Category: फिचर

  • विश्व बैंकले १३ अर्ब ६० करोड अनुदान दिने

    विश्व बैंकले १३ अर्ब ६० करोड अनुदान दिने

    काठमाडौँ, मङ्सिर २९ गते । विश्व बैङ्कले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपियाँ) को सहायता अनुमोदन गरेको छ । उक्त बैङ्कको कार्यकारी निर्देशक बोर्डले वासिङ्टनमा शुक्रबार उक्त रकमको विकास नीति सञ्चालन अनुमोदन गरेको हो । 

    नेपालको दिगोपनाका लागि सक्षम वातावरण सुधार गर्ने लक्ष्य राखेका तीन वटा विकास नीति सञ्चालन कार्यक्रमको शृङ्खलामा यो दोस्रो रहेको विश्व बैङ्कले जनाएको छ । नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि विश्व बैङ्कका क्षेत्रीय निर्देशक डेभिड सिक्लेनका अनुसार यो व्यावहारिक शृङ्खला नेपालका लागि थप उत्थानशील र दिगोपन निर्माण गर्न र सबै नेपालीका लागि दीर्घकालीन विकासको आधारलाई चलाउन र संरक्षण गर्न उत्प्रेरक हो । 

    यस सहायता सञ्चालनले हरित वित्तीय साधन, जल सुरक्षा, सिँचाइ, भूमिको प्रयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन, र जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा नेपालको नीति कार्यक्रिमलाई समर्थन गर्छ ।

    सन् २०२१ देखि नेपाल सरकारले वातावरणीय दिगोपन, लचिलोपन र समावेशी विकासको क्षेत्रमा कार्यको महत्वाकाङ्क्षी कार्यक्रम तय गरेको छ । यस दृष्टिकोणले बेरोजगारी, महामारी, जोखिममा परेका समूहका लागि आर्थिक अवसरको विस्तार र नेपालको जनता, समृद्धि र वातावरणलाई असर गर्ने जलवायु र अन्य वातावरणीय जोखिमका अन्तक्रियात्मक चुनौतीलाई सम्बोधन गर्न विकास मोडेलको आवश्यकतालाई मान्यता दिने उक्त बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

  • गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

    गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

    काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पुनःसरकारको ध्यानाकर्षण गराएका छन् । परराष्ट्र मन्त्रालयका का.मु सचिव अमृत बहादुर राईलाई शुक्रबार पत्र बुझाउँदै गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको अवस्थामा पनि कार्यान्वयनमा भइरहेको ढिलाईले संविधानले प्रदान गरेको आर्थिक सामाजिक तथा सांस्कतिक अधिकारको उपभोग गर्नबाट वञ्चित भएको उल्लेख गरे ।

    अध्यक्ष डा केसीले भने, ‘गैरआवासीय नेपाली नागरिकता जारी भईसकेको तर हाल यसको प्रयोगमा विभिन्न कानूनी जटिलता रहेको हुनाले यस सम्बन्धी कानून निर्माण गर्नका लागि यस मन्त्रालयबाट समेत सहजीकरण गरिदिनु पर्यो ।’

    जवाफमा का.मु सचिव राईले गैरआवासीय नेपाली नागरिकता जारी हुनुअघि नै त्यसको कार्यान्वयनको लागि आवश्यक कानून निर्माण नभएकोले समस्या भएको बताए ।  उनले भने, वास्तवमा संविधानले आर्थिक सामाजिक तथा सांस्कतिक अधिकार दिने भनेको छ तर त्यसको लागि आवश्यक कानून निर्माण नहुदै  नागरिकता जारी भएको छ । त्यसमा पक्कैपनि त्रुटि भएकै हो । अब अहिले बल्ल एनआरएन एक्टको मस्यौदा भएको छ त्यो कानून बनेपछि के कसो गर्ने थप स्पष्ट होला ।’

    भेटमा अध्यक्ष केसीले  पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) लाई पनि सम्बोधन गर्न अनुरोध गरे । उक्त अवसरमा अध्यक्ष केसीले हाल जारी इराकमाथिको प्रतिबन्ध हटाउन पुनरावलोकन गर्न पनि आग्रह गरे ।  उनले भने, ‘इराकको कुर्दिस्तानमा ठूलो संख्यामा नेपालीहरु विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका छन् ।

    ती नेपालीहरुलाई पासपोर्ट नविकरण तथा नेपाली दूतावासबाट प्राप्त गर्ने सुविधा लिनको लागि कुवेत स्थित नेपाली दूतावास तोकिएको छ तर कुवेत र कुर्दिस्तानवीच अन्तरिक द्वन्दको कारणले आवत जावत बन्द छ । यसर्थ उक्त सुविधा कतार तथा युएईको नेपाली दुतावासबाट पाउनेगरी व्यवस्था गर्न जरुरी छ ।’

    जवाफमा का.मु सचिव राईले उक्त विषयमा मन्त्रीस्तरीय निर्णय गरी छिट्टै पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा रुसमा बर्षौ देखी विभिन्न रोजगार, पेशा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा बसिरहेका हजारौं नेपालीहरुका लागि सहज रुपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन एवं नो अब्जेक्सन लेटर समेत तत्काल खारेज गरी उक्त प्रक्रियालाई सहजीकरण गर्न,  चेक रिपब्लिकमा कोभिड–१९ पछि श्रम स्वीकृती नविकरण रोकिएकोले पुनः श्रम स्वीकृती एवं नविकरण कार्यलाई सहजीकरण गरिदिन पनि अध्यक्ष केसीले ध्यानाकर्षण गराए ।

