Category: फिचर

  • पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनल प्रवेश

    पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनल प्रवेश

    काठमाडौं । पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गर्यो । जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम बनेको छ। इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा सिमित भएको थियो । अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा हराएको मोरक्कोले जारी विश्वकपमा ठूला टिमहरुलाईहराएको छ ।

    सोही सिलसिलामा क्वाटरफाइनलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई हराउन सफm भयो । मोरक्कोले अब साविक विजेता फ्रान्स र अर्का पूर्व विजेता इंग्ल्याण्डबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा भिड्नेछ । मोरक्कोलाई ऐतिहासिक सफलता दिलाउन क्रममा युसुफ एन नेस्रीले निर्णायक गोल गरे । उनले ४२औं मिनेटमा अतिहा अल्लाहको पासमा गोल गरेका हुन् ।

  • कतार विश्वकपको रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

    कतार विश्वकपको रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

    काठमाडौं । कतारको राजधानी दोहाबाट विश्वकप फुटबल २०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको निधन भएको छ । पत्रकार ग्रान्ट वाह्लको निधन भएको अमेरिकी फुटबलले पुष्टी गरेको छ । यूए सकरले शनिबार वक्तव्य निकाल्दै उनको शुक्रबार निधन भएको पुष्टी गरेको छ । लुसेल रंगशालामा खेल हेर्ने क्रममा उनलाई हृदयघात भएको समाचारमा उल्लेख छ । गार्डियनका अनुसार उनी रंगशालाको प्रेस बक्समा बसेका थिए । उनी खेल चल्दाचल्दै नै एक्कासि ढलेका थिए ।

    पत्रकारहरूले त्यसपछि मेडिकल टिमलाई बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टफाइनलको खेलको रिपोर्टिङका क्रममा निधन भएको अमेरिकी मिडिया एनपीआरले जनाएको छ । त्यस्तै यूएस सकरले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुःखी भएको उल्लेख गरेको छ ।

  • विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

    विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज दुई क्वाटरफाइनल खेल हुँदैछन् । पहिलो खेल पोर्चुगल र मोरक्को भिड्नेछन् । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा हुनेछ । दोस्रो खेलमा अल बायत स्टेडियममा राती पौने १ बजे हुनेछ । जसमा फ्रान्सले इङ्ल्याण्डको सामना गर्दैछ । आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्छ । जारी विश्वकपमा मोरक्को अपराजित टोली हो ।

    बेल्जियम र क्रोएसियासहितको टीमबाट समूह विजेता बन्दै अघि बढेको मोरक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई हराएको हो । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । मोरक्कोले अन्तिम १६ मा मोरक्कोले पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३–० ले हराएको हो । पोर्चुगललाई पनि स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्ने लक्ष्यमा छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अहिलेसम्म विश्वकप जितेको छैन ।


    पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । २०१० र २०१८ मा अन्तिम १६ बाटै आउट भएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो ।


    उता, जारी विश्वकपमा अपराजित चार टिममध्ये इंग्ल्याण्ड पनि एक हो । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता फाइनलसम्म पनि पुग्न सकेको छैन । इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप उपाधि घर ल्याउने लक्ष्यसहित कतार पुगेको छ । तर चार वर्षअघि सेमिफाइनलमा पराजित भएको इंग्ल्याण्डले यस पटक साविक विजेता फ्रान्ससँग क्वाटरफाइनलमा भिड्नु पर्नेछ । समूह चरणमा दुई जित र एक बराबरीको नतिजासहित इंग्ल्याण्ड समूह बी को विजेता बनेको थियो ।

    अन्तिम १६ मा सेनेगललाई ३–० ले हराएर इंग्ल्याण्ड अगाडी बढेको हो । साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि दाबेदार मध्ये एक हो । किलियन एमबाप्पे ५ गोल गर्दै सर्वाधिक गोल गर्नेमा अगाडि छन् । फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो ।

  • रोमाञ्चक खेलमा अर्जेण्टिनाले नेदरल्याण्ड्सलाई हरायो

    रोमाञ्चक खेलमा अर्जेण्टिनाले नेदरल्याण्ड्सलाई हरायो

    काठमाडौं । अर्जेण्टिना जारी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेसँगै नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको छ । अब उसको भेट क्रोयसियासँग हुनेछ । लुसेल आइकोनिक स्टेडियममा भएको नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बने ।

    अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको हो । जहाँ अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी, लिएनड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गरे । एन्जो फर्नान्डेसको प्रहार पोष्ट बाहिर गएको थियो ।

    नेदरल्याण्ड्सका लागि टिउन कुपमाइनर्स, वाउट वेघोस्ट लुक डे जोङले गोल गरे । अर्जेन्टिनाको जितमा नायक बनेका मार्टिनेजले डच कप्तान भर्जिल भान डाइक र स्टेभेन बर्गुइसको प्रहार बचाए । खेलको ३५औं मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । कप्तान लिओनल मेसीले उपलब्ध गराएको उत्कृष्ट पासमा मोलिनाले गोल गरे । गत वर्ष राष्ट्रिय टिममा डेब्यु गरेका मोलिनाको अर्जेन्टिनाको लागि यो पहिलो गोल हो । मेसीले विश्वकपको नकआउट चरणमा पाँच असिस्ट गर्दै सर्वाधिक असिस्ट गर्ने खेलाडीमा पेलेलाई पछि पार्न सफल भए । पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि गोल थप्यो । यस पटक मेसीले पेनाल्टीमा गोल गरे ।

