Category: फिचर

  • नेपाल टेलिकमले इ-सिम बाड्ने, यस्ता छन् विशेषता

    नेपाल टेलिकमले इ-सिम बाड्ने, यस्ता छन् विशेषता

    काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ई-सिम उपलब्ध गराउने भएको छ । त्यसका लागि आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्द बीच सम्झौता भएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।

    सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक काम छिट्टै नै सुरु हुने बताइन्। अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    के हो ई सिम ?
    ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

    मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस हरुमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्ने छन् भने नयाँ प्रयोगकर्ताले समेत ई–सिम लिन सक्ने टेलिकमले जनाएको छ ।

  • चितवनको भरतपुरमा आगलागी, ६ घर जले

    चितवनको भरतपुरमा आगलागी, ६ घर जले

    भरतपुर । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा आगलागी हुँदा ६ वटा घर जलेका छन्् । रातीबाट लागेको आगो बिहीबार बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । बिहान २ बजेदेखि आगो निभाउन सुरु गरिएको थियो । चार वटा दमकलको सहयोगमा बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी गराएका छन् । भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए ।

    आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आज बिहान करिब २ बजेतिर आगो लागेको सूचना प्रहरीले पाएको थियो । त्यसलगत्तै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयको टोली आगो लागेको स्थानमा पुगेको थियो । त्यसपछि भरतपुर महानगरपालिकाको दमकलले आगो निभाउन सुरु गरेको थियो । तर एउटा मात्र दमकलले आगो निभाउन नसकेपछि खैरहनी नगरपालिकाका दुईवटा र नेपाली सेनाको एउटा दमकल बोलाएर आगो निभाउन थालिएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए ।

  • गौतमबुद्ध विमानस्थलमा बिहीबार २६० जना यात्रु बोकेर नेवानिको वाइडबडी जहाज अवतरण गर्दै

    गौतमबुद्ध विमानस्थलमा बिहीबार २६० जना यात्रु बोकेर नेवानिको वाइडबडी जहाज अवतरण गर्दै

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एयरलाइन्सको बाइडबडी जहाज अवतरण गर्ने भएको छ । एअरबस ए–३३० वाइडबडी जहाज दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने छ । जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने भएका छन् । जहाज भैरहवामा दुई बसेर पुनः काठमाडौं फिर्ता हुने भएको छ । दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम गरिने भएको छ । यो विमानस्थलको धावनमार्गबाट अहिले धमाधम उडान भइरहेको छ ।

  • आङ सान सू चीलाई थप ५ वर्षको कैद सजाय सुनाइयो

    आङ सान सू चीलाई थप ५ वर्षको कैद सजाय सुनाइयो

    काठमाडौं (बीबीसी) । सैन्य शासनमा रहेको म्यान्मारको एउटा अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सू चीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूमा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन्। सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ। उनले सबै आरोपहरूको अस्वीकार गरेकी छन् भने अधिकारकर्मीहरू अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँछन्।

    राजधानीस्थित अदालतमा भएको सुनुवाइमा नागरिक उपस्थिति नहुने गरी बन्द ढोकाभित्र भएको थियो र सू चीमा वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो। बुधवार अदालतले उनलाई म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो। उनलाई पाँच वर्षको जेल सजाय तोकिएको छ। यो सजायपछि उनको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ।

    गत डिसेम्बरमा उनलाई कोभिड नियम तोडेको मुद्दामा र ज्यानुअरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो। सू चीमाथि अझै १० अन्य भ्रष्टाचारका मुद्दाहरू छन् र ती प्रत्येकमा उनलाई अधिकतम १५ वर्षको जेल सजाय हुन सक्छ। उनीमाथि चुनावमा धाँधली गरेको र राज्यको गोप्य सूचना चुहाएको मुद्दा पनि छ। उनका समर्थकले उनलाई जीवनभर जेल हाल्नका लागि सैन्य शासकले उनीमाथि गलत मुद्दा लगाएको मान्छन्।

    सबै मुद्दामा दोषी ठहरिए उनलाई १९० वर्षसम्म जेल सजाय हुनसक्ने आकलन गरिएको छ। संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहले अदालती कारबाहीलाई नाटक बताएका छन्। म्यान्मारको सैन्य शासकले भने सू चीले निष्पक्ष सुनुवाइ पाएको दाबी गर्छ।

  • सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने

    सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने

    काठमाडौं । सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बुधबार बसेको बैठकले यसअघिको समय तालिका संसोधन गर्दै २३ वैशाखमा काठमाडौंमा दिनको १ बजे केन्द्रीय तहको चुनावी सभा गर्ने निर्णय गरेको हो ।

