Category: फिचर

  • सत्ता गठबन्धनको चुनावी सभा आज पोखरा र दाङमा

    सत्ता गठबन्धनको चुनावी सभा आज पोखरा र दाङमा

    काठमाडौं । सत्ता गठबन्धनले आज कास्कीको पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्ने भएको छ । बिहान ११ बजे अमरसिंह चौरमा हुने सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यहाँ मेयर पदमा नेकपा समाजवादी पार्टीका धनराज आचार्य उम्मेदवार छन् ।

    चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । पोखरा महानगरपालिकामा आचार्यले एमालेबाट कृष्ण थापासँग लड्ने छन् । पोखराको सभापछि आजै दाङको घोराहीमा हुने सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

  • उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरी प्रचार गरे कारवाही हुने

    उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरी प्रचार गरे कारवाही हुने

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरि प्रचार प्रसार गरेमा कारवाही हुने र्भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको हो । स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झन्डा र चुनाव चिह्न प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

    निर्वाचन प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहितामा उल्लेख भएभन्दा फरक ढंगले झन्डा र चिह्न प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झन्डा तथा चिह्न प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको मानी कानुनबमोजिम कारबाही तथा सजाय हुने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न, नगराउन समेत आयोगले भनेको छ । अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीतको कार्य हुने पनि आयोगले स्मरण गराएको छ ।

  • श्रीलंकामा संकटकाल घोषणा प्रति अमेरिका र यूरोपले गरे आलोचना

    श्रीलंकामा संकटकाल घोषणा प्रति अमेरिका र यूरोपले गरे आलोचना

    कोलम्बो । श्रीलंकाका राष्ट्रपतिले मुलुकमा घोषणा गरेको संकटकालप्रति अमेरिका र युरोपेली सङ्घले आलोचना गरेका छन् । सरकारविरुद्ध भइरहेका प्रदर्शन भइरहेको समयमा श्रीलङ्काका राष्ट्रपति गोटबय राजपक्षलेले संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति राजपक्षले गत रातिबाट लागु हुने गरी सङ्कटकालको घोषणा गरेका छन् । गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेको खबर छ ।

    बीबीसीका अनुसार शुक्रवार बसेको मन्त्रिपरिषद्को एउटा विशेष बैठकपछि सङ्कटकाल लगाउने निर्णय लिइएको थियो। कोलम्बोस्थित अमेरिकी राजदूत जुली चुङले मानिसहरूको आवाज सरकारले सुन्नुपर्ने बताइन्। उनले ट्विटरमा लेखेकी छन्, ‘अर्को सङ्कटकालको अवस्थाबाट चिन्तित छु। शान्तिपूर्ण नागरिकहरूका आवाज सुनिनुपर्छ, श्रीलङ्कालीहरू बेहोरिरहेको वास्तविक चुनौतीहरूसँग जुझ्न र देशमा सबैका लागि समृद्धि र अवसर रहने बाटोमा फर्काउन दीर्घकालीन समाधानको आवश्यकता पर्छ। सङ्कटकालीन अवस्थाले त्यसलाई मद्दत गर्दैन्।’

    युरोपेली सङ्घले सङ्कटकालले श्रीलङ्काका अप्ठेराहरू हल गर्न मद्दत नगर्ने बरु त्यो प्रत्युत्पादक हुनसक्ने चेतावनी दिएको छ। उसले भनेको छ, ‘एक महिना लामो शान्तिपूर्ण प्रदर्शनले दक्षिण एशियाको पुरानो लोकतन्त्रमा कसरी श्रीलङ्काली नागरिकहरूले आफ्नो अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा अनुभूत गरिरहेका छन् भन्ने देखिएको थियो।’

    राष्ट्रपति राजपक्षको कार्यालयले सार्वजनिक सुरक्षालाई मध्यनजर राख्दै सङ्कटकाल लगाइएको जनाएको थियो। विदेशी मुद्रा सञ्चितमा गम्भीर सङ्कट बेहोरिरहेको श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधि आयात गर्न गम्भीर समस्या भोगिरहेको छ। योभन्दा अघि पनि श्रीलङ्काका राष्ट्रपतिले गएको एप्रिल २ मा सङ्कटकाल लगाएका थिए जसलाई उनले एप्रिल ५ मा फिर्ता लिए।

  • नेपालमा १४ जनामा कोरोना पुष्टी, २१ जनाले जिते

    नेपालमा १४ जनामा कोरोना पुष्टी, २१ जनाले जिते

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन् ।

  • मिलिजुली खान गठबन्धन बनाएका हुन् : ओली

    मिलिजुली खान गठबन्धन बनाएका हुन् : ओली

    इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रको गठबन्धन बनेको बताएका छन् । वडामासमेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको उनको आरोप छ । शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भएको बताए ।

    बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ ।‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर रहने उनले बताए । आफुले इटहरी विकासको जिम्मा लिने उनको भनाई छ । उनले याम सुब्बा र सङ्गीता चौधरीलाई भोट मागेका छन् । एमाले अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताए ।

  • गठबन्धनको जनलहर देखेर विपक्षी आत्तियो : प्रधानमन्त्री देउवा

    गठबन्धनको जनलहर देखेर विपक्षी आत्तियो : प्रधानमन्त्री देउवा

    बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनप्रति जनलहर देखेर विपक्षी दल आत्तिएको बताएका छन् । बुटवलमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गठबन्धनको तागतबाट डराएकाले विभिन्न भ्रम छरेको उनको आरोप छ । कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले मात्रै सुकुम्बासी, अव्यवस्थित बसोबास, गरिबीलगायतको समस्या समाधान गर्न सक्ने भन्दै उनले बुटवलमा यतिका वर्ष जितेर एमालेले केही नगरेको समेत बताए ।

    विपन्न र सुकुम्बासीहरु सधैं भोट बैंक हुने कि आफ्नो समस्या सधैंका लागि समाधान गर्न आफ्नो भोट प्रयोग गर्ने भन्नेबारे सोच्नुपर्ने उनको भनाई छ । सभापति देउवाले कांग्रेसलगायत गठबन्धनका नेता कार्यकर्तालाई हौसला दिन र विकासको प्रतिबद्धता जनाउन आफू बुटवल आएको बउल्लेख गरे । गठबन्धनले जितेमा ५ वर्षमा देखिनेगरी विकास हुने उनको भनाई छ । प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासका लागि एमसीसी लगायतका सम्झौता गरेर परिवर्तनको सुरुवात भएको समेत उल्लेख गरेका छन् ।

  • अमेरिकी विश्वविद्यालयमा रहेको नेपाली मूर्ति फिर्ता ल्याउने सहमति

    अमेरिकी विश्वविद्यालयमा रहेको नेपाली मूर्ति फिर्ता ल्याउने सहमति

    काठमाडौं । अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार–पार्वतीको मूर्ति नेपाल फर्काउने सहमति भएको छ । येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो । नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त कलाकृति फिर्ता गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    आर्गिलाइट ढुङ्गाबाट नवौं-दशौं शताब्दिमा बनेको उक्त मूर्ति येल युनिभर्सिटीमा सन् २०१५ मा एक दातामार्फत पुगेको थियो । नेपालको पुरातत्व विभाग र येल विश्वविद्यालय कला संग्रहबाट २०२१ मा गरिएका छुट्टाछुट्टै अनुसन्धानबाट यो मूर्ति २०३२ सालसम्म भक्तपुर ननगरपालिका गोलमाडी टोलस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको पत्ता लागेको थियो । र, त्यहाँबाट हराउनुअघि बौद्धदेवी र पार्वतीको रुपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको थियो ।

    समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको र कलाशैलीका हिसाबले यो मूर्ति आरम्भिक मध्यकालको रहेको अनुमान गरिएको छ । मूर्ति फिर्ता गर्ने सहमतिपछि बोल्दै कार्यवाहक महावाणिज्यदूत गौतमले येल विश्वविद्यालय, येल विश्वविद्यालय आर्ट ग्यालेरी, उक्त ग्यालरीकी निर्देशक स्टेफनी वाइल्स, गभर्निङ बोर्ड र क्युरेटोरियल टोलीलाई धन्यवाद दिएका छन् ।


    मूर्ति हस्तान्तरण गर्ने क्रममा येल युनिभर्सिटी आर्ट ग्यालेरीकी निर्देशक स्टेफनी वाइल्सले मूर्ति फिर्ता गर्न पाउँदा खुसी लागेको बताइन् । येल युनिभर्सिटी आर्ट ग्यालरीले महावाणिज्यदूतावास र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता पठाउनेछ ।

  • जिम्बाब्वे ‘ए’ विरुद्ध नेपालको सानदार जित

    जिम्बाब्वे ‘ए’ विरुद्ध नेपालको सानदार जित

    काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा जिम्बाब्वे ए विरुद्ध नेपालले सानदार जित निकालेको छ । यससँगै तीन खेलको सिरिज बराबरीमा आएको छ । अब सोमबार जुन टीमले जित्छ, सिरिज सोही टीमको हुनेछ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर बलिङ रोजेको नेपालले पाहुना टोली जिम्बाब्वेलाई मात्र ८७ रनमा अलआउट गर्न सफल भयो । तीव्र गतिका बलर चम्किएको खेलमा सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए ।

