Category: फिचर

  • पुष्पा भण्डारीले जितिन् ढाका म्याराथनमा स्वर्ण

    पुष्पा भण्डारीले जितिन् ढाका म्याराथनमा स्वर्ण

    काठमाडौं । नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन् । बंगलादेशको ढाकामा आज भएको म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन् ।

    पुष्पाले ४२ दशमलब १९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरेर उपाधि जितेकी हुन् ।

    श्रीलंकाकी सुजनी परेरा पुष्पा भन्दा २० सेकेन्डले पछि रहदै दोस्रो बनिन् । नेपालकी वृन्दा श्रेष्ठ धानुके तेस्रो भएकी छिन् । वृन्दाले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरेकी हुन् ।

    पुष्पाले यस प्रतियोगितामा दोस्रो पटक स्वर्ण पटक जितेकी हुन् । पुष्पाले यस अघि २०२१ मा स्वर्ण पदक जितेकी थिइन् । यस्तै उनले २०२२ मा भने पुप्षाले कास्य पदक जितेकी थिइन् ।

    पुरुषतर्फको हाफ म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले कास्य पदक जितेका छन् । प्रतियोगितामा नेपालका १० खेलाडी सहभागी थिए ।

  • संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुख घिमिरेको पहिलो निर्णय

    संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुख घिमिरेको पहिलो निर्णय

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित कार्यकक्षमा सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन् ।

    यसअघि आजै उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् ।

    पदबहाली गर्दै सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने पहिलो निर्णय गरेका छन् ।

    सभामुख घिमिरेले अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने र त्यसको जिम्मेवारी आफूले पाएको बताए । उनले प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने विश्वस्त रहेको बताए ।

    घिमिरे सत्ता गठबन्धनको समर्थनमा सभामुख निर्वाचित भएका हुन् । सभामुख निर्वाचित भएसँगै उनले एमाले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरिसकेका छन् ।

  • नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

    नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच घिमिरेले सभामुख पदको सपथग्रहण गरेका हुन् ।

    सपथपग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतको उपस्थिति थियो ।

  • बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन  जना पक्राउ

    बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन जना पक्राउ

    काठमाडौं । प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको छ । गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो ।

    प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले होटलमा शङ्कास्पद व्यक्ति भएको भन्ने सूचनाका आधारमा गोङ्गबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको जानकारी दिए । उनका अनुसार त्यसरी खटेको टोलीले होटल सोनाबाट शङ्कास्पद रूपमा रहेको ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी ७३१ थान राहदानी बरामद गरेको थियो ।

    प्रक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९, म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जना रहेको प्रहरीले जनाएको छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले ७३१ थान राहदानी र लोकजङ खड्कासहितका तीन जना विभागको नियन्त्रणमा रहेको जानकारी दिए । उनका अनुसार अनुसन्धान बाँकी रहेको छ । वैदेशिक रोजगार व्यवसायी वा तालिम प्रदायक संस्था हुन् वा स्वास्थ्य परीक्षण गर्ने संस्थान हुन् भन्ने बारे नखुलेको उनले जनाएका छन् ।

  • कम्बोडियामा आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने

    कम्बोडियामा आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने

    काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ। होटलमा आगलागी हुँदा १२ औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो। कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो। तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ।

    निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ । शव शुक्रबार राति साढे दस बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले) का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ।

    निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिएका थिए। शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णयसमेत भएको छ। सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो। शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ। दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ।
    रासस

  • रोनाल्डो र मेसी आमने-सामने, पीएसजीको जित

    रोनाल्डो र मेसी आमने-सामने, पीएसजीको जित

    रियाद । विश्वका दुई स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो सामने सामने भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ। बिहीबार राति साउदी अरेबियाको राजधानी रियादमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको खेल रोमाञ्चक बन्यो । खेलमा ९ गोल र एक रातो कार्ड सम्भव भयो । अधिकांश समय १० खेलाडीमा खेलेको फ्रान्सेली टीम पिएसजीले ५–४ को जित निकाल्यो ।

    पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक–एक गोल गरे । साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमै लिओनेल मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

    नेयमारको पासमा मेसीले गोल गरे । खेलको ३४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। रोनाल्डोले पेनाल्टीमा गोल फर्काएका हुन् । त्यसपछि पीएसजी १० खेलाडीमा सिमित भयो । जुआनलाई कतारी रेफ्री अब्दुल्रहमान अल जासिमले सिधै रातो कार्ड देखाए । कप्तान मार्किन्हसले खेलको ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए। नेयमारले पेनाल्टीमा गोल गर्न चुके । पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो।

    दोस्रो हाफको सुरूवातमा नै पिएसजीले सर्जियो रामोसको गोलमा अग्रता लियो। खेलको ५३औं मिनेटमा पिएसजीले तेस्रो पटक अग्रता बनायो। केलियन एम्बाप्पेले बक्स भित्रबाट मिलाएको पासलाई रामोसले गोलमा परिणत गरे । त्यसको तीन मिनेटमै जाङ ह्युन सुले हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरी भएको केही समयमै पिएसजीका लागि एमबाप्पेले पेनाल्टीमार्फत गोल गरे ।

    मेसीको प्रहार अली अल बुलायहीले हातले रोकेपछि पिएसजीले पेनाल्टी पाएको हो । एम्बाप्पेको स्थानमा मैदान छिरेका युवा फरवार्ड ह्युगो एकिटिकेले ७८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई ३–५ को अग्रतामा पुर्‍याए।
    तर इन्ज्युरी समयको अन्त्यमा रियादका एन्डरसन टालिस्काले गोल गर्दै खेललाई ४–५ को स्थितिमा पुर्‍याए र खेल सकियो ।

  • पश्चिम नेपालमा आज पनि वर्षाको सम्भावना

    पश्चिम नेपालमा आज पनि वर्षाको सम्भावना

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक(दुई स्थानमा हुस्सुरकुहिरो लागेको छ ।

    बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । आज दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । हिमपात गण्डकीको उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हुने महाशाखाले जनाएको छ ।

    राति पनि हिमपातको सम्भावना छ । महाशाखाका अनुसार शनिबार पनि कर्णाली र सुदूरका केही ठाउँमा हिमपात भए पनि बाँकी भू-भागमा आंशिक बदली वा मौसम सफा रहनेछ । आइतबार भने सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।

  • उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि

    उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि

    काठमाडौं । प्रतिनिधि सभा उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुने भएको छ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

    सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

  • खर्च घटाउने अर्थ मन्त्रालयको यस्तो छ योजना

    खर्च घटाउने अर्थ मन्त्रालयको यस्तो छ योजना

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु आवको बजेट वक्तव्यको बुँदा नं। ३७९ मा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गरिनेछ भन्ने उल्लेख भएअनुसार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले उक्त मापदण्ड अगाडि सारेका छन् ।


    अर्थ मन्त्रालयको मापदण्डानुसार अति आवश्यक बाहेकका स्वदेश तथा विदेशका भ्रमणलाई निरुत्साहित गरिनेछ । यस्तै, दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेरिनेछ । अति आवश्यकदेखि बाहेक थोरै र पटके रूपमा प्रयोग हुने सामान स्टक नराख्ने, मन्त्रालयले नियमितरूपमा छाप्ने बजेटसम्बन्धी पुस्तक वा अन्य पुस्तकहरू कम गरी वेबसाइटमा राखिने भएको छ । यस्तै, खर्च घटाउनका लागि अति आवश्यक बाहेकका सेमिनार, तालिम गोष्ठी नगर्ने, गर्नै पर्ने भए मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरू प्रयोग गरिनेछ ।

    स्वीकृत कार्यक्रमहरू पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगित गर्ने, बजेट निर्माणको समयमा अतिरिक्त समयमा काम गरे वाफत दिइँदै आएको सुविधा नदिने, यदि दिनै पर्ने भए ५० प्रतिशत मात्र दिने व्यवस्था गरिएको छ ।

    अति आवश्यक विना एसी, हिटर र पङ्खाको प्रयोग नगर्ने, बोतलको पानीलाई निरुत्साहित गर्ने, कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गर्ने, स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करार तथा ज्यालादारीमा कामकाज नलगाउने र बैठकहरू कार्यालय समयभित्र मिलाउने व्यवस्था मापदण्डमा गरिएको छ । यसबाट सकारात्मक सुरुआत हुने मन्त्रालयले अपेक्षा गरेको छ ।

  • फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

    फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

    काठमाडौं । स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहँदा मैदानमा हेलिकप्टर ल्याण्ड गरेको छ । त्यसपछि आयोजकले पाइलट र यात्रुमाथि हातपात गरेका छन् । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो । त्यसपछि मैदानमै उपस्थित दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट रानेश डंगोल र यात्रुलाई कुटपिट गरेका छन् । वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए ।

    उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएकाले आफूले ल्याण्ड गरेको डंगोलले बताएका छन् । वायुसेवा सञ्चालक संघले पाइलटमाथि भएको कुटपिटको विरोध गरेको छ । पाइलटले यात्रुले दिएको लोकेसनमा हेलिकप्टर अवतरण गराएको भन्दै सो क्रममा भएको कुटपिटको संघले विरोध गरेको हो । संंघले कुटपिटमा उत्रिएको समूहमाथि कारवाहीको माग गरेको छ ।

  • प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

    प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

    काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

    बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्।

    बिहीबार भएको मतदानका क्रममा २६८ जना सांसद उपस्थित थिए। उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो ।

    प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २४६ कम्पनीको ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । बुधवार ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये तीन समूह बाहेक अरु सबै उपसमूहको परिसूचकमा राताम्मे भएको छ ।

  • माछा र ढोक्सा हालेर प्रधानमन्त्रीमाथि कसिलो पिँजडा नबनाउन महामन्त्री शर्माको चेतावनी

    माछा र ढोक्सा हालेर प्रधानमन्त्रीमाथि कसिलो पिँजडा नबनाउन महामन्त्री शर्माको चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास गरिएको टिप्पणी गरेका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक अर्कोलाई बनाएर प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास भएको टिप्पणी गरेका हुन् ।

    उनले पहिलो दल भएकाले शीतल निवासमा दाबी गर्नु स्वभाविक भएको बताए । माछा र ढोक्साको कथा हालेर आफ्नै जिल्लामा नेताले भनेको कुरामा जवाफ दिनुपर्ने भन्दै महामन्त्री शर्माले केही दिनअघि संसदमा विश्वासको मत लिँदा कांग्रेसले माछाका लागि ढोक्सा थामेको हो भने सफल नहुने भनि गरेको टिप्पणीमा जवाफ दिए ।

    उनले आफूहरुले ढोक्सा नथापेको दाबी गर्दै माछा र ढोक्सा हालेर प्रधानमन्त्रीमाथि कसिलो पिँजडा नबनाउन चेतावनी दिए।

    उनले भने,‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउनभन्दा संविधानले नचिनेको नबनाउँ भन्ने तर अहिले सँगैको मित्र प्रधानमन्त्री हुँदा संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउन हामीले ढोक्सा थाप्नेभन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको संज्ञा दिन चाहन्छु ।’

  • रोनाल्डो र मेसीबीचको खेलको विशेष टिकटको मूल्य २.६६ मिलियन डलर!

    रोनाल्डो र मेसीबीचको खेलको विशेष टिकटको मूल्य २.६६ मिलियन डलर!

    एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोले ‘साउदी अलस्टार ११’ को कप्तानी गर्ने भएका छन्।

    अलनासर र अलहिलालको खेलाडीले बनेको साउदी अलस्टार ११ को कप्तानको जिम्मेवारी रोनाल्डोले पाएका हुन्। बिहीबार पीएसजीसँग अलस्टारले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

    अलनासरसँग जोडिएपश्चात् यो रोनाल्डोको पहिलो खेल हुनेछ । यससँगै फुटबलका दुई महान् खेलाडी रोनाल्डो र लिओनल मेस्सी आमने-सामने हुनेछन्। सन् २०२० मा नाउ क्याम्पको दौरान रोनाल्डो र मेस्सी आमने-सामने भएका थिए।

    खेल रियादस्थित किङ फाहद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ।

    एक साउदी अरेबियन व्यवसायीले मेसी र रोनाल्डोको विशेष खेल हेर्नका लागि लिलामीमार्फत २.६६ मिलियन डलरमा एक टिकट किनेका छन् ।

    साउदी सरकारको मनोरञ्जन विभागले ट्विटरमा जनाएअनुसार मेसी र रोनाल्डोको खेल हेर्न लिलामीमा सबैभन्दा ठूलो बोली लगाएका साउदीको रियल स्टेट समूह अकरवानका महाप्रबन्धक अल–घाम्डीले ‘कल्पना बाहिरको’ टिकट जितेका हुन् ।

    अब उनले भिआइपी टिकट किनेसँगै विशेष ठाउबाट खेल हेर्न दिने, खेलाडीसँग भेट गर्न, र खेलाडीसँग फोटो खिचाउन पाउने लगायतका सुबिधा पाउने भएको साउदी जनरल इन्टरटेनमेन्ट अथरिटीले जनाएको छ । साउदीले यो रकम एहसान नामक च्यारिटीमा जाने समेत बताएको छ ।

    यस खेलको टिकट खुलेको एक घण्टामै २० लाख भन्दा बढी अनलाइन टिकटको अनुरोध समेत आएको आयोजकले जनाएका छन् । यता पिएसजीले यस मैत्रीपूर्ण खेलबाट १० मिलियन युरो कमाई गर्ने भएको छ ।

  • आक्राेशित सीके राउतले रोष्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण

    आक्राेशित सीके राउतले रोष्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण

    काठमाडौं । सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलका क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले सदनमै मौनधारण गरेका छन्।

    सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका हुन्।

    रोस्ट्रममा बोलिरहेका उनले मधेसका सहिदलाई अरु कसैले उठेर सम्मान गर्छन् कि गर्दैनन् भन्दै मौन धारण सुरु गरेका थिए।

    जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरुले १ मिनेट उठेर मौन धारण गरेका थिए। राउतले रोष्ट्रममा मौनधारण गरेपछि अरु सांसदहरूले पनि उभिएर मौनधारण गरेका थिए । मौनधारणमा साथ दिने सांसदहरूलाई उनले धन्यवाद दिए ।

  • सांसद पक्राउ सम्बन्धमा गृहमन्त्रीको घुमाउरो जवाफ, भने-‘विधि र पद्धतिबाहिर जाँदैनौं’

    सांसद पक्राउ सम्बन्धमा गृहमन्त्रीको घुमाउरो जवाफ, भने-‘विधि र पद्धतिबाहिर जाँदैनौं’

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् ।

    बिहीबार सभामुख चयनका लागि भएको प्रतिनिधिसभाको बैठकमा सांसद देवराज घिमिरेको पक्षमा मत माग्दै उनले यस्तो बताएका हुन्। बैठकको सुरुमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या आरोपी सांसद उपस्थित रहेको भन्दै पक्राउ गर्न माग गरेका थिए।

    तर उनको कुराको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले दबाब नदिन भनेका हुन्।

    ‘माननीयज्यू (रामहरि खतिवडा) ले फरार रहेका मानिस संसदमा हुनुहुन्छ पक्राउ गर्नुस् भन्नुभयो। विधि र पद्धतिबाट बाहिर गएर गृहमन्त्रालय दायाँ बायाँ गर्दैन’, उनले भने, ‘प्रक्रियाबाट गृहमन्त्रालय बाहिर जाँदैन। कर्मचारी सरुवा बढुवामा पनि विधि बाहिर जान्न। गृहमन्त्रालय आफ्नो प्रतिवद्धतामा टसमस भएको छैन।’

    महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी कोइली महतोमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी अभियोग छ। उनलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो।

    गृहमन्त्री लामिछानेले पटक-पटक सांसद महतोलाई पक्राउ गरिने बताइरहेका छन् तर उनी पक्राउ भएका छैनन्।

  • माइक्रोसफ्टले किन हटाउने भयो हजारौं कर्मचारी ?

    माइक्रोसफ्टले किन हटाउने भयो हजारौं कर्मचारी ?

    काठमाडौं । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखे अनुसार ‘हजारौं कर्मचारी एक साथ कटौती गर्ने नीतिमा कम्पनी छ । सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको समाचारमा उल्लेख छ । मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो ।


    अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो विश्वव्यापी आर्थिक दृष्टिकोणको प्रतिक्रियास्वरूप कटौती अभ्यासको घोषणा गरेका हुन् । सन् २०२२ को जुन ३० सम्ममा कम्पनीमा दुई लाख २१ हजार पूर्णकालीन कर्मचारीहरू थिए, जसमा संयुक्त राज्य अमेरिकामा एक लाख २२ हजार र १,२२,००० र अन्तर्राष्ट्रिय स्तरमा बाँकी ९९ हजार कर्मचारी रहेका थिए ।

    व्यक्तिगत कम्प्युटर बजारमा आएको मन्दीले विन्डोज र उपकरणहरूको बिक्रीमा असर पारेपछि माइक्रोसफ्टले आफ्नो क्लाउड युनिट ‘एजुयर’मा वृद्धि दर कायम राख्न दबाब दिइरहेको रोयटर्सले जनाएको छ । गत वर्षको जुलाईमा उसले थोरै सङ्ख्यामा रहेका भूमिकाहरू हटाइएको बताएको थियो। गत अक्टोबरमा समाचार साइट एक्जिओसले माइक्रोसफ्टले विभिन्न विभागका करिब एक हजार कर्मचारीलाई जागिरबाट निकालेको जनाएको थियो । एएनआई

  • रोजगारी खोज्दै ६ महिनामा ४ लाख नेपाली विदेशिए

    रोजगारी खोज्दै ६ महिनामा ४ लाख नेपाली विदेशिए

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो ६ महिनामा रोजगारीको खोजीमा ४ लाख नेपाली विदेशिएका छन् । पुससम्म तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)लगायत मुलुकमा गएका छन् । यी भेगमा ८० प्रतिशत मानिस पुगेका छन् । पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् ।

    श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँ छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन् । विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८–६८ हजार र पुसमा ६५ हजारले श्रम स्वीकृति लिएका छन् ।

    सरकारले केही दिनदेखि विराटनगर, जनकपुर, पोखरा, भैरहवा, सुर्खेत र धनगढीबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सम्पूर्ण व्यवस्था गरेको छ । यी स्थानमध्ये केही स्थानबाट सेवा दिन सुरु गरिएको छ भने केही स्थानमा पूर्वाधारका सामान मिलाउने काम भइरहेको विभागले जनाएको छ । आव २०७८–७९ मा छ लाख ३० हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएकामा चालू आर्थिक वर्षको छ महिनामै करिब चार लाख नेपाली युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

  • काठमाडौं–बेइजिङ उडान पुनः सुरु

    काठमाडौं–बेइजिङ उडान पुनः सुरु

    काठमाडौं । तीन वर्षदेखि रोकिएको काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । सन् २०२० को मार्चपछि बन्द रहेको उक्त गन्तव्यमा मङ्गलबारदेखि हिमालय एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडौँ –बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एयरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको एक दिन उडान गर्ने जनाएको छ ।

    माघ २८ गतेदेखि हरेक शनिबार काठमाडौँ–बेइजिङ उडान गर्ने तयारी रहेको एयरलाइन्सले जनाएको छ । चिनियाँ नयाँ वर्षको उत्सव र बिदाको समय चलिरहेकाले काठमाडौँ–बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । चिनियाँ नयाँ वर्षको बिदाको सिजन नजिकिँदै गर्दा, चीन र नेपालको राजधानीबीच सिधा उडान पुनः सुचारु भएको छ ।

  • साउदीमा आज मेसी र रोनाल्डो भिड्दै

    साउदीमा आज मेसी र रोनाल्डो भिड्दै

    काठमाडौं । वर्तमान समयमा दुई महान खेलाडी लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे खेल हुनेछ ।

    यो खेल रियादको किंग फाहद रंगशालामा हुनेछ । मेस्सी र रोनाल्डो २ वर्षपछि एक अर्कासँग खेल्दैछन् । रोनाल्डो अहिले साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा भएको विश्वकप जितेको थियो ।

  • पश्चिम नेपालमा वर्षाको सम्भावना

    पश्चिम नेपालमा वर्षाको सम्भावना

    काठमाडौं । आज मौसममा बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको छ । आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने शुक्रबार र शनिबार नै हिमपात हुनेछ ।

    यसपटक हिउँद सुरु भएदेखि अहिलेसम्म पानी परेको छैन । पहाडी क्षेत्रमा आकाशे पानीको भरमा खेती लगाएका किसानहरू चिन्तित छन् । उनीहरूले वर्षा पर्खिरहेका छन् । आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ । जसका कारण तराईको जनजीवन प्रभावित भएको छ । हुस्सु र कुहिरोले सडक र हवाई यातायात पनि प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

  • मुलुकले पाउनेछ आज नयाँ सभामुख

    मुलुकले पाउनेछ आज नयाँ सभामुख

    काठमाडौं । नेपालले आज नयाँ सभामुख पाउने भएको छ । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको नजिर छ ।

    यसपटक एमाले सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे झापा-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एमालेको स्थायी समिति सदस्यसमेत रहेका घिमिरे यसअघि एकपटक राष्ट्रिय सभा सदस्य पनि निर्वाचित भएका थिए । सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

    सभामुख निर्वाचित हुन बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ । सत्ता गठबन्धनमा रहेका चार दलको मत नै देवराजलाई काफी हुने देखिन्छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा नै १४५ मत अर्थात बहुमत हुन्छ ।

  • सरकारले तोक्यो समर्थन मूल्य

    सरकारले तोक्यो समर्थन मूल्य

    काठमाडौं । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले १ सय १० रुपैयाँका दरले सरकारले उखुको समर्थन मूल्य तोकेको हो । उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ तोक्ने निर्णय गरेको उपप्रधान तथा अर्थन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । उखु किसानले भने मंसिर अन्तिम सातायता क्रसिङ सुरु गरेका छन् ।

    समर्थन मूल्य तोक्न ढिलाई भएपछि किसानले उद्यारोमा उखु बिक्री गर्दै आइरहेका छन् । सरकारले गत आर्थिक वर्ष २०७८–७९ को लागि प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको थियो । उक्त मूल्य सरकारी अनुदानसहित हो । पोहोरभन्दा यसपटक प्रतिक्विन्टर २० रुपैयाँ बढाइएको छ ।

  • सरकारको प्रवक्तामा रेखा शर्मा

    सरकारको प्रवक्तामा रेखा शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन् । आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो । तर उनको स्वास्थ्य समस्या भएकाले आजको बैठकको निर्णय भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनाएका थिए । सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ । मन्त्री शर्मा हिजो मंगलबार मात्र मन्त्री नियुक्त भएकी हुन् ।

  • बेलायती शहर साउथ वार्कका मेयर पोखरामा, प्रकृति देखेर दंग

    बेलायती शहर साउथ वार्कका मेयर पोखरामा, प्रकृति देखेर दंग

    पोखरा । संयुक्त अधिराज्य बेलायतको साउथ वार्कका मेयर सुनील चोपरा नेपाल भ्रमणमा छन् । उनी बुधबार पोखरा पुगे । बुधबार उनलाई पोखरा महानगरपालिका वडा १३ मा वडाध्यक्ष किरण बरालसहितका जनप्रतिनिधिले उनलाई स्वागत गरे । त्यसपछि आयोजना भएको छलफलमा उनीहरुले अनुभव आदान–प्रदान तथा विकासका कामबारे कुराकानी गरे । मेयर चोपराले पोखराको सुन्दरताले आफूलाई मोहित बनाएको र योजनावद्ध विकास गर्ने हो भने यो सहर विश्वकै सुन्दर बन्ने बताए । उनले पोखरा देखेर रोमाञ्चित भएको पनि बताए ।

    वडाध्यक्ष बरालले महानगर तथा वडाले प्राथमिकताका साथ गरिरहेको कामबारे जानकारी गराएका थिए । उनीहरुबीच दुई स्थानीय तहबीच सम्बन्ध जोड्ने विषयमा पनि छलफल भएको छ । चोपराले आपसी भाइचारा कायम गर्न र यहाँको विकासमा सहयोग गर्न तयार रहेको बताएका थिए । पोखरा घुम्न आएका मेयर चोपराले विभिन्न पर्यटकीय ठाउँको भ्रमण गरिरहेका छन् । चोपराले बिहीबार बेलायतका राजकुमार चार्ल्स हिँडेको पोखरा–२६ को रुटमा पदयात्राका लागि जाँदैछन् ।

  • कांग्रेसबाट सभामुखमा ईश्वरीको उम्मेदवारी, समर्थकमा प्रकाश ज्वाला

    कांग्रेसबाट सभामुखमा ईश्वरीको उम्मेदवारी, समर्थकमा प्रकाश ज्वाला

    काठमाडौं । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखको उम्मेदवारी दर्ता गराएकी छन् ।

    बुधबार बानेश्वरस्थित संसद भवन पुगेर समानुपातिक सांसद् न्यौपानेले उम्मेदवारी दर्ता गराएकी हुन् ।

    प्रस्तावकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन्।

    कांग्रेस सांसद न्यौपाने कैलालीकी हुन्। उनी कांग्रेस केन्द्रीय सदस्य हुन्। उनले लामो समय महिला संघमा काम गरेकी थिइन् भने महिला विभाग प्रमुख भएर पनि पार्टीमा काम गरेकी थिइन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्।

  • ओरालो लाग्यो शेयर बजार, ४ अर्ब ९२ करोडको कारोबार

    ओरालो लाग्यो शेयर बजार, ४ अर्ब ९२ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)९.१अंकले घटेर २१७३.१० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४८ कम्पनीको ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये तीन समूह बाहेक अरु सबै उपसमूहको परिसूचकमा राताम्मे भएको छ ।

    झिनो अंकले घटेको बजारमा चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ भने बाराही हाइड्रो, हिमालय उर्जा विकास कम्पनी, ग्रिन भेञ्चर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    आज साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

    आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३५ करोड ७८ रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, अपी पावरको १९ करोड ७६ लाखको कारोबार भएको छ ।

  • ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक, प्रवक्ताबाट हटायो

    ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक, प्रवक्ताबाट हटायो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ।

    राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। केन्द्रीय कमिटी बैठकले शाहीलाई प्रवक्ताबाट हटाएको राप्रपाको विज्ञप्तिमा उल्लेख छ।

    ‘ज्ञानबहादुर शाहीलाई पार्टी प्रवक्ता बाट पदमुक्त गरी प्रवक्ता तथा प्रचार प्रसार विभाग मोहन श्रेष्ठलाई लाई जिम्मेवारी दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका शाही प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने पनि चर्चा थियो ।

  • सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी, प्रस्तावक नेम्वाङ र समर्थक पाण्डे

    सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी, प्रस्तावक नेम्वाङ र समर्थक पाण्डे

    काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरस्थित लोत्से हलमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

    सत्ता गठबन्धनका दलहरूबीच सभामुख एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ । सभामुख पदका लागि एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरूले पनि आकांक्षा देखाएका थिए।

    पार्टीभित्र योगदान पनि भएको, क्षमता पनि भएको र दलित तथा आदिवासी जनजाति समुदायबाट सभामुख बनाउँदा सन्देशका हिसाबले पनि राम्रो सन्देश जाने हुनाले त्यस लाइनबाट पनि कतिपय एमालेका नेताले गुरुङलाई अगाडि सारेका थिए भने कतिपय नेताले विश्वकर्मालाई अगाडि सारेका थिए।

    तर‚ अध्यक्ष ओली भने पुराना नेता भएको र आफ्नो विश्वास पात्र पनि भएकाले गृहजिल्लाका घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने पक्षमा थिए।

    घिमिरे ०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए ।

    ०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् ।

  • जन्म गाउँमा पाइलट केसीको शालिक बनाइने

    जन्म गाउँमा पाइलट केसीको शालिक बनाइने

    काठमाडौं । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण हुने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरिने भएको हो । दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुन् ।

    गाउँपालिकाले उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुन् । गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए । मङ्गलवार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो ।

    केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आएका थिए । उनले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गरेका थिए । पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । यही माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये एक जनाको शव प्राप्त भइसकेको छैन । खोजी कार्य आज पनि जारी रहेको नेपाली सेनाले जनाएको छ ।