काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ। शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गर्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना पक्राशित गरेको हो। सशस्त्रले ६८ जना प्रहरी निरीक्षक, ८३ जना प्रहरी सहायक निरीक्षक, ९४१ जना प्रहरी जवान, २० जना भान्छे, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना केशकर्तक र १४ जना चर्मकर्मीका लागि आवेदन आह्वान गरेको हो।
ती ओहोदाका लागि योग्यता पुगेका र ईच्छुक नेपाली नागरिकहरूले पुस २४ गतेदेखि माघ २४ गतेसम्म कार्यालय सशस्त्र प्रहरी बलले निर्धारण गरेको विभिन्न कार्यालयहरूमा उपस्थित भएर फाराम बुझाउनु पर्नेछ। दरखास्त दस्तुर र योग्यता विभिन्न पदका लागि फरक फरक निर्धारण गरिएको छ।
काठमाडौं । बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो ।
सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीकी छोरी पाँच वर्षीया आकृतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए ।
चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।
विहीबार राति नै करिब नौ बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप बझाङको कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जिप चालक धर्म थापाको मृत्यु भएको छ । चालक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त जिप मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै थियो ।
काठमाडौं । एमालेले निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका आरोपको खण्डन गर्न आवश्यक नभएको बताएको छ । पार्टी सचिवालय बिहीबारको बैठकमा रावलले लगाएका आरोप २०७७ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि लगाएको ‘कपीपेस्ट’ भएको निष्कर्ष निकालिएको छ ।
‘हामीमाथि लगाएका गालीगलौज चर्चा गर्नुपर्ने विषय ठानेनौं । यो उहाँ (रावल)ं बाट अपेक्षित थियो । गालीले देश बन्ने होइन,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘हाम्रो गालीगलौजमा प्रतिस्पर्धा छैन । नौलो कुरा छैनन् । ती एक किसिमले२०७७ कात्तिकमा प्रचण्डले पेस गरेको ुकपीपेस्टु नै हो । छलफल गर्नुपर्ने विषय ठानेनौ्र ।’
पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष रावलले बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीलाई ‘स्वेच्छाचारी, निरंकुश र तानाशाही’ निर्णय गरेको भन्दै ७४ प्रश्न गरेका थिए ।
२०६८ मंसिरमा भएको दसौं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण आफूमाथि निषेधको नीति लिएको आरोपसमेत उनले लगाएका छन् । एमालेले गत कात्तिक ४ मा आफूलाई स्पष्टीकरण सोध्नुको औचित्य नभएकाले आफूले जवाफ नदिएको र आफूमाथि कारबाही गर्नुको वैधानिक आधार नभएको उनको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो । पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आएकी पूर्वराष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष समेत रहेका ओलीले पछिल्लो समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको छ ।
काठमाडौं । बुधबार पोखराबाट काठमाडौंका लागि उड्ने क्रममा बुद्ध एयरको जहाजमा यात्रारत एक यात्रुले आपतकालीन ९इमर्जेन्सी० ढोका खोलेका छन् । उडान नम्बर ६१८ को उडान तयारी क्रममा ती यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेको कम्पनीले जनाएको छ । प्राविधिक टोलीको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौंका लागि उक्त जहाज उडाइएको थियो ।
यसअघि १० अक्टोबरका दिन काठमाडौंबाट जनकपुरका लागि बिहान ६ः०५ मा उडेको बुद्ध एयरकै जहाज जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसम सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेका थिए ।
उक्त घटनापछि चालक दलले जहाज पार्किङ–वेमै फर्काएका थिए । जहाजको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजेमात्र जहाज जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका प्रभावित बनेको थियो । अनाहकमा इमर्जेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाउने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा १ लाख जरिवाना तिराइएको बुद्ध एयरले जनाएको छ ।
इमर्जेन्सी ढोका प्रयोगबारे वायुसेवा कम्पनीका परिचारिकाले उडानअघि विस्तृत रूपमा यात्रुलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थामा बाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ । हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।
बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ । वायुसेवा कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउन सक्ने प्रावधान छ । बुद्धले अनाकहमा इमर्जेन्सी ढोका खोल्ने यात्रुबाट अब क्षतिपूर्ति रकम १ लाख रुपैयाँ तिराइ सोही गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने जनाएको छ ।
माथिका दुई घटनामा तिराइएको क्षतिपूर्ति जनकपुरमा महागंगा आरती–गंगासागर र पोखरामा वृद्धाश्रमलाई हस्तान्तरण गरिएको बुद्ध एयरले जनाएको छ ।
काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०स्४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । १५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो ।
यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा छाएका छन् । सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।
‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनको निधनमा श्रद्धान्जली व्यक्त गरेका छन् । उनले भनेका छन्, एक प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनसिल विषयमा सजग रहेर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ ।’
काठमाडौं । काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलोमिटर पर माझीटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
काठमाडौं । विकास निर्माण सिजनमा निर्माण व्यवसायीले भने आन्दोलन तयारी थालेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी २७ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने र त्यसपछि चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएको हो । महासंघ महासचिव रोशन दाहालका अनुसार सरकारबाट निर्माण व्यवसायीले ठूलो रकम भुक्तानी पाएका छैनन् ।
यसबाहेक सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको जटिलता निर्माण कार्यमा हुने सिजनमै उद्योगीबाट विनाकारण कार्टेलिङ, सिमेन्ट, डन्डी लगायत निर्माण सामग्रीमा भएको चर्को मूल्य वृद्धि लगायत कारण निर्माण क्षेत्र धराशायी भएको भन्दै महासंघले पुनः आन्दोलन तयारी गरेको जानकारी गराएको हो ।
यसबीचमा प्रधानमन्त्री सहित विकासे मन्त्रालयका मन्त्री भेटेर समस्याबारे जानकारी गराउँदा समेत ठोस सुनुवाइ नभएपछि आन्दोलनमा जानुको विकल्प नदेखेको समेत व्यवसायीले गुनासो गरेका छन् । २७ पुसका दिन हुने राष्ट्रिय भेलाबाट निर्माण व्यवसायीले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने समेत जानकारी गराएका छन् । महासचिव दाहालका अनुसार आर्थिक वर्ष २०७९–८० देखिकै भुक्तानी सरकारले दिन सकेको छैन । आफूले भुक्तानी दिन नसक्ने र सोहीकारण काम प्रभावित भएका आयोजनामा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको समेत व्यवसायीको आरोप छ ।
सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनका कारण म्याद थप भएका आयोजनामा पनि बजेट अन्योल भएको, भुक्तानी असमर्थता तथा वर्षाका कारण आएको बाढी पहिरोले ठेक्का समयमा सम्पन्न हुन नसकिएको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले ऋणमा दिएको सुविधा कटौतीबाट समेत निर्माण उद्योगमा असर परेको व्यवसायीको गुनासो छ । निर्माण व्यवसायीले कुनै अध्ययनविना स्रोत सुनिश्चितता दिइएका ठेक्का खारेज गर्न समेत माग गरेका छन् ।
काठमाडौं । दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा रेकर्डर थप विश्लेषणका लागि संयुक्त राज्य अमेरिकामा पठाउने घोषणा गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले फ्लाइट रेकर्डर स्थानान्तरण गर्ने समयसीमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) सँगको समन्वयमा निर्धारण गरिने बताएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयर बी ७३७–८०० विमानको भग्नावशेषबाट बरामद गरिएको उडान रेकर्डरले डाटा भण्डारण एकाइलाई यसको पावर स्रोतमा जोड्ने हराएको कनेक्टरसहित बाह्य क्षति भएको पाइएको थियो ।
मन्त्रालयको हवाई नीति विभागका निर्देशक जु जोङ–वानले भने, ‘क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरबाट यहाँ डाटा निकाल्न सम्भव छैन भन्ने हामीले निर्धारण गरेका छौँ, त्यसैले हामीले यसलाई अमेरिका पठाउने र त्यहाँ विश्लेषण गर्ने कुरामा एनटिएसबीसँग सहमति गरेका छौँ।’ संयुक्त राज्य अमेरिकाको एउटा टोली सोमबार दक्षिण कोरिया पुगेको थियो र अर्को दिन मुआनमा भूमि, पूर्वाधार र यातायात मन्त्रालयको नेतृत्वमा दक्षिण कोरियाली अधिकारीहरूसँग संयुक्त अनुसन्धान सुरु गरेको थियो ।