    नेदरल्याण्ड्सका डेन्जल डमफ्राइझले मार्कोस अकुनालाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा मेसीले ६३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । जारी विश्वकपमा मेसीको यो चौथो गोल हो । उनी सर्वाधिक गोल गर्नेमा फ्रान्सका किलिएन एमबाप्पे भन्दा एक गोलले पछि छन् । दुई गोलले पछि परेको नेदरल्याण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्‍यो ।

    वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको वाउट वेघोस्टले ८३औं मिनेटमा गोल गर्दै डच टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ९० मिनेटको खेलपछि १० मिनेटको इन्जुरी टाइम थप गरिएको थियो । जसको अन्तिम मिनेटमा नेदरल्याण्ड्सले बक्स बाहिर फ्रिकिक पायो । त्यसमा टम कुपमाइनरसको उत्कृष्ट पासमा वेघोस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

  • ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

    ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

    काठमाडौं । पेनाल्टी शूट आउटमा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल पुगेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो ।

    क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी शूटआउटमा हरायो । क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए । ब्राजिलका लागि कासेमिरो र पेड्रोले मात्र गोल गरे । चौथो नम्बरमा पेनाल्टी प्रहार गरेका मार्क्विन्होसको प्रहार पोष्टमा लागेपछि क्रोएसियाको जित निश्चित भएको थियो ।

    त्यसअघि निर्धारित ९० मिनेटमा दुई टोलीले गोल गर्न नसकेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । पहिलो हाफमा ब्राजिलले गोलका लागि लगातार प्रयास गरेपनि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले निर्धारित ९० मिनेटमा ब्राजिलका ८ सेभ गरेका थिए । पहिलो हाफमा ब्राजिलले क्रोएसियामाथि लगातार आक्रमक गरेको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्ने प्रयास गरेका थिए र दुवैले एक एक गोल गरे ।

    अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा नेमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उक्त गोलसँगै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने पेलेको कीर्तिमान समेत बराबरी गरे । ११७औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्रुनो पेटकोभिचले ११७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यही गोलले क्रोएसिया खेलमा फर्कियो र पेनाल्टी शूटआउटमा जित निकाल्यो ।

  • चलचित्र हलले पाएनन् विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार

    चलचित्र हलले पाएनन् विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार

    काठमाडौं । चलचित्र विकास बोर्डले फ्लिम हलमा विश्व कपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । कतिपय फ्लिम हलले नियमित चलचित्र प्रदर्शनको समयमा विश्व कप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको भन्दै बोर्डले हलहरूलाई पत्राचार गरेको हो । बोर्डले नियमअनुसार फ्लिममात्र प्रदर्शन गर्न हलहरूलाई निर्देशन दिएको छ ।

    बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा कतिपय चलचित्र घरहरूले आफ्नो वेबसाइटमार्फत शो समयसमेत खुलाएको देखिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । बोर्डले पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र सङ्घलाई पनि गराएको छ ।

  • माग पुरा भए नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने

    माग पुरा भए नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी आफ्ना माग पुरा भए सरकारमा जाने भएको छ । शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको छ ।

    पार्टीका नेता चौधरी लगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए। पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ।

  • मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

    मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

    पोखरा । पोखरा ११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खस्दा एक महिलाको ज्यान गएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् ।

    छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल व्यवस्थापनले भने अस्पतालमा पुनर्निर्माणको काम भइरहेको र उनी किन छेऊतिर गइन् भन्ने बुझ्न नसकिएको जनाएको छ । जिल्ला प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । अस्पताल प्रशासन र पीडित परिवारबीच आजै वार्ता समेत भएको थियो ।

  • ग्वार्कोमा मुलुककै पहिलो ओभरपास संरचना निर्माण शुरु

    ग्वार्कोमा मुलुककै पहिलो ओभरपास संरचना निर्माण शुरु

    काठमाडौं । चक्रपथमा पर्ने ग्वार्को चोकमा शुक्रबारबाट मुलुककै पहिलो ओभरपास बनाउने काम शुरु भएको छ । चक्रपथमा सबैभन्दा बढी जाम हुने क्षेत्र छनोट गरी पहिलो चरणमा ग्वार्को चोकमा ओभरपास बनाउन लागिएको हो । यो नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना हो । ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक भने हुँदैन । चक्रपथको बीचका मुख्य चार लेन र्‍याम्प बनाएर चोकमा पुल निर्माण गरी सवारी आवागमन व्यवस्थित गर्न लागिएको छ । यसले चक्रपथको सवारी व्यवस्थापन करिब एक वर्षसम्म प्रभावित हुनेछ ।

    योजनाअनुसार सडक विभागले बीएन्डबी अस्पतालतर्फबाट मुख्य चारलेनमा चोकसम्म १८५ मिटरको लामो र्‍याम्प बनाउनेछ । बालकुमारीतर्फबाट ३२० मिटरको अर्को र्‍याम्प बन्ने छ । र्‍याम्प र पुल गरी ५४० मिटरको ओभरपास संरचना बन्नेछ । ४ प्रतिशतको ग्रेडिङ भएको र्‍याम्प बनाउन विभागले ‘मेकानिकल्ली स्टेबलाइज्ड अर्थ रिटेनिङ वाल’ लगाउनेछ र त्यसभित्र माटो भर्नेछ । माटो भरेपछि त्यसमाथि चार लेनको सडक नै निर्माण गरिनेछ । र्‍याम्पको चौडाइ १६ मिटरको हुनेछ । जसमा विस्तारित चक्रपथको अन्य भागको जसस् समानान्तर रूपमा ४ लेनकै सडक बनाइनेछ ।

    मुख्य चोकमा ३५ मिटरको पुल (सम्म भाग) रहनेछ । जुन पुलको मुनिबाट रिंगरोड वारीपारी गर्ने सवारीहरु विनाअवरोध ‘क्रस’ गर्न सक्नेछन् । अर्थात् ओभरपासको पुल निर्माण भएपछि इमाडोल–पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनिबाट वारपार गर्नेछन् । बीचका सडकमा र्‍याम्प बनाएर ओभरपास बनाए पनि सर्भिस लेनहरु अहिलेकै अवस्थामा रहने छन् ।

    सडक विभागले २७ माघ, २०७८मा ओभरपास बनाउन ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो । ४ महिनाभित्रै ओभरपासको डिजाइन गरेर थप २० महिनाभित्रै बनाइसक्ने गरी खरिद सम्झौता भएको थियो । इन्जियिरिङ प्रक्रयोर्मेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडल अनुसार ठेक्का लागेपछि इन्जिनियरिङकै काममा ठेकदार कम्पनीले १० महिना समय लगाएको छ ।

    अब निर्धारित समयअनुसार काम भएमा अबको १४ महिनाभित्रै ओभरपास बनिसक्नुपर्छ । यो परियोजना निर्माणको जिम्मा आशिष, रेलिगेयर, समानान्तर जेभीले लिएको छ । १७ करोड ६ लाख रुपैयाँमा ठेक्का लागेको यो ओभरपास बनिसकेपछि ५ वर्षसम्म ठेकदार कम्पनीले नै मर्मतसमभार गर्नुपर्ने खरिद सम्झौतामा उल्लेख छ ।

  • चोलेन्द्रबारे संसदका महासचिवको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    चोलेन्द्रबारे संसदका महासचिवको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको भन्दै विभिन्न निकायमा जारी भएको पत्र समेत तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु भनी आदेश दिएको हो ।

    सर्वोच्च अदालतले के कति कारणले पत्र लेखिएको हो भन्नेवारे जवाफ दिन समेत संघीय संसदका महासचिवको नाममा आदेश जारी गरेको छ । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो । यो आदेशसँगै अवकाश पाउन ४ दिन बाँकी रहदा सर्वोच्च अदालतमा हाजिर हुने र आफूमाथिको निलम्बन निस्तेज भएको सन्देश सहित अवकाश लिने जबराको योजना विफल भएको छ ।

    सर्वोच्च अदालतको यो अन्तरिम आदेशपछि महासचिव गौतमले विभिन्न निकायमा जारी गरेको पत्र समेत प्रभावहिन भएका छन् । दुई दिनअघि संघीय संसद महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई उनी विरुद्धको महाभियोग ‘निष्प्रभावी’ भनीको भनी पत्र दिएका थिए । राष्ट्रपति कार्यालय, न्यायपरिषद सचिवालय, सर्वोच्च अदालत लगायतका निकायमा बोधार्थको रुपमा पत्र पठाइएको थियो ।

    पत्र दिएको सार्वजनिक हुनासाथ कानून व्यवसायीहरुले सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिएका थिए भने सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । संवैधानिक इजलासमा दर्ता भएको त्यही रिट निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश जारी भएको हो ।

  • चोलेन्द्रको निलम्बन फुकुवाको निर्णय विरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाई

    चोलेन्द्रको निलम्बन फुकुवाको निर्णय विरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाई

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । बिहीबार सार्वजनिक बिदाका कारण यसमा सुनुवाई हुन सकेको थिएन । जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो ।

    क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय बनाएकाले गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ । रिटमा महासचिव गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप’ गरेकाले यो कार्य गैरकानुनी रहेको दाबी गरिएको छ ।

    जबराले आफूउपरको महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित सम्बन्धित निकायहरूमा यसको जानकारी गराउन गएको मंगलवार संसद् सचिवालयमा निवेदन दिएका थिए । त्यसपछि संघीय संसद् सचिवालय गौतमले जबराकै दाबीअनुसार महाभियोग निष्प्रभावी भएको भन्दै ती निकायलाई पत्राचार गरेका थिए । गौतमको पत्रपछि बुधवारै जबराले सर्वोच्च प्रवेशको तयारी गरे पनि कानुन व्यवसायीले सर्वोच्च परिसरमा विरोध प्रदर्शन गरेका थिए । बार एसोसिएसनले आज पनि विरोधका कार्यक्रम गर्दै छ ।

  • काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

    काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान अन्तर्गत कम्पोष्ट बिन वितरण गर्ने भएको छ । महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने गरी सूचना जारी गरेको छ । महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको भनेको छ।


    ‘काठमाडौं महानगरपालिकाले घरबाट निष्कासन हुने कुहिने फोहोरलाई स्रोतमा वर्गीकरण गरी घरमा नै कम्पोस्ट मल बनाई फोहोर न्यूनीकरण कार्यमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण महानगरवासीलाई सूचित गरिन्छ’, सूचनामा भनेको छ, ‘साथै सो कार्य प्रोत्साहन गर्न सहुलियत दरमा कम्पोस्ट बिन काठमाडौं महानगरवासीलाई वातावरण तथा कृषि विभाग, टेकूबाट एक हजार ५ सय रूपैयाँमा उपलब्ध गराउने यसै सूचना मार्फत जानकारी समेत गराइन्छ।’ यसअघि महानगरले स्रोतमै फोहोर छुट्याउने र अलग अलग संकलन गर्ने भने पनि त्यो अभियान भने सफल हुन सकेको थिएन ।

  • समानुपातिक सांसदको टुंगो लगाउँदै एमाले

    समानुपातिक सांसदको टुंगो लगाउँदै एमाले

    काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद चयन आज गर्ने भएको छ । सांसद चयन र चुनावी समीक्षा गर्न एमालेको सचिवालय बैठक आज बोलाइएको छ । एमाले सचिवालयका अनुसार आज समसामयिक राजनीतिक विषयवस्तुमा समेत छलफल हुनेछ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षा मूख्य एजेण्डा भएको समेत बताइएको छ ।

    एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्नु पर्ने हुन्छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको छ । तीन दिनभित्र दलहरुले नाम पठाउनु पर्नेछ ।

  • मेलम्चीको पानी आजबाट धारा-धारामा वितरण

    मेलम्चीको पानी आजबाट धारा-धारामा वितरण

    काठमाडौं । मेलम्ची आयोजनाको खानेपानी वितरण आजबाट वितरण गरिने भएको छ । शुक्रबार खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले महाँकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्ने कार्यक्रम छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार आजदेखि लगातार ६ महिनासम्म पानी वितरण गर्ने योजना छ ।

    यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । तर जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढी पहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो । वर्षा सुरु भएपछि पुनः बन्द गरेर अहिले हिउँदमा पानी वितरण थालिएको हो ।

    यही मंसिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरिएको थियो । १९ गतेदेखि सुरुङमा पानी भर्न थालिएको थियो । केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको थियो । आज बिहान मन्त्री चौधरीले महाँकालचौरबाट पानी वितरण सुरु गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । केयूकेएलका अनुसार काठमाडौं उपत्यकामा अहिले दैनिक १० करोड लिटर र पछि १७ करोड लिटर पानी वितरण गर्ने योजना छ ।

  • प्रधानमन्त्रीको अठोट : भ्रष्टाचार हुनै दिँदैनौं

    प्रधानमन्त्रीको अठोट : भ्रष्टाचार हुनै दिँदैनौं

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक छ । कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धता जस्ता विषयले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्‍याउने भएकाले यसतर्फ ध्यान दिन म सबैलाई आग्रह गर्न चाहन्छु ।’

    साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायिक निकायहरु लगायतका निकायहरुको संस्थागत सुदृढीकरण, अनुसन्धान पद्धतिमा निरन्तर सुधार तथा न्याय निरुपणमा संवेदनशीलता जस्ता पक्षमा पनि गम्भीरतापूर्वक ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनलाई विशेष महत्व दिंदै आएको बताएका छन् । ‘यसप्रति सरकारको प्रतिबद्धता अविचलित रहेको छ,’ उनले भनेका छन्, ‘विकास आयोजना व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्दै भ्रष्टाचार हुनै नदिनेतर्फ सरकारको अठोट छ ।’ उनले सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जाने प्रतिबद्धता पनि जनाएका छन् ।

    प्रधानमन्त्री देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै सरकारी निकाय, बुद्धिजीवी, नागरिक समाज र सञ्चारकर्मीहरुलाई आगामी दिनमा आपसी समन्वय, सहकार्य र साझेदारीमा भ्रष्टाचार नियन्त्रण अभियान अघि बढाउन आह्वानसमेत गरेका छन् ।

    भ्रष्टाचार बहुआयामिक र जटिल विषय : प्रमुख आयुक्त राई

    यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पनि शुभकामना सन्देश दिंदै भ्रष्टार रोकथामका लागि सरकारी, निजी र गैरसरकारी क्षेत्रका निकाय एवं पदाधिकारीका साथै सबै नागरिकको निरन्तर सहयोग जरुरत पर्ने बताएका छन् । भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेको भन्दै उनले यसको रोकथामका लागि सबैको सहयोगको अपेक्षा गरेका हुन् ।

    ‘मुलुकको सर्वाङ्गीण विकासका साथै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको छवि प्रवर्द्धन गर्न उपयुक्त सबै क्षेत्रबाट निरन्तर साथ, समर्थन, समन्वय र सहयोग प्राप्त गर्न जरुरी छ,’ प्रमुख आयुक्त राईले भनेका छन्, ‘त्यसो हुन सकेमा मात्र भ्रष्टाचारसँग सम्बन्धित विभिन्न सूचक एवं परिसूचकमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ ।’

    भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसले अख्तियारलाई थप ऊर्जावान र क्रियाशील बनी भ्रष्टाचार विरुद्ध सक्रिय रहन प्रेरणा दिएको पनि उनले उल्लेख गरेका छन् ।

    उनले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धन गरी सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रुपान्तरण गर्न आयोगले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् ।

  • आजबाट विश्वकपमा क्वाटरफाइनल भिडन्त, दुबै दक्षिण अमेरिकी महाराथीको यात्रा तय हुँदै

    आजबाट विश्वकपमा क्वाटरफाइनल भिडन्त, दुबै दक्षिण अमेरिकी महाराथीको यात्रा तय हुँदै

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आजबाट क्वाटरफाइनलका खेल हुँदैछन् । शुक्रबार पहिलो र शनिबार बिहान दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।
    पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्नेछन् ।

    यी दुबै खेलबाट दुई दक्षिण अमेरिकी महारथी अर्जेण्टिना र ब्राजिलको भाग्य तय हुनेछ । आजको दुई विजेता टोली सेमिफाइनल पुग्नेछन् । अर्जेन्टिना र नेदरल्याण्ड्स बीच पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलमा भेट भएको थियो । जसमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा विजयी भएको थियो ।

  • विद्युत खपत बढाउन पूर्वाधारमा लगानी गरिरहेका छौं : कुलमान

    विद्युत खपत बढाउन पूर्वाधारमा लगानी गरिरहेका छौं : कुलमान

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरणले विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित गरेको बताए । उनले नेपालमा उत्पादन भएको बिजुली नेपालमा नै खपत बढाउनका लागि विभिन्न ईभी एक्स्पो भइरहेको बताए ।

    बिजुली खपतका लागि चार्जिङ स्टेशन विस्तार र इन्डक्शन चुलोलाई प्राथमिकता दिँदै आएको उनको भनाई छ । उनले भने, ‘अहिले नेपालमा नै विद्युत् खपत बढाउनका लागि ईभी एक्स्पोदेखि ईभीको प्रमोशन भएको छ । चार्जिङ स्टेशनहरू बढेको छ । प्राधिकरणले इन्डक्शन कुकिङको कुरा गरिरहेको छ । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छ ।’

    घिसिङले विद्युत् प्रसारण, वितरण र सब–स्टेशनको विकास नभइ बिजुली खपत बढाउन नसक्ने पनि बताए । उनले प्राधिकरण गुणस्तरीय बिजुली र चाहे जति बिजुली वितरण गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए । गाउँ–गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको उनको भनाइ छ ।

    कार्यकारी निर्देशक घिसिङले अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्ने अवस्था नआउने दाबी गे । उनले वर्षाको समयमा बिजुली निर्यात गरिरहेको भन्दै त्यसो गर्नु सरकारको सफलता नभए पनि खपत नभएको बिजुलीलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको बताए ।

  • व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री

    व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री

    अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रिक टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए ।

    उनले सरकारले तरलता तथा बैङ्क ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैङ्क, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताए । मन्त्रिपरिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको भन्दै उनले उद्योगी व्यवसायीले सडक रोज्नु नहुने बताए ।

    उनले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको समेत बताए । मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीको काम नभएकोसमेत बताए । बैङ्कको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको उनको भनाई छ ।

  • आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालको निरन्तर लज्जास्पद प्रदर्शन

    आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालको निरन्तर लज्जास्पद प्रदर्शन

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले निरन्तर लज्जास्पद प्रदर्शन गर्दा कुनै पनि खेलमा जित निकाल्न सकेन । प्रतियोगिता अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टूको यस सिरिजमा नेपालले मात्र एक अंक जोडेको छ ।


    नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा जित निकाल्न नसकेको नेपाल बिहीबार पनि स्कटल्याण्डसँग अझ कमजोर देखियो । नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले २ विकेटको क्षतिमा १७ ओभरमै भेट्टायो । स्कटिस ओपनर केल कोर्टजर १६ रनको स्कोरमा आउट भए पनि अर्का ओपनर जर्ज मुन्से र क्रिस्टोफर म्याकब्राइडले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । बलिङमा नेपालका दीपेन्द्र र गुल्सन झाले १–१ विकेट लिए । यसअघि युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको थियो ।

    नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाए । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन, साफयान सरिफ र मार्क वाटले समान २–२ विकेट लिए । क्रिस सोल, क्रिस्टोफर एसी ब्राइड र क्रिस ग्रियभ्स्ले १–१ विकेट लिए ।

    नामिवियामा भएको यो शृंखलाको पहिलो खेल वर्षाका कारण रद्ध हुँदा नेपालले नामिवियासँग अंक बाँडेको थियो । शृंखलाको निराशाजनक प्रदर्शनपछि नेपालले अर्कोवर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोवल क्वालिफायर खेल्न नपाउने निश्चित भएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन समेत अब नेपालले बाँकी सबै खेल जित्नुनर्पे अवस्था छ ।

  • तानसेन-तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द हुने

    तानसेन-तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द हुने

    काठमाडौं । पाल्पा र गुल्मीको तानसेन–तम्घास सडकखण्ड १५ दिन दैनिक १० घण्टा बन्द हुने भएको छ ।

    तानसेन–रिडी–तम्घास सडकखण्डको सिरुखर्क–माल्मुल क्षेत्रमा बाटो चौडा गर्ने कार्य भइरहेकाले आजदेखि आगामी पुस ७ गतेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

    सिरुखर्क–माल्मुल क्षेत्रमा आजदेखि आगामी पुस ७ गतेसम्म बिहान ५ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र बेलुका ६ देखि ९ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाको सूचनामा उल्लेख गरिएको छ ।

  • रोनाल्डो करिअरकै कठिन मोडमा, प्रशिक्षक सान्तोससँगको विवाद झनै चर्किँदै

    रोनाल्डो करिअरकै कठिन मोडमा, प्रशिक्षक सान्तोससँगको विवाद झनै चर्किँदै

    काठमाडौं । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो करिअरको सबैभन्दा कठिन मोडमा आइपुगेका छन्। कीर्तिमानै–कीर्तिमान बनाएका रोनाल्डाको क्लबसँगै अन्तर्राष्ट्रिय करिअर पनि जोखिम मोडमा पुगेको छ।

    पोर्चुगल राष्ट्रिय टोलीका निर्विकल्प स्टार रहेका रोनाल्डोले जारी विश्वकपको नकआउटको स्विट्जरल्याण्डविरुद्धको महत्वपूर्ण खेलको अधिकांश समय बेन्चमा बिताए ।

    रोनाल्डो र मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसबीचको विवाद झनै चकिँदै गएको छ। सान्तोसले बिहीबार रोनाल्डोलाई प्रतिस्थापन (सब्टिच्युट) खेलाडीले गर्ने तालिममा पठाए। उनले नमानी सुरुवाती ११ का खेलाडीले गर्ने तालिममा गए।

    गत मंगलबार स्विट्जरल्याण्डविरुद्धको खेलमा सुपरस्टार रोनाल्डो सुरुवाती ११ मा परेका थिएनन्। उनी खेलको अन्त्यतिरमात्र मैदानमा प्रवेश गरेका थिए

  • मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु

    मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु

    चितवन । इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा पिकअप गाडी र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।

    अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन्। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्।

    बिहीबार बिहान करिब १० बजे ना ४१ प ५४८ नम्बरको बुलेट बाइक र बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको गाडी ठोक्किएका हुन्।

    दुर्घटनामा घाइते भएका जर्मन नागरिक माइकल मेएर ओल्बरस्लेबेनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

    गाडीका चालक २१ वर्षीय साजन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक जना घाइतेको उपचार भइरहेको छ।

  • ग्वार्को चोकमा यसरी मिलाइँदै छ शुक्रवारदेखि गाडी आउने/जाने व्यवस्था

    ग्वार्को चोकमा यसरी मिलाइँदै छ शुक्रवारदेखि गाडी आउने/जाने व्यवस्था

    काठमाडौं । ग्वार्कोमा नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) को निर्माण शुक्रबारदेखि शुरु हुने भएको छ।

    निर्माणको ठेक्का पाएको एमरएस आशिष-समानान्तर जेभीले शुक्रबारदेखि काम शुरु गर्न लागेको हो । ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ।

    आशिष-समानान्तर जेभीले १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँमा फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको छ ।

    चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो।

    ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ।

    कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दाँयातर्फ र ११० मिटर बाँयातर्फ र्‍याम्प निर्माण गरिनेछ।

    काम शुरु हुने भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक जाम व्यवस्थापनका लागि सूचना जारी गरेको छ।

    शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा व्यवस्थापन गरिएको छ।

    त्यसैगरी निजी चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने तथा बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुवाहक, मालवाहक र दुई पाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा तथा निजी चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

  • जर्मनीमा ‘कु’को प्रयास, देशभर हाइ अलर्ट

    जर्मनीमा ‘कु’को प्रयास, देशभर हाइ अलर्ट

    काठमाडौं । जर्मनीमा ‘कु’को प्रयास भएको छ । सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मन प्रहरीले देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जर्मन अधिकारीहरूले सरकारविरुद्धको ‘कु’ को प्रयासमा उग्रदक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरू समूह सक्रिय रहेको उल्लेख गरेका छन् ।

    उक्त समूहले संसद् भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने योजना बनाएको अधिकारीहरूको भनाइ छ । जर्मन अधिकारीलाई उद्धृत गर्दै बीबीसीले ‘राजकुमार हेइनरिच १३ औं’ का नामले परिचित ७१ वर्षीय जर्मन पुरुष षड्यन्त्रको मुख्य योजनाकार रहेको जनाएको छ । संघीय अभियोजनकर्ताहरूले उनी दुईमध्ये एक सक्रिय योजनाकार रहेको बताएका छन् ।

    जर्मनीमा हिंसात्मक आक्रमण तथा जातियतावादी षड्यन्त्रका हल्ला फैलाउने उग्रपन्थी राइक्सबर्गर अभियानका सदस्यहरू ‘कू’ को षडयन्त्रमा सहभागी भएका जनाइएको छ । जर्मन प्रहरीले आधुनिक जर्मन राज्यलाई अस्वीकार गर्दै आएको उक्त समूहलाई लामो समयदेखि निगरानी गर्दै आएको जनाएको छ ।

    त्यसका साथै ‘कु’ प्रयासमा क्यूएनन आन्दोलनका सदस्यहरू समेत संलग्न रहेका बताइएको छ । उक्त आन्दोलनले आफ्नो देश अनधिकृत रूपमा चुनिएको राजनीतिक नेतृत्वले सञ्चालन गरेको दाबी गर्दै आएको छ । घटना सार्वजनिक भएपछि जर्मन आन्तरिक मन्त्री नान्सी फिजरले ‘लोकतन्त्रका विरोधीहरू विरुद्ध अधिकारीहरूले पूर्ण रूपमा कानुन कार्यान्वयन गर्ने’ बताएकी छन् ।

    हालको जर्मन गणतन्त्रको सत्ता उल्ट्याएर सन् १८७१ ताकाको जस्तो जर्मनी राष्ट्र निर्माण गर्नुपर्ने भन्दै गरिएको षड्यन्त्रको तयारीमा कम्तीमा ५० जना संलग्न भएका हुन सक्ने अधिकारीहरूको भनाइ छ । ‘हामीसँग अझै उक्त समूहको नाम छैन,’ संघीय अभियोजनकर्ताको कार्यालयकी प्रवक्ताले भनेकी छन् ।


    जर्मन प्रहरीले बुधबार गरेको ‘उग्रपन्थीहरूविरुद्धको कारबाही’ आधुनिक जर्मनीको इतिहासकै ठूलो र प्रभावकारी भएको बताइएको छ । कारबाहीमा जर्मनीका १६ मध्ये ११ राज्यमा करिब ३ हजार प्रहरी अधिकारी परिचालन गरिएको थियो । दुई जनालाई इटाली र अस्ट्रियबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । जर्मनीका न्यायमन्त्री मार्को बुस्चमानले प्रहरीले संवैधानिक निकायमाथिको सम्भावित ‘आतंकवादविरुद्धको कारबाही’ गरेको बताएका छन् । उक्त समूहले सन् २०२१ को नोभेम्बरदेखि विभिन्न षड्यन्त्रका लागि तयारी गरिरहेको अधिकारीहरूको दाबी छ ।

  • ट्रम्प अर्गनाइजेसन कर छलिमा दोषी ठहरिँदा ट्रम्पलाई राष्ट्रपति उम्मेदवारको होडमा के असर पर्छ ?

    ट्रम्प अर्गनाइजेसन कर छलिमा दोषी ठहरिँदा ट्रम्पलाई राष्ट्रपति उम्मेदवारको होडमा के असर पर्छ ?

    काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ। मङ्गलवार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा दोषी पाएका हुन्। उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए जसमा षड्यन्त्र, झुटा प्रतिवेदन र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश रहेको बीबीसीले लेखेको छ ।

    उक्त व्यवसाय पूर्व राष्ट्रपतिको पर्यायका रूपमा छ तर सुनुवाइमा ट्रम्प र उनका परिवारका कुनै सदस्य सहभागी भएनन्। र उनीहरूमाथि कुनै अभियोग लगाइएको छैन। अभियोजनकर्ताहरूले ट्रम्पले कर छलीमा मन्जुरी दिएको स्पष्टसँग देखिएको आरोप लगाएका थिए। त्यस्तो अभियोगले उनको सन् २०२४ को राष्ट्रपतिमा उठ्ने प्रयासलाई असर पार्न सक्छ।

    उक्त फैसलाप्रति पुनरावेदन गरिने बताउँदै ट्रम्पले आफू ूनिराशू भएको बताउँदै उक्त घटनालाई पुनः ‘विच हन्ट’ अर्थात् बदलाको नियतले छानेर कारबाही गरेको को रूपमा व्याख्या गरे। उक्त कम्पनी एक दशकभन्दा बढी समयदेखि आफ्ना शीर्ष कार्यकारीहरूलाई अपारदर्शी ढङ्गले मुनाफा दिएकोमा दोषी पाइएको हो। कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयका शुल्कहरू रहेको अभियोजनकर्ताहरूले बताएका छन्।

    उनीहरूको तलब कम तय गरिँदा त्यसले व्यवसायले तिर्नुपर्ने कर कम गर्छ। उक्त कम्पनीले १६ लाख अमेरिकी डलर जरिबाना तिर्नुपर्ने हुनसक्ने अपेक्षा गरिएको छ। र उसले भविष्यमा ऋण सुनिश्चित गर्न र लगानी गर्न समेत कठिनाइ सामना गर्न सक्छ। लामो समय सँगै काम गरेका आफ्ना पूर्व प्रमुख आर्थिक कार्यकारी एलन विसेलवर्गले कम्पनीविरुद्ध बयान दिएपछि ट्रम्पले उनी विरुद्ध समेत रोष पोखेका थिए।

    आफ्नो सबैभन्दा पछिल्लो वक्तव्यमा आदेशप्रति रोष पोख्दै ट्रम्पले विसेलवर्गको ूव्यक्तिगत आचरणूका लागि किन ट्रम्प अर्गनाइजेसनमाथि अभियोजन चलाइएको भनेका थिए। ट्रम्पले विसेलवर्गलाई आफ्ना व्यक्तिगत करफिर्तीमा करछली गरेको आरोप लगाए। हामी त्यसबेला निकै सम्मानित र महँगो लेखा कम्पनी, र कानुनी कम्पनीमा यो काम गर्नका लागि भर परेका थियौँ, आफ्नो कार्यालयद्वारा जारी विज्ञप्तिमा ट्रम्पले भनेका छन्।

    छ साता लामो सुनुवाइमा अभियोजनकर्ताहरूले ट्रम्प अर्गनाइजेसनमा छल र कपटको संस्कृति रहेको आरोप लगाएका थिए। उक्त कम्पनीको विश्वभर होटलहरू, गल्फ कोर्सहरू र घरजग्गा सम्बन्धी सम्पत्तिहरू छन्। ट्रम्पले यसअघि उक्त सुनुवाइलाई राजनीतिक मनसायले प्रेरित बताएका थिए।

  • लिम्बु समुदायको उधौली आज, न्वागी पूजा गरी मनाइंदै

    लिम्बु समुदायको उधौली आज, न्वागी पूजा गरी मनाइंदै

    काठमाडौं । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । ‘चासोक’ भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने ‘तङ्नाम’ भनेको पर्व हो ।

    लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्राइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

    लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।

    यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अंकुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चढाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो ।

    मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान पनि गर्ने गरिन्छ ।

    आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने ९अन्धो बनाउने०, कान दुखाउने ९बहिरा बनाउने० जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

    यतिबेला लिम्बू समुदाय बसोबास रहेको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैँयु फुलेको छ । यसरी पैँयु फुलेको समयलाई लिम्बूहरूले उधौली याम ९दक्षिणायन० सुरु भएको संकेतको रुपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछन् । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ ।

    यही समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झार्ने गरिन्छ, जसलाई ‘उधौली’ झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँदभरी खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगाइन्छ, जसलाई ‘उभौली’ भन्ने गरिन्छ ।

    जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृतिक पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने गर्छन् जसलाई यक्वा पूजा (उभौली पूजा) भन्ने गरिन्छ । यिनै देवीदेवताको आशिर्वादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।

    हरेक वर्ष मंसिसर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।

    यस पर्वको अवसरमा नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय वेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाउँछन् ।

    राजधानी काठमाडौंसहित पूर्वी नेपालको संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लामा रहेका लिम्बू बस्तीमा विभिन्न कार्यक्रम गरी चासोक मनाउने गरिन्छ । सोही अवसरमा लेटाङ याक्थुङ चुम्लुङले प्रत्येक वर्ष चासोक तङ्नामको अवसर पारेर शुभकामना आदानप्रदान गर्दै आएको छ । रासस

  • आज योमरी पुन्हि, यस्तो छ महत्व

    आज योमरी पुन्हि, यस्तो छ महत्व

    काठमाडौं\रासस । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ ।

    नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ । नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् । मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ ।

    “यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो”, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने । कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो । यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन् । त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ ।

    नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।

    नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ ।

    धानका भकारीलगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।

    यःमरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।बनाइन्छ । चामलको पिठोलाई शुद्ध घ्यू हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ ।

    त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ ।

    यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी ९माटोको विशेष प्रकारको भाँडो० राखिन्छ । सो हाँसीमा यःमरी राखेर बाफले यःमरी पकाइन्छ । करिब पाँच मिनेट जति बफाएपछि यःमरी तयार हुन्छ । अचेल मः मः पकाउने भाँडाको प्रयोग गरिन्छ ।

    पानीको बाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम यःमरी अर्थात् मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्रा। डा। पुर्षोत्तमलोचन श्रेष्ठ बताउँछन्।

    नेवार समुदायमा यःमरीको सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धनसम्पत्ति बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हिका दिन सबैले यःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ ।

    विशेष गरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिनजस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा। डा। श्रेष्ठले बताए । “बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म यःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ”, श्रेष्ठले भने ।

    त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा एक सय आठ वटा यःमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर यःमरी खसाल्ने चलन छ ।

    यो चाड बौद्धमार्गीले पनि मनाउँदै आएका छन् । बौद्धमार्गीले यःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दूमार्गी नेवारले सिन्हम्हुको प्रतीक भनेर अर्थ्याउँदै आएका छन्
    ।

    यःमरीको वैज्ञानिक महत्व

    वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाइन्छ । जाडो महिनामा मनाइने यःमरी पुन्हिमा पकाइने पकवान यःमरीमा रहेको चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।

    यस पूर्णिमाका रातलाई सबैभन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाइन्छ । यस पूर्णिमाको भोलिपल्टदेखि यःमरीको चुच्चो जतिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास पनि रहेको छ ।

    धार्मिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुवैले गरिबप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुबेरले यी दुवै पतिपत्नीको एक पटक परीक्षा गर्नुपर्यो भन्दै गरिबको भेष धारण गरी सुचन्द्रको घरआँगनमा माग्न गएछन् ।

    गरिब रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पतीले साह्रै श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठोमीठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिबरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन् । केही बेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि यःमरी बनाउने विधि सिकाइ बफाउने तामाको भाडासमेत दिई अन्तरध्यान भएछन् ।

    कुबेरले सिकाएबमोजिम सुचन्द दम्पतीले नयाँ चामलको पिठोको यःमरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा चार दिनसम्म पूजा गरेछन् । यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरुले अन्नहरू जति दान दिन्छन् त्यति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ ।

    यो चाड बौद्धमार्गीले पनि मनाउँदै आएका छन् । बौद्धमार्गीले यःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दूमार्गी नेवारले सिन्हम्हुको प्रतीक भनेर अर्थ्याउँदै आएका छन् ।

  • सवारी साधनको जाँचपासमा कडाई गर्ने सरकारको तयारी, जाँच नगरे १ लाखसम्म जरिवाना

    सवारी साधनको जाँचपासमा कडाई गर्ने सरकारको तयारी, जाँच नगरे १ लाखसम्म जरिवाना

    काठमाडौं । सरकारले प्रदूषण जाँचपासमा कडाई गर्ने भएको छ । जाँच नगरी सवारी साधन चलाए एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी वातावरण विभागले दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिँदै सूचना जारी गरेको छ । विभागले हाल काठमाडौं उपत्यकाभित्र सन्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको छ ।

    ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो । सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ । अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सन्चालनमा ल्याउन दिने विभागले आज जारी गरेको सूचनामा उल्लेख छ ।

    विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही गर्ने जनाएको छ । साथै आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले भनेको छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुल्ला रुपमा फोहोर जलाउनेलाई कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

  • फिनल्याण्ड र नर्वेले नेपाललाई सवा ५ अर्ब अनुदान दिने

    फिनल्याण्ड र नर्वेले नेपाललाई सवा ५ अर्ब अनुदान दिने

    काठमाडौं । नेपालले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट ५ अर्ब ११ करोड रुपैयाँ अनुदान लिने भएको छ । सरकारले फिनल्याण्ड सरकारबाट १९ मिलियन यूरो (२ अर्ब ५४ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै, विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने १९५ मिलियन नर्वेजियन क्रोनर (करिब २ अर्ब ५७ करोड रुपैयाँ) अनुदान समेत स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

  • उडिरहेको जहाजमा चिल ठोक्किएपछि..

    उडिरहेको जहाजमा चिल ठोक्किएपछि..

    काठमाडौं । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।
    अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् ।

    दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छन् । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए । नेपालका विमानस्थलहरु चराको गतिविधिका कारण असुरक्षित मानिन्छन् ।