    भेटमा संघको तर्फबाट अध्यक्ष डा केसीले गैरआवासीय नेपाली नागरिकता तथा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसंग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्नको लागि पहल गरिदिन,  गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न,संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको हुदा यथाशिघ्र उक्त धारा परिवर्तन गर्न आवश्यक पहल गरिदिन पनि आग्रह गरे ।

    यस्तै, विदेशमा नेपालीहरुको बाक्लो उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन हुन तथा नियोग वा दूतावास नभएका तथा नोपलीहरुको बढी घनत्व भएका देशमा गैरआवासीय नेपाली संघको सुझावमा मानार्थ प्रतिनिधि  नियुक्त गर्न,गैरआवासीय नेपालीहरुको मागहरुको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला  तर्जुमा गरी तत्काल समाधान गर्न पनि अनुरोध गरे ।

    सो अवसरमा नेपाल सरकार द्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरुलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने भएको हुनाले उनीहरुलाई नेपाली नागरिक सरहको हवाई यात्राको सुविधा प्रदान गर्न,विदेशका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई पासपोर्ट नविकरणको लागि पासपोर्ट प्रदान गर्ने टोली खटाउनको लागि सहजीकरण गर्न र ब्रिटिश गोर्खा सैनिकको समान हक तथा अधिकार लगायतका विषयहरुलाई कूटनीतिक माध्यमबाट समाधानका लागि पहल गरिदिन समेत आग्रह गरे ।

    यस्तै अध्यक्ष डा केसीले विदेशमा रहेका गैरआवासीय नेपालीहरु नेपालमा आउँदा आन्तरिक हवाई भाडा विदेशी सरह लिने गरेकोले उक्त असमान व्यवस्थालाई हटाउन समेत अध्यक्ष डा केसीले आग्रह गरे । जवाफमा कामु सचिव राईले क्रमशः सबै समस्याहरु समाधान हुने बताए । उनले सम्बद्ध मन्त्रालयहरुसँग पनि समन्वय गर्ने प्रतिबद्धता जनाए ।

  • खुम्बु क्षेत्रमा उडान नरोक्ने वायुसेवा संचालकको अडान

    खुम्बु क्षेत्रमा उडान नरोक्ने वायुसेवा संचालकको अडान


    काठमाडौं । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने जनाएको छ ।सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि संघले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो ।

    साथै संघले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान रोक्ने निर्णय गरेको छ ।

  • नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

    नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न


    काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ सम्मको साढे २१ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी बिहीबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारण लाइनलाई चार्ज गरिएको हो ।
    नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौंडासम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार भएको छ । प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् भार बोक्न सक्ने छ ।
    कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न म्याग्दीको दानाबाट सुरु भई नयाँ बुटवल सबस्टेसनमा अन्त्य हुने कालीगण्डकी करिडोर र नयाँ बुटवल–नयाँ भरतपुर–हैटौंडासम्मको २२० केभी प्रसारण लाइन लिङ्क बनेको छ ।
    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरबाट पूर्व–पश्चिम विद्युत प्रवाहका लागि २२० केभीको मेरुदण्ड तयार भएको र यसबाट भोल्टेजमा सुधार भई समग्र प्रणालीको विश्वसनीयता बढ्ने बताउनुभयो ।
    ‘आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् ढल्केबर हुँदै भारततर्फ निर्यात गर्न र हिउँदयाममा अपुग विद्युत् आयात गरी पश्चिमतर्फ पठाउन सहज हुनेछ, नयाँ बुटवल–गोरखपुर दोस्रो सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत् आयात/निर्यातको थप ढोका खेल्ने छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘मुख्य रुपमा कालीगण्डकी तथा मस्र्याङ्दी र ती नदीहरुका सहायक खोलानालाबाट उत्पादित विद्युत् प्रवाहका लागि सहज हुनेछ ।’
    मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन हुँदै नयाँ भरतपुर सबस्टेसनमा समाहित हुने छ । नयाँ भरतपुरबाट विद्युत्लाई हेडौंडा र नयाँ बुटवलतर्फ पठाउन सकिने छ । भारतसँगको नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ ।

  • २०३४ विश्वकप साउदी अरेबियामा

    २०३४ विश्वकप साउदी अरेबियामा


    काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुने भएको छ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ ।

    साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने एजन्सीले जनाएको छ ।
    ९२ हजार दर्शक क्षमता भएको रियादको किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने अनुमान गरिएको छ । खेल हुने १५ रङ्गशालाहरूमध्ये ४ वटा रङ्गशालाहरू बनेको बीबीसीले जनाएको छ ।

    त्यसैगरी स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप संयुक्त रूपम आयोजना गर्नेछन्  । प्रतियोगिताको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् २०३० मा हुने प्रतियोगिताका तीन खेलहरू अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन् ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?


    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ  ।

    गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

  • जाजरकोटमा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

    जाजरकोटमा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

    काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

    प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको छ ।

    घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    -राससबाट

  • एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता

    एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ । अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । यसमध्ये १ करोड ५० लाख डलर (२ अर्ब रुपैयाँ) अनुदान र ११ करोड डलर (१४ अर्ब ८८ करोड रुपैयाँ) बराबर ऋण सम्झौता भएको हो । अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडीबीका नेपालका लागि देशीय प्रबन्धक अर्नाउड कचोइसले हस्ताक्षर गरेका छन् ।

    यस आयोजनाबाट किसानले प्रिपेड कार्ड प्रणाली मार्फत उन्नत सिँचाइ प्रविधि प्रयोगबाट आफ्नो खेतको आवश्यकता अनुसार सिँचाइका लागि पहुँच प्राप्त गर्न सक्ने अर्थ मन्त्रालयले जनाएको छ । यो आयोजना मधेश प्रदेशका रौतहट र सर्लाही जिल्लामा लागु हुनेछ । यसबाट १ लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने भएका छन् । परियोजनाको प्राथमिक उद्देश्य कृषि उत्पादकत्वमा सुधार, वर्षभरि सिँचाइ सुनिश्चित गर्न र खाद्य सुरक्षामा योगदान पुर्‍याउनु रहेको समेत जनाइएको छ ।

    त्यसैगरी परियोजनाले यस क्षेत्रमा भूमिगत सिँचाइ प्रणालीको दीर्घकालीन दिगोपनका लागि डिजाइन, निर्माण र सञ्चालन (डीबीओ) मोडालिटी प्रयोग गर्ने छ र सिँचाइ व्यवस्थापन कम्पनीको समेत स्थापना गर्ने अर्थले जनाएको छ । सीएलआरआरपी कार्यान्वयनका लागि २ करोड २० लाख डलर (करिब २ अर्ब ९७ करोड रुपैयाँ) अनुदान सम्झौता तथा १ करोड डलर (करिब १ अर्ब ३५ करोड रुपैयाँ) ऋण सम्झौतामा समेत बुधबार नै सम्झौता भएको छ ।

    सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र एडीबीका देशीय प्रबन्धक कचोइसले हस्ताक्षर गरे । सीएलआरआरपीले जलवायु परिवर्तन प्रभावबाट अत्यधिक जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायको जलवायु लचिलोपन बढाउन केन्द्रित छ ।

  • दूर्गा प्रसाईविरुद्ध साइवर अपराधमा मुद्दा दर्ता

    दूर्गा प्रसाईविरुद्ध साइवर अपराधमा मुद्दा दर्ता

    काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । साइबर ब्यूरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो ।

    विद्युतीय कारोबार ऐन विपरितको कसुरको मुद्दा अदालतसम्म पुगेपनि प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट जाँच भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

    उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो । अनुसन्धान चलिरहेका बेला भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्क्याउँदै असुली गरेको प्रकरण पनि सीआईबीसम्म पुगेको थियो ।

    यसरी धम्की दिनेले प्रसाईंलाई सहयोग गर्न भन्न गरेका थिए । सीआईबीले भारतको आसामबाट धम्की दिने झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई पक्राउ गरेपछि यसमा प्रसाईं पनि जोडिएका थिए । फुयाँलले प्रसाई‌को निर्देशनमा आफूले त्यसरी फोन गरेको बताएपछि प्रसाईंविरुद्ध अहिले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान थालिएको थियो ।

  • जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक

    जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक

    काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो । निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।

    निर्णय अनुसार अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन पाइने छैन । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र उडान तथा अवतरण गर्ने विभिन्न कम्पनीका हेलिकप्टरले उडान–अवतरण गर्नुअघि निकुञ्ज कार्यालयबाट अनुमति लिएर मात्र उडान गर्नुपर्छ । तर, यस्तो काम प्रभावकारी नभएको र राजस्व चुहावट समेत भएको भन्दै निकुञ्जले अब व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको हो ।

    हेलिकप्टर कम्पनीले मनपरी ढंगले उडान–अवतरण गर्दा निकुञ्जको वन तथा वातावरण र वन्यजन्तुको सुरक्षामा समेत चुनौती थपिएको कार्यालयले जनाएको छ । यसले मानव बस्तीमा ध्वनि प्रदूषण बढाएको समेत निकुञ्जले हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पठाएको पत्रमा उल्लेख छ ।

    निकुञ्ज कार्यालयका अनुसार अब निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा व्यावसायिक प्रयोजनमा हेलिकप्टर उडान–अवतरणमा पूर्णरोक लागेको छ । निकुञ्ज भ्रमण गर्न आउने पर्यटक, स्थानीय र पदमार्गीको स्वास्थ्य ध्यानमा राख्दै सर्तसहित उद्धार उडान भने गर्न पाइने छ । जसमा नजिकैको स्वास्थ्य संस्था, मध्यवर्ती उपभोक्ता समिति र वडा कार्यालयलाई मौखिकरलिखित सिफारिसपछि मात्र निकुञ्जले अनुमति दिने छ ।

    उद्धार उडान गर्नुपर्ने अवस्था आए निकुञ्जबाट पूर्वसहमति लिएर हेलिकप्टर अवतरण गर्ने स्थान तय गर्नुपर्ने छ । उद्धार हुने व्यक्तिको विवरण निकुञ्ज कार्यालयमा पेस गर्नुपर्ने भएको छ । हेलिकप्टरमा उद्धार (रेस्क्यु) गर्नुपर्ने पर्यटक बाहेक अरूलाई ओसारपसार गर्न रोक लगाइएको छ । खुम्बु क्षेत्रको भौगोलिक अवस्था मध्यनजर गरी स्थानीय स्तरमा आवश्यक सामग्री ढुवानीका लागि भने पूर्वसहमतिमा कार्गो उडान गर्न पाइने छ । सगरमाथा आरोहणका लागि कार्गो ढुवानी गर्न पाङबोचे भन्दा माथिल्लो क्षेत्रमा अवतरण गर्न पाइने छैन ।

  • प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा काम गर्न सीएनआईको आग्रह