उनीहरूको प्रारम्भिक संयुक्त स्थलगत अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले विमान अवतरणमा सहयोग गर्ने लोकलाइजर भनिने नेभिगेसन प्रणालीमा ध्यान केन्द्रित गरेका थिए। मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा कङ्क्रिट संरचनामा जडान गरिएको लोकलाइजरलाई जेजु एयर दुर्घटनामा हताहतको गम्भीरता बढाउन जिम्मेवार ठहर्याइएको योन्हापले बताएको छ।
दक्षिण कोरियाली अधिकारीहरूले दक्षिण कोरियाको मुआन क्षेत्रमा भएको विमान दुर्घटनामा १८१ यात्रुमध्ये १७९ जनाको मृत्यु भएको र दुई जनालाई उद्धार गरिएको पुष्टि गरेका थिए । आइतबार बिहान १७५ यात्रु र छ जना चालक दलका सदस्य बोकेको जेजु एयरको यात्रु जेट मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्यान्ड गरी विस्फोट भएको योन्हाप समाचार एजेन्सीले जनाएको छ । विमान अवतरण गर्दा ल्यान्डिङ गियर नखुलेको अवस्थामा धावनमार्गबाट चुकेर जमिनमा घस्रिँदै कङ्क्रिट पर्खालमा ठोक्किएर आगो लागेको थियो। राससको सहयोगमा
काठमाडौं । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो ।
यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए।
गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले बताए । ‘अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन्।’ अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।
अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ।
कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । रासस
काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा गाडी घुसाएर गरिएको आक्रमणमा ज्यान जानेको संख्या १५ पुगेको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए । चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी प्रहरीका अनुसार तीव्र गतिमा ट्रक चलाएका चालकले जतिसक्दो धेरै मानिसको हत्या गर्ने प्रयास गरेका थिए ।
घटनाको अनुसन्धान गरिरहेको एफबीआईले मानव भिडमा ट्रक चलाउने चालक टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको बताएको छ । एफबीआईले ट्रकमा विद्रोही समूह इस्लामिक स्टेट, आईएसको झण्डा भेटिएकोले चालक आतङ्कवादी समूहसँग जोडिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । चालकले अधिकारीहरुमाथि गोलीसमेत चलाएका थिए भने ट्रक भएको क्षेत्रमा विष्फोटक उपकरणसमेत भेटिएको थियो ।
काठमाडौं । नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यसअघि तारे होटलमात्र समेटेर २०६० सालमा सर्वेक्षण तयार पारिए पनि यसपालि सबै होटल, रिसोर्ट, होमस्टे र रेस्टुरेन्ट समेटेर बृहत सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ ।
मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट मध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेस ११ हजार ७ सय ४०, बागमती ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन् । होटेल रेष्टुरेन्टमा १० अर्ब रुपैयाँ माथि विदेशी लगानी रहेको देखिएको छ ।
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले पूर्वाधारहरुलाई पर्यटनमैत्री बनाएर आर्थिक समृद्धीको आधारको रुपमा विकास गरिनुपर्ने बताएका छन् । बुधबार तनहुको बन्दिपुरमा बन्दिपुर भ्रमण वर्षको अवसरमा आयोजीत सभालाई संवोधन गर्दै उहाँले पूर्वाधारहरुको बहुउपयोगितालाई ध्यान दिनु पर्ने समेत बताए ।
ग्रामिण तथा आन्तरिक पर्यटनका गन्तव्यमा पूर्वाधारको विकास गरी बाह्य पर्यटकलाई समेत आकर्षित गराउन सकिने उनले बताए । पर्यटकीय स्थलहरु सम्म पुग्ने सडक तथा संरचनाहरुको निर्माणम, मर्मत तथा पुननिर्माणमा मन्त्रालयले प्राथमिकता दिने भन्दै उहाँले नेपाली पर्यटनको विश्वव्यापी प्रचार र प्रवद्र्धनमा जुट्नु पर्ने समेत बताए ।
पर्यटन मार्फत हस्तकला, परम्परागत शिप, संस्कृति, संगीत, खाद्यपरिकार, पहिरन, लगायतको समेत व्यवसायीकरण गराउन सकिने भन्दै मन्त्री दाहालले पर्यटन प्रवद्र्धन मार्फत स्वरोजगारी सिर्जना गर्न सकिने तर्फ पनि ध्यान दिईनु पर्ने जनाए । नेपालका हिमाल, नदी, वन जंगल, पर्यावरण, धार्मिक तथा सांस्कृतिक गन्तव्य र सम्पदाहरु बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गरे पनि नेपालका ग्रामिण क्षेत्रका रहेका विविधताहरु पनि पर्यटनकै माध्यमबाट थप प्रवद्र्धन गर्न सकिने उनले उल्लेख गरे ।