    यसअघि सत्ता गठबन्धनले ८ वैशाखमा सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको संयन्त्रको बैठकले गठबन्धनका दलहरुले स्थानीय तहमा आवश्यकता अनुसार चुनावी सभा गर्न सक्ने निर्णय समेत गरेको छ ।

  • भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ

    भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ

    काठमाडौं । भारतमा कोइलाको आपूर्तिमा देखिएको व्यवधानका कारण बिजुली उत्पादनमा असर परेपछि त्यसको प्रभाव नेपालमा समेत परेको छ ।

    भारतको ऊर्जा एक्सचेञ्ज बजारमा नेपाल विद्युत् प्राधिकरणले माग गरेअनुसारको बिजुली पाउन नसक्दा त्यसको असर नेपालका औद्योगिक क्षेत्रमा पर्ने देखिएको छ ।

    समस्या समाधानका लागि अझै १५ देखि २० दिन थप लाग्ने देखिएको छ । प्राधिकरणले भारतबाट द्विपक्षीय सम्झौता, इनर्जी एक्सचेञ्जलगायतबाट बिजुली आयात गरिरहेको छ ।

    प्राधिकरणले हाल भारतबाट दैनिक ३०० देखि ३५० मेगावाट बराबर बिजुली आयात गरिरहेको छ । इनर्जी एक्सचेञ्ज बजारमा हरेक १५ मिनेटको एक स्ल्याब तयार गरी ९६ वटा स्लट तय गरिएको छ । त्यसमा दैनिक नै सेयर बजारमा जसरी बिजुलीको खरिद र विक्री मूल्य तय हुन्छ । प्राधिकरण सहभागी हुने बोलपत्र प्रक्रियामा औसतमा ७० देखि १०० मेगावाट बराबर मात्रै बिजुली प्राप्त हुने गरेको छ ।

    हाल देशभर बिजुलीको माग १ हजार ६०० मेगावाटको हाराहारीमा छ । देशभित्र आन्तरिकरुपमा १ हजार ३०० मेगावाट बराबरको बिजुली उपलब्ध बाँकी रहने ३०० मेगावाट बिजुली जोहो गर्न समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।

    ‘५०० मेगावाट बराबरको बिजुलीका लागि बोलकबोल गर्दा समेत बिजुली पाउन सकिएको छैन । भारतमा कोइलाको आपूर्तिमा समस्या पैदा भएको छ भने अन्तर्राष्ट्रिय बजारमा नै कोइलाको मूल्यमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘थप एक महिना हामीलाई माग र आपूर्ति सन्तुलन मिलाउन समस्या भएको छ ।’

    आगामी एक महिनाभित्रमा मनसुन सुरु हुने र खोलामा पानीको सतहसमेत बढ्ने भएकाले कुनै समस्या नहुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले घरायसी ग्राहकका लागि कुनै समस्या नहुने तर औद्योगिक ग्राहकका लागि भने केही समस्या पर्ने बताए ।

    अहिले भारतबाट बिजुली आयात हुन नसकेपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ हुन थालेको छ । उद्योगहरुले दिउँसोको समयमा बिजुली पाए पनि रातिमा कटौती हुन थालेको छ ।प्राधिकरणले बुधबारदेखि औद्योगिक क्षेत्रमा घोषित रुपमै लोडसेडिङ गर्ने तयारी गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको गत महिनासम्म भारत भ्रमणको क्रममा ३६४ मेगावाट बराबरको बिजुली निर्यातका लागि मार्ग प्रशस्त भएको जानकारी दिँदै उनले ६ महिनाका मात्रै बिजुली विक्री गर्ने वातावरण बनेको खण्डमा हाल आयात भइरहेको बिजुलीकोको तुलनामा ठूलो धनराशि नेपाल भित्रिने उल्लेख गरे।

    भारतको ऊर्जा बजारमा देखिएको समस्या केही महिना अझै जाने जानकारी आएको उल्लेख गर्दै उनले नेपालका लागि यो अवस्था अवसर पनि भएको बताए । आन्तरिकरूपमा देशभित्र पछिल्ला दिनमा ३०० देखि ८०० मेगावाटसम्म थप बिजुलीको माग बढेको छ । काठमाडौँ उपत्यकालगायत औद्योगिक क्षेत्रमा समेत माग बढेको तथ्य पेश गरे ।

    कार्यकारी निर्देशक घिसिङले आन्तरिकरूपमा बिजुली व्यवस्थापनका लागि अधिकतम प्रयास भइरहेको र माथिल्लो तामाकोसीलगायतका आयोजनाबाट ठूलो राहत भएको समेत बताए ।

  • तालमेल विपरित परेको ‘बागी’ उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

    तालमेल विपरित परेको ‘बागी’ उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले तालमेलको निर्णय विपरित परेका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले तालमेलको निर्णय विपरित ६ महानगर र ११ उपमहानगरमा दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गराउने निर्णय गरेको हो ।

    बैठकले केन्द्रबाट भागवण्डा भएका ६ महानगर र ११ उपमहानगरमा वडाको सिट बाँडफाँटका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर निर्णय लिन निर्देशन दिने निर्णय पनि गरेको छ ।

    साथै सम्भव हुने स्थानमा सहमति गरेर साझा उम्मेदवारी बनाउने निर्णय पनि बैठकले गरेको छ । बताइएअनुसार उक्त विषयमा जिल्ला तहले निर्णय लिनेछ ।

  • झिनो अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    झिनो अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँ बराबरको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहमध्ये ४ परिसूचक राताम्मे भएको छ । भने ९ वटाको बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    सामान्य अंकले बढेको बजारमा जाल्पा लघुवित्तको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

    यसैगरी, नेपाल फाइनान्स ६.८२, राधि विद्युत् ५.५४, ङादी ग्रुप ४.६५, महुली लघुवित्त, लक्ष्मी लघुवित्त, लुम्बिनी विकास बैंक, रुरु जलविद्युत् र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी पौने ४ करोड र नेपाल फाइनान्स ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।

    बैठकले परीक्षणका रुपमा लागू हुने गरी उक्त निर्णय गरेको हो । कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

    नेपाल आयल निगमको समेत सुझाबका आधारमा सरकारले सातामा दुई दिन बिदाको निर्णय गरेको हो । पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।

  • रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, के पर्छ असर ?

    रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, के पर्छ असर ?

    काठमाडौं । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ। पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको जनाएको बीबीसीले लेखेको छ । बुल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ। रुसले मित्रवत् व्यवहार नगर्ने देशहरूले कि रुबलमा ग्यासको भुक्तानी गर्न थाल्नुपर्ने वा आपूर्ति कटौती गर्ने बताएपछि यस्तो अवस्था उत्पन्न भएको हो।

    दुवै देशले त्यसरी भुक्तानी गर्न अस्वीकार गरेका छन्। पीजीएनआईजी अधिकांश ग्यास आयातका लागि ग्याजप्रोममा निर्भर छ। उसले यस वर्षको पहिलो त्रैमासिकमा उक्त रुसी कम्पनीबाट आयातको ५३ प्रतिशत ग्यास किनेको छ। पीजीएनआईजीले आपूर्ति रोक्ने कार्यलाई सम्झौताको उल्लङ्घनका रूपमा वर्णन गरेको छ र ग्यास आपूर्तिलाई पुनर्स्थापित गर्न कदम चाल्ने बताएको छ।


    बल्गेरिया ९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि ग्याजप्रोममा निर्भर रहेको छ। उसले वैकल्पिक स्रोतहरू खोज्न कदम चालेको तर ग्यास खपतमा तत्काल कुनै खाले प्रतिबन्ध आवश्यक नभएको बताएको छ। उक्त देशको ऊर्जा मन्त्रालयले बल्गेरियाले ग्याजप्रोमसँग हालको सम्झौता अन्तर्गत आफ्नो दायित्वहरू पूरा गरेको र सबै आवश्यक भुक्तानीहरू गरेको जनाएको छ। उसले रुसले प्रस्ताव गरेको नयाँ भुक्तानी प्रणालीले विद्यमान सम्झौता उल्लङ्घन गर्ने उल्लेख गरेको छ।

    ग्यास आपूर्ति बन्दको खबरसँगै पोल्यान्डको जलवायु मन्त्रालयले देशको ऊर्जा आपूर्ति सुरक्षित रहेको बताएको छ। जलवायुमन्त्री अन्ना मोस्कवाले भण्डारबाट ग्यास निकाल्न आवश्यक नरहेको र ग्राहकले पनि ग्यास खपत कटौती गर्नु नपर्ने बताइन्। पोल्यान्डका उप(विदेशमन्त्री मार्चिन सिड्याचले उनको देशले रुसबाट हुने ग्यास निर्यात सीमित हुनसक्ने सम्भावनाका लागि तयार रहन आपूर्तिमा विविधीकरणको तयारी गरिरहेको बताएका छन्।

  • सिंगापुरमा एक मलेसियन नागरिकलाई दिइयो मृत्युदण्ड

    सिंगापुरमा एक मलेसियन नागरिकलाई दिइयो मृत्युदण्ड

    सिंगापुर । सिंगापुरले तिब्र विरोधका बीच एक मलेसियन नागरिकलाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार लागुऔषध हेरोइन तस्करी गरेको अभियोग उनीमाथि रहेको थियो । उनी १३ वर्षदेखि जेलमा थिए । समाचार संस्था रोयटर्सका अनुसार ३४ वर्षका नागेनथ्रन धर्मलिंगमलाई बुधबार बिहान मृत्युदण्ड दिइएको छ । उनका भाइ नवीन कुमारका अनुसार धर्मलिंगमको शव मलेसिया पठाउन लागिएको छ।