    कप्तान सन्दिप लामिछानेले २ र सागर ढकालले एक विकेट लिँदा ३१.५ ओभरमा जिम्बाब्वे अलआउट भएको हो । जवाफमा नेपालले झिनो लक्ष्य ११.२ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि ओपनर आसिफ सेख र सुनिल धमलाले उत्कृष्ट शुरुवात दिलाए । धमला ३८ रनमा आउट भए । सेख ३४ रनमा अविजित रहे । विनोद भण्डारीले अनआउट ४ रन जोड्न सफल भए । नेपाल पहिलो वान डेमा भने पराजित भएको थियो ।

  • नेपाल र जिम्बाब्वे ‘ए’ दोस्रो वान डे खेल्दै, बलिङमा नेपालको राम्रो शुरुवात

    नेपाल र जिम्बाब्वे ‘ए’ दोस्रो वान डे खेल्दै, बलिङमा नेपालको राम्रो शुरुवात

    काठमाडौं । नेपाल र जिम्बाब्वे ‘ए’ बीचको दोस्रो एक दिवसीय खेल अहिले जारी छ । नेपालले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेपछि जिम्बाब्वे ‘ए’ टोलीले ब्याटिङमा उत्रिएको छ हो । शुरुवातमै नेपालले चार विकेट लिँदै जिम्बाब्वेलाई दवावमा राख्न सफल भएको छ ।नेपालले ७ ओभरको बलिङमा चार विकेट झार्दा जिम्बाब्वेले २५ रन मात्र जोडेको छ । नेपालका लागि सोमपाल कामी र करण केसीले दुई–दुई विकेट लिएका छन् ।

    नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र आदिल अन्सारीलाई बेन्चमा राखिएको छ । सुनिल धमला र विनोद भण्डारीलाई खेलमा मौका दिइएको छ। शुक्रबारको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले हारोको थियो । तीन एक दिवसीयको श्रृङ्खलामा जिम्बाब्वको जित रोक्न समेत नेपालले आजको ेल जित्नै पर्छ । नेपाल अहिले आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तयारीमा छ ।

  • निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम

    निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम

    काठमाडौं । ३० वैशाखमा तोकिएको निर्वाचनका दौरान भिडभाड बढ्दा नेपालमा महामारी फिर्ता हुने जोखिम बढेको छ । भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान समेत गरेको छ । कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले निरन्तर आह्वान गरिरहेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालमा कोरोना संक्रमणदर स्थिर रहेको छ।

    केही दिनदेखि दैनिक १० देखि ३० जनामा संक्रमण पुष्टि भइराखेको छ। संक्रिय संक्रमितको संख्या अहिले दुई सयको हाराहारीमा छ। मन्त्रालयका अनुसार २९ जिल्लामा संक्रमण दर शून्य छ। त्यसैगरी, दुई सय भन्दा कम संक्रमित भएका जिल्लाको संख्या ४८ रहेको छ । संक्रमण पृष्टि हुनेको संख्यामा कमी आएपनि जोखिम उच्च रहेकोले स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले भनेको छ । छिमेकी देश भारतमा समेत संक्रमणदर बढिरहेका कारण समेत नेपालमा यसको जोखिम बढेको हो ।

    खोप लगाउँदा र स्वास्थ्यका मापदण्डा अपनाउँदा संक्रमणको जोखिम कम हुने भन्दै मन्त्रालयले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रहसमेत गरेको छ । नेपालमा २४ घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा १५ जनामा कोरोना पृष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पृष्टि हुनेको संख्या ११ लाख १९ हजार ११२ पुगेको छ। जसमध्ये नौ लाख ६६ हजार ७४७ जनाले कोरोना जितेका छन्।

    नेपालमा अहिलेसम्म एक करोड ८९ लाख ३७ हजार ३५० जनाले एक मात्रा, एक करोड ९६ लाख ५८ हजार ९५० जनाले पूर्णमात्रा खोप लगाएका छन् भने ३५ लाख ९३ हजार ७२ जनाले अतिरिक्र मात्रा खोप लगाएका छन्। संक्रमितमध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदर १.२ प्रतिशत रहेको मन्त्रालयले तथयांकले देखाएको छ। कोरोना नियन्त्रणका लागि खोप लगाउन सुरु भएदेखि अहिलेसम्म सरकारले चार करोड २१ लख ८९ हजार ५५२ मात्रा खोप ल्याएको छ।

