Category: फिचर

  • माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?

    माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?

    माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि पहिलो चरणको नेतृत्वमा देउवासमेत दावेदार भएकाले सहमति नजुटेको बताइएको छ ।

  • नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्दै

    नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्दै

    काठमाडौं । नेपाली कांग्रेस नयाँ सरकार गठनबारे छलफलमा जुट्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसको भनाई छ ।

    नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पहिलो चरणमा प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

  • विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका

    विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका

    काठमाडौं । विश्वकप फुटबलको एक महिना लामो महामेला आज समापन हुँदैछ । आज तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । लिओनल मेसीका लागि विश्वकपको यो सम्भवतः अन्तिम खेल हो ।

    ३५ वर्षिय महान फुटबलरका लागि आज विश्व च्याम्पियन बन्ने अन्तिम मौका समेत आएको छ । उता, उनको यो यात्रालाई रोक्ने प्रयासमा हुनेछन्, २३ वर्षीय किलिएन एमबाप्पे । उनी लगातार दोस्रो पटक विश्वकप जित्ने अभियानमा छन् । अर्जेन्टिनाले विश्वकप जितेमा यो ३६ वर्षपछिको उपाधि हुनेछ । मेसीले पनि विश्वकप जित्दै विश्वकपमा सुखद बिदाइ पाउनेछन् । अर्को पहिलो खेल हारेर पनि च्याम्पियन बन्ने टिम हुनेछ अर्जेन्टिना । यस्तो नतिजा सन् २०१० मा स्पेनले निकालेको थियो ।

    फ्रान्सले जितेमा ६० वर्षपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो र समग्रमा तेस्रो टिम बन्नेछ । यसअघि ब्राजिलले पछिल्लो पटक १९६२ मा यो उपलब्धि हासिल गरेको थियो भने इटलीले १९३४ र १९३८ मा लगातार जितेको थियो । यस्तै एमबाप्पे २४ वर्षअघि नै लगातार विश्वकप जित्ने पेलेपछि पहिलो खेलाडी बन्नेछन् । यस्तै ह्युगो लोरिस दुई विश्वकप जित्ने पहिलो कप्तान बन्नेछन् । प्रशिक्षक डिडिएर डेसच्याम्प्स प्रशिक्षकका रुपमा दुई विश्वकप जित्ने पहिलो प्रशिक्षक हुनेछन् ।

    साविक विजेता फ्रान्सले पछिल्ला ७ विश्वकपमा फाइनल खेल्न लागेको यो चौथो पटक हो । सन् १९९८ मा घरेलु मैदानमै पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता बनेको थियो भने २०१८ मा दोस्रो पटक च्याम्पियन बनेको थियो । दुई पटकै अर्जेन्टिनाले १९७८ र १९८६ मा उपाधि जितेको थियो । मेसीको नेतृत्वमा दोस्रो पटक फाइनल पुगेको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।

    १९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई च्याम्पियन बनाएयता दुई पटक फाइनल पुगेर पनि अर्जेन्टिना पराजित भएको थियो । मेसीको अन्तिम विश्वकप जित्नका लागि अर्जेन्टाइन टिम अहिले एकजुट भएको छ । पछिल्लो पटक २०१४ मा फाइनल पुगे पनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।

  • क्रोएसिया बन्यो तेस्रो

    क्रोएसिया बन्यो तेस्रो

    काठमाडौं । क्रोएसिया विश्वकपमा तेस्रो बनेको छ । जारी विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २–१ गोलअन्तरले हराउँदै तेस्रो स्थान सुरिक्षित गरेको हो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो ।

    सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा शक्तिशाली देशका रुपमा आफूलाई चिनाउन सफल भएको छ । प्लेअफ खेलको सुरुवात शानदार र विस्फोटक रह्यो । सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अग्रता बनाएको थियो । तर, अचरफ दारीले दुई मिनेटभित्रै क्लोज रेन्जबाट गोल गरी खेल बराबरीमा ल्याए ।

    मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि शानदार गोल गरी क्रोएसियालाई पुनः अग्रता दिलाए । मूलतः उनको प्रहार क्रसका लागि थियो । तर, डिफ्लेक्ट भएपछि बलले पोष्टको दिशा लियो, जसलाई मोरक्कोका प्रोफोलिक गोलकिपर यासिन बोनोले पनि अनुमान गर्न सकेनन् । पहिलो हाफको तुलनामा खेलको दोस्रो हाफ उर्जाशील थिएन । मोरक्कोले खेलमा बराबरीका लागि केही राम्रा अवसरको उपयोग गर्न सकेन ।

    जारी विश्वकपमा आश्चर्यजनक सफलता पाएको मोरक्कोले लगातार दुई हारसँगै आफ्नो विश्वकप अभियान अन्त्य गरेको छ । कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ । जहाँ साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना आमनेसामने हुनेछन् । यो खेल दोहाको लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

  • नेपालको समृद्धिका लागि अमेरिकाको सहयोग सदैव रहन्छ : राजदूत

    नेपालको समृद्धिका लागि अमेरिकाको सहयोग सदैव रहन्छ : राजदूत

    नेपालगन्ज । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन् । उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

    पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आइपुगेका राजदूत थम्प्सनले नेपालमा सूचना, प्रविधि र अंग्रेजी भाषाका विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । उनले भने, ‘नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत्, विभिन्न साना तथा मझौला उद्योगको विकासमा विशेष जोड दिन चाहन्छौं ।

    नेपालमा सञ्चालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै राजदूत थम्प्सनले समावेशिताको कुरामा सुधार भएको र सीमान्तकृत तथा अल्पसंख्यक समुदायलाई पनि थप सहयोग पुगेको बताए । अमेरिकाले अब निजी क्षेत्रको सहकार्यमा लगानी गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाललाई विकसित मुलुकको सूचीमा पार्नका लागि यहाँ विकासका पूर्वाधार तयार गर्न बाँकी छन्, त्यसलाई पूरा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ ।’

  • निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन

    निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन

    काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको छ ।
    आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको हो ।

    प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकी कुमारी तुलाधरको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

    ती टोलीले सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने व्यवस्था रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम भने निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ ।

  • प्रधानमन्त्रीले गरे ललितपुर महानगरपालिकाको प्रशंसा

    प्रधानमन्त्रीले गरे ललितपुर महानगरपालिकाको प्रशंसा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने भन्दै ललितपुर महानगरपालिकाको प्रशंसा गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताए ।

    प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जबाफदेही हुनुपर्ने बताए । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गरेका छन् । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रूपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए ।

    प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमुना महानगरपालिकाको रूपमा आफूलाई अघि बढाएको बताए । त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षणको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गरे ।

  • खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?

    खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?

    काठमाडौं । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेलेका थिएनन् । प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने जानकारी गराएका छन् । उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी छन् ।

    प्रशिक्षक डेस्चाँले यी तीन खेलाडी फाइनलअघि स्वस्थ हुने अपेक्षा गरेका छन् । डेस्चाँले कतारको गर्मीमा एयर कन्डिसनरको धेरै प्रयोगले पनि बिरामी बनाएको बताए । यसअघि स्विट्जरल्यान्डका दुई खेलाडी पनि समूह चरणमा सर्बियाविरुद्धको निर्णायक खेलमा यसै कारणले बिरामी परेका थिए ।

  • विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु

    विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु

    काठमाडौं । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो ।

    टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।

    नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो । टोखामा झण्डै पाँच दशकदेखि चाकु उत्पादन गर्दै आएका टोखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभइ विश्वका विभिन्न मुलुकबाटसमेत माग आइरहेको बताए । चाकुको माग अत्यधिक भए पनि बजारसम्म पुर्‍याउन भ्याइनभ्याइ भएको उनको भनाइ छ ।

    टोखाका उद्योगमा हाल सादा चाकुू मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् । टोखा नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्राण्डिङ गर्ने समेत घोषणा गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कराज पाठक बताउँछन् ।

    “टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ”, उनले भने । टोखा काठमाडौँ क्षेत्र नं ५ मा पर्दछ । काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेल टोखाको चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि आफूले पहल गर्ने बताए ।

    “टोखा चाकुको लागि प्रख्यात क्षेत्र हो, यसलाई विश्वमाझ चिनाउनका लागि म लाग्नेछु”, उनले भने । टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु एक सय ३० देखि एक सय ३५ सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ ।

    चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।

    रासस

  • नेपाल र भारतीय सैनिकको संयुक्त अभ्यास सुरु

    नेपाल र भारतीय सैनिकको संयुक्त अभ्यास सुरु

    काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिएको सो सैनिक अभ्यास शुक्रबारबाट रुपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल विद्यालयमा सुरु भएको नेपाली सेनाले जनाएको छ ।

    ‘सूर्यकिरण’को १६औँ संस्करणका रूपमा सुरु भएको उक्त सैनिक अभ्यासको मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति यामप्रसाद ढकालले शुभारम्भ गर्नुभयो । यसअघि १५औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । नेपाली सेनाका अनुसार विपत् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सो संयुक्त अभ्यास सुरु गरिएको हो ।

    यस संयुक्त अभ्यासमा फौजहरूले प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गलमा गर्नुपर्ने युद्धकला र विपत् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा अभ्यास गर्नेछन् । नेपाली सेनाबाट ३३४ जना र भारतीय सेनाबाट ३३४ जना सहभागी रहेको उक्त संयुक्त अभ्यास पुस १४ गते सम्पन्न हुनेछ । २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास अहिलेसम्म दुवै देशमा गरी १५ पटक सम्पन्न भइसकेको छ ।

  • उच्च भेगमा हिमपातको सम्भावना

    उच्च भेगमा हिमपातको सम्भावना

    काठमाडौं । शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस्तो जानकारी गराएको हो । देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही हल्का वर्षा हुनुका साथै उच्च पहाडी भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही भू–भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ। साथै देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोसमेत बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै

    विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै

    काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई टोलीले तेस्रो स्थानका लागि आज खेल्दैछन् । खेल राति ८ : ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएको हो ।

    सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २–० ले पराजित भएको हो । यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो । यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ । फाइनलमा साविक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।

  • सर्लाहीमा गोली चल्दा एक प्रहरी घाइते

    सर्लाहीमा गोली चल्दा एक प्रहरी घाइते

    सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चल्दा एक प्रहरी घाइते भएका छन् । गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो ।

    पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी गराएका छन् । घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी रहेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ ।

  • विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना

    विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना

    काठमाडौं । विषाक्त खानाका कारण पाहुना बिरामी परेसँगै चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना हुने भएको छ । अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष उक्त जरिवाना सिफारिस गरेको हो । मङ्सिर २३ गते सीजीआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिबाना गर्न सिफारिस गरिएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित टोलीले अनुगमनपछि आज प्रतिवेदन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाएको छ ।

    समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले त्यही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकतम तीन लाख रुपैयाँ जरिबाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको छ । अनुगमन समितिले होटलले गरेको लापरबाहीपूर्ण कार्यका सात बुँदे कैफियतका आधारमा जरिबाना सिफारिस गरेको हो ।

    अनुगमन समितिसमक्ष होटल सञ्चालकले सिल खोली दिन र सात दिनको समय दिन माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । गएको मङ्सिर २३ गते नवलपुरको गैँडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको यस होटलमा भएको एक विहे भोजमा सहभागी भएका दुवै पक्षका झण्डै तीन सय जना खाना खाएपछि बिरामी भएका थिए ।

    समितिको प्रतिवेदनमा सलाद सफा गर्न प्रयोग गरिएको रसायन उपभोग्य मिति समाप्त भएको, ढोका तथा झ्यालमा जाली नभएको, झिङ्गा देखिएको, कामदारको सरसफाइको अवस्था सन्तोषजनक नभएको उल्लेख छ । यसैगरी भान्सा र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा रहेको, पिनट बटर र रसवरी उपभोग्य मिति समाप्त भएको र अभिलेख प्रणाली राम्रो नभएको उल्लेख छ ।

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाइएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मटितेल १७८ रुपैयाँ थियो ।

    हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो । सोही अनुसार नेपालमा पनि मूल्य घटेको हो ।

  • पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै

    पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ ।

    सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो ।

    जसमध्ये मंसिर मसान्तसम्ममा ४ खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    यस अवधिमा सरकारको पूँजीगत खर्च करिब नौ प्रतिशत बराबर मात्रै देखिएको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले लक्ष्यको २३.३ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ ।

    यस वर्ष पहिलो ५ महिनाको तथ्यांक अनुसार राजस्व संकलनबाट चालु खर्च नै धान्न नसक्ने अवस्था आएको छ ।

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले कर र गैर कर राजस्वबाट मंसिर मसान्तसम्म ३ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ ।

    मंसिर मसान्तसम्ममा सरकारको पूँजीगत खर्च रु ३३ अर्ब ९९ करोड १६ लाख बराबर छ । सरकारले पूँजीगत शीर्षकमा रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजाबर बजेट छुट्याएको छ । हालसम्मको पूँजीगत खर्च आठ दशमलव ९४ प्रतिशत बराबर हो ।

    त्यस्तै चालु शीर्षकमा विनियोजित कूल रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेटमध्ये हालसम्म २९ दशमलव ९४ प्रतिशत खर्च भएको छ । जुन रु तीन खर्ब ५४ अर्ब २५ करोड ६९ लाख बराबर हो ।

    वित्तीय व्यवस्थापनतर्फ रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बजेट छुट्याइएकामा मंसिर मसान्तसम्ममा रु ४६ अर्ब ९६ करोड २६ लाख बराबर खर्च भएको छ । जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको २० दशमलव चार प्रतिशत बराबर हो । यसरी हेर्दा हालसम्म सरकारको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन शीर्षकमा भएको खर्च बढी देखिएको छ ।

    चालु आर्थिक वर्षका लागि कूल रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख आन्तरिक राजस्व उठाउने र रु ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेको छ ।

    हालसम्म आन्तरिक राजस्व सङ्कलन रु तीन खर्ब २६ अर्ब ८९ करोड अर्थात् वार्षिक लक्ष्यको २३ दशमलव तीन प्रतिशत बराबर छ । साथै यस अवधिमा सरकारले रु तीन अर्ब ४१ करोड ५९ लाख अर्थात् वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत वैदेशिक अनुदान लिएको छ ।

  • धरानमा चर्किँदो विवाद, हर्क साम्पाङको चेतावनी-‘भनेको नमान्नेले राजीनामा दिनू’

    धरानमा चर्किँदो विवाद, हर्क साम्पाङको चेतावनी-‘भनेको नमान्नेले राजीनामा दिनू’

    काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ।

    विवाद बढ्दै जाँदा मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

    कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन् । एक महिनादेखि धरानमा कार्यपालिका बैठक बसेको छैन ।

    तर गत वैशाखमा निर्वाचित भएयता कार्यपालिका बैठक बस्न नसकेको अवस्थामा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका थिए।

    उनीहरुले धरान उपमहानगरपालिका परिसरमै गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङ नै दोषी भएको बताए।

    ३ जना कार्यपालिका सदस्यले मेयर साम्पाङको पछिल्लो अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्दै दुर्व्यवहार भएको भन्दै कानून अनुसारको कारबाही गर्न माग गरेका छन् ।

    उनीहरूले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले ‘मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुर्व्यवहार भएको’ उल्लेख गरेका छन् ।

  • वालेट प्रयोग गर्ने १ करोड ५१ लाख नाघे, मोबाइल बैंकिङ प्रयोगकर्ता कति ?

