Category: फिचर

  • कुलमान हटाउने निर्णयको विरोधमा माओवादी

    कुलमान हटाउने निर्णयको विरोधमा माओवादी

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णइ आपत्तिजनक रहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको ठहर छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गर्दै घिसिङलाई हटाउने सरकारको निर्णयमा प्रश्न उठाएका हुन् । माओवादीले कुशल प्रशासकमाथि मनोवैज्ञानिक त्रास फैलाउनका लागि चालिएको कदम भएको भनेको छ ।

    ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ । बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ माओवादीले भनेको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ ।’

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङलाई हटाउन माओवादीले समर्थन गरेको भन्ने प्रचारमा कुनै सत्यता नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ

    सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब सरकारको विरोधमा गरिने कार्यक्रमहरूमा सहभागी हुने भएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ।’

    साथै रास्वपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको पनि विरोध गरेको छ।

    ‘विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको रास्वपाको निष्कर्ष छ। संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरूबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ।

    रास्वपाले वर्तमान सरकारको औचित्यसमेत समाप्त भएको बताएको छ। सभापति रवि लामिछानेको धरपकडपछि रास्वपा सरकारप्रति आक्रामक छ ।

  • राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा

    राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा होमिएको छ । सो पार्टीले काठमाडौंमा चैत २६ गते प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको छ।
    मंगलबार राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको राप्रपा मूल आन्दोलन परिचालन समितिको बैठकले उक्त निर्णय गरेको हो।

    लिङ्देनका अनुसार राज संस्था, हिन्दु राष्ट्र र संघीयता खारेजी पक्षमा जसले आन्दोलन गरे पनि शान्तिपूर्ण ढंगले आन्दोलनमा समर्थन गर्ने निर्णय भएको छ। ‘वैशाख ४ र ७ गतेबाट काठमाडौं केन्द्रीत कार्यक्रम निरन्तर अघि बढाएर राप्रपा पूर्ण रूपले आन्दोलनमा होमिने निर्णय गरेको छ, उनले भने। पछिल्लो समय दूर्गा प्रसाइले समेत राजावादी आन्दोलन उचालिरहेका छन् ।

  • कुलमान प्रकरणको विरुद्धमा देशभर प्रदर्शन : सरकारका प्रवक्ताको प्रतिक्रिया, सामान्य हो

    कुलमान प्रकरणको विरुद्धमा देशभर प्रदर्शन : सरकारका प्रवक्ताको प्रतिक्रिया, सामान्य हो

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । आज देशभर प्रदर्शन चर्कियो । बिरोधलाई सरकारले भने सामान्य भनेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो सामान्य भएको बताए ।

    सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा हुने भन्दै त्यसलाई सरकारले अन्यथा नलिएको उनको दावि छ । ‘सरकारले गर्ने गरेको निर्णयमा असहमति जनाउने अधिकार छ । वक्तव्य दिन सक्छ, त्यसलाई हामीले अन्यथा मानेका छैनौं,’ मन्त्री गुरुङले भने । साथै, उनले मन्त्रिपरिषद्ले गर्ने हरेक निर्णय सुशासन प्रवद्र्धनसँग जोडिने दाबी गरे । ‘सबै कुरा सुशासनसँग सम्बन्धित हो । मन्त्रिपरिषद्का निर्णयले सुशासन प्रवद्र्धनसँग जोडिएर गरिएका निर्णय हो,’ गुरुङले भने, ‘जे चिज आजको आवश्यकता हो त्यो गरेको हो ।’

  • कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण

    कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण

    काठमाडौं । सरकारले कुलमान घिसिङलाई हटाएर नियुक्ति दिएका नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । उनको नियुक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

    शाक्यले मंगलबार राती प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरे । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो । यसअघि उनले नोभेम्बर २०२० देखि अगस्ट २०२१ सम्म उनले प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गरेका थिए ।

  • कुलमान हटाउने निर्णयको रविले गरे साङ्केतिक विरोध, सामाजिक संजालमा भाइरल

    कुलमान हटाउने निर्णयको रविले गरे साङ्केतिक विरोध, सामाजिक संजालमा भाइरल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयप्रति प्रतीकात्मक विरोध जनाएका छन्। रास्वपा सभापति लामिछानेले फेसबुक लाइभमार्फत् बिजुली निभाउँदै मैन बत्ती सल्काएर साङ्केतिक रूपमा कुलमान घिसिङ हटाउने निर्णयको विरोध जनाए । उनको यो शैली अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

    उनले आफ्नो फेसबुक पेजमा ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्’ भनेर लेखेका छन्। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । यो निर्णयको एमाले नेताहरुबाहेक समाजका सबै पक्षबाट व्यापक विरोध भइरहेको छ ।

  • एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

    एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

    काठमाडौं । एफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल मलेसियासँग खेल्दैछ। छनोटमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्। खेल नेपाली समयअनुसार राति ७ः४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुँदैछ । यो खेल नेपालमा हुनु पर्ने थियो । तर दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता दिएको छैन ।

