Category: फिचर

  • पृथ्वीराजमार्ग विस्तारले गति लिँदै, ९० प्रतिशत रुख काटियो

    पृथ्वीराजमार्ग विस्तारले गति लिँदै, ९० प्रतिशत रुख काटियो

    काठमाडौं । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब ४६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २०५ रुख कटान गरिसकेको छ ।

    आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए । ‘सबै रुख नकाटिन पनि सक्छन्,’ उनले भने, ‘काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।’

    सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । उक्त सडक खण्डमा २ हजार ४०० बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए । सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा रु साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिए ।

    व्यक्तिगत संरचना ७६७ र हाउसहोल्ड ८१० भत्काइएका छन् । आइपीएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । उनले भने, ‘आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो ।’ जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताउँछन् । क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ ।

    आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकाल बताउँछन् ।

  • ‘एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिन्छन्’- ओली

    ‘एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिन्छन्’- ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका छन्।

    शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धाउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिने बताएका हुन्। उनले देश बिकासका सन्दर्भमा गठबन्धनलाई बोेकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौती दिए।

    ओलीले एक्लै चूनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गरे। कांग्रेसले समाजवादको कुरा गरे पनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको वैशाखी टेकेर हिँडेको समेत बताए।

    उनले विदेशी देख्नेबित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सिटमा तालमेल गरेको धारणा राखे।

    अबको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने अनि प्रचण्ड पनि आफैँ बिस्तारै सकिँदै जाने तर्क गरे।

    गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुबेको उनले बताए। ओलीले अहिले टुक्राटुक्री जोडेर सरकार बनाउन दिन नहुने भन्दै एमालेले बहुमतसँगै सरकार बनाउने दाबी गरे।

  • कबड्डी ४ चलचित्र अब एपमा पनि उपलब्ध

    कबड्डी ४ चलचित्र अब एपमा पनि उपलब्ध

    काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी–४’ को अब डिजिटल प्रिमियर हुने भएको छ। शुक्रबारबाट नेपालको उदीयमान ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा चलचित्र डिजिटल प्रिमियर हुन लागेको हो। बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच एप र चलचित्रको टिमले यसबारेमा जानकारी गरायो। चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ। निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित गरेर चलचित्रलाई डिजिटल रिलिज गर्न लागेको बताए ।

    “नेपाली चलचित्रको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ,” उनले भने, “एउटा सर्जकले व्यावसायिक पक्ष पनि हेर्छ। र, आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरून् भन्ने पनि हुन्छ। यी दुवै कुराका लागि ‘कबड्डी–४’ सिनेमाघरमा रिलिज गर्न लागेका हो।” सिनेमाघर एपका टेक्निकल अफिसर सञ्जीव ढकालले सबै प्रकारका मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टीभी, अमेजन फायर टीभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधि प्रयोग गरी विभिन्न डिभाइसहरूमा पनि हेर्न सकिने जानकारी दिए ।

  • काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध

    काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र खुला रुपमा आगो बाल्न रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।

    महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

  • विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

    विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

    काठमाडौं । पोर्चुगलले आगामी विश्वकपका लागि टोली घोषणा गरेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्।

    अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सकेनन्। घाइते फरवार्ड डिएगो जोटाले पनि विश्वकप गुमाउनेछन्। समूह एच मा रहेको पोर्चुगलले मंसिर ८ गते घानासँग खेल्दै विश्वकपको सुरूआत गर्नेछ। यस्तै १२ गते उरूग्वे र १६ गते दक्षिण कोरियासँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।

    पोर्चुगल टोली

    गोलकिपर – डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा


    डिफेन्डर – जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा

    मिडफिल्डर – विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा


    फरवार्ड – जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा

  • यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

    यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

    काठमाडौं । चार पटकको च्याम्पियन जर्मनीले कतार फिफा विश्वकप फुटबलका लागि टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकप खेल्ने २६ सदस्यीय जर्मन टोलीको घोषणा गरेका हुन् । जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको विश्वकप खेल्ने दखिनेछैनन्।

    उता फरवार्ड टिमो वेर्नर चोटका कारणयसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन्। विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले मंसिर ७ गते जापानसँग खेल्दै विश्वकप सुरू गर्नेछ। समूह चरणको दोस्रो खेलमा जर्मनीले मंसिर ११ गते स्पेनविरूद्ध खेल्नेछ भने मंसिर १५ गते कोष्टारिकाविरूद्ध खेल्नेछ।

    जर्मनी टोली

    गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप


    डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओरुडिगर, निको स्लोटरबेक, निकलस सुले


    मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्केगुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने

  • दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय

    दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने विषयमा ६ बुँदे निर्णय गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

    निर्णयहरूमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार–प्रसारसम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइन सञ्चारमाध्यमबाट प्रसारण गराउन सक्ने व्यवस्था छ। त्यस्तै राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा) को माध्यमबाट निर्वाचन प्रचार–प्रसार गराउन सक्ने निर्णय गरेको छ।

    आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने छ। आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लंघन भएको मानिने छ।

    त्यस्तै आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा विदेशी अनलाइन सञ्चारमाध्यममा प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ। राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानुनबमोजिम पेस गर्नुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेस गर्नुपर्ने छ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवार समेतले पालना गर्नुपर्ने सञ्चारमाध्यमको प्रयोगसम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न सक्ने व्यवस्था छ।

  • नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक

    नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक

    काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का सहमालिक बनेको मिस वर्ल्डले पुष्टी गरेको छ । यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेटका मालिक हुन् ।

    त्यस्तै विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका पनि मालिक हुन् । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता सिंगापुर, जापान र पोल्याण्डमा गर्ने तयारी छ । सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता भने नेपाल र भारतमध्ये एक ठाउँमा हुने सम्भावना रहेको समेत बताइएको छ । त्यसको मिती उल्लेख छैन । स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो । अव भने गुरुङ परिवार त्यसको हिस्सामा आएका छन् ।

  • पदयात्रामा निस्किएका युवाको सोलुखुम्बुमा मृत्यु

    पदयात्रामा निस्किएका युवाको सोलुखुम्बुमा मृत्यु

    काठमाडौं । सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सोलुदूधकुण्ड नगरपालिका –१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार चम्पा ट्रेकिङ प्रा.लि. काठमाडौंमार्फत ट्रेकिङ आएका विश्वकर्माको महाकुलुङ गाउँपालिका –१ बरुन्चे बेस क्याम्पमा मृत्यु भएको हो ।

    मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

  • विनोद चौधरीको प्रचारमा सहभागी भएपछि भूवन केसीलाई आयोगको स्पष्टीकरण

    विनोद चौधरीको प्रचारमा सहभागी भएपछि भूवन केसीलाई आयोगको स्पष्टीकरण

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरणमा सोधेको छ । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएका थिए । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण विपरीतको काम गरेको भन्दै आयोगले केसीसँग स्पष्टीकरण सोधेको हो ।

    ‘तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?’ आयोगले केसीलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘ तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारबाही किन हुनु नपर्ने हो ?’ सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रुपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गरेको ठहर भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाही समेत हुनसक्ने भन्दै आयोगले भनेको छ, ‘तपाईं उपर उक्त कारबाही किन हुनु नपर्ने हो ?’

  • भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा

    भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा

    काठमाडौं । भारतलाई १० विकेटले हराउँदै टी-२० विश्वकपको फाइनलमा पुगेको छ । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङले इंग्ल्याण्ड फाइनलमा पुगेको हो । इंग्ल्याण्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

    एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो।

    दोस्रो इनिङमा एक सय ६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो। इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे ।

    कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे । जस बटलरले विजयी छक्का हान्दै फाइनलमा स्थान पक्का गराए

    त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । उनी अन्तिम बलमा हिट विकेटको रुपमा आउट भएका थिए ।

    विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टि२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन् । कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

    चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर क्रिस वोक्सको दोस्रो ओभरको चौथो बलमा लोकेश राहुल ५ रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भए । एक्स्ट्रा बाउन्स बलमा राहुल क्याच हुन पुगेका थिए । इंग्ल्याण्ड क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे ।

    क्रिस वोक्स र आदिल रसिदले समान १ विकेट लिए ।

    सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक टी-२० विश्वकपको फाइनल प्रवेश गरेको हो । २०१६ को फाइनलमा भने इंग्ल्याण्ड वेष्ट इन्डिजसँग पराजित हँदै उपविजेता बनेको थियो ।

  • आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै

    आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै

    पेरिस । विश्वका ठूला सूचना प्रविधि कम्पनी आर्थीक मन्दीमा पर्न थालेका छन् । मख्यगरी सामाजिक संजाल ट्वीटर, फेसबुक, मेटा लगायत कम्पनीले चर्को मन्दीको सामना गर्नुपरेको छ ।

    ट्वीटरका नयाँ मालिक एलन मस्कले आफ्ना आधा कर्मचारीहरूलाई बर्खास्त गरको खबर आएको गत हप्तामा अर्को सामाजिक सञ्जाल सञ्चालकले कर्मचारी कटौतीको निर्णय गरेको छ ।

    अमेरिकी प्रविधि कम्पनी मेटाले ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने निर्णय गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मेटाको इतिहासमा गरेको सबैभन्दा कठिन समयमा आफ्ना ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने बताएका हुन् ।

    उनले भने, ‘कटौतीले सामाजिक सञ्जालमा खपत जनशक्तिको १३ प्रतिशत प्रतिनिधित्व गर्दछ र मेटावर्सका साथसाथै फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपसहित यसका अनुप्रयोगहरूमा केन्द्रित यसको अनुसन्धान प्रयोगशालालाई असर पार्नेछ ।’

    प्रविधि उद्योग गम्भीर मन्दीमा छ र धेरै प्रमुख फर्महरूले सामूहिक काँटछाँटको घोषणा गरेका छन् ।

    जुकरबर्गले कर्मचारीहरूलाई लेखेको नोटमा भनेका छन्, ‘हामी कसरी यो निर्णय गर्न पुग्यौँ यसका लागि निर्णयहरूको लागि जवाफदेहिता लिन चाहन्छु,’ उनले भने, ‘मलाई थाहा छ, यो सबैका लागि कठिन छ, र म विशेष गरी प्रभावित व्यक्तिहरूसँग क्षमा प्रार्थी छु ।’

    फेसबुक र गुगल जस्ता विज्ञापन समर्थित प्लेटफर्महरू विज्ञापनदाताहरूले लागत घटाउन खोजिरहेका छन् किनकि उनीहरू मुद्रास्फीति र बढ्दो ब्याज दरसँग सङ्घर्ष गरिरहेका छन् ।

    जुकरबर्गले कर्मचारीहरूसँग कोभिड महामारीको समयमा ई–वाणिज्य र अनलाइन गतिविधिमा वृद्धि जारी रहने आशा गरेको बताउँदै भने, ‘मैले यो गलत पाएँ, र म यसको जिम्मेवारी लिन्छु ।’

    ‘भर्चुअल रियालिटी हेडसेट’मार्फत् पहुँच पाएको वेबको नयाँ संस्करण मेटावर्सको विकासका लागि अर्बौं डलर खर्च गर्ने जुकरबर्गको निर्णयप्रति लगानीकर्ताहरू चिन्तित भएका छन् ।

    जुकरबर्गले परियोजनाको प्रतिबद्धता प्रतिबिम्बित गर्न एक वर्ष पहिले कम्पनीको नाम मेटामा परिवर्तन गरेका थिए । तर मेटावर्स प्रविधिमा काम गर्ने विभाजनले त्यसपछि ३.५ अर्ब अमेरिकी डलर भन्दा बढीको घाटा बेहोरेको छ ।

    उनले यस वर्ष धेरै पटक सङ्केत गरेको तर आर्थिक रूपमा सङ्घर्ष गर्ने सम्भावित उपायहरूले समस्या टार्न नसक्ने देखिएपछि बुधबार आफ्नो पत्रमा कर्मचारी कटौती ‘अन्तिम उपाय’ भएको बताउएका हुन् । एजेन्सी

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२६ कम्पनीको १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँ बराबरको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै २.४६ प्रतिशतले घटेको छ ।

  • नेपालमै पहिलोपटक बन्यो ‘पम्प ट्रयाक’ साइक्लिङ पारखीका लागि उत्कृट गन्तव्य

    नेपालमै पहिलोपटक बन्यो ‘पम्प ट्रयाक’ साइक्लिङ पारखीका लागि उत्कृट गन्तव्य

    काठमाडौं । नेपालमै पहिलोपटक ललितपुरको कुपण्डोलस्थित वाग्मती किनारमा ‘पम्प ट्रयाक’ (उवाखबाड घुम्तीहरु भएको साइक्लिङ गर्ने ठाउँ) निर्माण भएको छ ।

    पम्प फर पिस नामक संस्थाले ललितपुर महानगरपालिकाको सहकार्यमा निर्माण गरेको उक्त पम्प ट्रयाक बुधबारदेखि संचालनमा आएको हो ।

    यो ट्रयाकमा उबडखाबड घुम्तीहरू हुन्छन् । यसमा माउन्टेन बाइकरले साहसिक यात्रा गर्छन् । उबडखाबड ट्रयाकमा साइकल उडाएर खेल खेल्ने गरिन्छ ।

    नेपालमा पनि पछिल्लो समय साइक्लिङ गर्ने संस्कार विकसित हुँदै गएको छ । देशका विभिन्न ठाउँमा साइक्लिङ रुट सोत निर्माण भएका छन् ।

    ‘पम्प फर पिस’ संस्थाले एक दशकदेखि विश्व्का विभिन्न विपन्न देशमा यस्तो ट्रयाक बनाउँदै आएको छ। सोही क्रममा नेपालमा पनि बनाएको हो ।

  • नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर

    नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर

    काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि टिकटदर तोकिएको छ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको हो। यस्तै भीभीआईपी टिकटतर्फ ८० वटा टिकट छुट्टायाइएको छ।

    सो खेलको एक भाग्यमानी दर्शकले कतारमा हुने विश्वकपको ब्राजिल र क्यामरुनबीचको खेल हेर्न पाउने एन्फाले जनाएको हो ।

    यसका लागि एन्फाले मैत्रीपूर्ण खेलका लागि टिकट काटेर रंगशाला पुगेका दर्शकहरूबाट गोलाप्रथा गरी एकजना दर्शक छान्नेछ ।

    पाकिस्तानको टोली कार्तिक २७ गते नेपाल आइपुग्नेछ। प्रतिबन्धपछि नेपालसँगको खेलसँगै पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किन लागेको हो। पाकिस्तानले पछिल्लो पटक सन् २०१९ मा कम्बोडियासँग अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।

    नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कार्तिक ३० गते दशरथ रंगशलामा साँझ ५ बजेपछि सुरु हुनेछ। पाकिस्तानसँगको खेलका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ।

  • अब सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने

    अब सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

    बिहीबार एक सूचना गर्दै राष्ट्र बैँक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने जनाएको हो ।

    यसअघि नेपाल राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभाग तथा टक्सार महाशाखामा यस्तो व्यवस्था थिएन ।

    कात्तिक २३ गतेबाट सुनको असर्फी, चाँदीको मेडालियन/स्मारिका सिक्का खरिद गर्दा क्युआरबाट भुक्तानी गर्न सकिने मुद्रा व्यवस्थापन विभागद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    यस्तै १ र २ रुपैयाँका सिक्का खरिद गर्दा पनि क्युआरमार्फत भुक्तानी गर्न सकिनेछ । यसअघि नगद नै लगेर ग्राहकले खरिद गर्दै आएका छन् ।

  • गठबन्धनमा धोका नभए संखुवासभामा कांग्रेसका दीपक खड्काले बाजी मार्ने

    गठबन्धनमा धोका नभए संखुवासभामा कांग्रेसका दीपक खड्काले बाजी मार्ने

    काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्यकालागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा छ । उम्मेदवार र एजेन्डाकै कारण जिल्लाबासीमा कुनै उत्साह छैन ।

    विगतमा एक अर्कामा हारजित बेहोरिसकेका खड्का र गौतम स्वयम् तेस्रो पटक आमनेसामने भएका हुन् । तर, चुनावी माहोल भने कांग्रेसको जिल्ला सभापतिसमेत रहेका खड्काले खिचेका छन् ।

    गौतम नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् भने खानेपानी तथा सरसफाई राज्यमन्त्री भइसकेका खड्का हाल कांग्रेसको जिल्ला सभापति छन् । दुवै नेता राष्ट्रिय राजनीतिमा बलियो पहुँच बनाएका नेता हुन् ।

    ०७४ मा यहाँबाट बाम गठबन्धनका कारण गौतमले चुनाव जितेका थिए । खड्का यसपटक गौतमसँग त्यसैको बदला लिने दौडमा छन् । त्यसो त खड्का र गौतमबीच बदलाको श्रृंखला सुरू भएको ०७० देखि नै हो ।

    दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो पटक आमनसामने हुँदा युवा नेता खड्काले गौतमलाई पराजित गरेका थिए । तर, ०७४ मा भने उनै गौतमले पराजित गरे, नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा । तर, यसपटक भने माओवादी केन्द्रको समर्थन खड्कालाई छ । खड्का गठबन्धनको बलमा चुनावी परिणाम सहजै आफ्नो पक्षमा पर्ने विश्वासमा छन् ।

    ०७४ मा बाम गठबन्धनबाट गौतमले ३२ हजार ७६९ मत ल्याउँदा कांग्रेसका खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए । जबकि ०७० मा कांग्रेस, एमाले र माओवादी केन्द्र एक्ला एक्लै प्रतिस्पर्धामा हुँदा कांग्रेसका खड्काले ११ हजार ५५२ मत पाएका थिए भने एमालेका गौतमले १० हजार ९७३ र माओवादी केन्द्रका राजेन्द्र किराँतीले ४ हजार २९२ मत पाएका थिए ।

    जिल्लामा अहिले मतदाताको संख्या थपिएको छ । हाल जिल्लामा एक लाख १६ हजार ५५४ मतदाता छन् ।
    पाँच महिना अघि भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका दसमध्ये कांग्रेसले छ स्थानीय तह जितेको थियो भने एमालेले चार वटा स्थानीय तह जितेको थियो । स्थानीय तहको मतका आधारमा सत्ता गठबन्धनका उम्मेदवार खड्का जित नजिक छन् ।

    स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यहाँ एमाले पहिलो दल छ । एमालेले ३२ हजार ९११ मत पाएको छ भने कांग्रेसले ३० हजार ८४९, माओवादी केन्द्रले ७ हजार १२२, नेकपा एकीकृत समाजवादीले एक हजार १०१ र जसपाले ४७१ मत पाएका छन् । यसआधारमा एमालेको भन्दा गठबन्धनको मत करिब छ हजारले अगाडि हुन जान्छ ।

    कांग्रेस उम्मेदवार खड्का आफूले पाँच महिना अघि स्थानीय चुनावमा पाएको मतको संरक्षणमात्रै गरे पुग्ने अवस्था रहेको बताउँछन् । ‘उम्मेदवारी दर्तापछि एक चरण गाउँ डुलिसकेको छु । यसपटक मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । फेरि म ०७४ मा पनि थोरै मतान्तरले मात्र्र पराजित भएको हुँ ।

    मैले चुनाव हारेपनि मतदाताबाट टाढिएको छैन,’ उनले भने, ‘जसले जित्नुभयो, उहाँले पनि जिल्लामा राष्ट्रिय बजेट र योजना भित्राउन सक्नुभएन । उहाँप्रति एमालेमै निराशा छ । त्यसैले यसपटकलाई मलाई निकै सहज छ ।’ उनले गठबन्धनका कारण समेत आफूलाई सहज हुने दाबी गरे ।

    खड्काले जिल्लाको विकास निर्माणलाई प्राथमिकतामा राखेर चुनावी एजेन्डा अघि सारेका छन् । ‘मतदाताको चासो विकास निर्माणकै कुरामा छ । त्यसैले चुनावी एजेन्डा पनि त्यही छन्,’ उनले भने, ‘अहिले यहाँ सबैभन्दा महत्वपूर्ण एजेन्डा भनेको जोगबनी–किमाथाङ्का सडक हो ।

    यो सडक जिल्लाको विकास र संमृद्धिकालागि माध्यम बन्ने अवस्था छ । भारत र चीनलाई एउटै सडकले, त्यो पनि छोटो दुरीमा जोड्न सकेको खण्डमा त्यसले हाम्रो जिल्लालाई मात्रै होइन, राष्ट्रकै आर्थिक विकासमा योगदान पुग्ने आधार खडा हुन्छ ।

    त्यसपछि जलविद्युत उत्पादन, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायीकरण, स्वरोजगारीको सिर्जना र आर्थिक संमृद्धि हाम्रा मुल एजेन्डाहरू हुन् ।’

    यता एमाले स्थायी कमिटी सदस्य एवम् संखुवासभाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले पनि यसपटक आफैँले जित्ने दाबी गरे । ‘जनताको बीचमा, गाउँ टोल र घरदैलोसम्म जाने काम भइरहेको छ ।

    मैले एउटा उम्मेदवारकोरुपमा अहिले राम्रो प्रतिक्रिया पाएको छु । किनभने मैले ०७४ देखि पाँच वर्षसम्म जनप्रतिनिधिकोरुपमा काम गरिरहँदा विकास निर्माणको क्षेत्रमा के–के काम भयो भनेर यहाँका जनताले छर्लङ्गसँग बुझेका छन्, अनुभूत गरेका छन्,’ गौतमले भने, ‘त्यसमाथि अहिलेको जुन गठबन्धन छ, त्यसमा तालमेल मिलेको छैन, सिद्धान्त मिलेको छैन । नेताले गठबन्धन गर्दैमा मतदाताको बीचमा गठबन्धन हुदैन ।’

    उनले मतदाताले भने आफुसँग गठबन्धन गरेको दाबी गरे ।

    गौतमले संमृद्ध संखुवासभा निर्माणलाई प्रमुख चुनावी मुद्धा बनाएर अघि बढेको दाबी गरेका छन् । ‘हामीले गएको पाँच वर्षमा जे काम थालेका छौँ, त्यसको निरन्तरण र पूर्णता नै अहिले मेरो चुनावी प्राथमिकताहरू हुन्,’ उनले भने, ‘यसपटक विगतमा मैले थालेका योजनाको समापनकै लागि मैले जित्ने हो ।’

  • अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

    अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

    न्यूयोर्क । अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ। सो परिणामले राष्ट्रपति बाइडनलाई धक्का लाग्ने ठानिएको छ। तल्लो सदनको सबै ४३५ सिटका निम्ति निर्वाचन भएको छ। बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ। मङ्गलवारको निर्वाचन अगाडि राष्ट्रपति बाइडनको दल डेमोक्र्याटको २२० सिटसहित बहुमत थियो। यो निर्वाचनमा सीबीएस न्यूजले हालसम्म गरेको प्रक्षेपणअनुसार १९० सिट रिपब्लिकनले जित्ने र १८० सिट डेमोक्र्याटले जित्ने देखिएको बीबीसीले जनाएको छ ।

    विश्लेषकहरूका अनुसार रिपब्लिकन दलले यसपालि प्रतिनिधिसभामा बहुमत जित्ने देखिन्छ। एकै सिटले रिपब्लिकन अगाडि भएपनि उसको नेता केभिन मक्कार्थी सभामुख चयन हुनेछन्। साथै बहुमत हुनासाथ रिपब्लिकनले डेमोक्र्याट दलका विधायिकी एजेन्डा अवरुद्ध पारिदिन सक्छन्। माथिल्लो सदन सिनेटको १०० सिटमध्ये ३५ मा मात्रै मङ्गलवार निर्वाचन भएको छ। अहिले सिनेटमा दुवै पार्टिका ५०(५० सिट छ तर सिनेटमा निर्णायक मताधिकार प्राप्त उपराष्ट्रपति कमला ह्यारिसलाई गन्दा डेमोक्र्याटको पक्षमा ५१ हुन्छ।

    यसपालिको सिनेटको दौडको नतिजा चाहिँ जोर्जिया, पेन्सलभ्यानिया, एरिजोना र निभाडा राज्यको परिणाममा भर पर्ने देखिएको छ। ती सबै राज्यमा कडा प्रतिस्पर्धा भइरहेकोले यकीन प्रक्षेपण भएको छैन। संसद्का दुईमध्ये कुनै एक सदनमा नियन्त्रण जमाउनासाथ रिपब्लिकन दलले राष्ट्रपति बाइडनका विधायिकी एजेन्डामा अवरोध उत्पन्न गरिदिन सक्छन्। अमेरिकाको संसदमा दुई सदन रहेका छन्। तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको हुन्छ भने सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ। हरेक दुई वर्षमा तिनको निर्वाचन हुन्छ।

    राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने निर्वाचनलाई मिड टर्म इलेक्सन भन्ने गरिन्छ। मङ्गलवार प्रतिनिधिसभाको सबै सदस्य अनि सिनेटको एक तिहाइ सदस्यको निम्ति निर्वाचन भएको छ। साथै कतिपय राज्यले तिनको गभर्नर तथा स्थानीय अधिकारी चयन गर्न पनि मङ्गलवार निर्वाचन गराएका छन्। यी दुई सदनहरूले राष्ट्रव्यापी कानुन निर्माण गर्छन्। सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ। प्रत्येक राज्यबाट २ जना सिनेटर निर्वाचित हुन्छन्।

  • राष्ट्रपतिद्धारा आइसल्याण्डमा पदक ग्रहण

    राष्ट्रपतिद्धारा आइसल्याण्डमा पदक ग्रहण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्यान्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ९डब्लूपीएल०को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति भण्डारीले मञ्चद्वारा प्रदान गरेको अवार्ड ग्रहण गेकी हुन् । उनलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गरे ।


    राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी भएकी छिन् । उनले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेकी छिन् । अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुगेकी हुन् । उनी कात्तिक २६ गते बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

  • बैंकविरुद्धको आन्दोलन चुनावसम्म स्थगित

    बैंकविरुद्धको आन्दोलन चुनावसम्म स्थगित

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशका विभिन्न स्थानमा भइरहेको बैंकविरुद्धको आन्दोलन रोक्न आह्वान गरेको छ । अहिले देशभरका जिल्लारनगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै बैंकविरुद्ध आन्दोलन गरिरहेका छन् । यी मागमा ऐक्यबद्धता जनाउँदै महासंघले निर्वाचनसम्म सबै आन्दोलनका कार्यक्रम रोक्न आह्वान गरेको हो ।

    तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ । बजारको न्यून मागका कारण व्यापार–व्यवसाय प्रभावित भइरहेका बेला बढेको ब्याजदर र यही कात्तिकदेखि केन्द्रीय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको समेत महासंघको भनाइ छ ।

    तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्लारनगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यबद्धता पनि जाहेर गरेको समेत महासंघले जनाएको छ । तर आगामी ४ मंसिरमा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था एवम् खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको महासंघले उल्लेख गरेको छ ।

    सोहीकारण हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ । साथै निर्वाचन सफल पार्न आ(आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन पनि महासंघले आग्रह गरेको छ ।

    ‘निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसँग सम्वादमा रहने छ’, महासंघले भनेको छ, ‘वार्ता एवं सम्वादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त छ ।’ निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

  • पत्रकार तथा लेखक अधिकारी मृत फेला

    पत्रकार तथा लेखक अधिकारी मृत फेला

    काठमाडौं । पत्रकार तथा लेखक सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत भेटिएका छन् । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोरालाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्। निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गरेको बताइएको छ ।

    ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखिएको थियो । त्यहाँ गएर जाँच गर्दा होटलमा उनले नाम इन्ट्री गरेको र उनकी श्रीमती र प्रहरी गएर कोठामा जाँच गर्दा अधिकारी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । उनले कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता सञ्चारमाध्यममा काम गरेका छन् । उनका धम्बोजी, नोरा, जासुसीको जाल चक्रव्यूहमा चन्द्रसूर्य किताब प्रकाशित भएका छन् ।

  • टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुग्यो पाकिस्तान

    टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुग्यो पाकिस्तान

    काठमाडौं । पाकिस्तान आइसिसी पुरूष टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो। न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले।

    पहिलो विकेटका लागि सतकीय साझेदारी गरेका कप्तान बाबर अजामले ४२ बलमा ७ चौकासहित ५३ रन बनाए। पहिलो बलमै जीवनदान पाएका बाबरले ३८ बलमा ७ चौकासहित ५० रन पुर्‍याएका थिए। रिजवानले ४३ बलमा ५ चौकासहित ५७ रन बनाए। रिजवानले ३६ बलमा ५ चौकासहित ५० पुरा गरेका हुन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो।

    अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको सन् १९९२ को एकदिवसीय विश्वकपकै शैलीमा पाकिस्तान अष्ट्रेलियामै जारी विश्वकपको फाइनलमा पुगेको छ। पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनल खेल्न लागेको हो।

  • बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ । बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा कालिका ९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका ५ वर्षीय कल्पना राना मगर छन् । प्रहरीले ना. ८ ख १८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

  • समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’

    समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’

    काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण र दायित्वको साँवाब्याज बुझाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ताकेता गरेको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न मितिमा समस्याग्रस्त घोषित गरेका सहकारीहरुका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन समितिले १५ दिनको समय दिएको छ ।

    यसअघि पटक पटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरका पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत हालसम्म संस्थालाई बुझाउनुपर्ने ऋण र दायित्व बाँकी रहेको समितिद्वारा जारी सूचनामा उल्लेख छ ।

    आगामी १५ दिनभित्र आफूले तिर्नुपर्ने ऋणको साँवा ब्याज चुक्ता नगरेमा कानूनबमोजिम कारबाही र सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम राहदानी रोक्का र नाम कालोसूचीमा राख्ने चेतावनी दिइएको छ ।

    सरकारले स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायतलाई समस्याग्रस्त घोषणा गरेको छ ।

    त्यस्तै, कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्त सहकारीअन्तर्गत परेका छन् ।

  • धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा : सुनील र राजेन्द्रलाई हेमराजको चुनौती

    धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा : सुनील र राजेन्द्रलाई हेमराजको चुनौती


    काठमाडौं । धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि नौ जना चुनावी मैदानमा छन् । तर, मुख्य तीन उम्मेदवारको प्रतिस्पर्धा भने रोचक बनेको छ । कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् ।

    एमाले नेतृत्वको गठबन्धनबाट राजेन्द्र राई मैदानमा छन् । अघिल्लो निर्वाचनमा राई थापालाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसबेला कांग्रेस एक्लै मैदानमा थियो । राईलाई माओवादीको साथ थियो । तर, यसपटक परिस्थिति बग्लै बनेको छ ।

    थापा पहिलेभन्दा निकै बलियो बनेका छन् । पहिलो त जिल्लामा पहिलेभन्दा कांग्रेसको जनाधार बढेको छ । दोस्रो माओवादी र एकीकृत सभाजवादीको साथ । एमालेका राई पहिलेभन्दा कमजोर बनेको अवस्था छ । एमाले विभाजनका कारण पनि राईलाई चुनाव त्यति सहज देखिदैन ।

    तर, दुवैलाई स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी भारी परेका छन् । नेकपा माओवादी केन्द्रको पोलिट ब्युरो सदस्यसमेत रहेका भण्डारी टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । भण्डारीले कसको धेरै मत काट्छन् भन्ने चासो छ, यतिबेला । उनले आफूले जित्ने दाबीसहित मत मागिरहेका छन् ।

    धनकुटाको अर्को प्रभावी शक्ति हो, जनता समाजवादी पार्टी (जसपा) । तर, जसपाले प्रतिनिधिसभा सदस्यकामा उम्मेदवारी दिएको छैन । जसपाका कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

    तर, दुवै प्रदेशमा एमालेले उम्मेदवारी दिएका कारण जसपा र एमाले तालमेल पनि बलियो छैन । नेताहरू जसपाको भूमिकालाई समेत निर्णायक भनिरहेका छन् ।

    एकातिर एमालेका राईलाई सत्ता–गठबन्धनको बलियो चुनौति छ । थापालाई माओवादी केन्द्रका कार्यकर्ताको डर छ । गठबन्धन भइसकेपछि त्यसको इमान्दारीपुर्वक कार्यान्वयन हुने भन्दै थापा मत मागिरहेका छन् । पटक–पटक घरदैलो गरेर मतदाता रिझाउने प्रयास गरेका छन् ।

    तर, भण्डारीको विद्रोहमा कार्यकर्ताको साथ हुन सक्ने भयले भने उनलाई सताएको छ । गठबन्धनको ८० प्रतिशत मत नै थापाका लागि जित्न पर्याप्त देखिन्छ । त्यसैले अरु भन्दा थापा ‘सेफ जोन’मा छन् । २०७४ सालमा राईले ३७ हजार ३ सय ३३ मत ल्याएका थिए । थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए ।

    धनकुटामा सात पालिका छन् । ०७४ मा एमालेले सबै पालिकामा क्लिन स्वीप गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभामा पनि वाम गठबन्धनले जितेको थियो । तर, यसपटक माहोल उल्टिएको छ । एमालेले तीन वटा पालिकामा मात्रै जित्न सकेको छ । गत स्थानीय निर्वाचनमा वडाध्यक्षको मत हेर्दा एमालेले ३६ हजार ३३६ मत पाएको छ ।

    कांग्रेसले २८ हजार १८२, माओवादीले ५ हजार ४५८, जसपाले २ हजार २९३, नेकपा एकीकृत समाजवादीले १ हजार ७२८ र राप्रपाले ३०४ मत ल्याएका थिए । यसपटक सहज जित निकाल्ने नेता थापाले बताए । उनले आफ्ना बाबु सूर्यबहादुर थापाले प्रधानमन्त्री हुँदा गरेको कामलाई चुनावी मुद्धा बनाएका छन् । उनी आफैले पनि जिल्लाको विकासमा ठूलो योगदान गरेका छन् ।

    धनकुटामा थापाको पार्टीभन्दा व्यक्तिगत भोट धेरै भएको चिया पसलमा गफ सुन्न सकिन्छ । ‘मैले बुवाले गरेको कामको श्रेय मात्रै खोजेको छैन । मसँग धनकुटालाई संमृद्ध बनाउने एजेन्डा छन् । त्यसकालागि केन्द्रीय नेतृत्वमा पहुँच पनि छ,’ थापाले भने, ‘यसपटक राष्ट्रियरुपमा बनेको गठबन्धन र देशभरिको माहोलका कारण पनि मैले चुनाव जित्छु । धनकुटाको विकास र संमृद्धिकालागि आफ्नो उम्मेदवारी रहेकाले जित निश्चित रहेको उनले दाबी गरे ।

    एमाले उम्मेदवार राईले पनि आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताए । ‘मैले जनतलााई भगवान मानेको छु, त्यहीअनुसार काम गरेको छु । मैले उहाँहरूको आशीर्वाद लिएर नै चुनावमा होमिएको छु,’ उनले भने, ‘केन्द्रमा नेताबीच गठबन्धन हुँदैमा यहाँ चुनाव जितिहाल्ने भन्ने हुदैन ।’ धनकुटामा १ लाख १६ हजार ९९१ जना मतदाता छन् ।

  • शेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    शेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँ बराबरको ३६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ४.७३ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूह ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्धी लघुवित्त भएको छ । यस कम्पनीको आज ६ करोड ७८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा शिवम् सिमेन्टको ६ करोड८ लाखको कारोबार भएको छ । हिमालयन डिस्ट्रीलरी ५ करोड बढीको कारोबार भएको छ ।

    उच्च अंकले घटेको बजारमा आज एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीले सर्वाधिक ७.९५ प्रतिशत गुमाएका छन् । त्यस्तै, गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोग्रेसिभ फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यसैगरी, बेस्ट, फाइनान्स, नेपाल फाइनान्स, हिमालयन पावर र मल्टीपर्पस फाइनान्सको शेयर मूल्य साढे ६ प्रतिशतले घटेको छ ।

  • तीव्र गतिमा सवारी चलाए अब १ घण्टा अनिवार्य कक्षा लिनुपर्ने

    तीव्र गतिमा सवारी चलाए अब १ घण्टा अनिवार्य कक्षा लिनुपर्ने

    काठमाडौं । के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? चलाउने भए होसियार ! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ ।

    यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलङ्घन गर्ने तथा सडक बत्तीको पालना नगर्ने चालकलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गर्दै आएको कार्यालयले आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई अनिवार्य कक्षा सञ्चालन गर्न लागेको हो ।

    कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भई मानवीय क्षति भएको भन्दै दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जरिवनासहित सचेतना कक्षाको व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए ।

    उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीव्र गतिका कारण ३ हजार ५४३ र चालु आवको तीन महिनामा तीव्र गतिका कारण ६४९ दुर्घटना भएको छ । आव २०७८/७९ मा १८ हजार ४४७ र चालु आवको तीन महिनामा ८ हजार ५८४ तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरे पनि सवारी चालकमा सचेतना कमी भएको भन्दै कक्षा सञ्चालन गर्न लागिएको प्रवक्ता भट्टले बताए ।

  • सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । कात्तिक १६ बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    गत वर्षभन्दा प्रति किलो दुई रुपैयाँ बढी न्यूनतम समर्थन मूल्य तोकिएको छ। अघिल्लो वर्षका तुलनामा एक क्विन्टलमा न्यूनतम समर्थन मूल्य कम्तीमा २१५ रुपैयाँ बढाइएको छ।

    मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ।

    गत वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ७५२ र मध्यम धानका लागि दुई हजार ९०२ रुपैयाँ तोकिएको थियो।

    न्यूनतम समर्थन मूल्य अनुसार‚ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानबाट धान खरीद गर्ने मन्त्रालयको दाबी छ।

  • मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?

    मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?

    काठमाडौं । थपिएका नयाँ मतदाताहरूले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि मतदाता परिचयपत्र नपाउने भएका छन्। केही प्राविधिक कारणले यसपालि मतदाता परिचयपत्र नदिने निर्णय गरिएको आयोगले जनाएको छ । तर परिचयपत्र नपाएका र पहिला पाइसकेर पनि हराएको वा च्यातिएको खण्डमा परिचय खुलाउने सरकारी कागजातका आधारमा मतदान गर्न दिने तयारी गरिएको छ । आयोगका अनुसार मङ्सिर ४ गते हुने चुनावका लागि करिब एक करोड ८० लाख व्यक्ति मतदान गर्न योग्य छन्।

    तीमध्ये करिब साढे दुई लाख मतदाता नयाँ छन् । तर यसपालि नयाँ मतदाताहरूलाई मतदाता परिचयपत्र वितरण गर्ने कार्यक्रम छैन । परिचयपत्र नपाउने थपिएका मतदातासँगै पुरानो परिचयपत्र हराएका वा च्यातिएका अवस्थामा त्यस्ता मतदाताले पहिचान खुलाउने अन्य सरकारी कागजात देखाएर मतदान गर्न दिने आयोगले मङ्गलवार निर्णय गरेको छ।

    मौजुदा परिचयपत्रबाहेक अन्य सरकारी कागजातहरू नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा अथवा सवारीचालक अनुमतिपत्रका आधारमा समेत मत हाल्न पाउने छन्। तर त्यसका लागि मतदाता नामावलीमा नाम हुन जरुरी रहेको आयोगको भनाइ छ।

  • प्युठानमा जिप दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    प्युठानमा जिप दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    प्युठान । प्युठानमा भएको जिप दुर्घटना परी कम्तिमा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन् ।

    प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

    प्रहरी निरीक्षक थापामगरका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् ।

    चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद के.एम. सामान्य घाइते रहेका छन् । गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भैरहेको छ ।
    जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।