Category: फिचर

  • सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

    सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

    काठमाडौँ, १ भदौः सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आएका थिए ।
    सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई निर्देश गरे ।

    यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाए । विपक्षी सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६ अनुसार ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ’ भन्ने प्रावधानबमोजिम आफ्नो गम्भीर ध्यानकर्षण भएको स्पष्ट गरे ।

  • काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो

    काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो


    काभ्रेपलाञ्चोक, १ भदौः खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा खानीखोला –२ को २४ बर्षिया अनिता मोक्तान र खानीखोला–४ को ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

    दुर्घटनामा घाइते काभ्रे बनेपा नगरपालिका–१४ बस्ने २५ बर्षको राहुल तामाङ, खानीखोला–३ का २४ वर्षिय प्रदिप जर्गामगर, खानीखोला–५ का वर्ष नखुलेको बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ बर्षका यसबहादुर तामाङलाई हेलिकप्टरबाट उपचारका लागि आज हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएकोे छ ।

    पनौती–तालढुङ्गा भित्री सडकखण्डमा आज बिहान जीप सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटनामा भएको थियो । सूचना अधिकारी विष्टका अनुसार लामा र रावलको अवस्था गम्भीर रहेको छ । जीप खानीखोलाबाट बनेपातर्फ आइरहेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ । प्रहरीले जीपको ब्रेक–फेल भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

  • नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

    नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी


    काठमाडौँ, १ भदौः नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी भएका छन् । समितिको गएराति सम्पन्न तेस्रो अधिवेशनबाट पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुन् । उनले २६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी सिपी पौडयालले १३८ मत प्राप्त गर्नुभएको निर्वाचन प्रमुख भक्त थापाले जानकारी दिए ।


    यसैगरी, वरिष्ठ उपसभापतिमा विनोद भट्ट, हरिप्रसाद शर्मा, निमा बोम्जम, सञ्जीव श्रेष्ठ र श्रीराम थापा, युवा उपसभापतिमा सुशील खत्री, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार र कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल विजयी भए ।

    यसैगरी, सदस्यमा खेमराज बाँस्तोला, हरिप्रसाद खनाल, राजुप्रसाद रौनियार, देवराम ओली, पवन शर्मा, बलबहादुर केसी, मीनबहादुर खड्का, बेगबहादुर हमाल, लोकनाथ तिम्सिना, विश्वमान आङ्देम्बे, राजेन्द्र रेग्मी, दिनेश डाँगी, नवराज न्यौपाने, रोशनकुमार ढुङ्गाना, नेत्र केसी र अनिल पाण्डे विजयी हुनुभएको निर्वाचन प्रमुख थापाले बताए । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न जनसम्पर्क समितिको अधिवेशन सुरु भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचन भने ११ वर्षपछि भएको हो ।

  • चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने


    बेइजिङ, १ भदौ, (रासस–एएफपी) । चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ प्रस्थान गरेको छ । नयाँ साप्ताहिक सेवाअन्तर्गत सञ्चालन हुने उक्त मार्गले चीन–युरोप समुद्री ढुवानीको समय करिब आधा घटाउने अपेक्षा गरिएको छ । यद्यपि, वातावरणीय समूहहरूले आर्कटिक समुद्री बरफमा यसबाट थप दबाब पर्न सक्ने चेतावनी दिएका छन् । ‘दुबई टावर’ नामक जहाज शनिबार साँझ चीनको पूर्वी बन्दरगाह सहर निङ्बोबाट उत्तरी दिशातर्फ प्रस्थान गरेको हो ।

    जहाज बेरिङ जलमार्ग हुँदै रुसको उत्तरी तटसँगैको आर्कटिक जलमार्गबाट पश्चिमतर्फ जानेछ । ‘सी लेजेन्ड’ले सार्वजनिक गरेको समयतालिकाअनुसार जहाज सेप्टेम्बर ७ मा बेलायतको फेलिक्सस्टो पुग्नेछ । त्यसपछि जर्मनीको ह्याम्बर्ग र पोल्याण्डको ग्दान्स्कमा रोकिनेछ । चीनबाट युरोप जोड्ने उत्तरी समुद्री मार्ग (एनएसआर) स्वेज नहर हुँदै जाने परम्परागत मार्गभन्दा छोटो छ ।

    यसले लालसागर हुँदै जानुपर्ने बाध्यता हटाउँछ, जहाँ यमनका हुथी विद्रोहीले पछिल्ला वर्षहरूमा व्यापारिक पानीजहाजलाई लक्षित गर्दै आएका छन् । तर आर्कटिक मार्ग वर्षको सीमित अवधिमा मात्र आइसब्रेकरको सहयोगबिना सञ्चालन गर्न सकिन्छ, जब समुद्री बरफ पर्याप्त रूपमा पग्लिएको हुन्छ ।


    अन्य अन्तरराष्ट्रिय ढुवानी कम्पनीहरूले पनि यसअघि आर्कटिक मार्ग प्रयोग गरिसकेका छन् । डेनमार्कको मास्र्क सन् २०१८ मा कन्टेनर जहाजमार्फत उक्त मार्ग पार गर्ने पहिलो प्रमुख ढुवानी कम्पनी बनेको थियो । व्यापारिक बीमाकर्ता एलियान्ज कमर्सियलको ढुवानीसम्बन्धी विश्लेषणअनुसार, गत वर्ष २३ वटा कन्टेनर जहाजले उत्तरी समुद्री मार्ग प्रयोग गरेका थिए, जुन सन् २०२४ मा १५ वटा थियो ।
    वातावरणीय समूहहरूले भने छोटो उत्तरी समुद्री मार्गमा जहाजको आवागमन बढ्दा आर्कटिक समुद्री बरफको क्षति थप तीव्र हुन सक्ने चेतावनी दिएका छन् ।

    विश्वव्यापी तापक्रम वृद्धिका कारण यस क्षेत्रको बरफ यसअघि नै तीव्र रूपमा घटिरहेको छ । फ्रान्सको सीएमए सीजीएम, स्विट्जरल्याण्डमा मुख्यालय रहेको एमएससी र जर्मनीको हापाग–लोयडलगायत प्रमुख ढुवानी कम्पनीहरूले आर्कटिक ट्रान्ससिपमेन्ट मार्ग प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । विश्लेषकहरूले आर्कटिकलाई भविष्यमा महत्वपूर्ण विश्व व्यापार मार्गका रूपमा विकास गर्न सकिने बताएका छन् । चीनले पनि ‘पोलर सिल्क रोड’ अवधारणामार्फत आर्कटिक क्षेत्रमा आफ्नो व्यापारिक पहुँच विस्तार गर्ने योजना अघि सारेको छ ।

  • हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु

    हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु


    १ भदौ । बुडापेस्ट । हङ्गेरीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ । पोल्यान्डको नम्बर प्लेट भएको उक्त बस हङ्गेरीको एम–३ राजमार्गमा पूर्वतर्फ गइरहेको अवस्थामा स्थानीय समयअनुसार बिहान करिब १ः०० बजे मेजोकरेसतेस सहरनजिकै सडकबाट तल खसेर खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ । उक्त स्थान राजधानी बुडापेस्टबाट करिब १४० किलोमिटर पूर्वमा पर्छ ।

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण बस अनियन्त्रित भएको हुन सक्ने देखिएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । पोल्यान्डका विदेशमन्त्री रादोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत हङ्गेरीमा पोल्यान्डका पर्यटक सवार बस दुर्घटनामा परेको जानकारी दिँदै आफ्नो मन्त्रालय हङ्गेरीका अधिकारीहरूसँग सम्पर्कमा रहेको बताए ।

    पोल्यान्डका राष्ट्रपति कारोले नाभ्रोस्कीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तप्रति समवेदना प्रकट गरेका छन् । हङ्गेरीका प्रधानमन्त्री पेतर म्याग्यारले सामाजिक सञ्जालमार्फत दुर्घटनामा कम्तीमा १० जना गम्भीर घाइते भएको बताए । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनास्थलमा खटिएका उद्धारकर्मीलाई धन्यवाद दिए ।

  • बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बाजुरा, १ भदौः धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो ।

    बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक घुइँचो हुने भन्दै अगाडिदेखि नै सुरु गरिएको बताए । बडीमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुन्छ । मुख्य पुजारी पाध्यायका अनुसार गत वर्ष मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए ।

    हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ आउने परम्परा छ । डोटीबाट सरकारी पूजा सामग्री ९पेटारो० सहित टोली यसअघि साउन २८ गते नै हिँडिसकेको छ ।

    यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेकाले पनि सङ्ख्या बढ्ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले बताए । बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी भइरहेको जानकारी दिए । त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका उनले बताए ।


    “मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको छ । मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको छ”, उनले बताए । यहाँ आउने दर्शनार्थीमा लेक लागे, बिरामी परे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था निमित्त जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताए । त्यसका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने उनले जानकारी दिए ।


    यस वर्ष मेला अगावै सञ्चार सम्पर्क सहज बनाउन टेलिकमको फोरजी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । मौसम खराबीका कारण सामग्री ढुवानीमा ढिलाइ हुँदा टावर निर्माण कार्य प्रभावित भएको छ । यसअघि सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।


    भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पु¥याउन कठिन भएपछि यही साउन २६ गते हेलिकप्टरमार्फत उपकरण सामग्री बडीमालिकाको त्रिवेणी पाटनमा पु¥याइएको थियो । फोरजी टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा करोडौँका उपकरण ढुवानी गरे पनि जडान गर्ने प्राविधिक टोली जाने टुङ्गो नलाग्दा काम अलपत्र छ ।

    नेपाल टेलिकम दूरसञ्चार कार्यालयका प्रमुख ईश्वर सिंहले टावर निर्माणका लागि प्राविधिक टोली एक हप्ता बसेर फर्किएको बताए । बडीमालिकामा उपकरण पुग्नुभन्दा एक हप्ता अगाडि नै प्राविधिकको टोली त्यहाँ पुगेको थियो, तर मौसम खराबका कारण समयमै सामान नपुगेपछि टोली फिर्ता भएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बडीमालिका नगरपालिकाले त्रिवेणी पाटनबाट टावर निर्माण स्थलसम्म सामान पु¥याउन टोली खटाइसकेको बताए । उनले मेला अगाडि नै सञ्चार सुविधा उपलब्ध हुने बताए ।


    विगतका वर्षभन्दा पछिल्लो समय बडीमालिकाको प्रचारप्रसार तथा पर्यटकको आकर्षण बढ्दै गएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताए । “यसअघि पनि दैनिक रुपमा पर्यटकहरु आइरहन्थे, अहिले मेला नजिकिएसँगै आजबाट पूजा पनि सुरु गरेकाले बडीमालिका जाने पर्यटक तथा भक्तजनको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ,” उनले भने ।


    रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई ‘नेपालको स्विट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि पनि यो क्षेत्र थप चर्चामा आएको हो । समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित भू–स्वर्ग बडीमालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई धार्मिक आस्थाको पनि अद्भुत सङ्गम हो । हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरे पनि अन्य समयमा पनि पर्यटक बडीमालिका पुग्ने गरेका छन् । यहाँको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वास रहिआएको छ ।

    मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीबेती, विष्णुपानी, धर्मद्वार बडीमालिका क्षेत्रका प्रसिद्ध स्थल हुन् । खेतिबेती क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती पाइन्छ । यहाँ डाँफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् । हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउने क्रम बढ्दै गएको छ ।

  • इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी


    लाबुआन बाजो, १ भदौ, (रासस–एपी) । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन् । भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । हजारौँ मानिस विस्थापित भएका छन् ।


    राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ । सिक्का, न्गाडा र एन्डे क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ । फ्लोरेस टापुका छ क्षेत्रमा भूकम्पपछि गएको पहिरोमा मानिस पुरिएको आशङ्कामा उद्धारकर्ताले खोजी गरिरहेका छन् ।


    अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार सात दशमलव सात म्याग्निच्युडको भूकम्प पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट उत्तर–उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको थियो । भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले फ्लोरेस टापुको अधिकांश भाग हल्लाएको थियो । यसको धक्का छिमेकी पश्चिमी नुसा तेङ्गारा र दक्षिणी सुलावेसीका केही क्षेत्रमा पनि महसुस गरिएको थियो ।


    विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पबाट ९०० भन्दा बढी घर ध्वस्त भएका छन् भने करिब ४५० घरमा क्षति पुगेको छ । करिब पाँच हजार मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् । शक्तिशाली परकम्पको डरले अन्य हजारौँ बासिन्दाले रात खुला आकाशमुनि बिताएका छन् । विद्यालय, स्वास्थ्य केन्द्र र चर्चलगायत कम्तीमा १६७ सार्वजनिक संरचनामा क्षति पुगेको छ ।


    राहतकर्मीले चामल, तयारी खाना, खानेपानी, कम्बल र औषधि वितरण सुरु गरेका छन् । विस्थापितका लागि आपत्कालीन आश्रयस्थल निर्माण भइरहेको छ ।
    अधिकारीहरूले विद्युत् तथा सञ्चार सेवा पुनःस्थापना गर्नु र पहिरोका कारण सम्पर्क विच्छेद भएका दुर्गम गाउँमा राहत पुर्याउनु मुख्य चुनौती रहेको बताएका छन् ।

    भूकम्पबाट कोमोडो राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित लाबुआन बाजो पनि प्रभावित भएको छ । पहिरोका कारण फ्लोरेसका विभिन्न बस्ती जोड्ने करिब ७०० किलोमिटर लामो ट्रान्स–फ्लोरेस राजमार्गका केही खण्ड अवरुद्ध भएका छन् ।


    धेरै बासिन्दाले क्षतिग्रस्त घरमा फर्किनुभन्दा बाहिरै रात बिताएका छन् । लाबुआन बाजोकी किसान अनास्तासिया इमादले भूकम्पको कम्पन निकै तीव्र र डरलाग्दो भएको बताइन् । “हामीलाई परकम्पका कारण घर भत्किएर आफूहरूमाथि खस्ने डर थियो”, उनले क्षतिग्रस्त घरनजिकैको अस्थायी आश्रयबाट बताइन् ।


    पहुँच कठिन भएका मङ्गराई, पूर्वी मङ्गराई र नागेकेओलगायत क्षेत्रमा उद्धार टोलीले आइतबार खोजी कार्य पुनः सुरु गरेका छन् । मौमेरेस्थित खोज तथा उद्धार कार्यालयका प्रमुख फतुर रहमानका अनुसार अधिकांश पहिरो हटाएर केही पृथक गाउँमा सडक सम्पर्क पुनः स्थापित गरिएको छ । तर सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा खोजी तथा उद्धार कार्य प्रभावित भएको छ । उनका अनुसार उद्धारकर्ताले भत्किएका घर तथा अन्य संरचनाको भग्नावशेषमा सम्भावित पीडितको खोजी गरिरहेका छन् ।


    भूकम्पको उच्च जोखिममा इन्डोनेसिया
    सत्र हजारभन्दा बढी टापु रहेको इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ । यस क्षेत्रमा सक्रिय ज्वालामुखी र फल्ट लाइनहरू रहेकाले मुलुक भूकम्प तथा ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको छ । सन् १९९२ मा फ्लोरेस क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो ।


    सन् २०१८ मा सात दशमलव पाँच म्याग्निच्युडको भूकम्पपछि आएको सुनामी र त्यसबाट भएको भू–तरलीकरणका कारण पालु सहरमा ठूलो विनाश भएको थियो । उक्त विपद्मा चार हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रा टापु नजिकै गएको नौ दशमलव एक म्याग्निच्युडको भूकम्पपछि आएको विनाशकारी सुनामीले हिन्द महासागर क्षेत्रका एक दर्जनभन्दा बढी देशमा करिब दुई लाख ३० हजार जनाको ज्यान लिएको थियो ।

  • हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी

    हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी

    जेरुसेलम, १ भदौ, (रासस–एएफपी) । इजरायलले खतरा महसुस भएमा हिजबुल्लाहमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको छ । यसैबीच, इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा भएको आक्रमणमा मारिएका अर्का व्यक्तिलाई हिजबुल्लाहका वरिष्ठ कमाण्डरका रूपमा पहिचान गरेको छ । उक्त आक्रमणमा बालबालिकासहित ११ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।
    इजरायली अधिकारीहरूका अनुसार शनिबार दक्षिणी लेबनानमा गरिएको आक्रमण जुनमा युद्धविरामसम्बन्धी समझदारी भएयताकै सबैभन्दा घातक हो । इजरायलले उक्त कारबाही हिजबुल्लाहले दक्षिणी लेबनानको तथाकथित ‘सुरक्षा क्षेत्र’ मा विस्फोटक ड्रोन प्रहार गरेपछि गरिएको जनाएको छ । ड्रोन आक्रमणमा एक अधिकृतसहित तीन इजरायली सैनिक गम्भीर घाइते भएका थिए ।


    “कुनै पनि क्षेत्रमा हिसाबकिताब बाँकी राखिने छैन । हामी हाम्रा सैनिक र नागरिकको पूर्ण शक्तिका साथ रक्षा गर्नेछौँ”, इजरायली रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् । इजरायली सेनाले शनिबार मारिएका व्यक्तिमध्ये अबु हसन अलाको पहिचान गर्दै उनी हिजबुल्लाहको ‘बद्र’ एकाइका वरिष्ठ कमाण्डर रहेको जनाएको छ । सेनाका अनुसार उनी इजरायली सैनिकमाथि ड्रोन आक्रमण गर्ने योजनामा सङ्लग्न थिए ।


    यसअघि इजरायलले उक्त आक्रमणमा हिजबुल्लाहको विशेष ‘रडवान फोर्स’का कमाण्डर अली समीर अल–हाज हसन पनि मारिएको जनाएको थियो ।
    इजरायली सेनाले हसनका परिवारका सदस्यहरू घटनास्थलमा उपस्थित रहेको स्वीकार गरे पनि उनीहरू आक्रमणको लक्ष्य नभएको भन्दै कारबाहीको बचाउ गरेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनले अन्सार गाउँमा भएको आक्रमणमा पूरै परिवार मारिएको बताएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये तीन बालबालिका र दुई महिला छन् ।


    लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजक इमरान रिजाले आक्रमणको निन्दा गर्दै नागरिक र बालबालिकाको सुरक्षा गर्नुपर्ने बताए । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हिजबुल्लाहले नागरिकलाई जानाजानी जोखिममा पारेको आरोप लगाएको छ । हिजबुल्लाहले उक्त आरोप अस्वीकार गर्दै आक्रमणका लागि नेतान्याहुलाई जिम्मेवार ठहर गरेको छ ।


    इजरायल र हिजबुल्लाहबीचको तनाव अमेरिकी मध्यस्थतामा भएको समझदारीपछि केही घटेको भए पनि दक्षिणी लेबनानमा बेलाबेलामा हिंसात्मक घटना भइरहेका छन् । समझदारीअनुसार इजरायली नियन्त्रणमा रहेका दक्षिणी क्षेत्रको सुरक्षाको जिम्मेवारी लेबनानी सेनाले क्रमशः सम्हाल्ने व्यवस्था गरिएको छ । तर हिजबुल्लाहले निः शस्त्रीकरण गर्न अस्वीकार गर्दै आएको छ ।

  • टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

    टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

    रासस
    १ भदौ, काठमाडौं । अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा नेपाल दोस्रोपटक सहभागिता जनाउने तयारीमा छ । यसपटक नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीको सट्टा ‘ए’ टिमलाई अष्ट्रेलिया पठाउन लागेको हो । टप एन्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ ।

    अनिलकुमार साहको कप्तानीमा रहेको टोली सन्तुलित रहेकाले नतिजा उत्कृष्ट निकाल्नेमा प्रशिक्षक र खेलाडी आशावादी छन् । नेपाल ‘ए’ टोलीका मुख्य प्रशिक्षक राजु बस्न्यातले खेलाडीले राम्रो तयारी गरेकाले अष्ट्रेलियामा सकारात्मक नतिजा निकाल्ने सम्भावना बलियो रहेको प्रतिक्रिया दिए । त्यहाँको पिचसँग घुलमिल हुन चुनौती रहे पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा उनी विश्वस्त छन् ।


    “पछिल्लो १०–१२ दिनदेखि हामी नियमित अभ्यास गरिरहेका थियौँ । तयारी र टिम राम्रो छ । टोलीमा अनुभवी र युवा खेलाडीको राम्रो सहभागिता छ । अष्ट्रेलियामा रहँदा टी–२० र ५० ओभरको क्रिकेटमा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ । त्यहाँको अवस्थाको आत्मसात् गर्दै नेपाल ‘ए’ टिमका खेलाडीले उत्कृष्ट खेल्नेमा आशावादी छु”, मुख्य प्रशिक्षक बस्न्यातले टोलीको बिदाइ कार्यक्रममा भने ।


    उनले नेपाली क्रिकेटलाई बलियो बनाउन ‘ए’ टिमको अवधारण महत्त्वपूर्ण रहेको उल्लेख गरे । “दीर्घकालका लागि नेपाल ‘ए’ टिमको अवधारणा एकदमै राम्रो छ । पछिल्ला दिनहरूमा हेर्ने हो भने ‘ए’ टिमबाट नयाँ खेलाडी पनि सिनियर टिममा सिफ्ट भइरहेका छन् । यस्तै, सिनियर टोलीका खेलाडी लयमा फर्किनका लागि ‘ए’ टिममा आउने जुन अभ्यास भइरहेको छ, त्यसले नेपाली क्रिकेटको स्ट्रेन्थ बढाउन ‘ए’ टिम महत्त्वपूर्ण छ”, मुख्य प्रशिक्षक बस्न्यातले भने ।
    ‘राम्रो तयारीका साथ अस्ट्रेलिया जाँदैछौँ’

    नेपाल ‘ए’ टोलीका कप्तान साहले फरक–फरक तरिकाले अभ्यास गरेकाले टप एन्ड टी–२० सिरिजमा आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने बताए । अष्ट्रेलियाको महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउन पाउँदा उत्साहित रहेको उनले बताए ।

    “हामीले पछिल्लो ८–१० दिनदेखि हेडकोचको निगरानीमा निरन्तर अभ्यास गरिरहेका थियौँ । त्यहाँको कन्डिसनअनुसार कसरी खेल्ने भन्नेबारे योजनाबद्ध प्रशिक्षण गर्यौँ । नेपाल ‘ए’ टोलीका लागि अष्ट्रेलिया भ्रमण महत्त्वपूर्ण छ”, कप्तान साहले भने, “कम समयमा पनि क्यानले क्याम्पको आयोजना गरेर सहयोग गर्यो । टप एन्ड टी–२० सिरिजजस्तो प्रतियोगितामा सहभागिता जनाउने अवसर जुराएको छ, त्यसका लागि क्यानलाई धन्यवाद । हामी यो प्रतियोगितामा पाएको मौकालाई सदुपयोग गर्न उत्साहित छौँ ।”

    नतिजामा सुधार गर्ने मौका

    नेपालले दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन लागेको हो । गत संस्करणमा नेपालको सिनियर पुरुष टिमले यो प्रतियोगिता खेलेको थियो । उक्त संस्करणमा नेपालले लिग चरणको छ खेलमध्ये दुईमा जित र चार खेलमा पराजय व्यहोरेको थियो । यसपालि त्यो नतिजामा सुधार गरेर उपाधि जित्ने नेपाल ‘ए’ टोलीको योजना छ ।

    उक्त सिरिजमा नेपालले पहिलो खेल २१ अगस्टमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ । त्यस्तै, २२ अगस्टमा बङ्गलादेश हाई पर्फर्मेन्स, २४ अगस्टमा होबार्ट हरिकेन्स, २६ अगस्टमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, २७ अगस्टमा हैदराबाद किङ्समेन एकेडेमी तथा २९ अगस्टमा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने तालिका छ ।

    टप एन्ड टी–२० सिरिजपछि नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने क्यानले जनाएको छ । नेपालको सिनियर टोली एसिसी प्रिमियर लिगमा व्यस्त हुने भएकाले क्यानले ‘ए’ टोलीलाई अष्ट्रेलिया पठाउन लागेको हो । अष्ट्रेलिया जाने नेपाली ‘ए’ टोलीमा अनिलकुमार साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, रिजन ढकाल र युवराज खत्री छन् ।

  • कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    सुनसरी, १ भदौः कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छिन् । जङ्गलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ । थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ । दैनिक हामी श्रीमान् श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर ल्याउँछौँ । “यहाँबाट व्यापारीले खरिद गरेर काठमाडौँ पठाउँछन्”, उनले भनिन् ।


    उनले दैनिक रु दुई हजारदेखि रु तीन हजार बढीको निगुरो बिक्री गर्दै आएको जानकारी दिइन् । “व्यापार हो, कहिले कम हुन्छ, कहिले बढी पनि हुन्छ । बिहान ३ः०० बजे उठेर निगुरो खोज्न कोशीटप्पु जान्छौँ । छ–सात घण्टामा यहाँ आइपुग्छौँ । यहाँ ल्याएर मुठा पार्ने, केलाउने र व्यापारीलाई बिक्री गर्ने गर्छौँ”, उनले सुनाइन् ।
    निगुरो प्रतिमुठा रु १० थोकमा बिक्री हुने गरेको छ । यसबाट बालबालिकाको खाजा र घरखर्च चलाउन सहयोग पुग्ने गरेको उनको भनाइ छ । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीमा सङ्कलन गरी ल्याइएको निगुरो काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारसम्म पुग्ने गरेको छ ।

    अर्का स्थानीय आशादेवीले पनि विगत १५ वर्षदेखि कोशीटप्पु क्षेत्रबाट निगुरो खोजेर ल्याई बिक्री गर्दै आएकी छिन् । उनले दैनिक रु एक हजारदेखि रु दुई हजारसम्मको निगुरो बिक्री गर्ने गरेको बताइन् । “बिहान सबेरै उठेर कोशीटप्पु क्षेत्रमा निगुरो खोज्न जान्छु र त्यहाँबाट ल्याएर यहाँ बिक्री गर्छु । बजार धाउनु पर्दैन, यहीँबाट व्यापारीले सबै खरिद गरेर लैजान्छन्”, उनले भनिन् । “एकमुस्ट पैसा पाइने भएकाले गर्मीमा बिक्रीका लागि धेरै दुःख पनि गर्नु पर्दैन ।” खुसी हुँदै उनले भनिन्, “निगुरोको सिजनमा वर्षमा करिब ५–६ महिना व्यापार हुने र निगुरो बिक्री गरेर घरखर्च टार्न सहयोग पुगेको छ ।”

    स्थानीय व्यापारी भरतप्रसाद गुप्ताका अनुसार स्थानीयले सङ्कलन गरेर ल्याएको निगुरो जम्मा गरी दैनिक काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा पठाउने गरिएको छ । कोशीटप्पु क्षेत्र तथा भारतबाट सङ्कलन गरेर ल्याएको निगुरो जम्मा गरी भन्टाबारीबाट महिनामा रु १२ लाखभन्दा बढीको निगुरो काठमाडौँको कालीमाटी बजार पठाउने गरिएको उनले बताए ।


    अर्का व्यापारी रामबहादुर गुप्ताले यहाँ विगत चार–पाँच वर्षदेखि निगुरोको खरिदबिक्री गर्दै आएका छन् । दैनिक स्थानीयले सङ्कलन गरेर ल्याएको निगुरो खरिद गरी काठमाडौँ पठाउने गरेका छौँ । यहाँ रु १० मा खरिद गरेको निगुरो काठमाडौँमा रु १८ देखि रु २० सम्ममा बिक्री हुन्छ । “गाडी भाडालगायत खर्च कटाउँदा हामीलाई केही नाफा हुन्छ”, उनले भने ।


    स्थानीयले सङ्कलन गरेको निगुरो सडकमा बसेर बिक्री गर्नुपर्ने अवस्था नरहेको र व्यापारीले एकमुस्ट खरिद गरिदिने भएकाले सहज भएको व्यापारी गुप्ताले बताए । भन्टाबारी बजार क्षेत्रमा दैनिक हाटबजार लाग्ने गरे पनि निगुरोको मौसममा सडकको एक छेउमा छुट्टै निगुरोको व्यापार हुने गरेको छ । वर्षमा करिब छ महिना सञ्चालन हुने उक्त स्थानलाई ‘निगुरो हाट’ वा निगुरो व्यापार गर्ने स्थानका रूपमा समेत चिनिने गरिएको स्थानीयको भनाइ छ ।

  • श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ, १ भदौः नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको सम्वाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

    प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो ।

    प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्री गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्री रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ ।

    मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए ।

    भक्तपुर, १ भदौः भक्तपुर नगरपालिका वडा न १० बस्ने ९२ वर्षीया कृष्णलक्ष्मी अवाल नागपञ्चमीका अवसरमा आज सोही वडामा रहेको थालाछेँस्थित नागपोखरीमा आउनु भई नागको प्रतिमामा पूजा आराधना तथा दर्शन गर्नुहुँदै । तस्बिरः रेणु त्वानाबासु/रासस

    ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनयविनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।

    मृत्युको मुखबाट बचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

    प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ । गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

    संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हँुदैन भन्ने मान्यता छ ।

    आज काठमाडाँैको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

    वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

  • चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

    चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

    नारायणगढ (चितवन), १ भदौः चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधन व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी समन्वय बैठकले विद्यार्थी बोक्ने विद्यालयका सबै सवारीसाधनमा अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको हो ।

    बैठकले विद्यालयका सवारीसाधनमा १५ दिनभित्र गति नियन्त्रण गर्ने उपयुक्त प्रविधि जडान गर्नुपर्ने र त्यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछ । गति नियन्त्रण प्रविधि जडान नगरेका सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
    विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण, चालक तथा सहचालकलाई समय–समयमा अनुशिक्षण तथा मादक पदार्थ सेवन नियन्त्रणका उपाय प्रभावकारी बनाउनसमेत बैठकले निर्णय गरेको छ ।

    विद्यालयले सवारी चालकलाई जिम्मेवारी दिनुअघि हरेक दिन मापसे जाँच गर्ने र त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउनुपर्नेछ । बैठकमा जिल्ला सुरक्षा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख, संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधि, शिक्षक, प्राविधिक कम्पनीका प्रतिनिधि तथा विद्यालय र शिक्षासँग सम्बन्धित सरोकारवालाको सहभागिता थियो ।

  • तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान


    रासस
    तुलसीपुर (दाङ), १ भदौः तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदैथियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारीखेती गर्न थालेको भने धेरै लामो समय भएको छैन । उचित सिँचाइ, मलिलो माटो भए पनि तरकारीखेती गर्नुपर्छ भन्ने कुरा धेरैपछि मात्रै थाहा भयो । जब त्यहाँ सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाले तरकारीखेतीका लागि प्रशिक्षण दिए, त्यसपछि व्यावसायिक रूपमा खेती सुरु भएको स्थानीय यज्ञ खत्री स्मरण गर्छन् ।


    “बस्ती बसेको लामो समय भयो, तर तरकारीखेती हुँदैनथ्यो”, उनले भने, “घरायसी प्रयोजनका लागिमात्रै खेती गरिन्थ्यो । अहिले भने अधिकांशले व्यावसायिक खेती गर्न थाल्नुभएको छ ।” आफूले पनि अहिले डेढ बिघामा तरकारीखेती गर्ने गरेको उनले बताए । यहाँका स्थानीयले पक्की घरसमेत बनाउन थालेको उनको भनाइ छ । “पहिले दैनिकी चलाउन नै समस्या हुन्थ्यो, के खाने, के लाउने हुन्थ्यो”, उनले भने, “अहिले तरकारी बेचेरै भएको आम्दानीले धेरैले घर निर्माण गरेका छन्, बच्चाबच्चीलाई सहजै पढाउन सकिएको छ ।” स्थानीय किसानले तरकारी बेचेर आर्थिक उपार्जन गरेका छन् । फुसका घरमा बस्दै आएकाले पनि पक्की घर बनाएको उनको भनाइ छ ।

    अर्का स्थानीय किसान दीपक चौधरी सात कट्ठामा तरकारीखेती गर्छन् । उनले त्यसबाट वार्षिक रु चार लाख बढी आम्दानी गर्छन् । “मैले तरकारीखेती गर्न थालेको १२ वर्ष भयो”, उनले भने, “राम्रो आम्दानी गर्दै आएको छु ।” हिउँदे सिजनमा भने उहाँले १७ कट्ठाभन्दा बढीमा काउली, बन्दा, लौका, करेला, आलुलगायत उत्पादन गर्छन् । खेतीबाटै भएको आम्दानीले घरव्यवहार चलाउन, छोराछोरीलाई राम्रो विद्यालय पढाउन सहज भएको उनको भनाइ छ ।

    त्यस्तै सोही ठाउँका किसान जुगराम चौधरीले पनि काउली, आलु, टमाटर, बोडी, लौकाको व्यवसाय गर्दै आएका छन् । उनले एक बिघाभन्दा बढी क्षेत्रमा तरकारीखेती गरेको सुनाए । त्यसबाट वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।

    त्यो कमाइले आफ्नो दैनिकी फेरिएको उनको भनाइ छ । अहिले मोतिपुरका अधिकांश किसान यसरी नै तरकारीखेतीमा व्यस्त छन् । स्थानीय उत्पादनको बजारीकरण पनि राम्रो भएकाले किसान हर्षित छन् । तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखा, सिड संस्थालगायतले तरकारीखेतीका लागि प्रोत्साहन गर्दै आएका छन् । किसानलाई टनेल, पावर टिलर उपलब्ध भएको छ । बीउ बैंक सञ्चालन भएको छ । त्यसबाट किसान उत्पे्ररित भएको स्थानीय जगुराम चौधरीले जानकारी दिए ।

  • कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने

    कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने

    कर्णाली, १ भदौः कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
    प्रदेश सरकारले पहिरोबाट भएको जनधनको क्षतिको यथार्थ विवरण सङ्कलन गरी त्यसैका आधारमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढाउने निर्णय गरेको प्रदेश सरकारका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए । उनका अनुसार पहिरामा परी मृत्यु भएका परिवारलाई दुर्घटना बिमामार्फत राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर तथा विद्यालयको पुनर्निर्माण र मर्मत गर्ने तथा घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।

    पहिरोबाट पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको विवरण सङ्कलन गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत आवश्यक सहयोग उपलब्ध गराउने निर्णयसमेत भएको उनले बताए । जाजरकोटलगायत प्रदेशका सबै जिल्लामा पहिरोका कारण अवरुद्ध राजमार्ग तथा अन्य सडक खुलाउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय भएको छ ।

    पूर्ण रूपमा क्षति भएका घर पुनर्निर्माणका लागि उपलब्ध गराइने अस्थायी आवास अनुदान यथाशीघ्र उपलब्ध गराउन पहल गर्ने निर्णयसमेत भएको सचिव विकले जानकारी दिए । विपद् प्रतिकार्यका लागि सम्बन्धित क्लस्टरको बैठक सम्बन्धित मन्त्रालयले आयोजना गर्ने तथा राहत सामग्री वितरण गर्दा जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग समन्वय गर्ने जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिने निर्णय भएको उनले बताए ।

  • ‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’

    ‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’


    काठमाडौँ, १ भदौः प्रतिनिधिसभा सदस्य विदुषी राणाले नेपालमा अटोमोबाइल, सूचना प्रविधि र पर्यटनजस्ता क्षेत्रमा अथाह सम्भावना रहेको बताएकी छिन् ।
    नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आइतबार यहाँ आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा उनले नेपालका हरेक क्षेत्रमा सम्भावना भए पनि नीतिगत जटिलताका कारण युवा विदेशिन बाध्य भएको बताइन् ।


    “युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ, व्यवसाय दर्तादेखि कर तिर्नसम्मका झन्झटिला प्रक्रिया अन्त्य गरी एकद्धार प्रणाली लागू गर्नु अबको आवश्यकता हो”, उनले भनिन् । नाइमाका संस्थापक एवं उद्यमी सौरभ ज्योतिले विभिन्न सवारीसाधन देशभित्रै उत्पादन गर्न सकिने बताए । उनले यसका लागि स्थानीय आपूर्ति शृङ्खला र पार्टपुर्जा उद्योगको विकास गर्नुपर्नेमा जोड दिए ।

    उनले उद्योगको आवश्यकता र शैक्षिक पाठ्यक्रमबीच तालमेल नहुँदा दक्ष जनशक्तिको अभाव खड्किएको भन्दै तत्काल पाठ्यक्रम परिमार्जन गर्नुपर्ने धारणा राखे । थापाथली क्याम्पसका सहप्राध्यापक लोचनकेन्द्र देवकोटाले विश्वविद्यालयले सैद्धान्तिक ज्ञान दिए पनि व्यावहारिक सीपका लागि उद्योगसँगको सहकार्य अपरिहार्य रहेको बताए । “इन्टर्नसीप, अनुसन्धान र विद्यार्थीका परियोजनालाई उद्योगको समस्या समाधानसँग जोड्न सकेमात्र उत्पादनमुखी जनशक्ति तयार हुन्छन्”, उनले भने ।


    पद्मकन्या क्याम्पसका प्राध्यापक भगवती सेढाईँले नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य परिवर्तन गर्नुपर्ने बताइन् । सरकारले ल्याएका उद्यमशीलताका नीतिको व्यावहारिक कार्यान्वयन नभएको भन्दै उनले निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने धारणा राखिन् ।

  • विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    बागलुङ, १ भदौः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले विद्यार्थी आकर्षित गर्न छात्र तथा छात्राका लागि छात्रावास सुविधा विस्तार गरेको छ । क्याम्पसले होस्टेलको पूर्वाधार निर्माणमा लगानी विस्तार गर्दै लगेको छ । क्याम्पसले विगत तीन वर्षदेखि छात्राका लागि छात्रावास सुविधा उपलब्ध गराउँदै आएको थियो । विद्यार्थी सङ्ख्या घट्दै गएपछि क्याम्पसले नयाँ विद्यार्थी आकर्षित गर्न पुरुष छात्रावास निर्माण गरिरहेको क्याम्पस प्रमुख डा सुदर्शन सिलवालले जानकारी दिए ।


    उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयको सहयोगमा रु तीन करोड ५० लाखको लागतमा ७० जना विद्यार्थी बस्न मिल्ने पुरुष छात्रावास निर्माण भइरहेको छ । भवनको तेस्रो तलाको ढलान भइरहेको र निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । क्याम्पसले बाहिरी जिल्लाबाट आउने विद्यार्थीलाई लक्षित गरी आवासीय सुविधा विस्तार गरेको हो । बागलुङसहित मुस्ताङ, म्याग्दी र पर्वतका विद्यार्थीले क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका छन् ।

    क्याम्पस प्रमुख सिलवालका अनुसार तीन वर्षअघि रु तीन करोडको लागतमा निर्माण गरिएको छात्रा छात्रावासमा हाल ४२ विद्यार्थीले सुविधा लिइरहेका छन् । नयाँ पुरुष छात्रावास निर्माण सम्पन्न भएपछि थप ७० विद्यार्थीलाई आवासीय सुविधा दिन सकिनेछ । उनले भने, “कोठा भाडामा लिएर अध्ययन गर्न नसक्ने दुर्गम क्षेत्रका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षित गरी छात्रावास निर्माण गरिएको हो । त्रिभुवन विश्वविद्यालयको नियमअनुसार त्यसका लागि विद्यार्थी छनोट गरी निःशुल्क आवासीय सुविधा दिने व्यवस्था छ ।”

    क्याम्पसले छात्रावासमा बस्ने विद्यार्थीबाट सरसफाइ शुल्क मात्र लिँदै आएको छ । छात्रावासको सुविधा नहुँदा केही विद्यार्थी अध्ययनका लागि पोखरा तथा काठमाडौँ जाने गरेका थिए । छात्रावासको सुविधासँगै दुर्गम तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहज वातावरण बन्ने छात्रावास संयोजक हिरालाल रेग्मीले बताए ।

    धवलागिरि बहुमुखी क्याम्पसमा हाल करिब दुई हजार २०० विद्यार्थी अध्ययनरत छन् । विगतका वर्षको तुलनामा विद्यार्थी सङ्ख्या घट्दै गए पनि क्याम्पसले बिबीए कार्यक्रम थपेपछि विद्यार्थीको आकर्षण बढ्दो क्रममा छ । क्याम्पसमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, १ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

    महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । यस्तै, महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी, राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

  • भाइरल ज्वरो आएपछि मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी हुँदै काठमाडौं ल्याइयो

    भाइरल ज्वरो आएपछि मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी हुँदै काठमाडौं ल्याइयो


    बैतडी, ३१ साउनः बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी हुँदै धनगढीबाट काठमाडौँ ल्याइएको छ ।
    स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् । “स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उहाँलाई धनगढी लगिएको छ”, प्रजिअ अर्यालले भनिन् ।


    मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । उनी दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो । मन्त्री लम्साललाई भाइरल ज्वरो आएको खबर सार्वजनिक भएका छन् ।

  • भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा


    काठमाडौँ, ३१ साउनः प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आइपुगेका छन् । पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छिन् । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई आगामी भदौ १ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

  • स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली


    झापा, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताएका छन् । नेकपा (एमाले) झापाद्वारा आज बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गरे ।


    “हामी पाउँला र खाउँला भनेर स्वार्थका लागि होइन, परिवर्तनका लागि हिँडेका हौँ”, उनले भने, “देश र जनताका लागि के दिए भन्ने कुरा हरदम सम्झिन जरुरी छ ।” नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष र एमाले स्थापनाको ७७ वर्ष पुगेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले आन्दोलनलाई जोगाउन पार्टीलाई विभिन्न समयमा पुनःगठन गर्दै अघि बढाइएको स्मरण गराए ।

    विसं २०२९ देखि २०३२ सालसम्मको आफ्नो राजनीतिक उतारचढाव र जेल जीवनका अप्ठ्यारा दिनको चर्चा गर्दै उनले विश्वभर कम्युनिष्ट आन्दोलन सिध्याउन खोज्दा सिद्धान्त तथा निष्ठाकै बलमा पार्टीलाई बलियो बनाइएको दाबी गरे । क्ष ओलीले पार्टीलाई सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा मजबुत बनाउनुपर्नेमा जोड दिए ।

    “पार्टीमा वास्तविक सदस्यको मात्र नवीकरण हुनुपर्छ, गैरसदस्यको नवीकरण बन्द गरिनुपर्छ”, उहाँले भन्नुभयो । पदको पछाडि नदौडी देश र जनताका लागि त्याग तथा बलिदान गर्न तयार हुने भावना नै एमाले कार्यकर्ताको असली पहिचान भएको अध्यक्ष ओलीको भनाइ थियो । सो अवसरमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईलगायत पार्टीका शीर्ष नेताहरूले आ–आफ्नो धारणा राखे ।

  • पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न

    पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न

    ललितपुर, ३१ साउनः पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन २९ गतेदेखि काठमाडौँमा आयोजित तीनदिने सम्मेलनको समापनका अवसरमा आज सार्वजनिक गरिएको निष्कर्षअनुसार पहिलो बुँदामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिने निर्णय उल्लेख छ ।

    विसं २०३३ मा महामानव बिपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय सङ्कटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखी देश फर्कुनुभएको स्मरण गर्दै आज देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने विषय दोस्रो बुँदामा उल्लेख गरिएको छ ।

    तेस्रो बुँदामा नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान हो भन्दै नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ भनिएको छ ।

    वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्थाअनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकाश दिइने चौथो बुँदामा समेटिएको छ । आज सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जनसहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहेको समितिलाई जिम्मेवारी दिइने निष्कर्ष सम्मेलनले गरेको छ ।

    सम्मेलन समापनका अवसरमा पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवा, सम्मेलनका संयोजक डा शशाङ्क कोइरालालगायतका नेताहरुले सम्बोधन गरे ।

  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    रासस
    काठमाडौँ, ३१ साउनः सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो ।

    कमाण्ड पोष्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली तीन दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ । उक्त टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।

    मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा जनधनको क्षति बढिरहेका बेला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । ती जिल्लामा पहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ ।

    बैठकले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा प्रभावित परिवारलाई नगद वा वस्तुगत राहत, मृतक राहत तथा घाइतेको निःशुल्क उपचार उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई अनुरोध गरेको छ ।

    त्यस्तै, विपद्बाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिइएको छ । बैठकले पहिरो तथा बाढीका कारण अवरुद्ध भएका सडक, खानेपानी, सिँचाइलगायत अत्यावश्यक सेवा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    त्यसैगरी नदी कटान तथा पहिरो नियन्त्रण, प्रभावित परिवारलाई स्वास्थ्योपचार र मनोसामाजिक परामर्श उपलब्ध गराउने तथा स्थानीय तहले पहिचान गरेका अन्य आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउन भनिएको छ । देशका अधिकांश स्थानमा वर्षा भइरहेको र हिमाली तथा पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण जमिन गलेर पहिरोको जोखिम थप बढेको भन्दै बैठकले सर्वसाधारणलाई मनसुन अवधिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    देशका विभिन्न स्थानमा बाढी, आकस्मिक बाढी, गेग्रान बहाव र डुबानको जोखिमसमेत रहेकाले सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचना पालना गर्न आग्रह गरिएको छ ।

  • छोराको स्मरणमा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित

    छोराको स्मरणमा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित


    काठमाडौँ, ३१ साउनः लेखिका राधादेवी पाण्डेद्वारा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित भएको छ । आज यहाँ आयोजित कार्यक्रममा समाजसेवी एवं साहित्यकारले पुत्रको सम्झनामा आमाद्वारा लिखित ‘शोक काव्य’ काव्य सार्वजनिक गरेकी हुन् । युवा अवस्थामै पुत्रको असामयिक निधनबाट व्याकुल आमाले लेखेको शोक काव्य पहिलो भएको साहित्यकार डा सत्यराज थपलियाले बताए । कार्यक्रममा साहित्यकार डा दामोदर पुडासैनीले काव्यमा आमा एवं दिदीका अनुभूति रहेका उल्लेख गर्दै साहित्य क्षेत्रमा प्रकाशित यस काव्य प्रेरणाको स्रोत भएको बताए । उनले भने, “कृतिमा आमाको सामर्थ्य लेखिएको छ, शोक काव्य लेख्नसक्ने आमालाई सम्मान छ ।”

    साहित्यकार डा रामचन्द्र अधिकारीले प्रकाशित कृति एक अमर कृतिका रूपमा साहित्य जगतमा रहने विश्वास व्यक्त गरे । उनले भने, “आमाको मातृत्व भाव काव्यमा झल्किन्छ, काव्यमा जीवन दर्शन पाइन्छ, यो सम्झनाको सङ्गालो हो ।” साहित्यकार डा शैलेन्दु प्रकाश नेपालले काव्यमार्फत आमाका आँसु अक्षरमा प्रवाहित भएको आफूले अनुभव गरेको टिप्पणी गरे । उनले भने, “अक्षरमा प्रवाहित भएको आँसुका धाराहरु अमर रहनेछन् । यो कृतिले नेपाली साहित्य ठूलो योगदान पुर्‍याउने छ ।”

    आफ्नो स्वर्गीय भाइको सम्झनामा आमाले तयार पारेको काव्यबारे दिदी मन्दिरा पाण्डेले सर्जक हुनु र आमा भएर सर्जक हुनु झनै चुनौतीको विषय भएको बताइन् । उनले भनिन्, “कविताका श्लोकहरू सिर्जना र कल्पना मात्र नभई हृदयबाट लेखिएका भावना हुन् । यसले संसारलाई चेतना प्रवाह गर्नेछ ।”

    कार्यक्रममा समाजसेवी बाबुकाजी पाठकले राधादेवीद्वा लिखित कृति समाज र साहित्य जगतका लागि अमर र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । शोक काव्यका मुख्य पात्र सशांककी आमा राधादेवीले गर्भावस्थादेखि बाँचुन्जेलसम्म आफ्नो पुत्र एक असल साथी रहेको स्मरण गर्दै काव्यमार्फत सबैका लागि साझा गर्न चाहेको प्रष्ट्याइन् । प्रकाशित कृतिमा उनले १०३ श्लोकमार्फत छोरा सशांकको स्मरण गरेकी थिन् । पिता शम्भुप्रसाद पाण्डे, दिदीहरू मन्दिरा, मनिला र मनसा पाण्डेले पुस्तक प्रकाशनमा ल्याएका हुन् । विसं २०५३ मा जन्मिएका सशांकको मृत्यु २६ वर्षको उमेरमा मृत्यु भएको थियो ।

  • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

    काठमाडौँ, ३१ साउनः नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताएका छन् । कांग्रेसको संस्थापन पक्ष इतरको तीन दिने राष्ट्रिय भेला समापनका अवसरमा आज उनले पञ्चायतकालदेखिनै आफू र आफ्नो पार्टीलाई न्यायालयले न्याय दिएको बताए । “विगतमा मलाई राजाले थुन्दा पनि न्यायालयले शाही आयोग खारेज गरेको हो ।

    अहिले पनि हाम्रो पार्टीको आधिकारितासम्बन्धी विषय सर्वोच्च अदालतमा छ, न्याय पाइने अपेक्षा गरेका छौँ”, पूर्वप्रधानमन्त्री देउवाले भने । उनले विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराए ।
    फरक प्रसङ्गमा पूर्वप्रधानमन्त्री देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र हिन्दू संस्कार मान्दै आएको उल्लेख गर्दै कसैलाई पनि हिन्दू धर्म मान्नबाट बञ्चित गर्न नपाइने जिकिर गरे ।

    उनले भने, “बुुद्ध धर्मप्रति पनि मेरो उत्तिकै श्रद्धा छ । अन्य धर्मावलम्बी र प्राकृतिक धर्म मान्ने सबैप्रति मेरो सम्मान छ ।” पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेताकार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै त्यसलाई कहिल्यै नबिर्सने बताए । उनी स्वास्थ्य उपचार सकेर पाँच महिनापछि बिहीबार मात्रै स्वदेश फर्किएका थिए ।


    पार्टीका पूर्वमहामन्त्री एवं भेलाका संयोजक डा शशाङ्क कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन सम्मेलन गरिएको बताउँदै यही सम्मेलनका कारण सबै नेताकार्यकर्ताबीच भेट भएको उल्लेख गरे । उनले सम्मेलनले विभिन्न पाँच प्रतिवेदन पारित गरेको भन्दै धन्यवाद दिए । सम्मेलनले पार्टीको आगामी १५औँ महाविधेशन तयारी, सनातन धर्म मान्न पाउने स्वतन्त्रतासम्बन्धी, संविधानमा समसामयिक संशोधनलगायत विभिन्न प्रस्तावसमेत पारित गरेको छ ।

    शुक्रबारदेखि यहाँ सुरु भएको तीनदिने भेलामा शनिबार पार्टीका शीर्ष नेताहरु विमलेन्द्र निधिले राजनीतिक, डा प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी, शनिबार भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गरिएको थियो । प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रुपमा छलफल भई प्रदेशगत धारणा र प्रस्तुतिपछि सम्मेलन आज समापन गरिएको हो ।

    कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

    आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो । त्यसपछि भने असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको आधिकारिताको निवेदनमाथि पुनः सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ ।

  • बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

    बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त


    काठमाडौँ, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अविरल वर्षाका कारण पछिल्ला दिनमा देशका विभिन्न भागमा बाढी, पहिरो तथा सडक अवरोधबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यद्वारा आज जारी विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

    पछिल्लो समय जाजरकोट, रोल्पा, बाजुरा, कास्कीलगायत जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधका कारण मानवीय तथा भौतिक क्षति हुनाका साथै सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनसमेत प्रभावित भएको छ । विज्ञप्तिमा एमालेले बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजी, पीडितको उद्धार तथा राहत वितरण र अवरुद्ध सडक सञ्चालनको कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । साथै, उद्धार, राहत तथा सडक सञ्चालनलगायत कार्यमा स्थानीय तह र सुरक्षाकर्मीसँग समन्वय गरी जुट्न पार्टीका स्थानीय कमिटी तथा कार्यकर्तालाई एमाले आह्वान गरेको छ ।

  • बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

    बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

    काठमाडौँ, ३१ साउनः बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी छिन् । उनले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिए ।

    सौरमास अनुसार आज साउनको अन्तिम दिन भएकाले बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सार्वजनिक बिदा पनि परेकाले साउनको अन्तिम दिन धेरै भक्तजन आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनमा यहाँ आएका हुन् । अभिनेत्री चोपडा पनि साउन महिना पारेर पशुपतिनाथको पूजा, आराधना र दर्शन गर्न नेपाल आएकी हुन् । गत हप्ता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा रसिद काटेर विशेष पूजा, आराधना र दर्शन गरेकी थिइन् ।

  • विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    काठमाडौँ, ३१ साउनः विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता निर्धारण गरेको छ ।

    यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले काम सुरु गरेको हो । आयोगका नवनियुक्त अध्यक्ष प्राडा खड्गबहादुर केसीले आफूले साउन २२ गते पदबहाली गरेको र साउन २५ गतेदेखि समकक्षता निर्धारणसम्बन्धी निर्णय गर्न थालिएको बताए ।


    उनका अनुसार हाल त्रिभुवन विश्वविद्यालयकै समकक्षता निर्धारण कार्यविधिअनुसार काम भइरहेको छ भने आयोगको नयाँ कार्यविधि स्वीकृतिको चरणमा छ। विज्ञ जनशक्ति अभाव भएपछि आयोगले त्रिभुवन विश्वविद्यालयबाट कर्मचारी काजमा ल्याएर समकक्षता निर्धारण गरिरहेको छ । आयोगका सदस्य पदहरू रिक्त रहेकाले ती पदमा नियुक्ति भएपछि नयाँ कार्यविधिले पूर्णता पाउने अध्यक्ष केसीले बताए । प्रस्तावित कार्यविधिमा आयोगका सचिवको अध्यक्षतामा समकक्षता निर्धारण समिति गठनको व्यवस्था गरिएको छ ।

    आयोगले साउन १ गतेदेखि समकक्षताका लागि अनलाइन माध्यमबाट आवेदन दिन खुला गरेको थियो। यसअघि उच्च शिक्षाको समकक्षता निर्धारणको काम त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको थियो। सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत ‘विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०’ संशोधन गरी विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्रदान गरिने शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार आयोगलाई दिएको हो।

    शिक्षा तथा खेलकुद मन्त्रालयका उच्चाधिकारीका अनुसार नयाँ व्यवस्थाले विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थी तथा नेपालका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता निर्धारणलाई एउटै केन्द्रीय निकायबाट व्यवस्थित गर्ने आधार तयार गरेको छ । संशोधित कानुनले आयोगलाई क्रेडिट ट्रान्सफर तथा विश्वविद्यालयको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)सम्बन्धी काम गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट यसअघि जारी भएका समकक्षता प्रमाणपत्र भने नयाँ व्यवस्थाका कारण पुनः समकक्षता गराउनुपर्दैैन ।

  • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    काठमाडौँ, ३१ साउनः नियमित गस्तीमा रहेको प्रहरी टोलीले कास्की, मोरङ, सुनसरी, बर्दिया, धनुषा, झापा, ललितपुर, कैलाली, तनहुँ र उदयपुरका विभिन्न स्थानबाट टापेन्टाडोल, ब्राउनसुगर, गाँजा, खैरो हेरोइन, ट्रामाडोल, पोलेन र प्रेगाब्लिनलगायत लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–१ सिम्पानीबाट टापेन्टाडोल दुई सय २० ट्याब्लेटसहित सन्दिप गुरुङसहित पाँच जना पक्राउ परेका छन् । अनुसन्धानका क्रममा पोखरा–२५ हेम्जास्थित डेराबाट टापेन्टाडोल आठ सय ट्याब्लेटसहित २१ वर्षीय लुकास तामाङ पक्राउ पनि परेका छन् ।

    मोरङमा तीन जनालाई पक्राउ गरिएको छ । सुन्दरहरैँचा नगरपालिका–५ खोक्सीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन सय ९० मिलिग्रामसहित २२ वर्षीय प्रसान्त मगर, लेटाङ–३ विरनटोलबाट गाँजा करिब एक सय ग्रामसहित १८ वर्षीय किशोर र कानेपोखरी गाउँपालिका–६ नर्सरी डाँडाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम पाँच सय मिलिग्रामसहित २४ वर्षीय निमेस घिमिरे पक्राउ परेका छन् ।

    सुनसरीको इटहरी–१० शिवनारायण टोलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ पाँच ग्राम आठ सय ५० मिलिग्रामसहित मोहन गुरुङसहित तीन जना पक्राउ परेका छन् । बर्दियाको बढैयाताल–२ बाट खैरो हेरोइन करिब तीन सय ४९ ग्राम तीन सय ६० मिलिग्रामसहित ५२ वर्षीय दिवे सुनार र धनुषाको विदेह–८ बफैबाट ३९ ग्राम तीन सय ६० मिलिग्रामसहित २८ वर्षीय उमेश मण्डल पक्राउ परेका छन् ।

    यसैगरी, झापाको बिर्तामोड–३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ चार सय ९० मिलिग्रामसहित ४० वर्षीय सन्तोष राजवंशी पक्राउ परेका छन् ।ललितपुरमा दुई घटनामा तीन जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२९ हरिसिद्धी गुमथचोकबाट ट्रामाडोल ६० ट्याब्लेट र पोलेन चार ग्रामसहित सुरज तामाङसहित दुई जना तथा महालक्ष्मी–३ इमाडोलबाट टापेन्टाडोल सात सय १० र प्रेगाब्लिन २४ ट्याब्लेटसहित २९ वर्षीय खगेन्द्रबहादुर राउत पक्राउ परेका छन् ।

    कैलालीको धनगढी–८ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम एक सय ३० मिलिग्रामसहित क्रिस बमसहित चार जना, तनहुँको व्यास–९ माझफाँटबाट गाँजा करिब एक किलो पाँच सय ५० ग्रामसहित मनोज थापासहित दुई जना र उदयपुरको कटारी–३ बाट टापेन्टाडोल ६१ ट्याब्लेटसहित सलम खानसहित दुई जना पक्राउ परेका हुन् । उनीहरूलाई गत शुक्रबार र हिजो शनिबार पक्राउ गरिएको हो ।

  • जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

    जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

    काठमाडौँ, ३१ साउनः अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए । सोही नगरपालिकाको चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विकको अवस्था अज्ञात छ ।

    उक्त पहिरोमा पुरिएका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानै त्यसतर्फ परिचालन भएका छन् । उक्त पहिरोबाट आठ घरमा क्षति भएको छ ।

  • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    काठमाडौँ, ३१ साउनःपरराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् । भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपद्का पीडा र दुःखलाई बुझेको बताउँदै सामाजिक सञ्जालमार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गरेका छन् ।

    “नेपाल सरकार तथा नेपाली जनताले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्,” भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, उद्धार तथा राहतका साथै शीघ्र पुनःस्थापनाको कामना गर्दै उनले लेखेका छन् ।