    प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा काम गर्न सीएनआईको आग्रह

    काठमाडौँ — नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतसँग आर्थिक कूटनीतिलाई प्राथमिकता राख्न आग्रह गरेको छ । मंगलबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा रहेका लगानीका क्षेत्रबारे सम्बन्धित देशका लगानीकर्तालाई नेपालसँग जोड्न राजदूतहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् ।

    लगानी तथा निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ता तथा स्वदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा ‘फोकल कन्ट्याक्ट पर्सन’ राख्नुपर्ने अध्यक्ष अग्रवालले बताए । कुनै पनि मुलुकसँग राजनीतिकभन्दा आर्थिक सम्बन्ध स्थिर र बलियो रहेको उदाहरण प्रस्तुत गर्दै उनले व्यवसायका माध्यमबाट देशको ब्रान्डिङ गर्न सकिने धारणा राखे ।

    नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको र राम्रो रेटिङ पाएकाले लगानी भित्र्याउन सहयोगी बन्न सक्ने उनको विश्वास थियो । सन् २०२६ मा नेपाल विकसित मुलुकमा स्तरोन्नति हुने भएकाले देशले पाउँदै आएको सुविधा नघट्ने तथा नेपालको हित हेरेर सौविद्य व्यापार सम्झौता ९पीटीए० गर्नुपर्ने उनको भनाइ थियो । परिसंघले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुहरूको प्रवर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत्, पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएको छ ।

    उक्त अवसरमा परराष्ट्र मन्त्रालयका कामयमुकायम सचिव अमृतबहादुर राईले राजदूतहरूले नेपाली वस्तुको प्रवर्द्धन, नेपाली व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने बताए । नेपाली व्यावसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा आवश्यक सहजीकरणमा केन्द्रित हुन उनले आग्रह गरे ।


    प्रस्तावित राजदूतहरू शंकर शर्मा, सेवा लम्साल, चित्रलेखा यादव, चन्द्रकुमार घिमिरे, सुम्निमा तुलाधर, जंगबहादुर चौहान, कपिलमान श्रेष्ठ, प्रकाशमणि पौडेल, शिवमाया तुम्बाहाम्फे, पूर्णबहादुर नेपाली, नेत्रप्रसाद तिम्सिनाले नेपाल र नेपालीको हितमा देशको प्रतिनिधिका रूपमा काम गर्ने बताए । आर्थिक कूटनीतिलाई हरेक राजदूतले केन्द्रमा राख्नुपर्ने भन्दै आर्थिक विकासका लागि निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्ने राजदूतहरूको भनाइ थियो ।

    यस्तै परिसंघले ‘सीएनआई सञ्चार संवाद’ पनि सुरु गरेको छ । मंगलबार आयोजित संवाद कार्यक्रममा आय कर ऐनको दफा ५७ र ९५ (क) को व्यवस्थाबारे छलफल गरिएको थियो । आय कर ऐनको दफा ५७ र ९५ (क) ले निम्त्याएको निम्तिने विविध समस्या र कसरी दोहोरो कर नीति लागू भएको छ भन्नेबारे छलफल गरिएको हो ।

  • पोल्याण्डका प्रधानमन्त्री भन्छन् : रुस-युक्रेन शान्ती वार्ता हुन सक्छ

    पोल्याण्डका प्रधानमन्त्री भन्छन् : रुस-युक्रेन शान्ती वार्ता हुन सक्छ

    काठमाडौं । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताएका छन् ।
    आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहेका टस्कले अर्को महिना युरोपेली सङ्घ (इयु) को अध्यक्षता सम्हाल्दै छन् । उनले विदेशी अधिकारीहरूसँग हुने आगामी वार्ताहरूको पनि घोषणा गरे ।

    उनले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गर्ने र बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पोल्यान्डमा स्वागत गर्ने बताए । “हाम्रो (इयु) को अध्यक्षता राजनीतिक परिदृश्यका लागि सह–जिम्मेवार हुनेछ र सायद (शान्ति) वार्ताको अवस्था कस्तो हुनेछ जुन यही हिउँदमा सुरु हुन सक्छ, यद्यपि अझै केही प्रश्न छन्”, टस्कले पत्रकारहरूलाई भने, “आज मैले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग यस विषयमा कुरा गर्ने मौका पाउनेछु ।”

    करिब तीन वर्षअघि रुसले आक्रमण गरेदेखि पोल्यान्ड युक्रेनको बलियो समर्थक बनेको छ । इयु र नाटो सदस्यहरूले किएभलाई पश्चिमी सैन्य सहायताका लागि महत्त्वपूर्ण रसद केन्द्रको रूपमा काम गर्छन् । टस्कले भने, “म्याक्रोन पर्सि सहरमा हुनेछन्, उनी हामीलाई पेरिस वार्ताको नतिजाबारे जानकारी दिन चाहन्छन् ।”

    म्याक्रोन, जेलेन्स्की र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शनिबार पेरिसमा त्रि–पक्षीय बैठक गरेका छन् । उक्त बैठकलाई टस्कले ‘छोटो तर महत्त्वपूर्ण’ भएको बताए । फेब्रुअरीमा चुनावअघि जनमत सर्वेक्षणमा शीर्ष स्थान ओगटेका जर्मन विपक्षी नेता फ्रेडरिक मेर्ज पनि किएभको भ्रमणपछि पोल्यान्ड आउने टस्कले जानकारी दिए ।


    उनले स्क्यान्डिनेभियन र बाल्टिक सहयोगीहरूसँग ‘निरन्तर सम्पर्कमा’ रहेको बताए । ती सहयोगीहरूले ‘पोल्यान्ड र पोल्यान्डको ९इयु० अध्यक्षतामा युक्रेन र रुसबिच शान्ति–निर्माणका लागि नेतृत्वदायी भूमिका’ देखेका छन् । रासस–एएफपी

