Category: फिचर

  • लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता

    लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता

    काठमाडौं । लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरू गरेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवलमा रहेको लक्ष्मी स्टिलले २३ करोड ७९ लाख रूपैयाँ बक्यौतामध्ये शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रूपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए। लक्ष्मीले २८ किस्तामा बक्यौता तिर्ने छ।

    यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ। २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रूपैयाँ बुझाएको हो। सर्वोत्तमको बक्यौता ११ करोड ९६ लाख रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

  • ढल्केबर–बारा खण्डको प्रसारण लाइन निर्माण सकियो

    ढल्केबर–बारा खण्डको प्रसारण लाइन निर्माण सकियो

    काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषा ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुर सीमानामा पर्ने सरस्वती डाँडासम्मको १ सय किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । धनुषा ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १ सय ५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई गत असारदेखि सञ्चालनमा आइसकेको छ ।

    ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाह थप सहज बनाउन रौतहट चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जंगलसम्मको करिब ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा सञ्चालन ९चार्ज० मा ल्याइएको छ । हाल चालु पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई उक्त स्थानमा ट्यापिङ गरी बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा ४०० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको हो ।

    घिसिङले ढल्केबरबाट पश्चिमतर्फ र पश्चिमबाट ढल्केबरतर्फ विद्युत् पठाउन हाल रहेको पूर्वाधार संरचनाको बाधा हटाउन निर्माण सम्पन्न भएको ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएको बताए । ‘हिउँदयाममा हाल देखिएको ऊर्जा अभाव समाधान गर्न ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट दिउँसो थप विद्युत् भारतबाट आयात गर्न सकिन्छ,’ घिसिङले भने, ‘यसबाट कुलेखानी जलाशय, माथिल्लो तामाकोशी, कालीगण्डकी, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी जस्ता अर्धजलाशययुक्त आयोजनाको पानी दिउँसो जम्मा गरी साँझको पिक र राति चलाउन सकिन्छ, यसबाट ढल्केबरबाट पश्चिमतर्फको विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहज हुनेछ ।’

    उनका अनुसार वर्षायाम सुरु भएपछि देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् पश्चिमबाट ढल्केबरतर्फ प्रवाह गरी भारतमा हुने विद्युत् निर्यात परिमाण बढाउन सकिन्छ । साथै, हाल चालु १३२ केभी प्रसारण लाइनको कन्डक्टर फेरेर क्षमता बढाउने काम अगाडि बढाउन सहज भएको छ । प्राधिकरणले मकवानपुर हेटौंडादेखि ढल्केबरसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन स्तरोन्नति ९तार फेर्ने० काम गरिरहेको छ । पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता बृद्धि गर्न हेटौंडादेखि ढल्केबर सबस्टेसनसम्मको करिब १ सय ३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तार बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागिएको हो ।

    यसमध्ये हेटौंडाबाट बारा पिलुवा सबस्टेसनसम्मको दुबै सर्किटको तार फेर्ने काम सम्पन्न भइसकेको छ । ढल्केबरबाट सर्लाही लालबन्दीसम्मको एउटा सर्किटको काम सम्पन्न भएको छ । स्थानीयको अवरोधका कारण लालबन्दीभन्दा अगाडि तार फेर्ने काम रोकिएको छ । तार फेर्न लाइन बन्द (सट डाउन) गर्नुपर्ने र यसले गर्दा त्यस क्षेत्रको विद्युत् आपूर्ति नै प्रभावित हुने भएकाले काम अगाडि बढ्न सकेको थिएन । अब ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएकाले उक्त लाइनबाट विद्युत प्रवाह गरी तार फेर्ने काम अगाडि बढाउन सकिने भएको हो ।

    अहिले पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुँदै आएकोमा कन्डक्टर बदलेपछि क्षमता वृद्धि भई करिब ४ सय मेगावाट प्रवाह हुन्छ । यसबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युत्लाई ढल्केबर सबस्टेसन मार्फत भारततर्फ निर्यात गर्न सकिन्छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसनसम्मको २ सय ८८ किलोमिटर ४०० केभी प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।

    प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १ सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा १ सय ५४ किलोमिटर दुई खण्डमा विभाजन गरिएको छ । यसमध्ये ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । हेटौंडा–ढल्केबर खण्ड निर्माणाधीन छ । यस खण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका वडा १५, १६ तथा १७ स्थिति हटिया क्षेत्रका केही स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै करिब आठ वर्षदेखि निर्माणमा अवरोध गरिरहेका छन् । हटिया क्षेत्रमा १६ वटा र हेटौडा–११ स्थित थानाभर्‍याङमा २ वटा गरी १८ वटा टावर निर्माण गर्न बाँकी छ । बाँकी २ टावर निर्माणाधीन छन् ।

    आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत३ प्रसारण तथा व्यापार परियोजना अन्तर्गत सुरु गरिएको हो । विश्व बैंकको ऋण अवधि सकिएपछि बाँकी काम हाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ ।

  • पर्यटन बोर्ड र यूएनडीपीबीच ५० लाख डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता

    पर्यटन बोर्ड र यूएनडीपीबीच ५० लाख डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता

    काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल (यूएनडीपी–नेपाल) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) नामक नयाँ परियोजना सुरु गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र यूएनडीपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र यूएनडीपीको एसिया र प्रशान्त क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा जोशी र योकोसुकाले सम्झौतापत्र आदान–प्रदान गरे । स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्य सहित पर्यटन सेवा सुविधा सुधार, पर्यटन कार्यबललाई सिपमूलक तालिम र पर्यटन गन्तव्य प्रवर्द्धन गर्न अघि बढाइएको यो परियोजनाको सफलताका लागि सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताए ।