    धर्मलिंगम सन् २००९ मा पक्राउ परेका हुन् । साढे एक औंस अर्थात् ४२ ग्रामभन्दा बढी हेरोइन तिघ्रामा बाँधेर मलेसियाबाट सिंगापुर प्रवेश गर्न खोजेको अवस्थामा उनी पक्राउ परेका हुन् । धर्मलिंगमका वकिलहरूले उनको बौद्धिक क्षमता कमजोर भएको भन्दै मृत्युदण्ड नदिन दर्जनौं निवेदन दिएका थिए। धर्मलिंगमलाई मृत्युदण्ड नदिन संसारभरिबाट हस्ताक्षर संकलन गरिएको थियो।

    मृत्युदण्ड नदिन उनकी आमाले दिएको निवेदन सिंगापुरको अदालतले खारेज गरिदिएपछि धर्मलिंगमलाई मृत्युदण्ड दिइएको समाचारमा जनाइएको छ । त्यहाँको कानुनअनुसार हुलदंगा गर्ने र लागुपदार्थ ओसारपसार गर्नेलाई मृत्युदण्ड दिइन्छ। लागुपदार्थको मामिलामा सिंगापुरको कानुन एकदमै कडा छ।

    थोरैभन्दा थोरै परिमाणको लागुपदार्थ फेला परे पनि कुनै सहानुभूति राखिँदैन। कानुनअनुसार मृत्युदण्ड दिइन्छ। सिंगापुरले पछिल्लोचोटि सन् २०१९ मा मृत्युदण्ड दिएको थियो। त्यति बेला चार जनाले फाँसीको सजाय पाएका थिए। उनीसँग बरामद भएको ४२ ग्रामभन्दा बढी हेरोइन ५१० जना प्रयोगकर्तालाई करिब एक साता आपूर्ति गर्न पुग्ने प्रहरीले जनाएको छ।

  • तासदेखि कुरकुरेसम्मको आयात रोकियो

    तासदेखि कुरकुरेसम्मको आयात रोकियो

    काठमाडौं । अर्थतन्त्रमा बढ्दो आयातका कारण परेको चापका कारण सरकारले विलासिताका वस्तु नेपाल ल्याउन रोकेको छ । चालु आर्थिक वर्षभर यी वस्तु नेपाल ल्याउन नपाउने गरि नियम ल्याइएकोृ हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना निकाल्दै सो जानकारी गराएको छ । यसमा विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । यो सूचिमा कुरकुरे, कुरमुरे, लेज र यस प्रकारका उत्पादन, सबै प्रकारका तयारी मदिरा र चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ) रहेका छन् ।

    हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल समेत रोक लगाइएको छ । सबै प्रकारका खेलौना र खेल्ने तास समेत ल्याउृन नपाउने गरि नियम बनेको छ ।

  • मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

    मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

    विराटनगर । मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुई जना नक्कली चिकित्सक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् । दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी गराएका छन् ।

    बर्मनले पथरी शनिश्चरे नगरपालिका वडा– १ फिलिम हल लाइनमा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ । मण्डल सुन्दरहरैचा नगरपालिका– ३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका थिए । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार दुई जनाले नै नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र पाएका छैनन् । क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको उनले बताए ।

  • मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो

    मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो

    काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रयोजनका लागि मतपत्र जिल्लामा पठाउन शुरु भएको छ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको हो । उनका अनुसार मतपत्र ढुवानीका लागि सार्वजनिक सवारीसाधन भाडामा लिइएको छ । मतपत्र ढुवानी कार्यतालिका अनुसार अब दैनिक रुपमा मतपत्र ढुवानी हुनेछ । कर्णाली प्रदेशमा ९०७ मतदान स्थल र १३ सय ८५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

    यस भेगमा १० लाख एक हजार २८२ मतदाता छन् । जसमध्ये पाँच लाख छ हजार १८० पुरुष, चार लाख ९५ हजार ९९ महिला र तीन जना अन्य मतदाता छन् । आयोगले सुदूरपश्चिम प्रदेशमा ११ सय ३५ मतदान स्थल र २१ सय तीन मतदान केन्द्र तोकेको छ । यहाँ १६ लाख ३२ हजार १५० मतदाता छन् । जसमध्ये आठ लाख ६६२ पुरुष, आठ लाख ३१ हजार ४७० महिला र १८ जना अन्य मतदाता छन् ।

    वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् ।

  • शिवपुरीमा आगलागी, निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

    शिवपुरीमा आगलागी, निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिन समस्या देखिएको छ । मङ्गलवार दिउँसोदेखि लागेको डढेलो निभाउने प्रयास भइरहेको छ । दिउँसा हेलिकोप्टरबाट पानी खन्याइएको छ । तर, त्यसले पनि आगो नियन्त्रणमा आइसकेको छैन ।

    प्रहरीका अनुसार साँझ पछि हेलिकोप्टरको प्रयोग रोकिए पनि दमकल तथा अन्य माध्यमबाट आगो निभाउने प्रयास भइरहेको छ । दमकल, पानी ट्याङ्कर, निकुञ्जका सेना र प्रहरीको सहायतामा आगो निभाउने गरिएको थियो । धेरै ठाउँमा आगो फैलिएकाले निभाउन समस्या भएको प्रहरीले जनाएको छ ।

  • एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीको जिल्लामा कांग्रेस पूर्वजिल्ला सभापति निष्काशित

    एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीको जिल्लामा कांग्रेस पूर्वजिल्ला सभापति निष्काशित

    काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीविपरीत गतिविधि गरेको भन्दै कांग्रेसले मंगलबार सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्ललाई कांग्रेसको सदस्यबाट निकालेको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरि यस्तो जानकारी गराएका छन् । मल्ललाई साधारण सदस्यसमेत नरहने निष्काशनमा परेका हुन् ।

    ‘कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,’ विज्ञप्तिमा भनिएको छ। पछिल्लो समय मल्ल पक्षले डडेल्धुरामा नेकपा एमालेसँग मिलेर चुनाव उठ्ने निर्णय गरेका थिए ।

  • श्रममन्त्रीसहितको टीम बुधबार मलेसिया जाने, के छ एजेण्डा ?

    श्रममन्त्रीसहितको टीम बुधबार मलेसिया जाने, के छ एजेण्डा ?

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया प्रस्थान गर्ने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लागेका हुन्। मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरे। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्धिपक्षिय हितका साथै सहकार्यका बिषयमा छलफल भयो ।

    भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे। मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए। मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ ।

    भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नुहुनेछ भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल(मलेसिया संयुक्त समितिको वैठकका एजेण्डा तय गरिनेछ ।

    वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्नेछन् । भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसंग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलकका रुपमा रहेको छ ।

  • काठमाडौंमा २२ जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौंमा २२ जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ ।

    विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।

  • स्थानीय निर्वाचन: उम्मेदवारी संख्या १ लाख ४७ हजार नाघ्यो, कुन प्रदेशमा कति उम्मेदवार ?

    स्थानीय निर्वाचन: उम्मेदवारी संख्या १ लाख ४७ हजार नाघ्यो, कुन प्रदेशमा कति उम्मेदवार ?

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेद्वारी दर्ता गरेकाहरुको संख्या सार्वजनिक गरेको छ ।

    आयोगले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार (दिउँसो ३:३०) सम्ममा मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४७ हजार २ सय ७४ जना रहेका छन् । तर, आयोगले सार्वजनिक गरेको संख्या प्रणाली प्रविष्ट भएको संख्या मात्रै हो ।

    आयोगले जनाएअनुसार ७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो ।

    सबैभन्दा बढी मधेश प्रदेशमा परेको आयोगले जनाएको छ । आयोगले जनाएअनुसार मधेश प्रदेशमा ३८ हजार ७ सय ८७ जनाले मनोनयन दर्ता गरेका छन् ।

    मधेश पछि सबैभन्दा बढी बागमती प्रदेशमा २४ हजार ३३ जना, लुम्बिनी प्रदेशमा २३ हजार ४९ जना र प्रदेश १ मा २२ हजार ५ सय ४२ जनाले मनोनयन दर्ता गराएका छन् ।

    कर्णाली प्रदेशमा १३ हजार ४ सय ७ जना, गण्डकी प्रदेशमा १२ हजार ७ सय ८७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६ सय ७३ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो ।

    स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

    आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

    १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पछिल्लो १ वर्ष यताकै कम

    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पछिल्लो १ वर्ष यताकै कम

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको तेस्रोेदिन शेयर बजार मापक सूचक (नेप्से) १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँ बराबरको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । सोमवार २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये २ हरियो भएको छ । भने ११ वटा घटेको छ । म्युचुअल फण्ड समूह सबैभन्दा धेरै १.६२ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै १.४९ प्रतिशतले घटेको छ ।

    आज कारोबार भएकामध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।

    त्यसैगरी, मल्टिप्रपोज फाइनान्स ५.०३, युनाइटेड इदीमर्दी ४.०२, महुली लघुवित्त ३.७७, सामुदायिक लघुवित्त, लक्ष्मी लघुवित्त, माउन्टेन इनर्जी, इमर्जिङ नेपाल, समिट लघुवित्त, गुह्येश्वरी मर्चेन्ट र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिद्धार्थ बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा अपी पावरको ४ करोड बढीको कारोबार भएको छ । र नेष्डो समृद्ध लघुवित्त ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • स्थानीय तहमा देशभर १ लाख ३७ हजारको उमेदवारी (८ः३० को अपडेट)

