Category: फिचर

  • स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    रासस
    मुस्ताङ, २९ साउनः आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती तथा जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागिएको हो ।

    राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलोपटक ऐतिहासिक रूपमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । सङ्घीय मामिला मन्त्रालयको समन्वयमा सबै स्थानीय तहलाई सम्मेलनमा सहभागी हुन पत्राचार गरिएको उनले बताए । सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ । साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरपझोङ घोषणापत्र २०८३ जारी गरिनेछ ।

    सम्मेलनका लागि छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकालाई एकैसाथ लिखित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । सम्मेलनमा जलवायु परिवर्तनका कारण स्थानीय तहमा देखिएका समस्या, विपद् तथा प्रभाव पहिचान गर्दै त्यसको न्यूनीकरणका उपाय र रणनीतिबारे छलफल हुनेछ । कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको काखमा बसेर बृहत् छलफल गरी हिमाली जिल्लाका तर्फबाट जलवायु घोषणापत्र जारी गर्ने तयारी गरिएको छ ।

    सम्मेलनबाट जारी हुने साझा घोषणापत्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा आवाज बुलन्द गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तनका असरसम्बन्धी फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ । त्यसका लागि सबै स्थानीय तहलाई भदौ १५ गतेभित्र जलवायु परिवर्तनका असर झल्कने तस्बिर पठाउन अनुरोध गरिएको छ । स्थानीय तहका धारणा तथा घोषणापत्रमा समेट्नुपर्ने विषयसमेत उल्लेख गरी सोही मितिभित्र मस्यौदा पठाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।


    गाउँपालिकासँग भगिनी सम्बन्ध जोडिएका स्थानीय तह तथा मुस्ताङका अन्य स्थानीय तहको सहयोगमा सम्मेलनको तयारी भइरहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमताल फुट्ने, बाढीपहिरो र नदी कटानजस्ता प्राकृतिक विपद् बढिरहेका छन् । कृषि, पशुपालन, धर्मरसंस्कृति तथा जैविक विविधतामा समेत जलवायु परिवर्तनको ठूलो असर परेको छ ।

    जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान हिमपात हुने, खानेपानीका मुहान सुक्दै जाने, चरन क्षेत्र घट्दै जाने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने समस्या देखिएको छ । यसले पशुपालन व्यवसायसमेत प्रभावित हुन थालेको छ ।

  • खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

    खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

    खोटाङ, २९ साउनः जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२–८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२–०८३ मा सम्पादित कार्यको समीक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्रर्योटको अवस्थाबारे जानकारी दिएको हो ।

    प्रहरीले २०८२ साल साउनदेखि २०८३ असार मसान्तभित्र दर्ता तथा फछ्रर्योट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबर्जस्ती करणी, चोरी तथा डाँकासम्बन्धी कसुर, जबर्जस्ती करणी उद्योग, हातहतियार तथा खरखजाना, बहुविवाहको मुद्दा सम्बोधन गरिएको छ ।

    यस्तै, गर्भ संरक्षणविरुद्धको कसुर, लागुऔषध, अभद्र व्यवहार, आपराधिक उपद्रव, बैंकिङ कसुर, पशुपन्छीसम्बन्धी कसुर, जुवा तथा मानव बेचबिखनलगायतका ८४ वटा मुद्दा फछ्रर्योट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार यसअघि आव २०८०–८१ मा २१५ वटा मुद्दा दर्ता भएकामा २१५ वटै फछ्रर्योट भएका थिए । आव २०८१–८२ मा १२० वटा मुद्दा दर्ता भएकामा ९९ वटा फछ्रर्योट भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ । त्यस्तै, आव २०८२–८३ मा जिल्लामा ७२ जनाले आत्महत्या गरेका छन् । महिला तथा बालबालिकाविरुद्धका मुद्दा आव २०८०–८१ मा ३७, २०८१र८२ मा ४७ र २०८२–८३ मा २६ वटा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    जिल्लामा ३१ महिला, १२ पुरुष र २२ बालबालिका गरी ६५ जना हराएकामा सबै फेलापरेको प्रहरीले जनाएको छ । विभिन्न समयमा विभिन्न ठाउँबाट हराएका व्यक्तिको हताहतमा प्रहरी परिचालन गरेर खोजी गरी सम्बन्धित व्यक्ति तथा परिवारलाई बुझाइएको छ । त्यस्तै, ८६ वटा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन् । पटकपटक दुर्घटना गराउनेमध्ये एक जना सवारी चालकलाई निलम्वनका लागि सिफारिस गरिएको छ ।

    प्रहरीले दिएको तथ्याङ्कअनुसार गत आवभरिमा ६७८ वटा उजुरी तथा निवेदन कार्यालयमा प्राप्त भएको छ । आकस्मिक सहायताका लागि दुई हजार ४४० वटा कल आएको तथा समुदाय–प्रहरी साझेदारीअन्तर्गत ७४० वटा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । वन पैदावार तथा नदीजन्य स्रोतको अवैध कारोबार, उत्खनन र ओसारपसार नियन्त्रणबाट रु एक लाख ५५ हजार ३०० राजस्व सङ्कलन भएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रशासन, डिभिजन वन तथा सम्बन्धित कार्यालयसँगको समन्वयमा उक्त राजस्व रकम सङ्कलन गरिएको प्रहरीले जनाएको छ । जिल्लाको शान्तिसुरक्षा थप मजबुत बनाउँदै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन आफूहरू सक्रियतापूर्वक लागिपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

    नागरिकसँग प्रहरीको सम्बन्धलाई अझ सुदृढ बनाउनेतर्फ प्राथमिकता दिने, समुदायसँगको सहकार्य बढाउँदै अपराध न्यूनीकरण तथा नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने प्रहरीको प्रमुख दायित्व भएकाले सोहीअनुसार अगाडि बढेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।

  • नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

    नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

    काठमाडौँ, २९ साउनः परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् । उनले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताए ।


    नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव समारोह तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रसचिव राईले यो वार्षिकोत्सव ‘हाम्रो कूटनीतिक पात्रोको एउटा सिलसिलामात्र नभई चिरस्थायी सम्बन्धको प्रमाण हो’ भने ।


    सात दशकको अवधिमा द्विपक्षीय सम्बन्ध, परम्परागत सम्बन्ध र सांस्कृतिक आदानप्रदानबाट साझा समृद्धिका लागि बृहत् साझेदारीसम्म विस्तार भएको परराष्ट्रसचिव राईले उल्लेख गरे । उनका अनुसार उच्चस्तरीय भ्रमणलगायत विभिन्न तहका आदानप्रदानले नेपाल–चीन सम्बन्धका सबै पक्षमा गतिशीलता र जीवन्तता भर्दै मित्रता बढाएका छन् ।

