Category: फिचर

  • आज छुट्दैछन् सन्दीप

    आज छुट्दैछन् सन्दीप

    काठमाडौं । बलात्कार अभियोगमा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त बन्दैछन् । उच्च अदालत पाटनको आदेशपछि उनी धरौटीमा छुट्न लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्छ ।

    उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेसँगै उनी थुनामुत्तध्m हुने भएका हुन् । नाबालिकामाथि बलात्कार गरेको आरोप उनीमाथि छ । सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनी केन्द्रीय कारागारमा छन् ।

    जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । भदौ २१ मा सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी परेको थियो । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो ।

  • घनश्याम भुसाल समाजवादी प्रवेश गर्दै

    घनश्याम भुसाल समाजवादी प्रवेश गर्दै

    काठमाडौं । कम्यूनिष्ट नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भएको छ । शुक्रबार दिउँसो एक कार्यक्रम आयोजना गरी पार्टीले घनश्यामलाई पार्टी प्रवेश गराउन लागेको हो । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै बसे ।

    गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरे । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उनी पराजित भएका थिए । एकीकृत समाजवादीमा फर्किएका भूसालले कुन जिम्मेवारी पाउँछन् भन्ने खुलिसकेको छैन । यद्यपि पार्टीभित्र उनलाई महासचिव वा उपाध्यक्ष पद दिने विषयमा छलफल चलिरहेको बताइएको छ ।

  • मकवानपुरमा स्कुटर  दुर्घटना, तीन जनाको मृत्यु

    मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु

    हेटौडा । पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटनामा परेको छ । सो क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकोछ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् । धर्मराज मोक्तानलाई शुक्रबार बिहान ३ः३५ बजे तथा मिलन मोक्तान र रुपेश तामाङलाई अस्पताल पुर्याए लगत्तै (सवा १२ बजे) डाक्टरले मृत घोषणा गरेका थिए ।

    इलाका प्रहरी कार्यालय मनहरीका अनुसार गएराति करिब पौने ११ बजेतिर मनहरी गाउँपालिका–९ को ज्यामिरे, भलादमी चोकमा स्कुटर दुर्घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तीनैजनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाएको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

  • अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, घुस दिनेलाई समेत जेल

    अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, घुस दिनेलाई समेत जेल

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको हो । घुस लिएको अभियोगमा अख्तियारले आफ्नै आयुक्तविरुद्ध विशेष अदालतमा चलाएको मुद्दामा बिहीबार उनी दोषी ठहर भएका छन् ।
    विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगका अनुसार उनलाई ३९ लाख रुपैयाँ जरिवाना र तीन वर्ष तीन महिना कैदको फैसला भएको छ ।

    उनीसँग घुस काण्डमा जोडिएका लम्बोदर न्यौपानेलाई पनि अदालतले दोषी ठहर गर्दै ३९ लाख जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीसहरु यमुना भट्टराई, बलभद्र बाँस्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । नेपाल सरकारको जग्गा भोगचलन गरेर सञ्चालन भएको नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

    उजुरी छानबिनको साटो अख्तियारका आयुक्त राजनारायण पाठकले न्यौपानेसँग सम्पर्क अघि बढाउँदै अनियमितताको फाइल बन्द गरिदिने प्रलोभनमा ७८ लाख रुपैयाँ घूस लिएको पुष्टी भएको छ । घूस लिएर फाइल बन्द नगरेपछि विवाद बढ्दै जाँदा रकम लिएको भिडियो बाहिरिएको थियो । त्यसपछि पाठकले पदबाट राजीनामा दिएका हुन् ।

  • दूतावासहरुमा पर्याप्त कर्मचारी छैनन् : परराष्ट्र सचिव

    दूतावासहरुमा पर्याप्त कर्मचारी छैनन् : परराष्ट्र सचिव

    काठमाडौं । परराष्ट्र सचिव भरतराज पौडेलले विदेशमा रहेका नेपाली राजदूतावासमा पर्याप्त जनशक्ति नहुँदा कूटनीतिक कामहरूमा ध्यान दिन नसकिएको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्गर्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव पौडेलले नेपालका झन्डै आधाभन्दा बढी मिसनहरू वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामा लाग्नुपरेको बताएका हुन् ।

