Category: फिचर

  • पाल्पाली भलिबल कप २०२६ सम्पन्न

    पाल्पाली भलिबल कप २०२६ सम्पन्न

    राजा बगर
    दुबई
    पाल्पाली समाज यूएईले ‘पाल्पाली भलिबल कप २०२६’ सम्पन्न गरेको छ । यूएईको दुबईस्थित अल खवानिज स्पोर्ट क्लबमा जुलाई ५ मा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ उक्त खेल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा आयोजक पाल्पाली समाज यूएईको दुई टिमसहित १५ टिम सहभागी भएका थिए । प्रतियोगिताको उपाधि परदेशी हातेमालो भलिबल टिम ‘ए’ प्रथम र आयोजक पाल्पाली समाज यूएईको ‘ए’ टिम उपविजेता बनेको थियो । त्यसैगरी सान्त्वना पुरस्कार पाल्पाली समाजकै ‘बी’ टिम र कास्की आदर्श समाजको टिमले हात पारेका थिए ।


    कार्यक्रममा प्रमुख अथितिको रुपमा दुबईमा रहेको नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कृष्ण चापागार्इं रहेका थिए । प्रमुख अतिथिको हातबाट बल सर्भिस गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रमुखहरु र खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


    उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशि यूएई दिहराम ५५५५ (नेरु करिब २ लाख ३० हजार) द्वितीय पुरस्कार यूएई दिहराम ३१११ (नेरु करिब १ लाख ३० हजार) शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । सान्तवना पुरस्कारस्वरुप ६५० यूएई दिहराम (नेरु करिब २८ हजार) प्रदान गरिएको थियो । पाल्पाली समाज यूएईले स्थापनादेखि विभिन्न सामाजिक, सांस्कृतिक, सहयोगी कार्यहरु गर्दै आइरहेको छ ।

  • यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन

    यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन

    यूएई । यूएईमा रहेर लामो समयदेखि क्रिकेट खेल क्षेत्रमा क्रियाशील रहेका खेलाडी, समूह र व्यक्तिहरुको सक्रियतामा यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन भएको छ । दुबईस्थित डबल ट्री होटलको सभाहलमा ५ जुलाईमा आयोजित भेलाले नितेश लामाको अध्यक्षतामा यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन गरेको हो ।

    जसको वरिष्ठ उपाध्यक्षमा दिपान्कर डंगोल, उपाध्यक्षहरुमा विजय कार्की र अनिल पौडेल, महासचिवमा सूर्यविक्रम श्रेष्ठ, कोषाध्यक्षमा सुनिल रसाइली रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः अनाश्रित सापकोटा, गणेश तिमिल्सिना, ज्युलहक अन्सारी, प्रविन कार्की, चित्र पुन, महेन्द्र परियार, नरेन्द्र धामी, सञ्जीव शाह, गणेश थापा र सञ्जय पुन रहेका छन् ।


    भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसअनुसार रमेश श्रेष्ठ, मनोज मरहठ्ठा, राजाराम सुवेदी, इन्द्र थापा र सन्तोष खनाल रहेका छन् ।
    कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष मनोज श्रेष्ठ, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, यूएईमा क्रियाशील विभिन्न वैचारिक संघसंस्था, एनआरएन यूएई, नेपाल पत्रकार महासंघ लगायतको आतिथ्यता रहेको थियो ।


    कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राख्दै विविध कारणले परदेसिन बाध्य भई यूएईमा रहेका नेपाली क्रिकेटप्रेमीहरुको लागि खुशीको खबर भन्दै एसोसिएसनले नेपाली क्रिकेट खेलाडीहरुको क्षमता र दक्षता अभिवृद्धि गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुग्ने खेलाडीहरुको विकास गर्न सफल रहोस् भन्ने शुभकामना दिएका थिए ।


    नवगठित तदर्थ समितिले यूएईमा क्रियाशील विभिन्न नेपाली क्रिकेट क्लबहरु र व्यक्तिहरु समेटेर बृहत भेलामार्फत एसोसिएसनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

  • यूएईमा घर बेच्दै किशोर

    यूएईमा घर बेच्दै किशोर

    यूएई । के यूएईमा घर किन्न चाहनुहुन्छ ? घर, जग्गा, फ्ल्याट र अन्य प्रोपर्टीमा लगानी गर्न चाहनुहुन्छ ? नेपाली प्रवर्तक किशोर शाक्यलाई सम्झिए पुग्छ । सन् २००५ मा भिजिट भिसामा यूएई आएका किशोर प्रोपर्टी कन्सल्टेन्ट (रियल इस्टेट ब्रोकर) हँुदै आज के एण्ड कोर रियल इस्टेट एलएलसी स्थापना गरेर त्यसको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएका छन् । उनै किशोरको सफलताको कथा उनकै शब्दमा :

    २००५ डिसेम्बर १३ । त्यो दिन मेरो जीवनको एउटा नयाँ अध्याय शुरु भएको दिन थियो । गृहयुद्धको पीडाले आक्रान्त नेपाल छाडेर म आफ्ना ६ जना साथीसँग भ्रमण (भिजिट) भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) आइपुगें । भविष्य कस्तो हुनेछ भन्ने कुनै निश्चितता थिएन । कलेजको पढाइ अधुरै थियो । अनुभव शून्य थियो । तर मनमा एउटा सपना थियो– मेहनत गरेर आफ्नो भविष्य आफैं निर्माण गर्ने ।


    मेरो पहिलो गन्तव्य बन्यो रस अल खैमाह । कुनै अनुभव नभए पनि पाँचतारे होटलमा वेटरको काम गर्ने अवसर पाएँ । शुरुआत सहज थिएन तर प्रत्येक चुनौतीलाई सिकाइको अवसरका रुपमा लिएँ । इमानदारी, निरन्तर मेहनत र सिक्ने चाहनाका कारण मैले क्रमशः पदोन्नति प्राप्त गर्दै व्यावसायिक यात्रा अघि बढाएँ । होटल क्षेत्रमा काम गर्दा संसारभरका मानिसहरुसँग भेट्ने, उनीहरुको संस्कृति बुझ्ने र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने अनुभवले मेरो व्यक्तित्व र सोचलाई नयाँ उचाइमा पु¥यायो ।


    सन् २०११ मा मैले पर्यटन क्षेत्रमा ट्राभल कन्सर्जका रुपमा नयाँ यात्रा शुरु गरें । पाँच वर्षसम्म अन्तर्राष्ट्रिय पर्यटकहरुसँग काम गर्दै ग्राहक सेवा, व्यवस्थापन र सम्बन्ध निर्माणका क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गरें । सन् २०१६ मा पर्यटन क्षेत्रमा कार्यरत रहँदै रियल इस्टेट क्षेत्रमा पनि पहिलो पाइला चालें । यही क्षेत्रमा मेरो भविष्य देख्न थालेको थिएँ । अन्ततः सन् २०१९ मा पूर्णकालीन रुपमा रियल इस्टेट व्यवसायमा समर्पित हुने निर्णय गरें । संयोगवश त्यसको केही समयपछि विश्वलाई कोभिड–१९ महामारीले प्रभावित बनायो । पर्यटन उद्योग लगभग ठप्प भयो, तर मैले त्यो संकटलाई अवसरमा बदल्ने अठोट लिएँ ।


    प्रोपर्टी कन्सल्टेन्ट (रियल इस्टेट ब्रोकर)का रुपमा शुरु भएको यात्रा आज के एण्ड कोर रियल इस्टेट एलएलसी स्थापना गरेर त्यसको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सफलतासम्म आइपुगेको छ । आज म विश्वभरका लगानीकर्ता तथा परिवारहरुलाई यूएईको तीव्र गतिमा विकास भइरहेको रस अल खैमाहमा लगानीका अवसरहरु पहिचान गराउन सहयोग गरिरहेको छु । दुई दशकभन्दा बढी समयदेखि यही भूमिलाई आफ्नो दोस्रो घरका रुपमा अपनाउन पाएकोमा म गर्व गर्छु ।


    रस अल खैमाह आज विश्वको ध्यान आकर्षित गरिरहेको इमिरेट्स हो । यूएई तथा सम्पूर्ण खाडी क्षेत्रकै पहिलो गेमिङ रिसोर्ट विन अल मर्जान परियोजनासँगै यहाँ पर्यटन, आतिथ्य, पूर्वाधार र रियल इस्टेट क्षेत्रमा अभूतपूर्व सम्भावनाहरु सिर्जना भइरहेका छन् । यस्ता अवसरहरुलाई सही ढंगले उपयोग गर्न चाहने लगानीकर्ताहरुका लागि म आफ्नो अनुभव र ज्ञान बाँड्न सधैं तत्पर छु ।


    विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग मेरो एउटा विनम्र आग्रह छ– आफ्नो मातृभूमिलाई कहिल्यै नबिर्सनुहोस् । जहाँ भए पनि नेपालसँगको सम्बन्ध जीवित राख्नुहोस् । यदि अवसर देख्नुहुन्छ भने नेपालमा लगानी गर्नुहोस् । व्यवसाय गर्नुहोस्, रोजगारी सिर्जना गर्नुहोस् र देशको समृद्धिमा आफ्नो योगदान दिनुहोस् । नेपालमा गरिएको लगानी केवल आर्थिक निर्णय होइन, त्यो आफ्नै माटो, आफ्नै पहिचान र भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो ।


    यदि तपाईं अन्तर्राष्ट्रिय रुपमा आफ्नो लगानी विस्तार गर्न चाहनुहुन्छ भने यूएई, विशेषगरी रस अल खैमाह, उत्कृष्ट गन्तव्य बन्न सक्छ । यहाँको दुई दशकभन्दा लामो बसाइ र रियल इस्टेट क्षेत्रमा हासिल गरेको अनुभवका आधारमा तपाईंलाई सही निर्णय लिन आवश्यक मार्गदर्शन गर्न पाउँदा मलाई खुशी हुनेछ ।


    मेरो जीवनयात्राले मलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ– सफलताको शुरुआत तपाईं कहाँबाट गर्नुभयो भन्ने होइन, तपाईंले आफ्नो लक्ष्यप्रति कति इमानदारीका साथ निरन्तर प्रयास गर्नुभयो भन्ने हो । त्यसैले ठूलो सपना देख्नुहोस् । कडा मेहनत गर्नुहोस् । सिक्न कहिल्यै नछोड्नुहोस् । विनम्र रहनुहोस् । विवेकपूर्ण लगानी गर्नुहोस् । र जीवनको जुनसुकै उचाइमा पुगे पनि आफ्नो जन्मभूमि र आफ्ना जरा कहिल्यै नबिर्सनुहोस् । त्यही नै वास्तविक सफलता हो ।

