Category: फिचर

  • राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल


    काठमाडौँ, २ भदौः परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी विधेयक, २०८३ ले राहदानी जारी, रद्द र व्यवस्थापन तथा समग्र प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संशोधनमार्फत अन्तरराष्ट्रिय नागरिक उड्डयन (आइकाओ) को मापदण्ड र अन्तरराष्ट्रिय विश्वसनीयतालाई थप मजबुद बनाउने प्रयास गरिएको बताए ।

    मन्त्री खनालले विधेयकमार्फत प्रक्रियागत झन्झटलाई सरलीकृत गर्ने प्रयास गरिएको स्पष्ट पारे । “सक्कल कागजात पेस भएपछि अनावश्यक प्रतिलिपि मागिरहने पुरानो प्रशासनिक झन्झटलाई अन्त्य गरिएको छ”, उनले भने, “नागरिकले नागरिकताका आवेदन दिएको स्थानबाट मात्रै राहदानी लिनुपर्ने अव्यावहारिक बन्धन हटाइ सहज वितरणको व्यवस्था गरिएको छ ।”

    उक्त प्रस्तावमाथिको छलफलमा वर्षमान पुन, पद्मा अर्याल, पुष्पराज कँडेल, यज्ञमणि न्यौपाने, गङ्गालक्ष्मी अवाल, इन्दिरा राना मगर, हर्कराज राई, माधवबहादुर थापा, पारशमणि गेलाललगायत ३५ सांसदले भाग लिए । बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

    बैठकमा सभामुख डोलप्रसाद अर्यालले सो विधेयकमाथि संशोधनको सूचना दिन चाहने सांसदलाई सङ्घीय संसद् सचिवालयमा सूचना दिनसक्ने जानकारी गराए । त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८१÷०८२’ पेस गरिन् ।


    सभामुख अर्यालले आजका लागि निर्धारित ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने बुँदा कार्यसूचीबाट हटाइएको जानकारी गराए । प्रतिनिधिसभा बैठक यही भदौ ३ गते अपराह्न १ बजे बस्नेछ ।

  • प्रदेशसभा सदस्य देउवा अमेरिकाबाट फर्किएनन्, नेपालमा पदमुक्त

    प्रदेशसभा सदस्य देउवा अमेरिकाबाट फर्किएनन्, नेपालमा पदमुक्त

    सुदूरपश्चिम, २ भदौँः सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएको छ ।
    सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीले नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रावधानअनुसार लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण उनलाई पदमुक्त गरिएको जानकारी दिए । आजै सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्नेसम्बन्धी निर्णय गरेको उनले बताए ।


    नेपालको संविधानको धारा १८० को (घ) मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफामा सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । यस्तै, सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० ले पनि सोहीअनुसार व्यवस्था गरेको छ । देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए । उनी यसयता नेपाल फर्किएका छैनन् ।

  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल


    काठमाडौँ, २ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । काठमाडौँका विभिन्न सामुदायिक विद्यालयको स्थलगत अवलोकनपछि मन्त्री पोखरेलले विद्यालयको वास्तविक अवस्था तथा सरोकारवालाबाट प्राप्त सुझावलाई शिक्षा सुधारका नीतिमा समेटिने बताए ।

    उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने उल्लेख गरे । मन्त्री पोखरेलले राम आधारभूत स्कुल, मदन आश्रित आदर्श मावि, बाल विकास आधारभूत स्कुल र गणेश माविको अवलोकन गरे । त्यस क्रममा उनले विद्यालयको शैक्षिक अवस्था, पठनपाठन, व्यवस्थापन, पूर्वाधार तथा विद्यार्थीका समस्या र आवश्यकताबारे जानकारी लिए ।


    अवलोकनका क्रममा मन्त्री पोखरेलले प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विद्यालयमा देखिएका समस्या, चुनौती र सुधारका आवश्यकताबारे जानकारी लिए । मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको अवस्था प्रत्यक्ष रूपमा बुझ्न विद्यालयमै पुगेर शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापनसँग संवाद गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । मन्त्री पोखरेलले सोमबारदेखि काठमाडौंका सामुदायिक विद्यालयको स्थलगत अवलोकन सुरु गरेका हुन् ।

  • लघुवित्त पीडितसँग पूर्वराष्ट्रपति भण्डारी

    लघुवित्त पीडितसँग पूर्वराष्ट्रपति भण्डारी

    ललितपुर, २ भदौः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मानवअधिकार आयोग अगाडि धर्नामा रहेका लघुवित्त पीडितलाई भेटेर उनीहरूका समस्या सुनेकी छिन् । पूर्वराष्ट्रपति भण्डारी आज ललितपुरको पुल्चोक पुगेर गत शुक्रबारदेखि राष्ट्रिय मानवअधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ कार्यालय अगाडि धर्नामा बसेका लघुवित्त पीडितको गुनासो सुनेकी हुन् ।

    राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका सर्लाही जिल्ला अध्यक्ष हरिप्रसाद मैनाली, महिला संयोजक विष्णु बोहोरा लगायतको नेतृत्वमा अभियानका बागमती प्रदेश अध्यक्ष तेजेन्द्र रायमाझीलगायत अभियानमा आबद्ध अभियान्ता एवं लघुवित्त पीडित यही साउन २८ गते शुक्रबारदेखि धर्नामा रहेका छन् ।

  • जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौँ, २ भदौः नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुढानिलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा आइतबार राति निधन भएका श्रेष्ठको आज साँझ शोभाभगवतीमा अन्त्येष्टि गरिएको हो ।

    श्रेष्ठको अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत विशिष्ट व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
    उनको पार्थिव शरीरलाई शोभाभगवतीबाट ढल्को, क्षेत्रपाटी, थहिटी, बाङ्गेमुढा, असन, जनबहाल, किलागल, नरदेवी हुँदै पुनः क्षेत्रपाटी, जोगीपाखा भएर शोभाभगवती लगिएको थियो । सो क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, साहित्यकार, कलाकार, संस्कृतिकर्मी, शुभेच्छुक तथा सर्वसाधारणले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।


    श्रेष्ठको निधनसँगै नेपाली साहित्यले एउटा कविमात्र नभई नेपाल र नेपाली भाषाबीच साहित्यिक सेतु निर्माण गर्ने एउटा सशक्त स्रष्टालाई गुमाएको छ । उहाँले करिब सात दशकदेखि कविता, गीत, बालसाहित्य, नाटक तथा नेपाल भाषाको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका थिए । मदन पुरस्कार गुठीले उनलाई नेपाल भाषा र नेपाली भाषामा सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य सिर्जना गर्दै नेपाली वाङ्मयमा योगदान पुर्‍याएकामा ‘जगदम्बा श्री’बाट सम्मान गरेको थियो ।

    विसं १९९२ मा काठमाडौँको न्हैकन्तला टोलमा जन्मिएका श्रेष्ठको प्रारम्भिक शिक्षा पद्मोदय माध्यमिक विद्यालयबाट भएको थियो । किशोर अवस्थादेखि साहित्यमा आकर्षित श्रेष्ठले विसं २००६ देखि लेखन सुरु गरेका थिए । उनको पहिलो कविता ‘दुई थोपा’ विसं २००९ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो । यसैबीच, सङ्गीतकार न्ह्यूँ बज्राचार्यले जनकवि श्रेष्ठको निधन नेपाली साहित्य तथा गीतसङ्गीत क्षेत्रका लागि अपूरणीय क्षति भएको बताए ।

    उनका अनुसार श्रेष्ठका सिर्जनाले नेपाली गीतसङ्गीतलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । श्रेष्ठका शब्दमा रहेका सरलता, गहिराइ र मानवीय संवेदनाले पुस्तौँपुस्तासम्म प्रभाव पार्ने क्षमता राख्ने उनले बताए । श्रेष्ठ ‘सयौँ थरी बाजा एउटै ताल’, ‘फूलको आँखामा फूलै संसार’ लगायत कालजयी तथा चर्चित गीतका सर्जक हुन् ।

  • विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गरौं : सञ्चारमन्त्री

    विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गरौं : सञ्चारमन्त्री


    काठमाडौँ, २ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सबै दूरसञ्चार सेवा प्रदायकले कानुनी र नियामकीय व्यवस्थाअनुसार स्वच्छ तथा व्यावसायिक ढङ्गले काम गर्नुपर्ने बताएका छन् । एनसेल आजियाटा लिमिटेडका प्रतिनिधिले आज सञ्चार मन्त्रालयमा गरेको भेटका क्रममा उनले दूरसञ्चार क्षेत्रलाई स्वच्छ, पारदर्शी र स्वस्थ प्रतिस्पर्धामा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले सञ्चार मन्त्रालयका लागि सबै सेवा प्रदायक समान रहेको उल्लेख गर्दै कानुनअनुसार व्यावसायिक गतिविधि सञ्चालन गर्ने कम्पनीलाई सरकारले आवश्यक सहयोग गर्ने बताए ।


    “एनसेलले स्वच्छ प्रतिस्पर्धा गर्ने र विगतमा भएका कमिकमजोरी पनि सच्याउने प्रतिबद्धतासहित आउनुपर्छ । कानुनअनुसार काम गर्ने कम्पनीलाई सरकारले समान व्यवहार गर्छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने । उनले विगतमा भएका एनसेलका विवाद र कानुनी प्रश्नको पारदर्शी ढङ्गले छानबिन हुने स्पष्ट पार्दै आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित कम्पनीले पनि आफ्नो कार्यशैली सुधार गर्नुपर्ने बताए । दूरसञ्चार क्षेत्रमा स्वच्छ र स्वस्थ पारिस्थितिक प्रणाली (इकोसिस्टम) निर्माण गर्न सरकार तथा नियामक निकाय तयार रहेको र त्यसका लागि सेवा प्रदायक संस्थाहरूले पनि समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ ।

    मन्त्रालयका सहसचिवद्वय उदयबहादुर रानामगर र गौरव गिरी तथा मन्त्रालयको कानुन शाखा उपसचिव राजेशकुमार थापा सहभागी रहेको सो भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रलाई स्वच्छ र व्यावसायिक बनाउन विगतका गल्ती सच्याउने तथा भविष्यमा गल्ती हुन नदिने जिम्मेवारी सरकार तथा नियामकको रहेको बताए । साथै, एनसेलका विगतका विवादको निरुपण तथा लाइसेन्स अवधि सकिएपछिको स्वामित्व हस्तान्तरणको काम विद्यमान विधि र कानुनभित्रै रहेर सम्पादन हुने स्पष्ट पारे ।


