Category: फिचर

  • प्रचार-प्रसारमा कुनै पनि दललाई अवरोध नगर्न आयोगको ध्यानाकर्षण

    प्रचार-प्रसारमा कुनै पनि दललाई अवरोध नगर्न आयोगको ध्यानाकर्षण

    काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण बनाउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ।

    आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न–गराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको थियो।

    चितवनलगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भएर सवारी साधन तोडफोड भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयप्रति आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो।

    आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएकोले निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुने भएको हुँदा सबै राजनीतिक दल एवं सबै उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न आयोग गृह मन्त्रालयलाई पुनः निर्देशनसहित ध्यानाकर्षण गराइएको छ।

    आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड (ख) बमोजिम स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला नगर्न, सोही दफाको खण्ड (च) बमोजिम एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला नगर्न र त्यस्तो अवस्थामा स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गरी आपसी विवाद वा द्वन्द्वको अवस्था सिर्जना नगर्न पनि सम्बन्धित सबैमा आग्रह गरेको छ।

  • अमेरिकी सिनेटमा बाइडेनको पकड कायमै

    अमेरिकी सिनेटमा बाइडेनको पकड कायमै

    काठमाडौं । नभाडामा भएको जितसँगै अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक दलले आफ्नो बहुमत कायम राख्ने भएको छ। तीव्र प्रतिस्पर्धामा उनीहरूकी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले डोनल्ड ट्रम्पले समर्थन गरेका रिपब्लिकन उम्मेदवार एडम ल्याक्सल्टलाई पराजित गरेको बीबीसीले लखेको छ ।
    मास्टो ६ वर्ष अघि अमेरिकी सिनेटमा चुनिने पहिलो ल्याटिन महिला बनेकी थिइन्। डेमोक्र्याटहरूसँग अब ५० सिट रहेको छ भने रिपब्लिकनहरूसँग ४९ सिट छ।

    जोर्जियामा डिसेम्बर महिनामा फेरी हुन लागेको चुनावले बाँकी एउटा सिट तय गर्नेछ। यदि सिनेटमा दुवै दलको बराबरीको अवस्था आएको खण्डमा उपराष्ट्रपति कमला ह्यारिसलाई मतदानको अधिकार हुनेछ। सर्वेक्षणहरूले कमजोर व्यक्तिगत समर्थन रहेको भनी देखाएका र ४० वर्ष यताकै ठूलो मूल्यवृद्धि नियन्त्रणका लागि सङ्घर्ष गरिरहेका राष्ट्रपति बाइडनका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको समेत बीबीसीले लेखेको छ ।

    नभेडाको नतिजापछि बाइडनले चुनावमा देखिएको मतदाताको उत्साहजनक उपस्थितिप्रति आफू ज्यादै सन्तुष्ट रहेको बताए। उनले अब रिपब्लिकनहरूले ‘आफू को हो’ भनेर निर्क्योल गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।

    डेमोक्र्याट दलका सिनेटका नेता चक सुमरले अमेरिकी नागरिकले चुनावी परिणामबाट मतदाताले रिपब्लिकन दलका ‘द्वन्द्व फैलाउने खालका अभिव्यक्ति’ अस्वीकार गरेको देखिएको बताए। नभेडामा मतगणना भइरहँदा पूर्व राष्ट्रपति ट्रम्पले डेमोक्र्याटले ‘सबै प्रकारको मत’ खोजेको आरोप लगाए तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण भने दिएनन्।

    उनले प्रमाण नदिईकन रिपब्लिकनहरूको प्रभाव रहेका एरिजोनाका कैयौँ ठाउँमा मतदानमा प्रयोग गरिएका मेशिनहरूले पनि काम नगरेको बताए। रिपब्लिकन पार्टी हाउस अफ रेप्रिजेन्टेटिभमा जीत हासिल गर्ने दिशामा उन्मुख छ। त्यसले कानुन निर्माण सम्बन्धी बाइडनका कतिपय महत्त्वाकाङ्क्षा नियन्त्रण गर्नसक्छ। तर सिनेटमा बहुमत हुने दलले राष्ट्रपतिले गरेका सिफारिसका आधारमा सर्वोच्च अदालत सहित सङ्घीय अदालतहरूमा नियुक्तिहरू गर्न सक्छ।

    तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको हुन्छ भने सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ। हरेक दुई वर्षमा तिनको निर्वाचन हुन्छ। राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने निर्वाचनलाई मिड टर्म इलेक्सन भन्ने गरिन्छ। मङ्गलवार हाउस अफ रेप्रिजेन्टेटिभ्सको सबै सदस्य अनि सिनेटको एक तिहाइ सदस्यको निम्ति निर्वाचन भएको थियो।

    साथै कतिपय राज्यले तिनको गभर्नर तथा स्थानीय अधिकारी चयन गर्न पनि मङ्गलवार निर्वाचन गराएका थिए। यी दुई सदनहरूले राष्ट्रव्यापी कानुन निर्माण गर्छन्। सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ। प्रत्येक राज्यबाट २ जना सिनेटर निर्वाचित हुन्छन्।

  • पौडी खेल्ने क्रममा सिरहामा तीन जना बालकको डुबेर मृत्यु

    पौडी खेल्ने क्रममा सिरहामा तीन जना बालकको डुबेर मृत्यु

    काठमाडौं । सिरहामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । उनीहरु भारतीय रहेको प्रहरीले जनाएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी गराएका छन् ।

    आइतबार इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै मृत्यु भएको थियो । अर्का बालक नितेशको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • रौतहटमा प्रभु साहलाई समर्थन गरेका ५ जनप्रतिनिधिलाई एमालेको स्पष्टीकरण

    रौतहटमा प्रभु साहलाई समर्थन गरेका ५ जनप्रतिनिधिलाई एमालेको स्पष्टीकरण

    रौतहट । स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेपछि नेकपा एमालेले रौतहटका ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाललाई एमालेले स्पष्टीकरण सोधेको हो ।

    पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको हुनाले २४ घण्टा भित्रमा स्पष्टीकरण बारे जानकारी गराउन नेकपा एमालेको मधेस प्रदेश कमिटीले उनीहरुका नाममा पत्र काटेको छ । अन्यथा पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी पनि पत्रमा दिइएको छ । प्रभु साहले नेकपा एमालेको टिकट लिएर पनि रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । उनलाई सत्तारुढ गठबन्धनका दलले समर्थन गरेका छन् ।

  • फुलचोकीमा हराएका ४ जनाको ११ घण्टापछि उद्धार

    फुलचोकीमा हराएका ४ जनाको ११ घण्टापछि उद्धार

    ललितपुर । ललितपुरको फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको ११ धण्टापछि उद्धार गरिएको छ । फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने १२५ जना विद्यार्थी फुल्चोकीमा घुम्न गएका थिए। उनीहरूसँग ९ जना शिक्षक पनि थिए। शनिबार दिउँसो करिब २ बजे फर्किने क्रममा उनीहरूमध्ये ४ जना विद्यार्थी हराएका थिए।

    छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको प्रहरीले जनाएको छ। शिक्षक र विद्यार्थीहरूले मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग बाडेगाउँमा खबर गरेका थिए। खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको परिसरले जनाएको छ। उनीहरूलाई फेला पारेर शिक्षकको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

  • पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै

    पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै

    काठमाडौं । पोखरा–जोमसोम हवाई रुटमा क्यामरा जडान गरिने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्त्याउने गरेको छ । यस रुटको हवाई सेवालाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन रुटमा क्यामेरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ । यसमा आविष्कार केन्द्रले काम गर्ने भएको छ ।

    यी क्यामेराबाट हवाई रुटमा मौसमसम्बन्धी जानकारी लिइने समेत प्राधिकरणको भनाइ छ । प्रस्थान र गन्तव्य बिन्दुको मौसम सफा हुँदा उडेका जहाजहरु इनरुटमा हुने खराब मौसमका कारण दुर्घटनामा पर्ने जोखिम हिमाली भेगमा बढी हुने गरेको छ । यसको न्यूनीकरण गर्न यस्ता क्यामरा उपयोगी हुने बताइएको छ ।

  • पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप

    पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप

    काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको जितेको छ । फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्डले दोस्रो पटक आईसीसी टी–२० विश्वकपको उपाधि जितेको हो ।

    आइतबार मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। इङ्ल्यान्डका लागि बेन स्टोक्सले ४९ बलमा पाँच चौका र एक छक्कासहित ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले।

    यस्तै जोश बट्लरले २६ रन बनाउँदा ह्यारी ब्रुकले २० रन बनाए। १७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। मोइल अलीले १२ बलमा १९ रन बनाए।

    फिल साल्ट १० रनमा आउट हुँदा एलेक्स हल्स १ रनमा बोल्ड भए। यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो।

    इंग्ल्याण्डका साम कुरानले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चिए । आदिल रशिद र क्रिश जोर्डनले २ तथा बेन स्टोक्सले १ विकेट लिए ।

  • गुल्मी १ :पालैपालो जित्दै आएका ज्ञवाली र भण्डारीको चौथो भिडन्त

    गुल्मी १ :पालैपालो जित्दै आएका ज्ञवाली र भण्डारीको चौथो भिडन्त

    काठमाडौं । गुल्मी–१ मा कांग्रेस नेता डा. चन्द्र भण्डारी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली चौथोपटक आमनेसामने भएका छन् । यी दुई नेताबीच २०६४ सालदेखि चुनावी प्रतिस्पर्धी हुँदै आएको छ ।

    २०६४ मा ज्ञवाली र २०७० मा भण्डारी विजय भएका थिए । २०७४ सालमा माओवादी–एमाले गठबन्धनसँग भण्डारी झिनो मतले पराजित भए ।

    २०६४ यता भएका ३ निर्वाचनमा ज्ञवालीले २ जित र भण्डारीले १ जित निकालेका छन्। आसन्न निर्वाचनमा ज्ञवाली ‘ह्याट्रिक’ गर्ने योजनामा छन्।

    यद्यपि, ज्ञवाली २०५६ को निर्वाचनबाटै संसदीय राजनीतिमा प्रवेश गरिसकेका नेता हुन्। उता, भण्डारी ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्ने भण्डारीको दाउ छ।

    यसपटक पनि राजनीतिक परिवेश फेरिएको छ । त्यसबेला एमालेसँग मिलेको माओवादी यसपटक कांग्रेस नेतृत्वको गठबन्धनमा छ । भण्डारीको लोकप्रियता जिल्लामा अझै बढ्दो छ ।

    त्यसकारण ज्ञवालीलाई चुनाव जित्न सहज छैन । प्रदेशसभामा पनि गठबन्धनले प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाएका कारण गठबन्धनको भोट क्रस हुने सम्भावना छैन ।

    मतदाताले २०६४ मा ज्ञवाली, २०७० मा भण्डारी र २०७४ मा ज्ञवालीलाई जिताएकाले अब जित्ने पाले भण्डारीको रहेको कालीगण्डकी गाउँपालिकाका हरी काफ्लेले बताए । गुल्मी–१ मा कालीगण्डकी, सत्यवती, रुरु, छत्रकोट, गुल्मी दरबार र चन्द्रकोट गाउँपालिका तथा रेसुंगा नगरपालिकाको ७ देखि १४ नं वडासम्म पर्छन् ।

    स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भण्डारी ४ हजार मतले अगाडि छन् । ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको छ । यसैगरी चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय कमजोर बनेको छ ।

    ज्ञवाली जिल्लाबाट लगातार चुवान जित्ने र मन्त्री बन्ने नेतामा पर्छन् । उनी केन्द्रको राजनीतिमा सफल देखिए पनि जिल्लाको विकासमा अपेक्षित ध्यान दिन नसकेको आरोप लाग्ने गरेको छ ।

    पार्टीको उच्च तह र सरकारमा रहँदा ज्ञवालीले जिल्लाको दीर्घकालीन योजनामा कुनै भूमिका नखेलेको मतदाता बताउँछन् ।

    केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दा ज्ञवालीले अन्धभक्त रुपमा समर्थन गरेको र पार्टीमा आन्तरिक समस्या सुरु हुँदा ओलीकै साथमा रहेका कारण एमाले कार्यकर्ता रुष्ट बनेका छन् । ज्ञवालीमाथि पार्टी विभाजनका लागि भूमिका खेलेकोसमेत आरोप छ ।

    अघिल्लो चुनावमा पराजित भण्डारी भने जिल्लाको विकासमा निरन्तर सक्रिय रहेको रहँदै आएको स्थानीय बताउँछन् । संविधानसभा सदस्य निर्वाचित भएपछि भण्डारीको पहलमा सालझण्डी–खर्जयाङ–शान्तिपुर सडक सुरु भएको थियो।

    बुटबल–पाल्पा सडक खण्डको सिद्धबाबामा पहिरोका कारण बर्सेनि ठूलो जनधनको क्षति भएपछि विकल्पका रुपमा सालझण्डीबाट दुइ लेनको सडक विस्तार भएको थियो ।

    रेसुंगा विमानस्थल निर्माण, रिडी–बुर्तीवाङ तथा चोरकाटे–शान्तिपुर सडक विस्तारमा भण्डारीको पहलकदमीलाई मतदाताले चुनावमा मूल्यांकन गर्ने बताएका छन् । भण्डारी नेतृत्वमा सुरु भएको अखण्ड लुम्बिनी आन्दोलनका कारण तराईबाट पहाडी जिल्ला अलग हुनबाट जोगिएको थियो ।

    राष्ट्रियताको सवालमा स्पष्ट दृष्टिकोण राख्ने र पार्टी राजनीतिभन्दा माथि उठ्न सक्ने भण्डारी भ्रष्टाचारविरोधी अभियन्ता रुपमा पनि परिचित छन् । प्रदेशसभा ‘क’ मा कांग्रेस नेता घनेन्द्र कार्की र एमाले चिन्तामणि पाण्डेय तथा ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमाले नेता पर्शुराम पाण्डेको भिडन्त छ ।

  • ‘केही दिनभित्र कुनै चलखेल नभए आफ्नो जीत सुनिश्चित’-सागर ढकाल

    ‘केही दिनभित्र कुनै चलखेल नभए आफ्नो जीत सुनिश्चित’-सागर ढकाल

    काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आगामी केही दिनभित्र कुनै चलखेल नभए आफ्नो जीत सुनिश्चित हुँदै गएको दाबी गरेका छन् । आज उनले सामाजिक सञ्जालमा लेख्दै त्यस्तो बताएका हुन् ।

    उनले भारत र खाडी मुलुकमा रहेका डडेलधुराबासीले घरमा दिनहुँ फोन गरेर आफूलाई भोट दिन आग्रह गरेको उनले बताए । ढकालले आफूलाई जिताउन विदेशमा रहेका जिल्लाबासीलाई छिटो घर फर्कन भनेका छन् । ‘बूढी आमा’ ले आफूलाई नातिले फोन गरेर सुईमा मतदान गर्न दिएको सल्लाह सुनेपछि दङ्ग परेको भन्दै उनले फेसबुकमार्फत् खुशी व्यक्त गरेका छन् ।

    ‘आज नवदुर्गा वडा नम्बर २ मा बुडि आमाले ‘नातीले फोन गरेर सुइ र धारामा भोट हाल्न भन्याछ’ भन्नुभयो । निकै खुशी लाग्यो । आउनुहोस् है छिटो छिटो सबैजना डडेल्धुरा !‘ ढकालले फेसबुकमा लेखेका छन् ।

    यसअघि उनले सामाजिक सञ्जालमार्फत आफूलाई चुनाव प्रचारमा रोक लगाइएको बताएका थिए । यस्तै, हाम्रो नेपाली पार्टी ‘लौरो’ अभियानले ढकाललाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव समेत गरेको छ ।

  • चुनावका दिन सवारीसाधन चलाउन क-कसले लिनुपर्दैन पास ?

    चुनावका दिन सवारीसाधन चलाउन क-कसले लिनुपर्दैन पास ?

    काठमाडौं । आगामी मंसिर ४ गते स्थानीय तहको चुनाव हुने दिन १ दर्जन बढी क्षेत्रका व्यक्तिले सवारीसाधन चलाउन अनुमतिपत्र लिनु नपर्ने भएको छ ।

    निर्वाचन आयोगका सो दिन अत्यावश्यक सेवा अन्तर्गत विभिन्न क्षेत्रका सवारीसाधन पास नलिई चलाउन पाइने व्यवस्था गरेको हो ।

    आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा, संचार माध्यम र कुटनीतिक नियोग (नम्बर प्लेटमा सिडी) उल्लेख भएको कुटनीतिक नियोगको सवारीसाधनले पास लिनुपर्दैन।

    यस्तै, शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने छन् । यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ।

    यस्तै, अन्य सवारी साधनहरुलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ।

  • काठमाडौं ६ : ‘ट्रायल उम्मेदवार’ खनाललाई रोक्दै ‘ह्याट्रिक’ गर्ने दाउमा पूर्वरक्षामन्त्री प्रधान

    काठमाडौं ६ : ‘ट्रायल उम्मेदवार’ खनाललाई रोक्दै ‘ह्याट्रिक’ गर्ने दाउमा पूर्वरक्षामन्त्री प्रधान

    काठमाडौं । १० क्षेत्रमध्ये काठमाडौं ६ लाई एमाले र कांग्रेसले भिन्न रुपले हेर्ने गरेका छन् । उक्त क्षेत्रलाई कांग्रेसले ‘सुरक्षित’ ठानेको छ भने एमालेले ‘ट्रायल’ क्षेत्रका रुपमा बुझ्ने गरेको छ ।

    मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचन नजिकिंदै गर्दा मुख्य प्रतिस्पर्धी मानिएका सत्तारुढ गठबन्धन आबद्ध दल र नेकपा एमालेले चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

    सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सादगी नेता तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान ‘ह्याट्रीक’ गर्न र केही साता अघि मात्र एमालेमा प्रवेश गरेका पूर्व आईजिपी सर्वेन्द्र खनाल ‘ट्रायल उम्मेदवार’का रुपमा मतदाताको घरदैलो पुगिरहेका छन् । त्यसैले उक्त क्षेत्रमा यस पटक रोचक प्रतिस्पर्धा हुने निश्चित छ ।

    दुई दशकदेखि सक्रिय राजनीतिमा रहेका काठमाडौंका रैथाने प्रधान र तनहुँमा जन्मिएर २६औं आईजीपीको फूली लगाएर अवकास लिएका खनालबीचको प्रतिस्पर्धा यसै पनि रोमान्चक हुने अनुमान गरिएको छ ।

    अझ रोचक त के छ भने सोही क्षेत्रबाट दुई पटक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका प्रधान आफ्ना हरेक मतदातासँग चिरपरिचित छन् । आफ्नो क्षेत्रभित्रका चोक–चौतारा, मठ–मन्दिर, चैत–गुम्बा, चर्च–मस्जिद, गल्ली, टोल मात्र होइन हरेक घरका दैला र भर्याङको आकारप्रकार छामेका छन् । सडकहरुको नाप, ढुंगेधाराहरुको संख्या कन्ठस्त गरेका छन् ।

    तर मुख्य प्रतिस्पर्धीका रुपमा आएका खनाल खासै परिचित चैनन् । खनाल मतदातासँग घुलमिल हुनै पाएका छैनन् । चारभाग मध्ये एकभाग पनि टोलको फन्को लगाउन भ्याएका छैनन् । यद्यपी, आफ्नो चुनावी अभियानलाई भने चर्काएका छन् ।

    हुनत उक्त क्षेत्रबाट राप्रपाबाट गायक सञ्जय श्रेष्ठ, निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि घरदैलोमा व्यस्त छन् । त्यो भन्दा पनि पूर्वरक्षामन्त्री प्रधान र पूर्वआईजीपी खनालबीचको प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ ।

    प्राध्यापन पेशा त्यागेर राजनीतिमा होमिएका प्रधान र सरकारी जागिरबाट रिटायर्ड भएर फुर्सदको समय सदुपयोग गर्न आएका खनालको प्रतिस्पर्धालाई कतिपय विश्लेषकले प्रतिस्पर्धा नै ठानेका छैनन् । त्यसैले त खनाल भन्छन्,‘म हार–जितका लागि आएको होइन । सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान लागेकाले जोगाउन आएको हुँ ।’ प्रधानले पनि खनालको उम्मेदवारीलाई अराजनीतिक भनेका छन् । अराजनीतिक उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा नै नहुने प्रधानको दाबी छ ।

    दागी भर्सेस सादगी

    प्रहरी सेवामा रहँदा खनालले गरेका कामहरू जीवनमा नमेटिने दाग बनेर बसेका छन् । जसलाई विपक्षीले चुनावी मसला बनाएका छन् । उनलाई दागी उम्मेदवार भनेर प्रचार गरिरहेका छन् । भलै, खनालले भने प्रहरी सेवामा रहँदा लोकप्रिय काम गरेको, भ्रष्टाचारीलाई कठघरमा उभ्याएको र गुन्डाहरुलाई तह लगाएको भन्दै मत मागिरहेका छन् ।

    तर उनकै कार्यकालनमा विर्सनै नसिकिने निर्मम घटनाहरु भएका छन् । उनको कार्यकालमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र सो घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको, सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको, ‘सांसद अपहरण’ काण्डमा मुछिएको भनी प्रचार गरिएको छ । त्यतिमात्र नभइ आफैं निर्वाचन लडेको सामाखुशी कपुरधारा क्षेत्रमा कुमार श्रेष्ठ (घैंटे)लाई खनालकै निर्देशनमा फेक इन्काउटर गरी हत्या गरेको आरोप छ । जसका कारण युवा मतदाता उनीसँग सन्तुष्ट छैनन् ।

    सामान्य जीवनयापन गरिरहेका प्रधान भने सादगी नेताका रुपमा परिचित छन् । बर्षौंदेखि उनी मतदाताको सारोगारो, दुख–विमार, आपत विपत, जन्ती–मलामी पुगिरहने गरेकाले प्रिय छन् । २०३६ सालमा विद्यार्थी राजनीति र २०४८ देखि नै काग्रेसको सक्रिय भूमिकामा रहेका प्रधानले २०७० सालमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए ।

    उनी भन्छन्,‘राजनीति लागेर धेरै साथीहरुले आर्थिक उन्नती गरे । मैंले राजनीतिलाई सेवा ठानें । छँदाछँदैको प्राध्यापन पेशा त्यागे र जनताको सेवामा समर्पित भएँ । मेरो क्षेत्रका जनताका लागि जानेर केहीपनि बेइमान गरेको छैन । हैसियतले भ्याएसम्म सेवा गरेको छु । जीवनको उत्तार्धमा आएर म बेइमानी गरेर देह त्याग गर्न चाहन्न ।’

    प्रधान सदन चलेको दिन र पार्टीको महत्वपूर्ण काममा व्यस्त हुनुबाहेक हरेक दिन आफ्ना मतदाताको घरदैलोमा पुग्ने गरेको बताउँछन । दुई कार्यकाल सांसद रहँदा ठूला राष्ट्रिय मुद्दाहरु उठाएर आफ्नो क्षेत्रको नाम र इज्जत राखेको दाबी गर्र्छन ।

    एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकको विरुद्ध जागरण अभियान ल्याएर सरकारलाई घुँडा टेकाउन सफल भएको, खुलामञ्च खाली गर्न र अवैध ढंगले बनाएका सटर हटाउन, कंक्रिटको रानीपोखरी बनाउने काम रोकेर पुरातात्विक ढंगले मल्लकालीन रानीपोखरी बनाउन आफूले महत्वपूर्ण योगदान गरेको सुनाउँछन् । त्यसबाहेक आफ्नो निर्वाचन क्षेत्रमा ठूला आयोजनाहरु भित्र्याउन भूमिका खेलेको उनको दाबी छ ।

    प्रधानले एमाले अध्यक्ष ओलीले संविधान मिच्ने काम गरेकोले त्यसलाई सही मार्गमा ल्याउन सत्ता गठबन्धनको आवश्यकता परेको बताउँदै संविधान रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका छन् । उनले ‘जनताको जिम्मेवारी, जनतालाई जनाधिकार, जनताप्रति जवाफदेहिता’ नारा अघि सारेका छन् ।

