Category: फिचर

  • आज अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर जान पाउने, अन्य सबै यातायात बन्द

    आज अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर जान पाउने, अन्य सबै यातायात बन्द

    काठमाडौं । आज आम निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर विमानस्थलसम्म आउन पाउने भएका छन् । नेपाल आउने यात्रुले समेत टिकटकै आधारमा विमानस्थलबाट होटेल तथा घरसम्म यात्रा गर्न सक्ने छन् । अन्य यात्रुका लागि भने सबै प्रकारका यातायातका साधन चलाउन पाउने छैनन् । आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान जारी छ । यस क्रममा आन्तरिक उडान समेत बन्द भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुनेछ । आइतवार तारा एअरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एअरले लुक्लाबाट काठमाडौं पर्यटक ल्याउन चार्टर्ड उडान गर्दैछ । हेलिकप्टरमा पनि केही उद्धार उडान हुँदैछन् । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुनेछ ।

  • आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदान

    आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदान

    काठमाडौं । आज प्रतिनिधसभा र प्रदेश सभाका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेटबाट देशैभर एकै पटक मतदान शुरु भएको हो । मतदान केन्द्रमा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्था गरिएको छ । अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था छ । देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ ।

    प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० सिटका लागि प्रत्यक्षतर्फको चुनाव हुँदैछ । प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि त्यो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक चुनाव हुँदैछ । चुनावको लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिएका छन् । यस्तै नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ ।

  • एमाले समर्थक पत्रकारबाट सामाजिक सञ्जालमा फेकन्यूज आतंक, कांग्रेस र माओवादीको आपत्ति

    एमाले समर्थक पत्रकारबाट सामाजिक सञ्जालमा फेकन्यूज आतंक, कांग्रेस र माओवादीको आपत्ति

    शनिबार एमाले समर्थक केही पत्रकारहरुबाट फेकन्यूज आतंक चलाइएको छ । यसलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विभिन्न मिडियाका स्क्रिनसट राखेर भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रका मुख्य सचिवद्वय श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

    सेतोपाटी, अनलाइनखबर, नयाँ पत्रिकालगायत विभिन्न मिडिया समेतको दुरूपयोग गरी ‘प्रचण्ड बाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ जस्ता समाचारका फोटोहरू सामाजिक सञ्जालमा भाइरल बनाइएका थिए । यसरी भ्रमपूर्ण र मिथ्या सूचना सार्वजनिक गरी दुई पार्टीबीच फाटो गराउने दुराशय गरेको विज्ञप्तिमा उल्लेख छ।

    ‘यो भ्रमपूर्ण निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। यस्ता सूचनामा विश्वास नगर्न पनि मुख्य सचिवद्वयले अनुरोध गरेका छन्।


    त्यसैगरी यस सम्बन्धमा आपत्ति जनाउँदै निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कारबाहीको लागि निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराएको छ। ‘अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ।

    प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले पनि विज्ञप्ति जारी गर्दै अपवाह फैलाएको आपत्ति जनाएका छन्। उनले नेकपा एमालेका प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायत एमाले सम्बद्ध केही पत्रकारहरूले प्रविधिको दुरूपयोग स्रोस कोड परिवर्तन गरी सामाजिक सञ्जालमा अपवाह फैलाएको बताएका छन्।

    प्रेस सेन्टरले बस्नेत लगायत यसमा संलग्न सबै पत्रकारहरूलाई तत्काल नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट हटाउन र सूचना तथा प्रसारण विभागबाट लिइएको प्रेस प्रतिनिधि प्रमाण पत्र खारेज गर्न पनि माग गरेको छ।

  • यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत

    यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत

    काठमाडौं । आइतबार हुने आम निर्वाचनका दौरान केही केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्न नपाउने भएका छन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

    मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको हो । माओवादी अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । तर, उनी गोरखामा उम्मेदवार छन् ।

  • शीर्ष कुन नेताले कहाबाट गर्दैछन् मतदान ?

    शीर्ष कुन नेताले कहाबाट गर्दैछन् मतदान ?

