Category: फिचर

  • ओलीको प्रश्न – ‘भोट खसालेको भोलिपल्टै मूल्यवृद्धिको डण्डा किन’ ?

    ओलीको प्रश्न – ‘भोट खसालेको भोलिपल्टै मूल्यवृद्धिको डण्डा किन’ ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप लगाएका छन्।

    सरकारको नीति तथा कार्यक्रमबारे बिहीबार बसेको संसद बैठकमा आफ्ना कुरा राख्दै उनले यस्तो बताएका हुन्।

    उनले एक हप्तामा दुईपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको बताउँदै समायोजन गर्ने नीति कहाँ गएको भन्दै प्रश्न गरे ।

    ‘यो गठबन्धन सरकारले जनतालाई चर्को मूल्यवृद्धिको मारमा पारेको छु, उनले भने, ‘अर्थतन्त्रलाई तहसनहस बनाएको छ। यो म्यादी सरकारले मनपरी मूल्य बढाएर जनतालाई सताएको छ।’

    ओलीले मतदान सकिएको एक दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गराएको बताए ।

    ‘३० गते भोट खसाल्ने बेलासम्म चुप लागेर बस्ने, भोलिपल्टै मूल्यबृद्धिको डण्डाले हानिदिने ?’ ओलीले भने, ‘त्यो पनि एक हप्ताभित्रै अर्को डण्डाले हानियो ।

    पेट्रोलियम पर्दामा भएको मूल्यबृद्धिको असर सबै क्षेत्रमा पर्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नेबित्तिकै हरेक बस्तुको मूल्य स्वभाविक रुपमा बढ्छ ।’

  • ‘छोरीलाई भोट नदिने चितवनका जनताले बोरामा हालेर मान्छे फालेको सम्झिएर थरथर काँपेर भोट हाले’

    ‘छोरीलाई भोट नदिने चितवनका जनताले बोरामा हालेर मान्छे फालेको सम्झिएर थरथर काँपेर भोट हाले’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काएपछि जितेको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले प्रचण्डले चितवनमा सत्ता गठबन्धन विजयी नभए देश दुर्घटनामा जाने भन्दै दिएको अभिव्यक्ति मतदातालाई धम्याउने कार्य भएको बताए ।

    ‘चुनावमा यदि जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काए’ ओलीले भने ‘त्यहाँका मान्छेले द्वन्द्वकाल सम्झिए, त्यही चितवनमा बोरामा हालेर मान्छे फालेको सम्झिए । अनि विदेश गएको सम्झिएर जनताले थरथर काँपेर भोट हाले ।’

  • टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना

    टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना

    टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेख्दै पूर्व सूचना दिएको अधिकारीहरूले खुलासा गरेका छन् । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको थियो ।

    टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार १९ जना बालबालिका र दुईजना शिक्षकलाई गोली प्रहार गर्नुअघि आक्रमणकारीले तीन वटा चेतावनी फेसबुकमा पोस्ट गरेका थिए। सुरुमा उनले आफ्नै हजुरआमालाई गोली हान्ने र पछि आफूले त्यसो गर्ने लेखेको याबटले बताएका छन्। त्यसपछि उनले एउटा एलिमेन्ट्री विद्यालयमा आक्रमण गर्न लागेको खुलासा गरेका थिए ।

    उक्त सन्देश ती बन्दुकधारी विद्यालय पुग्नुभन्दा १५ मिनेटअघि मात्रै पोस्ट गरिएको थियो । ती बन्दुकधारीले टेक्सस एलिमेन्ट्री स्कूलको एउटै कक्षा कोठामा १९ जना बालबालिका र दुई शिक्षकलाई गोली हानी हत्या गरेका छन् । उनले सबैलाई कोठामा थुनेका थिए। पछि उनलाई एक सीमारक्षक अधिकारीले गोली हानेर मारेका थिए। घटनामा कैयौँ बालबालिका घाइते भएका छन्। समाचारसंस्था एपीका अनुसार उक्त आक्रमण सुरु भएपछि नजिकै रहेका एक सीमारक्षक अधिकारी उक्त विद्यालय गए र ती युवकलाई गोली हानेर मारिदिए।