    यो छनोटअघि नेपालले शुक्रबार सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलमा हराएको थियो । नेपालका प्रशिक्षक म्याट रसले मलेसियाविरूद्ध जितका लागि खेल्ने बताएका छन्। उनले नेपालले तीन अंकका लागि खेल्ने बाहेक अरु नसोचेको बताए । उनले मलेसिया बलियो टोली भएको बताउँदै बराबरीमा पनि सन्तुष्ट हुन सकिने भए पनि नेपालको सोच जित मात्र भएको प्रतिक्रिया दिए।

    कप्तान किरण चेम्जोङले पनि मलेसियामा राम्रो खेल खेल्ने विश्वास गरेका छन्। नेपाल र मलेसियाबीच अन्तर्राष्ट्रिय फुटबलमा आठौं पटक प्रतिस्पर्धा हुन लागेको हो। नेपालले यसअघि खेलेका सात खेलमा जित निकाल्न सकेको छैन। सातमध्ये छ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ। फिफा वरीयतामा नेपाल १७५औं स्थानमा छ। मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औं स्थानमा छ।

    छनोटमा मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग होम म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।

  • कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो

    कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो

    काठमाडौं । कालिमाटीमा ग्याङ फाइट भएको छ । जसमा एक युवकको ज्यान गएको छ । सोमबार साँझ होलिको विषयमा विवाद हुँदा कलंकी एलआएआई स्कुल नजिकै दुई समूहबीच भिडन्त भएको थियो । भिडन्तमा २२ वर्षीय अभय गोले गम्भीर घाइते भएका थिए ।

    घाइते गोलेलाई तत्कालै उपचारका लागि शहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । उनको त्यहाँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

  • कुलमान हटाउने निर्णयमा गगन र विश्वप्रकाशकै आपत्ति

    कुलमान हटाउने निर्णयमा गगन र विश्वप्रकाशकै आपत्ति

    काठमाडौं । सरकारले नेपाल विद्युत प्रािधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसत्तै सत्तारुढ दलभित्रबाटै कडा आलोचना सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले सामाजिक संजालमा स्टाटस लेख्दै सरकारको सो निर्णयको कडा शब्दमा विरोध गरेका छन् ।

    कुलमानलाई हटाउनेबारे कांग्रृेस पदाधिकारी तहमा कुनै निर्णय नभएको विश्व प्रकाशले लेखेका छन् । गगनले सरकारले असन्तुष्टीको आगोमा मट्टितेल हाल्ने काम गरेको आरोप लगाएका छन् । मन्त्रीले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नु पर्नेमा त्यसो नभएको उनको आरोप छ ।

  • सरकारको आलोचना गर्दै बालेनले लेखे कडा स्टाटस

    सरकारको आलोचना गर्दै बालेनले लेखे कडा स्टाटस

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताएका छन् ।

    ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ मेयर शाहले भनेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ।’ उनले दलका नेताप्रति भएका संकेत गर्दै भनेका छन्, ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो ?’ आजै सरकारले कुलमान घिसिङलाई पदबाट हटाएपछि चौतर्फी आलोचना भइरहेको छ ।

  • कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद

    कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
    तर, सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक रहेको प्रचण्डको भनाइ छ ।

    उनले सामाजिक सञ्जालमार्फत निर्णयप्रति आपत्ति जनाउँदै लेखेका छन्, ‘आशा गरौं यो खबर असत्य सावित होस् । यदि सत्य रहेछ भने सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक छ । कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।’ सरकारले कुलमानमाथि लामो समयदेखि स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको प्रचण्डको भनाइ छ ।

    ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो,’ प्रचण्डले भनेका छन्, ‘उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ । उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो ।’

  • पदबाट हटाइए कुलमान

    पदबाट हटाइए कुलमान

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

    सरकारले कुलमानलाई हटाउने उद्देश्यले पटक पटक स्पष्टीकरण सोधेको थियो । सोही आधारमा उनलाई पदबाट हटाइएको बताइएको छ । सरकारको यो निर्णयको चौतर्फी आलोचना सुरु भएको छ । कुलमान नेपालमा लोडसेडिङ हटाउने मूख्य पात्र हुन् ।

  • सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी

    सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी

    काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ ।

    ‘रनअफ रिभर’ मा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरिएको प्रमुख भट्टले बताए । उनले वर्षायाममा ‘रनअफ रिभर’ मा आधारित आयोजना पूर्ण रूपमा सञ्चालनमा गर्नुनपर्ने भएकाले उक्त समयमा ड्याममा पानी सञ्चित गरेर राख्ने र सुक्खायाम सुरू भएपछि पूर्ण क्षमतामा सञ्चालन गरिने जनाए ।

    अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेको र आवश्यकताका आधारमा चौबीसैँ घण्टा विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जनाएको छ । यस केन्द्रबाट चालु आव २०८१–८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ । आव २०८०–८१ मा ३४ हजार तीन सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।

  • नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

    नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

    काठमाडौं । नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ । नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको विश्व बैंकले उल्लेख गरेको छ । यमसा रेमिट्यान्स (विप्रेषण) को ठूलो भूमिका रहेको समेत प्रतिवेदनमा छ । विश्व बैंकले सोमबार ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य’ नामक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक अवसरलाई खुला गर्ने नीतिगत कदममा प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

