Category: फिचर

  • कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

    कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

    काठमाडौं । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ।

    कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।

    घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ। काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ।

  • प्राधिकरणका आधादर्जन चार्जिङ स्टेशन निर्माण पूरा, गाडी चार्ज गर्न जाँदा यी काम गर्नुपर्ने

    प्राधिकरणका आधादर्जन चार्जिङ स्टेशन निर्माण पूरा, गाडी चार्ज गर्न जाँदा यी काम गर्नुपर्ने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण निर्माण थालेको ५० वटा चार्जिङ नेटवर्क क्रमिक रूपमा निर्माण सम्पन्न हुँदै गएका छन् । हालसम्म आधादर्जन चार्जिङ स्टेशन निर्माण सम्पन्न भएका छन् भने अन्य निर्माणाधीन अवस्थामा छन् ।

    प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेशन संचालनमा ल्याइसकेको छ । त्यस्तै, काठमाडौंको बल्खु र उपत्यकाबाहिर
    चितवन बसपार्क, बर्दिवास, बनेपा, खुर्कोट जस्ता स्थानमा पनि निर्माणको काम सकिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनी वाङबाङ डिजिटल इनर्जीलाई निर्माणको जिम्मा दिएको थियो । अहिले धमाधम नेटवर्क निर्माणको काम भइरहेको छ ।

    प्राधिकरणले निर्माण सुरू गरेको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस २.० गन भएको डीसी फास्ट र जीबी/टी गन भएको ६० किलोवाट क्षमताको डीसी फास्ट चार्जर नै राखिएको छ । साथै, २२ किलोवाट क्षमताको एसी चार्जर पनि उपलब्ध छ ।

    जीबी/टी गन सुरूमा नै जडान भएको भए पनि सीसीएस २ गन भने केही दिनअघि मात्रै जडान भएको हो । रत्नपार्कमा रहेको चार्जिङ सेन्टरमा सीसीएस २ चार्जर जडान भएपछि प्राधिकरण चार्जिङ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्टका प्रमुख सागरमणी ज्ञावालीले सबै किसिमका गाडी चार्ज गर्न सकिने जानकारी दिएका हुन् ।

    ज्ञावालीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘रत्नपार्कमा सीसीएस २ चार्जरमा डीसी चार्ज गर्न आउन सक्नुहुन्छ । त्यसको लागि केही काम गर्नुपर्छ ।’

    ज्ञावालीका अनुसार गाडी चार्ज गर्न आउने मानिसले सबैभन्दा पहिला एप स्टोरबाट ‘एनइए चार्जर’ नामको एप डाउनलोड गरी आफ्नो एकाउन्ट बनाउनु पर्छ ।

    एकाउन्ट बनाएपछि तपाईंले खल्ती एप चलाउन भएको छैन भने त्यसको पनि एप डाउन लोड गरी आफ्नो एकाउन्ट बनाउनु पर्छ । त्यही खल्ती एप मार्फत अहिलेलाई क्यूआर कोड स्क्यान गरेर चार्ज गरेको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । अहिले खल्ती मात्रै जोडिएको भए पनि निकट भविष्यमा नै अन्य पेमेन्ट गेटवेहरू जोडिने छन् ।

    साथै, ज्ञवालीले यो प्रक्रिया पूरा गरेपछि ४ जनाको नाम र मोबाइल नम्बर दिएका छन् । जसमा शिव अधिकारी ९८५११४२४४६, सजित पौडेल ९८४१२०१८२६, आशा खनाल ९८६५३६६७७० र दीपक लामिछाने ९८५१००१६९२ मा कल गरेर जान सकिने उल्लेख गरेका छन् ।

  • तिहारको अन्तिम कारोबार:दोहोरो अंकले बढ्यो बजार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    तिहारको अन्तिम कारोबार:दोहोरो अंकले बढ्यो बजार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजारको ओरालो यात्रा रोकिएको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२१ कम्पनीको ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँ बराबरको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । विहीवार ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँ बराबरको कारोबार भएको थियो । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.२२ प्रतिशतले बढेको छ ।

    सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैयाँ पुगेको छ । भने रु रु जलविद्युत्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड १’ को ७.८०, जनउत्थान लघुवित्त ४.१४, किसान लघुवित्त ४.०४, मिथिला लघुवित्त, सानिमा बैंक, अपर हेवाखोला र नेशनल हाइड्रोपावरको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज सिटिजन म्युचुलअल फण्ड २ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज पाँच करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ । नविल बैंकको ३ करोड ३८ लाख र नेपाल बैंकको ३ करोड २० लाखको कारोबार भएको छ ।

    तिहारअघि शेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो ।

    भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ।

    अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ।

  • सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

    सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

    १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

    लामिछानेलाई म्याद थपका लागि आइतवार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।

    दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। गत बुधबार उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

    नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो तेस्रो पटक म्याद थपिएको हो।

    पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो।

    असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

    विमानस्थलबाट उत्रिने वित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीको जिम्मा लगाएको थियो। त्यसपछि विमानस्थल प्रहरीले महानगरीय प्रहरी वृत गौशालालाई बुझाएको हो।

    भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।

  • चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई निकालेको दृष्य सार्वजनिक

    चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई निकालेको दृष्य सार्वजनिक

    काठमाडौं । चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट बाहिर निकालिएको दृष्य सार्वजनिक भएको छ ।
    राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका ७९ वर्षीय नेता निकै कमजोर देखिएका थिए। अधिकारीहरूले उनी बसेको ठाउँमा पुगेर हुलाई बाहिर निकालेको भए पनि त्यसको कारणबारे खुलाइएको छैन। प्रत्येक पाँच वर्षमा राजधानी बेइजिङमा हुने अधिवेशनले सीलाई माओ त्सेतुङपछिका सबैभन्दा शक्तिशाली नेताको रूपमा स्थापित गरेको बीबीसीले लेखेको छ ।

    सन् २००३ देखि २०१३ बीचमा चीनको राष्ट्रपति रहेका हु जिन्ताओलाई अधिकारीहरूले मञ्चबाट बाहिर लैजाँदै गर्दा उनले राष्ट्रपति सीलाई केही भनेका थिए। प्रतिक्रियामा राष्ट्रपति सीले टाउको हल्लाएर सहमति जनाएको देखिन्छ। त्यसपछि हुलाई अधिकारीहरूले कुम समातेर डोहोर्‍याउँदै ग्रेट हल अफ द पीपलबाट बाहिर लगेका थिए ।

    उनी बाहिरिनुको कारणबारे विशेषतः दुई किसिमका अनुमान गरिएको छ। चीनमा जारी शक्ति सङ्घर्षको विषय सतहमै आएको हुनसक्ने वा उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या भएको हुनसक्ने ठानिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनले शनिवार २०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।

  • प्रधानमन्त्री देउवासँग नवनियुक्त अमेरिकी राजदूतको पहिलो भेट

    प्रधानमन्त्री देउवासँग नवनियुक्त अमेरिकी राजदूतको पहिलो भेट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उनले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाएका छन् ।

    सो भेटवार्तामा दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको लामो इतिहास स्मरण गर्दै विविध मुद्दामा थप साझेदारी गर्न पहल गर्ने राजदूत थम्पसनले प्रतिबद्धता जनाएका छन् । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग समेत शिष्टाचार भेट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो क्रममा नेपाल–अमेरिका र विश्व समुदायका महत्त्वपूर्ण मुद्दामा थप सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको मन्त्रालयको भनाई छ ।

  • विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा, भारत र पाकिस्तान भिड्दै

    विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा, भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी–२० विश्वकप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दैछन् । क्रिकेटमा यी दुई बीचको खेल केवल खेलका रुपमा मात्र रहँदैन, यसले विश्वभर दुई खेमा सिर्जना गर्छ । मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने अनुमानका बीच दुई टीम पहिलो खेल आफ्नो पक्षमा पार्ने तयारीमा छन् । भारत र पाकिस्तानबीचको खेल हुने समयमा ७०–८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको छ ।

    यी दुई टोलीबीच गत वर्ष युएईमा भएको टी–२० विश्वकपमा पाकिस्तानले पहिलोपटक भारतलाई दश विकेट हराएको थियो। अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० खेलमा भारत र पाकिस्तानले एकआपसमा ११ खेल खेलेका छन् । जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेको छ । एक खेल टाई भएको छ । पाकिस्तानले भारतलाई एकदिवसीय विश्वकपमा हराउन सकेको छैन।

