Category: फिचर

  • हुस्सुका कारण देशैभरको जनजिवन प्रभावित

    हुस्सुका कारण देशैभरको जनजिवन प्रभावित

    काठमाडौं । बाक्लो हुस्सुका कारण देशैभरको जनजिवन प्रभावित बनेको छ । देशका धेरैजसो ठाउँमा हुस्सु कुहिरो लागेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव समेत दिएका छन् । केही दिनयता काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म हुस्सु कुहिरो लागेको छ । जसका कारण सडक र हवाई यात्रा प्रभावित बनेको छ । हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी अर्थात् दृश्य क्षमता घट्ने र यस्तो बेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।

    भिजिबिलिटी कम हुँदा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरण प्रभावित भएका छन् । यस्तै, अन्य पहाडी र तराईका विमानस्थलबाट पनि उडान अवतरण हुन सकेको छैन । हुस्सुका कारण भिजिबिलिटी झन् झन् घट्दै गइरहेको छ । काठमाडौंमा बिहान दुई हजार मिटर रहेको भिजिबिलिटी ७ बजेपछि १६ सयमा झरेको छ । यसले गर्दा त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । तराईका जिल्लाको उडान अवतरण हरेक दिनजसो प्रभावित बनेको छ ।

  • स्वतन्त्र सांसद साह एमाले प्रवेश

    स्वतन्त्र सांसद साह एमाले प्रवेश

    काठमाडौं । नेकपा एमालले एक सांसद थप गरेको छ । रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधि सभा सांसद भएका किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन्। एमाले अध्यक्ष ओलीले साहलाई पार्टी प्रवेश गराए । गत मंसिरमा सम्पन्न चुनावमा साहले नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलमलाई हराएका थिए।

    उनी २०७७ मा जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा गएका थिए। तर उनलाई गत मंसिरमा भएको चुनावमा एमालेले टिकट दिएको थिएन। उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। चुनाव जितेपछि उनी पुनः एमालेमै फर्किए । साहलाई हालै प्रभु साहले खोलेको आम जनता पार्टीमा राखिएको थियो तर उनले उक्त पार्टीमा बस्न अस्वीकार गरेका थिए। साहलाई आम जनता पार्टीको संसदीय विभाग प्रमुख बनाइएको थियो। साह एमालेमा प्रवेश गरेसँगै अब प्रतिनिधि सभामा एमालेको एक सिट बढेको छ। प्रतिनिधि सभामा अब एमालेबाट ७९ जना सांसद पुगेका छन्।

  • कसरी गरिँदैछ आज पेलेको अन्तिम संस्कार ?

    कसरी गरिँदैछ आज पेलेको अन्तिम संस्कार ?

    काठमाडौं । विश्व फुटबलका महान खेलाडी ब्राजिलियन पेलेको आज अन्तिम संस्कार हुने भएको छ । उनलाई हजारौ समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन्। साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको छ ।

    अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशाला पुर्‍याइएको थियो। रोयटर्सका अनुसार ३० डिग्रीभन्दा माथिको तापक्रमको वास्ता नगरी उनीहरूले दुई घन्टाभन्दा बढी समय लाइन बसेर पेलेलाई श्रद्धाञ्जली दिएका थिए। पेलेले दुई दशकभन्दा बढी समयसम्म सान्तोस क्लबबाटै व्यवसायिक फुटबल खेलेका थिए। सन् १९४० मा ट्रेस काराकोएसमा जन्मिएका पेले सन् १९५६ मा परिवारसहित सान्तोस बसाई सरेका थिए। उनले आफ्नो जीवनको अधिकांश समय सान्तोसमै बिताएका थिए।

    यसैबीच पेलेलाई श्रद्धाञ्जलि दिन पुगेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रलाई आग्रहसमेत गरेका छन्। उनले फिफाले पनि पेलेप्रति उच्च सम्मान गर्ने जानकारी दिए। नेइमार, भिनिसियस जुनियर लगायत खेलाडी, समर्थकले पेलेलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। विश्वभरका ५० हजार पत्रकारले पेलेको अन्तिम संस्कारको समाचार संकलनका लागि अनुमति मागेको सान्तोसको प्रेस कार्यालयलाई उदृत गर्दै रोयटर्सले बताएको छ ।

    २४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको आज निजी समारोहमा राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको उपस्थितिमा अन्तिम संस्कार हुनेछ। तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । पेलेको निधनपछि ब्राजिल सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको थियो।

  • लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल

    लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल

    काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ। अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा–चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो।


    सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारण गरेको हो। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो। बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो।

    तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजारचरेस नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो। फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले बताए। रासस

  • एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ

    एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ

    काठमाडौं । प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् ।

    आइतबार राति चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा(फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • इन्टरनेट सेवा प्रदायकको चेतावनी: जुनसुकै बेला सेवा रोकिन सक्छ

    इन्टरनेट सेवा प्रदायकको चेतावनी: जुनसुकै बेला सेवा रोकिन सक्छ

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले जुनसुकै बेला सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । तार प्रयोग गरिएका पोलको भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर र अपरेसनल प्वाइन्टमा विद्युत् लाइन काटिदिएसँगै विवाद चुलिएको हो । विद्युत् सेवा अवरुद्ध भएको ठाउँमा उचित क्षतिपूर्ति नदिएसम्म इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रवाह गर्न नसक्ने बताएका छन् ।

    सोमबार इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले पत्रकार सम्मेलन आयोजना गरी इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण सिर्जना नगरेसम्म सेवा दिन नसक्ने बताएको छ । देशमा इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारका सम्बन्धित निकायहरूलाई आवश्यक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आइस्पानले आहृवान गरेको छ ।

    विद्युत् प्राधिकरणले काठमाडौं, विराटनगर, इनरुवा, काँकडभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, भैरहवा, डोटी, ललितपुर लगायत स्थानमा इन्टरनेट सेवा प्रदायकको कार्यालयमा विद्युत् लाइन काटिदिएको आइस्पानले जनाएको छ । विद्युत् प्राधिकरणले आफूखुसी भाडादर बढाएको र आफूहरूले तिर्दै आएको आइस्पानको भनाई छ ।

    प्राधिकरणले भाडादर बढाएपछि राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन समेत दिएको र त्यसमा प्राधिकरणले सही छाप गरेको भए पनि त्यसको कार्यान्वयन गर्न नमानेको आइस्पानको दाबी छ । भाडादर वृद्धि हुँदा त्यसको सिधा असर उपभोक्तालाई पर्ने भएकाले उपभोक्ता हित संरक्षण मञ्चले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । इन्टरनेट सेवा अवरोध गरेकाले उत्पन्न स्थितिको सम्मपूर्ण जिम्मेवारी विद्युत् प्राधिकरणले लिनुपर्ने आइस्पानको ठहर छ ।

  • क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि

    क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि

    काठमाडौं । युक्रेनले आफ्नो एक क्षेप्यास्त्र हमलामा परेर अधीनस्थ डोनेत्स्क क्षेत्रको पूर्वी भागमा झण्डै ४०० रुसी सैनिकहरूको मृत्यु भएको दाबी गरेको छ।
    रुसको रक्षा मन्त्रालयले भने ६३ जना सैनिकहरू मारिएको पुष्टि गर्दै त्यस हमलामा हाइमार्स रकेटहरूको प्रयोग भएको जनाएको छ। दुवैतर्फका दाबीको स्वतन्त्र रूपले पुष्टि हुन नसकेको बीबीसीले लेखेको छ ।

    उसले त्यहाँ सैनिकहरू अस्थायी रुपमा तैनाथ भएको बेला हमला भएको जनाएको छ। रुस(पक्षधर अधिकारीहरूले हताहत भएको कुरा स्वीकार गरेका छन् तर बाहिर आएको सङ्ख्याबारे परस्पर विरोधी टिप्पणीहरू गरेका छन्। उक्त क्षेप्यास्त्र रुसी फौजहरू रहेको ठानिएको म्याकिइभका सहरको एक सीपमूलक विद्यालय भवनलाई लक्षित गरी प्रहार गरिएको थियो।

    किएभमा रुसबाट ड्रोन तथा क्षेप्यास्त्र हमलाको क्रम जारी रहँदा आइतबार राती हवाई हमलाहरूको चेतावनी जारी गरिएको थियो। डोनेत्स्कको अधिनस्त क्षेत्रमा रहेका रुस समर्थित एकजना वरिष्ठ अधिकारी डानिल बेज्सोनोभका अनुसार म्याकिइभकामा नयाँ वर्षको दिन मध्यरातको दुई मिनेटपछि क्षेप्यास्त्र प्रहार भएको थियो।

    बेज्सोनोभले मेसेजिङ एप टेलिग्राममा लेखेका छन्, ‘त्यहाँ मृतक र घाइतेहरू छन्, वास्तविक सङ्ख्या अझै थाहा छैन। ’ती अधिकारीले सो प्रहार अमेरिकाले उपलब्ध गराएको एमएलआरएस हाइमार्स भनिने क्षेप्यास्त्रको प्रयोगबाट भएको बताए। युक्रेनले उक्त क्षेप्यास्त्रको प्रयोगको विषयमा कुनै पुष्टि गरेको छैन।


    किएभले पुरानै रणनीतिको रूपमा आफ्ना हमलाका विवरणहरू सार्वजनिक गर्ने गरेको छैन। रुसी ड्रोनमा रुसी भाषामा‘ नयाँ वर्षको शुभकामना’ लेखिएका तस्बिर युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका छन् । रुस नियन्त्रित क्षेत्रमा पहुँच प्रतिबन्धित भए तापनि कैयौँ रुसी टिप्पणीकार र ब्लगरहरूले त्यस हमलालाई स्वीकार गरेका छन् तर मृतकको सङ्ख्या दाबी गरिएभन्दा कम हुनसक्ने बताएका छन्। एकजना रुसी प्रस्तोता भ्लादिमिर सोलोभयोभले टेलिग्राममा क्षतिहरू उल्लेख्य भए तापनि ४०० को नजिक पनि नभएको लेखेका छन्।

    तर हाल टिप्पणीकारका रूपमा रहेका एकजना पूर्व रुसी सैनिक इगोर गिर्किनले सयौँ घाइते हुनुका साथै मारिएको र भवन ूलगभग पूरै ध्वस्त भएकोू बताएका छन्। उनले पीडितहरू खास गरी हालसालै भर्ती गरिएका र स्वेच्छाले लड्न गएका बाहेकका सैनिकहरू भएको बताएका छन्। गोलाबारूद समेत त्यसै भवनमा राखिएको कारण क्षति झन् भयानक भएको उनले जनाएका छन्।

    युक्रेनी सेनाका अनुसार ज्यान गुमाउने अनुमानित ४०० बाहेक ३०० जति घाइते भएका छन्। युक्रेनको सेनाले दैनिक जसो दर्जनौँ एवं बेलाबखत सयौँको सङ्ख्यामा विरोधी सैनिकहरू मारेको दाबी गर्ने हुँदा सजगता आवश्यक पर्छ। तर यस दाबी पुष्टि भएमा यो युक्रेन युद्धमा रुसी निशानामा किएभले गरेको सबैभन्दा घातकमध्येको हमला हुनसक्छ।

  • केपी शर्मा ओली र बाबुराम भट्टराईबीच बालकोटमा भेटवार्ता, के भयो कुराकानी ?

    केपी शर्मा ओली र बाबुराम भट्टराईबीच बालकोटमा भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । एक अर्काका कट्टर आलोचक नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बालकोट पुगेर भट्टराईले ओलीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ। उनीहरूबीच सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा पनि कुराकानी भएको थियो।

    ओलीलाई केही दिनअघि सत्ता गठबन्धनले सत्ता साझेदार दलको संयोजक चयन गरेका थिए भने न्यूनतम साझा कार्यक्रम तय गर्नेबारे उक्त समितिले काम पनि गरिरहेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको पार्टीले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गत मंसिरको चुनावमा उम्मेदवारी दिएको थियो।

  • सन्दीप लामिछानेलाई मानसिक समस्या, जेलभित्रै थालियो मनोपरामर्श

    सन्दीप लामिछानेलाई मानसिक समस्या, जेलभित्रै थालियो मनोपरामर्श

    काठमाडौं । बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेमा मानसिक समस्या देखिएको छ।

    लामिछाने पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि जेलरसँगको सल्लाहमा आवश्यक मानसिक परामर्श थालिएको स्रोतले बताएको छ ।

    उनी मुद्दा पुर्पक्षको निम्ति काठमाडौं जिल्ला अदालतको आदेशपछि दुई महिनादेखि केन्द्रीय कारागार सुन्धारामा छन् । सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

    साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५३ कम्पनीको २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ बराबरको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको कारोबार भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये १० वटा हरियो भएको छ भने २ वटा घटेको छ ।

    उच्च अंकले बढेको बजारमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । २ वटा कम्पनीको शेयरमूल्य ९।९८ प्रतिशत भन्दा बढीले बढेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको १६ करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ ।

    हिमालयन डिष्ट्रिलरी लिमिटेडको १६ करोड ६४ लाख र एनआइसी एशिया बैंकको ११ करोड १४ लाखको कारोबार भएको छ ।

  • प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् ।

    मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको सहमतिमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका उनले पुस २६ गते विश्वासको मत लिने जानकारी संसद सचिवालयले दिएका छन्।

    ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय सम्वत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको वैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु’, उनले संसद सचिवालयलाई पत्र लेख्दै भनेका छन्।

    २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

    प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र जनता समाजवादी पार्टीका १२ सहित र तीन स्वतन्त्रसहित प्रचण्डलाई १६९ जना सांसदको अहिले समर्थन छ।

  • पुष्पा न्यौपाने मृत्यु प्रकरण: सुधन संग्रौला पुर्पक्षका लागि जेल चलान

    पुष्पा न्यौपाने मृत्यु प्रकरण: सुधन संग्रौला पुर्पक्षका लागि जेल चलान

    काठमाडौं । पुष्पा न्यौपाने मृत्यु प्रकरणमा सुधन संग्रौला जेल चलान भएका छन्।

    बानेश्वरकी २६ वर्षीया न्यौपानेले आत्मदाह गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

    विवाह गर्ने सहमति पछि गरेको इन्गेजमेन्ट रद्द भएपछि पुष्पाले सुधनकोे धुम्बाराहीस्थित घर अगाडि पुगेर आत्मदाह गरेकी थिइन् । उनले आत्मदाह गर्दा सुधनसहित उनको परिवारले हेरिरहेको थियो ।

  • सुरक्षा संयन्त्रका प्रमुखहरुलाई गृहमन्त्री लामिछानेको १८ बुँदे निर्देशन

    सुरक्षा संयन्त्रका प्रमुखहरुलाई गृहमन्त्री लामिछानेको १८ बुँदे निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटा जिल्ला प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रका प्रमुखहरुलाई १८ बुँदे निर्देशन दिएका छन्।

    सिंहदरबारमा सोमबार बिहान भएको भर्चुअल बैठकका क्रममा गृहमन्त्री लामिछानेले १८ बुँदे निर्देशन दिएका हुन्।

    सबै जिल्लाका सीडीओ र सुरक्षा समितिका अधिकारीहरुसँगको भर्चुअल अन्तर्क्रियामा गृहमन्त्री लामिछानेले आम नागरिकमा सरकार प्रतिको विश्वास आर्जन गर्नेगरी काम गर्न निर्देशन दिएका छन्। यस्तै, भूइँमान्छेका आवाज केन्द्रसम्म पुर्‍याउने र सुनुवाइको अवसर सिर्जना गर्ने भूमिका निर्वाह गर्न पनि मन्त्री लामिछानेले निर्देशन दिएका छन्।

    मा. उपप्रधान तथा गृहमन्त्री श्री रवि लामिछानेले मिति २०७९।०९।१८ गते प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई गरिएका संवोधनको सारसंक्षेपः

    1) तृणमूल तहका नागरिकहरूमा सरकार प्रतिको विश्वास आर्जन गर्ने र सरकार मेरो अभिभावक हो भन्ने भावनाको सुनिश्चितता गराउने जिम्मेवारीमा तपाइँहरू हुनुहुन्छ। भुइँमान्छेका आवाज केन्द्रसम्म पुर्‍याउने र सुनुवाईको अवसर सिर्जना गर्ने भूमिकामा हुनुहुन्छ।

    2) नागरिकहरूमा समस्या सुन्दा र समाधानको पहल गर्दा समभाव (empathy) सहित गरौं।

    3) विपद्का समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ। शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयङ्गम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार हौं।

    4) क्षतिपूर्ति तथा मुआब्जा निर्धारण गर्दा त्यसले राज्यकोषमा पार्ने प्रभाव र मूल्याङ्कनको दीर्घकालीन प्रभावबारे बिचार गरौं।

    5) मन्त्रालयमा राय माग्नुपूर्व सम्बन्धित विषयमा विद्यमान कानूनी तथा कार्यविधिगत व्यवस्था एवं अभ्यासका बारेमा पर्याप्त अध्ययन गरौं। पारस्परिक सिकाई (mutual learning) बाट समस्याको समाधान गर्ने प्रयत्न गरौं।

    6) तपाइँहरू underfinanced, understaffed हुनुहुन्छ भन्ने हामीलाई थाहा छ। तथापि पूर्ण सेवाभावले काम गरी नागरिकको अनुहारमा मुस्कान ल्याउने जिम्मेवारीमा पनि हुनुहुन्छ। जनताको मुहारमा ल्याउन सकेको खुसी अमूल्य छ। त्यो खुसी ल्याउने अवसर नगुमाउनु होस्।

    7) समन्वय सहकार्य र प्रभावकारी सञ्चारमा जोड दिनुहोस्। आफ्नो ढोकासम्म आइपुगेका व्यक्तिहरू ठूलो भरोसा सहित आएका हुन्छन् भन्ने कुरालाई सधैं हृदयङ्गम गर्नुहोस्।

    8) जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनमा जोड दिनुहोस्। निर्णयमा ऐन, नियम, कानून, कार्यविधि एवं विवेकको समेत प्रयोग गर्नुहोस्। तपाइँ न्याय गर्ने ठाउँमा हुनुहुन्छ। न्याय गर्दा लिपिवद्ध कानून मात्र नभएर विवेकको प्रयोग गर्नुपर्ने अवस्थामा विवेक प्रयोग गर्नुहोस्। यान्त्रिक हिसाबले गरिने निर्णयले सेवाग्राहीले न्याय नपाउन सक्छ। विवेकले निर्णय गर्नुपर्ने अवस्थामा निर्णयमा त्यसको पुष्ट्याइँ पनि लेख्नुहोस्।

    9) सेवा प्रवाह सरलीकरण र सुधारका नवीन र नवप्रवर्तनात्मक उपायहरू खोज्नुहोस् र प्रयोगमा ल्याउनुहोस्। जिम्मेवारी पन्छाउने कामले जनविश्वास कमजोर पार्दछ भन्ने मनन गर्नुहोस्।

    10) सत्यनिष्ठा र सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्न धेरैजसो प्रमुख जिल्ला अधिकारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत अधिकार प्रत्यायोजन भएको हुनाले तपाइँहरू भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता कायम गर्ने गराउने जिम्मेवारीमा हुनुहुन्छ भन्ने नबिर्सनुहोस्। जिल्लाभित्र कुनै पनि निकायमा कुनै पनि तरिकाबाट हुने भ्रष्टाचार नियन्त्रण गर्न कानून प्रदत्त भूमिका प्रभावकारी रूपले निर्वाह गर्नुहोस्।

    11) राजस्व चुहावट नियन्त्रण गर्न निर्मम हुनुहोस्। कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्ताले कुनै खाले संरक्षण पाउने छैन भन्ने कुरामा विश्वस्त हुनुहोस्।

    12) सीमित स्रोत र साधनका बीच सुशासन र सेवाप्रवाहका दृष्टिले उत्तम कार्य गरी जनताको मुहारमा खुसी ल्याउन सकेको आफ्नो सेवा अवधिको स्वर्णकालको रूपमा रहने गरी आफूले गर्व गर्न सक्ने समयको रूपमा यो कार्यकालको उपयोग गर्नुहोस्।

    13) राष्ट्रिय परिचयपत्र एवं राहदानी वितरणमा सहजीकरण गरी काठमाडौं आउनु नपर्ने वातावरण सिर्जना गर्न उपलब्ध सबै प्रयत्न र नवप्रवर्तनकारी उपायहरू अवलम्बन गर्नुहोस्।

    14) सेवा प्रवाहमा टाइमकार्ड लागु गर्न अभ्यास गर्नुहोस्।

    15) मिटरब्याजी र नागरिकता विरुद्धका उजुरी छानबिनलाई तीव्रता दिनुहोस्।

    16) स्थानीय सरकारसँग गर्नुपर्ने समन्वयलाई थप प्रभावकारी बनाउनुहोस्।

    17) तपाइँहरूका समस्याबारे मन्त्रालय जानकार छ। स्रोत व्यवस्थापनका सम्बन्धमा अर्थ मन्त्रालय र अन्य सरोकारवाला निकायसँग हामी निरन्तर छलफलमा छौं।

    18) सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने तथा मेरो वा सचिवस्तरीय निर्णयबाट आवश्यकतानुसार थप सहजीकरण गरी मौजुदा कानून, साधन र स्रोतको सीमामा रही सम्पादन गर्न सकिने सुधार एवं प्रकृया सरलीकरणका विषयहरू समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउनुहोस्। कार्यालयको कार्यसम्पादनसँग सम्बन्धित समस्याहरूका बारेमा आजै बेलुकीसम्म लेखी पठाउनुहोस्।

  • कोठामा निसासिएर भारतमा तीन नेपालीको मृत्यु

    कोठामा निसासिएर भारतमा तीन नेपालीको मृत्यु

    काठमाडौं । भारतमा तीन नेपालीको मृत्यु भएको छ । मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको हो ।

    भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका-५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको हो ।

    बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए ।

  • सुधारियो नेपाली शेयर बजार, कारोबार रकम चार अर्ब नाघ्यो

    सुधारियो नेपाली शेयर बजार, कारोबार रकम चार अर्ब नाघ्यो

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

    साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.२६ अंकले बढेर २०४६.०२९ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६१ कम्पनीको ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको १ करोड,८ लाख ८० हजार ९०४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्गे ११ वटा हरियो भएको छ भने २ वटा घटेको छ ।

    उच्च अंकले बढेको बजारमा एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ४ वटा कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत भन्दा बढीले बढेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको २२ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।

    नेपाल टेलिकमको १९ करोड ८८ लाख र हिमालयन डिष्ट्रिलरी लिमिटेडको १५ करोड ८० लाखको कारोबार भएको छ ।

  • प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

    प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन्।

    पोखरामा आज आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्रीले विमानस्थल उद्घाटन गरेका हुन्। आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्।

    उद्घाटन समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ। कार्यक्रमका दौरान हेलिकोप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो भने विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए।

    विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो। जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरू भएको हो। उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्ने देखिएको उनीहरुको भनाइ छ।

    चीनको ऋण तथा अनुदान सहयोगमा निर्मित विमानस्थल उद्घाटन समारोहको जिम्मेवारी पोखरा महानगरपालिकाले पाएको छ।

    महानगरले यसलाई एउटा उत्सवको रुपमा लिँदै आज पोखरामा सार्वजनिक बिदा दिएको छ भने साँझ घरघरमा दीपावली गर्न पोखरावासीलाई अनुरोध गरेको छ।

  • प्रदेश– १ मा सरकार गठनका लागि दलहरुलाई ८ दिनको समय

    प्रदेश– १ मा सरकार गठनका लागि दलहरुलाई ८ दिनको समय

    काठमाडौं । प्रदेश १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई ८ दिनको समय दिइएको छ ।

    आइतवार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठनका लागि २४ गतेसम्मको समय दिएका हुन् ।

    खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतका साथ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका छन्।

    संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश १ मा कुनै पनि दललाई बहुमत प्राप्त हुन नसकेकाले उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

    ‘मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/२४ गते आइतबार बेलुकी ५:०० बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको छ’, खापुङले भनेका छन्।

    ९३ सदस्यीय यस प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ । प्रदेश- १ मा ४० स्थान प्राप्त गर्दै नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेले समानुपातिकमा १५ सिट प्राप्त गरेको छ ।

    केन्द्रीय सत्तासमीकरण अनुसार यस प्रदेशमा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको सरकार बन्ने देखिएको छ । कांग्रेस र एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने देखिएको हो ।

  • टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित

    टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित

    काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमको आजदेखि हुने भनिएको ‘फाइभ-जी’को परीक्षण स्थगित भएको छ ।

    टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित गरेको हो ।

    यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आज जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो ।

    फाइभ-जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको सम्भावनाबारे पनि थप अध्ययन र छलफल गर्नेछ ।

  • आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

    आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

    काठमाडौं । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा आजबाट सञ्चालनमा आउँदैछ । यद्दपी पहिलो चरणमा यहाँ आन्तरिक उडानमात्र हुने भएको छ । आइतबार बिहान ११ बजे प्रधानमन्त्री पुष्प कमल दाहालले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिकाले आज आइतबारका लागि पोखरामा सार्वजनिक बिदा समेत दिएको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । अब पोखराबाट हुने सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुँदैछन् । यसले पोखराको उडानलाई अझ सुरक्षित बनाउने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ । अंग्रेजी नयाँ वर्षको अवसर पारी यो विमानस्थलको उद्घाटन गर्ने भनी मिति यसअघि नै तय गरिएको थियो ।

  • म भाषण होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री

    म भाषण होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताएका हुन् ।
    मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्र सुधार लगायतका विषयमा कामको सुरुवात गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

    प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका दाहालले भने, ‘मैले यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु । मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु ।’

    प्रधानमन्त्री दाहालले भाषण गर्नेभन्दा पनि काम गर्ने आफ्नो प्रतिज्ञा रहेको बताए । ‘मैले यसपटक भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु, उनलदे भने । पहिलो मन्त्रिपरिषद्बाट देशको अगाडि रहेको अर्थतन्त्रमा सुधार र सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकताका क्षेत्रमा निर्णय लिएको उनले बताए ।

    भ्रष्टाचार र बेथिति नियन्त्रण तथा जनताले विभिन्न ठाउँमा पाइरहेका सास्तिहरूलाई अन्त्य गर्ने निर्णय पनि पहिलो मन्त्रिपरिषद्बाट गरिएको उनले बताए । आगामी दिनमा पनि जनतालाई पिरमर्का पर्ने कुनै पनि निर्णय नगर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘सुशासन र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हौं भनेर अपील गर्न चाहन्छु ।’

  • भूतपूर्व पोप बेनेडिक्टको निधन

    भूतपूर्व पोप बेनेडिक्टको निधन

    काठमाडौं । भूतपूर्व पोप बेनेडिक्टको सोह्रौँको भ्याटिकनस्थित आफ्नै निवासमा ९५ वर्षको उमेरमा निधन भएको छ। उनी करिब एक दशकपछि खराब स्वास्थ्यका कारण अस्वस्थ रहँदै आएका थिए। उनले आठ वर्षभन्दा कम समय क्याथोलिक चर्चको नेतृत्व गरेका थिए।

    बेनेडिक्टले सन् २०१३ मा राजीनामा दिएका थिए। त्योसँगै उनी सन् १४१५ मा ग्रेगरी बाह्रौँपछि राजीनामा गर्ने पहिलो पोप बनेका थिए। पोप बेनेडिक्टले आफ्ना जीवनका अन्तिम वर्षहरू भ्याटिकनको पर्खालभित्रै रहेको मातरे क्लेजिया मोनस्ट्रीमा बिताएका थिए। उनका उत्तराधिकारी पोप फ्रान्सिसले आफूले उनलाई त्यहाँ बारम्बार भेटेको बताएका छन्।

    भ्याटिकनका प्रवक्ताले एउटा वक्तव्यमा भनेका छन्, ‘दुःखका साथ म तपाईँलाई सूचित गर्दछु कि पोप एमेरिटस बेनेडिक्ट सोह्रौँको बिहान ९:३४ मा भ्याटिकनको मातरे क्लेजिया मोनस्ट्रीमा निधन भयो।” ‘थप जानकारी सकेसम्म चाँडो प्रदान गरिनेछ।’ भ्याटिकनले उनको शवलाई ‘अनुयायीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि’ जनवरी २ देखि सेन्ट पिटर्स बसिलिकामा राखिने जनाएको छ। उनको अन्तिम संस्कारको योजनाबारे आगामी केही घण्टामा घोषणा गरिने भ्याटिकनले जनाएको छ।

    इङ्गल्यान्ड र वेल्सको क्याथोलिक चर्चका प्रमुख कार्डिनल भिन्सेन्ट निकोल्सले पोप बेनेडिक्ट ‘२०औँ शताब्दीका महान् धर्मशास्त्रीमध्ये एक भएको बताएका छन्। एउटा वक्तव्यमा उनले भनेका छन्, ‘म सन् २०१० मा यो भूमिमा उहाँको उल्लेखनीय भ्रमणलाई विशेष स्नेहका साथ सम्झन्छु। हामीले उहाँको शिष्टाचार, उहाँको नम्रता, उहाँको अनुभूति र उहाँमा भेटेका सबैलाई स्वागत गर्ने खुलापन देखेका थियौँ।’ उनले ती भूतपूर्व पोप सज्जन, विद्वान् र ईश्वरको नजिक भएका नम्र सेवक भएको बताएका छन्।

    केही समयदेखि बिरामी रहेका उनलाई भ्याटिकन अधिकारीहरूले बढ्दो उमेरका कारण उनमा स्वास्थ्य समस्या देखिएको बताएका थिए। बुधवार पोप फ्रान्सिसले भ्याटिकनमा उनी धेरै बिरामी भएकाले उनका लागि वर्षको अन्तिम प्रार्थना गर्न आह्वान गरेका थिए।

    जर्मनीमा जन्मेका बेनेडिक्ट ७८ वर्षमा सन् २००५ मा पोपका रूपमा चयन भएका थिए र उनी त्यसरी चुनिने सबैभन्दा बढी उमेरका पोप थिए। उनी पोप भएका बेलामा क्याथोलिक चर्चले पादरीहरूले वर्षौँ बाल दुर्व्यवहार गर्ने गरेका आधिकारिक उजुरीहरूको सामना गरेको थियो। यसै वर्षको सुरुमा उनले म्युनिखमा आफू आर्चबिसप हुँदा त्यस्ता दुर्व्यवहारका घटना व्यवस्थापनमा आफूबाट गल्ती भएको स्वीकारेका थिए।

  • अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

    अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परेर एक नेपाली विलार्थीले ज्यान गुमाएका छन्। स्थानीय प्रहरीका अनुसार पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको ज्यान गएको हो। साथीको मोटरसाइकल मागेर चलाएका मृतकले सडकछेउको ट्राफिक पोलमा ठोक्किएर ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै गर्मी बढेसँगै अष्ट्रेलियामा समुद्री किनारमा पुगेका नेपालीहरू दुर्घटनामा पर्ने क्रम बढेको छ।

    पछिल्ला वर्षहरूमा थुप्रै नेपाली विद्यार्थीले अस्ट्रेलियाको समुन्द्री किनारमा पानीमा डुबेर ज्यान गुमाएका छन्। सिड्नीको क्रोनाला बिचमा बुधबार साँझ पानीमा रमाइलो गर्न गएका तीन नेपाली विद्यार्थी दुर्घटनामा परेका छन्। समुन्द्री किनारमा पौडी खेल्ने क्रममा उनीहरूलाई समुद्री छालले बगाएको थियो। जसमध्ये एक जनालाई ढुंगामा र अर्कोलाई बालुवामा छालले हुत्याइदिएको थियो। लाइफगार्ड समेत नभएको समयमा गहिरो पानीमा डुबेकी ती छात्रलाई स्थानीय पौडीबाजले पानीबाट निकालेका थिए।

    पानीमा डुबेर गम्भीर घाइते भएकी उनलाई प्राथमिक उपचारपछि हेलिकप्टरद्धारा नजिकैको कोग्रा हस्पिटलमा भर्ना गरिएको छ। फोक्सोमा पानी जमेका कारण उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। ढुंगामा ठोकिएर सामान्य घाइते भएकी अर्की नेपाली युवतीलाई भने बिहिबार नै अस्पतालले सामान्य उपचार र चेकजाँचपछि डिस्चार्ज गरेको छ। बगरमा हुत्तिएकी अर्की युवतीको अवस्था सामान्य रहेको छ।

  • सिंहदरबारमा सर्वसाधारणको पहुँच सहज बनाउनेबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

    सिंहदरबारमा सर्वसाधारणको पहुँच सहज बनाउनेबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा समसामयिक विषय र सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रीको सचिवालय संयोजक दीपक बोहराले अहिले पनि सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको बताए ।

    उनले भने, ‘गृहमन्त्रीजी र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको हो । त्यस्तै सिंहदरबारमा काम हुने सर्वसाधारणलाई कसरी सहज प्रवेश गराउन सकिन्छ भन्नेबारे पनि उहाँहरूबीच छलफल भएको छ । त्यसका लागि गृहले कर्मचारी राख्न पर्ने भए त्यसका लागि पनि तयार रहेको गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ ।’ सुरक्षा संवेदनशीलताका कारण भन्दै सरकारले देशकै संघीय प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार प्रवेशमा कडाइ गर्दै आएको छ ।

  • गृहले राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन पहल थाल्यो

    गृहले राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन पहल थाल्यो

    काठमाडौं । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन पहल शुरु गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार नागरिकलाई सहजरूपमा राहदानी, नागरिकता र परिचय पत्र वितरण गर्न विज्ञको टोली खटाइएको छ । चार विज्ञ सदस्यीय टोलीले तीन दिन यता राहदानी विभागसँग समन्वय गरी काम गरिरहेको छ।

    राहदानी वितरणमा सबैभन्दा बढी भीड हुने देखिएको हुँदा सुरूमा त्यहीँ केन्द्रीत भएर काम अघि बढेको पनि प्रवक्ता पोखरेलले बताए। गत सोमबार पुस ११ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले लामो लाइन बस्नुपर्ने बाध्यतालाई हटाउने निर्णय गरेको थियो। उक्त निर्णय गरेपछि गृह मन्त्री रवि लामिछाने राहदानी विभागमा पुगेर समस्याबारे बुझेका थिए।

  • कम्बोडियामा नेपालीको ज्यान गएको प्रति प्रधानमन्त्रीद्धारा दुख व्यक्त

    कम्बोडियामा नेपालीको ज्यान गएको प्रति प्रधानमन्त्रीद्धारा दुख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो । प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने बताएका छन् । उनले सम्बन्धित निकायलाई परिचालन गर्न मुख्यसचिवलाई भनेको उल्लेख गरेका छन् ।

  • डब्लूएचओले चीनसँग भन्यो : कोरोनाको तथ्यांक नलुकाउ

    डब्लूएचओले चीनसँग भन्यो : कोरोनाको तथ्यांक नलुकाउ

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक तथ्यांक नलुकाउन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको हो ।

    डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो । कोरोना रोकथामका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले फेरि कोरोना महामारी बढेको छ । सङ्क्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्यक्त गरेको छ ।

    डब्ल्यूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ । अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटली, जापान र ताइवानलगायतका देशले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षण अनिवार्य गरिसकेका छन् । कोरोनाको तीन वर्ष बित्दा पनि विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट छ ।

    विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट रहेको छ । विभिन्न देशले भिन्नभिन्न रुपमा मापन गर्ने तथा तथ्याङ्क राख्ने कारण सही मापन गर्न कठिन भएको हो।

    विज्ञहरूले आधिकारिक रूपमा रिपोर्ट गरिएकोभन्दा धेरैले ज्यान गुमाएको बताउँदै आएका छन् । कोरोनाको पहिलो सङ्क्रमित फेला परेको चीनमा १० लाखभन्दा धेरैको ज्यान गएको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको पहिचान भएयता अहिलेसम्म ६६ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।

    डब्ल्यूएचओका अनुसन्धाताले यसै महिनाको सुरुमा नेचर जर्नलमा सन् २०२० र २०२१ मा कोभिडबाट एक करोड ४८ लाख ३० हजारभन्दा धेरै मानिसको ज्यान गएको उल्लेख गरेका थिए । डब्ल्यूएचओको तथ्याङ्कअनुसार सन् २०२०–२१ मा भारतमा कोभिडका कारण सबैभन्दा बढी ४७ लाख ४० हजार मानिसको ज्यान गएको थियो ।

    ‘युनिभर्सिटी अफ जेनेभा’को इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक एन्टोनी फ्लाहाल्टले कोभिडका कारण ज्यान गुमाउने यकिन सङ्ख्या पुष्टि गर्नु निकै कठिन अभ्यास रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

  • रोनाल्डो साउदी अरेवियाको क्लवमा आवद्ध

    रोनाल्डो साउदी अरेवियाको क्लवमा आवद्ध

    काठमाडौं । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्। उनी कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्ने भएका छन् । साउदी अल(नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    अध्यक्ष मुअम्मरले रोनाल्डोलाई क्लबको ७ नम्बरको जर्सीसमेत हस्तान्तरण गरेका छन्। ३७ वर्षीय रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक लिएर एसियाली मुलुक साउदी गएका हुन्। उनले साउदी क्लबसँग सम्झौता गर्दै आफू अर्को देशमा नयाँ फुटबल लिगको अनुभव गर्न उत्सुक रहेको बताएका छन् ।

  • शनिबार पनि बाक्लो हुस्सुले तराईको जनजिवन प्रभावित

    शनिबार पनि बाक्लो हुस्सुले तराईको जनजिवन प्रभावित

    काठमाडौं । शनिबार समेत मौसममा आंशिक बदली भएको छ । तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको अवस्था छ । आज दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    शनिबार राति पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज तराईका केही ठाउँमा बाक्लो हुस्सु लागेकोले सवाई र सडक यातायात प्रभावित भएका छन् ।

  • उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रमा हान्यो क्षेप्यास्त्र

    उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रमा हान्यो क्षेप्यास्त्र

    टोकियो । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल हानेको छ । मिसाइल छोटो दूरीका भएको समाचारमा उल्लेख छ । जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार बिहान ८ : ०० बजे, दोस्रो ८ : १४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको छ ।

    तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट प्रहार गरिएको थियो । ती मिसाइल १०० किलोमिटरको उचाइबाट ३५० किलोमिटरसम्म उडेको अनुमान गरिएको छ । मन्त्रालय र समाचार संस्थाका अनुसार यी मिसाइलहरू जापानको समुद्री क्षेत्र तर विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेका छन् ।

  • कम्बोडियामा जल्दै गएको १२औँ तलाबाट हाम फाल्नु अघि निराकारले छोरालाई भने : बाबा अलवेज लभ्स यू

    कम्बोडियामा जल्दै गएको १२औँ तलाबाट हाम फाल्नु अघि निराकारले छोरालाई भने : बाबा अलवेज लभ्स यू

    काठमाडौं । कम्बोडियाको एक होटलमा भएको आगलागीमा परी एक जना नेपालीको ज्यान गएको छ । उनी झापा घर भएका निराकार पाण्डे रहेको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा ज्यान गुमाएका १९ जनामध्ये एक जना झापाका पाण्डे हुन् । आगलागी भएको ठाउँ कम्बोडिया र थाइल्यान्डको सीमा नजिकै पर्छ ।

    विर्तामोड नगरपालिका वडा नम्बर १ झापाका पाण्डेले ज्यान जानुअघि आफ्नो परिवारसँग भाइवरमार्फत् गर्नुभएको भिडियो कलको रेकर्ड पनि सार्वजनिक भएको छ । भिडियो कलमा पाण्डेले आफू होटलको १२औँ तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका छन् ।

    उनले आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका छन्, सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’ उनले छोरालाई कसैलाई ‘चिट र फ्रडु नगर्न’ भन्दै सम्झाएका थिए ।

    भवनभित्र धुवाँभरिएपछि उद्धारमा समस्या भएको थियो भने विद्युत् बन्द हुँदा ढोकामा रहेको विद्युतीय प्रणाली बन्द हुँदा मानिसहरु बाहिर निस्कन नसकी झ्यालबाट हाम फालेका थिए । घटनामा झण्डै ५० जना घाइते भएका बीबीसीले जनाएको छ । उनी झण्डै ४ घण्टासम्म झ्यालमा बस्दा समेत उद्दार नभएपछि बाध्य भएर हाम फालेका थिए । सोही क्रममा उनको ज्यान गएको हो । घटनापछि कम्बोडियाको आपतकालिन उद्धारको् क्षमतालाई लिएर आलोचना समेत भइरहेको छ ।