    काठमाडौं । आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको छ । यसका लागि मतदान गर्न शीर्ष नेतासहित आम मतदाता समेत निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । देउवा डडेलधुरामै छन् । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नेछन् ।

    विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् । प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन् ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन् । सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नेछन् । लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन् ।

    जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

    कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नेछन् । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नेछन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

  • प्रमुख निर्वाचन आयुक्तको निर्देशन : उम्मेदवारप्रति झुकाव नराखी काम गर्नोस्

    प्रमुख निर्वाचन आयुक्तको निर्देशन : उम्मेदवारप्रति झुकाव नराखी काम गर्नोस्

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको मतदान तथा मतगणना कार्यमा खटिएका सम्पूर्ण कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न निर्देशन दिएका छन्।

    शनिबार प्रमुख निर्वाचन आयुक्त थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटिएका कर्मचारीहरुलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न निर्देशन दिएका हुन्। 

    ‘मतदान अधिकृत, मतगणना अधिकारी र कर्मचारीको जिम्मेवारी, पाउनु गर्वको विषय हो। यो जिम्मेवारी गरिमा र मर्यादालाई कायम राख्दै मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्नोस्,’ उनले निर्देशन भनेका छन्, ‘व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नोस्।’

  • आयोजक कतारमाथि म्याच फिक्सिङको आरोप, पहिलो खेलमै ९२ करोडको चलखेलको आशंका

    आयोजक कतारमाथि म्याच फिक्सिङको आरोप, पहिलो खेलमै ९२ करोडको चलखेलको आशंका

    काठमाडौं । कतार विश्वकप सुरु हुन एक दिन बाँकी छ। मैदानमा खेल सुरु हुनुअघि नै मैदान बाहिर भित्र कसलाई जिताउने खेल शुरु भएको दाबी गरिएको छ।

    रिपोर्टअनुसार आयोजक देश कतारले म्याच फिक्सिङ गरेको आरोप लगाइएको छ। कतारले आफ्नो पहिलो खेलमा नै इक्वेडरलाई घुस दिएको आरोप लागेको छ।

    ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज तथा रिसर्च का क्षेत्रीय निर्देशक अमजद ताहाले फिक्सिङ गर्न लागिएको बलियो प्रमाण प्राप्त भएको बताएका छन्।

    कतारले आफ्नो पहिलो खेलका लागि लाखौँ डलर खर्चिएको दाबी अन्तरराष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्।  उनका अनुसार कतारले विपक्षी खेलाडीलाई पैसा दिएर कमजोर खेल खेल्नका लागि प्रेरित गरेको बताइएको छ।

    सूत्रको हवाला दिँदै जानकारी दिइएअनुसार इक्वेडरका आठ खेलाडीलाई ७.४ मिलियन अमेरिकी डलर (करिब ९२ करोड) रुपैयाँ दिएको जनाइएको छ। त्यसका लागि यो खेल कतारले १-० ले जित्ने र खेलको निर्णायक गोल दोस्रो हाफमा हुने दाबी समेत गरिएको छ। 

    फिफा विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि एफबिआइको सहयोग मागिएको छ। किनकि फिफाका अनुसार विश्वकपमा विश्वभर करिब १०० बिलियन डलर बराबरको रकम दाउ लगाइन सकिने जनाइएको छ।

    म्याच फिक्सिङ रोक्नका लागि फिफाले पहिलो पटक विशेष टाक्सफोर्स बनाएको छ। जसमा बिटिङ मार्केटको मनिटरिङ गर्ने अन्तर्राष्ट्रिय फर्महरु स्पोर्टसराडार, इन्टरपोल, इन्टरनेशनल बिटिङ इन्ट्रिगिटी एसोसिएशन तथा एफबीआईलाई सहभागी गराइएको छ।

  • सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

    सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

    काठमाडौं । काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको ज्यान गएको छ । पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बसेकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो । राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । काठमाडौंमा दुई पांग्रे सवारी साधन बढी असुरक्षित बन्दै गए पनि सरकारले सार्वजनिक यातायात सुधारमा कुनै ध्यान दिन नसक्दा मानिसहरुले अकालमा ज्यान गुमाएका छन् ।

  • देशभर ३ लाख सुरक्षाकर्मी परिचालन, बढीमा ३० मिनेटमा मतदान केन्द्रमा पुग्छ सेना

    देशभर ३ लाख सुरक्षाकर्मी परिचालन, बढीमा ३० मिनेटमा मतदान केन्द्रमा पुग्छ सेना

    काठमाडौं । निर्वाचनलाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन गृह मन्त्रालयले दुई लाख ९८ हजार ५७९ सुरक्षा जनशक्ति परिचालन गरेको जानकारी गराएको छ । तीमध्ये एक लाख १५ हजार म्यादी प्रहरी, ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाल प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, नेपाल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी निर्वाचनमा खटिएका छन् । नेपालको कुनै पनि स्थानमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी नेपाली सेनालाई परिचालन गरिएको छ ।

    नेपाली सेनाका हेलिकोप्टर इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तैनाथी अवस्थामा रहेको निजी क्षेत्रका हेलिकोप्टरलाई परिचालन गर्न तयारी हालतमा राखिएको छ । निर्वाचनमा साना हतियारको प्रयोग गर्ने र बम राखेर त्रास फैलाउन सक्ने भएकाले नेपाली सेनाले ९०३ स्थानमा बम डिस्पोजल टोलीलाई परिचालन गरेको छ । आवश्यकताअनुसार नेपाली सेनाको काठमाडौँमा रहेको बम डिस्पोजल टोलीसमेत परिचालन हुने सक्नेछ ।

    नेपाली सेनासँग एक हजार ५० वटा बम डिस्पोजल टोली छन् । सुरक्षा निकायबाट निर्वाचन सुरक्षामा खटिने जनशक्तिलाई आवश्यक पर्ने हातहतियार, सञ्चार सेट प्रदान गरिएको छ । निर्वाचनको सूचना सही समयमै लिन नेपाली सेनाले उपलब्ध गराएका ४० थान स्याटेलाइट फोन प्रयोग गरिएको छ । सम्पर्क हुन नसक्ने तथा संवेदनशील ठाउँमा सो फोनको प्रयोग गरिने गृह मन्त्रालयले जनाएको छ ।

    निर्वाचनको समयमा साना हातहतियारको दुरुपयोग गरी सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत इजाजत प्राप्त वैध १८५४ थान तथा १७१ थान अवैध हतियार सङ्कलन भएको छ ।

  • ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध

    ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध

    काठमाडौं । गृह मन्त्रालयले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आह्वान गरेको छ । निर्वाचन सुरक्षाको जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने बताए । उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षा निकायबीच प्रभावकारी रूपमा समन्वय भइरहेको र निर्वाचन मर्यादित रूपमा सम्पन्न हुने र ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका हुन् ।

    मतदानलाई असर पार्ने, निर्वाचनमा खटिएका कर्मचारी, मतदाता, उम्मेदवार र मतदान सामग्रीको सुरक्षा क्षति हुने र खतरा हुने कुरा सह्य नहुने बताउँदै सचिव सिंहले निर्वाचन बिथोल्ने व्यक्ति समूहलाई कानुनी दायरामा ल्याइने दाबी गरे। उनले निर्वाचन बिथोल्ने कतिपय व्यक्ति तथा समूहलाई नियन्त्रणमा लिएको र निर्वाचनविरोधी गतिविधि गर्नेको गृह मन्त्रालयले सूक्ष्म रूपमा हेरिरहेको बताए ।

  • भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण

    भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले प्यूठानबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपियाँ दिएर निर्वाचन प्रचारप्रसार गराएको बयान सार्वजनिक भएपछि आयोगले थापालाई पुनः स्पष्टीकरण सोधेको हो ।


    निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा “उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा वकसकोरुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन हुँदैन” भन्ने व्यवस्था छ ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत “विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने” व्यवस्था छ ।

    थापालाई पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नहुन निर्देशन दिइएको आयोगले जनाएको छ । भेलुबाजेले आफुलाई २ हजार रुपैयाँ दिएर एमालेमा मत हाल्न भनी उक्साएको बताएका थिए ।

  • पटक-पटक यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणको स्पष्टीकरण

    पटक-पटक यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणको स्पष्टीकरण

    काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनीबारभित्रै गन्तव्यमा पु¥याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो ।

    टिकट काटेर एअरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए । ‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए–२३९को काठमाडौँदेखि दोहा तथा उडान नम्बर आरए २२९ को काठमाडौँ–दुबई जाने हवाइजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ”, प्राधिकरणले आज निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।” अब उप्रान्त यस किसिमको कमि कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।

  • सोलुखुम्बुमा खटिएका मतदान अधिकृत मृत भेटिए

    सोलुखुम्बुमा खटिएका मतदान अधिकृत मृत भेटिए

    सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय गए राती सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन् । सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि मधुमेह र मुटुको औषधी प्रयोग गर्दै आएको खुलेको छ । घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगिसकेको छ ।

  • विश्वकपमा रंगशाला भित्र मदिरा बिक्रि निषेध

    विश्वकपमा रंगशाला भित्र मदिरा बिक्रि निषेध

    काठमाडौं । फिफाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि आफ्नो नीति परिवर्तन गरेपछि कतारमा विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा विक्री नहुने भएको छ। मदिराको विक्रीलाई कडाइका साथ नियन्त्रण गरिएको उक्त मुस्लिम देशमा यसअघि रङ्गशाला भित्रका केही छानिएका क्षेत्रमा रक्सी उपलब्ध हुने व्यवस्था मिलाइएको थियो। यद्यपि प्रतियोगिता हुने रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले अझै पनि मदिरा किन्न सक्नेछन्।

    कतारमा आइतवार विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। उक्त खेलको पहिलो प्रतिस्पर्धा कतार र इक्वेडरबीच हुनेछ। फिफाको प्रमुख प्रायोजक बडवाइजर बियर एबी इनबेभको स्वामित्वमा हो। उसले विश्वकपमा बियर बेच्ने विशेषाधिकार पाएको थियो। आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफलपछि कतारको फिफा विश्वकप २०२२ रङ्गशाला परिधिबाट बियर विक्रीकेन्द्रहरू हटाउँदै फिफा फ्यान फेस्टिभल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको विक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ, फिफाले जारी गरेको वक्तव्यमा भनिएको छ।

    बड जिरोको विक्रीमा कुनै असर पर्ने छैन। त्यो कतारका सबै विश्वकप रङ्गशालाहरूमा उपलब्ध हुनेछ। आयोजक देशका अधिकारी र फिफाले रङ्गशाला र वरपरका क्षेत्रले सबै प्रशंसकहरूलाई रमाइलो, सम्मानजनक र सुखद अनुभव प्रदान गरोस् भन्ने सुनिश्चित गर्न जारी राख्नेछन्।” उसले प्रतियोगितामा पेय आपूर्ति गर्नुका साथै समझदारी र निरन्तर समर्थन गरेको भन्दै एबी इनबेभको प्रशंसा पनि गरेको छ। बडवाइजरले शुक्रवर ट्विटरमा सन्देश पोस्ट गर्दै लेखेको थियो, ठिकै छ, यो असहज कुरा हो। तर पछि उसले उक्त पोस्ट मेटाएको थियो।

  • निर्वाचन आयोगले दिपक मनाङेलाई तोक्यो २५ हजार जरिवाना

    निर्वाचन आयोगले दिपक मनाङेलाई तोक्यो २५ हजार जरिवाना

    काठमाडौं । निर्वाचन आयोगले दीपक मनाङेलाई २५ हजार जरिवाना तोकेको छ। आचारसंहिता विपरीत हुने गरी निर्वाचन खर्च गरेको सम्बन्धमा अभिव्यक्ति दिएको भन्दै आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई जरिवाना तोकेको विज्ञप्तिमा उल्लेख छ। मनाङेले ३३ लाखभन्दा बढी खर्च गर्न नमिल्ने जनाएता पनि ३० लाख रुपैयाँमा चुनाव जित्ने अभिव्यक्ति दिएको आयोगको भनाइ छ।

    ‘३० लाखमा नेपालमा चुनाव जित्छ यार, मनाङमा एकदिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ,’ उनले यस्तो अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति आयोगले सामाजिक सञ्जालमा देखेपछि स्पष्टीकरण मागेको थियो। स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नभएपछि मनाङेलाई आयोगले जरिवाना तोकेको हो।

  • इपीएस कोरिया भाषा परीक्षामा उत्पादनमुलक क्षेत्रतर्फको नतिजा सार्वजनिक

    इपीएस कोरिया भाषा परीक्षामा उत्पादनमुलक क्षेत्रतर्फको नतिजा सार्वजनिक

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ ।
    २० भदौदेखि २१ कात्तिकसम्म भएको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १४ हजार ४३ जना सहभागी थिए ।

    ईपीएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने जानकारी दिएको छ । राहदानीको म्याद कम्तिमा पनि एक वर्षको हुनु पर्ने र ‘क’ वर्गको बैंकमा आफ्नै नाममा खाता खोली सोको प्रमाण एवम् सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नुपर्ने शाखाले जनाएको छ ।

  • यूएईविरुद्धको एकदिवसीय सिरिज नेपालको कब्जामा, ज्ञानेन्द्र र आसिफको अर्धशतक

    यूएईविरुद्धको एकदिवसीय सिरिज नेपालको कब्जामा, ज्ञानेन्द्र र आसिफको अर्धशतक

    काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितेको छ ।

    कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा यूएईमाथि ६ विकेटको जित निकालेसँगै नेपालले सिरिज २-१ ले जितेको हो।

    नेपालले आशिफ सेख र ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीले सहज जित हासिल गरेको हो ।

    शुक्रबार यूएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको छ। नेपाललाई ज्ञानेन्द्र मल्ल र आशिफ शेखले जिम्मेवार पारि खेल्दै लक्ष्यसम्म डोहोर्‍याएका थिए।

    ओपनर अर्जुन साउद ९ रन बनाएर ९.६ ओभरमा आउट भएपछी अर्का ओपनर आशिफ शेखले मल्लसँग १ सय २२ रनको ठूलो साझेदारी बनाउन सफल भएका थिए। रोहित पौडेलले १० र अर्जुन साउँदले नौ रन बनाए।

    ज्ञानेन्द्रले आशिफसँग मिलेर दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

    दोस्रो विकेटमा नेपालका लागि यो कीर्तिमानी साझेदारी हो । यसअघि ओमानसँग यी दुईले नै ९२ रनको साझेदारी गरेका थिए ।

    यूएईका लागि हजरत बिलाल र आयन अफ्जल खानले एक-एक विकेट लिए।

    पहिलो ब्याटिङ गरेको युएईले खराब सुरुवातका बाबजुत समालिएर १ सय ७७ रनको लक्ष्य दिएको थियो।

    यूएईका लागि आयन अफ्जाल खान र हजरत बिलालले १० औँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै यूएईलाई समानजनक स्कोरमा पुर्‍याएका थिए।

    यी दुईले एकदिवसीय अन्तराष्ट्रियमा १० औँ विकेटका लागि चौथो ठूलो साझेदारी गरेका हुन्। त्यसअघि यूएईले ९३ रन जोड्दा ९ विकेट गुमाएको थियो।

    यूएईका लागि खानले ५४ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा उनलाई हजरतले २० रनमा साथ दिए।

    त्यस्तै अलसान सरउफले ३३ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा रोहन मुस्ताफाको २४ र ओपनर मुहम्मद वासिमको ११ रन रह्यो।

    नेपालका लगि बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए ।

    नेपाल पहिलाे खेलमा ८४ रनमा पराजित हुँदा दाेस्राे खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई तीन विकेटले हराएकाे थियाे । याे जितसँगै नेपालले शृङ्खला दुई–एकले आफ्नाे पक्षमा पारेकाे हाे ।

    यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो । नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो ।

    यो सँगै नेपालले पहिलो पटक घरेलु द्विपक्षीय एकदिवसीय शृंखला जितेको हो । यसै वर्षको मार्चमा नेपालले घरेलु मैदानमा खेलेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्य गिनीसँग २–० ले पराजित भएको थियो ।

  • १० अर्ब ३८ करोडको विद्युत भारत निर्यात, थप २३.५ मेगावाट निर्यातको अनुमति

    १० अर्ब ३८ करोडको विद्युत भारत निर्यात, थप २३.५ मेगावाट निर्यातको अनुमति

    काठमाडौं । पछिल्लो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात भएको छ।

    देशभित्र खपत गरी बढी भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको हो ।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

    भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँ (भारू)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख (भारू) नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।

    सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै थियो ।

    गत १८ र ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युतको स्वीकृत क्षमता ४०९ मेगावाट पुगेको छ ।

    खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरूबाट विद्युत उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

    ‘उद्योगहरुले अहिले स्वीकृति लोड अनुसार विद्युत नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युतको माग बढ्न सकिरहेको छैन,अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने।

    आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ८ रूपैयाँ २३ पैसा रहेको छ

    थप २३.५ मेगावाट निर्यात अनुमति

    नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको छ ।

    भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो ।

    प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ ।

    प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युतगृहबाट उत्पादित विद्युत निर्यातको प्रस्ताव स्वीकृतिकी लागि भारतको केन्द्रीय विद्युत प्राधिकरण समक्ष पेस गरेको थियो ।

    त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको हो ।

  • १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

    १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

    काठमाडौं । प्रहरीले नक्कली मतपत्र र स्वस्तिक छापसहित र्दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका–१६ का २३ अमिरी राउत कुर्मी पक्राउ परेका हुन् ।

    बिहीबार राति कलैयाबाट वीरगञ्ज आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारलाई चेकजाँच गर्दा नक्कली मतपत्र भेटिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार उक्त कारबाट १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र २ लाख ७२ हजार नगद बरामद भएको थियो ।

    उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।

  • उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या

    उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या

    काठमाडौं । हिमाली र उच्च पहाडी जिल्ला हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ । यसले निर्वाचन सामग्रीको ढुवानीमा समेत समस्या भइरहेको बताइएको छ । हुम्लासहितका जिल्लामा निर्वाचन सामग्री ओसर पसारमा समस्या देखिएको हो । पर्वातारोहण वा पदयात्रामा समेत चूनौति थपिएको छ । चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा पुग्दैछन् ।

    हिमपातका कारण समस्या आउन सक्ने भएकाले त्यसतर्फ जाँदा पूर्व तयारी अपनाउन मौसमविद्हरुको सुझाव छ । हिमाली केही जिल्लामा केही दिनदेखिको हिमपातले बाक्लो हिउँ जमेको छ । जसका कारण सुरक्षित रुपमा चुनावका सामग्रीसँगै चुनावमा खटिने टोलीलाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको छ । केही ठाउँमा निर्वाचन आयोगले हेलिकप्टरमार्फत् पुर्याउँदैछ ।

    आज पनि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै, प्रदेश(१, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने र बेलुकीपख पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षाको अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • नेपाल र यूर्एइबीच आज तेस्रो ओडीआई, विजेताले श्रृङखला जित्ने

    नेपाल र यूर्एइबीच आज तेस्रो ओडीआई, विजेताले श्रृङखला जित्ने

    काठमाडौं । नेपाल र यूएईबीच आज तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हुँदैछ । यो सिरिजको तेस्रो तथा निर्णायक खेल हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुने खेल नेपाल र यूएई दुवैले जितेमा उपाधीको हकदार हुनेछन् । तीन खेलको सिरिज १–१ को अवस्थामा छ । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले यूएईलाई तीन विकेटले पराजित गर्दै सिरिजमा फर्किएको थियो ।

    भर्खर आईसीसी टी–२० विश्वकप खेलेर नेपाल आएको यूएई नेपालको तुलनामा बलियो छ । नेपाल र यूएईबीच अहिलेसम्म आठ वटा एकदिवसीय खेल भएका छन् । जसका यूएई पाँच र नेपाल तीन खेलमा विजयी भएको छ । नेपालले आईसीसी लिग डिभिजन(२ को तयारीका लागि यूएईसँग यो सिरिज खेलेको हो । नेपालले यस सिरिजपछि आईसीसी लिग–२ खेल्न नामिबिया भ्रमण गर्दैछ । लिग–२ अन्तर्गत डिसेम्बरमा २ तारिखदेखि आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच सिरिज हुनेछ । लिग–२ मा हाल नेपाल १७ अंकसहित छैटौँ स्थानमा छ ।

  • अमेरिकी सभामुख पेलोसीले किन दिइन् राजिनामा ?

    अमेरिकी सभामुख पेलोसीले किन दिइन् राजिनामा ?

    काठमाडौं । तल्लो सदनमा रिपब्लिकन पार्टीले बहुमत प्राप्त गरेको छ । यससँगै नयाँ पुस्तामा व्यवस्थापिकाको नेतृत्व सुम्पने भन्दै अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रोयटर्सका अनुसार उनले नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पने बताएकी हुन् । ‘मलाई दिइएको जिम्मेवारीप्रति म कृतज्ञ छु। नयाँ पुस्ता पनि यो अद्भुत जिम्मेवारी लिन सक्षम भएकी छिन्।

    उनीहरूको नेतृत्व चाहनाका लागि र युवा पुस्तालाई जिम्मेवारीको अवसर दिन चाहन्छु,’ पेलोसीले भनिन् । ८२ वर्षीय पेलोसीले सान्फ्रान्सिस्कोबाट सन् १९८७ बाट निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएका छिन्। सन् २०२१ मा कमला ह्यारिस उपराष्ट्रपतिमा चयन हुनुअघिसम्म अमेरिकाको सर्वोच्च पदमा पुग्ने एक मात्र महिला नेतृ पेलोसीनै थिइन् ।

  • प्रत्यक्षतर्फको नतिजा तीन दिन भित्र आइसक्ने

    प्रत्यक्षतर्फको नतिजा तीन दिन भित्र आइसक्ने

    काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको भने तीन दिन भित्र सार्वजनिक गर्ने बताएको छ । समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार सबै मतपेटिका संकलन भए लगत्तैदेखि मतगणना थालिनेछ । तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना छ ।

    मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको थपलियाले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् ।

  • आजबाट पूर्ण रुपमा मौन अवधि लागु

    आजबाट पूर्ण रुपमा मौन अवधि लागु

    काठमाडौं । नेपालमा दुई दिन पछि हुने संसदीय निर्वाचनका लागि मौन अवधि लागु भएको छ । गत राती १२ बजेबाट यस्तो अवधि लागु भएको हो । अब राजनीतिक दलहरुले कुनै पनि माध्यमबाट चुनावको प्रचार प्रसार तथा भोट माग्न पाउने छैनन् । भोज भतेर तथा त्यस प्रकारका प्रलोभनमा पार्ने गतिविधि समेत गर्न पाइन्न ।

    यस्तो गतिविधि गरेको पाइएमा कारवाही हुने निर्वाचन आयोगले जनाएको छ । अब मतदान केन्द्र आसपासबाट दलहरुले राजनीतिक प्रचारका सामग्री हटाउनु पर्छ । सञ्चारमाध्यमले समेत विज्ञापन राख्न पाउने छैनन् । नेपालमा ४ मंसिरमा प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन हुँदैछ ।

  • राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…

    राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…

    नयाँ दिल्ली । भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी सहभागी भारत जोडो यात्राको एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने क्रममा नेपालको राष्ट्रिय गान बजेको छ । अहिले यो भिडियो सामाजिक सञ्जालमा भारइल बनेको छ । राहुललाई भने ट्रोल बनाइएको छ । कार्यक्रममा राष्ट्रिय गान बजाउने बेलामा नेपालको राष्ट्रिय गान बजेपछि उक्त भिडिओ भाइरल बनेको हो।

    घटना बुधबारको हो। त्यसमा गान्धीले माइकमार्फत राष्ट्रिय गान बजाउन भन्छन्, मन्चमा उपस्थित नेताहरू पनि उभिन्छन्। तर प्राविधिक टोलीले भारतको राष्ट्रिय गान नबजाइ नेपालको बजाउँछन्। गीत बजेको केही सेकेन्ड बितेपछि मात्रै नेताहरूले नेपालको राष्ट्रिय गान बजेको पत्तो पाउँछन् ।

  • मतगणना नसकिँदै सभा-जुलुस गरे २५ हजार जरिवाना

    मतगणना नसकिँदै सभा-जुलुस गरे २५ हजार जरिवाना

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको व्यवस्थापकीय लगाएत सुरक्षाका सबै तयारी पूरा भएको जनाएको हो। निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि मौन अवधि सुरु हुने र चूनावी प्रचार गर्न नपाइने आयोगले जानकारी दिएको छ। पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न नपाईने, प्रचार प्रसार गर्न नपाइने बताए।

    मतगणनाको काम नभएसम्म सभा, जुलुस लगायतका प्रचार प्रसारको काम गरे २५ हजारसम्मको जरिवाना गर्ने उनले बताए। निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्न सक्ने थपलियाले जानकारी दिए। उनले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायत कुनै पनि निर्वाचन विरोधी कामलाइ रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको बताए।

    निर्वाचनमा मतदाताभन्दा बढी मत नहुने भन्दै थपलियाले अस्वाभाविक मत खसेको पाइए पुनः निर्वाचन गराउने स्पष्ट पारे। त्यस्तै थपलियाले मतपेटिका संकलनपछि मतगणना सुरु गर्ने र मंसिरको २२ गतेसम्म अन्तिम नजिता लिएर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी रहेको धारणा राखे।

    आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ। मंसिर चार गते हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको र प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ।

  • सरकारले जबरजस्ती हटाउन खोजेपछि सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीद्वारा प्रदर्शन

    सरकारले जबरजस्ती हटाउन खोजेपछि सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीद्वारा प्रदर्शन

    काठमाडौं । सरकारले आफूहरुलाई जवरजस्ती हटाउन पटक–पटक सूचना प्रकाशित गरी दबाब सृजना गरेको भन्दै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलगायतले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुम्वासी व्यवस्थापन संघलगायत दर्जन बढी संघसंगठनहरुको अगुवाइमा माइतिघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली निकालेका हुन् ।

    आफूहरुलाई प्रमाणित हुने समय समेत नदिइ अल्टिमेटम दिएको, बसोबासको ग्यारेन्टी नगरिएको र आफूहरुको बाँच्ने अधिकार खोस्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । र्‍यालीमा सहभागीहरुले सुकुम्वासीको उचित व्यवस्थापन गर, भूमिहिन एक हौ, हामी न्याय चाहन्छौ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल प्रयोग गरेर हटाउने चेतावनी दिएको थियो ।

  • मन्दीका बाबजूद अमेरिकी खुद्रा व्यापारमा सुधार, कारको विक्री बढ्यो

    मन्दीका बाबजूद अमेरिकी खुद्रा व्यापारमा सुधार, कारको विक्री बढ्यो

    वासिङ्टन । अक्टोबरमा अमेरिकी खुद्रा विक्रीमा अपेक्षा गरिएभन्दा वृद्धि देखिएको छ । ग्यासको उच्च मूल्य र कार विक्रीका कारण बढेको मूल्यको दबाबको प्रभावपछि खर्चमा लचिलोपन देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

    अमेरिकी उपभोक्ताहरूले किराना सामानदेखि लुगाफाटासम्मका सबै चीजहरू महङ्गो बनाएको कारण बढ्दो लागतलाई समायोजन गर्दा एक महिना अघि विक्रीमा गिरावट आएको भएपनि अक्टोबरमा यसमा वृद्धि भएको छ ।

    दशकौंपछिको उच्च मुद्रास्फीतिको स्तरको सामना गर्दै, अमेरिकी फेडरल रिजर्भले यस वर्ष आफ्नो मानक ऋण दरलाई पटकपटक बढाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई मन्दीमा धकेल्ने जोखिमको बाबजुद पनि यसमा लगातार चार उच्चस्तरका वृद्धिहरू समावेश छन् ।

