको आदेश

    २ वैशाख, काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न भनेको मङ्गलबार एउटा रिपोर्टले जनाएको छ । जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि विश्वका दुई ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फसेका छन् ।

    अमेरिकाले अब चीनबाट आयातमा १४५ प्रतिशतसम्म कर लगाएको छ । बेइजिङले वासिङ्टनको गैरकानूनी ‘धम्की’ भनेको कुरामा क्रोधित प्रतिक्रिया दिएको छ र थप वृद्धिलाई अर्थहीन भन्दै अमेरिकी आयातमा १२५ प्रतिशतको प्रतिशोधात्मक भन्सार शुल्क लगाएको छ । चीनले यस मामिलासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै बोइङ विमानहरूको डेलिभरी रोक्न एयरलाइन्सलाई आदेश दिएको ब्लुमबर्ग न्युजले मङ्गलबार रिपोर्ट गरेको छ ।

    बेइजिङले आफ्ना वाहकहरूलाई अमेरिकी कम्पनीहरूबाट विमानसम्बन्धी उपकरण र पुर्जाहरू खरिद गर्न निलम्बन गर्न पनि भनेको वित्तीय समाचार आउटलेटले मानिसहरूलाई रिपोर्ट गरेको छ । एएफपीले टिप्पणीका लागि बोइङ र चीनको विदेश मन्त्रालयलाई सम्पर्क गरेको छ । अमेरिकी आयातमा बेइजिङको प्रतिशोधात्मक भन्सार शुल्कले सम्भवतः विमान र घटकहरू ल्याउने लागतमा उल्लेखनीय वृद्धि गर्नेछ । ब्लुमबर्गले चिनियाँ सरकारले बोइङ जेट भाडामा लिने र उच्च लागतको सामना गर्ने क्यारियरहरूलाई सहयोग गर्ने विचार गरिरहेको बताएको छ ।

    ट्रम्पको भन्सार शुल्कको आक्रमणले विश्व बजारहरूलाई हल्लाउनुका साथै मित्रराष्ट्र र विरोधीहरूसँगको कूटनीतिलाई उलटपुलट पारेको छ । अस्थिर अमेरिकी नेताले गत हप्ता थप वृद्धिमा अचानक रोकको घोषणा गरे तर बेइजिङलाई तत्काल कुनै राहत दिएनन् । अमेरिकी अधिकारीहरूले शुक्रबार स्मार्टफोन, सेमीकन्डक्टर र कम्प्युटर जस्ता उच्च–टेक सामानहरूका लागि चीन र अन्य विरुद्धको नयाँ भन्सार शुल्कबाट छुटको घोषणा गरेका छन् ।

  • खनिज सहकार्यका लागि यूक्रेन–अमेरिका बीच संवाद प्रारम्भ

    खनिज सहकार्यका लागि यूक्रेन–अमेरिका बीच संवाद प्रारम्भ

    २ वैशाश, काठमाडौं । यूक्रेनले अमेरिका समक्ष खनिज सम्बन्धी सम्भावित सम्झौताका लागि तयार पारिएका आफ्ना प्रस्तावहरू औपचारिक रूपमा प्रस्तुत गरेको छ। युक्रइन्फोर्म समाचार एजेन्सीका अनुसार, यो जानकारी यूक्रेनको पहिलो उपप्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्विरिडेन्कोले दिए । ‘हामीले किएभमा तयार गरेका सबै प्रस्तावहरू अमेरिकी पक्ष समक्ष स्पष्ट रूपमा राख्ने अवसर पाएका छौं, स्विरिडेन्कोले बताए ।

    उनले केही कुरामा आपसी समझदारी भएको जानकारी दिँदै, आगामी दिनमा वाशिङ्टनसँगको संवाद निरन्तर चलिरहने विश्वास व्यक्त गरे । ‘यो अन्तिम चरण होइन, छलफल अझै अगाडि बढ्नेछ,’ उनले भने । यसबाहेक, इंटरफ्याक्स(यूक्रेन समाचार एजेन्सीका अनुसार, गत साता यूक्रेनबाट एक प्राविधिक टोली अमेरिका गएको थियो। उक्त टोलीले सम्भावित खनिज सम्झौतासम्बन्धी विषयहरूमा अमेरिकी पक्षसँग विस्तृत रूपमा विचार(विमर्श गर्ने अवसर पाएको थियो, जसले दुवै देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने आशा गरिएको छ।

  • गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    २ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ६५ वर्षे उमेर हद नचाहिने गरी नेपाल सरकारले गरेको मापदण्डमा संशोधनको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज उक्त विवादमा नेपाल सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश गरेको हो । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र गभर्नर छनोट समितिलाई यही वैशाख ७ गते उपस्थित हुन भनेको छ ।

    गभर्नरको नियुक्तिका मापदण्डलाई आ–आफ्नो अनुकूल संशोधन गर्न गैरकानुनी भएको उल्लेख गर्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । गत फागुन २७ गते अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ (ग) हटाएर नेपाल सरकारले गभर्नरको नियुक्तिमा उमेरको योग्यताको प्रावधान हटाएको थियो । उक्त दफामा कार्यकारी प्रमुखको हकमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यवस्था थियो ।

    रिट निवेदनमा उमेरजन्य योग्यता नै नतोकी आफूले मन पराएको व्यक्तिलाई नियुक्ति गर्न खोजिएको उल्लेख गर्दै उक्त उमेरको योग्यता हटाउने निर्णयसमेत झिकाइ मगाइ बदर गर्न माग गरिएको थियो । साथै, रिट निवेदनमा सरकारको निर्णय बदर गरी नेपाल राष्ट्र बैंकको गभर्नर पदको नियुक्ति गर्दा उमेरजन्य योग्यतासमेत तोकी योग्य व्यक्तिको नियुक्ति गर्नु गराउनु भनी परमादेशसमेत माग गरिएको थियो ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ घटाइएको हो । यो सँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ पर्नेछ ।

    सुर्खेत र दाङमा पेट्रोलको १ सय ५९ र मट्टितेलको १ सय ४५ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १ सय ५७ रुपैयाँ ५० पैसा र मट्टितेलको १ सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ ।

  • चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

    चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

    सुन्दरकुमार थकाली / रासस

    २ वैशाख, मुस्ताङ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन् ।


    जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ । हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको छ ।

    सडक नहुँदाको तत्कालीन अप्ठ्यारो परिस्थितिमा समेत मुस्ताङमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको थियो । भारतीय अभिनेता अमिता बच्चन त्यस समयको कठिन परिस्थितिका बेला पनि मुस्ताङ आएर सुटिङ सकाउनुभएको थियो । तर, त्यसबेलाको कठिन परिस्थिति अहिले पूरै फेरिएको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एकैदिन मुस्ताङ आएर चलचित्र सुटिङ गर्न पाइने भएकाले पनि मुस्ताङमा चलचित्र छायाङ्कनका लागि आउनेको सङ्ख्या बढ्दै गइरहेकोे जानकारी दिनुभयो । जिल्लामा विभिन्न देशका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म सुटिङ गर्न सहज हुनेगरी यहाँका स्थानीय तहले सीमित राजस्व सङ्कलन गर्ने गरेको उहाँको भनाइ छ । उहाँले यसप्रकारका चलचित्रको छायाङ्कनले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको उल्लेख गर्नुभयो ।

    पछिल्ला पाँच वर्षयता दर्जनौँ नेपाल चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म यहाँ सुटिङ भइसकेका छन् । मुस्ताङको कालीगण्डकी बगर, सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, गुफा, तालतलैयाका साथै फरक–फरक प्राकृतिक सौन्दर्यताकै कारण जिल्ल चलचित्र सुटिङको हब बन्दै गएको हो ।