    घटना भएको युभाल्डी मेक्सिकोसँगको सीमाभन्दा ८० माइल पर छ। मङ्गलवारको घटनामा दुईजना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। बन्दुकधारी १८ वर्षका युवाले के कारण आक्रमण गरे भन्ने कुरा स्पष्ट हुन सकेको छैन। दश दिनअघि मात्रै न्यूयोर्क राज्यमा भएको हमलामा १० जनाको मृत्यु भएको थियो।

  • माओवादीले चुनाव जितेका जनप्रतिनिधिलाई गर्न हुने-नहुने कामबारे प्रशिक्षण दिने

    माओवादीले चुनाव जितेका जनप्रतिनिधिलाई गर्न हुने-नहुने कामबारे प्रशिक्षण दिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा उठेर जितेका जनप्रतिनिधिलाई गर्न हुने र नहुने कामबारे प्रशिक्षण दिने भएको छ । प्रशिक्षण कार्यक्रम जेठ १८ र १९ मा काठमाडौंमा राखिएको छ । यस कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई आमन्त्रण गरिएको छ । जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुख समेत कार्यक्रममा सहभागी हुन सक्ने छन् ।

    उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिने बताइएको छ । पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन निर्देशन दिनेछ । यसै समयमा जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका समेत जनप्रतिनिधिलाई दिइने छ । माओवादी स्थानीय तहमा तेस्रो पार्टी बनेको छ । अघिल्लो निर्वाचनको तुलनामा यस पटक उसको स्थानीय तह जितको संख्या बढेको छ ।

  • अब चार स्थानीय तहको मात्र नतिजा सार्वजनिक हुन बाँकी, काठमाडौंको कहिले होला ?

    अब चार स्थानीय तहको मात्र नतिजा सार्वजनिक हुन बाँकी, काठमाडौंको कहिले होला ?

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुन अब चार स्थानीय तह बाँकी छन् । बिहिबार बिहानको तथ्यांक अनुसार अहिलेसम्म ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। यसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा भने मतगणना सुरू नै भएको छैन।

    पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ। जनता समाजवादी चौथो स्थानमा छ । १ महानगर, १ उपमहानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौ स्थानमा छ। लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४,४ पालिकामा प्रमुख पद जितेका छन्।

    सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १, १ पालिकामा प्रमुख पद जितेका छन्। स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख पद हात पारेका छन्। अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरको त्रियुगा नगरपालिका छ। जहाँ नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ।

    बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ। जहाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ। बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ। यहाँ विवादका कारण अझै मतगणना सुरू हुन सकेको छैन।

  • आवको अन्तिममा सरकारी टोलीको धमाधम वैदेशिक भ्रमण, को-कहाँ जाँदै ?

    आवको अन्तिममा सरकारी टोलीको धमाधम वैदेशिक भ्रमण, को-कहाँ जाँदै ?

    काठमाडौं । सरकारले आर्थिक वर्षको अन्तिममा विभिन्न कार्यक्रममा सहभागी हुन जाने भ्रमण टोलीलाई अनुमती दिएको छ । जेठका लागि मात्र ५ वटा सरकारी टोलीको भ्रमण स्वीकृत भएको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार एउटा भर्चुअल बैठकको लागि टोली गठन गर्ने निर्णय भएको छ । १० जेठमा बसेको मन्त्रिपरिषद बैठकले संयुक्त राज्य अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरसिप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायब महान्यायाविधवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गरेको छ ।

    सरकारले संयुक्त राज्य अमेरिकाको हवाईस्थित मनोलोलुमा १८ देखि २० जेठ २०७९ सम्म आयोजना हुने कन्प्रिएन्सिभ सेक्युरिटी कोर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई पनि सहभागी हुन स्वीकृत प्रदान गरेको छ । १८ देखि २५ जेठ २०७९सम्म भारतमा आयोजना हुने हाईलेभल ‘नेपाल स्टडी मिसन टू इन्डिया अन राइट टू फूड एण्ड फूड सर्भिरेन्टी एक्ट’ कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय पनि भएको छ ।

