Category: फिचर

  • अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने प्रावधान हटाउने ट्रम्पको घोषणा

    अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने प्रावधान हटाउने ट्रम्पको घोषणा

    काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने घोषणा गरेका छन् । राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताए । ट्रम्मले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्दैछन् । आफूले राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पुनरवलोकन गर्ने उनले बताएको बिबिसीले एनबिसीलाई उद्धृत गर्दै लेखेको छ।

    अब अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाउने तर कुनै पनि कागजात नभई अमेरिका पुर्‍याइएका आप्रवासीहरूबारे भने डेमोक्र्याटसँग मिलेर काम गर्ने ट्रम्पले बताएका छन्। अमेरिकी संविधानको १४ औं संशोधनले अमेरिकामा जन्मिने सबै अमेरिकी नागरिक हुने भनेको छ। यस्तो नीतिले संसारका अरू देशका मानिसहरू अमेरिका गएर बच्चा जन्माउने प्रवृत्तिलाई रोक्ने बताइएको छ।

    अमेरिकाको आप्रवासी नीतिका सम्बन्धमा बाइडेन र डेमोक्र्याटभन्दा ट्रम्प र रिपब्लिकनहरू कडा मानिन्छन् । ट्रम्पले आफूले जिम्मेवारी सम्हाल्नेबित्तिकै आप्रवासन, ऊर्जा र अर्थतन्त्र लगायतका विषयहरुमा नयाँ घोषणा हुने बताएका छन्।

    उनले सबैभन्दा पहिले गर्ने कामको पनि उद्घोष गरेका छन्। बिबिसीले एनबिसीको अन्तर्वार्तालाई उद्धृत गर्दै लेखेको समाचारमा ट्रम्पले सन् २०२० मा अमेरिकी संसद भवनमा आक्रमण गर्नेहरूलाई माफी दिने विषयमा निर्णय हुने भनेका छन्। ‘तिनीहरू नारकीय जीवन बाँचिरहेका छन्, पहिलो दिन नै त्यसमा निर्णय हुन्छ, ’उनले भने। ट्रम्पले युक्रेनलाई दिने सहायता पनि घट्न सक्ने बताए ।

  • नेपाली सेनाले भन्यो : सिरियामा खटिएका शान्ति सैनिक सुरक्षित छन्

    नेपाली सेनाले भन्यो : सिरियामा खटिएका शान्ति सैनिक सुरक्षित छन्

    काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तरगत सिरियामा खटिएका सबै नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । विद्रोही समूह एचटीएसले देशको राजधानीमा कब्जा जमाएसँगै राष्ट्रपति बसर अल असद सिरिया छाडेर रुसतिर गएका छन् । विद्रोहीले राजनीतिक कब्जा गरेपछि सरकारी फौज पछि हट्नु परेको थियो ।

    यो घटनाक्रम हुँदा नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोष्टमा पनि हतियारधारी समूह जबरजस्ती प्रवेश गरेका थिए । यसपछि उत्पन्न परिस्थितिबारे जानकारी दिँदै सैनिक प्रवक्ता गौरवकुमार केसीले भनेका छन्, ‘उक्त सुरक्षा पोष्ट लगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र संघीय मिसन अन्तरगत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था सामान्य रहेको छ ।’

  • अमेरिकी सहायक विदेशमन्त्री र अर्थमन्त्रीबीच भेट

    अमेरिकी सहायक विदेशमन्त्री र अर्थमन्त्रीबीच भेट

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडी अन्तर्गत परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायत विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका छन् ।

    अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेको मन्त्रालयले जनाएको छ । उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराए ।

  • गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन

    गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन

    काठमाडौं । बारास्थित गढीमाई मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ ले खाद्य पदार्थ अनगुमन र निरीक्षण गरेको छ । मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी गढीमाई मेलामा स्थलगत खाद्य पदार्थ परीक्षण समेत गरी मेलामा खाद्य पदार्थ निरीक्षण अनुगमन गरेको हो ।


    ‘मेला, महोत्सव हुने खाद्य पदार्थमा अत्यधिक रङ प्रयोग, उपभोग्य अवधि सकिएका खाद्यान्न बिक्री, खाद्य वस्तु तार्न एउटै तेल बारम्बार प्रयोग, मसी भएको कागजमा प्याकिङ, अखाद्य रङ प्रयोग र सरसफाइ कमीजस्ता समस्या देखिने गरेको थियो । यसैलाई मध्यनजर गरी हामीले अनुगमन गरेका हौं,’ विभाग प्रवक्ता मोहनकृष्ण महर्जनले भने । प्रवक्ता महर्जनका अनुसार १७ भदौदेखि पुनः सञ्चालनमा रहेको ‘मोबाइल फुड ल्याब भ्यान’ ले पहिलो पटक सांस्कृतिक मेला, महोत्सव निरीक्षण अनुमगन सुरुवात गरेको हो ।

