Category: फिचर

  • संसदीय दलको नेता छान्न कांग्रेसमा आज निर्वाचन, गगन र देउवा भिड्दै

    संसदीय दलको नेता छान्न कांग्रेसमा आज निर्वाचन, गगन र देउवा भिड्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ । यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।

    गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ । देउवा र थापाले मंगलबार नै मनोनयन दर्ता गरेका थिए । कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुन बहुमत ल्याउनुपर्छ ।

  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग चल्न सक्ने

    अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग चल्न सक्ने

    न्यूयोर्क । झण्डै दुई वर्षअघि अमेरिकाको संसद रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले देशद्रोहसहितका फौजदारी अभियोगहरू सामना गर्नुपर्ने सिफारिस गरेको छ। डेमोक्र्याटिक नेतृत्वको उक्त समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनको सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको हो। उक्त संसदीय समितिले ट्रम्पकी एकजना पूर्व सहयोगी होप हिक्सले ट्रम्पलाई उनको विरासतबारे दिएको चेतावनीको एउटा नयाँ क्लिप समेत सुनाएको छ।

    ट्रम्पका समर्थकहरूले सन् २०२१ को ज्यानुअरी ६ मा कङ्ग्रेसमा दङ्गा मच्चाउँदै जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियामा अवरोध पुर्‍याएका थिए। ट्रम्पले आफूले कुनै गल्ती नगरेको एक विज्ञप्तिमार्फत् बताउँदै उक्त समितिलाई कङ्गारु कोर्ट को आरोप लगाएका छन्। उनले यस अनुसन्धानलाई आफूलाई पुनः राष्ट्रपति निर्वाचनमा भाग लिन रोक्ने प्रयास भएको बताएका छन्। उक्त दङ्गाबारे झण्डै १८ महिना अनुसन्धान गरेपछि तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सको उक्त समितिले सोमवारको आफ्नो अन्तिम बैठकमा ट्रम्पले चारवटा अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो ।

    उनीमाथि देशद्रोहका निम्ति दुरुत्साहन, सहायता, सहयोग गरेको, औपचारिक प्रक्रियामा अवरोध पुर्‍याएको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउन षड्यन्त्र गरेको आरोप लागेको छ । यसअघि नै ट्रम्पलाई अभियोग लगाउने या नलगाउनेबारे विचार गरिरहेका न्याय मन्त्रालयका अभियोजनकर्ताहरूले संसदीय समितिको सिफारिसलाई मान्नु नै पर्छ भन्ने छैन।

    समितिका कदमहरू धेरैजसो साङ्केतिक हुने भए तापनि त्यसका सभापतिले प्रस्तावित अभियोगहरूलाई न्यायका लागि मार्गदिशा बताएका छन्। न्याय मन्त्रालयका प्रवक्ताले उक्त सिफारिसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरे। सात जना डेमोक्र्याट र दुई जना रिपब्लिकन सदस्य रहेको उक्त समितिले सोमवार आफ्नो प्रारम्भिक १६१ पृष्ठ लामो कार्यकारी सारांश सार्वजनिक गरेको छ।

  • प्रदीप पौडेलले छाडे देउवा र सिटौलाको साथ, संसदीय दलको निर्वाचनमा गगनलाई सघाउने

    प्रदीप पौडेलले छाडे देउवा र सिटौलाको साथ, संसदीय दलको निर्वाचनमा गगनलाई सघाउने

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा युवा नेता प्रदीप पौडेलले महामन्त्री गगन थापालाई समर्थन गर्ने भएका छन् ।

    पौडेल काठमाडौंस्थित बसेरा होटेलमा पुगेर थापालाई समर्थन जनाउँदै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका हुन् ।

    दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा उठ्ने भएपछि नेताहरु बाँडिन थालेका छन् ।

    कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । सिटौला र संस्थापन समूहबाट चौधौँ महाधिवशेनमा महामन्त्री पदमा पराजित भएका थिए।

    प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न आग्रह गर्दै आएका थिए । तर उनी मौन रहँदै थिए ।

  • देउवाले नछाडेपछि संसदीय दलको नेताका आकांक्षी रामचन्द्र पौडेल पुस्तान्तरणको बाधक