    कुल ५० लाख अमेरिकी डलर लागत रहेको यो परियोजनामा पर्यटन बोर्ड र यूएनडीपी प्रत्येकले १५ लाख डलर योगदान गर्नेछन् । २० लाख डलर संयुक्त रूपमा परिचालन गरिने छ । यस परियोजनाले तीन वर्ष अवधि (२०२५–२०२८) मा २ हजार ५ सय दिगो रोजगारी सिर्जना गर्ने र ५ हजार जनालाई पर्यटन सम्बन्धी सिप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । प्रमुख पर्यटन स्थलहरूमा साना पर्यटन पूर्वाधार तथा पदमार्ग निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेसन प्रवर्द्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गरिने परियोजनाको लक्ष्य छ ।

    पर्यटन बोर्डका सीईओ जोशीले यस परियोजनाले नेपालमा पर्यटन अनुभवलाई उन्नति गर्ने र स्थानीय समुदायलाई रोजगार तथा उद्यमशीलताका अवसर प्रदान गर्ने बताए । यूएनडीपी–नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा यूएनडीपी जोडिन पाउँदा गर्व महसुस गरेको बताइन् ।

    परियोजनाले नेपालको १६औं योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३–२०३२) ले परिकल्पना गरेको प्राथमिकता ९२०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पुर्‍याउनु र नेपाललाई विश्वभरिका यात्रुका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउनेलाई बल पुर्‍याउने बोर्डले जनाएको छ ।

    पर्यटन बोर्ड र यूएनडीपी–नेपालले यसअघि संयुक्त रूपमा सञ्चालन गरेको दिगो पर्यटन मार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (एसटीएलआरपी) ले कोभिड–१९ महामारीपछि प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

    यो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्दै १ हजार ६ सय जनालाई रोजगार सिर्जना गरेको थियो । यो नयाँ परियोजना एसटीपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तन मार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने लक्ष्य लिएको छ ।

  • सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

    सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

    काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलको मद्दतमा नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १–० ले पराजित गरेको हो । नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टच गोल गरेका हुन् ।

    त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन । सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए । एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।

    तीन अफिसियल खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने नेपालमा भएको सिल्भर जुब्ली कपमा नेपाल र सिंगापुरले बराबरी खेलेको थियो ।
    नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।

  • भारतमा माओवादी सेना झडप, दुई दर्जन मारिए

    भारतमा माओवादी सेना झडप, दुई दर्जन मारिए

    काठमाडौं । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ । भारतको स्रोत साधनले सम्पन्न केन्द्रीय क्षेत्रका सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’ विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । छत्तीसगढ राज्यमा दिनभरि चलेको दुई छुट्टाछुट्टै झडपमा एक भारतीय अर्धसैनिक सुरक्षा अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भारतीय जनता पार्टीका नेता तथा सङ्घीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा विद्रोही आन्दोलनका लागि साझा भारतीय नाम प्रयोग गर्दै लेख्नुभएको छ, “हाम्रो सुरक्षा बलको दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सलवादी मारिएका छन् ।” बिजापुर जिल्लामा बिहान सबेरै भएको झडपमा १८ जना लडाकूसमेत २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राज्यको दक्षिणी क्षेत्रमा भएको छुट्टाछुट्टै भिडन्तमा अन्य चार जना विद्रोही मारिएका छन् । दुवै युद्धस्थलमा खोजी कार्य जारी रहेको र सुरक्षा बलले दुवै क्षेत्रबाट हातहतियार र गोलाबारुद बरामद गरेको दावी गरेको छ । शाहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मोदी सरकार नक्सलवादीहरूविरुद्ध निर्मम दृष्टिकोणका साथ अगाडि बढिरहेको छ र आत्मसमर्पण नगर्ने नक्सलवादीहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाइरहेको छ ।”

    सन् १९६७ मा चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित सशस्त्र अभियान सुरु भएको क्षेत्रमा नक्सलवादी भनेर चिनिने विद्रोहीहरू लामो समयदेखि निरन्तर लड्दै आएका छन् । शाहले भारत सरकारले अर्को वर्षको मार्चको अन्त्यसम्ममा विद्रोहको अवशेषलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । गत वर्ष सुरक्षा फौजको कारबाहीमा करिब २८७ विद्रोही मारिएका थिए जसमध्ये अधिकांश छत्तीसगढमा रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

    भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया९पिटिआई० का अनुसार यस वर्ष अहिलेसम्म ८० भन्दा बढी माओवादी मारिएका छन् । माओवादीले स्थानीय बासिन्दाका लागि जमिन, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्सा माग्दै आएको छ । भारतको पूर्व र दक्षिणका धेरै दुर्गम समुदायहरूमा प्रवेश गरको उक्त आन्दोलनले सन् २००० को दशकको सुरुसम्म शक्ति र सङ्ख्यामा वृद्धि गरेको थियो तर पछिल्ला दुई दशक यता यो आन्दोलन कमजोर देखिएको छ ।

    सन् २००० पछि नयाँ दिल्लीले ‘रेड करिडोर’ नामाकरण गरेको उक्त क्षेत्रमा दशौँ हजार सैनिक तैनाथ गरेको छ । यस द्वन्द्वमा सरकारी फौजमाथि कैयौँ घातक आक्रमणहरू पनि भएका छन् । गत जनवरीमा सडक छेउमा भएको बम विस्फोटमा परी कम्तीमा नौ भारतीय सैनिकको मृत्यु भएको थियो । रासस-एएफपी