    प्रगतिबीच नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछाडि देखिन्छ । सन् १९९६ देखि २०२३ अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२ प्रतिशतले मात्र वृद्धि भएको देखिएको छ । जुन दक्षिण एसियाका आठ राष्ट्रमध्ये छैटौँ स्थानमा पर्छ । निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्व जस्ता संरचनागत चुनौतीले नेपालको अर्थतन्त्र पछाडि धकेलेको समेत प्रतिवेदनको निष्कर्ष छ । गैरकृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको र आन्तरिक रोजगारी अवसर सीमित हुँदा युवा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य भएको समेत प्रतिवेदनमा उल्लेख छ ।

    ‘गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय छ, तर मुलुकको आर्थिक सम्भावना अझै पूर्णरूपमा उपयोग हुन सकेको छैन,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका विभागीय राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने, ‘नेपालसँग आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युत्को कुशलतापूर्ण उपयोग गर्ने र डिजिटलाइजेसन प्रवद्र्धन गर्नेजस्ता सुधार मार्फत मजबुत आर्थिक वृद्धि हासिल गर्न सक्ने प्रशस्त सम्भावना छ ।’

    नेपाल सरकारको १६औं योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोण प्रस्तुत गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बताए । यसले उत्पादकत्व र प्रतिस्पर्धी क्षमता विकास, मर्यादित तथा फलदायी रोजगारी, सामाजिक सुरक्षा तथा अल्पविकसित राष्ट्रबाट सहज स्तरोन्नति सुनिश्चित गर्ने प्राथमिकता राखेको उनले बताए । हरेक पाँच वर्षमा तयार गरिने ‘नेपाल ः राष्ट्रगत आर्थिक परिदृश्य’ ले प्रमुख क्षेत्रमा तीव्र आर्थिक वृद्धिको मार्गचित्र प्रदान गर्ने गर्छ । यसले नेपालको आर्थिक सम्भावना उजागर गर्न चार प्रमुख क्षेत्रमा नीतिगत सुधार सिफारिस गरेको छ । जसमा आप्रवासनबाट थप लाभ उठाउन सकिने उल्लेख छ ।

    व्यवस्थित र समावेशी संस्थागत प्रवासन प्रणालीले आप्रवासनबाट थप लाभ हासिल गर्न मद्दत गर्ने विश्व बैंकको भनाइ छ । राष्ट्रिय विकास, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण रणनीतिहरूसँग आप्रवासनलाई एकीकृत गर्दा यस प्रकारको प्रणालीतर्फ काम गर्ने मञ्च (प्लेटफर्म) प्रदान गर्ने समेत प्रतिवेदनमा उल्लेख छ । नीतिहरू दीर्घकालीन सिप विकास र श्रम गन्तव्य विविधीकरण ध्यानमा राख्दै सिपयुक्त श्रमिकहरूको प्रवासन लागत घटाउने र लाभ एवं सुरक्षा बढाउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

    त्यस्तै थप द्विपक्षीय सम्झौता गर्ने र तिनीहरूको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण हुने सुझाव दिइएको छ । विदेशबाट फर्कने श्रमिकहरूलाई आन्तरिक श्रम बजारमा पुनः समायोजन गर्न उद्यमशीलता प्रवद्र्धन, पुनर्तालिम, तथा पुनः सिप विकास कार्यक्रमहरू लागु गर्न समेत भनिएको छ । राष्ट्रिय विकास, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण रणनीतिहरूसँग आप्रवासनलाई एकीकृत गर्दा यस प्रकारको प्रणालीतर्फ काम गर्ने मञ्च (प्लेटफर्म) प्रदान गर्ने समेत प्रतिवेदनमा उल्लेख छ ।
    निर्यात क्षमतामा सुधार गर्ने समेत सुझाव दिइएको छ ।

    मुख्य क्षेत्रहरूमा बजार प्रतिस्पर्धा सुधार तथा पूर्वाधार न्यूनता सम्बोधन गरेर निर्यात बढाउन सकिने उल्लेख छ । मुद्रास्फीतिको दबाब राम्रोसँग व्यवस्थापन गर्दा निर्यातकर्ताको मूल्य प्रतिस्पर्धात्मकता सम्बोधन गर्न सकिने छ । विप्रेषणलाई लगानी र व्यवसाय वृद्धिका लागि उपयोग गर्न मानिसहरूलाई प्रोत्साहित गरे मुद्रास्फीति बढ्ने क्रम सुस्त हुने समेत विश्व बैंकको भनाइ छ ।

    व्यवसायले आयातित वस्तुमा कर फिर्ता प्राप्तिको प्रणाली सरलीकरण र आयात कर कटौतीले निर्यातकर्तालाई थप निर्यातका लागि सहज बनाउने उल्लेख छ । नेपालले अल्पविकसित राष्ट्रका रूपमा प्राप्त गर्ने व्यापार सुविधा कटौती हुने अवस्था मध्यनजर गर्दै प्रतिवेदनले थप सुविधायुक्त व्यापार सम्झौता खोज्न सुझाव दिएको छ । त्यसैगरी जलविद्युत् सम्भावना उपयोगको अर्को सुझाव पनि दिइएको छ । जलविद्युत् विकासका लागि स्पष्ट वित्तीय रणनीति निर्माण गरी आवश्यक लगानी आकर्षित गर्न सकिने समेत प्रतिवेदनमा उल्लेख छ ।