    तर अक्टोबरमा खुद्रा विक्री सेप्टेम्बरको तुलनामा १.३ प्रतिशतले बढेर ६९४.५ अर्ब डलर पुगेको वाणिज्य मन्त्रालयले जनाएको छ । कार विक्रीमा १.५ प्रतिशतले वृद्धि भएको र इन्धनको मूल्य बढेसँगै पेट्रोल पम्पमा विक्रीमा ४.१ प्रतिशतले वृद्धि भएको छ ।

    यस वर्ष युक्रेनमा रूसले गरेको आक्रमणपछि ग्यास पम्पहरूले उच्च मूल्यमा ग्यास बेचेका छन् भने हालका हप्ताहरूमा यो रेकर्ड क्रमशः कम भएको छ ।

    रेस्टुरेन्ट र बारको विक्री पनि अक्टोबरमा लचिलो रह्यो, जुन अघिल्लो महिनाको तुलनामा १.६ प्रतिशतले बढेको छ । तथ्याङ्क मौसमी रूपमा समायोजित गरिएको छ तर मूल्यमा परिवर्तनलाई ध्यानमा राख्दैन, त्यसैले लागत बढ्दै जाँदा, किनमेलले डलरको भाउ विस्तार गर्दैन र अमेरिकी परिवारहरूले मुख्य सामानहरूमा आफ्नो कमाईको अधिक प्रयोग गर्नुपरेको छ ।

    समग्रमा खुद्रा विक्री गत वर्षको सोही अवधिको तुलनामा ८.३ प्रतिशतले बढी हो । विशाल ई–कमर्स कम्पनी अमेजनसहित प्रविधि उद्योगमा समस्याको संकेतको बावजुद, अनलाइन खुद्रा विक्रेताहरूको विक्री गत महिना १.२ प्रतिशतले बढेको छ ।

    प्यान्थियन म्याक्रोइकोनोमिक्सका इयान सेफर्डसनले रिपोर्टअघि हालैको विश्लेषणमा भनेका छन्, ‘बढ्दो मूल्यका अलावा, वास्तविक आयमा उल्लेखनीय दबाबको बावजुद नागरिकले महामारीको समयमा जम्मा भएको बचतलाई उपभोग कायम राख्नका लागि कम गर्न चाहेका देखिन्छ ।’

    सेप्टेम्बरमा कोभिड–१९ को अवधिमा थप व्यक्तिगत बचत १.३ ट्रिलियन अमेरिकी डलर रहेकोले यो प्रक्रिया अझै केही समयका लागि जारी रहने उनको अनुमान छ ।उनले भने, ‘तर, मानिसहरू बचतलाई अझ कम गर्न इच्छुक छन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन ।’एएफपी

  • गठबन्धनको अपिल-‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि स्पष्ट बहुमत दिनुस्’

    गठबन्धनको अपिल-‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि स्पष्ट बहुमत दिनुस्’

    काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गरेर जिताउन अपिल गरेको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपील जारी गरेका हुन्।

    उनीहरूले संयुक्त अपीलमा भनेका छन्, ‘हाम्रा संकल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन् । यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठवन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन,’ अपिलमार्फत् नेताहरूले भनेका छन्, ‘गठवन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो ।’

    सत्तारुढ गठबन्धनको अपिल:

    आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार तीव्र गतिमा अगाडि बढिरहेकै छ। नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरु उत्साहित भएर सहभागी हुनु भएबाट गठवन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं। यो अभियानलाई निरन्तरता दिंदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरु एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौं।

    देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकार बिरुद्ध २०७८ असारमा यो गठवन्धन बनाउनु परेको विदितै छ। यो गठवन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन्।

    झण्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको छ। मुलुकको विदेश नीतिमा सन्तुलन कायम गरेको छ। नागरिकलाई सत्ताको अधिनायकवादी त्राशबाट मुक्त गर्दै दैनिक जीवन यापनका स्रोत साधनको नियमित आपूर्ति गर्दै आएको छ।

    गठवन्धनका प्राथमिकताहरु अहिले पनि उत्तिकै प्रष्ट छन्। संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरुलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिवद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्।

    यो गठवन्धन प्रत्यक्ष निर्वाचन तर्फ भएकाले समानुपातिक तर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठवन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन। गठवन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो।

    यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ। यसको अर्थ संविधानको भावना अनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठवन्धनलाई विजयी गराउनु हो। तसर्थ पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं।

  • दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ बराबरको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३८८.४० रुपैयाँ पुगेको छ । सयपत्री हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर ३४७ रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार फरवार्ड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर भएको छ । यसको आज १४ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।