Category: फिचर

  • संविधान संशोधन गर्दा संविधानभित्रका संवेदनशीलता बुझ्नुपर्छः सभापति थापा

    संविधान संशोधन गर्दा संविधानभित्रका संवेदनशीलता बुझ्नुपर्छः सभापति थापा

    काठमाडौँ, २२ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुनसक्ने भए पनि त्यस भित्रका संवेदनशीलता बुझ्नुपर्ने पर्नेमा जोड दिएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै सभापति थापाले संविधान भित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गरे । उनले संविधानमा नागरिकले प्राप्त गरेका हकअधिकार बढाउनुपर्नेमा जोड दिए ।


    सभापति थापाले कांग्रेस मुलुकको राष्ट्रिय पार्टी र राष्ट्रिय शक्ति भएको बताउँदै मुलुकमा ठूला सङ्कट आउँदा समाधान गर्ने र लोकतान्त्रिक आन्दोलन तथा संविधान सभाबाट संविधान जारी गर्नेसम्मका कार्य कांग्रेसको नेतृत्व मै सफलता प्राप्त भएको बताए । सभापति थापाले भने, “लोकतन्त्रमा सरकार जति महत्वपूर्ण हुन्छ, प्रतिपक्ष पनि त्यति नै महत्त्वपूर्ण हुन्छ, प्रतिपक्षी दलका नाताले हामीले सरकारलाई निररन्तर खबरदारी गर्नुपर्छ ।” उनले लोकतन्त्रमा सबै नागरिक समान हुने र कानुन भन्दा माथि कोही पनि नहुदै बताए ।


    कार्यक्रममा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आदिवासी जनजातिको पहिचानसँग गासिएका हकअधिकारको रक्षाका लागि सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए । ठूलो बलिदानीले लडेर ल्याएको आदिवासी जनजातिको पहिचानसँग जोडिएका संविधानको उपलब्धी जोगाउन सचेत हुनुपर्ने बताए ।


    नेता आङ्देम्बेले प्राप्त संवैधानिक अधिकार बचाएर लैजानुपर्ने र लोकप्रियताका नाममा यसलाई समाप्त पार्ने षड्यन्त्र हुनसक्ने उल्लेख गर्दै त्यस्ता प्रवृति तथा पात्रप्रति सचेत हुनुपर्ने उल्लेख गरे । नेता आङ्देम्बेले कांग्रेसले नै त्यो उपलब्धिलाई जोगाउन सक्ने विश्वास दिलाउँदै यी अधिकार पनि व्यवहारमा उतार्न पनि कांग्रेस नेतृत्वको आवश्यकता औँल्याए । उनले आदिवासी, जनजाति, महिला, मधेसी, पिछडिएका सबै वर्ग र समुदायका आवाज सबैले बोल्नुपर्ने बताए ।

  • सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

    सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

    रुपन्देही, २२ साउनः जिल्लाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा सञ्चालित जाँच अभियानका क्रममा अवैध रूपमा भित्रिँदै गरेका कस्मेटिक सामान तथा लागुऔषध बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रुपन्देहीबाट खटिएको टोलीले आज रोहिणी गाउँपालिका १ सेमरपानी क्षेत्रमा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको करिब रु सात लाख ३५० मूल्य बराबरका कस्मेटिक सामान बरामद गरेको हो ।

    सोही टोलीले आजै उक्तै क्षेत्रमा गरेको चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरेका अन्दाजी रु ४० हजार बराबरका चार वटा पाडासमेत बरामद गरेको छ । बरामद गरिएका सामान तथा पशुका सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    यसैगरी सशस्त्र प्रहरीको गुल्म हेडक्वाटरबाट खटिएको टोलीले जाँचको क्रममा बुटवल उपमहानगरपालिका(६ का ४८ वर्षीय कपिल बज्राचार्यलाई ८०२ थान ट्रामाडोल, नौ थान कफसिरपका साथ नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

  • सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने

    सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने

    काठमाडौँ, २२ साउनः संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित नेपालको महावाणिज्यदूतावासबाट आगामी भदौ १५ गतेसम्म मात्र सेवा प्रवाह हुने भएको छ । सान्फ्रासिस्कामा रहेको नेपालको महावाणिज्यदूतावासले आज सूचना जारी गर्दै सरकारको निर्णयअनुसार महावाणिज्यदूतावास बन्द हुने प्रक्रियामा रहेकाले त्यहाँबाट प्रदान हुँदै आएका राहदानी तथा कन्सुलर सेवा आगामी भदौ १५ गते (अगष्ट ३१, २०२६) सम्म मात्र उपलब्ध हुने जनाएको छ ।

    सूचनामा भदौ १५ पछि राहदानी तथा कन्सुलर सेवा पूर्ण रूपमा बन्द हुने जनाउँदै आवश्यक सेवा लिनुपर्ने सेवाग्राहीलाई तोकिएको समयभित्रै सेवा प्राप्त गर्न अनुरोध गरिएको छ । यसैबीच, जुलाई ६, २०२६ सम्म महावाणिज्यदूतावासमा प्रत्यक्ष उपस्थित भएर वा महावाणिज्यदूतावासद्वारा सञ्चालन गरिएको राहदानी घुम्ती सेवामार्फत राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको नयाँ राहदानी तयार भई महावाणिज्यदूतावासमा प्राप्त भइसकेको सूचनामा उल्लेख छ । महावाणिज्यदूतावासले राहदानी बुझ्न बाँकी रहेका सबै आवेदकलाई यथाशीघ्र उपस्थित भई आफ्नो राहदानी बुझिलिनसमेत आग्रह गरेको छ ।

  • मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

    मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

    काठमाडौँ, २२ साउनः देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ । मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ । बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेकोे छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ । यसैगरी, राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै हिमाली भागका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    महाशाखाले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसमसम्बन्धी सूचनामा आफूलाई नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

  • २५० को सामान किन्दा १० लाखको सरकारी चिट्टा

    २५० को सामान किन्दा १० लाखको सरकारी चिट्टा

    २२ साउन, काठमाडौं । शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जिनेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आज सरकारले चिट्टा कार्यक्रमको पहिलो विजेता घोषणा गरेको हो । ग्राहकले ७ साउनमा सामान किनेको खुलेको छ । उनको पहिचान आन्तरिक राजस्व विभागले गर्नेछ ।


    साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि उपहार घोषणा गरिएको हो । जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक–एक लाख रुपैयाँ नगद उपहार पाउने छन्। यस्तै साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा भएको छ । जसमा एक जनाले १० लाख रुपैयाँ नगद जितेका छन् । यो पुरस्कार रकममा भने कर लाग्नेछ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३–८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ।

    बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ। नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ।

  • वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

    वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

    काठमाडौँ, २२ साउनः वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ५ः० बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको छ ।

    प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

    यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा छ ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् । लामासाँघु–रामेछाप सडकखण्डको दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ । यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

    यसैगरी, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रुकुम पश्चिमको रिजेगार्ड खोलास्थित भेरी करिडोर तथा मुस्ताङको थासाङ गाउँपालिका–४ कैकु खोलास्थित बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् । म्याग्दीमा रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे क्षेत्रमा सडक बगाउँदा बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात अवरुद्ध भएको छ ।


    गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ लेखस्थित मदन भण्डारी सडकखण्डमा सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
    प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

  • संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौँ, २२ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।

    त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नेछिन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछिन् । त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    संसदीय समितिको बैठक बस्दै

    आजै तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ ।

    कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ । पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन, विद्युत्का पोलहरू व्यवसथापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ ।

  • खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

    खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

    काठमाडौँ, २२ साउनः राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रुपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी सोसम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गरिदिन आग्रह गरेको छ ।

    सन् २०३० सम्मको दिगो विकास लक्ष्य (एसडिजी) कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजना कार्यान्वयनमा रहेको जनाएको छ । खाद्य वस्तुको उत्पादनदेखि उपभोग, पोषण, स्वच्छता, कृषि पूर्वाधार, कृषि उपजको बजार मूल्यशृङ्खला तथा जलवायुमैत्री कृषि प्रणालीलगायत बहुआयामिक विषय उक्त रणनीतिक योजनामा समेटिएको छ । योजनालाई दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने प्रमुख दस्तावेजका रूपमा समेत लिइएको छ ।