    किशोर शाक्य
    संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)
    के एण्ड कोर रियल इस्टेट एलएलसी
    [email protected]

  • गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

    गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

    रासस
    कास्की, २५ साउनः पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका विविध गतिविधिमा सक्रिय भएका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित जटायु संरक्षण तथा गाई संरक्षण केन्द्रमा पुगेर आइतबार विद्यार्थीले गिद्धको आहार व्यवस्थापन (फिडिङ) प्रत्यक्ष अवलोकन गर्नुका साथै संरक्षण क्षेत्रमा सरसफाइ र वातावरणीय व्यवस्थापनका विभिन्न गतिविधिमा स्वयंसेवकका रूपमा सहभागिता जनाएका हुन् ।

    पृथ्वीनारायण क्याम्सका ४० विद्यार्थी, स्थानीयवासी तथा संरक्षणकर्मीको सहभागितामा गिद्ध संरक्षण, जैविक विविधता संरक्षण र वातावरणीय सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीले मरेका जनावरका हड्डी सङ्कलन तथा व्यवस्थापन, झाडी सफाइ, वनस्पतिको पहिचानका लागि ‘नेम प्लेट’ राख्ने तथा संरक्षण क्षेत्रको वातावरणीय व्यवस्थापनलगायतका काममा प्रत्यक्ष सहभागिता जनाए ।

    विद्यार्थीलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै प्रत्यक्ष रूपमा संरक्षणका गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गिद्ध संरक्षणको महत्व, वनस्पति संरक्षण, जैविक विविधता र वातावरण संरक्षणका विषयमा विज्ञ तथा संरक्षण क्षेत्रमा क्रियाशील व्यक्तिले विद्यार्थीलाई आवश्यक जानकारी दिएका थिए ।

    बोटानिकल स्टुडेन्ट्स सोसाइटी पृथ्वीनारायण क्याम्पसकी अध्यक्ष कविता त्रिपाठीले एक दिनको स्वयंसेवी कार्यक्रम नयाँ, रमाइलो र सिकाइपूर्ण बनेको बताउनुभयो । “गिद्धलाई नजिकबाट अवलोकन गर्दै यसको संरक्षण, वातावरणमा यसको भूमिका र जैविक विविधता जोगाउन यसको महत्वबारे बुझ्न पाउनु विशेष अनुभव रह्यो”, उहाँले भन्नुभयो ।

    त्रिपाठीका अनुसार कार्यक्रममा विद्यार्थीले विभिन्न वनस्पतिलाई प्रत्यक्ष रूपमा फिल्डमा अवलोकन गरी पहिचान गर्नुका साथै वनस्पतिको वैज्ञानिक तथा स्थानीय नामसहित ‘ट्यागिङ’ र अभिलेखीकरण गरेका थिए ।

    जटायु संरक्षण केन्द्रका सचिव मनिष पोखरेलले पुस्तकमा पढेरमात्र संरक्षणको वास्तविक महत्व बुझ्न नसकिने भएकाले विद्यार्थीलाई प्रत्यक्ष रूपमा प्रकृति र संरक्षणको अभ्याससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    “प्राणीशास्त्र र वनस्पतिशास्त्रका विद्यार्थी यहाँ सहभागी हुनुभएको छ । उहाँहरूले गिद्धको फिडिङ प्रत्यक्ष रूपमा हेर्नुभयो, संरक्षण क्षेत्रमा सरसफाइ गर्नुभयो र वनस्पतिका नेम प्लेट राख्नुभयो । यस्ता व्यावहारिक गतिविधिले विद्यार्थीमा संरक्षणप्रतिको चासो र जिम्मेवारीबोध बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ”, पोखरेलले भन्नुभयो ।

    घाचोकमा सञ्चालित जटायु संरक्षण केन्द्रले लामो समयदेखि गिद्ध संरक्षणसँगै स्थानीय समुदायमा जैविक विविधता तथा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्दै आएको छ । केन्द्रमा गिद्धका लागि सुरक्षित र विषरहित आहारको व्यवस्था गरी संरक्षणको प्रयास भइरहेको छ । प्राकृतिक रूपमा मरेका जनावर खाएर वातावरण सफा राख्ने भएकाले गिद्धलाई प्रकृतिको महत्त्वपूर्ण ‘सफाइकर्मी’का रूपमा लिइन्छ । पारिस्थितिक प्रणाली सन्तुलन कायम राख्न पनि गिद्धको महत्त्वपूर्ण भूमिका रहेको संरक्षणकर्मी बताउँछन् ।

  • प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य

    प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य

    यूएई । राष्ट्रिय प्रजातन्त्र पार्टीको यूएई संगठन प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षमा नारायण आचार्य सर्वसम्मत चयन भएका छन् । बरदुबईको गाउँबेशी रेष्टुरेण्टको सभाहलमा ५ जुलाईमा आयोजित समाजको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

    नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि कँडेल, महिला उपाध्यक्षमा वसन्ती रायमाझी, उपाध्यक्षमा रामप्रसाद पाण्डे र हरिहर जयसवाल, महासचिवमा रामप्रसाद ढकाल, सचिवमा सागर दाहाल र सन्तोषकुमार न्यौपाने (सम्पत कुमार), कोषाध्यक्षमा सञ्जीव आर्यवीर, सहकोषाध्यक्षमा विजय तिवारी, सहसचिवमा अर्पणा ढुङ्गाना र बलेन्द्र मल्ल, प्रवक्तामा कृष्ण खड्का तथा सहप्रवक्तामा मित्रलाल कुँवर निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक गोपालप्रसाद पराजुलीले उक्त कार्यसमिति घोषणा गरेका थिए ।


    त्यसैगरी सदस्यहरुमा पार्वती सिग्देल, दीपा सुवेदी, छविलाल पाण्डे, टीकाराम कोइराला, ज्योती खनाल, रमा शर्मा, स्वेता नेपाल, देवी पाण्डे, बिन्दु पाण्डे, पञ्चकुमारी छेत्री, गीता खरेल, दुर्गा सापकोटा, मणि काश्यप, अनीश सुनार, रमेश गिरी र दुर्गाप्रसाद कोइराला चयन भएका छन् ।


    अधिवेशन समाजका तत्कालीन कार्यबाहक अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद ढकालले गरेका थिए । कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


    वसन्ती रायमाझीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तोयानाथ लम्सालले विदेशमा रहेका नेपालीहरु नै राष्ट्र र राष्ट्रिताको सवालमा गम्भीर हुने उल्लेख गर्दै प्रवासी नेपालीहरुको एकता, श्रमिक अधिकार, सामाजिक सेवा तथा संस्कृति संरक्षणमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

  • धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

    धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

    रासस
    तुलसीपुर (दाङ), २५ साउनः दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आउनुभएको छ । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उहाँको दैनिकी फेरिएको छ । उहाँ धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त हुनुहुन्छ । “पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउनको कठिन हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।”

    उहाँले धागोबाट विभिन्न सामग्री बुन्न सुरु गर्नुभएको हो । अहिले उहाँको हातमा धागोमात्रै छैन, नयाँ सीप सिकेर आत्मनिर्भर बन्ने आत्मविश्वास पनि थपिएको छ । त्यस्तै, पूर्वीरुकुमकी झरना बुढामगर पढ्न दाङको घोराही आउनुभएको हो । पढाइबाहेक खाली समय कसरी बिताउने भन्ने अन्योलमा रहनुभएकी उहाँको दैनिकी पनि अहिले फेरिएको छ । घोराहीस्थित स्वप्न होजियारी उद्योगमा सम्पर्क भएपछि उहाँले धागोबाट विभिन्न सामग्री बनाउन सिक्नुभयो ।

    “अहिले त व्यस्त भइयो”, उहाँले भन्नुभयो, “केही नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको छ ।” उहाँहरूमात्रै होइन, धेरै महिला धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छन् । हिजोसम्म घरधन्दा र छोराछोरीलाई स्कुल पठाएपछि ‘के गर्ने ?’ भन्ने अन्योलमा रहेका महिला अहिले व्यावसायिक काममा जोडिन थालेका छन् । उनीको हातमा क्रुस र सियोमात्रै छैन, आत्मनिर्भर बन्ने एउटा दरिलो आधारसमेत देखिन थालेको छ ।

    हाल स्याउ, सुन्तला, गाजरलगायत आकर्षक ढाँचाका सामग्री बनाउन सीप सिकिसक्नुभएको छ । उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौनालगायत सामग्री बनाउन पनि व्यस्त हुने गरेका छन् । ‘ए प्लसदेखि जेब्रासम्म– ए टु जेड’का सामग्रीसमेत धागोबाटै बनाउने गरिएको छ ।

    विभिन्न ५६ प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगकी प्रमुख रचना सुवेदीले जानकारी दिनुभयो । दाङको घोराहीमा मुख्य उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएको छ ।

    उहाँका अनुसार अहिले विद्यालयले समेत धागोबाटै सामग्री बनाउन थालेपछि यसको माग बढेको छ । सबै सामग्री धागोबाटै बनाउन थालेपछि निकै काम पाएका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरणमैत्री हुने भएकाले सबैले यसको माग बढेको छ ।”

    उहाँका अनुसार ऊनबाट बनाइएका यी सामग्री बालबालिकाका लागि सुरक्षित छन् । अन्य सामग्रीजस्तो चोट लाग्ने जोखिम कम हुने भएकाले बालबालिकाले प्रयोग गर्न सक्ने र पुनः प्रयोग गर्न सकिने भएकाले पनि यसको आकर्षण बढेको छ ।

    सुवेदीका अनुसार उद्योगको मुख्य उद्देश्य व्यापारमात्रै नभई स्वरोजगार सृजना गर्नु पनि हो । उद्योगमा १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन् । उनीहरूलाई काम सिकाउने र रोजगारी दिने गरिएको छ । “हामी काम पनि सिकाउँछौँ र रोजगारी पनि दिन्छौँ”, उहाँले भन्नुभयो, “श्रमिकलाई सामग्री बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत दिने गरेका छौँ ।”

    उहाँका अनुसार ‘ए टु जेड’ को एउटा सेट रु पाँच हजारमा बिक्री गर्ने गरिएको छ । त्यसबाट प्राप्त रकमको ५० प्रतिशत श्रमिकलाई दिने गरिएको छ । पछिल्लो समय यसको मागसमेत बढिरहेको सुवेदीले बताउनुभयो ।

    घोराहीमा विसं २०६३ मा उक्त होजियारी उद्योग सञ्चालनमा आएको हो । त्यसयता उद्योगले होजियारीसम्बन्धी तालिम दिँदै आएको छ । सोही तालिमबाट धेरै महिला रोजगारी प्राप्त गर्न सफल भएका छन् ।

    उद्योगले दाङमा मात्र नभई विभिन्न जिल्लाका महिलालाई विभिन्न तालिम प्रदान गर्दै आएको छ । धागो र सियोबाट सुरु भएको यही सीप अहिले धेरै महिलाका लागि आम्दानीको माध्यममात्रै नभई आत्मनिर्भर बन्ने बाटोसमेत बनेको छ ।

  • सङ्गेको लगनको प्रतिफल : सामान्य बारिस्टाबाट प्रोफेसनल ब्रुअरसम्मको यात्रा

    सङ्गेको लगनको प्रतिफल : सामान्य बारिस्टाबाट प्रोफेसनल ब्रुअरसम्मको यात्रा

    अबुधाबी । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा कार्यरत नेपाली युवा सङ्गे थिङले अन्तर्राष्ट्रिय क्राफ्ट बियर उद्योगमा उल्लेखनीय सफलता हासिल गरेका छन् । अबुधाबीस्थित Craft by Side Hustle मा ब्रुअरका रुपमा कार्यरत थिङ आफू यूएई तथा खाडी क्षेत्रका पहिलो नेपाली प्रोफेसनल क्राफ्ट बियर ब्रुअर भएको दाबी गर्छन् । आतिथ्य तथा पेय पदार्थ उद्योगमा उनको उपलब्धिलाई नेपाली युवाका लागि नयाँ सम्भावनाको उदाहरणका रुपमा हेरिएको छ ।


    काठमाडौंको स्वयम्भूमा जन्मिएका थिङ सन् २०१७ मा १८ वर्षको उमेरमा रोजगारीका लागि यूएई आएका थिए । उनले दुबईको एक कफी घरमा जुनियर बारिस्टाका रुपमा आफ्नो व्यावसायिक यात्रा शुरु गरेका थिए । कफीप्रतिको रुचि, निरन्तर अभ्यास र सिक्ने इच्छाशक्तिका कारण उनले छोटो समयमै बारिस्टा क्षेत्रमा आफ्नो दक्षता विकास गरे ।


    सन् २०१८–२०१९ मा उनले यूएईमा कार्यरत नेपाली कफी श्रमिकहरुसँग मिलेर ‘नेपाली बारिस्टा कम्युनिटी’ स्थापना गर्न महत्वपूर्ण भूमिका खेले । उक्त समूहले नेपाली बारिस्टाबीच सीप विकास, अनुभव आदान–प्रदान र व्यावसायिक सहकार्यलाई प्रवद्र्धन गर्दै आएको छ ।


    पछि उनी स्पेशालिटी कफी शप सञ्चालनमा आबद्ध भए । त्यहाँ उनले नयाँ कफी तथा पेय पदार्थका रेसिपी विकास गर्नुका साथै हेड बारिस्टाको जिम्मेवारी पनि सम्हाले । त्यसपछि बार टेन्डिङ क्षेत्रमा प्रवेश गर्दै उनले स्पिरिट, वाइन, ककटेल र बियरसम्बन्धी अध्ययन तथा व्यावहारिक अनुभव हासिल गरे । यही अनुभवले उनलाई क्राफ्ट बियर उत्पादनतर्फ आकर्षित गरायो ।


    त्यसपछि उनी अबुधाबीस्थित Craft by Side Hustle मा बार टेन्डरका रुपमा आबद्ध भए । बारमा कामसँगै ब्रुअरीको उत्पादनमा नयाँ प्रयोग र अनुसन्धान प्रक्रियामा सक्रिय रुपमा सहभागी हुँदै उनले ब्रुइङसम्बन्धी प्राविधिक ज्ञान हासिल गरे । उनको मेहनत, अनुशासन र सिकाइप्रतिको लगावबाट प्रभावित म्यानेजर ब्रुमास्टरले उनलाई पूर्णकालीन ब्रुइङ अप्रेन्टिसको अवसर प्रदान गरेका थिए ।


    करिब एक वर्षको प्रशिक्षणपछि ब्रुमास्टर अमेरिका फर्किएपछि कम्पनीले सम्पूर्ण ब्रुइङ जिम्मेवारी थिङलाई सुम्पियो । उनले उत्पादनको गुणस्तर कायम राख्दै कम्पनीको विश्वास जितेका छन् । हालसम्म उनले १८० भन्दा बढी ब्याच क्राफ्ट बियरको उत्पादन प्रयोग गरिसकेका छन् भने ८० भन्दा बढी नयाँ बियर शैली र रेसिपी विकास गरेका छन् ।

    उनले तयार गरेको ‘Himalayan Haze’ नेपाली समुदाय र मातृभूमि नेपालप्रति समर्पित विशेष क्राफ्ट बियरका रुपमा परिचित छ । थिङका अनुसार नेपाली युवाले परम्परागत रोजगारीमा मात्र सीमित नभई सीप, अध्ययन र निरन्तर अभ्यासका माध्यमबाट विश्व बजारमा नयाँ क्षेत्रको नेतृत्वसमेत गर्न सक्छन् । सामान्य बारिस्टाबाट अन्तर्राष्ट्रिय स्तरका प्रोफेसनल ब्रुअरसम्मको उनको यात्रा मेहनत, लगन र व्यावसायिक दक्षताको प्रेरणादायी उदाहरण बनेको छ ।

  • प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

    प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

    रासस
    लमजुङ, २५ साउनः कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति । प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिकस्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् ।

    वडा नं ४ जगतमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा प्राकृतिक वातावरणको आनन्द लिन मानिसहरू पुग्ने गरेका छन् । वडा नं ६ बाहुनडाँडामा रहेको तातोपानी कुण्ड पनि पर्यटकीय सम्भावना बोकेको स्थल हो । प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न रोग निको हुने जनविश्वास रहँदै आएको छ । त्यस्तै गाउँपालिकाका विभिन्न डाँडाकाँडाबाट हिमशृङ्खला तथा आसपासका मनोरम भूदृश्यावलोकन गर्न सकिन्छ । वडा नं ३ मा रहेको हर्सिङडाँडा प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक महत्व बोकेको स्थल हो ।

    राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालमा गाईवस्तु चराएको स्थानका रूपमा समेत हर्सिङडाँडालाई लिइन्छ । ऐतिहासिक व्यक्तित्वसँग जोडिएको यो स्थललाई पर्यटनसँग जोडेर विकास गर्नसके थप पर्यटक आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ । मर्स्याङ्दी गाउँपालिकाको पर्यटन प्राकृतिक सम्पदामा मात्र सीमित छैन । यहाँको मौलिक संस्कृति पनि अर्को महत्त्वपूर्ण आधार हो । विभिन्न समुदायले मनाउने चाडपर्व तथा परम्परागत नाचगानले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ ।

    घाँटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे, तामाङ सेलोलगायतका सांस्कृतिक गतिविधिलाई पर्यटनसँग जोड्न सके स्थानीय कला र संस्कृतिको संरक्षणसँगै आम्दानीको स्रोत बनाउन सकिने उत्तिकै सम्भावना छ । गाउँपालिकाका विभिन्न वडा यी पर्यटन तथा यातायात मार्गसँग जोडिएकाले मनाङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलतर्फ आकर्षित गर्न सकिने अवस्था छ ।

    विशेषगरी पर्यटकीय मौसममा अन्नपूर्ण पदमार्ग हुँदै आउने विदेशी पर्यटक तथा मनाङ जाने यात्रीलाई स्थानीय गन्तव्यसँग जोड्न सके पर्यटनको लाभ गाउँपालिकाका विभिन्न बस्तीमा पुर्याउन सकिन्छ । स्थानीयवासी पूर्णबहादुर गुरुङ मर्स्याङ्दी गाउँपालिका प्राकृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले यसको सम्भावनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउँछन् । पर्यटकीय सम्भावना भएका स्थानको पहिचान गरी संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा थप ध्यान दिन सके स्थानीयले त्यसबाट लाभ लिन सक्ने उनको भनाइ छ ।

    हर्सिङडाँडाको पर्यटकीय सम्भावनालाई स्थानीयस्तरबाटै उपयोग गर्न थालिएको छ । ऐतिहासिक व्यक्तित्व भक्ति थापासँग जोडिएको स्थल भएकाले पर्यटक आकर्षित गर्न आफूले त्यहाँ पर्यटनलक्षित व्यवसाय सञ्चालन गर्दै आएको पूर्णबहादुरले बताए । प्राकृतिक सौन्दर्य र ऐतिहासिक पहिचानलाई एकैसाथ उपयोग गर्न सके हर्सिङडाँडा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने उनको विश्वास छ । मर्स्याङ्दी गाउँपालिकामा सडक तथा अन्य पूर्वाधार विस्तार भइरहेकाले पर्यटन विकासका लागि थप आधार तयार हुँदै गएको छ ।

    पर्यटकीयस्थलसम्म सहज पहुँच, पदमार्ग, खानेपानी, शौचालय, सरसफाइ, सूचना केन्द्र, सङ्केतचिह्न र घरबासलगायतका पूर्वाधारलाई व्यवस्थित बनाउन सके यहाँको पर्यटनले थप गति लिनसक्छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ मर्स्याङ्दी गाउँपालिका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको बताउँछन् । यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसारलाई प्राथमिकता दिइएको उनले बताए ।


    पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन, आवश्यक पूर्वाधार निर्माण तथा पर्यटकीयस्थलसम्म यातायात सेवा विस्तारमा गाउँपालिकाले ध्यान दिइरहेको उनको भनाइ छ । “यहाँका सम्पदाको संरक्षणसँगै व्यापक प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण र यातायात पहुँच विस्तार गरी पर्यटक आकर्षित गर्ने वातावरण बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ”, अध्यक्ष गुरुङले भने ।

    अन्नपूर्ण पदमार्ग र बेँसीसहर–चामे सडकसँगको पहुँचलाई स्थानीय पर्यटकीय गन्तव्यसँग जोड्दै संरक्षण, पूर्वाधार विकास, स्थानीय समुदायको सहभागिता र व्यवस्थित प्रचारप्रसारलाई सँगसँगै अघि बढाउन सके मर्स्याङ्दी लमजुङकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनसक्ने सम्भावना छ ।

  • प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने

    प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने

    काठमाडौँ, २५ साउनः सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

    यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् ।


    त्यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यस्तै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन् ।


    यस्तै, आजै विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बिहान १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ः०० बजे बस्दैछ । सो समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ । बिहान ११ः३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधिका सम्बन्धमा छलफल हुनेछ ।

  • मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ, २५ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ । मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवं लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । मुलुकका पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना जनाएको छ ।

    भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

  • देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    काठमाडौं, २५ साउनः अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा आज बिहान ४ः०० बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत साँझ १८ः०० देखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन आवागमन रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका १८ः०० बजेसम्म भने सवारी साधन सञ्चालन हुने व्यवस्था गरिएको छ ।

    मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति सबै प्रकारका सवारी साधनको चलाउन रोक लगाइएको छ । उक्त सडकखण्डमा बेलुका १७ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु पहिरोले यहाँ पनि यातायात सेवा प्रभावित भएको छ । सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।

    यसैगरी, आज बिहान ५ः०० बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण वरुद्ध भएको छ ।

    लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गए राति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले यात्रीलाई आग्रह गरेको छ । प्रहरी प्रधानकार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने भएकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

  • पशुपतिनाथमा दर्शनार्थीको ओइरो

    पशुपतिनाथमा दर्शनार्थीको ओइरो

    काठमाडौँ, २५ साउनः आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।

    पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थान र आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ । गौरीनगरसम्म लामो लाम पनि लागेको छ ।

    यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि लाम लागेको छ । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक सङ्घ–संस्थाको विशेष सेवा तथा सहभागिता रहेको छ । सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगरमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ ।

    बिहान ३ः०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि राति ८ः०० बजेसम्म खुला रहने छ । विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म मात्र हुने जनाइएको छ । मन्दिर प्रवेशका लागि चारतिरबाट लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लामो समयसम्म लाममा बस्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ ।

    यसैगरी, पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था पनि गरिएको छ । विभिन्न सङ्घ–संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । यहाँका प्रसिद्ध शिवालय गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेवलगायत ठूला–साना सबै शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको रासस प्रतिनिधिहरूले जनाइएका छन् ।

  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन, २५ साउनः महोत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिँदा
    एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक युवकको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

  • टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

    टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

    बेइजिङ, २४ साउन (रासस–एपी) । टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो । ताइवानका केही वायुसेवा कम्पनीले पनि आइतबार चीनतर्फका उडान रद्द गरेका छन् ।


    आइतबार बिहान आँधीको अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा करिब १६२ किलोमिटर रहेको अनुमान गरिएको थियो । आँधीका कारण भारी वर्षा भइरहेको र बाढी तथा पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन् । आँधी आइतबार अबेर झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । मौसमविद्हरूले आगामी केही दिनमा ती क्षेत्रमा २०० देखि ४०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन् ।


    साङ्घाईको होङकियाओ र पुडोङ विमानस्थलले आइतबारका लागि निर्धारित करिब ६० प्रतिशत उडान रद्द गरेका छन् । झेजियाङको ताइझोउ सहरबाट शनिबार साँझसम्म करिब तीन लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । साङ्घाईका जोखिमयुक्त क्षेत्रबाट पनि ३० हजारभन्दा बढी मानिसलाई अन्यत्र स्थानान्तरण गरिएको छ । झेजियाङका अधिकारीहरूले फेरी, क्रुजलगायत जलयातायातका सबै गतिविधि स्थगित गरेका छन् । अधिकारीहरूले सम्भावित बाढी र पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

  • पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

    पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

    नियामे, २४ साउन (रासस–सिन्ह्वा) । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । नाइजर समाचार एजेन्सी (एएनपी) का अनुसार दुर्घटना माडाउवा सहरबाट करिब ५५ किलोमिटर टाढा माराडी–माडाउवा सडकखण्डमा भएको हो । दुर्घटनामा परेका दुई बसमध्ये एउटामा सैनिक जवानहरू सवार रहेको बताइएको छ । घाइतेहरूको उपचार भइरहेको तथा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको एएनपीले जनाएको छ ।

    नाइजरमा सडक दुर्घटना बढिरहेका बेला पछिल्लो घटना भएको हो । तीव्र गति, मादकपदार्थ सेवन गरी सवारी चलाउनु तथा सवारीसाधन र सडकको खराब अवस्थालाई यहाँ हुने सडक दुर्घटनाका प्रमुख कारण मानिन्छ । नाइजर सडक सुरक्षा एजेन्सीको प्रतिवेदन उद्धृत गर्दै एएनपीले सन् २०२५ मा देशभर सात हजार एक सयभन्दा बढी सडक दुर्घटना भएको जनाएको छ । ती दुर्घटनामा एक हजार २०० भन्दा बढीको मृत्यु तथा चार हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका थिए ।

  • बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

    बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

    मियामी, २४ साउन (रासस–एएफपी) । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले शनिबार लिग्स कपको खेलमा मोन्टेरेसँर्ग २–१ ले पराजीत भएको छ । टोलीहरूले खेलअघि जर्ज मेस्सीका लागि एक मिनेट मौन धारण गरेका थिए । उनको अर्जेन्टिनामा ६८ वर्षको उमेरमा निधन भएको हो । इन्टर मियामीका कप्तान लियोनेल मेस्सी शनिबार राति त्यहाँ पुगेका थिए । “हाम्रो हृदय हाम्रा कप्तान लियो र सम्पूर्ण मेस्सी परिवारसँग छ,” इन्टर मियामीले एक विज्ञप्तिमा भनेको छ।

    अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डि पाउलले ३२ औं मिनेटमा गोल गरेर मियामीलाई पहिलो ४५ मिनेटमा १–० को अग्रता दिलाएका थिए । यो मेक्सिकन टोलीविरुद्धको समूह चरणको खेल थियो। बेल्जियमका स्ट्राइकर हुगो कुइपर्सले ४७ औं मिनेटमा गोललाई बराबरी गरेका थिए । त्यसपछि उरुग्वेकास्ट्राइकर डिएगो रोस्सीले ९० औं मिनेटमा विजयी गोल गरेका थिए। मेजर लिग सकरको च्याम्पियन मियामीले आफ्नो पहिलो समूह चरणको खेलमा एट्लेटिको सान लुइसलाई ४–२ ले जितेका थियो। इन्टर मियामी बुधबार लियोनसँग खेल्नेछ ।

  • गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

    गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

    रसुवा, २४ साउनः जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।
    आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन् ।

    गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन् ।

    तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन् । यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ ।

  • ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

    ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

    काठमाडौँ, २४ साउनः सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ ।

    लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्न लागेको हो । रास्वपाका सहमहामन्त्री असिम शाहले आज विज्ञप्तिमार्फत जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।


    कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आमनागरिकका लागि खुला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुपर्ने हुनेछ । दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक, बहुआयामिक र नीतिगत नागरिक, सरकार (मन्त्री), व्यवस्थापिका (सांसद) र सङ्गठन (केन्द्रीय समिति) बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न यो कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

    यस्तै मन्त्रीहरूलाई आमनागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने, नागरिक, पार्टीको साङ्गठनिक तह, संसदीय दल र सरकार रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना र कार्ययोजनाको आदानप्रदान गर्ने लक्ष्य सो पार्टीले लिएको छ ।

  • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

    पाटन (ललितपुर), २४ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका बताएका छन् । पार्टीको केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरुको जिम्मेवारी भएको बताए ।


    “जब राष्ट्रिय मुद्दाहरूमा आउँछौँ, जहाँ सरकारसँग सहकार्य गर्नुपर्ने हुन्छ, त्यो बेलामा सबैभन्दा अगाडि प्रमुख प्रतिपक्षी दल सर्नुपर्छ, सँगसँगै हाम्रो अर्को जिम्मेवारी पनि छ, हामी प्रतिपक्ष हौँ, त्यसैले सरकारमाथि प्रश्न गर्ने हाम्रो जिम्मेवारी हो, तीन दल मिलेर सरकार बनाऔँभन्दा हामीले प्रतिपक्षीविहीन प्रदेश सरकारको अस्वीकार गरेका हौँ”, सभापति थापाले भने । सभापति थापाले नेपाली कांग्रेस पार्टीभित्र सम्पन्न भएको विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत, आवश्यक र औचित्यपूर्ण थियो भने ।


    “महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि यसले एउटा स्पष्ट निष्कर्ष निकालेको थियो, सोही निष्कर्ष र परिणामलाई लिएर हामी निर्वाचन आयोगमा उपस्थित भयौँ, निर्वाचन आयोगले नेपालको प्रचलित कानुन, निर्वाचनसम्बन्धी नियमहरू र आफ्नै आन्तरिक प्रशासनिक व्यवस्थाअनुसार पार्टीको महाधिवेशनबाट आएको नतिजालाई अध्ययन ग¥यौँ । आयोगले उक्त परिणामलाई आधिकारिक रूपमा स्वीकार गर्दै बुझ्यो र सोहीअनुसार पार्टीको विवरण अद्यावधिक ग¥यो । यससँगै निर्वाचन आयोगको प्रक्रिया पूरा भयो”, सभापति थापाले भने ।


    सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही साथीहरूले पूर्ण असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको भन्दै यसले थप प्रष्ट पार्ने बताए । “आयोगको निर्णयमाथि उठेका केही प्रश्नहरूमाथि पुनः एकपटक छलफल होस् भन्ने मनसायका साथ यो विषय पुनः अदालतको प्रक्रियामा पुगेको हो”, उनले भने ।


    सभापति थापाले १५औँ महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै साथीहरूलाई समान अधिकार दिइनेछ भन्ने जानकारी गराए । उनले दबाबमा नपरी, पुराना र नयाँ पुस्ताका साथै सबै समावेशी समुदायलाई समेटेर रुख चिन्हप्रति प्रतिवद्ध रही पार्टी एकजुट बनाउनुपर्छ भन्नेमा जोड दिए ।

  • कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

    कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

    महेन्द्रनगर, २४ साउनः कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९\८० यता हालसम्म सवारी दुर्घटनामा परी १५४ जनाले ज्यान गुमाउनुका साथै एक हजार ७८४ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक बलेन्द्र नाथले सवारी दुर्घटनामा बर्सेनि स्थानीयले ज्यान गुमाइरहेका भन्दै पूर्व-पश्चिम राजमार्गमा बढी दुर्घटना भइरहेकाले सवारी चलाउँदा सचेत हुनुपर्नेमा जोड दिए ।