  • काठमाडौंमा न्यूनतम तापक्रम ४ डिग्रिमा झर्यो

    काठमाडौंमा न्यूनतम तापक्रम ४ डिग्रिमा झर्यो

    काठमाडौं । काठमाडौँ उपत्यकामा निरन्तर जाडो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।

    जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छभने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

    प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

  • परराष्ट्र मन्त्री राणा र लक्जमबर्गका उपप्रधानमन्त्रीबीच भेट

    परराष्ट्र मन्त्री राणा र लक्जमबर्गका उपप्रधानमन्त्रीबीच भेट

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मंगलबार लक्जमबर्गमा भेटवार्ता भएको छ । बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि थिए । लक्जमबर्ग सिटीस्थित उनको कार्याकक्षमा भएको भेटवार्ताका क्रममा नेपाल लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो ।

    त्यस अवसरमा उनीहरूले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्गबीचको आर्थिक सहकार्यका बारेमा विचार आदानप्रदान गरेको थियो । साथै सो वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो ।

    नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा देउवाले सो भेटका क्रममा जानकारी गराएका थिए । उनीहरूले द्विपक्षीय हितका विभिन्न विषयमा विस्तृत छलफल गरेका थिए । त्यस अवसरमा मन्त्री डा देउवाले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गरेका थिए ।

    मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिकलगायत क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गरेका थिए । नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियन लगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरूको सहयोगको अपेक्षा नेपालले गरिरहेको र त्यसमा लक्जमबर्गको पनि सहयोग र समर्थनको अपेक्षा गरिएको मन्त्री डा देउवाले बताएका थिए ।

    सो भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुंग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराए । साथै उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र मानवअधिकार आयोगको सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जमबर्गलाई आग्रह गरेका थिए । नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

  • एनपीएल : आज दुई खेल हुँदै

    एनपीएल : आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा जनकपुर र सुदूरपश्चिम भिड्नेछन् । दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

    चार वटै टोलीलाई आजको खेल महत्वपूर्ण छ । जनकपुर र सुदूरपश्चिमबीचको खेललाई फाइनल अगाडीको रिहर्सलका रुपमा हेरिएका छ । दुबै टोलीले उत्कृष्ट क्रिकेट पस्किरहेका छन् । काठमाण्डु र लुम्बिीनको खेलमा भने आफ्नो अस्तित्व जिवित राख्ने प्रयास हुनेछ ।

  • एमालेको निष्कर्ष : स्थानीय तह उपनिर्वाचनको परिणाम अपेक्षित आएन

    एमालेको निष्कर्ष : स्थानीय तह उपनिर्वाचनको परिणाम अपेक्षित आएन

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको एमालेले मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोप्रति गम्भीर बन्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको पनि निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    उनले सहरी जनमतलाई पार्टीसँग आबद्ध गर्न नसकेको निष्कर्ष निकालिएको बताए । मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरिएको उनले बताए । समग्रमा एमालेले थप उपलब्धि हाँसिल गरेको भन्दै खासगरी कीर्तिपुर नगरपालिका, १६ नम्बर वडा, केही वडाको नतिजा अपेक्षा अनुसार नआएको एमालेको निष्कर्ष छ । सहरी मतदातालाई पार्टीसँग जोड्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि ज्ञवालीले जानकारी दिए ।

  • सम्पत्ति शुद्धीकरण निवारण प्रभावकारी बनाउन कार्यदल गठन

    सम्पत्ति शुद्धीकरण निवारण प्रभावकारी बनाउन कार्यदल गठन

    काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहने छन् ।

    सदस्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव, महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक र वित्तीय जानकारी एकाइका प्रमुख रहने छन् ।

    नेपाल राष्ट्र बैंकका निर्देशक कार्यदलको सदस्य सचिव रहने छन् । कार्यदलले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी संलग्न निकायबिच आवश्यक समन्वय पनि गर्ने जनाइएको छ ।

  • कांग्रेस–एमालेले रविलाई आतंकित पारे : प्रचण्ड

    कांग्रेस–एमालेले रविलाई आतंकित पारे : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

    कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले र कानले देखेको छु,’ प्रचण्डले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’ साथै, उनले अमानवीय र निरंकुश कामबाट सत्तापक्षकै नेताहरूले पनि विरोध जनाउन थालेको बताए ।

    ‘रवि लामिछाने भर्खर एउटा आन्दोलनको रुपमा देखा परेको, नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो । म प्रधानमन्त्री बन्नुअघि रविलाई प्रस्ताव राख्दा म होइन अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भनेको हो,’ प्रचण्डले भने, ‘एमालेले आफ्नो पकेटको मान्छे बनाउन कम मिहेनत गरेको होइन । चितवनवासी जनतालाई साँचो कुरा भन्नुपर्छ भनेर मैले यो भन्दैछु ।’

  • बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

    बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

    काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट दस्तावेज सरकारले सार्वजनिक गरेको हो ।

    बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ । सम्झौता मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ ।

  • विश्व क्रिकेटका स्टार ब्रायन लारा नेपाल आउँदै

    विश्व क्रिकेटका स्टार ब्रायन लारा नेपाल आउँदै

    काठमाडौं । वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग आयोजक क्यानले लारा एनपीएलकै सन्दर्भमा नेपाल आउन लागेको जानकारी गराएको छ । ‘ब्रायन लारा यो हप्ता भित्र आइपुग्ने भएका छन् । उनी अहिले भइरहेको एनपीएल हेर्न आउन लागेको बताइएको छ ।

