Category: फिचर

  • गायिका आस्था राउतलाई अमेरिकाकाे अध्यगमनले फिर्ता पठायो

    गायिका आस्था राउतलाई अमेरिकाकाे अध्यगमनले फिर्ता पठायो

    काठमाडौं । गायिका आस्था राउतलाई अमेरिकाकाे एक अध्यगमनले नेपाल फिर्ता पठाइदिएकाे छ । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको हाे ।

    पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अमेरिका प्रवेशमा रोक लगाइएको छ । डिसेम्बर १० मा गायिका राउत त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको उनले बताइन् ।

    पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उनलाई भनेका छन् । आफूले सन् २०१५ मै भिजिट भिसा लिएको उनले बताइन् ।

    अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।

  • यी हुन् गोल्डेन बुटको होडमा रहेका खेलाडी, मेस्सी सबैभन्दा अगाडि

    यी हुन् गोल्डेन बुटको होडमा रहेका खेलाडी, मेस्सी सबैभन्दा अगाडि

    काठमाडौं । यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना छन् ।

    अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिना युलियन अल्भारेजले समान ४ गोल गरेका छन् ।

    मेसी र एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्न अल्भारेज र जिरुडले फाइनलमा कम्तीमा पनि दुई गोल गर्नुपर्नेछ ।

    सम्भवत: यी चारमध्ये एक खेलाडीले गोल्डेन बुट जित्नेछन् । २२औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ ।

  • राष्ट्रपतिसमक्ष आयोगले बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन

    राष्ट्रपतिसमक्ष आयोगले बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको हो ।

    तिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

    सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् ।

    कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताए ।

    यस निर्वाचनबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएको उनले जानकारी गराए । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको उनको भनाइ छ ।

    आयोगले आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ ।

    सो अवसरमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत उच्च अधिकारी सहभागी थिए ।

  • पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार आउने

    पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार आउने

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो ।
    विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एरोथाईको टोलीले गरेको एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे नगरेको लगायतका परीक्षणको प्रतिवेदनका आधारमा परीक्षण उडान हुनेछ ।

    कम्युनिकेसन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण प्रतिवेदनका आधारमा जहाज उडान तथा अवतरणको बाटो खुल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबारसम्म आउने यान्त्रिक परीक्षणको प्रतिवेदनअनुसार पोखरामा परीक्षण उडानको तयारी हुनेछ । परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमलाई पत्राचार गरिएको र कुवेतको जजिरा एयरवेजले पनि चासो देखाएको छ ।” परीक्षण उडानको प्रतिवेदन आएपछि रुट स्थापित गराएर विमानस्थल व्यावसायिक उडानका लागि खुला हुने उनले जानकारी दिए ।


    विमानस्थल सञ्चालनको तयारीअनुसार नागरिक उड्डयन कार्यालय पोखराले विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिसकेको छ । त्यस्तै रिट्ठेपानी डाँडा कटानको कामसमेत धमाधम भइरहेको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ भने अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायतको कामसमेत अघि बढेको छ । विमानस्थल सञ्चालनको तयारी तीव्र रूपमा भए पनि पहिलो अन्तर्राष्ट्रिय उडान कसले गर्ने भन्ने अझै यकिन भइनसकेको प्रवक्ता निरौलाले बताउनुभयो ।

    “बुद्ध एयरले पोखरालाई भारतसँग जोड्ने गरी पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुसार प्रक्रिया अघि बढाएको छ तर पहिलो उडान कसले गर्ने भन्नेबारे निर्णय भइसकेको छैन्,” उनले भने । बुद्ध एयरले पोखराबाट भारतको बनारस, दिल्ली र देहरादुन उडान भर्न चाहेको छ ।

    विमानस्थल व्यावसायिक सञ्चालनमा ल्याउने तयारीका बीच ल्यान्डफिल साइट सार्ने, प्याराग्लाइडिङको व्यवस्थापनलगायतका चुनौतीको टुङ्गो अझै लाग्न सकेको छैन । विमानस्थलको सुरक्षार्थ सेनाको ब्यारेक निर्माण, हवाई इन्धन भर्ने डिपो निर्माण, वर्षाको पानी नियन्त्रण, नहर तथा ढलको व्यवस्थापन, विमानस्थलको पूर्वतर्फ रहेको विजयपुर खोला नजिकैको जग्गामा गइरहेको पहिरो नियन्त्रणलगायतका बाधासमेत कायमै रहेका छन् ।

  • एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी

    एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी

    काठमाडौं । जारी विश्वकप फुटबलको गोल्डेन बुट र बल दुबै होडमा अर्जेण्टाइन स्टार लियोनल मेसीले अग्रता लिएका छन् । फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले क्वाटरफाइनल र सेमिफाइनल दुबै खेलमा गोल गर्न सकेनन् । जसका कारण उनलाई यस होडमा मेसीले उछिनेका हुन् । दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ ।

    फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक–एक गोल गरे । फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग आइतवार खेल्दैछ । गोल्डेन बुट धेै गोल गर्ने र र गोल्डेन बल उत्कृष्ट खेलाडीलाई दिइन्छ । यी दुबै होडमा मेस्सी र एम्बाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५–५ गोल गरेका छन् ।

    असिस्टको आधारमा लिओनल मेस्सी सूचीको शीर्षस्थानमा रहेका छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा त्योभन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट सङ्ख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । मेस्सीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट रहेको छ। टोलीमा गरेको व्यक्तिगत प्रदर्शनका आधारमा दिइने गोल्डेन बलमा समेत मेसी एम्बाप्पेको तुलनामा अगाडी छन् ।

  • आज काठमाडौं महानगर दिवस, कामकाज बन्द

    आज काठमाडौं महानगर दिवस, कामकाज बन्द

    काठमाडौं । आज काठमाडौं महानगरपालिकाले महानगर दिवस मनाउँदैछ । यस अवसरमा काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म सेवा बन्द गरिएको छ । महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी गराएको छ ।

    महानगरले हरेक मंसिर २९ मा महागर दिवस मनाउने गर्छ । ‘काठमाडौं महानगर, मातहतका सबै विभाग,आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ। महानगरपालिकाले साताव्यापी रुपमा कार्यक्रम गरी दिवस मनाइरहेको छ ।

  • आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदै, सरकार बनाउने बाटो खुल्दै

    आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदै, सरकार बनाउने बाटो खुल्दै

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज बुझाउँदैछ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपतिलाई बिहीबार प्रतिवेदन बुझाउँदैछन् । निर्वाचनको अन्तिम मतपरिणाम आएको एक साताभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने प्रावधान रहेको छ । तर आयोगले अन्तिम मतपरिणाम बुधबार नै सार्वजनिक गरेको थियो ।

    आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा बुधबार गरेको थियो। निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा पनि प्रकाशित गरिने छ । आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन बुझाउने छ । आयोगबाट प्रतिवेदन बुझेपछि नयाँ सरकार गठनको बाटो खेल्नेछ ।

    केही दिनमा राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्न सक्छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बन्ने सम्भावना छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना छ। २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १३८ जना सांसदले समर्थन गर्नुपर्छ ।

  • विश्वकपको फाइनल समिकरण पुरा, अर्जेण्टिना र फ्रान्स आइतबार भिड्ने

    विश्वकपको फाइनल समिकरण पुरा, अर्जेण्टिना र फ्रान्स आइतबार भिड्ने

    काठमाडौं । विश्वकप फुटबलको फाइनल समिकरण पुरा भएको छ । अब उपाधीका लागि आइतबार अर्जेण्टिना र फ्रान्स भिड्ने भएका छन् । मोरक्को सफल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको हो । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए ।

    खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनाइराख्न सक्यो। मोरक्को टिमको प्रयास र भावनाका बाबजुद फ्रान्सेली टिम अधिक प्राविधिक र सन्तुलित थियो । ७९औं मिनेटमा उस्मान डेम्बेलेलाई प्रतिस्थापन गरी मैदान छिरेको एक मिनेट नबित्दै कोलो मुआनीले गोल गरेपछि आगामी आइतबार दोहाको लुसेल रंगशालामा लियोनल मेस्सीको अर्जेन्टिनासँग फ्रान्सको् भेट निश्चित भयो ।

    मोरक्कोले रोमन साइसलाई पनि चोटका कारण पहिलो हाफमै गुमायो । यद्यपी समर्थकको अटूट स्नेहका साथ उसले खेल बराबरीको नजिक पुर्याएको थियो । विशेष गरी जावद एल यामिकको प्रहार फ्रान्सेली कप्तान गोलकिपर ह्युगो लोरिसले बचाएका थिए ।

    फ्रान्सका लागि लिभरपुलका डिफेण्डर इब्राहिम कोनाटेको प्रदर्शन शानदार थियो । अल बायेट रंगशालामा मोरक्कनको बाहुल्य रहेको माहोलमा फ्रान्सेली खेलाडीले आफ्नो संयमता कायम राखे । पहिलो हाफमा ओलिभर जिरोउडको एउटा प्रहार पोष्टमा लागेको थियो ।

    सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनै पनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । फ्रान्सका लागि यसपल्ट त्यो अवसर हुनेछ । लगातार फाइनलमा पुगेको चाहीँ सन् २००२ मा ब्राजिलपछि पहिलो हो । साढे चार वर्षअघि रुसमा सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई हराएर इतिहासमा दोस्रोपल्ट विश्वकप उपाधि उचालेको थियो ।

    सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले तेस्रो स्थानका लागि शनिबार हुने खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिनासँग पराजय ब्यहोेरेको थियो ।

  • आपराधिक घटनामा दोषि ठहर भएकालाई उन्मुक्ति नदेउ : आयोग

    आपराधिक घटनामा दोषि ठहर भएकालाई उन्मुक्ति नदेउ : आयोग

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आपराधिक घटनामा दोषी ठहर भई सजाय भोगिरहेकालाई उन्मुक्ति दिन ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ। बुधबार आयोगले आपराधिक घटनाका दोषी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई उन्मुक्ति दिन ल्याइएको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानमा ल्याएको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

    अध्यादेशको प्रावधानले अदालतको निर्णयरफैसलाबाट दोषी किटान भएका र गम्भीर मानव अधिकार उल्लङ्घन र फौजदारी कसुरका मुद्दाहरू समेत फिर्ता लिने वा आममाफी दिने सम्भवना रहन्छ। उक्त कार्यले विधिको शासन, लोकतन्त्र र पीडितको स्वच्छ न्यायमा असर पर्नुका साथै दण्डहीनतालाई समेत प्रश्रय पुग्ने देखिन्छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट मानव अधिकार संस्कृतिको निर्माणमा गम्भीर चुनौती सिर्जना भएको छ।’

    जुनसुकै उद्देश्यले गरेको कार्य भए पनि प्रचलित कानूनको दृष्टिमा अपराध भएको र उक्त आपराधिक कार्यको दायित्व अपराध गर्ने व्यक्तिले नै लिनुपर्ने आयोगले जनाएको छ। यस्तै, आयोगले आपराधिक ठहर भएको व्यक्तिले कानून बमोजिम कारबाही हुनुपर्ने भनाइ छ। आपराधिक घटनालाई राजनीतिक दृष्टिले मात्र हेर्दै जाने गए नागरिकहरूको राज्यप्रतिको आशा एंव भरोसा टुट्दै जाने अवस्था सिर्जना हुने आयोगले बताएको छ।

  • निर्वाचन आयुक्तको प्रतिवद्धता : विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानून बनाउँछौं

    निर्वाचन आयुक्तको प्रतिवद्धता : विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानून बनाउँछौं

    काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता जनाएको छ । ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    ‘८ वटा कानुन छन् । अब एउटै बन्छ । धेरै कुरा जुधेका पनि छन्’ थपलियाले भने । नयाँ ऐनमा विदेशमा बस्ने नेपाली मतदाताले मतदान गर्ने विषय, निर्वाचनको मिति निर्वाचन आयोग आफैँले तय गर्ने देखि मतदाता शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने लगायतका विषय समेटिने थपलियाको प्रतिवद्धता छ । उनका अनुसार निर्वाचन सम्बन्धी एकीकृत ऐन (विधेयक) नयाँ संसद सुरु भए लगत्तै लैजाने आयोगको तयारी छ ।

  • बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा

    बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा

    काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा सिलसिलामा काठमाडौं अवतरण गरेका छन् । उनी बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम रहेको बताइएको छ । विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका रहेको छ । उनले पोखरामा प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर समेत गर्ने भएका छन् ।

    त्यसपछि उनी धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्ने भएका छन् । त्यहाँको छोटो पदयात्रापछि उनी पोखराबाट भैरहवा जाने र लुम्बिनी दर्शन गर्ने कार्यक्रम छ । बुद्ध थन्मथलो लुम्बिनीको तिलौराकोट भ्रमणपछि भैरहवामा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् । सोही दिन काठमाडौं फर्किने उनी २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम छ । उनी पहिलो पटक नेपाल आएका हुन् ।

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७६ प्रतिशत उम्मेदवारको धरौटी जफत

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७६ प्रतिशत उम्मेदवारको धरौटी जफत

    काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४० दलका ४ हजार बढी उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा गरी ५ हजार ६३५ जनाको उम्मेदवारी रहेकामा ४ हजार २८५ जनाको जमानत जफत भएको हो । जुन कुल उम्मेदवारको ७६ प्रतिशत भन्दा बढी हो ।

    १० प्रतिशत मत नल्याउने प्रतिनिधिसभातर्फका १७ सय ७२ पुरुषसहित १९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला उम्मेदवारको जमानत जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

    प्रतिनिधि सभा र प्रदेशसभाको दुबैतर्फ गरी ४ हजार ८५ जना उम्मेदवारको धरौटी जफत भएको हो । यस्तै आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुनै एक सिट नपाएका दलहरुको पनि धरौटी समेत जफत गरेको छ ।

    समानुपातिकतर्फ बन्द सूची पेश गर्ने ४७ मध्ये ४० दलको धरौटी जफत भएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ भने पहिलो हुने निर्वाचनतर्फ १ सिट पाउनै पर्छ।

    यस्तोमा सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।

  • रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट, सांसद पद खारेजीको माग

    रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट, सांसद पद खारेजीको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदलतमा रिट दायर भएको छ ।

    चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको सांसद पद खारेजी मागसहित सिन्धुली घर भइ हाल काठमाडौंमा बस्दै आएका युवराज पौडेल ‘सफल’ले रिट हालेका हुन्।

    लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानूनी व्यवस्था विपरित उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै पौडेलेले रिट दायर गरेका हुन् । मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि प्रतिनिधि सभा सदस्यको रुपमा उपस्थित हुन र कार्य गर्न नदिन रिटमा माग गरिएको छ।

    ‘नेपालको संविधानको धारा १३७ (२)(ख) को क्षेत्राधिकार प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचन आयोग ऐन, २०७४ को दफा १६ बमोजिम निज रवि लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी निजलाई सांसद पदबाट मुक्त गरी पाउँ र उक्त ऐनको दफा १६(२) बमोजिमको कार्य गर्नु भनी विपक्षी निर्वाचन आयोगको नाममा परमादेशको आदेश जारी गरी पाऊँ,’ रिटमा भनिएको छ ।

  • निर्वाचन आयोगको प्रतिवेदन : संघ र प्रदेशमा कति दलले मान्यता पाए ?

    निर्वाचन आयोगको प्रतिवेदन : संघ र प्रदेशमा कति दलले मान्यता पाए ?

    काठमाडौं । निर्वाचन आयोगले आज मिति २०७९ मंसिर २८ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगमा आयोजित पत्रकार भेटघाटमा आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन पेश गरिने बताए ।

    साथै आगामी पौष २ गते प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका माननीय प्रदेश प्रमुखज्यूहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी प्रमुख आयुक्त थपलियाले दिए ।

    प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

    आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० र र प्रदेशसभा २२० गरी ३३० सदस्य निर्वाचित भएको घोषणा गरेको छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका दलहरूलाई निर्वाचित हुने उम्मेदवारहहरूको नामावली निर्वाचन कानुन बमोजिम क्लस्टर मिलाएर पठाउन आयोगले गत शुक्रबार पत्राचार गरेको थियो ।

    यसैगरी आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित हुनुभएको छ भने प्रदेश सभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् ।

    त्यस्तै प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार प्रदेश नं. १ मा ६, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

    प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष २ हजार १८६ गरी २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १८७ र पुरुष १ हजार १२ गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

    त्यसैगरी प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २८०, पुरुष २ हजार ९४३ र अन्य १ गरी ३ हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ५११ र पुरुष २ हजार १९७ गरी कुल ३ हजार ७०८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

  • झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) २.६२ अंकले घटेर १८९७.८ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४६ कम्पनीको ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको २० लाख ८७ हजार ८७६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबारमा गिरावट आएको छ । मंगलवार७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ८ वटा समूह घटेको छ भने अन्य सबै हरियो भएको छ । झिनो अंकले घटेको बजारमा सीवाइसी नेपाल र इष्टर्न हाइड्रोपावर कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

    पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज ५ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • विश्वकपको दोसो सेमिफाइनल आज, मोरक्कोले बनाउला इतिहास ?

    विश्वकपको दोसो सेमिफाइनल आज, मोरक्कोले बनाउला इतिहास ?

    काठमाडौं । फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनल आज हुँदैछ । जसमा फ्रान्स र मोरक्को भिड्दैछन् । आजको खेलमा मोरक्कोलाई नयाँ इतिहास कोर्ने मौका छ । किनकी यो टीम पहिलोपटक सेमिफाइनल खुल्दैछ । खेल कतारको अल बायत मैदानमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो ।

    यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगेको हो । फ्रान्स क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले र मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेका हुन्।

  • निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

    निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

    काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव–२०७९ को अन्तिम नतिजा घोषणा गर्ने भएको हो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी छ ।

    भोलि नै समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिने भएको छ । सङ्घीय संसद्को प्रतिनिधि सभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० समानुपातिकतर्फबाट तथा सात वटा प्रदेशमा ३ सय ३० सदस्य प्रत्यक्ष र २ सय २० समानुपातिकतर्फबाट सांसद चयन हुने व्यवस्था छ ।

  • काभ्रे दुर्घटनाका मृतकमध्ये १३ जनाको पहिचान खुल्यो

    काभ्रे दुर्घटनाका मृतकमध्ये १३ जनाको पहिचान खुल्यो

    काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने १७ जनामध्ये १३ जनाको पहिचान खुलेको छ। प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङको मृत्यु भएको छ।

    बनेपा नगरपालिका–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको छ । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो। बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो। बसमा ३९ यात्रु सवार थिए।

  • टीमलाई काँधमा बोक्दै फाइनल पुर्याएका मेसीको नाममा बने कैयौं कीर्तिमान

    टीमलाई काँधमा बोक्दै फाइनल पुर्याएका मेसीको नाममा बने कैयौं कीर्तिमान

    काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लियोनल मेसी प्रेरित विश्वकपमा हरेक खेलाडीले उनका लागि कडा मिहिनेत गरेका छन् । उनीहरु आफ्नो मुलुकका सर्वकालिन महान खेलाडको सम्भवतः अन्तिम विश्वकपलाई भब्य बनाउन चाहन्छन् । सोही अनुसार मेसीले समेत आफ्नो उत्कष्ट फर्म र कौसल कायमै राखेका छन् । मेसीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाउन सफल भए । फिफा पुरुष विश्वकपको इतिहासमा उनी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् ।

    फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका यी स्ट्राइकरले मंगलबार दोहाको लुसेल रंगशालामा विश्वकपमा आफ्नो २५ औं खेल खेले । यो जर्मनीका महान खेलाडी लोथर म्याथ्युजसँग बराबरीको कीर्तिमान हो । यो खेल अर्जेन्टिनाले ३–० ले जितेको छ । आइतबार लुसेल रंगशालामै हुने फाइनलमा मैदानमा उत्रिएसँगै मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्ने भएका छन् ।

    विश्वकपको २५ खेलमा अर्जेन्टिनाका लागि उनले ११ गोल गरेका छन् भने ९ गोलका लागि असिस्ट गरेका छन् । क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरेका लियोनल मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत बने ।

  • सेमिफाइनलमा झनै उत्कृष्ट खेल्यो अर्जेण्टिना, फाइनल प्रवेश

    सेमिफाइनलमा झनै उत्कृष्ट खेल्यो अर्जेण्टिना, फाइनल प्रवेश

    काठमाडौं । कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३–० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको हो । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन ।

    तर, म्यानचेस्टर सिटीका २२ वर्षीय स्ट्राइकर अल्भारेजको शीर्षस्तरमा शानदार प्रदर्शनले उनीहरुले आगामी आइतबार यही रंगशालामा फाइनल खेल्ने तय भएको छ । बुधबार हुने दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । अर्जेन्टिनी टिमका कान्छा स्ट्राइकर अल्भारेज सुरुवातमा ह्याम्स्ट्रिङको समस्यासँग संघर्ष गरिरहेका थिए ।

    तर, ३४औं मिनेटमा क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले उनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । लियोनल मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनायो । पाँच मिनेटपछि उनैले टिमको अग्रता दोब्बर बनाए र मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका अल्भारेजले क्रोएसियाका तीन खेलाडीलाई छक्याउँदै आकर्षक गोल गरेका थिए ।

    दोस्रो हाफमा सम्भव भएको तेस्रो गोल तुलनात्मक रुपमा अल्भारेजका लागि सहज थियो । मेस्सीले क्रोएसियाका सबैभन्दा उत्कृष्ट डिफेण्डरलाई विट गरी ब्याकपास दिए । उनले गोललाइन नजिकैबाट सहजै लक्ष्य दिए । अर्जेन्टिनाका लागि यो खेल क्रोएसियासँग उत्कृष्ट बदलासमेत रह्यो । सन् २०१८ को विश्वकप समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलले पराजित गरेको थियो ।

  • काभ्रे दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

    काभ्रे दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

    काठमाडौं । काभे जिल्लाको बेथानचोक गाउँपालिका ४ मा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । बेथानचोक(४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटनामा परेको थियो । १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले पुष्टी गरेका छन् ।

    मृतकको पहिचान भने भइसकेको छैन । शिर मेमोरियलमा उपचारका लागि लगिएका १४ मध्ये ४ जनालाई काठमाडौं रिफर गरिएको छ । केही घाइतेको धुलिखेललगायत अस्पतालमा उपचार जारी छ । जिल्लाको बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्ध लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो ।

  • काभ्रेको बेथानचोकमा बस दुर्घटना, कम्तिमा १३ को मृत्यु

    काभ्रेको बेथानचोकमा बस दुर्घटना, कम्तिमा १३ को मृत्यु

    काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

    काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । २० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ । विस्तृत खबर आउन बाँकी छ ।

  • झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.५७ अंकले घटेर १८९९.७० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २४८ कम्पनीको ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबारमा भारी गिरावट आएको छ । सोमवार १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ९ वटा समूह घटेको छ भने अन्य सबै हरियो भएको छ ।

    झिनो अंकले घटेको बजारमा सीवाइसी नेपालको शेयर मूल्यमा पोजेटिक सर्किट लागेको छ ।

    नविल बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड १७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

    नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

    मुग्लिन । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।

    जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ।

    भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।

    प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ ।

    यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ ।

    काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ ।

    यस्तै, काठमाडौंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ ।

    बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ । यस्तै, पोखरा–काठमाडौं सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ ।