    ‘हाम्रा दूतावासहरू धेरै साना साइजका छन् । पर्याप्त जनशक्ति छैन । भएको जनशक्ति नेपालीहरुको उद्धार लगायतका समस्या समाधानमा नै केन्द्रित हुने गरेको छ,’ सचवि पौडेलले समितिको बैठकमा भने, ‘जसकारण अन्य कुराहरुमा ध्यान दिन सकेको छैन भन्ने गुनासो छ । ३,४ जनाले कति काम गर्न सक्छन् रु’ उनले मुलुकको आर्थिक स्थितिलाई हेरेर धेरै वर्षअघि खुलेका संरचनाहरूको सुधार हुनुपर्ने आवश्यक्ता औंल्याए ।

    नेपालबाट वैदेशिक रोजागारीमा जानेहरूका समस्या समाधान गर्न समय लाग्ने भएकाले दूतावासहरूले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा काम गर्न नसकिने अवस्था रहेको बताए । नेपालजस्तै वैदेशिक रोजगारीमा पठाउने अन्य मुलुकका दूतावासको क्षमता बढी भए पनि अरूको तुलनामा नेपाली दूतावासहरूले बढी काम गरेको दावी गरे ।

  • सन्दीपले उपत्यका छाड्दा अनुमति लिनुपर्ने, पिडित युवतीसँग भेट्न नपाउने

    सन्दीपले उपत्यका छाड्दा अनुमति लिनुपर्ने, पिडित युवतीसँग भेट्न नपाउने

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन् । उच्च अदालत पाटनले उनलाई रहा गर्न आदेश गरेको छ । तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । उच्च अदालत पाटन स्रोतका अनुसार उनको गतिविधिलाई प्रहरीले निगरानी गरिरहने भएको छ ।

    लामिछानेले पीडित परिवारसँग पनि कुनै सूत्रमार्फत सम्पर्क गर्न नपाउने आदेशमा उल्लेख छ । उनीमाथि बलात्कारको आरोप लागेको छ । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

  • सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

    सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनले नेपाल छाड्ने पाउने छैनन् । नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो ।

  • बालुवाटारमा ओली–प्रचण्डबीच छुट्टै छलफल, सत्तारूढ घटकको बैठक अन्योलमा

    बालुवाटारमा ओली–प्रचण्डबीच छुट्टै छलफल, सत्तारूढ घटकको बैठक अन्योलमा

    काठमाडौं । गठबन्धनकै प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन् ।

    बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्।

    सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अझै सुरु भएको छैन । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सुरु नभएको हो ।

    संसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा टुंगिसकेको छैन।

    स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्ने ओली बालुवाटार पुगेका हुन्। यसअघि बुधबार साँझ ‌ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनको निवास बालकोट पुगेका थिए।

  • आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

    आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् ।

    आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए ।

    ‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु,’ उनले भने, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए ।

    उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु,’ उनले भने ।

    उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ छ । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्ठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए । यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए ।

    उनले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने स्पष्ट पारे । सबै निकायसँग समन्वय गरेर मुलुको विकासका काम गरिने उनको भनाइ छ ।

  • उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)४१.२ अंकले घटेर २१४९.४१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५२ कम्पनीको ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको १ करोड ४४ लाख ८२ हजार ९५९कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये एकवटाबाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशतले कमाएका छन् ।

  • सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कर्णालीमा भीमप्रसाद ढकाल

    सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कर्णालीमा भीमप्रसाद ढकाल

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा गरेको हो ।

    प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।

    अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् ।

    प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन् । त्यस्तै प्रशासन विभाग तथा आर्थिक प्रशासन महाशाखाका दीपक थापा वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा भएका छन् ।

    मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।

  • भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध

    भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध

    काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले भारतीय कम्पनीले बनाएको दुई कफ सिरपको प्रयोगमा रोक लगाएको छ । डब्लूएचओले बुधबार मरीन बायोटिकले बनाएको कफ सिरप प्रयोग गर्न योग्न नभएको निष्कर्ष निकाल्दै यस्तो सिफारिस गरेको हो । विश्व स्वास्थ्य संगठनले यी औषधी पूर्णतया रोक्न समेत भनेको छ । साथै मुलुकहरुले यो औषधीको प्रयोग रोक्न निगरानी गर्न समेत भनेको छ । उज्जवेकिस्तानमा यसको सेवनबाट १९ जना बालबालिकाको ज्यान गएपछि संगठनले अनुसन्धान थालेको थियो ।

    उक्त अनुसन्धानपछि डब्लूचएओ यसको प्रतिवन्धको निष्कर्षमा पुगेको हो । संगठनले एएमबीआरओएनओएल सिरिप र डीओके–१ म्याक्स सिरपको प्रयोगमा रोक लगाएको छ । अनुसन्धानका क्रममा यी औषधीमा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा अत्यधिक पाइएको छ । यसअघि हालै उत्तर प्रदेशको खाद्य सुरक्षा तथा औषधी प्रशासनले मरीन बायोटेकको लाइसेन्स रद्द गरेको थियो ।

  • बिहीबार कस्तो रहने छ मौसम ?

    बिहीबार कस्तो रहने छ मौसम ?

    काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।

    विभागले आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागहरूमा बाक्लो हुस्सु\कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य,सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    महाशाखाको पछिल्लौ विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरी न्यूनतम तापक्रम माइन शून्य दशमलव नै डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

  • नेपाल टेलिकमले ल्यायो विण्टर प्याकेज, के-के छन् सुविधा ?

    नेपाल टेलिकमले ल्यायो विण्टर प्याकेज, के-के छन् सुविधा ?

    काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर सार्वजनिक गरेको छ । पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’ लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ। विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ। यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रू १९९ देखि रू ६९९ सम्मका सुलभदरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन्।

    यस अफरअन्तर्गत रू ६९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    यस्तै पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको रू ३७३ मा ३० दिनसम्म प्रयोग गर्न सकिने अननेट ८०० मिनेटको भ्वाइस प्याक र रु। ३७३ मै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डेटा प्याकमा रेन्टल समावेश गरी निरन्तरता प्रदान गरिएको छ। सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत रु। ५९९, ७९९, ९९९ र १४९९ का असीमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध छन्।

    यसमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जीबी डेटा प्रयोग गर्न सकिने ३० दिनको रु ५९९ को प्याक उपलब्ध छ। यीबाहेक पहिलादेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ।

  • विश्वकप विजेता बनेपछि पहिलो पटक मैदानमा मेसी, गरे गोल

    विश्वकप विजेता बनेपछि पहिलो पटक मैदानमा मेसी, गरे गोल

    काठमाडौं । विश्वकपपछि पहिलो पटक लियोनल मेसी मैदानमा उत्रिएका छन् । उनले विश्वकप पछिको पहिलो खेलमा पनि गोल गर्न सफल भए । उनको क्लव पिएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ। गतराति एन्जर्सविरूद्ध घरेलु मैदानमा पिएसजीले २–० को जित निकाल्ने क्रममा मेसीले गोल गरेका हुन् । पिएसजीको जितमा मेसी र ह्यूगो इकिटिकेले गोल गरे।

    पाँचौ मिनेटमा इकिटिकेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाए । पहिलो हाफसम्म १–० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा अग्रता दोब्बर पारेको हो । ७२ औं मिनेटमा मेसीले गोल गरेका हुन् । एम्बाप्पे बिदामा रहेका कारण खेलमा उपस्थित थिएनन् ।

  • अफगानिस्तानको विदेश मन्त्रालय नजिकै बम विष्फोट, कम्तिमा २० जना मारिए

    अफगानिस्तानको विदेश मन्त्रालय नजिकै बम विष्फोट, कम्तिमा २० जना मारिए

    काबुल । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोटमा परी कम्तिमा २० जना मारिएका छन् । बम विस्फोटमा परी २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । प्रहरीले अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टी गरेको छ । आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् । टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो ।

    बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ । चिनियाँ अधिकारीहरुले अफगानिस्तानका अधिकारीहरुसँग विदेश मन्त्रालयभित्र छलफलको तयारी गरिरहेको बेला बम विस्फोट भएको थियो ।