    छलफलमा एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले कम्पनीको सेवा र व्यावसायिक प्रणाली सुधारका लागि विभिन्न काम अघि बढाएको जानकारी गराए । सब्स्क्रिप्सन मोडल सुधार र ‘पे एज यु गो’ प्रणाली लागू गर्ने तथा फाइभजी सेवा सुरु गर्ने सरकारी पहललाई पनि एनसेलले सकारात्मक रूपमा लिएको उनको भनाइ थियो।

  • इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

    इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

    वाशिङ्टन, संयुक्त राज्य अमेरिका, २ भदौ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार होर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा ‘बाधा पु¥याए’े ओमानमाथि बमबारी गर्ने चेतावनी दिएका छन् । उनले इरानलाई आत्मसमर्पण गर्न आग्रह गरे । “यदि ओमानले बाधा पु¥यायो भने हामी उनीहरूमाथि व्यापक बमबारी गर्नेछौँ,” ट्रम्पले फक्स न्यूजका पत्रकार ट्रे यिङ्स्टसँग भने । यिङ्स्टले ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वासिङ्टनले पनि ओमानसँग छुट्टै वार्ता अघि बढाइरहेको छ ।

    इरानी र ओमानी अधिकारीहरू हप्ताौंदेखि समुद्री मार्गको भविष्यको नौवहन व्यवस्थाबारे कुराकानी गरिरहेका छन्। तेहरानको विदेश मन्त्रालयले सोमबार बिहान दुवै पक्ष संयुक्त घोषणापत्रमा काम गरिरहेको बताएको थियो। राष्ट्रपति ट्रम्पले बारम्बार जोड दिएका छन् । “हर्मुज जलमार्गलाई तेहरानले मध्यपूर्व युद्ध सुरु भएको दिन फेब्रुअरी २८ देखि प्रभावकारी रूपमा बन्द गरेको थियो । अमेरिकाले यसलाई आफ्नो नियन्त्रणमा रहेको बताएको छ तर यहाँ यहाँबाट स्वतन्त्ररूपमा यातायात सेवा अझै अवरुद्ध छ।

    शुक्रबार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गरेका थिए भने इरानले यो महत्त्वपूर्ण ऊर्जा मार्ग ‘इरानी नै रहने’ जवाफ दिएको थियो।
    अमेरिकी–इजरायली इरान युद्ध सुरु हुनुअघि हर्मुज जलमार्ग खुला अन्तर्राष्ट्रिय जलमार्ग मानिन्थ्यो। यसबाट विश्वको ऊर्जा ढुवानीको ठूलो हिस्सा र अन्य वस्तुहरू निर्यात हुन्छन् ।

    तेहरानले जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयासविरुद्धको दबावका रूपमा प्रयोग गरेको छ । इरानको तट हर्मुजको उत्तरतिर छ भने ओमान दक्षिणतिर छ।

    ट्रम्पले इरानले ‘आत्मसमर्पणको सेतो झण्डा उठाउनुपर्छ’ भनेको राष्ट्रपतिसँगको अन्तर्वार्ताबारे यिङ्स्टले एक्समा पोस्ट गरेका छन् । राष्ट्रपति ट्रम्पले नोभेम्बरको अमेरिकी मध्यावधि चुनावअघि युद्ध अमेरिकीहरूबीच अत्यन्त अलोकप्रिय भए पनि सम्झौता गर्न हतार नभएको बताए । विपक्षी डेमोक्र्याट्हरूले ट्रम्पका रिपब्लिकनहरूबाट काङ्ग्रेस (संसद्) मा नियन्त्रण लिन खोजिरहेका छन्। ट्रम्पले यिङ्स्टलाई आफ्नो प्रशासन र इरानको रिभोल्युशनरी गार्डका अधिकारीहरूबीच प्रत्यक्ष ‘ब्याक–च्यानल’ रहेको बताए । “उनीहरू राम्रा पोकर खेलाडी हुन्, तर उनीहरू मरिरहेका छन्,” उनले भनेको भनाईलाई उद्धृत गरिएको छ।

  • सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका, २ भदौ (रासस–एएफपी) । सन् २०२५ मा विश्वभर ३५० सहायताकर्मी मारिएका छन् संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ । ओसीएचएका अनुसार विश्वभर ३५० सहायताकर्मी मारिएका र सबैभन्दा बढी गाजा र सुडानमा मारिएका छन्। संयुक्त राष्ट्रसङ्घले सोमबार मानवतावादीमाथिको आक्रमणलाई ‘अस्वीकार्य’ बताएको छ ।

    यो मृत्यु सङ्ख्या भने सन् २०२४ को ३७७ भन्दा केही कम हो। संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले विश्व मानवतावादी दिवसको अवसरमा अनुसन्धान र सल्लाहकार समूह ह्युम्यानिटेरियन आउटकम्सका तथ्यांक उल्लेख गर्दै यो विवरण दिएको छ। गत बर्ष सबैभन्दा धेरै गाजामा १८६ सहायताकर्मी मारिएका छन् । यो सहायताकर्मीका लागि लगातार तेस्रो वर्ष सबैभन्दा घातक ठाउँ बनेको छ । त्यसपछि सुडानमा ७१ जना सहायताकर्मीको मृत्यु भएको छ ।

    “केवल तीन वर्षमा एक हजारभन्दा बढी सहायताकर्मी मारिएका छन् र यो पूर्ण रूपमा अस्वीकार्य छ,” मानवीय मामिलाका उपमहासचिव टम फ्लेचरले वक्तव्यमा भनेका छन् । उनले भने, “यसलाई औँल्याउँदैमा अर्को सहायताकर्मीको सुरक्षा हुँदैन। राज्यहरूले अन्तर्राष्ट्रिय मानवीय कानून पालना गर्नुपर्छ र नागरिक तथा हाम्रा सहकर्मीहरूको सुरक्षाका लागि हरेक साधन प्रयोग गर्नुपर्छ । नियम तोड्नेहरूले वास्तविक कानुनी भागिदार हुनुपर्छ।”

    सन् २०२६ को सुरुदेखि विश्वभर थप ८२ सहायताकर्मी मारिएका, ९७ घाइते र ३९ अपहरण गरिएका छन् । ओसीएचएले सशस्त्र ड्रोनको व्यापक प्रयोगप्रति विशेष चिन्ता व्यक्त गरेको छ । ड्रोनले ‘घातक शक्ति अझ धेरै हातमा पु¥याउँदै शहर र नगरमा विस्फोटक हतियार पठाइरहेको छ।’

    सुडानमा सन् २०२६ का पहिला चार महिनामा सशस्त्र ड्रोनले नागरिक मृत्युको ८० प्रतिशत हिस्सा ओगटेको छ जसले बजार र स्वास्थ्य सुविधामा आक्रमण गरेको वक्तव्यमा उल्लेख छ । रूस–युक्रेन युद्धमा पनि ड्रोन आक्रमणबाट हताहत भएको उल्लेख गरिएको छ। “हतियारयुक्त ड्रोन नागरिक जीवनको जानाजान वा लापरवाहीपूर्ण विनाश बनेका छन् अर्थात् खतराको नयाँ रूप बनेका छन्,” फ्लेचरले भने ।

  • याङ्गुनमा हैजाको प्रकोपः सयौँ अस्पताल भर्ना

    याङ्गुनमा हैजाको प्रकोपः सयौँ अस्पताल भर्ना


    याङ्गुन, म्यान्मा, २ भदौ (रासस–एएफपी) । म्यान्माको सबैभन्दा ठूलो शहर याङ्गुनमा गम्भीर पखालाका कारण ५०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् भने करिब १५० जनामा हैजाको भाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीले सोमबार बताएका छन्। पाँच वर्षभन्दा बढी गृहयुद्धपछि म्यान्माको पूर्वाधार र स्वास्थ्य क्षेत्र कमजोर अवस्थामा छ जसमा एक लाखभन्दा बढी मानिस मारिएको अनुमान छ र अर्थतन्त्र पनि निष्क्रिय छ ।

    “अगस्ट ९ देखि करिब एक हप्ताको समयमा ५०० जना पखालाका कारण अस्पताल भर्ना भएका छन् जुन हैजाको मुख्य लक्षण हो,” क्षेत्रीय सामाजिकमामिला मन्त्री बो ह्यतेले बताए । हैजाको शङ्कास्पद पहिलो विरामी अस्पताल भर्ना भएको एक हप्ताभन्दा बढी समयपछि हैजा सङ्क्रमण भएको आधिकारिक पुष्टि भएको हो । हैजाका लागि गरिएका द्रुत परीक्षणमा सोमबार १४९ जनामा सङ्क्रमण पुष्टि भएको उनले प्रादेशिक संसदलाई बताउनुभयो । देशको सबैभन्दा ठूलो शहर याङ्गुनमा हैजाको समस्या हुनुलाई बर्षामा खानेपानीको शुद्धतासम्बन्धी समस्यासँग हेरिएको छ।

    भर्ना भएका विरामीमध्ये नौ जनालाई राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले आधिकारिक रूपमा ‘भाइब्रियो कोलेरे केस’ का रूपमा पुष्टि गरेको उनले बताए । हैजा दूषित खाना वा पानी सेवनबाट हुने गम्भीर पखालाको संक्रमण हो जसको उपचार नगरे केही घण्टामै ज्यान जान सक्छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य खतरा र असमानता तथा सामाजिक–आर्थिक विकासको अभावको सूचक’ भनेर वर्णन गरेको छ।

    गत बिहीबार एक सयभन्दा बढी नयाँ बिरामी अस्पताल भर्ना भएका थिए तर त्यसपछि नयाँ सङ्क्रमण दर घटेको मन्त्री ह्यतेले बताए । एक ९२ वर्षीय बिरामी पखाला लागि अस्पताल भर्ना भएपछि मृत्यु भएको खबर सार्वजनिक भएपछि आइतबार राज्यसञ्चालित ‘ग्लोबल न्यू लाइट अफ म्यान्मा’ पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै उक्त व्यक्ति अन्तर्निहित मुटु र फोक्सोको समस्याले मृत्यु भएको बताएको छ ।

    स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा ‘महामारी निगरानी र प्रकोप नियन्त्रण उपाय’ का लागि सङ्घर्ष गरिरहेका अधिकारीहरूलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ।

  • देश विदेश डाक्टर पठाउँदै जुम्ला

    देश विदेश डाक्टर पठाउँदै जुम्ला


    शुरबहादुर सिंह–रासस
    कर्णाली, २ भदौः कर्णाली भन्ने बित्तिकै धेरैको दिमागमा विकट, अभाव, गरिबी, भोकमरी, अशिक्षा र रोगले ग्रसित क्षेत्र भन्ने मात्र आउँछ । कठिन, असहज र दुःख भोग्ने थलोको रुपमा बुझाउँछ । आज पनि कर्णालीप्रति हेर्ने अधिकांशको नजर सकारात्मक देखिदैन । त्यसमा अझ माथिल्लो कर्णाली भनेपछि धेरैले नाक खुम्च्याउने गर्दछन् । यद्यपि, कर्णालीको विगत अपेक्षा गरेभन्दा बढी फेरिएको छ ।

    विगतमा जिल्ला अस्पताल हुँदा एकजना डाक्टर हुन्थे, जो धेरै समय जुम्लामा बस्दैनथे । स्नातक तहको सिकारु एक जना डाक्टर पाउँदा पनि जुम्लाले हिमाली जिल्लामा आफूलाई भाग्यमानी ठान्थ्यो । त्यही सिकारु डाक्टर पाउन तड्पिने जुम्लाले भने अहिले १० जनाभन्दा बढी विशेषज्ञ डाक्टर उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पठाइसकेको छ । एउटा डाक्टर पाउन केन्द्रलाई गुहार्दा थाक्ने जुम्लाले विशेषज्ञ डाक्टर उत्पादन गरेको छ भन्ने कुराको विश्वास धेरैलाई नलाग्न सक्दछ ।

    स्वास्थ्य क्षेत्रमा जुम्लाले गरेको अभूतपूर्व सफलता पश्चिम नेपालको एउटा कोसेढुङ्गा नै सावित हुन्छ । पछिल्लो समय यसले देश तथा विदेश सेवा दिने डाक्टरहरु उत्पादन गरिसकेको छ तर यहाँ डाक्टरी पढाई होला भनेर यस अघि कोही कसैले सोचेकै थिएन किनकी यसलाई विकट भूगोल, पूर्वाधारविहीन क्षेत्र, अशिक्षा, स्रोतको अभाव, गरिबी र चेतना तथा आर्थिक दृष्टिले कमजोर ठानिन्थ्यो ।

    जिल्ला अस्पतालबाट स्तरोन्नति भई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रुपमा स्थापना भएपछि भने यहाँको स्वास्थ्य अवस्थामा धेरै परिवर्तन भएको छ । प्रतिष्ठानले उपचार सेवा मात्र दिएको छैन, यसले विश्वविद्यालयस्तरको चिकित्सा विषयमा अध्ययन अध्यापनका साथै अनुसन्धानको कार्यलाई त्यत्तिकै अगाडि बढाएको छ । २०७७ सालमा चिकित्सा क्षेत्रमा स्नातकोत्तर तहको पहिलो ब्याचको पढाई सुरु हुँदा डा।रहिस कोजु र प्रशंसा ताम्राकार ९जिपइएम० मुन्ना केशरी र बेदकुमार चौधरी ९पेडियाट्रिसियन० र ललितसिंह धामी ९एनेस्थेसिया० गरी पाँच विशेषज्ञ डाक्टर उपाधि हाँसिल गरे । त्यसैगरी प्रतिष्ठानले दोस्रो ब्याचमा दुई जिपीइएम, एक पेडियाट्रिसियन, एक अर्थोपेडिक र एक एनेस्थेसिया गरी पाँच र तेस्रो ब्याचमा चार गरी १४ जना विशेषज्ञ डाक्टर उत्पादन गरेको प्रतिष्ठानका उपकुलपति प्राडा।सूर्यमान मेन्याङ्म्बोले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दोस्रो ब्याचमा पास आउट हुनुभएका पेडियाट्रिसियन डा।अकिना सैंजु अष्ट्रेलियामा चिकित्सकीय सेवा दिइहरनुभको छ । त्यस्तै, पेडियाट्रिक, जिपीइएम, अर्थोपेडिक, एनेस्थेसिया, सर्जरी र गाईनोक्लोजिष्ट विषयमा चौथो ब्याचमा चार, पाँचौ ब्याचमा नौ र छैटौं ब्याचमा दश गरी २३ विशेषज्ञ डाक्टरका लागि हाल उक्त प्रतिष्ठानमा अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

    एमबिबिएस पहिलो ब्याच ‘पास आउट’

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका एमबिबिएस डाक्टर उत्पादन गरेको छ । प्रतिष्ठानको २०८३ असार ६ गते शुक्रबार प्रकाशित नतिजा अनुसार १८ विद्यार्थी अन्तिम नतिजामा उत्तीर्ण भए । प्रतिष्ठानमा अध्ययनरत पहिलो ब्याचका २० मध्ये १८ विद्यार्थी एमबिबिएस उत्तीर्ण गर्न सफल भएको बताइएको छ ।

    एमबिबिएस पहिलो ब्याच पुरा गर्नुभएकी सिराहकी नुरजाह खातुनले सुर्खेत भनेर बुझेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रहेछ भन्ने त्यहाँ पुगेपछि मात्र थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिमाली भूमि जुम्लाबाट डाक्टर बन्ने अवसर पाउँदा धेरै खुसी लागेको छ । तराईको मान्छे हिमाली जिल्ला जुम्लामा बसेर अध्ययन गर्नु सजिलो थिएन । सुरुमा गाह्रो भयो । अहिले त जुम्ला साँच्चिकैको सुन्दर लाग्छ जसले हामीलाई डाक्टर बन्ने सुवर्ण अवसर प्रदान ग¥यो ।’’

    रुपन्देही बुटबलका समीरराज जोशीले पनि एमबिबिएस अध्ययन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै पुरा गर्नुभएको छ । प्रतिष्ठानको पहिलो व्याचका जोशीले भन्नुभयो,‘‘ कर्णाली आएर अध्ययन गर्न पाउनु हाम्रा लागि ऐतिहासिक अवसर हो । पूर्वाधार र सडकको अझै अभाव भएकाले राज्यले प्राथमिकता दियो भने जुम्ला भविश्यमा स्वास्थ्य पर्यटनको ‘हब’ नै बन्नसक्छ ।’’

    नुरजाह र समीर जस्तै एमबिबिएस पहिलो ब्याचको अध्ययन सम्पन्न गर्नुभएका बैैतडीका हेमलता चन्दले इच्छाशक्तिका अगाडि विकटता र समस्या गौण बन्दारहेछन् भन्ने कुरा प्रतिष्ठानमा पढ्दै गर्दा बोध भएको बताउनुभयो । आफ्नो एमबिबिएस पढ्ने सपना पुरा भएकोप्रति खुसी व्यक्त गर्दै चन्दले भन्नुभयो, ‘‘सुरुमा जुम्ला प्रवेश गर्दा कतै आफूले देखेको सपना तुहिने हो कि भन्ने त्रास थियो । विस्तारै दोस्रो, तेस्रो ब्याच थपिँदै गयो । सङ्कायको पनि साथ सहयोग अति राम्रो तरिकाले पाइयो । साँच्चै भन्नुपर्दा जुम्ला हाम्रो ‘करियर’को जग बनेको छ ।’’

    प्रतिष्ठानका उपकुलपति प्राडा मेन्याङ्म्बोका अनुसार पहिलो ब्याचमा १८ जना उत्पादन हुनु कर्णाली र राज्यका लागि खुसीको सन्देश भएको बताउनुभयो । उहाँले हिमाली क्षेत्रको जुम्लामा स्थापित प्रतिष्ठानले देश तथा विदेशलाई डाक्टर जनशक्ति दिन सुरु गर्नु ऐतिहासिक उपलब्धि भएको जनाउनुभयो । उहाँका अनुसार कर्णालीमा उत्पादन भएका एमबिबिएस डाक्टरहरुले केही महिना जुम्लामा व्यावहारिक अभ्यास ९इन्टर्नशीप० गर्नेछन् । एक वर्षको इन्टर्नशीपपछि नेपाल मेडिकल काउन्सिलको परीक्षा दिएर सफल भएपछि आधिकारिक डाक्टर बनेर चिकित्सकीय सेवामा लाग्ने उहाँले बताउनुभयो । प्रतिष्ठानका अनुसार अहिले जुम्लामा डाक्टरी पढ्न भारतीय नागरिक पनि आउन थालेका छन् ।

    प्रतिष्ठानमा एमबिबिएस अध्यापनरत सहायक प्राध्यापक लोकजन सिंहले कर्णाली प्रतिष्ठानमा अब छैटौं ब्याच चलिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो ब्याचमा २० जना, दोस्रो र तेस्रो ३०÷३० जना, चौथो, पाचौ र छैटौं ब्याजमा ५०र५० जनाका दरले गरी २३० जना एमबिबिएस डाक्टर अध्ययन गरिरहेका छन् । २०७८ मंसिर २६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा एमबिबिएस कक्षाको औपचारिक उद्घाटन गर्नुभएको थियो । उतिबेलादेखि आजसम्म प्रतिष्ठानले निरन्तर छैटो ब्याचसम्म पढाई गरिरहेको छ । प्रतिष्ठानका उपकुलपति मेन्याङ्म्बोले आगामी वर्षमा एमबिबिएसको थप कोटाका लागि सरकारसँग माग गरिने बताउनुभयो ।

    प्रतिष्ठानले एमबिबिएस डाक्टर उत्पादन गर्न थालेपछि यहाँका नागरिक तथा सरोकारवालाहरुले पनि खुसी व्यक्त गरेका छन् । कर्णाली स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका संस्थापक तथा पहलकर्ता संविधानसभा सदस्य नरेश भण्डारीले हिजो सामान्य स्वास्थ्यकर्मी नपाउने जुम्लाले एउटा अत्यासलाग्दो कालखण्ड पार गरेर आज विशेषज्ञ डाक्टर उत्पादन गरी देश तथा विदेश निर्यात गर्ने सक्षमता राख्ने विषय चानचुने नभएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘‘संसारमा असम्भव भन्ने कुनै चिज छैन । इच्छाशक्तिका अगाडि जस्तासुकै चुनौतीका पहाडहरु मैदानमा परिणत हुन सक्छन् । नेपालको सन्दर्भमा मानव विकास सूचाङ्क बदल्न पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ठूलो योगदान रहेको छ । यद्यपि यो संरचना निर्माण हुने र यसले मुलुकलाई नै चिकित्सकीय सेवा दिने जनशक्ति उत्पादन गर्ला भन्ने कुरा सम्भव ठानिएको थिएन, जुन आज सम्भव भएको छ ।”

    नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले स्वास्थ्य क्षेत्रको विकासमा मात्र नभई कर्णालीको आर्थिक तथा सामाजिक रुपान्तरणमा प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । ‘‘हिजो उपचारका लागि लाखौं खर्च गर्नुपथ्र्यो । आज यहीँ उपचार सम्भव भएको छ । उतिबेला एक जना मेडिकल अधिकृतका लागि सरकारसँग हारगुहार गर्नुपर्ने बाध्यता भोगेको जुम्लाले आज आफै विशेषज्ञ डाक्टर उत्पादन गरेको छ’’, उहाँले भन्नुभयो, प्रतिष्ठानमा स्कुल अफ मेडिसिन, स्कुल अफ नर्सिङ र स्कुल अफ पब्लिक हेल्थ तीन वटा विधामा अध्ययन हुने गर्दछ । स्कुल अफ मेडिसिनमा एमबिबिएस र बि–फर्मा इन क्लिनिकल फार्मेसी पढाई भइरहेको छ । नर्सिङमा मिडवाफ्री स्नातक र बिएन समेत अध्ययन भइरहेको छ । यसैगरी स्नातकोत्तर तहका विभिन्न विषय पढाई भइरहेको छ ।

    भारतीय आठ विद्यार्थी एमबिबिएस अध्ययन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डाक्टर पढ्न छिमेकी देश भारतबाट पनि आठ विद्यार्थी अध्ययन गरिरहेका छन् । एमबिबिएस चौथो ब्याचमा उत्तराखण्ड, मध्यप्रदेश र जम्मु काश्मीरबाट एक÷एक जना अध्ययन गरिरहेका छन् । त्यस्तै, छैटौं ब्याचमा पाँच भारतीय विद्यार्थीहरु एमबिबिएस डाक्टर अध्ययन गरिरहेका छन् ।

    ब्याचलर इन क्लिनिकल फार्मेसीको पहिलो ब्याज ११ जना पास आउट भइसकेका छन् । दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं ब्याजमा क्रमश १७, १७, १६, १४, १४ गरी ७८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । त्यस्तै, ब्याचलर अफ मिडवाईफेरी साइन्समा पहिलो, दोस्रो, तेस्रो र चौथो ब्याजका ६, ९ ७, ८ गरी ३० जना विद्यार्थी पास अउट भएका छन् भने पाँचौमा पाँच र छैटौंमा एक जना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

    ब्याचलर अफ नर्सिङ साइन्समा पहिलो ब्याजमा सात र दोस्रो ब्याजमा १५ जना पास आउट भएका छन् । तेस्रो, चौथो, पाँचौ र छैटौं ब्याजमा क्रमशः १२, १४, १३, १३ गरी ५२ जना अध्ययनरत छन् । बीएस्सी नर्सिङमा पहिलो, दोस्रो र तेस्रो ब्याजमा क्रमशः २०, १९, २० गरी ५९ जना अध्ययन गरिरहेका छन् ।

    स्कुल अफ पब्लिक हेल्थको स्नातकोत्तर तहको पहिलो ब्याचमा पाँच जना पास आउट र दोस्रो र तेस्रो ब्याजमा पाँच÷पाँच जना अध्ययनरत छन् । स्नातक तहको पहिलो, दोस्रो, तेस्रो र चौथो ब्याचमा क्रमशः २०, १८, ८, ११ गरी ५७ जना पास आउट भएका छन् भने पाँचौ, छैटौं, सातौं र आठौं ब्याचमा १३, १४, १५, १५ गरी ५७ जना अध्ययनरत छन् ।

    स्कूल अफ फार्मेसीअन्तरगत स्नातकोत्तर तहको पहिलो ब्याचमा दुई जना पास आउट र दोस्रो ब्याचमा एक जना अध्ययनरत छन् । ब्याचलर इन क्लिनिकल फार्मेसीको पहिलो ब्याचमा ११ जना पास आउट भएका छन् । दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौं ब्याचमा क्रमश १७, १७, १६, १४, १४ गरी ७८ जना विद्यार्थी अध्ययन गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

  • चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    गोरखा, २ भदौः उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण बनेको छ । गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल यस वर्षको वर्षायाममा माथिबाट ढुङ्गा खसेपछि क्षतिग्रस्त भएको हो । पुल जीर्ण भएपछि चुमनुब्री–६ र वडा नं ७ का बासिन्दालाई आवतजावतमा जोखिम भएको छ ।

    केही दिनअघि पहाडबाट खसेको ठूलो ढुङ्गाले पुलमा क्षति पु¥याएको चुमनुब्री–६ लोक्पाका सेराप गुरुङले जानकारी दिए । चुमनुब्री–६ का कार्यवाहक वडाध्यक्ष ठिले ग्याजो लामाले पुलको छेउका केही जिप भत्किएको र पुललाई आड दिएका ढुङ्गासमेत खसेको बताए । उनका अनुसार केही दिनअघि पुलको डेक, छेकबार तथा रेलिङमा प्रयोग गरिएको तारजालीमा क्षति पुगेको छ । “पहिले पनि बेलाबेलामा ढुङ्गा खस्ने समस्या हुँदै आएको थियो । अब पर्यटक आउने र चाडपर्वको समय सुरु हुन लागेकाले पुल जतिसक्दो छिटो मर्मत गर्नुपर्छ”, उनले भने ।


    सदरमुकामबाट टाढा रहेको चुमनुब्री–६ को लोक्पामा निर्माण गरिएको क्यान्टिलिभर पुल वडा नं ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका बस्तीमा पुग्ने प्रमुख माध्यम हो । समयमै पुल मर्मत नगरे स्थानीयवासीलाई थप समस्या हुने चुम्लिङका गोपाल लामाले बताए । “पुल नहुने हो भने गाउँपालिकाको केन्द्र फिलिम पुग्न हामीले अर्को बाटो घुमेर एक दिन थप यात्रा गर्नुपर्छ । बिरामी तथा घाइतेलाई झनै समस्या हुन्छ”, उनल भने ।


    ढुङ्गा खसेपछि चुमनुब्री–७ छेकम्पारको चौँरीखर्क खण्डसमेत जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् । छेकम्पार पुग्न चौँरीखर्कको भिर हुँदै जानुपर्ने र माथिबाट ढुङ्गा खसिरहँदा बाटोमा लगाइएको तारबारसमेत भत्किएको स्थानीय गोपाल लामाले बताए । हालै छेकम्पारसँग तिब्बत जोड्ने नाकासमेत खुलेको छ । नाका खुलेपछि स्थानीयले तिब्बततर्फ दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न जाने गरेका छन् । तर, ठाउँठाउँमा बाटो जोखिमपूर्ण बनेकाले आवतजावतमा समस्या भएको लोक्पाका सेराप लामाले बताए । उनले जोखिम मोलेर आवतजावत गर्नुपरेको बताउँदै सडक र पुल समयमै मर्मत नगरे पर्यटकीय मौसममा थप समस्या हुने उल्लेख गरे ।


    क्यान्टिलिभर पुल मर्मतका लागि चुमनुब्री गाउँपालिकाले बजेट विनियोजन गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए । उनका अनुसार गाउँसभाको निर्णयबाट पुल मर्मतका लागि रु १५ लाख विनियोजन गरिएको छ । “पुलको अवस्था जोखिमपूर्ण छ । अहिले मानिस र खच्चड जोखिम मोलेर आवतजावत गरिरहेका छन्”, उनले भने, “अबको केही दिनभित्रै पुल मर्मतको काम सुरु हुन्छ ।”

  • लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक


    मुस्ताङ, २ भदौः उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहकार्यमा पर्व सुरु भएको हो । खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदिला हुने समयमा मनाइने यार्तुङ धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा स्थापित छ । ‘यार’को अर्थ बर्खा र ‘तुङ’को अर्थ मनाउनु भन्ने स्थानीय बुझाइ छ । यो पर्व उपल्लो मुस्ताङमा पुस्तौँदेखि मनाउँदै आएको जनविश्वास छ ।

    बारागुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि उपल्लो मुस्ताङसम्मका स्थानीयले यार्तुङलाई विशेष पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । पर्वमा घोडा दौड, स्थानीय नाचगान, खानपान तथा विभिन्न सांस्कृतिक गतिविधि हुने गर्छन् । लोमान्थाङमा आयोजित पर्वको पहिलो दिन मुस्ताङी २६ औँ सांस्कृतिक राजा जिग्मे परवल विष्टको उपस्थितिमा कार्यक्रम सुरु गरिएको थियो । तीन दिनसम्म चल्ने पर्वको दोस्रो दिन मङ्गलबार मुस्ताङी सांस्कृतिक राजा रानीको उपस्थितिमा कार्यक्रम हुने तथा अन्तिम दिन लोमान्थाङका विभिन्न गुम्बाका लामाको उपस्थितिमा धार्मिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

    लोमान्थाङ–५ का वडाध्यक्ष लाक्पा वाङ्दी गुरुङका अनुसार यार्तुङ पर्वको पहिलो दिन मुस्ताङी सांस्कृतिक राजाको भूमिका महत्वपूर्ण हुन्छ । पर्वको पहिलो दिन लोमान्थाङ बजार क्षेत्रबाट करिब दुई किलोमिटर दूरीमा घोडा दौड आयोजना गरिएको थियो । घोडा दौडका क्रममा स्थानीय चार समाजले बाटोमा राखेका मिठो रोटी, याकको टाउकोको आकृति, प्लास्टिकका ऐना र च्याङ्ग्राको खुर ढुङ्गाले हानेर फुटाउने सांस्कृतिक चलनसमेत प्रदर्शन गरिएको स्थानीय भिछिरिङ गुरुङले जानकारी दिए ।


    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको यार्तुङको संरक्षण तथा प्रवर्द्धनका लागि गाउँपालिका र एक्यापले संयुक्त रूपमा आयोजना तथा व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।

    पछिल्लो समय युवा विदेशिनेक्रम बढेकाले स्थानीय परम्परा र संस्कृति संरक्षण गर्न पर्वलाई व्यवस्थित र सभ्य रूपमा मनाउन जोड दिइएको उनको भनाइ छ । यार्तुङ पर्वको पहिलो दिन स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ पुगेर पर्वको अवलोकन गरेका थिए । पर्वका अवसरमा विदेशी पर्यटकको उपस्थिति बढेको स्थानीयले बताएका छन् ।

    मुस्ताङको बारागुङ मुक्तिक्षेत्रदेखि माथिल्लो क्षेत्रसम्म मनाइने विभिन्न चाडपर्वमा घोडाचढी संस्कृति महत्वपूर्ण मानिन्छ । यस पर्वको विशेषता भनेकै घोडादौड हो । घोडचढीबिना स्थानीय चाडपर्व अपूरो हुने स्थानीय भिछिरिङ गुरुङले बताए । यार्तुङ पर्वको दोस्रो दिन घोडा दौड प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । घोडा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु दुई लाख ५० हजार, रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

  • सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण


    रासस
    सुनसरी, २ भदौः भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गर्नुभएको छ । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भन्नुभयो, “जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।”

    यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थालेको छ । उहाँले वार्षिक १५ देखि २० क्विन्टलसम्म जुट उत्पादन गर्दै आउनु भएको छ । यसबाट रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । तयार भएको जुट बिक्रीका लागि बजारको समस्या नरहेको र स्थानीय व्यापारीले खेतमै पुगेर खरिद गर्ने गरेको उहाँको भनाइ छ ।

    जुटको मूल्यमा वृद्धि हुनुका साथै उद्योगबाट माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण बढेको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा जुटखेतीको क्षेत्रफल पनि वृद्धि भएको छ ।

    देवानगञ्ज गाउँपालिका–६ का रमेश यादव भने अरूको खेतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनु भएको छ । उहाँ बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म जुटको रेसा निकाल्ने काम गर्नुहुन्छ । दैनिक रु ६०० ज्याला पाउने गरेको उहाँले सुनाउनुभयो । “आफ्नो बारी छैन, अरूको ज्यालादारीमा काम गर्छु । यसले घरखर्च धान्न केही सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

    सोही ठाउँका किसान वीरेन्द्र मण्डलले १० कट्ठा क्षेत्रफलमा जुटखेती गर्नुभएको छ । अहिले जुट निकाल्ने काम तीव्र रूपमा भइरहेकाले उहाँले एक जना मजदुरलाई ज्यालामा काममा लगाउनु भएको छ । उहाँले भन्नुभयो, “एक कट्ठामा दुईदेखि तीन मनसम्म जुट उत्पादन हुन्छ । हाल प्रतिमन पाँच हजार पाँच सयसम्ममा जुट बिक्री भइरहेको छ ।” जुटको बीउ इटहरीस्थित जुट अनुसन्धान केन्द्र तथा भारतबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

    जुट अनुसन्धान केन्द्र इटहरीका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वी नेपालका अधिकांश किसानले केन्द्रबाटै बीउ तथा प्राविधिक सहयोग लिने गरेका छन् भने केही किसानले भारतबाट बीउ खरिद गर्ने गरेका छन ।

    विगतमा नेपाली जुट उद्योगलाई आवश्यकपर्ने करिब ८५ प्रतिशत कच्चा जुट बङ्गलादेश र भारतबाट आयात हुने गरेको थियो । पछिल्लो समय स्थानीय उत्पादनमा बढोत्तरी भएपछि आयात कम हुन थालेको छ । सोही कारण यस वर्ष किसानले उल्लेख्य मात्रामा खेती गरेका छन् ।

    किसानलाई जुटखेतीतर्फ आकर्षित गर्न अनुसन्धान केन्द्रले झारपात नियन्त्रण र रेसा निकाल्ने प्रविधिमा सहयोग गर्दै आएको छ । जुटखेतीमा झारपात प्रमुख समस्या भएकाले ‘सनराइज’ र ‘एजिल’ विषादी प्रयोग गरी नियन्त्रण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

    जुट कुहाउने र धुने काममा अनुसन्धान केन्द्रले डिजेल तथा विद्युतबाट सञ्चालन हुने मेसिन प्रयोगमा ल्याएको छ । यी मेसिनबाट रेसा छुट्याउने र धुने काम सहज भए पनि मेसिन प्रयोग गर्दा जुटको डाँठ धुलो हुने भएकाले अधिकांश किसानले प्रयोग नगरेको उहाँले बताउनुभयो । “किसानले जुटको डाँठ दाउरा तथा बिक्री गरेर आम्दानीसमेत गर्ने भएकाले मेसिन प्रयोग गर्न अप्ठ्यारो मानेका छन्”, उहाँले भन्नुभयो ।

    जुट अनुसन्धान केन्द्रलाई वार्षिक रु एक करोडभन्दा बढी बजेट विनियोजन हुँदै आएको छ । पछिल्लो समय कोशी प्रदेश सरकारले पनि जुटखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । थप सरकारी योजना र प्रोत्साहन उपलब्ध भएमा आगामी वर्षमा उत्पादन अझै वृद्धि हुने केन्द्रले जनाएको छ ।

    कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१८२ मा सुनसरी जिल्लामा एक हजार ३०८ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । आव २०८२\८३ मा एक हजार ३३४ हेक्टरमा जुटखेती गरिएको छ ।

    जुटको मूल्य वृद्धि र माग बढेकै कारण किसानको आकर्षण बढेको छ । जिल्लामा देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी, हरिनगर र इनरुवालगायत क्षेत्रमा बढी जुटखेती हुँदै आएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

  • बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित


    रासस
    म्याग्दी, २ भदौः बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । यस्तै, २० मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन् । सडकमार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धवलागिरि गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना प्रभावित भएका हुन् । कुल ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएको छ ।

    यसैगरी, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्कविच्छेद भएको छ । नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढी बाँधमा थुप्रिँदा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना गत असार अन्तिम सातादेखि बन्द भएको छ ।

    गत साउन २६ गते सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका–६ मा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन ठप्प भएको छ । उक्त पहिरोमा पुरिएर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

    अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले घुमाउने (फापरखेत), बाङ्गेपहिरो, इल्पुमा पहिरो र शिवरात्रि खोलामा बाढी आएपछि गत असार महिनादेखि सिमेन्ट, रडजस्ता निर्माण सामग्रीका साथै उपकरण बोकेका गाडीहरु आयोजना निर्माणस्थलमा पुग्न नसकेका बताए । “भएका उपकरण र मौजुदा निर्माण सामग्री परिचालन गरेर कामलाई निरन्तरता दिएका छौँ”, उनले भने, “बाढीपहिरोका कारण निर्माण सामग्री ढुवानी प्रभावित हुँदा अपेक्षाकृत गतिमा काम गर्न सकेका छैन ।”

    शिवरात्रिखोलामा पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित मोटरेबल पुल निर्माण योजनामा ढिलाइ हुँदा बर्खायाममा सवारीसाधन वारपार गर्न समस्या भएको छ । खोलामा बाढीको सतह बढ्ने, पहुँचमार्गमा पहिरो खस्ने समस्याले निर्माण कार्यमा असर परेको म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले जानकारी दिए ।
    “वैकल्पिक उपाय र मौजुदा सामग्री परिचालन गरेर काम गर्नुपर्दा निर्माणको गतिमा असर परेको छ”, उनले भने, “डोजरको सहायताले सामान ढुवानी गर्ने गाडी तार्ने, पहिरो पन्छाउँदै सवारीसाधन पार गराउँदै गर्नुपर्ने बाध्यता छ ।” साठी प्रतिशत भौतिक प्रगति भएको ३७ मेगावाटबाट क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाउने प्रक्रियामा रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले पनि बाढी पहिरोका कारण निर्माण कार्यमा असर परेको जनाएको छ ।

    बेनी–दरबाङका साथै दरबाङ–धारापानी–ताकम–मुना सडकमा पर्ने थापाचौर, गौथली, दाचौर भिरको पहिरोका कारण निर्माण सामग्री ढुवानी गर्न नपाएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताए ।

  • बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    काभ्रेपलाञ्चोक, २ भदौः बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ । योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हाल मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको छ ।

    सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ । डिपिआरअनुसार सडक विस्तारमा रु तीन अर्ब ७९ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ । सडक कालोपत्र गर्न प्रतिकिलोमिटर रु १८ करोड पाँच लाख खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

    सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताए । विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ । विसं २०८१ असोजमा आएको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकामा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ ।

    क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढाइएको छ । काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक सडकखण्डका लागि रु एक अर्ब बराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ ।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) निर्माण सुरु गरिएको थियो । एक सय ६० किलोमिटर लामो उक्त राजमार्ग निर्माण सम्पन्न भएपछि विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो ।

  • सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    म्याग्दी, २ भदौः विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ । दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गरे । व्यापार राम्रै चले पनि २१ वर्षपछि उनी फेरि आफ्नै जन्मथलो फर्किए । अहिले मालढुङ्गा–बेनी सडक छेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहेका छन् ।

    फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको अनुभव, सहरको व्यवसाय र गाउँको माटोलाई जोडेर उद्यम गरिरहेका चिरञ्जीवीको जीवनयात्रा धेरैका लागि अनुशरणयोग्य बनेको छ । “एसएलसीसम्मको अध्ययन गरी रोजगारीको लागि १० वर्ष कतारमा बिताएर फर्किएपछि बुबा सुवास र आमा मीनाले गर्दै आएको तरकारीखेतीलाई बजारीकरणमा साथ दिन बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाए”, उनले भने, “बजारको व्यापार सन्तोषजनक र सफल भए पनि २१ वर्षपछि जन्मथलो फर्किएर बुबाआमासँगै सात महिनाअघि सुरु गरेको फार्मबाट उत्साही छु ।”

    आफन्तको तीन रोपनी जग्गा भाडामा लिएर रु २५ लाख लगानीमा हाँस, कुखुरापालन र व्यवसायका लागि संरचना बनाएका श्रेष्ठ परिवारले थप चार रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारीखेती गरेका छन् । बुबाआमाले फर्सेमा उत्पादन गरेको तरकारी बागलुङमा बजारीकरण गरेका चिरञ्जीवी र उहाँकी श्रीमती रितुले रामरेखामा घर बनाए । एक जना छोरालाई उच्च शिक्षा अध्ययनका लागि क्यानडा पठाउनुभएको छ भने अर्का छोरा काठमाडौँमा आइटी विषयमा स्नाकोत्तर अध्ययन गरिरहेका चिरञ्जीवीले बताए ।


    तरकारीको तुलनामा सजिलो हुने र धौलागिरि क्षेत्रमा नयाँ भएकाले हाँस र कुखुरापालन सुरु गरेको श्रेष्ठले बताए । “दुई चरणमा प्रतिकिलो रु छ सयका दरले करिब चार सय हाँस बिक्रीबाट भएको आम्दानीले सात महिनाको दाना खर्च उठ्यो, एक सय वटा लोकल कुखुरा पनि बिक्री गरेको छ”, उनले भने, “सुरुआती आम्दानीले उत्साही बनाएको छ ।”

    उहाँको फार्ममा हाल चार सय ५० वटा हाँस र एक सय ५० लोकल साकिनी र कोइलर जातका कुखुरा छन् । दुई वटा गाई पालेका उनिहरुले दैनिक छ लिटर दूध बिक्री गर्छन् । कुखुरा र हाँसको अण्डा पनि बिक्री हुन्छ । म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजार नजिकै भएकाले हाँस र कुखुरालाई बजारको समस्या छैन् ।

    उनले चिनियाँ मसकोवी जातको हाँस पालेका छन् । तीन महिना पालेपछि तीन किलोग्रामभन्दा बढी तौल हुन्छ । श्रेष्ठले हाँसको चल्ला पनि आफ्नै फार्ममा उत्पादन गर्न थालेका छन् । स्थानीयस्तरमै हाँसपालन सुरु भएपछि टाढाको बजारबाट मगाउनु नपरेको बेनी नगरपालिका–१ रत्नेचौरको रेष्टुरेष्ट व्यवसायी दिनेश रावलले बताए । उनका अनुसार हाँसको मासुको छोइला उपभोक्ताको रोजाइमा परेको छ ।

    चिरञ्जीवीका बुबा सुवास र आमा मीना छोराबुहारीले बूढेशकालमा जन्मथलो फर्किएर साथ र साहरा दिएकोमा खुसी व्यक्त गरे । “एउटा परिवार दुईतिर हुँदा दुःख भएको थियो”, सुवासले भने, “विदेशको राम्रो कमाइ हुने जागीर र बजारको सुविधा त्यागेर छोराबुहारी गाउँ फर्किएकोमा हार्मीलाई गर्व लागेको छ ।”

    तरकारीखेतीलाई निरन्तरता दिने र हाँसपालनलाई थप विस्तार गर्ने चिरञ्जिवीको योजना छ । उनीहरुका छिमेकी सावित्री खत्रीले धेरै मानिसहरु सुविधा र अवसरको खोजीमा बजार झर्ने र विदेशिने गर्दा गाउँबस्ति सुनसान भइरहेको अवस्थामा चिरञ्जीवीले गाउँमै सम्भावना देखाउने प्रयास गरेर सकारात्मक सन्देश प्रवाह गराउनुभएको बताइन् ।

  • मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, २ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना छ ।

    देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

    आज राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

  • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

    चितवन, २ भदौः गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको दियालो बङ्गला अवलोकन गरेका छन् । यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन् । भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आवमा ज्येष्ठ नागरिक १६९ जना र विद्यार्थी एक हजार ५३३ जनाले बङ्गलाको भ्रमण गरेका छन् । २०८१ साल असार २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको यो बङ्गला भरतपुर– १ मा पर्दछ । यहाँ आएका पर्यटकबाट रु २४ लाख ५८ हजार ४०० राजस्व सङ्कलन भएको उनले बताइन् । उठेको राजस्वको ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने गरी सर्वसाधारणका लागि खुला गरिएको हो ।

    यहाँ घुम्न आएका पर्यटकमध्ये जेष्ठ नागरिक, विद्यार्थी, अपाङ्गहरुका लागि रु ५०, स्वदेशी अन्य पर्यटकका लागि रु १०० र विदेशी पर्यटकका लागि रु २०० प्रवेश शुल्क लाग्ने गर्दछ । ट्रष्टको माताहतमा रहेको यो बङ्गला महानगरपालिकाको आग्रहमा सर्वसाधारणका लागि खुला गरिएको थियो ।

    जाडो महिनामा तत्कालीन राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका जनाइएको छ । सिकार खेल्न आउँदा बस्ने ठाउँ यो हो । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । यसको भित्तामा पूर्वराजा महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा तत्कालीन राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

    दरबारमा पाँचवटा खोपी बेडरुम छन् । १ नम्बर खोपी तत्कालीन रत्नराज्यको हो भने २ नम्बर तत्कालीन राजा र ३ नम्बर रानी, ४ र ५ तत्कालीन राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । तत्कालीन राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै तत्कालीन राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ ।

    केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा नेपाल ट्रष्टको एकाइ चलेको छ । तत्कालीन राजपरिवारले प्रयोग गरेका यी संरचना हेर्न सर्वसाधारण लालाहित भएपछि भरतपुर महानगरपालिकाले ट्रष्टलाई आग्रह गरेर सञ्चालनमा ल्याइएको कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताए ।

  • नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

    नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

    काठमाडौँ, २ भदौः टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अष्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यसपटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन् । यही भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेछ ।

    यस्तै, नेपालले यही भदौ ६ मा बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने छ । क्यानका अनुसार अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने तालिका छ ।

  • पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

    पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

    काठमाडौं — पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो। विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ। आवेदन २०८३ भदौ ९ गते शुक्रबारसम्म दिन सकिनेछ।


    पीएचडी प्रवेश परीक्षा २०८३ भदौ १२ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुनेछ। व्यक्तिगत अन्तर्वार्ताको मिति प्रवेश परीक्षाकै दिन घोषणा गरिने विश्वविद्यालयले जनाएको छ। पीएचडीका लागि आवेदन शुल्क रु। ३ हजार तोकिएको छ। इच्छुक उम्मेदवारले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्।

  • दुर्गा प्रसाईको समूहसँग वार्ता गर्न सरकारले बनायो टोली

    दुर्गा प्रसाईको समूहसँग वार्ता गर्न सरकारले बनायो टोली

    २ भदौ, काठमाडौं । सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।

    वार्ता टोलीको सदस्यहरुमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी छन् । यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच गहन छलफल भएको थियो ।

    छलफलमा महाअभियानको मागबमोजिम नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो । सरकारले वार्ताका लागि गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि आएको पत्रसमेत ग्रहण गरेका थिए । छलफलमा महाअभियानका प्रतिनिधि विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा रहेका थिए ।

  • अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

    अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

    काठमाडौँ, १ भदौः काठमाडौँ उपत्यकाभित्र सहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानमा उल्लेख्य प्रगति भएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रगति प्रतिवेदनअनुसार अधिकांश क्षेत्रमा तारको बन्डलिङ गर्ने काम सम्पन्न भए पनि फिनिसिङ, ट्यागिङ र बन्डल बाहिर रहेका खुला तार व्यवस्थापनमा अझै सुधार आवश्यक देखिएको छ ।

    काठमाडौँ उपत्यकाका विद्युत् पोलमा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकका अत्यन्त अव्यवस्थित अवस्थामा रहेका तारले सहरी सौन्दर्यसँगै सुरक्षामा पनि चुनौती थपेको भन्दै सरकारले त्यस्ता तार व्यवस्थापनको अभियान चलाइरहेको छ । त्यस अभियानका क्रममा पहिलो चरणमा प्रमुख छ वटा स्थानमा तार व्यवस्थापन गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिए । पहिलो चरणमा त्रिपुरेश्वर–कलङ्की–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोँगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रका तार व्यवस्थापन गरिएको छ ।

    तार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राधिकरणले गत जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो । उपसमितिमा दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी कार्यालय, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान), नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडका प्रतिनिधि रहेका छन् ।


    सोही दिन एनटीएले १५ दिनको समय सीमा तोकेर सूचना जारी गर्दै सम्बन्धित सेवा प्रदायकलाई तोकिएको रुटमा आफ्ना तारमा अनिवार्य रूपमा पहिचान खुल्ने ट्याग राख्न निर्देशन दिएको थियो । अभियानलाई प्रभावकारी बनाउन गत जेठ १६ गते प्राधिकरणले पुरानो बानेश्वर–गौशाला–चाबहिल रुटमा प्रयोगविहीन तार हटाउने र बाँकी तारमा ट्याग लगाउने काम १० दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो । तर, प्रारम्भिक चरणमै अपेक्षित गतिमा काम अघि बढ्न नसकेपछि प्रत्येक क्षेत्रका प्रमुख अपरेटर अर्थात् ‘लिड अपरेटर’ र फोकल पर्सन तोकेर कामको नियमित अनुगन गर्न थालिएको थियो ।

    त्यसबाट कुन रुटको कामको नेतृत्व कसले गर्ने र समस्याका लागि कसलाई जिम्मेवार बनाउने भन्ने विषय स्पष्ट पार्ने प्रयास भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको त्यस्ता पहलबाट पनि कामले अपेक्षित गति लिन नसकेपछि सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा गत असार ३१ र साउन १५ गते गरी दुईपटक उच्चस्तरीय समीक्षा बैठक बसेको थियो ।

    मन्त्रालयस्तरीय छलफल र निर्देशनपछि प्राधिकरणले नयाँ कार्ययोजना बनाएर तार व्यवस्थापन अभियान अघि बढाउने निर्णय गरेकोछ । त्यसअनुसार सेवा प्रदायकलाई पुनः जिम्मेवारी बाँडफाँड गरी १३ दिने परिमार्जित कार्ययोजना लागू गरियो । त्यसमा कुन सेवा प्रदायकले कुन क्षेत्रमा नेतृत्व गर्ने, कति दूरीमा काम गर्ने, कति पोल व्यवस्थापन गर्ने र कति जनशक्ति परिचालन गर्ने भन्ने विवरणसमेत पुनःनिर्धारण गरिएको थियो ।

    प्राधिकरणको रुटगत अनुगमनअनुसार जडीबुटी क्षेत्रमा तार व्यवस्थापनको काम सम्पन्न भएको छ । अधिकांश तार बन्डलिङ गरिएको भए पनि कामको अन्तिम ‘फिनिसिङ’ भने कमजोर देखिएको जनाइएको छ । त्यस क्षेत्रमा अत्यन्त थोरै स्थानमा मात्र सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राखिएको पाइएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यहाँ बन्डलिङ गरिए पनि ‘केबल लूप’ भने अझै देखिन्छन् । त्यहाँ तारलाई एकै ठाउँमा बाँध्ने काम मात्र नभई प्रत्येक तारको पहिचान र अन्तिम व्यवस्थापन पनि आवश्यक रहेको प्राधिकरणको निश्कर्ष छ ।

    बानेश्वर क्षेत्रमा भने समग्र अवस्था सन्तोषजनक देखिएको प्राधिकरणको मूल्याङ्कन छ । अधिकांश खुला तथा लत्रिएका तार हटाइएका वा व्यवस्थित गरिएका छन् । यद्यपि, केही स्थानमा ट्याग छुटेका छन् । आइस्पानले प्रयोग गरेका केही ट्यागमा च्यातिने समस्या पनि देखिएको छ । त्यस क्षेत्रमा पनि केबल लूप रहेको प्राधिकरणले जनाएको छ ।

    सामाखुसी क्षेत्रमा तार बन्डलिङ गरिएको भए पनि समग्र दृश्य अझै फोहोर तथा अव्यवस्थित अवस्थामै रहेको प्राधिकरणको भनाइ छ । त्यहाँ सबै स्थानमा समान ढङ्गले ट्यागिङ गरिएको पाइँदैन । अर्थात् तार बाँध्ने काम भए पनि तारको पहिचान, लूप व्यवस्थापन र अन्तिम फिनिसिङमा एकरूपता कायम हुन सकेको देखिन्न ।

    त्यस्तै, लाजिम्पाट–त्रिपुरेश्वर रुटमा आंशिक प्रगति भएको छ । अधिकांश क्षेत्रमा तार बन्डलिङ गरिएको भए पनि दरबार हाइस्कुलको विपरीत दिशामा केही खुला तार अझै देखिएका छन् । केही स्थानमा नेपाल टेलिकमका ट्याग देखिएका छन् । केही क्षेत्रमा आइस्पानका ट्याग राखिएको पाइएको छ । तर, समग्र रुटमा ट्यागिङ सम्पन्न हुन सकेको छैन । यस क्षेत्रमा पनि केबल लूप अझै छन् ।

    त्रिपुरेश्वर–कलङ्की रुटमा अभियानको प्रगति तुलनात्मक रूपमा राम्रो देखिएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न भएको छ र तारलाई व्यवस्थित गर्ने काम प्रभावकारी रूपमा अघि बढेको छ । यद्यपि, केही निश्चित स्थानमा बन्डलभन्दा बाहिर खुला तार अझै बाँकी छन् । अन्य रुटको तुलनामा यस क्षेत्रमा ट्यागिङ भने राम्रो देखिएको छ । सेवा प्रदायकका तारमा आवश्यक पहिचान खुल्ने ट्याग सही ढङ्गले राखिएको पाईएको प्राधिकरणले जनाएको छ ।

    कीर्तिपुर क्षेत्रमा पनि तार व्यवस्थापनमा राम्रो प्रगति भएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न गरिएको छ । तर, केही स्थानमा बन्डलभन्दा बाहिर खुला तार बाँकी छन् । ट्यागिङ भने सीमित स्थानमा मात्र गरिएको पाइएको छ । त्यसैले बन्डलिङ सम्पन्न भएको भए पनि ट्यागिङ र अन्तिम फिनिसिङको काम अझै पूरा गर्नुपर्ने देखिएको छ ।

    प्राधिकरणको अनुगमनमा एउटा समान समस्याका रुपमा ‘केबल लूप’ लगभग सबै रुटमा देखिएको छ । जडीबुटीदेखि बानेश्वर, सामाखुसी, लाजिम्पाट–त्रिपुरेश्वर, त्रिपुरेश्वर–कलंकी र कीर्तिपुरसम्मका रुटमा केबल लूपहरू रहेको प्राधिकरणले जनाएको छ । सेवा विस्तार वा मर्मतका लागि केही अतिरिक्त केबल राख्ने अभ्यास भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा यस्ता लूपले फेरि सडकको दृश्य अव्यवस्थित बनाउने जोखिम रहन्छ । त्यसैले तार व्यवस्थापन अभियानमा लूप राख्ने निश्चित मापदण्डसमेत आवश्यक देखिएको छ ।

    त्यस्तै तार व्यवस्थापन अभियानको अर्को प्रमुख कमजोरी ट्यागिङमा देखिएको छ । प्राधिकरणले तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग अनिवार्य गरे पनि सबै रुटमा समान रूपमा ट्यागिङ हुन सकेको छैन । कतिपय क्षेत्रमा ट्याग नै नभएको, कतिपय ठाउँमा ट्याग छुटेको र केही स्थानमा ट्याग च्यातिएको पाइएको छ । ट्यागिङ प्रभावकारी नहुँदा भविष्यमा बिग्रिएको वा प्रयोगविहीन तार कुन कम्पनीको हो भनेर पहिचान गर्न पुनः समस्या आउन सक्छ ।

    त्यसैले तार व्यवस्थापनसँगै ट्यागिङलाई अनिवार्य र स्थायी व्यवस्थापन प्रणालीका रूपमा लागू गर्नुपर्ने देखिएको छ । अधिकांश रुटमा तार बन्डलिङ भइसकेको भए पनि खुला तार, केबल लूप, असमान ट्यागिङ र कमजोर फिनिसिङका समस्या बाँकी छन् । त्यसैले अबको चरणमा ‘बन्डलिङ सम्पन्न’ भएको घोषणा मात्र नगरी प्रत्येक रुटको अन्तिम निरीक्षण गरेर बाँकी समस्या सच्याउनुपर्ने आवश्यकता देखिएको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै विद्युत् तथा दूरसञ्चार पूर्वाधार निर्माण गर्दा भविष्यमा तार पुनःजथाभावी फैलिन नदिन साझा पूर्वाधार तथा भूमिगत युटिलिटी डक्टको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि प्राधिकरणले औंल्याएको छ । सरकारले यसअघि पनि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा अव्यवस्थित तार हटाउने अभियान सञ्चालन गर्दै आएको थियो । तर, नयाँ तार थपिँदै जाने र पुराना तार समयमै नहटाउने प्रवृत्तिका कारण समस्या पुनः दोहोरिँदै आएको छ ।

  • संसद् बैठक व्यवस्थित बनाउन रास्वपाद्वारा अनुपस्थिति आवेदन अनिवार्य

    संसद् बैठक व्यवस्थित बनाउन रास्वपाद्वारा अनुपस्थिति आवेदन अनिवार्य

    काठमाडौँ, १ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सांसदको अनुपस्थिति तथा बैठकबाट बाहिरिनुपर्ने कारणका लागि अनिवार्य रूपमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

    रास्वपाद्वारा आफ्ना सांसदलाई पठाइएको निर्देशनअनुसार संसद् बैठकमा पूर्ण रूपमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बीचमा छाड्नुपर्ने वा बैठकका क्रममा बाहिर गएर पुनःफर्किनुपर्ने अवस्थामा ‘संसद् बैठक अनुपस्थित आवेदन फारम’ अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको हो ।

    पार्टीले कुनै कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने वा माथि तोकिएकामध्ये कुनै पनि अवस्था आएमा अनिवार्य रूपमा आवेदन पेस गर्न सांसदलाई निर्देशन दिएको छ । यसका लागि पार्टीले अनलाइन आवेदन फारमको व्यवस्था गरेको रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

  • संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

    संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

    काठमाडौँ, १ भदौः प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिए ।

  • सबै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, यी कागजात पुग्छन् व्यक्तिको घरसम्मै

    सबै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, यी कागजात पुग्छन् व्यक्तिको घरसम्मै


    काठमाडौँ, १ भदौः जिल्ला हुलाक कार्यालय हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्लाबीच सरकारी कागजात घरघरमै पुर्याउने विषयमा सम्झौता भएको छ । हुलाक सेवालाइ ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने सरकारी अभियानअन्तर्गत सो सम्झौता भएको हो । हाल ७७ वटै जिल्लामा सरकारी कुरियर सेवा पुगेको छ । मन्त्रिपरिषद्को पहिलो निर्णयले हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने उद्देश्य राखेको थियो । हुलाक सेवा विभागले सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्याउन सुरु गरिसकेको छ ।

    हुलाक सेवा विभागले २०८३ भदौ १ गतेसम्म ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दुई लाख ५१ हजार ५०१ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ । तीमध्ये आठ हजार ७१२ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याएर वितरण गरिएको छ । त्यसैगरी, सवारीचालक अनुमतिपत्रतर्फ यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान अनुमतिपत्र सातवटै प्रदेशका यातायात व्यवस्था कार्यालयमा हुलाकमार्फत पु¥याइएको छ ।

    तीमध्ये एक हजार ९९ थान अनुमतिपत्र सेवाग्राहीको घरदैलोमै पुर्याइएको विभागले जनाएको छ । सवारीचालक अनुमतिपत्र घरदैलोमै पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय, सुर्खेतबीच समझदारीपत्रमा हस्ताक्षर भई सेवा सुरु भइसकेको छ ।

    सुदूरपश्चिम प्रदेशमा पनि यस्तै सेवा विस्तार गर्न अन्तिम तयारी भइरहेको विभागले जनाएको छ । शैक्षिक प्रमाणपत्र घरदैलोमै पु¥याउने व्यवस्थाअन्तर्गत नेपाल खुला विश्वविद्यालय र हुलाक सेवा विभागबीच गत असार ८ गते सम्झौता भई सेवा कार्यान्वयनमा आएको छ ।

    त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सम्झौताका गर्न छलफल भइरहेको छ । स्वास्थ्य क्षेत्रमा पनि हुलाक सेवाको प्रयोग विस्तार भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सम्झौताअनुसार १७ वटा अस्पतालका एक हजार ५१० वटा प्रयोगशाला नमूना ढुवानी गरिएको छ ।

    स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रसँग भएको सम्झौताअनुसार ४४ हजार १८४ थान सामग्री हुलाकमार्फत् ढुवानी गरिएको छ । स्वास्थ्य बीमा बोर्डसँगको सम्झौता अनुसार १४२ बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ ।

    हाल सिमकार्डबाहेक नेपाल टेलिकमका अन्य सामग्री पनि हुलाक सेवामार्फत ढुवानी भइरहेको छ । भूमि व्यवस्था तथा अभिलेख विभाग र हुलाक सेवा विभागबीच साउन ८ गते सम्झौता भई जग्गाधनी पुर्जा, सरकारी कागजातलगायत सामग्री ढुवानी तथा वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

    हुलाक सेवालाई परम्परागत चिठीपत्र आदानप्रदानको माध्यममा सीमित नराखी सरकारी सेवा तथा कागजात नागरिकको घरदैलोसम्म पुर्याउने भरपर्दो सार्वजनिक सेवा प्रणालीका रूपमा विकास गर्ने प्रयास भइरहेको विभागले जनाएको छ । सेवालाई थप प्रभावकारी, छरितो र कम खर्चिलो बनाउन डाँक मार्गको पुनरावलोकन गरी गत जेठ ३१ गते स्वीकृत गरिएको छ ।

    त्यसैगरी, हुलाक सङ्केत प्रणालीलाई सात अङ्कीय बनाउँदै आन्तरिक निगरानी प्रणालीमा समेत स्तरोन्नति गरिएको छ । वैदेशिक हुलाक सेवालाई सहज बनाउन हुलाक सेवा विभागको समन्वयमा वैदेशिक हुलाक भन्सार कार्यालय र राष्ट्रिय वाणिज्य बैंकका सेवा बिदाका दिनसमेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट वैदेशिक हुलाक सामग्रीको ढुवानीलाई थप छरितो बनाउन त्यहाँ द्रुत जाँच सेवा लागू गरिएको छ । हुलाक सामग्रीको हवाई ढुवानी सहज बनाउन यतिलगायत विभिन्न वायुसेवा कम्पनीसँग सम्झौता तथा पूरक सम्झौता गरिएको छ । नेपाल वायुसेवासँग अन्तरराष्ट्रिय डाँक ढुवानीको रकम भुक्तानीसम्बन्धी विषयमा छलफल गरी नेपाल वायुसेवा र हुलाक सेवा विभागबीच भएको सम्झौता संशोधन गर्ने निर्णय भएको विभागले जनाएको छ ।

    हुलाक सेवालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार व्यवस्थित गर्न अन्तर्राष्ट्रिय हुलाक सङ्घको सन् २०२५ को निर्देशिकाअनुसार पत्र तथा पार्सलसम्बन्धी विवरण अद्यावधिक गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ भने दोस्रो चरणको काम सुरु गरिएको छ ।

    हुलाकको आन्तरिक निगरानी प्रणालीलाई थप स्तरोन्नति गरी राहदानी विभागसँग प्रत्यक्ष जोड्ने विषयमा सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग, केन्द्रीय हुलाक कार्यालय, राहदानी विभाग र परराष्ट्र मन्त्रालयबीच छलफल भएको छ । सरकारको नीति तथा कार्यक्रमअनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने अभियानसमेत अघि बढाइएको छ ।

    यसका लागि आवश्यक मापदण्ड स्वीकृत गरी ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित आधुनिक हुलाकका रूपमा विकास गर्न छनोट गरिएको छ । त्यसैगरी, स्वास्थ्य सेवा विभागसँग औषधिजन्य सामग्री ढुवानीका लागि सम्झौता गर्ने विषयमा प्रारम्भिक छलफल सम्पन्न गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ । गैरकर राजस्व अभिवृद्धि तथा सेवा प्रवाहलाई सहज बनाउन सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा रु ३४ लाख ७४ हजार थान हुलाक टिकट छपाइ गरिएको छ ।

    थप हुलाक टिकट छपाइका लागि डिजाइन स्वीकृत गरी आवश्यक प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । हुलाक सेवाको प्रयोग बढाउन सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय विस्तार गरिएको छ । यस क्रममा द्रुत हुलाक, पार्सल तथा पत्र सेवासम्बन्धी अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

  • जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६

    जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६


    काठमाडौँ, १ भदौः नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ)बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहबाट जेइका सङ्क्रमित भेटिएका हुन् । देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) को केश देखिएकोमा ६३ जनामा जेइ सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो पाँच दिनमा मात्रै नौ जना नयाँ जेइ थपिएका छन् । सङ्क्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् । ६३ सङ्क्रमितमध्ये ३१ जना उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ ।

    जेइ सङ्क्रमितबाट मृत्यु भएका १६ जनामध्ये सबैले खोप नलगाएको पाइएको छ । मृत्यु हुनेमा नौ महिला र सात पुरुष छन् । मृत्यु भएका १६ जनामध्ये ८८ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको महाशाखाको तथ्याङ्कले देखाउँछ । उमेर समूहअनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा जेइ सङ्क्रमणभन्दा बढी देखिएको छ । जेइबाट मृत्यु भएकामध्ये झापामा पाँच, सुनसरी र सप्तरीमा दुई–दुई तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङमा एक–एक जना रहेका छन् ।

    जेइ सङ्क्रमण नेपालको पूर्वी क्षेत्रमा देखिए पनि पछिल्लो समय पश्चिमतर्फसमेत फैलिँदै गएको छ । महाशाखाको जापानिज इन्सेफलाइटिससम्बन्धी स्थिति प्रतिवेदनअनुसार अधिकांश जेइ सङ्क्रमित धानबारी तथा सुँगुर फार्मको आसपास बसोबास गर्ने गरेका छन् । सङ्क्रमितमध्ये ६२ प्रतिशतको मुख्य पेसा कृषि रहेको पाइएको छ ।

    जेइ लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको मष्तिष्कमा सङ्क्रमण हुने गम्भीर रोग हो । यो भाइरसबाट सङ्क्रमित हाँस, कुखुराजस्ता चरा चुरुङ्गी र सुँगुरजस्ता जनावरहरुलाई लामखुट्टेले मानिसलाई टोेकेमा यो रोग मानिसमा लाग्दछ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म देखिन्छ ।

  • विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ

    विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ


    काठमाडौँ, १ भदौः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, गोँगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।


    प्रहरीका अनुसार बज्राचार्यको साथबाट अमेरिकी डलर चार हजार ३०० तथा पाण्डेको साथबाट पनि सोही बराबरको डलर बरामद भएको छ । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए १५ बाट काठमाडौँबाट क्वालालम्पुर जान लागेका उनीलाई विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद मुद्रासहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको प्रवक्ता सिलवालले बताए ।

  • पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश

    पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश


    काठमाडौँ, १ भदौः सर्वोच्च अदालतले जनआस्था साप्ताहिका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले आज सुनुवाइ गर्दै थुनामा राखिरहनुपर्ने कुनै कारण नदेखिएकाले प्रधान सम्पादक श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश गरेको हो ।

    “जाहेरी दरखास्तमा उल्लिखित तस्बिर जाहेरवाला आफँैले सामाजिक सञ्जाल फेसबुकमा प्रविष्ट गरेको भन्ने देखिएकोमा उक्त तथ्यलाई विपक्षीले लिखित जवाफमा अन्यथा खण्डन गर्न सकेको देखिएन”, आदेशमा भनिएको छ, “थुनामै राखी मुद्दाको तहकीकात अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था विद्यमान देखिएकाले हाजिरी जमानीमा छाडी मुद्दाको अनुसन्धान गर्नू भनी विपक्षी मध्येका जिल्ला प्रहरी परिसर, काठमाडौँको नाउमा परमादेश जारी हुने ठहर्छ ।”

    पत्रकार श्रेष्ठको तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् । सोही निवेदनमाथिको सुनुवाइपछि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अदालतमा पत्रकार श्रेष्ठलाई बरामद गरेका सामग्रीसहित उपस्थित गराउन आदेश दिएको थियो ।

    अदालतले पत्रकार श्रेष्ठको घर तथा कार्यालयबाट बरामद भएको सीयुपी, ल्यापटप, आइप्याड र मोबाइलसमेत फिर्ता दिन भनेको छ । पत्रकार श्रेष्ठलाई पक्राउ गरिए लगत्तै प्रहरीले गत साउन २७ र २८ गते जनआस्था साप्ताहिकको कार्यालय तथा श्रेष्ठको निवासमा छापा मारेर कम्युटर, ल्यापटप लगायतका उपकरण बरामद गरेको थियो ।

  • राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

    राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान


    काठमाडौँ, १ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भारतीयस्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।


    नेपाल र भारतबीच सन् १९५० देखि एक(अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो । तीन दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ आइतबार नेपाल आइपुगेका हुन् । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति थियो ।

  • ३५० रुपैयाँको सामान किनेका ग्राहकले पाए १० लाख पुरस्कार

    ३५० रुपैयाँको सामान किनेका ग्राहकले पाए १० लाख पुरस्कार


    १ भदौ, काठमाडौं । सरकारले कर प्रोत्साहन पुरस्कारको दोस्रो चरणको विजेता घोषणा गरेका छ । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले सो पुरस्कार जितेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आन्तरिक राजस्व विभागले यो घोषणा गरेको हो ।

    साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी भएका हुन् । विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ।
    साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन्।


    यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो। यता, क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ।

    जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक(एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन्। उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन्।यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ ।