Category: फिचर

  • डोटी भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुग्यो

    डोटी भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुग्यो

    काठमाडौं । पश्चिम नोपलको अधिकांश भूभाग मंगलबार रातभर भूकम्पको त्रासमा रह्यो । डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टी भएको छ । ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी लगायतको टोली खटिएको छ ।

    स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो ।

    भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको थियो । भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिएका छन् ।

    गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • पश्चिम नेपालमा भूकम्प, डोटी केन्द्रविन्दु

    पश्चिम नेपालमा भूकम्प, डोटी केन्द्रविन्दु

    काठमाडौं । डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ। राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    यसअघि आइतबार राति ताप्लेजुङ केन्द्र भएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो। मंगलबारको भूकम्पको धक्का पश्चिम नेपालको लुम्बिनी प्रदेशसम्म मशसुस भएको छ ।

  • नेपाली कांग्रेसले ७४ जनालाई गर्यो निष्काशन, को-को परे ? (सूचीसहित)

    नेपाली कांग्रेसले ७४ जनालाई गर्यो निष्काशन, को-को परे ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको कांग्रेस केन्द्रीय अनुशासन समितिले जानकारी गराएको हो ।

    ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन(२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    नामावली

    मीनाकुमारी गुरुङ्ग, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ्ग, सन्तमान केरुङ्ग, पूर्व गाउपालिका अध्यक्ष, पाँचथर,वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा, सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा, फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं २ मोरङ्ग, जयराज संयोग लिम्वु, महाधिवेशन प्रतिनिधि, मोरङ्ग, नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ्ग ८, गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग, जनार्द्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ्ग, रोहित सुव्वा, महाधिवेशन प्रतिनिधि सुनसरी ११ प्रेम भट्टराई र महाधिवेशन प्रतिनिधि, सुनसरी, दिपेन्द्र घिमिरे

    यसैगरी, इटहरी उपमनपा वडा नं २ का वडा सभापति, सुनसरी १३ प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी, धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ्ग, हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी, रामलगन साह, सप्तरी १७ विजेता झा, धनुषा, हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं३, धनुषा, सन्तोष यादव, धनुषा र अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही

    यसैगरी रोशन यादव, महाधिवेशन प्रतिनिधि, वारा, अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, वारा, प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, वारा २४ अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा, सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा, चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा, लिलावहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा, शारदाकुमार न्यौपाने, क्रियाशील सदस्य, रसुवा, टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ्ग ३०, श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाण्डौ र दिपेन्द्र लामा, काठमाण्डौ

    यसैगरी मोहन खड्का, काठमाण्डौ, भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाण्डौ, वलाराम थापा, क्रियाशील सदस्य, काठमाण्डौ, जयराम कार्की, जिल्ला सदस्य, काठमाण्डौ, गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर, दिपेश के सी, क्रियाशील सदस्य, ललितपुर, गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर, रामकुमार जिसी, सुनकोशी गापा वडा नं ३ का इकाइ सभापति, सिन्धुपाल्चोक, भक्तवहादुर भण्डारी, सिन्धुपाल्चोक र वद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं २ सिन्धुपाल्चोक

    यसैगरी दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस, तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं ३ चितवन, महादेव गुरुङ्ग, महाधिवेशन प्रतिनिधि, कास्की, चित्रध्वज जिसी, क्रियाशील सदस्य, नवलपुर, नरवहादुर गुरुङ्ग, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ वाग्लुङ्ग, ललित गुरुङ्ग, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु, ध्रुव पुन (दुत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व, सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं १ वर्दिया र कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी

    यसैगरी, राजेन्द्रवहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्य मन्त्री, सल्यान, देवेन्द्र शाही, जुम्ला. धनवहादुर वस्नेत, जुम्ला, तारक के.सी,, नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम, हर्कजंग बहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्ग, गणेश भण्डारी, बझाङ्ग, नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं १ डोटी, राजन कुँवर, अछाम, चन्द्रप्रसाद ढुंगाना, अछाम, नृप विष्ट, नगर सचिव कमलबजार नगरपालिका, अछाम, केशववहादुर चन्द, वैतडी, हरिमोहन भण्डारी, वैतडी, गिरीराज पाण्डे, कंचनपुर र दिपकवहादुर सिंह, कंचनपुर र गोपालसिंह बुढा, कंचनपुर

    यसैगरी, पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कंचनपुर, शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कंचनपुर, दुर्गादत्त पाण्डे, कंचनपुर, मदन नेपाल, कंचनपुर, भरतकुमार शाही, कैलाली, गोविन्दराज जोशी पूर्व जिल्ला सभापति, कैलाली, लक्ष्मण शाहीस् महाधिवेशन प्रतिनिधि, कैलाली, क्षितिज भण्डारी महासमिति सदस्य, कैलाली, विजयकुमार वस्नेत, पूर्व जिल्ला सदस्य, काठमाण्डौ

  • विमानस्थलबाट दुई महिनामा साढे ५ किलो सुन बरामद

    विमानस्थलबाट दुई महिनामा साढे ५ किलो सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुई महिनामा करिब साढे ५ किलो सुन बरामद गरेको छ । पछिल्लो दुई महिनामा अवैध रुपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

    यात्रुले झिटीगुन्टा सुविधाको दुरुपयोग गदै र तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद भएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । विभिन्न विमानमार्फत नेपाल आएकाहरुले यस अवधिमा कुल ५ हजार ५७५ ग्राम अवैध सुन बाकेर आएको बताइएको छ । सुन मंगलबार राष्ट्र बैंकलाई बुझाइएको छ ।

    यस अवधिमा भन्सारले कडाइकासाथ यात्रु जाँचपास गर्दा फरक फरक विमान र गन्तव्यबाट आएका ३२ जनाबाट उक्त सुन बरामद भएको हो । सुन बरामद भएकाहरुलाई फरक फरक ३२ वटा मुद्दा दर्ता गरिएको र सोबाट जफत भएको सुन नेपाल राष्ट्र बैंकमा बुझाएर सुन बराबरको रकम ५ करोड ५० लाख रुपयाँ राजस्व खातामा जम्मा हुने भन्सार कार्यालयले जनाएको छ ।

  • नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, सुरुङ खन्ने काम ६७ प्रतिशत सम्पन्न

    नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, सुरुङ खन्ने काम ६७ प्रतिशत सम्पन्न

    काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम दुई तिहाई बढी सम्पन्न भएको छ ।

    नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार कात्तिक २२ गतेसम्म सुरुङ खन्ने काम ६७.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार ४९९ मिटर (क्रस प्यासेजसहित)मध्ये हालसम्म ३ हजार ७०२.८० मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

    आयोजनका प्रवक्ता रमेश कोइरालाका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ६४२ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ७९५.६० मिटर र धादिङतर्फ ८४६.४० मिटर मुख्य टनेल खनिएको छ ।

    त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेम हालसम्म १ हजार ८६० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार मिटर र धादिङतर्फ ८६० मिटर सुरुङ खन्ने काम पूरा भएको उनले जानकारी दिए ।

    त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१मिटर निर्माण गरिएको छ ।

    हालसम्म आयोजनाको समग्रमा ४५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४८.८३ प्रतिशत प्रगति भएको छ ।

    आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ७९७ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

    नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

    कोभिडकालमा समेत निरन्तर काम भए पनि आयोजना समयमै सकिनेमा भने आशंका रहेको छ । ठेक्का अवधि आगामी जेठसम्म रहे पनि सो समयभित्रै काम सम्पन्न गर्न मुस्किल रहेको आयोजनाले जनाएको छ ।

  • गठबन्धन इमान्दार भए ललितपुरमा राणाको पक्षमा पल्लाभारी

    गठबन्धन इमान्दार भए ललितपुरमा राणाको पक्षमा पल्लाभारी

    ललितपुर । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि सबैभन्दा नजिक रहेको जिल्ला हो ललितपुर । तर यहाँका कतिपय क्षेत्र अझै दुर्गम र अविकसित छन् । चुनावमा विजयी गराएर पठाएका जनप्रतिनिधिले अविकसित क्षेत्रको विकासमा प्रभावकारी भूमिका नखेलेको भनेर मतदाता सदिऔंदेखि आक्रोश पोखिरहेका छन् ।
    यसपाली पनि मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा उम्मेदवारहरु सबैभन्दा धेरै समय ति अविकसित साथै काँठ क्षेत्रमा घुमिरहेका छन् । मतदाता आशा र अपेक्षा मिश्रित आक्रोश पोखिरेका छन् ।
    प्रतिनिधि सभातर्फ ललितपुरको क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धीका रुपमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उदय शमसेर राणा र नेकपा एमालेका नवराज सिलवाल प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन । उनीहरुले बजारी क्षेत्र भन्दा ललितपुरका विकट साथै काँठ क्षेत्रमा चुनावी अभियानलाई तिब्रता दिएका छन् । राणाले ‘समुन्नत ललितपुर’को प्रष्ट खाका लिएर मैदानमा छन भने सिलवालले ‘समृद्ध ललितपुर’को मुद्दा अघि सारेका छन् ।
    सत्तारुढ गठबन्धनको बलियो उपस्थितिसहित राणाले माओवादी केन्द्रका हरि दाहाललाई प्रदेश सभा(क)बाट र कांग्रेसका मीनकृष्ण महर्जनलाई प्रदेश सभा(ख)मा साथ लिएर चुनावी घरदैलोलाई तिब्रता दिएका छन् । ०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका राणा अर्थ राज्यमन्त्रीसम्म बनेका थिए । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सिलवालसँग पराजित भएका राणाले उनै सिलवाललाई बदला लिने कसरतमा छन् । राणा चौथो पटक चुनाव भिड्दैछन भने सिलवाल दोस्रो पटक मैदानमा छन् ।
    रोचक प्रतिस्पर्धा
    ललितपुर १ मा २०७४ सालको चुनावी समीकरण र २०७९ को समीकरण ठ्याक्कै विपरित छ । अघिल्लो चुनावमा नेकपा माओवादीको साथ पाएका सिलवालले ६२२२ मतले राणालाई हराए । तर यसपटक कांग्रेसलाई माओवादी केन्द्रसहित नेकपा(एकीकृत समाजवादी), जनमोर्चालगायतका दलहरुको मोर्चाबन्दी छ । सो हिसाबले यसपाली राणा बलियो उम्मेदवारका रुपमा देखिएका छन् । मतदाताहरुले राणाको सोझै पल्लाभारी हुने अनुमान गरेका छन् । किनकी गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको परिणाम हेर्दा पनि गठबन्धनको बलियो मत छ । गोदावरी नगरपालिका,माहाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका समेटिएको उक्त निर्वाचन क्षेत्रमा पर्ने ३० वटा वडामध्ये कांग्रेसले २२, माओवादीले ५ र एमालेले तीन वटा वडामा वडाअध्यक्ष पदमा जितेको छ ।
    ३० वटा वडामा गठबन्धनमा आबद्ध दलहरुको पाएको मतान्तर हेर्ने हो भने राणाको विजयी निश्चित छ । किनकी सबै वडाको मत कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २३ हजार ८५४ मत, एमाले वडाअध्यक्ष उम्मेदवारले १८ हजार ९९३ मत, माओवादी केन्द्रका उम्मेदवारले ६१ सय ३३, राप्रपाको १७ सय ५७ मत पाएको देखिन्छ । एकीकृत समाजवादी, स्वतन्त्र लगायत साना दलका वडाध्यक्ष उम्मेदवारले २५ सय मत कटाएका छन् ।
    यस हिसाबले गठबन्धनको मात्र मत २९ हजार ९८७ हुँदा एमाले लगभग १० हजार मतले पछाडि देखिन्छ । राप्रपाले एमालेलाई सहयोग गर्दा र गठबन्धनको मत थोरै विभाजित हुँदा पनि प्रतिनिधि सभामा राणाको पल्लाभारी सोझो अनुमान लगाउन सकिन्छ ।
    राणाको दाउ
    २०७४ सालमा आफूलाई पराजित गरेका सिलवालले क्षेत्रमा केही काम नगरेको आरोप लागेपछि राणाले महत्वकांक्षी योजनाहरु अघि सारेका छन् । राणाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन । उनले सबै वडामा खानेपानी सुविधा विस्तार गर्न दिगो योजना नै बनाएर अघि बढेको दाबी गरेका छन् । त्यस्तै पर्यटकीय क्षेत्रको विकास र आधुनिक कृषि उत्पादनलाई महत्वपूर्ण योजना ल्याउने बाचा गरेका छन् ।
    ‘मैंले चुनाव जित्दा वा हार्दा होस निरन्तर काम गरेको छु । जनताको माझ पुगिरहेको छु । मेरा योजनाहरु समुन्नत ललितपुर बनाउने हो । भ्रष्ट्राचार न्यूनिकरण गर्दै पारदर्शी ढंगले जनताका आकांक्षाहरुलाई पूरा गर्ने मेरो अन्तिम इच्छा हो’, उनले भने,‘अघिल्लो पटक केही बाहिरी असहयोग र प्रतिस्पर्धी उम्मेदवारलाई सेलिब्रेटीको हल्ला चलाएर मलाई हराइयो । म जित्ने उम्मेदवार हुँ । यस पटक सबै मतदाताले माया गर्नुहुनेछ ।’
    ‘मेरो क्षेत्रमा भौतिक पूर्वाधारको विकास चाहिएको छ । जनतालाई सुखदुःखमा साथ चाहिएको छ । कोरोनाको महामारीका बेला मैंले गरेको सहयोग अहिले मतदाताले सम्झिरहनु भएको छ । ०७० सालदेखि यता मेरो कार्यकालमा जति यो क्षेत्रको विकास कहिल्यै भएको छैन । मेरो एक पटकको पहलमा आएका विकास कार्यक्रमहरू एमालेको चार वटै कार्यकालको भन्दा धेरै छ । यी सबै पृष्ठभूमिहरु हेर्दा मेरो जित निश्चित छ’, राणाको दाबी छ । आफू अर्थराज्यमन्त्री हुँदा प्रशस्त योजनाहरु भित्र्याएको उनको भनाइ छ ।
    सिलवालको सवाल
    राणाका मुख्य प्रतिस्पर्धी मानिएका पूर्व प्रशासक सिलवालले आफूलाई स्थानीयबासी भएको बताउँदै राणालाई टुरिष्ट उम्मेदवारको आरोप लगाइरहेका छन् । स्थानीय तहमा खसेको मतलाई संघमा तुलना नहुने पनि उनको भनाइ छ । उनले सदनमा हुँदा आफ्नो क्षेत्रका लागि थुप्रै कामहरु गरेको पनि दाबी गरिरहेका छन् ।
    तर पाँच बर्षको कार्यकालमा देखिनेगरी कुनै योजना नभित्रिएको स्थानीयको भनाइ छ । सिलवालले पाँचबर्षको अवधीमा सिक्ने मात्र गरेको, संसदमा चर्को बोलेर सेलिब्रेटी मात्र बन्न खोजेको पनि आम मतदाताको बुझाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दा साक्षी बसेर संविधानको निर्मम हत्या गर्न खोजेको पनि सिलवालमाथि आरोप छ । तर उनले आफूलाई बचाउ गर्दै आफ्नो क्षेत्रमा प्रशस्त योजनाहरु भित्र्याएको दाबी गर्दै घरदैलो गरिरहेका छन् । अघिल्लो कार्यकालमा तयार भएका आधारहरुलाई आगामी दिनमा पुरा गर्ने आश्वासन दिइरहेका छन् । तर नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष, संविधान सभा सदस्य, अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको उपाध्यक्ष साथै विभिन्न महत्वपूर्ण तह र तप्कामा बसेर काम गरिसकेका राणा बौद्धिक नेता भएका कारण युवाहरुले उनलाई विजयी गराइछाड्न घरदैलो अभियानलाई चर्काइरहेका छन् ।

  • थप अधिकार सहित बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण

    थप अधिकार सहित बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण

    काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । नयाँ बीमा ऐन कार्यान्वयनमा आएसँगै बीमा समितिले मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम सुरु गरेको हो ।

    बीमा ऐन २०७९ अन्र्तगत समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणको रुपमा अघि बढेको छ । गत भदौ अन्तिममा संघीय संसदले पारित गरेको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् ।

    राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो । समितिले कार्यक्रम सहित प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरेको छ ।

    नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकाय हो । ऐन अनुसार प्राधिकरणले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकारका रूपमा समेत कार्य गर्नेछ । ऐनले नेपाल बीमा प्राधिकरणलाई थप अधिकार सहित स्वायत्त बनाएको छ ।

    बीमा कम्पनीको स्थापना गर्न पूर्वस्वीकृति दिने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, बीमा व्यवसायका लागि आवश्यक विनियम, निर्देशिका, मार्गदर्शन र आदेश जारी गर्ने, बीमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने तथा खारेजी गर्ने लगायतका अधिकारहरू प्राधिकरणलाई दिइएको छ ।

    यो व्यवस्थाले बीमा समितिको हालका अध्यक्ष नै कार्यकाल पूरा नहुँदासम्म प्राधिकरणको अध्यक्ष बन्नेछन्। योसँगै बीमा समितिको सञ्चालक समितिको कार्यकाल पूरा नहुन्जेलसम्म प्राधिकरणमा निरन्तता पाउनेछ।

  • नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ ।

    साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँ बराबरको २७ लाख ७३ हजार ७७३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ वटा घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.०३ प्रतिशतले बढेको छ भने व्यापार समूह १.५६ प्रतिशतले घटेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, सिटिजन्स बैंक झन्डै ७ करोड र जाल्पा लघुवित्त ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    झिनो अंकले घटेको बजारमा आज लाइफ इन्स्योरेन्स कर्पोरेसनका शेयरधनीले सबैभन्दा धेरै ४.२२ प्रतिशत कमाएका छन् ।

    त्यस्तै, गुराँस लघुवित्त ४.०३, नेपाल पुनर्बीमा, बलेफी हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावरको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

  • अमेरिकामा आज मध्यावधिक निर्वाचन

    अमेरिकामा आज मध्यावधिक निर्वाचन

    काठमाडौं । अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ। अमेरिकामा राष्ट्रपति चुनावको दुई वर्षपछि यस्तो निर्वाचन हुने गर्छ । मध्यावधि अर्थात् मध्यान्तर चुनाव भनिन्छ । यो चुनावमा तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको एक सयमध्ये ३५ ठाउँमा चुनाव हुँदैछ । राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्त्वका साथ लिने गर्छन् ।

    अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियानमा छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताउन लागि परेका छन् । अहिले अलास्का, इन्डियाना, केन्टुकी, लुजियाना, ओक्लोहामा, साउथ क्योरोलिनासहित १४ वटा राज्यमा रिपब्लिकन पार्टीको वर्चस्व छ। क्यालिफोर्निया, इलिनोई, मेरिल्यान्ड, न्युयोर्कलगायत आठ वटा राज्यमा डेमोक्रेटिक पार्टीको पकड छ ।

  • प्रचण्ड र रवि पुनः परे आयोगको स्पष्टीकरणमा

    प्रचण्ड र रवि पुनः परे आयोगको स्पष्टीकरणमा

    काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्यका चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

    उनीहरुले चुनाव प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेपछि स्पष्टीकरणमा परेका हुन् । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हथौडाको सङ्केत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    यस्तै, ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने ब्यहोरा छापिएको टोपी प्रयोग गरेको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ ।

    निर्वाचन आचारसंहितामा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ । प्रचण्ड, श्रेष्ठ र लामिछानेलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।

  • युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

    युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

    काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच सञ्चारका माध्यमहरू खुला रहेको पुष्टि गरेका छन्। न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको हितमा रहेको बताएको बीबीसीले लेखेको छ ।

    तर अधिकारीहरू आफूहरू कोसँग व्यवहार गरिरहेका छौँ भन्ने कुरामा स्पष्ट रहेको बताए। ह्वाइट हाउसले युक्रेनमा पारमाणविक तीव्रता रोक्नको लागि सुलिभानले रुससँग वार्ताको नेतृत्व गरिरहेको विवरणको खण्डन गरे लगत्तै उक्त जानकारी सार्वजनिक भएको हो।

    वाल स्ट्रिट जर्नल पत्रिकाले उल्लेख गरे अनुसार सुलिभानले आफ्ना रुसी समकक्षी, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभ र क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभसँग विगत केही महिनायता गोप्य वार्ताहरू गरेका छन्। वरिष्ठ अधिकारीहरूले उक्त पत्रिकासँग आफ्नो पक्षबाट युक्रेनको युद्धमा पारमाणविक वृद्धिको जोखिम कम गर्ने उपायहरूबारे छलफल गरेका बताए। उनीहरूका अनुसार द्वन्द्व अन्त्य गर्ने सम्बन्धमा उनीहरू कुनै वार्तामा संलग्न छैनन्।

    गत महिना सुलिभानले पारमाणविक हतियारको कुनै पनि प्रयोगले रुसमा विनाशकारी परिणाम निम्त्याउने मत राखेका थिए। उनले रुसी अधिकारीहरूसँगको निजी वार्ताहरूमा वरिष्ठ अधिकारीहरूले सम्भावित अमेरिकी प्रतिक्रियाको क्षेत्रहरूबारे उल्लेख गरेको प्रसारक एनबीसीसँग बताए।

    अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले समाचारको पुष्टि गर्न स्वीकार गरेनन्। उनले भने, ूमानिसहरू त धेरै कुराको दाबी गर्छन्। यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पश्चिमी पत्रिकाहरूले थुप्रै मिथ्या खबर प्रकाशित गरेको आरोप लगाए।

    तर ह्वाइट हाउसका प्रेस सचिव करिन जीन पियरले सोमवार अमेरिकाले रुससँग वार्ता गर्ने अधिकार सुरक्षित राखेको तर्क राखिन्। अमेरिकी राष्ट्रपति जो बाइडनका सबैभन्दा वरिष्ठ सल्लाहकारहरू मध्ये एक मानिने सुलिभानले मस्कोसँग सम्पर्क कायम राख्नु द्वन्द्वबाट प्रभावित प्रत्येक देशको हितमा भएको बताए।

  • विश्वकपका लागि ब्राजिलको टीम घोषणा

    विश्वकपका लागि ब्राजिलको टीम घोषणा

    काठमाडौं । नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिल सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो ।

    ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ ।

    ब्राजिलको टोली

    गोलकिपर : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो)

    डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिटाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

    मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)

    फरवार्ड : नेमार (पीएसजी), रिचारलीसन (टोटेनहम), भिनीसियस जुनियर (रियल म्याड्रिड), एन्टोनी सान्तोस (म्यानचेस्टर युनाइटेड), गाब्रीएल जेसस (आर्सनल), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), गाब्रीएल मार्टिनेली (आर्सनल)

  • प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?

    प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?

    काठमाडौं । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गर्दै भावुक सदेश प्रकाशित गरेका छन् । दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेको समाचार सोमबार प्रकाशित भएका थिए । उनी अहिले अष्ट्रेलियामा छन् । दूतराजले मंगलबा बिहानै सामाजिक सञ्जालमार्फत यो समाचारको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि ’ आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताएका छन् ।

    ‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता ?’ यही कारणले पनि आफूले आफैंलाई दुस्खी बनाउने गरेको उनको भनाइ छ ।


    उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । ‘समाचार पढें असजिलो महसुस भयो, ‘ उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुस्खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई ’ गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई ?’

  • नवलपरासी पश्चिम-१ मा चौधरीलाई त्रिपाठीको चुनौती कति?

    नवलपरासी पश्चिम-१ मा चौधरीलाई त्रिपाठीको चुनौती कति?

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ मा रोचक प्रतिस्पर्धा हुँदैछ। यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि प्रतिस्पर्धा रोचक हुन लागेको हो।

    पहिलोपटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार भएका चौधरी ६ पटक चुनाव लडेका त्रिपाठीसँग भिड्दै गर्दा जित निकाल्ने आत्मविश्वासमा देखिन्छन्।

    गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा चौधरी बलिया देखिन्छन्।

    यो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका वडामा कांग्रेसले ३० हजार ३४२ मत प्राप्त गरेको थियो। एमालेले २६ हजार ७७९ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जनता प्रगतिशील पार्टीले ४ हजार ६९० मत पाएको थियो। जसपाले ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीले १ हजार १४१ र लोसपाले १०० मत प्राप्त गरेको थियो।

    यहाँ सत्ता गठबन्धनका दलको मत ३६ हजार ९३० छ। हृदयेशको पक्षमा एमालेको २६ हजार ७७९, जसपाको ३ हजार ५५९ र जनता प्रगतिशील पार्टीको गरी ३५ हजार ६८ मत छ।

    २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावमा उत्रिएका त्रिपाठीसँग यसपटक आफ्नै चुनाव चिह्न छ।

    यसअघि विभिन्न दलमा पुगिसकेका त्रिपाठी अहिले नयाँ दल लिएर चुनावी मैदानमा होमिएका हुन्। यसपटक त्रिपाठीले सूर्य चिह्नमा चुनाव लड्न नमानेपछि मनोनयन दर्ता गराउने दिनको अन्तिम समयमा एमालले प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो।

    उम्मेदवारी फिर्ताको अन्तिम दिनसम्म त्रिपाठीले एमालेका शीर्ष नेतामार्फत बुढाथोकीको उम्मेदवारी फिर्ता गराउन सफल भएका छन्। तर अघिल्लो पटक सूर्य चिह्नमा मतदान गरेका एमाले मतदाताले यसपटक फेरि मत हाल्नेमा त्रिपाठी नै विश्वस्त छैनन्। अर्कोतर्फ सूर्य चुनाव चिह्न लिन नचाहेको चर्चाले पनि त्रिपाठीलाई ‘ब्याक फायर’ को त्रास छ।

    त्यसैले एमालेको साथ पाउँदा पनि स्थिति जटिल बनिरहेको उनको विश्लेषण छ।

    २०४८, २०५१ र २०५६ मा भएको संसदीय निर्वाचनमा नेपाल सद्भावना पार्टीको चुनाव चिह्नबाट विजयी भएका उनी २०६४ सालको पहिलो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने तराई मधेस लोकतान्त्रिक पार्टीबाट लडेका थिए।

    त्रिपाठी अहिलेसम्म ६ पटक मन्त्री भइसकेका छन्। उनी २०६४ सालमा वन मन्त्री, २०६३ सालमा उद्योग वाणिज्य तथा आपूर्ति, २०६८ मा भौतिक योजना तथा सडक यातायात, २०७६ मा संघीय मामिला तथा सामान्य प्रशासन र २०७७ मा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका बनिसकेका छन्।

    यता दुईपटक समानुपातिक सांसद बनेका चौधरी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन्। उनी निर्वाचन क्षेत्रको विकास आफ्ना लागि प्रतिष्ठाको विषय भएको बताउँछन्।

    नाम र पैसाका लागि आफूले राजनीति नगरेको चौधरीको दाबी छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित भइसकेको व्यक्ति भएकाले आफू पैसाका लागि राजनीतिमा नआएको उनी बताउँछन्। क्षेत्र परिर्वतन भए पनि नवलपरासी पश्चिम-१ को समस्याबारेमा आफू जानकार रहेको र समधान गर्न सक्ने दाबी उनको छ।

  • झिनो अंकले घट्यो नेप्से, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    झिनो अंकले घट्यो नेप्से, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ ।

    साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६.४३ अंकले घटेर १९५८.९४ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३३८ रुपैयाँ बराबरको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतवार १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ वटा घटेको छ ।

    यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीको शेयरमूल्य ८.१३ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार ग्लोबल आईएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज १५ करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • प्रचण्डलाई हराएका राजन केसीको काठमाडौं १० मा के छ अवस्था ?

    प्रचण्डलाई हराएका राजन केसीको काठमाडौं १० मा के छ अवस्था ?

    काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १० बाट तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेर चर्चामा आएका कांग्रेसका राजन केसी अहिले ह्याट्रिक गर्ने दाउमा छन् ।
    २०७४ मा वाम गठबन्धन हुँदासमेत जित हात पारेका केसीलाई अहिले जित निकाल्न कति सहज छ भन्ने सेरोफेरोमा यो समाचार केन्द्रित छ । केसी अहिले बलियो प्रतिस्पर्धी बिनै मैदानमा छन् । यो क्षेत्र कांग्रेसको बलियो पकड रहेको क्षेत्र हो । यस क्षेत्रमा कांग्रेसको अबस्था बुझ्न विगतका निर्वाचन र ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा स्पष्ट हुन्छ । केसीले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डलाई पराजित गरेका थिए । त्यस्तै २०७४ को निर्वाचनमा समेत एमाले– माओवादी वाम गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्यलाई पराजित गरेका थिए । स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा यस क्षेत्र अन्र्तगत पर्ने २९ वडा मध्ये २२ वडामा कांग्रेसले जित हासिल गरेको छ । यस क्षेत्र अन्र्तगत पर्ने तीनवटै नगरपालिकामा कांग्रेसकै प्रमुखले जित हासिल गरेका छन् ।
    केसी आफूले सुरु गरेका काम पूरा गर्न फेरी मैदानमा आएको बताँउछन् । उनले यसपटक काठमाडौं मकवानपुर जाने बाटो निर्माण सम्पन्न गर्ने, सम्पदाको संरक्षण, स्थानीय पर्यटकीय क्षेत्रमा थप पूर्वाधार निर्माण गरेर स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्ने आफ्नो एजेन्डाको रुपमा अगाडि सारेका छन् । उनी यसपटक पनि निर्वाचित हुनेमा निर्धक्क छन् । ‘यस क्षेत्रबाट दुईपटकसम्म सांसद भएँ । पूर्वाधार क्षेत्रमा धेरै काम गरेको छु । केही पूर्वाधारका योजना बाँकी रहेका छन् । त्यसलाई सम्पन्न गर्नका लागि मेरो उम्मेदवारी हो,’ केसी भन्छन् ।
    क्षेत्र नम्बर १० मा केसीसहित १८ उम्मेदवार मैदानमा छन् । २०७४ को मत परिणामलाई हेर्दा कांग्रेसका केसीले २४१९० मत ल्याएर विजयी भएका थिए भने तत्कालीन समयमा एमाले– माओवादी गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्य २१९०७ मत ल्याएर पराजित भएका थिए। स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए । किर्तिपुरका १० वडामध्ये नौ वडामा कांग्रेसले र एक वडामा स्वतन्त्र उम्मदेवारले जित हासिल गरेका थिए । त्यस्तै दक्षिणकाली नगरपालिकामा एमालेका श्रीराम आचार्यलाई हराएर कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका थिए । यस पालिकामा नौ वडामध्ये ६ वडामा कांग्रेसले जितेको थियो ।
    चन्द्रागिरि नगरपालिकाको मेयरमा कांग्रेसका घनश्याम गिरी निर्वाचित भएका थिए भने १० वडामध्ये सात वडामा कांग्रेसले जितेको थियो । यस क्षेत्रमा ७६९०६ मतदाता रहेका छन्। विगतका परिणाम समेतले किर्तिपुर स्पष्ट रुपमा कांग्रेसका लागि सहज जित हुने अनुमान छ ।
    एमालेबाट उम्मेदवार बनेका हिमेस केसी विगतका नेतृत्वको विकल्प आफू भएको बताउने गरेका छन् । तर, यस क्षेत्रबाट माओवादी केन्द्रकी उम्मेदवार रहेकी अन्जना बिशखें एमालेलाई प्रतिस्पर्धीको रुपमा नै मान्दिनन् । उनले पनि आफ्नो प्रतिस्पर्धा कांग्रेससँग मात्र भएको दावी गर्दै गर्छिन् । तर, उनको दाबीलाई विगतको निर्वाचनले माओवादीको न्युन प्रभाव रहेको क्षेत्रको रुपमा रहेको पुष्टि गर्छ । ‘यो क्षेत्रको चुनावमा प्रतिस्पर्धीको रुपमा राजन केसी र म छौं । एमालेले एक जनालाई उठाएको छ । तर,उहाँ सामाजिक ढंगले प्रचारित मानिस, सामाजिक व्यक्तित्व वा बौद्धिक व्यक्तित्व त्यस्तो केही होइन । उम्मेदवारकै कुरा गर्दा एमालेले आफ्नो उम्मेदवार यो हो भनेर राम्रोसँग प्रचार गरेर समेत हिँड्न सकेको छैन,’ उनको भनाइ छ ।

  • भक्तपुर २:महेश बस्नेत र दुर्लभ थापाबीच रोचक प्रतिस्पर्धा, यस्तो छ चुनावी गणित

    भक्तपुर २:महेश बस्नेत र दुर्लभ थापाबीच रोचक प्रतिस्पर्धा, यस्तो छ चुनावी गणित

    भक्तपुर । भक्तपुर २ मा निवर्तमान सांसद एमालेका महेश बस्नेत र सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार दुर्लभ थापा चुनावी मैदानमा छन् । बस्नेत एमालेका विवादस्पद छवी भएका नेता हुन् भने कांग्रेसका थापा जिल्लामा लोकप्रिय छन् । जसका कारण ४ मंसिरको चुनावमा यहाँ यी दुई उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

    निर्वाचन प्रचारप्रसार सुरु भएसँगै थापाको पक्षमा जनमत खुल्दै गएको छ । भक्तपुर २ यसअघि नेकपा एमालेका उम्मेद्वार महेश बस्नेत विजयी भएको क्षेत्र हो ।

    बस्नेत २०७४ को निर्वाचनमा झण्डै दोब्बर मत ल्याएर विजयी भएका थिए । तर, यसपटक उनलाई सहज छैन । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा कांग्रेसकै पक्षमा जनमत छ ।
    भक्तपुरमा नेमकिपाको राम्रो पकड भए पनि मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबीच हुने देखिएको छ ।
    थापाको बलियो आधार स्थानीय तह निर्वाचनको मत परिणामले नै स्पष्ट पार्छ । भक्तपुर २ मा मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिका पर्छन् । यहाँका नौ वडाका कांग्रेसका वडाध्यक्षले १४ हजार एक सय ९२ मत ल्याएका थिए भने एमालेका वडाध्यक्षहरूको नौ हजार सात सय ७२ मत मात्र पाएका थिए ।

    पालिका प्रमुखतर्फ ठिमी नगरपालिकामा स्थानीय निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत ल्याएका थिए भने एमालेका मदनसुन्दर जगुलु श्रेष्ठले ११ हजार ३५ मत ल्याएर पराजित बनेका थिए । सूर्यविनायकमा एमालेले झिनोे मतान्तरले मेयरमा जित हासिल गरेको थियो ।

    थापा यस क्षेत्रमा हक्की नेताका र स्थानीयमाझ परिचित छन् । थापालाई सिंगो सत्ता गठबन्धनको साथ अर्को बलियो आधार हो । थापा यसअसघि दुईपटक कांग्रेसको भक्तपुर जिल्ला सभापति बनिसकेका छन् ।

    थापा गठबन्धनको मात्रै नभई आफू भक्तपुरको साझा व्यक्तिका रुपमा सबैले चिन्ने र जित सुनिश्चित रहेको निर्धक्क सुनाँउछन्। त्यस्तै भक्तपुर कांग्रेसमा कुनै गुटबन्दी समेत छैन् । कांग्रेसमा गुटबन्दी नरहेकाले सिंगो जिल्लाका कार्यकर्ता साथमा रहनु अर्को बलियो आधारको रुपमा लिन्छन् उनी ।

    उनी कांग्रेस घोषणापत्रकोे एजेण्डासहित स्थानीय मुद्दालाई बोकेर आफू निर्वाचनमा होमिएको बताँउछन् । ‘स्थायित्व र विकासको एजेण्डा सहित जनतामाँझ गएका छौँ ।

    स्थानीय र प्रदेश सरकारसँग विकास निर्माणका काममा समन्वय गर्ने हाम्रो प्रतिबद्धता छ । संविधानमा रहेका त्रुटिहरू संशोधन गर्ने, संघीयता कार्यान्वयन लगायतका एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छौँ,’ उनले भने,‘ गठबन्धनको साथ र सहयोगमा साझा उम्मेद्वारको रुपमा म मैदानमा छु ।

    स्थानीय निर्वाचनको परिणामले पनि यसलाई कांग्रेसको पक्षमा मत रहेको स्पष्ट छ । भक्तपुरमा पार्टीभित्र पनि कुनै विवाद छैन ।’

    एमाले उम्मेदवार बस्नेतले भने यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको दाबी गर्दै त्यसैलाई मात्रै चुनावी एजेन्डाका रुपमा अगाडि सारेका छन् । यसपटक बस्नेतलाई अघिल्लोपटक काम गरेको दावी र सोही आधारमा यसपटक पनि जित्ने दाबी पर्याप्त देखिँदैन ।

    कोरोना महामारीको समयमा चर्चित ‘सांसद अपहरण’ प्रकरण लगायतमा समेत उनको नाम मुछिएको थियो । यसबाहेक बिभिन्न बिषयमा अभिव्यक्तिका कारण पनि बस्नेत ववादित बन्दै आएका छन् ।

    यस क्षेत्रमा थापा र बस्नेतसँगै २६ जना प्रतिस्पर्धामा छन् । २०७४ को निर्वाचनमा एमालेका बस्नेतले ३६,४१२ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका दमननाथ ढुंगानाले १८,६८७ मत प्राप्त गरेका थिए । तत्कालिन समयमा वाम गठबन्धनका कारण बस्नेतको जीत सहज थियो ।

    तर, यसपटक माओवादीको साथ थापालाई छ । त्यस्तै एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल भएर एमालेलाई पराजित गर्न लागेको अबस्था छ ।
    उसो त भक्तपुर २ कांग्रेसकै प्रभाव क्षेत्र मानिन्छ । यो क्षेत्रमा २०४८, २०५६ र २०७० मा कांग्रेसले नै जित हासिल गरेको थियो ।

  • देउवालाई ओलीको व्यङ्ग्य-‘देउवा बन्दुकको भाषा बोल्न थाले, हाम्रो भूमि फिर्ता ल्याउँछौँ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको गुमेको भूमि फिर्ता ल्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूप्रति लक्षित गर्दै बोलेको विषयमाथि टिप्पणी गरेका छन्।

    नेकपा एमाले जिल्ला कमिटी कास्कीले सोमबार गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधनका क्रममा उनले देउवामाथि कटाक्ष गरेका हुन्।

    बन्दुक लिएर सीमा बचाउन जान प्रधानमन्त्री देउवाले केही दिनअघि केपी ओलीलाई चुनौती दिएका थिए ।

    त्यसको जवाफ दिँदै ओलीले बन्दुकले मात्र सबै समस्या समाधान नहुने भन्दै तर्क, तथ्यले नेपाली भूमि फिर्ता ल्याउने बताए ।

    माओवादी अध्यक्ष प्रचण्डको संगतले बन्दुकको भाषण गर्दै हिँड्न थालेको भन्दै ओलीले कटाक्ष गरे ।

    ‘हामीले हाम्रो भूमि फिर्ता ल्याउँछौँ भन्दा कोही छिमेकी रिसाउँछन् भन्ने तनाव किन लिनु? मात्रिकाप्रसाद कोइरालाले चीनतर्फ राखेका भारतीय सेनाका १७ वटा चेक पोस्ट वार्ता गरेर हटाएकै हो’, उनले भने, ‘तर देउवाजीले सीमामा गएर लडेर ल्याउने हो र भूमि भनेछन्।

    उनले नेपालको भूभाग भारतको नियन्त्रणमा रहेकाले वार्ता गरेर फिर्ता ल्याउने उल्लेख गरे। ‘सन् १९५२ मा उत्तरतर्फ भारतले १७ वटा चेक पोस्ट राखेको थियो।

    तत्कालीन कोइराला सरकारले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाउने काम गर्नु हुने थिएन’, उनले भने, ‘हामीले चेक पोस्ट हटायौँ भने भूमि फिर्ता ल्याउँछौँ भन्दा छिमेकी रिसाउलान् भनेर डराउनुपर्दैन।’

  • ५००० मिटर भन्दामाथि खुम्बु क्षेत्रमा हिउँ चितुवा भेटियो

    ५००० मिटर भन्दामाथि खुम्बु क्षेत्रमा हिउँ चितुवा भेटियो

    काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ। अमेरिकी राजदूतावासले सो तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्दै सो को जानकारी दिएको छ।

    एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गरेको लेखेकी छन् ।

    पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्। ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनको भनाई छ ।

  • गोरखा १ मा माओवादी–कांग्रेस मिल्दा बजगाईं सहज स्थितिमा

    गोरखा १ मा माओवादी–कांग्रेस मिल्दा बजगाईं सहज स्थितिमा

    गोरखा । प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं र नेकपा एमालेका नेता रामशरण बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।
    गोरखा क्षेत्र नम्बर १ मा बजगाईं र बस्नेतंसहित ८ उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेसका र एमालेबीच नै हुने देखिएको छ । उनीहरू २०७४ को चुनावमा गोरखा–१ (ख) को प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए । गोरखामा एमालेको तुलनामा कांग्रेसको संगठन निकै बलियो छ । तर माओवादी केन्द्रसँँग वाम गठबन्धन गरेका कारण एमालेका बस्नेत १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार १ मत पाएका थिए । तर यसपटक ठीक उल्टो माओवादीको समर्थन कांग्रेसका उम्मेदवार बजगाईंलाई रहेकोले चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका छन् ।
    गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका रामशरण बस्नेत र लाभको पद अहिलेसम्म नलिएका बजगाईंबीचको चुनावी भिडन्त रोमाञ्चक बन्दै गएको छ । विगतका निर्वाचनहरू र ३० बैशाखको स्थानीय तहको चुनावमा पाएको मतका आधारमा गोरखामा माओवादी केन्द्र र कांग्रेस हाराहारीका दल हुन् भने एमालेको निकै मत कम छ । ३० बैशाखको स्थानीय तह निर्वाचनमा स्थानीय तहका वडाका उम्मेदवारले पाएको मतको आधारमा क्षेत्र नम्बर १ मा कांग्रेस पहिलो दल हो ।
    कांग्रेस उम्मेदवारले २७ हजार ८४, माओवादी केन्द्रका उम्मेदवारले २५ हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले १४ हजार ४६६ मत पाएका छन् । त्यस्तै जनता समाजवादी पार्टीले २७५४ मत पाएको छ र गोरखामा यो पार्टीको अधिकांश हिस्सा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा गएको छ । एकीकृत समाजवादी पार्टीले ७० मत पाएको छ ।
    बजगाइँ कांग्रेसको १४ औं महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए । क्षेत्र नम्बर १ को उत्तरी क्षेत्रमा आफू परिचित रहेको र गठबन्धनको उम्मेदवार भएकाले सहज जित्ने बजगाइँको दाबी छ । ‘गठबन्धनका कारण पनि म पहिलेभन्दा बलियो छु’, बजगाईंले भने । ‘पहिले देखिनै विकासका लागि राजनीति भन्ने नारा नै तय गरेको विकासलाई जनताको घरसम्म जोड्ने काममा लाग्ने दाबी बजगाइँको छ। रोजगारी, विकास र समृद्धिनै हो, बुढीगण्डकी आयोजना मेरो मुख्य प्राथमिकतामा रहेको छ,’ उनले भने।
    एमाले सरकार गोरखाको समृद्धिसँग जोडिएको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अलपत्र पार्ने काम गरेकोले अव सोही कार्यलाई अगाडि बढाउने आफ्नो प्रमुख काम भएको समेत बजगाइँले बताए । चीनको सिमानादेखि ठोरीसम्मको बाटो निर्माण गरेर व्यापरिक केन्द्र बनाउने र पर्यटन क्षेत्रको विकासमा मुख्य जोड दिने बजगाइँले बताए । गोरखा–१ मा १ लाख १५ हजार ३९७ मतदाता छन् ।
    बजगाइँले बालुवाटारमा होटल वर्णवास निर्माण गरिरहेका छन् । १ अर्ब १६ करोड लगानीमा निर्माण भइरहेको होटल अबको केही महिनामै सञ्चालनको तयारी रहेको छ । बजगाईंले वर्णवास म्युजियम होटलको रुपमा निर्माण गरिरहेका छन् ।

    २०७४ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएपछि एमालेका बस्नेत गण्डकी सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका थिए । चुनाव जित्ने उनको पनि दाबी छ । गोरखामा केही विकास निर्माणका योजना पनि ल्याएको बताए पनि सडक नै नभएको ठाउँमा पुल बनाएको भनेर पछिल्लो समय उनी आलोचितसमेत भएका थिए ।
    ‘गठबन्धनको सरकार बनेको पनि ढेड वर्ष हुन लागिसक्यो तर जनताले नयाँपन र राहत अनुभूति गर्न पाएका छैनन्,’ बस्नेतले भने । मन्त्री हुँदा जिल्लाको भौतिक संरचनाको विकासमा कुनै कमी राखेका बताउँदै बस्नेत शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पनि थुप्रै काम गरेको जनताले मूल्यांकन गरेर मत दिने बस्नेत बताउँछन् । बुढीगण्डकी आयोजना निर्माणलाई प्राथमिकता दिनेसमेत बस्नेतको दाबी छ ।

    विगतमा पनि उत्तरी दुर्गम बस्तीमा तीन महिनामा एकपटक जसरी पनि पुग्ने, दुर्गम बिकट क्षेत्रको बिकासमा आफु लागि पर्ने बताए पनि मन्त्री हुँदा समेत विकास निर्माणको काममा भने लाग्न सकेनन् । जसका कारण पनि उत्तरी क्षेत्रका मतदाता समेत बस्नेतसँग रुष्ट छन् । यता दक्षिण क्षेत्रमा पनि एमालेकै कार्यकालमा राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निर्माणलाई गती दिनुको सट्टा चिनियाँ कम्पनीलाई बुझुाएको आरोप लागेको छ । एमालेको मतदातासमेत कम भएको क्षेत्रमा जनतासमेत रुष्ट हुँदा फाइदा कांग्रेसका उम्मेदवार बजगाइँले लिने देखिएको छ ।
    अहिलेकै अवस्थाको मतपरिणामको अंकगणित हेर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिन्छ । यद्यपी अंकगणितलाई भन्दा भूगोलका जनताको विकासप्रतिको चाहाना, गठबन्धनप्रतिको वितृष्णा जनताको मत पाएर आफूले जित्ने बस्नेत दाबी गर्छन् ।

  • किएभका मेयरको चूनौति : विद्युत र खानोपनी आपूर्ति नभए शहरबासी भाग्नुपर्छ

    किएभका मेयरको चूनौति : विद्युत र खानोपनी आपूर्ति नभए शहरबासी भाग्नुपर्छ

    काठमाडौं \एजेन्सी । युक्रेनको राजधानी शहर किएभका मेयरले पूर्ण रूपमा विद्युत् आपूर्ति ठप्प भएको खण्डमा त्यहाँका बासिन्दा सहर छोड्न तयार रहनु पर्ने बताएका छन्। महत्त्वपूर्ण पूर्वाधारहरू लक्षित रुसी हवाई आक्रमणहरूका कारण हालैका साताहरूमा लाखौँ युक्रेनीहरू बेलाबेलामा विद्युत् र पानीबाट वञ्चित हुने गरेका छन्। विद्युत्मा अधिक भारको अवस्था निम्तन नदिन र मर्मत कार्य गर्नका लागि पालैपालो विद्युत् कटौती भइरहेको बताइएको छ।

    युक्रेनको ऊर्जा प्रणालीको लगभग ४० प्रतिशत विद्युत् केन्द्र र लाइनहरू रुसी आक्रमणका कारण क्षतिग्रस्त वा नष्ट भएका छन्। सहरका अर्का अधिकारीले पूर्ण रूपमा विद्युत् आपूर्ति रोकिएको अवस्थामा पानी पनि उपलब्ध नहुने र ढलले पनि काम नगर्ने चेतावनी दिएका छन्। युद्धका क्रममा गरिने व्यवहारको मानवीय मापदण्ड तय गर्ने जेनेभा महासन्धिले ूनागरिक पूर्वाधारूहरू विरुद्ध आक्रमणहरू गर्न नहुने जनाउँछ। युक्रेनी टेलिभिजनमार्फत् मेयर भिटाली क्लिट्स्कोले रुसले गरेको पूर्वाधार लक्षित आक्रमणहरूलाई आतङ्कवाद र नरसंहारको सङ्ज्ञा दिए।

    ‘रुसी राष्ट्रपति पुटिनलाई युक्रेनी जनता चाहिएको होइन। उनलाई त मानिस बिनाको जमिन चाहिएको हो,’ पूर्व हेभीवेट बक्सर समेत रहेका मेयरले बताए। ‘त्यसैले अहिले पूर्वाधारमा भइरहेको आक्रमणहरू नरसंहार हो। उनको काम हामीलाई मार्नु, चिसोमा बाँच्न बाध्य तुल्याउनु वा हामीलाई हाम्रो भूमिबाट भाग्न लगाउनु हो। ऊ यो भूमि हडप्न चाहन्छ।’ जाडोको समयमा किएभको औसत तापक्रम शून्य डिग्री सेल्सियसभन्दा कम हुन्छ र रातको समयमा अझै घट्छ।

    क्लिट्स्कोका अनुसार अधिकारीहरूले बिजुली कटौती हुन नदिन र पानीको आपूर्ति नरोक्न आवश्यक ूसबै कामू गरिरहेका छन्। उनले विभिन्न परिस्थितिको लागि तयारी भइरहेको सुनिश्चित गरे। यदि किएभमा आपूर्ति कटौती भयो भने ूसबैभन्दा खराब अवस्थाूका लागि योजना बनाउन, किएभका तीस लाख मानिसहरूले नजिकैको उपनगरहरूमा बस्ने र अझै पानी र बिजुली भएका साथीहरू वा आफन्तहरूसँग बस्नको लागि तयारी गर्नुपर्ने ५१ वर्षीय क्लिट्स्कोले बताए।

    अधिकारीहरूले इन्धन, खाना र पानीको भण्डारण गरिरहेको र त्यहाँका बासिन्दाहरूले पनि उनीहरूलाई अनुसरण गर्नु पर्ने कुरामा जोड दिए। अहिले सहरभरि कम्तीमा एक हजार उच्च तापक्रमसहित आश्रयस्थल स्थापना भइरहेका छन् जहाँ मानिसहरूले आपत्कालिन अवस्थामा न्यानो पाउन सक्नेछन्। किएभका सुरक्षा निर्देशक रोमन ट्काचुकले सन्देश आदानप्रदान गर्ने सञ्जाल टेलिग्राममार्फत् मेयरको टिप्पणीसँग मिल्दो राय व्यक्त गरे।

  • असोजयता विपद्का कारण कर्णालीमा ४९ जनाको मृत्यु

    असोजयता विपद्का कारण कर्णालीमा ४९ जनाको मृत्यु

    सुर्खेत\रासस । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा रहेको जानकारी दिए ।


    “असोज अन्तिम साताको अविरल वर्षाबाट जुम्ला र मुगुमा दश÷दश, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ व्यक्तिको मृत्यु भएको थियो”, उनले भने, “विपद्का कारण बेपत्ता हुनेको सङ्ख्या कालीकोटमा मात्रै १८ पुगेको छ ।” त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एक÷एक गरी २५ व्यक्ति बेपत्ता भएको उनले जानकारी दिए ।

    चालु आव ०७९र०८० को साउन, भदौ र असोज महिनामा विपद्बाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन । यसबाट कर्णाली प्रदेशभर घाइते ७४ भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार २० हजार सात सय ९४ परिवार विस्थापित भएका छन् । त्यसमा सात हजार चार सय १८ कालीकोट र पाँच हजार दुई सय ८२ जना मुगुकै मात्र छन् ।

    त्यस्तै, तीन हजार दुई सय ८६ हुम्ला, जुम्लामा एक हजार नौ सय ५२, दैलेख एक हजार छ सय २०, सल्यान छ सय चार र सुर्खेतमा पाँच सय ६६, डोल्पा ३२, जाजरकोट र रुकुमपश्चिम १७(१७ परिवार विस्थापित भएको सम्पर्क व्यक्ति रोकायले बताए । उनका अनुसार विपद्बाट कर्णालीमा हालसम्म दुई हजार दुई सय ५९ घर पूर्ण र दुई हजार छ सय ८४ घर आंशिक क्षति भएका छन् ।

    कर्णालीमा सडक दुर्घटनाबाट ३३, चट्याङबाट एक र हिमपात चिसोबाट दुई व्यक्तिको मृत्यु भएको बताइएको छ । विपद् पूर्वतयारी र प्रतिकार्य योजनाका कारण असोज घटनामा खोज तथा उद्धारकार्यमा सहयोग पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए । “विपद्को समयमा एक सय २८ मान्छेको उद्धार गरिएको थियो”, सचिव भुसालले भने, “खासमा पछि गएर राहत वितरण गर्नेभन्दा पूर्वतयारीकै काम गर्नु बुद्धिमानी रहेछ ।”

    विपद् कुनै पनि बेला हुनसक्ने जनाउँदै उहाँले स्थानीय आपत्कालीन कार्यसञ्चालन समितिलाई बलियो र क्रियाशील बनाउनतर्फ सबै विकास साझेदार र सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

  • दाङमा दुई किशोर-किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी, संलग्न चार पक्राउ

    दाङमा दुई किशोर-किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी, संलग्न चार पक्राउ

    दाङ । दाङमा तीन साता अगाडी एउटै खाल्डोमा पुरिएको अवस्थामा भेटिएका किशोर किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी भएको छ । रोशनी महतरा र शरद आचार्यको हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्कीलाई सार्वजनिक गरेको छ ।


    दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार यी चार जनाले असोज २७ गते राति जंगली बँदेल मार्न विद्युतीय धराप थापेका थिए । सोही धरापमा परी रोशनी र शदरको ज्यान गएको प्रहरी अनुसन्धानले देखाएको छ । तुलसीपुर १३ स्थित जनकल्याण सामुदायिक वनमा उनीहरू दुबैको शव एकै ठाउँमा पुरिएको अवस्थामा असोज ३० गते दिउँसो फेला परेको थियो।

    एसपी वलीका अनुसार असोज २७ गते राति करिब १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युतको तार तानेर नजिकैको जंगलमा बँदेल मार्न पासो थापेको र त्यहीँ पासोमा परेर उनीहरूको सोही दिन राति मृत्यु भएको हो। पासो थापेका अमरराज कार्की र गणेश भनिने हरिश चन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि दुबैले सल्लाह गरी शवलाई नजिकै जंगलको झाडीमा फालेको प्रहरीले बताएको छ।

    शब गाड्न अमरराज कार्कीको घरबाट फरूवा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको हो । त्यसपछि उनीहरूले रोशनी र शरदको साथमा रहेका मोवाईल र चप्पलसमेत जंगलको झाडीमा लुकाएका थिए । पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। उनीहरू बिरूद्ध थप अनुसन्धानका लागि एक साताको म्याद थप भइसकेको छ।

  • पूर्वी नेपालमा भूकम्प

    पूर्वी नेपालमा भूकम्प

    काठमाडौं । पूर्वी नेपालमा भूकम्प गएको छ । सोमबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गरएको छ ।

    आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । नेपालमा ६ रेक्टरस्केल भन्दा साना भूकम्प निरन्तर जाने गरेका छन् ।

  • भिक्टोरिया तालमा खसेको जहाजमा मृत्यु हुनेको संख्या १९ पुग्यो

    भिक्टोरिया तालमा खसेको जहाजमा मृत्यु हुनेको संख्या १९ पुग्यो

    काठमाडौं । तान्जानियाको भिक्टोरिया तालमा खसेको यात्रु बाहक जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए । उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो ।

    विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो । राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।

  • भिक्टोरिया तालमा जब जहाज दुर्घटनामा पर्यो..

    भिक्टोरिया तालमा जब जहाज दुर्घटनामा पर्यो..

    काठमाडौं । तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ।
    उक्त दुर्घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुईजना पाइलटहरू जीवितै रहेको भएपनि उनीहरू ककपिटमा फसिरहेको र तीनले स्थानीय अधिकारीहरूसँग कुरा गरिरहेको बीबीसीले लेखेको छ । उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

    स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा २६ जना मानिसहरूको उद्धार गरिएको र तीनलाई अस्पताल पठाइएको उल्लेख गरेका छन्। सो विमानमा ४३ जना सवार रहेको एक जना स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन्। आर्थिक राजधानी दर ए सलामबाट उक्त विमान उडेको थियो।

    सामाजिक सञ्जालमा राखिएका भिडिओमा उद्धार कार्यकर्ताहरूले मानिसहरूलाई डुङ्गामा चढ्न सघाइरहेको देख्न सकिन्छ। तर विमानको पछिल्लो भाग भने पानीको मुन्तिर देखिन्छ। उद्धार कार्य जारी रहँदा तान्जानियाका राष्ट्रपतिले शान्त रहन अपिल गरेकी छन्।

    उद्धारकर्ताहरूलाई स्थानीय माझीहरूले पनि खोजीमा सघाइरहेका छन्। बुकोबा विमानस्थलको एउटा धावनमार्गको अन्तिम विन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ। उक्त विमानले आँधी र ठूलो वर्षाको सामना गर्नुपरेको विवरण आएका छन्। प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवा हो।

  • राष्ट्रपतिबाट सोलुखुम्बुमा १५ शय्याको अस्पताल उद्घाटन

    राष्ट्रपतिबाट सोलुखुम्बुमा १५ शय्याको अस्पताल उद्घाटन

    सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छिन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज आइतवार १५ शय्याको हिमालयन शेर्पा अस्पतालको उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन् ।

    राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन् । यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनको भनाई छ । अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरिन् । यसका लागि पालिकाको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

    सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयवासीलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उनले बताइन् । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् । स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिइन् ।


    सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताइन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरुरी रहेको उल्लेख गरिन् ।

    खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले विकट क्षेत्रमा अस्पतालको आवश्यकता रहेका बेला हिमालयन शेर्पा फाउन्डेशनले स्थापना गरेको यस अस्पतालबाट नागरिकलाई ठूलो राहत पुगेको बताए । यसबाट गाउँपालिकाका ११ वटा गाउँका १० हजारभन्दा बढी नागरिकलाई उपचार गर्न सहज हुने उनको भनाइ छ ।

    यो अस्पताल निर्माण गर्न झन्डै २० करोड रुपैयाँ लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले जानकारी दिइन् । अस्पताल कोङ्दे हिमालको काखमा (दुई हजार ६१० मिटर) उचाइमा अवस्थित छ । सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन स्थापना गरेको हो ।

    सन् २०१७ जुलाईमा नै शिलान्यास गरिएको अस्पताल कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको थियो । अहिले अस्पतालमा एक जना डाक्टर र तीन जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याइने योजना छ । त्यसका लागि ५० लाख रुपैयाँ खर्च हुने बताइएको छ । एकातर्फ यहीँको अस्पताल टाढा रहेको भए पनि हिँडेरै जानुपर्ने र अर्कातफै मौसम खराबी हुँदा काठमाण्डौसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको थियो ।

  • ‘नो नट अगेन’फेसबुक पेज र ग्रुपमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    ‘नो नट अगेन’फेसबुक पेज र ग्रुपमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निर्वाचन आयोगका नाममा यस्तो आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ भएको हो ।

    त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो नट अगेन पेजमार्फत दलका नेताविरुद्ध हुने अभिव्यक्ति र आक्रोशजन्य सामग्रीको अनुगमन गर्न आग्रह गरेको थियो । र नो नट अगेन पेजलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्नसमेत आयोगले आग्रह गरेको थियो ।

    सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ । साथै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।

  • तीन वामपन्थी पार्टीद्वारा निर्वाचन बहिष्कारको घोषणा

    तीन वामपन्थी पार्टीद्वारा निर्वाचन बहिष्कारको घोषणा

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगाएत तीन साना कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको बिरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा लगाएत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी/बहिष्कारको निर्णय गर्दै उनीहरुले आफुहरुको आन्दोलनमा सक्रिय सहभागीता जनाउन आह्वान पनि गरेका छन् ।

    उनीहरुले निर्वाचनको विरोधमा कार्तिक २४ देखि ३० गतेसम्म काठमाडौं लगाएत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् भने कार्तिक २६ देखि ३० गतेसम्म देशका बिभिन्न स्थानमा कोणसभा र विरोध प्रर्दशन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिए । उनले अहिलको व्यवस्थाको बिरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफुहरुको संघर्ष भएको बताए ।

    त्यस्तै नेकपाका प्रवक्ता प्रकाण्डले क्रान्तिपछि उपलव्ध भएका जनताको अधिकारहरु एकपछि अर्को गरि कटौटी हुने गएकाले अहिलेको व्यवस्थाप्रति आफुहरुको आन्दोलन भएको बताए । मुलुकमा भ्रष्टाचार व्याप्त हुदै गएको, सामाजिक असुरक्षा हुदै गएको उनको भनाई छ ।

    पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले चूनाव बहिष्कार र आन्दोलनमार्फत सत्ताको बिरुद्ध निरन्तर जनक्रान्तिको बाटोमा देशलाई अघि बढाएर जनताको राज्य सत्ता निर्माणमा लाग्ने धारणा राखे।

  • थप २८ जनामा कोरोना संक्रमण पुष्टी,देशभर ५७० जना सक्रिय संक्रमित

    थप २८ जनामा कोरोना संक्रमण पुष्टी,देशभर ५७० जना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २८ जनामा संक्रमण पुष्टी भएको हो।

    एक हजार ८७९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

    एक हजार २१९ जनाको पिसिआर र ६६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७० जना सक्रिय संक्रमित छन्।

    १८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।