    वालेट प्रयोग गर्ने १ करोड ५१ लाख नाघे, मोबाइल बैंकिङ प्रयोगकर्ता कति ?

    काठमाडौं । डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड ५१ लाख ३३ हजार ७३५ पुगेको छ ।

    असोजमा यो संख्या १ करोड ४८ लाख ३९ हजार ८२० थियो । एक महिनामै २ लाख ९३ हजार ९१५ प्रयोगकर्ता थपिएका छन् । कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ९ लाख ५८ हजार २५० पुगेको छ ।

    त्यस्तै मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या एक करोड ९४ लाख ३ हजार ६८० र इण्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या १७ लाख ५० हजार ९३६ रहेको छ ।

    डेविट कार्डबाट प्रयोगकर्ताको संख्या १ करोड १७ लाख हजार ३८ हजार ९७३ पुगेको छ । क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २ लाख ६९ हजार ४७६ पुगेको छ ।

  • सोविता गौतमको चुवानी खर्च ३ लाख ७१ हजार

    सोविता गौतमको चुवानी खर्च ३ लाख ७१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ बाट मा निर्वाचित सांसद सोविता गौतमले निर्वाचनमा ३ लाख ७१ हजार रुपैयाँ मात्र खर्च भएको जनाएकी छिन् । उनले निर्वाचन आयोगलाई आफ्नो चुनाव खर्च बुझाएकी हुन् । उनले मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल\डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको बताएकी छिन् ।

    कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको बताएकी छन् ।

  • रक्सी निषेधित बिहारमा विशाक्त मदिरा सेवनका कारण कम्तिमा ४३ को मृत्यु

    रक्सी निषेधित बिहारमा विशाक्त मदिरा सेवनका कारण कम्तिमा ४३ को मृत्यु

    काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतीय प्रान्त बिहारमा रक्सी बिक्रि वितरण तथा सेवनमा रोक लगाइएको छ । तर, यसै प्रान्तमा विशाक्त रक्सीको सेवनबाट कम्तिमा ४३ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो मानवीय क्षति पछिल्लो दुई दिनमा सारण जिल्लामा भएको हो । छपराको मसरक बजारमा घटेको घटनाले बिहारमा राजनीतिक तरंग समेत ल्याएको छ । खासगरी नीति कार्यान्वयनमा सरकार असफल भएको आरोप लगोको छ । मंगलबार मध्यरातिबाट अस्पतालमा बिरामी आउन थालेका थिए ।

    पछिल्लो दुई दिनमा हरेक एक घण्टामा रक्सी सेवन गरेका व्यक्तिको अस्पतालमा मृत्यु भएको देखिएको छ । ‘देशी शराब’ अर्थात् घरेलु प्रविधिबाट स्थानीय तहमा बनाइएका रक्सीको सेवनपछिको घटनाले त्यहाँको गरिब बस्ती शोकाकुल बनेको छ । प्रशासनले माइकिङ गरेर उपचारका लागि आउन आह्वान गरिरहेको छ । प्रहरीले घटनाको छानबिनका क्रममा १ सय २६ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बनमा परेका छन् ।

  • आजबाट सवारी साधनको प्रदुषण जाँचपासमा कडाई

    आजबाट सवारी साधनको प्रदुषण जाँचपासमा कडाई

    काठमाडौं । सरकारले आजबाट सवारी साधनको जाँजपासमा कडाई गर्दैछ । प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ । वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने बताइसकेको छ । जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिबाना गरिने भएको छ ।


    वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्ड भन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाही गर्न लागेको छ । वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना हुने र गाडी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने प्रावधान छ ।

  • पोर्चुगलका प्रशिक्षक बर्खास्त

    पोर्चुगलका प्रशिक्षक बर्खास्त

    काठमाडौं । विश्वकपको क्वाटरफाइनलमा पराजित भएको पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ। विश्वकपको क्वाटरफाइनलमा उनको टीम मोरक्कोसँग पराजय भोगेर बाहिरिएको को ।

    पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए। स्वीट्जरल्यान्ड विरूद्ध जित हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको हो । ६८ वर्षियले सान्तोसले ८ वर्ष पोर्चुगल राष्ट्रिय टोली सम्हालेका थिए। सन् २०१६ मा उनले पोर्चुगललाई युरो च्याम्पियन बनाए।

    यद्यपि उनको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नुनै प्रशिक्षकबाट हट्नुको प्रमुख कारण बन्यो। सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने बताएका थिए। सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए। पोर्चुगिज फुटबल संघले ८ वर्षसम्म टोली सम्हालेकोमा उनलाई धन्यवाद दिएको छ।

    ‘एफपीएफ फर्नान्डो सान्तोस र उनको प्राविधिक टोलीलाई आठ अद्वितीय वर्षमा प्रदान गरिएको सेवाहरूको लागि धन्यवाद दिन्छ र यो धन्यवाद पोर्चुगल जनताको तर्फबाट भएको विश्वास दिलाउन चाहन्छ,’ पोर्चुगिज फुटबल संघले भनेको छ।

  • पोखरामा सुनको गहना चोरीको अभियोगमा महिला पक्राउ

    पोखरामा सुनको गहना चोरीको अभियोगमा महिला पक्राउ

    पोखरा । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं। ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ छन् । उनले पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको घरमा परिवारका अन्य सदस्य नभएको मौका पारी सुनका गहना र नगद चोरेको आरोप छ ।

    पीडित ९ जनाले अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि रामबजारबाट खटिएको प्रहरीको विशेष टोलीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो । उनको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ । उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • चितवन राष्ट्रिय निकुन्जमा दुई वटा गैँडा मृत फेला

    चितवन राष्ट्रिय निकुन्जमा दुई वटा गैँडा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला परेका छन् । बुधबार र बिहीबार गस्तीमा गएको टोलीले एक भाले र एक पोथी गैंडा मृत भेटेको निकुञ्जले जनाएको छ। चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार अमलटारी सेक्टरको कुजौली रेञ्जपोष्टअन्तर्गत नारायणी नदीको किनारमा ५ महिनाको भाले ९केटो० गैंडा मृत भेटिएको थियो। उक्त केटोको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए।

    बिहीबार पनि अमलटारी सेक्टरकै लामिचौर पोष्टअन्तर्गतको गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैंडा मृत भेटिएको तिवारीले बताए। बिहान करिब ६ बजेको समयमा गस्ती टोलीले अन्दाजी १५ वर्षको उक्त गैंडा मृत अवस्थामा भेटेको उनले बताए। अन्दाजी १५ वर्षको पोथीको अर्को गैंडासँग जुधेर मृत्यु भएको अनुमान गरिएको छ। उक्त गैंडाको खाग र खुर सुरक्षित छ। चितवन निकुञ्जका अनुसार यस आर्थिक वर्षभित्र ५ वटा एक सिंगे गैंडाको मृत्यु भएको छ।

  • कांग्रेस नेता पौडेलले पाए जापान सरकारको राजकीय सम्मान

    कांग्रेस नेता पौडेलले पाए जापान सरकारको राजकीय सम्मान

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उच्च पदक ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान पौडेललाई बिहीबार नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रदान गरे । जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बिहीबार साँझ वरिष्ठ नेता पौडेलले ग्रहण गरेका हुन् । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए ।

    वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानको कदरस्वरुप सम्मान दिइएको हो । वरिष्ठ नेता पौडेलले आफू सभामुख रहदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्ष समेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रिय रूपमा संलग्न थिए ।