    आगामी जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एण्ड नलेज सेयरिङ अन यूरोपियन कोअपरेटिभ सिस्टम एण्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एण्ड भिजिटेबल कोअपरेटिभ्स मार्केट डेभलपमेण्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने निर्णय पनि भएको छ ।

    रुवाण्डाको किगालीमा २३ गतेदेखि असार २ २०७९ गतेसम्म आयोजना हुने वर्ल्ड टेलिकम्युनिकेशन डेभलपमेण्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई स्वीकृत दिने निर्णय पनि गरिएको छ । ११ जेठ २०७९मा आयोजना हुने नेपाल(चीन कुटनीतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमबाट हुने १४ औं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि भएको छ ।

  • गौतमबुद्ध विमानस्थलमा वायुसेवा कम्पनीलाई विभिन्न शूल्कमा शतप्रतिशत छूट

    गौतमबुद्ध विमानस्थलमा वायुसेवा कम्पनीलाई विभिन्न शूल्कमा शतप्रतिशत छूट

    काठमाडौं । भैरहवामा हालै संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । प्राधिकरणका अनुसार यस विमानस्थलमा अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट हुने भएको हो । छुटको योजना १४ जेठबाट एक वर्षसम्म लागु हुने छ ।

    यसरी हुने शूल्क छूटका कारण अहिले यहाँ उडान गरिरहेको जजिरा एयरवेजले प्रति उडान १ लाख रुपैयाँसम्मको छूट पाउँछ । जजिरा एयरवेजको जहाजको तौल ७६ हजार किलो छ । विमानस्थलमा जहाजको तौलका आधारमा विश्राम, अवतरण तथा सुरक्षा जाँच शूल्क लिइन्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिराले मात्र साताको तीन उडान गर्ने गरी अनुमति लिएको छ ।

  • कालिकोटबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

    कालिकोटबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

    दैलेख । कालिकोटबाट नेपालगन्जका छुटेको यात्रुबाहक बस दैलेखमा दुर्घटनामा परेको छ । म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका २ स्थित सिस्नेमा दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । घटनामा ठूलो हताहतीको आहंक गरिएको छ । यद्दपी क्षतिको विवरण भने आइसकेको छैन । बस यात्रुले खचाखच भरिएको प्रहरीले बताएको छ । बस सडकबाट ५० मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगेपछि मात्र विस्तृत विवरण आउने भएको छ ।

  • एमाले अध्यक्ष ओलीको निष्कर्ष : अन्तर्घातले पार्टी पराजित

    एमाले अध्यक्ष ओलीको निष्कर्ष : अन्तर्घातले पार्टी पराजित

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी पराजित हुनुको कारण आफ्नै पार्टी भित्रको अन्तर्घात भएको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद भवनमा एमाले संसदीय दलको बैठकमा ओलीले कांग्रेस र माओवादीमा यस्तो नभएको बताए । साथै पार्टी अन्य दलका कारण नभई एमालेकै कारण चुनावमा हारेको समेत अध्यक्ष ओलीको भनाई छ । यस विषयमा गम्भीर समिक्षा हुने ओलीको भनाई उदृत गर्दै सांसदहरुले बताएका छन् ।

    चार महानगरमा उपमेयर जित्दा मेयर जित्न नसक्नुलाई उनले अन्तर्घातको परिणाम भनेका हुन् । ओलीले माधव नेपालको पार्टीमा समेत यस्तो अन्तर्घात नभएको बताए। उनले राज्यसत्ताको चरम दुरूपयोग भएको आरोप समेत लगाए । एक्लाएक्लै आधारमा हेर्दा एमाले पहिलो पार्टी भएको दाबी गर्दै उनले सीट मात्र कम आएको बताए । एमाले यस चुनावबाट दोस्रो दलमा झरेको छ । २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिकामा मात्रै प्रमुख पद जितेको छ ।

  • बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन

    बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन

    काठमाडौं । बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन हुने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् । बुधबार नेपाली कांग्रेसका महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् । देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए ।

    भेटमा आफूहरुले बलात्कार मुद्दाको हदम्याद पुनरावलोक गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् । ‘बलात्कारका घटनाहरु बढिरहेको छ । कतिपय घटनाहरुमा हदम्यादले अप्ठ्यारो पारेको महसुस मलाइ पनि भएको छ’ प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै भुसालले जानकारी दिइन् ।

    प्रचलित कानुन आुसार हाडनातामा करणीमा जहिलेसुकै उजुरी लाग्छ भने त्यसबाहेकका बलात्कार वा यौनजन्य हिंसाका घटना भएको एक वर्षभित्र उजुरी गर्नुपर्ने हुन्छ । नाबालिकको हकमा पनि बालिग (१८ वर्ष) भएपछि एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था छ ।

  • भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक

    भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक

    काठमाडौं । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो।

    घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको भए पनि चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ।

    सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ।

    भारतले चिनी निर्यातमा लगाएको रोकले नेपालमा केही प्रभाव पर्ने देखिन्छ। हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनको लागि वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ। यसमध्ये करिब एक लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ। बाँकी विभिन्न मुलुकबाट आयात गरिन्छ।

    भारतबाट मात्रै चालु आवको १० महिनामा ८९ हजार मेट्रिक टन चिनी आयात भएको थियो। कुल चार अर्ब ७० करोड बराबरको चिनी आयात भएको हो।

    भारतले सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भने भन्सार छुटको घोषणा गरेको छ। दुई आर्थिक वर्षसम्मको लागि २० लाख मेट्रिक टन बराबरको सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भन्सार नलाग्ने घोषणा गरेको हो।

  • बालेनको आग्रह-‘विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगरौँ’

    बालेनको आग्रह-‘विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगरौँ’

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले विजय सुनिश्चित भएपछि सामाजिक सञ्जाल मार्फत विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ भन्दै आग्रह गरेका छन् ।

    उनले भनेका छन् – स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।

    जीत-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।

    यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।

    दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।

    अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ‘धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ‘बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।

    अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।

    हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।

    अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।

    अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।’

  • रवीन्द्र मिश्रद्वारा विवेकशील पार्टीका अध्यक्षबाट राजीनामा

    रवीन्द्र मिश्रद्वारा विवेकशील पार्टीका अध्यक्षबाट राजीनामा

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

    मिश्रले भनेका छन्- स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ।

    गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु ।

    हाम्रा उम्मेदवारहरू ‘इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।

    गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु। तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिन। तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु।

  • रेनुको पहिलो निर्णय : छोरी जन्मनासाथ बीमा, ७ हजार लिटर खानेपानी निःशूल्क

    रेनुको पहिलो निर्णय : छोरी जन्मनासाथ बीमा, ७ हजार लिटर खानेपानी निःशूल्क

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले छोरी जन्मनासाथ १ लाख रुपैयाँ बराबरको बीमा हुने निर्णय गरेकी छिन् । पदभार ग्रहणका अवसरमा पहिलो निर्णय गर्दै उनले मासिक सात हजार लिटर खानेपानी निःशुल्क दिने घोषणा समेत गरेकी हुन् । खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले भनाई छ ।

    उनका अनुसार आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने निर्णय भएको हो । महानगरले गरिदिने बीमामार्फत् १५ वर्षपछि एक लाख रूपैयाँ पाइनेछ। यो बीमाको व्यवस्था सरकारी अस्पतालमा जन्मिएका छोरीको हकमा लागु हुनेछ।

  • अमेरिकाबाट पुनः नेपाल फर्काइयो पाँच ऐतिहासिक मूर्ति

    अमेरिकाबाट पुनः नेपाल फर्काइयो पाँच ऐतिहासिक मूर्ति

    काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति मंगलबार पुरातत्व विभागमा हस्तान्तरण भएको छ । मूर्ति फिर्ता गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसनले खुशी व्यक्त गरेको छ। मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गरेका हुन् ।

    अमेरिकाको डेन्वर म्युजिएमबाट फिर्ता भएको दशौं शताब्दीको उमामहेश्वर, शिकागो म्युजिएमबाट फिर्ता भएको छैटौं शताब्दीको चतुर्मुखी शिवलिङ्गसँगै नागराजा, पद्मपाणि, र शाक्यमुनि बुद्धका मूर्ति विभागलाई बुझाइएको हो। अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी कम्पनी युपिएसको सहयोगमा कलाकृतिलाई नेपाल पठाएको हो। यसरी विदेश पुगेका मूर्ति आउनुलाई सम्पदा संरक्षणको महत्वपूर्ण कडीको रुपमा हेरिएको छ।

  • अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या

    अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या

    टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ।

    रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेका विवरण सार्वजनिक भएको पनि याबटले जानकारी दिए। उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन्। राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्। स्थानीय अस्पतालका अनुसार विद्यार्थीहरूलाई आकस्मिक सेवा उपलब्ध गराइएको छ।

    ६६ वर्षकी एक महिला अनि १० वर्षकी एक बालिका भने गम्भीर अवस्थामा रहेको जनाइएको छ। उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ। अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ। अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारीसले यस्ता गोलीकाण्ड नदोहोरिउन् भनेर सुनिश्चित गर्नका लागि उनकै शब्दमा उचित र समझदारीपूर्ण नीति बनाउन आह्वान गरेकी छन्।

    मङ्गलवारको घटनामा दुई जना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। बन्दुकधारी १८ वर्षका युवाले के कारण आक्रमण गरे भन्ने कुरा स्पष्ट हुन सकेको छैन।

  • बैदेशिक रोजगारीसम्बन्धी काम पोखरा र भैरहवाबाट पनि हुने

    बैदेशिक रोजगारीसम्बन्धी काम पोखरा र भैरहवाबाट पनि हुने

    काठमाडौं । अब भैहरवा र पोखराबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित काम हुने भएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्यहाँ वैदेशिक रोजगार कार्यालयको माग बढेको थियो । भैरहवामा जेठ भित्रै कार्यालय संचालनमा ल्याइने भएको छ ।

    पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलसमेत निर्माणको अन्तिम चरणमा रहेका कारण उक्त शहरमा समेत कार्यालय संचालनको योजना सरकारले बनाएको हो । सरकारले आगामी आवमा रोजगारीका अवसरहरु समेटेर ई(डाइरेक्टरी सञ्चालनमा ल्याउने भनेको छ । यसबाट रोजगारी खोजिरहेका युवाले सहजै सेवा प्राप्त गर्न सक्ने छन् ।

  • गैरआवासीय नेपालीलाई डिजिटल परिचय पत्र दिइने

    गैरआवासीय नेपालीलाई डिजिटल परिचय पत्र दिइने

    काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र वितरण गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम गैरआवासीय नेपालीलाई परिचयपत्र दिने घोषणा गरिएको हो । गैरआवासीय नेपालीले लामो समयदेखि दोहोरो नागरिकताको माग गर्दै आएका छन् । तर, सरकारले तत्काललाई रेमिट्यान्स बढाउन प्रोत्साहन गर्ने गरी डिजिटल परिचयपत्र जारी गर्ने घोषणा गरेको हो ।

    ‘विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने नीति लिइनेछ । कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको सहकार्यलाई थप विस्तार गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,‘ विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराइनेछ ।’

  • चिरिबाबु लगातार दोस्रो कार्यकालका लागि बने ललितपुरको मेयर

    चिरिबाबु लगातार दोस्रो कार्यकालका लागि बने ललितपुरको मेयर

    ललितपुर । चिरिबाबु महर्जन लगातार दोस्रो कार्यकालका लागि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित बनेका छन् । नेपाली कांग्रेसका उनी गठबन्धनबाट उम्मेदवार बनेका थिए । महर्जन ४२ हजार ७२२ मतसहित विजयी भए । उनले नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याए ।

    ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाए । दोस्रो कार्यकालका लागि निर्वाचित मेयर चिरिबाबु महर्जनले यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा हरिकृष्ण ब्यञ्जनकारलाई ३ सय २६ मतले पराजित गरेका थिए । यो पटक भने भारी मतान्तरले महर्जन विजयी भएका छन् ।

    मेयरका उम्मेदवार रहेका राप्रपाका अष्ट महर्जनले ५हजार ५५४ मात्रै मत पाए । ललितपुर महानगरको उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य निर्वाचित भइन् । उनले २५ हजार ८४ मत ल्याएर जित हासिल गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । बज्राचार्य गठबन्धनबाट उपमेयर पदमा उम्मेदवार थिए ।

    राप्रपाकी स्वर्णिमा शाक्यले ७ हजार ७७८ र स्वतन्त्र उम्मेदवार अजरमान जोशीले ७ हजार २९ मत पाए । जोशी कांग्रेसबाट असन्तुष्ट बनेर उम्मेदवार बनेका थिए । उमेदवार नै नभएको रुख चिह्नको उपमेयरमा नौ हजार ६२१ मत खसेको थियो ।

  • सिन्धुलीका डोरबहादुर बने विश्वकै होँचो व्यक्ति

    सिन्धुलीका डोरबहादुर बने विश्वकै होँचो व्यक्ति

    काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोर बनेका छन् । उनले यस्तो विश्व कीर्तिमान बनाएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखिएको छ ।


    ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४।९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) मा नाम लेखाउन सफल भएका हुन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरियो ।

  • सामुदायिक विद्यालयलाई इण्टरनेटमा ५० प्रतिशत छुट, दूर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा

    सामुदायिक विद्यालयलाई इण्टरनेटमा ५० प्रतिशत छुट, दूर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा

    काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा इन्टरनेटमा ५० प्रतिशत सहुलियत दिने नीति लिएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

    राष्ट्रपति भण्डारीले देशभरका सामुदायिक विद्यालयमा इण्टरनेट ५० प्रतिशत दर कम गर्ने नीति सार्वजनिक गरिन्।

    साथै एक सय सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

    त्यस्तै दूर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा उपलब्ध गराउन आवश्यक प्रविधिको व्यवस्था गर्ने पनि आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

  • सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने, घर जग्गासँग सम्बन्धित कामलाई पूर्ण डिजिटल

    सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने, घर जग्गासँग सम्बन्धित कामलाई पूर्ण डिजिटल

    काठमाडौं । सरकारले घरजग्गा किनबेचको काममा हाल हाल प्रयोग भइरहेको प्रविधि र प्रणलीलाई स्तरोन्नति तथा एकीकृत गरी पूर्ण रुपमा डिजिटल गरिने भएको छ ।

    मङ्गलबार संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले घर जग्गासँग सम्बन्धित सरकारी कामलाई पूर्ण रुपमा डिजिटल गर्ने घोषणा गरेकी हुन् ।

    भूमि प्रशासनलाई सरल र झन्झटमुक्त बनाउन हाल प्रयोग भइरहेको प्रविधि र प्रणालीलाई स्तरोन्नती र एकीकृत गरी डिजिटल बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    सरकारले देशभरका सरकारी, सार्वजनिक, सामुदायिक र गुठी जग्गाको विद्युतीय लगत तयार गर्ने भण्डारीले बताइन् ।

    त्यस्तै सरकारले फेसबूकलगायतका सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने भएको छ। सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने विषय केही समयदेखि छलफल हुँदै आएको छ।

    तर, सरकारले अहिलेसम्म सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन सकेको थिएन। अब भने नीति तथा कार्यक्रममै समावेश गरेर सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने घोषणा गरेको छ।

    त्यसैगरी साइबर सुरक्षा प्रणाली पनि लागू गरिने बताइएको छ। विद्युतीय प्रणालीलाई सुरक्षित बनाउने उद्देश्यका साथ साइबार सुरक्षा प्रणाली लागू गर्न लागिएको हो।

  • उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने

    उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने

    काठमाडौं । सरकारले घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने तयारी गरेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वित्तीय रुपमा बोझिला संस्थालाई खारेज वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन् ।

    वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको प्राथमिकता व्यवस्थापन सुधार हुने, त्यो सम्भव नभए मर्जरमा लैजान र त्यो पनि नभए खारेजीमा जाने उनले बताइन् ।

    उनका अनुसार निजी क्षेत्र सक्षम देखिएका अन्य सार्वजनिक संस्थाहरुसमेत निजी क्षेत्रलाई दिने सरकारको योजना छ ।

    यस्तै विगतमा सञ्चालनमा रहेर बन्द भएका विभिन्न उद्योगहरु पुनः सञ्चालनमा ल्याउन विशेष कार्यक्रम ल्याउने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सरकारले आयल निगमदेखि केही संस्थालाई निजीकरणबारे छलफल गर्दै आएको छ ।