    शुक्रबार र शनिबार मोबाइल फुड ल्याब भ्यानसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय पर्साको संयुक्त टोलीले अनुगमन गरेको थियो । शनिबार रातिसमेत बिक्री स्थल अनुगमन गरेको थियो । अनुमगनका बेला दूध, खुवा, प्रशोधित पिउने पानी, कटन क्यान्डी, लड्डु, जेरी, चप, पानीपुरी तथा तेल लगायत १ सय ३८ नमुना स्थलगत प्रयोगशाला परीक्षण भएको थियो ।

    परीक्षणमा कैफियत पाइएका तेल, रंगिन मिठाई र कटन क्यान्डी नष्ट गरी कारबाही गरेको विभागले जनाएको छ । मेला सञ्चालन अवधिभरि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साबाट नियमित अनुगमन हुने व्यवस्था समेत मिलाएको छ ।

  • राजस्व चुहावट रोक्न तीन विभाग बीच सहमति

    राजस्व चुहावट रोक्न तीन विभाग बीच सहमति

    काठमाडौं । राजस्व छली रोक्न सरकारका तीन विभागले सहकार्य गर्ने भएका छन् । आइतबार आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच भएको अन्तरविभागीय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजस्व चुहावट जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गर्ने, सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा तिनको कार्यान्वयनका लागि एकापसमा सूचना आदान–प्रदान गर्ने निर्णय गरेको छ ।

    राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणाली, भन्सार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचना एकापसमा अन्तरआबद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपासपछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गर्ने सहमति पनि तीन विभागबीच भएको छ ।

    राजस्व चुहावट तथा कर छलीको सूचना दिन सरोकारवाला तथा सर्वसाधारणसँग आह्वान गर्ने निर्णय समेत बैठकले गरेको छ । तीनवटै विभागबाट सूचनाका आधारमा प्रदर्शनीय प्रभाव पर्ने गरी संयुक्त गस्ती परिचालन गर्ने र कर छली गर्ने करदातालाई कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ । शंकास्पद कारोबार र अनधिकृत गोदामको विशेष निगरानी गरिने भएको छ । कर छली गर्ने मनसायले व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गर्ने प्रवृत्ति रोक्न अन्तरनिकाय सूचना आदान–प्रदान गर्ने र शंकास्पद कारोबार निगरानी तथा अनुगमन गरी कारबाही दायरामा ल्याउने निर्णय समेत गरिएको छ ।

    राजस्व चुहावटका नयाँ प्रवृत्ति पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालका माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्ने निर्णय गरिएको छ ।

    सामान्य तथा आर्थिक रूपमा कमजोर मानिसलाई प्रलोभनमा पारी निजको नाममा व्यवसाय दर्ता गरी कारोबार गर्ने र कर छली गरी आफू कानुनको नजरमा उम्किने प्रवृत्तिलाई विशेष अनुसन्धान र छानबिन गरी कारबाही दायरामा ल्याउने निर्णय पनि भएको छ । त्यस्तै फर्म तथा कम्पनीको फेक (नक्कली) दर्ता रोक्न निजको बायोमेट्रिक अवस्था, वित्तीय व्यवस्था, व्यावसायिक योजना आदिलाई विशेष निगरानी गर्ने निर्णय समेत तीन विभागले गरेका छन् ।

    बजारमा उत्पादन, पैठारी तथा खरिद गरेको आधिकारिक वा प्रमाणिक स्रोतविना बिलबिजक मात्र खरिद–बिक्री गर्ने प्रवृत्ति देखिएको हुँदा यस्तो प्रवृत्ति निरुत्साहित गर्न तीनवटै विभागले समन्वय गरी कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय समेत गरिएको छ ।

    त्यसैगरी खुला सिमानाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न तथा कर छलीका कार्य निरुत्साहित गर्न स्थानीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ननफाइलर तथा बक्यौता कायम रहेका करदाताको आयात–निर्यात रोक्का राख्न आन्तरिक राजस्व विभागले भन्सार विभागमा लेखी पठाउने निर्णय भएको छ ।

