Category: फिचर

  • जब अमेरिकामा जहाजमा लाग्यो आगो

    जब अमेरिकामा जहाजमा लाग्यो आगो

    काठमाडौं । अमेरिकामा जहाज डाइभर्ट गरेर अवतरण गरिएको केही बेरमै आगलागी भएको छ। बिहीबार साँझ अमेरिकन एयरलाइन्सको जहाज डाइभर्ट गरी कोलोराडो राज्यको डेनभर विमानस्थलमा अवतरण गरेको केही बेरमै जहाजको इन्जिनमा आगो बलेको थियो। अमेरिकी एयरलाइन्सको फ्लाइट ४०१२ को बोइङ ७३७–८०० जहाज कोलोराडो स्प्रिङ विमानस्थलबाट डालासको फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो।

    उडानको क्रममै इन्जिनमा खराबी देखिएपछि जहाजलाई डाइभर्ट गरी डेनभर विमानस्थलमा अवतरण गराइएको थियो। अवतरण गरेपछि यात्रु ओर्लिन नपाउँदै विमानको इन्जिनमा आगलागी भएको थियो भने भित्री भागहरुबाट पनि धुवाँको मुस्लो छुटेको थियो। धुवाँको मुस्लोले विमानस्थल नै ढाकेको थियो। यात्रुहरू झ्यालबाट निस्किएर विमानको पखेटामा लहरै बसेका थिए भनेर अमेरिकी मिडिया सिएनएनले समाचार लेखेको छ।

    सिएनएनले नै सार्वजनिक गरेको भिडिओमा यात्रुहरू विमानको पखेटामा उभिइरहेको देखिन्छ। उनीहरू पखेटामा उभिरहँदा जहाजबाट धुवाँको मुस्लो र आगोको लप्का छुटिरहेको थियो। विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरूले भर्‍याङ प्रयोग गरी जहाजको पंखामा रहेका यात्रुहरूलाई झारेका थिए।
    जहाजमा चालक दलका ६ सदस्यसहित १७२ जना यात्रु रहेको सिएनएनको समाचारमा उल्लेख छ।

    विमानस्थलमा खटिएका सुरक्षाकर्मी र अग्नी नियन्त्रकहरूको सक्रियताका कारण समयमै आगो निभाइएकाले मानवीय क्षति हुन नपाएको बताइएको छ। अमेरिकामा २०२५ को जनवरी यता साना ठूला गरी बिहीबारको सहित पाँच वटा जहाज दुर्घटना भएका छन्। यसअघि जनवरी २९ मा वाशिङ्टनमा सेनाको जहाज यात्रुवाह विमानसँग ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो। फिलाडेल्फियामा एउटा मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो।

  • पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक : भाइमारादेखि सुन तस्करसम्मको आरोप

    पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक : भाइमारादेखि सुन तस्करसम्मको आरोप

    पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक ः भाइमारादेखि सुन तस्करसम्मको आरोप
    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले पूर्वाराजालाई भाइमारा देखि सुन तस्करसम्म भन्न भ्याए । उनले आफू पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डबारे छानबिन गरी भाइमारा र राजद्रोहीलाई ठेगान लगाउन खोजेको समेत बताए ।

    २०६४ चैत २८ मा संविधान सभाको चुनाव भएको केही महिनापछि प्रचण्ड प्रधानमन्त्री बने पनि ९ महिना मात्रै शासन गरेका थिए। तत्कालीन प्रधान सेनापति रूकमाङ्गद कटुवाललाई हटाउने सरकारको निर्णय राष्ट्रपतिले रोकिदिएपछि उनले पदबाट राजीनामा दिएका थिए।

    ‘मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्नेछ भनेको थिएँ। मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए फेरि एकचोटि छानबिन गरेर माइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो,’ सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार भएको कार्यक्रममा उनले भने, ‘अहिले यिनीहरू चुरीफुरी गरेका छन्, धेरै नगरे हुन्छ।’

    उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्ष्य गर्दै धेरै मुर्खता नगर्न आग्रह गरेका छन्। ‘अर्को मुर्खता गरे भने जनता उदार हुँदैनन्, राजनीतिक दल पनि उदार हुँदैनन्,’ उनले भने।

    भयानक दरबार हत्याकाण्ड गर्ने मुख्य योजनाकार परिवारभित्रै रहेको दाबी पनि उनको थियो। उनले मूर्तिचोर, सुन तस्कर र वंशनाश गर्ने को हुन् भनेर नेपाली जनताले बुझेको पनि बताए। २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाह परिवारको हत्या भएको थियो। पूर्वराजा शाह पोखराबाट गत आइतबार काठमाडौं आउँदा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईलगायतले स्वागत गरेका थिए।

  • दैलेखमा रुखले किचेर दुई जनाको मृत्यु

    दैलेखमा रुखले किचेर दुई जनाको मृत्यु

    काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।

    सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताए ।

  • कैलालीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु

    कैलालीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु

    काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १९ बाइसघरस्थित मोहना नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा रहेका छन् । शुक्रबार दिउँसो मोहना नदीमा नुहाउन पसेका दुवै जना डुबेर बेपत्ता भएका थिए ।

    घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फुलबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूको खोजतलास गरेको थियो । खोजतलासको क्रममा दुवै जनाको शव बेपत्ता भएको स्थानभन्दा केही तल डुबेको अवस्थामा फेला परेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • नेपाली बजारमा सूनको मूल्यले राख्यो रेकर्ड, पुग्यो १ लाख ७४ हजार

    नेपाली बजारमा सूनको मूल्यले राख्यो रेकर्ड, पुग्यो १ लाख ७४ हजार

    काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

    यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन । यस्तै, बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर २ हजार ५० मा कारोबार भइरहेको छ ।

  • चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    काठमाडौं । नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा निधन भएको छ । क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले बताएका छन् ।