    त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली दिने भएको छ ।

    निर्यात योग्य वस्तुको उत्पादन गर्नेलाई लाभ पुग्ने गरी सस्तोमा बिजुली उपलब्ध गराउने आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    हाल सरकारले निर्यात गरेको बिजुली नेपालमा उपभोक्ताले खरिद गर्नेभन्दा सस्तो भएकोले सोही दरमा उत्पादनमूलक उद्योगले पनि बिजुली पाउने भएका छन् ।

    यस्तो बिजुली निर्यातयोग्य उद्योगको लागि केन्द्रिकृत गरेर दिइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

  • ताप्लेजुङ-दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने, द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्ने

    ताप्लेजुङ-दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने, द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्ने

    काठमाडौं । सरकारले प्रदेश १ को ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गर्ने भएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

    ‘ताप्लेजुङ–दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नतिलाई प्राथमिकता दिइने छ’, निति तथा कार्यक्रममा भनिएको छ।

    त्यस्तै सरकारले काठमाडौ–निजगढ द्रूतमार्गलाई समयमै सम्पन्न गर्ने जनाएको छ। काठमाडौं र मधेशलाई छिटो जोड्ने उक्त आयोजना केही समयदेखि निर्माणाधीन रहेको छ।

  • घरजग्गा कारोबारमा कडाइ, विशिष्टिकृत संस्थाबाट मात्र कारोबार गर्ने व्यवस्था

    घरजग्गा कारोबारमा कडाइ, विशिष्टिकृत संस्थाबाट मात्र कारोबार गर्ने व्यवस्था

    काठमाडौं । सरकारले आगामी आगामी वर्षदेखि घरजग्गा कारोबारमा कडाइ गर्ने भएको छ ।

    घर जग्गामाथिको लगानी अनुत्पादक क्षेत्र भएको भनि आलोचना भइरहेको समयमा सरकारले यसलाई रोक्ने नीति ल्याएको हो।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

    सरकारको नीति तथा कार्यक्रममा विशिष्टिकृत संस्थाबाट मात्र घर जग्गाको कारोबार गर्ने व्यवस्था गरिने भनिएको छ।

    अहिले घरजग्गाको कारोबार सबैले गर्दै आएकोमा त्यसलाई रोक्दै सरकारले विशिष्टिकृत संस्था अनिवार्य गर्ने नीति लिएको हो।

  • कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने सरकारको नीति

    कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने सरकारको नीति

    काठमाडौं । सरकारले कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने भएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने जानकारी दिइन् ।

    राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम भनिएको छ-‘नयाँ राष्ट्रिय कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान यान्त्रिकीकरण, व्यवासायीकरण र जलवायु अनुकूलन प्रविधिको प्रबर्द्धन गरिनेछ।’

    कृषि क्षेत्रको आधुनिकीकरण गरी आर्थिक वृद्धिको आधारलाई बलियो बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै, कृषक संरक्षण नीति लिइने बताइएको छ। ‘उत्पादनको आधारमा कृषि अनुदान प्रवाह गरिनेछ’, भनिएको छ।

    त्यस्तै, सरकारले बिउबिजनमा आत्मनिर्भर हुने र जलवायु परिवर्तनका असरलाई धान्न सक्ने बालीको अनुसन्धानमा लगानी गर्ने, अर्ग्यानिक खेतीमा लगानी प्रवर्द्धन गर्ने, बाँझो जग्गा सदुपयोग गरी मूल्य श्रृंखलामा आधारित सामूहिक र सहकारी खेती प्रणालीलाई प्रोत्साहित गर्ने नीति लिएको छ ।

    त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमको आवधिक समीक्षा गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य बाली तथा वस्तुका जोन प्रदेशमा हस्तान्तरण गरिने भएको छ ।

  • नीति तथा कार्यक्रम: विद्युतीय भुक्तानीलाई प्राथमिकता, पुँजीगत खर्च बढाउन छुट्टै कानुन बनाउने

    नीति तथा कार्यक्रम: विद्युतीय भुक्तानीलाई प्राथमिकता, पुँजीगत खर्च बढाउन छुट्टै कानुन बनाउने