  • थारु र मुस्लिमलाई मधेसीको सूचीबाट हटाउने मधेसी आयोगको निर्णय

    थारु र मुस्लिमलाई मधेसीको सूचीबाट हटाउने मधेसी आयोगको निर्णय

    काठमाडौं । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ।

    आयोगको २० मंसिरमा बसेको बैठकले मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेकोहो।

    मधेशी आयोगले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाइएको आयोगले जनाएको छ।

    थारु र मुस्लिम समुदायका विभिन्न संघसंगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए। सो उजुरीमाथि आयोगले निर्णय लिँदै थारु र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय गरेको हो।

    मधेशी आयोगले २०७८–७९ को वर्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेशीको रुपमा सिफारिस गरेको थियो।

  • अध्यादेश ल्याउनु परेको कारणबारे सरकारको स्पष्टीकरण के छ ?

    अध्यादेश ल्याउनु परेको कारणबारे सरकारको स्पष्टीकरण के छ ?

    काठमाडौं । नेपाल सरकारले हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेका राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन चाहेकाले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्पष्टीकरण दिएको छ ।

    सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ ल्याएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम निर्णय गरी जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

    अध्यादेशमा संहिताको २०७४ को ११६ को उपदफा (८) पछि (९) थपिएको छ । अध्यादेशको ९ बुँदामा कुनै पनि राजनीतिक दल वा समूहले मुलुकको विद्यमान राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई सरकारसँग सहमति गरेको भए त्यो राजनीतिक दल वा समूहका नेता कार्यकताविरुद्ध नेपाल सरकार बादी भई चलाइएका मुद्दा फिर्ता लिने उल्लेख छ । त्यस्ता मुद्दा फिर्ता लिन जुनसुकै अदालतमा विचाराधीन रहेको भए पनि बाधा नपर्ने थपिएको बुँदामा उल्लेख छ ।

  • दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक

    दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक

    काठमाडौं । औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ । यी औषधी बजारबाट फिर्ता गर्न समेत विभागले निर्देशन दिएको छ । गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता लैजान विभागले निर्देशन दिएको छ ।

    दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भएकाले बिक्री नगर्न र फिर्ता लिन निर्देशन दिइएको विभागले जनाएको छ । विभागले यी औषधिको प्रयोग नगर्न–नगराउन पनि सचेत गराएको छ ।

  • विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै

    विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरू हुँदैछन्। बुधबार बिहान पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । नेपाली समय अनुसार राती पौने १ बजे खेल सुरु हुनेछ । खेल कतारको लुसेल रंगशालामा खेल हुँदैछ। बिहीबार बिहान भने साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।


    पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम इच्छाको यात्राबारे तय गर्नेछ। गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर आफ्नो पहिलो धोको पूरा गरेका मेसी अब देशका लागि विश्वकप उचाल्न चाहन्छन् । उनको यो सपना परा गर्न अब दुई जितको खाँचो छ । त्यसकारुण सेमिफाइनल उनी र उनको टीमका लागि महत्वपूर्ण छ । गत संस्करणको उपविजेता क्रोएसियाले मेसी मात्र नभई समग्र टीमलाई रोक्ने गरी रणनीति बनाएको बताएको छ ।

    विशेषगरी मिडफिल्डरहरू अर्जेन्टिनालाई चुनौती दिन सक्षम छन् । कीर्तिमानी सात पटक बालन डि’अर अवार्ड हात पारेका मेसीले अब विश्वकप जित्ने अन्तिम मौका भएको स्वयमले पनि बताउँदै आएका छन्। अर्जेन्टिनाले पछिल्लो पटक ३६ वर्षअघि सन् १९८६ मा म्याराडोनाको प्रभावशाली खेलमा विश्वकप जितेको थियो। सन् २०१४ मा अर्जेन्टिनाका लागि उपाधि जित्ने अवसर आएको थियो।

    तर फाइनलमा जर्मनीसँग पराजित हुँदा मेसी र अर्जेन्टिनाको सपना पुरा हुन सकेन । क्रोएसियाका लागि पनि यसपटक सन् २०१८ को पीडा भुलाउने अवसर आएको छ। २०१८ को रसिया विश्वकपमा फाइनल पुगेर फ्रान्ससँग पराजित भएको पीडा उनीहरूले यस पटक बिर्साउन सक्छन् । ३७ वर्षीय मिडफिल्डर लुका मोड्रिकको नेतृत्वमा क्रोएसियाले मिडफिल्डमा उत्कृष्ट फुटबल खेलिरहेको छ।

  • सुन्धाराको मुल धारा नष्ट गरिएपछि काठमाडौं महानगरपालिकाको आपत्ति

    सुन्धाराको मुल धारा नष्ट गरिएपछि काठमाडौं महानगरपालिकाको आपत्ति

    काठमाडौं । धरहरा र यसको आसपासका संरचना बनाउने क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट गरिएको छ । सोमबार सो संरचनामा डोजर चलेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले आपत्ति जनाएका छन् । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने बताए । उनले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरे ।

    रमण कन्ट्रक्सन कम्पनीले सुनधाराको ठीक पछाडी ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्य बस्तु (काठको लामो पाइप) नष्ट हुनगएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नं २२ का अध्यक्षको सक्रियतामा उक्त निर्माण कार्यको विरोध भएको थियो ।

    सो विरोधपछि आज प्रमुख बालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँं वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको कुरा स्पष्ट पारिएको थियो ।

    प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पारे । सो अवसरमा प्रमुख साह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुनधारास्थित ट्याङ्की निर्माण भइरहेको स्थलमा अवलोकन गरी सम्पूर्ण निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिइएको छ ।

    रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै सो ट्याङ्की निर्माण लगायतका कार्य अघि बढाएको जानकारी दिँदै हाललाई निर्माण कार्य रोक्न कामदारलाई निर्देशन दिइएको बताए ।

    सो अवसरमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ ।

    ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति करिब दुई सय वर्ष अघि भीमसेन थापाको पालामा बनेको भनिएता पनि सो पानीको मूल भने चार(पाँच सय वर्षभन्दा पुरानो भएको कुरा पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

  • भारतीय र चिनियाँ सैनिकबीच सीमामा झडप, कैयौं घाइते

    भारतीय र चिनियाँ सैनिकबीच सीमामा झडप, कैयौं घाइते

    काठमाडौं । भारती र चिनियाँ सैनिकबीच सीमा क्षेत्रमा शुक्रबार राति झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरुले यसपटकको झडप पूर्वतर्फको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्रमा भएको पुष्टी गरेका छन् । झडपमा कैयौं घाइते भएको खबर छ । यद्दपी संख्या यकिन भएको छैन । भारतीय पत्रिका ट्रिब्युन इन्डियाले भारतीय सेनाको उच्चस्रोतलाई उद्धृत गर्दै समाचारको पुष्टी गरेको हो ।

    विवादास्पद सो क्षेत्रमा विगतमा पनि दुवै देशका सैनिक आमने सामने हुँदै आएको खबरमा लेखिएको छ । शुक्रबार राति भएको तवाङको याङत्सेमा झडप भएको भारतीय सञ्चारमाध्यम द हिन्दुले उल्लेख गरेको छ । भारतीय पक्षले चिनियाँ सैनिकहरू पनि घाइते भएको दाबी गरेका छन् ।

    अरुणाचल प्रदेशलाई चीनले दक्षिणी तिब्बत भन्ने गरेको छ र त्यसमा आफ्नो सार्वभौमिकता दाबी गर्ने गरेको छ । यसअघि २०२० जुन महिनामा पनि दुवै देशका सैनिकहरुबीच पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । सो क्रममा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको थियो । त्यसअघि भुटान र चीनबीच सीमा विवाद रहेको दोक्लाममा पनि भारतीय र चिनियाँ सैनिकबीच आमने(सामने भएका थिए ।