    यस रणनीति अन्तर्गत स्थानीय बचतपत्र (बन्ड) बजार विकास तथा ठूला सार्वजनिक–निजी साझेदारी (पीपीपी) का बृहत परियोजनाका लागि प्रभावकारी ढाँचा निर्माण आवश्यक रहेको समेत बताइएको छ ।

    प्रशासनिक झन्झट घटाएर र इजाजत (लाइसेन्स) प्रक्रिया सरलीकरण गर्नुका साथै नियमन तथा कानुनी संरचना सशक्तीकरण गर्न सुझाव दिइएको छ । यसले नेपालको विद्युत् बजार संरचना सुधार गर्ने छ र थप लगानी आकर्षित गर्ने उल्लेख छ । डिजिटल क्षेत्र प्रवद्र्धन गर्न विश्व बैंकले सुझाव दिएको छ । नेपालको डिजिटल क्षेत्रमा तीव्र सुधार ल्याउन दूरसञ्चार ऐन परिमार्जन गर्नुका साथै डिजिटल रणनीति अबलम्बन र डिजिटल पूर्वाधार विकासले यस क्षेत्रको विकासलाई विस्तार गर्ने उल्लेख छ ।

    नेपालमा कम डिजिटल सिप एउटा प्रमुख चुनौतीका रूपमा रहेकाले विद्यालय पाठ्यक्रममा डिजिटल सिप समावेश गर्नुका साथै विभिन्न उमेर समूहका लागि र जनसांख्यिक विशेषताका आधारमा तालिम कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ ।

  • अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए

    अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात छ । प्रहरीका अनुसार घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन् ।

    आक्रमणको सम्बन्धमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले सक्रिय रूपमा धेरै सुरागहरू खोजिरहेको छ ।“लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ्ग पार्कमा एउटा ‘अवैध कार शो’ मा दुई समूहबीचको झगडा गोलीबारीमा परिणत भएको बताए ।

    घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको उनले बताए । लस क्रुसेस फायर चीफ माइकल डेनियलले एक पत्रकार सम्मेलनमा सात घाइतेहरूलाई स्थानीय अस्पतालबाट थप उपचारका लागि एल पासो लगिएको बताए । चार जना बिरामी उपचार गरेर डिस्चार्ज भइसकेका छन् । अन्य चार जनाको अवस्था भने अज्ञात छ । रासस

  • राजतन्त्रको माग बढ्दै गएको परिस्थितिमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

    राजतन्त्रको माग बढ्दै गएको परिस्थितिमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

    काठमाडौं । देशभर पूर्वराजाको सक्रियता र राजतन्त्रको मागमा प्रदर्शन हुँदै गएका छन् । यसै सन्दर्भमा प्रमुख तीन दलको बैठक आज बस्ने भएको छ । संक्रमणकालीन न्यायबारे छलफल गर्न भन्दै आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाइएको हो ।

    प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक अपराह्न चार बजे बस्ने भएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल हुने बताइएको छ ।

  • गोंगबु बसपार्कमा यात्रुलाई दु:ख दिने ३ सय जना कारबाहीमा

    गोंगबु बसपार्कमा यात्रुलाई दु:ख दिने ३ सय जना कारबाहीमा

    काठमाडौं । यहाँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए । प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले काम गरिरहेको उल्लेख गरे । प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालु आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको जानकारी दिए ।

    नयाँबसपार्कबाट हाल देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले पछिल्लो समय नयाँबसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएकाले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न सबैलाई आग्रह गरे ।

  • काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नम्बरको माइक्रो गाडी नागढुंगास्थित ढलानमा रोकिराकेको अवस्थामा आफै गुडेर अनियन्त्रित भई सडक छेउको पेटीमा ठोक्किएको थियो।

    दुर्घटनामा परी नाम, ठेगाना नखुलेको अन्दाजी २५–२६ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो। साँझ ५ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिए।

    दुर्घटनामा थप ९ जना घाइते भएका छन्। घाइतेहरूमा चितवनको कालिका नगरपालिका ७ की ६८ वर्षीया तारादेवी कुमाल, काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ की ३३ वर्षीया बिन्दु देवकोटा, उनका छोरा ३० महिनाका दिव्यन पोखरेल, चितवनको भरतपुर महानगरपालिका ६ की ४० वर्षीया अनिता थापा र उनकी १७ वर्षीया छोरी एरिसा थापा, भरतपुर ४ का ३७ वर्षीय मोहित गुरुङ, चितवनको कालिका नगरपालिका ७ की २५ वर्षीया सीमा कुमाल, उनका ६ वर्षीय छोरा इसान कुमाल र सर्लाहीको सोल्टी बजारकी २० वर्षीया कुसुम राई छिन्।

