काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा ‘ट्यांक कन्टेनर’ आउन थालेको छ । गत आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाह आएको हो । बारा जितपुरस्थित खाने तेल उत्पादक उद्योग शिवशक्ति प्रालिले खरिद गरेको सोयाबिन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्यांक कन्टेनर सुक्खा बन्दरगाह आएको हो ।
२० फुटे ९० वटा ट्यांक कन्टेनरमा २० हजार टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको हो । सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडक मार्गको तुलनामा ढुवानी भाडामा औसत १५ प्रतिशत बचत हुने तेल आयात कम्पनीका पदाधिकारी बताउँछन् ।
सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा सुुरुमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गोमात्र आउने गरेको थियो । १६ असार २०८० देखि लुज कार्गो (कोइला) आउन थालेको थियो । अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु थालेको हो । यसले वीरगञ्ज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने देखिएको छ । ट्यांक कन्टेनर पूर्णरूपमा शिल भएर आउने भएकाले बाटोमा तेल चोरीका घटना नहुने जनाइएको छ । सडक मार्गबाट ढुवानी गर्दा पर्याप्त ट्यांकर नपाइने समस्याबाट समेत आयातकर्ताले छुट पाएका छन् ।
ट्यांक कन्टेनर सेवा सुरु भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा थप टेवा पुग्नुका साथै वीरगञ्ज सुक्खा बन्दरगाह पूर्णक्षमतामा सञ्चालनमा आउने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । कोइला र तेल व्यवस्थापन आफैंमा महत्त्वपूर्ण कदम भएको उनको भनाइ छ । ‘हाम्रा बन्दरगाहहरूलाई क्षमता वृद्धि गरिरहेका छौं, आधुनिकीकरण गरिरहेका छौं,’ उनले भने ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ४६ अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा पनि आज चुनाव हुँदैछ । मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । १३ वटा आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । ‘रोकिएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ ।
१५ दिनभित्र चुनाव गराउन भनेका छौं,’ त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले भनेका छन् । त्रिविको ६४ वटा अंगिक क्याम्पस र एक हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । २०७९ मा ५० वटा आंगिक र ३०० बढी सम्बन्ध प्राप्त क्याम्समा चुनाव भएको थियो ।
विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ । त्रिवि विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।
सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । स्ववियु निर्वाचनको तयारी भइरहेका बेला त्रिविको चर्चित क्याम्पस रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार मध्यराति अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ ।
यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिए । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।
५ चैत, काठमाडौं । अछाम केन्द्र विन्दु भएर आज पश्चिम नेपालमा भूकम्प गएको छ । बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो ।
तर भूकम्पले क्षति पुर्याएरनपुर्याएको जानकारी प्राप्त हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको र त्यसले क्षति भए–नभएकोबारे सबै पालिकाहरुमा बुझ्ने काम भइरहेको जनाएको छ । पछिल्लो समय पश्चिम नेपालमा सानो क्षमताको भूकम्प निरन्तर गइरहेको छ ।
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियम पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो । सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक सन्देशमा भिसा धारकहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गरिने र यदि उनीहरूले उल्लंघन गरेमा भिसा रद्द गरी देश निकाला गरिने उल्लेख छ।
मन्त्रालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट जारी गरेको सन्देशमा भनिएको छ, ‘अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि रोकिँदैन। हामी भिसा धारकहरूले सबै अमेरिकी कानून र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गर्छौं – र यदि उनीहरूले पालना नगरेको भेटिएमा हामी उनीहरूको भिसा रद्द गरी देश निकाला गर्नेछौं ।’
आप्रवासीमाथि कडाइ गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासीहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना गर्न बाध्य बनाउने नीति लिएको छ । यसले अमेरिकामा भिसा दुरुपयोग गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूलाई पनि सचेत गराएको छ। यसअघि ट्रम्प प्रशासनले ग्रीन कार्ड पाएका आप्रवासीहरूले पनि सधैं अमेरिका बस्न नपाउने पनि हुनसक्ने बताएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले गैरआवासीय नेपालीलाई भिसा दिने प्रावधान आपत्तिजनक रहेको टिप्पणी गरेकी छिन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको प्रतिस्थापन विधेयक’माथिको दफावार छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएकी हुन् । गौतमले बाध्यता र अन्य कारणले बाहिर रहेका तथा आफ्नो जीवन चलाउने क्रममा गैरआवासीय भएका नेपालीलाई १० वर्ष फ्रि भिसा दिने व्यवस्था कुनै बहादुरीको काम नभएको जिकिर गरिन् ।
