Category: फिचर

  • भोजपुरी कलाकार खेसरीलाल सहभागी कार्यक्रममा यस वर्ष पनि झडप

    भोजपुरी कलाकार खेसरीलाल सहभागी कार्यक्रममा यस वर्ष पनि झडप

    काठमाडौं । भारतीय भोजपुरी कलाकार खेसरीलाल यादव सहभागी कार्यक्रममा यस वर्ष पनि झडप भएको छ । सुनसरीको बर्जु गाउँपालिकामा–६ मा भएको बर्जु महोत्सवमा झडप भएको हो । झडपमा प्रहरीसहित पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेको उपचार जारी छ ।

    मेला आयोजकले लिएको प्रवेश शुुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको हो । गत वर्ष पनि खेसरीलालको कार्यक्रम हेर्न आएका दर्शकबीच झडप भएको थियो । सो क्रममा खेसरीलालले असन्तुष्टी जनाएका थिए । तराई भेगमा भोजपुरी कलाकार लोकप्रिय मानिन्छन् ।

  • मौसम अझै केही दिन चिसो बढ्ने अनुमान

    मौसम अझै केही दिन चिसो बढ्ने अनुमान

    काठमाडौं । बुधबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ ।

    पश्चिमी न्यून चापीय प्रणालीकै कारण भोलि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । मौसमविद्हरुका अनुसार बिहीबार केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । अबको तीन दिन नै उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको समेत पनि सम्भावना छ ।

  • क्रोएसिया हिँडेका २१ जना त्रिभुवन विमानस्थलबाट पक्राउ

    क्रोएसिया हिँडेका २१ जना त्रिभुवन विमानस्थलबाट पक्राउ

    काठमाडौं । क्रोएसिया जान लागेका २१ जनालाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना लगायत २१ जना पक्राउ परेको बताइएको छ । प्रहरीका अनुसार दुबई हुँदै क्रोएसिया जान लागेका उनीहरुको साथबाट जनही २ हजार देखि ३ हजार युरो बरामद भएको छ । तर, राहदानीमा त्यति रकम दरपिट भएको थिएन ।

    सोधपुछका क्रममा पदमबहादुर विश्वकर्माले पठाएको बयान दिएपछि प्रहरीले उनलाई पनि विमानस्थलको गेट बाहिर पक्राउ गरेको छ । उनको साथबाट १ लाख २० हजार रुपैयाँ बरामद भएको छ। थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

  • सभामुख निर्वाचन प्रक्रिया आजबाट सुरु

    सभामुख निर्वाचन प्रक्रिया आजबाट सुरु

    काठमाडौं । प्रतिनिधि सभाका सभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज मनोनयन दर्ताको समय तोकिएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ ।

    प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्निन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो । सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ ।

    गठबन्धनका तर्फबाट एमालेबाट निर्वाचित सांसदले उम्मेदवारी दर्ता गराउनेछन् । एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छैन । सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली कांग्रेस भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन् ।

  • गैरआवासीय नेपाली संघले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?

    गैरआवासीय नेपाली संघले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?

    काठमाडौं । गैरआवासीय नेपाली संघले १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कम्पनी कार्यान्वयनमा ल्याउन रहेका अप्ठ्यारा फुकाउन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष माग गरेको छ । एनआरएनएका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलले पौडेललाई मंगलबार भेटेको हो । संघका अध्यक्षहरुले लामो समयदेखि संघले उठाउँदै आएका माग सम्बोधन गर्न आग्रह गरे ।

    गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका लाखौं नेपालीहरु नेपालमा लगानीका लागि उत्साहित भएपनि विभिन्न कानूनी र नीतिगत कठिनाईका कारण समस्या परेकोले त्यस्ता कठिनाई हटाउन आग्रह गरिन् । अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाईविना कुनै उल्झन लगानी गर्न पाउने वातावरण निर्माण गर्न अर्थमन्त्री समक्ष आग्रह गरिन् ।

    संघका अर्का अध्यक्ष डा। बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । अध्यक्ष केसीले नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड कम्पनी कार्यान्वयनमा ल्याउन विद्यमान समस्याबारे जानकारी गराएका थिए ।

    केसीले कम्पनीको कार्यक्षेत्र तथा एनआरएनले लगानी भित्राउन धितोपत्र सम्बन्धी नियम, लगानीको स्वीकृति विधि, लगानीको लेखाङकन विधि, लगानीको प्रतिफल फिर्ता विधि तथा धितोपत्रको कारोबार विधि लगायतको निर्माण तथा संशोधन गरी तुरुन्त काम अगाडि बढाउन अर्थमन्त्रीसमक्ष माग गरे ।

    अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गरे । अध्यक्ष केसीले डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाइ समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन आग्रह गरे ।


    जवाफमा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका संघले जनाएको छ । गैरआवासीय नेपालीले नेपालमा गरिरहेको लगानीप्रति नेपाल सरकार जानकार रहेको भन्दै आगामी दिनमा पनि लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले बताए ।

  • डा. सन्दुक रुइतले पाए १३ करोड रुपैयाँ राशीको इशा अवार्ड

    डा. सन्दुक रुइतले पाए १३ करोड रुपैयाँ राशीको इशा अवार्ड

    काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पिाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् ।

    मानवीय सेवा तर्फको इसा अवार्ड घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले भने, ‘नेपाली नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान गर्ने निर्णय गरेका छौं ।’

    इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गरेकाले उनको योगदानको सम्मान गरिएको बताए । ‘उनले हजारौं मानिसहरूको दृष्टि बचाउन सफल भए, उनी नभएको भए उनीहरु सधैं दृष्टि बिहीन हुने थिए ।’

    डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेको छ । जसले गर्दा गरिबहरुले पनि दृष्टि पाएका छन् । यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए । अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ । रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन् ।

  • तनहुँ जिल्ला अदालतबाट बालिका करणीको अभियोगमा पल शाहले पाए सफाइ

    तनहुँ जिल्ला अदालतबाट बालिका करणीको अभियोगमा पल शाहले पाए सफाइ

    काठमाडौं । जिल्ला अदालत तनहुँले नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट पल शाह सफाई पाएका दिएको छ ।

    न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै उनलाई सफाई दिएको हो।

    एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।

    उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना तोकेको थियो।

    शाहको तर्फबाट तनहुँ जिल्ला अदालतको फैसला पुरावेदनको लागि उच्च अदालत पोखरामा दायर भएको छ। उनी हाल तनहुँ कारागारमा छन्।

  • शहरी विकासमन्त्री पाण्डेको प्रतिबद्धता-‘देशभरका तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने’

    शहरी विकासमन्त्री पाण्डेको प्रतिबद्धता-‘देशभरका तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने’

    काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाएका छन् ।

    मंगलबार शहरी विकास मन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरूको तुइनबाट खोला तर्दा खोलामा खसेर मृत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताएका हुन् । उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने जिकिर गरे ।

    मन्त्री पाण्डेले अब नेपालको कालीगण्डी क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताए । उनले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताए ।

    मन्त्री पाण्डेले विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको उल्लेख गरे । उनले काम सुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नका लागि मन्त्रालयमा आएको बताए ।

    शहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रूपमा अगाडि बढाउने मन्त्री पाण्डेकाे भनाइ छ ।

  • नवनियुक्त श्रममन्त्री भन्छन् : बाध्यताले विदेशिने अवस्था शून्यमा झार्छु

    नवनियुक्त श्रममन्त्री भन्छन् : बाध्यताले विदेशिने अवस्था शून्यमा झार्छु

    काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्।

    श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताए।

    उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ,’ अर्यालले भने ।

    स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ ।

    ‘दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ,’ उनले भने, ‘त्यसको निराकरणका लागि मैले काम गर्छु ।’

  • २३ दिनपछि मन्त्रिमण्डल विस्तार ,कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

    २३ दिनपछि मन्त्रिमण्डल विस्तार ,कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

    ११ पुसमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए। त्यसपछि आज (मंगलबार) १४ मन्त्री नियुक्त भएका हुन्।

    नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण लिएका छन्।

    प्रधानमन्त्रीः

    –पुष्पकमल दाहाल प्रचण्ड

    उपप्रधानमन्त्रीहरूः

    –विष्णु पौडेल, अर्थमन्त्री

    –नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री

    –रवि लामिछाने, गृहमन्त्री

    –राजेन्द्र लिङ्देन, ऊर्जामन्त्री

    मन्त्रीहरूः

    –ज्वालाकुमारी साह, कृषिमन्त्री

    –दामोदर भण्डारी, उद्योगमन्त्री

    –राजेन्द्रकुमार राई, भूमि, व्यवस्था तथा सहकारी मन्त्री

    –अब्दुुल खान,

    –विमला राई पौडेल, परराष्ट्रमन्त्री

    –पदम गिरी, स्वास्थ्यमन्त्री

    –भगवती चौधरी, महिला बालबालिका मन्त्री

    –हरि उप्रेती, रक्षा मन्त्री

    –रेखा शर्मा, सञ्चारमन्त्री

    –सुदन किराती, संस्कृतिमन्त्री

    –अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री

    –सुशिला श्रीपाली, पर्यटन राज्यमन्त्री

    –डोलप्रसाद अर्याल, श्रममन्त्री

    –शिशिर खनाल, शिक्षामन्त्री

    –तोसिमा कार्की, स्वास्थ्यमन्त्री

    –ध्रुवबहादुर प्रधान, कानुनमन्त्री

    –विक्रम पाण्डे, सहरी विकासमन्त्री

    –दीपक सिंह, ऊर्जा राज्यमन्त्री

  • यस्तो बन्यो ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

    यस्तो बन्यो ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

    काठमाडौं । सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् ।

    सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।

    त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।

    माओवादी केन्द्रले प्रधानमन्त्री पाएकाले राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ ।

    एमालेबाट
    १. बिमला राई पौडेल – परराष्ट्
    २. पदम गिरी – स्वास्थ्य
    ३. भगवती चौधरी
    ४. हरि उप्रेती

    माओवादीबाट

    १. रेखा शर्मा – संचार मन्त्रालय
    २. सुदन किराँती – पर्यटन
    ३. अमनलाल मोदी सघिय मामिला

    रास्वपाबाट

    १.डोलप्रसाद अर्याल – श्रम
    २.शिखिर खनाल – शिक्षा
    ३.तोसिमा कार्की – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

    राप्रपाबाट

    १ राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा
    १. ध्रुवबहादुर प्रधान – कानुन
    २. विक्रम पाण्डे – सहरी विकास
    ३. दिपक सिंह: ऊर्जा राज्यमन्त्री

  • माओवादीबाट रेखालाई सञ्चार र सुदनलाई पर्यटन मन्त्रालय

    माओवादीबाट रेखालाई सञ्चार र सुदनलाई पर्यटन मन्त्रालय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डाको सहमति भएसँगै मन्त्रीहरूको नाम टुंगो लगाएको हो ।

    माओवादीले रेखा शर्मालाई रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराँतीलाई संस्कृति पर्यटन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको छ ।

    भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका किराँतीले एमालेका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। त्यस्तै, शर्माले दाङबाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्।

    एक राज्यमन्त्री टुंग्याउन बाँकी रहेको छ । मााओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन्।

  • शिक्षा मन्त्रीमा शिशिर खनाल, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

    शिक्षा मन्त्रीमा शिशिर खनाल, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोशिमा कार्कीलाई पठाउने भएको छ ।

  • मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता

    मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता

    काठमाडौं । मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेसँगै आज मन्त्रिपरिषद् बिस्तार गरिँदैछ । त्यसअगाडी पार्टीहरुले मन्त्रीको नाम टुंगो लगाउने छन् ।

    दलका शीर्ष नेताहरूले आफ्नो पार्टीलाई परेको भागका आधारमा मन्त्रीको नाम दिएपछि ती नाम राष्ट्रपति कार्यालय पठाइनेछ। मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने कार्यक्रम छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत पुस १० मा ७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस ११ मा उनले ८ मन्त्रीसहित शपथ लिएका थिए। मन्त्री भएकामध्ये केहीलाई मन्त्रालयको जिम्मेवारी दिइएको थिएन भने १७ मन्त्रालय प्रधानमन्त्री आफैंले हेर्दै आएका छन् ।

  • पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने

    पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने

    काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाठौँ ल्याइने भएको छ। दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेको छ । नेपाली सेनाको हेलिकप्टरबाट शवहरु काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि ल्याउने तयारी छ ।

    आफन्तबाट पहिचान भएका शव पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ। पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिन्छ । शव काठमाडौं ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको छ ।

  • कुन मन्त्रालयको नेतृत्व कुन पार्टीलाई ?

    कुन मन्त्रालयको नेतृत्व कुन पार्टीलाई ?

    काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय बाडफाँडमा समेत सहमति जुटेको छ । जस अनुसार सबैभन्दा धेरै मन्त्रालय एमालेले पाएको छ । उसको भागमा उप्रप्रधानसहित अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । माओवादी केन्द्रको भागमा उपप्रधानसहित भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ ।

    रास्वपा पार्टीले गृहसहित शिक्षा र श्रम मन्त्रालय पाएको छ । राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । जनमत पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ ।

    तर उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम रहेको बताइएको छ । उपप्रधान तथा गृहमन्त्री लामिछानेका अनुसार मन्त्रालय भागवण्डा टुंगिएको छ र भोलि दिउँसो १ बजे मन्त्रीहरुको सपथ तय गरिएको छ । आन्तरिक छलफलमा मन्त्रालय हेरफेर हुनसक्ने बताइएको छ ।

  • यसरी मिल्यो सत्ता भागवण्डा, कुन पार्टीले के पाए ?

    यसरी मिल्यो सत्ता भागवण्डा, कुन पार्टीले के पाए ?

    काठमाडौं । सत्तारुढ दलहरुबीच सत्ताको भागवण्डा मिलेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लागेको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो ।

    आज मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार भोलि १ बजे मन्त्रीहरुको सपथ कार्यक्रम तय भइसकेको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ । उपराष्ट्रपति माओवादीले पाएको छ । जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो । प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ । त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् ।

    अब सभामुख एमालेले पाउनेछ । सत्ता गठबन्धनको भागवण्डामा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । उच्चस्तरीय संयन्त्रको बैठकले मन्त्रालयहरुको भागवण्डा पनि टुंगो लगाएको छ । जसअनुसार एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३–३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछ । जसपालाई २ मन्त्रालय छुट्याइएको छ ।

  • अमेरिकामा पुन: अन्धाधुन्ध गोली हानियो, कम्तिमा ६ जनाको मृत्यु

    अमेरिकामा पुन: अन्धाधुन्ध गोली हानियो, कम्तिमा ६ जनाको मृत्यु

    क्यालिफोर्निया । अमेरिकाकाको क्यालिफोर्निया स्थित गोशेनमा अन्धाधुन्ध गोली चलेको छ । सो क्रममा छ महिनाको बच्चासँगै कम्तिमा ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान गरेका छन् । घटनामा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार बिहान मध्य क्यालिफोर्नियामा गोलीबारी भएको थियो ।

    प्रहरी अधिकारी बोउडरेउक्सका अनुसार अभियुक्तले एउटा घरमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो। यसको भिडियो टुलारे काउन्टी शेरिफ अफिसको फेसबुक पेजमा पोस्ट गरिएको थियो । मृत्यु हुनेमा १६ वर्षीया आमा र उनको ६ महिनाको बच्चा रहेको बताइएको छ । यो परिवारलाई जानाजानी निशाना बनाइएको र आक्रमणमा एउटा गिरोह संलग्न रहेको देखिन्छ। एक हप्ता अघि पीडितको घरमा लागूऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो ।

  • गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग प्रधानमन्त्रीको भेट, के दिए सन्देश ?

    गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग प्रधानमन्त्रीको भेट, के दिए सन्देश ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा उनले भने, ‘विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल विदेशमा बस्ने बहुसङ्ख्यक नेपालीको मन जित्छु ।’

    प्रधानमन्त्री प्रचण्डले अघि थपे, ‘नेपालका कतिपय परम्परागत ऐन कानुन छन् जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईँलाई विश्वस्त पार्न चाहन्छु कि म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।’ भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानुनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए ।

    विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्‍याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै उनले गैरआवासीय नेपालीप्रति आभार व्यक्त गरे । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिकरूपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरू थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति उनले खुसी व्यक्त गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सङ्घका तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।

  • पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था

    पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था

    काठमाडौं । पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम मंगलबार बिहानसम्म स्थगित भएको छ। सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ। अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी गराएका छन् ।

    आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको हो । पोखरा महानगरपालिका(१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटनामा परेको हो। जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए। फेला परेका शवको पनि सनाखत गर्ने काम भइरहेको छ। यस्तै विदेशी नागरिक, काठमाडौंमा बुझ्ने, पहिचान नखुलेको र चालक दलको शव काठमाडौं ल्याउने तयारी छ।

  • यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन

    यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन

    काठमाडौं । यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ ।

    नेपालका सबै वायुसेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानपूर्व गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षण जस्ता कामहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा सिफारिस र वायुयान निर्माता कम्पनीको मापदण्ड अनुसार हुने गरेको समेत निरौलाले जनाएका छन् । दुर्घटनालगत्तै बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

  • रियल मड्रिडद्वारा नेपालको विमान दुर्घटनाप्रति दु:ख व्यक्त

    रियल मड्रिडद्वारा नेपालको विमान दुर्घटनाप्रति दु:ख व्यक्त

    एजेन्सी । आइतबार नेपालमा भएको विमान दुर्घटनाप्रति स्पेनिस फुटबल क्लब रियल मड्रिडले दु:ख व्यक्त गरेको छ।

    सोमबार क्लबको आधिकारिक फेसबुक पेजमा एक सन्देश जारी गर्दै रियलले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो। साथै, दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरूलाई समवेदना प्रकट गरेको छ।

    ‘नेपालमा भएको जहाज दुर्घटनामा आफ्ना प्रिय आफन्त गुमाउने सबै परिवारलाई हामी समवेदना प्रकट गर्दछौं’, रियलले भनेको छ, ‘हामी हाम्रो सम्पूर्ण शक्ति र साहस पीडित परिवारप्रति समर्पित गर्न चाहन्छौं।’

  • भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो

    भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो

    काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन ९आइओसी० ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलको मूल्य बढेको छ भने डिजेलको घटेको छ ।

    नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको र डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।

    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

    महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ।

    आइतबार छापावाल सुन तोलाको एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको एक लाख चार हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

    चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

  • कांग्रेसले विश्वासको मत दिएपछि अलमलिएका ‘प्रचण्ड’ को दौडधुप

    कांग्रेसले विश्वासको मत दिएपछि अलमलिएका ‘प्रचण्ड’ को दौडधुप

    काठमाडौं । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धन मन्त्रिपरिषद् विस्तारमा अलमलिएको छ ।

    कांग्रेससँग गठबन्धन टुटाएर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन।

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनको निवास बालकोट पुगेका छन्।

    अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छ। आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन् । सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ ।

    बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।

  • यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ भेटियो

    यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ भेटियो

    काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।

    आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको हो ।

    ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।

    प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

    ब्ल्याक बक्स के हो ?

    ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ। ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ।विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ।

    ‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने।

    प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन्। तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन्। फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डर । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ।

  • दुर्घटनामा चार जना अझै वेपत्ता, खोजी सुरु

    दुर्घटनामा चार जना अझै वेपत्ता, खोजी सुरु

    काठमाडौं । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्। आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्। रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएन। आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ।

    पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ। काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। चालक दलका ४ जना सदस्यसहित यति एयरलाइन्सको जहाजमा ७२ जना थिए।

  • जहाज दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा

    जहाज दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा

    काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९ एन एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो ।

    विमानमा चालक दलसहित ७२ जना थिए । घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।

  • यती एयरलाइन्सका आजका सबै उडान रद्द

    यती एयरलाइन्सका आजका सबै उडान रद्द

    काठमाडौं । यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द भएको छ । पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ । कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ ।

    कम्पनीको नाइन एन एएनसी एटीआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि दुर्घटना भएको थियो । विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । पछिल्लो अपडेट अनुसार ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

  • जहाज दुर्घटनामा परेकाको शव आज परिवारलाई बुझाइने

    जहाज दुर्घटनामा परेकाको शव आज परिवारलाई बुझाइने

    काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई जिम्मा लगाइने भएको हो । पहिचान भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

    पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको उनले बताए । दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना थिए । ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । केही शव दुर्घटनास्थलबाट निकाल्न कठिनाइका भएको छ भने केही फेला परेका छैनन् । आज पनि उद्धारको काम जारी छ ।