    उनीहरूको काठमाडौंकै ट्रमा सेन्टर, अन्नपूर्ण न्यूरो अस्पताल र मेड पोइन्टमा उपचार भइरहेको छ। माइक्रो चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका(१३ का ३० वर्षीय राजेश घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

    वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

    काठमाडौं । बारा र पर्सा जिल्लाका औद्योगिक करिडोर तथा आमउपभोक्ताको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बारा अमलेखगञ्ज तथा प्रसौनी र पर्सा वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो छिटो सक्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

    वीरगञ्ज क्षेत्रको विद्युत् माग तथा आपूर्ति व्यवस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन एवं सबस्टेसन महत्त्पूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेवार भएर निर्धारित समयमै काम सक्न आग्रह गरे ।

    पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्ति समस्या समाधान र बढ्दो माग पूर्ति गर्न अमलेखगञ्ज १३२र६६ केभी सबस्टेसन तयार भएको छ । उक्त सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरण जडान भइसकेका छन् । अमलेखगञ्ज सबस्टेसनलाई आगामी जेठ दोस्रो साता ९मे २०२५० भित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका काम भइरहेका छन् ।

    पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगञ्ज सबस्टेसनभित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ ।

    त्यस्तै हेटौंडाबाट सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेसनमा लुप इन र लुप आउट गरिसकिएको छ । हेटौंडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो ।

    ६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति स्रोत हुने भएपछि अमलेखगञ्ज सबस्टेसन सञ्चालनमा आई सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

    सबस्टेसनमा १३२र६६ केभी २०० एमभएि र ६६र११ केभी २० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् । स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका ६ वटा फिडर छन् ।

    प्रसौनी तथा वीरगञ्ज सबस्टेसन र उक्त सबस्टेसन जोड्ने २।८ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ । भूमिगत प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्ने गरी काम भइरहेको छ । सबस्टेसनमा उपकरण जडान र बाँकी रहेका सिभिल संरचनाको काम जारी छ ।

    भारत र नेपालबीचको रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनलाई प्रसौनी सबस्टेसनमा लुप इन र लुप आउट गरिने छ । उक्त सबस्टेसनबाट भूमिगत प्रसारण लाइनमार्फत वीरगञ्ज सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ । हाल वीरगञ्जमा चालु रहेको ६६–३३–११ केभी सबस्टेसन विस्तार गरी १३२ केभी बनाउन लागिएको हो ।

    सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न भएपछि वीरगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिका लागि १३२ र ६६ केभीको स्रोत हुनेछ । १३२ र ६६ केभी सबस्टेसन अन्तरआबद्ध हुने भएकाले विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउने छ ।

    हाल बारा कलैया क्षेत्रमा पनि वीरगञ्ज सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएकोमा प्रसौनी सबस्टेसन सम्पन्न भएपछि त्यहीँबाट आपूर्ति दिइने छ । यसबाट वीरगञ्ज सबस्टेसनको भार पनि घट्ने छ । प्रसौनी सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ३३ केभी र ११ केभीका ५र५ वटा फिडर रहने व्यवस्था गरिएको छ ।

    बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनी लगायत क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक बनाउन लागिरहेको छ ।

    वीरगञ्ज क्षेत्रका उद्योगले १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माण अगाडि बढाइएको हो । वीरगञ्ज क्षेत्रमा बढ्दो औद्योगिक विद्युत् माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी अर्को प्रसारण लाइन र पोखरिया सबस्टेसन निर्माण अगाडि बढाइएको छ ।

    हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बारा निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइन रमौली हुँदै पोखरियामा पुर्‍याउने गरी अर्को आयोजना सुरु गरिएको छ ।

    प्रस्तावित उक्त ४०० केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुनेछ । निजगढ, रमौली र पोखरियामा गरी ४०० केभीका तीनवटा सबस्टेसन निर्माण गरिने छ । निजगढ–रमौली–पोखरिया प्रसारण लाइनको सर्वे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ । रमौली सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भइसकेको छ ।

    निजगढ सबस्टेसन भारतको आयात–निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने छ । निजगढ–रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेसन एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने छ । सिमरास्थित विशेष अर्थिक क्षेत्र (सेज), डुमरवाना लगायत क्षेत्रलाई लक्षित गरी औरही–सिमरा १३२ केभी प्रसारण लाइन निर्माण अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

  • बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु

    बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु

    काठमाडौं । बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको बाँकेका डीएसपी यमबहादुर मल्लले बताए ।

    बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले पानी ट्यांकर जलाइदिएका छन् । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको उनले बताए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

  • शहरी विकास मन्त्रीलाई बालेनको झटारो, काम कहिले गर्ने ?

    शहरी विकास मन्त्रीलाई बालेनको झटारो, काम कहिले गर्ने ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन् । अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै उनले प्रश्न गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो ?’ साथै, बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश चाहिँ नहराउन आग्रह गरेका छन् । ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ मेयर बालेनले भनेका छन् ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’

  • काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ

    काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेप (विद्युतीय) चुरोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीको दुधौली नगरपालिका–८ का २६ वर्षीय सलिना बर्देवा, पर्वतको मोदी गाउँपालिका–८ का २४ वर्षीय सौगात क्षेत्री र मोरङको लेटाङ गाउँपालिका–५ का ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । शनिबार फ्लाई दुबईको उडानबाट उनीहरु काठमाडौं आएका थिए । उनीहरुलाई प्रहरीले संकास्पद अवस्थामा विमानस्थलको ट्याक्सी पार्किङ एरियाबाट पक्राउ गरेको हो । उनीहरुले भन्सार छलीका भेप ल्याएको प्रहरीको भनाइ छ । भेपसहित उनीहरुलाई विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।

  • इजरायलद्धारा लेवनानमा पुनः आक्रमण

    इजरायलद्धारा लेवनानमा पुनः आक्रमण

    काठमाडौं । इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण सुरू गरेको जनाएको छ । गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरू गरेको इजरायलको दावि छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ) लाई ‘लेबनानमा दर्जनौं आतंकवादी निशानाविरुद्ध बलपूर्वक कारबाही गर्न’ निर्देशन दिएको बताएका छन् । आईडीएफले शनिबार बिहान इजरायली सहर मेतुलामा तीनवटा रकेट निष्क्रिय पारेको जनाएको छ । ती घटनामा कोही पनि घाइते नभएका आईडीएफले जनाएको छ ।

    तर कुनै पनि समूहले क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेका छैनन् । र, लेबनानका प्रधानमन्त्रीले आफ्नो देशलाई ‘नयाँ युद्धमा’ तान्न खोजिएको भन्दै चेतावनी दिएका बीबीसीले जनाएको छ । युद्धविराम सम्झौताले इरान समर्थित लेबनानी सशस्त्र समूह हेजबुल्लाहसँगको १४ महिना लामो युद्ध समाप्त भएको थियो ।

    लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेना युनिफिलले ‘हिंसाको सम्भावित वृद्धिबाट चिन्तित’ भएको जनाएको छ । युनिफिलले इजरायल र लेबनान दुवैलाई ‘आफ्ना प्रतिबद्धताहरू पालना गर्न’ आग्रह गरेको छ । लेबनानका स्थानीय रिपोर्टहरूले देशका दक्षिणी स्थानहरूमा तोपहरू प्रहार भएको जनाएका छन् ।

    बीबीसीका अनुसार पछिल्ला केही दिन यता इजरायलले हेजबुल्लाहको निशाना भनेर दाबी गर्ने स्थानमा हवाई आक्रमण गरेको छ र समूहलाई पुनस्निर्माण हुनबाट रोक्न आक्रमणहरू जारी राख्ने संकेत गरेको छ । त्यसका साथै, इजरायली सेनाले अझै पनि दक्षिणी लेबनानका पाँच स्थान नियन्त्रणमै राखिरहेको छ । लेबनानी सरकारले उक्त कार्य देशको सार्वभौमिमकता र युद्धविराम सम्झौताको उल्लंघन भएको जनाएको छ । युद्धविराम सम्झौताअनुसार ती क्षेत्रबाट इजरायली सेना फिर्ता हुनपर्ने थियो ।

    तर इजरायलले ती क्षेत्रमा लेबनानी सेना पूर्ण रूपमा तैनाथ नगरिएकाले सीमावर्ती क्षेत्रका आफ्ना समुदायको सुरक्षाका लागि सेना खटाउनु परेको जनाएको छ । इजरायलमा शनिबार भएको क्षेप्यास्त्र आक्रमणले लेबनानी सरकार थप दबाबमा पर्ने देखिएको छ । इजरायलले लेबनानी सेनाको सीमावर्ती क्षेत्रहरूमा पूर्ण नियन्त्रण छैन भन्ने प्रमाणको रूपमा प्रयोग गर्ने देखिएको छ । इजरायलको निरन्तर आक्रमणका बावजुद हिजबुल्लाहले भने कुनै प्रतिक्रिया जनाएको छैन । यो समूहले युद्धबाट प्रभावित आफ्ना समुदायहरूलाई आर्थिक सहयोग प्रदान गर्ने र विपक्षीहरूबाट निशस्त्रीकरण गर्न दबाब दिने ठूलो चुनौतीको सामना गरिरहेको छ ।

  • एमसीसीलाई निरन्तरता दिने तयारी

    एमसीसीलाई निरन्तरता दिने तयारी

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको बताइएको छ । तर उक्त अनुमतिले ट्रम्प प्रशासनले नेपालले अमेरिकाबाट कम्प्याक्ट अन्तर्गत पाएको अनुदानको समीक्षाबाट निस्कने कुनै निश्चित परिणामप्रति सङ्केत नगर्ने एमसीए नेपालले आफ्नो वेबसाइटमार्फत जनाएको छ।

    फेब्रुअरीमा अमेरिकी सरकारले एमसीसी अन्तर्गत नेपालले पाएको अनुदान अन्तर्गतका भुक्तानी समीक्षाका लागि ९० दिनका स्थगित गरिएको जानकारी नेपाल सरकारलाई दिएको थियो। कतिपयले उक्त स्थगनले नेपालले प्राप्त गरेको हालसम्मकै सर्वाधिक ठूलो वैदेशिक सहयोगको भविष्यमाथि प्रश्न उठाएको टिप्पणी गरेका थिए।