    “ट्राफिक जानकारीसहित सचेतना पनि फैलाइरहेकै छौँ”, उनले भने, “मोटरसाइकल र स्कुटर दुर्घटनामा बढीले ज्यान गुमाएका देखिन्छ ।” उनले ठूला सवारीसाधन दुर्घटना न्यून रहे पनि साना सवारीको दुर्घटना बढी हुने गरेको बताए । प्रहरी निरीक्षक नाथले पछिल्लो सडक जाँच बढाउँदा मादक पदार्थ सेवक गरेर सवारी चलाउने सङ्ख्यामा कमी आएको बताए । “दैनिकजसो राति १२ः०० बजेसम्म जाँच हुन्छ”, उनले भने, “बजार क्षेत्रबाट राजमार्गका विभिन्न स्थानमा जाँच नियमित हुन्छ ।” तीव्र गतिका कारण अधकिांश दुर्घटना हुने गरेका जानकारी दिए ।
    कञ्चनपुरमा आव २०७९–८० मा सवारी दुर्घटनाबाट ४३ जनाको मृत्यु र ५९ जना घाइते भएका ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०८०–८१ मा ३२ जनाको मृत्यु र ७४ घाइते, आव २०८१–८२ मा ३८ को मत्यु र ७७३ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ । गत वर्ष २०८२\८३ मा कञ्चनपुरका ५६४ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक नाथको भनाइ छ ।

    गत आवमा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र ८७८ जना घाइते भएका प्रहरी निरीक्षक नाथले जानकारी दिनुभयो । बितेको तीन आवमा यहाँ ३५ हजार ८६१ सवारीलाई ट्राफिक नियम उल्लङ्घन गरेका भन्दै कारबाही गरिएको छ । गत आवमा मात्रै ट्राफिक कारबाहीबाट कञ्चनपुरमा रु ५९ लाख १४ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

  • पूर्वाधार मन्त्री लम्सालले भने : गुल्मी अस्पतालको ठेक्का तत्काल तोड्दिनु

    पूर्वाधार मन्त्री लम्सालले भने : गुल्मी अस्पतालको ठेक्का तत्काल तोड्दिनु

    गुल्मी, २४ साउनः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित गुल्मी अस्पताल भवनको आज अनुगमन तथा निरीक्षण गरेका छन् । लामो समयदेखि निर्माणाधीन अस्पताल भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले भवन निर्माणको भौतिक प्रगति, गुणस्तर तथा हालसम्म भएका कामका बारेमा जानकारी लिए । अनुगमनका क्रममा अस्पताल निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेर भए पनि काम अघि बढाउन निर्देशन दिए ।


    मन्त्री लम्सालले निर्माण व्यवसायी जोसुकै भए पनि समयमा काम सम्पन्न नगरेमा पटकपटक समय दिन नसकिने बताउँदै कामको अवस्था हेरेर प्रक्रिया अघि बढाउनुपर्ने बताए । अनुगमनका क्रममा भवन निर्माणसम्बन्धी सम्झौता अनुसारका सम्पूर्ण काम गुणस्तरीय रूपमा सम्पन्न गर्न उनले निर्देशनसमेत दिए ।
    गुल्मी अस्पताल भवन निर्माणको भौतिक प्रगति हालसम्म ९२ प्रतिशत पुगेको बताइएको छ ।

    दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार १८ गते सम्झौता भई काम सुरु गरिएको भवन निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप हुँदै आएको छ । रु २५ करोड ९४ लाखको लागतमा स्वच्छन्द–बानियाँ जेभी, हेटौँडा, मकवानपुरले भवन निर्माणकोे जिम्मेवारी लिएको छ ।

    पछिल्लो पटक उक्त भवन निर्माण सम्पन्न गर्नका लागि पाँचाँै पटक म्याद थप गरिएको छ । नयाँ भवनमा सघन उपचार कक्ष (आइसीयु), सर्जिकल, मेडिकल तथा बाल उपचार कक्षका लागि छुट्टाछुट्टै व्यवस्था गरिने बताइएको छ । गुल्मी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिए पनि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । मन्त्री लम्सालले अस्पतालमा ब्लड बैंक स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

  • एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने

    एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने

    वासिङ्टन, २४ साउन (रासस–एएफपी) । अमेरिकी प्रविधि कम्पनी अमेजनले टेक्सासमा विशाल ग्यास विद्युत् प्लान्ट निर्माणका लागि लगानी गरिरहेको जनाएको छ । उक्त प्लान्ट कम्पनीका नयाँ डेटा सेन्टर सञ्चालनका लागि प्रयोग हुनेछ । पेकोस काउन्टीमा निर्माण हुने उक्त प्लान्टबाट सात दशमलव ६५ गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसमा ३५ वटा टर्बाइन रहनेछन् । यो हाल संयुक्त राज्य अमेरिकामा सञ्चालनमा रहेका ग्यासबाट विद्युत् उत्पादन गर्ने प्लान्टमध्ये सबैभन्दा ठूलो हुनेछ ।

    प्लान्टबाट वार्षिक तीन करोड मेट्रिक टनभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्न अनुमति दिइएको छ । यो अमेरिकामा कुनै एकल स्रोतबाट हुने सबैभन्दा ठूलो उत्सर्जन हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, वास्तविक उत्सर्जन अनुमति दिइएको सीमाभन्दा कम हुने गर्छ । बजार अनुसन्धान कम्पनी क्लीनभ्यूले अमेजनले हालै दायर गरेका तीनवटा डेटा सेन्टर निर्माण अनुमतिपत्रको अध्ययन गर्दै प्लान्ट र डेटा सेन्टरबीचको सम्बन्ध सार्वजनिक गरेको थियो । प्लान्ट प्यासिफिको इनर्जीले निर्माण गरिरहेको छ र यसलाई ‘जीडब्ल्यू रान्च’ नाम दिइएको छ ।


    अमेजनका अनुसार आफ्नै विद्युत् उत्पादन गर्दा डेटा सेन्टरका लागि आवश्यक पूर्वाधारको लागत सामान्य उपभोक्तामाथि पर्नेछैन । कम्पनीले डेटा सेन्टर सञ्चालनका लागि विद्युत्को पूर्ण लागत आफैँले बेहोर्ने जनाएको छ । “अमेजनले हाम्रो सञ्चालनका लागि आवश्यक विद्युत्को पूर्ण लागत तिर्नुपर्छ भन्ने विश्वास गर्छ,” कम्पनीका प्रवक्ताले भन्नुभयो । कम्पनीका अनुसार पेकोस काउन्टीमा प्रस्तावित डेटा सेन्टर परिसर नयाँ स्थलगत विद्युत् उत्पादनबाट सञ्चालन हुनेछ । विद्युत् प्रसारण प्रणालीसँग जोडिने समयरेखाअनुसार पछि राष्ट्रिय विद्युत् ग्रिडसँग जोडिने गरी परियोजना डिजाइन गरिएको छ ।

    अमेजनले उक्त क्षेत्रमा सौर्य ऊर्जा तथा ब्याट्री भण्डारण प्रणाली प्रयोग गर्ने सम्भावनाको अध्ययन गरिरहेको जनाएको छ । डेटा सेन्टरका लागि गैरपेयजलयोग्य खारा भूमिगत पानी प्रयोग गरिने र यसबाट स्थानीय जलस्रोतमा पर्ने दबाब कम हुने कम्पनीको दाबी छ । अमेजनले सन् २०४० सम्ममा आफ्नो कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।

    कम्पनीका अनुसार टेक्सासमा करिब १० गिगावाट क्षमताका ४० वटा कार्बनरहित ऊर्जा परियोजनालाई समेत सहयोग गरिएको छ । डेटा सेन्टरका लागि विद्युत् उत्पादन गर्ने यस्तो ‘मिटरपछाडि’ प्रणाली पछिल्लो समय प्रविधि कम्पनीहरूमा बढ्दै गएको छ । एआई प्रविधिको तीव्र विस्तारसँगै डेटा सेन्टरका लागि ठूलो मात्रामा तत्काल विद्युत् आवश्यक पर्न थालेपछि कम्पनीहरूले राष्ट्रिय ग्रिडमा निर्भरता घटाउने उपाय खोजिरहेका छन् ।

    बजार अनुसन्धान कम्पनी क्लीनभ्यूका अनुसार मेटा, माइक्रोसफ्ट र ओरेकललगायत ठूला प्रविधि कम्पनीहरूले समेत करिब ९७ गिगावाट क्षमताका यस्ता परियोजना अघि बढाउने योजना बनाएका छन् । विश्लेषकहरूका अनुसार यस्ता परियोजनाबाट हुने कार्बन उत्सर्जन उल्लेखनीय हुनसक्छ । परियोजनाको सङ्ख्या, टर्बाइनको दक्षता र सञ्चालनको अवधिअनुसार वार्षिक कार्बन डाइअक्साइड उत्सर्जन २० करोड मेट्रिक टनभन्दा बढी पुग्नसक्ने अनुमान गरिएको छ ।

    युनियन अफ कन्सन्र्ड साइन्टिस्ट्सका ऊर्जा विश्लेषक जोन रोजर्सले प्राकृतिक ग्यासको प्रयोगबाट विद्युत् उत्पादन गर्ने अझ प्रभावकारी उपायहरू रहेको बताउनुभएको छ । उहाँका अनुसार प्रस्तावित प्लान्टहरूले त्यस्ता विकल्प प्रयोग नगरेकाले वातावरणीय तथा स्थानीय प्रदूषणको जोखिम बढ्न सक्छ । कोइलाभन्दा प्राकृतिक ग्यासबाट हुने प्रदूषण कम भए पनि ग्यास प्लान्टहरू हरितगृह ग्यास उत्सर्जनका महत्वपूर्ण स्रोत हुन् । प्राकृतिक ग्यासको मुख्य घटक मिथेन उत्पादन, प्रशोधन र ढुवानीका क्रममा चुहावट हुनसक्ने भएकाले यसले जलवायु परिवर्तनमा थप असर पार्ने विज्ञहरूको भनाइ छ ।

    ग्यास प्लान्टबाट कार्बन उत्सर्जनका अतिरिक्त सूक्ष्म कण, नाइट्रोजन अक्साइड तथा पारा, फर्माल्डिहाइड र बेन्जिनजस्ता हानिकारक वायु प्रदूषकसमेत उत्सर्जन हुने गर्छन् । यस्ता प्रदूषक मुटु तथा फोक्सोसम्बन्धी समस्या र श्वासप्रश्वाससम्बन्धी रोगसँग जोडिएका छन् ।

  • हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो

    हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो

    गाजा सिटी, २४ साउन (रासस–एएफपी) । हमासले शनिबार अमेरिकी समर्थन प्राप्त गाजा शान्ति योजना अगाडि बढाउन तयार रहेको बताउँदै इजरायलमाथि दबाब दिन आग्रह गरेको छ । इजरायलले भने सम्झौताको पछिल्लो भागमा सहमति जनाएको छैन भन्ने अडान लिइरहेको छ । “हमासले योजनाको पछिल्लो चरणमा अडिग छ, जसअन्तर्गत लडाकुहरूले युद्धग्रस्त क्षेत्रमा गठन हुने नयाँ प्यालेस्टिनी शासन समितिलाई हतियार सुम्पिनेछन्,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठित शान्ति समिति ९बोर्ड अफ पिस० लाई हमासले जानकारी गराएको छ ।

    हमास अधिकारीले एएफपीसँग भने, “हमास र अन्य गुटहरूले मध्यस्थकर्ताहरूलाई सम्झौता कार्यान्वयन सुरु गर्न र दोस्रो चरणमा जान तयार रहेको पुष्टि गरेका छन्, तर यसका लागि इजरायली स्वीकृति आवश्यक छ र इजरायलले पनि सम्झौता कार्यान्वयन सुरु गर्नुपर्छ।” नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, “हमासले अमेरिकी प्रशासनलाई इजरायलमाथि दबाब दिएर सम्झौता पालना गर्न र दोस्रो चरणमा जान बाध्य पार्न आग्रह गर्दछ।”

    अक्टोबरमा कठिन पुनःनिर्वाचन सामना गरिरहेका र आफ्नो दक्षिणपन्थी आधारबाट गाजा सम्झौताप्रति व्यापक विरोध भोगिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गत मङ्गलबार भन्नुभएको थियो, “इजरायलले ‘बोर्ड अफ पिस’ले प्रस्तुत गरेको ‘मस्यौदा’ मा सहमति जनाएको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता हमासले योजनाअन्तर्गत निःशस्त्रीकरणमा सहमति जनाएको बिषयलाई सफलताका रूपमा स्वागत गर्नुभएको थियो । बोर्ड अफ पिसले इजरायलले पनि समानान्तर रूपमा गाजाको ठूलो भागबाट चरणबद्ध रूपमा फिर्ता हुने प्रस्ताव मस्यौदामा गरेको थियो ।

    इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार बोर्ड अफ पिसका गाजाका लागि उच्च प्रतिनिधि निकोले म्लादेनोभसँग भेट गर्नुभएको थियो । म्लादेनोभले भेटपछि भन्नुभयो, “इजरायल हमासको पूर्ण निःशस्त्रीकरणपछि मात्र फिर्ता हुनेछ।” इजरायली सेनाले पनि हमासलाई निरन्तर निशाना बनाउने प्रतिज्ञा गरेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि सबैभन्दा घातक आक्रमण गरेको थियो । गाजामा इजरायली अपरेशनहरू जारी रहे पनि पछिल्ला दिनहरूमा तीव्रता घटेको देखिन्छ । शनिबार खान युनिसको नासर अस्पतालले इजरायली सेनाको गोलीबाट तीन जना घाइते भएको रिपोर्ट गरेको छ ।

    गाजा स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कअनुसार गत अक्टोबरमा ट्रम्पको समर्थनमा युद्धविराम सम्झौता भएयता इजरायली कारबाहीहरूबाट हमासको नियन्त्रणमा रहेको प्यालेष्टिनी क्षेत्रमा एक हजार २५७ प्यालेस्टिनी मारिएका छन् र संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वसनीय मानेको छ । इजरायली सेनाले सोही अवधिमा आफ्ना पाँच जनाको मृत्यु भएको रिपोर्ट गरेको छ ।

  • अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

    अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

    तेहरान, २४ साउन (रासस,एएनआई) । राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य अमेरिकाले पर्सियाली खाडीका राष्ट्रहरूलाई तेहरानको विरुद्ध ‘लगाउन’ खोजिरहेको आरोप लगाउनुभएको छ। पश्चिम एसिया द्वन्द्वका बीच यी दुई मित्र राष्ट्रहरूले इरानका ‘आन्तरिक चुनौतीहरू’ को फाइदा उठाइरहेका उहाँले दावी गर्नुभएको छ । अमेरिका र इजरायलसँग इरान संलग्न सैन्य द्वन्द्व जारी छ र हर्मुज जलमार्ग हुँदै व्यावसायिक समुद्री यातायात पुनः सुरु गर्नु मुख्य विवादको विषय बनेको छ ।

    पेजेस्कियानले इरानी राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा भन्नुभयो, “इजरायल र संयुक्त राज्य अमेरिका पर्सियाली खाडी राष्ट्रहरूलाई हाम्रो विरुद्ध लगाउन खोजिरहेका छन्। हामी यसलाई रोक्न प्रयास गरिरहेका छौँ। अवश्य नै हामीसँग आन्तरिक चुनौतीहरू पनि छन्, किनकि दृष्टिकोण फरक–फरक छन् र स्वाभाविक रूपमा अमेरिका र इजरायल यस स्थितिको फाइदा उठाइरहेका छन्।”

    छिमेकी खाडी राष्ट्रहरूप्रति सद्भाव देखाउँदै इरानी नेताले उक्त अन्तवार्तामा इस्लामी एकतामा जोड दिनुभएको छ । पेजेस्कियानले इरानी राष्ट्रिय टेलिभिजनमा प्रसारित अन्तवार्तामा अगाडि भन्नुभयो, “सबै मुस्लिमहरू दाजुभाइ हुन् । मैले पहिले पनि भनेको छु र यो देखावटी कुरा होइन कि यो मेरो बुझाइ हो । यो अल्लाहका रसूलले सिकाएको कुरा हो र पवित्र किताबमा लेखिएको छ। दाजुभाइको अर्थ हो सबै मुस्लिमहरू चाहे उनीहरू शिया हुन् वा सुन्नी एकजुट छन् । उनीहरू हरेक मुस्लिम दाजुभाइ हुन् ।”

    खाडीको वर्तमान् अवस्था र वासिङ्गटन र बेइजिङबीचको जटिल भूराजनीतिक सम्बन्धसँग समानता देखाउँदै पेजेस्कियानले राष्ट्रिय अस्तित्वका लागि रणनीतिक ध्यान र कहिले ‘आफ्नो काममा ध्यान दिनुपर्छ’ भन्ने कुरा थाहा हुनुपर्ने तर्क गर्नुभयो । उहाँले इरानी टेलिभिजनसँगकोृ अन्तवार्तामा भन्नुभयो, “अस्तित्व जोगाउन हामीले थाहा पाउनुपर्छ कि हामी के गरिरहेका छौँ । कहिले लड्ने, कहिले शान्ति गर्ने र कहिले उनीहरूले आफ्नो काम गर्दा हामीले आफ्नो काम गर्ने। के चीन र संयुक्त राज्य अमेरिका मित्र हुन्ररु चीन अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हुन्, तर किन उनीहरू लड्दैनन् रु चीन आफ्नो काममा ध्यान दिन्छ र हरेक दिन बलियो बन्दै गएको छ। युद्धले कसैलाई भलो गर्दैन र मुस्लिम दाजुभाईबीच एकता आजको आवश्यकता हो ।”

    रणनीतिक समुद्री मार्गमा भइरहेका गतिविधिबारे बोल्दै पेजेस्कियानले जलसन्धिमा गरिएका कारबाहीहरू नियम उल्लंघन गर्ने जहाजहरूविरुद्ध मात्र लक्षित भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “जलमार्गका केही भागमा उनीहरूले हामीले पालना नगरेको दाबी गर्छन्, त्यसैले हामीले कारबाही गर्यौं। जलसन्धिमा हामीले नियम उल्लङ्घन गर्ने जहाजहरूसँग सैन्य झडप सुरु गर्यौं। तर केही मानिसहरू बाहिर आएर हामीलाई गद्दार भन्छन् वा हामीले सम्झौता पूरा नगरेको भन्छन्। हामीले हस्ताक्षर गरेको समझदारी पत्रको हामी दृढतापूर्वक रक्षा गर्छौँ ।”

    इरानी राष्ट्रपतिले आफ्नो देश आफ्ना हितहरूको रक्षा गर्न तयार रहेको दाबी गर्दै उहाँले तेल अभिभले निरन्तर शत्रुता बढाइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मलाई एउटा पनि धारा देखाउनुहोस् जहाँ हामीले आत्मसमर्पण गरेका छाँैं। केही मानिसहरू युद्धको जोड दिइरहेका छन्, जुन ठ्याक्कै इजरायलले चाहेको कुरा हो। यदि उनीहरूले हामीलाई झुकाउन खोजे भने हामी लड्नेछौँ। हामी पछि हट्ने छैनौँ र टाउको निहुराउने छैनौँ। तर जब हामी आफ्ना अधिकार सुरक्षित गर्न सक्छाँैं, किन द्वन्द्व जारी राख्नेरु त्यो इजरायलले चाहेको कुरा हो।”

    पेजेस्कियानले नागरिक प्रशासन र इस्लामी क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) बीच आन्तरिक मतभेद रहेको अफवाहलाई पनि खारेज गर्दै तेहरान ‘एकजुट’ र ‘समन्वित’ रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “सरकार र सशस्त्र बलबीच कुनै दरार छैन। इरान एकजुट र समन्वित छ, र विभाजन सिर्जना गर्नु देशका शत्रुहरूले चाहेको कुरा हो। हाम्रा लडाकुहरूले संसारलाई चकित पारेका छन्।”

  • संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

    संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

    यमन, २४ साउन (रासस–सिन्ह्वा) । यमनका लागि संयुक्त राष्ट्रका विशेष दूत हान्स ग्रुन्डबर्गले साउदी ट्याङ्कर र यमनी सरकारी फौजविरुद्ध हुथी समूहको बढ्दो आक्रमणको बीचमा यमनमा द्वन्द्वको बढ्दो जोखिमको चेतावनी दिनु भएको छ । विज्ञप्ति जारी गर्दै ग्रुन्डबर्गले मारिब र हदरामाउट प्रान्तमा हुथी समूहले गरेको पछिल्लो आक्रमणलाई औंल्याउनु भएको छ जसले नागरिकहरू लगायत लाल सागर र एडनको खाडीमा व्यावसायिक ढुवानीमा आक्रमण गरेको बताइएको छ ।

    उहाँले विमानस्थलसहित नागरिक पूर्वाधारमा आक्रमण र क्षेत्रीय तनाव बढेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । आक्रमण जारी रहेमा यस्ता घटनाक्रमले सन् २०२२ को युद्ध(विरामको उपलब्धिलाई जोखिममा पार्ने खतरा रहेको बताउदै ग्रन्डबर्गले उनीहरूले यमनलाई व्यापक क्षेत्रीय द्वन्द्व मा ल्याउन सक्ने चेतावनी दिनु भएको छ ।