    देउवाले नछाडेपछि संसदीय दलको नेताका आकांक्षी रामचन्द्र पौडेल पुस्तान्तरणको बाधक

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् ।

    पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् । यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

    पौडेल आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् ।

    नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् ।

    पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले आफूले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको उनले बताए । उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरेका छन् ।

  • इन्स्टाग्राम लाइकमा मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान

    इन्स्टाग्राम लाइकमा मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान

    एजेन्सी । इन्स्टाग्राम लाइकमा लियोनेल मेस्सीले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् ।

    विश्वकप जितेपछि मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा ट्रफीसहितको फोटो पोस्ट गरेका थिए ।

    यसमा ५ करोड ३५ लाखभन्दा बढी लाइक आएका छन् । उनी एउटै इन्स्टाग्राम पोस्टमा सबैभन्दा धेरै लाइक पाउने खेलाडी बनेका छन् ।

    यस मामिलामा मेसीले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । रोनाल्डोले विश्वकप सुरु हुनुअघि मेसीसँग चेस खेलेको तस्विर पोस्ट गरेका थिए ।

    जसमा ४२ मिलियन (४ करोड) भन्दा बढी लाइक आएको थियो । त्यसपछि उनले विश्व कीर्तिमान आफ्नो नाममा बनाएका थिए । तर, मेसी त्योभन्दा अगाडि पुगेका छन् ।

    तर फलोअरको कुरा गर्दा रोनाल्डो अहिले पनि इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् । उनका अहिले इन्स्टाग्राममा ५१९ मिलियन फलोअर रहेका छन् । जबकी मेसीका इन्स्टाग्राममा ४०१ मिलियन फलोअर रहेका छन् ।

  • देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, प्रस्तावक शेखर कोइराला

    देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, प्रस्तावक शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।

    इतर समूहका सांसदहरुसहितको उक्त बैठकमा कोइरालाले सभापति शेरबहादुर देउवासँग दलको नेतामा भिड्न गगनको नाम प्रस्ताव गरेका हुन्।

    संसदीय दलमा डा शेखर कोइरालाले समेत इच्छा देखाएपछि दुई नेताबीच सहमति जुटाउन बिहानबाटै होटल एम्बासडरमा बैठक बसेको थियो।

    शेखरले नै गगनलाई उम्मेदवार प्रस्ताव छन्। । सहमति केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै छ ।

    संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा उम्मेदवार हुने पक्का भइसकेको छ । थापाले गत चुनावमै प्रचार प्रसारका क्रममा आफू प्रधानमन्त्रीको उम्मेदवार हुने बताएका थिए ।

    कांग्रेसमा संस्थापनबाट सभापति शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री हुने गरी दलको नेतामा उठ्न तयार भइसकेका छन्।

    कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुँदैछ। उम्मेदवारहरुको मनोनयन दर्ताको समय भने मंगलबार दिउसोका लागि निर्धारण गरिएको छ।

  • थाइल्याण्डमा पानीजहाज डुब्दा तीन दर्जन सैनिक वेपत्ता

    थाइल्याण्डमा पानीजहाज डुब्दा तीन दर्जन सैनिक वेपत्ता

    बैंकक । थाइल्यान्डमा पानीजहाज डुब्दा भएको दुर्घटनामा तीन दर्जन सैनिक वेपत्ता भएका छन् । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार पानीजहाज डुब्दा कम्तीमा ३१ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । थाई नौसेनाका प्रवक्ताका अनुसार ‘एचटीएमएस सुखोथाई’ पानीजहाजमा एक सय जनाभन्दा बढी नौसैनिक सवार थिए । थाइल्यान्डको खाडीमा गस्ती गरिरहेका बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनार नजिकै रहेको बेला जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि दुर्घटना भएको थियो ।