  • दाङमा बबई नदीमा दुई किशोरी वेपत्ता, खोजी जारी

    दाङमा बबई नदीमा दुई किशोरी वेपत्ता, खोजी जारी

    दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    खोजी अभियान शनिबारबाटै थालिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरेका थिए । तर रात परेपछि उनीहरूको खोजि गर्न नसकिएको र आइतबार पुनः खोजी थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बबई नदी गहिरो छ ।

  • शुरु भयो नेपालीको दोस्रो महान चाड तिहार, आज काग तिहार

    शुरु भयो नेपालीको दोस्रो महान चाड तिहार, आज काग तिहार

    काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व शुरु भएको छ । आज काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो ।

    लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।

    यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । काग तिहारको अवसरमा आज काठमाडौंमा काग सम्मेलन आयोजना गरिएको छ । आज शान्तिबाटिकामा १९औं काग सम्मेलनको आयोजना गरिएको छ ।

    दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

    यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ ।

    शनिबार नै कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले बेलुकी यमदीपदान सुरु गरिएको थियो । त्रयोदशी तिथि आज आइतबार बेलुकी ५ :०४ बजेसम्म छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । आज बेलुकी ५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु भएको हो ।

    धनवन्तरी जयन्ती पनि आजै परेको छ । धनत्रयोदशी ९धनतेरस० भने शनिबार नै मनाइएको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । सोही दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्नेछ ।

    गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म ९म्ह० पूजा कात्तिक ९ गते बुधबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।

    तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।

  • आगामी निर्वाचनमा कस्तो बन्दैछ मतपत्र ?

    आगामी निर्वाचनमा कस्तो बन्दैछ मतपत्र ?

    काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ्ग सेतो रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ । त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ्ग रातो मसिको रहेको छ । निर्वाचन आयोगले शुक्रबारसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरेको छ ।

    तिहारअघि थप छ वटा जिल्लाको मतपत्र ढुवानी गरिनेछ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुनेछ । पछिल्लो विवण अनुसार हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । जसमध्ये प्रदेश सभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधि सभातर्फ ७५ लाख ९९ हजार मतपत्र छन् ।

    हालसम्म प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोप्पा, प्यूठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिमलगायतका जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ ।

  • चीनमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन

    चीनमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि छनोट भएका छन् । बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो आइतबार बस्दै छ ।

    महाधिवेशनले शक्तिशाली पोलिटब्युरो स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा गरेको छ । दोस्रो वरियताका प्रधानमन्त्री ली र जन कांग्रेसका अध्यक्ष समेत रहेका तेस्रो वरियताका चान्सु बिदा भएका छन् । अधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ । चिनियाँ विशेषता अनुसारको चिनियाँ समाजवाद सम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ ।

  • टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने

    टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने

    काठमाडौं । टिकटकले लाइभमा बस्ने प्रयोगकर्ताको उमेर आगामी महिनादेखि १८ वर्ष भएको हुनुपर्ने बनाउन लागेको छ। अहिलेसम्म १६ वर्षका प्रयोगकर्ताहरूले पनि टिकटक लाइभ गर्न पाउँछन्। बीबीसीका अनुसार एक अनुसन्धानमा सिरियाका शरणार्थी शिविरहरूबाट बालबालिकाको प्रयोग गरेर सहयोग माग्न सयौँ प्रयोगकर्ताहरू लाइभमा बस्ने गरेको पाइएको छ ।

    तीमध्ये कतिपयले एक घण्टामै १,००० डलरसम्म सहयोग पाउने गरेको तर त्यसलाई नगदमा रूपान्तरण गरेर उनीहरूले पैसा निकाल्दा टिकटकले ७० प्रतिशतसम्म लिने गरेको पाइएको समेत बीबीसीको भनाई छ । निकट भविष्यमा वयस्कहरूले मात्रै अभौतिक उपहार लिन मिल्ने र टिकटकको मनिटाइजेशन फीचरमा पहुँच पाउने टिकटकले जनाएको छ। आगामी साताहरूबाटै उसले प्रयोगकर्ताहरूलाई वयस्कले मात्रै लाइभ गर्न दिने जनाएको छ।