    द्विपक्षीय सम्बन्धका साथै नेपाल र चीनले नियममा आधारित विश्वव्यापी व्यवस्थाका लागि बहुपक्षीयताप्रति दृढ प्रतिबद्धता जनाएको र साझा हितका विषयमा विभिन्न बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएको उनले बताए । एक असल मित्र र नजिकको छिमेकीका रूपमा चीनले हासिल गरेको अद्भूत आर्थिक विकासप्रति नेपालले गौरव गरेको र त्यसबाट सिक्न तथा फस्टाउँदो चिनियाँ अर्थतन्त्रसँग नेपालको आर्थिक सहकार्य पनि गहिरो बनाउन चाहेको उनले स्पष्ट पारे ।

    विगत सात दशकमा नेपाल र चीनबीच व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धमा व्यापक विस्तार भएको छ भन्दै सचिव राईले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल र यसको शीघ्र कार्यान्वयनलाई नेपालले महत्व दिने बताए ।

    सो अवसरमा चिनियाँ राजदूत चाङ माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि हालसम्म अन्तरराष्ट्रिय परिदृश्य जतिसुकै परिवर्तन भए पनि एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको र सुखदुःखमा सँगसँगै उभिने असल छिमेकी, असल मित्र र असल साझेदार भएको धारणा राखे ।


    नेपालमा नयाँ सरकार गठन भएदेखि नेपाल–चीनबीचको राजनीतिक पारस्परिक विश्वास गहन हँुदै गएको र उच्चस्तरीय ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामसहित अगाडि बढिरहेको चिनियाँ राजदूतको भनाइ छ । व्यापार तथा अर्थतन्त्र, पूर्वाधार, सम्पर्क–सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका क्षेत्रमा नयाँ प्रगति हासिल भएको भन्दै राजदूत माओमिङले ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक नेपालको अनुपम सुन्दरता हेर्न आइरहेको बताए । दुई देशका जनताबीचको यी सामान्य तर न्यानो आदानप्रदान नै आजको नेपाल–चीन सम्बन्धको वास्तविक जग भएको राजदूत माओमिङको कथन थियो ।

    सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नुभएको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को स्तरमा पुर्याएको राजदूत माओमिङले स्मरण गरे । राजदूत माओमिङले चीनले सधैँ शान्तिपूर्ण विकासको बाटो अवलम्बन गर्दै आएको तथा सबै देश उनीहरूको आकार, शक्ति वा जेसुकै आर्थिक अवस्थाजस्तो भए पनि एकअर्कालाई सम्मान, समान व्यवहार गर्नुपर्छ र शान्तिपूर्वक सहअस्तित्वमा रहनुपर्छ भन्ने मान्यता राख्दै आएको विचार व्यक्त गरे ।


    उनले चीन नेपालसँग पारस्परिक सम्मान र पारस्परिक लाभमा आधारित भई दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउन, दुवै देशबीच भएका महत्त्वपूर्ण समझदारी कार्यान्वयन गर्न र नेपाल–चीनबीच साझा भविष्यको समुदाय निर्माणलाई अगाडि बढाउन तयार रहेको जानकारी गराए । राजदूत माओमिङले डिजिटल युगमा छोटा श्रव्यदृश्य सामग्रीले भाषा, दूरी र संस्कृतिका सीमाभन्दा माथि उठेर विषयवस्तुलाई केही सेकेन्डमै व्यापक दर्शकसमक्ष पुर्याउन सक्ने भन्दै खुसी व्यक्त गरे ।

    यस वर्षको नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगितामा ठूलो सङ्ख्यामा भिडियोहरू प्राप्त भएका र प्रतिस्पर्धीहरूले नेपाल–चीन सम्बन्धका विविध आयाम र दुई देशका सुन्दर दृश्य समेटेकामा प्रशंसा गरे । श्रव्यदृश्य सामग्रीमा भावना र आत्मियता जोडिएको भन्दै उहाँले नेपाल–चीन सम्बन्ध केवल कूटनीतिक कागजातमा लेखिएको राजनीतिक सहमतिमात्र नभई दुई देशका जनताबीचको व्यापक सहकार्य, आदानप्रदान र भ्रमणमा पनि जीवित रहेको बताए ।


    कार्यक्रममा नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगितामा विजयी प्रतिस्पर्धीलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम पुरस्कार पुरस्कारसँगै रु ५० हजार प्राप्त गरे । सो अवसरमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, व्यवसायी तथा अन्य क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।

  • रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

    रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

    रोल्पा, २९ साउनः रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।

  • बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

    बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

    बाजुरा, २९ साउनः अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन् । गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन् । त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको छ ।


    उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको छ ।

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

    काठमाडौँ, २८ साउनः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त विषयमा जानकारी प्राप्त भएको र बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकले नजिकबाट अनुगमन गरिरहेको छ । साथै, विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिई छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले बैंकको तरलताको अवस्था तथा वित्तीय सबलताका परिसूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक रहेको जनाएको छ । बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको पनि राष्ट्र बैंकको स्पष्टोक्ति छ ।

    जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा विद्यमान बैंक सञ्चालनको दैनिक अवस्थासहित मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका आधारमा राष्ट्र बैंकबाट थप छलफल तथा कानुनी राय लिइने जनाएको छ । राष्ट्र बैंकले कानुनबमोजिम सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने व्यहोरा समेत जानकारी गराएको छ ।

  • प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

    प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

    काठमाडौँ, २८ साउनः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा आङ्देम्बेको शुक्रबारदेखि हुने चीन भ्रमण, ग्वाङ्झाउमा नेपाली संवत्अनुसार यही साउन ३० र ३१ गते आयोजना हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एघारौँ एसिया क्षेत्रीय सम्मेलन तथा नेपाल–चीन द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

    नेता आङ्देम्बेले आफ्नो चीन भ्रमणलाई सम्मेलनको सहभागितामा मात्र सीमित नराखी नेपाल–चीन सम्बन्ध, चिनियाँ विकास तथा शासन अभ्यास र दुई देशका संसद् तथा राजनीतिक दलबीचको सम्बन्धबारे अनुभव आदानप्रदान गरिएको बताए । नेपाल–चीन सम्बन्धलाई सरकार सरकारका सम्बन्धमा मात्र सीमित नराखी जनस्तरसम्म विस्तार गर्नुपर्ने धारणा उनको थियो । राजदूत माओमिङले पनि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्नुपर्नेमा जोड दिए ।

  • रेसुङ्गामा श्रद्धालुको घुइँचो

    रेसुङ्गामा श्रद्धालुको घुइँचो

    रासस
    गुल्मी, २८ साउनः रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ । रेसुङ्गा धार्मिक क्षेत्र हो । विगतको तुलानामा यस वर्ष घुइँचो बढेपछि स्थानीय खुसी भएका छन् । धर्ममा आस्था राख्ने श्रद्धालुहरु साउन महिनामा एकपटक रेसुङ्गा पुग्नुले भीड बढ्ने गरेको हो । रेसुङ्गा संरक्षण समितिले साउनमा एकमहिने धार्मिक मेलाका आयोजना गर्ने गरेको छ । उक्त मेला अवलोकन तथा धर्म गर्न यस क्षेत्रमा भक्तजनको उपस्थिति हुने गर्दछ ।