    काबुल सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिएको छ र त्यसको बदला लिने चेतावनी दिएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । तालिबान विद्रोही अफगानिस्तानको सत्तामा फर्किएपछि ठूला आक्रमणका घटना हुँदै आएका छन् । अफगानिस्तानमा भएका धेरैजसो ठूला आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिंदै आएको छ ।

  • कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ

    कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ

    कैलाली । कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका(९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा नगरपालिका-४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए ।

    उनकाअनुसार विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

    विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

    काठमाडौं । सन् २०२३ मा विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी देखिने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०२३ को पहिलो आउटलुक सार्वजनिक गर्दै विश्व बैंकले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत मात्र रहने बताएको छ । ६ महिनाअघि ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको छ ।

    विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्नुले विश्व लामो समय आर्थिक मन्दीमा रहने बैंकको अनुमान छ । कोभिडको असर तथा रुस र युक्रेनबीचको तनावले मुद्रास्फिति बढेको प्रतिवेदनमा उल्लेख छ । ब्याजदर उच्च हुनु र नागरिकप्रति लगानीमा आएको संकुचनले आर्थिक मन्दीलाई बढाउने बैंकको प्रक्षेपण छ ।

    अन्य प्रान्तको तुलनामा दक्षिण एसियाका मुलुकहरुको अनुमानित आर्थिक वृद्धिदर केही सन्तोषजनक देखिएको छ । सन् २०२४ मा अफगानिस्तान, पाकिस्तान र श्रृलंकामा गरिबीको संख्या बढ्दै जान सक्ने रिपोर्टमा उल्लेख छ । दक्षिण एसियामा माल्दिभ्स र भारतको आर्थिक वृद्धिदर राम्रो देखिएको छ । विश्व बैंकले पछिल्लो पटक सन् २०२३ मा माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ तथा भारतको ६.९ प्रतिशत अनुमान गरेको छ ।

    त्यस्तै नेपालको ५.१ प्रतिशत, बंगलादेशको ५.२, भुटानको ४.१ र पाकिस्तानको २ प्रतिशत रहने अनुमान गरेको छ । श्रीलंकाको भने ४.२ प्रतिशत ऋणात्मक हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा माल्दिभ्सको ८, श्रीलंकाको १, बंगलादेशको ६.२, भुटानको ३.७, भारतको ६.६, नेपालको ४.९ तथा पाकिस्तानको ३.२ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान छ ।

  • पर्सामा निसास्सिएर दुई जनाको मृत्यु

    पर्सामा निसास्सिएर दुई जनाको मृत्यु

    काठमाडौं । पर्सामा निसास्सिएर बुधबार राति दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका(२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर मृत्यु हुने दुबै जना भारतीय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३० वर्षका मिथिलेस यादव रहेका छन् ।

    त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स नामको कोइला डिपोको रेखदेख गर्न बसेका उनीहरु डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठाभित्र झ्याल ढोका बन्द गरी सुतेको पाइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए । बुधबार विहान १० बजेसम्म पनि बाहिर ननिस्केपछि प्रहरीले ढोका फोडेर हेर्दा मृत भेटेको हो । कोठामा कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको देखिएको र अक्सिजन ग्यासको कमी भई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको डीएसपी गिरीले बताए ।

  • अमेरिकामा आन्तरिक उडानमा एक साथ समस्या, समाधान गरी उडान सूचारु

    अमेरिकामा आन्तरिक उडानमा एक साथ समस्या, समाधान गरी उडान सूचारु

    काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्राविधिक समस्याका कारण सबै आन्तरिक उडानमा लगाइएको रोक हटाइएको देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएए जनाएको छ। यसअघि त्यहाँको नोटिस टु एअर मिसन्स सिस्टमको नियन्त्रण प्रणालीमा खराबी देखिएको बताइएको थियो।

    यस अवरोधका कारण चार हजारभन्दा धेरै उडान ढिलो र ६ सय भन्दा धेरै उडान रद्द भएका थिए। समस्याहरू समाधान हुन थाले तापनि कम्तीमा इस्टर्न टाइम अनुसार विहानको ९ बजेसम्म कुनै उडान नहुने जनाइएको थियो। देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएएका अनुसार देशभरी नै प्रणालीमा समस्या देखिएको थियो।