तीनै तहका सरकारहरुले पर्यटन, पर्यटकीय क्षेत्र तथा गन्तव्यहरुको विकास र प्रवद्र्धनमा जोड दिनु पर्ने भन्दै उहाँले नेपालको पर्यटन विदेशी मुद्रा आर्जनको भरपर्दो विकल्प रहेको पनि बताए । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको समेत उत्साहजनक सहभागीता र लगानी भई रहेको भन्दै मन्त्री दाहालले नेपालमा अवसर छैन भन्दै विदेशीने युवाहरुलाई स्वदेशमानै सम्भावनाको खोजी गर्न समेत आग्रह गरे । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले बन्दीपुर नेपालको मौलिक र ग्रामिण पर्यटनको आकर्षक गन्तव्य रहेको बताए । यहाँको पर्यटनलाई प्रवद्र्धन गरि आर्थिक विकासको आधारका रुपमा विकास गर्न सकिने सम्भावना रहेकाले तीनै तहका सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताए । स्थानीय सरकार, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी एवम् विभिन्न क्षेत्रको सहकार्यमा भ्रमण वर्ष विशेष कार्यक्रम उद्घाटन हुनु अघि विभिन्न झाँकीहरु प्रदर्शन गरिएको थियो ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मंकीपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । उनले विमानस्थलमा रहेका अधिकारीहरुसँग छलफल गर्दै जोखिम फैलन नदिने गरी प्रभावकारी सेवा दिन आग्रह गरे । मन्त्रालयले मंकीपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ ।
हाल साउदी अरेबियाबाट आएका दुई नागरिकमा संक्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एकको सुरक्षित अवस्थामा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भैरहेको छ । उनले नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जनाए ।
उनले साउदी अरेबियाबाट संक्रमित बिरामी आइरहेकाले नेपाली समुदायमाझ सचेतनाका लागि नेपाली दूतावासमार्फत काम गर्ने प्रतिबद्धतासमेत जनाए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स नियन्त्रणका लागि अपनाएको सजगता प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताए ।
काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् । उनलाई एमालले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको थियो । उनले बुधबार पत्रकार सम्मेलन गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति बनाउने बताए ।
‘सम्पूर्ण देशभक्तहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दछु । आजको अभियान, भोलिको देशभक्तिपूर्ण संगठन निर्माणको आधार हुनेछ । देश र जनतासँग परामर्श गरेर अघि जाने कुरा हो,’ उनले भने, ‘देश र जनतासँग सम्बन्धित समय विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरु अगाडि बढ्ने छन् ।’
उनले देशको हितको पक्षमा काम गर्ने अभियान चलाउने जानकारी दिए । ‘देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ,’ उनले भनेका छन्, ‘राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरी हित पूरा गर्न माध्यम र साधनमात्र हुन्, देश सबैभन्दा माथि हुन्छ भन्ने धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ ।
राजनीतिक दल र राज्यका सबै अवयव र संयन्त्रहरु राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ ।’ उनले विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिँड्ने प्रतिबद्धता गरेका छन् ।
उनले प्रमुख दलहरु पद र सत्ताको स्वार्थमा लागेको आरोपसमेत लगाए । ुदेश र जनताको सर्वोपरी हितमा हुनुपर्ने राजनीति तया सरकार पदको भागबन्ड र निहित स्वार्थको साधनमा झारिएको छ,ु उनले भने, ‘राजनीतिक परिवर्तनपछि जनताको जे अपेक्षा र आकांक्षा थियो त्यस दिशामा राजनीति, राज्य र दलहरु अग्रसर छैनन् । घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन र गन्तव्यहीन बाटोमा धकेलिएको छ ।
उनले देशभक्तिपूर्ण भावना र चेतले मुक्त जनमत र सरकारको आवश्यकता भएको बताए । देश बलियो भयो भने जनता बलिया, नयाँ हुन्छन् जनता समृद्ध भए देश बलियो हुन्छ भन्ने मान्यतालाई बलियो गरी समात्नु आवश्यक छ, उनले थपे, यसको लागि राष्ट्रव्यापी अभियान चलाउनु पर्छ ।
भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापका विरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनु पर्छ । राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । उनले मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने दाबी गरे ।
काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ११ लाख ४७ हजार ५६७ जना पर्यटक भित्रिएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ । नेपाल आउने पर्यटकको सूचीको पहिलो नम्बरमा भारतीय छन् । भारतबाट ३ लाख १७ हजार ७ सय ७२ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा रहेको अमेरिकाबाट १ लाख ११ हजार २१६ पर्यटक आएका छन् ।
