Category: फिचर

  • गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

    गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

    काठमाडौँ, २८ असार । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकन गरेका छन् । मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव त्यहाँ पुगेका थिए ।


    भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताए । सुकुमबासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उनले सरकारले सुकुमबासीको दीगो समाधान गर्ने गरी काम गरिरहेको बताए ।

    उनले सुकुमबासीका नाममा कसैलाई पनि राजनीतिक नगर्न आग्रह गरे । उनीहरुले सुकुम्बासीहरूसँग छलफल समेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे अवगत गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमबासीलाई खरिबोटस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।

  • नेपालगन्जको खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

    नेपालगन्जको खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

    राँझा (बाँके), २८ असारः खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर विककाअनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका–३ स्थित आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो ।

    अब हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा कुनै अवरोध आए पनि अब आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक प्रयोग गरी नेपालगञ्ज–गुलरिया सहज रूपमा आवतजावत गर्न सकिने भएको छ ।

    प्रदेश सरकारको रु।छ करोड १० लाख ९० हजार २८६ को लागतमा पुल निर्माण सम्पन्न भएपछि खजुरा बजार क्षेत्रको मुख्य सडकको वैकल्पिक मार्गका यो सडक निर्माण भएको हो । खजुरा गाउँपालिकाका आठवटै वडाका गाउँहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, प्रत्येक टोलमा कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने तथा ढल र नालाको निर्माण तथा स्तरोन्नति गरी उचित पानी निकासको व्यवस्था गर्दै ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्यसहित गाउँपालिकाले काम गरिरहेको छ ।

  • भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

    भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

    काराकस, २७ असार (रासस–एएफपी) । भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ । गत जुन –२४ मा आएको भूकम्पकाकारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६ हजार ७४० जना घाइते भएको र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत जनाउनु भएको छ । उहाँका अनुसार थप हजारौँ मानिसहरु बेपत्ता भएकाले खोजि तथा उद्धार कार्य जारी रहेको छ ।

    यद्यपि उद्धार टोलीहरूले अव जिवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन् भने परिवारका सदस्यहरूले उनीहरूलाई सम्मान जनक सस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरुलाइ भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन् । पछिल्लो समयमा भेनेजुएलाले भूकम्पिय जोखिमको सामना गरिरहेको छ जहाँ लामो समय देखि चलिरहेकोे आर्थिक संकटले राज्य सेवाहरूलाई गम्भीर रूपमा बिगारेको जनाइएको छ ।

    यसैबीच संयुक्त राष्ट्र सङ्घले भेनेजुयलामा भूकम्प राहत कार्यका लागि लगभग ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ । भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले विदेशमा राखिएको फ्रिज गरिएका सम्पत्ति फिर्ता गर्न आह्वान गर्नु भएको छ ।

  • न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

    न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

    अकल्यान्ड, २८ असार (रासस–एएफपी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले रक्षा र सुरक्षासहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले शनिबार ‘रणनीतिक साझेदारी’ घोषणा गरेका छन् ।

    न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्युजिल्यान्डको आदिवासी माओरी परम्पराअनुसार स्वागत गर्दै सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरे । गत अप्रिलमा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि दुई देशबीचको सम्बन्ध विस्तारको प्रयास भइरहेका बेला लक्सनले उक्त सम्झौतालाई आर्थिक लाभको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरे ।


    जुलाई ६ देखि जुलाई ११ सम्मको मोदीको भ्रमण इन्डोनेसिया र अस्ट्रेलियाको यात्रासहितको कार्यक्रमको अन्तिम चरण हो । प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिबारे चिन्ता बढिरहेका बेला मोदीको न्युजिल्यान्ड भ्रमण भएको हो । चालिस वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो न्युजिल्यान्ड भ्रमण हो । यसले प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच भारतको कूटनीतिक सक्रियतालाई पनि सङ्केत गरेको छ ।

    अकल्यान्डस्थित गभर्नमेन्ट हाउसमा मोदीको स्वागत गर्दै प्रधानमन्त्री लक्सनले भारत–न्युजिल्यान्ड साझेदारीले सम्बन्धलाई नयाँ दिशा र व्यापकता प्रदान गर्ने बताए । मोदीले दुई देशबीचको सम्बन्धलाई ‘थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने महत्वपूर्ण कोशेढुङ्गा’ को सङ्ज्ञा दिए । उनले भने, “लोकतान्त्रिक मूल्यप्रतिको हाम्रो साझा प्रतिबद्धताले हामीलाई स्वाभाविक साझेदार बनाएको छ ।”

    दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा रक्षा सहकार्य, नौसेना अभ्यास, व्यापार, कूटनीति, संस्कृति, खेलकुद र विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गरिएको छ । दुवै नेताले “स्वतन्त्र, खुला, शान्तिपूर्ण र समृद्ध इन्डो–प्यासिफिक क्षेत्र” निर्माणमा साझा चासो रहेको बताएका छन् ।

    व्यापार सम्झौतामाथि बहस

    मोदीको भ्रमणका क्रममा अकल्यान्डस्थित स्पार्क एरेनामा भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । न्युजिल्यान्डमा बसोबास गर्ने करिब तीन लाख भारतीय समुदायमध्ये हजारौँ सहभागी हुने अपेक्षा गरिएको छ । यसअघि अस्ट्रेलियाको मेलबर्नमा भएको कार्यक्रममा करिब ३० हजार भारतीय समुदायका मानिस सहभागी भएका थिए ।

    नोभेम्बरमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री लक्सनले भारतसँगको स्वतन्त्र व्यापार सम्झौताबाट रोजगारी र आर्थिक लाभ हुने बताउँदै आउनुभएको छ । तर, उक्त सम्झौताका केही प्रावधान, विशेषगरी भारतीय विद्यार्थी र कामदारका लागि आप्रवासन तथा भिसा सहज बनाउने विषयमा न्युजिल्यान्डभित्र आलोचना भइरहेको छ ।

    लक्सन नेतृत्वको गठबन्धनमा रहेको ‘न्युजिल्यान्ड फस्र्ट’ पार्टीका केही सांसदले सम्झौताका प्रावधानप्रति असन्तुष्टि जनाएका छन् । सरकारीमन्त्री शेन जोन्सले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै सम्झौताबारे आफ्नो आपत्ति जनाएका थिए । उनको भनाइलाई लिएर भारतीय समुदायका केही नेताले जातीय विभेदपूर्ण टिप्पणी भएको आरोप लगाएका छन् ।

    यसैबीच, न्युजिल्यान्डका विवादास्पद धार्मिक नेता ब्रायन तामाकीले मोदीको भ्रमणको विरोध गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनको टिप्पणीलाई न्युजिल्यान्डका जातीय सम्बन्ध आयुक्तले कडा आलोचना गर्दै ‘अत्यन्त आपत्तिजनक’ भनेका छन् ।

    प्रधानमन्त्री लक्सनले भने मोदीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा प्रस्तुत गरेका छन् । “यो भ्रमण न्युजिल्यान्ड र भारतबीचको सफल साझेदारीको उत्सव हो, जसले दुवै देशका नागरिकका लागि समृद्धि र सुरक्षामा योगदान पु¥याउनेछ”, उनले भने ।

  • भियतनाममा डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

    भियतनाममा डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

    हनोई, २८ असार (रासस–सिन्ह्वा) । भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार दिउँसो पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम ‘भिएनएक्सप्रेस’ले जनाएको छ । डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए । दुर्घटनापछि २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको छ ।

    घटनापछि स्थानीय अधिकारी, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

  • पोल्याण्डले ‘युक्रेनी नरसंहार’ मा मारिएकाहरूको सम्मानमा स्मारक बनाउने

    पोल्याण्डले ‘युक्रेनी नरसंहार’ मा मारिएकाहरूको सम्मानमा स्मारक बनाउने

    वार्सा, २८ असार (रासस–एएफपी) । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा शाहदत भएका पोल्याण्डका नागरिकहरूको सम्झनामा नयाँ स्मारक निर्माण गर्ने घोषणा गरेको छ । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा ज्यान गुमाउने नागरिक लागि नयाँ स्मारक निर्माण गर्ने घोषणा पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले शनिबार गरेका हुन् ।


    “वार्सामा सम्झनाको पर्खाल खडा गरिनेछ, जसमा सधैं बलिरहने ज्वाला र फेला परेका तथा पहिचान गरिएका हरेक पीडितको नाम लेखिनेछ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । वार्सा र किएभ दोस्रो विश्वयुद्धका क्रममा दुवै पक्षका नागरिक हत्याकाण्डबारे दशकौँदेखि विवादमा छन्, जसले उनीहरूको सम्बन्धमा तगारो देखिँदै आएको छ ।