    विमान चालकहरूलाई विमानको हवाई मार्गमा हुनसक्ने सम्भावित खतराबारे सावधान गराउने उक्त प्रणालीमा अवरोध देखिएको उक्त निकायले जनाएको छ। यसअघि नै आकासमा रहेका सबै उडानहरू अवतरणका लागि सुरक्षित रहेको एफएएले जनाएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवरोधका बारेमा जानकारी गराइएको र यतिखेर साइबर हमलाको कुनै प्रमाणहरू नरहेको ह्वाइटहाउसले जनाएको छ।

    पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति बाइडनले यतिखेर उड्डयन निकायलाई घटनाको कारण थाहा नभएको तर केही घण्टाभित्रै कारणको छनक पाइने बताएका छन्। आफ्नो एक ट्विटमा ह्वाइटहाउसका प्रेस सेक्रेटरीले राष्ट्रपतिले यसका कारणबारे पूर्ण अनुसन्धान गर्न भनेको जनाएका छन्। ती अवरोधहरूले अन्तर्राष्ट्रिय उडानलाई असर पार्छ कि पार्दैन भन्ने विषय तत्काल प्रस्ट भएको थिएन। बीबीसी

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

    काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले नेता गिरीलाई बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा पुगेर गिरीले ५८ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए।

    गिरीलाई ७ दल र २ स्वतन्त्रसहित ५८ सांसदको समर्थन छ ।

    ८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा) का ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेका थिए । लुम्बिनीमा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

  • नेपाल टी–२० लिगको लुम्बिनी अल स्टार्सलाई, विराटनगर २४ रनले पराजित

    नेपाल टी–२० लिगको लुम्बिनी अल स्टार्सलाई, विराटनगर २४ रनले पराजित

    काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ ।

    काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो।

    लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर आठ विकेटको क्षतिमा १०९ रनमै समेटियो। विराटनगरका लागि अर्जुन साउँदले ३४, पृथु बास्कोटाले ३१ र हुसैन तलतले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

  • सातै प्रदेशमा शाखा खोल्न र शाखाबाटै बीमा दाबी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

    सातै प्रदेशमा शाखा खोल्न र शाखाबाटै बीमा दाबी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई बीमाको दावी भुक्तानी शाखा कार्यालयहरुबाट नै हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

    मंगलबार प्राधिकरणको आयोजनामा काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सो निर्देशन दिएका हुन् ।

    सिलवालले बीमा कम्पनीहरुलाई सातै प्रदेशमा शाखा कार्यालय खोल्न र कम्पनीहरुलाई शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न समेत भनेका छन् ।

    उनले बीमा कम्पनीहरुले साना बीमा दाबी भुक्तानीका लागि न्यूनतम कति कागजात चाहिन्छ त्यसको यकीन गरी छिटो दाबी भुक्तानी दिनुपर्ने बताउँदै त्यसका बारेमा सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने बताए ।

    अध्यक्ष सिलवालले भने, ‘बीमाको दाबी भुक्तानी र जोखिमांकनमा समस्या छ । बीमा कम्पनी सकेसम्म दाबी भुक्तानी दिन चाहँदैनन् भन्ने गुनासा आएका छन् ।

    कम्पनीहरुले बीमाको पुनर्बीमा नगराएको र क्षमताभन्दा बढी बीमा गरेका कारण दाबी भुक्तानी रोकिएको भन्ने कुरा आएको छ । अब त्यसका बारेमा सोच्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

    बीमा दाबी भुक्तानी बीमा कम्पनीको दक्षताको सूचक भएको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘एउटा घटनालाई उदाहरण दिएर बीमा दाबी भुक्तानीमा ढिलो गर्नहुँदैन ।

    बीमितले विश्वास गरेजस्तै कम्पनीेले पनि बीमितलाई विश्वास गर्नुपर्छ । दाबी भुक्तानी छिटो दिएर बीमाप्रतिको अविश्वासलाई विस्तारै विश्वासमा बदल्नुपर्छ । बीमा व्यवसाय बढाउने बाटोमा अगाडि बढ्नुपर्छ ।’

    कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुले समयमै बीमा दाबी भुक्तानी गर्नुपर्ने बताए । उनले दावी भुक्तानी पाउँदा बीमितमा जति खुशीयाली छाउँछ, ढिलो हुँदा त्यस्तो हुँदैन भन्दैै छिटो छरितो माध्यमबाट बीमा दाबी भुक्तानी दिन बीमा कम्पनीहरुलाई निर्देशन दिए ।

    उक्त कार्यक्रममा प्राधिकरणका उपनिर्देशक विरोध भट्टले बीमा दाबी भुक्तानी सम्बन्धी कानूनी व्यवस्था र प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले कर्णाली प्रदेशमा निर्जीवन बीमाको पहुँच, समस्या र समाधानका उपाय सम्बन्धी प्रस्तुती गरका थिए ।

    छलफलमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र दाबी भुक्तानी विभागका प्रमुखहरुले समयमा नै सर्भे प्रतिवेदन नआउने, सर्भेयरले दाबी भुक्तानीका बारेमा स्पष्ट उल्लेख नगर्ने, ताकेता गर्दा पनि समयमा नै बीमितले कागजात नबुझाउने, साना बीमा दाबीमा आवश्यक कागजात नपुग्ने, कतिपय सर्भेयरबाट सही मूल्यांकन नहुने लगायतका गुनासा गरेका थिए ।

    उनीहरुले व्यवसाय बढेसँगै बीमा दाबी भुक्तानी नभएको संख्या बढेको हुनसक्न बताए । बीमितका लागि पनि कागजागत बुझाउने मिति तोकिनुपर्ने, सर्भे रिपोर्टमा एकरुपता ल्याउनुपर्ने र सर्भेयरहरुको पनि अनुगमन गर्नुपर्ने लगायतका धारणा बीमकहरुले राखेका थिए ।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी), नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा दाबी भुक्तानी विभागका प्रमुख र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रमको संचालन भने प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए ।

  • मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

    मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

    बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रमाणपत्र दिएका हुन्।

    उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्रले यादवलाई समर्थन गरेका छन्।

    १०७ सदस्यीय प्रदेश सभामा एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, लोकतान्त्रिक समाजवादीका नौ, नेकपा (एकीकृत समाजवादी)का सात, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक–एक र पाँच जना स्वतन्त्र सांसद छन्।

    कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र तीन जना प्रदेशसभा सदस्यले भने यादवलाई समर्थन गरेका छैनन्। मुख्यमन्त्रीको सपथ २९ पुसमा हुनेछ।

  • प्रचण्ड गोरखा पुग्दै, पृथ्वीनारायण शाहको शालिक अनावरणदेखि महोत्सव उद्घाटनसम्म

    प्रचण्ड गोरखा पुग्दै, पृथ्वीनारायण शाहको शालिक अनावरणदेखि महोत्सव उद्घाटनसम्म

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । उनले खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन गर्ने कार्यक्रम छ । गोरखाबाट उनी निर्वाचित भएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार संसदमा विश्वासको मत पाएका थिए ।

    उनीसँगै प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन् । गोरखा नगरपालिका(६ ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा नेपाली सेनाले परम्परागत पोशाकमा परेड प्रदर्शन गर्ने कार्यक्रम छ । आज पृथ्वी नारायण शाको जन्म जयन्ती पनि हो ।

  • एकता दिवसमा राष्ट्रपतिको सन्देश : नेपाल एकीकरण विशिष्ट अध्याय हो

    एकता दिवसमा राष्ट्रपतिको सन्देश : नेपाल एकीकरण विशिष्ट अध्याय हो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणको अभियान नेपालको इतिहासको एक विशिष्ट अध्याय भएको बताएकी छिन् । पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सन्देश दिँदै उले यस्तो बताएकी हुन् । शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको उनको भनाई छ । तत्कालीन समयमा शाहले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उनको तर्क छ ।

    ‘स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौं ।’, राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ । तत्कालीन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय भएको पनि उहाँले उल्लेख गरेकी छन् ।

    ‘तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौंसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ,’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ । उनले वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवस्यक रहेको बताएकी छन् ।

