काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । काठमाडौंको नेपालटारमा सोमबार राति साढे ९ बजे बा९७प ६५४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध बस्ने ३३ वर्षीय कमल राई छन् ।
उनको उपचारको क्रममा राति १० बजेर २० मिनेटमा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक संखुवासभा चैनपुरकै २६ वर्षीय सुभम राई घाइते छन् । उनको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भैंसेपाटीमा माइक्रो बसको ठक्करबाट महिलाको मृत्यु
यसैगरी सोमबार राति नै ललितपुरको भैंसीपाटीमा यात्रुबाहक माइक्रोबसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बा३ख ३१०२ नम्बरको माइक्रो बस बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भई बाटो किनारमा हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेलीलाई ठक्कर दिएको थियो । ललितपुरको मगरगाउँ बस्ने गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो माइक्रो बस बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित हुँदा रोकिराखेको बोलेरो गाडि र एउटा पसलमा समेत क्षति पुगेको छ ।
काठमाडौं । थाइल्यान्डको राजधानी बेङ्ककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । खाओ सान रोड नजिकैको एम्बर होटलमा आइतबार राति भएको आगलागीमा परी घाइते भएका एक महिला र दुई पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा अन्य पाँच विदेशी र दुई थाई नागरिक घाइते भएको बैङ्कक महानगर प्रशासनले सोमबार जनाएको छ ।
बैङ्ककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार अग्निनियन्त्रकहरू सूचना पाएको पाँच मिनेटभित्रै छ तले होटल रहेकोे घटनास्थलमा पुगेका थिए र तीनवटा क्रेनसहित पुगेका उद्धारकर्मीले करिब ७५ जनालाई उद्धार गरेका थिए । आगलागीको कारण खुल्न सकेको छैन । अधिकारीहरूले घटनापछि होटल बन्द गर्न र चेतावनी प्रणालीको अनुसन्धान गर्न आदेश दिएका छन् । रासस\एएफपी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले उनको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गरेका छन्। अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घर होस्पिस केयरमा निधन भएको हो। उनकी श्रीमती रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो।
आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए। पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गरेका थिए।
काठमाडौं । पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ । पर्यटन प्रवर्द्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरिएको काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय समेत गठन गरेको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार सचिवालयमा होटल संघ, रेस्टुरेन्ट तथा बार एसोसिएसन ९रेबान० पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघ लगायतको प्रतिनिधित्व छ ।
‘प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटन क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमन संख्या वार्षिक २ लाख पुर्याउने उद्देश्य सहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो,’ अध्यक्ष थापाले भने । सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटक संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ ।
‘भ्रमण वर्षमा वार्षिक १ लाख आन्तरिक र १ लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएका छौं,’ उनले भने, ‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक ८ लाख पर्यटक बन्दीपुर ल्याउने लक्ष्य छ ।’
गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ ३ दिन पु¥याइने छ । साथै, विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक ३ हजार रुपैयाँ पुर्याइने छ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार होमस्टे (घरबास) साथै समग्र गाउँपालिकामा १ सय २० होटल र १२ होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक १ हजार ७ सय अट्ने क्षमता छ । यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्य पहिचान, विकास र प्रवर्द्धन गरिने छ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सिर्जना, होटल तथा रेस्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ ।
‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किट प्रवर्द्धन गरिने छ भने विद्यमान पर्यटन केन्द्र र उपजका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्य पहिचान, विकास र प्रवर्द्धन गरिने छ,’ उनले भने । भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षण सहित याम अनुसार प्याकेज तयार गरिने छ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटन सर्किट प्रवर्द्धन हुने अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताए ।