    काठमाडौं । सरकारले विद्युतीय भुक्तानीलाई प्राथमिकता दिएको छ।

    राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले राष्ट्रिय भुक्तानी प्रणाली सुधार गर्ने उल्लेख गरेको छ।

    यसका लागि सबै कारोबार विद्युतीय माध्यमबाट हुने व्यवस्था मिलाइने उल्लेख छ।

    नीति कार्यक्रममा कर प्रणालीको पुनरावलोकन गरी व्यवस्थित गरिने र राजस्व संकलन प्रणालीमा पनि सुधार गरिने पनि उल्लेख छ।

    त्यस्तै सरकारले पुँजीगत खर्च वृद्धि गर्न छुट्टै कानुन बनाउने भएको छ ।

    पुँजीगत खर्च वृद्धि र विकास आयोजना कार्यन्वयनलाई सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकास सम्बन्धी छुट्टै कानुनको तर्जुमा गर्ने उनले बताइन् ।

  • ६३८ मेगावाट विद्युत थपियो, ३२५ किलोमिटर सडक कालोपत्रे

    ६३८ मेगावाट विद्युत थपियो, ३२५ किलोमिटर सडक कालोपत्रे

    काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म ६३८ मेगावाट विद्युत उत्पादन भएको छ ।

    आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विषम परिस्थितिमा पनि चालु वर्षको यो अवधिसम्म ६३८ मेगावाट विद्युत उत्पादन थपिएको बताइन् ।

    त्यसैगरी यस वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे र एक सय पुल निर्माण गरिएको छ।

    त्यसैगरी ९६ प्रतिशत नागरिकलाई खोप लगाएको उल्लेख छ।

    सबै छिमेकी र मित्र राष्ट्रसँग समान सम्बन्ध राखिएको उल्लेख छ। भारत र चीनबाट भएको उच्चस्तरीय भ्रमणले सम्बन्ध थप सुदृढ बनाएको नीति तथा कार्यक्रममा उल्लेख छ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको र पोखरा विमानस्थल चाँडै सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।

  • यो वर्ष १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध

    यो वर्ष १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध


    काठमाडौं । सरकारले चालू आर्थिक वर्षको हालसम्म सडक, पुल निर्माणजस्ता पूर्वाधारका काम गरेको छ।

    संघीय सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन्।

    चालू आवको हालसम्म नेपालमा ६३८ मेवा विद्युत् उत्पादन, ३२५ किमि कालोपत्रे, १०० पुल बनेको र १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ।

    क्षतिग्रस्त मेलम्ची पुनः सञ्चालनमा आएको, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध गराइएको छ।

    स्वास्थ्य पूर्वाधारमा वृद्धि भएको छ। लालपुर्जा पाउन नसकेकका २३ हजार ५ सय ९१ जनालाई जग्गाधनी पुर्जा उपलब्ध गराइएको छ।

    नेपालले २०८७ भित्रै दीगो विकास लक्ष्य प्राप्त गर्ने र मध्यम आययुक्त देशमा पुग्ने लक्ष्य लिएको छ। २०२६ मा अतिकम विकसितबाट स्तरोन्नति हुनेछ।

  • नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो ।

    मंलगबार बजार मापक सूचक नेप्से १६३२ अंकले बढेर २२१७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँ बराबरको ३१ लाख ७३० कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहको परिसूचकमा हरियाली छाएको छ । भने एक वटाको बढेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक र फाइनान्स समूह पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.९५ प्रतिशतले बढेको छ भने अप्पर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ५.५८ प्रतिशतको छ ।

    त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, किसान लघुवित्त, कालिका पावरका शेयरधनीले साढे ३ प्रतिशत कमाएका छन् भने शिवश्री हाइड्रोपावर, शिवम् सिमेन्ट, रुरु जलविद्युत्, घलेम्दी हाइड्रोपावर लगायत आधा दर्जन कम्पनीको मूल्य ३ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ८४ लाख भन्दा बढीको कारोबार भएको छ ।

    त्यसैगरी, माथिल्लो तामाकोशी साढे ४ अर्ब र र अरुण काबेली ४ अर्ब बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।