    अघिल्लो हप्ता एमसीए नेपालसँग सम्बन्धित कतिपय खरिदका बोलपत्र उक्त बोर्डले सार्वजनिक गरेको थियो। त्यसको तीन दिनपछि एमसीसी कम्प्याक्टको कार्यान्वयन गर्ने जिम्मेवारी पाएको एमसीएका नेपालले अमेरिकाले एमसीसी नेपाल कम्याक्ट अन्तर्गतका केही कार्यहरू अघि बढाउन अनुमति प्रदान गरेको बताएको हो।

    एमसीए नेपालको शुक्रवार जारी विज्ञप्तिमा लेखिएको छ, ‘अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू पर्छन्। एमसिए–नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिताप्रति प्रतिबद्ध रहेको छ।’

    एमसीए नेपालले थपेको छ, ‘एमसिए–नेपाल अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको छ।’ अघिल्लो हप्ता अर्थ मन्त्रालयका प्रवक्ताले अमेरिकाबाट एमसीसी अन्तर्गतका भुक्तानी खुलाइएकोबारे थप पत्राचारहरू सरकारलाई नभएको बताएका थिए।

    यसअघि फेब्रुएरी २४ मा एमसीसीले नेपाललाई विद्युत् र सडक पूर्वाधारका लागि घोषणा गरिएको अनुदान अस्थायी रूपमा स्थगित गरिएको नेपाल सरकारलाई जानकारी गराएको थियो। नेपालको अर्थ मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ज्यानुअरी २० मा जारी गरेको कार्यकारी आदेश अन्तर्गत ९० दिन वैदेशिक सहयोग रोक्का गर्ने निर्णय अन्तर्गत नेपाल कम्प्याक्टका लागि भुक्तानी रोकिएको जानकारी गराएको उल्लेख गरेको थियो।

    एमसीसी अन्तर्गत विद्युत् प्रसारण लाइनको निर्माण र सडकको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले ५५० मिलिअन अमेरिकी डलर अनुदान दिने प्रतिवद्धता जनाएको थियो। ती परियोजनामा नेपाल सरकारले १९७ मिलिअन अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको छ। नेपालको इतिहासमा प्राप्त भएको अहिलेसम्मकै ठूलो उक्त वैदेशिक अनुदान अमेरिकी सामरिक रणनीतिको हिस्सा भएको भन्दै त्यसको पक्ष र विपक्षमा आवाजहरू उठेका थिए। सन् २०१७ मा नेपाल र अमेरिकाले हस्ताक्षर गरेको एमसीसी कम्प्याक्टलाई नेपालको प्रतिनिधिसभाले सन् २०२२ मा अनुमोदन गरेको थियो।

  • विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

    विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

    काठमाडौं । विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

    विराट कोहली ५९ रनमा अविहित रहे भने साल्टले ५६ रन बनाए । रजत पाटिदारले ३४ रन बनाए । लियाम लिभिङस्टोन १५ रनमा अविजित रहे । कोलकाताका वरुण चक्रवर्ती, वैभव अरोरा र सुनिल नरयानले समान १ विकेट लिए । त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान अजिन्क्या रहानेले तथा सुनिल नरायनले ४४ रन बनाए ।

    अंग्क्रिश रघुवंशीले ३० रन बनाए । बेंगलुरुका क्रुनाल पाण्ड्याले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । जोश हेजलवूडले २ तथा यश दयाल, सुयाश शर्मा र रसिख सलामले १(१ विकेट लिए । यस जितसँगै बेंगलुरुले २ अंक जोडेको छ भने नेट रनरेट पनि सुरुवातमै राम्रो हासिल गरेको छ । आइतबार दुई खेल हुनेछन् । दिउँसो पौने ४‌ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् भने बेलुकी पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।

  • इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड

    इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोसिस गरिरहेको भन्दै त्यो सम्भव नहुने बताएका छन् । शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने प्रयास गरेको जिकिर गरे ।

    ‘यो सरकारका कारणले इतिहासका कुडाकर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरिरहेका छन् । यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन,’ प्रचण्डले भने । उनले आगामी चैत १५ गतेसम्म पुग्दा नपुग्दै त्यो सकिने दाबी गरे । आफुले देशको हितमा काम गर्न खोज्दा भ्रष्टाचारी, नोकरशाही प्रवृत्तिका व्यक्तिले हटाएको उनले बताए ।

  • पूर्वराजा गोर्खा दरबारमा, के भने ?

    पूर्वराजा गोर्खा दरबारमा, के भने ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् । उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए ।

    ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ,’ पूर्वराजा शाहले भने । उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको सुनाए । ‘गोरखा आएर मलाई खुसी लाग्यो । आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,’ पूर्वराजा शाहले भने । उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए ।

    ‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन । देशको शान्ति कायमै होस् । देशमा सुख होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ उनले भने ।
    शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरे । पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।

    इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ । गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ ।

  • ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी

    ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबा, हेइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ। अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी एप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ। ट्रम्पका पूर्वर्ती जो बाइडनका पालाको एउटा आप्रवासन योजनाअन्तर्गत ती देशहरूबाट ५ लाख ३० हजार मानिसहरूलाई अमेरिका प्रवेश गर्न दिइएको थियो।


    उनीहरूलाई कानुनी रूपमा अमेरिका बसाइसराइका निम्ति बाटो खोल्ने उद्देश्यले बसोबास अनुमति दिइएको थियो। उक्त कार्यक्रमलाई सीएचएनभी भनिन्छ र त्यसमा ुस्पोन्सरशीपु प्रक्रियाका माध्यमबाट मानिसहरूलाई अमेरिकामा बसोबास गर्न दिइएको थियो। ट्रम्पले कार्यभार सम्हालेपछि त्यो कार्यक्रमलाई रद्द गरिदिएका छन्। ती आप्रवासीमध्ये कतिले अन्तरिम परिस्थितिमा अमेरिकामा बस्नका लागि कानुनी बसोबासको अनुमति लिने सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट छैन। बाइडनका पालामा सन् २०२२ मा उक्त कार्यक्रम सुरु भएको थियो।

    अन्य देशहरूमा विस्तार गर्नुअघि सुरुमा भेनेजुएलाका नागरिकका लागि त्यो लागु भएको थियो। उक्त कार्यक्रम अन्तर्गत आप्रवासी र उनीहरूका नजिकका पारिवारिक सदस्यलाई अमेरिकी स्पोन्सर भए दुई वर्षका लागि अमेरिकामा बस्ने अस्थायी आप्रवासन सुविधा दिइएको थियो। त्यसलाई परोल भनेर चिनिन्छ।
    बाइडन प्रशासनले सीएचएनभीले अमेरिकाको दक्षिणी सिमानाबाट हुने अवैध सीमा आगमनलाई रोक्न र देशमा प्रवेश गर्नेहरूको उपयुक्त जाँचमा सहयोग पुर्‍याउने तर्क गरेको थियो।

    डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले शुक्रवार पहिलेको प्रशासन आफ्नो उक्त लक्ष्य प्राप्तिमा असफल भएको जनाएको छ। उसले जारी गरेको विज्ञप्तिमा बाइडनका अधिकारीहरूले उनीहरू आप्रवासीेलाई अमेरिकी रोजगारीका निम्ति प्रतिस्पर्धाको अवसर दिए र अमेरिकी कामदार कटौती गरे र झूटा विवरण पेस गरिएको थाहा हुँदाहुँदै सरकारी कर्मचारीहरूलाई उक्त कार्यक्रमको जबरजस्ती प्रवर्द्धन गर्न लगाए अनि त्यसपछि उत्पन्न अराजकता र अपराधका लागि संसद्‌मा रिपब्लिकनलाई दोष दिए, भनिएको छ।

    यद्यपि फेडरल रजिस्टरमा जारी भएको ३५ पृष्ठको सूचनामा अमेरिकामा सीएचएनभीअन्तर्गत आएका र रहेका केहीलाई उनीहरूको मूल्याङ्कनका आधारमा बस्न अनुमति दिन सकिने उल्लेख छ। योसँगै ट्रम्पले रुसले आक्रमण गरेपछि युक्रेनबाट भागेर अमेरिका पुगेका २ लाख ४० हजार युक्रेनी नागरिकको बसोबासको अस्थायी कानुनी मान्यतालाई रद्द गर्ने कि नगर्ने भनेर पनि विचार गरिरहेको जनाइएको छ।
    बीबीसी

  • आइपीएलको १८ औं संस्करण आजबाट

    आइपीएलको १८ औं संस्करण आजबाट

    काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ ।
    उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ । उद्घाटन खेलअघि चर्चित कलाकारहरूले प्रस्तुति दिने पनि तय छ ।

    अभिनेत्री दिशा पटनी, गायिक श्रेया घोसाललगायतको प्रस्तुति रहनेछ । गत सिजनको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै तेस्रो उपाधि जितेको कोलकाताले पहिलो खेलदेखि नै विजयी सुरुवात गर्दै उपाधि रक्षा गर्ने अभियानमा हुनेछ । त्यस्तै हालसम्म उपाधि जित्न नसकेको बेंगलुरु यसपटक नयाँ कप्तानको साथमा पहिलो उपाधि जित्ने लक्ष्यमा फेरि पनि रहनेछ ।

    सन् २००८ देखि सुरु भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान ५ उपाधि जित्दै सर्वाधिक सफल टोली हुन् । त्यस्तै कोलकाताले तीनपटक उपाधि जित्दा डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १(१ पटक उपाधि जितेका छन् ।

  • नेपाली फूटबल टोली मलेसिया पुग्यो

    नेपाली फूटबल टोली मलेसिया पुग्यो

    काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न नेपाल शनिबार मलेसिया पुगेको छ । शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट मलेसिया गएको हो । छनोटमा नेपालले मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ । नेपालले शुक्रबार सिंगापुरलाई हराउँदै इतिहास रचेको थियो । मलेसियाविरुद्ध सोही लय कायम गर्ने लक्ष्य नेपालको छ ।