Category: फिचर

  • जेष्ठ नागरिक र अपांगता भएका नागरिकले ए-डिभिजन लिग निःशूल्क हेर्न पाउने

    जेष्ठ नागरिक र अपांगता भएका नागरिकले ए-डिभिजन लिग निःशूल्क हेर्न पाउने

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका सबै खेलहरूमा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुका लागि निःशुल्क हेर्न पाउने भएका छन् । खेलहरू सञ्चालन भइरहेका तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निस्शुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

    फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगका खेलहरू दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । अन्य दर्शकले भने टिकटको मूल्य तिर्नुपर्छ । सामान्य प्याराफिटतर्फको टिकट मूल्य १०० र भीआईपी प्याराफिटतर्फको ३०० तोकिएको छ ।

  • नेपालमा सोलो ट्रेकिङमा जानेले अब गाइडबीना घुम्न नपाउने

    नेपालमा सोलो ट्रेकिङमा जानेले अब गाइडबीना घुम्न नपाउने

    काठमाडौं । नेपालमा अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने गरी प्रतिवन्ध लागेको छ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जनाएका छन् ।

    नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । सन् २०२२ मा यो संख्या १९ हजार ४२५ थियो । यस्ता पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली ९टिम्स० कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए ।

    यस्ता पर्यटक पदयात्राका दौरान बढी असुरक्षित हुने र समस्या पर्दा उद्दारमा पनि समस्या हुने अवस्था दोहोरिएपछि गन्तब्यलाई अझ बढी सुरक्षित बनाउन यस्तो निर्णय लिनु परेको बोर्डको भनाई छ । यो निर्णय नेपालमा रोजगारी सिर्जनामा समेत फलदायी हुने अपेक्षा छ । अब एफआईटीका लागि जारी हुने टिम्स कार्ड जारी नहुने भएको छ । पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ ।

    बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउँथे । अब भने सबै पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ पुर्‍याइएको छ ।

    नेपालका साहसिक गन्तब्यमा जोखिमपूर्ण यात्रामा निस्कने पर्यटकको सुरक्षाको ग्यारेन्टी गर्दै गुणस्तरीयता कायम राख्न एक्लै भ्रमणमा जान रोक लगाउँदै टिम्स कार्डको मूल्य समान गराइएको उनले बताए । सार्क मुलुकका नागरिकले यसअघि ३ सय रुपैयाँ तिर्दै आएको टिम्स कार्डलाई अब १ हजार तिर्नुपर्ने भएको छ ।

  • दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो

    दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो

    काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याउने निर्णय गरेको हो । किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको हो । किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट आएको प्रस्ताव पछि सरकारले यस्तो निर्णय गरेको हो । अब किसानले बिक्री गर्ने दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ पुगेको छ ।

    अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ । गत २७ माघ २०७८ मा तत्कालित देउवा सरकारले दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले बढाएको थियो ।

  • रामचन्द्रले मागे राष्ट्रिय स्वतन्त्र पार्टीसँग भोट

    रामचन्द्रले मागे राष्ट्रिय स्वतन्त्र पार्टीसँग भोट

    काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मत मागेका छन् । शुक्रबार अपरान्ह पौडेलसहित कांग्रेस नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरा पुगेका थिए ।

    त्यहाँ सभापति रवि लामिछानेसहितका पदाधिकारीसँग भेट गरी पौडेलले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा मत मागेका थिए । तर रास्वपा नेताहरुले भने पार्टीको बैठक बसेर निर्णय गर्ने जवाफ दिएका नेताहरुले बताएका छन् ।

  • आइसीसी क्रिकेट विश्वकप लिग टू : नेपालको महत्वपूर्ण जित

    आइसीसी क्रिकेट विश्वकप लिग टू : नेपालको महत्वपूर्ण जित

    काठमाडौं । ओपनर आसिफ शेख र सन्दीप लामिछाने आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ । ओपनर आसिफले धैर्यपूर्वक ब्याटिङ गर्दै अविजित ८६ रन बनाएपछि पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । ब्याटिङमा नेपालको सुरुवात निकै खराब थियो ।

