Category: फिचर

  • प्रधानमन्त्री ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट

    प्रधानमन्त्री ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् ।

    ‘प्रचण्ड’ले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा भोलिका दिनमा समस्या निम्तिन सक्ने भन्दै असन्तुष्ट जनाएका छन् । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने स्थायी समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा भनेका छन् ।

    बैठकमा नेताहरूले राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने प्रकृतिको हुनुपर्ने मत राखेका छन् । नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।

    त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूको बैठक बोलाएर राष्ट्रपति चुनावका विषयमा छलफल गरेका थिए । राष्ट्रपतिमा एमालेले दाबी गर्दै आएको छ भने कांग्रेस पनि आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ ।

  • रवि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ सकियो

    रवि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ सकियो

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटको अन्तिम सुनुवाइ सकिएको छ।

    शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार लामिछाने पक्षका वकिलहरुले बहस सकेपछि निवेदककातर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र रमण कर्णले जवाफी बहस गरेका थिए ।

  • उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर

    उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर

    नयाँ दिल्ली । दुबईबाट भारतको जयपुर आइरहेको एक विमान भारतको नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । त्यसपछि एक यात्रुले ट्वीट नगरे, दुबईबाट जयपुर गइरहेको फ्लाइट अपहरणमा परेको छ । त्यसपछि यो खबर भाइरल भयो । वास्तवमा जहाज जयपुरको मौसम खराबीका कारण दिल्ली डाइभर्ट भएको थियो । पौने १० बजे दिल्ली अवतरण भएको जहाजले १ बजे जयपुर जाने अनुमति समेत पाएको थियो ।

    राजस्थानको नागौर निवासी मोती सिंह राठौडले दुबई–जयपुर फ्लाइट हाइज्याक भएको बताएका थिए । फ्लाइट ढिला हुने भएपछि आफुले उक्त हर्कत गरेको उनले बयानमा भनेका छन् । हाइज्याकको खबरपछि सुरक्षा एजेन्सीले सबै यात्रुलाई ब्यागेजसहित जहाजबाट उतार्न परेको थियो । त्यसपछि अनुसन्धान थालिएको थियो । जहाजलाई जाँच गरेसँगै उडान गन्तब्यमा पुगेको थियो । राठौडलाई स्थानीय प्रहरी प्रशासनले पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमले जहाजको कुन कम्पनीको थियो भन्ने सार्वजनिक गरेका छैनन् ।

  • जासुसी गरेको अभियोगमा एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल

    जासुसी गरेको अभियोगमा एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल

    काठमाडौं । जासुसी गरेको आरोप लागेका एक चिनियाँ इन्जिनियरले संयुक्त राज्य अमेरिकामा आठ वर्ष जेल सजाय पाउने भएका छन्। उनको मुद्दा चीनले अमेरिकाबाट उड्डयन क्षेत्रको व्यापारिक गोप्यता चोर्ने प्रयाससँग सम्बन्धित भएको अमेरिकाको दाबी छ। अमेरिकाको न्याय मन्त्रालयका अनुसार ३१ वर्षीय जी चाओचुनले काम दिन सकिने ठानेर केही वैज्ञानिक र इन्जिनियरहरूको पहिचान पनि गरेका थिए। उनी यूएस आर्मी रिजर्भ्समा भर्ती पनि भएका थिए।

    त्यस क्रममा उनले आफूबारे ढाँटेका थिए। जीले चीनको एउटा गुप्तचर निकायको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको दाबी छ। उनले विदेशी सरकारको जासुसका रूपमा काम गरेको ठहर गत सेप्टेम्बर महिनामा गरिएको थियो। त्यो क्रममा अमेरिकी महान्यायाधिवक्तालाई सूचना दिइएको थिएन।

    उनलाई गुप्तचरी र अमेरिकी सेनालाई मिथ्या जानकारी दिएको अभियोग लगाइएको थियो। न्याय मन्त्रालयका अनुसार जी एक दशकअघि अमेरिकामा विद्यार्थी भिसामा आएका थिए। चीनको जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा भएका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोप जीमाथि लागेको थियो। ती आठै जनाले चीन वा ताइवानबाट अमेरिका गएर पछि अमेरिकाको अङ्गीकृत नागरिकता लिएका थिए।