    स्थानीय तहमा देशभर १ लाख ३७ हजारको उमेदवारी (८ः३० को अपडेट)

    काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभर १ लाख ३७ हजारको उमेदवारी परेको छ । यो बिहान ८ः३० बजेसम्मको अपडेट हो । निर्वाचन आयोगले तथ्यांक अध्यावधि भइरहेको जनाएको छ । सोहीकारण यो संख्या अझै बढ्ने सम्भावना छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सबै पदमा कुल १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् ।

    देशभर २९३ नगरपालिकामा ३ हजार २७६ जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेद्वारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ९ जनाको मनोनयन परेको छ । ४६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २६४ जनाको मनोनयन परेको छ । २ हजार २९७ जनाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । कुल ३५ हजार २२१ पदमा वैशाख ३० मा निर्वाचन हुँदैछ ।

  • इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?

    इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?

    काठमाडौं । सामाजिक ट्विटरको सञ्चालक समितिले कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमती जनाएको छ । बीबीसीका अनुसार मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ४४ अर्ब डलरमा ट्विटरको बोली लगाएका थिए। उनले त्यसबेला ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए। उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए।

    कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो। तर अब उसले शेअरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्नेछ। फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ। उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन्।

    उक्त सम्झौताको घोषणा गर्दै मस्कले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ।’ ‘नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु,’ उनले भनेका छन्। ट्विटरमा देखापर्ने सामग्रीलाई लिएर राजनीतिज्ञ र नियमनकर्ताहरूको दबाव परिरहेका बेला यस्तो निर्णय सार्वजनिक भएको हो।

    ट्विटरमा गलत सूचना फैलिने क्रमलाई रोक्न नसकेको भन्दै दक्षिणपन्थीदेखि वामपन्थीसम्मले उसको आलोचना गर्ने गरेका छन्। गत वर्ष भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि ट्विटरले हिंसाका लागि उत्तेजना फैलाएको भन्दै प्रतिबन्ध लगाएको थियो। सम्भवतः त्यो नै सबैभन्दा शक्तिशाली प्रयोगकर्तामाथिको प्रतिबन्ध थियो। मस्कले उक्त कम्पनी लिएको खबरले अमेरिकी दक्षिणपन्थीहरूलाई खुशी बनाएको छ।

  • काठमाडौंको मेयर बन्न ५६ जना आकंक्षी

    काठमाडौंको मेयर बन्न ५६ जना आकंक्षी

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका लागि ५६ जना आकंक्षी मैदानमा उत्रिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा ५६ जनाको उम्मेदवारी परेको हो । यसमा यसमा मूख्य प्रतिस्पर्धा भने गठबन्धन र एमाले बीच हुने छ । स्वतन्त्रतर्फ बालेन साह लोकप्रिय बनेका छन् । राप्रपा र विवेकसिलले समेत केही भेट ल्याउन सक्ने स्थान काठमाडौं हो । काठमाडौंमा अधिकांश स्वतन्त्र उमेदवारका रुपमा खडा भएका छन् ।

    मनोनयन दर्ताको काम सोमबार अबेर सकिएको छ । स्वतन्त्र उमेदवार राजन कार्की (३६), रविकान्त मानन्धर (८४) समिक्षा बास्कोटा (३८) विवेकशील साझा पार्टी, सुरेश रत्‍न बज्राचार्य (५५) आधुनिक नेपाल समाजवादी पार्टीबाट उमेदवार बनेका छन् । बालेन्द्र साह ३२) स्वतन्त्र, सीता तामाङ (५५) मंगोल नेशनल अर्गनाइजेसन, आनन्द राज जोशी (३५) राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राम बहादुर खड्का (४७) नेपाल समावेशी पार्टीबाट मेयर पदमा उठेका छन् ।

    मनोज राज आचार्य (३७) मौलिक जरोकिलो पार्टी, ज्ञानु लामा तामाङ (स्वतन्त्र, सुमन सायमी (४९) स्वतन्त्र, अमोट महर्जन (३९) स्वतन्त्र, विपीन राज वैद्य (३५) स्वतन्त्र, सूर्य थापा (७४) स्वतन्त्र, जेठा महर्जन (७१) स्वतन्त्र, डिल्ली राम राजभण्डारी् सचेत नेपाली पार्टीबाट उमेदवार बनेका छन् । स्वईट थापा (४४) स्वतन्त्र, न्हुज मान्नधर (२४) स्वतन्त्र, सरिता घिमिरे (४७) नेपाल जनता पार्टी, सुशील थापा क्षेत्री (५२) स्वतन्त्र, दिपक सिलवाल (४०) स्वतन्त्र, बच्पन राज श्रेष्ठ (६९) स्वतन्त्र, शैलेन्द्र मान श्रेष्‍ठ (५४) स्वतन्त्र, विजय मानन्धर (३८) स्वतन्त्र उमेदवार बनेको निर्वाचन आयोगले जनाएको छ ।

    सुरज श्रेष्ठ (४६) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, रुपा सुवाल (६०) आमूल परिवर्तन मसिहा पार्टी नेपाल, किरण रंजित (५१) स्वतन्त्र, भक्त राज भुसाल (५८) नेपाली कांग्रेस (बी।पी), दानिन्द्र जोशी (४६) लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, निमकान्त पाण्डे ( ६८) स्वतन्त्रको समेत उमेदवारी परेको छ ।

    मधुसुदन खड्का (५८) स्वतन्त्र , मदन दास श्रेष्ठ (७३) राष्ट्रिय प्रजातन्त्र पार्टी , केशव स्थापीत (६२) नेपाल कम्युनिष्ट पार्टी (एमाले), विजय प्रकाश सैजु (६६) नेपाः राष्ट्रिय पार्टी, सन्देश शाक्‍य (४८) स्वतन्त्र, सुरेन्द्र बज्राचार्य (३३) स्वतन्त्र, सुनिल श्रेष्‍ठ (४७) स्वतन्त्र, इन्द्र मणि कपाली (५५) स्वतन्त्रमा उमेदवार बनेका छन् ।

    सुरेन्द्र महर्जन (४८) नेपाल मजदुर किसान पार्टी, सिर्जना श्रेष्ठ (५९) नेपाली काँग्रेस , रजित मान शाक्य (४५) स्वतन्त्र, राहुल मानान्धर (३०) स्वतन्त्र, कान्ति तुलाधर (४२) स्वतन्त्र, पिय रत्‍न महर्जन (५५) नेपाल परिवार दल, उमेश कुमार सिंह (६३) स्वतन्त्र, विनय स्थापित (४९) स्वतन्त्र, रोशन शाही (३८) स्वतन्त्र, प्रेमसागर कर्माचार्य (५७) उन्‍नत लोकतन्त्र पार्टी, सैलेश ढुंगाना (३४) स्वतन्त्र, काजी लाल श्रेष्‍ठ (५०) नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), मनिस श्रेष्ठ (२८) स्वतन्त्र, प्रणेश बहादुर मल्ल (४०) स्वतन्त्रले समेत मेयर पदमा उमेदवार दिएका हुन् ।

    बाबुराजा संगत (४७) स्वतन्त्र, निश्चल जोशी (३५) नेपाली जनता दल, महेन्द्र प्रजापती (३७) स्वतन्त्र र राजेन्द्र बस्नेत (४२) स्वतन्त्र समेत मेयरको दौडमा समावेश गरेका छन् ।

  • स्थानीय तहमा ३५ हजार, २२१ जना उमेदवारका लागि ७१ हजार २३७ जनाको उमेदवारी (साँझ ८ बजेसम्म)

    स्थानीय तहमा ३५ हजार, २२१ जना उमेदवारका लागि ७१ हजार २३७ जनाको उमेदवारी (साँझ ८ बजेसम्म)

    काठमाडौं । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि सोमबार उमेदवारी दर्ताको समय सकिएको छ । आइतबार र सोमबार गरि दुई दिन उमेदवारी दर्ताको समय तोकिएको थियो । निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो विवरण अनुसार स्थानीय तहमा ७१ हजार, २३७ जना चुनावी मैदानमा उत्रिएका छन् । कुल ३५ हजार, २२१ जना पदाधिकारीका लागि वैशाख ३० मा निर्वाचन हुँदैछ । नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो ।

    सात वटै प्रदेशका ७५३ स्थानीय तहका प्रमुख\अध्यक्ष, उपप्रमुख\उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी कुल ३५ हजार, २२१ जना पदाधिकारी चयन हुनेछन् । आयोगका अनुसार देशभरको उम्मेदवारी अद्यावधिक गर्ने क्रम अबेर रातीसम्म चल्नेछ । सोहीकारण उमेदवार संख्या अझ बढ्न सक्नेछ । छवटा महानगर, ११ वटा उपमहानगर र २७६ वटा नगर गरी २९३ वटा नगरपालिका छन्।

    साँझसम्मको विवरणअनुसार ती नगरको प्रमुखमा २११८ जना उपप्रमुखमा १३१८ जना प्रतिस्पर्धामा उत्रिएका छन्। गाउँपालिकाका ४६० वटा छन्। तिनको अध्यक्षमा २२२१ र उपाध्यक्ष १५४४ जना चुनावी मैदानमा होमिएका छन्। वडा अध्यक्षमा १७ हजार ७०१, महिला सदस्यमा ११ हजार ६५५, दलित महिला सदस्यमा १० हजार ३७१ र सदस्यमा २४ हजार ३०९ जनाको उम्मेदवारी परेको छ।

  • काठमाडौंबाट जापान अब साताको तीन उडान हुने

    काठमाडौंबाट जापान अब साताको तीन उडान हुने

    काठमाडौं । काठमाडौं–नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमले अहिले काठमाडौं–नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने उनले जानकारी गराइन् ।

    यात्रु चाप एवम मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेकोका कारण उडान संख्या थप्न लागिएको उनको भनाइ छ । जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं-नारिता यात्रु बोक्न परेको हुनाले भाडादर समेत मंहगो भएको नेपाल एयरलाइन्सको भनाइ छ ।

    काठमाडौैं-नारिता सेक्टरमा करसहित विजनेस क्लासमा रु. १ लाख ५२ हजार र इकोनोमी क्लासमा रु. १ लाख १९ हजार ७०० भाडादर कायम गरिएको छ । यसरी तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरु बिक्री वितरण गरेको गुनासो प्राप्त भएको भन्दै खड्काले कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई विक्री वितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने समेत चेतावनी दिएको छ ।

    कसैले बढी भाडा असुलेको पाइएमा यात्रु महानुभावहरुलाई प्रमाणसहित निगममा उजुरी गर्न समेत अनुरोध गरेको छ । काठमाडौं-नारिता सेक्टरमा सिट संख्या बढाउन नेपाल स्थित जापानी राजदुतावासलाई अनुरोध गरिसकिएको समेत निगमले जनाएको छ । नारिताबाट काठमाडौं उड्ने समयमा भने जहाज पूर्ण क्षमतामा उड्ने गरेको छ । जसले गर्दा नेपाल आउने यात्रुलाई भाडा समेत केही कम पर्छ ।

  • एक महिनामा कामको खोजीमा बाहिरिए साढे ५५ हजार नेपाली

    एक महिनामा कामको खोजीमा बाहिरिए साढे ५५ हजार नेपाली

    काठमाडौं । चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा बढेको छ । फागुनको तुलनामा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो । चैत महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकति लिएका हुन् ।

    अन्यले श्रम स्वीकृति नवीकरण गरेका हुन् । फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका थिए । माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या नियमित गतिमा फर्किएको छ । अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् । चैत महिनादेखि मलेसियाबाट पनि माग आउन थालेकाले अब विदेसिने नेपालीको संख्या केही बढेको हो ।

  • डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

    डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

    काठमाडौं । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । यसससँगै अनौपचारिक रुपमा एकिकृत समाजवादीले खाता खोलेको छ । तर, यसको औपचारिक घोषणा भने निर्वाचन पछि मात्र हुने छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराए ।

    डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका हुन् ।

  • प्रचण्ड पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेदवारी दर्ता

    प्रचण्ड पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेद्वारी परेको छ ।

    पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर पदमा रेणुमाथि कांग्रेस नेताले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनलाई कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मीना खरेलले समर्थन गरेका हुन् ।

    भरतपुरको मेयरमा कांग्रेसले आफ्नो उम्मेदवार हुनुपर्ने अडान राख्दै आएको थियो ।

    पौडेलले कांग्रेसको झण्डासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए । उनीसँगै कांग्रेसका असन्तुष्ट कार्यकर्ताको जुलुस थियो।

  • एकदिन पनि टिकेन नेपाली शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो नेप्से

    एकदिन पनि टिकेन नेपाली शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको शेयर बजार मापक सूचक (नेप्से) सोमबार ३६.९४ अंकले घटेर २३८४.९० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३९ कम्पनीको २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये २ हरियो भएको छ । भने ११ वटा घटेको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ ।

    आज कारोबार भएकामध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । सोमवार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ।

    नेप्सेका अनुसार आज सेन्ट्रल फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट साढे ६ करोड र हिमालयन डिस्ट्रीलरी ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

    काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

    काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ । सिंहले दिउँसो उमेदवारी दर्ता गराउने छिन् ।

    कांग्रेस केन्द्रीय सम्पादन समिति र संसदीय बोर्डले आइतबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महानगर र उपमहानगरको उम्मेदवाट टुंगो लगाउने जिम्मा दिएको थियो।

    दिउँसो शान्तिबाटीकामा भेला भएर उमेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसले जनाएको छ । आज साँझ ५ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।

    सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । सत्ता गठबन्धनले काठमाडौंको मेयर कांग्रेसलाई भाग लगाएको छ।