    नौसेनाले सार्वजनिक गरेका तस्बिरमा कडा छाल पार गर्ने क्रममा जहाज एक छेउबाट डुब्ने क्रममा ढल्किरहेको देखिन्छ । दुर्घटनालगत्तै उद्धार अभियान सुरु गरिएको भए पनि ३१ जना नाविक बेपत्ता भएको नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बताएका छन् । बेपत्ता सैनिकको खोजी भइरहेको मोन्ट्राडपालिनले भनाइ छ । ‘हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौं,’ उनले भने, ‘जहाजको ‘अपरेटिङ सिस्टम’ ले काम गर्न छाडेपछि जहाजले नियन्त्रण गुमाएको थियो ।’

    दुर्घटनामा परेको जहाज सन् १९८० को दशकमा निर्मित भएको बीबीसीले जनाएको छ । जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुईवटा हेलिकोप्टर, दुईवटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको प्रवक्ता सुखोथाईले बताए । उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी छ । घटनापछि उद्धार गरिएका ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

    थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले एक विज्ञप्ति जारी गर्दै अधिकारीहरूले घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् । ‘घटनापछि विकसित घटनाक्रमलाई मैले नजिकबाट नियालिरहेको छ । पाँच जना गम्भीर घाइते भएका छन्,’ प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • काठमाडौं महानगरले पुनः भन्यो :मापदण्ड विपरितका साइनबोर्ड हटाउ

    काठमाडौं महानगरले पुनः भन्यो :मापदण्ड विपरितका साइनबोर्ड हटाउ

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका मापदण्ड विपरीतका साइन बोर्ड हटाउन पुनः ताकेका गरेको छ । साइनबोर्ड नराख्न र राखेको भए १५ दिनभित्र हटाउन महानगरले अनुरोध गरेको हो । महानगरको राजस्व विभागले आज सूचना निकालेर महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने सङ्घ, संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी निकायले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न र राखेको भएमा हटाउन आग्रह गरेको हो ।

    व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन पटक पटक आग्रह गरिएकोमा अटेर गरी राखेको पाइएको समेत महानगरले उल्लेख गरेको छ । सूचनालाई अवज्ञा गरी सम्बन्धित पक्षले त्यस्ता परिचय पाटी नहटाएमा महानगरपालिकाको टोलीले हटाइ त्यसबापत लागेको खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गर्ने चेतावनी दिएको छ ।

    साथै महानगरपालिका क्षेत्रमा व्यवसाय वा कार्यालयले परिचय पाटी राख्दा वार्षिक रूपमा रकम बुझाउनुपर्ने र त्यसको दररेट पनि उल्लेख गरेको छ । ६ वर्ग फुटसम्मको एउटा मात्र साइन बोर्ड राख्दा वार्षिक ५ सय, १५ वर्ग फुटसम्म एक साइन बोर्ड राख्न पाइने र त्यसको एक हजार ५ सय तथा १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको प्रति वर्ग फुट एक वटा मात्र राख्न पाइने र त्यसमा प्रति वर्ग फुटको एक हजार लाग्नेछ ।

    त्यसअनुसार १६ वर्ग फुटको १६ हजार, १७ वर्ग फुटको १७ हजार गरी क्रमशः वर्ग फुट अनुसार शुल्क तिर्नुपर्नेछ । त्यस्तै ३० वर्ग फुटको ३० हजार रुपैयाँ वार्षिक रुपमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

  • चिसोका कारण सर्लाहीमा दुई जनाको मृत्यु

    चिसोका कारण सर्लाहीमा दुई जनाको मृत्यु

    सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोका कारण दुई जनाको ज्यान गएको छ । चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको समाचार एजेन्सी राससले जनाएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मंसिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ। केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो। दुई कोठामध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबण्डा गरेका थिए।

    एउटै कोठामा मृतक रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पङ्कज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना बस्दै आएका थिए। किरियापुत्री बसेका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यही कठ्याङ्ग्रिएर ज्यान गएको बताए। स्थानीय मुसहरको पनि लगाउने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा समस्या रहेको हरिपुर नगरपालिका–९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायले बताए।

    रमेशको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएकोबारे आफूलाई पनि कसैले जानकारी नगराएको वडाध्यक्ष रायले बताए। उनले चिसो प्रभावितका लागि गैरसरकारी संस्थासँग समन्वय गरी कम्बल बाँड्ने तयारी गरिरहेको बताए।

  • राहदानी बनाउन लिनु पर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन

    राहदानी बनाउन लिनु पर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन

    काठमाडौं । राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो । विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तर अब पुस ५ गतेदेखि लागू हुनेगरी अपराह्न साढे ३ बजेदेखि मात्र अपोइन्टमेन्ट डेट खोल्ने विभागले जनाएको छ ।

    अपोइन्टमेन्ट डेट लिनका लागि एकै समयमा धेरै सेवाग्राहीबाट माग भइआएको र यसले सर्भरमा चाप देखिएका कारण यस्तो समय परिवर्तन गरिएको पनि विभागले जनाएको छ । ‘प्रायःजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरूले पनि सोही समयमा बुकिङ खोल्ने गरेको विभागमा जानकारी प्राप्त हुन आएको छ । जसकारण विभागको सर्भरमा अत्यधिक चाप पर्न गई वेबसाइटको पेज खुल्न समय लाग्ने र हाई ट्राफिक भोलुम भन्ने म्यासेज देखाउने गरेको छ’, विभागले सोमबार जारी गरेको सूचनामा भनिएको छ ।

    राहदानी लिनका लागि फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ । बुकिङ गरेको मिति र समयभन्दा अगाडि आएर लाइन बसेकै आधारमा विभागले सेवा दिँदैन । त्यसकारण आफ्नो बुकिङको दिन तोकिएको समयमा मात्र आउनुपर्ने व्यवस्था रहेको छ ।

    यसरी अपोइन्टमेन्ट बुक गर्नका लागि बिहान कार्यालय समयपछि विभागका सर्भरमा बढी चाप पर्ने गरेको थियो । अपराह्न साढे ३ बजेपछि अपोइन्टमेन्ट डेट लिने व्यवस्था कार्यान्वयन गर्दा सर्भरमा समस्या कम हुने विभागले जनाएको छ । रासस

  • आजबाट नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द

    आजबाट नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द

    काठमाडौं । आजबाट नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए ।

    उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

    नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ ।

    काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ ।

    काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ ।

    बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

  • झापामा दम्पत्ति मृत फेला

    झापामा दम्पत्ति मृत फेला

    झापा । झापामा एक दम्पत्ति मृत फेला परेका छन् । झापाको चारआली जंगलमा उनीहरु मृत फेला परेको प्रहरीले बताएको छ । सोमबार दिउँसो पौने ३ बजे मेचीनगर नगरपालिका १३ चारआली जंगलमा दुई जनाको शव फेला परेको थियो। उनीहरू श्रीमान–श्रीमती भएको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    मृतक अर्जुनधारा नगरपालिका(११ बस्ने ५२ वर्षीय नेत्रकुमार इङनिम लिम्बू र उनकी ४२ वर्षीया श्रीमती सञ्जु लिम्बू छन्। उनीहरू मंसिर २१ गतेपछि परिवारको सम्पर्कमा नभएको बताइएको छ । डिएसपी पाठकका अनुसार शव केही गलिसकेको पनि छ। एउटाको डोरी चुँडिएर भुइँमा खसेको अवस्थामा शव फेला परेको थियो। स्थानीयले दिउँसो दुई जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले आत्महत्या गरेको देखिएको छ ।

  • कांग्रेस संसदीय दल नेतामा उम्मेदवार बन्न ५१ हजार तिर्नुपर्ने

    कांग्रेस संसदीय दल नेतामा उम्मेदवार बन्न ५१ हजार तिर्नुपर्ने

    काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार रूपैयाँ तोकिएको छ।

    सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गर्न ५१ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

    यसअघि ४१ हजार रूपैयाँ बुझाउने व्यवस्था भए पनि यसपटक १० हजार रूपैयाँ बढाइएको हो ।

    संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उमेदवारी दिने तयारी गरेका छन् ।

    संसदीय दलमा ८९ जनाले निर्वाचन प्रकृयामा भाग लिनेछन् । उमेदवारी दर्ता भोलि दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । यसअघि भोलि बिहान ८ देखि १० बजे सम्मलाई समयसीमा तोकिएको थियो ।

  • नेप्सेमा सामान्य सुधार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा सामान्य सुधार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेको नेप्से आज ३ अंकले बढेको हो ।

    सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने गिरावट आएके छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोडले घटेर १ अर्बभन्दा कममा सीमित भएको छ ।

    सोमबार नेप्से ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको छ । यसदिन २५१ कम्पनीको ८८ करोड ८१ लाख रुपैयाँ बढीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहकाे घटेको छ । अन्य उपसमूह सबैभन्दा धेरै १.९५ प्रतिशतले बढेको छ ।

    आज प्राइम कमर्सियल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स साढे ५ करोड र हिमालयन डिस्ट्रीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    झिनो अंकले बढेको बजारमा आज धौलागिरी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, खप्तड लघुवित्त ६.०८, सीवाइसी नेपाल लघुवित्त ५.९८, नबिल ब्यालेन्स फण्ड २ को सेयर मूल्य ५.०९ प्रतिशतले बढेको छ ।

  • वर्षामा मेलम्चीको पानी ल्याउन जेठ अगावै स्थायी संरचना बनाइने

    वर्षामा मेलम्चीको पानी ल्याउन जेठ अगावै स्थायी संरचना बनाइने

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका(१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ ।

    वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ ।

    पानी ल्याएको मूलढोकामा फिल्टर राखेर वर्षाको बाढी र हिलो नआउने गरी पानी राजधानी ल्याउने विषयमा सरोकारवाला निकायसँग छलफल चलिरहेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । यस्तो संरचनाले सामान्य अवस्थामा आउने बाढी रोक्नेछ । विसं २०७८ असार १ मा आएजस्तो करिब एक शताब्दीमा आउने बाढी भने यो संरचनाले नधान्ने आयोजनाले जनाएको छ । सामान्य बाढी धान्ने भएकाले ‘हेडवक्र्स’ नबनेसम्मका लागि यो संरचना बनाउन लागिएको हो ।

    जेठ अगावै संरचना बनाइने

    वर्षामा पनि पानी राजधानी ल्याउन सकिने गरी अस्थायी संरचना बनाउने प्रस्ताव तयार भएको उनले बताए । यस्तो संरचना आगामी जेठ अगावै बनाइने छ ।

    वर्षामा पनि पानी ल्याउन बनाइने अस्थायी संरचनाका लागि खर्च पनि धेरै नलाग्ने आयोजनाले जनाएको छ । कम खर्चिलो र थोरै समय लगाएर वर्षाका ५ महिनामा पनि मेलम्चीको पानी राजधानीवासीका धारामा झार्न आयोजनाले पहल थालेको हो ।

    आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जेठसम्म वर्षामा पनि पानी आउने संरचना बनाउन अहिले काम गरिरहेको निर्माण व्यवसायीलाई नै काम दिने गरी मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताए ।

    निर्माण व्यवसायीको छनोटको प्रक्रियाबाट अघि बढ्दा असारदेखि मेलम्चीको पानी राजधानी ल्याउन निरन्तरता दिन नभ्याइने आयोजनाले जनाएको छ । हाल मेलम्ची खोलाको दैनिक १७ करोड ५० लाख लिटर पानी राजधानीमा आइरहेको छ । तर राजधानीमा माग भने ४३ करोड लिटर पानीको छ ।

    बागमती स्रोतबाट हाल दैनिक नौ करोड लिटरसम्म पानी पूर्ति भइरहेको छ । खानेपानी मन्त्रालयले राजधानीका काठ क्षेत्र र सीमा जोडिएका जिल्लाका स्रोतबाट पनि छिटो राजधानीमा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जनाएको छ ।

    विसं २०७७ चैत तेस्रो साता पहिलोपटक राजधानी आइपुगेको मेलम्चीको पानी २०७८ जेठ अन्तिम साता वर्षाको बाढी सुरुङमा छिर्न सक्ने भन्दै बन्द गरिएको थियो ।

    त्यसबेला ‘हेडवक्र्स’को काम भइरहेको भनिएको थियो । २०७८ असार १ मा मेलम्ची खोलाको मुहानमाथि भ्रेमाथानबाट झरेको लेदोसहितको बाढीले खानेपानी आयोजनाको संरचनामा क्षति गरेको थियो । बाढीले संरचनासँगै ‘हेडवक्र्स’मा पनि क्षति भएको थियो ।