चीनबाट १ लाख १ हजार ८७९ जना पर्यटक आएको तथ्यांक छ । नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९ मै नाघेको हो । त्यसपछिका दुई वर्ष २०२० र २०२१ कोभिड महामारीले प्रभावित भयो । त्यसपछि संसारभरि तीव्र गतिले आगमन सुधार भए पनि नेपालको गति सुस्त भयो । जुन गति २०२४ मा समेत विस्तार हुन सकेन ।२०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ आएको तथ्यांकमा छ ।
काठमाडौं । अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले धन्दाधुन्द कार चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका छन् । घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन् । नयाँ वर्षको पहिलो दिन घटना भएको हो । मानिसहरूलाई लक्षित गर्दै कार चलाएका ती व्यक्तिले लगत्तै गोलीसमेत चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार घटना आतंकवादसँग सम्बन्ध रहे–नरहेको अनुसन्धान भइरहेको छ । मानिसहरूको घुइँचोलाई लक्षित गर्दै ती व्यक्तिले कार हुइँकाएका थिए । घटना भएको स्थान न्यू अर्लिन्सको एक लोकप्रिय रात्रिजीवन गन्तव्य हो । त्यहाँ मानिसहरू नयाँ वर्षको स्वागतमा रमाइरहेका थिए ।
न्यू अर्लिन्सका मेयर लाटोया क्यान्ट्रेलले भने शहर ‘आतंकवादी हमलाबाट प्रभावित’ भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । समाचार संस्था सीएनएनले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मानिसहरूमाथि कार चलाएलगत्तै चालकले बन्दुकसमेत चलाएको उल्लेख गरेको छ । लगत्तै प्रहरीले जवाफी फायर गरेका थिए ।
काठमाडौं । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको ज्यान गएको छ । गतराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसले थिच्दा गम्भीर घाइते तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका थिए । छतौनाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ०१(००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिएको बताइएको छ ।
काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दैछन्। काठमाडौंको कार्की ब्यांक्वेटमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आगामी नीति, विचार, दृष्टिकोणबारे जानकारी दिन लागिएको रावलले बताएका छन्। साथै उनले एमालेको भण्डाफोर गर्ने समेत बताएकाछन् ।
रावलले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी थालेका छन्। केही दिनअघि उनले नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल, सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीलगायतसँग पनि छलफल गरेका छन्।
रावल पत्रकारसम्मेलनलगत्तै देश दौडाहामा जाने तयारी पनि गरिरहेका छन्। देश दौडाहामा आफ्ना विचारसँग नजिक रहेकाहरूसँग अन्तरक्रिया गर्ने उनको तयारी छ। पुस १० गते बसेको नेकपा (एमाले) सचिवालय बैठकले रावललाई संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। उनले एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला २२३ मत ल्याएका रावल निरन्तर ओलीसँग संघर्षमा थिए।
काठमाडौं । अमेरिकी अधिकारीहरूले चिनियाँ राज्यद्वारा प्रायोजित एक ह्याकरले आफ्नो अर्थ मन्त्रालयको प्रणाली ह्याक गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार उक्त ह्याकरले अर्थ मन्त्रालयका कर्मचारीहरू काम गर्ने प्रणाली र केही गोप्य कागजातहरूमा पहुँच पाउन सफल भएको बताएका हुन्। उक्त घटना डिसेम्बर महिनाको सुरुमा भएको थियो।
अर्थ मन्त्रालयले सांसदहरूलाई घटनाबारे जानकारी दिन पत्र लेखेपछि त्यसबारे जानकारी सार्वजनिक भएको हो। अमेरिकी अर्थ मन्त्रालयले उक्त ह्याकिङलाई ठूलो घटनाको रूपमा चित्रण गरेको छ। त्यसको प्रभावबारे सङ्घीय जाँच ब्यूरो एफबीआई र अन्य निकायहरूले अनुसन्धान गरिरहेको उसले जनाएको छ।
वाशिङ्टन डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीसँग उक्त आरोपलाई खण्डन गर्दै त्यो अमेरिकाले जानाजान चिनियाँ प्रतिष्ठामा आँच पुर्याउन गरेको ूकुनै पनि तथ्य र आधार विनाकोू सार्वजनिक आरोप बताएका छन्।
अमेरिकी सांसदहरूलाई पठाएको पत्रमा अर्थ मन्त्रालयले चीनस्थित आक्रमणकारीले उक्त मन्त्रालयका कर्मचारीका निम्ति रिमोट टेक्निकल सर्भिस अर्थात् कार्यालयमा उपस्थित नभईकन दिइने प्राविधिक सेवामार्फत् ह्याकिङ गर्न सफल भएको उल्लेख गरिएको छ। उक्त प्राविधिक सेवा तेस्रो पक्षबाट लिइएको थियो र त्यसको साइबर सुरक्षा प्रणालीलाई ह्याकरले छल्न सफल भएको बताइएको छ।
मन्त्रालयले वियोन्डट्रस्ट नामक रिमोट टेक्निकल सर्भिस लिइरहेको थियो। त्यसको सुरक्षा प्रणालीलाई ह्याकरले छल्न सफल भएपछि अहिले उक्त सेवा बन्द गरिएको जनाइएको छ। एफबीआईसँगै मन्त्रालयले साइबर तथा पूर्वाधार सुरक्षासम्बन्धी निकायहरू र तेस्रो पक्षका साइबरसम्बन्धी फोरेन्सिक विज्ञहरूसँग मिलेर उक्त आक्रमणको समग्र प्रभावबारे जाँच गरिरहेको बताइएको छ।
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।
यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानमा आन्तरिक र विदेशी पर्यटकहरुको चहलपहल छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंका ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा मंगलबार बेलुकी नै ‘न्यू इयर इभ’ को रुपमा विशेष चहलपहल देखिएको थियो । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
काठमाडौं । नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८औं संस्करण मंगलबारदेखि सुरु भएको छ । अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सको फौज सहभागी रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । उनका अनुसार, नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, विश्वास र साझा संस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता किमिसका संयुक्त सैन्य अभ्यासले महत्वपूर्ण भूमिका खेल्छ ।
तालिममा जंगल युद्ध, कठिन भौगोलिक स्थलमा आतंकवादविरुद्धको अपरेशन, शान्ति स्थापना, विपद् व्यवस्थापन तथा सहायता, वातावरण संरक्षण लगायतका विषयमा अभ्यासहरू हुनेछन् । दुई सातासम्म चल्ने यो अभ्यास २०६७ सालदेखि सुरु भएको हो । दुई देशले पालैपालो यो अभ्यासको आयोजना गर्ने गरेका छन् । कोरोना महामारीका बेला भने दुई वर्ष यो अभ्यास स्थगित भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए । ‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’
साथै, उनले ती समस्याहरूको समाधानको प्रयास गर्दागर्दै हुने सामुहिकताको भावना नै राष्ट्रियता भएको जिकिर गरे । ‘माटो छ, भूगोल छ, मेची महाकालीको नक्सा छ । त्यो नक्साभित्र हामी बसेका छौं । कुनैबेला समस्या के थियो, हिंसा थियो । कुनैबेला हाम्रो अधिकार थियो,’ थापाले भने, ‘‘आजकहिँ न कहिँ छटपटी देखिन्छ । हामीबाट पार्टीभित्र सघन छलफल गरेर अघि बढ्नुपर्छ ।’
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखमा उल्लेख छ । अनुगमन शाखाका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना हुँदा ३४ जना महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् । १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।
शाखाका अनुसार सन् २०२२ मा ५३ वटा घटना भएको अभिलेख छ । प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा यो वर्ष चुनौतीपूर्ण बनेको शाखाको भनाइ छ । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको अनुगमन शाखाले जनाएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका–८ मान्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थाबाट आपूर्ति गर्ने भएको छ ।
विद्युत् अभावमा फास्ट ट्र्याक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन । फास्ट ट्र्याकको मान्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङ लगायत संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको जनाएको छ ।
फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्ने छ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ । विद्युत् आपूर्ति वैकल्पिक व्यवस्था अन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङबाट मान्डुसम्मको पहिले चालु ६६ केभी लाइन ११ केभीमा सञ्चालनमा ल्याइने छ । काठमाडौंमा जगेडा रहेको २२।५ एमभीएको पावर ट्रान्सफर्मर ढोर्सिङ सबस्टेसन लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्र्याकका लागि आवश्यक विद्युत् आपूर्ति दिइने छ ।
ढोर्सिङ सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि हाल ५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर पूर्णभारमा चालु रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सफर्मर थप्न लागिएको हो । ११ र १२ असोजको अविरल वर्षाका कारण आएको बाढी–पहिरोले मान्डु हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको २२ मेगावाट बागमतीखोला साना जलविद्युतको विद्युतगृह लगायत संरचनामा ठूलो क्षति पुर्याइ विद्युत् उत्पादन बन्द हुँदा त्यसपछि फास्ट ट्र्याक अन्तर्गत उक्त खण्डमा विद्युत् आपूर्ति हुन सकिरहेको छैन ।
बागमती नदीमा आएको बाढीले आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने स्विचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मर लगायत उपकरण समेत बगाइदिएको थियो । आयोजनाबाट उत्पादित विद्युत् ६६ केभी प्रसारण लाइन मार्फत ढोर्सिङ र ३३ केभी लाइनमार्फत ललितपुर माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो । माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत फास्ट ट्र्याकलाई आपूर्ति दिइएको थियो । माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को २ मेगावाटको खानीखोला जलविद्युत् आयोजना पनि जोडिएको थियो ।
तर, बाढीपहिरोले खानीखोलामा पनि क्षति पुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेको थियो । जसका कारण फास्ट ट्र्याकको विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले दुवै आयोजना पुनर्निर्माण चलिरहेको छ ।
विद्युत् आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल लगायत सम्मिलित उच्चस्तरीय टोलीले सोमबार मान्डु माल्टाबेँसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
टोलीले पुनर्निर्माण भइरहेको बागमतीखोला साना जलविद्युत् आयोजना र ढोर्सिङ सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पमा सम्बन्धित पदाधिकारीसँग छलफल गरेको थियो ।
आयोजना पुनर्निर्माण आगामी चैतभित्र सक्ने गरी काम भइरहेको छ । उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्था अनुसार विद्युत् आपूर्ति दिइने छ ।
कार्यकारी निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्म ढोर्सिङ सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ–मान्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्र्याकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताए ।
‘हाम्रा कारणले राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित हुनु हुँदैन, अहिले यहाँ आपूर्ति दिन विद्युत् स्रोतको अभाव हो, बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु नभएसम्म वैकल्पिक व्यवस्था मार्फत आपूर्ति दिनुपर्छ, यसका लागि तत्काल काम सुरु गरौं,’ घिसिङले भने ।
उपकार्यकारी निर्देशक सिलवालले लाइन पुनस्र्थापना गर्न स्थानीय रूपमा गर्नुपर्ने आवश्यक काम तत्काल अगाडि बढाउन पालुङ र हेटौंडा वितरण केन्द्र प्रमुखलाई निर्देशन दिएका छन् ।
काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए । उनका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको छ ।
पहिलो दिनको थुनछेक बहस सकिएको छ । आजको बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ । रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङको बयान लिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।
काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प हो।
भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्प मापन केन्द्रले थप विवरणका लागि अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो ।
उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटिएको थियो । टोलीले सो वस्तु निष्कृय पारेको छ । उपमहानगरपालिकासँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । सूचनामा भनिए अनुसारको कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ ।
आज बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय इटहरीमा राजावादी समूहको नाममा तीन ठाउँमा बम राखेको भन्दै म्यासेज आएको थियो । प्रहरीलाई आएको सूचनामा आजदेखि सशस्त्र संघर्ष सुरु भएको भनिएको छ । प्रहरीले शंकास्पद वस्तु राख्ने र प्रहरीलाई सूचना दिने व्यक्तिको खोजी गरिरहेको प्रहरीले बताएको छ ।
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका(९, मूर्तिया चोकमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । विपरीत दिशामा रहेका ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किंएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए ।
डीएसपी गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राति नै अस्पतालमा उपचारका क्रममा मृत्यु हो । ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका(७ का ३८ वर्षीय वीरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।