  • नुवाकोटमा दुई छोरासहित आमा मृत फेला

    नुवाकोटमा दुई छोरासहित आमा मृत फेला

    काठमाडौं । नुवाकोटमा दुई छोरा र आमा मृत भेटिएका छन्। आइतबार बिहान किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृत भेटिएका हुन्।
    आफ्नै घरमा भित्रबाट आग्लोमा तीन जना झुण्डिएको अवस्थामा फेला परेका हुन्। २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

    घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको थियो। चन्दीमायाका श्रीमान रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन्। प्रहरीले शव जिल्ला अस्पताल त्रिशुलीमा पठाएको छ।

  • शरण लिन मस्को पुगे सिरियाली राष्ट्रपति

    शरण लिन मस्को पुगे सिरियाली राष्ट्रपति

    काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूका अनुसार बसर अल असद परिवारसहित मस्को गएका हुन् । सिरियाका राष्ट्रपति असदलाई रुसले शरण दिएको छ। विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।

    असद चढेको विमान दुर्घटनामा परेको हल्ला पनि चलेको थियोे । सिरियाली सत्ता ढलेसँगै राजधानीसहितका शहरमा खुसीयाली मनाइएका खबर सार्वजनिक भएका छन् ।

  • हिमाली भेगमा हिमपात सुरु

    हिमाली भेगमा हिमपात सुरु

    काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै गए रातिदेखि हिमपात सुरु भएको हो । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

    राष्ट्रिय समाचार समिति (रासस) ले आज बिहानसम्म हुम्ला सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको जनाएको छ । उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा पनि एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहरालाई उद्धृत गर्दै राससले जनाएको छ । हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरीसकेको छ ।

    यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हिमपातले बालीनाली र फलफूल सप्रिने किसानहरू बताउँछन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बीनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरे भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो लागेको छ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना छ।

  • रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो

    रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो

    काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई ४ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

    लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन,१३ दिन र १५ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप ४ दिन म्याद थप गरिएको हो ।

  • प्रधानमन्त्रीको रविलक्षित टिप्पणी : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन

    प्रधानमन्त्रीको रविलक्षित टिप्पणी : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने बताएका छन् । झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने जिकिर गरे ।

    ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ इंगित गर्दै देश चलाउन सहकारी ठगेजस्तो सहज नहुने पनि बताए ।

    ‘सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन । अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भनेका छन् । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति लामिछाने अहिले प्रहरी हिरासतमा छन् । रास्वपा कार्यकर्ताले प्रधानमन्त्रीलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाएका थिए ।

  • एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन

    एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन

    काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।
    उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेस्ट बेसक्याम्पमा बिताएका थिए ।

    एभरेस्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।

    कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी एनपीएलमा भित्राएको थियो । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाएँ’ उनले भने ।

  • अमेरिकी सहायक मन्त्री र प्रचण्डबीच भेट, शान्ति प्रक्रियाबारे कुराकानी

    अमेरिकी सहायक मन्त्री र प्रचण्डबीच भेट, शान्ति प्रक्रियाबारे कुराकानी

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आजै काठमाडौं आएका लु अध्यक्ष प्रचण्ड निवास खुलमटार पुगेर भेट गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । त्यस्तै, नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास प्रचण्डले व्यक्त गरेका छन् ।

    नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताए । नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्त्वपूर्ण हुने बताए ।

    ‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौं’, उनले भने, ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्त्वपूर्ण हुन्छ ।’ नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद समेत दिए ।

    ‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र विपक्षीको रुपमा नलिएर राष्ट्रिय सहमतिका साथै टुंग्याउँदै छौं, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुशीको कुरा हो’,’ प्रचण्डले भने, ‘टिआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुशी बनाएको छ ।’

    अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने असरप्रति आफूहरु संवेदनशील रहेको बताए । नेपाली युवा विपिन जोशी अहिलेसम्म पनि बेपत्ता रहेको घटना नेपालका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले हालै उनी जीवितै रहेको इजरायली पक्षबाट जानकारी आउनु सुखद भएको र जतिसक्दो चाँडो जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्ने बताए ।

    अमेरिकी सहायक मन्त्री लुले नेपालको प्रगति आफूहरुका लागि खुशीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताए । नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुंगिन थालेकोमा खुशी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताए । उनले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिका सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताए ।

  • अमेरिकी सहायक विदेशमन्त्री र देउवाबीच भेट, के भयो कुराकानी ?

    अमेरिकी सहायक विदेशमन्त्री र देउवाबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आइतबार भएको भेटमा द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    नेपाल भ्रमणका क्रममा आजै नेपाल आएका विदेशमन्त्री लुले शीर्ष नेतृत्वसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देश बीचको सहकार्यलाई अघि बढाउने विषयमा योगदान पुग्ने विश्वास गरिएको छ ।

  • सिरियामा विद्रोहीको कब्जा, राष्ट्रपति भागे

    सिरियामा विद्रोहीको कब्जा, राष्ट्रपति भागे

    काठमाडौं । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल असदबाट सिरिया मुक्त भएको घोषणा गरेका छन्। विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका छन्।

    असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट छैन। सिरियाको विद्रोही फौजले पनि राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ। असदको २५ वर्ष लामो शासनको अन्त्यलाई कैयौँ पश्चिमा राष्ट्रहरूले स्वागत गरेका छन्।


    सोसल मिडियामा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ। विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई पूर्ण रूपबाट स्वतन्त्र पारेको बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका हुन्।

    विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो। सिरियाका विपक्षी नेता हदि अल(बहराले अरबीक समाचार संस्था अल(अरबीयालाई असदको शासन ढलेको र सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको बताएका छन्।

    सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्। हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ, उनले एक्समा लेखेका छन्। त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन। मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ।

  • दक्षिण कोरियाली राष्ट्रपतिलाई तत्काल महाअभियोग नलाग्ने

    दक्षिण कोरियाली राष्ट्रपतिलाई तत्काल महाअभियोग नलाग्ने

    काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो ।

    उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो । महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा भएको मतदानमा राष्ट्रपति युनको पिपुल्स पावर पार्टी (पिपिपी)का तीन जना संसद् सदस्यबाहेक अन्यले मतदान बहिष्कार गरेपछि प्रस्ताव विफल भएको हो ।


    प्रस्ताव पारित हुनका विपक्षी दलका १९२ सदस्यबाहेक अन्य (सत्तारूढ दलका) आठ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने थियो तर प्रस्तावको पक्षमा तीन सांसदले मात्रै मतदान गरेका बताइएको छ । ‘सैन्य कानुन’ लगाएकोमा माफी मागेका राष्ट्रपति योललाई पदबाट हटाउन माग गर्दै दशौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए ।

    सैन्य शासन घोषणा गरेपछि दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नै दलका नेता समेतलाई पक्रन आदेश दिएको बताइएको छ । तर महाभियोग प्रस्ताव पारित हुन आवश्यक संख्या नपुगेपनि उनीहरूले यूनलाई हटाउने प्रयास जारी रहने बताएका छन् । उनीहरूले राष्ट्रपति यूनको बहिर्गमनको माग गरेका छन् । त्यसअघि यूनले ‘सैन्यकानुन’ लागु गरेकोमा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरेका थिए ।

    मंगलबार राति राष्ट्रपतिले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो। त्यसपछि विपक्षी दल (डेमोक्रेयाटिक पार्टी) ले संसद्‌मा उनीविरूद्ध महाभियोगको प्रस्ताव पेश गरेका थिए । मतदान हुनुभन्दा पहिले राष्ट्रपति यूनले टेलिभिजन मार्फत् छोटो सम्बोधन गर्दै माफी मागेका थिए । ‘म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनताहरूसँग माफी माग्न चाहन्छु,’ उनले भनेका छन् ।

    मतदानमा विफल रहेपछि प्रतिक्रिया दिदैँ डेमोक्रयाटिक पार्टीले राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास जारी राख्ने बताएको छ । तर राष्ट्रपति यूनको पीपल्स पावर पार्टील यो संकट समाधानका लागि महाभियोग भन्दा पनि ’सुव्यवस्थित र जिम्मेवार’ उपाय खोज्ने प्रतिक्रिया दिएको छ ।

  • कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ

    कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ

    काठमाडौं । कैलालीबाट एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका ५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका ११ का ३२ वर्षीय महेश सुनार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको हो ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।

  • सिरियामा राजधानी कब्जा गर्न अगाडी बढे विद्रोही

    सिरियामा राजधानी कब्जा गर्न अगाडी बढे विद्रोही

    काठमाडौं । सिरियामा विद्रोहीहरुले केही वर्षयताकै भयानक आक्रमण सुरु गरेका छन् । यस आक्रमणबाट राष्ट्रपति बसर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ । सिरियाका विद्रोही समूह राजधानी दमिस्क कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फबाट अगाडि बढेका छन् । भिडियो फुटेजहरुमा केही प्रदर्शनकारीहरुले राष्ट्रपति असदका दिवंगत पिता हाफेज अल असदको प्रतिमा फुटाएको पनि देखिन्छ । विद्रोहीको आक्रमण तीव्र भएपछि राष्ट्रपति असदले राजधानी छाडेको हल्लासमेत चलेको थियो । तर असदको कार्यालयले त्यसलाई खण्डन गरेको छ ।

    बीबीसीको सहयोगी सीबीएसका अनुसार राजधानी दमस्कि अब विद्रोहीको अधिनमा रहेको एक उपनगर जस्तो बन्ने देखिएको छ । सिरियाका आन्तरिक मामिला मन्त्रीले भने राजधानी दमिस्कको चारैतर्फ बलियो सैन्य घेरा रहेको दाबी गर्दै त्यसलाई कसैले पनि पार गर्न नसक्ने जनाएका छन् । यसैबीच इजरायलले सिरियाले विद्रोहीहरुको आक्रमण विफल बनाउन सैन्य सहयोग गरेको जनाएको छ ।

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सिरियामा विद्रोहीहरुबाट भइरहेको पछिल्लो आक्रमणमा आफूहरुको कुनै सरोकार नभएको बताएका छन् । उनले भनेका छन्, ‘सिरिया हाम्रो साथी होइन, यो एक झन्झट हो । अमेरिकाका लागि यसमा कुनै सरोकार हुनुहुँदैन ।’ यसमा उनको थप टिप्पणी छ, ‘यो हाम्रो लडाइँ होइन । यसलाई आफैं सुल्झिन दिनुपर्छ । यसमा संलग्न नहोऔं ।’ उनले सामाजिक सन्जाल एक्समा सिरियाका विपक्षी लडाकुहरुले एक अभूतपूर्व कदम चाल्दै धेरै शहरहरु पूर्णरुपमा कब्जा गरिसकेको लेखेका छन् ।

    युक्रेनसँगको लडाइँमा रुस नराम्रोसँग फसेको र आफ्ना ६ लाख भन्दा धेरै सैनिक गुमाएको जनाउँदै ट्रम्पले अब सिरियाले पनि आक्रमण पूर्णरुपमा रोक्न असमर्थ जस्तो देखिएको उल्लेख गरेका छन् । सिरियालाई रुसले वर्षौंदेखि समर्थन गर्दै आएको छ । सिरियामा सन् २०११ मा राष्ट्रपति असदविरुद्ध सुरु भएको शान्तिपूर्ण र लोकतन्त्र समर्थित एक विद्रोह अहिले गृहयुद्धमा परिणत भएको छ । हालसम्मको लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । तीमध्ये करिब ५० लाख जना शरणार्थी बनेका छन् ।

  • मन्त्री दाहाल मनिला प्रस्थान

    मन्त्री दाहाल मनिला प्रस्थान

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ‘वातावरणीय दिगो यातायात सम्वन्धि १६ औं उच्च स्तरीय एशियाली क्षेत्रीय सम्मेलन’मा सहभागीताका लागि फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । उनि शनिबार (आज) राती ९ बजे त्यस तर्फ लागेका हुन् ।


    दिगो विकासको लक्ष्यका लागि सहरी गतिशिलता, कार्वन उत्सर्जननमा न्युनिकरण एवम् पर्यावरणमैत्री सहरहरुको विकास र सशक्तिकरण लगायतका सम्वन्धमा उक्त सम्मेलनमा छलफल हुने जनाईएको छ । सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधीहरुले आआफ्नो देशमा भई रहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरुका बारेमा धारणा राख्ने र विभिन्न शत्रहरुमा सम्वन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुती एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

    सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदुषण सम्वन्धि लक्ष्यमा केन्द्रित रहने शत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्यतालिका रहेको छ । मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उहाँका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी छन् ।


    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन समेत सहभागी छन् ।

    कार्यक्रम संयुक्त राष्ट्रसंघ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसंघ क्षेत्रीय विकास केन्द्र, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक लगायतका निकायहरुको आयोजनामा हुन लागेको हो ।


    मंशिर २३ देखि चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहाल सहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कने छ । मन्त्री दाहाललाई मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतले विमानस्थलको विशिष्ट कक्षबाट बिदाई गरे ।

  • विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

    विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

    काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले विराटनगर किङ्ग्सलाई सात रनले हरायो । जितका लागि एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटिएको थियो । विराटनगरका लागि निकोलश कीर्तनले सर्वाधिक ४० रन बनाए । ओपनर लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन् सकेनन् ।