    यद्यपि टिकटकले कसरी उमेरका आधारमा रोक लगाउने कदम कार्यान्वयन गर्छ भन्ने अझै स्पष्ट छैन। फेसबुक र इन्स्टाग्रामको स्वामित्व लिएको मेटा र यूट्यूबको स्वामित्व भएको गुगलले लाइभस्ट्रीमिङका लागि न्यूनतम उमेर १३ वर्ष तोकेका छन्।


    उनीहरूले प्रयोगकर्ताहरूलाई पनि आफूले अप्लोड गर्ने सामग्री निश्चित उमेर पूरा भएकाले मात्रै हेर्न मिल्ने बनाउन सकिने सुविधा दिएका छन्। बीबीसी ग्लोबल डिस्इन्फर्मेशन यूनिट, बीबीसी न्यूज अरेबिक र बीबीसी आई इन्भेस्टिगेशन्सले उत्तरपश्चिमी सिरियाबाट लाइभमा आउने ३०० भन्दा बढी टिकटक प्रयोगकर्तालाई पाँच महिनासम्म पछ्याएको थियो।

    टिकटकको नियमले कसैलाई पनि उपहारको लागि याचना गर्न रोक लगाएको छ भने नाबालकहरूलाई शोषण गर्न, हानिि पुर्‍याउन र खतरा पुर्‍याउन नहुने उल्लेख गरेको छ। टिकटकले बालबालिकाको सुरक्षासम्बन्धी उसका नीति कत्तिको कडाइका साथ लागु गराउँछ भनेर परीक्षण गर्न बीबीसीले उसकै एपका फीचरको प्रयोग गरेर बालबालिकालाई माग्न राखिएका ३० वटा खाताविरुद्ध रिपोर्ट गर्‍यो। त्यतिखेर टिकटकले ती खाताले कुनै नियम उल्लङ्घन नगरेको जनायो।

    बीबीसीको एक अनुसन्धानका अनुसार सहयोगस्वरूप दिइएको रकमको ७० प्रतिशत टिकटकले नै राख्ने गरेको छ । टिकटकले यस्तो प्रकृतिका सामग्रीहरूलाई आफ्नो एपमा अनुमति नदिइएको र डिजिटल उपहारबाट उसले लिने कमिशन ७० प्रतिशतभन्दा निकै कम रहेको दाबी गरेको छ। तर उसले लिने कमिशन कति प्रतिशत हो भन्नेबारे टिकटकले खुलाएको छैन।

  • स्पेनी राजा नेपाल भ्रमणमा आउन इच्छुक

    स्पेनी राजा नेपाल भ्रमणमा आउन इच्छुक

    काठमाडौं । स्पेनका राजा फिलिपे छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गरेका छन्। स्पेनका लागि नेपाली राजदूतका रूपमा नियुक्त शर्मिला पराजुली ढकालको ओहोदाको प्रमाणपत्र ग्रहणका क्रममा स्पेनी राजाले यसअघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना गरेको बताए। भेटका क्रममा स्पेनी राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै राजदूत ढकालको कार्यकालमा दुई देशबीच परस्परको सहकार्य र सहयोगका आधारमा सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरे।

    राजदूत ढकालले नेपालमा कोभिड संकटका बेला युरोपियन युनियनका देशमध्ये शुरुवाती चरणमा नै स्पेनबाट मानवीय सहायता प्राप्त भएको भन्दै आभार प्रकट गरिन्। उनले दुई देशबीचको सम्बन्ध विस्तारमा आफ्नो योजना तथा कार्यक्रमबारे राजालाई जानकारी गराएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ। भेटका क्रममा राजासँगै त्यहाँका परराष्ट्र सचिव, अन्य विशिष्ट अधिकारीहरुको सहभागी रहेको दूतावासले उल्लेख गरेको छ। राजदूत ढकालले यसअघि ओमनको राजदूतका रुपमा कार्यकाल सम्हालिसकेकी छन्।

  • कांग्रेस महामन्त्री शर्मा किन परे आयोगको स्पष्टीकरणमा ?

    कांग्रेस महामन्त्री शर्मा किन परे आयोगको स्पष्टीकरणमा ?

    काठमाडौं । कांग्रेसका महामन्त्री तथा झापा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्मा स्पष्टीकरणमा परेका छन् । उनलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । झापास्थित आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख पचास हजार रुपैयाँ रकम निरौलाको परिवारलाई हस्तान्तरण गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले शर्मालाई स्पष्टिकरण मागेको हो।

    ‘विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोष्ट गरेको श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंले गर्नुभएको होइन भनी भन्न सकिने कुनै आधार नदेखिएकाले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगले सोधेको छ।


    निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ को (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षलाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ। स्प्ष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंबाट रकम हस्तान्तरण भएको बारे के कसो भएका हो रु यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारवाही गर्न नपर्ने हो ?’

  • गठबन्धनका शीर्ष नेता आज जनकपुर पुग्दै

    गठबन्धनका शीर्ष नेता आज जनकपुर पुग्दै

    जनकपुर । सत्ता गठबन्धनका नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन आह्वान गर्दै आज जनकपुर पुग्दैछन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्षनेताहरू आज मधेश प्रदेशको राजधानी जनकपुरधाम जाने भएका हुन् । गठबन्धनमा आबद्ध दलका मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम जान लागेका हुन् ।

    कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

  • काठमाडौंमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

    काठमाडौंमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

    काठमाडौं । तिहारमा राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न काठमाडौं प्रहरीले सर्वसाधारणलाई सूचित गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि पनि हुन सक्ने भएकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरिएको बताएका छन् । अवाञ्छित क्रियाकलाप भएको जस्तो लागेमा तत्कालै प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ ।

    प्रहरीले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेको देखेमा वा पटाका पड्काएमा पनि तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ ९पटाका० सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ । मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौंवासीलाई आग्रह गरेको छ । छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबायाँ जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।

    यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ । तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्वीर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।

  • अमेरिकी राजदूत थम्पसनले बुझाए ओहदाको प्रमाणपत्र

    अमेरिकी राजदूत थम्पसनले बुझाए ओहदाको प्रमाणपत्र

    काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

    राजदूत थम्पसनले नेपालका लागि राजदूतका रुपमा काम गर्न पाउनु सम्मानको विषय भएको बताका छन् । ‘अमेरिका नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्लो ७५ वर्षका उपलब्धीलाई उछिन्नेछ भन्ने सुनिश्चित गर्न म नेपालको नेतृत्व र जनतासँग सहकार्य गर्न उत्सुक छु’, उनलाई उधृत गर्दै अमेरिकी दूतावासले भनेको छ ।

  • रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी अदालतबाटै खारेज, विष्णु पौडेललाई सहज

    रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी अदालतबाटै खारेज, विष्णु पौडेललाई सहज

    काठमाडौं । रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रारम्भिक दृष्टिकोण दिएको हो ।

    ‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो’, आदेशमा भनिएको छ, ‘कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।’

    यसअघि रुपन्देही-२ का निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएका थिए । निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

    दुबै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ ९ज० मा कालोसूचीमा रहेको व्यक्ति त्यस अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

    सर्वोच्च अदालतको यो आदेशसँगै रुपन्देही–२ मा सत्तारुढ गठबन्धनको उम्मेदवारविना नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसले एमाले उम्मेदवार एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सहज बनाएको छ । अब निर्वाचन आयोगलाई रुपन्देही–२ मा मतपत्र डिजाइन र छपाइको बाटो खुल्नेछ ।

  • ‘एक–आपसमा भ्रमले बढी क्षति हामीलाई नै हुन्छ, गठबन्धनभित्र शंका–उपशंका पैदा नगरौं’

    ‘एक–आपसमा भ्रमले बढी क्षति हामीलाई नै हुन्छ, गठबन्धनभित्र शंका–उपशंका पैदा नगरौं’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको बताएका छन् ।

    शुक्रबार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमा प्रधानमन्त्री देउवाले गठबन्धन संविधान रक्षाका लागि आजको आवश्कता रहेको दाबी गरेका हुन् ।

    देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उल्लेख गरे । गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने बताउँदै उनले एक–आपसमा शंका र बेइमानी गर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने भन्दै सचेत गराए ।

    ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं,’ दउवाले भने ।

    हिजोको राजनीतिक परिस्थितलाइ लिएर गठबन्धनमा शंका हुने कुरा नगर्न पनि उनले आग्रह गरे। ‘राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएका हुन्छन् । हिजोका लडाइँका कारण होलान्, ती बितेका कुरा भए । राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने, बिसाउनुपर्ने हुन सक्छ । अहिलेको प्राप्ति सबैको जित हो।’

    टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्तालाई धैर्य गर्न पनि देउवाले अनुरोध गरे । आफूले टिकट नपाएपनि गठबन्धनका उम्मेदवारलाई जिताए आगामी सरकार गठबन्धनकै हुने र विभिन्न ठाउँमा जिम्मेवारी दिन सकिने प्रधानमन्त्रीको धारणा थियो ।

    ‘ हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भनेका छन्, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन्,’ उनले भने ।

  • पोखराबाट गठबन्धनका प्रमुख नेताको एकै स्वर-‘दायाँ बायाँ नगरौं, गठबन्धनमा भोट हालौं’

    पोखराबाट गठबन्धनका प्रमुख नेताको एकै स्वर-‘दायाँ बायाँ नगरौं, गठबन्धनमा भोट हालौं’

    पोखरा। सत्तारुढ गठबन्धनले तेश्रो संयुक्त प्रशिक्षण कार्यक्रम पोखरामा गरेका छन् । तीन दलको चुनावी अभियान तीव्रतामा अगाडि बढिरहेको बेला आज शुक्रबार पोखरामा गण्डकी प्रदेश स्तरिय कार्यक्रम गरेका हुन् । यसअघि काठमाडौंको निर्वाचन क्षेत्र नं २, ललितपुरको क्षेत्र नं ३ मा संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता पोखरा पुगेका छन्।

    प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका छन्।

    देउवा बिहीबार नै पोखरा पुगिसकेका थिए भने प्रचण्ड र माधव नेपाल शुक्रबार मात्रै पोखरा पुगेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उनले भने, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’

    देउवाले अगाडि भने ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भनेका छन्, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’

    कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने– ‘हसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, उनले भने, ‘गठबन्धन गर्दा नै सबै चिनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

    संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए । ‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’

  • ३५ प्रतिशत घट्यो निर्यात, गलैँचा,अलैंची, मञ्जन लगायतको मागमा कमि

    ३५ प्रतिशत घट्यो निर्यात, गलैँचा,अलैंची, मञ्जन लगायतको मागमा कमि

    काठमाडौं । दुई महिनामा कूल वस्तु निर्यात ३४.९ प्रतिशतले घटेको छ।

    नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

    दुई महिनाको अवधिमा वस्तु निर्यात २८ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो।

    गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमि आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३.२ प्रतिशतले वद्धि भएको छ। वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधि (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको छ।

    यता, आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कूल वस्तु आयात १३.० प्रतिशतले कमि २७३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो।

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत, १३.३ प्रतिशत र २०.७ प्रतिशतले कमि आएको छ।

    वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाईजहाज तथा स्पेयर पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपूर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एमएस विलेट लगायतका वस्तुको आयात घटेको छ।

  • रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

    रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

    काठमाडौं । नेपालमा पछिल्लो दुई महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको हो । उक्त तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएर १ खर्ब ८७ अर्ब ४ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो ।

    अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले वृद्धि भएर १ अर्ब ४७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारमा जानको संख्या बढेको कारण रेमिट्यान्स बढेको हो ।

    राष्ट्र बैंकका अनुसार पछिल्लो दुई महिनामा वैदेशिक रोजगारमा जनेको संख्या १६९.९ प्रतिशतले बढेको छ । दुई महिनामा १ लाख ३ हजार ८९८ जनाले स्वीकृति लिएका छन् ।

  • विदेशी मुद्रा सञ्चिति निराशाजनक, ९ महिनाको आयात मात्र धान्ने

    विदेशी मुद्रा सञ्चिति निराशाजनक, ९ महिनाको आयात मात्र धान्ने

    काठमाडौं । विदेशी मुद्रा सञ्चिति निराशाजनक देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा आउँदा कूल विदेशी विनियम सञ्चिति घटेको छ। २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ।

    कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ भदौ मसान्तमा ०.५ प्रतिशतले कमी आई १०५१ अर्ब ५३ करोड कायम भएको छ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ भदौ मसान्तमा १३.७ प्रतिशतले कमी आई १३७ अर्ब ६३ करोड कायम भएको छ।

    भदौ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ।

  • निर्वाचनलाई चार अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गर्दै, कुन संस्थाले पाए अनुमति ?