    क्षतिपछि हेलम्बु गाउँपालिकाको समेत सहयोगमा संरचना निर्माण गरेर २०७८ चैतमा दोस्रोपटक राजधानीमा मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछि जल तथा मौसम विज्ञान विभागलगायत सरोकार भएका निकायको अनुमान अनुसार बाढी आउने सम्भावना बढेपछि २०७९ असारदेखि फेरि बन्द गरिएको थियो । दोस्रोपटक बन्द गरिएको मेलम्चीको पानी २०७९ मङ्सिर तेस्रो साता तेस्रो पटक राजधानी ल्याइएको हो ।

    ‘हेडवर्क्स’ निर्माण अध्ययन जारी

    ‘हेडवर्क्समा पनि क्षति भएपछि हाल खानेपानी मन्त्रालय र एसियाली विकास बैंक (एडीबी)ले यस विषयमा अध्ययन गरिरहेका छन् ।

    विज्ञसहितको टोलीले पहिलेकै ठाउँमा हेडवर्क्स बनाउन सकिन्छ कि सकिन्न भनेर भौगोलिक अध्ययन भइरहेको आयोजनाका प्रवक्ता पन्तले बताए। अध्ययन प्रतिवेदन बनाएर हेडवर्क्स निर्माण गर्दा असार अगावै नसकिने भएकाले वर्षामा पनि पानी ल्याउन अस्थायी संरचना बनाउने प्रस्ताव आयोजनाले अघि सारेको हो ।

    अहिले हेडवक्र्स निर्माण नभएकैले वर्षामा पनि मेलम्चीको पानी राजधानी ल्याउन नसकिएको आयोजनाले जनाएको छ । हालसम्म मेलम्ची खानेपानी आयोजनामा रु ३१ अर्ब ११ करोड खर्च भइसकेको छ ।

    चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गरेका कारण पनि आयोजनाका काममा असर गरेको छ । समिति खारेजीको निर्णयले अहिलेसम्म कर्मचारी तलब पनि पाएका छैनन् ।

    समितिलाई निरन्तरता दिने सैद्धान्तिक सहमति सरकारले जनाए पनि निर्णय भने नहुँदा काममा असर गरिरहेको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । समिति खारेजीको अवस्थामा रहँदा मेलम्चीको दोस्रो चरणमा राजधानी ल्याइने याङ्री र लार्केको काम पनि प्रभावित भएको छ ।

    मेलम्ची खानेपानी आयोजनाले स्थानीयवासीले उठाएका सवालमा ध्यान नदिँदा जुनसुकै बेला समस्या आउने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ ।

    आयोजनाले मेलम्ची बाढीले भत्काएको सडक, पुललगायत संरचना निर्माणमा पहल नगरेको, पानीको महसुल स्थानीय सरकारलाई दिनुपर्ने शुल्कको निर्णय नगरेको उनको गुनासो छ ।

  • कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक

    कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक

    काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक भएको छ । कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमितिले सोमबार निर्वाचनको तालिका सार्वजनिक गरेको हो।

    दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेलृ जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

    आजै साढे २ बजेदेखि ३ बजेसम्म दावी विरोधको लागि समय छुट्याइएको छ। कार्यतालिका अनुसार आजै दिउँसो ४ बजे दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

    पुस ५ गते (मंगलबार) बिहान ८ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारका लागि दसखास्तको समय तय भएको छ।

    पुस ५ गते बिहान साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। सोही दिन ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त उपर दाबी विरोधको समय राखिएको छ।

    पुस ५ गते नै दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ। त्यस्तै, दिउँसो साढे १२ बजेदेखि साढे २ बजेसम्मा उम्मेदवारले नाम फिर्ता लिनसक्नेछन्।

    उम्मेदवारको अन्तिम नामावली पुस ५ गते दिउँसो ३ बजे हुने कार्यसूचीमा उल्लेख गरिएको छ। पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने जनाइएको छ।

  • सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा लिन चाहनेले जानकारी दिनुपर्ने

    सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा लिन चाहनेले जानकारी दिनुपर्ने

    काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते सपथ लिने भएका छन्।

    सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि सपथ ग्रहणको समय तोकेको छ।

    सपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको सक्कल र प्रतिलिपि तथा दुईटा फोटो सहित लिएर आउन सचिवालयलाई निम्तो दिइएको छ।

    कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरि त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ।

    सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए। उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए।

  • राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध

    राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ। संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध चयन गरेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।

  • माधव नेपाल संसदीय दलको नेता, उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला

    माधव नेपाल संसदीय दलको नेता, उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला

    काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता चयन गरेको छ ।

    सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष माधव नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।

    त्यस्तै संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

    समानुपातिक तर्फ थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीबाट प्रत्यक्षमा १० जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन्।

  • अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा १९ मारिए

    अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा १९ मारिए

    काबुल । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जना मारिएका छन् । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको समाचारमा उल्लेख छ ।

    विस्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । इन्धन बोकेको ट्याङ्कर विस्फोट हुनुको कारण खुलेको छैन । विस्फोटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको छ ।

  • समाजवादीको संसदीयको दलको बैठक बस्दै

    समाजवादीको संसदीयको दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।
    संसदीय दलको नेता चयन, समसामयिक राजनीति, भावी रणनीति र नयाँ सरकारबारे छलफल गर्न बैठक बोलाइएको हो ।

    एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जितेको छ। संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुने सम्भावना छ। साथै आइतबार एकीकृत समाजवादीले सचिवालय बैठक गरेको थियो। विचार मिल्ने दलहरूसँग एकतावद्ध भएर जाने विषयमा उक्त बैठकमा छलफल भएको थियो।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । सोमबार देशका केही भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। मंगलबार पनि देशको पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । बुधबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना कम रहेको छ ।

  • सर्वकालिन महान खेलाडी मेसी

    सर्वकालिन महान खेलाडी मेसी

    काठमाडौं । वर्तमान युगमा महान खेलाडीको सूचीमा राखिने पेले र म्याराडोनासँगै आधुनिक यूगका सर्वकालिन महान खेलाडी बन्न सफल भएका छन् लियानल मेसी । अब उनले आफ्नो सक्रिय जीवनमा जित्न बाँकी कुनै पनि उपाधी छैन । अर्जेण्टिनाले आइतबार राती विश्वकप जितेसँगै मेसीको यो सफलता अमर बनेको हो । कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी समेत बने ।

    उनी सन् २०१४ मा समेत विश्वकपको उत्कष्ट खेलाडी बनेका थिए । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेके लियोनल मेस्सी उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल जितेका हुन् । ३५ वर्षिय मेसीका लागि यो अन्तिम विश्वकप भएको उनी स्वयमःले बताएका छन् ।

  • अर्जेण्टिना विश्व च्याम्पियन

    अर्जेण्टिना विश्व च्याम्पियन

    काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि उचाल्दै विश्व च्याम्पियन बनेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जित्न सफल भयो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे ।

    त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे । २–१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३–१ मा पुर्‍याए ।

    फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाए । यसअघि खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको हो ।


    ८० मिनेटसम्म अर्जेन्टिनाले २–० को अग्रता बनाएको थियो । लियोनेल मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । पहिलो हाफमा निरस खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो । तर फ्रान्सले गोल गर्ने ८० ‌औं मिनेटसम्म कुर्न पर्‍यो । ८० औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेल बराबरी गरे ।

    निर्धारित ९० मिनेटमा दुवै टिमबाट २(२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए । तर फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पायो । जसलाई युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् । त्यसपछि भने गोल भएन ।

  • ७ दिनको समय दिएर राष्ट्रपतिबाट सरकार गठनको आह्वान

    ७ दिनको समय दिएर राष्ट्रपतिबाट सरकार गठनको आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।

    निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकी हुन्।

    आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

    संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

  • तीन वर्षपछि शून्यमा झर्‍यो नेपालमा कोरोना संक्रमण दर

    तीन वर्षपछि शून्यमा झर्‍यो नेपालमा कोरोना संक्रमण दर

    काठमाडौं। तीन वर्षपछि नेपालमा कोभिड- १९ संक्रमणदर शून्यमा झरेको छ । नेपालमा विसं २०७६ साल माघको पहिलो साता पहिलो पटक कोभिड संक्रमित भेटिएका थिए।

    झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो। आज २ जना संक्रमणमुक्त भएका छन्।

    मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ११ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

  • स्थानीय तहका प्रमुख अधिकृतले अब बिदामा बस्दा अनिवार्य मन्त्रालयको स्वीकृति लिनुपर्ने

    स्थानीय तहका प्रमुख अधिकृतले अब बिदामा बस्दा अनिवार्य मन्त्रालयको स्वीकृति लिनुपर्ने

    काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने उक्त मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिए ।

    उनले जानकारीविना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृित बेगर बिदा पनि बस्न नपाइने बताए ।

    ती अधिकारीले आफूखुशी कार्यलय छाडेर बाहिर जाने गरेको गुनासो आएकाले जानकारीविना कार्यालय छाडेर नजान उनीहरुलाई निर्देशन दिइएको छ ।

    मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्र पठाइ अब उप्रान्त मन्त्रालयको पूर्वस्वीकृति विना जिल्ला र कार्यक्षेत्र नछाड्न पनि निर्देशनमा उल्लेख गरेको छ ।

  • नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

    नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

    काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत मंगलबारदेखि ओरालो लागेको नेप्से आज पनि उच्च अंकले घटेको हो ।

    आइतबार नेप्से २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा आइपुगेको छ । यसदिन २५० कम्पनीको १ अर्ब १५ करोड रुपैयाँ बढीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स उपसमूह सबैभन्दा धेरै २.८८ प्रतिशतले घटेको छ ।

    आज कृषि विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर र नबिल बैंकको ५/५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावर र रुरु जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

  • अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्दै

    अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्दै

    काठमाडौं । अनुत्पादक क्षेत्र भनिए पनि बैंक तथा वित्तीय संस्थाहरूको घरजग्गामा कर्जा लगानी वर्षेनी बढ्दै गएको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा घरजग्गामा कर्जा लगानी ६९.३७ प्रतिशतले बढेको छ ।

    यद्यपि, राष्ट्र बैंकको कडाइका कारण पछिल्लो १ वर्ष यता भने घरजग्गामा कर्जा लगानी केही सुस्त देखिएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूले ५ वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँले व्यक्तिगत घरजग्गामा कर्जा प्रवाह गरेका छन् ।

    आर्थिक वर्ष २०७४/ ७५ सम्म बैंकहरुले घरजग्गामा ३ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । ५ वर्षको अवधिमा बैंकहरुको घरजग्गाका कर्जा लगानी औसतमा वार्षिक औसतमा ११ प्रतिशतले वृद्धि हुँदै गएको छ ।

    संस्थाहरूले चालु वर्षको तीन महिनामा १५ अर्ब रुपैयाँ व्यक्तिगत आवास कर्जा र रियलस्टेट सेक्टरमा लगानी गरेका छन् । गत वर्ष मात्र १५ प्रतिशतले ऋण लगानी बढाएको तथ्यांकले देखाउँछ ।

  • अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी

    अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी

    काठमाडौं\एजेन्सी । अमेरिकामा यस वर्ष चिसो याममा कम्तीमा एक करोड ५० लाख जना बिरामी भएको रिर्पोट सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को प्रतिवेदनले यस्तो तथ्य देखाएको हो । सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।

    अमेरिकामा मौसमी इन्फ्लुएन्जाको सङ्क्रमण उच्च रहेको तर केही क्षेत्रमा अहिले घट्दो देखिएको पनि सीडीसीको तथ्यांक छ । सीडीसीको तथ्याङ्कअनुसार पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार पाँच सयभन्दा धेरै मानिस अस्पताल भर्ना भएका छन् । अमेरिका कोभिड १९ बाट समेत बढी प्रभावित मुलुकमा पर्छ ।