    रेसुङ्गालाई धार्मिक परम्पराअनुसार तपोभूमि तथा सिद्ध क्षेत्रका रुपमा लिइन्छ । त्रेतायुगदेखि ऋषिमुनिहरुले यस क्षेत्रमा तपस्या गरेको भन्ने धार्मिक आस्था र विश्वास कायम छ । यस क्षेत्रको धार्मिक महत्वसँग जोडिएको पोखरीलाई बालसिद्ध पोखरीका रुपमा मानिन्छ । धार्मिक मान्यताअनुसार यहाँ बालसिद्धलाई भगवान् शिवका रुपमा पूजा गर्ने गरिन्छ । धार्मिक आस्थाका कारण साउन महिनाभर रेसुङ्गा पोखरीमा स्नान गर्नेको घुइँचो लाग्ने गर्दछ ।

    रेसुङ्गास्थित माहापोखरीलाई श्रद्धालुले पवित्र तीर्थस्थलका रुपमा लिने गरेका छन् । धार्मिक मान्यताअनुसार माहापोखरीमा स्नान गरी नजिकै रहेको यज्ञशाला पुगी पूजा गरेपछि सिद्धको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । यही आस्थाका कारण टाढाबाट सन्तान प्राप्तिको चाहना गर्ने श्रद्धालुहरु रेसुङ्गा क्षेत्रमा आउने गर्दछन् ।

    पोखरीमा स्नान गर्न गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, अर्घाखाँची, स्याङ्जा, नवलपरासी र कपिलवस्तुलगायत जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन् । रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार सन्तान नहुनेहरु एकपटक यहाँ आउने गर्छन् । “यो एउटा तपोभूमि क्षेत्र हो, त्रेतायुगदेखि ऋषिमुनिहरुले तपस्या गरेको हुँदा यसलाई सिद्धक्षेत्र पनि भनिन्छ”, उनले भने ।


    रेसुङ्गा यज्ञशालाका पण्डित कृष्ण पन्थीका अनुसार साउनमा खेतीपाती तथा पशुपालनगर्ने कृषकहरुले मकै, दूधलगायत सामग्री सिद्ध मन्दिरमा चढाउने प्रचलन छ । त्यसैले साउनमा रेसुङ्गा जाने र पोखरीमा स्नान गरी सिद्धको पूजा गर्ने यहाँको मुख्य परम्परा छ । साउन महिनाभर रेसुङ्गास्थित यज्ञशाला मन्दिरमा दैनिक हवन, रुद्री, गीता तथा चण्डी पाठलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिएको छ ।

    यहाँ राति अबेरसम्म भजन, कीर्तन हुनेहुँदा कतिपय श्रद्धालु रातभर यज्ञशालामा जाग्राम बसेर भजनकीर्तनमा रमाउने गर्छन् । रेसुङ्गा क्षेत्रमा रहेको पोखरीको पानीले स्नान गरेपछि चारधाम जान नपर्ने र आफूले अञ्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

    उक्त विश्वासका कारण यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । रेसुङ्गा धार्मिक तथा ऐतिहासिक महत्वसँगै प्राकृतिक सुन्दरता र जैविक विविधताका कारण पनि प्रसिद्ध मानिन्छ ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

    सुदूरपश्चिम, २८ साउनः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बदलिएको राजनीतिक समीकरणपछि आफूले पदबाट राजीनामा दिएको घोषणा गरे । यसअघि गत असार ३१ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकामा संवैधानिक व्यवस्थाअनुसार आज अन्तिम दिन विश्वासको मत लिन बोलाएको बैठकमा उनले राजीनामा घोषणा गरे ।


    केन्द्रीयस्तरमा भएको सहमति अनुसार यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्य गर्ने तयारी छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सहज देखिएको छ । प्रदेशसभामा नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रदेशसभा सदस्य रहेका छन् ।

  • बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

    बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

    दमौली (तनहुँ), २८ साउनः बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान गरेको छ । बन्दीपुर गाउँपालिका मातहत रहेको अस्पतालले शनिबार र सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा अस्पतालले २३ हजार नौ सय ८० जनालाई सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा अनिल गिरीले जानकारी दिए । उनका अनुसार नियमित बहिरङ्ग सेवातर्फ १२ हजार एक सय ७१ तथा अतिरिक्त बहिरङ्ग सेवातर्फ ११ हजार आठ सय नौ जनाले सेवा लिएका छन् ।

    नियमित बहिरङ्ग सेवातर्फ बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म टिकट काटेर सेवा प्रदान गरिएको हो भने अतिरिक्ततर्फ कार्यालय खुल्ने दिन बिहान ७ बजेदेखि बिहान १० बजेसम्म, दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म र सार्वजनिक बिदाको दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा प्रदान गरिएको डा गिरीले जानकारी दिए । डा गिरीका अनुसार साउनमा दुई हजार ९९, भदौमा दुई हजार तीन सय १५, असोजमा दुई हजार एक सय ८५, कात्तिकमा एक हजार नौ सय ९६, मङ्सिरमा एक हजार नौ सय ७७, पुसमा एक हजार आठ सय ९१, माघमा एक हजार नौ सय पाँच, फागुनमा एक हजार आठ सय १८, चैतमा एक हजार आठ सय ८८, वैशाखमा एक हजार आठ सय ८०, जेठमा दुई हजार २१ र असारमा दुई हजार पाँच जनालाई सेवा प्रदान गरिएको थियो ।

    अस्पतालले सेवाग्राहीको सहज पहुँचलाई ध्यानमा राख्दै तीन चरणमा सेवा सञ्चालन गर्दै आएको छ । डा गिरीका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म अतिरिक्त सेवा, बिहान १० बजदेखि दिउँसो २ बजेसम्म नियमित सेवा र दिउँसो २ बजेदेखि राति ८ बजेसम्म अतिरिक्त सेवा प्रदान गरिँदै आएको छ । सार्वजनिक बिदाका दिन पनि बिहान ७ बजेदेखि राति ८ बजेसम्म सेवा उपलब्ध गराइएको छ । यो सेवा विशेषगरी कर्मचारी, विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर, व्यवसायी तथा गृहिणीलाई लक्षित गरी सञ्चालन गरिएको डा गिरीले बताए ।

  • पर्यटनमन्त्री पौडेलद्वारा दिवङ्गत आरोहीप्रति श्रद्धाञ्जली

    पर्यटनमन्त्री पौडेलद्वारा दिवङ्गत आरोहीप्रति श्रद्धाञ्जली

    काठमाडौँ, २८ साउनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले पाकिस्तानको ‘ब्रोड पिक’ मा हिमपहिरोमा परी ज्यान गुमाउनुभएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । गत साउन १४ गते हिमपहिरोमा परी ज्यान गुमाएका आरोही किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको पार्थिव शरिरमा आज माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    उनले आरोहीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव राजेन्द्र लामाले राससलाई जानकारी दिए । यही साउन २६ गते पाकिस्तानबाट नेपाल ल्याइएको शवमध्ये दोलखाका ग्यालु शेर्पा र सङ्खुवासभाका निमा शेर्पाको शव बौद्धस्थित शेर्पा गुम्बामा र दोलखाको रोल्वालिङका किली पेम्बा शेर्पाको शव आफ्नै घरमा राखेर बौद्ध परम्पराअनुसार पुजा गरिएको छ ।

    ग्यालु शेर्पा र निमा शेर्पाको आजै अन्त्येष्टि गरिएको छ भने किली पेम्बा शेर्पाको शुक्रबार अन्त्येष्टि गरिने महासचिव लामाले बताए । हिमपहिरोमा ज्यान गुमाएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’को भने साउन २१ गते नै अन्त्येष्टि गरिएको थियो । सोही हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ को शव भने बेलायत लगिएको छ । उनको परिवार बेलायतमै रहेकाले शव बेलायत लगिएको हो । दुर्घटनास्थलबाट अझै एक नेपाली आरोहीको शव ल्याउन बाँकी रहेको छ । उक्त दुर्घटनामा ६ नेपालीसहित १० आरोहीले ज्यान गुमाएका थिए ।

  • दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता

    दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता

    काठमाडौँ, २८ साउनः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आज बसेको १२५औँ बोर्ड बैठकले उक्त निर्णय गरेको हो । राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

    यस्तै, २०औँ एशियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गरेको छ । बैठकमा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन सम्पूर्ण पक्ष एकताबद्ध भई लाग्न अनुरोध गर्नुभएको छ । बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठलगायत प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवसहित परिषद्का बोर्ड सदस्यहरुको उपस्थिति थियो । बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विषय वस्तु प्रस्तुत गरेका थिए ।

  • पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

    पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

    काठमाडौँ, २८ साउनः वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा पक्राउ परेका जनाअस्थाका सम्पादक किशोर श्रेष्ठलाई तीन दिन म्याद थप गरिएको छ । आज जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनले भने, “अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ ।” पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा ललितपुरस्थित निजकै निवासबाट पक्राउ गरेको थियो ।

  • पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, यस्तो दिए सन्देश

    पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, यस्तो दिए सन्देश

    काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किएका छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सख्त घाइते भएका उनी पाँच महिनाअघि स्वास्थ्य उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुगेका थिए । स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा आज दिउँसो काठमाडौँ आइपुगेका हुन् ।


    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू पूर्णबहादुर खड्का, डा शशाङ्क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, एनपी साउद, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरीलगायत पुगेका थिए । पूर्व प्रधानमन्त्री देउवालाई विमानस्थल परिसरदेखि निवाससम्म देशभरबाट आएका कांग्रेसका सयौँ नेता कार्यकर्ताहरूले नाराजुलुशसहित स्कर्टिङ गरेका थिए ।

    स्वदेश फर्केपछि अपिल जारी

    नेता देउवाले आजै एक अपिल जारी गर्दै आफूलाई हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले पुनः आफ्नै घरतर्फ बोलाएको उल्लेख गरेका छन् । उनले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्री देउवाले कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक सङ्घर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताए ।


    “मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु । म स्पष्ट रूपमा भन्न चाहन्छु–कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ,” उनले भनेका छन्, “विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गछौँ । त्यसैले भौतिक पीडा सहँदासहँदै पनि गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई मैले सम्बोधन वोधन गर्नुपर्ने धारणा त्यति बेला नै राखेको थिएँ ।”

    उनले आफूले राजनैतिक रूपमा लिनुपर्ने केही नभएको तर मेरो विगतको अनुभव मुलुक मुलुक र पार्टीले लिन सक्नु पर्ने र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु आफ्नो दायित्व भएको पनि उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका साथीहरू अहिले निराश भएको अवस्थामा रहेका र उनीहरूको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको बताएका छन् ।

    उनले २०३३ सालमा वीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनु पर्ने समय आएको उद्घोष गर्नु भएको स्मरण गर्दै फेरि ४७ वर्षपछि राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताए ।


    “मैले सँधै भन्ने गरेको छु मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानी काम गरेको छु,” उनले अपिलमा भनेका छन्, “कानुन र नीति विपरित परित कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तमहीत, संविधान कानुन र नैतिकता मूल्य मान्यता अनुरूप काम गर्नेछु ।”

  • रोल्पा पहिरो अपडेटः चार जनाको मृत्यु, नौ बेपत्ता

    रोल्पा पहिरो अपडेटः चार जनाको मृत्यु, नौ बेपत्ता

    रोल्पा, २८ साउनः रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले राससलाई जानकारी दिए । यसैगरी, पहिरोमा परेर घाइते भएका थवाङ गाउँपालिका–५ का २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।

    प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर थवाङ गाउँपालिका–५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६१ वर्षीय लिलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर र ३४ वर्षीय महेन्द्र घर्ती बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ ।

    बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी खटिएका प्रहरी निरीक्षक श्रेष्ठले बताए । थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति पहिरो गएको हो ।

  • रोल्पा पहिरो : बेपत्ताको खोजी, राहत र सुरक्षित स्थानान्तरण गर्न रास्वपाको आग्रह

    रोल्पा पहिरो : बेपत्ताको खोजी, राहत र सुरक्षित स्थानान्तरण गर्न रास्वपाको आग्रह

    काठमाडौँ, २८ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थवाङमा गएको भीषण पहिरोमा परी बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, घाइतेको निःशुल्क उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको पहिरोमा परी सात जनाको निधन भएको र पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा तीव्रता दिन सरकारसँग आग्रह गरिएको छ।

    विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा पर्याप्त ध्यान नपुग्दा बर्सेनी नागरिकले अकालमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै विज्ञप्तिमा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र जोखिमयुक्त बस्तीहरूको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्न माग गरिएको छ । विपद्को समयमा सीमित स्रोतसाधनका बाबजुद उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिकको प्रयासको प्रशंसा गर्दै रास्वपाले प्रभावित क्षेत्रमा निःशुल्क उपचार, उद्धार र राहतको एकीकृत व्यवस्था मिलाउन समन्वयकारी भूमिका खेल्न सरकारलाई आग्रह गरेको छ ।

    अविरल वर्षाका कारण देशभरको जनजीवन र सडक सञ्जाल प्रभावित भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन पनि सर्वसाधारणमा अपिल गरिएको छ । साथै, विपद्पछिको उद्धार तथा राहत कार्यमा राज्यका संयन्त्रहरूलाई सघाउन रास्वपाले आफ्ना पार्टी पङ्क्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ ।

  • रोल्पा पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र पार्न मुख्यमन्त्रीको अपिल

    रोल्पा पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र पार्न मुख्यमन्त्रीको अपिल

    दाङ, २८ साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी गर्न उनले सरोकार भएका निकायलाई अनुरोध गरे ।


    उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन गर्न आग्रह गरेका छन् । उनले घटनास्थलमा तीनवटै सुरक्षा निकाय परिचालन भई खोज तथा उद्धार गरिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमा पुगेर समन्वय गरिरहेको उल्लेख गरे. ।


    उनले सम्पर्कविहीन नागरिकको जीवनरक्षा अहिलेको पहिलो प्राथमिकता भएकाले खोजी कार्यमा कुनै कमी हुन नदिन निर्देशन दिए । खोज तथा उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति तथा स्रोतसाधनको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन गरिएको मुख्यमन्त्री आचार्यले बताए ।
    उद्धारमा खटिने जनशक्तिले सम्भावित थप पहिरो तथा अन्य जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत उनले बताए ।

    पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री आचार्यले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको उनले बताए ।


    पहिरोबाट प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायलाई समन्वय र सहकार्य गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन् । खोज तथा उद्धार कार्य सम्पन्न भएपछि प्रभावित परिवारको पुनस्र्थापना तथा आवश्यक राहतका कार्यक्रम तत्काल अघि बढाइने उनको भनाइ छ ।

    वर्षायाममा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन् । उनले विपद्को जोखिम वा सूचना प्राप्त हुनासाथ सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत नागरिकलाई अपिल गरे ।

  • कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

    कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

    किन्शासा, २७ साउन (रासस–एएफपी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा फैलिएको इबोला भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । कङ्गोली स्वास्थ्य अधिकारीका अनुसार हालसम्म इबोलाका चार हजार ३८१ पुष्टि भएका सङ्क्रमणमध्ये दुई हजार ११ जनाको मृत्यु भएको छ । यो सङ्ख्या सन् २०१८ देखि २०२० सम्म फैलिएको डीआरसीको सबैभन्दा घातक इबोला प्रकोपमा भएको मृत्युको नजिक पुगेको हो । उक्त प्रकोपमा तीन हजार ५०० सङ्क्रमितमध्ये करिब दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।

    कङ्गोको द्वन्द्वग्रस्त पूर्वी तथा उत्तरपूर्वी क्षेत्रमा फैलिएको पछिल्लो प्रकोपको औपचारिक घोषणा मे १५ मा गरिएको थियो । यद्यपि, योभन्दा केही साताअघिदेखि नै भाइरस फैलिएको अनुमान गरिएको छ । यो डीआरसीमा इबोला सङ्क्रमणको १७औँ प्रकोप हो । खोपसम्बन्धी विश्वव्यापी गठबन्धन ‘गाभी’की प्रमुख कार्यकारी सानिया निश्तारले यसलाई देशको इतिहासकै सबैभन्दा ठूलो इबोला प्रकोप रहेको बताइन् । उनले यो प्रकोप अझै ठूलो बन्न सक्ने चेतावनी दिइन् ।


    कङ्गोली स्वास्थ्य अधिकारीले हालको प्रकोपमा इबोलाबाट मृत्यु हुने दर ४५ दशमलव नौ प्रतिशत रहेको बताएका छन् । यसैबीच, विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० का खोपसम्बन्धी विज्ञहरूले हाल फैलिएको इबोलाको स्ट्रेनविरुद्ध उपलब्ध एक मात्र स्वीकृत खोपको प्रभावकारिता परीक्षण गर्न व्यापक मानव परीक्षण गर्न सिफारिस गरेका छन् । हालको प्रकोपमा देखिएको स्ट्रेनविरुद्ध विशेष खोप उपलब्ध छैन ।

    ‘एर्भेबो’ खोप इबोला भाइरसको बढी सामान्य ‘जायर’ स्ट्रेनविरुद्ध सुरक्षित र प्रभावकारी देखिएको छ । डब्लुएचओका विज्ञहरूका अनुसार प्रारम्भिक तथ्याङ्क, विशेषगरी जनावरमा गरिएको परीक्षणले, कङ्गोमा फैलिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनविरुद्ध पनि उक्त खोपले केही सुरक्षा प्रदान गर्न सक्ने देखाएको छ । ‘बुन्डिबुग्यो’ स्ट्रेनविरुद्ध विकास भइरहेका दुई सम्भावित खोप मानवमा क्लिनिकल परीक्षणको प्रारम्भिक चरणमा छन् । अर्को एक खोपलाई पनि प्रारम्भिक परीक्षणमा लैजाने तयारी भइरहेको छ । इबोला सङ्क्रमित व्यक्तिको शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने अत्यधिक सङ्क्रामक रोग भएकोले गम्भीर रक्तस्रावी ज्वरो निम्त्याउन सक्छ ।

  • यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    इलाम, २७ साउनः यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२\८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिनुभयो । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । कार्यालयले अघिल्लो आव ०८१\८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०\८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो ।

    कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु दुई करोड आठ लाख ६४ हजार ४५० प्राप्त गरेको थियो । त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट रु एक करोड २० लाख ६८ हजार ७९० सङ्कलन भएको लेखा शाखा प्रमुख राईले जानकारी दिए । त्यस्तै, आयकरबाट रु ४० लाख चार हजार ३२०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु ३१ हजार ३००, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट रु नौ हजार १०० र अन्य प्रशासनिक सेवा शुल्कबाट रु २७ हजार राजस्व सङ्कलन गरेको थियो ।

    त्यसैगरी, नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु ९५ लाख दुई हजार ९०० उठाएको थियो । यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीहरू पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख गोपाल दाहालले बताए ।

  • जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द

    जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द

    लिले, २७ साउन (रासस–एएफपी) । उत्तरी फ्रान्सस्थित एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ । ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड अड्किएपछि सोमबार ती रिएक्टर बन्द गरिएको हो । ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ । अर्को एक रिएक्टर भने नियमित मर्मतसम्भारका लागि यसअघि नै बन्द गरिएको थियो । हाल एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ ।

    ईडीएफले उक्त घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ । डन्कर्क सहरनजिकै रहेको ग्राभलिन्स आणविक ऊर्जा केन्द्रमा ९०० मेगावाट क्षमताका छवटा रिएक्टर छन् । यो पश्चिमी युरोपकै ठूलो आणविक ऊर्जा केन्द्रमध्ये एक हो । यसअघि पनि जेलीफिसको झुण्डका कारण उक्त केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो ।


    फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ । अत्यधिक तापक्रमका कारण जुन र जुलाईमा ईडीएफले केही आणविक रिएक्टर बन्द गरेको थियो । ईडीएफका तथ्याङ्कमा आधारित एएफपीको गणनाअनुसार, पछिल्लो घटनाअघि आइतबार फ्रान्सको आणविक ऊर्जा उत्पादन १५ दशमलव छ प्रतिशतले घटेको थियो ।

    जेलीफिसको झुण्डका कारण यसअघि स्वीडेन र जापानका आणविक ऊर्जा केन्द्रमा रिएक्टर बन्द गर्नुपरेको थियो । सन् २०१३ मा स्वीडेनको एक आणविक ऊर्जा केन्द्र तीन दिनसम्म बन्द भएको थियो भने सन् १९९९ मा जापानमा यस्तै घटनाका कारण विद्युत् उत्पादनमा उल्लेख्य कमी आएको थियो । विज्ञहरूका अनुसार अत्यधिक माछा मार्ने, प्लास्टिक प्रदूषण र जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम बढ्दा जेलीफिसको वृद्धि र प्रजननका लागि अनुकूल वातावरण सिर्जना भइरहेको छ ।

  • म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

    म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

    म्याग्दी, २७ साउनः म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष म्याग्दीमा एक हजार ८४० हेक्टर क्षेत्रफलमा ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको जानकारी दिए ।


    “अघिल्लो वर्षको तुलनामा थप २० हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार भए पनि वैशाख र जेठ महिनाको असिनाले बोट हुर्किन तथा दाना बढ्न नपाउँदा उत्पादन घटेको हो,” उनले भने, “अघिल्लो वर्ष प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले आलु उत्पादन भएकामा यस वर्ष आलुको उत्पादकत्व घटेर प्रतिहेक्टर १८ मेट्रिकटन भएको छ ।”

    कार्यालयले जिल्लाका विभिन्न २४ ठाउँमा नमूना सङ्कलन गरेर उत्पादनको अवस्था पहिचान गरेको हो । गत वर्ष एक हजार ८२० हेक्टर क्षेत्रफलमा ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०÷८१ म एक हजार ७५० हेक्टरमा जिल्लामा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

    केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु १० करोड मूल्यबराबरको आलु पोखरा, काठमाडौँलगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी रु ४० देखि ४५ का दरले बारीबाटै आलुको व्यापार हुने गरेको छ । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खनेको बताइन् ।


    “असिनाले हुर्कंदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ,” उनले भनिन्, “पोहोर साल ५० मुरी आलु फलाएको थिए ।”

    कृषक छन्त्यालका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ । अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ ।

    सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो । गत वर्षमा ३३ हेक्टर क्षेत्रफलमा खायन आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन भएको कार्यालयले जनाएको छ । कार्यक्रममार्फत कृषक समूह र सहकारीहरूलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको कार्यालय प्रमुख बास्तोलाले बताए । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।

  • फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ

    फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ

    वासिङ्टन, २७ साउन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ‘ठूलो गल्ती’ हुने बताएका छन् । विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई सहभागी गराउने योजनाका कारण इन्फान्टिनोमाथि आलोचना भइरहेका बेला ट्रम्पले उनको बचाउ गरेका हुन् ।


    युरोपेली फुटबल महासङ्घ (युइएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कोन्काकाफ) र एसियाली फुटबल महासङ्घ (एएफसी)का प्रमुखले संयुक्त रूपमा जारी गरेको खुला पत्रमा इन्फान्टिनोमाथि विश्वासघात गरेको आरोप लगाइएको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इन्फान्टिनोको पक्षमा धारणा सार्वजनिक गरेका छन् । उनले इन्फान्टिनोलाई ‘असाधारण’ व्यक्तिको सङ्ज्ञा दिँदै अहिलेसम्मकै सफल विश्वकप आयोजना गरेको दाबी गरे ।


    “कुनै पनि कारणले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे विचार गरिए पनि फिफाले ठूलो गल्ती गर्नेछ,” ट्रम्पले लेखेका छन् । गत महिना ट्रम्पले इन्फान्टिनोसँगै विश्वकपको फाइनल खेल हेरेका थिए । इन्फान्टिनोले गत वर्ष विश्वकपको खेल तालिका सार्वजनिक गर्ने समारोहमा ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ प्रदान गरेका थिए । ट्रम्पको समर्थन अमेरिकी फुटबल महासङ्घको अडानभन्दा फरक देखिएको छ । अमेरिकी फुटबल महासङ्घ इन्फान्टिनोको नेतृत्वको आलोचना गर्ने पक्षमा सामेल भएको छ ।

    इन्फान्टिनोले विश्वकपलगायत फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि सारेका थिए । तर युरोपेली फुटबल महासङ्घसहित विभिन्न निकायको तीव्र विरोधपछि उनले उक्त योजना फिर्ता लिएका थिए । युइएफए, कोन्काकाफ र एएफसीले सोमबार जारी गरेको संयुक्त पत्रमा फुटबलको नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै इन्फान्टिनोको नेतृत्वशैलीप्रति प्रश्न उठाइएको छ । उनीहरूले विश्वास तोडिएको अवस्थामा नेतृत्वले आफ्नो जिम्मेवारी त्याग्नुपर्ने उल्लेख गर्दै फिफा अध्यक्षमाथि निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको आरोप लगाएका छन् ।

    इन्फान्टिनोको चौथो कार्यकालको तयारी
    कोन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई इन्फान्टिनोका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको छ । इन्फान्टिनो सन् २०२७ मार्चमा हुने फिफा कङ्गे्रसबाट चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचित हुने तयारीमा छन् । उम्मेदवारको नामावली आगामी नोभेम्बर १८ सम्ममा घोषणा गरिसक्नुपर्नेछ । अमेरिका, मेक्सिको र क्यानडामा भएको विश्वकप सफलतापूर्वक आयोजना गरेपछि इन्फान्टिनो निर्विरोध निर्वाचित हुने सम्भावना बलियो देखिएको थियो । तर निजी लगानीसम्बन्धी योजनाले विवाद चर्काएपछि उनीमाथि दबाब बढेको हो ।

    दश वर्षदेखि फिफाको नेतृत्वमा रहेका ५६ वर्षीय स्विस नागरिक इन्फान्टिनोले अफ्रिकी फुटबल महासङ्घ (सीएएफ) को समर्थन पाएका छन् । दक्षिण अमेरिकी फुटबल महासङ्घ (कोन्मेबोल)ले पनि उनलाई समर्थन गर्ने सङ्केत गरेको छ । फिफाको निर्वाचनमा महादेशीय महासङ्घले नभई सदस्य राष्ट्रका फुटबल सङ्घले मतदान गर्छन् । इन्फान्टिनोले कोन्काकाफअन्तर्गतको मेक्सिको तथा एएफसीका सदस्य कुवेत र कतारबाट पनि समर्थन पाएका छन् ।

    निजी लगानीको योजनामा विवाद
    युइएफएले निजी लगानीको योजना अघिबढे विश्वकप बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोले उक्त योजना फिर्ता लिएका थिए । यूइएफएले यसअघि योजनालाई ‘अपारदर्शी र गोप्य सम्झौता’ भन्दै आलोचना गरेको थियो । सोमबार पनि युइएफएले इन्फान्टिनोको निर्णय क्षमतामाथि प्रश्न उठाएको छ । गत साता मोरक्कोमा भएको आकस्मिक बैठकमा इन्फान्टिनोले फिफाका वरिष्ठ अधिकारीको समर्थन प्राप्त गरेका थिए । तर युइएफए, कोन्काकाफ र एएफसीले उक्त समर्थनलाई पर्याप्त नभएको बताएका छन् ।

    उनीहरूले फिफा व्यवस्थापन समितिका सीमित सदस्य मात्र सहभागी भएको बैठकले समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन् । इन्फान्टिनोको नेतृत्वमा विश्वकपमा टोलीको सङ्ख्या बढाएर ४८ पुर्याइएको छ । महासङ्घले विगत एक दशकमा फुटबलमा भएको प्रगतिलाई स्वीकार गरे पनि त्यसलाई कुनै एक व्यक्तिको उपलब्धिका रूपमा लिन नहुने बताएका छन् ।

    उनीहरूले फुटबलको विकास फिफा, महादेशीय महासङ्घ, सदस्य सङ्घ तथा खेलमा सङ्गलग्न हजारौँ व्यक्तिको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गरेका छन् । साथै, फिफाको नेतृत्वमा जवाफदेहिता र पारदर्शिता कमजोर हुँदै गएको आरोप लगाउँदै आफूहरू फुटबलको एकता र संस्थागत उत्तरदायित्वका पक्षमा एकजुट भएको बताएका छन् ।

  • धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

    धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

    धनकुटा, २७ साउनः यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक‘स्काइवाक’ आउने गरेका छन् । वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ गतेदेखि सञ्चालनमा ल्याएको ‘स्काइवाक’मा दुई वर्षमा तीन लाख नौ हजारभन्दा बढी पर्यटक आएका छन् ।

    परियोजनाका अनुसार पहिलो वर्ष एक लाख ७८ हजार र दोस्रो वर्ष एक लाख ३१ हजार पर्यटकले स्काइवाकको अवलोकन गरेका छन् । यसमा करिब ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् । स्काइवाकसँगै फ्री–फल जम्प र स्वीङजस्ता साहसिक गतिविधि पनि सञ्चालनमा रहेका छन् । आगामी दिनमा स्काइ साइक्लिङ, जिपलाइन र बालबालिकाका लागि उद्यान निर्माण गर्ने योजना रहेको परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले बताए ।


    समुद्री सतहबाट करिब एक हजार ४०० मिटर उचाइमा रहेको भेडेटारको स्काइवाकबाट सप्तकोशी नदी, पूर्वी तराईका फाँट तथा सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मौसम सफा भएका दिन सूर्योदय र सूर्यास्तको दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ । पहिलोपटक स्काइवाकमा चढ्दा छुट्टै अनुभूति भएको सुनसरीको देवानगन्जका आनन्दीकुमार चौधरीको भनाइ थियो ।

    प्राकृतिक दृश्यावलोकनसँगै साहसिक अनुभूति लिन चाहनेहरूका लागि स्काइवाक उपयुक्त गन्तव्य बनेको होटल लावती कर्ननका सञ्चालक लिलाराज लावतीले बताए । होटल एसोसिएसन अफ भेडेटारका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले टावरको माथिबाट देखिने हिमाल, पहाड र तराईको सङ्गमले भेडेटारलाई कोशी प्रदेशको मात्र नभई देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ भन्नुभयो । उहाँले स्काइवाकका कारण सानासाना पसलदेखि होटल व्यवसायलाई थप चलयमान बनाएको जानकारी दिए ।


    “वार्षिक रु तीन लाख नवीकरण शुल्क, पर्यटन कर तथा भ्याट तथा अन्य विभिन्न कर पनि तिर्नुपर्छ”, प्रबन्ध निर्देशक रोकाहाले भने, “गत वर्ष करिब रु नौ करोड कारोबार हुँदा करिब रु ४५ लाख रोयल्टी तिर्नुपरेको थियो, त्यति नै रकम मनोरञ्जन करमा पनि तिर्नुपरेको छ ।”

    प्रदेश सरकारले पिपिपी परियोजनालाई प्रवरद्धन गर्ने नीति लिएको भए पनि यस्ता परियोजनालाई दिगो बनाउन कर नीति पुनरवलोकन आवश्यक रहेका सञ्चालकको भनाइ छ । करको सट्टा व्यावहारिक र लगानीमैत्री नीति अपनाइए नयाँ परियोजना आकर्षित गर्न, पर्यटन विकास गर्न र दीर्घकालीन रूपमा राज्यको राजस्वसमेत बढाउन सहयोग पुग्ने सञ्चालकहरू बताउँछन् ।

  • विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

    विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौँ, २७ साउनः विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । अन्तरराष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ ।

    यस्तै, साझेदारी एवम् लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवद्र्धन गर्ने सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था÷निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ । दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ । कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनी गरिँदैछ ।

    यस्तै, बिहान भृकुटीमण्डपदेखि मूल समारोहस्थल कमलादीसम्म युवा जागरण दौड आयोजना हुँदैछ । मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवद्र्धन विषयमा उच्चस्तरीय प्यानल छलफलको आयोजना गरिएको छ । यो दिवस युवा जागरणका दिशामा विश्वव्यापी र साझा अभियान हो । यस दिवसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता र साझेदारी बढाउने प्ररेणा दिएको छ ।

    सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवद्र्धनमा सबैलाई हातेमालो गर्दै अघि बढ्ने सङ्कल्प समेत दिवसका अवसरमा व्यक्त हुँदै आएको छ । दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ । यस्तै, सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ ।

    राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवम् युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा यही साउन १ गते बसेको बैठकले अन्तरराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ जना अर्थात् कूल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत छ । युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूहका रूपमा लिइन्छ ।

  • कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, २७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको विभागले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

  • बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृती

    बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृती

    २७ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलिको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ।

    मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ । उपलब्ध जग्गामा भूउपयोग वर्गीकरणअनुसार अन्न, तरकारी, नगदेबाली, फलफूल खेती तथा माछा र पशुपन्छीपालनजस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। साथै स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि बैंकमार्फत लक्षित वर्गसँग जोडिनेछ। बाँझो जमिनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

  • कालीगण्डकीको कटानले जोखिममा पुल

    कालीगण्डकीको कटानले जोखिममा पुल

    बागलुङ, २७ साउनः कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा परेको छ । पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको छ । बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुङ्गास्थित मोटरेबल पुलमा नदी कटानका कारण क्षति पुगेपछि आवतजावतमा जोखिम बढेको हो । करिब तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पर्वत तर्फको मुख्य पिलरको जग अविरल वर्षापछि बढेको नदीको बहावले कटान गरेको हो । नदीको सतह बढेसँगै गत बिहीबारबाट पुलको जगमा क्षति पुग्न थालेको बताइएको छ । हाल जग क्षेत्रबाट माटो खसिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    पुलको अवस्थाबारे प्रारम्भिक निरीक्षणपछि सडक डिभिजन कार्यालयले थप प्राविधिक मूल्याङ्कनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराएको कार्यालयका प्रमुख इञ्जिनियर हरि सुवेदीले जानकारी दिए । तत्कालै केही गर्ने अवस्था छैन, पानी घटेपछि क्षति हेरेर पुल मर्मतको काम सुरु गरिन्छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डमा पर्ने मालढुङ्गा पुल यसअघि पनि नदीको धार परिवर्तन र कटानका कारण जोखिममा पर्दै आएको थियो । पुलको जग संरक्षणसँगै थप क्षति हुन नदिनका लागि निर्माण गरिएको पर्खाल भत्किएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन सावधानी अपनाएर मात्र सञ्चालन गर्न दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

    सडक डिभिजन कार्यालयका अनुसार पुलको माथिल्लो भाग ५०० मिटर र तल्लो भाग एक किलोमिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि पुल आसपास नदी दोहन र नदीजन्य सामग्रीको उत्खनन हुँदै आएको छ । यसले पुलसँगै मालढुङ्गा बस्ती थप जोखिममा परेको कार्यालयको भनाइ छ । हाल नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल मर्मत कार्य सुरु गर्न सम्भव नभएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिए । बहाव कम भएपछि पुलको विस्तृत प्राविधिक परीक्षण गरी आवश्यक मर्मत तथा संरक्षणको काम अघि बढाइने अधिकारीको भनाइ छ ।

  • महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप

    महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप

    महेन्द्रनगर, २७ साउनः मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट (राति) मा पनि ‘डायलाइसिस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालमा डायलाइसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीडित बिरामीलाई सेवा दिन समस्या भइरहेको छ । महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा अर्जुन भट्टले बिरामीको चापअनुसार जनशक्ति, शय्या र मेसिनको व्यवस्थापन गरी सेवा सहज बनाउन प्रयास भइरहेको जानकारी दिए ।


    “१० वटा बेड छन्, दैनिक १८ देखि १९ जनालाई डायलाइसिस सेवा दिनुपर्ने अवस्था छ”, डा भट्टले भने, “जनशक्ति लगायतका विषयमा संरचना विस्तारका लागि माथिल्लो निकायसँग छलफल भइरहेको छ ।” उनका अनुसार दैनिक २० देखि २५ जना बिरामी डायलाइसिसका लागि अस्पताल आउने गरेका छन् । डायलाइसिस सेवामा कार्यरत तथा सम्पर्क व्यक्ति यशोदा गिरीले बिरामीको चापलाई ध्यानमा राखेर दैनिक तीन शत्रमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।


    “अहिले बिहान र बेलुकी गरी दुई सिफ्टमा डायलाइसिस सेवा दिइरहेका छौँ”, उनले भने, “रातिको समयमा पनि सेवा दिने गरी जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको काम अघि बढेको छ ।” अस्पतालमा सेवा पाउन नसक्ने अवस्थामा बिरामी धनगढीलगायत अन्यत्र जाने गरेको उनले बताए । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदले कोरोना महामारीका बेला प्रयोगमा ल्याइएको ल्याबको भवनबाट अहिले डायलाइसिस सेवा सञ्चालन भइरहेको बताए ।

    उनका अनुसार जनशक्तिको अभावका कारण रातिको सत्र सञ्चालन गर्न सकिएको छैन । “डायलाइसिसका लागि जनशक्तिको निकै अभाव छ”, उनले भने, “रातिको सिफ्ट सञ्चालन गर्न प्रदेश र सङ्घीय सरकारसँग आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिरहेका छौँ ।” अस्पतालमा डायलाइसिस सेवा लिन आउने बिरामीको चाप अत्यधिक बढेको उनले बताए ।

  • डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

    डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

    म्याग्दी, २७ साउनः म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा ८९ प्रतिशत भौतिक प्रगति भएको छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एन्ड टर्वो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।

    पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ अगस्त १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । आयोजनाका सहायक प्रबन्धक इञ्जिनियर सुरज गुरुङले तेस्रो पटक थप भएको म्यादभित्र पनि ठेकेदारले काम सम्पन्न गर्न सक्ने अवस्था नदेखिएको बताए ।


    “आयोजनाका तर्फबाट ठेकेदारलाई ताकेता, सरोकारवालासँग समन्वय, सहजिकरण भइरहेपनि अझै चार\पाँच महिना लाग्ने देखिएको छ,” उनले भने, प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रूख कटान आदेश प्राप्त नहुुनु, राहुघाट सबस्टेसन निर्माण स्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माण स्थलमा स्थानीयको विवादका कारणले निर्माण अवधि लम्बिएको हो ।”

    म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइन निर्माण गरिरहेको हो । कुल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ८२ वटामा ८० वटाको जग निर्माण र ७२ वटा टावर खडा भएका छन् । प्रसारण लाइन र सबस्टेसनको उपकरण आयात भइसकेको छ ।

    डाडाखेतको सबस्टेसनमा ९० प्रतिशत प्रगति भएको र २५ किलोमिटरमध्ये १२ दशमलव एक किलोमिटर प्रसारण लाइनको तार तान्ने काम सकिएको छ । डाडाखेत सबस्टेसनको भौतिक संरचना निर्माण सकेर परीक्षण कार्य भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए । कुल ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सबस्टेसनमा १३३\३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइरहेको छ । यस्तै, २२०\१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

    कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एसियाली विकास बैङ्कको ऋण लगानी छ । एसियाली विकास बैङ्कसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एसियाली विकास बैङ्कले विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाडाखेत प्रसारण लाइन बनाउन ऋण लगानी गरेको हो ।

    प्रसारण लाइनको मार्गाधिकार र टावर रहने २५ दशमलब ६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्नका लागि २०८० फागुन ६ गतेको मन्त्रिपरिषद्ले बैठकले स्वीकृति दिएको दुई वर्ष दुई महिनापछि डिभिजन वन कार्यालयबाट गत जेठ महिनाको पहिलो साता कटान आदेश प्राप्त भएको थियो ।

    आयोजना निर्माण स्थलमा तीन हजार ९३६ वटा रूख छन् । प्रसारण लाइनका ८२ वटा टावरमध्ये ४० वटा वन क्षेत्र र ४२ वटा व्यक्तिगत जग्गामा छन् । वन क्षेत्रको जग्गा प्रयोग गरेबापत आयोजनाले २०८१ असोजमा ५०४ रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनका लागि पहिलो किस्ता बापतको रकम पनि उपलब्ध गराइसकेको थियो ।

    म्याग्दी नदीमा १७२ दशमलव आठ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । राहुघाटमा ३५ दशमलव पाँच मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र २३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएका छन् ।

  • समझदारीपत्रमा हस्ताक्षर

    समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ, २७ साउनः नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले रु ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ । परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘डिजिटलाइजेसन’, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुनेछ ।

    यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ । त्यस्तै, बागमती प्रदेशको धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, कर्णाली प्रदेशको दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल निर्माण हुनेछ । त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवद्र्धन केन्द्र र गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण गरिनेछ । यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिने छ ।