    जिल्लामा हिन्दी चलचित्र खुदा गवाह करिब ४० को दशकमा सुटिङ भएको हो । पछिल्लो पाँच वर्षयता मुस्ताङमा चिनो, प्रेमगीत, सम्हालिन्छ कहिले मन, कबड्डी, जेरी, ब्याज नम्बर सिक्टिन, भकुन्डो, छिरिङलगायत दर्जनौँ चलचित्र सुटिङ भएका थिए । यहाँ सुटिङले यहाँको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका सचिव नीरज थकालीले बताए । उनले चलचित्रका माध्यमबाट यहाँका कला, संस्कृति, मौलिकता र सम्पदालाई उजागार गर्न ठूलो सहयोग पुगेको जनाए ।

    त्यसैगरी, जिल्लामा चलचित्र सुटिङका लागि आएका नेपाल चलचित्र प्राविधिक सङ्घका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले यहाँ चलचित्र छायाङ्कन गर्ने उपयुक्त र सहज गन्तव्य भएको दाबी गरे । जिल्ला नेपालकै स्वर्गरुपी जिल्ला भएको उल्लेख गर्दै उनले यस्तो स्थानमा सरकारले चलचित्र स्टुडियो स्थापना गर्न सकेमा यस क्षेत्रको मात्र नभई सिङ्गो गण्डकी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए । यसका लागि तीन तहको सरकारले पहल गर्न आवश्यक उनको भनाइ छ ।

    निलगिरि र धवलागिरिलगायत यहाँ साना दर्जनौँ हिमाल अवस्थित छन्, सबै हिमालमा क्षणभरमै पुग्न सकिने, होटल र यातायात पहिलेको तुलनामा निकै सहज हुँदै जान थालेको छ, यसैले पनि ९० प्रतिशत चलचित्रकर्मीले यही ठाउँमा आएर सुटिङ गर्न थाल्ने छन् । यहाँ चलचित्र सुटिङ गर्न पाउँदा स्थानीय पालिका र समुदायबाट ठूलो सहयोग प्राप्त भएको उपाध्यक्ष पोखरेलले बताए । मुस्ताङमा यहाँका ताल, गुम्बा, लेक, खर्क, हिमाल, जैविक विविधता र संस्कृति महत्त्वपूर्ण विशेषता रहेको बताए । मुस्ताङको तल्लो क्षेत्र थासाङमा सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवस्थित छन् ।

    कालीगण्डकी नदीको सुन्दर तटीय बस्ती र अनि खर्कमा चर्दै गरेका याक चौँरीका बथानले झनै चलचित्रलाई सुसज्तित पारिदिन्छ । घरपझोङ गाउँपालिकामा पर्यटकीय सांस्कृतिक गाउँ मार्फा, ठिनी, स्याङ र जोमसोममा प्राचीन संस्कृति अवलोकन गर्न पाइन्छ । यस पालिकामा ढुम्बाताल र क्षमाताल अवस्थित छ । वारागुङ मुक्ति क्षेत्रमा मुक्तिनाथ मन्दिर, कागबेनी, झोङ, तेताङ, छुसाङ, मुस्ताङ गेटलगायत स्थानमा चलचित्र छायाङ्कन गर्ने गरिएको छ ।

    लोमान्थाङमा मुस्ताङी राजाको सात सय वर्ष पुरानो दरबार, गुफा, गुम्बा, माने र छोर्तेनहरु अवलोकन गर्न सकिन्छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि गुरु पद्यसम्भवले निर्माण गरेको लोघेकर गुम्बा, चराङ गुम्बा, ढाक्मर रेड पहाडलगायत यहाँका संस्कृति झल्काउने मौलिक परम्परागत बस्ती रहेको छ ।

  • सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

    सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

    २ वैशाख, सङ्खुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकै परिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत े भएका छन् । उनीहरुको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।

  • मालदिभ्समा पुस्तागत प्रतिबन्धसहित धुम्रपान चरणबद्ध रूपमा बन्द गर्ने घोषणा

    मालदिभ्समा पुस्तागत प्रतिबन्धसहित धुम्रपान चरणबद्ध रूपमा बन्द गर्ने घोषणा

    २ वैशाख, काठमाडौं । मालदिभ्सले यस वर्ष दक्षिण एसियाली विलासी पर्यटक द्वीपसमूहमा धुम्रपानलाई निषेध गर्ने प्रयास गर्नेछ । हाल १९ वर्षमुनिका कसैलाई पनि कहिल्यै चुरोट किन्न अवैध बनाउने प्रतिबन्ध लगाइनेछ । प्रस्तावित कानूनले सन् २००७ जनवरीपछि जन्मिएका व्यक्तिहरूलाई सुर्तीजन्य उत्पादनहरूको बिक्री निषेध गर्नेछ । यसले भविष्यका पुस्ताहरूका लागि धुम्रपानलाई प्रभावकारी रूपमा चरणबद्ध रूपमा हटाउनेछ । “नयाँ कानून सन् २०२५ नोभेम्बर १ देखि लागू हुनेछ”, राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले आइतबार मन्त्रिमण्डलको बैठकपछि जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

    नयाँ कानून उल्लङ्घन गर्नेका लागि जरिवानाहरू तत्काल घोषणा गरिएको थिएन तर अधिकारीहरूले नयाँ कानूनसँग मिल्ने गरी विद्यमान सुर्ती नियन्त्रण कानूनहरू संशोधन गर्न काम गरिरहेको बताएका छन् । बेलायतमा प्रस्तावित यस्तै कानून अझै विधायी प्रक्रियामा छ भने धुम्रपानविरुद्ध पुस्तागत कानून लागू गर्ने पहिलो देश न्युजिल्यान्डमा सन् २०२३ नोभेम्बरमा यो पेश भएको एक वर्षभन्दा कम समयमा यसलाई खारेज गरिएको थियो । माल्दिभ्सले नोभेम्बरमा धुम्रपानको कानूनी उमेर १८ बाट बढाएर २१ बनायो र ई–सिगरेट र भ्यापिङ उपकरणहरूको आयातमा प्रतिबन्ध लगायो । यी नीतिहरू पर्यटकहरूमा पनि लागू हुनेछ ।

  • नाइजेरियाको प्लेटो राज्यमा हिंसात्मक आक्रमण, ४७ जनाको मृत्यु

    नाइजेरियाको प्लेटो राज्यमा हिंसात्मक आक्रमण, ४७ जनाको मृत्यु

    २ वैशाख, काठमाडौं । नाइजेरियाको प्लेटो राज्यमा आइतबार राति अज्ञात समूहले दुई गाउँमा आक्रमण गर्दा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । रेडक्रसले दिएको जानकारी अनुसार २२ जना घाइते भएका छन् र पाँचवटा घरहरू जलेका छन् । आक्रमण बास्सा जिल्लाको जिके र किमाक्पा गाउँमा भएको हो । केही दिन अघि मात्रै सोही राज्यको अर्को क्षेत्रमा यस्तै आक्रमणमा ४८ जनाको ज्यान गएको थियो । एक स्थानीय बासिन्दाले भने, “हामीलाई नचिनेका व्यक्तिहरू आएर गोली चलाउन थाले । धेरै मानिस मारिए ।”


    प्लेटो राज्यमा किसान र गोठालाबीचको भूमिसम्बन्धी झगडा तथा जातीय र धार्मिक मतभेदका कारण यस्ता हिंसात्मक घटना भइरहन्छन् । राज्य सरकारले यस घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ । मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । प्लेटो राज्यमा विभिन्न जातीय र धार्मिक समुदायबीच द्वन्द्व भइरहने गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार भूमि र स्रोतको अभावले गर्दा द्वन्द्वलाई थप जटिल बनाएको छ ।

    प्रहरीको कमजोरी र अपराधीहरूको उन्मुक्तिले हिंसापछि बदला लिने प्रवृत्तिलाई पनि बढाएको छ । गत साता एक १६ वर्षीय फुलानी युवकको टाउको काटिएको शव फेला परेको थियो । उनका गाईबस्तु पनि चोरी भएका थिए । यसैबीच राज्य सरकार, मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनल र अन्य समूहहरूले पछिल्ला घटनाको कडा शब्दमा निन्दा गरेका छन् । एम्नेस्टी इन्टरनेसनल नाइजेरियाका निर्देशक इसा सानुसीले भनिन्, “रक्तपात अब रोकिनुपर्छ । दोषीलाई कारबाही गर्न स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।

  • जाजरकोटमा आज पनि भूकम्पको धक्का

    जाजरकोटमा आज पनि भूकम्पको धक्का

    २ वैशाख, काठमाडौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो । कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।

    केन्द्रका अनुसार गत चैत २१ गते साँझ ८ बजेतिर सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो । गत चैत २० गते दार्चुलामा चार म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • ११ मिनेट अन्तरिक्ष यात्रा गरेर फर्किएका ६ महिला को हुन् ?

    ११ मिनेट अन्तरिक्ष यात्रा गरेर फर्किएका ६ महिला को हुन् ?

    काठमाडौं । ६ महिलाको एक समूह ११ मिनेट लामो अन्तरिक्ष यात्राबाट सुरक्षित फर्किएको छ । टोलीमा पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिला थिए । १४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता क्यारियन फ्लिन र लरेन सान्चेजलाई अन्तरिक्ष यात्रा गराएको छ । बीबीसीका अनुसार अन्तरिक्षमा पुग्दा पप गायिका केटी पेरीले गीत गाएकी थिइन् ।

    महिलाहरूको समूहले मात्र अन्तरिक्ष यात्रा गरेको यो पहिलोपटक हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भेलेन्टिना टेरेश्कोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् । महिला टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले ‘न्यु शेपर्ड–३१’ नामको रकेट मार्फत अन्तरिक्षमा पठाएको थियो । सो रकेटलाई अमेरिकाको पश्चिम टेक्सासस्थित ब्लु ओरिजिन कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो ।

    यो अन्तरिक्ष यान पूर्णरूपमा स्वचालित थियो । यसको अर्थ, अन्तरिक्ष यानभित्र यसलाई सञ्चालन गर्ने कोही चालक आवश्यक परेन । सो अन्तरिक्ष यानको अधिकतम गति २ हजार ३०० माइल प्रतिघण्टा थियो । यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो । महिलाहरुको समूह कार्मन रेखा पार गरेर पृथ्वीमा फर्किएका थिए । कार्मन रेखा एउटा काल्पनिक सीमा रेखा हो । यसलाई पृथ्वीको समुद्री सतहबाट १०० किलोमिटर माथिको बिन्दुको रूपमा परिभाषित गरिएको छ ।

    यही बिन्दुबाट पृथ्वी छाडेर अन्तरिक्षको यात्रा सुरु हुन्छ । अर्थात्, यो बिन्दुलाई पृथ्वीको वायुमण्डलको अन्त्य र अन्तरिक्षको सुरुआत मानिन्छ । जो व्यक्ति यो सीमाभन्दा माथि यात्रा गर्छन्, उनीहरूलाई ‘अन्तरिक्ष यात्री’को दर्जा दिइन्छ । कार्मन रेखाको निर्धारण फेडेरेसन एरोनोटिक इन्टरनेशनलले गरेको हो । यो उचाइसम्म पुग्नुलाई अन्तरिक्ष सम्बन्धी अनुसन्धानको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।

    महिला टोलीले कार्मन सीमामा केही मिनेटसम्म गुरुत्वाकर्षण नहुने अवस्थाको अनुभव गर्नुका साथै अन्तरिक्षबाट पृथ्वीको अदभूत दृश्यको मजा लिएका थिए ।
    यो यात्रा कुल ११ मिनेटको थियो । उनीहरू ७ मिनेटसम्म रकेटमा यात्रा गरेका थिए । ब्लु ओरिजिन कम्पनीका अनुसार यो मिसनको उद्देश्य मानिसहरुलाई अन्तरिक्ष पर्यटनप्रति आकर्षित गर्नु र त्यसमार्फत नयाँ पर्यटन उद्योग निर्माण गर्नु हो । साथै, यो प्रयासले ‘महिलाको विकास’मा केन्द्रित हुने र भावी पुस्तालाई प्रेरणा दिने बताइएको छ ।

  • चीनको निर्यात व्यापार १२.४ प्रतिशतले वृद्धि

    चीनको निर्यात व्यापार १२.४ प्रतिशतले वृद्धि

    १ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण बढ्दो व्यापार माहोललाई पार गर्दै चीनले गत महिनासम्मको १२ महिनाको निर्यातमा १२.४ प्रतिशतले वृद्धि भएको जनाएको छ । यो आँकडा ब्लुमबर्गको सर्वेक्षणमा अनुमान गरिएको ४.६ प्रतिशतको तु्लनामा झण्डै तेब्बर बढी हो । बेइजिङको सामान्य भन्सार प्रशासनका अनुसार सोही अवधिमा आयात ४.३ प्रतिशतले घटेको छ ।

    चीनका शीर्ष नेताहरूले गत महिना पाँच प्रतिशतको हाराहारीमा वार्षिक आर्थिक वृद्धिको महत्त्वाकाङ्क्षी लक्ष्य राखेका थिए र आन्तरिक मागलाई मुख्य आर्थिक चालक बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले सुस्त उपभोग र सम्पत्ति क्षेत्रमा लामो समयसम्म ऋण सङ्कटको सामना गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको व्यापार युद्धका कारण यो नाजुक पुनरुत्थानले नयाँ चुनौतीको सामना गरिरहेको छ ।

  • एमालेले सात कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

    एमालेले सात कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

    १ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातजना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार सम्मान गरिने व्यक्तित्वमा क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत )दाङ), हरिचरण शिवाकोटी (झापा) छन् । त्यसैगरी बैठकले तत्कालीन नेकपा (माले) र कोर्डिनेशन केन्द्र पार्टी निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको पुस्तक “सेल्टर” सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

    पुस्तकमा तत्कालीन अवस्थामा पार्टी निर्माण गर्दा नेता जनताको घरमा कसरी आश्रय लिए, पार्टी महाधिवेशन गर्ने त्यो वेला भूमिगत समयमा नेताहरुले कसरी काम गरे, कार्यकर्ताले कसरी नेताहरुलाई सुरक्षा दिए भन्ने सन्र्दभमा समेटिने जनाइएको छ ।

    उपमहासचिव ज्ञवालीले सरकार परिवर्तनको कुरा गर्नु भनेको सत्ताप्रतिको आशक्ति मात्र भएको बताए । “अहिले सरकार परिवर्तन न कतैबाट पनि सम्भव, न त कुनै सान्र्दभिकता र न त कुनै औचित्य रहेको छ”, उनले भने । उनले सरकारले अझ राम्रो काम गर्न जरुरी रहेको बताए ।

    “केही कमजोरीलाई आधार बनाएर एक थरिले प्रणाली नै उल्टाउने कोसिस गर्ने र अर्का थरिको ध्यान केवल सरकार परिवर्तनमा जाने । यी कुरा अस्थिरता निम्त्याउने प्रयत्न हो । यो सफल हुँदैन भन्ने मान्यता पार्टीको रहेको छ”, उनले भने । बैठकले लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा बैशाख ११ गते ‘युथ सेलिब्रेशन’ भव्य रूपमा मनाउने निर्णय गरेको छ ।

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुलुकको समसामयिक विकसित राजनीतिक घटनाक्रमका बारेमा संक्षिप्त जानकारी गराए । सो विषयमा सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

  • अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छ : राष्ट्रपति

    अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छ : राष्ट्रपति

    १ वैशाख, भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने बताएका छन् । नगरकोटको बतासे डाँडामा आज आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताए ।

    “पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हुन् । आर्थिक वृद्धिका लागि यी क्षेत्रमा विद्यमान समस्या समाधान गरेर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो । रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्द्धन गरी औद्योगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरूरी छ”, राष्ट्रपति पौडेलले भने, “न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैले भूमिका खेलौँ ।”

    सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रूपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने आवश्यकता आँैल्याउँदै राष्ट्रपति पौडेलले यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको बताए । उनले भने, “पर्यटकीय उपजहरूको व्यवसायीकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ । पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्दछ ।”

    राष्ट्रपति पौडेलले काठमाडौँको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेका लागि नगरकोट नजिकको रोजाइस्थल भएको उल्लेख गर्दै यो क्षेत्र संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि गौरव भएको उल्लेख गरे । “जसले देश विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योगदान दिएको छ । यसलाई अझै विकसित, आधुनिक र सुविधा सम्पन्न बनाउन स्थानीय बासिन्दा, उद्यमी, पर्यटन व्यवसायीसहित सङ्घ, प्रदेश र विशेषत यहाँका चारवटै नगरपालिकाको सहकार्य बढी अपेक्षित रहेको मैले ठानेको छु”, उनले भने ।
    राष्ट्रपति पौडेलले उत्तरतर्फका सुन्दर हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्त एवं सुन्दर काठमाडौँ उपत्यका अवलोकनको लागि स्वदेशी तथा विदेशी पर्यटकबीच नगरकोटको महिमा अधिक रहेको उल्लेख गरे । “यसको निकटमा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, पौराणिक प्रसङ्ग जोडिएको महादेव पोखरी, मञ्जुश्री गुफा, ऐतिहासिक भङ्गेरी र पुतली दरबार, शङ्खरापुर नगरपालिकाको प्रसिद्ध शालीनदी तथा बज्रयोगिनी माईको मन्दिर एवं साँखु बजारको ऐतिहासिक, पुरातात्विक सम्पदासँगै यसलाई केन्द्रमा राखेर विस्तार हुँदै गएको पदयात्रा मार्गले यहाँको पर्यटकीय गतिविधिलाई बढाएको छ”, उनले भने ।

    नगरकोटलाई मूलविन्दु बनाएर चारवटै नगरपालिकाले आ–आफ्नो क्षेत्रका सम्पदा एवं ऐतिहासिकस्थलको प्रवर्द्धन गर्न अगाडि बढ्नु प्रशंसनीय रहेको भन्दै राष्ट्रपति पौडेलले पर्यटन पूर्वाधारको विस्तार र सहज आवागमनका लागि सडकको स्तरोन्नति गर्नेतर्फ ध्यान दिन जरूरी रहेको बताए । उनले नगरकोट भ्रमण वर्षले विकासको प्रमुख आधारशीला पर्यटन क्षेत्रबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे ।

    राष्ट्रपति पौडेलले नयाँ वष–२०८२ को अवसरमा जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणको अभियानमाा जुट्न यो दिनले सबैलाई प्रेरणा देओस् भन्ने कामना गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोटको ऐतिहासिक, सम्पदा, पर्यटकीय स्थललगायतको महत्व अधिक रहेको चर्चा गर्दै भ्रमण वर्षले यस क्षेत्रसँग जोडिएका चार पालिकसँगै धुलिखेल, पनौती, नमोबुद्ध, शिवपुरी, चन्द्रागिरिसम्म पर्यटनको विकास हुने बताए । महाभूकम्प र कोेरोना महामारीपछि थला परेको पर्यटन क्षेत्र पछिल्लो समय सुधारोन्मुख रहेको भन्दै उनले तीन तहलाई चलायमान बनाउँदै आर्थिक वृद्धि र लगानीमैत्री वातावरण बनाउन सरकार अगाडि बढिरहेको बताए ।


    प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नगरकोट हिमाल, सूर्योदय, सूर्यास्त हेर्न मात्रै नभई ‘स्काई’ पर्यटन र काभ्रेमा जलपर्यटन सुरु गर्न लागिएको बताए । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले नगरकोटमा पर्यटक भित्र्याउन भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने बताए ।

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटलाई केन्द्रविन्दु बनाएर सुरु भएको भ्रमण वर्षले यहाँको मात्र नभई देशभरकै आर्थिक विकासलाई चलायमान बनाउने धारणा राखे । उनले नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए । मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको भ्रमण वर्षले यहाँको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।