    ग्रन्डबर्गले पछिल्लो समयमा यमनका दलहरू, क्षेत्रीय अभिनेता र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्झौताका लागि विकल्पहरू खोज्न गहन छलफल गरेको उल्लेख गर्नु भएको छ । उहाँले सबै सम्बन्धित पक्षहरूलाई अधिकतम संयमता अपनाउन, सैन्य प्रतिशोधलाई उत्प्रेरित गर्न सक्ने कार्यहरू रोक्न र संयुक्त राष्ट्रको तत्वावधानमा सद्भावपूर्ण वार्तामा संलग्न हुन आह्वान गर्नुभएको छ । सन् २०१४ को अन्त्यमा हुथीहरूले राजधानी सानासहित उत्तरी यमनको धेरै भाग कब्जा गरे देखि यमन द्वन्द्वमा फसेको जनाइएको छ ।

    एक संयुक्त राष्ट्रसङघ्को मध्यस्थतामा सन् २०२२ मा गरिएको युद्ध–विराम सोहि वर्षको अक्टोबर देखि लागु भए पछि युद्ध केहि हद सम्म नियन्त्रणमा आएको जनाइएको छ । हुथी समूहले हुथी नियन्त्रित क्षेत्रहरूमा कायम साउदी नाकाबन्दीलाई उद्धृत गर्दै जुलाईमा साउदी जहाजमा समुद्री प्रतिबन्धको घोषणा गरेको थियो भने यो दाबीलाई रियादले दृढतापूर्वक अस्वीकार गरेको थियो ।

  • उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ मा मनाइने

    उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ मा मनाइने

    काठमाडौँ, २४ साउनः उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरी मनाइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा उक्त दिवस मनाउने निर्णय गरेको हो । बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रको छाता सङ्गठन, शैक्षिक संस्था र सामाजिक संस्थाका पदाधिकारी तथा प्रतिनिधि सम्मिलित मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

    मूल आयोजक समितिको उपाध्यक्षमा मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव शिवकुमार सापकोटा र सदस्यसचिवमा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव प्रेमराज अधिकारी रहनुभएको छ । यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ तय गरिएको छ । उक्त नाराले उमेर, वर्ग र समुदायको सीमाभन्दा माथि उठेर सबैका लागि पुस्तकालयको पहुँच र उपयोगितालाई जोड दिएको छ ।

    चार विषयगत समिति गठन

    उक्त दिवसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा सम्मान तथा पुरस्कार समिति तथा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख प्रेमराज अधिकारीको संयोजकत्वमा प्रकाशन तथा सम्पादन समिति गठन गरिएको छ ।

    त्यस्तै नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेयको संयोजकत्वमा प्रचारप्रसार समिति र पुस्तकालय परिचारक सङ्गठन नेपालका अध्यक्ष यज्ञराज भट्टको संयोजकत्वमा सामाजिक तथा रचनात्मक क्रियाकलाप समिति गठन गरिएको पुस्तकालय सङ्घका महासचिव पाण्डेयले जानकारी दिनुभयो ।

    प्रदेशदेखि स्थानीय तहसम्म कार्यक्रम हुने

    पुस्तकालय दिवस कार्यक्रम प्रदेश र स्थानीय तहका शैक्षिक संस्था तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थामार्फत कार्यक्रम सञ्चालन गरिनेछ । त्यसका लागि सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको महासचिव पाण्डेयले जानकारी दिनुभयो ।

    त्यस्तै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरिनेछ । त्यसको आवश्यक सहजीकरणका लागि गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घलाई समेत अनुरोध गरिनेछ ।

  • पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    टिकाराम सुनार–रासस
    सुदूरपश्चिम, २४ साउनः खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन् । बडिमालिकाको आफ्नै धार्मिक महिमा छ । शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ । रामारोशनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ ।

    त्रिपुरासुन्दरी, उग्रतारा, वैद्यनाथधाम, परशुरामधाम, मल्लिकार्जुनलगायत ऐतिहासिक तथा धार्मिक सम्पदा, पहाडी–हिमाली गाउँका मौलिक जीवनशैली, पदयात्रा, जलपर्यटन र साहसिक गतिविधि सुदूरपश्चिमको पर्यटन विकासका बलिया आधार हुन् । यी सम्भावनालाई सरकारले पनि वर्षौँदेखि आर्थिक समृद्धि, रोजगारी र उद्यमशीलतासँग जोडेर व्याख्या गर्दै आएको छ ।

    आर्थिक सर्वेक्षणले पर्यटनलाई प्रदेशको विकासको प्रमुख सम्भावनाका रूपमा औँल्याएको छ । प्रदेशमा छुट्टै पर्यटन ऐन बनेको छ । पर्यटन गुरुयोजना तयार भएको छ । वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधिले पनि समुदायमा आधारित पर्यटन, होमस्टे, गन्तव्य प्रवर्द्धन र पर्यटकमैत्री पूर्वाधारलाई प्राथमिकता दिएको छ, तर नीति र योजनाले देखाएको बाटो र प्रदेश सरकारको बजेट कार्यान्वयनको तस्बिर भने फरक छ ।

    प्रदेश सरकारले पर्यटनलाई उद्योग, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्ने लक्ष्य राखे पनि पर्यटन क्षेत्रका लागि विनियोजित बजेटको ठूलो हिस्सा अझै पनि छरिएका पूर्वाधार तथा संरचना निर्माणमै केन्द्रित छ । यस्ता कार्यले पर्यटन अर्थतन्त्र निर्माणमा सहयोग गर्न नसकिरहेको सरोकार भएकाहरूको भनाइ छ ।

    बजेटको ठूलो हिस्सा संरचनामै

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ को पर्यटन क्षेत्रसम्बन्धी योजनाले यही अन्तरलाई देखाउँछ । मन्त्रालयले गत वर्ष पर्यटन क्षेत्रअन्तर्गत पूर्वाधार योजना तथा रोजगारी, क्षमता अभिवृद्धि तथा संस्थागत विकास, पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार र पर्यटकीय वस्तु तथा सेवा विस्तारका कार्यक्रम सञ्चालन गरेको थियो ।

    ती कार्यक्रमका लागि रु ४६ करोड ३० लाख विनियोजन गरिएको थियो, तर विनियोजनको ठूलो हिस्सा पूर्वाधारमै खर्च भयो । पूर्वाधारतर्फ २९९ योजना कार्यान्वयनमा थिए । तीमध्ये धेरै योजना धार्मिक संरचनासँग सम्बन्धित थिए । मन्त्रालयको विवरणअनुसार १३३ मन्दिर, छ क्रिश्चियन मण्डली, दुई मस्जिद, एउटा थारू देउथान मरुवा, आठ धर्मशाला, एउटा मूर्ति निर्माण र २२ धार्मिक क्षेत्र घेरापर्खाल गरी धार्मिक क्षेत्रसँग सम्बन्धित १७४ योजना थिए ।

    यी योजनामा रु २७ करोड दुई लाख खर्च भएको छ । यसले पूर्वाधारतर्फको खर्चको ठूलो हिस्सा अर्थात् ६०.२४ प्रतिशत रकम धार्मिक संरचनामा केन्द्रित भएको देखिन्छ । मन्दिर निर्माणमा मात्रै रु १८ करोड ६१ लाख खर्च भएको मन्त्रालयको विवरण छ, जुन कुल पर्यटन बजेटको करिब ३७ प्रतिशत हो ।

    यस्तै, थारू देउथान तथा मरुवा निर्माणमा रु एक करोड ५० लाख, धर्मशाला निर्माणमा रु दुई करोड १० लाख, धार्मिक क्षेत्र व्यवस्थापन तथा घेरापर्खालमा रु दुई करोड ७३ लाख र मस्जिद निर्माणमा रु ४० लाख खर्च भएको छ । धार्मिक सम्पदामा गरिएको लगानीलाई पर्यटन विकासको महत्त्वपूर्ण हिस्सा मानिएको छ, तर त्यो लगानीले पर्यटकको आगमन, बसाइ, खर्च, स्थानीय उत्पादनको बिक्री र रोजगारी बढाउने पर्यटन चक्र निर्माण गर्न कति योगदान गर्यो भन्ने लेखाजोखा बाँकी छ ।

    सेवा विस्तारमा थोरै लगानी

    गत वर्ष पदमार्ग निर्माणका ६३ योजनामा रु आठ करोड २० लाख खर्च भएको छ । पर्यटकीय पार्क निर्माणका १८ योजनामा रु दुई करोड ९० लाख, सामाजिक भवन निर्माणका नौ योजनामा रु एक करोड ७३ लाख र ट्रस भवन निर्माणमा रु एक करोड १५ लाख खर्च भएको मन्त्रालयको विवरणमा उल्लेख छ । पदमार्ग, पार्क, धार्मिक सम्पदा र पर्यटकीय पूर्वाधार पर्यटनका लागि आवश्यक संरचना हुन्, तर संरचना निर्माणमात्रै पर्यटन उद्योगको आधार बन्न नसक्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ ।

    पर्यटक कुनै गन्तव्यमा पुगेर कति समय बस्छ, के खान्छ, स्थानीय उत्पादन के किन्छ, कुन सेवा प्रयोग गर्छ र त्यसबाट स्थानीय समुदायले कति आम्दानी गर्छ भन्ने विषयले पर्यटन अर्थतन्त्रको वास्तविक प्रभाव निर्धारण गर्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहको भनाइ छ । प्रदेशको हालको पर्यटन विकास प्राथमिकताले दीर्घकालीन पर्यटन अर्थतन्त्र निर्माणमा पर्याप्त योगदान गर्न नसक्ने उहाँ बताउनुहुन्छ ।

    “सरकारको लगानीले समग्र प्रदेशको विकासमा कति योगदान गर्छ भन्ने लेखाजोखा गरेर योजना बनाइनुपर्छ । हालको विकास अभ्यासले तजबिजका आधारमा बजेट विनियोजन गर्ने प्रवृत्ति देखिन्छ । यसले पर्यटन क्षेत्रको दीर्घकालीन विकासमा योगदान गरिरहेको छैन”, सिंहले भन्नुभयो ।

    सरकारले आफ्नै पर्यटन गुरुयोजना, नीति र अन्य प्रदेशले गरेका असल अभ्यासलाई आधार बनाएर लगानीको प्राथमिकता निर्धारण गर्नुपर्नेमा सिंह जोड दिनुहुन्छ । “कसले के स्वार्थले माग राख्यो, त्यो मागको आवश्यकता के हो रु त्यसले पर्यटन विकासको प्राथमिकतासँग मेल खान्छ कि खाँदैन भनेर विश्लेषणपछि मात्रै कार्यान्वयन गरिनुपर्छ । हाल त्यस्तो भइरहेको छैन”, उहाँले भन्नुभयो ।

    ‘नीतिले खोजेको यस्तो होइन’

    सुदूरपश्चिम प्रदेश पर्यटन ऐन, २०७७ ले पर्यटनलाई आर्थिक विकास, रोजगारी सृजना, निजी लगानी, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र दिगो पर्यटन विकासको माध्यमका रूपमा परिकल्पना गरेको छ ।

    पर्यटन गुरुयोजनाले पनि साहसिक पर्यटन, धार्मिक पर्यटन, प्रकृतिमा आधारित पर्यटन, निजी क्षेत्रको साझेदारी र स्थानीय समुदायको सहभागितामार्फत पर्यटन अर्थतन्त्र विस्तार गर्ने लक्ष्य लिएको छ । वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधिले समुदायमा आधारित पर्यटन, होमस्टे, पर्यटन प्रवर्द्धन, गन्तव्य विकास, पर्यटकमैत्री पूर्वाधार तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ ।

    आर्थिक सर्वेक्षण २०८२÷८३ ले समेत सेवा क्षेत्रको विस्तार र रोजगारी सृजनामा पर्यटनको योगदान बढाउनुपर्ने आवश्यकता औँल्याएको छ, तर बजेटको वास्तविक संरचना हेर्दा नीति र योजनाअनुसार छैन ।

    होमस्टे प्रवर्द्धन तथा भवन निर्माणका लागि गत वर्ष रु ५५ लाख खर्च भएको छ । पर्यटन क्षेत्र संरक्षणमा रु ५० लाख, प्राकृतिक ताल संरक्षणमा रु १५ लाख र पर्यटकीय क्षेत्रमा तारजालीका लागि रु १५ लाख खर्च भएको छ । सङ्ग्रहालय, पर्यटक सूचना केन्द्र, सार्वजनिक शौचालय, विश्रामस्थल तथा पर्यटक सेवासँग सम्बन्धित पूर्वाधारमा पनि तुलनात्मक रूपमा सीमित लगानी भएको देखिन्छ ।

    पर्यटन अर्थतन्त्र

    पर्यटन अर्थतन्त्रको प्रभाव भवन वा संरचना बनेपछि सकिँदैन । वास्तविक प्रभाव त पर्यटक गन्तव्यमा पुगेपछि सुरु हुन्छ । होटल, होमस्टे, स्थानीय खाना, हस्तकला, यातायात, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि र स्थानीय उत्पादनको बिक्रीबाट समुदायले आम्दानी गर्छ । पर्यटकको बसाइ एक दिन लम्बिँदा पनि त्यसको प्रभाव होटल व्यवसायीदेखि किसान, चालकदेखि स्थानीय उद्यमीसम्म पुग्न सक्छ ।

    संस्कृतिविद् पदमराज जोशी ‘प्रभात’ धार्मिक तथा सांस्कृतिक सम्पदा विकासका नाममा कुलदेउता र मष्ठाजस्ता धार्मिक संरचनामा राज्यको लगानी गर्नु पर्यटन विकासको दीर्घकालीन उपाय नभएको बताउनुहुन्छ । “सरकारलाई धार्मिक क्षेत्रमा लगानी गरिरहेका छौँ भन्ने लागिरहेको छ, तर त्यो अनुत्पादक छ । मष्ठा, कुलदेउताका मन्दिर कुलले नै बनाउने हो, त्यसमा राज्यको लगानी आवश्यक हो होइन सोचौँ”, उहाँ भन्नुहुन्छ, “राज्यले त धार्मिक पर्यटनको सम्भावना भएका प्रमुख गन्तव्यलाई केन्द्रमा राखेर पूर्वाधार र सेवा विकास गर्न सक्नुपर्छ । त्यसको लाभ ठूलो भूगोल र समुदायले लिन सक्छ ।”

    जोशी सुदूरपश्चिमका धेरै धार्मिक सम्पदाहरूले लगानी पर्खिरहेकाले त्यसमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । “सुदूरपश्चिममा चार धाम छन् । भगवतीका शक्ति केन्द्र छन् । धार्मिक र प्राकृतिक दुवै हिसाबले विश्वप्रसिद्ध सम्पदा छन्, तिनको विकासले नेपालीमात्रै होइन, नजिकै रहेको भारतका करोडौँ नागरिकलाई आकर्षित गरेर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । त्यसबाट लाखौँ रोजगारी सृजना हुन्छ, त्यसतर्फ ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

    मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्ष कार्यान्वयन भएका पर्यटन क्षेत्रका कार्यक्रमबाट एक लाख ३६ हजार ३८० जनाले तत्कालका लागि प्रत्यक्ष रोजगारी पाएका छन्, तर त्यो दीर्घकालीन होइन । त्यसैले स्थायी रोजगारी सृजना, नयाँ उद्यम विकास, पर्यटकको बसाइ र स्थानीय समुदायको आम्दानी बढाउने संरचनामा लगानी गर्नुपर्ने नाट्टा सुदूरपश्चिमका अध्यक्ष सिंहको भनाइ छ ।

    प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख डबलबहादुर बोहरा धेरैजसो योजना र बजेट धार्मिक मठ, मन्दिरजस्ता संरचनामा छरिँदा दिगो रोजगारी सृजना र गन्तव्य विकासमा पर्याप्त लगानी हुन नसकेको बताउनुहुन्छ । “आफ्नो आस्थाको धरोहर मष्ठा र कुलदेउताको थान बनाउन पनि सरकारकै लगानी खोज्ने प्रवृत्तिले यो समस्या देखिएको हो । हामीले चाहेर पनि त्यस्ता योजना छनोट हुने क्रमलाई रोक्न सकेका छैनौँ । सबै सचेत हुनुपर्ने आवश्यकता छ”, उहाँ भन्नुहुन्छ ।

    गुरुयोजना नै मूल आधार

    सुदूरपश्चिमसँग धार्मिक सम्पदामात्रै होइन, हिमाली पर्यटन, पदयात्रा, कैलाश मानसरोवर मार्गसँग जोडिने सम्भावना र कर्णाली, महाकाली, सेतीलगायत नदीमा जलपर्यटन तथा समुदायमा आधारित होमस्टेका अनेक सम्भावना छन् । यी सम्भावनालाई आर्थिक शक्तिमा रूपान्तरण गर्न गन्तव्य व्यवस्थापन, डिजिटल प्रवर्द्धन, पर्यटन ब्रान्डिङ, निजी लगानी, स्थानीय उत्पादनको बजारीकरण र समुदायको क्षमता विकासमा निरन्तर लगानी आवश्यक छ । त्यसका लागि नीति र योजनाबीच तालमेल हुनुपर्ने आवश्यकता आफूहरूले पनि महसुस गरेको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन राना बताउनुहुन्छ ।

    “सुदूरपश्चिमको सबलता भनेकै प्राकृतिक र धार्मिक सम्पदा हुन् । यिनको विकासले धार्मिक आस्थाको संरक्षण र पर्यटन क्षेत्रमार्फत समग्र विकासको प्रवर्द्धनमा टेवा पुग्छ । गुरुयोजनाको अभिष्टअनुसार काम गरेमा सबै समस्या समाधान हुन्छ”, उहाँ भन्नुहुन्छ ।

    डा रानाका अनुसार गुरुयोजना, नीति आयोगको सोच र राजनीतिक तहमा समेत बजेट छर्नेभन्दा दिगो, रूपान्तरणकारी, बहुवर्षीय लाभकारी र बहुउपयोगी क्षेत्रमा लगानी गर्ने सैद्धान्तिक सहमति भए पनि व्यवहारमा कार्यान्वयन हुनसकेको छैन । अब विगतका अनुभवबाट सिक्दै आगामी दिनमा सोहीअनुसार योजना र बजेट निर्माणमा ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी उपसचिव भोजराज पाठक प्रदेशमा रहेका ठूला धार्मिकस्थल तथा पर्यटन गन्तव्यको विकास भएमा साना गन्तव्यको विकासमा समेत स्वतः टेवा पुग्ने धारणा राख्नुहुन्छ । त्यसका लागि लगानीको प्राथमिकता गुरुयोजनासँग जोडिनुपर्नेमा उहाँको भनाइ छ । “धार्मिक क्षेत्रमै लगानी गर्ने हो भने पनि हामीसँग तमाम विकल्प छन् । त्यहाँ पर्यटन गुरुयोजनाअनुसार लगानी भएमा सबै क्षेत्रले लाभ लिने अवस्था बन्छ । त्यसैले योजना माग्ने, सिफारिस गर्ने र अनुमोदन गर्ने सरकारी प्रणालीलाई बदल्न आवश्यक छ”, पाठकको जोड छ ।

    पर्यटन गुरुयोजनाले परिकल्पना गरेको गन्तव्य विकास, समुदायमा आधारित पर्यटन, निजी क्षेत्रको सहभागिता, स्थानीय उत्पादनको बजारीकरण, सेवा विस्तार र दिगो रोजगारीलाई बजेटको केन्द्रमा राख्न सकेमात्रै सुदूरपश्चिमको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा आर्थिक शक्तिमा रूपान्तरण हुने जानकारहरू बताउँछन् । त्यसका लागि नीति र बजेट एउटै दिशामा हिँड्नुपर्ने सरोकार भएकाहरूको मत छ ।

  • विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    काठमाडौँ, २४ साउनः विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन् । उनीहरू विश्वको कुल जनसङ्ख्याको छ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन् । उनीहरूले विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो बहुमत भाषा बोल्छन् र करिब पाँच हजार फरक संस्कृति प्रतिनिधित्व गर्छन् ।

    आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक छन् ।

    पहिचान, परम्परागत जीवनपद्धति तथा पुख्र्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन् । इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

    आदिवासी जनजातिको अधिकार संरक्षण र उनीहरूको विशिष्ट संस्कृति तथा जीवनपद्धतिको निरन्तरताका लागि विशेष उपाय आवश्यक रहेको अन्तरराष्ट्रिय समुदायले स्वीकार गर्दै आएको छ । दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड दिइन्छ ।

    यो दिवसले विश्वभरका आदिवासी जनजातिको योगदान र उनीहरूले भोगिरहेका चुनौतीप्रति ध्यानाकर्षण गराउँदै उनीहरूको अधिकार तथा सम्मान सुनिश्चित गर्न सरकार, नागरिक समाज र अन्तरराष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसर दिएको छ ।

    तस्बिरःसंयुक्त राष्ट्रसङ्घ

  • वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

    वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

    काठमाडौँ, २४ साउनः वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ ।

    काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

    यसैगरी, मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने रहेको प्रहरीले जनाएको छ ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं २ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नाका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । जिरोकिलोमा पहिरो र लिपिङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको हो । यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

  • ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

    २४ साउन, काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा गम्भीर चासो लिएकी थिइन् ।


    ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन् । मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका छन् । सोहीअनुसार आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ।

    ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ। सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई थप कडाइ गर्ने तयारी गरेको छ।