गैरआवासीय नेपालीको नाता देशसँग टुट्दा घाटा नेपाललाई नै हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘यसले कसैलाई फाइदा गर्दैन । उहाँहरूलाई देशसँगै जोड्नुपर्छ । देश राम्रो हुँदा फर्किने वातावरण हुन्छ । त्यसैले दूरी नबनाऔं ।’रेमिट्यान्स र लगानीका क्षेत्रमा नेपालीहरूको ठूलो हात रहेको भन्दै उनले गैरआवासीय नेपालीलाई भिसा दिने कुराले धेरैलाई चिढ्याउनसक्ने पनि जिकिर गरिन् ।
‘अर्को नेपालभन्दा बाहिरका नेपाली समुदायमा धेरै राजनीति भएको सुनिन्छ । अनि नेताहरू गैरआवासीय नेपालीहरूलाई फकाउन गएको पनि सुनिन्छ । देशमा राजनीति गर्न उहाँहरूलाई फकाउन जाने, अनि उहाँहरूलाई भिसा दिने कुराले झन् धेरै चिढ्याउँछ होला,’ गौतमले भनिन् ।
साथै, उनले भिसा निःशुल्क नभई आवश्यक प्रावधान चाहिँ राख्नुपर्ने तर्क गरिन् । ‘जोसँग एनआरएन नागरिकता छ, उहाँहरूलाई भिसा नै नहुने प्रावधान आवश्यक छ,’ उनले भनिन् । सरकारले विधेयकमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय नेपाली भिसा निःशुल्क उपलब्ध गराइने’ भनेको छ ।
सांसद गौतमले यसमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न भिसाको आवश्यकता पर्ने छैन’ भनेर संशोधन पनि राखेकी छिन् ।
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् । यसअघि उनी रजिस्ट्रार थिए । अर्थशास्त्रमा पीएचडी गरेका वाग्ले राष्ट्रबैंकका गभर्नरको सल्लाहकार पनि भइसकेका व्यक्ति हुन् । गत ३ फागुनमा भएको अन्तर्वार्तापछि सिफारिस समितिले नाम दिन सकेको थिएन ।
संयोजक सुरेशराज शर्माले गत शुक्रबार कुलपति ओलीलाई आफ्नातर्फको नाम बुझाएका थिए । आज छनोट समितिका अन्य दुई सदस्य डा। अर्जुन कार्की र जनार्दन नेपालले छुट्टै नाम बुझाएका थिए । छनोट समितिका बहुमत सदस्यले बुझाएको रिपोर्टका आधारमा प्रधानमन्त्री समेत रहेका कुलपति ओलीले वाग्लेलाई नियुक्त गरेका हुन् ।
काठमाडौं । नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो । सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए । नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा थिए । प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । सरकारले पहिलो वरियतामा रहेका थापालाई आईजीपी बनाएको छ । भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए।
उनले आईए पास गर्ने बित्तिकै निजी विद्यालयमा अध्यापन गराउन थालेका थिए । २०४८ सालमा उनले शिक्षा सेवा आयोगको परीक्षा दिए र निमावि शिक्षकमा नाम निकालेका थिए । भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष पढ्दैगर्दा उनले कन्या मावि, भक्तपुरमा पढाउन थालिसकेका थिए । पछि १० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन खुलेका बेला उनले दर्खास्त दिएका थिए ।
उनले आईए र बीए दुवैमा भक्तपुर क्याम्पस टप गरेका थिए । २०५० सालमा हालका आईजीपी वसन्त कुँवरले पनि सोही दर्खास्तमा आवेदन दिएका थिए । तर, तत्कालीन सरकारले सर्टलिस्टमा परेका पहिलो समूहका ६० जनामध्ये ५२ जनालाई मात्र नियुक्ति दिए । बाँकी रहेका ८ जनाले ६ महिनापछि १९ भदौ २०५२ मा नियुक्ति पत्र बुझ्दा थापालाई कुँवरको बिदाइ गर्ने अवसर जुरेको छ ।
कुँवरको बिदाइ कार्यक्रम प्रहरी प्रधान कार्यालयमा साँझ ५ बजे राखिएको छ । प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुढामा नेतृत्व गर्ने अवसर पाएका छन् । प्रहरी वृत्त, महाराजगञ्जको पनि प्रमुख रही सकेका छन् भने उनले जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमाण्ड गरेका छन् ।
बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत काम गरेका छन् । एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरे ।
पछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरे । ३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।
काठमाडौं । बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको पूर्व सरकारको आलोचना गर्ने एक सहपाठी विद्यार्थीको हत्या गरेको आरोपमा विश्वविद्यालयका २० जना पूर्वविद्यार्थीको मृत्युदण्डको सजायलाई सदर गरेको छ । तत्कालीन शेख हसिनाको सरकारले भारतसँग पानी बाँडफाँट सन्धिमा हस्ताक्षर गरेकोमा आलोचना गर्ने फेसबुक पोस्ट प्रकाशित गरेको केही घण्टापछि बङ्गलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (बुइट) का २१ वर्षीय विद्यार्थी अबरार फहादको हत्या भएको थियो ।
फहादलाई २५ विद्यार्थीको समूहद्वारा क्रिकेट ब्याटले करिब छ घण्टासम्म पिटिएको थियो । उनीहरू सबै बङ्गलादेश छात्र लिगका सदस्य थिए । बङ्गलादेश छात्र लिग पूर्व प्रधानमन्त्री हसिनाको राजनीतिक दल अवामी लिगको विद्यार्थी शाखा हो । गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहपछि हसिना अपदस्थ हुनुअघि विश्वविद्यालय परिसरमा आतङ्कको शासन सिर्जना गरेको आरोप उक्त विद्यार्थी शाखामाथि लगाइएको थियो ।
“म सन्तुष्ट छु । कानूनी प्रक्रिया चाँडै पुरा हुने र न्याय हुने मलाई आशा छ”, फहादका बुबा बरकत उल्लाले आइतबार अदालतले फैसला सुनाएपछि पत्रकारहरूलाई भन्नुभयो, “म आफ्ना छोराहरूलाई शीर्ष विश्वविद्यालयमा पठाउने अभिभावकहरूलाई दोष दिन चाहन्न, तर तिनीहरू खराब राजनीतिमा संलग्न भए । म अरूलाई हानिकारक गतिविधिहरूबाट टाढा रहन आग्रह गर्दछु ।”
फहादको हत्याले देशव्यापी विरोध प्रदर्शन निम्त्यायो । प्रदर्शनले हसिनालाई अपराधीहरूलाई उच्चतम सजाय दिने वाचा गर्न बाध्य तुल्याएको थियो ।
