काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएकाहरुले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने\गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर शान्तिटोल गेट नजिकै बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र नुवाकोटकै तादी गाउँपालिका–१ का ५८ वर्षीया सुन्तरी ओझा छन् । उनीहरू शनिबार बिहान बसको ढोकाबाट खसेका थिए ।
ढोकाबाट खसेपछि गम्भीर घाइते भएका उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बसका सह–चालक पनि बसबाट खसेर घाइते भएका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चालक भने फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको उत्कृष्ट प्रदर्शन र लाहिरु मिलान्थाको सानदार अर्धशतकको जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउन सफल भएको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउँदै पूरा गर्यो ।
मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा २ चौका प्रहार गर्दै अविजित २९ रन बनाए । स्कोर टाई भएको अवस्थामा उनले विजयी चौका प्रहार गरेका थिए ।
विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाए । कप्तान अनिल शाह व्यक्तिगत ५ रनमा आउट भए । मिलान्था र हर्ष थाकरले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।
विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि भएको झडपका क्रममा दुई जना प्रहरी जवान घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा केहीबेर झडपको अवस्था सिर्जना भएको थियो । सो क्रममा संघीय संसद् सुरक्षा बेस, नयाँ बानेश्वरमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय तामाङ र २८ वर्षीय दानबहादुर राउत घाइते भएका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार कीर्तिपुरमा शनिबार ३८४ जना प्रहरीको टोली खटिएको थियो । प्रहरी जवान तामाङको कीर्तिपुर अस्पतालमा सामान्य उपचार पछि अहिले वीर अस्पताल रिफर गरिएको थियो । त्यहाँबाट उनलाई बाँसबारीस्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । तामाङको अवस्था गम्भीर रहेको जानकारी गराउँदै प्रहरीले उनी बोल्न नसक्ने अवस्थामा रहेको बताएको छ ।
उनको टाउकोमा चोट लागेको छ । त्यस्तै, अर्का जवान राउतको पनि कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको छ । उनको अनुहार, टाउको र घाँटीमा चोट लागेको छ । राउत भने बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ । केही सर्वसाधारण समेत घाइते छन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको उनको सचिवालयले बताएको छ ।
उनी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । उनले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको सचिवालयले बताएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको बताएको छ ।
१५ मंसिर, काठमाडौं । नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नु पर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तरक्रियामा बोल्दै आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाले सार्वभौम साख मूल्यांकनबाट नेपालले डबल बी माइनस नतिजा पाएको र यो उत्साहजनक रहेको भन्दै यसबाट लाभ लिनुपर्ने बताए ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको सार्वभौम साख मूल्यांकनबाट पाएको नतिजा नेपालका लागि गौरवको विषय रहेको बताए । नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा रहेको भन्दै उनले यो सम्भावनालाई नतिजामा बदल्नु आवश्यक रहेको बताए ।
सरकारलाई गर्ने आलोचनाको अन्तर्यमा निकास भेटिने भन्दै उनले निरपेक्ष रुपमा मात्र आलोचना नगर्न सुझाव दिए । उनले भने, “यो सरकार बनेदेखि आजसम्म आइपुग्दा अर्थतन्त्रमा समस्या थपिएका छन् भने त्यसको जिम्मा म लिन्छु, राम्रो भएको भए जस यो सरकारलाई चाहिँदैन ।” उनले बिरासतमा अत्यन्तै गम्भीर समस्याको चाङ प्राप्त गरेको भन्दै समस्याको बीचमा रहेर काम गर्ने प्रयास गरेको बताए ।
यसबीचमा सकारात्मक सुधार र संकेत देखा परेको उनको दाबी छ । निजी क्षेत्रको मनोवल उकास्न व्यवसायिक वातावरण बन्नु पर्ने र राजनीतिक अस्थिरता त्यसको बाधक रहेको उनले बताए । “राजनीतिक अस्थिरताले मुलुकलाई कहालीलाग्दो अवस्थामा पुर्याउँछ, त्यस अवस्थामा अर्थतन्त्रमा उल्लेखनीय समस्या समाधान गर्न सक्दैनौं । यो संसदले पनि स्थिर सरकार दिन सकेन । संसद जनताको इच्छाअनुसार बन्यो, तर सरकार स्थिर बनेन, स्थिर सरकार बनाउने आवश्यकता महसुस गरेर यो सरकार बनेको हो । मेरो बुझाईमा यो संसदले बनाउने सबैभन्दा गतिलो सरकार यही हो ।”]
योजना आयोगका उपाध्यक्ष प्राडा। शिवराज अधिकारीले मुलुकको सार्वभौम साख मूल्यांकनले सकारात्मक बहस सिर्जना गरेको बताए । उनले अबको बहस सुधारमा केन्द्रित हुनुपर्ने बताए । लगानीका क्षेत्र पहिचान गरी त्यसतर्फ बहस बढाउनु पर्ने उनको भनाई छ । अर्थतन्त्र चलायमान हुन नसक्नुका पछाडी फरक खालको बहस हुन नसक्नु पनि एक कारण देखिन्छ, उनले भने, हामी विगत ५÷६ वर्षदेखि एकै खालको बहस गरिराखेका छौं, तर आजको अवस्था फरक छ ।” उनले अहिले ब्याजदर घटेको, तरलता पर्याप्त रहेको, सरकारले निजी क्षेत्रलाई प्रवद्र्धन गर्न खोजेकोलगायत कारण विगतको भन्दा फरक अवस्था रहेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र आर्थिक अवस्थाको हिसावले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिएको भए पनि चूनौति भने कायमै रहेको बताए । सार्वभौम साख मूल्यांकनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी रहेको उनको भनाई छ । मुलुकको आर्थिक र वित्तीय अवस्था विगतको भन्दा फरक नभएको कारण मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा समेत कुनै प्रावधान संशोधन नभएको उनले बताए ।
त्यस्तै अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति मात्र जिम्मेवार नभई अन्य क्षेत्रको पनि भूमिका महत्वपूर्ण रहने उनले बताए । “अहिलेको स्थिति चिर्नका लागि राज्यका सबै निकायको उत्तिकै भूमिका हुन्छ, मौद्रिक नीति माथिको निर्भरता घट्नु पर्छ, यदि मौद्रिक नीतिले सही काम गरेको छ भने यसलाई चलाउनु हुँदैन,”
अर्थविद् डा। अच्युत वाग्लेले राजस्वका नयाँ स्रोत फेला नपरेका सन्दर्भ निकाल्दै यसले राज्यलाई कमजोर बनाइरहेको बताए । राजस्व उठ्ने ट्रेण्ड जीडीपीको २४÷२५ प्रतिशतबाट घटेर १२÷१३ प्रतिशतमा झरेको भन्दै हामी राजस्व नउठ्ने अवस्थामा किन पुग्यौं भन्दै प्रश्न गरे । राजस्व नउठ्दा सार्वजनिक ऋण थप्नु परेको भन्दै यसले थप संकट ल्याउनतर्फ समेत सचेत गराए । अबको केही वर्षमै जीडीपीको ६० देखि ६५ प्रतिशतसम्म सार्वजनिक ऋण पुग्ने भन्दै यो थेग्न सक्ने अवस्था हो वा होइन भनेर विश्लेषण गर्नुपर्ने बताए ।
यी सबै समस्या आउनुको पछाडी आर्थिक व्यवस्थापकीय प्रवन्धनको अभाव रहेको उनले बताए । उनले सरकारले हात खुट्टा उठाउनु पर्ने अवस्था आउनु दुखद भएको भन्दै बलियो रुपमा प्रस्तुत हुन सुझाव दिए । अब केही गर्न सकिँदैन भन्ने मानसिकता त्याग्न उनले आग्रह गरे । अर्थविद् वाग्लेले निर्देशनको भूमरीमा मात्र मुलुक फसेको भन्दै निर्देशन मात्र दिनु भन्दा राज्य सञ्चालकले रणनीति ल्याएर एक्सनमा जानु पर्ने बताए ।
उनले गैरआर्थिक व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना गरे । कुनै पनि मन्त्रालयमा ६ देखि ७ महिना सचिव नटिक्ने अवस्था किन आउँछ भन्दै प्रश्न गरे । राज्यले संघीय प्रणाली नै स्वीकार गर्न नसकेको भन्दै यसमा सुधार गर्न समेत आग्रह गरे । हामी संघीयतामा छौं भनेर किन स्वीकार नगरेको रु उनले प्रश्न गरे । उनले भने, संघीय प्रणाली अनुसारको आर्थिक प्रणालीलाई परिचालन गर्नुपर्छ भनेर सोच्दै सोचेनौं ।
निजी क्षेत्रको अपेक्षा
कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका नेतृत्वले अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि निजी क्षेत्रको मनोवल उठ्न नसकेको भन्दै यसमा काम गर्न सरकारलाई सुझाव दिए । नेपाल बैंकर्ष संघका अध्यक्ष सुनिल केसीले अफ्ठ्यारो परिस्थितिका बीच नेपालले पहिलो पटक राम्रो कन्ट्री रेटिङ पाएको बताए । उनले भने, “यो राम्रो समाचार हो ।
दक्षिण एसियामा भारत भन्दा पछाडी भए पनि अन्य मुलुक भन्दा राम्रो हुनु सुखद हो । यसमा नेपाल राष्ट्र बैंकको निकै ठूलो योगदान रहेको छ । यसले हामीलाई बाह्य क्षेत्रबाट हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ ।” यो अवसरलाई उपयोग गर्नुपर्ने र यस स्तरलाई निरन्तरता दिनु चूनौतिका रुपमा रहेको उनले बताए । पछिल्लो १० वर्षमा पहिलो पटक ब्याजदर ९ प्रतिशत भन्दा कम भएको सन्दर्भ निकाल्दै उनले आर्थिक गतिविधि बिस्तारमा जोड दिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले राम्रो बाह्य इण्डिकेटरमा रहेको भए पनि निजी क्षेत्र शिथिलतामा रहेको उल्लेख गरे । निर्माण, व्यापार क्षेत्र संकुचनमा रहेको, आयात निर्यात घटेको भन्दै उनले विगतको पुरानो समस्याको बोझ मूख्य कारण रहेको बताए । क्रेडिट रेटिङले निजी क्षेत्रको मनोवल उकास्न सहयोग पुग्ने उनको भनाई छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सुस्तता अहिलेको समस्याका रुपमा रहेको बताए । विगतमा लिएका नीतिले समस्या समाधान नभएको हो की भनेर समिक्षा गर्नुपर्ने बताए । सरकारले अर्थतन्त्र सुधार सुझाव आयोगमा निजी क्षेत्रको सहभागिता गराएकोमा उनले आभार व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले राजनीतिक दललाई आर्थिक रुपमा एक स्थानमा ल्याउन सफल भएको सन्दर्भ निकाले । उनले लगानी सम्मेलनका बेला कानून परिवर्तनमा प्राप्त सफलता त्यसकै उपज भएको समेत बताए ।
निजी क्षेत्रका इस्यू, अडानहरु निजी क्षेत्रको फाइदाका लागि मात्र राख्छ, सामाजिक रुपमा उत्तरदायी छैनन् भन्ने जुन मानसिकता थियो त्यसले राजस्व संकलनमा असर गरेको उनको भनाई छ । आयात निषेध गरेर समस्या समाधान हुँदैन भन्ने निजी क्षेत्रको भावना रहेको समेत उनले बताए ।
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्कँदै छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी राणा चीनको छेङ्दुबाट आज बिहान स्वदेश फर्किने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छेङ्दु पुगेका उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
सो भेटवार्ता छेङ्दुमा भएको थियो। सो अवसरमा उनीहरुबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो। प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछन्।
काठमाडौं । शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको टिकट खरिद गर्दा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले छुट पाउने भएका छन् । त्रिविमा अध्ययनरत विद्यार्थीहरूले एनपीएलको टिकट खरिद गर्दा ५० प्रतिशत छुट पाउने भएका हुन् ।
क्यानले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । ‘प्रतियोगिता अवधिभरका लागि त्रिवि मैदान कीर्तिपुरमा हुने खेलहरूका लागि क्यान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता अनुसार त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि टिकट खरिदमा ५० प्रतिशत छुट कायम गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
क्यानले लिग चरणका खेलहरूमा जनरल टिकटको रु ३०० तथा भीआईपी टिकटको रु ५०० तोकेको छ । त्यसैगरी प्लेअफमा जनरलको ५०० र भीआईपीको ७०० रुपैयाँ तथा फाइनलको दिनमा सामान्यको ५०० र भीआईपी टिकटको १००० रुपैयाँ तोकिएको छ । ८ टोली सम्मिलित एनपीएल शनिबारदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदै छ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।
काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आजबाट सुरु हुँदैछ । एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिम प्रतिस्पर्धामा छन् । खेल स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण हुँदैछ । टीयू मैदानमा विभिन्न खालका सुविधा थपिएका छन् । करोडौँ लगानी भएको छ । साथमा स्टार विदेशी खेलाडी आएका छन् । एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ ।
आयोजक नेपाल क्रिकेट संघले दुई वर्षअघि नेपाल टी२० लिग गरेपनि त्यसलाई निरन्तरता दिन सकेन र नयाँ शैलीमा एनपीएल आयोजना गर्न लागेको हो । क्यानले एनपीएलको पहिलो संस्करण भनेको छ । एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ । जसमा केही प्रस्तुती पनि हुने जनाइएको छ ।
विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन् । सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् तर अनिललाई कप्तान चयन गरेको हो । जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो । उद्घाटन खेलका लागि दुवै टोली तयार रहेको कप्तानले बताएका छन् ।
काठमाडौं । सत्तारुढ दल कांग्रेस र एमालेले शुक्रबार ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा सहमति जुटाएका छन् । सहमति अनुसार चीनलाई ६ वटा पूर्वाधार परियोजना निर्माणको लागि प्रस्ताव गरिने भएको छ । नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका दौरानमा पूर्वाधार विकास, खेलकुद विकास र सहरी विकास गरी ६ वटा परियोजनाको लागि प्रस्ताव गर्ने भएको छ ।
परियोजना नेपालले चीनलाई अनुदानमा निर्माणको लागि आग्रह गर्नेछ । नेपालले प्रस्ताव गर्न लागेको परियोजनाहरुमा एक जलविद्युत् आयोजना, एक ट्रान्समिसन लाइन, नेपाल–चीन औद्योगिक फ्रेन्ड्स पार्क, मैत्रीपूर्ण पार्क, झापामा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स, मदन भण्डारी विश्वविद्यालय र काठमाडौं साइस्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम रहेको बताइएको छ । प्रधानमन्त्री ओली आगामी साता चीन भ्रमणमा जाँदैछन् ।
काठमाडौं । रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ। गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहको छोरा १८ वर्षीय राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले जानकारी दिए ।
आज दिउँसो नुहाउन गएका दुई युवा बेपत्ता भएको खबरप्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको थियो। डुबेका दुवै जना व्यक्तिलाई अचेत अवस्थामा खोलाबाट उद्धार गरी एम्बुलेन्समा बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडामा उपचारको लागि पठाइएको भए पनि दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी उपरीक्षक हुमागाईले जानकारी दिए ।
काठमाडौं । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। काठमाडौँबाट गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो। रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन्। तीनमध्ये एक जना गम्भीर घाइते रहेको उहाँको भनाइ छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ। दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका हुन्।
दुर्घटनामा परेर गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेमा चालक हीराबहादुर कार्कीसमेत छन् ।
काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू–१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए । श्रीलंकाका प्रवीण मनीशाले ९ ओभरमा ३० रन दिएर ३ विकेट लिए ।
न्यूथन रन्जितकुमार, मथुलान कुगथास, विहास थ्योमिकाले २–२ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए । नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले ११ विकेट लिए ।
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल भ्रमणको निम्तो दिएकी छिन् । शुक्रबार चीनको शहर छेङ्दुमा भएको भेटमा परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्तो दिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीका लागि चीन पुगेकी परराष्ट्रमन्त्री राणाले शुक्रबार द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।
भेटका क्रममा चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका विषयमा छलफल भएको बताइएको छ । परराष्ट्रमन्त्री राणा भोलि चीनबाट स्वदेश फर्कनेछिन् भने सोमबार प्रधानमन्त्री ओलीसँग पुनः त्यसतर्फ जानेछिन् । प्रधानमन्त्री ओलीले १७ मंसिरदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् ।
काठमाडौं । युएईमा आजबाट सुरु एसीसी यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु हुनेछ । आजै समूह बी मा रहेका बंगलादेश र अफगानिस्तानबीच पनि खेल हुनेछ ।
राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबारै युएई पुगिसकेको छ । नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । नेपालले यू(१९ एसिया कपको तयारी स्वरुप घरेलु मैदानमा भारतको कर्नाटक यू–१९ टोलीसँग ५ अभ्यास खेलको सिरिज खेलेको थियो ।
त्यो अभ्यास खेलबाट टिमको बलियो र कमजोर पक्ष थाहा हुने अवसर सँगै टिम कम्पोजिसन बनाउन सहज हुने प्रशिक्षक गौचनले बताएका छन् । पहिलो पटक यू(१९ टिमको प्रशिक्षण सम्हालेका गौचनले राम्रो नतिजा ल्याउने आशा राखेका छन् । यू–१९ एसिया कपको समूह बी मा भारत र पाकिस्तानसँगै घरेलु टोली युएई र जापान छन् ।
काठमाडौं । अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् । विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई द्विदलीय समर्थनका साथ पारित गरेको छ र सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ ।
ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् । विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । अब यो कानून बन्ने निश्चित छ ।
केन्द्र–वाम प्रधानमन्त्री एन्थोनी अल्बानिजले अर्को वर्षको सुरुमा हुने चुनावलाई ध्यानमा राख्दै उत्साहपूर्वक नयाँ नियमहरूको समर्थन गरेका छन् । अस्ट्रेलियाका अभिभावकहरूलाई यसबाट टाढा रहन आह्वान समेत गरेका छन् । मतदानअघि उहाँले सामाजिक सञ्जाललाई ‘सहकर्मी दबावको मञ्च, चिन्ताको चालक, ठगीको वाहन र सबैभन्दा खराब, अनलाइन शिकारीहरूको उपकरण’ का रूपमा चित्रण गरे । कागजमा यो प्रतिबन्ध संसारमा सबैभन्दा कडामध्ये एक हो ।
तर हालको विधेयकले नियमहरू कसरी लागू गरिनेछ भन्नेबारे लगभग कुनै विवरण प्रदान गर्दैन । त्यसैले यसले विशेषज्ञहरूमाझ यो केवल प्रतीकात्मक र लागू गर्न असम्भव कानून हो भन्ने चिन्ता जगाएको छ । नियामकहरूद्वारा विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा १२ महिना लाग्नेछ ।
ह्वाट्सएप र युट्युब जस्ता केही कम्पनीलाई सम्भवतः छुट दिइनेछ । यिनीहरूलाई किशोरकिशोरीहरूले मनोरञ्जन, स्कूलको काम वा अन्य कारणका लागि प्रयोग गर्न आवश्यक पर्दछ । सरकारले जारी गरेको डिजिटल परिचय पहिचानको उमेर प्रमाणीकरणको माध्यमका रूपमा प्रयोग गर्न सकिँदैन भनेर सुनिश्चित गर्न ढिलो संशोधनहरू प्रस्तुत गरिएको थियो ।
सामाजिक सञ्जाल विशेषज्ञ सुसान ग्रान्थमले बच्चाहरूलाई उनीहरूले अनलाइन हेरेका कुराहरूबारे ‘आलोचनात्मक’ रूपमा सोच्न सिकाउने डिजिटल साक्षरता कार्यक्रमहरू फिनल्यान्डमा प्रयोग गरिएको मोडेल जस्तै अपनाउनु पर्ने बताए । अन्य मुलुकहरूले यो विधेयकलाई नजिकबाट निगरानी गर्नेछन् र धेरैले समान प्रतिबन्धहरू लागू गर्ने विचार गर्नेछन् ।
स्पेनदेखि फ्लोरिडासम्मका कानूनवेत्ताहरूले युवा किशोरहरूका लागि सामाजिक सञ्जाल प्रतिबन्धहरू प्रस्ताव गरेका छन् तर अहिलेसम्म कुनै पनि उपायहरू लागू भएका छैनन् । चीनले सन् २०२१ देखि किशोरहरूको पहुँच सीमित गरेको छ । त्यहाँ १४ वर्षमुनिका बालबालिकालाई टिकटकको चिनियाँ संस्करण डाउइनमा दैनिक ४० मिनेटभन्दा बढी बिताउन अनुमति छैन । चीनमा बालबालिकाहरूको अनलाइन गेमिङ समयसमेत सीमित गरिएको छ । रासस\एएफपी
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको ऊर्जा केन्द्रमा रातभरि भएका क्षेप्यास्त्र र ड्रोन हमला युक्रेनले अमेरिका र युकेका लामो दूरीका अस्त्रहरू रुसमा प्रयोग गरेको प्रति रुसले जनाएको प्रतिक्रिया भएको बताएका छन्। उनले किएभका निर्णय लिइने केन्द्रहरूमा लक्षित गरी रुसले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गर्ने धम्की पनि दिएका छन्। बीबीसीकी सारा रेन्स्फोर्डले उनले लामो दूरीका पश्चिमा अस्त्र प्रयोग भएको प्रतिक्रियास्वरूप प्रयोग गर्ने भनेर गरिएका दाबीहरू जानाजान गलत अर्थ दिने खालका भएको बताएकी छन्।
युक्रेनका ऊर्जा पूर्वाधारहरूमा ठूलो रुसी आक्रमण भएपछि त्यहाँका लाखौँ मानिसहरू विद्युत्विहीन भएका छन्। युक्रेनको वायुसेनाले बमबारीमा झन्डै एक सय वटा ड्रोन र ९० भन्दा बढी क्षेप्यास्त्र प्रयोग भएको जनाएको छ। जाडो नजिकिँदै गर्दा मस्कोले ऊर्जा केन्द्रहरूमा आक्रमण गर्न अस्त्रहरू सङ्ग्रह गरिराखेको भन्दै युक्रेनलाई सतर्क पारिएको छ। निसाना बनाइएका धेरैजसो स्थानहरू देशको पश्चिममा अवस्थित छन्।
पछिल्ला विवरणहरूका अनुसार प्रभावित भएका धेरैजसो ठाउँहरू इन्धन तथा ऊर्जा पूर्वाधारसँग सम्बन्धित छन्। बाह्रवटा स्थानमा रातभरि गरिएका हमलापछि १० लाखभन्दा धेरै युक्रेनीहरू विद्युत्विहीन भएका हुन्। तस्बिरहरूमा घरहरूमा व्यापक क्षति पुगेको देखिए पनि अधिकारीहरूले घटनामा कोही हताहत नभएको जनाएका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै रुसले केही स्थानमा क्लस्टर अस्त्र प्रयोग गरेकाले विद्युत् प्रवाह पुनस् सुरु गर्न तथा आकस्मिक सेवा सञ्चालनमा कठिनाइ उत्पन्न भएको बताएका छन्। उनले पछिल्ला आक्रमणहरूले युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणालीको खाँचो रहेको प्रमाणित गर्नेमा जोड दिए। युक्रेनमा रहेका बीबीसी संवाददाता पल एडम्सका अनुसार यो महिना देशको ऊर्जा प्रणालीमा भएको यो दोस्रो आक्रमण हो।
काठमाडौं । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बाल्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा घुइँचो लागेको छ । आज त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।
बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवङ्गत पितृका नाममा दीपदान गर्न भक्तजनहरु पशुपतिनाथ परिसरमा आएर रातभर जाग्राम बस्छन् । शुक्रबार दीपदान गरी रातभर जाग्राम बस्ने भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।
एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । भीड व्यवस्थापन र सुरक्षाका लागि पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ ।
दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले जानकारी दिए । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही हुने उनले बताए । दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले दुई हजार १०० रुपैयाँका दरले शुल्क लिएको छ ।
बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गरिदिएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०लाई अनुरोध गरिएको छ ।
जाडो मौसम भएकाले भक्तजनका लागि पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्दछ ।
मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता काम गर्न पनि नपाइने आयोगले जनाएको छ । निर्वाचन प्रचारप्रसार निषेध गरिएको अवधिमा उपरोक्तबमोजिम कार्य भए गरेको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सुक्ष्म अनुगमन गरी कारबाही गरिने आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेको छ ।
आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एकरएक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।
४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपियाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपियाँ उखु मिलबाट पाउने छन् । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिएको जानकारी कृषि मन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा बिहीबार भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ। फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजना अनर्गत नेपालसँग सम्झौता गरिएको हो।
सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरेका छन्। यो सम्झौताको नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने लक्ष्य रहेको छ।
अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत, डिजिटलाइजेसन, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्ने उल्लेख गरिएको छ।
आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ, जुन आर्थिक सहयोग र विकास संगठन (ओइसिडी) ढाँचामा आधारित छ। नेपाल अतिकम विकसित देश (एलडिसी_ को सूचीमा परेकाले ५० प्रतिशत आर्थिक सहायता अनुदानको रूपमा उपलब्ध गराइने अर्थमन्त्रालयले जनाएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले यो सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताए। फिनल्याण्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्याण्डबीच आर्थिक सहकार्य विकासका लागि महत्त्वपूर्ण माध्यम बन्ने बताए।
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिनेछ ।
भोलि (शुक्रबार) बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुनेछ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।
प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ लिएको भेटिएको थियो । यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।
सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।
काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनलाई कैदका साथै तीन करोड ४२ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । फैसला अनुसार पौडेलले त्यति नै रकम बिगो तिर्नुपर्नेछ । विशेष अदालतले पौडेललाई १४ कार्तिकमा दोषी ठहर गरेर सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको थियो ।
विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद र त्यति नै बिगो र जरिवाना तोकेको छ । उनीहरू अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा दोषी ठहर भएका हुन् । अख्तियारले विकलसहित १२ जना विरुद्ध ९ असारमा मुद्दा दायर गरेको थियो । यही मुद्दामा प्रतिवादी बनाइएका निवर्तमान मुख्यसचिव डा. बैकुण्ड अर्याल लगायतले भने सफाइ पाएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको हो ।
प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीले १८ मंसिरमा चीनको बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणबारे आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन गएकी छिन् । उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ ।
काठमार्डौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छेङ्दु पुगेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छेङ्दु पुगेकी हुन् । मन्त्री डा. राणालाई छेङ्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गरे ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । भेटवार्ता शुक्रबार चीनको छेङ्दु सहरमा नै हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप डा. राणा चीन गएकी हुन् । परराष्ट्रमन्त्री डा. राणा शनिबार नै स्वदेश फर्किनेछिन् । प्रधानमन्त्री ओलीले यही १७ मंसिरदेखि २० मंसिरसम्म चीन भ्रमण गर्दैछन् । परराष्ट्रमन्त्री डा. राणा स्वदेश फर्किएर प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पुनः सामेल हुनेछिन् ।
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आजै चीन जान लागेकी हुन् । मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ । ‘चिनियाँ विदेशमन्त्री पनि छेङ्दुमा आयोजित एक कार्यक्रममा आउने कार्यक्रम छ,’ स्रोतले भन्यो, ‘दुई समकक्षीबीच छेङ्दुमै भेटवार्ता हुनेछ ।’
भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ । आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा सोही भ्रमणको तयारीका लागि आजै चीन जान लागेकी हुन् । उनी प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।
काठमाडौं । लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २–० गोलको जित निकालेको हो। लिभरपुलको जितमा अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल पहिलो हाफपछि भएको थियो।
५२ मिनेटमा अलिस्टरले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। ७६ मिनेटमा गाक्पोले गरेको गोल निर्णायक भएपछि लिभरपुल विजयी भएको हो। च्याम्पियन्स लिगमा लिभरपुलको यो पाँचौं जित हो। ऊ अहिलेसम्म अपराजित छ। रियलको भने यो लगातार दोस्रो हार हो। अघिल्लो खेलमा एसी मिलानसँग पराजित भएको थियो।
जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। उसले पाँच खेलबाट १५ अंक जोडेको छ। रियल मड्रिड २४ औं स्थानमा छ। उसको ६ अंक छ। १३ अंकसहित इन्टर मिलान दोस्रो स्थानमा छ। गएराति नै एस्टन भिल्ल र युभेन्ट्सले गोलरहित बराबरी खेले भने रेड स्टार बेलग्रेडले स्टुटगार्टलाई ५–१ गोलले पराजित गरेको थियो।
काठमाडौं । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्ने तयारी छ । दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले जानकारी दिए । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उनले जानकारी दिए ।
बाला चतुर्दशी पर्वका लागि रातभर जाग्राम बस्ने भक्तजनका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ ।
शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिए । पशुपतिनाथको मेलाका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ ।
यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ । मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।
काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ ।
आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एकरएक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।
४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।