Category: फिचर

  • कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

    कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुरसिंह लामा निर्वाचित भएका छन् ।

    संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई ५ मतले हराउँदै लामा निर्वाचित भएका हुन् । इन्द्रबहादुर बानियाँ १६ मत ल्याए भने बहादुरसिंह लामाले  २१ मत ल्याएका छन् ।

    दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

    गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

  • टिकेन शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो

    टिकेन शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो

    काठमाडौं । शेयर बजार दोहोरो अंकको घटेको छ । लामो समयदेखि ओरालो लागेको नेप्सेमा नयाँ सरकार बनेसँगै उछाल आएको बजार पुरानै लयमा फर्किएको छ ।

    साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५७ कम्पनीको २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । मंगलवार ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरकोबराबरको कारोबार भएको थियो ।

    दोहोरो अंकले घटेको बजारमा ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने तीन वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    दोहोरो अंकले घटेको बजारमा महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ८ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।
    रिडी पावरको ८ करोड र माथिल्लो तामाकोशीको ७ करोड ८४ लाखको कारोबार भएको छ ।

  • विशेष चेकिङको क्रममा १०७ जना चालक ट्राफिक प्रहरीको कारवाही

    विशेष चेकिङको क्रममा १०७ जना चालक ट्राफिक प्रहरीको कारवाही

    काठमाडौं । काठमाडौँ उपत्यकामा बुधवार बिहानै गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।

    जस्मा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारवाहीमा परेका हुन् ।

    त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ८ ओटा स्कुल बसका चालकलाई पनि कारवाही गरीएको छ ।

    सवारीको अवस्था ठिक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३ जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरु रहेका छन् ।

    यो सँगै कागजपत्र साथमा नबोकेका १ जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारवाही गरिएको छ ।

    सडकमा सहज र सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेकोकाठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

  • संसद विघटनपछि ओली पहिलोपटक प्रचण्ड निवास खुमलटारमा

    संसद विघटनपछि ओली पहिलोपटक प्रचण्ड निवास खुमलटारमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

    कांग्रेससँग गठबन्धन टुटाएर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै ओली खुमलटार पुगेका हुन् ।

    संसद विघटनपछि ओली दुई वर्षपछि पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । ओली र प्रचण्ड एक ठाउँमा उभिएसँगै पुनः वाम एकताको चर्चा हुन थालेको छ ।

  • चीनले पूर्ण रुपमा खुला गर्यो रसुवा नाका

    चीनले पूर्ण रुपमा खुला गर्यो रसुवा नाका

    काठमाडौं । लामो समयदेखि बन्द रहेको उत्तरी रसुवा नाकाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो । रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिए ।

    मङ्गलबार छ कन्टेनर स्वदेशी सामान भन्सार पास भएर निर्यात भएको उनले जानकारी दिए । चीनले कोभिड महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्ने गरी रसुवागढी नाका खुला गरेको हो । मङ्गलबार बाँसको मुढा, तामाका भाँडालगायतका सजावटका सामान चीनतर्फ निर्यात भएको कार्यालयले जनाएको छ ।

    रसुवा नाकाबाट नियमित रूपमा सामान भने आयात भइरहेको थियो । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा चीनबाट ९४ अर्ब ५८ करोड ११ लाख छ हजार रुपियाँको सामान आयात भएकोमा २४ करोड ४७ लाख २७ हजार रुपियाँको सामान निर्यात भएको छ । चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ ।

    नेपालबाट निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुट झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् ।

  • पेन्सिलभेनियाको सदभावना दूत बने अधिकारी

    पेन्सिलभेनियाको सदभावना दूत बने अधिकारी

    काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्‌भावना दूतमा विनोद अधिकारी नियुक्त भएका छन् । पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्‌भावना दूतमा नियुक्ति गरिएको हो । चार वर्षे कार्यकालका लागि नियुक्त भएका अधिकारीलाई मंगलबार पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्ति पत्र प्रदान गरे ।

    पर्यटन मन्त्रालयले सद्‌भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्त दिने गर्छ । अधिकारीले कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणलाई समेटेर वृत्तचित्रसमेत बनाएका छन् ।

  • स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा

    स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा

    काठमाडौं । स्पेनका दुई पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीसहितको टीम नेपाल आइपुगेको छ । स्पेन र नेपालका नागरिक मिलेर चलाएको संस्था लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको क्याकेरेनो फुटबल क्लबलाई नेपाल भित्र्याएको हो । मंगलबार नेपाल आइपुगेको ५५ जनाको टोली सिधैं पोखरा पुगेको छ । क्लबले गण्डकी–११ सँग बुधबार पोखरा रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास समेत उक्त टिममा छन् ।

    उनीहरुले दुई मैत्रीपूर्ण खेल नेपालमा खेल्ने छन् । बुधबार पोखरामा खेले पछि शुक्रबार काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । टिममा स्पेनकै पूर्व राष्ट्रिय खेलाडी मिचेल सहित स्पेनको ‘ए’ डिभिजन क्लबबाट खेलिसकेका खेलाडी समेत छन् । क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोलीले नेपाल भ्रमण गरेको हो । क्याकेरेनो टोलीलाई स्पेनस्थित नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले सोमबार बिदाइ गरेकी थिइन् ।

    ‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ । स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ । गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ ।

    टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ । यसैगरी राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ ।

  • काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्रिमा झर्यो

    काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्रिमा झर्यो

    काठमाडौं । काठमाडौं उपत्यकामा आज अझ चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यो यस सिजनकै सबैभन्दा कम हो । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो । पानी परेको बेला वा बादल लागेको बेला अधिकतम तापक्रम घट्छ । आकाश सफा भएको बेला न्यूनतम तापक्रम घट्छ । यी दुवै अवस्थामा जाडो बढ्ने गर्छ ।

    अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । केही दिनमै कमजोर प्रकृतिको नयाँ पश्चिमी प्रणाली भित्रिने छ । मौसमविदका अनुसार तत्काल अहिले पानी पर्ने सम्भावना पनि छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिम तराईका धेरै स्थानहरुका साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ । यो हुस्सु कुहिरो दिउँसोपख हट्दै जानेछ ।

  • बाग्लुङ केन्द्रविन्दु बनाएर भूकम्प

    बाग्लुङ केन्द्रविन्दु बनाएर भूकम्प

    बाग्लुङं । बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्पको महसुस भएको छ । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राति २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो । त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार बिहान करिब साढे तीन बजे पनि अधिकारी चौरमै केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाग्लुङसहित छिमेकी जिल्लामा पनि महसुस भएको थियो । यो प्रकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

  • कोरियाबाट जहाज चढाएर ल्याइएका गाई किसानलाई  वितरण

    कोरियाबाट जहाज चढाएर ल्याइएका गाई किसानलाई वितरण

    काठमाडौं । हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज किसानलाई वितरण गरिएको हो ।

    दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका छ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हेफर इन्टरनेशनल नेपालका भेटरिनरी डा भोला श्रेष्ठले जानकारी दिए । उनका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी छ ।


    हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले सिन्धुलीका किसानलाई वितरण गरेको हो । उत्पादनको हिसाबले कोरियाका टप ९परीक्षण भएका० दुई वटा बहर पनि केही दिनपछि आउने हेफरले जनाएको छ ।

    डा श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभई नस्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाई ल्याइएको बताउनुभयो । दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नस्लका गाई नस्ल सुधारका लागि ल्याएको उनको भनाइ थियो । उहाँले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताए ।

    नेपालमा रहेका ७३ लाख गाईमध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको डा श्रेष्ठले बताए । उनले नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नस्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याइएको बताए । गाईलाई आवश्यक पर्ने शुद्ध नस्लको सिमेन (वीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । यी गाईको क्षमता प्रतिबेत आठदेखि १६ हजार लिटर दूध रहेको बताइएको छ । रासस

  • काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो

    काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो

    काठमाडौं । काठमाडौं– केरुङ रेल मार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आएको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आएको रेल विभागले जनाएको छ । चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै यो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो ।

    चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मान्दछन् । सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो । कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । सरकारको पटक–पटकको आग्रहपछि चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्नेछ ।

    बेल्ट एन्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजनामध्येको एक हो रेल मार्ग । गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा। नारायण खड्काको चीन भ्रमणमा समेत यो परियोजनाको बारेमा छलफल भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययनसमेत चिनियाँ सहयोगमा नै सम्पन्न हुनेछ ।

  • सवारी चालकले १६ प्रकारका गल्ती गर्दा तिर्नुपर्नेछ अब न्यूनतम १५०० जरिवाना

    सवारी चालकले १६ प्रकारका गल्ती गर्दा तिर्नुपर्नेछ अब न्यूनतम १५०० जरिवाना

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना रकम वृद्धि गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको हो । ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको छ । यसअघि यी विभिन्न शीर्षकमा ५०० देखि १५०० रूपैयाँसम्म जरिवाना लाग्दै आएको थियो।

    तर अब यी शीर्षकमा न्यूनतम १५०० रूपैयाँ जरिवाना हुनेछ। ‘पहिले न्यूनतम ५०० देखि अधिकतम १५०० रूपैयाँसम्म जरिवाना हुने कसूर अन्तर्गतमा रहेका १६ वटा शीर्षकमा अब न्यूनतम नै १५०० रूपैयाँ जरिवाना गर्ने निर्णय भएको हो ।
    २०७५ सालमा प्रत्यायोजित अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको प्रहरीको भनाई छ । यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनीकरण हुने विश्वास प्रहरीको छ ।


    न्यूनतम १५०० रूपैयाँ जरिवाना हुने १६ कसूर

    १. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा
    २. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा
    ३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा
    ४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा
    ५. एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा
    ६। अवस्था ठिक नभएको सवारी चलाएमा
    ७. राति बत्ती नबाली सवारी चलाएमा
    ८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा
    ९. नम्बर प्लेट नराखी सवारी चलाएमा
    १०. सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा
    ११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा
    १२. लापरवाहीका साथ सवारी चलाएमा
    १३.सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा
    १४. लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा
    १५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा
    १६.हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा

  • कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

    कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

    काठमाडौं। नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ।

    संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार विज्ञप्ति जारी गरी भ्रष्टाचारको मुद्दा किनारा नलागेकाले सांसद गुरुङ स्वतः निलम्बनमा परेको जनाएका छन्।

    गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभाका सदस्य गुरुङमाथिको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने विज्ञप्तिमा उल्लेख छ। यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको शपथ भने लिएका थिए।

    गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो।

    सुशील कोइराला सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री रहेका गुरुङमाथि काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ। अख्तियारले उनीमाथि २०७५ माघमा मुद्दा दायर गरेको थियो। मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ले भ्रष्टाचार अभियोग लागेका व्यक्तिको पद स्वतः निलम्बन हुने व्यवस्था गरेअनुरूप अदालतमा गुरुङमाथि भ्रष्टाचार मुद्दा विचाराधीन रहेको भन्दै अख्तियारले संसदीय गतिविधिमा सहभागी नगराउन आग्रह गर्दै संसद सचिवालयलाई पत्राचार गरेको थियो।

  • पुस २५ गते संसद अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी

    पुस २५ गते संसद अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी हुन्।

    प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी छ। संविधानको धारा ७६ (२) अनुसार बनेको दाहाल सरकारले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने हुन्छ।

    संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत (१३८) पाउनु पर्ने हुन्छ। दाहाल सरकारलाई अहिले प्रतिनिधि सभाका १ सय ६९ सांसदको समर्थन रहेको छ।

  • कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

    कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।

    मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी बहालवाला तथा पूर्व कर्मचारीरसुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने बताएका छन् ।

  • शेयर बजारमा उछाल, एकैदिन ३ अर्ब ८८ करोडको कारोबार

    शेयर बजारमा उछाल, एकैदिन ३ अर्ब ८८ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा उछाल आएको छ । शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा चिनिएका पौडेल अर्थमन्त्री हुँदा लगानीकर्ता उत्साहित भएका छन् जसका कारण दुई दिनमै नेप्सले १०० बढी अंकको फड्को मारिसकेको छ ।

    साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६१ कम्पनीको ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरको १ करोड लाख २० हजार ३९ हजार ६०३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

  • गभर्नर महाप्रसाद अधिकारीले बुझे वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ

    गभर्नर महाप्रसाद अधिकारीले बुझे वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ बुझेका छन् ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले उक्त कुरा देखाएको हो ।

    वार्षिक प्रतिवेदन अनुसार अधिकारीले वर्षभरीमा ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका छन्। उनले एक वर्षमा तलबबापत १४ लाख १८ हजार ४ सय रुपैयाँ बुझेका हुन्।

    यस हिसाबले उनको मासिक तलब १ लाख १८ हजार २०० रुपैयाँ हुन्छ।

    यसबाहेक सञ्चालक समिति भत्ताका रूपमा ३ लाख ५ हजार रुपैयाँ बुझेका छन्। उनले सबैभन्दा बढी अन्य सुविधा बुझेका छन्। यसबापत उनले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ बुझेका हुन्।

  • राति हल सञ्चालन गर्न दिने बोर्डको निर्णय, सेन्सर सिफारिस चार दिनअघि लिए हुने

    राति हल सञ्चालन गर्न दिने बोर्डको निर्णय, सेन्सर सिफारिस चार दिनअघि लिए हुने

    काठमाडौं । नेपाल चलचित्र संघको चर्को दबावपछि चलचित्र विकास बोर्डले प्रदर्शनसम्बन्धी नियम संशोधन गरेको छ।

    सोमवार बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बैठकले सेन्सरदेखि राति हल सञ्चालन गर्ने नियम संशोधन गरेको हो।

    रातिको समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा पहिले नै बोर्डलाई जानकारी गराए हुने निर्णय गरिएको छ। यसअघि राति ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने नियम थियो।

    त्यसपछि चलचित्र प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई जानकारी गराउनुपर्ने प्रावधान थियो।

    त्यस्तै बोर्डमा जाँच सेन्सरका लागि सिफारिस लिन चलचित्र प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियम थियो।

    बैठकले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ। अब कुनै पनि फिल्मले रिलिजको चार दिनअघि सिफारिस लिनुपर्नेछ।

  • बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस

    बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस

    काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

    केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको हो । काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको थियो ।

    सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको सीआईबीको टोलीले केसीको निवासमा खानतलासी गर्दा २५ लाख नगद र ३५ तोला सुनसमेत बरामद गरेको थियो ।

    केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

    गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो ।

    यसअघि तीन लाख रुपैयाँ घुस लिएको प्रहरीको उजुरी छानबिन शाखामा छानबिन भइरहेको थियो ।

  • दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश

    दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णय गर्न माहिर मानिन्छन् । मुलुक अनिर्णयको बन्दी बनेको धेरै पलहरुमा उनले गाठो फुकाउने काम गरेका छन् । पछिल्लो समय यस्तै निर्णयमार्फत मुलुकको कार्यकारी पदमा पुगेका प्रचण्डले पुनः एक पटक सबैको ध्यान आकर्षित गरेका छन् । त्यो हो, पोशाक । उनी यसअघि २०६५ र २०७३ सालमा गरी दुई पटक प्रधानमन्त्री बनिसकेका छन् ।

    पहिलो कार्यकाल सत्ताको स्वाद नै चाख्न नपाई सेनापति काण्डका कारण राजिनामा गरेका उनले दोस्रंो कार्यकालमा भने लोडसेडिङ अन्त्यसहितका दूरगामी काम गरेका थिए । तेस्रो कार्यकाल उनका अगाडी अझ विषम परिस्थति छ । मानिसहरुमा सरकारले काम गर्छ भन्ने विश्वास मरिसकेको छ । यो अवस्थामा कार्यकारी पदमा पुग्दै गर्दा प्रचण्डले राष्ट्रिय पोशाकमार्फत एक साथ धेरै आलोचकको मुख थुन्ने प्रयास गरेका छन् ।

    उनी युद्धमा हुँदा दौरा सुरवाललाई पहाडे सामन्ती पोशाकको संज्ञा दिने माओवादी नेताहरुले यस पोशाकलाई झट्ट स्वीकार गरेका थिएनन् । सोमबार प्रचण्डले पहिलो पटक दौरा सुरवाल लगाएका थिए । तर, उनले यसमार्फत राष्ट्रिय एकताको सन्देश भने प्रवाह गरेका छन् ।

  • प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने

    प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने भएका छन् । मन्त्रिपरिषद्का सदस्यहरूले चालु आर्थिक वर्षमा बढेको १५ प्रतिशत तलब नलिने निर्णय सोमबारे भएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले कम्तीमा चालु आर्थिक वर्षभरि वृद्धि भएर आएको तलबभत्ता मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरेको हो ।

    ‘प्रतिकात्मक रुपमा यसै वर्षदेखि राष्ट्रसेवकहरूको तलबमा भएको वृद्धि कम्तीमा यस आर्थिक वर्षसम्मका मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरिएको छ‚’ बैठकपछि पत्रकारहरूलाई मन्त्रिपरिषद्का निर्णय सुनाउँदै मन्त्री पौडेलले भने ।

  • बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    बझाङ । बझाङमा गतराति ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो ।

    उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ । झोलुङ्गे पुलको सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटनाम परेको बताइएको छ ।

  • अन्तर्राष्ट्रिय यात्रुलाई अनिवार्य गरेको क्वारेन्टाइन चीनले हटायो

    अन्तर्राष्ट्रिय यात्रुलाई अनिवार्य गरेको क्वारेन्टाइन चीनले हटायो

    काठमाडौं । चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाएको छ । यो निर्णय आगामी पुस २४ (जनवरी ८ बाट लागु हुने छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार विज्ञप्ति निकाल्दै नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने बताएको हो । यो सँगै चीनले करिब ३ वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः सूचारु गरेको छ । अब यात्रुलाई चीन जान ४८ घण्टा पुरानो कोभिड नेगेटिभ रिपोर्ट भए पुग्छ ।

    डिसेम्बरको सुरूमा भएको सरकार विरोधी प्रदर्शनपछि सी जिनपिङ प्रशासनले शून्य कोभिड नीतिलाई केही खुकुलो बनाएको हो । पछिल्लो समय क्वारेन्टिनमा बस्नु पर्ने अवधि भने निकै कम गरिएको थियो। शुरूमा तीन साताको अनिवार्य क्वारेन्टिन तोकिएकोमा हाल पाँच दिनमात्र क्वारेन्टिनमा बस्नु पर्ने नियम रहेको छ। प्रतिबन्धहरु खुकुलो पारिएपछि चीनमा कोरोना संक्रमणको दर र अस्पतालहरुमा बिरामीको चाप हृवात्तै बढेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।

    संक्रमणको दर बढेसँगै चीनले कोभिड संक्रमितको दैनिक तथ्यांक सार्वजनिक गर्ने काम पनि बन्द गरेको छ। चीनमा दैनिक हजारौँ मानिसले ज्यान गुमाइरहेको हुन सक्ने आशंका गरिएका छन्। यद्यपि, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । मार्च २०२० देखि चीन आउने सबै अन्तर्रष्ट्रिय यात्रुले अनिवार्य केन्द्रीकृत क्वारेन्टाइन बस्नुपरेको थियो।

  • अझै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

    अझै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

    काठमाडौं । देशभर चिसो बढ्ने क्रम जारी छ । मंगलबार काठमाडौंमा यस सिजनकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ । यस दिन न्यूनतम तापक्रम ४.४ सेल्सियस मापन भएको छ । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

    यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागमा भने सफा हुने महाशाखाले जनाएको छ । मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ । हरेक दिन केही मात्रामा काठमाडौंको तापक्रम घटिरहेको मौसम विद्हरूले बताएका छन् ।

  • नयाँ सरकारले जनतामा आश जगाएको छ : प्रधानमन्त्री

    नयाँ सरकारले जनतामा आश जगाएको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले जनतामा आशा जगाएको बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई मन्त्रिपरिषद्ले समेटेको बताए । ‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन् । तर जनतामा आशा र भरोसा बढेको देखिएको छ’, उनले भने, ‘केही नयाँ गरिछाड्नेहरुको संकल्प भएकाहरुको केन्द्रिकरण भएको छ । त्यसकारण मलाई सहज लागेको छ ।’


    अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुनेबारे पहिलो बैठकमै छलफल भएको उनले जानकारी दिए ।
    राहदानी, लाइसेन्स सेवा प्रवाह गर्ने कार्यालयमा लामो लामो लाइन रहेको भन्दै उनले भने, ‘देशका अगाडि रहेका समस्याहरु सम्बोधन गर्ने केन्द्रित हुने संकल्प गरेका छौं ।’

  • गृहमन्त्री लामिछाने बने सरकारको प्रवक्ता

    गृहमन्त्री लामिछाने बने सरकारको प्रवक्ता

    काठमाडौं । गृहमन्त्री रवी लामिछाने सरकारको प्रवक्ता बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष उनको पार्टी अध्यक्षकै नेतृत्वमा सरकारमा गएको हो ।

    प्रधानमन्त्री प्रचण्डसहितको मन्त्रिमण्डलले सोमबार नै पद तथा गोपनियताको सपथ लिएको थियो । त्यसपछि मन्त्रिहरुले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । पदभार ग्रहणपछि साँझ मात्र मन्त्रिपरिषद बैठक बसेको हो ।

  • सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिँदा लाइन लाग्नुपर्ने व्यवस्था सुधार गर्ने

    सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिँदा लाइन लाग्नुपर्ने व्यवस्था सुधार गर्ने

    काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), पासपोर्टसहितका सेवा वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय भएको छ ।

    राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय समेत गरेको छ ।

  • प्रचण्डको नेतृत्वमा तीन उपप्रधानसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

    प्रचण्डको नेतृत्वमा तीन उपप्रधानसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

    सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १-१ जना मन्त्री बनेका हुन्।

    उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् ।

    पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्मा तीन मन्त्रीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।

    नेकपा (एमाले)का राजेन्द्र राई, दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

  • दौरा सुरुवाल लगाएर लिए प्रचण्डले पद तथा गोपनीयताको शपथ

    दौरा सुरुवाल लगाएर लिए प्रचण्डले पद तथा गोपनीयताको शपथ

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् ।

    उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका हुन् ।

    यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए ।

    यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए ।

    सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रचण्डलाई शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेका थिए, त्यसबेला प्रचण्ड केही बोलेका थिएनन्।

  • नयाँ सरकारको स्वागतमा शेयर बजारमा देखियो उत्साहपूर्ण हरियाली

    नयाँ सरकारको स्वागतमा शेयर बजारमा देखियो उत्साहपूर्ण हरियाली

    काठमाडौं । नयाँ सरकारलाई शेयर बजारले पनि स्वागत गरेको छ । निरन्तर घटिरहेको शेयर बजार सोमवार उच्च अंकले बढेको हो ।

    आइतबार पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोसँगै अब नयाँ अर्थमन्त्री आउने अपेक्षाका साथ लगानीकर्ताको मनोबल बढ्दा नेप्सले बिहानै छलाङ मारेको थियो ।

    शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा समेत चिनिने विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले बजार बढेको हो । यसअघि दुई पटक नेप्सेले अल टाइम हाइ रेकर्ड बनाउँदा पौडेल नै अर्थमन्त्री थिए ।

    साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)५६.८६ अंकले बढेर १९२४.०७ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५० कम्पनीको २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक हरियो भएको छ ।

    नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने १० वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

    आज नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज २० करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।