    लाराको आगमनले प्रतियोगिताले थप नयाँ उचाइ लिने क्यानको भनाइ छ । उनी पहिलोपटक नेपाल आउन लागेका हुन् । यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी–२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।

  • प्रधानसेनापति भारत प्रस्थान

    प्रधानसेनापति भारत प्रस्थान

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा गएका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरुप सिग्देल भारत गएका हुन् ।

    यसअघि भारतीय सेनाध्यक्ष द्विवेदीले नेपालमा आएर राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ जनरलको सम्मान लिइसकेका छन् । भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा समेत सहभागिता जनाउनेछन् ।

  • हुस्सुको कहरले जनजीवन प्रभावित

    हुस्सुको कहरले जनजीवन प्रभावित

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतः सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

    त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

  • यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्रीले के भने ?

    यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्रीले के भने ?

    काठमाडौं । युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेसनल्स इन युरोप’ को आयोजनामा आइतबार प्रि–कन्क्लेभ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न आह्वान गरे।

    उनले यसका लागि कानूनी र नीतिगत वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री पौडेलले भने, ‘देशमा लोकतन्त्र त आयो, तर जनताले त्यसको महसुस गर्ने अवस्था बनेको छैन। विदेशमा अनुभव आर्जन गरेका स्वास्थ्यकर्मीहरूको सहयोगले देशको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। आगामी महिनामा यसका लागि विशेष कार्यक्रम आयोजना गरी स्पष्ट नीति तय गरिनेछ।’

    कार्यक्रममा विभिन्न देशमा बसोबास गरिरहेका आठ स्वास्थ्य विशेषज्ञहरूले नेपालमा आफ्नो सहभागितामा सम्पन्न प्रोजेक्टहरूबारे दस्तावेज प्रस्तुत गरेका थिए। तीमध्ये नर्वेका प्रा. डा. दीपक सापकोटा, इटालीका डा। कौशलकिशोर तिवारी, स्वीडेनका डा. दीपराज थापा, बेल्जियमका डा. राजु श्रीवास्तव, जर्मनीका डा. सागर धिताल, अमेरिकाका डा. कृष्णप्रसाद खनाल, बेलायतका डा. बच्चु कैलाश कैनी, र स्वीजरल्यान्डका डा. विनयकुमार श्रेष्ठ प्रमुख वक्ता थिए।उनीहरुले नेपालमा स्वास्थ्य सेवा सुधारको सम्भावनाबारे विश्लेषण गरेका थिए।

    कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, डा. प्रकाश थपलिया, डा. भीमप्रसाद सापकोटा, र डा. विराज कर्माचार्यले पनि आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। बक्ताहरुले नेपालको स्वास्थ्य क्षेत्रमा डायस्पोराको भूमिकाबारे आफ्ना विचार राख्दै नीतिगत सुधार र सहकार्यको खाँचो औंल्याए।

    संस्थाका अध्यक्ष डा. विनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालमा सञ्चालित प्रोजेक्टहरूमा देखिएका चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे पनि गहन छलफल भएको थियो। सहभागीहरूले विदेशमा सिकेका ज्ञान, सीप, र स्रोतसाधनलाई नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्न थप सहकार्य र निरन्तरताको आवश्यकता रहेकोमा जोड दिए।

    प्रवासी नेपाली स्वास्थ्यकर्मीहरूको ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य सेवा सुधारका लागि उपयोग गर्न नयाँ ढोका खोल्न कार्यक्रममार्फत प्रेरित गरिएको थियो। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पौष ११ र १२ गते (डिसेम्बर २६ र २७) काठमाडौंमा ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४’ आयोजना गर्न तयारी गरिरहेको छ। यस सम्मेलनको मुख्य उद्देश्य नेपालका स्वास्थ्य क्षेत्रको सुधारमा प्रवासी नेपालीहरूको योगदानलाई मूल्यांकन र सक्रिय बनाउने रहेको छ।

  • अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाईंदै

    अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाईंदै

    काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै मंगलबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

    कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ। ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो। यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ।

    मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर लाग्नुभएका व्यक्ति वा संस्थाहरूको अनुरोधमा वार्षिक रूपमा प्रदान गरिँदै आएको पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ। आवश्यक अध्ययन र तयारी गरेर पुरस्कारको व्यवस्थालाई नियमित गर्ने विश्वास मन्त्रालयले दिलाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कोमलबहादुर खत्रीले जानकारी दिए।

  • एमाले सचिवालय बैठक आज बस्दै

    एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले) ले मंगलबार सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्नेछ। आज बस्ने बैठकमा उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणबारे समीक्षा हुने एमालेले बताएको छ। यही मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा एमालेले सन्तोषजनक परिणाम ल्याउन सकेन।

    स्थानीय तहका कूल ४४ स्थानमा भएको उपनिर्वाचनमा एमाले ८ स्थानमा निर्वाचित भएको थियो। एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष जित्यो। यसअघि जितेका ७ स्थानमा चुनाव भए पनि यसअघि निर्वाचित भएको ठाउँ एमालेले जोगाउन सकेन।

    उपनिर्वाचनको मुखमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनेर अफवाह फैलाइएको तथा व्यवसायी मीनबहादुर गुरूङबाट दान लिएर पार्टी कार्यालय बनाउने विषयलाई पनि नकारात्मक तवरले प्रचार गरिँदा चुनावी परिणामममा त्यसले असर पारेको एमालेको प्रारम्भिक विश्लेषण छ। प्रधानमन्त्री ओली भर्खरै चीनको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएका छन्।

    भ्रमणका बेला नेपाली परियोजनामा चिनियाँ सहयोग रहने गरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको फेमवर्कमा हस्ताक्षर भएको थियो। बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर हुनुलाई एमालेले उपलब्धीका रूपमा चित्रण गरेको छ। यी विषयमा आज सचिवालय बैठकमा छलफल हुने एमालेले जनाएको छ।

  • एनपीएलमा आज दुई खेल

    एनपीएलमा आज दुई खेल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् । चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अंक छ।

    कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ। कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ। कर्णाली चौथो स्थानमा छ। पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौं थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ। लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ।

  • बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि नपाएको ओहदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप छ । अख्तियारका अनुसार उनले नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका थिए ।


    सिलवालले २४ फागुन, २०३२ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला उनको नागरिकता उल्लेखित उमेर १६ वर्ष मात्रै थियो । पछि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिए, जसमा उनको जन्ममिति २२ कात्तिक २०१६ थियो । अख्तियारको दाबी अनुसार त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन, १०१५ साल भनी उल्लेख छ ।

    निजामती सेवामा प्रवेश गर्दा पनि उनले त्यही जन्ममिति अभिलेखमा राखेका थिए । त्यही विवरणका आधारमा उनले पेन्सनपट्टा पाएको, अवकाश लिएको भन्दै अख्तियारले १५ साउन, २०१५ लाई नै सिलवालले जन्ममिति स्वीकारेको आरोप लगाएको छ । उनी निजामती सेवामा रहँदा कुटनीतिक राहदानी र विशेष राहदानी लिएका थिए । त्यसक्रममा भरेको फर्ममा उनले २४ कार्तिक, २०१८ लाई जन्ममिति भनी उल्लेख गरेका थिए । वास्तविक भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको भन्दै अख्तियारले उनीमाथि मुद्दा चलाएको हो ।

    निजामती सेवामा सचिवबाट अवकाशपछि सिलवाल १९ माघ, २०७७ मा विमा समितिमा नियुक्त भएका थिए । त्यतिबेला ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ अनुसार उनको नियुक्ति भएको थियो ।

    मापदण्डमा ६५ वर्ष उमेर पुरा भएको पदाधिकारी स्वतः अवकाश हुने व्यवस्था थियो । उनले त्यसैलाई स्वीकारेर बीमा समितिको अध्यक्षमा नियुक्त भएको अख्तियारको दाबी छ । बिमा समिति अहिले प्राधिकरणमा रुपान्तरण भएको छ । समितिका अध्यक्ष सिलवालले प्राधिकरणको अध्यक्षमा निरन्तरता पाए ।

    १५ साउन, २०८० मा अवकाश हुनुपर्नेमा त्यसलाई छलेर बीमा प्राधिकरणको अध्यक्षमा समेत नियुक्ति लिएको भनी अख्तियारले सिलवालमाथि प्रश्न उठाएको हो । आफैंले स्वीकारेको जन्ममिति परिमार्जन गरेर थप तीन वर्ष पदावधि लम्ब्याउन खोजेको भनी अख्तियारले उनीमाथि प्रश्न उठाएको हो । अनि झुटा विवरणकै आधारमा ३ वर्ष उमेर घटाएर राहदानीको कागजात पेश गरेको आरोप हो ।

    ६५ वर्ष पूरा भएपछिको पदावधिमा कायम रहेको भनी अख्तियारले उनीमाथि ३६ लाख ६२ हजार रुपैयाँ बिगो मागदाबी गरेको हो । उक्त आरोपपत्र दर्ता भएसँगै सिलवाल स्वतः निलम्बनमा परेका छन् ।

  • नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय

    नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छिन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको हो ।

    विश्वका धनी तथा विकसित मुलुकहरुले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा केन्द्रित रही मन्त्री डा. देउवाले उक्त अदालतमा नेपालको धारणा राखेको जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

    सो अदालतको सुनुवाइका क्रममा उनले नेपाल दोहोरो मारमा परेको दृष्टान्त पेस गर्दै भनिन्, “जलवायु परिवर्तनका कारकमा नेपालको योगदान अति नगण्य छ तर पनि अहिले हामी जलवायुजन्य सङ्कटसँग जुध्नका लागि आवश्यक स्रोतको अभाव झेलिरहेका छौँ । त्यसैले हामी दोहोरो मारमा परेका छौँ ।”

    नेपालको भौगोलिक अवस्थिति र विकासको स्तरका कारण जलवायु परिवर्तनको प्रतिकूल असर देखिएको मात्र नभई नेपाल उच्च जोखिममा रहेको उनले बताइन् । नेपालका उच्च पहाड र हिमालहरुले प्राकृतिक रुपमा जलवायु सन्तुलन कायम गर्दै आएका तथा यहाँका नदीहरुको स्रोत हिमाल रहेको र यही नदी स्थानीय बासिन्दाको पानीको स्रोत रहेकामा अहिले तिनै हिमाल कालापत्थरमा परिणत भइरहँदा यो नै प्राकृतिक विपत्तिको कारण बनेको उनले बताइन् ।

    इसिमोडको हालैको एक अध्ययनले अहिलेकै अनुपातमा हिउँ पग्लिँदै जाने हो भने हिन्द कुश हिमालय क्षेत्रका हिमनदीहरुले यो शताब्दीको अन्त्यसम्ममा हाल विद्यमान अवस्थाको ८० प्रतिशतसम्म हिउँ गुमाउने देखाएको दृष्टान्त पेस गर्दै मन्त्री डा. राणाले यसका कारण उच्च पहाडी क्षेत्रहरुमा बाढीपहिरोका साथै अन्य पूर्वाधारसम्बन्धी समस्या थप बढ्ने खतरा रहेको बताइन् ।


    उहाँले नेपालको संवेदनशीलतालाई सङ्केत गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ को अक्टोबरमा नेपालको संसदलाई सम्बोधन गर्दै नेपालले जलवायु सङ्कट ज्यादै नराम्रोसँग भोगिरहेको बताएको पनि मन्त्री डा. राणाले स्मरण गराइन् । उनले भनिन्, “हामीले यसै वर्षको सेप्टेम्बरमा जलवायु परिवर्तनको सबैभन्दा नराम्रो परिणामको सामना गर्नुपर्यो । नेपालमा भीषण वर्षा भयो र हामीले अकल्पनीय क्षति पनि व्यहोर्नु पर्‍यो । जसका कारण २५० भन्दा बढी मानिसको ज्यान गयो भने महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुग्यो ।”

    नेपालले यस वर्ष धेरै मात्रामा जलवायुजन्य विपदहरूको सामना गर्नु परिरहेको, बाढी पहिरोमा परेर ३०० जनाको ज्यान जानुका साथै पिउने पानी, सडक, ऊर्जा, सिँचाइ तथा कृषिसम्बन्धी पूर्वाधारमा ठूलो क्षति पुग्दा देशमा एक अर्ब तीन करोड अमेरिकी डलरभन्दा बढीको नोक्सानी भएको जानकारी मन्त्री डा. राणाले सो अदालत सामु गराइन् ।


    जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नु परिरहेको यो अवस्था निकै नै अन्यायपूर्ण रहेको उनको तर्क थियो । उनले भनिन्, “यो अवस्था हेर्दा लाग्छ हामीले कहिल्यै नगरेको गल्तीको सजायँ भोग्दैछौँ, हामीले कहिल्यै नगरेको अपराधमा हामीलाई दोषी सावित गरिँदैछ ।”

  • सिरियामा रासायनिक हतियार प्रयोग गरेको इजरायलको दावि

    सिरियामा रासायनिक हतियार प्रयोग गरेको इजरायलको दावि

    काठमाडौं । इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताएका छन् । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेको थियो । “बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू चरम पन्थीहरूका हातमा नपरुन् भनेर हामीले हामीले रणनीतिक हतियार प्रणालीमा आक्रमण गर्यौँ”, इजरायलले विद्रोहीहरूको कार्यलाई निगरानी गरिरहेको भन्दै पत्रकार सम्मेलनमा सारले भने, “हामीले गरेका कदमहरू, हाम्रो एकमात्र सरोकार इजरायलको सुरक्षा र त्यहाँका नागरिकहरूको हो।”

    इजरायली मिडियाले शुक्रबार सेनाले सिरियामा रासायनिक हतियारको भण्डारमा आक्रमण गरेको रिपोर्ट गरेको छ । बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सोमबार इजरायली सेनाले तटीय र दक्षिणी सिरियामा फैलिएको धेरै स्थानमा रातभर आक्रमण गरेको बताएको छ । “पूर्व शासनको पतनको घोषणा भएको प्रारम्भिक घन्टादेखि नै इजरायलले जानाजानी हतियार र गोला बारुद भण्डारहरू नष्ट गर्दै सघन हवाई आक्रमण गर्न थाल्यो”, अब्जर्भेटरीले भन्यो।

    सोमबार एएफपीका तस्बिरहरूले दमास्कसको बाहिरी भागमा रहेको माजेह सैन्य विमानस्थलमा क्षति देखायो, जसमा नष्ट हेलिकप्टर र जेटहरू थिए । त्यहाँ इजरायली सेनाले नजिकैको हतियार भण्डारहरूमा आक्रमण गरेको थियो । सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि इजरायलले मुख्यतया सेना र इरान समर्थित समूहहरूलाई लक्षित गर्दै देशमा सयौँ आक्रमण गरेको छ ।

    इजरायलले सिरियामा व्यक्तिगत आक्रमणबारे विरलै टिप्पणी गर्छ तर बारम्बार इरानलाई देशमा आफ्नो उपस्थिति विस्तार गर्न नदिने बताएको छ । इजरायलले शनिबार सिरियाको सिमानामा रहेको गोलान हाइट्स क्षेत्रको असैन्यीकृत बफर जोनमा पनि सेना पठाएको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले ‘कुनै पनि शत्रु शक्तिलाई हाम्रो सीमामा आफूलाई स्थापित गर्न दिने छैन’ भने । मन्त्री सारले सोमबार बफरको अधिग्रहण ‘सुरक्षा कारणका लागि हामीले लिएको सीमित र अस्थायी कदम’ भएको बताए । रासस\एएफपी

  • जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ

    जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ

    काठमाडौं । झापा, बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

    झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गरेका थिए। त्यस क्रममा घटनाबारे थाहा भएपछि प्रहरी समेतको सहयोगमा उनलाई उद्धार गरिएको थियो।

    उद्धारपछि बालिकाले आफूमाथि पूर्वमेयर शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी र सोही आधारमा शिवाकोटीलाई पक्राउ गरिएको प्रहरी भनाइ छ।
    बालिकाकी आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएको बताउँदै प्रहरीले जनाए अनुसार बालिकालाई शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेका थिए। तत्कालीन अनारमनी गाविसको अध्यक्ष भइसकेका एमाले नेता शिवाकोटी २०७४ मा बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए।