काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो । प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा एक दम्पत्ति मृत भेटिएका छन् । दम्पत्तिको शव पोष्टमार्टमका लागि त्रिविस्थित शिक्षण अस्पताल पठाइएको छ । प्रहरी वृत्त गौशालाका अनुसार घटनास्थल मुचुल्का गरेरे आइतबार दिउँसो शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ । मृत भेटिएका दम्पत्तिमा सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती हुन् । उनीहरुको शव मृतक रमेशका बाबुआमा आइपुगेपछि उठाएर पोष्टमार्टमका लागि पठाइएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ । सुनसरीबाट काठमाडौं आइपुगेका बाबुआमालाई समेत उनीहरू नेपाल आएको भन्ने जानकारी नरहेको अनुसन्धानबाट खुलेको छ । छोरा–बुहारीले आफूहरू नेपाल आउनका लागेको भन्ने केही जानकारी नगराएको उनीहरूले प्रहरीसमक्ष बताएका छन् ।
मृतक दम्पतीले २ वर्षअघि सन् २०२२ मा क्यानडा जाँदा २ वर्षीय छोरा बाबुआमाको साथमा सुनसरीमै छाडेर गएको खुलेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । सुनसरीबाट मृतकका बाबुआमा आउँदा उनीहरूले नाती समेत काठमाडौं लिएर आएका थिए । मृतक दम्पतीका ती छोरा अहिले ४ वर्षका छन् । घटनास्थलमा कुनै सुसाइड नोट समेत फेला नपरेकाले घटनाको यकिन कारण भने खुल्न सकेको छैन ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिमाना पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिमाना पत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरु आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो । गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।
गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो । हानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ । एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली केहीबेर कार्यालय परिसरमा रोकिएर फर्किएको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इकोनोमी क्लासको माथिल्लो भाडा दरका टिकट नबच्ने घोषणा गरेको छ । निगमले आइतबार विज्ञप्ति जारी गरी आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरका उडानमा इकोनामी क्लातर्फ माथिल्लो भाडा दरका टिकट नबेच्ने घोषणा गरेको हो ।
‘हामीले इकोनोमी क्लासमा माथिल्लो भाडा दरका टिकट नबेची त्यसभन्दा तलको भाडा दरमा मात्र टिकट बेच्ने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘यसबाट यात्रुलाई सहज हुने विश्वास छ ।’ निगमले उपलब्ध गराएको भाडा दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए नियमानुसार कडा कारबाही गर्न सप्रमाण जानकारी गराउन आग्रह गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३ कात्तिकदेखि विभिन्न निर्माणका काम जारी रहेका कारण दैनिक १० घण्टा उडान बन्द हुँदै आएको छ । यही मौकामा हवाई टिकटमा ठगी र कालोबजारी भइरहेको गुनासो यात्रुबाट आएपछि सरकारले सबै अन्तर्राष्ट्रिय वायुसेवालाई हवाई भाडा पुनरावलोकन गर्न आग्रह गर्दै आएको छ ।
काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो । सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको भन्सार विभागले जनाएको छ । यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए ।
चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ । भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको बताइएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो ।
उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कामको गतिलाई तीव्रता दिने विषयमा सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ ।
ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानुनी मुद्दाजस्ता समस्या देखिएका छन् । हालसम्म ८० प्रतिशत प्रगति भएका आयोजनामा मेलम्ची खानेपानी आयोजना र पशुपति क्षेत्र विकास कोष रहेका छन् भने ५० देखि ८० प्रतिशत सम्पन्न भएका आयोजनामा पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण कोशी कोरिडोरमार्ग, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजना, लुम्बिनी विकास कोषलगायत छन् ।
अन्य आयोजना १० देखि ५० प्रतिशतको प्रगतिको स्थितिमा छन् भने १० प्रतिशतभन्दा कम काम भएका आयोजनामा बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।
बैठकको प्रारम्भ गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्था सन्तोषजनक नभएकाले कामलाई गति दिन के(के गर्न सकिन्छ ? वर्तमान सरकार आएपछि नयाँपनका साथ कामलाई गति दिन के(के नयाँपन गरियो ? भन्ने विषयमा आयोजना प्रमुखहरुबाट सुझाव लिएका थिए । प्रधानमन्त्री ओलीले सधैं झैं काम गरेर नपुग्ने भएकाले नयाँ र परिवर्तित सोचका साथ उत्पादन र रोजगारी वृद्धि गर्नेगरी आयोजना अघि बढाउन आवश्यक रहेकाले उत्पादन गर्न सम्भव हुने क्षेत्रमा मुलुकलाई आत्मनिर्भर गराउन किन नसक्ने भन्ने प्रश्नलाई ध्यानमा राख्नुपर्ने बताए ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, खानेपानीमन्त्री प्रदीप यादव, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरू र आयोजना प्रमुखहरूको सहभागिता रहेको थियो ।
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । मुस्ताङमा रहेको मुक्तिनाथमा उनले पूजाअर्चनासमेत गरे । त्यस्तै द्विवेदीले आजै पोखरामा रहेको पश्चिम पृतना हेडक्वार्टरको पनि भ्रमण गरेका छन् । उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत गरेका थिए ।
काठमाडौं । विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध भएको छ । यसले सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस पसेको अनुमान गरिएको छ । त्यसपछि सेवा अवरुद्ध हुन पुगेको राहदानी विभागले जनाएको छ । राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा ठप्प छ । नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्नेलगायत राहदानीसम्बन्धी सबै काम रोकिएको छ ।
सेवाग्राहीले अनलाइनमार्फत आफैँले भर्न सक्ने सेवासमेत अवरुद्ध छ । सेवा अवरुद्ध भएपछि अत्यावश्यक सेवामार्फत राहदानी पाउने सुविधासमेत नपाउँदा धेरै नागरिकको विदेशयात्रा समेत प्रभावित बनेको हो । विभागले राहदानीको तथ्याङ्क व्यवस्थापन प्रणालीमा समस्या देखा परेकाले सेवा प्रभावित बनेको जानकारी गराएको छ । विभागमा दैनिक झन्डै छ हजार पाँच सय प्रति विद्युतीय राहदानीका लागि आवेदन आउने गरेको छ ।
काठमाडौं । आजबाट धरहरा चढ्दा र पार्किङ गर्दा पैसा लाग्ने भएको छ । यसअघि संविधान दिवसका दिन देखि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो । शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो ।
त्यस्तै धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशमात्रै गर्नेहरुलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।
काठमाडौं । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क विश्वमा सबैभन्दा धनी व्यक्ति हुन् । उनको पुनरागमन यसमा मात्र सिमित छैन, उनी मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । फोर्ब्सका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्तिसहित मस्कले इतिहास रचेका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयी भएसँगै उनका कट्टर समर्थक तथा सहयोगी बनेका मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।
फोर्ब्सका अनुसार नोभेम्बर २२ शुक्रबार बजार बन्द हुने बेलासम्म मस्कको कूल सम्पत्ति ३ खर्ब २१ अर्ब ७० करोड डलर पुगेको थियो । टेस्ला कम्पनीको शेयर मूल्यमा ३.८ प्रतिशतले वृद्धि भई पछिल्लो साढे तिन वर्षयताकै उच्च पुगेको छ । यसको मूल्य प्रतिशेयर ३५२ डलर नाघेको छ । मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको छ ।
विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा पुनः उक्लिएका मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै छ । मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत शेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो ।
अहिले मस्कको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगिसकेको छ र त्यसले पनि उनको सम्पत्ति बढाउन सहयोग गरेको छ । त्यस्तै दुई खर्ब १० अर्ब डलरको अन्तरिक्ष कम्पनी स्पेस एक्सको बजार पुँजीकरणले पनि मस्कको अर्बौं डलरको सम्पत्तिमा महत्वपूर्ण हिस्सा ओगटेको छ । स्पेस एक्समा मस्कको शेयरहिसा ४२ प्रतिशत रहेको छ । अमेरिकामा पछिल्लोपटक राष्ट्रपतिको चुनाव हुने दिनकोभन्दा अहिले मस्कको सम्पत्ति ७० अर्ब डलरले बढी छ ।
त्यसयता टेस्लाको ४० प्रतिशतले बढेको छ । आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एलन मस्कको निकट सम्बन्धले गर्दा लगानीकर्ताहरुको मनोबल बढेको छ । वालस्ट्रिट जर्नलका अनुसार आगामी ट्रम्प प्रशासनले टेस्लालगायतका कम्पनीलाई फाइदा पुग्नेगरी नीति अख्तियार गर्नेछ ।
काठमाडौं । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार २२ नोभेम्बर मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमले लेखेको छ । मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको नेपालमदरले पुष्टी गरेको छ।
कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन्। कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको पनि नेपालमदरले उल्लेख गरेको छ। त्यहाँको प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ।
त्यस्तै कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको पनि नेपालमदरको समाचारमा उल्लेख छ। त्यहाँको प्रहरीसँग एनआरएनए भर्जिनियाका पदाधिकारीहरूले समन्वय गरिरहेको पनि बताइएको छ।
काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि परिक्षणका रूपमा निशुल्क धरहरा खुला गरिएकाे थियाे । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएकाे हाे । प्रतिव्यक्ति २ सय रूपैया शुल्क ताेकिएकाे छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने साे रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएकाे छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहिबार बसेकाे मन्त्रीपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ। सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ। त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपैयाँ तोकिएको छ।
काठमाडौं । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३–००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त गाडी चितवनबाट हेटौंडासिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
काठमाडौं । भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा दश जना माओवादी विद्रोहीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भारतका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि चलिरहेको आन्दोलनमा हाल सम्म दश हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको जनाइएको छ भने विद्राह छत्तीसगढ राज्यको दुर्गम जङ्गल क्षेत्रमा भएको थियो ।
‘अहिलेसम्म दश जना माओवादीको शवका साथै विद्रोहीबाट धेरै स्वचालित हतियारहरू बरामद गरेको’ प्रहरीको माओवादी विरोधी कारबाहीका प्रमुख विवेकानन्द सिन्हालाई उदृत गर्दै एएफपीले जनाएको छ । यसैबीच भारतका गृहमन्त्री अमित शाहले विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा ‘पूर्ण आक्रमण’ को सामना गर्न चेतावनी जारी गरेका छन् । सरकारी तथ्याङ्क अनुसार सुरक्षा बलले गरेको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोहीको मृत्यु भएको छ ।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेललले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् । शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आयोजकले नै सफा गरिसकेको अवस्थामा पनि जरिवानाको पर्चा पठाउनुले नै मेयर बालेन एमालेविरुद्ध परिचालन भएको बुझ्न सकिने उनको दाबी छ । ‘काठमाडौं महानगरका मेयर वालेन नेकपा९एमाले०का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ,’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’
महानगरले जरिवाना पर्चा सार्वजनिक गरेको समयमा स्वयंमसेवकहरु कार्यक्रमस्थलमै फोहर संकलन गरेर गाडीमा राखिरहेको, मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम भइरहेको उनले बताएका छन् । ‘तर पनि मेयरको ध्यान सरसफाइमा नभई जरिवानाको स्टण्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो’, उनले लेखेका छन् । महासचिव पोख्रेलले एमालेको जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि भएको उल्लेख गरेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ । नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिकालाई जरिवाना रकम तिर्नुपर्नेछ । एमालले आज शक्ति प्रदर्शन गरेको हो ।
काठमाडौं । अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कुराकानी गरेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरेको स्वयमः प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् । के विषयमा कुराकानी भइरहेको छ भन्ने विषयमा खुलाइएको छैन ।
स्पेश एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाएकाछन् । सोही बारे कुराकारी भएको अनुमान गरिएको छ । अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरेका छन् ।
काठमाडौं । १० असोजदेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ मध्ये २० वटा (४.०२ प्रतिशत) मात्र राम्रा भेटिएको पाइएको छ । महानगरले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार १ सय ३३ (२६.७६ प्रतिशत) मा म्याद सकिएका वस्तु भेटिएको छ । अनुगमन गरिएकामध्ये ३ सय ११ अर्थात् ६२.५७ प्रतिशतमा मूल्यसूची थिएन । यस्तै २ सय अर्थात ४०.२४ प्रतिशत व्यवसाय नै दर्ता नगराइ पसल सञ्चालन भएको पाइएको छ । यसरी अनुगमन गरिएका पसलमध्ये ४ सय ३८ किराना, १८ मिठाइ, १९ ड्राइ फुड, ७ मसला र १५ डेरी पसल थिए ।
अनुगमन प्रतिवेदन अनुसार २९ कात्तिकदेखि नियमित चलिरहेको मःम पसल, होटल तथा रेस्टुरेन्ट अनुगमन क्रममा ५२ व्यवसायको जाँच गरिएको छ । यस क्रममा ४५ वटा (८६.५८ प्रतिशत) मा व्यक्तिगत सरसफाइ कमी देखिएको थियो । ४० वटा (७६.९२ प्रतिशत) को भान्सा र कार्यस्थल सरसफाइमा कमी देखियो । १३ वटा (२५ प्रतिशत) व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइयो । बिहीबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव एवं कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले अनुगमन प्रतिवेदन पेस गर्दै यससम्बन्धी जानकारी दिएका थिए ।
‘बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचप, जामजस्ता खाद्यवस्तुमा म्याद सकिएको भेटिएको छ । रसायन भएका वस्तुसँगै खाद्यवस्तु राखिएको, मूल्यसूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसर सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढकतराजु प्रमाणीकरण नगरी प्रयोग गरिएको जस्ता समस्या भेटिए,’ प्रतिवेदनमा छ ।
यस्तै मिठाइ पसलमा स्वीकृत कोलटार रङ प्रयोग गरिए पनि मात्रा नमिलाएको, तेल बारम्बार प्रयोग गरिएको, मिठाइमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाइ बनाउने ठाउँ, पसल र भाँडाकुँडा सरसफाइमा उचित ध्यान नदिइएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवाललाई थप गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा थप गरिएका सदस्यलाई नियुक्तिपत्र र कार्यादेश प्रदान गरे ।
अर्थमन्त्री पौडेलले नवनियुक्त सदस्यलाई बधाई दिँदै आयोग अर्थतन्त्रका समस्या पहिचान र समाधान उपाय पहिल्याउन सक्षम हुने विश्वास व्यक्त गरे । आयोगमा निजी क्षेत्रको सहभागिताले अपनत्व बढ्नुका साथै जिम्मेवारी पनि थपिएको बताए । उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालले देश बनाउने कार्यमा निजी क्षेत्रलाई समावेश गरेकोमा सरकारलाई धन्यवाद दिँदै अर्थतन्त्र सबल बनाउन सक्षम हुने विश्वास व्यक्त गरे ।
परिसंघ अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा आमुल परिवर्तन महसुस हुने गरी योगदान पुर्याउन सक्ने बताए । चेम्बर अध्यक्ष अग्रवालले आयोगमा निजी क्षेत्र समावेश गराएकोमा धन्यवाद दिँदै आफूहरूलाई जिम्मेवारी थपिएको र जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्ने बताए । आयोग अध्यक्ष रामेश्वर खनालले एक महिनामा गरेका गतिविधि र आगामी कार्यक्रमबारे जानकारी गराए ।
अर्थतन्त्र सुधारका लागि सुझाव दिन अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले गत असोजको तेस्रो हप्ता पूर्व अर्थसचिव खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो । आयोगको सदस्यमा राष्ट्रिय योजना आयोग सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा। विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा। कल्पना खनाल छन् ।
काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मका उडानमा उच्च हवाई भाडा लिएको गुनासोप्रति ध्यानाकर्षण भएको भन्दै हिमालयले उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने घोषणा शुक्रबार गरेको हो ।
कम्पनीका अनुसार ‘वाई’ क्लास भाडा नर्मल इकोनोमी क्लासकोे उच्चतम श्रेणीको भाडादर हो । यात्रुलाई सहज भाडादर उपलब्ध गराउन ६ मंसिरदेखि उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने निर्णय भएको हो । हिमालयले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न तथा विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडादर कायम गरेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन तथा नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एयरलाइन्सको सहमतिमा २५ कात्तिकदेखि अर्को सूचना जारी नहुन्जेल सबै ‘ग्रुप टीबीए’ (सामूहिक खरिद) बुकिङ निलम्बन गरिसकिएको छ । हिमालयले सबै ट्राभल एजेन्सीलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरिसकेको जनाएको छ । त्यस्तै ट्राभल एजेन्सीलाइ सातामा कम्तीमा दुई पटक इमेल पठाइरहेको र कसैले कालोबजारी गरेको भेटिए कानुनी कारबाही गरिने कम्पनीको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।
‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस् ।’
प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्नु आग्रह गर्दै आफू प्रधानमन्त्री रहने अवधि उल्लेख गरेका छन् । ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’, ओलीले भने ।
तर यो सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘फरवरीको भाका राख्दैछन् । तर हाम्रो सत्ता समीकरण ०८४ सम्म जान्छ’, प्रधानमन्त्री ओलीले भने । भ्रम छर्नेहरूले भाका सार्दै सरकारको आयुको मिति तोक्ने गरेको उनले बताए ।
‘सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ, मेरो अवधि म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि मैले शेरबहादुर देउवाजीलाई जिम्मा लगाउँछु ।’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । जसलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने छ । एमालेले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको दावि गर्दै आएको छ । उसको प्रदर्शनले आज दिनभर सडक भने प्रभावित हुनेछ ।
काठमाडौं । भारतीय अर्बपति तथा अडानी ग्रुपका मालिक गौतम अडानीलाई घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा अमेरिकामा मुद्दा दायर भएको छ । अडानीविरुद्ध २५ करोड अमेरिकी डलर बराबरको घुस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप छ । उनीमाथि न्यूयोर्कमा अभियोगपत्र दर्ता गरिएको छ ।
उनी र उनका भतिज सागर अडानीसहितका ७ जनामाथि सौर्य उर्जा प्लान्ट परियोजना निर्माणको ठेक्का हात पार्न भारतका सरकारी अधिकारीलाई घुस दिन सहमति जनाएको अभियोग लगाइएको हो । नवीकरणीय उर्जासम्बन्धी अडानीको कम्पनीले उक्त परियोजनाबाट २० वर्षको अवधिमा २ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो ।
अडानी र उनको अडानी ग्रीन इनर्जी कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत विनित जैन मिलेर भ्रष्टाचारका कुरा गोप्य राख्दै अमेरिकी फर्म लगायतका लगानीकर्ताबाट ३ अर्ब डलर लगानी उठाएको समेत अभियोगपत्रमा उल्लेख छ । अडानीको कम्पनीका कार्यकारीहरूले आफ्नो समूहका घुसविरोधी नीति तथा घुससम्बन्धी अनुसन्धानका प्रतिवेदनका नक्कली कागजात पेस गरेर अमेरिकीसहित विभिन्न फर्मबाट ३ अर्ब डलर बराबरको कर्जा र बन्डहरू उठाएको अभियोजनकर्ताहरूको दाबी छ । यसबारे अडानी समूहले भने हालसम्म कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।
६२ वर्षे अडानीले बन्दरगाह र विमानस्थल निर्माण तथा सञ्चालनदेखि नवीकरणीय ऊर्जाको विस्तारसम्म व्यापार– व्यवसायको साम्राज्य खडा गरेका छन् । विभिन्न कम्पनीहरूलाई संलग्न गरी अमेरिकामा चलिरहेको अडानी ग्रीन एनर्जी सन् २०२३ देखि शंकाको घेरामा रहँदै आएको छ । अमेरिकाले सन् २०२२ देखि अडानीको कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
अडानी समूहले जालसाजी गरेको आरोप लगाउँदै न्यूयोर्कस्थित उच्च प्रतिष्ठित कम्पनी हिन्डेनबर्ग रिसर्चले प्रतिवेदन सार्वजनिक गरेपछि समूहमाथि शंका उत्पन्न भएको थियो । प्रतिवेदनमा गरिएका दाबीहरूलाई अडानीले अस्वीकार गरेका थिए ।
उक्त प्रतिवेदन सार्वजनिक भएसँगै अडानी ग्रुपको सेयर र अन्य कारोबारमा ठूलो गिरावट आएको थियो । हिन्डेनबर्गले सार्वजनिक गरेको रिपोर्टको जवाफमा अडानी ग्रुपले ४ सय १३ पेजको खण्डन प्रकाशन गरेको थियो । त्यसपछि दुई पक्षबबीच वाकयुद्ध नै चलेको थियो । खण्डनमा अडानी समूहले हिन्डेनबर्गलाई ‘म्याड्स अफ म्यानह्याटन’ भन्दै कम्पनीको रिपोर्टलाई ‘भारत, यसको स्वतन्त्रता, अखण्डता एवं आर्थिक वृद्धि तथा महत्त्वाकांक्षा माथिको नियोजित आक्रमण’ भनेको थियो ।
कतिपयले भारतको आर्थिक वृद्धिको ‘मोदी मोडल’ को अडानीले प्रतिनिधित्व गरेका र हिन्डेनबर्गको प्रतिवेदनले ‘कुलीन वर्ग र पक्षपाती लोकतान्त्रिक शक्तिबीचको साँठगाँठलाई नाफामा बदल्ने अडानी ग्रुपको अभियानमा धक्का पुर्याएको’ बताएका थिए । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी हुन् । लामो समयदेखि मोदीसँगको राजनीतिक सम्बन्धबाट अडानीले फाइदा लिएको भारतका विपक्षी राजनीतिज्ञहरूको आरोप छ । तर ती आरोपलाई उनले खण्डन गर्दै आएका छन् ।
अडानीले एकपटक अपहरणमा परी फिरौती तिरेर बाँचेको बताउने गरेका छन् । त्यसका साथै, सन् २००८ नोभेम्बर २६ को ताज आक्रमणमा पर्दा बेसमेन्टमा लुकेर बाँच्न सफल भएको उनको दाबी छ । अडानीले गत साता सामाजिक सञ्जालमार्फत नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका थिए । त्यस्तै, उनले अमेरिकामा १० अर्ब डलर बराबरको लगानी गर्ने वाचासमेत गरेका थिए ।
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । १६ जना गम्भीर घाइते भएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा महिला र बालबालिकाहरु पनि मारिएका छन् ।
आक्रमणको जिम्मा कसैले लिएको छैन । बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए । अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ ।
काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ ।
सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो ।
दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । लिम्बुलाई झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो । धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो भने लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुई मोटरसाइकलमा चार जना सवार थिए । ओभरटेक गर्न खोज्दा दुई वटा मोटरसाइकल ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीका अनुसार ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा पथरीशनिश्चरे–५ का ३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएको प्रहरीले बताएको छ । उनको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले भारतीय स्थलसेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार द्विवेदी नेपाल भ्रमणमा आएका हुन् । उक्त मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत थिए । नेपाल र भारतका सेनाबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान गर्ने परम्परा छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य छन् ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन बुझाउनेगरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ । उक्त सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिने उनले उल्लेख गरे ।
हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए । सो निर्देशन बमोजिम आज अन्तर्राष्ट्रिय उडान गर्ने ११ हवाई कम्पनीले बिक्री गरेका टिकटको मूल्य, टिकटको उपलब्धता र यात्रुको विवरण बुझाएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो । निगमले बिहीबार विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि सबै सेक्टरमा भाडादरमा छुट दिन थालिएको निगमको भनाइ छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि हवाई भाडा अत्यधिक बढेको गुनासोपछि भाडामा छुट दिइएको हो,’ पौडेलले भने, ‘निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए कडा कारबाहीका लागि सप्रमाण जानकारी गराउन आग्रह गर्छौं ।’
निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा रसुवामा निर्माण भएको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवा गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीन युनिटमध्ये एउटाबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।
आयोजनाले बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिने छ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्र आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छवि गैरेले बताए ।
टिमुरे ९तातोपानी० स्थित विद्युतगृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवा आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०–१३२–३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी २१ कात्तिकदेखि सञ्चालनमा ल्याइएको थियो ।
रसुवागढीबाट उत्पादित विद्युत् हिउँदयाममा काठमाडौं उपत्यकामा हुने माग व्यवस्थापनमा सहज हुनेछ । सुक्खायाम सुरुसँगै भोटेकोसी नदीमा पानी बहाब घट्न सुरु भएसकेकाले रसुवागढी आयोजनाबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुने छैन । हिउँद याममा आयोजनाबाट करिब ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ ।
खरिद र निर्माण (ईपीसी) मोडेलमा विद्युतगृह, बाँध, सुरुङ लगायत सिभिल संरचना र इलेक्ट्रोमेकानिकल काम गर्न चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनसँग ३० पुस २०७० मा ठेक्का सम्झौता भएको थियो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भोइथ हाइड्रो प्रालि भारतसँग १५ साउन २०७१ मा ठेक्का सम्झौता भएको थियो ।
२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएका समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड महामारी लगायत कारण आयोजना निर्माण प्रभावित भएको थियो ।
आयोजनाबाट गत चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखी सम्पूर्ण निर्माण सम्पन्न गरिएको थियो । तर, आयोजनाको विद्युत् जोडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गर्न केही समय लागेकाले विद्युत् उत्पादन केही ढिलाइ भएको हो ।
प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्ने समयमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ तय गरी सोही आधारमा ५० प्रतिशत स्वपूँजी (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको थियो ।
आयोजना निर्माण अगाडि बढाउने समयमा मुख्य रूपमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन भएका कारण संशोधित अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब १८ करोड ३७ लाख रुपैयाँ कायम गरिएको थियो । काबु बाहिरको परिस्थितिका कारण आयोजना निर्माण अवधि बढ्दा र डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रुपैयाँ छ । निर्माण अवधिको ब्याज करिब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।
कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३२.७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत र रसुवाका स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक सेयर छ । आयोजनाले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको थियो । आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । निर्माण अवधि लम्बिएर कर्जा बढ्दा ऋण ६० प्रतिशत र इक्विटी ४० प्रतिशत कायम भएको छ ।
कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकताको १५.५ प्रतिशत, कम्पनीका संस्थापक संस्थाहरू ( प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीको ४.५ प्रतिशत, आयोजना प्रभावित रसुवावासीको १० प्रतिशत र आमसर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत साधारण सेयर छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।