Category: फिचर

  • चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

    चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिका दुई घरमा बाढी पस्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । सो क्रममा आठ लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । सोमबारको वर्षाका कारण चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति भएको उनले बताए।


    बाढी पसेको खबरपछि अपराह्न ५ बजे प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयसहित २० जनाको टोली र सेनाको टोली खटिएको थियो। बाढीमा फसेका मानिसको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढीका कारण जस्तापाताले छाएको घरमा पूर्ण रूपमा क्षति पुगेको छ। सो घरमा रहेको दुई वटा कुखुरा, दुई तोला सुन लगायत गरी सात लाख बराबरको क्षति पुगेको छ । सोही ठाउँका पूर्णबहादुर थिङको एक तले घरमा पनि बाढी पसेको थियो। घरमा सामान्य क्षति पुगेको र १२ वटा कुखुरा बगाएको छ । त्यो घरमा एक लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

  • आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

    आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

    काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज विश्वभर मुस्लिम समुदायले विशेष नमाज पाठ र ठूलाबडाबाट आशीर्वाद थाप्दै ईदउल फित्र पर्व मनाउँदै छन् । आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद थाप्ने प्रचलन रहेको छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

    खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुन्छ । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो। यो पर्वमा दीनदुःखी र गरिबलाई दान दिइन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको छ ।

  • बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

    बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाका दिन नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)का लागि नेपाल भ्रमणमा आउन लागेको भारतीय पत्रिका द हिन्दूमा मंगलबार समाचार छापिएको छ । समाचार अनुसार सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।
    मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ ।
    एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा राजनीतिक कुराकानी भने नहुने बताइएको छ ।
    नेपाल र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको तयारी गरिरहेका छन् ।

    देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए । २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए । तर समय अभावका कारण लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम स्थगित भएको थियो ।

  • केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

    केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले यही वैशाख १५ गते धुम्रबाराहीस्थित नेशनल कलेजमा काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रममा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको पाइएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

    स्थापितबारे जारी भएको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेकाले सो सम्बन्धमा स्पष्ट पार्न महिला पुनःस्थापना केन्द्र (ओरेक) लाई आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले उक्त संस्थाको प्रेस विज्ञप्तिलाई सार्वजनिक माध्यमबाट यथाशिघ्र हटाई प्रमाणसहित २४ घण्टाभित्र स्पष्टीकरण सोध्न वैशाख १८ गते ओरेकलाई निर्देशन दिएको हो ।

    आयोगले ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेलाई स्पष्टीकरण सोध्दै निर्वाचन आचारसंहिताको दफा ११ को खण्ड (ख) मा गैरसरकारी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी र कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने समेतको व्यवस्था रहेकोमा उम्मेदवार स्थापित उम्मेदवार बन्न लायक छैनन् भन्ने प्रेस विज्ञप्तिमा समावेश भएकाले स्थापितको संवैधानिक र कानूनी हकको उल्लङ्घन हुन्छ, हुँदैन र? भनी स्पष्टीकरण सोधेको छ ।

    आयोगले यही वैशाख १५ गते काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रमसम्बन्धी विस्तृत विवरण माग गरी नेशनल कलेजलाई पनि पत्र पठाएको छ ।

  • स्थानीय तहमा देशभर ३५३ जना निर्विरोध निर्वाचित

    स्थानीय तहमा देशभर ३५३ जना निर्विरोध निर्वाचित

    काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन भने वैशाख ३० मा तोकिएको छ । आयोगको कार्यतालिकाअनुसार वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका हुन् ।

    निर्विरोध भएकालाई मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिनेछ । निर्वाचनमा ७५३ पालिकामा गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको छ । काठमाडौँबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेस प्रदेश र बागमती प्रदेशका केही जिल्लाहरुमा ढुवानी गर्न बाँकी रहेको छ ।

    मतपत्र ढुवानी भइसकेका जिल्लामध्ये मनोनयनपत्र दर्ता भएका उम्मेदवारको अन्तिम नामावलीसँग रुजु गर्दा निर्वाचन चिह्न थप हुन गई विभिन्न ३२ पालिकामध्ये १६ स्थानीय तहका लागि १० लाख ८० हजार मतपत्र छपाइ गर्नुपर्ने भएकामा हालसम्म नौ वटा पालिकाका लागिसात लाख ११ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । बाँकीमध्ये भक्तपुर जिल्लाको मतपत्र छपाइ पनि सम्पन्न भएको छ भने महानगरपालिकाका लागि मतपत्र छपाइ भई सबै मतपत्र वैशाख २३ गतेभित्र ढुवानी गरिसक्ने तयारी रहेको छ ।

  • अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

    अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

    काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अप्रिल २०२२ मा नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक अनुसार यो महिनामा ५८ हजार ३८४ पर्यटक नेपाल आएका छन् । यो ११ चैत २०७६ मा नेपालमा लकडाउन भएयताको सबैभन्दा उच्च संख्या हो । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए ।

    बोर्डका अनुसार एक महिनाको अवधिमा भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक नेपाल आएका छन् । सन् २०२२ मा जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६ र अप्रिलमा ५८ हजार ३८४ जना पर्यटक नेपाल आएका हुन् । यो महिनामा चीनबाट २८१ जना र बंगलादेशबाट १५३७ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट ६ हजार ९५४ जना र बेलायतबाट ५ हजार २५२ जना पर्यटक नेपाल आएका छन् ।

  • जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

    जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

    काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरे भन्ने स्थानमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । प्रहरीका कअनुसार यस घटनामा तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा काठमाडौं महानगरपालिका–१६ का कमलप्रसाद न्यौपाने, गोरखाको सिरानचोक गाउँपालिका चनौटेका देवी पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का कृष्णप्रसाद सिग्देलको मृतयु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । गाडी रोकेर चालक बाहिर निस्केको समयमा गाडी गुडेको बताइएको छ । गाडी सडकबाट करिव दुई सय मिटर तल खसेको थियो । घटनाबारे प्रहरीले छानविन थालेको बताएको छ ।

  • जिम्बाब्वेसँगको खेलमा सोमबार पनि वर्षा बाधक

    जिम्बाब्वेसँगको खेलमा सोमबार पनि वर्षा बाधक

    काठमाडौं । नेपाल र जिम्बाब्वेबीचको खेलमा सोमबार समेत वर्षा बाधक बनेको छ । नेपाल भ्रमण रहेको जिम्बावे ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टिमबीचको दोस्रो टी–२० खेल वर्षाका कारण रद्द भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो। जिम्बाबेले २ विकेटको क्षतिमा ४३ रन बनाएको स्थिति थियो।

    बलिङमा नेपालका सोमपाल कामी र करण केसीले १–१ विकेट लिएका थिए । यसअघि आइतबार भएको पहिलो टी–२० खेलमा जिम्बावे विजयी भएको थियो। सिरिजको अन्तिम खेल बुधाबार हुँदैछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ। एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते तोकिएको छ ।

  • फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

    फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

    काठमाडौं । फास्ट ट्रयाकमा लोडर दुर्घटनामा परी तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका(११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    सोमबार साँझ करिब ५ लोडर ब्याक गर्ने क्रममा ५० मिटर तल खसेको थियो। त्यसमा सवार एक नेपालीसहित ६ जना चिनियाँ नागरिक घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको छ । सो क्रममा क्रममा गम्भीर घाइते भएका तीन जना चिनियाँ नागरिकको मृत्यु भएको हो ।

  • नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए

    नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्‍यु भने शून्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ०८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयू छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

  • राहुल गान्धी सुटुक्क काठमाडौंमा

    राहुल गान्धी सुटुक्क काठमाडौंमा

    काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी सुटुक्क काठमाडौं आएका छन् । उनको नेपाल यात्रा बारे खुलाइएको छैन । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार उनी भिस्तारा एयरलाइन्सको नियमित उडानबाट सोमबार करीव ५ बजे काठमाडौं अवतरण गरेका हुन् । उनको यो भ्रमण निजी रहेको र बिदा मनाउन नेपाल आएको मानिएको छ ।

    नेपालमा उनी हिमाली भेगमा भ्रमणमा जाने बताइए पनि कहाँ जाने खुलेको छैन । भारतमा अत्यधिक गर्मी हुने मौसममा धेरै जसो भारतीयले भ्रमणका लागि पछिल्लो समय नेपाललाई गन्तब्य बनाउन थालेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार अप्रिल महिनामा मात्र २२ हजार भारतीय नेपाल आएका छन् ।

  • बलिउड अभिनेत्री फर्नान्डिजको करोडौंको सम्पत्ति जफत, यस्तो छ कारण

    बलिउड अभिनेत्री फर्नान्डिजको करोडौंको सम्पत्ति जफत, यस्तो छ कारण

    मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको साढे ७ करोडको सम्पत्ति जफत भएको छ । भारतको पर्वतर्न निर्देशनालाय(ईडी)ले सम्पत्ति शुद्धीकरण मुद्दामा ७ करोड २७ लाख बराबरको सम्पत्ति जफत गर्ने निर्णय गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । सम्पत्ति शुद्धीकरण प्रकरणमा सुकेश चन्द्रशेखरसँगको सम्बन्ध बाहिरिएपछि ज्याकलिन उक्त प्रकरणमा जोडिएकी हुन् । चन्द्रशेखरविरुद्ध चलिरहेको आपराधिक क्रियाकलापसम्बन्धीको मुद्दामा ज्याकलिनको नाम आएपछि ईडी अफिसले उनलाई धेरै पटक सोधपुछ गरेको थियो ।

    चन्द्रशेखरले ज्याकलिनलाई महँगा उपहार दिएका थिए । ती उपहारहरु अवैध सम्पत्ति आर्जन र मानिसहरुलाई ठगेर कमाएको पाइएको थियो । सुकेस चन्द्रशेखरसँगै फोर्टिस हेल्थकेयरका पूर्व प्रमोटर शिविन्दर मोहन सिंहकी श्रीमती अदिति सिंह पनि अवैध सम्पत्ति आर्जन मामिलामा जोडिएकी छन् । ज्याकलिनले गत वर्षको अगस्ट र अक्टोबरमा ईडी अफिसलाई सुकेशचन्द्रबाट आफूलाई महँगो मूल्य पर्ने ब्याग, इयर रिंग्स, जुत्ता,ब्रेसलेटलगायतका उपहारहरु पाएको बयान दिएकी थिईन् ।

    ज्याकलिनले चन्द्रशेखरबाट ९ लाख रुपैयाँ पर्ने ३ वटा पर्सियन बिरालो, ५२ लाख रूपैयाँ पर्ने एउटा अरेबियन घोडा, १५ जोडी हिराको इयररिंग्स, महँगा मूल्य पर्ने भाडावर्तन, गुचीलगायतका ब्रान्डका महँगा ब्याग तथा जिममा लगाइने पोशाक,विभिन्न ब्रान्डका जुत्ता, एउटा रोलेक्स घडी,गाडीलगायतका उपहारहरू लिएको ईडी अफिसले जनाएको छ ।

  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरिक्षकको बिदाई गरियो

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरिक्षकको बिदाई गरियो

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) को बिदाइ गरेको छ। ३० वर्षे सेवा अवधिका कारण राति १२ बजेदेखि अनिवार्य अवकाश लिएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई आइतबारु बिदाइ गरिएको हो। बिदाइ समारोहमा गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकको जीवनरक्षामा हरतरहले खटिने प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यस संगठनको सफल नेतृत्व गरेकोमा दुबै महानिरीक्षकलाई धन्यवाद तथा बधाई दिए।

    साधनस्रोत सीमित हुँदाहुँदै पनि सीमा सुरक्षा, अवाञ्छनीय गतिविधि नियन्त्रण अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापनलगायत नागरिकको जीवनरक्षामा खटिएको उल्लेख गर्दै गृहमन्त्री खाणले यसपालि नेपाल प्रहरीमा नयाँ दरबन्दी सिर्जना गरेर २० हजारभन्दा बढी प्रहरी कर्मचारीका लागि अवसर प्रदान गरिएको बताए। त्यसमा महानिरीक्षक थापाको विशेष योगदान रहेको उनले सुनाए।

    मन्त्रालयले प्रहरीले १६ वर्षमा नै अवकाश लिनसक्ने र २० वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्न लागिएको जानकारी दिँदै उनले प्रहरीको ३० वर्षे सेवा अवधिका विषयमा समेत छलफल भइरहेको बताए। समारोहमा गृहसचिव टेकनारायण पाण्डेले दुवै महानिरीक्षकबाट नेपाल सरकारलाई भविष्यमा विज्ञ सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै भावी सुखमय जीवनको शुभकामना दिए। कार्यक्रममा महानिरीक्षकद्वयले आफ्नो कार्यकालमा भए्गरेका क्रियाकलाप र कार्यकालको अनुभूतिबारे जानकारी गराएका थिए ।

  • पदीय मर्यादा विपरित काम गर्ने तीन निर्वाचन अधिकृत फेरिए

    पदीय मर्यादा विपरित काम गर्ने तीन निर्वाचन अधिकृत फेरिए

    काठमाडौं । तीन स्थानीय तहका निर्वाचन अधिकृत परिवर्तन भएको निर्वाचन आयोगले जनाएको छ । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएका हुन् । साम्सीका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ ।

    बुढीगंगाका निर्वाचन अधिकृत स्थापित समयतालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको बताइएको छ । उनी मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको बताइएको छ । आयोगले महोत्तरीको साम्सी गाउँपालिकाका निर्वाचन अधिकृत प्रधानलाई पनि निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ ।

    गैरजिम्मेवार काम गरेको भनी आयोगले उनलाई हटाउनुका साथै उनको ठाउँमा विनोदकुमार दाहाललाई खटाएको छ । निर्वाचन चिह्न बाँड्ने दिनसम्म पनि उनले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न नसकेपछि कारेवाही गरिएको बताइएको छ ।

  • सोमबार बिहानैबाट वर्षा, तराईमा राहत

    सोमबार बिहानैबाट वर्षा, तराईमा राहत

    काठमाडौं । स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भएको छ । काठमाडौं उपत्यकासहित बागमती र मधेश प्रदेशमा आज वर्षा भएको हो । यसले तराई भेगमा बढ्दो तापमान रोक्न सहयोग पुगेको छ । मानिसहरुलाई राहत पुगेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।

    बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी जिल्लाहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । यो केही समय रोकिने भएको छ । दिउँसो घाम लाग्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

  • निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

    निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्‍याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालमा राखे कारवाही हुने चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने छ ।

    स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उमेदवारको मनोनयन गराएका उमेदवार र राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट गर्न पाइने छैन । गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा निर्वाचनलाई प्रत्यक्ष असर पर्ने कुसामग्री सामाजिक सञ्जालमा राखेमा आयोगले कारवाही गर्ने भएको छ ।

    निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ को निर्वाचनसम्बन्धी सूचना भरपर्दो, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई प्रभावकारी बनाउने उद्देश्यको कार्यान्वयन गर्न आयोगले जनाएको छ । निर्वाचनसम्बन्धी रिपोर्टिङमा भएका सामान्य गल्तीबाहेक आफुलाई लाभ र अरू कसैलाई हानी पुर्‍याउने र आम मानिसलाई छकाउने बदनियतसाथ जानीजानी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य दुष्प्रचार भएको आयोगको भनाई छ ।

  • स्वतन्त्र युवा उमेदवार बालेन शाहमाथि केशव स्थापितको अभद्र टिप्पणी

    स्वतन्त्र युवा उमेदवार बालेन शाहमाथि केशव स्थापितको अभद्र टिप्पणी

    काठमाडौं । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितले स्वतन्त्र युवा उमेदवार बालेन्द्र शाह (बालेन) माथि अभद्र टिप्पणी गरेका छन् । उनले बालेन अन्तर्राष्ट्रिय ठग भएको भन्दै जातीय टिप्पणी गरेका छन् ।

    आइतबार राजधानीमा आयाजना भएको एक कार्यक्रममा स्थापितले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ, यो त अन्तर्राष्ट्रिय ठग रहेछ, युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या, हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न, सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ ?’

    उनले बालेन दर्तावाल ठग भएको आरोप लगाए। ‘सुरूवातमै ठग, दर्तावाल ठग,’ उनले भने, ‘सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरी मेयरमा लड्न आउनु पर्दैन ? आँटचाहिँ केही छैन, जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैन, फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि ’। यसअघि उनले एक महिलामाथि अभद्र टिप्पणी गरेर आलोचित बनेका थिए । बालेनमाथिको टिप्पणीपछि उनीमाथि आचारसंहिताको प्रश्न समेत उठेको छ ।

  • भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

    भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

    काठमाडौं । इन्धनको खरिद लागत मूल्य वैशाख तेस्रो सातामा महँगो बनेको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (आईओसी)बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने भएको छ । १ वैशाखको मूल्यले ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने स्थिति थियो । आइतबारको मूल्य अनुसार भने १५ दिनमा निगमलाई ५ अर्ब १९ करोड घाटा हुने छ ।

    आइतबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेल लिटरमा १० रुपैयाँले महँगो भएको छ । मट्टितेल लिटरमा ४ रुपैयाँले महँगो भएको छ । खाना पकाउने ग्याँस सिलिण्डरमा ९९ रुपैयाँले थप महँगो हुने छ । नयाँ मूल्यअनुसार पेट्रोलको लागत १८३ रुपैयाँ २ पैसा, डिजेलको १८३ रुपैयाँ १३ पैसा मट्टितेलको १४० रुपैयाँ १९ पैसा र खाना पकाउने ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ १८ पैसा रहेको छ ।

    नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा, मटितेलमा २ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्याँसमा एक हजार ५० रुपैयाँ १८ पैसा नोक्सान रहेको निगमले जनाएको छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको छ । निगमले उपभोक्ता मूल्य भने चलाएको छैन ।

  • एन्फालाई अल्मुताइरीको पत्र-‘बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई कारबाही नगर्नू, म माफी दिन्छु’

    एन्फालाई अल्मुताइरीको पत्र-‘बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई कारबाही नगर्नू, म माफी दिन्छु’

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् ।

    साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीहरुलाई कारबाही नगर्न समेत आग्रह गरेका छन् ।

    प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।

    उनीहरुका अनुसार होस्टलको सेवा सुविधा सुधार गर्न आग्रह गर्दा प्रशिक्षक अल्मुताइरीले रोहित चन्दलाई घर पठाएका थिए । रोहितले आफूहरुकै आग्रहमा धारणा राखेको भन्दा आफूहरुलाई पनि बन्द प्रशिक्षणबाट निकालेको उनीहरुको दाबी छ । तर अल्मुताइरीले एन्फालाई लेखेको पत्रमा यसबारे केही बोलेका छैनन् ।

    अलमुताईरीले आफूविरुद्ध खेलाडीहरुले दिएको अभिव्यक्ति भने अपमानजनक भएको उनले उल्लेख गरेका छन् । एन्फा महासचिवलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘खेलाडीहरुले मेरोविरुद्ध गरेको अपमानजनक टिप्पणीका लागि माफी दिन्छु । र, विनम्रतापूर्वक अनुरोध गर्छु कि यी खेलाडीहरुलाई उनीहरुको गल्तीका लागि दण्डित नगरियोस् ।’

    मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरुले आफ्नो अनुमति विना बन्द प्रशिक्षण छाडेकाले उनीहरुलाई एसिया कप छनोटको टिमबाट हटाएको बताएका छन् ।

    खेलाडीहरु विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षकको व्यवहारको विरोध गर्दै बन्द प्रशिक्षण छाडेका थिए ।

    १० खेलाडीले क्याम्प छाडेपछि अलमुताईरीले थप १७ खेलाडीलाई प्रशिक्षणमा डाकेर तयारी गरिरहेका छन् ।

  • टी-२० क्रिकेट सिरिज: नेपाल जिम्बावेसँग पराजित, सन्दीपले दिए ५० रन

    टी-२० क्रिकेट सिरिज: नेपाल जिम्बावेसँग पराजित, सन्दीपले दिए ५० रन

    काठमाडौं । टी-२० क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग पराजित भएको छ । किर्तिपुरस्थित टियू क्रिकेट खेलमैदानमा भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले टस हारेर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको थियो।

    नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेल ३१ बलमा ४६ रन जोडे। त्यस्तै रोहित पौडेलले २६ बलमा ३६ रनको पालि खेले।

    आशिफ शेख १६ बलमा ९ रन बनाउँदै आउट भएभने दिपेन्द्रसिंह ऐरी १३ बलमा २८ रन जोडे। यस्तै मोहम्मद आदीम आलम २७ बलमा ४७ रन जोडे।

    बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १-१ विकेट लिए।

    जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे। मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे। त्यसअघि ओपर इनोसेन्ट काइयाले ३० बलमा ४७ रन जोडे।

    बलिङमा नेपालका डेब्यू खेलाडी बसिर अहमेदले २ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले १-१ विकेट हात पारे। खराब बलिङ गरेका कप्तान सन्दीपले ४ ‍ओभरमा ५० रन दिए। करणले ३ ओभरमा ३५ रन खर्चिए।

    नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो। दोस्रो टी-२० भोलि मा र तेस्रो टी-२० वैशाख २१ मा हुनेछ। एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।

  • वरियतामा मिच्दै नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

    वरियतामा मिच्दै नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

    काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    उनीहरू दुवै आ–आफ्नो संगठनको एआईजी थिए । सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो।

    सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि सहकुलबहादुर थापालाई बढुवा भएका थिए ।

  • गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

    गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

    काठमाडौं । सत्ताठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ।

    आइतवार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

    वैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनुरुप कार्य गर्न-गराउन आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरूलाई निर्देश दिएको छ ।

    बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

    गठबन्धनको निर्णय विपरीत चितवन महानगरपालिका लगायतका कतिपय स्थानमा बागी उम्मेदवारी परेका छन् । कतिपय स्थानमा भने बागी उम्मेदवारी फिर्ता लिन ढिलाइ हुँदा गठबन्धनबाट दोहोरो उम्मेदवारी परेको छ ।

    शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिने समय थियो।

  • निर्वाचन आयोगका भिडियो अपलोड गरि २० लाख दर्शक कटाएमा नगद पुरस्कार पाइने

    निर्वाचन आयोगका भिडियो अपलोड गरि २० लाख दर्शक कटाएमा नगद पुरस्कार पाइने

    काठमाडौं । निर्वाचन सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गरेमा निर्वाचन आयोगले पुरस्कृत गर्ने निर्णय गरेको छ । चुनावी सन्देशमूलक भिडियो टिकटक बनाएर वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकमा पोस्ट गरी पचास लाख, तीस लाख र बीस लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले नगद र प्रशंसा पत्रले पुरस्कृत गर्ने आयोगले सूचना मार्फत जानकारी गराएको छ ।

    पचास लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई पचास हजार, तीस लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई तीस हजार र बीस लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई बीस हजार रुपैयाँ प्रदान गर्ने आयोगले निकालेको सूचनामा उल्लेख छ । पालिका चुनावका लागि आयोगले तयार पारेका सन्देशमूलक भिडियो आयोगको ट्विटर, युट्युब, फेसबुक र भाइबर जस्ता सामाजिक सञ्जालमा राखिएको छ ।

  • आजबाट मेलम्चीको पानी वितरण बढ्ने, कति जाने छ काठमाडौंका धारामा ?

    आजबाट मेलम्चीको पानी वितरण बढ्ने, कति जाने छ काठमाडौंका धारामा ?

    काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारबाट मेलम्चीको पानी वितरण क्षमता बढाउने भएको छ । अब दैनिक १७ करोड लिटर पानी वितरण गरिने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने भएको हो । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पान िपुगिसक्ने भएको हो । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो ।

    वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु गर्ने तयारी छ । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा कुल २७ करोड लिटर पानी वितरण शुरु हुने छ । अहिले केयुकेएलले दस करोड लिटर पानी वितरण गर्दै आएको छ । मेलम्चीबाट आउने १७ करोड लिटर पानीमध्ये तीन करोड २० लाख लिटर पानी पाइप परीक्षणका लागि प्रयोग गरिनेछ ।

  • कांग्रेसले सातवटै प्रदेशमा चुनावी सभा गर्ने, कुन शहरमा कहिले ?

    कांग्रेसले सातवटै प्रदेशमा चुनावी सभा गर्ने, कुन शहरमा कहिले ?

    काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी खुला सभा गर्ने निर्णय गरेको छ । स्थानीय चुनाव केन्द्रित सभा वैशाख २१ गतेदेखि सुरू भई वैशाख २७ मा सक्ने गरि तालिका राखिएको छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय चुनाव परिचालन समितिले सभा आयोजना गरेको हो। जिल्ला कार्यसमितिहरूको संयोजनमा सभाहरू हुनेछन् । काठमाडौंमा कांग्रेसले वैशाख २३ मा सभा गर्नेछ। यस्तै उपसभापति धनराज गुरूङको नेतृत्वमा कांग्रेसले देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन गरेको छ।

    उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ। मोरङमा २१, धनुषामा वैशाख २२, काठमाडौंमा वैशाख २३, कास्कीमा वैशाख २४, रुपन्देहीमा वैशाख २५, सुर्खेतमा वैशाख २६ र कैलालीमा वैशाख २७ मा कांग्रेसको सभा हुनेछ ।

  • कांग्रेस नेता कोइरालासहित दल र नेतालाई आचारसंहिता उल्लघंनमा आयोगले सचेत गराउने

    कांग्रेस नेता कोइरालासहित दल र नेतालाई आचारसंहिता उल्लघंनमा आयोगले सचेत गराउने

    काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेकोमा तीन दलसहित नेताहरू र गण्डकी प्रदेश सभामुखलाई सचेत गराउने निर्णय गरेको छ। आयोगले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई सचेत गराउने निर्णय गरेको हो। आचारसंहिता उल्लङ्घनबारे आयोगमा १० उजुरी परेको थियो। ती उजुरीबारे शुक्रबारको आयोग बैठकमा छलफल भएको थियो। आयोगले आचारसंहिता प्रतिकूल हुने काम नगर्न ती दलहरूलाई सचेत गराउने निर्णय गरेको छ।

    एकीकृत समाजवादीले भृकुटीमण्डपमा गरेको सभामा बालबालिका प्रयोग गरेको, माओवादी केन्द्रले चुनावी प्रचारमा कुलमान घिसिङको तस्बिर प्रयोग गरेको र राप्रपाले हेटौंडा सभामा आचारसंहिता उलङ्घन गरेको उजुरी परेको थियो। निर्वाचन खर्चबारे अभिव्यक्ति दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालालाई पनि आयोगले सचेत गराउने भएको छ।

    ०७४ मा नवलपुरबाट प्रतिनिधि सभा सांसद भएका कोइरालाले हालै आफूले चुनावमा छ करोड खर्च गरेको अभिव्यक्ति दिएका थिए। कोइरालाले उक्त चुनावमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको पाइएको थियो।गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले सचेत गराउने भएको छ। उनले पनि निर्वाचन खर्चबारे अभिव्यक्ति दिएका थिए।

  • आज श्रमिक दिवस, विश्वभर मनाइदैं

    आज श्रमिक दिवस, विश्वभर मनाइदैं

    काठमाडौं । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिष्य श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।


    नेपाल ट्रेड युनियन कांग्रेसले आज बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्राको आयोजना गरेको छ । भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा सहिदगेट, न्यूरोड गेट, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ । नेपाल ट्रेड युनियन महासङ्घले मध्याह्न भृकुटीमण्डमा श्रमिकसभाको आयोजना गर्ने छ । नेपालका क्रियाशील एक दर्जन बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र ९जेटियुसिसी०ले अपराह्न बृहत् कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

    वि.सं २००३ मा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७५ वर्ष पार गरेको छ । नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ । विसं २००७ को राणा शासनविरुद्ध, विसं २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२÷६३ को गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ ।

    ‘विविधतामा एकता’ नारासहित गठित जेटियुसिसीले श्रम बजार सुधारका लागि साझा मुद्दा उठाउँदै आएको छ । आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् । संविधानमा श्रम–एजेण्डा समावेश गरिएका छन् । संविधानमा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ । संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ । श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ ।

    यस्तै युनियन खोल्न पाउने र सामूहिक सौदाबाजीको हकको सुनिश्चितता भएको छ । बालश्रम, बाधा श्रम निषेध भएको छ । विभिन्न जातीय, लिङ्गीय, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ । औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ ।

    श्रमिक अधिकारका विषय संविधानमा लिपिबद्ध भए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको जेटियुसिसीको ठहर छ । संविधानले सामाजिक सुरक्षाको हक, रोजगारीको हकको प्रत्याभूति गरेको छ । तर अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौँ श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम परिश्रमिकबाट वञ्चित छन् । संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएको भन्दै जेटियुसिसीले मुलुकभित्रै रोजगारीको वातावरण बनाउन र विदेशिएका युवालाई स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । रासस

  • वर्षाले गर्दा जिम्बाब्वे र नेपालबीचको खेल तालिका परिवर्तन

    वर्षाले गर्दा जिम्बाब्वे र नेपालबीचको खेल तालिका परिवर्तन

    काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीच हुने गरि तोकिएको एकदिवसीय र टी–२० सिरिजको खेल तालिका परिमार्जन भएको छ । शनिबार त्रिवि मैदान कीर्तिपुरमा हुने गरि तोकिएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएसँगै अन्य तालिका समेत परिवर्तन भएको हो ।

    अब पहिले टी–२० सिरिज हुने भएको छ । पहिलो टी–२० वैशाख १८ मा, दोस्रो टी–२० वैशाख १९ मा र तेस्रो टी–२० वैशाख २१ मा हुनेछ। एकदिवसीय खेल वैशाख २३, २४ र २६ गते हुने गरि तोकिएको छ । नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारी गरिरहेको छ । सो प्रतियोगिताको आयोजना अमेरिकाले गर्नेछ ।

  • कामदारको न्यूनतम पारिश्रमिक बढाउन मलेसियासँग नेपालको आग्रह

    कामदारको न्यूनतम पारिश्रमिक बढाउन मलेसियासँग नेपालको आग्रह

    काठमाडौं । नेपाल सरकारले मलेसियामा कार्यरत नेपाली मजदुरको पारिश्रमिक बढाउन त्यहाँको सरकारसँग आग्रह गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको हो ।

    मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको बिषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको जानकारी दिए । श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन् । नेपाली कामदार मेहनेती र इमान्दार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताए ।

    नेपाली युवालाई सीपयुक्त बनाएर थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शुन्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने वीमा सुविधाको व्यवस्थाबारे पनि उनीहरुबीच छलफल भएको छ । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उनीहरुबीचमा छलफल भएको हो ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएपछि…

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएपछि…

    काठमाडौं । भैरहवाबाट यात्रु बोकेर काठमाडौँ उड्नै लाग्दा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएको छ । ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज अकस्मात रोक्नु परेको र सो क्रममा जहाजका पांग्रा पड्किएको बताइएको छ । विमान ठूलो दुर्घटनाबाट बचेको हो । जहाजमा ७० जना सवार थिए । त्यस क्रममा रनवेमा गुडिरहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो ।

    जहाजमा मसस्या आएपछि रोकिएका कारण विमानस्थल अवरुद्ध भएको थियो । घटना दिउँसो २ बजेको हो । त्यसपछि जहाज हटाएर शुरुमा उडान र त्यसपछि अवतरण समेत खुला गरिएको थियो । जहाजलाई अहिले ट्याक्सी वेमा राखिएको र प्राविधिक जाँच शुरु भएको कम्पनीले जनाएको छ । यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याइएको छ ।