भ्रमण वर्षमा पर्यटक आकर्षित गर्न पर्यटकको उमेर र रुचि अनुसार प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔं गाउँमै रमाऔं’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाको लक्ष्य छ । भ्रमण वर्ष सफल पार्न कूल ४ करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाबाट अपेक्षा गरिएको प्रतिबद्धता समेत राखिएको छ । साथै, नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् । उक्त खबरदारी सभामा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएका छन् । यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका उनीहरूबीच पछिल्लोपटक कांग्रेससँगको सत्ता सहकार्यपछि सम्बन्ध तितो छ ।
उनले ओलीलाई देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ भनेका छन् । ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’ आइतबार मात्रै पर्साको वीरगञ्ज पुगेर प्रधानमन्त्री ओलीले प्रचण्डप्रति लक्षित गर्दै अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको टिप्पणी गरेका थिए ।
साथै, उनले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने दाबी गरे । सम्बोधनको क्रममा प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएको जिकिर गरे ।
काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावल नयाँ पार्टी घोषणाको निष्कर्षमा पुगेका छन् । उनले बुधबार पत्रकार सम्मेलन आह्वान गरेका छन् । उनले पार्टी घोषणासँगै झापाबाट देशदौडाहा थाल्ने तयारी समेत गरेका छन् । देशदौडाहा पार्टी निर्माणको गृहकार्यका निम्ति हुने समेत बताइएको छ ।
बुधबारको पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहार उजागर हुने समेत बताइएको छ । माघ अन्तिम अथवा फागुनसम्म पुग्दा पार्टी घोषणा हुन सक्ने बताइएको छ । रावलले सोमबार नेपाली कांग्रेस डडेलधुराका पूर्वनेता कर्ण मल्लसहितका नेतासँग भेटेका छन् ।
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने बताएका छन् । नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिको कथन छ ।
राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
काठमाडौं । नेपाल राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान घनश्याम रोका मगरले भारतको प्रो कबड्डी लिगको उपाधि जितेका छन् । घनश्यामको टीम हरियाणा स्टिलर्सले आईतबार पटना पाईरेट्सलाई ३२–२३ ले पराजित गर्दै ११औं संस्करणको उपाधि जितेको हो ।
विश्वकै चर्चित प्रो कबड्डी लिगको ११ औं सिजनका लागि नेपालका कप्तान घनश्यामलाई स्टिलर्सले रिटेन गरेको थियो । उनले यस सिजन २ खेल खेल्दै ३ अंक जोडे । फाइनलमा भने उनले खेलेनन् । घनश्यामले गत सिजन पनि हरियाणा स्टिलर्सबाटै खेलेका थिए । भारतले कबड्डी लीगमा ठूलो फड्को मारेको छ ।
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् । १ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए ।
मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए । उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए । उनी अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहेका राष्ट्रपति थिए ।
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । अछाममा बोइलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार कमलबजार नगरपालिका–३ बयालाका तुलासिंह विकका १४ वर्षीय छोरा कमल विकको मृत्यु भएको हो । शुक्रबार साँझ नजिकैको मासु पसलबाट मरेको कुखुरा ल्याएको र शनिबार बिहानदेखि मासु खाएका सबै परिवारमा स्वास्थ्य समस्या देखिएपछि प्रहरीको सहयोगमा जिल्ला अस्पतालसम्म पुर्याएको उनले बताए ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट अन्य कुखुराको परीक्षण गर्न पनि पहल भएको भण्डारीले बताए । ‘ प्रारम्भिक अनुसन्धानबाट फुड पोइजनको कारण मृत्यु भएको र सोही कारण बिरामी भएको हुन सक्ने देखिएको छ । सबै स्वास्थ्य रिपोर्ट आइसकेको छैन,’ प्रहरी प्रमुख भण्डारीले भने । ‘मरेको कुखुराको मासु खाने एक जनाको मृत्यु भइसकेको छ । तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ,’ उनले भनिन् ,‘हजुरामा र नातीनीको अवस्था भने गम्भीर छ । भोलि (सोमबार) बिहानसम्म पनि स्वास्थ्य अवस्थामा सुधार भएन भने अन्तै रेफर गर्नु पर्ने देखिन्छ ।’
काठमाडौं । साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । एमपक्सको आशंका भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर जाँचमा ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले बताएको छ । एमपक्स पुष्टि भएपछि ती पुरूषलाई सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरू गरिएको छ ।
यसअघि पनि साउदैबाट फर्किएका एक जनामा एमपक्स देखिएको थियो । टेकुमै उपचाररत उनको स्वास्थ्य अवस्था सुधार भएको छ । केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । नेपालमा एमपक्स देखिएको यो तेस्रो पटक हो ।
काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ ।
४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएको र त्यसबापत राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यसरी मोहन बस्नेतले आफ्नो बैंक खातामा २ करोड १५ लाख रुपैयाँ घुस पाएको अख्तियारको आरोप छ । त्यस्तै उनकी पत्नीको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी गरेको छ ।