    इनिङको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । सातौं विकेटका रुपमा कुशल मल्ल २३ रनमा आउट भएपछि सन्दीप ब्याटिङमा आएका थिए । प्रशिक्षक मोन्टी देशाईले यूएईविरुद्ध आक्रामक ब्याटिङ गरेका सन्दीपलाई करण केसी र सोमपाल कामीभन्दा अगाडि पठाएका थिए । सन्दीपले क्रिजमा टिकेर खेलिरहेका आशिफलाई साथ मात्र दिएनन्, आक्रमक ब्याटिङलाई निरन्तरता दिए । दुबैले आठौं विकेटका लागि ७७ रनको कीर्तिमानी साझेदारी गरे ।


    यसअघि आठौं विकेटका लागि दीपेन्द्र र सोमपाल कामीले लिग टूमा स्कटल्याण्डविरुद्ध अविजित ५५ रनको साझेदारी गरेका थिए । १३० बल सामना गरेका आसिफले २ चौका र १ छक्काको मद्दतमा अविजित ८६ रन बनाए । सन्दीपले ५० बलमा ३ चौकासहित अविजित ३५ रन बनाए । सन्दीपले बनाएको ३५ रन करियरकै कुनै एक इनिङमा बनाएको सबभन्दा उच्च स्कोर हो । नेपालका अरु ब्याट्सम्यानले भने दोहोरो अंकसमेत जोड्न सकेनन् । दीपेन्द्र सिंह ऐरी र भीम सार्की समान ८र८ रनमा आउट भए, ज्ञानेन्द्र मल्लले ६ रन बनाए भने कप्तान रोहितकुमार पौडेल र आरिफ शेखले १–१ रन बनाए । कुशल भुर्तेल शून्यमै आउट भए ।

    पीएनजीका लागि कप्तान असद भालाले ३ तथा सेमो कामिअ र सेसे बाउले समान २–२ विकेट लिए । त्यसअघि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनाएको थियो । उसका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे । नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २र२ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले आफ्नो नाममा एकएक विकेट लिए ।

    जितपछि नेपालले ३१ खेलबाट ३० अंकका साथ छैटौं स्थानमै छ । नेपालले अब युएईमा भइरहेको शृखंलामा एक खेल खेल्न बाँकी छ । नेपालले युएईसँग आगामी सोमबार खेल्नेछ । त्यसपछि युएई र पीएनजी सहितको अन्तिम शृंखला घरेलु मैदानमा खेल्नेछ । नेपालले लिग टु को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन अब बाँकी पाँचवटै खेल जित्नुपर्नेछ ।

  • आसिफ शेखको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक

    आसिफ शेखको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक

    काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङमा संघर्ष गरिरहेको नेपालबाट ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् ।

    युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय खेलमा पीएनजीले प्रस्तुत गरेको १८० रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङमा संघर्ष गरिरहेको नेपालबाट आसिफले कठिन अवस्थामा अर्धशतक बनाएका हुन् ।

    आसिफले ८८ बलमा एक छक्कासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक हो ।

  • राज्यबाट सेवा सुविधा नपाएको उपसभामुखको गुनासो

    राज्यबाट सेवा सुविधा नपाएको उपसभामुखको गुनासो

    काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् ।

    भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् ।

    राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकैकारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताइन् ।

    उपसभामुखलाई घर दिने रे भनिएको छ । दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ ।’ पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाई थियो । उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भिर नभएको आरोप लगाइन् ।

  • जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

    जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

    काठमाडौं । कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई मेयर गोपाल हमालले खादा लगाइदिएका छन् । पैदलमार्ग भएकै ठाउँमा तारजाली नाँघेर बाटो काट्ने धनगढी उपमहानगरपालिका–१३ राजपुरका शिवराज पाध्याय मेयरको यस्तो अनौठो सम्मानमा परेका हुन् ।

    उपमहानगरपालिकाले जथाभावी बाटो काट्न नदिन र मिडियनमा लगाइएको बोटविरुवाको सुरक्षाका लागि मिडियनको दुवैतिरबाट तारजाली लगाएको छ। तरपनि, यात्रुले जथाभावी बाटो काट्ने क्रम नरोकिएपछि चेतनाका लागि यस्तो गर्नु परेको बताइएको छ । पैदलमार्ग बनाइएको ठाउँबाट ट्रयाक्टर समेतका सवारी साधन एकतिरबाट अर्कोतिर लगिने गरिएको छ। यसैगरी, ठाउँमा–ठाउँमा पैदलमार्ग बनाइए पनि मान्छेले तारजाली नाघ्ने गरेका छन्।