    आयोगका अनुसार रणनीतिक योजनाबमोजिम गठित राष्ट्रिय निर्देशक समितिको गत असार २२ गतेको बैठकले सबै मन्त्रालय, तह र निकायले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा क्रियाकलाप कार्यान्वयन गर्दा उक्त रणनीतिलाई आधार बनाउन भनिएको थियो । यस्तै, कार्यान्वयनका प्रयास र उपलब्धिको विवरण नियमित रूपमा निर्देशक समितिको सचिवालयमा उपलब्ध गराउन भनिएको थियो । राष्ट्रिय योजना आयोग उक्त समितिको सचिवालय हो ।

    आयोगले स्थानीय तहमा खाद्य प्रणाली रुपान्तरणका क्षेत्रमा भएका प्रयास र उपलब्धिको एकीकृत विवरण नियमित रूपमा संयुक्त राष्ट्रसङ्घको ‘युएन फुड सिस्टम को–अर्डिनेसन हब’मा पठाउनुपर्ने स्मरण गराएको छ । सबै स्थानीय तहबाट तोकिएको ढाँचामा विवरण सङ्कलन गरी आयोगमा पठाउनुपर्नेछ ।

  • कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

    कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

    काठमाडौँ, २२ साउनः राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशतबराबर हो । यस्तै, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ ।

    नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ । बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो ।

  • घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य

    घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य

    काठमाडौँ, २२ साउनः भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ ।

    विभागले सूचनामार्फत राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा रु तीन करोडभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको हो । सूचनाअनुसार इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

    इजाजतपत्र प्राप्त गर्न कारोबारको प्रकृतिअनुसार दस्तुर पनि निर्धारण गरिएको छ । एकपटकमा रु पाँच करोडसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले रु पाँच लाख दस्तुर बुझाउनुपर्नेछ । यस्तै, रु पाँच करोडभन्दा बढी कारोबार गर्नेले रु १० लाख दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

    यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन पेस गरे पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ ।

    अनलाइन आवेदनसँगै पेस गरिएका कागजातको एक–एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक क्रियाकलापमा संलग्न नरहेको व्यहोराको पत्रसमेत पेस गर्नुपर्ने विभागले जनाएको छ ।

    विभागले इजाजतपत्रसम्बन्धी थप जानकारी आवश्यक परे विभागमै सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

  • बढी मूल्य लिएको पाइएपछि एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

    बढी मूल्य लिएको पाइएपछि एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

    काठमाडौँ, २२ साउनः स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका–१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रालिलाई रु दुई लाखबराबरको जरिवाना गरेको छ । अनुगमनका क्रममा तोकिएभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको जनाएको छ । यस्तै, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

    यस्तै, सो फर्मलाई यही साउन १ गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको बिक्री वितरणको विवरण, खरिद बिक्री बिलसमेत लिएर तीन दिनभित्र उपस्थित हुन भनिएको छ । विभागले अन्य व्यावसायिक फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ ।

    पछिल्ला दिनमा खाना पकाउने ग्यासमा देखिएको समस्या समाधानका लागि विभागले अनुगमन तथा निरीक्षणलाई थप प्रभावकारी बनाएको छ । अनुगमन तथा निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशक एवं कारबाही गरिएको जनाएको छ ।

  • सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो

    सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो

    २२ साउन, काठमाडौं । आज राती सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो गएको छ । अर्थ मन्त्रालयका अनुसार १ः१५ बजेको समयमा जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका वडा नं.३ स्थित भन्सार कार्यालयमा रहेको स.प्र.बल नेपाल बि.ओ.पि. तातोपानीमा उत्तर पश्रिम तर्फ रहेको २००–३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरी एक आपसमा ठक्कर खादाँ ढुगां उछिट्टेका थिए । घटनामा मानविय क्षति भने भएन ।

    पहिलो लाईन ब्यारेकको झ्यालको १ वटा सिसा फुटेको छ । दोस्रो लाईन ब्यारेकको भित्तामा प्वाल परेको छ । जस्ताको छानोमा समेत ६ वटा प्वाल परेको छ । डिउटी पोष्ट एउटा पूर्ण क्षति र एउटा आंशिक क्षति भएको छ । बाथरुमको भित्तामा प्वाल परेको छ । हिमाली ज्याकेटमा ढुंगाले लागी प्वाल परेको छ । राष्ट्रिय झण्डा राखेको पोल पुर्ण क्षतिग्रस्त बनेको छ । जिन्सी स्टोर भवनमा ३ वटा प्वाल परेको छ । मेनगेट अगाडीको सिढीमा क्षति भएको छ ।

  • विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

    विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

    बर्लिन, २१ साउन (रासस–एपी) । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको ‘खतराको नयाँ गुणस्तर’ भएको चुनौतीका रूपमा वर्णन गरेका छन् ।


    मङ्गलबार राति विमानस्थल आसपास शङ्कास्पद उड्ने वस्तु देखिएपछि प्रमुख कार्गो केन्द्रका दुवै रनवे तत्काल बन्द गरिएका थिए । त्यसका कारण एउटा यात्रुवाहक विमानसहित केही उडानहरू वैकल्पिक विमानस्थलतर्फ मोडिएका थिए । दक्षिणी रनवे नजिक शङ्कास्पद वस्तु रहेको सूचनापछि विस्फोटक निष्क्रिय पार्ने रोबोट परिचालन गरिएको थियो ।

    क्षेत्रीय प्रहरी र सरकारी अभियोजन कार्यालयका अनुसार विमानस्थलका एक कर्मचारीले दक्षिणी रनवे नजिकै अज्ञात विस्फोटक उपकरण बोकेको ड्रोन फेला पारेका थिए । त्यसपछि सुरक्षा निकायले ड्रोन नियन्त्रणमा लिएर त्यसमा जडान गरिएको डेटोनेटर हटाई सुरक्षित रूपमा निष्क्रिय पारेको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

    घटनास्थल पुग्न बिदा नै स्थगित गर्नुभएका गृहमन्त्री डोब्रिन्डले विमानस्थलमा विस्फोटक बोकेको ड्रोन भेटिनु विगतका घटनाभन्दा फरक प्रकृतिको सुरक्षा जोखिम भएको बताए । उनका अनुसार ड्रोनबाट उत्पन्न हुन सक्ने खतरा पहिलेदेखि नै चिनिएको भए पनि विस्फोटकसहित विमानस्थलभित्र प्रवेश गर्नु सुरक्षा चुनौतीको नयाँ स्वरूप हो ।

    उनले घटनालाई ‘हाइब्रिड आक्रमणको परिदृश्य’ का रूपमा उल्लेख गरे । यसबारे थप विवरण सार्वजनिक नगरिएको र ड्रोनको उत्पत्ति, प्रयोग गरिएको विस्फोटकको प्रकृति तथा सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेकाले अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले बताए । स्याक्सोनी राज्यका गृहमन्त्री आर्मिन सुस्टरले सुरक्षा निकायले सम्भावित दोस्रो ड्रोनका अवशेष वा भागहरू खोजी गरिरहेको जानकारी दिए ।

    यसैबीच, रनवे बन्द भएपछि अवतरण गर्न नसकेको एउटा मालवाहक विमान अर्को उड्ने वस्तुसँग ठोक्किएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । उक्त विमानलाई करिब २०० किलोमिटर टाढाको हनोभर विमानस्थलमा अवतरण गराइएको थियो । त्यहाँ निरीक्षणका क्रममा सामान्य क्षति देखिएको अधिकारीहरूले बताएका छन् ।

    लाइपजिग÷हाले विमानस्थलको उत्तरी रनवे करिब दुई घण्टापछि पुनः सञ्चालनमा ल्याइएको थियो भने दक्षिणी रनवे पूर्वनिर्धारित मर्मत कार्यका कारण बुधबार पनि बन्द रहने तय गरिएको थियो । घटनाबाट यात्रु वा विमानस्थलका कर्मचारीको सुरक्षामा कुनै प्रत्यक्ष असर नपरेको तथा नियमित उडान सञ्चालनमा उल्लेखनीय अवरोध नआएको अधिकारीहरूले बताएका छन् ।

    घटनास्थलबाट सार्वजनिक तस्बिरमा युक्रेनी एन्टोनोभ विमान नजिकै विस्फोटक निष्क्रिय पार्ने रोबोटसहित सुरक्षा प्राविधिक परिचालित भएको देखिएको छ । लाइपजिग–हाले विमानस्थल युरोपकै प्रमुख कार्गो केन्द्रमध्ये एक हो र यहाँ युक्रेनी एन्टोनोभका मालवाहक विमानहरूको नियमित आवागमन हुने गर्दछ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले घटनाबारे आफूलाई जानकारी प्राप्त भएको जनाएको छ । सङ्गठनले थप विवरणका लागि जर्मन अधिकारीहरूसँग समन्वय गरिरहेको बताएको छ ।