उनी विरुद्ध शंकर होटलमा मोहन बस्नेतले गरेको पार्टीको २५ लाख रुपैयाँ बराबरको रकम तिरिदिएको आरोप समेत लागेको छ । अख्तियारले मोहन बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको छ ।
अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ । मेयर बस्नेत दम्पती र पद्मा कोलोनीका सञ्चालकविरुद्ध समेत १३ करोड १२ लाख बिगो दाबी गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोप समेत लगाएको छ ।
अख्तियारको आरोप पत्रमा मेयर बस्नेतले जगतगुरु कृपालु प्रतिष्ठानले मन्दिर बनाउने भनी जग्गा बिक्री गर्नका लागि स्थानीहरुलाई सहमत गराएको उल्लेख छ । पछि त्यो जग्गामा पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलले प्लटिङ गराइ हाउजिङहरु बेचेका थिए । मेयर बस्नेतले पदको दुरुपयोग गरी स्थानीयहरुलाई सस्तोमा जग्गा बिक्री गर्न लगाएका थिए। पछि राजु कँडेलले प्लटिङ गरेर महंगोमा जग्गा बिक्री गरेको र त्यसबापत बस्नेतले लाभ पाएको अख्तियारको आरोप छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए ।
“एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन्। मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ। झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ। तपाईंहरुको एमालेमा आउने छनोट सही छ। तपाईंहरु नमूना हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ। हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ। हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ। युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ।”
प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्नपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह गरे । कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गरेका थिए । सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत एमालेमा प्रवेश गरे ।
पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उल्लेख गरे । कार्यक्रममा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए ।
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् । मन्त्री डा राणा आइतबार साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
मन्त्री डा राणाले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा. सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र हुनुहुन्थ्यो भनेकी छिन् । उक्त पुस्तिकामा मन्त्री डा राणाले स्वर्गीय सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गर्नुभएको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उहाँ सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गरिन् ।
मन्त्री डा राणाले उनको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताइन् । भारतीय पूर्वप्रधानमन्त्री डा सिंहको उपचारका क्रममा गत बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको थियो ।
काठमाडौं । राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहना सम्बोधन गर्न नसकेको भन्दै सरकारले वैकल्पिक विकास वित्त खोज्ने भएको छ । सोही प्रयोजनका लागि वैकल्पिक विकास वित्त व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयारी गरिएको र यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराइने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । विकासको उच्च आकांक्षा सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको उनले बताए ।
‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहना सम्बोधन गर्न चुनौतीपूर्ण छ,’ अर्थमन्त्री पौडेलले भने, ‘त्यसैले दीर्घकालीन विकासको आवश्यकता समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास वित्त व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयारी गरेका छौं ।’
अर्थमन्त्री पौडेलले नेपालको तीव्र विकासका लागि नयाँ सोच र दृष्टिकोण साथ अघि बढ्न आवश्यक रहेको उनले बताए । वैकल्पिक विकास वित्तबाट थप स्रोत जुटाउन र लगानी गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास उनको छ । ‘आर्थिक समृद्धिका लागि पूर्वाधारमा मात्र नभएर दक्ष जनशक्ति विकास र सफ्टपावरमा पनि ठूलो लगानी गर्न जरुरी छ,’ अर्थमन्त्री पौडेलले भने, ‘वैकल्पिक वित्तले सार्वजनिक विकासका धेरै क्षेत्रमा सिर्जनशील र नयाँ–नयाँ दृष्टिकोणका लागि ढोका खोल्ने छ ।’
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार वैकल्पिक विकास वित्तले पूर्वाधार क्षेत्रको प्राथमिकीकरण, पूर्वाधार लगानीका लागि स्वदेशी तथा विदेशी स्रोत लगानीको व्यवस्था, विभिन्न वित्तीय उपकरणको सही प्रयोग लगायतमा सहयोग गर्छ ।
यसैगरी सार्वजनिक–निजी साझेदारी, पूर्वाधार बन्ड, पूर्वाधार कोष लगायतले निजी क्षेत्र पनि अघि बढ्ने अझ फराकिलो अवसर सिर्जना गर्छ । वैकल्पिक वित्तीय स्रोत अन्तर्गत विभिन्न प्रकारका लगानी संरचना जस्तै भेन्चर क्यापिटल, म्युचुअल फन्ड, परियोजना विशेष ऋणपत्र, रेमिट कोष, पूर्वाधार कोष, परियोजना इन्कुबेसन कोष तथा अन्य वित्तीय साधन प्रयोग हुने गर्छन् ।
यसका लागि सरकारी योगदान अतिरिक्त अन्तर्राष्ट्रिय बहुपक्षीय तथा द्विपक्षीय संस्थाहरूको लगानी, निजी क्षेत्रको लगानी, आप्रवासी नेपालीको लगानी, संस्थागत लगानी, ग्रिन बन्ड, जलवायु कोष लगायतबाट स्रोत व्यवस्थापन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
काठमाडौं । दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १७९ पुगेको छ । समाचार एजेन्सीहरुका अनुसार आइतबार बिहानै भएको जहाज दुर्घटनामा २ जनाको जिवितै उद्वार गरिएको थियो । जहाजमा १८१ यात्रु सवार थिए । उनीहरु बाहेक अन्य सबैको ज्यान गएको समाचारमा उल्लेख छ । थाइल्यान्डको बैंककबाट जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको पाइएको छ । डलर लगातार बलियो बनिरहेको छ । यसले नेपाली मुद्रा कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर तोकेको छ । जुन हालसम्मकै उच्च हो ।
गत शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १३६.७३ रुपैयाँ थियो । पछिल्ला सातामा हरेक दिन अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०२ प्रतिशतले अवमूल्यन भएको छ ।
डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् ।
डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ । रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सकिन्छ ।
डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । यद्यपि पछिल्ला महिनामा आयात धेरै बढ्न नसकेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व त्यति बढेको छैन । विदेशी लगानी फिर्ता, विदेशी लगानीको लाभांश वितरणलगायतमा पनि धेरै रकम खर्चिनुपर्ने हुन्छ । त्यो नेपालका लागि नोक्सानी हो । यस्तै डलरको मूल्य बढ्दा विदेश अध्ययन, भ्रमण, स्वास्थ्य उपचारमा धेरै रकम खर्च हुने भएकाले यो पनि नेपालीका लागि बेफाइदा हो ।
काठमाडौं । ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एअरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार भएको हुनसक्ने ूप्रारम्भिक सङ्केतू अमेरिकाले पाएको जनाएका छन्। डिसेम्बरका २५ का दिन बुधवार भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो। किर्बीले त्यसबारे थप व्याख्या गरेनन्। तर पत्रकारहरूसँग बोल्ने क्रममा उनले दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको बताए। चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ।
तर पछि उक्त विमान त्यसो नगरीकन क्यास्पिअन सागरतर्फ मोडिँदै काजाकस्तानतर्फ लागेको थियो जहाँ त्यो दुर्घटना हुन पुग्यो। यसबारे क्रेमलिनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ। तर रुसी नागरिक उड्डयन निकायले चेचन्याको अवस्था त्यसमा हुने युक्रेनी ड्रोन हमलाका कारण निकै जटिल रहेको जनाएको छ। किर्बीका अनुसार अमेरिकाले पाएका सङ्केत दुर्घटनाग्रस्त विमानका व्यापक रूपमा फैलिएका तस्बिरभन्दा भिन्न रहेको जनाएको वासिङ्टन पोस्टले लेखेको छ। अजरबैजानका उड्डयन विज्ञ र अन्यले इलेक्ट्रोनिक जामिङका कारण विमानको जीपिएस प्रणालीहरू प्रभावित भएको र त्यसपछि त्यो रुसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटनबाट निस्किएको छर्रा लागेर नस्ट भएको बताएका छन्। अजरबैजानले रुसलाई आरोप नलगाए तापनि उक्त विमान बाह्य हस्तक्षेपको मारमा परेको र अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको त्यहाँका यातायात मन्त्रीले बताएका छन्।
ूबिना अपवाद बाँच्न सफले सबैले विमान चेचन्याकोे ग्रोज्नी माथि हुँदा तीनवटा विस्फोटनको आवाज सुनेको बताएका छन्, रशाद नबियबले बताए। नबियबले अनुसन्धानहरूले कस्ता खाले अस्त्र वा अझ कस्तो खाले रकेट प्रयोग भएको थियो भनेर जाँच गर्ने बताए। समाचार संस्था एएफफीसँग कुरा गर्दै उनले विमान क्षतिग्रस्त भइसकेपछि पाइलटले गोज्नीमा आपत्कालीन अवतरण गर्न दिन भनेको बताए। नजिकैका विमानस्थलतर्फ पठाउनुका साटो जीपिएसबीनै क्यास्पिअन सागरतर्फ निकै पर पठाइएको बताए।
एम्ब्राएर १९० विमानका पाइलटहरूलाई विमानमा सवार २९ जनाको जीवन बचाउन सकेको श्रेय दिइएको छ। यद्यपि दुर्घटनाका क्रममा उनीहरू स्वयंले ज्यान गुमाए। अजरबैजान एअरलाइन्सको उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीको प्रहार लागेको भन्दै व्यापक रूपमा आइरहेका खबरबारे प्रतिक्रिया जनाउन क्रेमलिनले अस्वीकार गरेको छ। बीबीसीको सहयोगमा
काठमाडौं । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । सहभागी टोलीले फेवातालमा दैनिक अभ्यास गरिरहेका छन् । प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन नारा सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृर्तीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान दुर्घटना भएको छ । अवतरणका दौरान धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो । समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । थाइल्याण्डको राजधानी बैंककबाट फर्किएको जेजु एयरको विमान स्थानीय समय अनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ । दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्दछ ।
काठमाडौं । बेलायती राजदूत रोब फेनलेले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ऐतिहासिक र सांस्कृतिक सहर जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । राजदुत फेन्लेका पत्नी जुलिया फेनलेसँग आफ्नो जिवनको विशेष दिन २२ औं वैवाहिक वर्षगाँठ शनिबार बिहान जानकी मन्दिर परिसरमा मिथिला परम्पराअनुसार मनाएका हुन् ।
गत वर्ष जनकपुरधाम भ्रमणका क्रममा यहाँको कला, संस्कृति र ऐतिहासिक महत्वबाट प्रभावित हुनुभएका राजदूत फेनलेले आफ्नो वर्षगाँठलाई यस क्षेत्रको सांस्कृतिसँग जोड्ने निर्णय गर्नुहुँदै वर्षगाँठ मनाएका हुन् । राम–सीताको प्रेमकथालाई सम्झँदै उहाँले जानकी मन्दिरको वातावरणले वैवाहिक सम्बन्धको नवीन अनुभूति दिएको बताए ।
राजदूत फेनलेले भने, “जनकपुरधाम विवाहका लागि उपयुक्त गन्तव्य हो, सबैले जनकपुरधाम भ्रमण गर्नुपर्छ ।” उनको भनाइले जनकपुरधामको पर्यटन र सांस्कृतिक प्रवर्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दास वैष्णवले राजदूत दम्पतीलाई मिथिलाशैली अनुसारको परम्परागत विवाहविधिमा सम्पन्न गराए । उनले यो अवसरलाई प्रेम र परम्पराको प्रतीक भन्दै जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न सरकारलाई अपिल गरे ।
कार्यक्रममा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, संस्कृतिमन्त्री रानी शर्मा तिवारी र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायत प्रमुख व्यक्तित्वको उपस्थिति थियो ।
काठमाडौं । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गरेकी छिन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । परराष्ट्र मन्त्री डा. देउवाले भनिन्, “सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरु विकासप्रेमी पनि छन् । हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।”
यस आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन सबैमा अपिल पनि मन्त्री डा. देउवाले गरेकी छिन् । उनले यो आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटन लगायतका पूर्वाधारहरुमा बढी भन्दा बढी लगानी गर्न पनि आग्रह गरिन् ।
“काठमाडौँको चन्द्रागिरि देखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरु निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरुको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार प्रोजेक्ट समयमै सम्पन्न होस् भनी कामना गर्दछु,” उनले भनिन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आज निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए ।
उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे । “सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरु निकै कम छन् । यस्ता पूर्वाधारका थप आयोजनाहरु लिएर हाम्रो क्षेत्रमा आउनुहोस् । हामी तपाईहरुलाई स्वागत गर्दछौँ,” उनले भने । उनले वन विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गरे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए ।
उनले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढी भन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरुलाई आग्रह पनि गरे । जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताए । उनले भने, “पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।”
उनले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने बताए । अध्यक्ष ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाइ जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए । यसको शिलान्यास र अवको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दलहरु र नेपाल सरकारका निकायहरुको सहयोग अन्य केवकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरेको छ । यो स्वर्ण समारोह प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भए ।
समारोहमा १४ हजार बढी विद्यार्थीहरु दीक्षित भएका त्रिविले जनाएको छ । विभिन्न तह र विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु पदकसहित सम्मानित पनि भएका छन् ।
अब्बल नतिजा ल्याएर पदक पाउनेहरुमा छात्राहरु बढी छन् । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकायका एमफील तहका हिरा श्रेष्ठले, इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्लेले पाउने, अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले, मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाएका छन् ।
सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाउने, नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाएकी छिन् । डा. मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले नै पाएकी छन् । शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिव कुमार सिंहले, डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले, इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले, नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले पाए ।
तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले पाएकी छन् । उनले खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि पाएकी छन् । उनले अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गरेकी थिइन् । सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरूमध्येबाट सिता कुमारी श्रेष्ठले र भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाएका छन् । आकृतिले सत्य माँ स्मृति स्वर्ण पदक पनि पाइन् ।
लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहराले, शिवराज पन्त स्मृति पुरस्कार बीइ सिभिलका शाशिष थापाले, छत्र बहादुर पदक बीबीएसका समिता डंगोलले र सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट संगिता प्रजापतिले पाएका छन् ।
काठमाडौं । क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु भएको छ। १३ दिनअघि क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा पिकअप ट्रकको ठक्करबाट काठमाडौं घर भएकी एक युवती गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिए।
काठमाडौंकी श्रेष्ठ थरकी ती युवती ९ महिनाअघि मात्रै क्यानडा गएकी थिइन्। दुर्घटनामा मृत्यु भएपछि युवतीकी अभिभावकहरू क्यानडा पुगिसकेको र कानुनी प्रक्रिया पूरा गरी अन्तिम संस्कारको तयारी भइरहेको अध्यक्ष दुलालले जानकारी दिए।
काठमाडौं । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो। शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए। यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ।
यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ। शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ। हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ। हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह शनिबार हुँदैछ। ५० औं दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले स्वर्ण महोत्सवका रूपमा पनि मनाउँदैछ। दीक्षान्त समारोह र स्वर्ण महोत्सवका अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष समारोह हुँदैछ। समारोहमा यसपालि १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् ।
सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुने समारोहका उपाध्यक्ष एवम् त्रिवी परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका उनले बताए। स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी)तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिनेछ।
त्रिविले गत वर्ष सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेको यसपालि त्योभन्दा २ हजार बढी विद्यार्थी दीक्षित हुने जोशीले बताए। जोशीले आगामी वर्षदेखि त्रिवि परिसरमा दीक्षान्त समारोह गर्नेगरी तयारी गरिएको पनि शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव रहनेछन् । समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए ।
‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।’
उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्याइयो । त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्याइएको छ । न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ ।
काठमाडौं । मोरक्कोमा डुंगा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिमी अफ्रिकाबाट स्पेन गइरहेको डुंगा मोरक्कोमा पल्टिएको हो । बीबीसीका अनुसार मृत्यु हुनेमा कम्तीमा २५ जना नागरिक मालीका रहेका छन् । डुंगामा करिब ८० जना यात्री रहेको र ११ जना बाँच्न सफल भएको समाचारमा उल्लेख छ । दुर्घटना पछिल्लो साताको भए पनि मालीले भर्खर पुष्टि गरेको बीबीसीले जनाएको छ ।
मालीमा लामो समय हिंसात्मक द्वन्द्व चर्किएपछि २०२० र २०२१ मा सेनाले सत्ता हातमा लिएको थियो । सैनिक सरकारले सन् २०२४ आम चुनाव गराउने वाचा गरे पनि अहिलेसम्म हुन सकेको छैन । देशको अवस्था हेरेर मालीका अधिकांश नागरिक युरोप जानका लागि डुंगामा जोखिमपूर्ण यात्रा तय गर्न खोजिरहेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा कोटेश्वर महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रमुख साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताए ।
उनले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने जिकिर गरे । उनले त्यसका लागि जग्गाधनीहरूले स्थानीय सरकार र सङ्घ सरकारलाई दबाब दिन सुझाव दिए ।
उनले उक्त जग्गा सरकारले लुटेर राखेको र प्रक्रिया अघि बढिरहेको कुनै पनि नेताले भनेको खण्डमा नपत्याउन आग्रह गरे । अहिलेको सरकारले पनि मुआब्जा नदिए कहिल्यै नदिने उनको दाबी छ । प्रमुख साहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको बताए ।