Category: फिचर

  • प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्ने

    प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसदमा बोल्नका लागि संसदसँग समय माग्नुभएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ, मुख्य सचेतक बर्तौलाले बताए ।

    त्यस्तै दलहरूबीच लोकतन्त्र र गणतन्त्रविरुद्ध अराजकतावादी शक्तिहरूले गरेका गतिविधिलाई संसद्‍ले पनि ख्याल गर्नुपर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ । त्यस्तै संसद्‍बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ ।

  • माटोको ढिस्काले पुरिँदा दुई जनाको मृत्यु

    माटोको ढिस्काले पुरिँदा दुई जनाको मृत्यु

    काठमाडौं । माटोको ढिस्कोले पुरिँदा मंगलसेन नगरपालिका ८ सुतुडाका दुई महिलाको मृत्यु भएको छ । वडा नम्बर ९ पान्लिभिडमा चैतेदसैंका लागि घर लिपपोत गर्न माटो ल्याउन गएका एकाघरका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

    डीएसपी भण्डारीका अनुसार उनीहरू दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएका हुन् । घटनाको थप जानकारीका लागि प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

  • विदेशी मुद्रा सञ्चिति साढे २३ खर्ब माथि

    विदेशी मुद्रा सञ्चिति साढे २३ खर्ब माथि

    काठमाडौं । माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति रकम २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ । सञ्चित भएको यो विदेशी मुद्रा हालसम्मकै उच्च हो । सात महिनामा विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने सोही अवधिमा मुद्रा सञ्चिति ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ बराबर छ । जसमा भारतीय मुद्रा सञ्चिति सबैभन्दा धेरै २२ प्रतिशत छ । चालु आवको सात महिनाको आयातलाई आधार मान्दा हालको सञ्चितिले १७.२ महिनाको वस्तु र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

  • चालु आवको ७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

    चालु आवको ७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रेमिट्यान्स रकम ७.३ प्रतिशत बढेको हो ।

    अमेरिकी डलरमा भने ५.३ प्रतिशत मात्रै रेमिट्यान्स वृद्धि भएको छ । माघ महिनामा मात्रै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ छ ।

    पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

  • सिरिया हिंसामा मारिनेको संख्या हजार माथि

    सिरिया हिंसामा मारिनेको संख्या हजार माथि

    काठमाडौं । सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएका झडपमा एक हजारभन्दा बढीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कम्तीमा ७४५ जना सर्वसाधारण रहेको बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले उल्लेख गरेको छ । एसओएचआरका अनुसार झडपमा पूर्वराष्ट्रपति असद समर्थित १४८ र सरकारी फौजका १२५ जनाले ज्यान गुमाएका छन् । सिरियामा १४ वर्षयताकै सबैभन्दा ठूलो हिंसा हो ।

    अपदस्थ पूर्वराष्ट्रपति असदप्रति बफादार ‘अलावाइट लडाकु’ ले तटीय लताकिया प्रान्तको जाब्लेहमा सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप सुरु भएको हो । लगत्तै सिरियाली सरकारले विद्रोहलाई दबाउन सक्रियता अपनाएपछि देशभरबाट हजारौं लडाकु उक्त क्षेत्रमा जम्मा भएका थिए । असदलाई हटाएपछि विद्रोहीले सत्ता लिएको तीन महिनापछि भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई चुनौती दिएको छ ।

    इस्लामिक विद्रोही समूह हयात तहरिर अल–शामको नेतृत्वको समूहले सिरियाली राष्ट्रपति बसर अल असदको शासन तीन महिनाअघि ढालेको थियो । सिरिया सरकारले असदप्रति बफादार फौजको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको जनाएको छ । ‘व्यक्तिगत स्वार्थ’ का कारण हिंसा फैलिएको सरकारको दाबी छ ।

    सिरियाका अन्तरिम राष्ट्रपति अहमद शाराले राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् । ‘हामीले राष्ट्रिय एकता र नागरिक शान्तिलाई सकेसम्म धेरै जोगाउनुपर्छ, ईश्वरको इच्छा भएमा हामी यस देशमा सँगै बस्न सक्षम हुनेछौं,’ शाराले दमास्कसको एक मस्जिदबाट भनेका छन् । उनले पछिल्ला घटना असद शासनको पतनपछिका अपेक्षित चुनौतीको हिस्सा भएको दाबी गरेका छन् ।

    झडपपछि लताकिया सहर र वरपरका क्षेत्रमा बिजुली र खानेपानीको लाइन काटिएको एसओएचआरले जनाएको छ । अपदस्थ राष्ट्रपति असदको मुख्य गढ मानिएको लताकिया र टार्टसस्थित तटीय प्रान्तबाट सयौं मानिस आफ्नो घर छाडेर भागेको बीबीसीले जनाएको छ । आफ्ना सुरक्षाकर्मीमाथि ‘विश्वासघाती आक्रमण’ गरेपछि सरकारले स्थिति पुनः नियन्त्रणमा लिएको केही समाचार संस्थाले सिरियाली रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै जनाएका छन् ।

    ‘हिंसाले अलावाइट समुदायलाई त्रासको अवस्थामा पुर्‍याएको छ,’ सहरका एक अभियन्ताले बीबीसीसँग बताएका छन् । सिरियामा कुल जनसंख्याको करिब १० प्रतिशत अलावाइट जाति छन् । सयौं मानिस प्रभावित क्षेत्रबाट भागेको उनको भनाइ छ । समाचार संस्था रोयटर्सका अनुसार झडपपछि ठूलो भीडले लताकियाको ह्मेइमिममा रहेको रुसी सैन्य अड्डामा शरण लिएको थियो ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार दर्जनौं परिवार भागेर छिमेकी देश लेवनान पुगेका छन् । सिरियाका लागि राष्ट्रसंघीय विशेषदूत गेयर पेडरसनले सिरियाका तटीय क्षेत्रमा ‘धेरै नागरिक हताहत भएको चिन्ताजनक रिपोर्टहरू आएको र यसबाट गहिरो चिन्ता लागेको’ बताएका छन् । उनले सबै पक्षलाई देशमा अस्थिरता उत्पन्न हुने र समावेशी राजनीतिक संक्रमणलाई खतरामा पार्न सक्ने कार्यबाट टाढा रहन आह्वान गरेको बीबीसीले जनाएको छ ।

  • एमालेपछि राप्रपालाई समेत महानगरले तिरायो एक लाख जरिवाना

    एमालेपछि राप्रपालाई समेत महानगरले तिरायो एक लाख जरिवाना

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरले आइतबार साँझ पत्र काटेर जरिवाना तोकेको हो । पत्रमा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको उल्लेख गरिएको छ ।

    महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम एक लाख जरिवाना गरेको पत्रमा उल्लेख गरेको छ । राप्रपाले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला क्षेत्रमा कार्यकर्ता उतारेको थियो ।

    पूर्वराजा ज्ञानेन्द्र पोखराबाट चार्टड विमानमा काठमाडौं आएका हुन् । शाहवंशको कूलमन्दिरका रूपमा रहेको स्याङ्जाको आलमदेवी पुगेका ज्ञानेन्द्र केही दिनदेखि पोखरामै रहेका थिए । ठाउँठाउँमा र्‍यालीका लागि निस्किएको भीडका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको थियो । विमानस्थल वरपर भीड भएकाले सुरक्षा व्यवस्था कडा पारिएको थियो । यसअघि महानगरपालिकाले एमालेलाई समेत यस्तै जरिवाना तिराएको थियो ।

  • आफ्नै पसल जलाएर बीमा दावि

    आफ्नै पसल जलाएर बीमा दावि

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडस्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले जनालाई प्रहरीले पक्राउ गरेको छ। पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले सञ्चालक लोहारले पसलको एक करोड बराबरको बिमा गराएको र बिमा रकम लिन आफैंले पसलमा आगजनी गरेको पाइएको जानकारी दिए । आइटी हबका फागुन १६ गते साँझ ७ बजे आगो लागेको थियो। आगलागी करिब ४५ मिनेटमा नियन्त्रणमा आएको थियो।

    लोहारले शिखर इन्स्योरेन्स कम्पनी बिमा गराएकाले क्षतिपूर्तिका लागि दाबी गरेका थिए । अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेकाले सन्देह लागेर अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो। लोहारमाथि जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप भएको छ। लोहारमाथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • क्यानडामा नयाँ प्रधानमन्त्री बन्दै मार्क, अमेरिकासँगको सम्बन्ध के होला ?

    क्यानडामा नयाँ प्रधानमन्त्री बन्दै मार्क, अमेरिकासँगको सम्बन्ध के होला ?

    काठमाडौं । बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर मार्क कार्नीलाई क्यानडाको सत्तारूढ लिबरल पार्टीले नयाँ नेता चयन गरेको छ । यससँगै उनी देशका आगामी प्रधानमन्त्री बन्ने भएका छन् । उनले यस वर्षको सुरुवातमा पदबाट राजीनामा दिएका जस्टिन ट्रुडोको स्थान लिनेछन् । ५९ वर्षीय कार्नीले ८६ प्रतिशत सदस्यहरूको मत प्राप्त गरेका छन् । कुनै राजनीतिक पृष्ठभूमि नभएको व्यक्ति क्यानडाको प्रधानमन्त्री बन्न लागेको यो पहिलोपटक भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

    राजनीतिमा नयाँ आएका कार्नीले पार्टीलाई पुनर्जीवित गर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार वार्ता गर्न सबैभन्दा उपयुक्त व्यक्ति आफू भएको तर्क गरेका छन् । कार्नीले भनेका छन्, ‘जी–७ का दुई केन्द्रीय बैंकहरूको गभर्नरको रूपमा सेवा गर्ने पहिलो व्यक्ति भएको नाताले मेरो अनुभवले प्रमाणित गर्छ कि म ट्रम्पसँग व्यवहार गर्न सबैभन्दा सक्षम छु ।’ ट्रम्पले क्यानडामा अतिरिक्त कर लगाउने धम्की दिइरहेका छन् । यदि त्यसो भएमा क्यानडाको निर्यात–निर्भर अर्थतन्त्रलाई असर गर्न सक्ने अनुमान छ ।

  • इजरायलले किन रोक्दैछ गाजामा बिजुली ?

    इजरायलले किन रोक्दैछ गाजामा बिजुली ?

    काठमाडौं । इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्ने भएको छ । ५९ बन्धक रिहाइमा दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल इलेक्ट्रिसिटी कर्पोरेसनलाई गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्न आदेश दिइसकेको जानकारी दिए । उनले भने ‘मैले गाजा क्षेत्रका बिजुली आपूर्ति तुरुन्तै बन्द गर्ने निर्णयमा हस्ताक्षर गरिसकेको छु । हामी आफ्नो हातमा रहेका सबै उपाय प्रयोग गर्नेछौं, ताकि बन्धकहरूको रिहाइ होस् र गाजाबाट हमासको अन्त्य सुनिश्चित गर्न सकियोस् ।’

    इजरायलले पानीको आपूर्ति पनि बन्द गर्ने विषयमा समेत विचार गरिरहेको बीबीसीले जनाएको छ । गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य आवश्यक वस्तुहरू बोकेका गाडीहरूको सडक बन्द गरिदिएको थियो । इजरायल हमासले युद्धविरामको पहिलो चरण विस्तार गर्न सहमति जनाओस् भन्ने चाहन्छ । तर, हमासले युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता सुरु गरियोस् भन्ने चाहेको छ ।

    हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमाथि एक्कासी हमला गरेर १० नेपालीसहित १२ सय जनाको ज्यान लिएपछि इजरायलले हमासलाई लक्षित गरी गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । त्यसपछि सुरु भएको भिषण युद्धको क्रममा ४६ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएपछि सन् २०२५ को जनवरी १५ मा इजरायल–हमास युद्ध विराम सहमति भएको थियो । युद्धविरामको कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो । पहिलो चरणको युद्धविरामको क्रममा हमास र इजरायलले बन्धक बनाएकाहरुलाई मुक्त गरेका छन् । पहिलो चरणको युद्धविराम सन् २०२५ को १ मार्चबाट सकिएको छ ।

  • काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, ५ पक्राउ

    काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, ५ पक्राउ

    काठमाडौं । काठमाडौंमा हत्या गरी बोराभित्र राखेर फालेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। शनिबार मध्याह्न करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो। करिब ३५ वर्षीया महिलाको शव भेटिएको हो। अनुसन्धानको क्रममा महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोरालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    उनले महिलाको हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको बताए। उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ आइतबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा सर्लाही बागमती ढुंगेखोला घर भई कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भई सोही वडामा बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट मेघाङ ४ घर भई सोही वडामा बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भई गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालक छन्। मृत भेटिएकी महिलाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। मृत्यु हुनेको सनाखत भएको छैन।

  • कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु

    कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु

    काठमाडौं । कांग्रेसले आइतबारबाट ‘मिसन रोजगारी अभियान थालेको छ । अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताए । महामन्त्री थापाका अनुसार राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगारकेन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको हो ।

    आइतबार अभियान सुरु गर्दै महामन्त्री थापाले विमर्शको केन्द्रमा रोजगारी बनाउन अभियान सुरु गरिएको जानकारी गराए । उनले भने, ‘रोजगारी राजनीतिक मुद्दा बनेको न प्रतिस्पर्धाको मुद्दा ।’ मिसन रोजागारी अभियानमा प्रारम्भमा विभिन्न क्षेत्रसँग प्रारम्भमा संवाद गरिने भएको छ । फरक–फरक क्षेत्रका व्यक्तिहरूसँग संवाद हुँदा त्यसबाट समस्याको पहिचान हुने कांग्रेसले जनाएको छ ।

    साथै, रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने कांग्रेसले जानकारी गराएको छ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायत छन् ।

    पार्टीभित्रबाट नै रोजगारीका सन्दर्भमा अध्ययन अनुसन्धान गर्न समूह बनाउने कांग्रेसले जनाएको छ । आन्तरिक समूहमा अनुसन्धानकर्ता, विज्ञ, इन्टर्न, पार्टीका विभिन्न विभाग र संयन्त्र सम्मिलित हुनेछन् । अभियानका क्रममा रोजगारी सिर्जना गर्न भएका समस्या निराकरणका लागि स्वतन्त्र अनुसन्धानकर्ता, विश्वविद्यालय, थिंक ट्यांक, अनुसन्धान संस्था, सरकारका संरचना, सरकारी–गैरसरकारी संस्थासँग सहकार्य कांग्रेसले गर्नेछ ।

  • पूर्वराजा समर्थकले देखाए काठमाडौंमा विशाल शक्ति प्रदर्शन

    पूर्वराजा समर्थकले देखाए काठमाडौंमा विशाल शक्ति प्रदर्शन

    काठमाडौं । पोखराबाट काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले भब्य स्वागत गरेका छन् । विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाए। पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजाले समर्थकहरूलाई अभिवादन गरे। समर्थकहरूले शाहलाई फूल, माला र खादाले स्वागत गरेका थिए ।

    पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित ठूलो संख्यामा समर्थकहरू विमानस्थलको मुख्यद्वारमा भेला भएका थिए। समर्थकहरूको प्रदर्शनका कारण विमानस्थल आसपासको यातायात व्यवस्था प्रभावित भएको थियो । अस्तव्यस्त ट्राफिक व्यवस्थाका कारण बच्चा बोकेका यात्रुहरू लगेज गुडाउँदै हिँडिरहेको देखिन्थे। पूर्वराजालाई रिङरोडमा हजारौं समर्थकले रोडशो मार्फत निर्मल निवास पु¥याएका छन् ।

  • अस्ट्रेलियामा समुद्री आँधीको कहर, हजारौं प्रभावित

    अस्ट्रेलियामा समुद्री आँधीको कहर, हजारौं प्रभावित

    काठमाडौं । समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा एक जनाको शब भेटिएको र १३ जना सैनिकहरू घाइते भएको अधिकारीहरूले बताएका छन्। अल्फ्रेड नाम दिइएको आँधीका कारण तीन लाखभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन्। आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ।

    तर आँधी जमिनमा आइपुग्न बाँकी रहेका कारण स्थानीय प्रशासनले यसको खतरा अझै नटरेको बताएका छन्। उक्त आँधी जमिनमा बज्रनुअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढलेका थिए। होचा क्षेत्रमा सडक डुबानमा परेका छन्। प्रहरीले एक जना ६१ वर्षका पुरुषको शब बाढीमा भेटिएको बताएको छ। ती व्यक्ति बाढीमा कार बगेर हराइरहेका पुरुष भएको अनुमान गरिएका छन्।

    उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन्। अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पुर्‍याउने पूर्वानुमान गरिएका छन्। शनिवारबाट आँधीको प्रभाव त्यसभन्दा भित्री क्षेत्रहरूमा पर्ने आकलन गरिएको छ।

    आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ। बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ। क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा छन्। दुवै क्षेत्रमा मौसमका दर्जनौँ चेतावनीहरू जारी गरिएका छन्।

    केही क्षेत्रका बासिन्दाहरू कैयौँ दिनसम्म बिजुलीबिनै बस्नुपर्ने अवस्था देखिएपछि आपत्कालीन सेवाले ऊर्जा कम्पनीहरूसँग समाधानका लागि काम गरिरहेको जनाएको छ। ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा २,८७,००० उपभोक्ताहरू बिजुलीविहीन भएको बताएको छ। अर्को कम्पनी इसेन्सिअल इनर्जीले न्यू साउथ वेल्सका ४२००० घरहरूमा बिजुली बन्द भएको बताएको छ।

    क्विन्सल्यान्डको राजधानी ब्रिसबेनका बासिन्दा शुक्रवार राती ठूलो आँधी र वर्षाको त्रासबीच सुतेका थिए। शनिवार बिहान मात्रै उनीहरूले आँधी कमजोर भएको थाहा पाए। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले गोल्ड कोस्ट भनिने तटीय क्षेत्रमा ूसबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेकोू बताएका छन्।

    केही दिनयता खराब मौसमी अवस्था सामना गरिरहेको उक्त क्षेत्रमा अझै पनि अवस्था चरम रहेको बताइएको छ। उक्त क्षेत्रमा मुसलधारे वर्षा र तीव्र गतिको हुरी चलिरहेको छ। बिजुलीका प्रसारण लाइनहरू ढलेका छन् र सयौँ रूखहरू बगैँचा, पार्क र मुख्य सडकहरूमा ढलेका छन्। उक्त क्षेत्रमा ठूलो मात्रामा भग्नावशेषहरू देखिएका छन्। आपत्कालिन सेवाहरूले जोखिममा रहेका क्षेत्रहरूलाई वर्गीकरण गरेर काम गरिरहेका छन्। यो आपत्काल अझै टरिसकेको छैन, न्यू साउथ वेल्स राज्यका प्रधानमन्त्री क्रिस मिन्जले भने।
    बीबीसीबाट

  • पाकिस्तान छाड्न अफगानी नागरिकलाई ३१ मार्चसम्मको अल्टिमेटम

    पाकिस्तान छाड्न अफगानी नागरिकलाई ३१ मार्चसम्मको अल्टिमेटम

    काठमाडौं । पाकिस्तान सरकारले पाकिस्तानमा बसोवास गर्ने अफगानी नागरिकहरूलाई मार्च ३१ सम्ममा देश छोड्न आग्रह गरेको छ । एआरवाई न्यूजका अनुसार पाकिस्तानको आन्तरिक मन्त्रालयले अफगान सिटिजन कार्ड (एसिसी) धारकहरूलाई देश छोड्न आग्रह गर्‍यो, अन्यथा उनीहरूलाई अप्रिल १ देखि देश निकाला गरिने मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

    यसअघि, पाकिस्तानले अफगानहरूलाई देश छोड्ने योजना बनाएको रिपोर्टहरू बाहिर आएका थिए, तर आन्तरिक मन्त्रालयले आधिकारिक रूपमा पुष्टि गरेको यो पहिलो पटक हो ।“अवैध विदेशी स्वदेश फिर्ता कार्यक्रम (आइएफआरएफ) नोभेम्बर १, २०२३ देखि लागु भएको छ ।

    “सबै अवैध विदेशी र एसिसी धारकहरूलाई ३१ मार्च, २०२५ अघि स्वेच्छाले देश छोड्न सल्लाह दिइन्छ । त्यसपछि, अप्रिल १, सन् २०२५ बाट निर्वासन सुरु हुनेछ,” विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले अफगान नागरिकहरूलाई देश छोड्न पर्याप्त समय दिएको बताएको छ । “स्वदेश फिर्ताको क्रममा कसैलाई पनि दुर्व्यवहार नगर्नेमा जोड दिइएको छ । उनीहरूका लागि खाना र स्वास्थ्य सेवाको पनि व्यवस्था गरिएको छ ।”

    “पाकिस्तान एक जिम्मेवार देशको रूपमा आफ्नो प्रतिबद्धता र दायित्वहरू पूरा गरिरहेको छ । पाकिस्तानमा बस्ने व्यक्तिहरूले सबै कानुनी औपचारिकता पूरा गर्नुपर्ने र पाकिस्तानको संविधानको पालना गर्नुपर्छ ।” यसअघि, मानवअधिकार सङ्गठन र शरणार्थी वकालत गर्ने समूहहरूको गठबन्धनले अफगान आप्रवासीहरूलाई जबरजस्ती निष्कासन रोक्न पाकिस्तान सरकारलाई आग्रह गरेको थियो ।

    एउटा खुला पत्रमा समूहहरूले मानवअधिकार रक्षकसहित धेरै अफगान शरणार्थीहरू हिंसा, उत्पीडन र उत्पीडनको कारण आफ्नो मातृभूमि छोडेर भागेको कुरामा जोड दिए । रिपोर्टका अनुसार पत्रमा महिला, बालबालिका र वैध भिसा भएका अफगान आप्रवासीहरूले जबरजस्ती निष्कासन, हिरासत र उच्च भिसा शुल्कको सामना गरिरहेको पनि उल्लेख गरिएको छ ।

    विशेष गरी तालिबान जस्ता समूहहरूको उदय पछि हालैका वर्षहरूमा, पाकिस्तानी सरकारले अफगान शरणार्थीहरूको लामो समयसम्म बसाइलाई सुरक्षा खतराको रूपमा हेर्न थालेको छ । हालै, पाकिस्तानले अवैध बसोवास र सुरक्षा जोखिमलाई उद्धृत गर्दै निष्कासन सुरु गरेको छ । यी निष्कासनहरूले मानव अधिकार, क्षेत्रीय स्थिरता र अफगान छिमेकीहरूप्रति पाकिस्तानको जिम्मेवारीमाथि बहस सुरु गरेको छ । रासस-एएनआई

  • पूर्वराजा काठमाडौं फर्किने अवसरमा राजावादी आज काठमाडौंमा प्रदर्शन गर्दै

    पूर्वराजा काठमाडौं फर्किने अवसरमा राजावादी आज काठमाडौंमा प्रदर्शन गर्दै

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदैछन् । यस अवसरमा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्ने भएका छन् । उनीहरुको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।

  • प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै

    प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम जाँदै छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जान लागेका हुन् । उनी हेलिकप्टरमार्फत बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा पुग्ने छन् । त्यहाँ उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसपछि भने धनगढी उपमहानगरपालिका(८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम छ ।

  • रुसमा युक्रेनको आक्रमण : कम्तिमा ३० मारिए

    रुसमा युक्रेनको आक्रमण : कम्तिमा ३० मारिए

    काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको थियो । बिहीबार राति पनि रुसले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको थियो ।

    बीबीसीका अनुसार शुक्रबार राति रुसले ब्यालेस्टिक मिसाइलबाट आक्रमण गर्दा दोनेत्स्क क्षेत्रमा मात्रै ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणबाट भवनहरुमा आगो लागेको भिडियो सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा प्रतिबन्ध र शुल्क वृद्धिबारे सोचिरहेको अभिव्यक्ति दिएलगत्तै रुसले यो आक्रमण गरेको हो ।

  • च्याम्पियन्स ट्रफीको फाइनल आज : भारत र न्यूजिल्याण्ड भिड्दै

    च्याम्पियन्स ट्रफीको फाइनल आज : भारत र न्यूजिल्याण्ड भिड्दै

    काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि भारत र न्युजिल्याण्ड आज खेल्दै छन् । खेल दिउँसो २ः४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । भारतले अस्ट्रेलिया तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

    यसअघि समूह चरणमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई हराएको थियो । सन् १९९८ देखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणको उपाधि सन् २००० मा न्युजिल्याण्डले जितेको थियो । संयोगवश त्यसबेलाको फाइनलमा भारतलाई नै हराएर न्युजिल्याण्डले पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेको थियो ।

    अब २५ वर्षपछि न्युजिल्याण्डलाई इतिहास दोहोर्‍याउने अवसर छ । उक्त अवसरलाई अन्तिम नतिजामा बदल्न किवि टोलीले भारतको बलियो टोलीलाई हराउनुपर्नेछ । अर्कोतर्फ भारतलाई पनि लामो समयपछि एकदिवसीय फर्म्याटको आईसीसी प्रतियोगिता जित्ने अवसर हुनेछ । भारतले पछिल्लोपटक सन् २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । त्यसअघि सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २००२ को च्याम्पियन्स ट्रफी भारतले जितेको थियो ।

    भारत र न्युजिल्याण्ड आईसीसी क्रिकेट विश्वकप र च्याम्पियन्स ट्रफी गरेर कुल १३ पटक आमनेसामने भएका छन् जसमा भारत र न्युजिल्याण्ड समान ६ खेलमा विजयी हुँदा एक खेल बराबरी छ । आईसीसीका ओडिआई प्रतियोगिताको नकआउट खेलहरूमा दुई टोली हालसम्म ३ पटक भेट भएका छन् जहाँ न्युजिल्याण्ड २ तथा भारत १ खेलमा विजयी भएको छ ।

  • राष्ट्रपति र प्रधानमन्त्रबीच शितल निवासमा भेट

    राष्ट्रपति र प्रधानमन्त्रबीच शितल निवासमा भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

    उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पछिल्लो समय व्यवस्थामाथि नै प्रश्न गर्दै राजावादी दलहरुले माहोल तताइरहेको समयमा उनीहरुबीच भेट भएको हो ।

  • यस वर्ष नेपाली क्रिकेटको क्यालेण्डर सार्वजनिकः अन्तर्राष्ट्रिय सेड्यूल १२

    यस वर्ष नेपाली क्रिकेटको क्यालेण्डर सार्वजनिकः अन्तर्राष्ट्रिय सेड्यूल १२

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन् । कुनै पनि महिना क्रिकेटविहीन हुनेछैनन् । बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगिता हुनेछन् ।

    क्यालेण्डर अनुसार पुरूष र महिला तथा उमेर समूहका टोलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू खेल्नेछन् । सन् २०२५ मा आईसीसी लिग २, विश्वकप क्वालिफायर, हङकङ सिक्सेस, टी-२० र ओडीआई सिरिजलगायत रहेका छन् भने महिलातर्फ विश्वकप एसिया छनोट, इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगिता रहेका छन् ।

    यी हुन् २०२५ मा हुने प्रतियोगिता

  • अमेरिकापछि क्यानडा र चीन पनि ट्रेड वारमा होमिए

    अमेरिकापछि क्यानडा र चीन पनि ट्रेड वारमा होमिए

    काठमाडौं । अमेरिकापछि क्यानडा र चीन पनि व्यापार युद्धमा होमिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले क्यानडाबाट आउने विभिन्न वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । जसमा मटर, तेलसहितका विभिन्न वस्तु रहेका छन् । रोयटर्सका अनुसार यसको सुरुवात भने क्यानडाले गरेको थियो ।

    उसले चीनबाट आउने विद्युतीय सवारी साधन, इस्पात र आल्मुनियमका उत्पादनमा आयात सुरुल लगाउन थालेको थियो । यसको जवाफमा शनिबार चीनले शतप्रतिशत शूल्क घोषणा गरेको हो । खासगरी क्यानडेली कृषि र खाद्य उत्पादनमा चीनले कडा शूल्क लगाएको छ । यसअघि अमेरिकाले विभिन्न देशबाट आयात हुने सामातमा यस्तो शूल्क बढाउँदै ट्रेड वार थालेको थियो ।

  • भारतको कर्नाटकमा इजरायली पर्यटकमाथि ग्याङरेप, पुरुष पर्यटकको हत्या

    भारतको कर्नाटकमा इजरायली पर्यटकमाथि ग्याङरेप, पुरुष पर्यटकको हत्या

    नयाँ दिल्ली । भारतको कर्नाटकमा इजरायली पर्यटकको एक समूहमाथि बदमासहरुले कुकर्म र हत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कर्नाटकको प्रसिद्ध पर्यटकीय स्थल हम्पीमा दुई पर्यटक महिलामाथि ग्याङरेप गरेका छन् । त्यसको प्रतिकार गर्दा पुरुष पर्यटकमाथि कुटपिट भएको छ । सो क्रममा एक पर्यटकको हत्या गरिएको छ ।

    उनको शव फेला परेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । घटना शुक्रबारको हो । शनिबार पर्यटकको शव फेला परेको समाचारमा उल्लेख छ । घटना सनापुर ताल नजिक भएको बताइएको छ । हत्या गरिएका पर्यटक भने भारतीय आन्तरिक पर्यटक रहेको बताइएको छ ।

    अमेरिका र महाराष्ट्रका दुई पर्यटकमाथि समेत मारपिट गरिएको र उनीहरु घाइते रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार चार पर्यटक र एक होमस्टे सञ्चालक ताल नजिक रमाइरहेको समयमा सो घटना भएको बताइएको छ । उनीहरुमाथि मोटरसाइकलमा आएका तीन बदमासले सो कुकर्म गरेको पाइएको छ ।

  • अमेरिकामा १५ वर्षपछि यसरी दिइयो मृत्युदण्ड

    अमेरिकामा १५ वर्षपछि यसरी दिइयो मृत्युदण्ड

    काठमाडौं । अमेरिकामा १५ वर्षपछि मृत्युदण्डको सजाय दिइएको छ । अमेरिकाको दक्षिण क्यारोलिनामा एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको हो । उनी प्रेमिकाका बुबा आमाको हत्या अभियोगमा दोषि ठहर भएका थिए । उनको नाम ब्रेड सिगमन रहेको बताइएको छ । उनिमाथि गोलि चलाइएको छ र मृत्युदण्ड दिइएको छ । उनी ६७ वर्षका थिए ।

    उनले आफ्नी प्रेमिकाको अपहरण गरेको र त्यस अगाडी उनका माता पिताको बेसबल ब्याट प्रहार गरी हत्या गरेको अभियोग पुष्टी भएको थियो । घटना सन् २००१ को हो । अमेरिकामा तीन तरिकाले मृत्युदण्ड दिइन्छ, जसमा गोली मार्नु, घातक इन्जेक्सन लगाइनु र तेस्रो विद्युतीय झट्का दिनु हो ।

  • मध्य नेपालमा आज भूकम्पको धक्का

    मध्य नेपालमा आज भूकम्पको धक्का

    काठमाडौं । आज मध्य नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज म्याग्दी र बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । म्याग्दीमा सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

  • शिक्षकहरु आजबाट आन्दोलनमा, के छन् माग ?

    शिक्षकहरु आजबाट आन्दोलनमा, के छन् माग ?

    काठमाडौं । शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । काठमाडौ उपत्यका सहित देशभरबाट शिक्षक प्रतिनिधि आन्दोलनका लागि आउने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले आज १२ बजे माइतीघरमा भेला भएर आन्दोलन गर्ने जनाएको छ ।

    २०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको माग राखेर महासंघ आन्दोलित भएको हो । गत २९ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सुशासन, प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ मा ‘शिक्षक सेवा’ थप गर्ने भनिएको छ ।

    यो प्रावधानले २०७५ देखि नै शिक्षक योगदानमा आधारित पेन्सनमा सहभागी हुन बाध्य हुने शिक्षकहरूको तर्क छ । तर, सरकारले अध्यादेश आएको मितिबाट लागू हुने बताए पनि यसमा शिक्षकहरूले मानेका छैनन् ।

    राहत, साविक उच्च मावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार तथा विशेष शिक्षाका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलगाई महासंघकसँग २०८० सालमा भएको सहमति अनुसार स्थायी गर्ने र स्थायी हुन नसक्नेको हकमा गोल्डेन हेन्डसेकको व्यवस्था गर्नुपर्ने माग महासंघको छ ।

    २०७५ को आन्तरिक परीक्षा दिन नपाएका वा छुटेका अस्थायी करार शिक्षकले पनि यो अवसर पाउनुपर्ने माग महासंघको छ । अस्थायी प्रकृतिका शिक्षकको विरामी विदा सञ्चित हुने व्यवस्था गर्नुपर्ने माग शिक्षकको छ । तह अनुसार हरेक विद्यालयमा कर्मचारीको दरबन्दी व्यवस्था गर्नुपर्ने माग महासंघको छ । बाल विकास शिक्षालाई विद्यालय भित्र ल्याउनुपर्ने भनेको छ । शिक्षक बढुवामा चार श्रेणीको व्यवस्था गरी हरेक दश वर्षमा बढुवा हुने प्रबन्ध गर्नुपर्ने माग महासंघको छ ।

    आवश्यक शैक्षिक योग्यता र लाइसेन्स भएका शिक्षकको बढुवा गर्दा तहगत प्राथमिकबाट निमावी र निमावीबाट माध्यमिक हुने व्यवस्था गर्न महासंघले भनेको छ । तल्लो तहमा स्थायी भएका शिक्षकको हकमा हरेक पटक खुला पदमा शिक्षक सेवा आयोग खुल्दा २५ प्रतिशत पद आन्तरिक प्रतिस्पर्धाका लागि छुट्टाउनु पर्ने माग महासंघको छ । द्वन्द्व पीडित तथा शिक्षकको पेसागत संस्थामा बसेर लामो सेवा गरेका शिक्षकको टुटेको सेवा अवधि गणना गरी नियमानुसार उपदान वा निवृत्तिभरण दिनुपर्ने माग महासंघको छ ।

    संस्थागत विद्यालयका शिक्षकको तलब भत्ता सामुदायिक विद्यालयका शिक्षक सरह कायम गर्नपर्ने माग महासंघको छ । प्रधानाध्यापकका लागि छुट्टै दरबन्दीको व्यवस्था गर्ने र पाँच वर्ष सम्बन्धित तहमा स्थायी सेवा गरेका शिक्षकबाट प्रतिस्पर्धा गराई शिक्षक सेवा आयोग मार्फत प्रधानाध्यापकको पदपूर्ति गर्नुपर्ने बताउँछन् सुवेदी ।

    शिक्षकको विभागीय कारबाही अधिकार जिल्ला, प्रदेश र संघका कायालयमा विभाजन गर्नुपर्ने माग महासंघको छ । पेसा प्रवेश उमेर ४० वर्ष बनाउन माहासंघले माग गरेको छ । अभिभावकको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति बनाउनु माग महासंघको छ । विद्यालयको सम्पत्ति गैर शैक्षिक प्रयोजनमा प्रयोग र हस्तान्तरण गर्न नपाइने प्रावधान हुनपर्ने बताउँछन् अध्यक्ष सुवेदी । शिक्षकका लागि राष्ट्रिय मर्यादाक्रमको व्यवस्था गर्नुपर्ने माग महासंघको छ । शिक्षकको ट्रेड युनियन अधिकारको संरक्षण गर्नेगरी ऐन बनाउन महासंघले भनेको छ ।

  • दिपक मनाङेले पाए २० प्रतिशत कैद छूट

    दिपक मनाङेले पाए २० प्रतिशत कैद छूट

    काठमाडौं । राजिब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका हुन्। मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए।

    उनले फागुन १२ गते दिएको निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए। मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो।

    अदालतले फैसला गरेको ६० दिनभित्र उपस्थित भएको भन्दै मनाङेले कारागारमार्फत नै निवेदन दिएका थिएँ, उनले भने, सोही निवेदनअनुसार उनलाई बाँकी सजायको २० प्रतिशत छुट दिने आदेश दिइएको हो। उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।

    मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा २० वर्षपछि सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो। यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका थिए। उनी दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्थ्यो। त्यसमा पनि उनले २० प्रतिशत छुट पाउने भएका छन्।

  • मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो

    मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो

    काठमाडौं । नेकपा एमाले मोरङको पदाधिकारीमा अजम्बर राई नेतृत्वको प्यानल नै विजयी भएको छ। संस्थापन पक्षका उम्मेदवारहरूलाई पराजित गर्दै विनोद ढकाल पक्षका उम्मेदवारहरू निर्वाचित भएका हुन्। शुक्रबार साँझ सकिएको पदाधिकारी तर्फको मत गणनाको अन्तिम परिणाम अनुसार ढकाल पक्षका राईले ४४६ मत प्राप्त गरी अध्यक्ष पदमा जित हासिल गरेका हुन्। उनले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित गरेका हुन्। ओझाले ४०७ मत प्राप्त गरेका छन। उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छन्। सागरले ४२२ मत पाउँदा संस्थापनकी शान्ति लिम्बूले ३९१ मत पाएकी थिइन्।

    गएको जेठमा सागर थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने कमिटीमा लिम्बू संयोजक थिइन्। सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याएर विजयी बन्दा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन्। उपसचिवमा सन्तोष वान्तावाले ४९० मत पाएर विजयी भएका छन्। संस्थापनका इरजा लाल राजबंशीले ३११ मत पाएका छन्। उपसचिवमा उषा झा विजयी भएकी छन्। उनले ४१८ मत र संस्थापनकी शिल्पा कार्कीले ४०५ मत पाएकी छन्।

  • पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त

    पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त

    काठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो ।

    सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । ‘कोटीहोमवाला गर्ने भन्ने नगरपालिका अनुमति नदिएर गर्न नदिने भन्ने विषयमा विवाद हुँदा नगर प्रहरीसँग झडप भएको हो,’ शर्माले भने ।

    नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र कोटीहोमले भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्द गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय यसअघि गरेको थियो ।

  • ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै

    ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की बीच नोकझोकका बाबजुत आगामी साता दुई मुलुकबीच वार्ता हुने भएको छ । जेलेन्स्कीले आगामी साता साउदीमा यस्तो वार्ता हुने जानकारी गराएका हुन् । उनले यो बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको समेत बताएका छन् । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गर्दै शान्ती स्थापनाका लागि यस्तो वार्ता गर्न लागिएको जनाएको छ ।

    अघिल्लो शुक्रबार ह्वाइट हाउसमा दुई राष्ट्रपतिबीच भएको वार्तामा माहोल तात्तिएको थियो । यस दौरान ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नरहेको बताएका थिए । त्यसलगत्तै अमेरिकाले युक्रेनमा युद्ध सहायता रोक्ने घोषणा गरेको थियो । उता युक्रेन भने आफ्नो सबैभन्दा ठूलो सहयोगी अमेरिकासँग सम्बन्ध बिगार्ने पक्षमा छैन । रुसले युक्रेनमा फेब्रुअरी २०२२ मा पहिलो आक्रमण गरेको थियो । त्यसयता युद्ध जारी छ । युक्रेनको २० प्रतिशत भूभाग रुसले कब्जा गरिसकेको छ ।

  • सिरियामा भीषण लडाईं, दर्जनौं हताहत

    सिरियामा भीषण लडाईं, दर्जनौं हताहत

    काठमाडौं । सिरियामा भीषण लडाईं जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको राजधानी दमस्कमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र पूर्व शासक बशर अल असद समर्थकबीच भीषण लडाईं जारी रहेको समाचारमा उल्लेख छ । देशको उत्तर–पश्चिम तटीय क्षेत्रमा रुसी नियन्त्रित एयरवेश नजिक लताकिया प्रान्तमा भएको झडपमा दर्जनौं मानिस मारिएको खबर आएको छ । असदको शासन डिसेम्बरमा पतन भएको थियो ।