    पाध्यायले पैदलमार्ग छोडेर तारजाली नाघेर बाटो काट्दै गरेको फेला पारेपछि नैतिक रुपमा दण्डित गर्नका लागि पक्रेर खादाले सम्मान गरिएको नगर प्रमुख हमालको सचिवालयले जनाएको छ ।

  • उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाने

    उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाने

    काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको नेतृत्व गर्दै सहभागी हुन त्यसतर्फ जाने भएका छन् । आइतबारदेखि मङ्गलबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    त्यसअघि मन्त्री श्रेष्ठ अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सो सम्मेलन समूहका अध्यक्ष मुलुक मलावीको संयोजकत्वमा शनिबार आयोजना हुँदै छ। सो सम्मेलनमार्फत नेपालले समूहको अध्यक्षता ग्रहण गर्दै छ।

    कतारको दोहामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नुका साथै विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ।

    सो क्रममा उहाँले प्रवासी नेपाली आबद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग पनि छुट्टै अन्तक्रिया गर्नेछन् । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत अन्य उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

  • साइवर सुरक्षा सम्बन्धी नीति बनाउने तयारी

    साइवर सुरक्षा सम्बन्धी नीति बनाउने तयारी

    काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो ।


    कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा रहेको कार्यदल सदस्यमा विज्ञ बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहेका छन् । कार्यदल सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ पनि सदस्य रहेका छन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।

    मन्त्रालयमा एक कार्यक्रम गरी बिहीबार कार्यदललाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यदललाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय लगातार साइबर सुरक्षामाथि खतरा उत्पन्न हुन थालेपछि मन्त्रालय कानुन र नीति निर्माणमा जुटेको उल्लेख गरिन् । उनले त्यसको तयारीका लागि कार्यदललाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको बताइन् ।

    निर्माणमा भएको सबै प्रविधिको नेपालमा प्रयोग गरिए पनि यसको उचित प्रयोग, व्यवस्थापन र नियमनमा नीति नबनाउँदा समस्या आएकाले साइबर सुरक्षा अहिले राज्यको प्राथमिकतामा रहेको मन्त्री शर्माले बताइन् । उनले साइबर सुरक्षाका क्षेत्रमा नीति निर्माण गरी बजेट तर्जुमा गरेर कार्यान्वयनमा लैजान सकिए नेपालको साइबर सुरक्षाको सवालमा महत्त्वपूर्ण काम हुने भएकाले सरकारले यसमा ध्यान केन्द्रित गरेको पनि बताइन् ।

    मन्त्रालयका सचिव अर्यालले यो सामान्य अध्ययनमात्र नभएर नेपाल सरकारको नीति कार्यक्रम र बजेटमै समावेश गर्ने सुझाव तयार पार्ने अध्ययन भएकाले कार्यदलको महत्त्वपूर्ण जिम्मेवारी रहने बताए ।

    मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को २०७९ फागुन १५ को बैठकबाट नेपाल सरकारका सबै निकायका तथ्यांक एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौंडामा रहेको डिजास्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गरी चौबिसै घण्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने भन्ने निर्णय गरेको थियो ।

    गठित समितिलाई हालसालै एकीकृत डाटा केन्द्रमा देखिएका समस्या, समस्या आउनुका कारण, देखिएका कमीकमजोरी र समस्या समाधानका लागि भए गरेका कार्यको विस्तृत छानबिन गर्ने, उक्त केन्द्रमा रहेका प्रविधि, प्रणाली र व्यवस्थापनको अवस्थाको विस्तृत अध्ययन गर्ने, भविष्यमा समस्या आउन नदिन प्राविधिक, मानवीय र व्यवस्थापकीय सुधारका उपाय पहिचान गर्ने र कार्य सुरु गरेको ३० दिनभित्र कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने कार्यक्षेत्रगत सर्त तोकिएको छ

  • स्ववियुको चुनावी प्रक्रिया आजबाट सुरु

    स्ववियुको चुनावी प्रक्रिया आजबाट सुरु

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी प्रक्रिया आजबाट सुरु हुँदैछ । चुनाव ५ चैतमा तोकिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले आज दिउँसो ३ बजेभित्रमा नाम दर्ता गर्नु पर्ने भएको छ ।

    फागुन २१ मा निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्दैछ । नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर त्यसैदिन बेलुका ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

    फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ । फागुन २७ गते प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ । फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध र बेलुका ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

    प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ ।

    विद्यार्थी सङ्घ तथा सङ्गठनले फागुन २९ गतेदेखि चैत २ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् । हरेक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ । यो समितिले नै क्याम्पसमा स्ववियु चुनाव गराउने छ ।

    यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ । आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुँदैछ ।

  • एनओसी अब विद्यार्थी आफैले प्रिन्ट गर्न पाउने

    एनओसी अब विद्यार्थी आफैले प्रिन्ट गर्न पाउने

    काठमाडौं । अब विद्यार्थी आफैले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले यस्तो व्यवस्था ल्याएको हो । अबको केही हप्तापछि एनओसी लिन कार्यालय धाइरहनु नपर्ने गरी व्यवस्था हुँदैछ । अनलाइनमार्फत विद्यार्थीले दिएको आवेदन शाखाले प्रमाणि गरेपछि आफैंले प्रिन्ट गर्न सक्ने भएका छन् ।

    यो साता प्राविधिक काम सकेर अर्को हप्ता परीक्षण गर्ने र परीक्षणमा देखिएको प्राविधिक समस्या समाधान गरेर पूर्ण रुपमा अनलाईन बनाउने तयारी छ । यदि विद्यार्थीको आवेदन अनलाइनमार्फत प्रमाणित नभएमा भौतिक रुपमा शाखामा उपस्थित भएर प्रमाणित गर्नुपर्छ । यसरी प्रमाणि भए पनि जारी भने अनलाइनबाटै हुन्छ र आफैले प्रिन्ट गर्न सकिनेछ ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाल र पीएनजी आज भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाल र पीएनजी आज भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे खेल सुरु हुनेछ । नेपाल महत्वपूर्ण खेलमा बिहीबार युएईसँग ६८ रनले पराजित भएको थियो ।

    लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा ब्याटिङ नचल्दा नेपाल युएईविरुद्ध २०७ रनको लक्ष्य पछ्याउँदा १३९ रनमै अलआउट भएको थियो ।


    लिग टुमा नेपाल पपुवा न्युगिनीसँग अपराजित छ । यसअघिको लिग टुको तीनवटै खेल नेपालले जितेको थियो । समग्रमा नेपाल र पपुवा न्युगिनीबीच ७ ओडिआई खेल भएको छ । जसमा नेपालले ५ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । लिग टुको शीर्ष ३ मा रहँदौ विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । यदि नेपालले आज हारेमा विश्वकपको सपना सकिने छ ।

  • विश्वकप लिग टु: नेपाल यूएईसँग ६८ रनले पराजित

    विश्वकप लिग टु: नेपाल यूएईसँग ६८ रनले पराजित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ६८ रनले पराजित भएको छ । २०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३१ ओभर ५ बलमा १३९ रन जोड्दा अलआउट भएको हो ।

    नेपालका लागि कुशल मल्लले ६२, सन्दीप लामिछानेले अविजित २६ र आशिफ शेखले १७ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

    यूएई पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो। ​उसका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरे।

    रोहन मुस्तफाले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय पाली खेले भने आर्यन लाक्राले २८ रन बनाए। कप्तान सिपी रिजवानले २२ र वृत्य अरबिन्द १८ रन बनाएर आउट भए।

    नेपालका लागि सन्दीप लामिछानेले बलिङ र ब्याटिङ दुवैमा गतिलो प्रदर्शन गरे पनि नेपालले खेल जित्न सकेन। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। करण केसी, कुशल मल्ल र आरिफ शेखले १/१ विकेट लिए।

    नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच जितपछि पहिलो हार ब्यहोरेको हो। विश्वकप लिग-२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ। पाचौँ स्थानमा रहेको यूएईको ३० खेलबाट ३१ अंक छ।

  • यूएईलाई हराउँदै नेपाल यू–१९ क्रिकेट विश्वकपका लागि छनोट

    यूएईलाई हराउँदै नेपाल यू–१९ क्रिकेट विश्वकपका लागि छनोट

    काठमाडौं । आईसीसी यू- १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको छ ।

    निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो ।

    दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

    नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पुर्‍याएका हुन् ।

    कँडेल ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चिएका थिए । ४८ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार तीन विकेट लिएका थिए । हेमन्त धामीले र सुवास भण्डारीले २/२ विकेट लिए ।

  • ‘केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ’-प्रधानमन्त्री प्रचण्ड

    ‘केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ’-प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको जानकारी दिएका छन् ।

    काठमाडौंमा बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २६ पुसको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए ।

    ‘अघिल्लोपटक संविधानविपरीत संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो ।

    तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ,’ प्रधानमन्त्रीले भने, ‘रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ । गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ। स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ ।’

    नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा रहेको र अहिले पनि राजनीतिक संकट र चुनौतीकै बीचमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मलाई अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैमा राष्ट्रिय सहमतिको आधार थियो।

    बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ। तपाई र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ। तर, उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ ।’

    आफ्नो लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा ठूलो भएको बताए । तर, २६ पुसमा संसदमा केपी ओलीले संसद विघटन गर्नु ठीक थियो भनेपछि संसद विघटनको विपक्षमा रहेकाहरुले सोच्न बाध्य भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    ‘संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन। हामीले सोच्न बाध्य भयौँ। त्यस्तो नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एकठाउँ उभिएका छौँ । हामीसँग विगतका तीता अनुभवहरू छन्। राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक हो, राष्ट्रको अभिभावक हो।

    तर, विगतमा त्यस्तो भएन”, प्रधानमन्त्रीले भने, ‘यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान नेता उम्मेदवार बनाएका छौँ। उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’

    कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, नेताहरू महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, दुर्गा पौडेल, अब्दुल खान लगायतले सम्बोधन गरेका थिए ।

  • रेशम चौधरीको अडान,श्रीमतीलाई उपप्रधानमन्त्री र टीकापुरलाई छुट्टै जिल्ला

    रेशम चौधरीको अडान,श्रीमतीलाई उपप्रधानमन्त्री र टीकापुरलाई छुट्टै जिल्ला

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेको छ।

    भोट माग्न डिल्लीबजार पुगेका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलसहितका नेताहरूसँग टीकापुरलाई छुट्टै जिल्ला बनाउने पर्ने,सुदूरपश्चिम प्रदेशलाई खप्तड-थरुहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेका हुन् । लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गरेका छन्।

  • यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन

    यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ ।

    ५० ओभर नै खेलेको युएईले ८ विकेट गुमाएर २०७ रन बनाएको हो। यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए ।

    रोहन मुस्ताफाले अविजित ५२ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले सवैभन्दा बढी तीन विकेट लिए। दश ओभर नै बलिङ गरेका उनले जम्मा २७ रन दिएर तीन विकेट लिएका हुन्।

    यसैगरी करण केसीले दुई विकेट, आसिफ शेख र कुशल मल्लले समान एक-एक विकेट लिए।

  • भोट माग्दै रास्वपा कार्यालय पुगे सुवास नेम्वाङ

    भोट माग्दै रास्वपा कार्यालय पुगे सुवास नेम्वाङ

    काठमाडौं । नेकपा (एमाले) तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्।

    बसुन्धरास्थित रास्वपा पार्टीको कार्यालय पुगेका नेम्वाङले रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरूसँग छलफल गरेका छन्।

    रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन। यसअघि नेम्वाङ नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा गएर मत मागेका थिए।

  • जनमतले माग्यो उपप्रधानसहित दुई मन्त्रालय

    जनमतले माग्यो उपप्रधानसहित दुई मन्त्रालय

    काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका जनमत पार्टीका अब्दुल खानले आफूहरुले उपप्रधानसहित दुई मन्त्रालय पाउनु पर्ने दाबी गरेका छन् ।

    उनले उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा.सिके राउत जाने सम्भावना रहेको बताए। उनले भने ‘गठबन्धनमा हामीले दुई मन्त्रालय पाउँछौं। उपप्रधानसहित उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न। अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको छ।’

  • नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य, देव खनालको अर्धशतक

    नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य, देव खनालको अर्धशतक

    काठमाडौं । नेपाली यू १९ क्रिकेट टोलीले यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ।

    यूएईस्थित इडेन गाडेन ओभलमा सम्पन्न खेलमा घरेलु टोलीलाई नेपालले १९२ रनको चुतौती प्रस्तुत गरेको हो।

    कप्तान देव खनालले ८४ रनमा ५१ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का प्रहार गरे।

    त्यसअघि ओपनरद्वय दीपक बोहोरा ‘ए’ १ बलमै बिना रन आउट भए। अजुर्न कुमालले १५ बलमा ३ रन बनाएर आउट भए।

    आकाश त्रिपाटीले १३ बलमा ९ रन बनाएर आउट हुन पुगे। त्यस्तै उत्तम रंगु थापा मगरले ४८ बलमा ३६ रन बनाएर आउट हुन पुगे। विशाल ब्रिकम केसीले ५० बलमा ३८ रन बनाएर आउट हुन पुगे।

    मिलन बोहोराले २१ बलमा १० रन बनाएर आउट भए भने शुबास भण्डारीले १० बलमा २ रन बनाएर आउट भए। त्यस्तै हेमन्त धामीले १३ बलमा १३ रन बनाएर आउट हुन पुगेका थिए।

    बलिङतर्फ यूएईका ध्रुव परासरले सर्वाधिक ३ विकेट लिँदा आयन अफ्जल खान र हरित हरिस सेट्टीले समान २ तथा हर्षित सेठ र अमर बदामीले समान १ विकेट लिए।

    नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।

  • कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका

    कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका

    काठमाडौं । एफबीआईका निर्देशक क्रिस्टोफर रेले कोभिड–१९ भाइरस सम्भवतः चिनियाँ सरकार नियन्त्रित प्रयोगशालामा बनेको हुनसक्ने विश्वास ब्यूरोले गरेको बताएका छन्। “एफबीआई लामो समय मौन रहे पनि महामारीको उत्पत्ति सम्भवतः प्रयोगशाला दुर्घटनाका कारण भएको अब मूल्याङ्कन गर्न सकिन्छ, उनले फक्स न्यूजसँग भनेका छन् ।

    महामारी निम्त्याएको भाइरस कसरी देखा पर्‍यो भन्नेबारे एफबीआईले हालसम्म गोप्य राखेको जानकारी पहिलो पटक सार्वजनिक गरिएको हो। चीनले उक्त आरोप मानहानीपूर्ण किसिमको भएको बताउँदै वुहानमा भाइरस प्रयोगशालाबाट बाहिरिएको विवरणको खण्डन गरेको छ।

    चीनका लागि अमेरिकी राजदूतले कोभिडको उत्पत्ति बारे थप इमानदार हुन चीनसँग आग्रह गरेको एक दिन पछि रेले उक्त विषयमा प्रतिक्रिया जनाएका हुन्। विश्वव्यापी महामारीको स्रोत पहिचान गर्ने प्रयासलाई चीनले असफल र अस्पष्ट पार्ने प्रयास गरिरहेको छ, रेले मङ्गलवार दिएको अन्तर्वार्तामा भने। र यो सबैको लागि दुर्भाग्यपूर्ण कुरा हो, उनले भने।

    केही अध्ययनहरूले कोरोनाभाइरस चीनको वुहानमा सम्भवतः समुद्री खाना र वन्यजन्तुको कारोबार हुने बजारबाट जनावरमार्फत मानिसमा सरेको हुनसक्ने सङ्केत गरेका छन्। त्यो बजार विश्वको अग्रणी भाइरस प्रयोगशाला, वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट ४० मिनेटको दूरीमा छ। उक्त प्रयोगशालाले कोरोनाभाइरसबारे अनुसन्धान गरेको थियो।

    अन्य अमेरिकी सरकारी निकायहरूले भने एफबीआईको भन्दा फरक निचोडहरू निकालेका छन् जसमा भरोसा गर्न सकिने आधारहरू फरकफरक तहका छन्।अमेरिकी सञ्चारमाध्यमहरूमा आइतवार सार्वजनिक विवरणहरूमा अमेरिकी ऊर्जा विभागले कोभिड प्रयोगशालाबाट उत्पत्ति भएको भन्ने निष्कर्षमा कम आत्मविश्वास देखाएको थियो। पहिले यो भाइरस कसरी सुरु भयो भन्नेबारे विभागले कुनै निष्कर्ष ननिकालेको जनाएको थियो।

    सोमवार, ह्वाइट हाउस न्याश्नल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड कसरी सुरु भयो भनेर पत्ता लगाउन ूसरकारको सम्पूर्ण प्रयासलाई समर्थन गर्ने बताएका थिए। तर कसरी उत्पत्ति भएको हो भन्नेबारे अमेरिका अझै स्पष्ट नभएको उनले बताए। हामी अझै निष्कर्षमा पुगेका छैनौँ, उनले भने। यदि हामीसँग अमेरिकी जनता र कंग्रेसलाई जानकारी दिन केही तयार भयो भने हामी त्यो सार्वजनिक गर्नेछौँ।

    एफबीआई निर्देशक रेले सार्वजनिक गरेको विवरणमा चीनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। सन् २०२१ को अक्टोबरमा अमेरिकी शीर्ष गुप्तचर अधिकारीद्वारा जारी अवर्गीकृत एक विवरणमा चार अमेरिकी गुप्तचर निकायहरूले कम आत्मविश्वासूका साथ सङ्क्रमित जनावर वा सम्बन्धित भाइरसबाट कोरोनाभाइरस उत्पन्न भएको विश्लेषण गरेका थिए।

    महामारीको उत्कर्षमा रहेको महिनौँसम्म भाइरस प्रयोगशालाबाट चुहावट भएको परिकल्पनालाई षडयन्त्र सिद्धान्तको रूपमा व्यापक रूपमा खारेज गरिएको थियो। शीर्ष स्वास्थ्य अधिकारीहरूले सार्वजनिक रूपमै कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुनुअघि प्रयोगशालामा सिर्जना गरिएको हुनसक्ने परिकल्पनामा असहमति जनाएका थिए।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को अनुसन्धानले कोभिड प्रयोगशालाबाट चुहावट भएको हुनसक्ने कुरालाई अति असम्भवको सङ्ज्ञा दिएको थियो। तर, उक्त अनुसन्धानको व्यापक आलोचनापछि निकायका महानिर्देशकले नयाँ अनुसन्धानको लागि आह्वान गर्दै भनेका थिए, यसबारे सबै परिकल्पनाहरू गर्न सकिन्छ र थप अध्ययन आवश्यक छ। कोभिड–१९ पहिलो पटक सन् २०१९ को अन्त्यमा देखा परेको थियो। यसको महामारीका कारण झन्डै ७० लाख मानिसको मृत्यु भएको छ।
    बीबीसी

  • भोट माग्दै राष्ट्रपतिका दुई उम्मेदवार

    भोट माग्दै राष्ट्रपतिका दुई उम्मेदवार

    काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान आजबाट सुरु हुँदै छ। आठ दलीय गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूसँग अभिमुखीकरणसहित भेटघाट आज गर्दैछ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गरेका छन् ।

    नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पौडेललाई समर्थन गरेका छन्। शुक्रबार प्रदेश सभा सदस्यको भेला गर्ने आठ दलको तयारी छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले प्रचारप्रसारको संयोजन गर्नेछ।

  • कोशी प्रदेशमा आज सार्वजनिक बिदा

    कोशी प्रदेशमा आज सार्वजनिक बिदा

    काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ । मन्त्रिपरिषद बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।

  • यूएईमा आज सन्दीप मैदानमा उत्रने

    यूएईमा आज सन्दीप मैदानमा उत्रने

    काठमाडौं । सर्वोच्च अदलातले विदेश जान अनुमति दिएपछि स्पीनर सन्दीप लामिछाने टिममा फर्किएका छन् । उनी बुधबारै यूएई गइसकेका छन् । उनी आजको खेलमा मैदानमा उत्रने भएका छन् । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकालको घाइते भएकोले उनको स्थानमा सन्दीपलाई राखिएको बताइएको छ । अब नेपालले आज स्पीन बलिङमा जोड दिनेछ । अघिल्लो साता घरेलु मैदानमा भएको शृखंलामा सन्दीपले चार खेलमा १३ विकेट लिइसकेका छन् ।

    उनी उच्च लयमा छन् । पहिलो खेलमा पपुवा न्यु गिनीसँगको लय कायम राख्दै यूएईविरुद्ध २ अंक जोड्ने लक्ष्यमा नेपाल रहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईको सामना गर्न लागेको हो । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु– आज यूएई र नेपाल भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टु– आज यूएई र नेपाल भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा जारी शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईको सामना गर्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ। नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई हराएको हो ।

    यूएई भने पपुवा न्य गिनीसँग १३१ रनको फराकिलो रन अन्तरले हारेको हो । नेपाल आफ्नो लयलाई कायम राख्दै यूएईविरुद्ध खेल जित्ने लक्ष्यमा हुनेछ । लिग टु को शीर्ष तीनमा पुग्ने टोलीले आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने अवसर पाउँछ ।

    हाल तेस्रो स्थानमा रहेको नामिबिया जसको ३९ अंक छ उसलाई पछि पार्दै तेस्रो स्थानमा रहन नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । आजको खेल जित्दै ओडीआई मान्यता जोगाउने र शीर्ष तीनको यात्रालाई कायम राख्ने लक्ष्यमा नेपाल हुनेछ । नेपालले लिग टु को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्छ ।

  • इटालियन प्रशिक्षकले सम्हाल्ने भए नेपाली राष्ट्रिय फूटबल टीम

    इटालियन प्रशिक्षकले सम्हाल्ने भए नेपाली राष्ट्रिय फूटबल टीम

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो । पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन मागेपछि १६८ जनाले निवेदन पेश गरेका थिए ।

    जसमध्येबाट पदपूर्ति समितिले २० जनाको नाम सर्टलिस्ट गरेको थियो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए । इन्डियन सुपर लिगमा उनी नर्थ इस्ट युनाइटेडको प्रशिक्षक थिए । त्यसअघि उनले आई लिगको गोकुलम केरलाको टिम हेरेका थिए ।

    यूईएफए प्रो लाइसेन्स प्राप्त कोच एनेसले भारतीय क्लब गोकुलम केरलालाई लगातार दुई पटक आई लिग जिताएका थिए । अब्दुल्लाह अल्मुताइरीको राजीनामा पछि रिक्त रहेको प्रशिक्षक पदमा अब एनेसले काम गर्नेछन् । यस्तै वित्तीय निर्देशकमा सजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का नियुक्ति गर्ने निर्णय गरिएको छ ।

  • दुई महिनामा अमेरिकाबाट नेपाल भित्रिए १४, ४४८ पर्यटक

    दुई महिनामा अमेरिकाबाट नेपाल भित्रिए १४, ४४८ पर्यटक

    काठमाडौं । सन् २०२३ को दुई महिनाको अवधिमा अमेरिकाबाट मात्र साढे १४ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ६ हजार ५६१ र फेब्रुअरीमा ७ हजार ८८७ जना पर्यटक अमेरिकाबाट आएका हुन् । अमेरिका भारतपछि धेरै पर्यटक आउने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको छ ।

    दुई महिनाको अवधिमा कुल पर्यटक आगमन १ लाख २८ हजार ३२९ जना रहेको छ । जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएका छन् । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।

    नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२० पछि यस वर्ष फेब्रुअरीमा सबैभन्दा धेरै संख्यामा पर्यटक भित्रिएका छन् । सन् २०२० को फेब्रुअरीसम्म कोभिड १९ को प्रभाव र यात्रामा प्रतिबन्ध थिएन । त्यसपछिको महिनामा भने यात्रामै प्रतिबन्ध लागेको हो । तथ्यांकअनुसार सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६, सन् २०२१ को फेब्रुअरीमा ९ हजार १४६ र सन् २०२० को फेब्रुअरीमा भने ९८ हजार १९० जना पर्यटक नेपाल आएका थिए ।

    सन् २०१९ को यसै महिनामा १ लाख २ हजार ४२९ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरी २०२३ मा मात्र भारतबाट १८ हजार ४०१ जना पर्यटक नेपाल आएका छन् । थाइल्याण्डबाट फेब्रुअरीमा ४ हजार ८०२ जना पर्यटक नेपाल आएका छन् । बेलायतबाट ४ हजार ३४५ जना आएका छन् ।

    दक्षिण कोरियाबाट एक महिनाको अवधिमा ३ हजार २४६ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ । यस महिनामा अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ जना पर्यटक नेपाल आएका छन् ।

  • भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे

    भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे

    काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

    आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ।

    यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । यसपटक खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको छ । यस्तै हवाइ इन्धनमा ७.३ रुपैयाँ घटेर आएको छ ।

    नयाँ मूल्य सूची अनुसार निगमलाई आगामी १५ दिनमा ४४ करोड रुपैयाँ फाइदा हुने देखिएको छ ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । यसअघि पनि मूल्य घटेर आएको थियो । तर नेपालमा भने घटाइएको थिएन ।

  • प्रदेश १ को नाम ‘कोसी’ स्वीकृत

    प्रदेश १ को नाम ‘कोसी’ स्वीकृत

    काठमाडौं । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् ।

    विपक्षमामा भने चार जनाले हात उठाएका थिए । दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।

    नेकपा एस र जसपाले राखेको अर्को प्रस्तावमा भने छलफल नै नहुने भएको छ । कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।