Category: फिचर

  • छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आइतवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

    कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि शुरु भएको हो ।

    ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो ।

    उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

    सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ ।

    संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

    साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

    छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

  • मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

    मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

    काठमाडौं । नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिकामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

    पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङ्टार–२ मथारमा आइतबार बिहान ४ बजे दुर्घटना भएको हो।

    बस कालीगण्डकी कोरिडोरको सडकबाट १०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा परेर पाल्पाको रम्भा गाउँपालिका-१ निवासी ४१ वर्षीया तारा विक, १७ वर्षीय विनयी विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जा गल्याङ-१ बेलचौर निवासी ४५ वर्षीया फूलमाया माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले बताए । घाइतेहरूको उद्दार गरेर उपचारको लागि भरतपुर पठाएको छ ।

  • अमेरिकाका विद्यालयमा बढ्यो बन्दुक आक्रमण

    अमेरिकाका विद्यालयमा बढ्यो बन्दुक आक्रमण

    काठमाडौं । संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन्।

    अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो। सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरुका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो।

    सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना भएको वर्ष भनिएकामा सन् २०२२ का दुई महिना बाँकी छँदै अहिले नै दुई सय ५७ वटा घटना यसवर्ष मात्र भएको पाइएको समाचारमा जनाइएको छ।

    सन् २०२१ मा यहाँका विद्यालय तथा विश्वविद्यालयमा यस्ता घटना दुई सय ५० वटा भएका थिए। ती घटनाका तुलनामा अहिले बढेको अष्ट्रेलियाली मिडिया नेटवर्क संस्था द कन्भरसेसन्सले जानकारी दिएको हो।

    सो संस्थाले तीन जना अमेरिकी अपराध न्यायसम्बन्धी विज्ञसँग पनि अमेरिकामा विद्यालय, विश्वविद्यालयमा यहाँका किशोरकिशोरीहरुले गर्ने गरेका बन्दुक हमलाका विषयमा कुराकानी गरेर एक विश्लेषण पनि अनुसन्धानका क्रममा तयार पारेको जनाएको छ।

    अमेरिकी किशोरकिशोरीहरुले विद्यालयमा हुने गरेका सानातिना विवादमा पनि बन्दुक हमला गरेर आफ्ना साथीको हत्या गर्ने गरेका छन्।अमेरिकामा सन् २०१८ देखि २०२२ सम्ममा भएका यस्ता हिंसाका घटनाबाट कम्तीमा पनि ५२ जनाको ज्यान गएको छ। रासस/सिन्ह्वा

  • महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो

    महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो

    दार्चुला । महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका-२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो ।

    हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनकाे खुट्टामा चोट लागेकाे र अहिले जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।  भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउँदा घटना भएको उनले बताएका छन् ।

    अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम गर्न नपाइने र विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्ने नियम छ । तर, हिजो भारतले सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा सूचना नै नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

    भारत पिथौरागढ जिल्लाको धार्चुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखनपुर क्षेत्रमा सडक चौडा गर्ने क्रममा भारतीय पक्षले विस्फोट गराएको हो । 

  • इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु

    इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा दुई वटा मोटरसाइकल  ठोक्किँदा भएको दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।
    विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो । त्यसक्रममा  मोटरसाइकलमा सवार तीन जना गम्भीर घाईते भएका थिए ।
    गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम

    तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम

    काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । यसले धान बाली भित्र्याउने तयारीमा रहेका कृषकलाइ जोखिम निम्त्याउने छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

  • गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण

    गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं–४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापालाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ ।

    यसअघि जुन विषयमा स्पष्टीकरण सोधिएको थियो, त्यही विषयमा यसपटक पनि आयोगले स्पष्टिकरण सोधेको हो । यसअघि आयोगले सोधेको स्पष्टीकरणको जवाफमा थापाले सार्वजनिक कार्यक्रममा जवाफ दिएका थिए ।

    यसअघि थापाले सामाजिक सन्जाल फेसबुकमा डेंगी परीक्षण निःशुल्क गर्ने र आफूहरु टोलटोलमा आउने सन्देश दिँदै एक भिडियो राखेका थिए । त्यही भिडियोको आधारमा आयोगले उनलाई स्पष्टिकरण सोधेको थियो ।