    निर्वाचनलाई चार अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गर्दै, कुन संस्थाले पाए अनुमति ?

    काठमाडौं । आगामी आम निर्वाचनमा चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षणको अनुमती पाएका छन् । नेपालको आम निर्वाचन पर्यवेक्षण गर्न अनुमति लिएका चारवटा अन्तर्राष्ट्रिय संस्थामध्ये रुसी संस्था सिभिक च्याम्बर अफ रसियन फेडेरेसन समेत छ । निर्वाचन आयोगका अनुसार एशियन नेटवर्क फर फ्रि इलेक्सन्सबाट १५ जना, सार्क ह्युमन राइट्स फाउन्डेसनबाट ४ जना, सिभिक च्याम्बर अफ रसियन फेडेरेसनबाट ५ जना र सपोर्ट इनिसिएटिभ फर लिबर्टी एन्ड डेमोक्रेसीबाट ४ जनाले अनुमति पाएका छन् ।

    विसं २०६४ सालको संविधानसभा निर्वाचनमा ८०० जना देखि ९०० जनाको हाराहारीमा अन्तर्राष्ट्रिय पर्यवेक्षक नेपाल आएका थिए। नेपालमा पछिल्लो समय हरेक जसो निर्वाचन पर्यवेक्षण गर्दै आएका युरोपेली र अमेरिकी पर्यवेक्षकहरू आगामी महिना हुने निर्वचनको पर्यवेक्षणमा भने नआउने भएका छन्।

  • जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?

    जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?

    काठमाडौं । देशभर चिसो बढ्दा न्यूनतम तापक्रम समेत तल झर्ने क्रम जारी छ । पश्चिमी वायुको प्रभावले नेपालमा क्रमशः चिसो बढाइरहेको छ । जुम्लामा न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर नै केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेको छ । शुक्रबार पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ ।

    गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको समेत सम्भावना छ । जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस छ । जोमसोमको न्युनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्युनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा न्युनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस छ ।

  • भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?

    भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?

    नयाँ दिल्ली । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग आउन छाडेसँगै कम्पनीहरुले उत्पादन गरेको खोप नास हुन थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ। संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको जानकारी गराएको हो ।

    टाइम्स अफ इन्डियाले लेखे अनुसार पुनेमा जारी विकासशील देशका खोप उत्पादकको सञ्जालको वार्षिक सम्मेलनमा यस्तो जानकारी गराइएको हो । गत डिसेम्बरदेखि यो कम्पनीले कोभिसिल्ड नामको खोपको उत्पादन नै बन्द गरेको छ । ओमिक्रोन भेरियन्ट विरूद्धको खोप बनाउन अमेरिकाको नोभाभ्याक्ससँग सेरमले सहकार्य गरिरहेको छ ।

  • पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव

    पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव

    काठमाडौं । प्रतिबन्धित महंगा मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेका छन् ।
    बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले बताएका छन् । मदिराको आयात लामो समय लम्ब्याउँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे छलफल भएको समेत उनले बताए ।

    होटेल व्यवसायीले मदिराको आयात खुलाउने वातावरण बनाउन माग गर्दै आएका छन् । अहिले नेपालमा पर्यटकीय सिजन चलिरहेको छ । गत १३ वैशाखदेखि मदिरा लगायतका चार प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाइएको थियो । सरकारले पटक पटक गरी यो प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याइसकेको छ ।

  • सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण आज बुटवलमा

    सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण आज बुटवलमा

    बुटवल । सत्ता गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण आज बुटवलमा हुने भएको छ । लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा हुन लागेको हो । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

    दिउँसो २ बजेदेखि बुटवलको योगी कुटीमा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले सम्बोधन गर्नेछन् ।

    गठबन्धनको केन्द्रीय संयन्त्रले तोकेबमोजिम हुन लागेको निर्वाचन केन्द्रित प्रशिक्षणमा गठबन्धनमा आवद्ध दलका प्रदेशमा रहेका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारीको सहभागिता रहने छ । यसअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुले काठमाडौं र ललितपुरमा पनि यस्तै प्रशिक्षण कार्यक्रम आयोजना गरिसकेका छन् ।

  • बेलायतमा ४५ दिनमै ढल्यो नयाँ सरकार

    बेलायतमा ४५ दिनमै ढल्यो नयाँ सरकार

    लण्डन । बेलायतमा नयाँ सरकार ४५ दिनमै ढलेको छ । प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएसँगै सरकार ढलेको हो । बिहीबार साँझ उनले राजीनामा दिएको बीबीसीले जनाएको छ । उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएसँगै उनले पदत्याग गरेकी हुन् । आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन्। पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सको भनाई छ ।

    अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन्। बेलायतकी तेस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्ति भएकी छन्। बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन्। बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस ऋषि सुनकलाई हराएर कन्जरभेटिभ पार्टीकी नेता बनेकी थिइन्।

  • ६२ वर्षपछि श्रीलंकामा विदेशी कम्पनीलाई तेल बेच्न खुला

    ६२ वर्षपछि श्रीलंकामा विदेशी कम्पनीलाई तेल बेच्न खुला

    कोलोम्बो । श्रीलंकाको संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित गरेको छ ।

    यो कदमले सन् १९६० को दशकको सुरुमा तेल कम्पनीहरूको राष्ट्रियकरणपछि पहिलो पटक अन्तर्राष्ट्रिय तेल कम्पनीहरूलाई श्रीलंकामा पुनः प्रवेश गर्न मंगलबारको निर्णयले मार्ग प्रशस्त गरेको छ ।

    यद्यपि भारतीय आयल कर्पोरेसनले सन् २००३ देखि नै त्यहाँ इन्धन आपूर्तिका लागि अनुमति पाउँदै आएको थियो । निर्णय अनुसार इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अहिलेका लागि कम्तीमा एक बर्षको अनुमति प्रदान गर्नेछ ।

    ‘यसले विश्वव्यापी आपूर्तिकर्ताहरूलाई खुद्रा इन्धन वितरकका रूपमा प्रवेश गर्न अनुमति दिनेछ,’ ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले भने । यसले ऊर्जा क्षेत्रमा उदारीकरण गर्नेछ ।

    अधिकारीहरूका अनुसार निजी कम्पनीहरूले आफ्नै विदेशी विनिमय भण्डारबाट तेल आयातका लागि वित्तपोषण गर्नुपर्नेछ र आफ्नो मुनाफालाई कम्तिमा एक वर्षको लागि श्रीलंकामा नै राख्न सहमत हुनुपर्नेछ ।

    इन्धनको चरम अभाव र कडा वितरणको बाध्यकारी अवस्था भएको श्रीलंकामा इन्धन आयातका लागि सरकारसँग विदेशी मुद्रा अभाव रहेकाले नयाँ कानुन पारित गरिएको हो ।

    सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएयताको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलंकाले जुलाइमा अपदस्थ राष्ट्रपति गोटाबाया राजापाक्षको विरोधमा व्यापक विरोध प्रदर्शन गरेको थियो । आन्दोलनका कारण तत्कालिन राष्ट्रपति राजापाक्षले पदबाट राजिनामा दिनुपरेको थियो ।

    श्रीलंकाले सन् १९६० को दशकको सुरुमा विदेशी तेल कम्पनीहरूलाई राष्ट्रियकरण गरेको थियो र सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) लाई एकाधिकार सुम्पेको थियो ।

    सन् २००३ मा कोलम्बोले भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसनलाई स्थानीय खुद्रा बजारमा प्रवेश गर्न अनुमति दिएर सीमित प्रतिस्पर्धा सुरु गरेपछि सीपीसीको एकाधिकार समाप्त भएको थियो ।

    भारतीय कम्पनीको श्रीलंका शाखाले अहिले घरेलु इन्धन बजारको लगभग एक तिहाइ हिस्सा आफ्नो नियन्त्रणमा राखेको छ भने बाँकी हिस्सा सीपीसीको नियन्त्रणमा छ ।

    सीपीसीले ठूलो घाटा बेहोरिरहेको छ र नयाँ आयातका लागि भुक्तानी गर्न डलरको अभावको सामना गरिरहेको छ । एजेन्सी