    तीमध्ये केहीले अमेरिकी डिफेन्स कन्ट्र्याक्टरको रूपमा काम गरेका थिए। राष्ट्रिय हितका लागि महत्त्वपूर्ण सीप भएका विदेशी नागरिकलाई पनि अमेरिकी सेनामा भर्ती गर्ने एउटा योजनाअन्तर्गत जी सन् २०१६ मा यूएस आर्मी रिजर्भ्समा भर्ती भएका थिए। उनले आफ्नो आवेदन र अन्तर्वार्तामा विदेशी सरकारसँग विगत सात वर्षमा सम्पर्क नभएको भनेर ढाँटेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

    जीलाई सन् २०१८ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो। चीनको राज्य सुरक्षा मन्त्रालय ९एमएमएस०को प्रतिनिधिको छद्मभेषमा गएका एक अमेरिकी गुप्तचरलाई भेटेपछि उनी पक्राउ परेका थिए। अमेरिकी गुप्तचर निकाय वा नासामा काम गर्न चाहन्थे । ती गुप्तचरसँगका बैठकहरूमा जीले सैन्य परिचयपत्र लिएर आफू विमान बोक्ने वाहनहरूसम्म पुग्न सकेको र तिनको तस्बिर लिएको बताएका थिए।

    अमेरिकी नागरिकता पाएपछि र सुरक्षा जाँचपछि अमेरिकी गुप्तचर निकाय सीआईए, एफबीआई वा नासामा आफूले जागिर खोज्ने उनले बताएका थिए। ती निकायमध्ये एउटामा साइबर सुरक्षासम्बन्धी काम गर्ने उनको उद्देश्य थियो। त्यो गर्दा त्यहाँ भएका वैज्ञानिक अनुसन्धानसहित सबै डेटाबेसमा उनले पहुँच पाउने ठानेका थिए। अमेरिकी अधिकारीहरूका अनुसार जीले चीनको एमएमएसका एक वरिष्ठ अधिकारीबाट आदेशहरू पाएका थिए। शू यान्जुन नामक ती गुप्तचर अधिकारीलाई मुद्दा चलाउन अमेरिका सुपर्दगी गरिएको थियो। उनी त्यसरी मुद्दा चलाउनकानिम्ति सुपुर्दगी गरिएका पहिलो चिनियाँ गुप्तचर अधिकारी हुन्।

    अमेरिकी उड्डयन र एरोस्पेस कम्पनीहरूबाट व्यापारिक गोप्यता चोर्ने षड्यन्त्र गरेको अभियोगमा उनलाई गत वर्ष शूलाई २० वर्ष जेल सजाय सुनाइएको थियो। केही साताअघि जेनरल इलेक्ट्रिक कम्पनीमा कार्यरत एक कर्मचारी जङ शिआओचिङलाई आफ्नो कम्पनीको गोप्य सूचना चीन सरकारलाई उपलब्ध गराएको अभियोगमा दुई वर्ष जेल सजाय सुनाइएको थियो। गत वर्ष जुलाई महिनामा एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीनलाई पश्चिमा देशका कम्पनीहरूबाट बौद्धिक सम्पत्ति ूलुट्नू खोजेको आरोप लगाएका थिए।

    रेका अनुसार चीनले त्यसो गरेर आफ्नो औद्योगिक विकासलाई तीव्र गति दिन र अन्ततः महत्त्वपूर्ण उद्योगहरूमा आफ्नो प्रभुत्व कायम गर्न खोजेको थियो। चीनलाई बदनाम गर्न र ‘शीतयुद्धको मानसिकता’ का कारण रेले त्यसो भनेको आरोप चीनले लगाएको थियो। बीबीसी

  • सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

    सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको
    हो । कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदल ७ सदस्यीय बनेको छ।

    कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य छन्। यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहने गरी कार्यदल बनाइएको हो। साथै यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेय सदस्यसचिव छन्। कार्यदलले नेपालमा भइरहने सवारी दुर्घटना र त्यसको न्यूनीकरणको उपायबारे समेत अध्ययन गर्नेछ ।

  • गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाई, आजै फैसला आउन सक्ने सम्भावना

    गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाई, आजै फैसला आउन सक्ने सम्भावना

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । सुनुवाई बुधबारबाट सुरु भएको हो । सर्वोच्चको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहस उठेको छ ।

    दुवैतर्फका वकिलहरूका बहस सकिएपछि मुद्दामा सर्वोच्चले फैसला गर्छ । फैसला आजै आउने सम्भावना छ । लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो। तर पुस ६ मा बसेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो।

    लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ। विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ।

  • गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा यसकारण धेरै छ गैरआवासीय नेपालीको चासो

    गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा यसकारण धेरै छ गैरआवासीय नेपालीको चासो

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी छ । जुन शुक्रबार समेत चल्ने छ । सुनुवाइमा गैरआवासीय नेपालीहरुको पनि चासो जोडिएको छ । अमेरिकी ग्रिनकार्ड त्यागेका लामिछानेले नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको भन्दै मुद्दा परेको हो । मुद्दामा संवैधानिक इजलासमा बुधबार अन्तिम सुनुवाइ सुरु भएको थियो, जसमा शुक्रबार फैसला आउने सम्भावना छ ।

    गैरआवासीय नेपाली संघका अनुसार यो मुद्दामा हुने फैसलाले गैरआवासीय नेपाली प्रभावित हुन्छन् । एनआरएनएले स्थापनाकालदेखि नै नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएको छ । अमेरिका, अष्ट्रेलिया र युरोपका देशहरुको नागरिकता (ग्रिन कार्ड) लिएको धेरैजसो सँग नेपाली नागरिकता पनि साथमै राखेको पाइन्छ ।

    नागरिकता ऐन २०६३ अनुसार आफुखुशी अर्को मुलुकको नागरिकता लिनासाथ नेपालको नागरिकता स्वतः खारेज हुनेछ । तर अर्को मुलुकको नागरिकता लिएको जानकारी न सरकारले खोजेको छ, न उनीहरुले नै दिएका छन् । बरु नेपाली नागरिकतालाई प्रयोग गरेर घर, जग्गालगायतका सम्पत्ति जोड्ने गरेका छन् ।

    रवि स्वयंले पनि २०७० सालमा अमेरिकी नागरिकता पाएका थिए, तर नेपाली नागरिकता पनि साथमै राखे । अमेरिकी पासपोर्टमा नेपाल आएका उनले पुरानो नेपाली नागरिकता प्रयोग गरेर १३ जेठ २०७२ मा नेपाली पासपोर्ट बनाए । प्रश्न उठेपछि ४ जेठ २०७५ मा बल्ल उनले अमेरिकी नागरिकता र पासपोर्ट त्याग गर्न काठमाडौंस्थित अमेरिकी दूताबासमा निवेदन दिएका थिए ।

    त्यसपछि पनि उनले नेपाली नागरिकता पुनःप्राप्तिका लागि औपचारिक प्रक्रिया सुरु गरेनन् । बरु पुरानै नागरिकताअनुसार आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरे, ४ मंसिरको निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
    यही कारण उनको रास्वपा सभापति र सांसद पद खारेज हुनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो ।

  • कस्तो रहनेछ शुक्रबारको मौसम ?

    कस्तो रहनेछ शुक्रबारको मौसम ?

    काठमाडौं । नेपालमा शुक्रबार बिहान तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा आंशिक बदली भएको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको नेपालमा प्रभाव रहेको छ।

    आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछभने राति प्रदेश १ मा मात्रै बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली हुने छ भने रातिदेखि आइतबारसम्म कर्णाली? सुदूरपश्चिम गण्डकी प्रदेशमा बदली हुनेछ ।

  • नेपाली क्रिकेटरलाई पहिलो  आइसीसी अवार्ड, आसिफले जिते ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’

    नेपाली क्रिकेटरलाई पहिलो आइसीसी अवार्ड, आसिफले जिते ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) जित्न सफल भएका छन् । यो कुनै पनि नेपालीले जितेको आइसीसी स्तरको पहिलो अवार्ड हो । नेपाली क्रिकेट खेलाडी आसिफलाई यस अवार्ड प्रदान गरिएको आईसीसीले जनाएको छ ।

    आईसीसीका अनुसार गतवर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० सिरिजमा आयरल्यान्डविरुद्ध आसिफले देखाएको खेल भावनाको कदर गदैै उनलाई अवार्ड प्रदान गरिएको हो । आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा लड्न पुगेपछि रन आउट गरेनन् । आसिफको उक्त निर्णयलाई त्यतिवेलै सन्सारभरका क्रिकेट प्रेमीले प्रशंसा गरेका थिए । सोही आधारमा उहाँले ‘आईसीसीस्पिरिट अफ क्रिकेट अवार्ड’ दिइएको हो ।

  • आफैलाई आगो लगाएका आचार्यले उठाएका विषय छानविन गर्न समिति गठन

    आफैलाई आगो लगाएका आचार्यले उठाएका विषय छानविन गर्न समिति गठन

    काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

    समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहेका छन् । समितिलाई आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस बारेमा सरकारले गर्नुपर्ने कामबारे सुझाव दिने कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    मंगलवार बानेश्वरमा आफैँलाई आगो लगाएका आचार्यको उपचारको क्रममा हिजो बिहान ज्यान गएको थियो । आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्को हिजोको बैठकले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । आचार्यले उठाएका विषयको सम्बोधन हुनुपर्ने र आचार्यले न्याय पाउनु पर्ने भन्दै प्रदर्शन भएको छ ।

  • होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने

    होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने

    काठमाडौं । होटल, रेष्टुरेन्ट, मोटेल, जंगल सफारीसहितका कम्पनीहरुले ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त पैसा लिन नपाउने फैसला सर्वोच्च अदालतबाट भएको छ । बुधबारको संवैधानिक इजलासले यसरी सेवा शुल्क लिएर उठाउन पाउने गरी बनेका कानुन र नियमावलीका व्यवस्था खारेज गरिदिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले माघ ११ गतेदेखि नै लागू हुने गरी सो व्यवस्था खारेज गरिदिएको छ।

    यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो। त्यसरी आएको रुपैयाँ मजदुर र उनीहरूका संगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो। अहिलेसम्म यसरी शुल्क लिनका लागि नियम कानुनले समेत उनीहरूलाई छुट दिएको थियो। श्रम ऐन २०७४ को दफा ८७ को ३ र श्रम नियमावलीको दफा ८२ ले अतिरिक्त सेवा शुल्क उठाउने छुट दिएको थियो। त्यसरी लिएको सेवा शुल्क श्रमिकलाई बाँड्नुपर्ने व्यवस्था थियो।

    उक्त कानुनी व्यवस्था संविधानको धारा ४४ र ११५ मा रहेका प्रावधान, उपभोक्ता संरक्षणका लागि निर्माण गरिएका कानुन, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार गरिएका मान्यता र जारी गरिएका मार्गदर्शनलगायत कुनै दृष्टिले हेर्दा पनि उचित र न्यायोचित नभएको फैसलामा उल्लेख छ।

    ‘संविधान प्रतिकूलका कानुन मान्य हुँदैनन्, त्यसैले विवादित कानुनलाई अमान्य र बदर घोषित गर्नुपर्ने अवस्था आयो,’ फैसलामा भनिएको छ, ‘विधायिकाद्वारा निर्मित ऐनले प्रष्ट किटानी रूपमा शुल्कको निश्चित दर तोकी असुल गर्ने गरी अख्तियारी दिएकोमा बाहेक रोजगारदाताले सामूहिक सम्झौताको आधारमा शुल्क असुल गर्न नपाउने भएकाले त्यसरी सामूहिक सम्झौताबमोजिम शुल्क लिने कार्य नगर्नूर नगराउनू र त्यस्ता कार्य रोक्नू।’

  • कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा

    कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा

    काठमाडौं । गृह मन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच बिहीबार छलफल भएको छ । उनीहरुबीच कार्यकारी पदमा पुगेपछि पहिलो पटक छलफल भएको हो । बालेनले गृहमन्त्री रवि लामिछानेसँग भेट गरी सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

    बिहीबार दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन् । मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाएको बताइएाको छ ।

    उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका छन् । छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका छन् ।

  • शेयर बजार स्थीर, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर बजार स्थीर, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ०.८३ अंकले घटेर २१८३.२७ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५४ कम्पनीको २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँ बराबरको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । बुधवार३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको घटेको छ ।

    स्थीर बजारमा आज चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र बलेफी हाइडोपावर र आदर्श लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    सूर्यज्योती लाइफ इन्स्योरेन्स शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । आज कारोबारको आधारमा सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनीको भएको छ ।

    यसको आज ९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ । रिडी पावरको ८ करोड ६१ लाख र ग्रीन लाइफको ८ करोड ३६ लाखको कारोबार भएको छ ।

  • महानगरले हटायो अनधिकृत राखिएका ९ हजार वटा होर्डिङ बोर्ड

    महानगरले हटायो अनधिकृत राखिएका ९ हजार वटा होर्डिङ बोर्ड

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म अनधिकृत रुपमा राखिएका ९ हजार अनधिकृत होर्डिङ र परिचय पाटी (साइनबोर्ड) हटाएको छ । पटक पटक ‘अल्टिमेटम’ दिँदा समेत व्यवसायीले नटेरेपछि मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको हो । शहरको सौन्दर्य बढाउन भन्दै होर्डिङ्ग बोर्डसँगै साइन बोर्ड हटाउने अभियान थालेको थियो ।

    गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

    सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।

    महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो । भने, १५ बर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो । १५ बर्गफुटदेखि ३० बर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ ।

    गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।

  • जनकपुर हुँदै अयोध्या लगिने देव शिलाको रुद्राभिशेकसहित बिदाइ

    जनकपुर हुँदै अयोध्या लगिने देव शिलाको रुद्राभिशेकसहित बिदाइ

    काठमाडौं । शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको शिला रुद्राभिशेकसहित अयोध्याका लागि बिदाइ गरिएको छ।

    कालीगण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो। श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको हो ।

    देव शिला भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर पुजिनेछ । शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन्।

    नगर प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुर मन्दिरका पिठाधीस रामतपश्वेर दासलाई सो शिला हस्तान्तरण गरेपछि बाजागाजा र र्यालीसहित बेनी बजार परिक्रमा गराई जनकपुरतर्फ पठाइएको हो।

    रामको मूर्ति बन्ने शिलाको दर्शन गर्न सयौँ भक्तजन, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायतको भीड लागेको थियो। गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गङ्गा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतिकस्वरुप तीन वटा शालिग्राम हस्तान्तरण गरेका थिए।

    नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि आज श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको नगर प्रमुख केसीले जानकारी दिए।

  • सुनको मूल्यले राख्यो ऐतिहासिक ‘रेकर्ड’

    सुनको मूल्यले राख्यो ऐतिहासिक ‘रेकर्ड’

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान (रेकर्ड) कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सात सय रूपैयाँले उकालो लागेर एक लाख ६ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ ।

    बुधबार छापावल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

    त्यस्तै बुधबार स्थिर चाँदीको मूल्य बिहीबार तोलामा १५ रूपैयाँ बढेर एक लाख ३८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भएको थियो ।

  • पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण सिङ्गापुरमा गरिने

    पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण सिङ्गापुरमा गरिने

    काठमाडौं । १ माघमा पोखरामा भएको जहाज दुर्घटना जाँच आयोगले आफ्नो कामलाई तिब्रता दिएको छ । सोही क्रममा आयोगले यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षण गर्न सिङ्गापुर पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज दुुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरोमा लैजाने निर्णय भएको जानकारी दिए ।

    दुर्घटनाका कारण खोज्न यो उपकरण महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका जाँचबुझ समितिको तीन सदस्यीय टोली शुक्रबार सिङ्गापुर जाँदै छ । परीक्षणका क्रममा फेला परेका तथ्यमा थप अध्ययन तथा विश्लेषण गरेर टोली एक हप्तामा नेपाल फर्किनेछ ।

    जाँचलाई थप प्रभावकारी बनाउन फ्रान्सबाट एटीआर विमान निर्माता कम्पनी र क्यानडाबाट विमानको इन्जिन निर्माता कम्पनीको टोलीसमेत सिङ्गापुर आउने भएको छ । ब्ल्याक बस्कको परीक्षण गर्ने संसारभरका प्रयोगशालामध्ये सिङ्गापुर सरकारले स्थापना गरेको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरो विशेष सुविधासम्पन्न प्रयोगशाला मानिन्छ ।

    ब्ल्याक बस्कको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमअनुसार परीक्षण हुनेछ । हवाई दुर्घटना जाँच तथा हवाई क्षमता अभिवृद्वि सम्बन्धमा नेपालको सिङ्गापुर, बेलायत र फ्रान्ससँग सम्झौता रहेकाले परीक्षण निःशुल्क हुनेछ । १ माघमा भएको दुर्घटनामा ७२ जना परेका थिए । जसमध्ये २ जना अझै वेपत्ता छन् ।

  • श्रीपञ्चमी र सरस्वती पूजा आज

    श्रीपञ्चमी र सरस्वती पूजा आज

    काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी धुमधामसहित मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्ने प्रचलन छ ।

    सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

    उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ । आज बिहान १० बजेर ४७ मिनेटमा नासल चोकमा वसन्त श्रवण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ ।

  • ७४ औं गणतन्त्र दिवस मनाउँदै भारत

    ७४ औं गणतन्त्र दिवस मनाउँदै भारत

    काठमाडौं । भारत आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री र राष्ट्रपति सवार हुने विशेष परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस वर्ष दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

    सन् १९५० मा आजकै दिन भारत गणतन्त्रात्मक देश घोषणा भएको थियो । बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ ।

    भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो । त्यहाँ सन् १९५० को जनवरी २६ मा संविधान लागू गरिएको थियो । संविधान लागू भएपछि भारतलाई गणतन्त्रात्मक देश घोषणा गरिएको थियो । संविधान लागू भएको दिनको सम्झनामा हरेक वर्षको जनवरी २६ तारिखमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । पहिलो गणतन्त्र परेड सन् १९५५ मा राजपथमा आयोजना गरिएको थियो । यो कार्यक्रममा पाकिस्तानका गभर्नर जनरल मलिक गुलाम मुहम्मद मुख्य अतिथि थिए ।

  • फेसबुकले ट्रम्पमाथि लगाएको प्रतिवन्ध फुकुवा

    फेसबुकले ट्रम्पमाथि लगाएको प्रतिवन्ध फुकुवा

    काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्ट्राग्राममा लागेको प्रतिवन्ध फुकुवा हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमँध्यमहरुका अनुसार करिब २ वर्षको प्रतिबन्धपछि मेटाले आगामी साता ट्रम्पका फेसबुक र इन्ट्राग्राम फिर्ता दिने बताएको छ । सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल दंगापछि मेटाले ट्रम्पका खातामा प्रतिवन्ध लगाएको थियो।

    दुई वर्षको निलम्बन समाप्त गर्दै फेसबुकले ट्रम्पमाथिको प्रतिबन्ध खारेज गर्ने लागेको छ ।मेटाका अनुसार ट्रम्पले थप उल्लङ्घन सामग्री पोस्ट गरेमा सामग्री हटाइने र उल्लङ्घनको गम्भीरतामा निर्भर गर्दै ट्रम्पको एकाउन्टमा एक महिनादेखि र दुई वर्षको सम्मको प्रतिबन्ध लगाइने छ । तत्कालिन निलम्बन असाधारण परिस्थितिमा लिइएको असाधारण निर्णय भएको मेटाको भनाई छ ।

    ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न व्यक्तिहरूको प्रशंसा गरेकोमा जनवरी ७ मा मेटाले ट्रम्पको फेसबुक एकाउन्ट खारेज गरेको थियो। फेसबुक संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल साइट मात्र होइन, ट्रम्पको अभियानको लागि कोष संकलनमा राजस्वको एक महत्वपूर्ण स्रोत थियो, जसले २०१६ र २०२० मा कम्पनीको विज्ञापनहरूमा लाखौं डलर खर्च गरेका थिए।

  • तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर फरक पार्न व्यवसायीको माग

    तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर फरक पार्न व्यवसायीको माग

    काठमाडौं । नेपाल उद्योग परिसंघले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा दुई तहको फरक गर्न माग गरेको छ । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बुधबार परिसंघमा आयोजित अन्तरक्रियामा परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दरमा कम्तिमा एक तहको फरक हुने सरकारको नीतिलाई दुई तह वा कम्तिमा १० प्रतिशतको अन्तर हुने गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताए ।

    आत्मनिर्भर भइसकेका तथा आत्मनिर्भर उन्मुख वस्तुको आयात निरूत्साहित गरिनुपर्ने उनको भनाइ छ । उनले ग्रीन च्यानलबाट पैठारी हुने वस्तुहरूको संख्या बढाउँदै लैजान पनि आग्रह गरे । राजस्व सचिव डा। रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितीमा आयोजित अन्तरक्रियामा परिसंघ राजश्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे ।

    सन्दर्भ पुस्तिकाका कारण अधिक बिजकीकरण र न्युन बिजकीकरणलाई प्रोत्साहित गरिरहेको उनको भनाई छ । बिल बिजक मूल्यलाई मान्यता दिने तर सन्दर्भ पुस्तिकाको मूल्यलाई आधार मान्ने अभ्यासले ‘मिसम्याच’ भइरहेको उनले बताए । वस्तुको मूल्य र आयातकर्ताको विवरण नखुलेको सामान निर्वाध आयात भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै भन्सारमा कडाई गर्न समेत आग्रह गरे ।

    परिसंघले स्वदेशी उत्पादनको प्रबर्द्धन गर्न सरकारी निकायहरुमा नेपाली उत्पादन प्रयोग गराउन पनि आग्रह गरेको छ । चोरी पैठारी नियन्त्रण गर्न, सार्वजनिक विदाको दिन अन्य दिन जस्तै नियमित पूर्ण रुपमा काम गराउन, भन्सार जाँच पास पछि पनि मालवाहक गाडी पुनः चेकजाँच गर्ने परिपाटी कम गर्न पनि परिसंघले आग्रह गरेको छ ।

    राजश्व सचिव डा. रामप्रसाद घिमिरेले कारोबारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जानै पर्ने बताए । औद्योगीकरणको प्रबर्द्धन गर्न उत्पादन बढाउनुको विकल्प नभएको उनको भनाई छ । त्यसका लागि सरकारले सहजीकरण गर्ने उनको भनाइ थियो । सचिव घिमिरेले चोरी पैठारी नियन्त्रण गर्न प्रभावकारी रुपमा काम गर्ने बताए । यसमा निजी क्षेत्रको पनि सहयोग चाहिने उनले बताए । ग्रीन च्यानलबाट पैठारी हुने वस्तुहरुको संख्या बढाउने परिसंघको सुझावमा आवश्यक कदम लिने बताए ।

  • मौसममा पश्चिमी वायुको प्रभाव आज पनि

    मौसममा पश्चिमी वायुको प्रभाव आज पनि

    काठमाडौं । बिहीबार पनि केही भेगमा मौसम अदल बदली हुने भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने भएको छ ।

    आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

  • आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयको गृह मन्त्रालयले छानविन गर्ने

    आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयको गृह मन्त्रालयले छानविन गर्ने

    काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषय निकै गम्भीर रहेको भन्दै छानबिन गर्ने निर्णय गरेको हो । बैठकले छानबिनको जिम्मा गृह मन्त्रालयलाई दिएको छ । जतिसक्यो चाँडो प्रतिवेदन तयार पारेर बुझाउनेगरी गृह मन्त्रालयलाई छानबिनको जिम्मेवारी तोकिएको हो ।

    मंगलबार इलामका ३७ वर्षिय आचार्यले नयाँ बानेश्वरको संसद् भवन बाहिर आफैँलाई आगो लगाएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर अस्पतालमा ज्यान गएको छ । आफूले उद्यम गर्ने सिलसिलामा बैंक, वित्तीय संस्था, विभिन्न सुपर मार्केट, व्यापारिक घराना, सरकारी कार्यालय लगायतबाट ठगिएको उनले फेसबुकमा लेखेका छन् ।

  • चोर समाते १० हजार पुरस्कार पाइने

    चोर समाते १० हजार पुरस्कार पाइने

    प्यूठान । प्यूठानमा चोर समाते १० हजार पुरस्कार पाइने भएको छ । गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको हो । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । गाउँमा कुनै शंकास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरुलाई खबर गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले घुमन्ते व्यापारीलाई अर्को सूचना नआएसम्मका लागि गाउँ प्रवेशमा रोक पनि लगाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले निकालेको सूचनामा भनिएको छ, ‘यस गाउँपालिका क्षेत्रमा आउने घुमन्ते व्यापारीहरुलाई गौमुखी गाउँपालिकाको अर्को सूचना प्रकाशन नहुञ्जेलम्मका लागि गाउँपालिकाको सीमा भित्र प्रवेश गर्न निषेध गरिएको व्यहोरा जानकारी गराइन्छ ।’ पछिल्लो दुई हप्तालाई हेर्ने हो भने प्यूठानमा चोरीका शृङ्खाबद्ध घटना भएका छन् । नगद र गरगहनासहित लाखौंको लुटपाट भएको छ । व्यक्तिका घरदेखि पसल, वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयसम्म गरी दर्जनौं ठाउँमा चोरी भएको छ ।

  • विद्युत महसुल नतिरेपछि धुर्मुस-सुन्तली फाउण्डेसनको कार्यालयको लाइन काटिँदै

    विद्युत महसुल नतिरेपछि धुर्मुस-सुन्तली फाउण्डेसनको कार्यालयको लाइन काटिँदै

    काठमाडौं । विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने निर्णय गरेको छ । चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको छ ।

    पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुली गर्न अनुरोध गरिएको छ । फाउन्डेसनले ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल तिर्न बाँकी छ । पत्रमा ६ महिनादेखि फाउन्डेसन सम्पर्कविहीन भएको उल्लेख छ । ७ महिनाअघि फाउन्डेसनले एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको थियो । तर, फाउन्डेसनले बक्यौता नतिरेपछि ६ महिनाअघि रंगशालाको लाइन काटिएको थियो ।

  • क्रसर उद्योग सर्तसहित खुल्ने

    क्रसर उद्योग सर्तसहित खुल्ने

    काठमाडौं । सरकारले क्रसर उद्योग सर्तसहित खुलाएको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ ।

    विना अनुमतिपत्र चलिरहेको सबै क्रसर उद्योग बन्द रहने उनले उल्लेख गरेका छन् । आयोजना विशेषका लागि खुलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु पनि अब बन्द हुनेछन् । क्रसर उद्योग बन्द भएपछि आयोजनाहरुमा काम प्रभावित भएको थियो । निर्माण व्यवसायीले काम छाडेपछि सरकारमाथि क्रसर खोल्न दबाब परेको थियो । यसअघि पनि सरकारले झ्याप्पै क्रसर बन्द गर्ने र अपरादर्शी रुपमा खोल्ने गर्दै आएको थियो ।

  • रवि लामिछानेविरूद्धको मुद्दा हेर्दाहेर्दैमा,शुक्रबार बहस सकिने

    रवि लामिछानेविरूद्धको मुद्दा हेर्दाहेर्दैमा,शुक्रबार बहस सकिने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि शुरु भएको मुद्दाकोमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको हो।

    शुक्रबार बहस सकिने छ । बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गरे ।

    खाजापछि सरकार र रवि लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका थिए ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६१ कम्पनीको ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको ९५ लाख ३२ हजार ८६७ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । मंगलवार ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ ।

    बढ्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन लाईफ हाइडोपावर र आदर्श लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    सानिमा जीआइसी इन्स्योरेन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    आरबीबी म्युचुअल फण्ड १ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    आज कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।

    यसको आज १० करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ । हिमाल दोलखाको ९ करोड २१ लाख र ग्रीन लाइफको ८ करोड ३६ लाखको कारोबार भएको छ ।

  • गृहमन्त्रीले दिए आत्मदाह गर्ने आचार्यका परिवारलाई भेटेर सान्त्वना

    गृहमन्त्रीले दिए आत्मदाह गर्ने आचार्यका परिवारलाई भेटेर सान्त्वना

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सान्त्वना दिएका छन् ।

    अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा बुधवार बिहान निधन भएको थियो ।

  • बक्सिङमा सुष्माले जितिन् ऐतिहासिक रजत पदक

    बक्सिङमा सुष्माले जितिन् ऐतिहासिक रजत पदक

    काठमाडौं । बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् ।

    थाइल्यान्डको बैङ्ककमा महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् ।

    एसियालीस्तरको कुनै पनि उमेर समूहमा नेपाली खेलाडीले रजत पदक जितेको पनि यो पहिलो पटक हो । यसअघि, एसियन गेम्समा नेपाली खेलाडीले कास्यपदक जितेका थिए ।

    त्यस्तै यसअघि सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई पराजित गर्दै फाइनल पुगेकी थिइन् । प्रतियोगितामा नेपालबाट तीन महिला र समान तीन पुरुष खेलाडीको सहभागिता रहेको छ ।