    पोल्यान्डले रुसको आक्रमणविरुद्ध लडिरहेको आफ्नो छिमेकी युक्रेनलाई समर्थन गरिरहेका समय यो विवादले अझ बढी महत्व पाएको छ । टस्कको यो घोषणा सन् १९४३ को ‘ब्लडी सन्डे’ को पूर्व सन्ध्यामा आएको हो, जतिबेला युक्रेनी इन्सर्जेन्ट आर्मी ९युपिए० र युक्रेनी राष्ट्रवादी सङ्गठन (ओयुएन)का इकाइहरूले युक्रेनको उत्तर–पश्चिम क्षेत्रको भोल्हिनियामा हजारौँ पोल्याण्डबासीलाई मारेका थिए।

    पोल्यान्डका अनुसार सन् १९४३ देखि १९४५ सम्म ७० हजार देखि एक लाख नागरिक मारिएका थिए भने प्रतिकारमा करिब १२ हजार युक्रेनीको पनि ज्यान गएको अनुमान गरिएको थियो । युपिए र ओयुएनलाई युक्रेनमा रेड आर्मी र सोभियत सङ्घविरुद्ध स्वतन्त्रताको लागि लडेका समूहको रूपमा हेरिन्छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे महिनामा युपिएको नाममा एउटा सैन्य इकाई नामकरण गर्ने घोषणा गरेपछि पोल्यान्डमा ठूलो आक्रोश उत्पन्न भएको थियो। प्रतिकारस्वरूप, पोल्यान्डका राष्ट्रपति कारोल नावरोकीले जेलेन्स्कीलाई देशको सर्वोच्च सम्मानको सूची ‘अर्डर अफ द ह्वाइट इगल’ बाट हटाउनुभएको थियो ।

    –घाउ निको पार्ने पहल–

    युरोपेली परिषद्का पूर्व अध्यक्ष तथा रुसविरुद्ध युक्रेनका दृढ समर्थक डोनाल्ड टस्कले भने, “स्मृति र सत्यले हामीलाई घृणा र तिरस्कारबिना राम्रो भविष्य निर्माण गर्न मद्दत गर्नुपर्छ।” “शान्ति र पारस्परिक सम्मानको युरोप, दोस्रो विश्वयुद्धपछि मिलाप गरेको युरोप, सत्य र कुराहरूलाई सही नामले बोलाउने माध्यमबाट सम्भव भएको हो”, टस्कले भने, “यो समुदायमा सामेल हुन चाहने जो कोहीले पनि यो सत्यको लागि तयार हुनुपर्छ।”

    उत्तर–पश्चिम युक्रेनको ओलिका शहरमा, पोल्यान्डका रक्षामन्त्री व्लाडिसलाभ कोसिनियाक–कामिस्जले युद्धमा मारिएका नागरिकहरूको सम्झनामा आयोजित समारोहलाई सम्बोधन गर्दै वार्सा र किएभले ‘अतीतको भूमिका स्वीकार गरेर राम्रो भविष्य निर्माण गर्न’ सँगै अगाडि बढ्नुपर्ने बताए । “मित्रता भनेको एकअर्कालाई सत्य बताउनु हो र यो कठिन यथार्थ हो,” उनले भने, “म पुराना घाउहरू खोल्न होइन, निको पार्न’ यहाँ आएको हुँ।”

    किएभसँगको मुख्य रेल लिङ्क रहेको पोल्यान्डको दक्षिण–पूर्वी सीमावर्ती शहर चेल्ममा पनि भोल्हिनियामा मारिएकाहरूका लागि प्रस्तावित सङ्ग्रहालयस्थलमा समारोहहरू आयोजना भएका छन् । शहरका मेयर याकोब बनान्स्जेकले भने, “यी सम्झनाहरू आजको युक्रेन वा यसका नागरिकहरूविरुद्ध लक्षित छैनन् र विभाजन वा शत्रुता फैलाउन होइनन्। यी त केवल ऐतिहासिक घटनाका पीडितहरूको सम्झनाको अभिव्यक्ति मात्र हुन् ।”

  • म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि सामान्य जनजीवन प्रभावित

    म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि सामान्य जनजीवन प्रभावित

    क्याउकटाव, म्यान्मा, २८ असार (रासस–एएफपी) । देशको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक बर्षापछि बाढी आएको बताउँदै म्यान्माका उद्धारकर्मीहरूले शनिबार नदी र होचा समथर भूभागमा पानीको सतह बढ्दै गएको चेतावनी दिएका छन् ।

    जातीय अल्पसंख्यक विद्रोही समूह अराकान आर्मीको मानवीय सेवाले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। “विशेष गरी वृद्ध, बिरामी, गर्भवती र निम्न क्षेत्रमा बस्नेहरूलाई सुरक्षित स्थानमा सार्नुपर्दा पानीको स्तर अझ बढे के हुन्छ भन्ने हाम्रो चिन्ता हो,” स्थानीय उद्धारकर्मी बो आउङ थे इनले क्याउकटाव नगरको शे ता ले गाउँबाट एएफपीलाई जानकारी दिए ।


    सन् २०२१ को सैन्य ‘कू’ पछि गृहयुद्धले ग्रस्त म्यान्माले यातायात तथा सञ्चारका धेरै समस्या सामना गरिरहेको छ र संयुक्त राष्ट्रसङ्घका अनुसार जनसङ्ख्याको एक तिहाइभन्दा बढी मानिसले खाद्यान्नको असुरक्षाको महशुस गरिरहेका छन्।

    “हाम्रो गाउँमा करिब २०० घर छन्, जसमध्ये एक वा दुईवटा मात्र डुबेका छैनन्। बाँकी सबै डुबेका छन्। सबै धानका खेतहरू पनि डुबेका छन्,” क्याउक क्यात गाउँका ४९ वर्षीय बासिन्दा मे थे इन याइनेले भने । “घरमा साना बच्चाहरू छन्। यदि राति पानी अझ बढेर आयो भने हामीसँग आश्रय लिने ठाउँ र भाग्ने कुनै बाटो नै हुँदैन भन्ने डर लागिरहेको छ,” २४ वर्षीया थुजार ब्थभले बताए ।

  • विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय :  यामाल

    विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

    लस एन्जलस, २८ असार (रासस–एएफपी) । स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र आफ्नो देशले विश्वकप जितेमा आफूले गोल गर्न नसकेको कुरालाई कसैले पनि मतलब नगर्ने स्पेनी सुपरस्टार लामिने यामालले बताएका छन् । बिहीबार बेल्जियमविरुद्ध २–१ को क्वार्टरफाइनल जितमा उनले गोल गर्न नसकेपछि सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा फुटबलमा सामूहिक प्रदर्शनबाट राम्रो नतिजा निकाल्ने प्रयास हुने बताउँदै व्यक्तिगत गोल सङ्ख्याको दौडमा लाग्नु सही नहुने बताए ।


    लियोनेल मेस्सी, किलियन एम्बाप्पे, एर्लिङ हालान्ड र ह्यारी केनजस्ता स्टारहरू गोल गर्न व्यस्त रहेको यो प्रतियोगितामा १८ वर्षीय यामालले अहिलेसम्म जम्मा एक गोल मात्र गरेका छन् । साउदी अरबविरुद्धको ४–० को सामान्य जितमा उनले विश्वकपका लागि पहिलो गोल गरेका थिए । “म गोल गर्न चाहन्छु तर मैदानमा जाँदा म यसैबारे सोच्दिनँ। म टिमलाई सहयोग गर्न सोच्छु,” यामालले भने । बार्सिलोनाका स्टारले लस एन्जलसमा फ्रान्ससँग सेमिफाइनल खेल्ने गरी भएको जितपछि भने, “महत्वपूर्ण कुरा जित हो । यदि हामी विश्वकप जित्यौं भने मैले गोल गरे वा नगरेको कसैलाई याद रहँदैन ।”

    उनले भने, “मलाई थाहा छ कि गोल नगरे पनि म टिमलाई योगदान दिन सक्छु। मेरो गतिविधिले धेरै प्रतिद्वन्द्वीलाई तान्छ, त्यसैले म आफ्नो देशको टोलीको लागि सबै योगदान गर्न तयार हुन्छु।” सन् १६ वर्षको उमेरमा नै यामाल स्पेनको ‘युरोपियन च्याम्पियनसिप’ जित्ने टिमका लागि उदियमान फुटबलस्टार बन्न सफल भएका थिए । उक्त जितमा उनले फ्रान्सविरुद्ध सेमिफाइनलमा गरेको शानदार गोल समग्र प्रतिस्पर्धाको जम्मा एक गोल मात्र थियो ।

    उनले भने, “धेरैले मलाई धेरै गोल गर्नुपर्छ भन्ने धारणा राख्छन्, तर युरोमा पनि मैले एक गोल गरेर टिमले जितेको थियो। यहाँ पनि मेरो एक गोल भइसकेको छ, त्यसैले म शान्त छु ।” स्पेनले यस विश्वकपमा धेरै गोल गर्ने समूह फ्रान्सलाई हराउन चाहन्छ भने यामालबाट थप गोलको आशा गरिएको छ। उनी सेमिफाइनल अघिल्लो दिन १९ वर्ष पुग्दैछन् । यामालले भने, “उनीहरूले लगातार तीन विश्वकप फाइनलमा पुग्नेछन् वा हामीले उनीहरूलाई तीन पटक हराउँनेछौँ भन्ने अहिले दुई सम्भावना रहेका छन् । हेर्न बाँकी छ।”

  • नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी व्यक्तिको मृत्यु

    नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी व्यक्तिको मृत्यु

    गुसाउ, नाइजेरिया, २८ असार (रासस–एएफपी) । नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको कारबाहीमा अपहरण तथा गाई चोरी गर्ने गिरोहका ३०० भन्दा बढी सदस्यहरू मारिएको अधिकारीले शनिबार बताएका छन् । सेनाले गुम्मी जिल्लामा दुई दिनसम्म चलेको कारबाहीमा ‘३०० भन्दा बढी आतङ्ककारीहरूको सफाया’ गरेको जाम्फारा राज्यका सूचना आयुक्त महमुद मुहम्मद दान्तावासाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जिहादी तथा ‘डाँका’ समूहका गिरोहहरूले उत्तर तथा मध्य नाइजेरियाका समुदायहरूलाई आतङ्कित बनाएका छन्। उनीहरूले घातक हमला गर्ने, अपहरण गरी फिरौती असुल्ने र किसानहरूलाई आफ्नै खेतमा जानका लागि कर लगाउने गर्छन्। सुरक्षा विश्लेषकहरूका अनुसार मुख्य रूपमा आर्थिक लाभका लागि सक्रिय अपराधी गिरोह र जिहादीहरूबीच बढ्दो सहकार्य भइरहेको छ । जिहादीहरूले पूर्वोत्तरमा १७ वर्षदेखि विद्रोह गरिरहेका छन् ।

    गुम्मीका बासिन्दा अबुबकर मुहम्मदले बताउनुभयो, “सेना र स्थानीयहरूले सयौँ चोरीका गाईहरू लिएर आफ्नो शिविरबाट अन्यत्र सरिरहेका करिब एक हजार डाँका समूहका सदस्यहरूसँग बुधबार रातिदेखि बिहीबारसम्म झडप भएको थियो । “सेना र गाउँलेहरूले रातभरि र भोलिपल्ट बिहानसम्म चलेको लडाइँमा लुटेरा समूहका ३०० भन्दा बढी सदस्यहरूलाई सफाया गरेको छन्,” मुहम्मदले एएफपीलाई बताए । अर्का बासिन्दा अबुबकर कुदी–कासाले भने, “बुधबार राति सवा नौ बजेतिर कारबाही सुरु भएको थियो र गोली तथा बिस्फोटको आवाजले सारा गाउँ रातभर जागा रहेको थियो।”

    “लुटेराहरू अझै सेना र गाउँलेहरूको घेराबन्दीमा छन्,” कुदी–कासाले अगाडि भने । दुई हप्ता अघि सेनाले लुटेराहरूको शिविरमा हमला गर्न खोजेको थियो तर “अत्यधिक सङ्ख्या र राम्रोसँग सुसज्जित सशस्त्र’ लुटेरासँग लड्ने बल नपुग्ने अनुमानपछि फिर्ता हुनुपरेको थियो।

    “सेनाले राम्रो तयारी गरेर फर्किएर उनीहरूमाथि कडा प्रहार ग¥यो,” उनले भने । अर्का बासिन्दा शेहु दान्दारेले पनि सेनाले ‘गिरोहहरूलाई बमबारी’ गरेर ३०० भन्दा बढी मारिएको बताए । गत वर्ष जुलाईमा नाइजेरियाली सेनाले केब्बी राज्यमा ३५० जति ल्ुटेराहरूको ठूलो समूहलाई घेराबन्दीमा पारी कम्तीमा १५० जनालाई मारिदिएको थियो।

    एक महिनापछि जाम्फाराको बुककुयुम क्षेत्रमा सेनाले ४०० भन्दा बढी गिरोह सदस्यहरू भएको जङ्गली शिविरमा हवाई हमला र स्थलगत कारबाही गरी १०० भन्दा बढीलाई मारिदिएको संयुक्त राष्ट्रसङ्घलाई बुझाउन तयार पारिएको सुरक्षा रिपोर्टमा उल्लेख छ । जाम्फारा सरकारले यो हप्ताको कारबाहीलाई हिंसात्मक अपराधविरुद्धको ‘महत्वपूर्ण सफलता’ भनेको छ ।

    अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरिया बहुविध सुरक्षा सङ्कटसँग जुधिरहेको छ। पूर्वोत्तर नाइजेरियामा सन् २००९ देखि सुरुमा बोको हराम, त्यसपछि यसको शाखा तथा प्रतिद्वन्द्वी इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स नामक इस्लामिक चरमपन्थी विद्रोह चलेको छ । हालैका महिनाहरूमा नाइजेरियाले जिहादीहरूलाई मार्न सफलता पाएको दाबी गरेको छ।

    यसअघि क्रिसमसको दिन अमेरिकी हवाई हमला र नाइजेरियाली सेनाको सहकार्यमा सोकोतो राज्यमा गरिएको कारबाहीमा लुटेरा समूहतर्फ ठूलो क्षति भएको थियो । अमेरिकाले नाइजेरियाली सेनालाई सहयोग र तालिम दिन सयौँ सैनिक खटाएको छ। अमेरिका–नाइजेरिया संयुक्त कारबाहीमा इस्लामिक स्टेट समूहको विश्व स्तरको दोस्रो कमान्डरसहित करिब २०० लडाकुहरू मारिएका थिए।

  • जारी विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

    जारी विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

    जोहानेसबर्ग, २८ असार (रासस–एएफपी) । अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका ‘मिडफिल्डर’ जेडेन एडम्सको शनिबार निधन भएको छ । खेलकुद मन्त्री गेटन म्याकेन्जीले उनको निधनको पुष्टि गरे । तर निधन हुनुको कारण भने बताएनन् । खेलकुद मन्त्री म्याकेन्जीले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, “जेडेन एडम्सको निधनको खबरले मलाई स्तब्ध बनाएको छ। दक्षिण अफ्रिकी फुटबलले आफ्नो सबैभन्दा उज्ज्वल युवा प्रतिभा गुमाएको छ।”

    प्रहरीले शनिबार बिहान केप टाउनको केन्द्रीय उपनगर स्कोट्सचेकलुफमा एउटा घरमा २५ वर्षीय उनको शव फेला परेपछि अनुसन्धान सुरु गरेको बताएको छ । “यो घटनाको बारेमा अनुसन्धान भइरहेको छ,” वेस्टर्न केप प्रहरी प्रवक्ता एफसी भ्यान विकले बताए । एडम्सले प्रतियोगितामा दक्षिण अफ्रिकाको समूह चरणका सबै तीन खेल खेलेका थिए । क्यानडासँगको नकआउट चरणमा उनी मैदानमा उत्रिएनन् । दक्षिण अफ्रिकाका नकआउट चरणबाट नै यो बर्षको विश्वकप खेलबाट बाहिरिएको थियो ।

    केप टाउनमा जन्मिएका उनले स्टेलनबोस एफसीबाट व्यावसायिक करियर सुरु गरेका थिए । सन् २०२५ को जनवरीमा काफ च्याम्पियन्स लिग विजेता ‘मामेलोडी सन्डाउनस् क्लब’ मा आवद्ध भएका थिए । उनको निधन दक्षिण अफ्रिकाको समूह ए को चेकियाविरुद्धको खेलको पूर्वसन्ध्यामा आफ्नी हजुरआमाको निधन भएको एक महिना पनि नबित्दै भएको हो। “जेडेनले चेक गणतन्त्रविरुद्धको खेलमा सुरुदेखि नै खेल्न सुरु गर्नुभएको थियो र हजुरआमाको निधनको पीडा बोकेर पनि आफ्नो सबै मेहनत दिएका दक्षिण अफ्रिकी फुटबल सङ्घले खेलपछि उनको खेलप्रतिको इमान्दारिता र त्यागको प्रशंसा गर्दै भनेको थियो।

  • बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी

    बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी

    तेहरान, २८ असार । रासस–एएफपी) । इरानका सर्वोच्च नेता मोक्तबा खामेनीले शनिबार आफ्ना बुबा तथा पूर्व सर्वोच्च नेता अलि खामेनीको अमेरिका–इजरायलद्वारा हत्या गरिएको घटनाको बदला लिने चेतावनी दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्या गर्ने कुनै पनि प्रयासविरुद्ध चेतावनी दिएका थिए ।


    यो हप्ता भएको हवाइ आक्रमणपछि दुवै पक्षको बयानबाजी बढेको छ, जसले युद्ध समाप्त गर्ने अन्तरिम सम्झौतालाई प्रभावित गरेको छ। यो युद्ध गत फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायलको ठूलो हमलाबाट सुरु भएको थियो। राष्ट्रपति ट्रम्पले दुवै पक्षबीचको युद्धविराम समाप्त भएको घोषणा गरेका छन् । मध्यस्थकर्ताहरू कूटनीति बचाउन प्रयासरत छन्। इरानी मिडियाका अनुसार कतारको एक प्रतिनिधिमण्डल शुक्रबार इरान पुगेको छ ।

    “बदला लिने कुरा हाम्रो राष्ट्रको इच्छा हो र यसलाई अपरिहार्य रूपमा कार्यान्वयन गर्नुपर्छ,” मोक्तबा खामेनीले लिखित सन्देशमा भनेका छन् ।
    बुबा अलि खामेनीको गत फेब्रुअरीमा अमेरिका–इजरायलको हमलामा हत्या भएपछि उनी इरानका सर्वोच्च नेता बनेका थिए । तर उनी युद्ध सुरु हुनुभन्दा पहिलेदेखि नै सार्वजनिक रूपमा देखिएका छैनन् ।


    “यो कुरा मेरो व्यक्तिगत अस्तित्व वा अन्य अधिकारीहरूको अस्तित्वमा निर्भर गर्दैन। हामी जिउँदो रहनेछौँ वा छैनौँ, यो घटना अवश्य हुनेछ,” यो हप्ता बुबाको अन्त्येष्टिपछि उनले पहिलो पटक सार्वजनिक सन्देशमा लेखेका छन् । उनले इरानले लक्षित व्यक्तिहरूको सूची तयार पारेको बताए ।

    –राष्ट्रपति ट्रम्पको चेतावनी–

    केही घण्टाअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म)मा पोस्ट गर्दै भनेका थिए, उनको हत्या गर्ने कुनै पनि प्रयास भएमा संयुक्त राज्य अमेरिकाले इरानलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारिदिनेछ। उनले लेखेका छन्, “यदि इरानी सरकारले विश्वका विभिन्न ठाउँमा दिएको धम्कीअनुसार संयुक्त राज्य अमेरिकाको राष्ट्रपति मलाई हत्या गर्ने वा हत्या गर्ने प्रयास गर्ने हो भने एक हजार मिसाइलहरू तयारी अवस्थामा छन् र इरानलाई लक्षित गरिएका छन् । थप हजारौँ मिसाइलहरू तुरुन्त पछ्याउन तयार छन्।”

    “आदेश पहिले नै दिइसकिएको छन् र अमेरिकी सेना एक वर्षसम्म र आवश्यक परे थप लम्ब्याएर इरानका सबै क्षेत्रहरूलाई पूर्ण रूपमा ध्वस्त पार्न र नष्ट गर्न तयार र सक्षम छ।”

    –कुटनीतिक प्रयास जारी–

    दुवै देशले धम्की बढाउँदै गएका बेला मध्यस्थकर्ताहरू कूटनीति फर्काउन प्रयत्न गरिरहेका छन्। इरानको तस्निम समाचार एजेन्सीले शुक्रबार रिपोर्ट गरेको छ कि कतारी प्रतिनिधिमण्डल ‘मध्यस्थकर्ताको रूपमा कतारको भूमिका मजबुत बनाउन’ इरान भ्रमणमा गएको छ। ट्रम्पले इरानसँगको वार्ता जारी रहने तर त्यसलाई ‘समयको दुरुपयोग’ भनेका छन् ।


    यसबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले गत महिना दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि तेहरानले आफ्नो तर्फको प्रतिबद्धता पूरा गरेको दाबी गरेका छन् । “तेहरानले अहिलेसम्म आफ्नो वाचा कायम राखेको छ,” उनले भने, “वास्तविकताको जाँचः केवल पारस्परिक अनुपालन मात्र हुन सक्छ।”

    – हर्मुजमा अल्झन –

    समझदारी पत्रमा हस्ताक्षर भएपछि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरूले स्विट्जरल्यान्डमा एक चरणको प्रत्यक्ष वार्ता र कतारमा अप्रत्यक्ष वार्ता गरेका छन् तर त्यसपछि कुनै कूटनीतिक प्रगति देखिएको छैन । अन्तिम सम्झौताको मुख्य बाधा हर्मुजको जलडमरुमध्यको भविष्य हो।

    युद्धका क्रममा इरानले अमेरिका–इजरायल हमलाको प्रतिकारमा यसलाई व्यावसायिक जहाज आवतजावतका लागि बन्द गरेको थियो। यो जलमार्ग ऊर्जायुक्त खाडी देशहरूबाट तेल र ग्यास निर्यातको महत्वपूर्ण मार्ग हो र यसको बन्दले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ।

  • स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेण्टिना सेमिफाइनलमा

    स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेण्टिना सेमिफाइनलमा

    २८ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले गोल गरे । खेलको १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।

    स्विट्जरल्यान्डले ६७औं मिनेटमा बराबरी गोल फर्कायो । रिकार्डो रोड्रिगको असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरीमा फर्काए ।

    खेलको ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलमा झरेको थियो । निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दे गोल गर्न सफल भए । इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित निकाले । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ ।

  • इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    काठमाडौँ, २८ असारः इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

    पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । अब इङल्यान्डको सामना अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुने क्वार्टरफाइनलको विजेतासँग हुनेछ । अहिले अर्जेन्टिना र स्विटजरल्यान्डबीच खेल जारी छ । अर्जेन्टिना एक गोलका साथ अग्रपङ्तिमा छ ।

  • वनफूलले सिँगारिएको ढोरपाटन…

    वनफूलले सिँगारिएको ढोरपाटन…

    रासस
    ढोरपाटन (बागलुङ), २८ असारः समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् ।

    नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता वनफूलले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ । विसं २०७५ सम्म ढोरपाटनमा पर्यटकको आगमन न्यून थियो । घुम्न आउनेभन्दा पनि ढोर बराह मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीबाहेक अन्य पर्यटकको खासै उपस्थिति थिएन । जब सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थाल्यो, तब ढोरपाटनमा पर्यटकको घुइँचो नै लाग्न थाल्यो ।

    बर्खा लागेसँगै देशका धेरै पर्यटकीय क्षेत्र सुनसान बन्दैछन्, तर ढोरपाटनमा भने पर्यटकको भीडभाड बढ्न थालेको छ । बर्खाको समयमा ढोरपाटन अरु बेलाभन्दा बढी रमणीय देखिने हुँदा यो सिजनमा पर्यटक बढी आउने गरेका हुन् । दैनिक २०० बढी पर्यटक ढोरपाटन आउने गरेको होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जानकारी दिए । ढोरपाटनमा पर्यटकको चाप बढेपछि होटल व्यवसाय पनि फस्टाउन थालेको उनको भनाइ छ ।

    अध्यक्ष पुनले भने, “पहिला पनि ढोरपाटन उपत्यकामा अत्यधिक मात्रामा फूलहरू फूल्थे तर प्रचारप्रसार नहुँदा पर्यटक आउन सकेका थिएनन्, अहिले मिडिया र सामाजिक सञ्जालमा फोटो भिडियो आउँदा पर्यटकको आकर्षण बढेको छ, एक दशक अगाडि त ढोरपाटनमा पर्यटक खासै आउँदैनथे, यहाँका स्थानीय पनि घुम्ती बसाइमात्रै बस्ने गर्थे ।”

    स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफुली, बुकीफूल, मदानेफूललगायतको नाम दिएको छ । देशका ठूला सहर काठमाडौँ, नेपालगन्ज, पोखरा, भैरहवा, चितवनबाट बढी पर्यटक रमाउन आउने गरेका छन् । वनफूल पाटनैभरि फुल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ ।

    चितवनको माडीका महेश थापाले सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर र भिडियो देखेर ढोरपाटन घुम्न आएको बताए । गत वर्षदेखि नै ढोरपाटन घुम्न आउने योजना बनाएको भन्दै यसपालि १३ जनाको समूह वनफूल र्हेन आएको उनले सुनाए । चारैतिर फुलेका वनफूल र यहाँको वातावरण निकै मनोरम लागेको थापाको भनाइ छ ।

    दाङको तुल्सीपुरबाट आएका कुलेन्द्र पनेरुले ढोरपाटन आउँदा मन फुरुङ्ग भएको बताए । दाङमा यतिबेला निकै गर्मी रहेको भन्दै ढोरपाटनमा भने निकै चिसो मौसम रहेको सुनाए । यहाँको प्राकृतिक सुन्दरता र हावापानीका बारेमा प्रचार गर्न सके विदेशी पर्यटकलाई सहज रूपमा ल्याउन सकिने उनको भनाइ छ । ढोरपाटनसम्म आउने सडकको केही स्थानमा अप्ठ्यारो हुँदा सास्ती खेप्नुपरेको पनेरुले दुःखेसो पोखे ।
    बुर्तिबाङदेखि ढोरपाटनसम्म करिब ३२ किलोमिटर कच्ची सडकयात्रा गर्नुपर्छ । अहिले बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको सडक ग्राभेल भए पनि त्यसभन्दा माथिको खण्डको दुरावस्था छ । जसका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फल्लेघरभन्दा माथिको अप्ठ्यारो सडकलाई व्यवस्थित गर्ने बताए ।

    अहिले कालोपत्र गर्नका लागि सडक फराकिलो बनाउने काम भइरहेको हुँदा केही स्थानमा हिलाम्मे बनेको भन्दै पर्यटकको यात्रालाई सहज बनाउन गेग्रेटा हालेर व्यवस्थित बनाउने उनको भनाइ छ । ढोरपाटनमा आउने सङ्ख्या बढेपछि आफूहरू उत्साहित भएको कायत बताउँछन् ।

  • मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं, २८ असारः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको छ । यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली हुनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेग तथा मधेससहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा अति भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
    महाशाखाले आइतबार र सोमबार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा मधेससहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले गेगरान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने जनाएको छ ।

    प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र महाशाखाबाट जारी हुने मौसमसम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गरिएको छ ।

  • एक वर्षयता एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाए

    एक वर्षयता एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाए

    जेनेभा, २७ असार (रासस–एएफपी) । सन् २०२५ जनवरीभन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाहरूले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ । एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढिरहेको बेला महिला सङ्गठनहरू खारेज भएकोमा दुख व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गरेका छन् भने अन्य प्रमुख दाता देशहरूले पनि आफ्नो खर्च घटाएका छन् ।

    “संसारका सबैभन्दा गम्भीर मानवीय सङ्कटहरूको अग्रपंक्तिमा रहेका महिला सङ्गठनहरू बन्द हुने जोखिममा छन्,” युन वुमेनकी मानवीय सहायता प्रमुख सोफिया काल्टोर्पले एक विज्ञप्तिमा भनेकी छिन् । उनले भनिन्, “महिला सङ्गठनहरूबाट हटाइएको प्रत्येक डलर भनेको द्वन्द्वसम्बन्धी यौनिक हिंसाका पीडित, विस्थापित आमा, विद्यालयबाट बाहिरिन बाध्य बालिका र बाँच्न सङ्घर्ष गरिरहेका समुदायहरूबाट हटाइएको डलर हो।”

    संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर सशस्त्र द्वन्द्वहरू दोस्रो विश्वयुद्ध यताकै उच्च स्तरमा रहेको यो समयमा करिब १२ करोड महिला र बालिकाहरूलाई मानवीय सहायता र संरक्षणको आवश्यकता छ । सङ्कटग्रस्त विभिन्न ५२ वटा देशहरूका ८५५ महिला नेतृत्वका तथा महिला अधिकार सङ्गठनहरूबाट प्राप्त जवाफहरूमा आधारित यो रिपोर्टले देखाएको छ कि ८४ प्रतिशत समूहले सन् २०२५ जनवरी यता आफ्ना सेवाहरूको माग बढेको अनुभव गरेका छन् ।

    “लगभग ९० प्रतिशतले उनीले हालको आवश्यकता पूरा गर्न नसक्ने बताउँछन्,” एजेन्सीले भनेको छ, “ सर्वेक्षण गरिएका मध्ये दुईमा एक (४० प्रतिशत) सङ्गठनले आगामी एक वर्षभित्र अस्थायी वा स्थायी रूपमा बन्द हुने अपेक्षा गरेका छन् ।” यी सङ्गठनहरूलाई जोगाउनका लागि नेतृत्व र कर्मचारीहरूले आफ्नै श्रम र स्वास्थ्यको मूल्य चुकाइरहेका छन् । पूर्ण ६५ प्रतिशत महिला नेतृत्वका सङ्गठनहरूले सेवाहरू सञ्चालन गर्न कर्मचारी बिना तलब काम गरिरहेको रिपोर्ट गरेका छन् भने लगभग आधाले कर्मचारीहरूमा बढ्दो थकान रिपोर्ट गरेका छन् ।

    युन वुमेनको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ मा पीडितहरूलाई संरक्षण गर्ने प्रणाली भत्किरहेको बेला द्वन्द्वसम्बन्धी यौनिक हिंसा दोब्बर बढेको छ।”
    झण्डै ८६ प्रतिशत महिला सङ्गठनहरूले आफूले सेवा गरिरहेका समुदायमा लैङ्गिक हिंसा बढेको रिपोर्ट गरेका बताइएको छ । यो सङ्गठनले सहायता कटौतीले विनाशकारी परिणाम ल्याइरहेकोमा जोड दिएको छ ।

    “हिंसाबाट आश्रय खोजिरहेको महिला बन्द भएको आश्रय केन्द्रको ढोकामा पुग्न सक्छिन्, गर्भवती महिलालाई स्वास्थ्य क्लिनिक पुग्न घण्टौं हिँड्नुपर्ने हुन सक्छ, वा आमाले आफ्ना बच्चाहरूलाई खाना दिन अस्वीकार गर्नुपर्ने हुन सक्छ,” सङ्गठनले भनेको छ । यी कटौतीहरूको प्रभाव केवल मानवीय प्रतिक्रियालाई कमजोर पार्नेमा मात्र सीमित नहुने सङ्गठनले जोड दिएको छ ।

    “महिला सङ्गठनहरूको विघटन कुनै खाली ठाउँमा होइन, बरु महिला र बालिकाहरूको अधिकारमाथि विश्वव्यापी प्रतिक्रियावादको बिरुद्धमा भइरहेको छ,” यसले भनेको छ । हरेक पाँचमा एक (२० प्रतिशत) सङ्गठनहरूले महिला नेतृत्व र लैङ्गिक समानता अघि बढाउने काम पहिले नै स्थगित गरेका छन् भने आधाभन्दा बढीले समुदायको नेतृत्व र स्थानीय निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता घट्दै गएको देखेको सङ्गठनको दावी छ ।

  • चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने रकेटलाई सफलतापूर्वक अवतरण

    चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने रकेटलाई सफलतापूर्वक अवतरण

    बेइजिङ, २७ असार (रासस–एएफपी) । चीनले शुक्रबार पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ । यो चीनका लागि अन्तरिक्ष महत्वाकाङ्क्षा र प्रक्षेपण लागत घटाउने दिशामा ठूलो उपलब्धि हो। यो सफलतापछि एसियाली महाशक्ति अमेरिकाको पुनः प्रयोग योग्य रकेट क्षेत्रमा रहेको प्रभुत्वलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको छ । हालसम्म यो क्षेत्रमा एलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजिनले नेतृत्व गर्दै आएका थिए।

    चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएअनुसार लङ मार्च–१०बी रकेट चिनियाँ समय अनुसार दिउँसो १२ः१५ बजे हाइनानको प्रक्षेपण स्थलबाट उडान भरेको थियो। यसले एउटा उपग्रहलाई कक्षमा स्थापित गरेको थियो । रकेटको पहिलो भागलाई समुद्रमा रहेको प्लेटफर्ममा ‘नेट–क्याप्चर प्रणाली’ मार्फत सफलतापूर्वक फिर्ता ल्याइएको थियो।

    चीनको राज्य प्रसारक सीसीटीभीले हवाई फुटेज प्रसारित गरेको थियो जसमा रकेटको पहिलो भाग प्लेटफर्ममा सहज रूपमा अवतरण गरेको देखिन्थ्यो।

    सीएनएसएले भनेको छ, “यो मिसन चीनको लागि ढुवानी रकेटको पहिलो चरणलाई नियन्त्रित रूपमा फिर्ता ल्याउने पहिलो सफल प्रयास हो। साथै यो विश्वकै पहिलो समुद्रमा नेट प्रणालीबाट रकेट फिर्ता ल्याउने घटना हो ।” चिनियाँ अन्तरिक्ष प्रशासनले यसलाई ‘पुनः प्रयोग योग्य रकेट प्रविधिमा चीनको ठूलो सफलता’ भनेको छ।

    स्पेसएक्सको फाल्कन ९ रकेटभन्दा फरक, लङ मार्च–१०बी रकेटमा अवतरणका लागि खुट्टा (ल्याण्डिङ लेग्स) प्रयोग गरिएको छैन । ‘चीन एकेडेमी अफ लञ्च भेइकल टेक्नोलोजी’का प्राविधिक विशेषज्ञ चेन मुयेको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “नेटबाट सञ्चालित ‘रिकभरी’ प्रणालीले विशेष फाइदा दिन्छ ।”

    विशेषज्ञ चेनले भने, “हालका मुख्य रिकभरी समाधानहरूको तुलनामा नेटबाट सञ्चालित प्रणाली रकेटको अवतरण आवश्यकताअनुसार बढी अनुकूलन योग्य छ।” सामान्यतया धेरैजसो रकेट एक पटक मात्र प्रयोग गर्नका लागि डिजाइन गरिन्छन्। तिनका भागहरू प्रयोगपछि समुद्रमा खस्छन्, वातावरणमा जलेर नष्ट हुन्छन् वा कक्षमा फोहोरका रूपमा रहन्छन्। रकेटको पहिलो भाग सबैभन्दा महँगो मानिन्छ।

    चेनले भने, “नेटबाट सञ्चालन हुने रिकभरीले रकेटको आन्तरिक संरचनालाई सरल बनाउँछ। यसमा अवतरणका लागि खुट्टा आवश्यक नपर्ने भएकाले रकेटको तौल पनि घटाउन सकिन्छ।” उनले घटेको तौलले ‘पेलोड’ क्षमता र सञ्चालन दक्षता बढाउन मद्दत गर्ने बताए । रकेटको केही भाग पुनः प्रयोग गर्न सकिँदा उपग्रह वा अन्तरिक्ष यान प्रक्षेपणको लागत घट्छ। लङ मार्च–१० श्रृङ्खलाका रकेटहरू विशेष गरी चीनको भावी चन्द्रमाको मानव मिसनका लागि बनाइएका हुन् ।

  • घातक आँधीपछि चीनमा टाइफुनको खतरा

    घातक आँधीपछि चीनमा टाइफुनको खतरा

    बेइजिङ, २७ असार (रासस–एपी) । एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ । अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

    प्रतिघण्टा १६२ किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन ‘बवी’ शुक्रबार ताइवानको उत्तर भाग हुँदै अघि बढ्ने र त्यसपछि शनिबार राति चीनको फुजियान र झेजियाङ प्रान्तको सीमाक्षेत्र नजिकै स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ । यसअघि यसले साइपनसहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो ।

    ताइवानमा भारी वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन् । उत्तरी तटमा माछा मार्ने डुङ्गाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङलगायतका गन्तव्यका धेरै उडान शनिबारसम्म रद्द गरिएका छन् । चीनको झेजियाङ प्रान्तमा १७ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

    करिब एक लाख ७० हजार उद्धारकर्मीलाई सम्भावित विपद्का लागि तयारी अवस्थामा राखिएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । फुजियान प्रान्तले तीव्र हावा र उग्र समुद्री अवस्थाका कारण केही जलमार्ग सेवा स्थगित गर्नुका साथै सबै माछा मार्ने डुङ्गालाई बन्दरगाह फर्किन निर्देशन दिएको छ ।

    यसअघि दक्षिणी चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘मेसाक’ का कारण गुआङ्सी क्षेत्रमा आएको बाढीमा कम्तीमा ३९ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । अत्यधिक वर्षाले जलाशयहरू फुटेका थिए भने हेङ्झाउस्थित बाँधको एक भाग भत्किएपछि ठूलो क्षेत्रमा बाढी फैलिएको थियो । धेरै मानिसहरू भवनका माथिल्ला तलामा दिनौँसम्म फसेका थिए र विद्युत् सेवा समेत अवरुद्ध भएको थियो ।

    यस्तै, मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीका कारण थप ११ जनाको मृत्यु भएको थियो । यसैबीच, पश्चिमी चीनको गान्सु प्रान्तमा मङ्गलबार आएको भूस्खलनमा २१ जना वनकर्मीको मृत्यु भएको छ । उक्त घटना टाइफुनसँग प्रत्यक्ष सम्बन्धित नभए पनि प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भएको जनाइएको छ ।

  • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ, २७ असारःवैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राईलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार कुनसाङले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एक जना पीडितबाट एक लाख ५० हजार रुपैयाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट सात लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

    पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका–२, धनबहादुरलाई तारकेश्वर नगरपालिका–८, उमेशलाई टोखा नगरपालिका–५, सचितालाई काठमाडौं महानगरपालिका–३ र निरोजलाई काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो। कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका हुन् ।
    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

  • देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ

    देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ

    काठमाडौँ, २७ असारः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ ।

    उनीहरूलाई काठमाडौँ, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरबाट शुक्रबार र आज पक्राउ गरिएको हो । पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

  • नेपालमा आत्मदाहको लगातार दोस्रो घटना, व्यवसायी रावतको निधन

    नेपालमा आत्मदाहको लगातार दोस्रो घटना, व्यवसायी रावतको निधन

    काठमाडौँ, २७ असारः बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा निजको मृत्यु भएको हो । अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

    “हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास गर्यौँ तर अत्यधिक जलनका कारण बचाउन सकिएन । उहाँको अनुहारसहित श्वासप्रश्वास नलीमा पनि आगोले धेरै असर गरेको थियो,” डा लामिछानेले भने । उनी व्यवसायी भएको बुझिएको छ । काठमाडौंमा लगातार दोस्रो दिन आत्मदाहको घटना भएको हो ।

  • बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

    बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

    महेन्द्रनगर, २७ असारः बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जिल्लाको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेको राससलाई टेलीफोनमा बताए । स्थानीय र सुरक्षाकर्मी उद्धारमा सक्रिय छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स परिचालन भएको बताए । जीपमा १५ जना सवार रहेका जानकारी प्राप्त भएको उनले बताए ।

  • भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    अकल्यान्ड, न्यूजिल्यान्ड, २७ असार (रासस–एएफपी) । दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत गतिमा मजबुत हुँदै गइरहेको समय करिब ४० वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीको न्यूजील्यान्ड भ्रमण जारी छ । हालै भएको स्वतन्त्र व्यापार सम्झौताले दुवै देशको आर्थिक सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

    भारतीय प्रधानमन्त्रीका हैसियतमा भएको प्रधानमन्त्री नरेन्द्र मोदीको न्यूजील्यान्डको भ्रमण पहिलो औपचारिक भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र न्यूजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच अकल्यान्डमा द्विपक्षीय वार्ता हुने बताइएको छ । दुवै नेताले व्यापार, लगानी, रक्षा, शिक्षा, सुरक्षा र अन्य क्षेत्रमा सहयोगको समीक्षा गर्नेछन् ।

    –किन विशेष–

    न्यूजील्यान्ड दक्षिण–पश्चिम प्रशान्त महासागरमा अवस्थित एउटा टापु राष्ट्र हो, जुन अस्ट्रेलियाबाट करिब एक हजार ६०० किलोमिटर टाढा छ ।
    वल्र्डओमीटरका अनुसार यहाँको जनसङ्ख्या करिब ५२।९ लाख ९५२ लाख ९१ हजार० छ । यो विश्वका सबैभन्दा विकसित देशहरूमा पर्छ र राम्रो जीवनस्तर, पारदर्शी शासन, मानव विकास र नागरिक स्वतन्त्रताका लागि प्रसिद्ध छ ।

    अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, सन् २०२६ मा न्यूजील्यान्डको अर्थव्यवस्था (जीडीपी) करिब २७८.६४ अर्ब अमेरिकी डलर रहने अनुमान छ भने आर्थिक वृद्धिदर २।१ प्रतिशत रहने अपेक्षा गरिएको छ ।

    –भारत र न्यूजील्यान्डबीचको सम्बन्ध–

    भारत र न्यूजील्यान्डबीचको सम्बन्ध लामो समयदेखि मित्रवत् छ । दुवै देश एक समय बेलायती साम्राज्यका अंश थिए। दुवै कमनवेल्थका सदस्य हुन् र उनीहरूबीच लोकतन्त्र, सामान्य कानुन, अङ्ग्रेजी भाषा, खेलकुद र जनस्तरको सम्बन्धजस्ता धेरै समानताहरू साझा गर्छन्।

    दुवै देशबीच कूटनीतिक सम्बन्ध सन् १९५२ मा स्थापित भएको हो। यद्यपि सन् १९५० मै ट्रेड कमिसन सुरु भइसकेको थियो, जसलाई पछि उच्च आयोग दर्जा दिइयो । समयक्रममा दुवै देशले राजनीतिक, आर्थिक र रणनीतिक सहयोगलाई निरन्तर अगाडि बढाएका छन् ।

    न्यूजील्यान्डले भारतलाई द्रुत गतिमा वृद्धि भइरहेको अर्थव्यवस्था र विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको देशका रूपमा हेर्छ। भारतको बढ्दो वैश्विक प्रभाव, बलियो अर्थव्यवस्था र इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो भूमिकाले न्यूजील्यान्डका लागि भारतको महत्वलाई निरन्तर बढाइरहेको छ।

    यसै कारण सन् २०११ मा न्यूजील्यान्डले ’भारतका लागि नयाँ अवसर खोल्ने नीति’ अन्तर्गत भारतलाई प्राथमिकता प्राप्त देशमा समावेश गरेको थियो।

    त्यसपछि ‘न्यूजील्यान्ड–इन्डिया स्ट्राटेजी’ र ’भारत–न्यूजील्यान्ड २०२५ः सम्बन्धमा लगानी’ जस्ता रणनीतिमार्फत दुवै देशले व्यापार, लगानी र आपसी सहयोगलाई थप मजबुत बनाउने लक्ष्य राखेका छन्।

    –सहकार्य–

    दुवै देश व्यापार, लगानी, रक्षा, शिक्षा, पर्यटन, कृषि, प्रविधि, स्वास्थ्य, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सहकार्य गरिरहेका छन् ।

    दुवै देश संयुक्त राष्ट्रसङ्घ, विश्व व्यापार सङ्गठन र कमनवेल्थजस्ता अन्तर्राष्ट्रिय सङ्गठनका सदस्य हुन्।

    यसबाहेक इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा र स्थिरताका विषयमा पनि दुवै देशको साझा हित छ।

    रक्षा क्षेत्रमा पनि दुवै देशको ऐतिहासिक सम्बन्ध छ। प्रथम र द्वितीय विश्वयुद्धमा दुवै देशका सैनिकहरू सँगै लडेका थिए। अहिले दुवै देश रक्षा सहयोग र सैन्य सम्पर्क बढाउन लागिपरेका छन्।

    सन् २०२५ मार्चमा दुवै देशले बृहत् स्वतन्त्र व्यापार सम्झौता को वार्ता सुरु गर्ने घोषणा गरेका थिए र ९ महिनामा २७ अप्रिलमा यो सम्झौता पूरा भएको थियो।

    यो सम्झौता भारतका लागि धेरै हिसाबले महत्वपूर्ण मानिएको छ । यसले भारतीय निर्यातकर्ताहरूलाई न्यूजील्यान्डको बजारमा राम्रो पहुँच दिनेछ र ओसियानिया तथा प्रशान्त टापु देशहरूमा पनि बाटो खुल्नेछ ।

    भारतले न्यूजील्यान्डलाई औषधि, मेसिनरी, कपडा, सवारीसाधन, बहुमूल्य पत्थर र गहना लगायतका सामान निर्यात गर्छ।

    न्यूजील्यान्डबाट भारतले ऊन, फलाम–स्टिल, एल्युमिनियम, फलफूल, सुक्खा फल, काठजन्य सामान र अन्य वस्तु आयात गर्छ।

    दुवै देश प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य सेवा, शिक्षा, निर्माण, कृषि, खाद्य पदार्थ, उड्डयन र प्राविधिक सेवाहरूमा नयाँ अवसर खोजिरहेका छन्।

    यो सम्झौताअन्तर्गत भारतको शतप्रतिशत निर्यातमा आयात शुल्क हटाइनेछ । यसले भारतीय उत्पादनहरूलाई न्यूजील्यान्डको बजारमा थप प्रतिस्पर्धी बनाउनेछ।

    न्यूजील्यान्डले आगामी १५ वर्षमा २० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता गरेको छ।

    कृषि उत्पादकत्व साझेदारीअन्तर्गत दुवै देश कृषि क्षेत्रमा सहयोग गर्नेछन्, जसले किसानको उत्पादकत्व बढाउन र उनीहरूलाई वैश्विक मूल्य शृङ्खलासँग जोड्न मद्दत गर्नेछ।

    प्रधानमन्त्री मोदी अकल्यान्ड पुग्नुभन्दा एक दिनअघि न्यूजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले “भारततर्फ जाने न्यूजील्यान्डको ५७ प्रतिशत निर्यात पहिलेदेखि नै शुल्कमुक्त भएको छ । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “भारतसँगको यो व्यापार सम्झौताले न्यूजील्यान्डको व्यवसायलाई ठूलो फाइदा पुर्‍याउनेछ।”

  • युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

    युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

    वासिङ्टन, २७ असार (रासस–एएफपी) । अमेरिका–इरानबीचको युद्धविराम अब समाप्त भइसकेको तर इरानले कुराकानी जारी राख्न चाहेमा वार्ता जारी रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्क्रबार बताएका छन् । अमेरिका र इरानबीच बढ्दै गएको तनाव बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “अमेरिका–इरानबीच लागू युद्धविराम अब समाप्त भइसकेको छ तर इरानले अमेरिकासँग कुराकानी जारी राख्न चाहेको खण्डमा हामी यसका लागि तयार छौँ ।”

    डोनाल्ड ट्रम्पले आफ्नो हस्ताक्षरसहित सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेको सन्देशमा भनिएको छ, “इस्लामिक रिपब्लिक अफ ईरानले हामीसँग कुराकानी जारी राख्न अनुरोध गरेको छ। हामी यसका लागि सहमत छौं, तर हामीले उनीहरूलाई स्पष्ट शब्दमा बताइसकेका छौं कि युद्धविराम अब समाप्त भयो।”

    अमेरिका र ईरानबीच यो तनाव अचानक बढेको होइन। पछिल्लो केही समयमा दुवै देशबीच एक अन्तरिम युद्धविराम सम्झौता भएको थियो। यसअन्तर्गत दुवै देशले शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूमाथि हमला रोक्नुपर्ने उल्लेख थियो। तर पछिल्ला केही दिनमा इरानले यो समुद्री मार्गबाट आवतजावत गर्ने जहाजहरूमाथि फेरि बमबारी सुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई सम्झौताको उल्लङ्घन र युद्धविराम समाप्त भएको सङ्केत भनेका छन् ।
    –आक्रमण–

    यो उक्साहटको जवाफमा अमेरिकी सेनाले पछिल्ला दुई दिनमा इरानमाथि ठूला हवाई हमला गरेको छ । अमेरिकाले इरानका १७० भन्दा बढी सैन्य ठाउँ, मिसाइल भण्डार र बुशहर परमाणु संयन्त्र नजिकका क्षेत्रहरूलाई निशाना बनाएको छ । यी हमलाहरूमा इरानका १४ सैनिकको मृत्यु भएको छ र धेरै घाइते भएका बताइएको छ ।

    आफूमाथि भएको हमलाबाट रुष्ट भएर इरानले पनि कडा रवैया अपनाएको छ। उसले कतार, कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि दर्जनौं ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । इरानको भनाइ छ, “यदि अमेरिकाले हमला गर्छ भने उसले पनि जवाफी कारबाही सहनुपर्नेछ। यो बदलाको भावना र दुवैतर्फबाट निरन्तर भइरहेका हमलाका कारण दुई देशबीचको शान्ति सम्झौता पूर्ण रूपमा टुटिसकेको छ र अब पश्चिम एशियामा ठूलो युद्धको सम्भावना देखिएको छ। यद्यपि, ट्रम्पको यो भनाइमा कुराकानीको सम्भावना अझै बाँकी रहेको सङ्केत पाइन्छ ।

  • ‘रोनाल्डो आएमा स्वागत गरिने’ पुर्चुगलका नयाँ प्रशिक्षकको भनाइ

    ‘रोनाल्डो आएमा स्वागत गरिने’ पुर्चुगलका नयाँ प्रशिक्षकको भनाइ

    ओइरास, पोर्चुगल, २७ असार (रासस–एएफपी) । पोर्चुगलले शुक्रबार जर्ज जेससलाई आफ्नो नयाँ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिले प्रतिक्रिया दिँदै उनले पोर्चुगलका ‘सुपरस्टार’ क्रिस्टियानो रोनाल्डोलाई उपलब्ध भएमा टोलीमा बोलाउने बताएका छन् । उनले आफूका लागि रोनाल्डो कहिल्यै समस्या नहुने बताए ।


    पूर्व प्रशिक्षक रोबेर्टो मार्टिनेजको नेतृत्वमा यस ग्रीष्ममा भएको विश्वकपका क्रममा ४१ वर्षीय स्ट्राइकरको प्रदर्शनको आलोचना भएको थियो । पोर्चुगल स्पेनसँग अन्तिम १६ मा पराजित भएर बाहिरिएको थियो । रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप रहेको बताइसकेका छन् । उनले अझै राष्ट्रिय टोलीबाट खेल्ने या नखेल्ने निर्णय गरेका छैनन् । “केही सीमाभित्र र राष्ट्रिय टोलीका लागि मलाई उत्तम लाग्ने अवस्थामा उहाँ खेलिरहने अवस्थामा भएमा म उहाँ र अन्य खेलाडीहरूलाई पनि टोलीमा समावेश गर्नेछु,” जेससले शुक्रबार पत्रकारसँगको साक्षात्कारका क्रममा भने ।


    अनुभवी प्रशिक्षक मानिने ७१ वर्षीय जेससले अझै रोनाल्डोसँग कुरा नभएको तर उनीहरूले पूर्व म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका स्टारको खेल जीवनको भविष्यबारे छलफल गर्ने बताए । “मैले अझै ‘क्रिस’सँग कुरा गरेको छैन । ‘क्रिस’ राष्ट्रिय टोली र मेरा लागि समस्या हुनुहुने छैन,” जेससले भने । उनले भने, “क्रिस पोर्चुगाली फुटबलको प्रतीक हुनुहुन्छ । उहाँ राष्ट्रिय टोलीको प्रतीक हुनुहुन्छ र इतिहासमा सदाका लागि रहनुहुनेछ ।”

    “मलाई विगतमा उहाँसँग काम गर्न ठूलो खुशी मिलेको थियो । उहाँसँग काम गर्न सजिलो छ”, जेससले भने, “हामी दुईबीच उहाँले भविष्यमा के गर्न चाहनुहुन्छ भन्नेबारे कुराकानी हुनेछ।” जेससले पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोसँग अल–नासरमा काम गरेका थिए भने मे महिनामा ‘साउदी प्रो लिग’को उपाधि जिताएर क्लबबाट बिदा भएका थिए ।

    “मैले उहाँसँग एक वर्ष बिताएको छु। मलाई थाहा छ, रोनाल्डो अल–नासरमा नै खेलिरहन चाहनुहुन्छ,” नवनियुक्त पोर्चुगाली मुख्य प्रशिक्षक जेससले थपे । “उहाँ सधैं मलाई भन्नुहुन्थ्यो, म आफ्नो करियर अल–नासरमा नै समाप्त गर्नेछु,” जेससले अगाडि भने । सन् २०३० को विश्वकपको आयोजना पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा गर्दैछन् र सामान्य अवस्थामा जेससले त्यतिबेलासम्म पोर्चुगलको नेतृत्व गर्नेछन् ।

  • आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    काठमाडौँ, २७ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।
    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

  • मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    म्याग्दी, २७ असारः प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ । हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’लाई आगामी हिउँदे यामदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको छ ।

    म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पर्यटन विभागको सहयोगमा हालै सम्पन्न सम्भाव्यता अध्ययनका आधारमा धवलागिरि गाउँपालिका–४ मुदीदेखि वडा नं १ गुर्जा हुँदै वडा नं २ स्थित जलजलासम्मको पदमार्ग सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।


    “यो एकदमै नयाँ अर्थात् ‘भर्जिन रुट’ हुनेछ”, मन्त्री पुनले भने, “यस पदमार्गमा पर्यटक लैजान आवश्यक तयारी गर्न पर्यटन व्यवसायी र स्थानीयवासीलाई अनुरोध गर्दछु ।” उनका अनुसार पदमार्गका अप्ठ्यारा स्थानमा बाटो निर्माण, रेलिङ जडान, विश्रामस्थल तथा झोलुङ्गे पुल निर्माणमा पर्यटन मन्त्रालयले सहयोग गर्नेछ ।

    यही असारको पहिलो, दोस्रो र तेस्रो सातामा मन्त्री पुनको बेनीस्थित सम्पर्क कार्यालयका प्रमुख चित्र तिलिजाको नेतृत्वमा गएको टोलीले मुदी–गुर्जा–जलजला, धौलागिरि चक्रीय पदमार्ग तथा अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि रघुगङ्गा गाउँपालिका–७ सोवाङधुरी हुँदै चिमखोला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो ।

    टोलीले तयार पारेको प्रतिवेदनमा जलविद्युत् आयोजना र सडक विस्तारका कारण धौलागिरि चक्रीय पदमार्गको इटाली आधार शिविरसम्मको मार्ग जोखिममा पर्नसक्ने उल्लेख गरिएको छ । त्यसको विकल्पका रूपमा मुदी–गुर्जा–रुघाचौर–जलजला तथा दोवा–सोवाङ–चिमखोला पदमार्ग सडक विस्तारबाट प्रभावित नहुने भएकाले दीर्घकालीन सम्भावना रहेको निष्कर्ष निकालिएको छ । उक्त प्रतिवेदन गत साता मन्त्री पुन र पर्यटन मन्त्रालयलाई बुझाइएको थियो ।

    धौलागिरि चक्रीय पदमार्ग योजनाका लागि आगामी आर्थिक वर्ष २०८३÷८४ मा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट विनियोजन गरेको छ । साथै मुदी–गुर्जा–जलजलालगायत पदमार्गको सम्भाव्यता अध्ययनका लागि रु २१ लाख बजेट छुट्याइएको मन्त्रालयको वार्षिक पुस्तिकामा उल्लेख छ ।

    मुदीका स्थानीय विजय घर्तीले नयाँ पदमार्गले सुस्ताएको पर्यटन क्षेत्र पुनः चलायमान हुने विश्वास व्यक्त गर्दै मुदी–गुर्जा खण्डमा आधारभूत पदमार्ग, सञ्चार सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनका अनुसार पदमार्ग सञ्चालनले स्थानीयस्तरमा रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना गर्नेछ ।

    सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित हुन थालेपछि नयाँ पदमार्ग पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धन गर्न स्थानीयवासी तथा जनप्रतिनिधिले लामो समयदेखि माग गर्दै आएका थिए । धौलागिरि हिमाल र ढोरपाटन सिकार आरक्षलाई जोड्ने प्रस्तावित यो पदमार्ग साहसिक, प्राकृतिक र सांस्कृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिएको छ ।

    संसारको सातौँ अग्लो धौलागिरि हिमालको फेदीमा रहेको मुदीमा मगर र दलित समुदायको बसोबास छ भने ‘लुकेको गाउँ’का रूपमा परिचित गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको छ । गुर्जादेखि ढोरपाटन जाने बाटोमा पर्ने रुघाचौर तथा ढोरपाटन सिकार आरक्षभित्रको जलजलाबाट धौलागिरिलगायत हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

    धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामप्रसाद घर्तीले सडक निर्माणको सम्भावना न्यून र बस्तीबाट टाढा रहेकाले धौलागिरि–ढोरपाटन पदमार्ग दीर्घकालीन रूपमा पर्यटकीय आकर्षण बन्नसक्ने विश्वास व्यक्त गरे । उनले यस पदमार्गले धवलागिरि क्षेत्रको पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरे ।

  • हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

    हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

    खोटाङ, २७ असारः खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् । तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।


    अधिकारीको मृत्युपछि तीलकबहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए । मुख्य आरोपित तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाका आरोपीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा अन्तरगत थप अनुसन्धान भइरहेको सूचना अधिकारी बस्नेतले बताए । अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको तथा मृतक अधिकारी सार्कीको घरमा पुगेको अवस्थामा विवाद हुँदा सार्कीले खुकुरी प्रहार गरेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

  • दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    मध्यविन्दु (नवलपरासी), २७ असारः गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो ।

    गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो । तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो सास्ती भोग्नुपरेको छैन ।

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क रहेको छ । तर यस वर्ष त्यो अवस्था हटेको छ । दैनिक रूपमा यही सडक प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन् ।

    यस राजमार्गमा नियमित सवारीसाधन चलाउँदै आउनुभएका रामु भुसालले पहिले दाउन्ने पार गर्नै घण्टौँ लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुसी व्यक्त गरे । “गत वर्ष पानी पर्ने बित्तिक्कै दाउन्नेको जाममा फसिन्थ्यो । अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा सहज भएको छ । यात्राको समय पनि घटेको छ”, उनले भने ।


    दाउन्ने क्षेत्रमा सहजरुपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रुले राहत महसुस गरेका बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । “दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको थियो । अहिले सडक विस्तार अन्तिम चरणमा पुग्दा आवागमन सहज भएको छ । यसले स्थानीय अर्थतन्त्र, पर्यटन र दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ”, उनले भने ।


    गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । “गत वर्ष निर्माण कार्य र वर्षाका कारण पटक–पटक लामो जाम व्यवस्थापन गर्नुपथ्र्यो । अहिले सडकको अवस्था सुधारिएकाले सवारी सञ्चालन सहज छ । सामान्य अवस्थामा लामो समय सडक अवरुद्ध हुने अवस्था आएको छैन”, उनले भने, “प्रहरी र आयोजनाबीचको समन्वयले पनि यातायात व्यवस्थापन प्रभावकारी बनेको छ ।”

    नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताए । “अहिलेसम्म पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ”, उनले भने, “अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङलगायतका काम भइरहेका छन् । विगतमा जस्तो निर्माणका कारण यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्था धेरै हदसम्म हटेको छ ।”

    पूर्व–पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट–बुटवल सडक एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ । आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने सडक सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा पनि घण्टौँ सडक अवरुद्ध हुने अवस्था यस वर्ष देखिएको छैन ।

  • स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    काठमाडौँ, २७ असारः बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो ।

    खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चाल्र्स डे केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए । त्यसपछि खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याए । स्पेनले सेमिफाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।