    जापान र अन्य देशबीचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ ।

  • अभिनेता ओबराय दिनभर व्यस्त, पशुपति र चन्द्रागिरि भ्रमण, प्रचण्डसँग भेट

    अभिनेता ओबराय दिनभर व्यस्त, पशुपति र चन्द्रागिरि भ्रमण, प्रचण्डसँग भेट

    काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय बिहीबार दिनभर व्यस्त रहे । उनले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरे । बिहीबार नै चन्द्रागिरि पुगेका उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता समेत गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका थिए । भेटमा गायिका तथा प्रचण्डकी नातिनी स्मिता दाहाल पनि उपस्थित थिइन् ।

    प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए । प्रचण्डका प्रेस सल्लाहकार सूर्यकिरणका अनुसार भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो । पाका बलिउड अभिनेता समेत रहेका सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएका थिए । सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने नेताको रुपमा चिनेको भन्दै उनको प्रशंसा गरेका थिए ।

    भेटमा सुरेश र विवेकले नेपालको खाना, संस्कृति र प्राकृतिक सौन्दर्यको बयान प्रचण्डसामु गरेका थिए । प्रचण्डले ओबराय परिवारको नेपाल बसाइको सुखदः कामना गरेका थिए । ओबराय परिवार शुक्रबार पोखरा प्रस्थान गर्ने कार्यक्रम छ ।

  • महँगी ८.०८ प्रतिशत बढ्यो, खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि उच्च

    महँगी ८.०८ प्रतिशत बढ्यो, खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि उच्च

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ ।

    कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा
    समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य
    सूचकाङ्क १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३
    प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ ।

    गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ ।

    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

    २०७८ कात्तिक महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मुद्रास्फीति रहेको थियो ।

  • राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

    राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

    चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

    नामेवियामा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली टिमले खराबर प्रदर्शन गरेपछि कोचमाथि दवाव बढेको थियो ।

    नेपाल क्रिकेट संघ क्यान र प्रशिक्षक प्रभाकरबीच छलफल भइरहेका बेला प्रभाकर नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

    नयाँ दिल्लीबाटै क्यानलाई राजीनामा पठाएका हुन् । तत्कालिन प्रशिक्षक पुवुदु दशानायकेले छाडेपछिसाउन २३ गते क्यानले प्रभाकरलाई १ वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

    तर यसबीचमा नेपाली टिमको प्रदर्शन खस्कदै गएपछि उनलाई बर्खास्त गर्ने तयारी क्यानले गरिरहेका बेला प्रभारकले नै राजीनामा दिएर मार्ग प्रशस्त गरेका हुन् ।

    सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन भएका छन् । तीमध्ये चार जनाले सम्झौताको समयावधि अगाडि नै राजीनामा दिएका छन् ।

    नेपाली क्रिकेट टिम अहिले आईसीसी विश्वकप लिग टू खेलिरहेको छ ।

    एक दिवसीय वरियताका लागि पनि महत्वपूर्ण यो प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर बन्दै जाँदा एक दिवसीय मान्यता पनि धरापमा पर्न थालेको छ ।

    क्यानले अब चाँडै नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने जनाएको छ ।

  • रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो, चार महिनामा ३ खर्ब ७८ अर्ब भित्रियो

    रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो, चार महिनामा ३ खर्ब ७८ अर्ब भित्रियो

    काठमाडौं । नेपालमा पछिल्लो चार महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    यस अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ७.० प्रतिशतले घटेको थियो।

    अमेरिकी डलरमा रेमिट्यान्स १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो।

    कात्तिक मसान्तसम्ममा वैदेशिक रोजगारीका श्रम स्वीकृति लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बढेर १ लाख ९५ हजार १९६ पुगेको छ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अवधिमा ४६.४ प्रतिशतले बढेर ८७ हजार ४२८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो।

    साथै यस अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले बढेर ४१७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो।

  • विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब मौज्दात

    विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब मौज्दात

    काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा रु.१२४६ अर्ब २७ करोड पुगेको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९
    कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार
    मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई रु.१०९१ अर्ब २२ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१५५ अर्ब ५ करोड कायम भएको छ ।

    २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।