    खनाल एमालेका लागि परीक्षण मात्र

    एमालेले काठमाडौं ६ लाई आफ्नो सुरक्षित क्षेत्रका रुपमा स्वीकारेको छैन । त्यसैले टेस्टका लागि सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएपछि सोही क्षेत्रमा रैथाने एमालेका नेताहरु सन्तुष्ट छैनन् । उक्त क्षेत्रमा एमालेबाट योग्य र सक्षम उम्मेदवारहरु हुँदाहुँदै खनाललाई टिकट दिएपछि एमालेभित्र भाँडभैलो मच्चिएको छ ।

    प्रहरी सेवामा रहँदा कुशल प्रशासक, गुण्डा, तस्कर, भ्रष्टाचारी, माफिया, दलाल र अपराधीहरूलाई दण्डित गर्न कुनै कसुर नराखेका उम्मेदवार भनेर उनलाई प्रचार गरिए पनि मतदाताले त्यसलाई स्वीकार्न सकिरहेका छैनन् । उनको विवादित छवीका बारे सामाजिक संजालमा छरपष्ट भएपछि मतदाताको मनोविज्ञान बदलिएको छ । त्यतिमात्र नभइ राजनीतिमा त्याग गरेका नेतालाई टिकट नदिएर पूर्व प्रशासकलाई उम्मेदवार बनाइएपछि एमालेका प्रतिबद्ध कार्यकर्ताहरुमा निराशा छाएको छ ।

    मतको अंकगणित

    गत बैशाखमा भएको स्थानीय तहको मतलाई आधार मानेर विश्लेषण गर्ने हो भने उक्त क्षेत्र कांग्रेस बलियो देखिन्छ । स्थानीय तहमा नेपाली कांग्रेसले १६ हजार ४ सय ७९ मत पाएको थियो भने नेकपा एमालेले १३ हजार ४ सय ४५ मत ल्याएको थियो । माओवादी केन्द्रले २ हजार ३ सय ३९, एकीकृत समाजवादीले १ हजार ७ सय ५२, राप्रपाले १ हजार ७ सय ४६ मत ल्याएको थियो ।

    काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा तथा टोखा नगरपालिाकाका १, ८, ९, १० र ११ नम्बर वडाहरु समावेश छन् ।
    काठमाडौं महानगरपालिकाको उपमेहर भइसकेकी हरिप्रभा खड्की प्रदेश सभा(क)र प्रदेश (ख)का सत्ता गठबन्धनका विष्णुभक्त तिमिल्सिना जस्ता प्रभावसाली उम्मेदवार रहेकाले प्रधानसहितको गठबन्धनको टीमले विजयी हाँसिल गर्ने आकंलन गरिएको छ ।

  • पहिलो पटक विश्वकप आयोजना गर्दै नेपाल

    पहिलो पटक विश्वकप आयोजना गर्दै नेपाल

    काठमाडौं । नेपालले पहिलो पटक आइसीसी विश्वकप क्रिकेट आयोजना गर्ने भएको छ।

    आइसीसीले सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपको सहआयोजक राष्ट्रको रूपमा नेपाललाई राखेको छ। उक्त विश्वकप संयुक्त रूपमा बांग्लादेश र नेपालले आयोजना गर्नेछन्।

    नेपालले कुनै पनि विश्वकपको आयोजना गर्न लागेको यो पहिलो पटक हो।

    आइसीसी बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आइसीसी यू-१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो।

  • अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए

    अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए

    डलास । अमेरिकी राज्य डलासमा एयर शोका दौरान द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । यस घटनामा कति मानिस हताहती भए वा जिवित छन् भन्ने खुलेको छैन । घटनाको समयमा दुबै विमान जमिनको नजिकबाट उडिरहेको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । सोशल मीडियामा राखिएका भिडियोमा दुई विमान ठोक्किएपछि एक विमान दुई टुक्रा हुन्छ । जब यो जमिनमा खस्छ, त्यसपछि आगलागी हुन्छ ।

    दुई विमानमध्ये एउटा बोइङ बी १७ फ्लाइङ फोर्ट्रेस हो । दुबै विमानलेविंग्स ओवर डलास एयर शोमा भाग लिएका थिए । यसलाई द्वितीय विश्व युद्ध एयर शोका नामबाट समेत चिनिन्छ । अमेरिकी फेडेलर एविएशन एटमिनिस्ट्रेशनले शनिवार भएको यस घटनाको जाँच शुरु गरेको जनाएको छ । बोइङ बी १७ विमानले द्वितीय विश्व युद्धमा जर्मनी विरुद्ध युद्ध जित्न निर्णयक भूमिका निभाएको थियो ।

  • टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

    टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

    मेलवर्न । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज खेल हुँदैछ । उपाधीका लागि इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुँदैछ । इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका छन् ।

    यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्र्दछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई हराएको हो । पाकिस्तान सन् २००९ को टी–२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो ।

  • दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    काठमाडौं । दक्षिण कोरियाले विशवकप खेल्ने टीमको घोषणा गरेको छ । कोरियाले ह्युङ मिन सनको कप्तानीमा मंसिर ४ गतेबाट कतारमा सुरू हुने फिफा विश्वकपको लागि टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका छन् ।

    च्याम्पियन्स लिगअन्तर्गत मार्सेविरुद्धको खेलमा अनुहारमा चोट लागेका सनले नोभेम्बर २ यता खेलेका छैनन्। टोलीमा इटालियन क्लब नेपोलीका डिफेन्डर किम मिन जाई र रियल मायोर्काका मिडफिल्डर लि काङले स्थान बनाएका छन्। समूह एचमा रहेको लक्षिण कोरियाले पहिलो खेल मंसिर ८ गते उरूग्वेविरूद्ध खेल्नेछ। यस्तै दोस्रो खेलमा मंसिर १२ गते घानाविरूद्ध खेल्ने कोरियाले तेस्रो खेल पोर्चुगलविरूद्ध मंसिर १६ गते खेल्नेछ।

    दक्षिण कोरियाको विश्वकप टोली

    गोलकिपर – किम सेउङ–ग्यु, जो ह्योन वु र सङ बम किन
    डिफेन्डर – किम मिन जाई, किम जिन सु, होङ चुल, किम मुन ह्वान, यून जोङ ग्यु, किम योङ ग्वन, किम ताए ह्वान, क्वोन क्युङ वोन र चो यो मिन
    मिडफिल्डर – जङ वू–योङ, ना साङ हो, पाईक सेउङ हो, सन जुन हो, सोङ मिन–क्यु, क्वोन चाङ हुन, ली जे सुङ, ह्वाङ हे चान, ह्वाङ इन बियोम, जेअङ वु यङ र ली काङ इन
    फरवार्ड – ह्युङ मिन सन, ह्वाङ उइ जो र चो गुए सुङ

  • निर्वाचन सुरक्षामा खटियो सेना

    निर्वाचन सुरक्षामा खटियो सेना

    काठमाडौं । मङ्सिर ४ मा तोकिएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी छिन् ।


    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ । निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी गराएका छन् । निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन् । एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ ।

    यसैगरी सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ । सरकारले निर्वाचनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएका विमानस्थल, महìवपूर्ण सम्पदा तथा कारागारलगायत १११ स्थानको सुरक्षामा परिचालन हुने गरी तयारी अवस्थामा रहेको सेनाले जनाएको छ ।

    यसअघि निर्वाचन आयोगको मुख्यालय तथा मतदान सामग्री, मतपत्रको सुरक्षा र प्याकेजिङका लागि एक सय जना नेपाली सेना यसअघि नै परिचालन भइसकेका छन् । प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै मतपत्रको छपाइ सकिएको छ । मतपत्रको ढुवानीको जिम्मेवारी नेपाली सेनाले मतदान सुरु हुनुभन्दा १० दिन पहिले पूरा गरेको छ । अन्य जिल्लामा मतपत्रको ढुवानी एक हप्तापहिले नै पूरा भएको थियो । सेनाले हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा हवाई साधनद्वारा मतपत्र ढुवानी गरिसकेको छ ।

    एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना निर्वाचनको अवधिमा मतदानस्थलको बाहिरी सुरक्षा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थकको नियन्त्रण तथा निष्क्रिय गर्नेलगायतमा परिचालन हुनेछ । सोका लागि पृतना, बाहिनी, गुल्मबाट ७४ हजार ८४९ सैनिक प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्रमा परिचालन गरिएको सैनिक मुख्यालय जङ्गी अड्डाले जनाएको छ ।

    निर्वाचन सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि भए तत्काल परिचालन हुने गरी काठमाडौँ पोखरा, चितवन, बर्दिवास, इटहरी, सुर्खेतलगायतका स्थानमा सेनाले हवाई साधनसहित १५० सैनिक तयारी अवस्थामा राखेको जनाएको छ । सुरक्षा संवेदनशील रहेका मतदान स्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६१० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ । विस्फोटक पदार्थ पत्ता लगाउन र निष्क्रिय पार्न देशभर दुई हजार ५६० तालिम प्राप्त बम डिस्पोजल टोलीलाई पूर्वतयारी अवस्थामा राखिएको छ ।

  • ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो

    ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो

    काठमाडौं\एजेन्सी। ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय फिर्ता भएको छ । अमेरिकामा फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको पाइएपछि ट्वीटरले शुक्रबारबाट ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम रद्द गरेको जनाएको छ । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताले प्राप्त गर्दथे ।

    तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने स्थिति थियो । ट्वीटरले हालै आफ्नो प्लाटर्फममा ब्लु टिक फिचरका लागि प्रयोगकर्ताबाट ८ अमेरिकी डलर असुली गर्ने निर्णय गरेको थियो । उक्त शुल्कको बदलामा कम्पनीले प्रयोगकर्तालाई विभिन्न एक्सक्लूसिभ फिचर उपलब्ध गराउने पनि बताएका थियो ।

    तर, पैसा तिरेर ब्लु टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग भएका समाचार आएका छन् । ट्वीटरका सीईओ एलन मस्कले मूलधारका मिडिया तथा मिडिया अभिजात वर्गको आलोचना गर्दै नागरिक पत्रकारिताबाट बढ्दो प्रतिस्पर्धाले मूलधारका मिडियाको सूचनाहरुलाई अवरोध गर्ने बताएका छन् ।

    शुक्रबार एक ट्वीट गर्दै उनले नागरिक पत्रकारितालाई माथि उठाउने ट्वीटरको लक्ष्यका विषयमा उल्लेख गरेका छन् । नागरिक पत्रकारिलाई माथि उठाउने लक्ष्यलाई ट्वीटरले पछ्याइरहेको तर मिडिया अभिजात वर्गले यसो गर्नबाट रोक्नका लागि सबैचिज गर्ने कोसिस गर्ने उनको दाबी छ ।

  • सुदुरपश्चिम भेगमा ५.१ रेक्टर स्केलको भूकम्प

    सुदुरपश्चिम भेगमा ५.१ रेक्टर स्केलको भूकम्प

    काठमाडौं । दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।


    दार्चुलालगायत सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । डोटीमा भने भूकम्पको धक्का पछि स्थानीयको भागाभाग भएको छ । भुकम्पको क्षतिबारे कुनै जानकारी भने आएको छैन ।

  • चुनावका दिन पास बीना सवारी चलाउन नपाइने

    चुनावका दिन पास बीना सवारी चलाउन नपाइने

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान हुने दिन पास बिनाका सवारी साधन सवारी साधन चलाउन नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनले अनुमति पत्र लिनु नपर्ने आयोगले जनाएको छ।

    आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ। शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ। अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ।

    यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न सक्ने आयोगले बताएको छ। अन्य सवारी साधनलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ। पत्रकारको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ।

    मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ। मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारवाही गर्ने जनाइएको छ।

  • कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली

    कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने बताएका छन् । कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्छ, उनीहरुलाई बहुमत ल्याउन कठिन छ, बहुमत ल्याउने एमालेले नै हो ।’

    पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे नै नभएको दाबी गरे । अगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाँक्छ र गठबन्धनको नेता को हो भन्ने जवाफ उनीहरुसँग नभएको टिप्पणी उनले गरेका छन् । उनले सरकार बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्न नसकेको दाबी गरे ।

    ‘गठबन्धन की ठगबन्धनको अगामी कार्यक्रम के हो ? सरकार कसले हाक्छ ? नेता को हो ? एमालेले जस्तै गठबन्धनले फलानो हाम्रो प्रधानमन्त्री हो भनेर किन भन्न सक्दैन,’ ओलीले भने, ‘किनकी उनीहरुलाई सरकार बनाउँछौं भन्ने विश्वाव नै छैन । सरकार बनाउँदा पनि कुन पार्टीको कार्यक्रम लागु गर्ने त्यो छैन । त्यसैले यो गठबन्धनलाई विदा गरौं।’

  • काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन

    काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन

    काठमाडौं । काठमाडौं उत्पयकामा आज यस वर्ष कै कम तापक्रम मापन भएको छ । बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो यस वर्षकै कम हो । यसअघि नोभेम्बर ३ मा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको थियो ।

    अझै तापक्रम घट्ने क्रममा रहेको बताइएको छ । अहिले देशभर चिसो बढेको छ । हिमाली भेगमा हिमपात समेत हुन थालेको छ । आज जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियससम्म झरेको छ । जिरीको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस, जोमसोमको २ डिग्री, ताप्लेजुङको ९ डिग्री सेल्सियस र डडेल्धुराको ७ डिग्री सेल्सियसमा झरिसकेको छ।

  • रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक

    रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक

    झारखण्ड । भारतको उत्तराखण्डमा बाबा रामदेवको कम्पनीका पाँच थरी औषधीको उत्पादनमा रोक लगाइएको छ। ‘भ्रामक विज्ञापन’ गरेको आरोपमा त्यस्तो कारबाही गरिएको अधिकारीहरूले जनाएका छन्। द हिन्दु पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेअनुसार पतञ्जलिका उत्पादन बनाउने दिव्य फार्मेसीलाई पाँच किसिमका औषधीको उत्पादन रोक्न उत्तराखण्डको अथोरिटीज अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले निर्देशन दिएको हो।

    योग गुरु रामदेवको पतञ्जलि अन्तर्गतको उक्त फार्मेसीले ड्रग्स एन्ड म्याजिक रेमेडिज एक्टको पटक पटक उल्लङ्घन गरेको पाइएको समाचारमा उल्लेख छ। आयुर्वेदिक एन्ड युनानी सर्भिसेसका लाइसेन्स अधिकृत डा। जी।सी।एस जंगपंगीले पठाएको पत्रमा फार्मेसीबाट तत्काल दिव्य मधुग्रिट, दिव्य आईग्रिट गोल्ड, दिव्य थाइरोग्रिट, दिव्य बीपीग्रिट र दिव्य लिपिडोम नामका औषधीको उत्पादन रोक्न भनिएको छ। ती औषधीको प्रयोग मधुमेह, रक्तचाप र कोलेस्टरल, थाइरोयड र आँखाको सङ्क्रमणमा प्रयोग गरिन्छ। दिव्य फार्मेसीमाथि उक्त कारबाही केरलका डा.के.वी. बाबुको उजुरीपछि गरिएको हो।

    उनको उजुरीमा विज्ञापनमा गरिएको दाबीले मानव जीवनलाई जोखिममा पार्ने उल्लेख गरेका छन्। तर पतञ्जलिको तर्फबाट जारी वक्तव्यमा दिव्य फार्मेसीका हरेक उत्पादन र औषधी निर्धारित मापदण्ड अनुरूप बनाउने गरिएको बताइएको छ। उसले भनेको छ, ‘हामीमाथि ती मानिसले हमलालाई गरिरहेका छन् जसले औषधीको क्षेत्रमा भ्रम र भयको कारोबार गर्छन्। हामीले त्यो षड्यन्त्र सफल हुन दिन्नौँ।’ आफ्नो जबाफ सरकारी निकायलाई दिइएको बताउँदै पतञ्जलिले उजुरीकर्ता विरुद्ध कारबाहीको माग गर्ने जनाएको छ। ती उजुरीकर्ताले उठाएको मुद्दा पहिले नै सुल्झिसकेको उसको भनाइ छ।

  • आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

    आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

    काठमाडौं । आइसल्याण्डको भ्रमण पुरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । उनी शनिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारी विमानसथल पुगेका छन् ।

    महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी कात्तिक २१ गते सोमबार आइसल्याण्डतर्फ प्रस्थान गरेकी थिइन्। भ्रमणका क्रममा उनले आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा विशेष सम्बोधनसमेत गरिन्। सोही कार्यक्रममा राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको थियो।

  • केपी शर्मा ओली जब एलओडी नाइट क्लवमा झुल्किए…

    केपी शर्मा ओली जब एलओडी नाइट क्लवमा झुल्किए…

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आम मानिसलाई आकर्षित गर्न अनेक उपाय लगाउन माहिर छन् । यसै क्रममा मध्यरातमा केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब पुगेका छन् । जहाँ मध्यरातसम्म युवाहरुको ठूलो जमात रहने गर्छ । उनले क्लवमा पुगेर र्‍याप गीत सार्वजनिक गरे , ‘केपी बा’ बोलको र्‍याप गीत ओलीले शुक्रबार राती सार्वजनिक गरेका हुन् ।

    चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान गाइएको छ । गीतमा ओलीको पनि आवाज थपिएको छ । गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा उपस्थित युवाले उनको स्वागत गरेका थिए । त्यहाँ उनले राष्ट्रिय झण्डा फहराएका थिए ।

  • मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

    मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

    काठमाडौं । अर्जेण्टिनाले विश्वकप खेल्ने टीमको घोषणा गरेको छ । सिनिरयर खेलाडी एन्जल डि मारिया तथा चोटग्रस्त पाउलो डिबला समेत अहिले टीममा समेटिएका छन् । विश्वकप ४ मंसिरबाट कतारमा शुरु हुँदैछ । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । यो विश्वकप स्टार फुटबलर लिओनल मेसीका लागि अन्तिम विश्वकप हुँदैछ ।

    विश्वका महान फूटबलरलाई यो टीम विश्वकप उपहार दिने लक्ष्यका साथ कतार आउनेछ । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले यसै वर्ष फिनाल्सियामा युरो च्याम्पियन इटलीलाई पराजित गर्दै विश्वकपको उपाधि दाबेदारको रुपमा प्रस्तुत गरेको छ । समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरु गर्दैछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छ ।

    अर्जेन्टिनाको टिम

    गोलकिपर : एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी

    डिफेण्डर : नाहुल मोलिना, गोन्जालो मोनिटेल, क्रिस्टियन रोमेरो, जर्मन पेजेल्लन, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस ट्याग्लिफिको, जुयन पोयथ

    मिडफिल्डर : रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, गुइडो रोड्रिगेज, पपु गोमेज, एन्जो फर्नान्डेज, इजेक्वेल पालासिओस

    फरवार्ड : एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जाओक्विन कोरेअ, लिओनल मेसी, पाउलो डिबला

  • रोहित पौडेल बने नेपाली क्रिकेट टीमको नयाँ कप्तान

    रोहित पौडेल बने नेपाली क्रिकेट टीमको नयाँ कप्तान

    काठमाडौं । नेपाली क्रिकेट टीमको नयाँ कप्तानको जिम्मेवारी रोहित पौडेलले प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको हो । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

    नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो । रोहितले अब सन्दीप लामिछानेको स्थान लिनेछन् । केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए । रोहितले नेपालको यू(१९ उमेर समूहको कप्तानी गरेका थिए ।

  • राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन

    राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन

    काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएको बताइन् ।
    भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ छ ।

    अभिनेत्री कोइरालाले बीपीको विचारलाई पनि लिङ्देनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् । अभिनेत्री कोइरालाले भनिन्, ‘‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो, मलाई त्यो कुरा सुनेर नेपालले असल नेतृत्व पायो भन्ने मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु ।’’

    उनले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरूले जित्नुपर्ने तर्क समेत गरिन् । ‘‘म चाहन्छुलाई राप्रपाका उम्मेदवारहरूलाई अत्यधिक भोटले जिताउनु होस् । हलोमा भोट दिनुहोस् । तपाईँहरूको आवाज संसदमा बलियो होस् भन्ने म चाहन्छु । उहाँहरूले तपाईँहरूको सेवा गर्न पाउनु यो एउटा ठूलो मौका हो,’’ अभिनेत्री कोइरालाले भनिन्, ‘‘धेरै पहिला बीपी र महेन्द्र सरकार दुवै जना एक आपसमा आदर राख्नु हुन्थ्यो । तर, उहाँहरूले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको थियो ।’

  • नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी

    नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी

    काठमाडौं । नेपाल साफ यू–१५ महिला च्याम्पियन बनेको छ । डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो। नेपालका लागि सुशिला केसीले गोल गरिन्। बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन्। पहिलो हाफमै १–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन भने सकेन। ढाकास्थित बीएसएसएसएमके स्टेडियममा खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाइन् ।

    अन्तिम मिनेटमा नेपालले पेनाल्टी बचाएपछि उपाधि नेपालको पक्षमा गएको हो। त्यसअघि ५४ औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल गरेकी थिइन्। प्रतियोगितामा अपराजित नेपालले चार खेलबाट ३ जित र एक बराबरीसहित १० अंक जोडेको छ। आयोजक बंगलादेश २ जित र १ बराबरीसहित सात अंकमा सीमित रहदै दोस्रो भयो। तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो।

  • नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्याण्ड्सले टिम घोषणा भएको छ । प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच भने समेटिएनन् । युवा स्टार जाभी सिमोन्सले टिममा स्थान बनाए । समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा सेनेगलसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

    नेदरल्याण्ड्सको टिम

    गोलकिपर : जस्टिन बिज्लोव, रेम्बो पासभिर, एन्ड्रिस नोपर्ट

    डिफेण्डर : भर्जिल भान डाइक, नाथन एके, ढाले ब्लाइन्ड, जुरिएन टिम्बर, डेन्जल डमफ्राइस, स्टेफान डे भ्रिज, माथिस डे लिग्ट, टाएरेल मालासिया, जेरेमिइ फ्रिम्पोङ

    मिडफिल्डर : फ्रेन्की डे जोङ, स्टेभेन बर्घुइस, डेभी क्लासेन, टेउन कुप्मेइनर्स, कोडी गाक्पो, मार्टेन डे रुन, केनेथ टेलर, जाभी सिमोन्स

    फरवार्ड : मेम्फिस डिपाए, स्टेभेन बर्जविन, भिनसेन्ट जानसेन, लुक डे जुङ, नोअ लाङ, वाउट वेघोस्ट

  • एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, उच्चदक्ष १४ जना

    एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, उच्चदक्ष १४ जना

    काठमाडौं । रोजगारीका लागि विदेशिनको संख्या केही मात्रामा घटेको छ ।

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान असोज महिनामा ६२ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको असोज महिनामा ६२ हजार ७०७ जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् ।

    गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए ।

    विभागका अनुसार ५७ हजार २९६ जना पुरुष र ५ हजार ४१० जना महिलाले श्रम स्वीकृति लिएका हुन् ।

    श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सीप नभएका कामदारहरुको संख्या रहेको छ ।

    वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा उच्चदक्ष कामदारको संख्या १४, पेशागत कामदारको संख्या १०९, अर्धदक्ष कामदारको संख्या ४ हजार २१६ सीपयुक्त कामदारको संख्या ३९ हजार ७९० र सीप नभएका कामदारहरुको संख्या १८हजार ५७७ रहेको तथ्याङकमा उल्लेख छ ।

    असोजमा कतारमा ९ हजार ८४५, यूएईमा ७ हजार ८४५, साउदी अरेबियामा ६ हजार ५३६, कुवेतमा ३ हजार ४९७ र कोरियामा १ हजार ९१८ जना नेपाली श्रमिक पुगेका छन् ।

    असोज महिनाको तथ्यांकअनुसार ३७ हजार ४१२ जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएका छन् ।

    बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका हुन् ।