    बलिङमा कर्णालीका नन्दन यादवले कसिलो बलिङ गर्दै तीन विकेट लिए । उनले चार ओभरमा १९ रन खर्चिए । विपिन शर्माले दुई तथा युनिस ठकुरी, विलियम वसिस्टो र कप्तान सोमपाल कामीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो ।

    कर्णालीका लागि विलियम वसिस्टो र देव खनालले अर्धशतकीय इनिङ्स खेले । विलियमले सर्वाधिक ६६ रन बनाए । उनले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । देवले ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा विराटनगरका प्रतिश जिसी चार विकेट लिए ।


    उनले १७ रन खर्चिए । वसिर अहमद र क्रिस सोलले दुई दुई तथा अकिव इल्यासले एक विकेट लिए । कर्णालीको यो चार खेलमा दोस्रो जित हो । यता चार खेल खेलेको विराटनगरले तेस्रो हार खेपेको छ ।

  • राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

    राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले जानकारी दिए ।

    प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले राष्ट्रपतिको शल्यक्रिया गरेको थियो । उनलाई भेट्न शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका थिए । राष्ट्रपति पौडेल १६ वर्षदेखि प्रोस्टेटको समस्याबाट पीडित छन् ।

  • पत्रकार महासंघ निर्वाचनमा कांग्रेसमा विद्रोह, असन्तुष्ट समूह माओवादीसँग गठबन्धनमा

    पत्रकार महासंघ निर्वाचनमा कांग्रेसमा विद्रोह, असन्तुष्ट समूह माओवादीसँग गठबन्धनमा

    काठमाडौं । नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेस निकट प्रेस युनियनका उम्मेदवारको विद्रोही पक्षधरसँग नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सहितले चुनावी गठबन्धन गरेको छ । महासंघको चुनावमा कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले चुनावी गठबन्धन गरेका हुन् ।

    कांग्रेस र एमालेको गठबन्धनबाट महासंघको अध्यक्षमा निर्मला शर्माको उम्मेदवारी परेको छ । यसमा असन्तुष्टि जनाउँदै प्रेस युनियनका रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । विष्टलाई माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सहयोग गर्ने गरी चुनावी गठबन्धन बनेको हो । प्रेस सेन्टरबाट अध्यक्षमा कमल गिरीले उम्मेदवारी दिएका थिए ।

    गिरीको उम्मेदवारी फिर्ता गर्न लगाएर माओवादी सहितका विपक्षी दलहरूले कांग्रेसको बिद्रोहीसँग चुनावी गठबन्धन गरेको हो । यो गठबन्धनले पत्रकार सम्मेलन गर्दै गरेर आफूहरूको प्रतिवद्धता समेत सार्वजनिक गरेको छ । जसमा नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरण गर्ने उल्लेख छ । ‘नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउने छौं’ प्रतिबद्धतापत्रमा उल्लेख छ ।
    यो गठबन्धनबाट अध्यक्षमा रमेश विष्ट, वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, उपाध्यक्ष महिलामा गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभाष प्रसाद साह र महासचिवमा लेखनाथ न्यौपाने रहेका छन् । खुला सचिवमा उत्तरसिंह विष्ट, मधेसी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाती सचिवमा भिषण राई, एशोसियट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी रहेका छन् ।

    खुला केन्द्रीय सदस्यमा केशव बहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्द लोप्चन र रामकुमार श्रेष्ठ उम्मेदवार छन् । महिला सदस्यमा आदीवासी, जनजातीतर्फ सरु राना, मधेसीतर्फ मिनाकुमारी यादव, खस आर्यतर्फ दिया चन्द रहेका छन् । दलित केन्द्रीय सदस्यतर्फ लक्ष्मण दर्नाल उम्मेदवार छन् । आदीवासी जनजातीतर्फ अर्जुन बहादुर तामाङ उम्मेदवार छन् ।

    मधेसीतर्फबाट चन्द्रदेव कामती, महिलातर्फ ललिताकुमारी साह, अपांगतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अलि रहेका छन् । लेखा समिति संयोजकमा ध्रुव रावल र लेखा समिति सदस्यमा गणेश प्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेदवार छन् । प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट उम्मेदवार छन् ।

  • हवाई दुर्घटना जाँचमा स्थायी संयन्त्र बनाइदै

    हवाई दुर्घटना जाँचमा स्थायी संयन्त्र बनाइदै

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिए ।

    पछिल्लो समय तथ्य र तथ्याङ्कभन्दा लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणका लागि कानुनी प्रक्रिया अघि बढेको बताए ।


    मन्त्री पाण्डेले यो आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे । नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबिच सहकार्य गर्न सके हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ । यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा ‘दिगो भविष्य स् आगामी ८० वर्षको लागि सँगै’ भन्ने नारा तय गरिएको छ ।

  • एनपीएल : लुम्बिनीको लगातार तेस्रो हार

    एनपीएल : लुम्बिनीको लगातार तेस्रो हार

    काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित निकाल्दै लुम्बिनी लायन्सले भने लगातार तेस्रो खेल गुमाएको छ । शनिबार सम्पन्न खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

    सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।

    बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए । स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । त्यसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सैफ जैबको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

    ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८ ओ ओभरको चौथो बलमा आउट भए । उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकीय साझेदारी गरे । जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे ।

    म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए । कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले ११ विकेट लिए ।

  • कोरियाली जनतासँग राष्ट्रपतिले मागे माफी

    कोरियाली जनतासँग राष्ट्रपतिले मागे माफी

    काठमाडौं । सैनिक शासन (मार्शल कानुन) लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले जनतासँग माफी मागेका छन् । गत डिसेम्बर ३ तारिख १२ बजेदेखि लागू हुने मार्शल कानुन घोषणा गरेका उनले असफल भएपछि कोरियाली जनतासँग माफी मागेका हुन् । उनले मार्शल कानुन लागू गरेको २ घण्टामै संसद त्यसलाई खारेज गर्ने प्रस्ताव दर्ता भएको थियो ।

    उनले त्यसलाई स्वीकार गर्दै मार्शल कानुन खारेज गर्दै सेनालाई फिर्ता गरेका थिए । ‘यो प्रक्रियामा मैले नागरिकहरूलाई धेरै असुविधा दिएँ र डराउनुभयो होला,’ असफल प्रयासपछि उनले भनेका छन्, ‘यसको बारेमा दुस्ख व्यक्त गर्दै भित्री ह्रदयदेखि माफी माग्छु ।’

    माफी माग्दै उनले यसपछिका दिनमा आफूले यो कानुन लागू नगर्ने वाचा पनि गरेका छन् । उनले भनेका छन्, ‘म यहाँहरूलाई आश्वस्थ पार्न चाहन्छु, यो कानुन दोस्रो पटक लगाउने छैन ।’ राष्ट्रपति योलले आफ्नो कार्यकालमा भएका घटनाको जिम्मेवारी आफू र पार्टीले लिएर अघि बढ्नेसमेत बताएका छन् ।

  • भुटानी राजाको काठमाडौंमा धार्मिक यात्रा

    भुटानी राजाको काठमाडौंमा धार्मिक यात्रा

    काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । वाङचुकलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी सिधै स्वयम्भू पुगेका थिए । स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ पुगेका थिए ।

    उनलाई स्थानीय जनताले स्वागत गरेका थिए । त्यहाँ पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किए । त्यहाँबाट उनी स्वदेश फर्किएका छन् । उनी विमानस्थलबाट करिब २ः४० बजे फिर्ता भएका हुन् । भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको थियो । उनी भारत हुँदै नेपाल आएका हुन् । नेपालमा रहँदा उनले राजनीतिक भेटघाट भने गरेनन् ।

  • अमेरिकी ब्याटर एन्ड्रिस बने एनपीएलमा शतक हान्ने पहिलो खेलाडी

    अमेरिकी ब्याटर एन्ड्रिस बने एनपीएलमा शतक हान्ने पहिलो खेलाडी

    काठमाडौं । अमेरिकी ब्याट्सम्यान एन्ड्रिस गौस र दीनेश खरेलले विस्फोटक ब्याटिङ गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो । जितका लागि एक सय ७१ रनको चुनौती पूर्ण लक्ष्य पोखराले १६.५ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पोखराका लागि एन्ड्रिसले ऐतिहासिक शतक पूरा गरे ।


    उनले ५५ बलमा १२ चौका र पाँच छक्काको सहयोगमा अविजित एक सय चार रन बनाए । यो जारी एनपीएलमा कुनै पनि खेलाडीले एउटै इनिङ्समा बनाएको सर्वाधिक रन हो । एन्ड्रिस प्लेयर अफ दि म्याच बने । ओपन दीनेशले अविजित ६१ रन बनाए । उनले ४६ बलमा चार चौका र चार नै छक्का हाने । एन्ड्रिस र दीनेशको यो सर्वाधिक एक सय ७६ को पाटनरसिप हो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । लुम्बिनीले चुनौतीपूर्ण लक्ष्य खडा गरेपछि बलिङ चल्न नसक्दा हार खेप्न बाध्य बन्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ९५ रन बनाएका थिए । उनले ५९ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन बनाए । टोम मूर्सले ४५ रन बनाए । उनले ३८ बलमा दुई चौका र दुई छक्का हाने । सन्दीप जोराले १८ रन जोडे ।

    बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए । म्याट क्रिच्ट्लीले एक विकेट लिए । दोस्रो खेल खेलेको लुम्बिनीको यो दोस्रो नै हार हो । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । तीन खेलमा पहिलो जित निकालेको पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो ।

  • पत्रकार महासंघमा एमाले र कांग्रेस निकट संगठनबीच गठबन्धन, माओवादीको छुट्टै प्यानल

    पत्रकार महासंघमा एमाले र कांग्रेस निकट संगठनबीच गठबन्धन, माओवादीको छुट्टै प्यानल

    काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनमा अलगअलग प्यानल बनेको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बनेकी छन् । उनी चौतारीको कोटाबाट अध्यक्षको उम्मेदवारी बनेकी छन् ।

    चौतारीका तर्फबाट अध्यक्ष सहित ५ पदाधिकारीमा उम्मेदवारी दिइएको छ । महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

    प्रेस युनियनका तर्फबाट महासंघको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । सचिवहरु तर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), बैकुण्ठ पराजुली (एशोसियट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी गरेको छ ।
    सत्तारुढ दल निकट युनिनयन र चौतारीको प्यानलविरुद्ध विपक्षी पत्रकार संगठनहरुको पनि प्यानल बनेको छ । यो प्यालनबाट महासंघको अध्यक्षमा प्रेस सेन्टर नेपालका कमल गिरीको उम्मेदवारी परेको छ । गिरीलाई समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको छ ।

    यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल र समावेशी उपाध्यक्षमा सुवास साहको उम्मेदवारी परेको छ । महासचिवमा लेखनाथ न्यौपाने उम्मेदवार छन् । यो प्यानलको सचिवहरुमा उत्तर बिष्ट (खुला), सिर्जन झा (मधेशी), सरिता बराईली (दलित), भीषण राई (आदिवासी जनजाति) र विकास कार्की (एशोसियट) उम्मेदवार छन् । कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुब रावलको उम्मेदवारी परेको छ ।

  • दशौं राष्ट्रिय खेलकुदको मिति तय

    दशौं राष्ट्रिय खेलकुदको मिति तय

    काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य(सचिव टंकलाल घिसिङले जानकारी दिए ।

    यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ कात्तिक २ गते बसेको राखेपको ११५ औं बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

  • परराष्ट्र मन्त्री राणा यूरोप जाँदै

    परराष्ट्र मन्त्री राणा यूरोप जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार युरोप प्रस्थान गर्ने भएकी छन् । अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालका प्रतिनिधित्व गर्न उनी युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गर्नेछन् ।

    डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्नेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार यो सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म हेग, नेदरल्याण्ड्समा भइरहेको छ। आईसीजेको कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जानेछिन् ।

    डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा आयोजित उक्त कार्यक्रममा सहभागी जर्मनीका विदेशमन्त्रीको निमन्त्रणामा उनी जर्मन जान लागेकी हुन् । भ्रमणको क्रममा उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी, युरोपियन युनियन लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

    उनको टोलीमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू रहनेछन् । मन्त्री राणा डिसेम्बर २० (पुस ५ गते) स्वदेश फर्कनेछिन् ।

  • नेपाली फुटबल टिमकी कप्तान एन्जिलाले ग्रिसमा व्यवसायिक फुटबल खेल्ने

    नेपाली फुटबल टिमकी कप्तान एन्जिलाले ग्रिसमा व्यवसायिक फुटबल खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् । उनले स्वीडिस एजेन्टमार्फत् नीस अत्रोमितोउसँग गएको ‘सेप्टेम्बर’ मै सम्झौता गरेकी थिइन् ।

    तर भिसा प्रक्रिया र साफ महिला च्याम्पियनशिप २०२४ खेल्न राष्ट्रिय टिमसँग रहेकाले उनले ग्रिक सुपर लिगका सुरुआती खेल गुमाएकी छिन् । उनले क्लबसँग २०२५ ‘मे’ सम्मका लागि हस्ताक्षर गरेकी छन् ।