    भारतको असममा १९८९ सालमा जन्मिएका उनको बसाइँ चर्चित उपन्यास हो । ब्रह्मपुत्रको छेउछाउ बाट उनले सन् १९८६ मा साहित्य अकादमी पुरस्कार पाएका थिए । उनका ुअतृप्त, प्रतिध्वनिहरु विस्मृतिको, असममा नेपाली भाषाको साह्रोगाह्रो, तीन दशक बीस अभिव्यक्ति लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् ।

    उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाएका थिए । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।


    क्षेत्रीको ‘बसाई’ उपन्यास मदन पुरस्कार गुठीबाट पहिलोपटक २०१४ सालमा प्रकाशित भएको थियो । उपन्यासको कथामा फिल्म पनि बनिसकेको छ । ‘बसाइँ’ लाई माइकल हट र लारी हार्टसेलले अंग्रेजीमा अनुवाद गरेका छन् भने ‘ब्रम्हपूत्रका छेउछाउ’ उपन्यास असमिया, हिन्दी र बंगालीमा अनुदित भइसकेको छ ।

  • लद्दाखमा भूकम्प, क्षतिको विवरण आउँदै

    लद्दाखमा भूकम्प, क्षतिको विवरण आउँदै

    १ चैत, काठमाडौं । भारतको लद्दाखमा भूकम्प गएको छ । यस क्षेत्रको कारगिलमा शुक्रबार बिहान भूकम्प गएको हो । भारतीय राष्ट्रिय भूकम्प केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ रेक्टर स्केल रहेको छ ।

    भूकम्पको धक्का जम्मु कश्मिर सम्म महसुस गरिएको छ । यस क्षेत्रमा लगातार यो साता दुई भूकम्पको महसुस गरिएको छ । आइतबार ४ रेक्टर स्केलको भूकम्प गएको हो । जसको इपिसेन्टर तिब्बत थियो । शुक्रबार गएको भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।

  • आज तराई मधेशमा होली, सार्वजनिक बिदा

    आज तराई मधेशमा होली, सार्वजनिक बिदा

    काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ ।

    हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ। तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।

    पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाउने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत आयोजना गरिन्छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

    हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

  • यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् । युरोपेली संघले ह्विस्कीमा घोषणा गरेको ५० प्रतिशत भन्सार कर नहटाए २ सय प्रतिशत कर लगाउने बताएका हुन् । दोस्रो कार्यकाल सुरू गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न देशबाट अमेरिका भित्रने सामानमा कर वृद्धि गरेका छन् ।

    यसअघि उनले अमेरिकामा प्रवेश गर्ने सबै स्टील र अल्मुनियममा २५ प्रतिशत भन्सार कर बढाएका थिए । त्यसको जवाफमा युरोपेली संघले १ अप्रिलदेखि लागू हुने गरी २८ अर्ब डलर बराबरका डुंगा, बर्बन ह्विस्की र मोटरसाइकल लगायतका अमेरिकी सामानमा कर बढाउने घोषणा गरिसकेको छ । त्यसको प्रतिक्रियामा ट्रम्पले युरोपेली मदिरामा २ सय प्रतिशत कर लगाउने चेतावनी दिएका हुन् ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनले ट्रम्प प्रशासनले चालेका कदमको ‘बलियो तर समानुपातिक’ जवाफ दिने बताएकी छन् । तर उनले युरोपेली संघ अमेरिकासँग ‘अर्थपूर्ण संवादमा संलग्न हुन तयार’ रहेको बताएकी छन् । ‘आयात शुल्क व्यवसायका लागि खराब छन् र उपभोक्ताहरूका लागि पनि खराब छन्,’ उनले भनेकी छन् ।

    आर्थिक अवरोधले रोजगारीलाई खतरामा पार्ने र मूल्यवृद्धि हुने उनको भनाइ छ । ‘कसैलाई पनि यसको आवश्यकता छैन, युरोपेली संघका लागि होस् वा अमेरिकाका लागि,’ उनले भनिन् । ट्रम्पले विदेशी सामानमा आयात शुल्क बढाउँदा अमेरिकी उत्पादनलाई बढावा मिल्ने र रोजगारी सुरक्षित हुने बताउँदै आएका छन् । तर आलोचकहरूले भने ट्रम्पका कदमले अमेरिकी उपभोक्ताहरू मूल्यवृद्धिको मारमा पर्ने बताएका छन् ।

  • पाकिस्तान रेल अपहरण काण्ड : कारवाहीका दौरान सेनासहित ५८ को मृत्यु

    पाकिस्तान रेल अपहरण काण्ड : कारवाहीका दौरान सेनासहित ५८ को मृत्यु

    काठमाडौं । दक्षिणपश्चिम पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा ३०० जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनाले जनाएको छ।

    पाकिस्तानको सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ लडाकु मारिएको दाबी गरेका छन्। बलोच लिबरेशन आर्मी (बीएलए)ले रेलमा आफूले आक्रमण गरेको दाबी गरेको छ। यद्यपि पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको आरोप लगाएको छ।

    पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ समेत बिहीवार उक्त दक्षिण पश्चिमी प्रान्तको राजधानी क्वेटा पुगेर त्यहाँ घातक रेल हमलापछिको सुरक्षा अवस्थाको समीक्षा गरेका छन्। पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरूविरुद्ध सुरक्षा कारबाही सुरु हुनुअगाडि नै रेलमा सवार २१ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो।

    मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा बीएलएका लडाकुले गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त रेलमा करिब ४४० यात्रु सवार रहेको सैन्य प्रवक्ताले बताएका छन्। सेनाले उक्त क्षेत्रमा अन्य जोखिम भए नभएकोबारे जाँच गरिरहेको जनाएको छ।

    अङ्ग्रेजी पत्रिका ुडनुका अनुसार पाकिस्तानी सेनाले उक्त घटना अफगानिस्तानभित्र रहेका लडाकुहरूले गराएको आरोप लगाएको छ। पाकिस्तानको गुप्तचर निकायले आफूसँग उक्त आक्रमणका योजनाकारहरू अफगानिस्तानमा रहेको कुरा पुष्टि गर्ने ‘अकाट्य प्रमाणू रहेको जनाएको छ। पाकिस्तानी पक्षले तालिबानलाई आफ्ना ‘अन्तर्राष्ट्रिय उत्तरदायित्वू वहन गर्न आह्वान गरेको छ। पाकिस्तानले यसअघि आफ्नो भूमिमा भएका केही आक्रमणमा तालिबानको संलग्नता भएको आरोप लगाउने गरेको थियो।

    सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरूले बन्धकहरू समेत लिएर वरपरको पहाडी भूभागतिर गएको विवरण प्रकाशित गरेका छन्। आक्रमणका समयमा वरपरको क्षेत्रमा भागेका यात्रुहरूको खोजी भइरहेको पाकिस्तानी सेनाले जनाएको छ। कति यात्रुहरू सम्पर्कविहीन छन् भन्नेबारे स्पष्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्। बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो। उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ।

  • भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएपछि..

    भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएपछि..

    काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएको छ। बिहीबार साढे १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका(७ सुवर्णस्वरबाट गुण्डु जाँदै गरेको बिएए ०८३४ नम्बरको स्कोरपियो गाडी ओभर तीव्र गतिका कारण सडकमै पल्टिएको प्रहरीको भनाई छ । दुर्घटनामा परी गाडीमा सवार ८ जना घाइते भएको भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले बताए।

    घाइतेहरूमा भक्तपुरको सुर्यविनायक नगरपालिका ५ बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी छन्। उनीहरू सबैको मध्यपुर अस्पतालमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताए।

  • परराष्ट्रमन्त्री राणा भारतको नयाँ दिल्लीमा

    परराष्ट्रमन्त्री राणा भारतको नयाँ दिल्लीमा

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले यही १७ देखि १९ मार्चसम्म नयाँदिल्लीमा आयोजना गर्ने राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन् ।


    मन्त्री राणाले कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ रु नामक फरक–फरक सत्रमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ । उनले यसैअन्तर्गत ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’ लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    कार्यक्रमका दौरानमा मन्त्री डा। राणाले भारतका विदेशमन्त्री डा. एस जयशंकर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन् । राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरूको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी बिहीबार नयाँदिल्ली पुगेको उनको सचिवालयले जनाएको छ ।


    मन्त्री राणालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका थिए ।

  • अक्टोबरमा महाधिवेशन गर्न एनआरएनए पूर्वअध्यक्ष तथा संस्थापकहरू प्रतिबद्ध

    अक्टोबरमा महाधिवेशन गर्न एनआरएनए पूर्वअध्यक्ष तथा संस्थापकहरू प्रतिबद्ध

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले शेष घले नेतृत्वको समितिलाई आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न सुझाव दिएका छन्। संघमा अहिले देखिएको असहज अवस्थालाई निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गर्दै उनीहरूले सबै पक्षबाट हदैसम्मको लचकता अपनाउनुपर्ने बताएका छन्।

    शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मे महिनामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारे पनि महाधिवेशनको प्राविधिक तयारीका लागि समय लाग्ने उनीहरूले बताएका छन्। यसर्थ अक्टोबरमा महाधिवेशन गर्दा उपयुक्त हुने उनीहरूको निष्कर्ष छ। राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाइमा मात्रै सम्पन्न हुने र त्यो चुनाव नभई महाधिवेशन सम्भव नहुने उनीहरूको तर्क छ।

    गैरआवासीय नेपाली संघद्वारा मंगलबार भर्चुएल रूपमा गरिएको छलफललाई एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्बोधन गरेका थिए। उनले नेपाललाई समृद्ध बनाउन र संसारभरि छरिएर रहेका नेपालीहरूबीच भाइचारा बढाउन संस्था स्थापना गरिएको उल्लेख गरेका थिए। उनले सबैलाई आ–आफ्नो हठ त्यागेर सबै नेपालीलाई जोड्न साझा विचार लिएर अघि बढ्नुपर्ने धारणा राखे।

    ‘उच्चस्तरीय समितिले चुनावको लागि मात्रै चुनाव गराउने नभई छातीमा हात राखेर काम गर्नुपर्छ,’ उनले भने, ‘वास्तविक एकताको महाधिवेशनमा म सहभागी हुन्छु। नेपालको समृद्धिको अभियानमा मेरो सधैं साथ रहन्छ।’ एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले २०२३–०२५ को लागि निर्वाचित बद्री केसी नेतृत्वको कार्यसमितिलाई शुभकामना दिँदै गत साता परराष्ट्रमन्त्री आरजु देउवाले समन्वयकारी भूमिका खेलेको बताए। उनले सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानुपर्ने पनि बताए। उनले केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिनुपर्नेमा सबै एकमत हुनुपर्ने समेत औंल्याए।

    एनआरएनएका पूर्वअध्यक्ष कुमार पन्तले पछिल्लो परिस्थितिमा संयम भई बुद्धिमानीपूर्वक अघि बढ्नुपर्ने बताए। उनले उच्चस्तरीय समिति एकताबद्ध बन्दा मात्रै सबैको इज्जत हुने बताउँदै प्राविधिक कुरामा नअल्झिन सुझाए। एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउँदै आफ्नो व्यक्तिगत हित भन्दा संस्थाको हितलाई सर्वोपरि राख्न पनि सुझाव दिए। एनआरएनएका संस्थापक सचिव भीम उदासले प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान पनि तयार हुनुपर्ने धारणा राखेका थिए।

    एनआरएनएका अध्यक्ष बद्री केसीले २००३ मा नेपालको समृद्धिको लागि विदेशमा रहेका नेपालीहरुलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको स्मरण गरे। आफूले जहिले पनि कानुनतः काम गरेको र आगामी दिनमा पनि वैधानिक रूपमै अघि बढ्ने उनको जोड थियो। ‘सर्वोच्चको दोश्रो फैसलाले हरेक अधिवेशन सार्वभौम हुन्छन भन्यो। हामी एकताको लागि सधैं लचक छौं। सर्वोच्च अदालतको दुईवटै फैसलाको सम्मान गरेर जाऊँ’ उनले भने, ‘उच्चस्तरीय समितिले अनुगमन गरोस्। हामी तयार छौं। ११ औं कार्य समितिको वैधतामाथि कुनै प्रश्न छैन। निष्पक्ष चुनाव गर्न हामी तयार छौं।’

    उच्चस्तरीय समिति साझा र विश्वासको थलो बन्न योग्य भए आफू सम्पूर्ण रूपमा सहयोग गर्न तयार रहेको उनले बताए। ‘हामी एकताका विरोधी होइनौं तर उच्चस्तरीय समिति सबैले विश्वास गर्न योग्य बन्नुपर्‍यो। सबै सदस्य त्यहाँ हुनुपर्‍यो। एनआरएनएभित्रको आन्तरिक विवादले गर्दा मुख्य एजेन्डा ओझेलमा परिरहेको छ,’ उनले भने। उनले पनि अक्टोबरमै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखे।

    कार्यक्रममा एनसिसीका अध्यक्षहरूले यही मे महिनामा भ्याउने गरी अधिवेशन गर्न सम्भव नभएको बताएका थिए। उनीहरूले आपसी सहमतिले केन्द्रमा महाधिवेशनको मिति पर सारे पनि आफूहरूलाई मान्य हुने बताउँदै उच्चस्तरीय समितिका १३ जना सदस्य एकै ठाउँमा बसेर संवादद्वारा अहिलेको समस्यालाई निकास दिन आग्रह पनि गरे।

    झन्डै साढे चार घन्टा चलेको छलफलको निष्कर्ष बुधबार सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्रालयलगायत नेपाल सरकारका सम्बद्ध निकायलाई बुझाउने तयारी छ। कार्यक्रममा ७ सय भन्दा बढी एनआरएनए अभियन्ता जोडिएका थिए।

  • पाकिस्तानमा रेल अपहरणमा परेकामध्ये ३ सयको उद्धार

    पाकिस्तानमा रेल अपहरणमा परेकामध्ये ३ सयको उद्धार

    काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका ३०० जनालाई उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । यस क्रममा ३३ अपहरणकारी मारिएका पनि छन् । मंगलबार क्वेटाबाट पेशाबरतर्फ जाँदै गरेको जाफर एक्सप्रेसको रेललाई बीच बाटोमा रोकेर बलुच लिबरेसन आर्मी (बीएलए)ले यात्रीहरुलाई अपहरण गरेको थियो ।

    रेलमा करिब चार सय यात्रीहरु थिए । यात्रीको रुपमा १०० जना सैनिक पनि थिए । अपहरणकारीले २१ सर्वसाधारण र ४ सैनिकलाई गोली हानेर मारिदिएका बीबीसीले जनाएको छ । पाकिस्तानी सेनाले ३६ घण्टाको अपरेसनपछि सबै यात्रीहरुलाई सकुशल उद्धार गरिएको जनाएको छ । जति यात्रुहरुको मृत्यु भएको छ, ती अप्रेसन सुरु हुनुभन्दा अगाडि नै अपहरणकारीले मारेको सेनाका अधिकारीहरुको भनाइ छ ।

    पाकिस्तानका सञ्चार मन्त्री अत्ता तरारले रेलमा कूल ४४० यात्रु रहेका र सेनाले सावधानी एवम् कुशलतापूर्वक उद्धार गर्न सफल भएको बताएका छन् । सेनाको अप्रेसनको क्रममा यात्रीहरुलाई कुनै पनि क्षति नभएको उनले बताए । बीएलएले रेलका यात्रीहरु अपहरण गरी आफ्ना कार्यकर्ताहरुलाई ४८ घण्टाभित्र विनासर्त रिहा गर्न माग गरेको थियो । तर सरकारले उनीहरुका कुरा नसुनी सैनिक टोली परिचालन गरेको थियो ।

  • राष्ट्रपतिको सन्देश : होलीले राष्ट्रिय एकता बलियो बनाउँछ

    राष्ट्रपतिको सन्देश : होलीले राष्ट्रिय एकता बलियो बनाउँछ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा अर्थात् होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् । होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरे ।

    ‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ ।

    राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि भएको बताए । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

    रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।

  • आज फागु पूर्णिमा, पहाडी भेगमा होली खेलिँदै

    आज फागु पूर्णिमा, पहाडी भेगमा होली खेलिँदै

    काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

    असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

    होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

    यसैबीच होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका शीर्ष नेताहरु लगायतले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् । प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

  • पाकिस्तानमा रेलमा बन्धक बनाएकामध्ये १९० जना मुक्त, २७ लडाकु मारिए

    पाकिस्तानमा रेलमा बन्धक बनाएकामध्ये १९० जना मुक्त, २७ लडाकु मारिए

    काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा १९० जना मुक्त भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। सैन्य अधिकारीहरूका अनुसार सुरक्षाकर्मीहरूले गरेको कारबाहीमा कम्तीमा २७ लडाकुको मृत्यु भएको छ। यद्यपि बीबीसीले उक्त सूचना स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको लेखेको छ ।

    बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूले मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त रेलमा ४०० जनाभन्दा बढी यात्रु चढेको बताइएको छ।
    उक्त पृथक्तावादी समूहले रेलमा धावा बोल्नुअघि पहाडी भेगमा अवस्थित सिबी जिल्लामा रेलको पटरीमा आफूले बम आक्रमण गरेको र रेल नियन्त्रणमा लिएको दाबी गरेको थियो।

    उद्धार हुनेहरूमध्ये केही व्यक्ति घाइते छन्। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। बन्धकहरूलाई मुक्त गर्न सुरक्षा कारबाही जारी छ। सो अभियानमा सयौँ सुरक्षाकर्मीहरू परिचालित छन्। उनीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन्। रेलमा अब कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन। सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरू बाहिर गइसकेको विवरण प्रकाशित गरेका छन्।

    पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै उक्त रेलमा १०० भन्दा बढी सैनिक चढेको पुष्टि गरेका छन्। उक्त क्षेत्रमा रेलसेवा स्थगित गरिएको छ। बीबीसीले क्वेटामा बुधवार काठका सयौँ शवपेटिका लगिएको देखेको छ। रेल्वेका एक अधिकारीका अनुसार ती शवपेटिका खाली छन् तर आक्रमणका बेला र कारबाहीका बेला मानिसहरूको मृत्यु भएको हुन सक्ने सम्भावनालाई ध्यानमा राखी मगाइएको छ।


    स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार लडाकुहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए। आफ्नो माग पूरा नभए बन्धकहरूको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए। बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो।

    उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ। गत नोभेम्बर महिनामा क्वेटास्थित रेल्वे स्टेशनको एउटा प्रतीक्षालयमा बम विस्फोट हुँदा एक आत्मघाती आक्रमणकारीसहित २५ जनाको मृत्यु भएको थियो। बीएलएले उक्त घटना आफूले गराएको दाबी गरेको थियो।

  • धेरैपछि काठमाडौंमा मध्यम वर्षा

    धेरैपछि काठमाडौंमा मध्यम वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकामा धेरै पछि मध्यम खालको वर्षा भएको छ । काठमाडौं उपत्यकामा मेघजर्गनसहित मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति बागमती प्रदेशसहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाई छ । ती स्थानमा मेघगर्जनसहित चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

    मौसमविदहरूका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको छ ।

    त्यसैको प्रभावले देशभर नै बादल लागेको हो । तर यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन । वर्षासँगै उपत्यकामा प्रदुषण घट्ने आशा गरिएको छ ।

  • विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

    विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत रहेका बेला जोशी विपिन हमासको नियन्त्रणमा परेको जानकारी गराउँदै सकुशल र शीघ्र रिहाइमा भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराएका थिए । ७ अक्टोबर २०२३ मा पश्चिमी इजरायलमाथि आक्रमण गरेका हमास लडाकुले विपिनसहित इजरायली र अन्य मुलुकका दुई सय ५१ जनालाई बन्धक बनाएका थिए । इजरायल–हमासबीच युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा हमासले ३३ बन्दी रिहाइ गरिसकेको छ । हाल दोस्रो चरणको बन्दी आदानप्रदानको प्रक्रियामा दुवै पक्ष जुटेका छन् । यस्तोमा विपिनलाई दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा समावेश गराउन पहलका लागि प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

    टेलिफोन संवादको क्रममा प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्वपूर्ण भएको उल्लेख गरेको सचिवालयको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरेका थिए ।

    प्रधानमन्त्री ओलीले आगामी २ देखि ४ जेठसम्म काठमाडौैंमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति खालिललाई निमन्त्रणा गरेका छन् । वातावरणसम्बन्धी विश्व सम्मेलन ९कोप–२७० को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उनीसँग आग्रह गरे ।

    नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादको क्रममा पहिलो शृंखलाको आयोजना गर्न लागेको हो । संवादका क्रममा संयुक्त राष्ट्रसंघका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो ।

  • अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन

    अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन

    काठमाडौं । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यको प्रचार प्रसार गरिएको छ । अमेरिका कोलोराडोस्थित डेन्भरमा भएको ’ट्राभल एन्ड एडभेन्चर शो–२०२५’ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्‍वमै ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रस्तुत गरेको हो । ८–९ मार्चमा सम्पन्‍न एडभेन्चर शोमा पर्यटन बोर्डले विशेष कार्यक्रम आयोजना गर्दै नेपाललाई साहसिक र सुरक्षित पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको हो ।

    कार्यक्रममा बोर्डले सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधार शिविरसम्मको पदयात्रा निःशुल्क गराउने भएको छ । उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी छिन् । उनले मार्चदेखि मेसम्म नेपाल भ्रमण गरिसक्नुपर्ने छ । नेपाल भ्रमणका क्रममा लाग्‍ने खर्च बोर्डले बेहोर्ने छ ।

    यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रवर्द्धन र प्रचारका लागि थप मद्दत पुग्‍ने बोर्डको विश्वास छ । एडभेन्चर शोको आधिकारिक वेबसाइटमा नेपाललाई साहसिक यात्राको राजधानीका रूपमा उल्लेख गरिएको छ ।

    ‘विश्‍वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यसकारण पनि नेपाल पर्वतारोहीका लागि उत्कृष्ट गन्तव्य हो,’ उक्त वेबसाइटमा छ, ‘अद्भूत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेका लागि अनुपम अनुभव प्रदान गर्दछ ।’

    नेपाल पदयात्रा बाहेक पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप–लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटन गतिविधिले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ ।

    कोरोना महामारीपछि नेपालमा पर्यटक भित्र्याउन पर्यटन बोर्डले संसारका विभिन्‍न देशमा पर्यटन प्रवर्द्धन, प्रचार र पर्यटन गतिविधिमा तीव्रता दिइरहेको छ ।

    एड्भेन्चर शोमा नेपालका ९ निजी पर्यटन व्यवसायीको सहभागिता थियो । नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

  • प्रचण्ड भन्छन् : अबको एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

    प्रचण्ड भन्छन् : अबको एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डालाई पुनः अगाडि बढाइएको बताएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै प्रचण्डले सरकारले संविधान संशोधनको विषय अगाडि बढाएसँगै आफूहरूले संविधान सभामै राखेको एजेण्डलाई पुनः अगाडि सारेको बताए ।

    ‘अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु हो,’ प्रचण्डले भने, ‘पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो हुने छैन ।’

    जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उनले बताए । उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरिएको उल्लेख गर्दै उनले थपे, ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ ।’

    प्रतिगामी तत्वहरू व्यवस्थामाथि धावा बोल्न खोज्दै रहेको पनि उनले बताए । भ्रष्ट र दलालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेको भन्दै उनले अगाडि भनेका छन्, ‘सबैखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी हाम्रो हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’

    सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर राजावादीहरू समेत सलबलाएको उनले बताए । ‘इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेका छन् । यी हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गरिन्छ,’ उनले भने ।

  • अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

    अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

    काठमाडौं । अमेरिकाको शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना बनाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस योजना अन्तर्गत करिब आधा कर्मचारी हट्ने भएका छन् । करिब २ हजार १०० कर्मचारी प्रभावित हुने र उनीहरुलाई २१ मार्चदेखि बिदामा पठाइने समाचारमा उल्लेख छ ।

    बीबीसीका अनुसार ट्रम्प प्रशासनले संघीय कर्मचारीको सङ्ख्या घटाउने नीति अघि बढाएको छ, जसको उद्देश्य सरकारी खर्च कटौती गर्नु हो । हाल अमेरिकी शिक्षा विभागमा ४ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । उनीहरूका लागि वार्षिक बजेट करिब २३८ अर्ब डलर खर्च भइरहेको छ ।

    सन् १९७९ मा स्थापित यो विभागले सार्वजनिक विद्यालयहरूलाई कोष वितरण, विद्यार्थीलाई शैक्षिक कर्जा र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । तर, अमेरिकामा विद्यालयको सञ्चालन र पाठ्यक्रम निर्धारणको जिम्मा प्रदेश र स्थानीय सरकारको हुन्छ । संघीय शिक्षा विभागबाट विद्यालयहरूले जम्मा १३ प्रतिशत मात्र कोष प्राप्त गर्छन् ।

  • राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न, के आयो निष्कर्ष ?

    राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न, के आयो निष्कर्ष ?

    काठमाडौं । आन्तरिक रोजगारी सिर्जनालाई तीव्रता दिन घोषित आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने भन्दै पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनले १६ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा सहभागी सरकार, रोजगारदाता, ट्रेड युनियन र अन्तर्राष्ट्रिय संस्थाहरु सहभागी सम्मेलनले काठमाडौं घोषणापत्र जारी हो । श्रम सचिव कृष्णहरि पुष्कर कर्णले रोजगार प्रवर्द्घन दशकको कार्यान्वयनका लागि आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने बताए ।

    घोषणापत्रमा आन्तरिक रोजगार प्रवर्द्घन दशकका क्रियाकलाप आगामी आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमा समावेश गरी कार्यान्वयन गर्दै लगिने जनाएको छ ।

    घोषणापत्रमा सरकारी क्षेत्रको सहजीकरण र निजी क्षेत्रको नेतृत्वमा तुलनात्मक लाभका नवीनतम् एवं उदीयमान क्षेत्रहरुमा लगानी अभिवृद्धि गरी आन्तरिक रोजगारी प्रवर्द्धन गरिने, श्रम बजारको मागको आधारमा सिपयुक्त जनशक्ति तयार गर्नको लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रका रोजगारदाताहरुसँग समन्वय एवं सहकार्य गरिने, औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै सामाजिक सुरक्षा सुनिश्चितता सहितको पेन्सनेवल समाजको निर्माण गरिने, सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफलयुक्त लगानीको माध्यमबाट राष्ट्रिय पुँजी निर्माण, विकास र परिचालन गरी श्रमिकहरुको कल्याण अभिवृद्धि गरिने उल्लेख छ ।

    सम्मेलनले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूको सुदृढीकरणर प्रविधिको अधिकतम् प्रयोग गरी रोजगारदाता र श्रमिकका लागि साझा सूचना केन्द्रको रुपमा दिगो हुने गरी विकास गरिने जनाएको छ । घोषणापत्रमा श्रम आप्रवासनको व्यवस्थापन तथा पुनः एकीकरणका लागि ुश्रमिकबाट उद्यमीु बनाउन विशेष वित्तीय व्यवस्थापन परिचालनसमेत गरी राष्ट्रिय कार्यक्रम संचालन गरिने उल्लेख छ ।

    वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सिपको प्रमाणीकरण गरी उनीहरुले आर्जन गरेको सीप, पुँजी र अनुभवलाई उत्पादनशील कार्यमा उपयोग गरी उद्यमशीलताको थप विस्तार गरिनेछ,’ घोषणापत्रमा भनिएको छ,‘प्रभावकारी श्रम कूटनीतिमार्फत वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको अन्त्य गर्न नीतिगत तथा कानुनी सुधार गरिनेछ ।’

  • फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमणको निम्तो

    फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमणको निम्तो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकहरूलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन्। फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। मन्त्री पाण्डेले भने, ‘नेपाल भ्रमण गर्न सबै फ्रान्सेली नागरिकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं । नेपाललाई आफ्नो यात्रा सूचीमा समावेश गर्न अनुरोध गर्दछौं ।’

    मन्त्री पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक खेलकुद तथा आध्यात्मको अनुपम संगम रहेको उल्लेख गर्दै नेपाल भ्रमण गर्ने पर्यटकका लागि अविस्मरणीय अनुभव हुने विश्वास व्यक्त गरे। उनले नेपाल सरकारद्वारा पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा कार्यक्रमहरूको जानकारी गराउँदै नेपाल सुरक्षित र आकर्षक गन्तव्य रहेको जानकारी गराए।

    फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले नेपाल–फ्रान्स सम्बन्धको ऐतिहासिक भएको भन्दै नेपाल भ्रमण गर्ने फ्रान्सेली नागरिकहरूको अनुभव सधैं सकारात्मक रहनेमा विश्वास व्यक्त गरे। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालेका पहलमाथि प्रकाश पार्दै नेपाल भ्रमण गर्ने पर्यटकका लागि आकर्षक प्याकेजहरू उपलब्ध रहेको जानकारी दिए।


    कार्यक्रममा प्रसिद्ध फ्रान्सेली पर्वतारोही स्वर्गीय मौरिस हर्जोगकी पत्नी एलिजाबेथ हर्जोगलाई सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहणपछि हर्जोगले नेपालसँगको आफ्नो विशेष सम्बन्धबारे चर्चा गर्दै नेपाल भ्रमणका सुखद अनुभवहरू अभिव्यक्त गरे। कार्यक्रममा करिब ६० जना पर्यटन व्यवसायी, संस्कृतिप्रेमी तथा नेपालप्रति रुचि राख्ने व्यक्तिहरूको सहभागिता थियो ।

  • युक्रेन युद्धविरामका लागि तयार, रुस के गर्ला ?

    युक्रेन युद्धविरामका लागि तयार, रुस के गर्ला ?

    काठमाडौं । युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो । ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछि बाहिरिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी अधिकारीहरुले जेद्दामा पहिलोपटक वार्ता गरेका थिए । सो वार्तामा अमेरिकाले राखेको ३० दिनको युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरेको हो । साथै अमेरिकाले युक्रेनलाई रोकेको सहायता जारी राख्ने र खनिज खानीसम्म अमेरिकाको पहुँच दिने विषयमा युक्रेन सहमत भएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको भन्दै अब रुसले निर्णय गर्नुपर्ने बताए । रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ । यो बीचमा युक्रेन युद्धविरामका लागि तयार भएको पहिलोपटक हो । युद्धविरामको निर्णय लिनुअघि युक्रेनले रुसको राजधानी मस्कोमा हालसम्मकै ठूलो हमला गरेको थियो । २०० बढी ड्रोन प्रहार हुँदा ९० जति ड्रोन मस्कोमा केन्द्रित थियो ।

  • संविधान पक्षधरबीच समझदारी आवश्यक : गगन थापा

    संविधान पक्षधरबीच समझदारी आवश्यक : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अहिले देशमा केही भएको छैन भन्ने अहंकार कसैले राख्नु नहुने बताएका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालको सम्बोधनपछि धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

    उनले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको खण्डन गरे । उनले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गरे । उनले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने बताए ।

    उनले भने, ‘‘जनता असन्तुष्ट छन्। असन्तुष्ट भएका जनतामा आक्रोश छ। आक्रोशलाई नजरअन्दाज गर्नु हुँदैन भन्ने कुरा म पनि मान्दछु। केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले पनि राख्नु हुँदैन। जसले व्यवस्था परिवर्तनका लागि हामीलाई साथ दियो। जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु। तर वर्तमान सरकार आएसँगै उनीहरू रिसाएका हुन भन्ने कुरामा चाहिँ कतै पनि चित्त बुझाउने ठाउँ छैन।’’ उनले व्यवस्थाको सुदृढीकरणका लागि संविधानका पक्षधरबिच समझदारी हुनु आवश्यक रहेको उल्लेख गरे ।

  • पाकिस्तानमा सशस्त्र समूहको कब्जामा रेल, ४७० यात्रुको ज्यान जोखिममा

    पाकिस्तानमा सशस्त्र समूहको कब्जामा रेल, ४७० यात्रुको ज्यान जोखिममा

    काठमाडौं । पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रताका लागि संघर्ष गरिरहेको बलुच लिबरेशन आर्मी (बीएलए)ले एक यात्रु ट्रेन कब्जामा लिएको छ । एक सय सुरक्षाकर्मीसहित ४७० जना सवार ट्रेन दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको क्वेटाबाट हैदर पख्तुनख्वा हुँदै पेशावर जाँदै थियो । ट्रेन नियन्त्रणमा लिएपछि महिला, बालबालिकालगायत ३७० स्थानीयलाई मुक्त गरेको तथा एक सय सुरक्षाकर्मीलाई बन्धक बनाएको बीएलएले दावी गरेको छ ।

    सयजना सुरक्षाकर्मीमध्ये पाकिस्तानी सेना, पाकिस्तानी प्रहरी र इन्टेलिजेन्स एजेन्सीका सदस्य छन् । ट्रेनलाई नियन्त्रणमा लिएपछि भएको भिडन्तमा ६ पाकिस्तानी सुरक्षाकर्मी मारिएको दावी बीएलएको गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    हाइज्याक गरिएको ट्रेनमा ९ वटा डिब्बा रहेका छन् । बलुच बिद्रोहीले ट्रेनलाई एउटा टनेलनजिकै रोकेर राखेको बताइएको छ । घटना सार्वजनिक भएपछि पाकिस्तानी सेनाले बन्धकहरूलाई मुक्त गर्ने अप्रेशन सुरु गरेको छ । यसक्रममा पाकिस्तानी एयरफोर्सले हमला सुरु गरेको छ भने स्थल सेना पनि परिचालन भएको छ । बीएलएले हवाइ हमला नरोके सबै बन्धकको हत्या गर्ने धम्की दिएको छ ।

    एक सरकारी प्रवक्ताले विज्ञप्ति जारी गर्दै सिबी अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको र एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको बताएका छन् ।
    बलुच विद्रोहीहरूले रेलवे ट्र्याकहरू उडाएर रेल रोक्न बाध्य पारेका थिए । त्यसपछि उनीहरू त्यसमा चढेर यात्रुलाई बन्धक बनाएका थिए ।

    ग्यास र अन्य खनिज स्रोतहरूले समृद्ध मानिने बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले दशकौंदेखि सशस्त्र संघर्ष गर्दै आएका छन् । उनीहरूले पाकिस्तानी सरकार, पाकिस्तानी सेना र चिनियाँहरू विरुद्ध आक्रमण गर्दै आएका छन् । यस क्षेत्रमा चिनियाँ लगानीका विभिन्न आयोजना चलिरहेकाले तिनमा चिनियाँ प्राविधिकहरू कार्यरत रहेका छन् । बेला बेला उनीहरू बीएलएको निशानामा पर्दै आएका छन् ।

    क्षेत्रफलको हिसाबले बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । तर, जनसंख्याका हिसावले भने सबैभन्दा सानो हो । यसले पाकिस्तानको कुल भूभागको लगभग ४४ प्रतिशत क्षेत्रफल ओगटेको छ । बलुचिस्तान उत्तरपूर्वमा खैबर पख्तुनख्वा, पूर्वमा पञ्जाब र दक्षिणपूर्वमा सिन्धका पाकिस्तानी प्रान्तहरूसँग सिमाना जोडिएको छ । यसको पश्चिममा इरान र उत्तरमा अफगानिस्तानसँग सिमाना जोडिएको छ भने दक्षिणी सिमाना अरब सागरले बनेको छ ।

  • गणतन्त्रको पक्षमा माओवादीको अगुवाईमा काठमाडौंमा प्रदर्शन हुने

    गणतन्त्रको पक्षमा माओवादीको अगुवाईमा काठमाडौंमा प्रदर्शन हुने

    काठमाडौं । समाजवादी मोर्चाले आगामी गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भएको छ । आगामी चैत्र १५ गते काठमडौंमा मोर्चाले भव्य प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको हो । मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय लिएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

    तर, पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै चैत १५ गते नै उक्त कार्यक्रम तय भएको उनले जानकारी दिए । ‘चैत्र २४ गते ऐतिहासिक कार्यक्रम गर्ने सोचेको थियो । आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतको खिलापमा हजारौं जनताको विरोध प्रदर्शन गर्ने निर्णय भएको छ,’ उनले भने ।

    त्यसअघि आगामी चैत १ गते बिहान वुद्धिजिवी र नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय भएको पनि उनले बताए । सोही दिन दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् जनतालाई अपिल गर्ने कार्यक्रम राखिएको उनले बताए ।

  • दुई बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्दै रुस, जासुसीको आरोप

    दुई बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्दै रुस, जासुसीको आरोप

    काठमाडौं । रूसले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती ‘कूटनीतिज्ञ’लाई देश निकाला गर्ने घोषणा गरेको छ । दूतावासका द्वितीय सचिव र प्रथम सचिवका पतिलाई निष्कासन गरेको घोषणा गर्दै रुसको एफएसबी सुरक्षा सेवाले भनेको छ, “प्रतिगुप्तचर कार्यले राष्ट्रिय दूतावासको आवरणमा अघोषित बेलायती गुप्तचर उपस्थिति प्रकट गरेको छ ।”

    विज्ञप्तिमा भनिएको छ, “हाम्रो देशमा प्रवेश गर्ने अनुमति प्राप्त गर्दा यी दुईले जानाजानी गलत जानकारी दिएका थिए, जसले गर्दा रुसी कानुनको उल्लङ्घन भएको थियो ।” बेलायतले उक्त आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । रुसी विदेश मन्त्रालयले उनीहरूको मान्यता रद्द गरेको छ र उनीहरूलाई दुई हप्ताभित्र रुस छोड्न आदेश दिएको छ ।

    मन्त्रालयले दूतावासका अन्य प्रतिनिधिलाई पनि सोधपुछका लागि बोलाएको टेलिग्राममा एक पोस्टमा उल्लेख गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको २५ वर्षे शासनकालमा गुप्तचर निकायका कारण मस्को र लन्डनबिचको सम्बन्ध तनावपूर्ण बनेको छ । बेलायतले सन् २००६ मा लन्डनमा भएको विषाक्त आक्रमणमा पूर्व रुसी एजेन्ट तथा क्रेमलिनका आलोचक अलेक्जेन्डर लिटभिनेन्कोको हत्यामा मस्कोको हात रहेको आरोप लगाएको छ ।

    सन् २०१८ मा बेलायत र उसका सहयोगीहरूले पूर्व डबल एजेन्ट सर्गेई स्क्रिपललाई सोभियत कालको नोभिचोक नामक ‘नर्भ एजेन्ट’ (विष) खुवाएको आरोपमा जासूस भनिएका दर्जनौं रुसी दूतावासका अधिकारीहरूलाई देश निकाला गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्रेमलिनसँग निकट सम्बन्ध कायम गर्न खोजिरहेको र रुसले युक्रेन द्वन्द्वको दोष अमेरिकाबाट युरोपतिर थोपरिरहेको बेला सोमबारको घोषणा आएको हो । रासस–एएफपी

  • नेपालमा मुद्रास्फिति दर ४.१६ प्रतिशत,

    नेपालमा मुद्रास्फिति दर ४.१६ प्रतिशत,

    काठमाडौं । गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.१६ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत थियो । ७ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट बैंकले जनाएको छ ।

    गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेका थिए । गत माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८०, दाल तथा गेडागुडीको ९.०६, तरकारीको ७.५६ र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ । तर, मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.९८ प्रतिशतले घटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।