    यसको जवाफमा थापाले एक सार्वजनिक कार्यक्रममा आफूले यस्तो गल्ती बारम्बार गर्ने बताएका थिए । यही आधारमा आयोगले उनलाई फेरि स्पष्टीकरण सोधेको हो ।

  • निर्वाचन आयोगको स्पष्टीकरण:’नो नट अगेन’ अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन

    निर्वाचन आयोगको स्पष्टीकरण:’नो नट अगेन’ अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन

    काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानमा बन्द गराउन भन्दै दिएको निर्देशनबाट आलोचित निर्वाचन आयोगले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको छ ।

    आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस अघिको निर्देशनले अभिव्यक्ति स्वतन्त्रतालाई हनन नगरेको भन्दै आफ्नो बचाउ गरेको हो । आयोगले उक्त निर्देशनबाट अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

    गत मङ्गलबाट निर्वाचन आचारसंहिता विपरित रहेको भन्दै आयोगले ‘नो नट अगेन’ नामका पेज तथा ग्रुप तत्कालै हटाउन निर्देशन दिएको थियो ।

    आयोगको उक्त निर्देशनपछि ‘नो नट अगेन’ झनै चर्किएको छ । थुप्रै सर्वसाधारणले आयोगले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै उक्त कदमको आलोचना गरेका छन् ।

    निर्वाचनका समयमा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको भरपूर उपयोग होस् भन्ने हेतुले आयोगले निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७३’ कार्यान्वयनमा ल्याएको आयोगको भनाई छ ।

    उसले विज्ञप्तिमार्फत भनेको छ, “आम मतदाताले सुसूचित भई विवेकपूर्ण निर्णय मतदानमार्फत गर्न सक्षम हुन् भन्ने ध्येयले नै उक्त नीति ल्याइएको हो ।”

    यही विचारलाई अवलम्बन गर्दै निर्वाचन आचारसंहिता, २०७९ मा आयोगले सामाजिक सञ्जालमा दल, उम्मेदवार र आम मतदाताले राजनीतिक विज्ञापन गर्न पाउने र प्रचारप्रसारका लागि उपयोग गर्न पाउने व्यवस्था गरेको छ आयोगले जनाएको छ ।

    निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवार विरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रता भित्र नपर्ने आयोगको बुझाइ छ ।

    निर्वाचनका समयमा यस्ता राजनीतिक उद्देश्य राखिएका अभिव्यक्तिले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने आयोगले जनाएको छ । यसबाट मतदाताको सुसूचित हुन पाउने अधिकार कुण्ठित हुने, मतदातालाई दिग्भ्रमित पार्ने र सही प्रतिनिधि नचुनिने अवस्था सिर्जना हुन सक्ने आयोगको तर्क छ ।

    यस्ता अभिव्यक्तिले निर्वाचनमा पार्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै आयोगले सामाजिक सञ्जालका कम्पनीहरूसँग सहकार्य गर्दै आएको छ । निर्वाचन आचारसंहिता, २०७० बमोजिम आचरण पालना गर्नुपर्ने दायित्वमा रहेका व्यक्तिले बाहेक अन्यले आफ्ना सामाजिक सञ्जालबाट कुनै पनि दल र उम्मेदवारका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पाउने आयोगले बताएको छ ।

    तर, सङ्गठित रूपबाट सञ्चालित फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरूका विषयमा विभिन्न मिथ्या सूचना दुष्प्रचार र द्वेषपूर्ण सामग्री (अभिव्यक्ति, अडियो वा भिडिओ) प्रकाशन गर्नु अन्तर्राष्ट्रिय मूल्य, मान्यता, प्रचलित कानून र निर्वाचन आचारसंहिता प्रतिकूल रहेको आयोगको बुझाई छ ।

    सामाजिक सदाचारमा खलल पार्न सक्ने, भेदभाव र दुरुत्साहनलाई प्रोत्साहन गर्ने, एक अर्कालाई गाली बेइज्जती गर्ने, सामाजिक र सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमका शब्द, शैलीलाई मात्र निरुत्साहित गर्न उक्त निर्देशन दिइएको आयोगको भनाइ छ ।

    “मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गरी मतदाताको निर्वाचन, राजनीतिक दल र उम्मेदवारका बारेमा सत्य तथ्य जान्न पाउने अधिकारको प्रत्याभूत गर्न आयोगले कुनै कसर बाँकी राख्ने छैन र सरोकारवाला सबैसँग निर्वाचनको निष्ठा लाई जोगाउन सहकार्य र सहयोगका लागि आयोग आह्वान गर्दछ,” आयोगले उक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।

  • सरकारी कोषको अवस्था निकै कमजोर, चालू खर्च धान्न मुस्किल

    सरकारी कोषको अवस्था निकै कमजोर, चालू खर्च धान्न मुस्किल

    काठमाडौं । राज्यको अहिलेको आम्दानीले चालू खर्चमात्र धान्न सक्ने अवस्था रहेको अध्ययनले देखाएको छ ।

    राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले हालको अवस्था हेर्दा राज्यको सरकारी कोषको अवस्था निकै कमजोर देखिएकोले चालू खर्च धान्न मुस्किल देखाएको छ ।

    पछिल्लो समय देश संघीयतामा गएपछि प्रशासनिक खर्चमा वृद्धि भएको, र दुई/तीन वर्षमै त्यस्तो खर्च दोब्बर भएकाले राज्यको अहिलेको आम्दानीले चालू खर्चमात्र धान्न सक्ने अवस्था रहेको आयोगको निष्कर्ष छ ।

    पछिल्लो समय सरकारले प्रक्षेपण गरेको भन्दा कम कर उठ्न थाल्नुले सरकारको प्रक्षेपण नै गलत भएको हो वा राजस्व प्रणालीले चुस्त रुपमा काम गर्न नसकेको हो भन्ने प्रश्न खडा गरेको सरकारी कोषको संरचना, अवस्था र प्रवृत्ति अध्ययन प्रतिवेदन २०७९ मा भनिएको छ ।

    नेपालको अहिलेको सरकारी कोषले १५औं योजनाको लक्ष्य हासिल गर्न नसक्ने योजना आयोगले सचेत गराएको छ ।

  • अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न

    अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न

    काठमाडौं । ट्विटर खरिद प्रक्रिया सम्पन्न भएको छ । संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्विटर किनेका हुन् । यससङ्गै उनले “पन्छी मुक्त”भएको लेखेका छन् । ट्विटर खरिद प्रक्रिया सकिएसँगै शुक्रबार एक ट्विट गर्दै उनले लेखेका छन्, ‘दि बर्ड इज फ्रिड’ ।

    गत अप्रिलमा ट्विटर किन्ने सम्झौता गरेका मस्कले बिहीबार मात्रै खरिद प्रक्रिया पूरा गरेका छन् । उनले ट्विटर किनेसँगै ट्विटरका सीईओ पराग अग्रवालसहित तीन उच्च पदाधिकारीलाई बर्खास्त गरे । अग्रवाल २०२१ नोभेम्बरमा ट्विटरको सीईओमा नियुक्त भएका हुन् ।

    बिहीबार एक ट्विट गर्दै मस्कले मानवताको सहयोगका लागि ट्विटर खरिद गरेको भन्दै मानव सभ्यताको भविष्यका लागि ट्विटरजस्तो प्लेटफर्म आवश्यक भएको बताएका थिए । 

    गत अप्रिलमा ट्विटर किन्ने सुरुवाती सम्झौता गरेका मस्क पछि उक्त सम्झौताबाट बाहिरिन खोजेका थिए । ट्विटर किन्ने सम्झौता गरे पनि पछि आनाकानी देखाएपछि ट्विटरले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो । मस्कले ट्विटर किन्नका लागि अदालतबाट अक्टोबरसम्मको समयसीमा पाएका थिए ।

    मस्कले वाक् स्वतन्त्रताको पक्षमा आफू रहेको भन्दै ट्विटरको कन्टेन्ट मोडेरेसन नीतिबारे पुनर्विचार गर्ने बताउँदै आएका छन् ।

    उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब) तिरेर ट्विटर किनेका हुन् ।

  • ५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन

    ५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन

    काठमाडौं /बिबिसी । विश्वकै फोहोरी उपमा पाएका इरानी नागरिक आमु हाजीको निधन भएको छ । उनले ५० वर्षसम्म नुहाएका थिएनन । उनको ९४ वर्षको उमेरमा निधन भएको हो ।

    आफूलाई बिरामी बनाउने भयले आमु हाजीले आधा शताब्दीभन्दा बढी समयसम्म साबुन र पानीको प्रयोग गर्न अस्वीकार गरेका थिए।

    दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन भएको थियो।

    दक्षिणी प्रान्त फार्समा बसोबास गर्ने हाजीले गाउँलेहरूले उनलाई सफा पारिदिन विगतमा गरेका प्रयास टार्दै आएका थिए।

    तर स्थानीय सञ्चारमाध्यमका अनुसार उनी अन्ततः दबाब सामु झुके र केही महिनाअघि उनले नुहाए।

    इरानको आइआरएनए समाचार संस्थाका अनुसार त्यसको केही समयपछि उनी बिरामी भए र आईतवार उनको निधन भयो।

    सन् २०१४ मा द तेहरान टाइम्सलाई दिएको अन्तरवार्तामा उनले आफ्नो मनपर्ने खानेकुरा दुम्सी भएको खुलासा गरेका थिए।

    उनले जमिनमा बनाइएको प्वाल र छिमेकीहरूले बनाएको इट्टाको टहरोकाबीच देजगाह गाउँमा आफू बस्ने गरेको पनि बताएका थिए।

    आफू किशोर छँदा व्यहोरेको ‘भावनात्मक क्षति’ बाट पार पाउन त्यस्तो अस्वाभाविक रोजाइको पक्षमा आफू उभिएको उनको भनाई थियो।

    वर्षौँसम्म ननुहाउँदा उनको छाला कालो धुवाँ र कडा पहेँलो फोहोरले ढाकिएको आइआरएनएले जनाएको छ।

    उनको खान्कीमा कुहिएको मासु र थोत्रो तेलको जर्किनमा राखिएको अस्वस्थ्यकर पानी रहने गरेको थियो।

    उनलाई धूम्रपान मन पर्थ्यो र एक पटक भन्दा बढी समय एक भन्दा बढी चुरोट एकै पटक तानिरहेको अवस्थाको उनको तस्बिर खिचिएका थिए।

    इरानी समाचार संस्थाले नुहाउने वा सफा पानी उपलब्ध गराउने प्रयासले उनलाई दुखी तुल्याउने गरेको जनाएको छ।

    यद्यपि लामो समय ननुहाएर बस्ने कीर्तिमान उनको नाममा हुन्छ कि हुँदैन भन्ने विषयलाई लिएर केही विवाद रहेको छ।

    सन् २००९ मा एक जना भारतीय पुरुषले ३५ वर्षसम्म ननुहाएको र आफ्नो दाँत पनि नमाझेको विवरण आएको थियो । त्यसयता उनलाई के भयो भन्ने अझै प्रस्ट छैन ।

  • इटालीको मिलानमा सुपरमार्केटमा चक्कु प्रहार, क्यासियरको मृत्यु-आर्सनलका खेलाडी घाइते

    इटालीको मिलानमा सुपरमार्केटमा चक्कु प्रहार, क्यासियरको मृत्यु-आर्सनलका खेलाडी घाइते

    मिलान । इटालीको मिलान शहर नजिक  एक सुपरमार्केटमा अन्धाधुन्द छुरा प्रहार भएको छ । सो क्रममा एक जनाको मृत्यु भएको छ । आर्सनलका डिफेन्डर पाब्लो मारी घाइते भएका छन् ।

    सुपर मार्केकटमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको अन्य पाँच जना घाइते भएको पुलिसले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

    घाइते हुनेमध्ये आर्सनलबाट लोनमा इटालियन क्लब मोन्जा पुगेका मारी पनि छन् ।  २९ वर्षीय ब्राजिलियन डिफेन्डर इटालियन क्लब मोन्जाबाट लोनमा खेलिरहेका छन् ।
    स्थानिय मिडियाको रिपोर्ट अनुसार ३० वर्षीय सुपरमार्केटको क्यासियरको भने मृत्यु भएको छ ।

    पुलिसले ४६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको छ । पुलिसले कुनै आतंककारी मनसाय हुन नसकेको बताएको छ । रिपोर्टहरूका अनुसार आक्रमणकारीलाई मानसिक स्वास्थ्य समस्या थियो र उसले सुपरमार्केटको सेल्फबाट हतियार खोसेको थियो।

    उक्त व्यक्तिले स्थानीय समय अनुसार साढे ६ बजे सुपरमार्केटमा अनियमित रूपमा मानिसहरूलाई छुरा प्रहार गर्न थालेको थियो ।

  • महोत्तरीमा दुई समुदायबीच झडप, अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    महोत्तरीमा दुई समुदायबीच झडप, अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । 

    बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।
    बिहिवार  बिहान झन्डै १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए । त्यसै क्रममा वडा नम्बर ८ पररियामा दुवै समूहबीच झडप भएको थियो । दुवैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै १२ जना घाइते भएका छन् ।  घाइतेहरूको अवस्था सामान्य छ । अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेकाे थियो । 

    अहिले भने अवस्था सामान्य रहेको छ । शान्त भएको विवाद राती बढ्न सक्ने आशङ्कामा त्यस क्षेत्रमा आज बिहीवार दिउँसाे ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

  • अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

    सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ।

    सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी गराएका छन् । मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन ।

    यस्तै, त्यही ठाउँमा बा २५ प ८८७६ नम्बरको मोटरसाइकल पल्टिँदा  सन्धिखर्क–२ आटिकापाटाका ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । उनीहरुको  बुटवलमा उपचार जारी छ ।

  • भाइटिकाको उत्तम साइत ११:३७ मिनेटमा

    भाइटिकाको उत्तम साइत ११:३७ मिनेटमा

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ ।

    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

    भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको उनले जानकारी दिए ।

    यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

    लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज देवताको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

    तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

    टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।

  • आज भाइटिका, रानीपोखरीस्थित मन्दिर खुला

    आज भाइटिका, रानीपोखरीस्थित मन्दिर खुला

    काठमाडौं । आज तिहारको भाइटिका विश्वभर नेपालीले धुमधाम सहित मनाउदैछन । काठमाडौको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला हुदैछ ।

    दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

    बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ ।

    दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

    बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । दर्शनार्थीले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् ।

  • विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने

    विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने

    काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापालाई सत्ता गठबन्धन दलहरूले समर्थन गर्ने निर्णय गरेका छन् ।

    सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूले थापालाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । गठबन्धनका शीर्ष नेताहरूको हस्ताक्षरसहित बुधबार जारी गरिएको विज्ञप्तिमा थापालाई समर्थन गर्ने निर्णय गरिएको बताइएको छ ।

    सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट अरु कुनै आधिकारिक उम्मेदवार थिएनन् । नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

    सोही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल भुसाल (निकोलस) को पनि उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

  • भाइटिकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहिवार बिहानैबाट खुल्ने

    भाइटिकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहिवार बिहानैबाट खुल्ने

    काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको छ ।
    भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले खोल्नका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

    भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

    रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो ।

    भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो । त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए ।

    भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ । यस वर्षदेखि छठमा पनि रानीपोखरीमा कार्यक्रम गर्ने माग भएकाले खुला तयारी गरिएको पनि प्रवक्ता मानन्धरले जानकारी दिए ।

  • रोल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    रोल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    रोल्पा । रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
    दुर्घटनामा १० जना भन्दा धेरै घाइते भएका छन् । जसमध्ये ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ । ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीको अनुमान छ ।

  • तिहार : आज गोवर्द्धन र गोरु पुजा गरिदै

    तिहार : आज गोवर्द्धन र गोरु पुजा गरिदै

    काठमाडौं । यम पन्चकको आज चौथो दिन गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

    द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन ।

    कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।

    यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

    भोलि तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । भोलि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भोलि दिनभरी नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

  • नेपाल सम्वत आज, नेवार समुदायको नयाँ वर्ष

    नेपाल सम्वत आज, नेवार समुदायको नयाँ वर्ष

    काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

    राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गरेको मानिन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।
    विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

    काठमाडौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवतकाे अवसरमा विशेष कार्यक्रम हुँदैछ ।

    गरिब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका हुन् ।

  • बेलायती प्रधानमन्त्री सुनकलाइ विश्व नेताहरुको बधाई सन्देश, कसले के भने?

    बेलायती प्रधानमन्त्री सुनकलाइ विश्व नेताहरुको बधाई सन्देश, कसले के भने?

    काठमाडौं । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकलाई विश्वभरबाट बधाई सन्देश आइरहेका छन् ।  विश्वका शीर्ष नेताले देशको पछिल्लो अस्तव्यस्त अवस्थाबाट स्थिरताको आशा व्यक्त गरेका छन् ।

    बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित उनीहरुले बेलायतको राजनीतिक अवस्थाले समग्र विश्वलाई प्रभाव पार्ने उल्लेख गरेका छन् ।

    सुनक हिजो औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री सुनकलाई स्वागत गर्दै भारतसहित विभिन्न देशका शीर्ष नेताले विश्वले सामना गरेका पछिल्ला साझा मुद्दामा सहकार्य गर्न चाहेको जनाएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् बधाई व्यक्त गरी आफू विश्वव्यापी मुद्दामा निकट रहेर काम गर्न र रोडम्याप सन् २०३० को कार्यान्वयन गर्न इच्छुक रहेको बताएका छन् । भारत र बेलायतले एउटा खुला व्यापार सम्झौता गर्न खोजिरहेका छन् ।

    युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेलले साझा चुनौतीसँग जुझ्ने एक मात्र बाटो सहकार्य रहेको बताए ।

    आइरिस प्रधानमन्त्री माइकल मार्टिनले आफ्ना टापुहरू र विश्वभर सामना गरिएका महत्वपूर्ण मुद्दामा नवनियुक्त प्रधानमन्त्री सुनकसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका छन् ।

  • लक्ष्मीपूजाको दिन विद्युत्‌को उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

    लक्ष्मीपूजाको दिन विद्युत्‌को उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

    काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन विद्युत्‌को पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ।

    नेपाल विद्युत् प्राधिकरणले यसवर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युत्‌गृहरुबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरुबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो। बिनाअवरोध देशभरी विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ।

    विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ। प्राधिकरणले यसवर्ष लक्ष्मीपूजाको पिक डिमाण्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन। कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ।

    यसवर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री गरिरहेको छ।

    ‘विगतमा लोडसेडिङ हुँदा लक्ष्मीपूजाको दिनको विद्युत् खपतलाई पिक डिमाण्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरु बेला नै पिक डिमाण्ड आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘तिहारमा उद्योग कलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन् फेरी तराईमा गर्मी छैन र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकोले अहिले विद्युत् माग नआउने समय हो।’

    प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमाण्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो। देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यासहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमाण्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ। यसवर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३४२ मेगावाट छ। गत वर्ष ३२०.६४ मेगावाट थियो।

    प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो। प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।

  • आज सुर्य ग्रहण, के छ मान्यता ?

    आज सुर्य ग्रहण, के छ मान्यता ?

    काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए 
    करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ ।
    शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ |
    ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए ।
    ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ  
    ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

  • कार्तिक कृष्ण औँसी : आज गाईतिहार

    कार्तिक कृष्ण औँसी : आज गाईतिहार

    काठमाडौं । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ।

    विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ।

    सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटमा औँसी लागेको हो। मंगलबार २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म औँसी रहने पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। ।

    वनजंगलका ‌औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ।

    गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ। यस्तै​गाईदानको ठूलो महत्त्व छ। देवकार्य वा पितृकार्य गर्दा गाेदान नगरी शुद्ध भएको मानिँदैन।​

    कृषिकर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिन्छ।

    श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र(डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी गर्न सहज हुने लोकविश्वास छ।

  • रसुवागढी नाकाबाट भित्रियो साढे ५ अर्बको सामान, १५० विद्युतीय गाडी जाँसपास हुन बाँकी

    रसुवागढी नाकाबाट भित्रियो साढे ५ अर्बको सामान, १५० विद्युतीय गाडी जाँसपास हुन बाँकी

    रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहार लागि आयात भएका स्याउ, ओखर, किवी स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले त्यस्ता सामग्री सकभर आयात आएकै दिन जाँचपास गराउन भन्सार प्रशासन अग्रसर भएको हो ।

    प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनबाट आयात भएका सामग्री परीक्षण एवं नियमानुसार भन्सार शुल्क कायम गराउन पर्याप्त जाँचकी परिचालन गरिएको र फलफूललगायत कुहिने चीज राजमार्गमै र अन्य सामग्री खोला बगरमा रहेको आफ्नै कम्पाउण्डबाट छिटोछरितो परीक्षण भइरहेको छ ।

    तिहारलाई केन्द्रित गरी गत असोज २५ देखि कात्तिक ५ गतेसम्म रसुवागढी नाकाबाट चिनियाँ ठूला टिपरमार्फत दाँतेओखर १९ टिप, स्याउ ३० तीस टिप, स्याउपाती एवं किवीचार/ चार टिप आयात भएको सीमा क्षेत्रका सुरक्षाकर्मीले जनाएका छन् ।

    प्रसादको रूपमा चढाइने र मानिस बिरामीलाई उपभोग गराउन महत्वपूण मानिनेस्याउको माग आपूर्ति सहज बनाउन नेपाली व्यवसायीले गरेको लगानी आम उपभोक्ता सामु हितकारी बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन्।

    रसुवागढी आइपुग्दा फुजी स्याउको मूल्य प्रतिकेजीरू ७५/र अन्य जातका स्याउ प्रतिकेजी रू ५५ पर्ने भन्सार कर्मचारी बताउँछन् । स्याउजस्ता फलफूलको भन्सार दस्तुर प्रतिट्रकको हिसाबले मात्र शुल्क लिने गरिएको बताइएको छ । वर्षायाममा सडक मार्ग अवरूद्व हुने र हावा नपस्ने कन्टेनर डिब्बामा राखिएको स्याउ पाँच/ सात दिन सडकमै रोकिनुपर्ने अवस्था आए कुहिएर नोक्सान हुने विगतको समस्यालाई मनन गरी वर्षा रोकिए लगत्तै फलफूल आयात गर्न थालिएको हो ।

    नेपाली बजारको मागका आधारमा व्यापारीले फलफूलका साथै महिला तथा पुरुष एवं बालबालिकाका लागि विविध तयारी पोसाक रसुवागढी नाकाबाटै आयात हुने गरेको भन्सार अधिकृत रेशम खड्का बताउँछन् ।

    टिमुरेस्थित रसुवा भन्सार कार्यालयले दिएको विवरणअनुसार पुरूषका लागि ज्याकेट ,पञ्जा, टोपी, टाउजर, पाइन्ट सुरूवाल तथा महिलाका लागि ब्रा, पेन्टी, टिसर्ट ,सुइटर, बच्चाका लागि बेविसेटजस्ता दर्जनौँ विविध तयारी पोसाकसमेत आयात गर्ने गरिएकोे व्यवसायी धर्म पौडेल जानकारी दिए ।

    उनका अनुसार उपभोक्ताको चाहना, खपतको आँकलन, मूल्यको अवस्थासमेतलाई मध्यनजर गर्दै आयात गर्नका लागि अनुमति प्राप्त नेपाली व्यवसायी फर्मले चिनियाँ उत्पादक कम्पनीसँग सामग्री माग गर्ने गरेका छन् । यस्तै चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म रसुवागढी नाकामा हालसम्मको मूल्याङ्कनअनुसार कुल रु ५ अर्ब ६६ करोड ३० लाख ८३ हजार बराबरको आयात भएको देखाएको छ ।

    व्यापार व्यावसायीले मगाएको १५० भन्दाबढी विद्युतीय सवारीसाधन जाँसपास हुन बाँकी रहेको र ती सवारी साधनबाट प्राप्त हुने राजस्व भने जाँचपासपछि मात्र दाखिला हुने भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारी जानकारी दिए । राजस्व बुझाउन आयातकर्ता अनुपस्थित रहेका कारण डोजर, कार, स्कुलबसलगायत सवारीसाधन भन्सार हातामा थन्किएको छ ।

    गत साउनदेखि असोज मसान्तसम्म कूल रु एक अर्ब ४८ करोड ९९ लाख ८७ हजार राजस्व दाखिला भएको प्रमुख भन्सार अधिकृत भण्डारी उल्लेख गरे । जाँचपास हुन नसकी टिमुरेदेखि रसुवागढीसम्म ठाउँ–ठाउँमा रोकिएका सबै सामग्री सिमा प्रहरी टिमुरेलगायत सुरक्षा अङ्गले रेखदेख सुरक्षा गरिरहेको सिमा प्रहरी प्रमुख गम्भीरजङ्ग थापा बताउँछन् ।

    साउनदेखि हालसम्म ८४८ कन्टेनरबाट विविध सामग्री नेपाल भित्रिएको छ । विगतमा कोरोना सङ्क्रमणका कारण आर्थिक मन्दिमा परेका सबै ट्रक तथा कन्टेनर व्यवसायी अहिले चलायमान भइसकेका छन् ।

    आयात भएका सामग्रीमा स्याउ, ओखर रेडिमेट कपडाका साथै हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा , मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको जनाइएको छ ।

  • गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन वरिष्ठ नेता पौडेलको आग्रह

    गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन वरिष्ठ नेता पौडेलको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षसम्म सङ्घर्ष गरेर स्थापना गरिएको लोकतन्त्र र संविधानमाथि प्रहार भएकाले त्यसको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले आफूहरुको गठबन्धन सही र वस्तुनिष्ठ रहेको बताए ।

    देशको भविष्य बचाउँदै परिवर्तनको रक्षाका लागि, शान्ति र समृद्धिका लागि हामीहरु एक ठाँउमा उभिएको उल्लेख गर्दै उहाँले सुशासन, प्रगति र लोकतन्त्रको पक्षमा उभिएकाले वाम लोकतान्त्रिक गठबन्धन एजेण्डासहित अगाडि बढेको स्पष्ट पारे ।

    राष्ट्रको प्रतिभा र श्रम शक्तिलाई देशभित्रै राख्ने एजेण्डासहित आफूले निर्वाचन लडेको जानकारी दिँदै उनले भने, “देशको अवस्था बदल्नका लागि हामी एक ठाँउमा उभिएका छौँ । राष्ट्र अगाडि बढ्ने बाटो प्रष्ट पारेर अगाडि बढेका छौँ ।”

    उच्च मनोबलका साथ जनताका घर दैलोमा जान उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । वरिष्ठ नेता पौडेलले गठबन्धनका तर्फबाट उठाइएका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । उनले नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका उम्मेदवार नभनी गठबन्धनको उम्मेदवार भन्ने ठानेर एक अर्कालाई विजयी गराउन आग्रह गरे ।

  • कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित

    कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुन: स्थगित गरेको छ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज (सोमबार) सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताएका छन्।

    आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि स्थगित गरिएको थियो। सोमबार बिहान १०:३० बजे घोषणा पत्र सार्वजनिक गर्ने भने पनि आज पनि घोषणा पत्र सार्वजनिक नहुने भएको छ।

  • नेपालमा ओमिक्रोनको सव–भेरियन्ट भेटियो, सचेत रहन आग्रह

    नेपालमा ओमिक्रोनको सव–भेरियन्ट भेटियो, सचेत रहन आग्रह

    काठमाडौं । नेपालमा कोरोना भाइरस ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी)का संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत् पहिलोपटक यो भेरियन्ट फेला परेको जनाएको छ ।

    विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो । यही क्रममा एक्सबीबी सव–भेरियन्ट पहिचान भएको मन्त्रालयले जनाएको छ ।

    विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले यो भेरियन्ट विभिन्न देशहरूमा समेत फैलिरहेको र कोभिड-१९ को संक्रमण बढेको सन्दर्भमा मास्कको उचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न गराउन सचेतसँगै अनुरोध गराएको छ ।

  • लक्ष्मीपूजा : साँझ दीपावली गरी घरघरमा धनधान्यकी देवी लक्ष्मीलाई भित्र्याइँदै

    लक्ष्मीपूजा : साँझ दीपावली गरी घरघरमा धनधान्यकी देवी लक्ष्मीलाई भित्र्याइँदै

    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावली तथा लक्ष्मीपुजा गरिँदैछ ।

    आज घरको आँगन तथा पिँढी गाइको गोबरले लिपेर सफा बनाइन्छ । त्यस्तै घरका झ्याल ढोका तथा साथै पानी सार्न प्रयोगगर्ने गाग्री लोटा सयपत्री फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

    त्यस्तै आज साँझ घरको मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको पाइला बनाउने तथा झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।

    दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ ।

    लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने मान्यता छ । घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।