  • रुस र अमेरिकाबीच पुनः वार्ता हुँदै

    रुस र अमेरिकाबीच पुनः वार्ता हुँदै

    काठमाडौं । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने जानकारी दिएका छन् । उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने बताए ।

    उशाकोभले बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग फोनमा कुराकानी भएको जानकारी दिए । कुराकानीको क्रममा उनीहरुले विज्ञ समूहहरूको बैठक आयोजना गर्ने विषयमा छलफल गरे जसको मुख्य उद्देश्य ब्ल्याक सी इनिसिएटिभको सम्भावित कार्यान्वयनका सम्भावनाहरू खोज्नु थियो ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता सुरु गर्न सहमत भएको क्रेमलिनले उल्लेख गरे । रासस,सिन्ह्वा

  • पीके क्याम्पसमा नेविसंघकी बागी उम्मेदवार विजयी

    पीके क्याम्पसमा नेविसंघकी बागी उम्मेदवार विजयी

    काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) स्ववियु चुनावमा नेविसंघको विद्रोही समूहको प्यानल विजयी भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही प्यानल निर्वाचित भएको हो । परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् । नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि विवाद हुँदा चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन चैत ७ गते मात्र भएको थियो ।

    भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् । यसैगरी सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भएका छन् । सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत पाए ।

    सदस्यहरुमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटुवाल विजयी भएको निर्वाचन समितिले जनाएको छ । पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका थिए । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे उम्मेदवार थिइन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी थियो ।

    माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका थिए । उनीहरुको गठबन्धनबाट विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीकी प्रजिता दर्नाल सभापतिको उम्मेदवार थिइन् । उनको प्यानलबाट अरुणा गौतम सचिव र आयुषा पण्डित क्षेत्री कोषाध्यक्षको उम्मेदवार थिए ।

    उनीहरु सबैलाई भुपीको प्यानलले हरायो । पद्मकन्यामा नेविसंघको दबदबा छ । २०३६ सालयता यो क्याम्पसमा कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट शशी श्रेष्ठबाहेक कसैले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेका छैनन् । श्रेष्ठले २०३८ सालमा पीकेको स्ववियु अध्यक्ष जितेकी थिइन् ।

  • नेपाल र सिंगापुरबीच आज मैत्रीपूर्ण फूटबल

    नेपाल र सिंगापुरबीच आज मैत्रीपूर्ण फूटबल

    काठमाडौं । नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले अभ्यासका रुपमा यो खेलमा भाग लिन लागेको हो । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६ः१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले नवनियुक्त प्रशिक्षक म्याट रोसको आगमनपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । त्यसका लागि आफू निकै उत्साहित रहेको उनले बताएका थिए ।

    मुख्य प्रशिक्षक रोसको लागि सिंगापुर विरुद्धको खेल ऐतिहासिक हुनेछ । किनकी उनी कुनै पनि पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा यही खेलबाट डेब्यु गर्दैछन् । उनले सिंगापुर जानुअघि नै आफ्नो सपना पूरा हुने बताएका थिए । नेपालले ३६ वर्ष पछि सिंगापुरसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यसअघि पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोट अन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो । यस्तै नेपाल र सिंगापुर पाँचौ पटक भिड्न लागेका हुन् । यसअघिको चार भेटमा नेपाल जितविहिन छ । सिंगापुरले ३ खेल जित्दा १ खेल बराबरीमा सकिएको थियो ।

  • अमेरिकी कानून नमाने देश निकाला गर्ने नेपालस्थित अमेरिकी दूतावासको चेतावनी

    अमेरिकी कानून नमाने देश निकाला गर्ने नेपालस्थित अमेरिकी दूतावासको चेतावनी

    काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसावाहक नेपालीलाई अमेरिकी कानुन र आप्रवासन नियम उल्लंघन गरेको पाइए देशबाटै निकाल्ने चेतावनी दिएको छ। दूतावासले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकाको कानुन उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिको भिसा रद्द गरी देशबाटै निष्कासन गर्ने चेतावनी दिएको हो।

    नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसावाहकहरूको जाँच गर्छौं। उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौँ।’

    राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिसम्बन्धी कार्यकारी आदेश जारी गरेयता अवैध रूपमा अमेरिकामा बसेका नागरिक निकाल्ने क्रममा नेपालीहरू पनि धमाधम फिर्ता भइरहेका छन्।

  • राजावादीलाई टक्कर दिन एमालेले आन्दोलन गर्ने

    राजावादीलाई टक्कर दिन एमालेले आन्दोलन गर्ने

    काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले चैत ११ गते एकै दिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । तीन महिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    सो क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गरिने सो दलले जनाएको छ । चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका छवटै प्रदेशका निम्न शहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।

    प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने छ ।
    आज महासचिव पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिए ।

    एमाले केन्द्रीय सचिवालयको चैत ४ गते बसेको ४६ औं बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिप्रति गम्भीर रूपमा छलफलगरी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्यायजस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।

    महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिनुभयो । महासचिव पोखरेलले पञ्चायतकालीन र लोकतन्त्रको अबधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरण समेत जानकारी गराए ।

    सो क्रममा उनले पञ्चायतको अन्त्यपछि कुल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, शिशु मृत्युदरमा न्यूनीकरण लगायतका महत्वपूर्ण सूचकहरूमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।

  • जनता चनाखो छन्, हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री

    जनता चनाखो छन्, हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे । ‘केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरूमा जस्तै उथलपुथल हाहाहुहु गरेको भरमा हुन्छ भन्ने,’ ओलीले भने, ‘नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् ।’ अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने प्रश्न रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    ‘हेर्दाहेर्दै दरबार हत्यकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘लोकतन्त्र कहाँ बच्यो ? ति दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्नेकुरा भेगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ । यसमाथि धावा बोल्ने ?’ जनताले सिंहदरबारको सरकार गाउँ गाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचारहरू पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताए ।

  • गिरिजा प्रसादलाई सम्झिँदै प्रचण्डले के भने ?

    गिरिजा प्रसादलाई सम्झिँदै प्रचण्डले के भने ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरमा हस्ताक्षर गर्दाको तस्वीर साझा गर्दै गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् । कोइरालाको १५औं स्मृति दिवसको अवसरमा सम्मान प्रकट गर्दै प्रचण्डले कोइरालासँगको तस्वीर साझा गरेका हुन् ।

    ‘नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । १ फागुन २०५२ देखि चलेको १० वर्षको सशस्त्र संघर्षलाई शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण गर्ने क्रममा कोइरालासँग ऐतिहासिक सहकार्य गरेका प्रचण्डले उनले दिएका सुझाव कहिल्यै नबिर्सने बताएका छन् ।

    ‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन,’ प्रचण्डले लेखेका छन् । ‘त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।’

    ५ मंसिर २०६३ मा तत्कालीन प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा अन्तरिम संविधान, दुई पटक संविधानसभाको निर्वाचन, संविधान निर्माणलगायतका काम पूरा भएर मुलुकले वर्तमान राजनीतिक उपलब्धि आर्जन गरेको हो ।

  • नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश

    नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश

    काठमाडौं । नेपाल दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशको सूचीमा परेको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ को हालै सार्वजनिक रिपोर्टका अनुसार दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ । विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ ।

    डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको छ । एसियामा पाकिस्तान १०९औ स्थानमा रहेको छ । यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान र बंगलादेश १३४औ स्थानमा रहेको छ ।

    यता विश्वको खुशि राष्ट्रको दोस्रोमा डेनमार्क छ। त्यस्तै तेस्रोमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ । सकारात्मक सोच, नकारात्मक भावना र जीवनको मुल्‍यांकन तथा भावनाको तुलनात्मक अध्‍ययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ ।


    उत्कृष्ट १० खुसी देश

    १. फिनल्याण्ड

    २. डेनमार्क

    ३. आइसल्यान्ड

    ४. स्वीडेन

    ५. नेदरल्याण्डस्

    ६. कोस्टारिका

    ७. नोर्वे

    ८. इजरायल

    ९.लग्जम्बर्ग

    १०. मेक्सिको

  • प्रधानमन्त्री ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद, विपिन रिहाईबारे कुराकानी

    प्रधानमन्त्री ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद, विपिन रिहाईबारे कुराकानी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद भएको छ । रेकेपसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । बुधबार भएको टेलिफोन संवादमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिएर पहल गर्ने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    गत २७ फागुनमा पनि प्रधानमन्त्री ओलीले जोशीको रिहाइमा सहयोग गर्न आग्रह गर्दै इजिप्टका राष्ट्रपतिसँग पनि टेलिफोन संवाद गरेका थिए । आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराए । टेलिफोन संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे पनि कुराकानी भएको सचिवालयले जनाएको छ ।

  • स्ववियू निर्वाचनको नतिजाबाट उत्साहित माओवादी, के भन्छन् प्रचण्ड ?

    स्ववियू निर्वाचनको नतिजाबाट उत्साहित माओवादी, के भन्छन् प्रचण्ड ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद भएको बताएका छन् । अहिलेसम्मको नतिजाले सचेत एवं वौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको प्रचण्डको बुझाइ छ । आज बिहान सामाजिक सन्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ ।’


    उनले थप लेखेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले स्ववियु निर्वाचनमा विजयी सबै विद्यार्थीहरूलाई बधाई र शुभकामना व्यक्त गरेका छन् ।

    देशभरका क्याम्पसमा भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ । नयाँ नतिजा अनुसार अघिल्लो निर्वाचनको तुलनामा माओवादी निकट संगठनले अधिक क्याम्पसमा जित निकालेको छ । पहिलो नम्बरमा कांग्रेस निकट र दोस्रो नम्बरमा एमाले निकट संगठन छन् । एमाले निटक संगठनले अघिल्लो चुनावको तुलनामा धेरै क्याम्पस गुमाएको देखिएको छ ।

  • अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच तनावका बीच पुनः लामो वार्ता

    अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच तनावका बीच पुनः लामो वार्ता

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच लामो वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ह्वाइट हाउसमा चर्काचर्कीपछि पहिलो पटक ट्रम्प र जेलेन्स्कीबीच लामो फोनवार्ता भएको समाचारमा उल्लेख छ । बुधबार उनीहरूले करिब एक घन्टा वार्ता गरे । राष्ट्रपति ट्रम्पले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ९० मिनेट टेलिफोन वार्ता गरेका थिए ।

    जेलेन्स्कीसँग यसैबारे कुराकारी भएको बताइएको छ । उता, कुराकानीको विस्तृत विवरण ह्वाइट हाउसबाट सार्वजनिक भइसकेको छैन । दुवै राष्ट्रपतिहरूले कुराकानी सकारात्मक र सौहार्दपूर्ण भएको बताएका छन्। जेलेन्स्कीले टेलिफोन वार्ताअघि पुटिनसँगको कुराकानीबारे ट्रम्पले आफूलाई ब्रिफिङ गर्ने विश्वास व्यक्त गरेका थिए।

    फेब्रुअरी २८ मा खनिज सम्झौतामा हस्ताक्षर गर्न ह्वाइट हाउस पुगेका जेलेन्स्की त्यहाँ ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सबीच चर्काचर्की गरेर फर्किएका थिए। त्यतिबेला खनिज सम्झौतामा हस्ताक्षरको कार्यक्रम स्थगित गरी जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिन निर्देशन दिइएको थियो। त्यसयता ट्रम्प र जेलेन्स्कीबीच संवाद भएको थिएन। सार्वजनिक कार्यक्रमहरूमार्फत उनीहरूले छिट्टै नै सकारात्मक वार्ता हुने बताउँदै आएका थिए।

    ट्रम्प र जेलेन्स्कीको व्यक्तिगत संवाद रोकिए पनि साउदी अरबमा अमेरिकी अधिकारीहरूले युक्रेनी अधिकारीहरूसँग वार्ता गरेका थिए। त्यही वार्तामा युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई युक्रेनले स्वीकार गरेको थियो। युक्रेनले स्वीकार गरेपछि ट्रम्पले पुटिनलाई मनाउन मंगलाबार लामो फोनवार्ता गरेका थिए।

    २ घन्टा लामो संवादपछि पनि पुटिनले ३० दिनको युद्धविराम गर्न तयार नभएको बरू युक्रेनी उर्जा पूर्वाधारमा आक्रमण रोक्न सकिने जबाफ ट्रम्पलाई दिएका थिए। पुटिनले ३० दिनसम्म युद्धविराम गरे युक्रेनले हतियार जम्मा गर्ने र थप सहायता जुटाएर पछि युद्धविरामका लागि आफ्ना मागहरू बढाउन सक्ने चुनौती रहेको बताएका थिए। जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूमा रूसले आक्रमण नगर्ने प्रतिबद्धतालाई पनि सकारात्मक रूपमा लिएको बताएका थिए।

  • एसईई परीक्षा आजबाट, कति छन् विद्यार्थी ?

    एसईई परीक्षा आजबाट, कति छन् विद्यार्थी ?

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
    परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ ।

    परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति जना परीक्षामा सहभागी हुने छन् भन्ने यकिन छैन । परीक्षा सञ्चालनका लागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्‍याइसकिएको छ ।

    परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ । ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याको आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन्, जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् ।

    जापानका लागि पनि उत्तरपुस्तिका पठाइसकिएको छ भने प्रश्नपत्र परीक्षाकै समयमा त्यहाँ रहेको नेपाली दूतावासमार्फत पठाइने छ । त्यहाँको परीक्षा सञ्चालन दूतावासमार्फत नै गरिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधारगृह र कारागारमा समेत गरी तीन वटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न विशेष निगरानीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको सहयोग आवश्यक रहेको बताइन् ।

    मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पार्दै स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यबाट मात्रै परीक्षा सफलतापूर्वक सम्पन्न हुने बताइन् । नियमविपरीत कार्य गर्ने जोकोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उनले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूसमेत जिम्मेवार हुनुपर्ने बताइन् ।

  • ऊर्जा मन्त्री भन्छन् : अब लोडसेडिङ हुन्छ

    ऊर्जा मन्त्री भन्छन् : अब लोडसेडिङ हुन्छ

    काठमाडाचैं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने दावि गरे । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताए । सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ ।

    २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ, उनले भने, हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।ु

    नेपालको लोडसेडिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा पनि भारत र निजी क्षेत्रको भूमिका रहेको मन्त्री खड्काको भनाइ छ । उनले नेपालमा लोडसेडिङ अन्त्यका लागि भारतलाई धन्यवाद दिनुपर्ने दोहोर्‍याए । यसअघि प्रतिनिधिसभामा पनि भारतलाई लोडसेडिङ अन्त्य गरिदिएकोमा धन्यवाद दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

    ‘निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्‌ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ । त्यसकारण उज्यालोको नायक भनेको उहाँ (कुलमान घिसिङ) होइन है, बरु यो धन्यवाद भारतलाई दिऔं, निजी क्षेत्रलाई दिऔं । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यवाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो,’ उनले भने ।

    मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिए पनि महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए । प्राधिकरण नाफामा रहेको भनी गरिएको दाबीमा कुनै सत्यता नभएको उनको तर्क थियो ।

  • यूएसएआईडी बन्द गराउने खालका काम नगर्न अमेरिकी अदालतको आदेश

    यूएसएआईडी बन्द गराउने खालका काम नगर्न अमेरिकी अदालतको आदेश

    काठमाडौं । संयुक्त राज्य अमेरिकाका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बन्द गर्ने थप कदम चाल्न रोक लगाएका छन्। आफ्नो आदेशमा न्यायाधीश थिओडर छ्वाङले यूएसएआईडी बन्द गर्ने प्रयासले अमेरिकी संविधानको उल्लङ्घन गर्न सक्ने जनाएका छन्। इलोन मस्कको द डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी (डीओजीई) ले अमेरिकी सहयोग निकाय बन्द गर्न लिएको निर्णय तत्काल रोक्न दिइएको उक्त आदेशविरुद्ध आफूले पुनरावेदन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्। अमेरिकी प्रसारक फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले छ्वाङजस्ता न्यायाधीशहरू अमेरिकाका लागि राम्रो नभएको टिप्पणी गरेका छन्।

    गत हप्ता अमेरिकी विदेशमन्त्री मार्को रुबिओले विश्वभरि अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य र आपत्कालीन सहयोगसम्बन्धी ८३ प्रतिशत कार्यक्रमहरू रद्द गर्न लागिएको बताएका थिए। आफ्नो आदेशमा न्यायाधीश थिओडर छ्वाङले ट्रम्पका साझेदार मस्कको नेतृत्वमा रहेको डीओजीईले यूएसएआईडी बन्द गर्न गरिरहेको प्रयासले ूएकभन्दा बढी कोणबाटू अमेरिकी संविधानको उल्लङ्घन गरिरहेको हुन सक्ने उल्लेख गरे।

    उनले उक्त निकायलाई कर्मचारीहरूलाई यूएसएआईडीको कम्प्युटरमा पहुँच दिन र बिदामा राखिएका कर्मचारीहरूलाई तलब उपलब्ध गराउन आदेश दिएका छन् ती न्यायाधीशले यूएसएआईडीका कर्मचारीहरूको बर्खास्ती रोकिनुपर्ने आदेश पनि दिएका छन्। तर उनले विगतमा बिदामा पठाइएका कर्मचारीहरूलाई पुनर्बहाली गरिनुपर्ने आदेश भने दिएनन्।

    ज्यानुअरीमा ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरेलगत्तै डीओजीईले यूएसएआईडीलाई निसाना बनाएको थियो। उक्त निकायले ९० दिनसम्मका लागि सबै अमेरिले दिँदै आएको वैदेशिक सहयोग स्थगित गर्न आदेश दिएको थियो। मस्क र डीओजीईले अदालतमा बुझाएका दस्तावेजमा मस्कको भूमिका सल्लाहकारको मात्र भएको उल्लेख गरिएको छ।

    तर न्यायाधीश छ्वाङले मस्क र डीओजीईले यूएसएआईडीमाथि नियन्त्रण कायम गरेको र त्यसो गर्दा विभिन्न तरिकाले अमेरिकी संविधान उल्लङ्घन गरेको हुन सक्ने जनाएका छन्। ती कदमबाट मुद्दा दायर गर्ने पक्षहरूमात्रै नभई नागरिकको स्वार्थमा समेत क्षति पुगेको उनको आदेशमा उल्लेख छ। उक्त निर्णयको असर यूएसएआईडीको सञ्चालनमा कस्तो पर्छ स्पष्ट छैन। तर अमेरिकी अधिकारीहरूले उक्त निकायका ८० प्रतिशतभन्दा बढी गतिविधि रोकिएको जनाएका छन्।

    अमेरिकी सरकारको निर्णयानुसार नेपालमा सञ्चालित कैयौँ परियोजनाहरू पनि प्रभावित भएका अधिकारीहरूले बताउँदै आएका छन्। नाम नखुलेका यूएसएआईडीका २६ कर्मचारीको तर्फबाट दायर गरिएको मुद्दामा उक्त निर्णय आएको हो। उनीहरूले अदालतमा मस्कले अनुमान गर्न सकिने र लापरबाहीपूर्वक अमेरिकी सरकारी निकायहरूलाई भङ्ग गरिरहेको आरोप लगाएका थिए।

    फेब्रुअरी १३ मा दायर गरिएको मुद्दामा ती कर्मचारीका वकिलहरूले मस्कको शक्ति अवैधानिक भएको दाबी पनि गरेका थिए। उनीहरूले उनी औपचारिक रूपमा सरकारी पदमा मनोनीत नभएको र सिनेटले पनि उनको नियुक्ति अनुमोदन नगरेको भन्दै उनले नेतृत्व गरेको निकायको गतिविधि स्थगित गर्न र उल्टाउन माग गरेका थिए। बीबीसीको सहयोगमा

  • शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’

    शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’

    काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास र पर्यटन मन्त्रालयसँगको सहकार्यमा शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ गर्ने भएको छ । महोत्सव ७ चैत २०८१ देखि २९ वैशाख २०८२ सम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा आयोजना हुने नेपाल पर्यटन बोर्डले जनाएको छ । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले जनाएको छ ।

    ७ चैतदेखि सुरु हुने महोत्सवमा ८ चैतका दिन मायादेवी मन्दिर बाहिर पवित्र उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । ९ चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ । यसबीच लुम्बिनी शान्ति सांगीतिक कार्यक्रम, झोङ हुआ गुम्बाको २५औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोह लगायत विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डले जारी गरेको विज्ञप्तिमा छ ।

    महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने छन् । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदान–प्रदान प्रवद्र्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकका रूपमा अघि बढाइएको बताए । ‘हामी विश्वभरिका पाहुनालाई लुम्बिनीको आध्यात्मिक अनुभव गर्न र विश्वव्यापी सौहार्दता मनाउन निमन्त्रणा गर्दछौं,’ उनले भने ।

  • नेपाल विकासशील राष्ट्र हुँदा गर्नुपर्ने तयारीबारे अर्थमन्त्रीले थाले छलफल

    नेपाल विकासशील राष्ट्र हुँदा गर्नुपर्ने तयारीबारे अर्थमन्त्रीले थाले छलफल

    काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरूलाई पूर्णतयारी साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुट्न कर्मचारीलाई निर्देशन दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीहरूले संक्रमणकालीन रणनीतिहरूलाई समय सान्दर्भिक बनाइ सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेको बताए ।

    बैठकमा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट बनाउँदा प्रस्ताव गरिेने, नीति, योजना र कार्यक्रमले सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुटनुपर्नेमा जोड दिइएको छ । अर्थ मन्त्रालयको कार्य जिम्मेवारीमा दिगो आर्थिक वृद्धि र रोजगारी सिर्जनामा आधारित वित्त नीति, स्थीर मौद्रिक नीति, कोषको उपलब्धता र विकास सहायता परिचालन पर्छन् ।

    यसैगरी व्यापारिक विश्लेषण तथा उच्च प्रतिफलयुक्त परियोजनाका लागि क्षमता र वित्तीय पहुँच वृद्धि पनि कार्य जिम्मेवारीमा छन् । स्तरोन्नतिका मापदण्डमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचक, आर्थिक तथा वातावरणीय जोखिम सूचक लगायत छन् ।

    स्तरोन्नतिपछि नेपालमा विकास तथा व्यावसायिक लगानीमा सुदृढ पहुँच, नयाँ व्यापार र आर्थिक साझेदारीको विकासमा योगदान, दिगो विकास, राष्ट्रिय छवि निर्माण, विश्वसनीयतामा वृद्धि लगायत प्रभाव पर्न सक्ने आकलन गरिएको छ । यसैगरी वस्तु निर्यात, मूल्य, रोजगारी लगायतमा पनि प्रभाव पर्न सक्ने आकलन गरिएको छ । नेपाल नोभेम्बर २०२६ मा अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय निर्धारण गरिएको छ ।

  • सामाजिक सञ्जालमा आएका टिका-टिप्पणीबारे सेनाले बोल्यो

    सामाजिक सञ्जालमा आएका टिका-टिप्पणीबारे सेनाले बोल्यो

    काठमाडौं । नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ । केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि बुधबार जंग्गीअड्डाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

    नेपाली सेना संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशय आउने गरी विभिन्न प्रचार भइरहेका थिए । त्यसतर्फ इंगित गर्दै सेनाले भनेको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’

    साथै, सेनाले आफ्ना धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको प्रष्ट पारेको छ ।

    ‘विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको छ,’ सेनाले विज्ञिप्तिमा भनेको छ ।

    नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सेनाद्वारा आग्रह गरिएको छ ।

  • भारतबाट नेपाल घुम्न आएका पर्यटक कालिगण्डकीमा वेपत्ता

    भारतबाट नेपाल घुम्न आएका पर्यटक कालिगण्डकीमा वेपत्ता

    काठमाडौं । भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाबाट नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका ५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार २५ वर्षीय शिवम पाण्डे बेपत्ता भएको पाल्पाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

    उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको मल्लले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा पाण्डेको खोजी कार्य जारी रहेको मल्ले जानकारी दिए ।

  • अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच ९० मिनेट वार्ता

    अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच ९० मिनेट वार्ता

    ६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ९० मिनेट भन्दा लामो वार्ता भएको छ । उनीहरुबीच युद्ध रोक्नेबारे टेलिफोन वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालयले वार्ताको पुष्टी गरेको छ । उनीहरुले ९० मिनेटसम्म कुराकानी गरेका थिए ।

    दुई नेताबीच युक्रेनी भूमीमा रहेका ऊर्जा केन्द्रहरुमा कम्तिमा ३० दिन आक्रमण नगर्ने सहमति समेत भएको बताइएको छ । ट्रम्पको यो सुझावमा पुटिनले सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ । १९ मार्चका दिन रुस र युक्रेनबीच १७५ जना युद्धबन्दी आदान प्रदान गर्ने सहमति समेत भएको छ । साथै गम्भीर रुपले घाइते २३ युक्रेनी सैनिक समेत रुसले युक्रेनलाई फिर्ता गर्ने भएको छ । उनीहरुको अहिले रुसमै उपचार भइरहेको छ ।

  • एसईई परीक्षामा जापानबाट सहभागी हँदैछन् २९ विद्यार्थी

    एसईई परीक्षामा जापानबाट सहभागी हँदैछन् २९ विद्यार्थी

    काठमाडौं । बिहीवारबाट सुरु हुने नेपालको विद्यालय शिक्षा परीक्षा (एसईई)मा जापानबाट २९ जना विद्यार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्षको एसईईमा सहभागी हुन लागेका पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थीमध्ये अधिकांशले नेपालबाटै परीक्षा दिनेछन् । नेपाल बाहिरबाट एसईईको परीक्षामा सहभागी हुने देश जापान मात्रै रहेको छ ।

    टोकियोनजिकै जापानको ओगिकुबोमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टसहितका ६५ जना नेपाली मिलेर स्थापना गरेको एभरेस्ट इन्टरनेशनल स्कुलमा विसं २०७७ सालबाट एसईई परीक्षा सञ्चालन भइरहेको छ। उक्त विद्यालयबाट हालसम्म एसईई दिएका ८५ सबै जना विद्यार्थीले पहिलो प्रयासमै उत्तीर्ण गरेका छन्। नेपालमा बिहान ८ बजेबाट सञ्चालन हुने परीक्षा जापानमा भने स्थानीय समयअनुसार ११ बजेबाट सञ्चालन हुन्छ।

    अनलाइनबाट प्रश्नपत्र पठाइने भएको छ । जापानमा रहेको नेपाली राजदूतावासका राजदूत र कर्मचारीले अनुगमन र निरीक्षण गर्नेछन् । परीक्षा सम्पन्न भएपछि त्यहाँका उत्तरपुस्तिका लाहाछाप भएर नेपाल नै आउँछन् । नेपालमा सम्परीक्षण गरेर नतिजा प्रकाशित गरिन्छ । सन् २०१३ मा स्थापना भएको उक्त विद्यालयमा जापानमा रोजगारीका लागि पुगेका र व्यवसाय गरिरहेका नेपाली परिवारले आफ्ना सन्तान पढाउने गरेका छन् ।

  • इजरायलले गाजामा गर्यो पुनः भीषण आक्रमण, कम्तिमा ४ सय मारिए

    इजरायलले गाजामा गर्यो पुनः भीषण आक्रमण, कम्तिमा ४ सय मारिए

    काठमाडौं । इजराइलले गाजामा गरेको भीषण आक्रमणमा कम्तिमा ४ सय मारिएका छन् । मंगलबार इजराइली सेनाले सो आक्रमण गरेको हो । गाजामा युद्धविराम सुरू भएको माघ ५ गते यताकै ठूलो आक्रमण हो। इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेका कारण आफूले आक्रमण गर्न निर्देशन दिएको बताएका छन् ।

    उनले गाजाका नागरिकलाई सुरक्षित स्थानमा जान पनि निर्देशन दिएका छन्। इजराइलले हमासविरूद्ध अझै सशक्त ढंगले आक्रमण गर्नेछ। अब युद्धविराम र शान्तिको वार्ता सामान्य अवस्थामा होइन आक्रमणकै बीच हुनेछ, सैनिक आधार शिविरबाट नेतन्याहुले भने। हमासले इजराइली प्रहारको महुसस गरिसकेको पनि नेतन्याहुले बताएका छन्। यो त केबल सुरूवात मात्रै हो, उनले भने।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजराइलले गाजाको उत्तरदेखि दक्षिणसम्मका घरहरू र पाल टाँगिएका शिविरहरूमा आक्रमण गरेको थियो। प्रत्यक्षदर्शीहरूले मंगलबार राति इजरायली विमानले गाजा शहरमा मिसाइल प्रहार गरेको बताएका छन्। इजराइल र हमासबीच माघ ५ गते तीन चरणको युद्धविराम हुनेगरी गजामा पहिलो चरणको युद्धविराम घोषणा भएको थियो।

    ४२ दिनपछि मध्यस्तकर्ताहरुले दोस्रो चरणको युद्धविरामका लागि सहमति जुटाउन नसकेपछि अमेरिकी अधिकारीहरूको प्रस्तावमा इजराइल गाजामा थप ४२ दिनको पहिलो चरणकै युद्धविराम अवधि बढाउन सहमति भएको थियो। तर हमासले भने दोस्रो चरणको युद्धविराम हुनुपर्ने माग राख्दै पहिलो चरणकै युद्धविराम लम्ब्याउने प्रस्तावालाई नकारिदिएको थियो।

  • अन्तरिक्ष यात्री सुनिता र बुच विलमोर पृथ्वीमा फर्किए

    अन्तरिक्ष यात्री सुनिता र बुच विलमोर पृथ्वीमा फर्किए

    काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन्। नेपाली समयअनुसार बिहान ३ बजेर ४३ मिनेटमा चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरेको छ । बीबीसीका अनुसार अन्तरिक्ष यानबाट बाहिर निस्किंदा उनीहरूको अनुहारमा मुस्कान थियो। पृथ्वीमा पुग्न उनीहरूलाई १७ घण्टा लाग्यो। यानले पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा पुनः प्रवेश गर्‍यो, जसपछि चार वटा प्यारासुट खुले र तिनीहरूलाई फ्लोरिडाको तटमा सुरक्षित रूपमा अवतरण गराइयो ।

    नासाको वाणिज्य क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले क्रू सदस्यहरूलाई स्वागत र प्रशंसा गरे । सुनिता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को यात्रा गरेका थिए । आठ दिन बिताएपछि उनीहरू फर्किनु पर्ने थियो, तर यानमा खराबी आएपछि उनीहरूको यात्रा ९ महिनासम्म रोकिएको थियो ।

    पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा क्याप्सुलको गति १७,००० माइल प्रतिघण्टा थियो, जसलाई केही मिनेटभित्रै नियन्त्रण गरेर सुस्त पारियो । जब उनीहरू अन्तरिक्ष यानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो। सुनीता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को यात्रा गरेका थिए ।

  • परराष्ट्र मन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेट

    परराष्ट्र मन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेट

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयले आयोजना गरेको ‘राइसिना डायलग’ को क्रममा परराष्ट्रमन्त्री राणासँग विदेशमन्त्री जयशंकरको भेटवार्ता भएको हो ।

    भेटको क्रममा भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकतामा राखेको कुरा विदेशमन्त्री जयशंकरसँग राखेको राणाले बताएकी छिन् ।

  • ट्रकमा २५ करोड नगदसहित एक पक्राउ

    ट्रकमा २५ करोड नगदसहित एक पक्राउ

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा पर्ने झोरबाट ठूलो परिमाणको विदेशी मुद्रासहित गए राति एक जना ट्रक चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ को ट्रक र त्यस ट्रकभित्र लुकाएर राखेको पैसासहित चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी ट्रक चालक र बरामद विदेशी मुद्राबारे जानकारी गराएको हो ।

    प्रहरीका अनुसार ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुशाङ लामा (फुच्चे) हुन्। उनी केही समयदेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णमा डेरा गरी बस्दै आएका थिए। ट्रक उनको आमाको नाममा छ। उनले ट्रकमा विदेशी मुद्रा राख्नुअघि २० दिनदेखि रङ लगाउन ट्रक ग्यारेजमा राखेका थिए।

    लामा सुन तस्करी आरोपमा पाँच वर्ष जेल परेका थिए। जेलबाट छुटेपछि उनले ट्रक चलाउन थालेको देखिएको छ । चालक लामाले ट्रक रसुवागढीसम्म लगेर छाड्ने र रसुवाकै मानिस वा भिसाप्राप्त व्यक्तिको प्रयोग गरी त्यहाँबाट ट्रकलाई सीमा कटाएर केरूङसम्म पुर्‍याउने योजना बनाएको बताइएको छ । ‘उनले यतिका धेरै विदेशी मुद्रा कसरी संकलन गरे खुलिसकेको छैन ।

  • सुनको भाउले पुनः राख्यो कीर्तिमान

    सुनको भाउले पुनः राख्यो कीर्तिमान

    काठमाडौं । मंगलबार नै सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।

    यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।