    ‘आफ्नो इतिहासका उपलब्धिप्रति कृतज्ञ हुने समाजले मात्र आफू र आफ्ना सन्ततिमाथि न्याय गर्न सक्दछ भन्ने सत्यलाई हामी सबैले मनन गर्नु पर्दछ । यस दिवसबाट हाम्रो सुदृढ देशभक्तिको भावनामा एउटा बलियो आयाम थप्न योगदान मिल्ने मैले विश्वास लिएको छु,’ सन्देशमा उल्लेख छ ।

  • आज राष्ट्रिय एकता दिवस, सरकारले दियो सार्वजनिक बिदा

    आज राष्ट्रिय एकता दिवस, सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौं । आज देशभर राष्ट्रिय एकता दिवस मनाइंदैछ । पुस २७ पृथ्वीनारायण शाहको जन्मजयन्ती हो । नेपालमा गणतन्त्र आउनु अगाडी यो दिन सार्वजनिक बिदा दिने प्रचलन थियो । तर, पछि कटौती भएको थियो । वर्तमान सरकारले भने आज बिदा दिएको छ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको हो ।

    विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका थिए । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे ।

    नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ ।

  • आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशले मूख्यमन्त्री पाउने

    आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशले मूख्यमन्त्री पाउने

    काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री पाउँदैछ । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् । केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन हुने नेताहरूले बताएका छन् । केन्द्रको सहमति अनुसार लुम्बिनीमा एमालेले सरकार बनाउँदै छ ।

    एमालेबाट आज संसदीय दलका नेता लिला गिरीले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् । लुम्बिनीमा आज अपराह्न ४ बजेसम्मको समयमा दाबी पेस गर्न समय छ । यो प्रदेशमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठन गर्न ४४ जनाको समर्थन चाहिन्छ । सत्तारुढ दलसँग एमालेका २९, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिको ४४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् । सत्तासाझेदार दलसँग ५२ प्रदेश सभा सदस्य छन्। स्वतन्त्रबाट जितेका एक जना भने पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।

    माओवादी केन्द्रको भागमा परेको कर्णालीमा पनि आजै मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने अन्तिम समय रहेको छ । कर्णालीमा आज बेलुकी ५ बजेसम्म माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् । ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एकर एकजना छन् ।

    कर्णालीमा एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल पक्षका सांसदहरू असन्तुष्ट छन् । यस्तै, एमाले(माओवादीले आलोपालो सरकार बनाउने सहमति भएको सुदूरपश्चिम प्रदेशले पनि आजै मुख्यमन्त्री पाउनेछ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ ।

    यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् । सहमति अनुसार पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ । एमालेबाट आज संसदीय दलका नेता राजेन्द्र रावलले गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् । अर्को कार्यकाल भने यो प्रदेशमा माओवादीले नेतृत्व गर्ने सहमति भएको छ ।अर्को कार्यकाल माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् ।

  • सभामुखको निर्वाचन ५ माघमा हुने

    सभामुखको निर्वाचन ५ माघमा हुने

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख पदको चुनाव ५ माघमा हुने भएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले सभामुख पदको चुनावको मितिबारे संसद्लाई जानकारी गराए ।

    त्यस अवसरमा उनले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सभामुखको चुनावको कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए । सत्तारूढ दलहरुबीच सभामुख नेकपा एमालेलाई दिने सहमति भएको छ । सरकारलाई कांग्रेसले समेत समर्थन गरेका कारण अबको राजनीति कसरी अगाडी बढ्छ भन्ने चाँही हेर्न बाँकी नै छ ।

  • इलाममा १ माघबाट हरेक आइतबार नियमित उडान हुने

    इलाममा १ माघबाट हरेक आइतबार नियमित उडान हुने

    काठमाडौं । नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नियमित उडान गर्ने भएको छ। एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्न लागेको हो। हालका लागि सातामा एक उडान गर्ने र यात्रुको माग आएपनि विस्तारै उडान संख्या बढाउने एयरलाइन्सले बताएको छ।

    यसअघि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा तारा एयरले सोही विमानस्थलबाट उडान भरेको थियो। एयरलाइन्सले सम्झौता मिति सकिएपछि उडान बन्द भएको थियो। ताराले गत साउनमा उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन ।