Category: फिचर

  • प्रचण्डको निर्देशन-‘बालुवाटार निवासमा नयाँ तथा भड्किलो सामान खरिद नगर्नू’

    प्रचण्डको निर्देशन-‘बालुवाटार निवासमा नयाँ तथा भड्किलो सामान खरिद नगर्नू’

    काठमाडौं । वनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री दाहालले स्वकीय सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई यस्तो निर्देशन दिएका हुन् ।

    प्रचण्ड एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

  • राप्रपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने

    राप्रपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका छन्।

    प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको पदाधिकारी बैठकमा तत्काल सरकारमा सहभागी नहुने भनेर राप्रपा र नागरिक उन्मुक्ति पार्टीले खबर पठाएको ब्रिफिङ गरेका थिए।

    नागरिक उन्मुक्ति पार्टीले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।

    प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । स्वतन्त्र हैसियतमा जितेका रेशम चौधरीका बाबु लालबीर पनि नागरिक उन्मुक्ति पार्टीमै आवद्ध छन् ।

    सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताए ।

  • न्यून गुणस्तर पाइएपछि लोमस प्यारेन्टेरल्स्को पारासिटामोल विक्री-वितरणमा रोक

    न्यून गुणस्तर पाइएपछि लोमस प्यारेन्टेरल्स्को पारासिटामोल विक्री-वितरणमा रोक

    काठमाडौं । औषधि व्यवस्था विभागले लोमस प्यारेन्टेरल्स्को पारासिटामोल विक्री-वितरणमा रोक लगाएको छ ।

    विभागले एक सूचना जारी गर्दै लोमस ले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो ।

    लोमस प्यारेन्टेरल्स् एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादित पाराहिम (पारासिटामोल इन्फ्युजन आईपी)को ब्याच नम्बर ए२६डब्लूएक्स ००१ बिक्रीमा रोक लगाएको हो ।

    सो ब्याचको औषधि प्रयोगशाला परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । साथै बजारमा हाल रहेको सो ब्याचको औषधि तुरुन्त फिर्ता गर्न र प्रयोगसमेत नगर्न नगराउन विभागले सबैमा सूचित गरेको छ ।

  • डीएसपी ठगबहादुर केसी ३५ तोला सुन र २५ लाख रुपैयाँसहित नियन्त्रणमा

    डीएसपी ठगबहादुर केसी ३५ तोला सुन र २५ लाख रुपैयाँसहित नियन्त्रणमा

    काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो ।

    सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको सीआईबीको टोलीले केसीको निवासमा खानतलासी गर्दा २५ लाख नगद र ३५ तोला सुनसमेत बरामद गरेको छ ।

    केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

    गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो ।

    यसअघि तीन लाख रुपैयाँ घुस लिएको प्रहरीको उजुरी छानबिन शाखामा छानबिन भइरहेको थियो ।

  • रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

    रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ ।

    उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको रास्वपा सभापतिकै नेतृत्वमा सरकारमा जाने तयारी थालेको हो ।

    महत्त्वपूर्ण मन्त्रालयमा रास्वपाको दाबी छ । तर पार्टीहरूको संयुक्त बैठकले मन्त्रालयको भागवण्डा लगाउने छ ।

    उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो ।

  • तालिवानले महिलालाई एनजीओमा काम गर्न रोक लगाएपछि अफगानिस्तानमा काम रोक्ने निर्णय

    तालिवानले महिलालाई एनजीओमा काम गर्न रोक लगाएपछि अफगानिस्तानमा काम रोक्ने निर्णय

    काबुल । अफगानिस्तानमा तालिबानले महिलाहरूमाथि आफ्नो संस्थामा काम गर्न प्रतिबन्ध लगाएसँगै चार वटा मुख्य गैरसरकारी संस्थाले सो मुलुकमा काम रोक्ने निर्णय लिएका छन् । एउटा संयुक्त विज्ञप्तिमा केयर इन्टरन्याश्नल, नर्वेजियन रेफ्युजी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले “महिला कर्मचारी बिना” आफूहरूले काम जारी राख्न नसक्ने बताएका छन् । द इन्टरन्याश्नल रेस्क्यु कमिटीले पनि आफ्नो सेवाहरू स्थगित गर्ने जनाएको छ।

    अफगानिस्तानमा सत्ता चलाइरहेको तालिबानले महिला अधिकारलाई निरन्तर रूपमा दबाउँदै आएको छ। महिलाहरूलाई विश्वविद्यालय शिक्षामाथि प्रतिबन्ध लगाए लगत्तै तालिबानले गैरसरकारी संस्थाहरूमा पनि काम गर्न नपाउने पछिल्लो निर्णय गरेको हो। तालिबानको अर्थ मन्त्रालयका प्रवक्ता अब्देल रहमान हबिबले विदेशी सहायता समूहहरूमा काम गर्ने महिला कर्मचारीले हिजाब लगाउनुपर्ने नियम उल्लङ्घन गरेको बताएका छन्।

    पछिल्लो प्रतिबन्ध अनुसार काम नगर्ने कुनै पनि संस्थाको अनुमति रद्द गरिदिने धम्कीसमेत तालिबानले दिएको छ। त्यसयता थुप्रै सहायता समूहहरूले महिलाहरूलाई काम गर्न दिइनुपर्ने माग राखेका छन्। केयर, एनआरसी र सेभ द चिल्ड्रेनको नेतृत्व तहमा रहेकाहरूले महिला कर्मचारीहरू नभएको भए “सन् २०२१ को अगस्ट यता आवश्यकतामा रहेका लाखौँसम्म आफूहरू संयुक्त रूपमा पुग्न नसक्ने” बताएका छन्।

    अफगानिस्तानभरि ३,००० महिलाहरूलाई रोजगारी दिएको इन्टरन्याश्नल रेस्क्यु कमिटी आइआरसीले आफ्नो संस्थाको सबै तहमा सेवा दिने क्षमता महिला कर्मचारीमा भर पर्ने भन्दै महिला कर्मचारीलाई रोजगारी दिन नसकिए “अप्ठेरोमा परेकाहरूलाई” सेवा दिन नसक्ने जनाएको छ।

    एनआरसीका यान एगल्याण्डले आफ्नो संस्थामा काम गर्ने १४ सयमध्ये करिब ५०० महिला कर्मचारी रहेको र कर्मचारीहरूले “परम्परागत मान्यता, पोसाकको नियम, आवतजावत र छुट्टै कार्यालयका नियमहरू” अनुसार कार्यालयमा काम गरेको बताएका छन्। गैरसरकारी संस्थाहरूमा काम गरेर घरका लागि आयआर्जन गर्ने अफगानिस्तानका महिलाहरूले प्रतिबन्धका कारण आफूहरूले निरीह महसुस गरेको यसअघि बताएका थिए।

  • अमेरिकामा चिसोका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

    अमेरिकामा चिसोका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

    काठमाडौं । अमेरिकामा हिम आँधी र अधिक चिसोका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । करोडौं मानिस प्रभावित बनेका छन् । बीबीसीका अनुसार क्यानडा र अमेरिकामा पछिल्लो समय अत्यधिक मात्रामा हिमपातसहितको हावाहुरी चलेको छ ।

    अमेरिकामा ३४ जनाको ज्यान गएको छ । जसमा सर्वाधिक प्रभावित क्षेत्रको रूपमा न्युयोर्क रहेको छ । न्युयोर्कको बफेलो क्षेत्र बढी प्रभावित बनेको छ । त्यस्तै, क्यानडाको ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्त मेरिटसमेत अत्यधिक प्रभावित बनेको छ । बरफ जमेको सडकमा बस पल्टिँदा चार जनाको ज्यान गएको खबर छ ।

  • नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई

    नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मुलुक चीन र भारतले बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै बधाई ज्ञापन गरेका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत लिएका छन् । चीनले समेत प्रधानमन्त्री प्रचण्डको सफल कार्यकालका लागि शुभकामना दिएको छ।

    प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँराजदूतावासका तर्फबाट बधाई दिइएको छ । चीनका कार्यवाहक राजदूत वाङ सिनले टेलिफोनमार्फत उनलाई बधाई दिएका हुन्। चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिएका छन्।

  • प्रधानमन्त्रीको शपथ अगाडी गठबन्धन र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै

    प्रधानमन्त्रीको शपथ अगाडी गठबन्धन र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण अगाडी सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक आज बस्ने भएको छ । सरकारमा पठाउने मन्त्री टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ ।

    बैठक बिहान ८ बजे बोलाइएको बैठक सुरु भएको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ । माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

  • प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज

    प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुँदैछ । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

    सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित उनी प्रधानमन्त्री बनेका हुन् ।

  • १० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड

    १० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड

    काठमाडौं । नेपालको राजनीति पछिल्लो साढे दुई दशकयता आफ्नो इशारामा चलाउन सफल व्यक्तिमा पर्छन् पुष्प कमल दाहाल प्रचण्ड । २०५२ सालमा जनयुद्ध सुरु भएयता उनले जे जस्तो चाहेका छन्, राजनीतिले उस्तै मोड लिएको छ । नेपालमा राजतन्त्रकालिन व्यवस्था उन्मुलनदेखि गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड पुनः एक पटक शान्तीपूर्ण राजनीतिाबाट मुलुकको कार्यकारी पदमा पुग्न सफल भएका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै हुनेछ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए । यसमध्ये दोस्रो कार्यकाल सफल मानिन्छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म विसं २०११ साल मङ्सिर २६ गते ढिकुरपोखरी २ कास्कीमा भएको हो । मुक्तिराम दाहाल र भवानी दाहालका छोरा प्रचण्डले कृषि तथा पशु विज्ञानमा स्नातक गरेका छन् । २०२८ सालदेखि नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहबाट राजनीति थालेका प्रचण्ड २०३१ सालमा मार्क्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशनमा प्रवेश गर्नुभयो ।

    चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालीन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए । २०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य र अखिल नेपाल युवक सङ्घको महासचिव बनेका प्रचण्ड २०४० सालमा अनेयुसङ्घको अध्यक्ष बने । युवक सङ्घको अध्यक्ष बनेपछि उनी पार्टी नेतृत्वमा छलाङ मार्न थाले ।

    उनी २०४१ सालमा नेकपा मसालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिट ब्युरो सदस्य बने । २०४२ मा पार्टी विभाजनपछि उनी मोहन वैद्य किरणतिर लागे । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर कान्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडेलगत्तै पार्टी प्रमुख अर्थात् २०४६ मा महामन्त्री बनेका प्रचण्ड अहिलेसम्म पार्टीको प्रमुख पदमा आसिन छन् । प्रचण्डकै नेतृत्वमा माओवादीले २०५२ सालदेखि १० वर्ष सशस्त्र युद्ध लडेको थियो ।

    २०७८ पुसमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट पनि उनी अध्यक्ष निर्वाचित भए । यसअघि २०७४ सालको चुनावपछि एमाले र माओवादीको एकता भएर गठन भएको तत्कालीन नेकपाका दुई अध्यक्षमध्ये उनी एक थिए । उनी २०६४ सालमा सम्पन्न संविधान सभा चुनावमा काठमाण्डौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । उनी २०६५ भदौमा पहिलो पटक प्रधानमन्त्री बने ।

    संविधान सभाको दोस्रो चुनाव २०७० सालमा काठमाण्डौ १० बाट पराजित भए पनि उनी सिरहा ५ बाट निर्वाचित बने । २०७३ सालमा उनी दोस्रो पटक प्रधानमन्त्री बने । २०७४ सालको चुनावमा उहाँ चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा उनी गोरखा क्षेत्र नम्बर २ बाट विजयी बनेका हुन् ।

  • क्षणभरमै रित्तियो कांग्रेस

    क्षणभरमै रित्तियो कांग्रेस

    आइतबार बिहानसम्म सत्ता राजनीतिको सबैभन्दा शक्तिशाली दल क्षणभरमै प्रतिपक्षी बनेको छ । कांग्रेस वर्तमान संसदको सबैभन्दा ठूलो दल हो । तर, गठबन्धन जोगाउन गम्भीर नबन्दा कांग्रेसले आफ्नो शक्तिमात्र गुमाएन, ५ वर्ष ढुक्कसँग चलाउन सक्ने महत्वपूर्ण पदहरु समेत गुमाएको छ । यसमा राष्ट्रपति, सभामुखदेखि प्रदेश सरकारहरु समेत पर्छन् । अब कांग्रेसले ७ वटै प्रदेशमा प्रतिपक्षमा बस्नु पर्ने भएको छ ।

    आइतबार बनेको नयाँ गठबन्धनबाट माओवादी र एमालेले भने सोच भन्दा राम्रो लाभ पाउने भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी भने सबैभन्दा धेरै गुमाउनेमा पर्छन् । कांग्रेसले माओवादीलाई प्रधानमन्त्री दिएको भए राष्ट्रपतिसहित उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये केही पद पाउने निश्चित थियो
    । सात वटा प्रदेशमध्ये कम्तीमा चार वटामा मुख्यमन्त्री अनि प्रदेश प्रमुखलगायतमा कांग्रेसको दाबी स्वभाविक थियो ।

    आज दिउँसो १२ बजेसम्म सत्ता गठबन्धन कायमै रहँदा कांग्रेस धेरै शक्तिशाली र धेरै पदको दाबेदार थियो । तर जब माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोट लागेसँगै कांग्रेसको हातबाट धेरै चिज गुमेको छ । अब कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेशमा मुख्यमन्त्रीलगायतका पद पाउने सम्भावना सकिएको छ ।

  • प्रचण्ड बने मुलुकको ४४ औं प्रधानमन्त्री, सोमबार सपथ

    प्रचण्ड बने मुलुकको ४४ औं प्रधानमन्त्री, सोमबार सपथ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

    स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् । प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । अब प्रचण्डले प्रधानमन्त्रीका रुपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • प्रचण्डले राष्ट्रपतिसमक्ष गरे दावी पेश, १६७ सांसदको समर्थनसहित ४४ औं प्रधानमन्त्री बन्दै

    प्रचण्डले राष्ट्रपतिसमक्ष गरे दावी पेश, १६७ सांसदको समर्थनसहित ४४ औं प्रधानमन्त्री बन्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने दाबी पेश गरेका छन् ।

    सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र १६७ सांसदसहित दाबी पेश गरेका हुन् ।

    गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।

    बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा आइतबार दिउँसो बसेको ७ दलको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय गरेको थियो ।

    प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंहसहित १६७ सांसदले समर्थन गरेका छन्।

    सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने भएका छन्।

  • लामो कटुतालाई अन्त्य गर्दै बार्दलीबाट ओली र प्रचण्डको संयुक्त अभिवादन

    लामो कटुतालाई अन्त्य गर्दै बार्दलीबाट ओली र प्रचण्डको संयुक्त अभिवादन

    काठमाडौं । लामो कटुतालाई अन्त्य गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमतिपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले बालकोटको बार्दलीबाट संयुक्त अभिवादन गरेका छन्।

    सत्ता समीकरणको लामो रस्साकस्सीबीच नयाँ सरकारको नेतृत्व गर्ने अवसर पाएपछि खुसी भएका मा‌ओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले बार्दलीबाट अभिवादन गरेका हुन्।

    यो सहमतिसँगै शीर्ष नेताहरु प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति निवास पुगेका छन्।

    शीतलनिवास प्रस्थान गर्नुअघि ओली र प्रचण्डले ओली निवासको बार्दलीबाट संयुक्त अभिवादन गरेका थिए। यसअघि ओली सरकार ढलेपछि उनले बालकोटको बार्दलीबाट अभिवादन गरेको विषयमा कटाक्ष हुने गरेको थियो। प्रचण्डले समेत कैयौं पटक आफ्नो भाषणमा ओलीलाई बार्दलीमा पुर्‍याइदिएको अभिव्यक्ति दिँदै आएका थिए।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी नागरिकको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो।

  • एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

    एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

    काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । वैठकमा साढे २ वर्षपछि भने एमालेले प्रधानमन्त्री लिने सहमति भएको छ ।

    माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत बनेको हो । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

    सरकार बनाउने सुहमतिअनुसार दाबी राष्ट्रपति कार्यालय शितलनिवासमा बुझाइने छ । प्रचण्डलाई नेतृत्व दिन एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, सीके राउतको जनमत पार्टीका ६ तथा नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद जोडिने छन् ।

  • प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वैठकको सहमति

    प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वैठकको सहमति

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेकासहितका दलहरुबीच सहमति भएको छ।

    आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको हो।

    नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा सहभागी थिए। आज बिहानसम्म सत्ता गठबन्धनको सरकार बन्ने आँकलन गरिए पनि एकाएक माहोल बालकोटतर्फ मोडिएको थियो।

    प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।

  • तालिवानले केटीहरुलाई एनजीओमा काम गर्न लगायो रोक

    तालिवानले केटीहरुलाई एनजीओमा काम गर्न लगायो रोक

    काबुल । अफगानिस्तानमा केटीहरुले अब गैरसरकारी संस्थामा काम गर्न नपाउने भएका छन् । यसअघि उच्च शिक्षामा रोक लगाएको तालिवान सरकारले अब एनजीओमा काम गर्न समेत रोक लगाएको बीबीसीले जनाएको छ । अफगान सरकारको यस निर्णयको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । तालिवानले भने यस निर्णयको बचाउ गरेको समाचारमा उल्लेख छ ।

    एनजीओमा काम गर्ने केटीहरुले हिजाब लगाउँन नपाउने र यो शरिया क़ानूनको उल्लंघन भएको उसको तर्क छ । केही दिन पहिला मात्र यहाँ महिलालाई विश्वविद्यालय जान रोक लगाउने निर्णय भएको थियो । अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले यस्तो निर्णय अफगानिस्थानका लागि विनासकारी हुने प्रतिक्रिया दिएका छन् ।

  • काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन

    काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन

    काठमाडौं । काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । यो यस सिजनको सबैभन्दा कम हो । शनिबार न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । अहिले देशभरकै तापक्रम निरन्तर कम भइरहेको छ ।

    जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान छ ।

  • नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु

    नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को संज्ञा दिएका छन् । शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले यस्तो लेखेका हुन् ।
    उनले लेखेका छन्ः

    नयाँ सांसदहरू,

    नयाँ गफाडीहरू

    उही पुरानो देश
    उही पुराना व्यापारीहरू।

    उनले यो कुन प्रसंगलाई लक्षित गरी भनेको भन्ने चाँही खुलाएका छैनन् । मंसिर ४ मा भएको चुनावबाट निर्वाचित नयाँ सांसदले बिहीबार शपथ लिएका छन् । यस पटक स्वतन्त्र पृष्ठभूमीका सांसदहरु धेरैले जितेका छन् । अझ नयाँ अनुहारको बाहुल्य छ । मेयर बालेन शाह आफैं पनि स्वतन्त्र हुन्।

  • बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन

    बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन

    काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए। उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए।
    उनी सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री ९२०२४०, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ९२०२५०, नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन्।

    ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत उनले जोडेका थिए। २ छोरा र १ छोरी रहेका बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका खुलासमेत गरेका थिए। हाल बुद्ध एयरलाई उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेका छन्।

  • प्रधानमन्त्रीमा दावि गर्न राष्ट्रपतिले दिएको समय आज सकिने

    प्रधानमन्त्रीमा दावि गर्न राष्ट्रपतिले दिएको समय आज सकिने

    काठमाडौं । सरकार गठन गर्न दाबी गर्न राष्ट्रपतिले दलहरुलाई दिएको समय आज सकिने भएको छ । आइतबार साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिने छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् ।

    दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् । हालको सत्ता गठबन्धनले सरकार गठन गर्ने तयारी गरे पनि कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन । गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने सहमति भएको छैन । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने औपचारिक रुपमा सरकार गठनको प्रयास गरेको छैन । सत्ता गठबन्धनका नेताहरूले भने आजै दाबी पेस गरिने बताएका छन् ।

  • आज क्रिसमस डे, संसारभर मनाइंदै

    आज क्रिसमस डे, संसारभर मनाइंदै

    काठमाडौं । आज क्रिसमस डे, संसारभर मनाईदैछ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उ

    नले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

    यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ । नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् ।

  • अमेरिका र क्यानडामा अत्यधिक चिसोका कारण करोडौं मानिस प्रभावित, कम्तिमा १९ जनाको मृत्यु

    अमेरिका र क्यानडामा अत्यधिक चिसोका कारण करोडौं मानिस प्रभावित, कम्तिमा १९ जनाको मृत्यु

    काठमाडौं । अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरूले जोखिमको सामना गरिरहेका छन्। अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन्। मोन्टाना राज्यमा कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

    अमेरिकामा लगभग १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन्। अर्को हप्तासम्म कायम राख्ने भविष्यवाणी गरिएको खराब मौसमले मानिसहरूको क्रिसमस योजना बिथोलेको बीबीसीले लेखेको छ । उक्त व्यापक चिसो आँधी टेक्ससदेखि क्यानडाको कुबेकसम्म ३,२०० किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको छ।

    वायुमण्डलीय चाप घटेपछि अमेरिका(क्यानडा सीमा क्षेत्रमा रहेका ठूला तालहरू भएको क्षेत्रमा बरफसहितको तुफानको अवस्था देखा परेको छ। क्यानडामा ओन्टेरियो र कुबेकले उत्तरी ध्रुवीय विस्फोटको असर भोगिरहेका थिए र त्यहाँ हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको थियो। ब्रिटिस कोलम्बियादेखि न्यू फन्डल्यान्डसम्म देशका अधिकांश भागमा चरम चिसो र हिमआँधीको चेतावनी दिइएको थियो।

    अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले शुक्रवार जारी गरेको मौसमसम्बन्धी नक्सालाई जाडो मौसमको चेतावनी समेटिएको हालसम्मकै सबैभन्दा व्यापक चित्रण भएको बताएको छ। मोन्टानाको एल्क पार्कमा तापक्रम माइनस ४५ डिग्री सेल्सीअसमा झरेको छ भने मिशिगनको हेल सहर जमेको छ। उक्त सहरमा शुक्रवार राति हिउँले ढाकिएको क्षेत्रमा तापक्रम माइनस १७ डिग्री सेल्सीअस भएको थियो।

    साउथ डेकोटामा हिउँ क्षेत्रमा रहेका अमेरिकी आदिवासीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगा बालेर ताप्नुपर्ने अवस्था आएको आदिवासी अधिकारीहरूले बताए। पेन्सिलभेनिया र मिशिगनका क्षेत्रहरूमा भारी हिमपातको पूर्वानुमान गरिएको थियो। न्यूयोर्कको बफेलोमा कम्तीमा ८९ सेन्टिमिटरसम्म हिउँ खस्ने अपेक्षा गरिएको थियो।

    एनडब्लूएसका अनुसार ८० लाखभन्दा बढी मानिस हिमपातको जोखिममा रहेका छन्। न्यू इङ्गल्यान्ड, न्यूयोर्क र न्यूजर्सीमा तटीय बाढी पनि आएको छ।प्यासिफिक नर्थवेस्टका केही बासिन्दाले सियाटल र पोर्टल्यान्डका जमेका सडकहरूमा आइस स्केट गरेका थिए। हल्का चिसो महसुस हुने दक्षिणी राज्यहरू लुइजियाना, अलाबामा, फ्लोरिडा र जोर्जियामा पनि कडा चिसोका चेतावनीहरू दिइएका थिए।

    चिसो आँधीसँग सम्बन्धित मृत्युमा सडक दुर्घटनाहरू समावेश छन्। उडानहरूबारे जानकारी दिने बेवसाइट फ्लाइटअवेयरका अनुसार शुक्रवार मात्र पाँच हजार ६ सय भन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका थिए।

  • म्यानमारका नागरिकले किर्ते गरी नेपाली नागरिकता लिएको खुलासा

    म्यानमारका नागरिकले किर्ते गरी नेपाली नागरिकता लिएको खुलासा

    काठमाडौं । एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको उनले बताए । सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौंबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ ।

    झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरुपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कोइरालाले बताए । रासस

  • पूर्व राजा शाहले गरे जानकी मन्दिरमा पूजा

    पूर्व राजा शाहले गरे जानकी मन्दिरमा पूजा

    धनुषा । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन् । उनी शुक्रबार धनुषा पुगेका थिए । जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्न रातो कार्पेट ओछ्याइएको थियो ।

    सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरे । उनले शुक्रबार साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भई पूजापाठ गरेका थिए । पूर्वराजाको साथमा पूर्वमहारानी कोमल शाह समेत छिन् ।

  • नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य

    नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य

    काठमाडौं । सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरिएको बताएको छ । मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गरेका छन् ।

    विज्ञप्तिमा कोभिड–१९ को बुस्टर डोज खोप लगाउनु पनि अपील गरिएको छ । अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकोले खुल्ला सीमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयको भनाई छ ।

  • प्रचण्ड र माधव नेपालसँग रामचन्द्रको आग्रह : गठबन्धन जोगाउनुस

    प्रचण्ड र माधव नेपालसँग रामचन्द्रको आग्रह : गठबन्धन जोगाउनुस

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन नभत्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आग्रह गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर उनले सत्ता गठबन्धनलाई नभत्काउन आग्रह गरेका छन् । ‘जवाफमा प्रचण्डले कांग्रेस इमान्दार हुनुपर्ने बताएका छन् ।

    दाहालले कांग्रेसबाट राष्ट्रपति रामचन्द्र पौडेल र आफू प्रधानमन्त्री हुँदा गौरव महशुस हुने भन्दै पहिलो कार्यकालमा आफ्नो नेतृत्व नछोड्ने अडान लिएका छन्। खुमलटारमा प्रचण्डसँग छलफलपछि पौडेल कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका थिए।

  • अहिलेको संसदबाट सरकार गठन हुने अवस्था छैन : ओली

    अहिलेको संसदबाट सरकार गठन हुने अवस्था छैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसदले सरकार दिन सक्ने अवस्था नरहेको बताएका छन् । यसले मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढेको समेत उनको तर्क छ । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको बताए । प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै ओलीले अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने उनको भनाई छ ।

    अरुले पनि समयमा कदम चालेनन् भने, समयमा आफूआफूलाई हेरे भने, देश फेरि घुमिफिरि मध्यावधिमा जाने सम्भवना रहेको उनले बताए । ‘जाँदैन भन्न सकिँदैन’ उनले भने, ‘किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने सञ्चालन कसरी होला ?’ अरु दलहरुमा व्यक्तिगत र दलगत स्वार्थ देखिएका कारण सरकार नै बन्न नसकेको ओलीले बताए । उनले अहिलेको परिस्थितिलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्द एमाले मुकदर्शक बनेर नबस्ने बताए ।

  • अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

    अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अध्ययनका लागि विदेशिने प्रयोजनका लागि ३८ हजारले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार मंसिंर मसान्तसम्म ३८ हजार ६१ जनाले यस्तो अनुमति लिएका हुन् । साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ।

    यस अवधिमा एक हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ। शाखाका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा करिब एक लाख १४ हजार जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए। पछिल्लो समय यस अवधिमा ५९ मुलुकका लागि ‘नो अब्जेक्सन लेटर’ लिइएको छ। सबैभन्दा बढी अस्ट्रेलियाका लागि यस्तो पत्र लिएका छन्। अस्ट्रेलिया जान १० हजार ७९९ जनाले पत्र लिएका छन्।

    जापानका लागि छ हजार ६२५ जना, क्यानडाका लागि छ हजार ५३१ जना, बेलायतका लागि पाँच हजार ३०४ जनाले यस्तो पत्र लिएका छन्। भारतका लागि एक हजार ९० जना, यूएईका लागि ९१३ जना, रुसका लागि ९७२ जना, कोरियाका लागि ७४४ जना तथा न्युजिल्यान्डका लागि ३९६ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका छन्।

    सबैभन्दा कम अल्बानिया, अजरबैजान, आइसल्यान्ड, जर्जिया, पाकिस्तान र स्विट्जरल्यान्डका लागि एक–एक जनाले यस्तो पत्र लिएका छन्। अमेरिकाका लागि एक हजार ५५९ जनाले मात्र ‘नो अब्जेक्सन लेटर’ लिनुले विद्यार्थीको चाहना अमेरिकातर्फ घटेको देखाउँछ। कुनै बेला सबैभन्दा बढी ‘नो अब्जेक्सन लेटर’ लिने मुलुकमा अमेरिका पथ्र्यो। पछिल्लो तथ्याङ्कले विद्यार्थीको आकर्षण अस्ट्रेलियातर्फ बढेको प्रस्ट देखाएको छ। यस अवधिमा चीन, साइप्रस, डेनमार्क, फ्रान्स, जर्मनी, थाइल्यान्डमा जाने विद्यार्थीको सङ्ख्या पनि उल्लेखनीय रहेको पाइन्छ।