    यसअघि सन् २०२४ मा पनि यही विमानस्थलको लजिस्टिक केन्द्रमा आगो लगाउने उपकरण प्रयोग गरिएको घटना भएको थियो । पश्चिमी सुरक्षा अधिकारीहरूले त्यस घटनालाई रूसी गुप्तचर निकायसँग जोडिएको सम्भावित तोडफोड अभियानको हिस्सा हुन सक्ने आशङ्का व्यक्त गरेका थिए । पश्चिमी मुलुकहरूले रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता युरोपभर यस्ता अनेकौँ तोडफोड, आक्रमण तथा सुरक्षा चुनौती सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् ।

  • चर्चा कमाउँदै बिमला दिदी

    चर्चा कमाउँदै बिमला दिदी

    कल्पना घिमिरे
    न्यूयोर्क
    कुनै बेला सायद बिमलाले कल्पनासम्म गरेकी थिइनन्, विश्व अर्थतन्त्र, व्यापार, सञ्चार र अवसरको केन्द्र अमेरिकाको न्यूयोर्क शहरमा आफ्नै रेस्टुरेन्ट हुनेछ र त्यही रेस्टुरेन्टकै माध्यमबाट आफू चर्चा परिचर्चाको शिखरमा पुगिनेछ भन्ने ।
    अहिले उनी न्यूयोर्कमा एक उत्कृष्ट व्यवसायीमा दर्ज भएकी छिन् । न्यूयोर्क शहरभित्रका २५ हजारभन्दा बढी रेस्टुरेन्टबीच बिमला हमाल श्रेष्ठको रेस्टुरेन्ट (नेपाली भान्छा घर) १०० उत्कृष्ट रेस्टुरेन्टको सूचिमा परेको छ । जुन नेपालीको बाक्लो बस्ती रहेको ज्याक्सन हाइट्समा अवस्थित छ ।


    सन् २०२६ को न्यूयोर्क टाइम्स म्यागेजिनले तयार गरेको सय वटा रेस्टुरेन्टको सूचिमा आफ्नो स्थान बनाउनु बिमलाका लागि सामान्य थिएन ।
    निरन्तरको मेहनत र लामो समयको संघर्षले मात्रै यो सफलता हात पारेको उनी बताउँछिन् । उनले गरेको व्यवसाय कर्मले अन्तर्राष्ट्रियस्तरसम्म नेपाली समुदायको नाम रोशन गरिरहेको भन्दै विभिन्न नेपाली संघसंस्थाले उनलाई शुभकामना र हौसला दिइरहेका छन् । अहिले उनलाई भेट्न रेस्टुरेन्टमा थुप्रै खालका समूहहरु आइरहेका छन् ।


    न्यूयोर्क टाइम्समै काम गरिरहेका विद्यार्थी भाइबहिनीहरु आएर रेस्टुरेन्टको सबै खानाको स्वाद लिने र कुराकानी गर्ने गरिरहेका छन् । ‘हिजो मात्रै गोरेहरुको एक ग्रुप आएर अन्तरवार्ता लिए, आधा घण्टा अन्तरवार्ता लिएको मलाई ५ सय डलर दिएर गए’, खुसीले गद्गद् हुँदै उनले सुनाइन्– ‘मेरो रेस्टुरेन्टबारे पत्रपत्रिकामा आउन थालेपछि वर्षौंवर्षदेखि ज्याक्सन हाइट्स आसपासमा बसोवास गरिरहेका र पहिले कहिल्यै नभेटेका नेपालीहरु भेट्न आइरहनुभएको छ ।’ केही राणा परिवारका सदस्यसमेत रेस्टुरेन्टमा आएर आफूलाई भेटेको उनी बताउँछिन् ।


    नेपाली स्वाद, संस्कृति र पहिचानलाई विश्वमाझ स्थापित गरिरहेको नेपाली भान्छा घरको यो सफलता सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय बनेको छ ।
    यसअघि पनि बिमलाको रेस्टुरेन्टले पाँच पटकसम्म ‘मम क्रल’ जित्दै आएको थियो । न्यूयोर्क सिटीले हरेक वर्ष आयोजना गर्दै आएको मम क्रल (मम प्रतियोगिता)मा ३३ भन्दा बढी नेपाली रेस्टुरेन्टहरु भाग लिंदै आएका छन् । त्यसमा बिमलाको रेस्टुरेन्ट ५ पटकसम्म उत्कृष्ट मम जित्न सफल भएको थियो । के–कसरी मापन गर्ने भन्नेबारेमा आफूहरुलाई जानकारी नै नहुने पनि उनले बताइन् ।


    ‘मेरो रेस्टुरेन्टमा नेपाली मात्र होइन अन्य विभिन्न मुलुकका थुप्रै ग्राहकहरु आउँछन् । रेस्टुरेन्टमा आउने सबै ग्राहक हाम्रा लागि समान हुन् । उनीहरुकै सेवामा हामी सधैं व्यस्त हुन्छौं । कतिबेला को आएर के–के छानबिन गरेर गए थाहै भएन ।’
    उनी आफ्नो अनुभव सुनाउँदै थिइन्, ‘न्यूयोर्क टाइम्समा १०० को सूचीमा मेरो रेस्टुरेन्ट परेको छ भन्ने मलाई थाहै थिएन ।

    न्यूयोर्क नेपाली काम पोस्टको भाइ लेलिन कँडेलले ‘नेपाली भान्छाघरलाई धेरै बधाई न्यूयोर्क टाइम्सको १०० रेस्टुरेन्टहरुको सूचीमा पर्न सफल भएकोमा‘ भनेर फेसबुकमा पोस्ट गर्नु भएछ । त्यो स्टाटस मेरो साथीले देखेर मलाई स्क्रिनसट पठाउँदा म झसङ्ग भएँ । पहिले त के हो भन्ने पनि थाहा भएन ।’


    स्याङ्जाको वालिङमा जन्मिएकी बिमला सन् २००८ मा अमेरिका आएकी थिइन् । बिमलाका शुरुवाती दिनहरु पटक्कै सहज थिएनन् । काम पाउन गाह्रो थियो । एउटा इन्डियनको घरमा घरेलु कामदारको रुपमा काम गरेर अमेरिकामा संघर्ष शुरु गरेकी थिइन् । आफूले केही व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले ४ जना साथीहरुसँग मिलेर सन् २०१५ मा नेपाली भान्छाघर स्थापना गरेकी हुन् ।

    एक्लो जीवनमा धेरै दुःख र संघर्षपछि मात्रै यो अवस्थामा आइपुगेको उनी सम्झिन्छिन्, ‘पार्टनरहरुको विश्वासमा सबै छोडी दिँदा उनीहरुले नै फसाएर रेस्टुरेन्ट बन्द गर्नुपर्नेसम्मको अवस्था आएको थियो । उनले लङआइल्याण्डमा काम गर्दागर्दै रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी थिइन् । साथीहरुको समेत पैसा आफैंले हालिदिएर रेस्टुरेन्टमा लगानी गरेकी उनी हप्तामा एकदुई दिन आएर रेस्टुरेन्ट हेर्ने गर्थिन् । त्यसैबीच पार्टनरहरुले भाडा नतिरेर घरबेटीले रेस्टुरेन्ट नै बन्द गरिदिएको थियो । त्यसपछि उनले एक्लै पुनः सञ्चालन गरेकी हुन् ।


    उनका अनुसार, आफूले पूरै विश्वास गरेर रेस्टुरेन्ट जिम्मा लगाएका पार्टनरबाटै ठूलो धोका पाएकी थिइन् । उनी आफैंले साथीहरु सबैको पैसा हालिदिएर रेस्टुरेन्टको पार्टनर बनाएकी थिइन् । तर ती साथीहरु मिलेर रेस्टुरेन्टमा बिमलाको कुनै स्वामित्व नरहने र रेस्टुरेन्टमा हकदाबी गर्न नपाउने गरी झुक्याएर कानुनी कागजात तयार पारेछन् ।


    ‘बैंकबाट पैसा झिक्नको लागि कागजात मिलेन साइन गरिदिनु भन्दै भुर्तेल ल फर्ममा पठाए । त्यहाँ पुग्दा वकिलले सबै बताएपछि म त छाँगाबाटै खसें’, उनी आफ्नो जीवन भोगाइ सुनाउँदै थिइन् । केही गर्न खोज्दा खाली दुःख र अप्ठेरो मात्रै आउँथ्यो । भगवान पनि मेरो पक्षमा छैनन् भन्ने लाग्थ्यो ।’


    उनले एक्लै चलाएको रेस्टुरेन्टको व्यापार राम्रै चलेको थियो । सन् २०२० मा कोभिड आएर २ महिना रेस्टुरेन्ट बन्द गर्नु प¥यो । पछि रेस्टुरेन्ट खोले पनि ग्राहक कोही आउँदैन थिए । अनलाइनबाट अर्डर लिएर सामान पु¥याउन घरघर जान्थिन् । उनले कोरोनाको समयमा धेरै नेपालीलाई खाना दिएर सहयोग गरेकी थिइन् । त्यति मात्र होइन ज्याक्सन हाइट्स नजिकै रहेको एल्मष्र्ट हस्पिटलमा कार्यरत डाक्टरहरुलाई समेत निशुल्क खाना खुवाएर सहयोग गरेकी थिइन् ।


    उनी बिहान सबेरैदेखि रातको १२÷१ बजेसम्म काम गरिरहेकी भेटिन्छिन् । ग्राहकको मेनुअनुसारको खाना पकाउने, रेस्टुरेन्टमा आवश्यक पर्ने सामान किनमेल गर्ने र ग्राहकको सेवामा खटिने सबै आफैं गर्छिन् ।


    एकातिर कडा मेहनत र लगनशीलताले उनलाई सफलता, चर्चा र सम्मानको उचाइमा पु¥याइरहेको छ भने अर्कोतिर उनको जीवनको अर्को पाटो उत्तिकै पीडादायी छ । अमेरिका आएदेखि आजसम्म उनले नेपाल फर्कने अवसर पाएकी छैनन् ।

    ३ वर्षकी छोरी, ६ वर्षको छोरो र श्रीमान् छोडेर परदेसिएकी बिमलाले न त आफ्ना सन्तान र परिवार नै भेट्न पाएकी छिन् । सफलताको शिखर चुमिरहेकी बिमलाको मनको एउटा कुनामा भने परिवारबाट टाढिनुपरेको पीडा आज पनि उत्तिकै गहिरो भएर बसेको छ । तर उनी निराश छैनन्, ‘एक दिन त भेट अवश्य होला नि,’ उनी मुस्कुराउँछिन् ।

  • प्रेमको दर्शन : विश्वासदेखि शंकासम्म

    प्रेमको दर्शन : विश्वासदेखि शंकासम्म

    आरएल श्रमजीवी
    लण्डन, बेलायत

    ‘प्रेम विश्वासमा रोपिन्छ, भरोसामा बढ्छ, श्रद्धामा फक्रिन्छ, आशामा जिउँछ, आधुनिकतामा घायल हुन्छ, महत्वाकांक्षाले बिरामी पर्छ र शंकाले मर्छ ।’
    प्रेम केवल एउटा सुन्दर वाक्य मात्र होइन; यो मानव सभ्यताले हजारौं वर्षदेखि भोग्दै आएको अनुभूतिको शृङ्खला पनि हो । प्रेम कुनै आकस्मिक घटना होइन, यो मन मस्तिष्कको एउटा दीर्घ यात्रा हो ।

    यसको जन्म हुन्छ, यो हुर्किन्छ, फुल्छ, फल्छ, घाइते हुन्छ, रोगी बन्छ र कहिलेकाहीँ आफ्नै छायाँसँग हारेर मर्छ । प्रेमको पहिलो शर्त सौन्दर्य होइन, सम्पत्ति होइन, आकर्षण पनि होइन– विश्वास हो । विश्वास भनेको दुई मनबीच बाँधिएको अदृश्य पुल हो, जसलाई न आँधीले भत्काउन सक्छ, न दूरीले च्यात्न सक्छ । जहाँ विश्वास हुन्छ, त्यहाँ प्रमाणको आवश्यकता पर्दैन; त्यहाँ आँखाले भन्दा हृदयले देख्छ । विश्वास प्रेमको बीउ मात्र होइन, त्यसको पहिलो प्राण हो ।

    तर बीउ रोपेर मात्र वन बन्दैन । त्यसलाई हुर्काउने शक्ति भनेको भरोसा हो । भरोसा भनेको जीवनको सबैभन्दा अँध्यारो रातमा पनि, ‘तिमी छौ’ भन्ने उज्यालो अनुभूति हो । मानिस संसारसँग हार्न सक्छ, तर जसको काँधमा भरोसा गर्न सक्छ, ऊ जीवनसँग कहिल्यै हार्दैन । प्रेममा भरोसा भनेको भविष्यलाई हात समातेर हिँड्ने साहस हो ।


    प्रेममा जब श्रद्धा मिसिन्छ, तब प्रेम वासनाबाट मुक्त भएर साधनामा रुपान्तरण हुन्छ । श्रद्धा भनेको प्रिय व्यक्तिलाई आफ्नो स्वामित्वको वस्तु होइन, एउटा स्वतन्त्र ब्रह्माण्डका रुपमा स्वीकार गर्नु हो । जहाँ श्रद्धा हुन्छ, त्यहाँ अधिकारभन्दा सम्मान ठूलो हुन्छ; नियन्त्रणभन्दा स्वतन्त्रता प्रिय हुन्छ । श्रद्धाले प्रेमलाई मन्दिर बनाउँछ, जहाँ अहंकारले प्रवेश गर्न सक्दैन । त्यसैले प्रेमलाई पूजा पनि भन्ने गरिन्छ ।


    प्रेमको श्वास भनेको आशा हो । आशा नहुने हो भने प्रेम पहिलो बिछोडमै मर्छ । प्रेमीहरु वर्षौं कुर्न सक्छन्, समुद्र पार गर्न सक्छन्, पहाड चढ्न सक्छन्, हजारौं पीडा सहन सक्छन्, किनकि उनीहरुलाई आशा हुन्छ– एक दिन भेट हुनेछ, एक दिन सबै पीडा अर्थपूर्ण हुनेछ । आशा नै प्रेमको अदृश्य धड्कन हो । त्यही धिपधिपे बत्तीमा प्रेम बाँच्छ । तर आधुनिक समयसँगै मानिसले सूचना प्रविधिमा अभूतपूर्व उन्नति ग¥यो ।

    सामाजिक सञ्जालले संसार सानो भयो, तर मनहरु कहिलेकाहीँ टाढा भए । आधुनिकता आफैं दोषी होइन; दोष तब जन्मन्छ जब सम्बन्धलाई पनि उपभोगको वस्तु बनाइन्छ । आज सम्बन्धहरु पनि मोबाइलका एपझैं सजिलै डाउनलोड र डिलिट हुन थाले । धैर्यको ठाउँ हतारले लियो, समर्पणको ठाउँ विकल्पले लियो, संवादको ठाउँ प्रदर्शनले लियो । यहीँनेर प्रेम पहिलोपटक घाइते भएको हो कि ?
    जब प्रेममा महत्वाकांक्षा प्रवेश गर्छ मान्छे दुःखी हुन्छ ।

    सपना देख्नु मानव स्वभाव हो, तर जब सपना यति ठूलो हुन्छ कि त्यसमा सम्बन्धका लागि ठाउँ नै बाँकी रहँदैन, तब प्रेम रोगी बन्छ । धन, पद, प्रसिद्धि र सफलताको दौडमा कहिलेकाहीँ मानिसले आफूलाई प्रेम गर्ने मानिसलाई पछि छोडिदिन्छ । अन्ततः शिखरमा पुग्दा उसले थाहा पाउँछ– संसार जितेछ, तर आफूलाई निस्वार्थ माया गर्ने एउटा मन गुमाइसकेको रहेछ ।

    र अन्तिम दृश्यमा मञ्चमा आउँछ शंका– प्रेमको मौन हत्यारा । प्रेमलाई बाहिरी शत्रुले भन्दा धेरै आफ्नै मनका शंकाहरुले नष्ट गरेका हुन्छन् । शंका एउटा यस्तो विष हो, जसले शरीर होइन, विश्वासलाई सल्काउँछ र भष्म बनाइदिन्छ । यसले प्रश्न जन्माउँछ, संवाद मार्छ, मुस्कानलाई मौन बनाउँछ र अन्ततः प्रेमलाई जीवित शवमा बदलिदिन्छ । अर्थात् जिउँदो लास बनाउँछ । शंका चिच्याएर आउँदैन; ऊ सुस्केराभित्र लुकेर सुस्तरी आउँछ ।


    त्यसैले उसको प्रहार सबैभन्दा घातक हुन्छ । सायद यही कारणले महान् प्रेमकथाहरु अमर बने– किनकि उनीहरुले प्रेमलाई अधिकार होइन, विश्वास ठाने; स्वार्थ होइन, समर्पण ठाने; प्राप्ति होइन, त्याग ठाने । प्रेमको अन्तिम सत्य सँगै बाँच्नु मात्र होइन, एकअर्काको मन मस्तिष्कलाई उज्यालो बनाउनु पनि हो । प्रेमलाई बचाउन कुनै जादु चाहिँदैन ।

    केवल यति सम्झनुपर्छ– विश्वास हरायो भने प्रेमको जन्मस्थल नै उजाड हुन्छ; भरोसा हरायो भने यात्रा रोकिन्छ; श्रद्धा हरायो भने प्रेम अपमानमा बदलिन्छ; आशा हरायो भने धड्कन रोकिन्छ; महत्वाकांक्षाले सम्बन्धलाई निल्यो भने प्रेम रोगी हुन्छ; र शंकाले मनमा घर बनायो भने प्रेमको मृत्यु निश्चित हुन्छ ।


    त्यसैले प्रेम गर्नु भनेको कसैलाई आफ्नो बनाउनुभन्दा पहिले आफूभित्र विश्वास, धैर्य, सम्मान र सत्यलाई जीवित राख्नु हो । किनकि अन्ततः प्रेम दुई शरीरको मिलन होइन– दुई मनले एकअर्काको अस्तित्वलाई निस्वार्थ रुपमा स्वीकार गर्ने दुर्लभ अनि गहिरो अनुभूति हो प्रेम । प्रेम त्यहीँ अमर हुन्छ, जहाँ विश्वास कहिल्यै मर्दैन ।

  • डिसेम्बरमा फर्कने हसिनाको घोषणाको राजनीतिक अर्थ के ?

    डिसेम्बरमा फर्कने हसिनाको घोषणाको राजनीतिक अर्थ के ?

    नयाँदिल्ली, २१ साउन (रासस–एपी) । बङ्गलादेशकी पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छिन् । उनको घोषणासँगै बङ्गलादेश सरकारले भारतमा उनको सार्वजनिक राजनीतिक गतिविधिप्रति तीव्र आपत्ति जनाएको छ ।

    सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनबाट आफ्नो सरकार हटाइएको दोस्रो वर्षका अवसरमा नयाँदिल्लीमा आयोजित कार्यक्रममा अडियो सन्देशमार्फत सम्बोधन गर्दै हसिनाले आफूविरुद्धको फैसला हुँदाहुँदै पनि जनताप्रतिको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किनुपर्ने बताइन् । “मलाई जेल हाल्न सक्छन्, मार्न पनि सक्छन् वा अन्य जे पनि हुन सक्छ, तर मैले फर्किनैपर्छ । डरले जनताप्रतिको मेरो कर्तव्य निर्धारण गर्न सक्दैन”, उनले भनिन् ।


    उनले आफ्नो दल अवामी लिगमाथिको प्रतिबन्ध हटाउन र राजनीतिक बन्दीहरूलाई रिहा गर्न पनि आग्रह गरिन् । हसिनाले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै आएकी छिन् । हसिनाको सम्बोधनपछि बङ्गलादेशको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिँदै भारतीय भूमिबाट उनी र उनका सहयोगीहरूले बङ्गलादेश तथा त्यहाँका जनताविरुद्ध ‘विषाक्त अभिव्यक्ति’ दिएको आरोप लगाएको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सवकै दिन यस्तो कार्यक्रम हुनुलाई बङ्गलादेशको सार्वभौमसत्तामाथिको अपमान र आन्दोलनका शहीदहरूप्रतिको अनादरका रूपमा व्याख्या गरिएको छ । साथै यसले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिइएको छ ।

    विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा सन् २०२४ मा हसिना भारत पुगेपछि उनी त्यहीँ निर्वासनमा बस्दै आएकी छिन् । त्यसपछि सन् २०२५ मा बङ्गलादेशको अदालतले आन्दोलनमाथिको दमनसँग सम्बन्धित मानवताविरुद्धको अपराध अभियोगमा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार त्यस दमनका क्रममा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो ।

    बङ्गलादेशले पटक–पटक हसिनाको सुपुर्दगी माग गरे पनि भारतले हालसम्म उनलाई जिम्मा लगाएको छैन । यसैबीच, बुधबार बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ढाकास्थित हसिनाको पूर्व सरकारी निवासमा स्थापना गरिएको ‘जुलाई सामूहिक विद्रोह स्मारक सङ्ग्रहालय’ उद्घाटन गरे ।

    नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले सुरु गरेको उक्त परियोजनामा सन् २०२४ को आन्दोलनसँग सम्बन्धित अडियो–भिडियो सामग्री, आन्दोलनमा ज्यान गुमाएकाहरूका व्यक्तिगत सामग्री तथा त्यस समयका अभिलेखहरू राखिएका छन् । सङ्ग्रहालयमा हसिनाको १५ वर्षे शासनकालमा भएको भनिएको राजनीतिक दमनसम्बन्धी सामग्री पनि समावेश गरिएको छ ।

    पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा रहमान अन्तरिम सरकारको निगरानीमा सम्पन्न फेब्रुअरीको निर्वाचनमा ठूलो बहुमतसहित सत्तामा आएका थिए । उक्त निर्वाचनमा हसिनाको अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो ।

  • क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

    क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

    नर्थ क्यारोलिना, संयुक्त राज्य अमेरिका, २१ साउन (रासस–एएफपी) । अमेरिकाको नर्थ क्यारोलिना राज्यको क्यासवेल काउन्टीमा बुधबार बिहान एउटा घरमा भएको अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु भएको छ । घटनापछि पूरै क्षेत्रमा कोलाहल मच्चिएको थियो । प्रहरी र अनुसन्धान निकायहरू घटनास्थलमा पुगेर उक्त घटनाबारे अनुसन्धान शुरू गरिसकेका छन् ।

    नर्थ क्यारोलिना राज्य अनुसन्धान विभागका अनुसार स्थानीय समय बुधबार बिहान करिब ८ बजे प्रहरीलाई एउटा घरमा गोली चलेको सूचना मिल्यो । सूचना मिल्ने बित्तिकै प्रहरी र अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुग्यो । त्यहाँ थुप्रै मानिस गोली लागेर घाइते भएका भेटिए । सख्त घाइतेहरूमध्ये एक व्यक्तिलाई तुरुन्त अस्पताल लगियो भने थुप्रै अन्य मानिसको घटनास्थलमै मृत्यु भएको थियो ।

    –पारिवारिक विवादको आशङ्का–

    क्यासवेल काउन्टीका अनुसन्धान अधिकारी टोनी डर्डनलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, “घटनामा कूल तीन परिवारका सदस्यको मृत्यु भएको छ भने मृतकहरूमध्ये एक संदिग्ध हमलाकारी रहेको बुझिएको छ । आक्रमणमा संलग्न अर्को एक आफन्तलाई घाइते भएर अस्पतालमा भर्ना गरिएको छ । गोली चल्नुको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।”

    अमेरिकामा बन्दुक हिंसा लामो समयदेखि गम्भीर समस्या बनेको छ । हरेक वर्ष देशमा सयौँ व्यक्तिले सामूहिक रूपमा गोली चल्दा ज्यान जाने गरेको छ । हालैका दिनहरूमा पनि यस्ता थुप्रै घटनाहरू भएका छन् । ओरेगनको पोर्टल्यान्डमा एउटा आवासीय क्षेत्रमा अगस्ट २ मा भएको गोली काण्डमा एक व्यक्तिको मृत्यु भएको थियो र पाँच अन्य घाइते भएका थिए । घाइतेहरूमध्ये एक किशोर पनि रहेका बताइएको छ ।

    आइडाहोको ट्विन फल्स शहरस्थित एउटा ‘इन–एन–आउट बर्गर रेस्टुराँ’मा अगस्ट १ मा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको थियो भने सात अन्य घाइते भएका थिए । यी निरन्तर भइरहेका घटनाहरूले अमेरिकामा बन्दुक नियन्त्रण कानुन र सार्वजनिक सुरक्षाबारे बहसलाई फेरि तीव्र बनाएको छ । अहिले प्रहरी घटनास्थलबाट प्रमाण जुटाइरहेको छ र आसपासका मानिसहरूसँग सोधपुछ गरिरहेको छ । अधिकारीहरूले भनेका छन् अनुसन्धान पूरा भएपछि मात्र घटनाका कारणहरू खुलासा गरिनेछ ।

  • शिक्षामन्त्रीद्वारा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीलाई दिलाए शपथ

    शिक्षामन्त्रीद्वारा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीलाई दिलाए शपथ

    काठमाडौं, २१ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा। डा। खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराए । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

    शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए ।


    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
    केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् ।

    उनी तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय छन् । आयोगकी नवनियुक्त सचिव श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गरेकी छिन् । नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याएबापत उनी ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन् । नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन् ।

  • करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार घोषणा

    करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार घोषणा

    २१ साउन, काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ।

    सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गर्नेछ।

    उहाँकाअनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिनेछ।

    जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक(एक लाख रुपैयाँ नगद उपहार पाउने छन्। यस्तै साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुनेछ। जसमा एक जनाले १० लाख रुपैयाँ नगद जित्नेछन्। यो पुरस्कार रकममा भने कर लाग्नेछ।


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३–८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ।

    बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ। नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ।

  • नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिवि

    नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिवि

    काठमाडौँ, २१ साउनः त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ । विश्वविद्यालयको योजना परिषद्को स्थायी समितिको आज बैठकमा चालु आर्थिक वर्ष २०८३–०८४ का लागि योजना परिषद्को पूर्ण बैठकमार्फत विश्वविद्यालयसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको हो ।

    बैठकमा विश्वविद्यालयका उपकुलपति तथा योजना परिषद्का अध्यक्ष प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा अनुसन्धान क्षेत्रको समग्र गुणस्तर अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले बैठकमा योजना निर्देशनालयका निर्देशक तथा योजना परिषद्का सदस्य–सचिव डा लक्ष्मीकान्त शर्माले आगामी नीति तथा कार्यक्रममा समावेश गरिएका प्रमुख विषयवस्तु तथा प्राथमिकताबारे विस्तृत जानकारी गराए ।


    बैठकमा सहभागी सदस्यहरूले नीति तथा कार्यक्रमलाई समयानुकूल, गुणस्तरीय र प्रविधिमैत्री बनाउने विषयमा आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए । छलफलमा उठेका सुझावलाई समेटेर योजना परिषद्को पूर्ण बैठकमार्फत आगामी त्रिभुवन विश्वविद्यालय सभामा नीति तथा कार्यक्रम पेस गरिने जनाइएको छ ।

  • पेरिसमा अधिकारीका एकल काव्य साँझ

    पेरिसमा अधिकारीका एकल काव्य साँझ

    काठमाडौँ, २१ साउन । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
    आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तिका सन्दर्भमा कवि तथा गीतकार दिनेश अधिकारीको ‘एकल काव्य साँझ’ मा उनले पाठशाला स्थापनाका लागि दूतावासले आवश्यक सहयोग एवं सामग्री उपलब्ध गराउने विश्वास दिलाए । राजदूत भट्टराईले फ्रान्समा नेपाली समूदायको बाक्लो उपस्थिती रहेकाले पेरिसमा श्रष्टाबाटै गीतसङ्गीत सुन्ने अवसर प्राप्त हुन सुखद भएको बताए ।

    नेपाली दूतावास फ्रान्स र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित सो कार्यक्रममा अधिकारीले आफ्ना दुई दर्जन कविता वाचन गरेका थिए । अनेसास फ्रान्सका अध्यक्ष प्रशान्त उप्रेतीसहित राम पाण्डे, हरिहर अर्याल र सुमित्रा बुर्लाकोटीले प्रवासमा रहँदा नेपाली सङ्गीतको महत्त्वले अझ प्राथमिकता पाउने भनाइ राखे । सो अवसरमा गायक रन बराइलीले गीतकार अधिकारीका गीत गाएका थिए ।

  • मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

    मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

    काठमाडौँ, २१ साउनः ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको छ । नेपालबाट निर्यातयोग्य उत्पादन, नेपालमा उपलब्ध लगानीका अवसर तथा नेपाली र ओमानी व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारका विषयमा हालै सो कार्यक्रम गरिएको त्यहाँस्थित राजदूतावासले जनाएको छ ।

    कार्यक्रममा कार्यवाहक राजदूत विशेषकुमार साहले ओमानलाई व्यापार तथा लगानी प्रवर्द्धनका लागि नेपालले महत्त्वपूर्ण साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गरे । नेपालबाट पहिलोपटक उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डलको भ्रमण भएकामा उनले खुशी व्यक्त गरे । नेपालमा उपलब्ध लगानीका अवसर, लगानी प्रक्रिया, संस्थागत व्यवस्था तथा ओमानी लगानीकर्ताका लागि नेपाल किन आकर्षक गन्तव्य हुन सक्छ भन्ने विषयमा प्रस्तुति दिए ।


    प्रस्तुतिपछि उनले सगरमाथा आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थी तथा हिमपहिरोमा परी निधन भएका अन्य पर्वतारोहीप्रति श्रद्धाञ्जली अर्पण गरे । निर्यात व्यवसारी महासङ्घ नेपालका अध्यक्ष गोविन्द घिमिरेले नेपालबाट निर्यात गर्न सकिने प्रतिस्पर्धात्मक लाभ भएका उत्पादनहरूको सम्भावना तथा निर्यातमुखी अर्थतन्त्र प्रवर्द्धनका लागि महासङ्घले गरिरहेका प्रयासबारे जानकारी गराए ।


    त्यसैगरी, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले नेपाली हस्तकलाको मौलिकता, परम्परागत सीप र ओमान तथा खाडी मुलुकमा रहेका व्यापारिक सम्भावनाबारे जानकारी गराए । कार्यक्रममा विभिन्न नेपाली उत्पादनको प्रदर्शनीसमेत गरिएको थियो ।

    कार्यक्रममा नेपालबाट गएको उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डल, ओमानस्थित व्यवसाय तथा हाइपरमार्केटका प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रतिनिधि, सञ्चारकर्मी तथा ओमानस्थित नेपाली व्यवसायीसहित ७० भन्दा बढीको सहभागिता रहेको दूतावासले जनाएको छ ।

  • चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक, कुन तहको कति ?

    चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक, कुन तहको कति ?

    काठमाडौँ,२१ साउनः अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३–८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो । मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो ।

    निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले (निवृत्तभरण प्रयोजन)का लागि अनुसूची एक देखि आठ सम्मको नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताबापतको रकम पाउने छन् ।

    सो अनुसार मुख्य सचिवको सुरुको तलबमान ८४ हजार ९३२, राजपत्राङ्िकत विशिष्ट श्रेणीको रु ७९ हजार २९०, अतिरिक्त सचिव ९पेन्सन प्रयोजन०का लागि रु ६६ हजार ५३९ तोकेको छ । त्यसैगरी राजपत्राङ्कित प्रथमको लागि रु ६२ हजार ४६६ तोकिएको छ । त्यस्तैगरी राजपत्राङ्कित द्वितीयको रु ५३ हजार ६११, राजपत्राङ्कित तृतीयको रु ४८ हजार ५८ तलबमान तोकिएको छ ।

    त्यसैगरी राजपत्र अनङ्कित प्रथम अतिरिक्त मान पेन्सनको लागि ४१ हजार ५१७, राजपत्र अनङ्कित प्रथम ३८ हजार २०३, राजपत्र अनङ्कित द्वितीय अतिरिक्त मान पेन्सन ३७ हजार ४०७, राजपत्र अनङ्कित द्वितीय ३६ हजार १९२, राजपत्र अनङ्कित तृतीयको लागि ३० हजार ३७३ र राजपत्र अनङ्कित चतुर्थको लागि २८ हजार ६९० तोकिएको छ ।

  • जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    वेलिङ्टन, २१ साउन (रासस–एपी) । अष्ट्रेलियाली कम लागतको वायुसेवा कम्पनी जेटस्टारले आगामी फेब्रुअरी २०२७ देखि विमानको ओभरहेड लकर (सिटमाथिको सामान राख्ने ठाउँ)मा क्यारी–अन झोला राखेबापत यात्रुबाट शुल्क लिने भएको छ। कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यात्रु र कर्मचारीले गेटमा झोलाको तौल जाँच गराउनु तथा ओभरहेड लकरमा ठाउँ खोज्नुपर्ने अवस्थालाई विमानस्थल अनुभवको सबैभन्दा तनावपूर्ण पक्षका रूपमा औँल्याएपछि यो निर्णय गरिएको हो।

    यससँगै जेटस्टार क्यारी–अन झोला ओभरहेड लकरमा राख्न शुल्क लिने पछिल्लो कम लागतको एयरलाइन बनेको छ। अमेरिका र युरोपका धेरै बजेट एयरलाइनले यसअघि नै यस्तो व्यवस्था लागू गरिसकेका छन्। जेटस्टारका अनुसार तोकिएको मापदण्डभित्र पर्ने पर्स, ल्यापटप झोला वा सानो ब्याकप्याक भने यात्रुले आफ्नै अगाडिको सिटमुनि निःशुल्क राख्न सक्नेछन्। ओभरहेड लकर प्रयोग गरेबापत लाग्ने शुल्क एकतर्फी यात्राका लागि २५ अष्ट्रेलियाली डलर (१८ अमेरिकी डलर)बाट सुरु हुनेछ भने गन्तव्यअनुसार फरक पर्नेछ।

    ओभरहेड लकरमा राखिने झोलाको अधिकतम तौल १० किलोग्राम हुनेछ। बोर्डिङका क्रममा कर्मचारीले ती झोलाको तौल जाँच गर्ने छैनन्। सिटमुनि राखिने साना झोलामा हाल कायम रहेको सात किलोग्रामको तौल सीमा भने हटाइने कम्पनीले जनाएको छ। अष्ट्रेलिया र न्युजिल्यान्डका अधिकांश एयरलाइनले चेक्ड लगेज, सिट छनोट तथा खाना–पेयजस्ता अतिरिक्त सेवाका लागि शुल्क लिँदै आएका छन् । तर उद्योग विश्लेषकका अनुसार ओभरहेड लकर प्रयोगबापत शुल्क लिने जेटस्टार पहिलो एयरलाइन हो।

    ‘एयरलाइन रेटिङ्स डट कम’की प्रमुख कार्यकारी अधिकृत शेरोन पिटरसनले यस निर्णयले केही यात्रुमा असन्तुष्टि उत्पन्न हुन सक्ने बताए । उनका अनुसार अष्ट्रेलियाली यात्रु लामो समयदेखि पूर्ण–सेवा सुविधा दिने एयरलाइनको सेवामा अभ्यस्त छन्। जेटस्टारका प्रमुख कार्यकारी अधिकृत स्टेफनी टुलीले नयाँ व्यवस्थाले ओभरहेड लकरको प्रभावकारी उपयोग, बोर्डिङ प्रक्रिया सहज बनाउन तथा उडान समयमै सञ्चालन गर्न सहयोग पुग्ने बताए ।


    उनका अनुसार नयाँ नीतिले यात्रुलाई आफूले आवश्यक परेका सेवाका लागि मात्र शुल्क तिर्ने व्यवस्था सुनिश्चित गर्नेछ। यद्यपि पिटरसनले जेटस्टारको आधारभूत हवाई भाडा युरोपका रायनएयर वा विज एयरजस्ता कम लागतका एयरलाइनको तुलनामा अझै महँगो रहेको टिप्पणी गरे । उनका अनुसार अष्ट्रेलियामा सीमित प्रतिस्पर्धा तथा उच्च सञ्चालन खर्चका कारण यस्तो अवस्था रहेको हो।

  • इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य

    इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य

    इस्लामाबाद, २१ साउन (रासस–सिन्ह्वा) । पाकिस्तानले सन् २०३५ सम्ममा आफ्नो राष्ट्रिय ऊर्जा मिश्रणमा स्वच्छ विद्युत्को हिस्सा ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको ऊर्जा विभागका मन्त्री सरदार ओवैस अहमद खान लेघारीले बताएका छन् । मङ्गलबार इस्लामाबादमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले ऊर्जा सुरक्षा सुदृढ गर्न सरकारले ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीइएसएस), स्वदेशी उत्पादन र नियामकीय सुधारमा ध्यान केन्द्रित गरिरहेको बताए ।


    मन्त्री लेघारीका अनुसार हाल जलविद्युत्, आणविक, वायु र सौर्य ऊर्जालगायत स्वच्छ स्रोतले पाकिस्तानको कुल विद्युत् उत्पादनमा करिब ५५ प्रतिशत हिस्सा ओगटेको छ। उपभोक्ता–नेतृत्वको लगानीमार्फत करिब ३८ गिगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीसमेत जडान भइसकेको उनले बताए ।


    उनले दिउँसो उत्पादन हुने अतिरिक्त सौर्य ऊर्जालाई उच्च माग हुने समयमा प्रयोग गर्न तथा आयातित इन्धनमाथिको निर्भरता घटाउन ब्याट्री ऊर्जा भण्डारण प्रणाली आवश्यक रहेको बताए ।


    मन्त्रीले प्राथमिकताका परियोजना पहिचान गर्न र राष्ट्रिय ऊर्जा भण्डारण नीति तयार गर्न बीइएसएससम्बन्धी राष्ट्रिय निर्देशक समिति तथा प्राविधिक र नियामकीय कार्यदल गठन गरिने जानकारी दिए । सरकारले स्वदेशी ब्याट्री उत्पादनलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेको र वितरण कम्पनीसँगको सहकार्यमा परीक्षणका रूपमा ऊर्जा भण्डारण परियोजना सञ्चालन गर्न स्वीकृति दिइसकेको उनले बताए ।

  • ‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’

    ‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’

    लन्डन, २१ साउन (रासस–एएफपी) । रियल म्याड्रिड र बार्सिलोनाका पूर्वस्टार लुइस फिगोले विवादमा तानिएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पद छोड्न आग्रह गरेका छन् । उनले इन्फान्टिनोमाथि ‘धोकेबाज’ व्यवहार गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने बताए ।

    विश्वकपको स्वामित्वको केही हिस्सा निजी इक्विटी लगानीकर्तालाई बिक्री गर्ने योजनाको तीव्र विरोधपछि इन्फान्टिनो दबाबमा परेका हुन् । छपन्न वर्षीय इन्फान्टिनोले आफ्नो ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपको २० प्रतिशत हिस्सेदारी बिक्री गर्ने योजना अघि सारेका थिए । उक्त प्रस्तावलाई तीन महादेशीय फुटबल महासङ्घले अस्वीकार गरेपछि उनी योजना स्थगित गर्न बाध्य भएको थिए ।


    आफ्नो योजनापछि गुमेको समर्थन पुनः प्राप्त गर्ने प्रयासमा इन्फान्टिनोले बुधबार मोरक्कोमा फिफाका निर्देशकसँग आकस्मिक छलफल गरेको स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। पोर्चुगलका पूर्वफरवार्ड फिगोले भने उक्त योजनाको आलोचना गर्दै इन्फान्टिनोको राजीनामा माग गरेका छन् । “फिफाका समस्याबारे म १० हजार शब्द लेख्न सक्छु। तर समाधानका लागि तीन शब्द पर्याप्त छन, इन्फान्टिनो जानुपर्छ,” फिगोले बेलायती अखबार ‘डेली मेल’मा लेखेका छन् ।


    उनले इन्फान्टिनोले फुटबलको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए । “जसले आफू र आफ्ना सहयोगीलाई धनी बनाउन खेलमा यस्ता ठूला परिवर्तन जबर्जस्ती लागू गर्न खोज्छ, उसले फुटबलको भविष्यमा भूमिका खेल्नु हुँदैन,” फिगोले भने । इन्फान्टिनोले भने आफ्नो प्रस्तावले फिफाका सदस्य राष्ट्रको आम्दानी बढाउने दाबी गरेका थिए । तर विश्वभरका फुटबल सङ्घसँग पर्याप्त परामर्श नगरी योजना अघि बढाएको भन्दै उनको आलोचना भएको थियो।

    हरेक चार वर्षमा आयोजना हुँदै आएको विश्वकपलाई दुई–दुई वर्षमा आयोजना गर्ने सम्भावनाबारेको बहसले पनि फुटबल जगतमा विवाद सिर्जना गरेको थियो। फिफाका अन्य वरिष्ठ अधिकारी तथा आर्सनलका पूर्वप्रबन्धक आर्सन वेङ्गरले समेत इन्फान्टिनोको कार्यशैलीको आलोचना गरेका छन् । सन् २०१५मा फिफा अध्यक्षको दौडबाट बाहिरिएका फिगोले इन्फान्टिनोले संस्थाको प्रतिष्ठा कमजोर बनाएको आरोप लगाए ।


    “इन्फान्टिनोले फिफा अध्यक्ष पदको गरिमा घटाएका छन्, जुन पदलाई उँचो बनाउने वाचा गरेका थिए,” फिगोले भने, “फुटबललाई जोगाउन अझै ढिलो भएको छैन, उनी पदबाट बाहिरिनुपर्छ ।”

  • रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु

    रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु

    किएभ (मस्को), २१ साउन (रासस–सिन्ह्वा) । युक्रेनी अधिकारीले रातभर किएभ र आसपासका क्षेत्रमा रुसले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बुधबार बताएका छन्। युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम, रसद केन्द्र, व्यावसायिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढी क्षति किएभ क्षेत्रमा भएको र त्यहाँ १६ जनाको मृत्यु तथा ३० जना घाइते भएको विभागले जनाएको छ।

    किएभ क्षेत्रीय सैन्य प्रशासनका अनुसार ब्रोभरी जिल्लामा मात्रै नौ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। यता, किएभका मेयर भिताली क्लिट्स्कोले राजधानीमा एक जनाको मृत्यु र २६ जना घाइते भएको जानकारी दिए । युक्रेनी वायुसेनाका अनुसार रुसले रातभर ११५ वटा ड्रोन, २४ वटा इस्कान्डर–एम÷एस–४०० ब्यालिस्टिक क्षेप्यास्त्र तथा चारवटा जिरकोन÷ओनिक्स जहाजविरोधी क्षेप्यास्त्र प्रहार गरेको थियो।

    रुसको रक्षा मन्त्रालयले भने किएभ र आसपासका क्षेत्रमा रहेका यातायात तथा रसद पूर्वाधारलाई लक्षित गरी ठूलो स्तरको आक्रमण गरिएको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमणमा ड्रोनका पार्टपुर्जा, रोबोटिक प्रणाली, विद्युतीय युद्ध उपकरण तथा अन्य सैन्य सामग्री भण्डारण र वितरण गर्ने केन्द्रलाई निशाना बनाइएको थियो।

    रुसी रक्षा मन्त्रालयले ओडेसाको दक्षिणी क्षेत्रमा कालो सागरमा रहेका सैन्य सामग्री बोकेका युक्रेनका तीनवटा सुक्खा मालवाहक जहाजमा प्रहार गरिएको तथा ओचाकिभको दक्षिणपूर्वी क्षेत्रमा दुईवटा मानवरहित जलयान नष्ट गरिएको पनि दाबी गरेको छ।

  • झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

    झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

    नयाँदिल्ली, २१ साउन (रासस–सिन्ह्वा) । भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलबार दिउँसो आएको भारी वर्षा र आँधीबेहरीसँगै परेको चट्याङबाट राज्यका गिरिडीह, दुम्का र लातेहार जिल्ला प्रभावित भएका छन्। भारतको मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म झारखण्डसहित विभिन्न क्षेत्रमा व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ। भारतमा मनसुन सुरु भएपछि चट्याङका घटनामा हरेक वर्ष सयौँ मानिसको मृत्यु हुने गरेको छ।

  • बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

    बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

    चितवन, २१ साउनः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो ।

    चिकित्सकका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष ९आरबिसी०, सेतो रक्त कोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्छ। बोनम्यारोको रोग विशेषगरी दुई तरिकाले लाग्छ। एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर। यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छ र बोनम्यारोमा बन्नु पर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैन। यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। बोनम्यारो प्रत्यारोपणमा शरीरको कुनै अङ्ग नै झिक्ने, चिरफार गर्ने हुँदैन। यो भनेको सुइबाट रगत झिक्ने वा बोनम्यारो झिक्ने र सुइबाटै राख्ने विधि हो।

    अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले चिनियाँ टोली केही दिन अघि दुई साता यहाँ बसेर आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिनुभयो । टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसहित बसेर सुझाव समेत लिएको थियो ।

    उहाँका अनुसार यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता आवश्यक काम अघि बढ्ने छ । अस्पतालको अन्तरङ्ग भवनको अगाडि तीन तलाको भवन बनाइने छ । कार्यकारी निर्देशक नेपालका अनुसार सन् २०२६ मा नै काम सुरु गर्ने तयारी चिनियाँ टोलीको तयारी छ ।

    चिनियाँ सरकारले यो परियोजना सम्पन्न गर्न करिब ३७ मिलियन चिनिया रकम खर्च गर्दै छ । नेपाली रुपैयाँ अनुसार यो करिब रु ८४ करोड हुन आउने उनले जानकारी दिए । अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकार र चीनको चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का बीच सम्झौता भइसकेको छ ।

    बोनम्यारो युनिट पाँच श्ययाको हुनेछ । उहाँका अनुसार सुरुमा पुरानो भवनमा युनिट सञ्चालन गर्ने तयारी गरिएको भए पनि यो सम्भव नहुने भएपछि नयाँ भवन बनाउन लागिएको हो । भवन बनाउने ठाउँको माटो परीक्षणलगायतका काम यसअघि नै सम्पन्न भइसकेका छन् । बोनम्यारो युनिटमा काम गर्नका लागि हाल अस्पतालका तीन जना चिकित्सक र नर्स चीनमा तालिम लिईरहेका छन् ।

    कार्यकारी निर्देशक डा पौडेलले भने, “‘बोनम्यारो’ प्रत्यारोपणका लागि यसअघि नै तीन स्वास्थ्यकर्मी जनाले छ महिनाको र पाँच जनाले दुई हप्ताको तालिम लिएर फर्किएका छन् । ”त्यहाँ काम गर्ने जनशक्तिलाई चीन सरकारको तर्फबाट थप आवश्यक तालिम दिइँदै छ । उनीहरुले निर्माण थालेको एक वर्ष छ महिनामा काम सम्पन्न गर्ने तयारी गरेको जनाइएको छ ।

    यो स्तरको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण युनिट नेपालमा पहिलो हुने कार्यकारी निर्देशक डा पौडेलको दावी छ । अहिले बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी विदेश जान बाध्य छन् । यहाँ यो सेवा सुरु भएसँगै कम खर्चमा बिरामीहरुले उच्चस्तरको सेवा पाउने उनी बताउँछन् । विसं २०५१ मा चीन सरकारको सहयोगमा क्यान्सर अस्पताल निर्माण गरिएको थियो । त्यसयता यहाँ निरन्तर चिनियाँ चिकित्सकले समेत बिरामीको उपचार गरिरहेका छन् । यहाँ नेपाल सहित भारतका बिरामी समेत उपचार गर्न आउने गर्दछ ।

  • ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो

    ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो

    स्कर्दु, २१ साउन (रासस–एएफपी) । खोज टोलीले प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव हिमपहिरोमा परेर मृत्यु भएको हिमालको आधार शिविरमा पु¥याएको पाकिस्तानको अल्पाइन क्लबले बुधबार जनाएको छ । जुलाई ३०मा हिमपहिरो गएको थियो, जसले गर्दा विश्वको अग्लो हिमालमध्ये एक ब्रोड पिकमा ४३ वर्षीय नेपाली पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय अभियानसँग सम्पर्क विच्छेद भएको थियो । उनको कम्पनीले कोही पनि जीवित नभएको पुष्टि गरेको छ ।

    पाकिस्तानको अल्पाइन क्लब (एसीपी)ले ब्रोड पिकमा अत्यन्त चुनौतीपूर्ण र प्राविधिक रूपमा जटिल उद्धार अभियानपछि नेपाली पर्वतारोही निर्मल पुर्जा, निमा शेर्पा, किलु शेर्पा तथा चिनियाँ पर्वतारोही झोङ वाङको शव सफलतापूर्वक निकालेर आधार शिविरमा सुरक्षित रूपमा ल्याइएको जनाएको छ । एसीपीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो ।

    “आजको दिन एउटा महत्त्वपूर्ण उपलब्धि हो, तर तीन जना पर्वतारोही अझै पनि बेपत्ता छन्,” क्लबले भन्यो । “हामी परिस्थितिले अनुमति दिएसम्म उनीहरूलाई पत्ता लगाउन र पुनः प्राप्ति गर्न सबै सम्भावित प्रयासलाई समर्थन गर्न प्रतिबद्ध छौँ, ताकि उनीहरूलाई पनि आफ्ना प्रियजनकहाँ घर फर्काउन सकियोस्,” क्लबले भनेको छ ।

    टोलीका अन्य तीन सदस्य एक अमेरिकी महिला, एक ओमानी महिला र एक नेपाली पुरुषका शव पहिले नै पहाडबाट उत्तरी पाकिस्तानी शहर स्कार्दुमा उडाइएको थियो । दुई नेपाली नागरिक र एक पाकिस्तानी नागरिकको शव अझै फेला परेको छैन । उत्तरी पाकिस्तानको काराकोरम पर्वतमालामा अवस्थित ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो र यसलाई आठ हजार मिटरभन्दा बढी अग्ला आरोहणमध्ये सबैभन्दा कठिन र प्राविधिक आरोहणमध्ये एक मानिन्छ । यो हिमालमा पहिलो पटक १९५७ मा अस्ट्रियाली टोलीले आरोहण गरेको थियो ।