फैसला कार्यान्वयन गर्न उचित कानूनी प्रक्रिया अपनाइने महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले पत्रकारहरूलाई बताए । “बीसजनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय दिने तल्लो अदालतको फैसलाई उच्च अदालतले सदर गरेको छ”, असदुज्जमानले भने, “दोषीहरूलाई फैसलाविरुद्ध अपील गर्न अनुमति दिइनेछ र अदालतले सुनिश्चित गरेका सबै अधिकारहरू प्राप्त हुनेछन् ।”
समूहका प्रतिरक्षा वकिलहरू मध्ये एक सैयद मिझानुर रहमानले भने, “हामी फैसलाविरुद्ध अपिल गर्नेछौँ ।” मृत्युदण्डको सजाय सुनाइएका २० जनामध्ये चार जना अझै फरार छन् । फहादको हत्यामा दोषी ठहर भएका तीमध्ये एक मुन्तासिर अल जेमी अगस्ट ६ मा उच्च सुरक्षा जेलको पर्खाल तोडेर भागेका थिए । बङ्गलादेशमा मृत्युदण्डको सजाय सामान्य छ । यहाँ सयौँ मानिस मृत्युदण्डको लाइनमा छन् । सबै मृत्युदण्ड झुण्ड्याएर दिइन्छ । यो बेलायती औपनिवेशिक शासनको विरासत हो । रासस, एएफपी
४ चैत, काठमाडौं । मंगलबारबाट पोखरा–छेन्दु रुटमा अब नियमित उडान हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर्ड उडान हुने भएको हो । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने जानकारी गराएको छ । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान(प्रदान, र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुऱ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ।
पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि कम खर्चमा सहज पहुँचका साथै चिनियाँ पर्यटकहरूलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ, बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यो नयाँ हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको भिजिट नेपाल २०२५ र नेपाल सरकारले घोषणा गरेको पोखरा पर्यटन वर्ष अभियानलाई टेवा पुऱ्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
हवाइ उडानबाट दुई देशका शहरहरू जोडिँदा आपसी मित्रता र सहकार्य थप बलियो हुने जनाइएको छ । छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत मंगलबार हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५का लागि जाने भएको छ। नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ शहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ।
यी प्रयासहरुले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ, बोर्डको विज्ञप्तिमा उल्लेख छ। नेपाल पर्यटन बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। विज्ञप्तिमा थप भनिएको छ, यस नयाँ हवाई सम्पर्कले सांस्कृतिक आदान-प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने अपेक्षा गरिएका छ।
४ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डको राजधानी सुन्दर शहर बैंककमा सम्पन्न भएको छ । सम्मेलन शनिबार र आइतबार चलेको हो । सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेका थिए । सम्मेलनमा ३५ भन्दा बढी देशबाट भौतिक एवम भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिको उपस्थिति थियो। गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओ सम्मेलनका विभिन्न सत्रमा छलफल पश्चात विभिन्न निष्कर्ष निकालेको छ ।
यस्ता छन् निष्कर्ष विदेशमा बस्ने नेपाली विभिन्न किसिमका छन्। अहिलेको संविधान ऐनले तीन पुस्तालाई मात्र कल्पना गरेको देखिन्छ। तर त्यो भन्दा बढी पुस्ता विदेशमा रहेका नेपालीलाई पनि सम्बोधन गर्न अनिवार्य भएको छ जो नेपाली मूलका विदेशी नागरिक हुन्। त्यसैले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्ने गरी व्यवस्था गरिदिन साथै गैरआवासीय नेपाली नागरिकता तथा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधनको लागि सरकार समक्ष पहल अनुरोध अनुरोध गर्दछौं।
विदेशमा रहेको युवा तथा दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्न विभिन्न योजना बनाई विदेशमा रहेका नेपालीका सन्तानलाई नेपालसँग भावनात्मक, सांस्कृतिक तथा आर्थिक रूपमा जोड्ने कार्यक्रमहरू अघि बढाइनेछ र बौद्धिक सम्पत्तिलाई प्रबर्धन गर्दै नेपाली युवालाई नेपालमै रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न पहल गरिनेछ। विदेशमा रहेका युवा पिँढी र दोस्रो पुस्तालाई देशसँग जोड्न आवश्यक नीति नियम बनाउन सरकारसँग अनुरोध गरिन्छ।
मातृभूमि नेपाल र गैरआवासीय नेपाली संघसँग बिदेशमा रहेका पिएनओ तथा दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई जोड्न सहयोग गर्ने जिम्मेवारी सहित दमकडा नमूना मा बि पाल्पाकी ओजस्वी आचार्य तथा थाईल्याण्ड निवासी पिएनओ खुसी कार्कीलाई एनआरएनए ब्राण्ड एम्बासडरका रूपमा घोषणा गर्ने यो सम्मेलन सर्वसम्मत निर्णय गर्दछ । गैरआवासीय नेपाली सघको बिधानको धारा १७.२ मा ब्यबस्था भएनुसार दोश्रो पुस्ता गैरआवासीय नेपाली संयोजकमा थाईल्याण्ड निवासी श्री बारामी राईलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गर्दछ।
एनआरएनएको प्रस्तावमा प्रत्येक बर्ष दुई जना नेपाली विद्यार्थीलाई एसियन इन्टरनेशनल युनिभर्सिटी उज्बेकिस्तानमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनको अवसर उपलब्ध गराइने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ। ती दुई जना विद्यार्थीको छनोटमा पारदर्शिता अपनाउने घोषणा गर्दछौं र भविष्यमा पनि यस्ता अवसरहरूको खोजी गर्नेमा प्रतिबद्धता समेत जनाउँदछौँ ।
गैरआवासीय नेपाली नागरिकता जारी भईसकेको तर हाल यसको प्रयोगमा विभिन्न कानूनी जटिलता रहेको हुनाले यस सम्बन्धी कानून निर्माण गर्नका लागि सहजीकरण गरिदिनुहुन सरकारको ध्यानाकर्षण गराउँछौं। गैरआवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार नेपाली सरह नै प्रयोग गर्न दिने क्रममा अचल सम्पत्ति (पैत्रिक सम्पत्ति समेत) प्राप्त र खरिद गर्न, साविक वंशजको नेपाली नागरिकता त्याग गर्नुपूर्वको नेपाली नागरिकता प्रमाणपत्र नम्बर सहितको जग्गाधनी दर्ता प्रमाणपत्रमा गैरआवासीय नागरिकता नम्बर कायम गर्न लगायतका विषयमा सहज गरिदिनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्पूर्ण मालपोत कार्यालयलाई परिपत्र गरिदिन र पैत्रिक सम्पत्ति आफ्नो नाममा ल्याउनको लागि सहजीकरण गरिदिन हुन सविनय अनुरोध गर्दछौं।
गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न प्रतिबद्ध छ। यसलाई साकार बनाउन विभिन्न एसियन राष्ट्रसंग सशक्त साझेदारी, प्रभावकारी नीति सहयोग र डिजिटल प्रवर्द्धनलाई प्राथमिकता दिँदै नेपालमा रहेका पूर्वाधार, सुरक्षा, हवाई सेवा र अन्य चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्न आह्वान गर्दछौं।
बृहत एकताका लागि हदैसम्मको लचकता अपनाउने साथै संघको व्यापक हितका लागि सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै आगामी अक्टोबर ११ देखि १४ मा १२ औँ महाधिवेशन एवं विश्व सम्मेलन आयोजनाका लागि एकबद्ध भई काम गर्न आह्वान गर्दछौं।
अन्त्यमा, हामीले विभिन्न क्षेत्रहरूमा नेपाली मूलका विदेशी नागरिक० र दोस्रो पुस्ताका युवाहरूलाई समेट्यौं, उनीहरूमा ध्यान केन्द्रित गर्यौं, उनीहरूको सफलताको कथा सुनायौं जसले यो सम्मेलनलाइ महत्त्वपूर्ण ऐतिहासिक बनाएको छ । पीएनओ, गैरआवासीय नेपालीहरु र विश्वभरिका ८० लाख नेपालीलाई आपसी विश्वास, समझदारी, एकता र सद्भाव कायम राख्दै आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्ने अवसर प्रदान गर्ने दिशामा यो सम्मेलन फलदायी रहेको हाम्रो निष्कर्ष छ । यस सम्मेलनलाई भव्यतापूर्वक सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, विज्ञहरू, सञ्चारकर्मी, प्रायोजक, आतिथ्य राष्ट्र एनसीसी थाईल्याण्ड, थाई नेपाली एसोसियसन, उद्घाटन शत्र आयोजना गरेकोमा तथा अन्य स्थानीय संघहरु, सामाजिक अभियन्ता तथा अग्रजहरु सहित सबै सरोकारवालाहरूलाई संघ हार्दिक आभार व्यक्त गर्दछ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावमा दुई जना नेपालीले निःशुल्क एमबिबिएस पढ्न पाउने भएका छन्। थाइल्याण्डमा जारी गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज सम्मेलनमा एसियन इन्टरनेसनल युर्निभर्सिटीमा एमबिबिएस अध्ययनका लागि दुई जना नेपालीलाई अवसर पाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
संघका तर्फबाट अध्यक्ष डा. बद्री केसीले र युर्निभसिर्टीका तर्फबाट रेक्टर एसएस देखकानोयले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। यस सम्बन्धि सम्पूर्ण प्रक्रियामा एनसिसी किर्गिस्तानका अध्यक्ष किसान भण्डारीले विशेष भूमिका निर्वाह गरेका थिए। उनकै पहलमा एनआरएनए र युर्निभसिटीबीच सम्झौता भएको हो।
त्यस्तै, पाल्पाकी ओजस्वी आचार्यलाई एनआरएनए ब्रान्ड एम्बसेडर घोषणा गरिएको छ। पाल्पास्थित दमकडा नमुना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत आचार्य एनआरएनएद्वारा आयोजित अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताकी अतिथी वक्ता समेत हुन्। सानै उमेरमा विदेशमा बस्ने नेपालीहरूलाई नेपालसँग जोड्न योगदान गरेको भन्दै संघको तर्फबाट अध्यक्ष डा. केसीले उनलाई एनआरएनए ब्रान्ड एम्बसेडर घोषणा गरेका हुन्।
काठमाडौं । सर्वोच्च अदालतले विद्युत महसुलबारे निर्क्योल गर्न ऊर्जामन्त्रीले गठन गरेको समितिलाई काम गर्न रोक लगाएको छ । सर्वोच्चले डेडिकेटेड र ट्रंक लाइनबाट वितरित विद्युत उपभोगबारे अध्ययन गर्न ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको समितिलाई काम गर्न नदिनू भनी अन्तरिम आदेश दिएको हो । मन्त्री खड्काले २ मंसिरमा अरविन्दकुमार मिश्रको संयोजकत्वमा समिति गठन गरेका थिए ।
न्यायाधीशहरु शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो । न्यायिक समितिले निर्क्योल गरेको महसुल मन्त्री खड्काले गठन गरेको समितिले छुट दिनसक्ने भन्दै अधिवक्ता खडानन्द कँडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनले अदालत वा विद्युत नियमन आयोगबाट मात्रै समिति गठन हुनुपर्ने माग राखेका थिए । सर्वोच्चले अन्तरिम आदेशको विवरण सार्वजनिक गरिसकेको छैन ।
३ चैत, काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला भएर कुनै पनि प्रदर्शन गर्न नपाउने भन्दै मन्त्री निवास लगायत केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। आइतबार जारी भएको विज्ञप्तिमा पुल्चोकस्थित पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र निषेधाज्ञा लगाइएको उल्लेख छ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्यमुख्य प्रशासनिक केन्द्रमा भेला भई धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न नपाइने जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेश ढकालले जानकारी दिए। उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम विगतदेखिकै निरन्तरताको रूपमा सोमबारदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गरेका हो।
काठमाडौं । प्रभु बैंकले मुक्तिनाथ मन्दिर परिसरमा शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम यूपीआई सेवा सुरु गरेको छ। उक्त सेवा सुरुवातसँगै अब भारतका नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआई मार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने छन् । यसले मुक्तिनाथ मन्दिर आउने भारतीय भक्तजनलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्ध थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
साथै, यो सेवाबाट क्रस बोर्डर ।सीमापार) डिजिटल भुक्तानी प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालय प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्ति उपस्थित थिए ।
राष्ट्र बैंक गभर्नर अधिकारीले भीम यूपीआई सेवा सुरुवातले डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उल्लेख गरे । उनले भक्तजनका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानी सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नवीनतम प्रविधि प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए । उनले डिजिटल भुक्तानी प्रविधि नेपालभरि सर्वसुलभ बनाउने तथा वित्तीय पहुँच विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने उल्लेख गरे ।
काठमाडौं, ३ चैत । चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ । यो संख्या गत आव २०८०–८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो ।
अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष नेपालीको प्रमुख गन्तव्य खाडी मुलुक युनाइटेड अरब इमिरेट्स रहेको छ । विभागका अनुसार फागुनमा मात्र यूएईका लागि २५ हजार १ स य१७ जनाले श्रम स्वीकृति लिएका छन् । योसँगै ८ महिनामा यूएईका लागि कुल १ लाख ७३ हजार २ सय ५० जनाले श्रम स्वीकृति लिएका छन् । यूएईपछि साउदी अरब, कतार, कुवेत, मलेसिया प्रमुख गन्तव्य रहेको देखिन्छ ।
यद्यपि, यस वर्ष मलेसियाको रोजगारीमा भने भारी गिरावट आएको छ । गत वर्ष प्रमुख गन्तव्य मलेसिया रहेकोमा यस वर्ष पाँचौं स्थानमा झरेको छ । यस वर्ष फागुनमा जम्मा ३ हजार ७ सय १५ युवाले मात्र मलेसियाका लागि श्रम स्वीकृति लिएको देखिएको छ । जापानमा १ हजार ९ सय ६६ र कोरियामा १ हजार ८ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । क्रोएसिया, रोमानिया, ओमान, बहराइन समेत धेरै नेपाली श्रम गर्न जाने देशमा पर्छन् ।
यस वर्ष साउनमा ५९ हजार ५ सय ७५ जना विदेशिएको तथ्यांक छ । भदौमा ५७ हजार ४ सय ९३, असोज ५३ हजार ५ सय २५, कात्तिक ७० हजार ९ सय ९०, मंसिर ८४ हजार २ सय २६ र पुसमा ६७ हजार २ सय ५८ जना विदेशिएका थिए । त्यस्तै माघमा ७२ हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् ।
३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरण परीक्षण क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो ।
हाल चुहिएको सुरुङ मर्मत र सुधारको काम धमाधम भइरहेको छ । १ सय २ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिउँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्त्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एवं मध्यभोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समिति अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसन अनुगमन भ्रमण गरी निर्माण प्रगतिबारे जानकारी लिएको छ । मध्यभोटकोशीबाट उत्पादित विद्युत् प्रवाह हुने तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोक बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।
प्रसारण लाइन आयोजना अन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा भइसकेका छन् । करिब एक किलोमिटर मात्र तार तान्न बाँकी छ । ४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन तत्काल २०० केभीमा सञ्चालन (चार्ज) मा ल्याएर मध्यभोटेकोसीको विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा समाहित गरिने छ । उक्त लाइन २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ ।
कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीबाट खिम्ती–बाह्रबिसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा भइरहेका काम र गर्नुपर्ने बाँकी कामका विषयमा छलफल गरी बाँकी काम तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ ।
प्रसारण लाइन अन्तर्गत सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कामसमेत टोलीले निरीक्षण गरेको थियो । हिउँदयामको विद्युत् भार व्यवस्थापन गर्न ४० मेगावाटको पनि ठूलो भूमिका हुने भएकाले दुवै आयोजना निर्माण संवेदनशील र अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैं फिल्डमा आएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रूपमा लिएर बाँकी काम आवश्यक समन्वय गरी तीव्र अगाडि बढाउन निर्देशन दिए ।
बाह्रबिसे नगरपालिका–५ स्थित मध्यभोटेकोशी आयोजनाको विद्युत्गृह स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माण गरिएको हो । बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । आयोजना अन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
काठमाडौं । चोरीका ल्यापटप र मोबाइलसहित चार युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा दैलेखको दुल्लु नगरपालिका–९ का ३४ वर्षीय भक्तबहादुर रोकाय, कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २७ वर्षीय टेकबहादुर रावल, नुवाकोटको बेलकोटगढी नगरपालिका–८ का २७ वर्षीय अनिल नेपा र गुल्मीको धुरकोट गाउँपालिका–५ का ३८ वर्षीय रन्जित कुँवर छन् ।
यो समूहले ६ फागुनदेखि पटक पटक विभिन्न स्थानहरूबाट चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरूबाट चोरीका ल्यापटप ६ थान र मोबाइल ५ थान बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी सीडीओ स्किम श्रेष्ठले आज ४ बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राप्रपा र नेकपा माओवादी केन्द्रलाई राखेर समन्वयात्मक बैठक राखेकी थिइन् ।
बमको रिहाइका लागि राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापा र नेकपा माओवादी केन्द्रका मकवानपुर संयोजक भीम पाख्रिन तथा नेता प्रेमबहादुर पुलामीबीच सहमति भएको राप्रपा सहकोषाध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए । रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ । पक्राउ परेका कालिकोटका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनले हेटौंडाको एक कार्यक्रममा शनिबार प्रचण्डको तस्वीर जलाएका थिए । उनले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको तस्वीर जलाएका थिए । उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको थियो ।
उता, प्रचण्डले समेत सामाजिक सञ्जालबाट विरोधका विभिन्न शैली हुने भन्दै ती नेतालाई पक्राउ गर्नु गलत भएको बताएका थिए ।
काठमाडौं । गाजामा युद्धविरामका लागि कतारमा भइरहेको वार्ता विफल भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। इजरायल र हमासबीच जारी लडाइँ रोक्न मध्यस्थता गरिएको भए पनि दुई पक्षबीच ठूलो मतभिन्नता रहेको बीबीसीले लेखेको छ । संयुक्त राज्य अमेरिकाले हमासलाई अव्यावहारिक मागहरू राखेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्धविरामका लागि एउटा प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्तावमा जारी युद्धविरामको पहिलो चरण एप्रिल महिनाको बीचसम्म लम्ब्याउने उल्लेख छ।
यसअघि ट्रम्पले अमेरिका गाजा स्ट्रिप आफ्नो अधीनमा लिन र त्यहाँ बसोबास गरिरहेका प्यालेस्टिनीहरूलाई अन्य क्षेत्रमा स्थायी पुनर्वास गराउन इच्छुक रहेको बताएका थिए। इजरायलले दोस्रो चरणमा गाजाबाट आफ्नो फौज फिर्ता गर्ने यसअघिको सम्झौता कार्यान्वयन गर्न विलम्ब गरेको छ। उसले गाजामा जाने सहायता र विद्युत् आपूर्ति पनि काटिदिएको छ।
हमास लडाकु समूहले बन्धक बनाएका मानिसहरूलाई यथाशीघ्र मुक्त गरिनुपर्ने इजरायलको अडान छ। हमासको नियन्त्रणमा रहेकामध्ये अझै २४ जना जीवित रहेको ठानिएको छ। उक्त लडाकु समूहले बन्धक बनाएका अन्य ३५ जना मारिएको ठानिएको छ। जीवित रहेकामध्ये र इजरायली दोहोरो नागरिकता भएका २१ वर्षे सैनिक एडन एलेक्जेन्डर पनि रहेको बताइएको छ। हमासको नियन्त्रणमै रहेका अन्य चार अमेरिकी नागरिकको मृत्यु भइसकेको विवरण आएका छन्।
सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा इजरायलमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी विपिन जोशीलाई पनि हमासले नियन्त्रणमा लिएको ठानिएको छ। यद्यपि उनको अवस्था अज्ञात छ। पहिलो चरणको युद्धविरामका क्रममा रिहाइ गर्नेहरूको सूचीमा जोशीको नाम समावेश नभएपछि नेपाली अधिकारीहरूले दोस्रो चरणको युद्धविराममा उनलाई रिहा गराउने पहल भइरहेको बताउँदै आएका थिए। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए।
काठमाडौं । अमेरिकी सेनाले इराकको अल-अनबर क्षेत्रमा खुफिया अपरेशन सञ्चालन गरेको एयर स्ट्राइकमा आईएसआईएस नेता अबू खदीजा मारिएको दावि गरेको छ । अमेरिकी सेनाको अपरेशनले आईएसआईएसको नेतृत्व तहमा ठूलो धक्का पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । दुवैले लगाएको आत्मघाती ज्याकेट पहिरिएका भए पनि ती विस्फोट नभएको अवस्थामा फेला परेका थिए।
अमेरिकी सेनाले खदीजाको सवारीलाई लक्षित गरेर आक्रमण गरेको थियो। अपरेशनमा इराकी सेनासँग संयुक्त रूपमा अमेरिकी सेनाले भाग लिएको थियो।हमलापछि अधिकारी घटनास्थल पुगेका थिए, जहाँ आत्मघाती ज्याकेट लगाएका दुवै मानिसको शव फेला परेका थिए। सेनाले खदीजाको डीएनए परीक्षण गरेर पहिचान पुष्टि गरेको छ। अबू खदीजाको वास्तविक नाम अब्दुल्ला मक्की मुस्लीह अल–रिफाइ हो। अबू खदीजाको वास्तविक नाम अब्दुल्ला मक्की मुस्लीह अल(रिफाइ थियो । उनी सन् २००९ मा अल-कायदासँग आबद्ध भएका थिए । सन् २०११ मा जेलबाट भागेपछि २०१४ मा आईएसआईएसमा सामेल भए।
त्यसपछि उनी शीर्ष तहमा पुगेपछि इराक र सिरियामा संगठन विस्तार गरे। सन् २०१९ मा अबू बकर अल-बग्दादीको मृत्युपछि आईएसआईएको प्रमुख बने। उनी आईएसआईएको ग्लोबल अपरेसन, योजना, र वित्तीय व्यवस्थापनका प्रमुख व्यक्ति थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खदीजाको मृत्युलाई महत्वपूर्ण विजय भनेका छन् । ‘आईएसआईएसको भगौडा नेता मारिएको छ। हाम्रा बहादुर सैनिकहरूले लामो समयदेखि उसको खोजी गरिरहेका थिए, अन्ततः उसको अन्त्य भयो,’ उनले भने ।
इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले पनि यो कारबाहीलाई ठूलो सफलता भनेका छन् । ‘अबू खदीजा इराक र संसारका सबैभन्दा खतरनाक आतंककारीहरूमध्ये एक थियो। हाम्रो सेनाले उसको अन्त्य गरिदिएको छ,’ उनले भने । खदीजा आईएसआईएसको ग्लोबल अपरेसन, योजना तथा वित्तीय व्यवस्थापनमा प्रमुख भूमिकामा थिए। अमेरिकी सेनाका अनुसार, उनी आईएसआईएस संगठनका सबैभन्दा प्रभावशाली सदस्यमध्ये एक थिए।
इराकमा अहिले पनि २,५०० अमेरिकी सैनिक तैनाथ छन्। आईएसआईएको गतिविधिलाई नियन्त्रण गर्न इराक र अमेरिका मिलेर अपरेशन सञ्चालन गरिरहेका छन्। सन् २०१७ मा इराक र २०१९ मा सिरियामा आईएसआईएसलाई ठूलो धक्का दिइएको थियो, तर संगठनका केही सदस्यहरू अझै सक्रिय छन्। अमेरिकी सेनाले सेप्टेम्बर २०२४ मा सिरियामा आईएसआईएस र अल-कायदासम्बद्ध समूहहरू विरुद्ध कारबाही गरेको थियो।
काठमाडौं । घरजग्गा कारोबारबाट फागुन महिनामा मात्र चार अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । देशभर घरजग्गा कारोबार विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा फागुनमा राजस्व संकलन बढेको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागले जनाएको छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार संकलन भएको छ ।
विभागले गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मंसिरमा रु तीन अर्ब ८७ करोड, पुसमा रु चार अर्ब २५ करोड २२ लाख र माघमा रु तीन अर्ब ८७ करोड २४ लाख राजस्व संकलन गरेको थियो ।
मालपोत कार्यालय कलंकीले गत फागुनमा रु २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले रु २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले रु ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले रु तीन करोड ९४ लाख ४१ हजार राजस्व संकलन गरेको विभागले जनाएको छ ।
काठमाडौं । कैलालीमा अनियन्त्रित भएर एक कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको बा १७ च९६४५ नम्बरको स्कारपियो कार शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–३ को चौकीडाँडास्थित एक घरको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा कार चालक कृष्णपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय सिवित रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले अनियन्त्रित भएको गाडी सडकभन्दा करिब ५० मिटर दक्षिणतर्फ रहेको बहादुर कडाराको पक्की घरको भित्तामा ठोक्किएको बताए । घरको भित्तामा ठोक्किएपछि गम्भीर घाइते भएका चालक रानाको राति साढे ९ बजे सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए ।
काठमाडौं । अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको खबर सार्वजनिक भएको छ । सो क्रममा ९ जना मारिएका छन् । हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको समाचारमा उल्लेख छ । हुथी विद्रोहीहरुले सन् २०२३ को नोभेम्बरदेखि शिपिङलाई लक्षित गरी १०० बढी हमला गरेका छन् । हालै हुथी विद्रोहीहरुले आक्रमण गरी दुई जहाज समुद्रमा डुबाइदिएका थिए । एउटालाई कब्जा गरेका थिए । करिब चार जनाको मृत्यु भएको थियो । हुथीको आक्रमणबाट ढुवानी कम्पनीहरुलाई दक्षिण अफ्रिकाको आसपास हुँदै लामो र महँगो यात्रा गर्नुपरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै हुथी र उसको मुख्य समर्थक इरानलाई आक्रमण नरोके गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका थिए । त्यसपछि शनिबार अमेरिकी सेनाले यमनको सना क्षेत्रमा हवाई आक्रमण गरेको हो । हुथीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकाको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ भने थप नौ जना घाइते भएका छन् ।
युएस सेन्ट्रल कमाण्डले सोसल मिडियामा लेखेको छ ‘अमेरिकी हितको रक्षा गर्न, दुश्मनलाई रोक्न र जहाजलाई स्वतन्त्रपूर्वक ढुवानीको वातावरण मिलाउन यमनमा इरान समर्थित हुथीको अखाडामा सटिक हमला सहित सैन्य अपरेसन सुरु गरिएको छ ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी सेनाले यमनको सनास्थित हुथी विद्रोही बसेको एक भवनमा आक्रमण गरेको थियो । स्थानीय अब्दुल्ला याहियाले आक्रमण डरलाग्दो भएको बताएका छन् । ठूलो विष्फोटको आवाज आएको र भूकम्प आएजसरी जमिन हल्लिएको उनको भनाइ छ ।
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ ।
इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन् ।
काठमाडौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको दावि गरेको छ । देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललनमा समाजवादी मोर्चाले सो धारणा राखेको हो । मोर्चाले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको पनि उल्लेख गरेको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाह¦को अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।
मोर्चाले सरकारको गलत रबैयाका कारण जनतामा असन्तुष्टि बढ्दै गएको पनि जिकिर गरेको छ । ‘नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ,’ मोर्चाको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा ‘अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा सरकार उद्धत रहेको तथा सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ’ उल्लेख छ ।
मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको भन्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् । समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफूले यो विषय उठाएको बताए । ‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेलै हामी निष्पक्ष छानबिनको कुरा उठाएका थियौं । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि मैले यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’
प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए । अहिलेको संविधानमा रहेको समाजवाद उन्मुख गणतन्त्रलाई वैज्ञानिक समाजवादसम्म पुग्ने लक्ष्यसहित चारवटै पार्टी मिलेर समाजवादी मोर्चा बनेको उनले बताए । प्रचण्डले सार्वभौम जनताले ल्याएको गणतन्त्रमाथि धावा बोल्न संविधानले नै रोकेको भन्दै त्यस्तै अवस्था ल्याउन खोजे जनताको सार्वभौमसत्ता कायम गराइराख्न चुप लागेर नबस्ने बताए ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताएका छन् । स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उनको भनाइ छ ।
‘पहिले पहिले विदेशमा उपचार गरेको भन्दै मन्त्रिपरिषद्बाट मनलाग्दी रकम दिने चलन थियो । तपाईंको छोरो कतारमा काम गरेर बडो दुःख गरेर यहाँ पैसा पठाउने । गाउँको अस्पतालमा डाक्टर पुर्याउन मुस्किल हुने । अनि, ठूला नेता उपचार गर्न जापान, अमेरिका जाने र सरकारले पैसा दिने हुँदै आएको थियो,’ थापाले भने, ‘म स्वास्थ्यमन्त्री भएका बेला विदेशमा गएर उपचार गर्ने विशिष्ट होस् या सामान्य जनता कसैले पनि पैसा नपाउने कानुनी व्यवस्था गरियो । त्यस्तै व्यवस्था पूर्वविशिष्टहरूलाई दिइने सुविधाको विषयमा पनि गर्न जरुरी छ ।’
शनिबार पाँचथरमा आयोजित नेपाली कांग्रेसको सभालाई सम्बोधन गर्दै थापाले राज्यकोषबाट पैसा बाँड्न नभई पैसा वितरण रोक्ने कानुन बनाउनु पर्ने बताए । ‘अहिले सरकारले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सेनापति, सभामुख भइसकेको व्यक्तिहरूलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिन्छु,’ उनले भने, ‘त्योबाहेक राष्ट्रको ढुकुटीमा अत्यन्त ठूलो दबाब परेको छ, त्यसकारण सरकारले चाहेको बेलामा मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यास छ यो अभ्यासलाई कानुन बनाएर रोक्छु भन्नुपर्छ ।’
२ चैत, काठमाडौं । स्पेसएक्सले अन्तरिक्षयात्री सुनीता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउनका लागि नयाँ दलका साथ इन्टरनेशनल स्पेस स्टेशनतर्फ रकेट लञ्च गरेको छ । दुवै अन्तरिक्षयात्री ८ दिनका लागि मात्र इन्टरनेशनल स्पेस स्टेशन गएका थिए । तर स्पेसक्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरु पछिल्लो ९ महिनादेखि अन्तरिक्षमै थिए । नयाँ दल स्पेस स्टेशनमा पुगेको दुई दिनपछि अन्तरिक्षयात्री पृथ्वीतर्फ आउनेछन् ।
नासाका कमर्शियल क्रू प्रोग्राम म्यानेजर स्टीभ स्टिचले यस मिसनलाई लिएर आफूहरु उत्साहित रहेको बताए । उनले भने, ‘बुच र सुनीताले धेरै राम्रो काम गरेका छन् । अब उनीहरुलाई फिर्ता ल्याउन हामी उत्सुक छौ ।’ सुनीता र बुच ४ जुन २०२४ मा परीक्षण मिसनका लागि बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट अन्तरिक्षमा गएका थिए ।
२ चैत, काठमाडौं । नेपाली युवा एयरोस्पेस इन्जिनियर सुशान्त खड्काले सामान डेलिभरी गर्ने ड्रोन र प्रक्रियाको विकास गरेका छन् । खड्काले आविष्कार गरेको प्रविधिलाई स्मार्ट हवाई रिसेप्शन (सार) प्रणाली र भिटोल ड्रोन नामाकरण गरिएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । हाल अमेरिकी सेनाको परियोजनामा कार्यरत खड्काले आफ्नो आविष्कारको लागि अमेरिकी सरकारबाट पेटेन्ट राइट प्राप्त गरेका छन् ।
उनको यो प्रविधिले ड्रोनमार्फत सामान ढुवानीलाई सुरक्षित, तीव्र, र स्वचालित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। उपभोक्ताले आकाशबाट सिधै घर, अफिस वा अस्पतालमा सामान प्राप्त गर्न सक्नेछन्। यो प्रविधिको विकासपछि खराब मौसममा बाहिर ननिस्केर पनि सामान प्राप्त गर्न सकिनेछ, चोरीको जोखिम हट्नेछ, र कुर्नुपर्ने झन्झट अन्त्य हुनेछ।
सार प्रणालीले ड्रोनलाई वायुविशेष नियन्त्रण प्रणालीमार्फत भवन भित्र स्वचालित रूपमा पुर्याउन मद्दत गर्छ। यो प्रविधि अस्पताल, ठूला आवासीय क्षेत्र, व्यापारिक प्रतिष्ठान, तथा साधारण उपभोक्ताका लागि अत्यन्त उपयोगी हुनेछ। ड्रोन डेलिभरी प्रणाली अन्तर्गत ड्रोनले उडेर तोकिएको स्थानमा रहेको युनिटमा सामान राख्छ। अंग प्रत्यारोपणका लागि मानव अंग, रगत र महत्वपूर्ण औषधिहरू सिधै अपरेटिङ कक्षमा पुर्याउन सकिनेछ।
उनका अनुसार व्यावसायिक प्रतिष्ठान, गोदाम र कारखानामा मानिसको हस्तक्षेप बिना सुविधाजनक तरिकाबाट स्वचालित डेलिभरी हुनेछ। स्मार्ट सिटीमा ट्राफिक जाम र ढिलाइ बिना निर्बाध सामान ढुवानी हुनेछ। ‘‘हाम्रो प्रविधि केवल सामान ढुवानीको सुविधा मात्र होइन, यो स्वायत्त स्मार्ट सिटीको आधारभूत पूर्वाधार हो, जसले वायुविशेष नियन्त्रण प्रणालीमार्फत भवनहरूभित्र ड्रोन डेलिभरीलाई सहज बनाउँछ’’, उनले भने । ई–कमर्स, अस्पताल, तथा रसद कम्पनीहरू ड्रोन प्रविधिमा तीव्र रूपमा लागिपरेका बेला, खड्काको पेटेन्ट प्रणालीले हवाई डेलिभरीलाई सर्वसुलभ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, शनिबार बिहान अन्दाजी साढे ४ बजेतिर काठमाडौं ३२, तिनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसक्रममा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङ गम्भीर घाइते भएका थिए ।
एसपी बोहोराका अनुसार, उनीहरुलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर पठाइएको थियो । उपचारका क्रममा बिहान साढे ५ बजे सुकराम तामाङको मृत्यु भएको छ । अर्का घाइते रमेश तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरलाई प्रहरीले विमानस्थलको कार्गोभित्र फेला पारेको छ भने चालक फरार छन् ।