  • कांग्रेस नेत्री तथा देउवा पत्नी राणाविरुद्ध निर्वाचन आयोगमा उजुरी

    कांग्रेस नेत्री तथा देउवा पत्नी राणाविरुद्ध निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको नेपाली संचारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेता आरजुविरुद्ध हरिशप्रसाद अवस्थी नामका मतदाताले उजुरी दिएका छन् । बिहीबार आरजुले कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने भन्दै अभिव्यक्ति दिएकी थिइन् । यो मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका छन् ।

    आरजुले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने धम्की दिएकी हुन् । डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा छ । कांग्रेस बिपीको चुनाव चिह्न करूवा छ। कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ। मल्ललाई कांग्रेसले कारबाही गरेको थियो। मल्ल पक्षले कांग्रेस बिपीको चिह्न लिएर एमालेसँग चुनावी तालमेल गरेका छन्।

  • चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तनहुँ पुग्दै

    चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तनहुँ पुग्दै

    काठमाडौं । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ जाने भएका छन् । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् । सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेस नेताहरु अहिले देश दौडाहमा छन् ।

  • जिल्लामा पुग्यो मतपत्र, अब स्थानीय तहमा पठाइँदै

    जिल्लामा पुग्यो मतपत्र, अब स्थानीय तहमा पठाइँदै

    काठमाडौं । स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । राससका अनुसार आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए । उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो ।

    आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् । कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ ।

    कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन् । ती सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमूना मतदान कार्यक्रमलगायत काममा पनि ति कार्यालय जुटिरहेका छन् ।


    प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ । थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिने र आवश्यकताको आधारमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको छ ।

    आयोगले मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाउन प्रबन्ध गरेको छ । निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् । त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । अहिले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको गतिविधि पनि सञ्चालन भइरहेका छन् । लुम्बिनी प्रदेशको मुख्यालय रहेको दाङ जिल्लामा प्रदेश निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई व्यवस्थित गरेको छ ।

    कार्यालयका प्रमुख नारायण भण्डारीका अनुसार सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री प्याकिङ भइरहेको छ भने अपुग रहेको ३०० मतपेटिका आज आयोगबाट पठाइएकाले त्यसको व्यवस्थापन गरिनेछ । उनले वैशाख २४ गते जिल्लाको बङ्गलामुखी गाउँपालिकाको कमिरेपानीमा नमूना मतदान गराइएको कार्यक्रम रहेको र २६ र २७ गते खटाइएका जनशक्तिलााई निर्वाचन सामग्री वितरण हुने बताए ।

    दाङमा स्थानीय रेडियो र सञ्चारमाध्यमबाट मतदाता शिक्षालगायत सामग्रीको प्रसारण र प्रकाशन भइरहेको छ भने आचारसंहिता विरुद्धका उजुरी आएमा अनगुगमन र कारबाहीका लागि संयन्त्र तयार गरिएको छ । जिल्लामा हालसम्म कुनै अप्रिय घटना वा आचारसंहिताको गम्भीर प्रकारको उल्लङ्घन भएको जानकारीमा आएको देखिएको छैन । मधेश प्रदेशको प्रदेश निर्वाचन कार्यालयले निर्वाचनका लागि धनुषा जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनका क्रममा गर्नुपर्ने र गर्न नहुने कार्यका सम्बन्धमा तालिम दिएको छ ।

    जनकपुरमा आयोजित तालिममा निर्वाचनासम्बन्धी ऐन, कानुन, कार्यविधि, निर्वाचन आचारसंहिताका सैद्धान्तिक र व्यावहारिक पक्षहरूरुबारे तालिम दिइएको हो । गत शनिबारदेखि तीन दिनसम्म चल्ने तालिममा दैनिक ३०० को सङ्ख्यामा सहभागी रहनेछन् । कुल १८ पालिका भएको जिल्लामा ५९६ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत रहेका छन् । जिल्लामा चार लाख ६७ हजार ६८८ मतदाता, ५९६ मतदान केन्द्र र ३२३ मतदानस्थल रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।

    निर्वाचन सामग्री र मतपत्र जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा राखिएको छ । निर्वाचनका लागि सुरक्षालगायत सबै तयारी भइसकेको प्रमुुख पन्थीले बताए । जिल्लामा आचारसंहिता अनुगमन संयन्त्रको बैठक भई अनुगमन र कारबाहीका काम पनि रहेका छन् । अनुगमनका क्रममा आचारसंहिता विपरीत दल र उम्मेदवारले प्रयोग गरेका तुल, ब्यानरहरू सुरक्षाकर्मीको सुहयोगमा हटाउने काम भएको छ ।

    निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको पाइएमा तत्काल नियन्त्रणमा लिइ कारबाही गर्न पनि निर्देशन भएको प्रदेश कार्यालयका प्रमुख पन्थीको भनाइ छ । कर्णाली प्रदेशको मुख्यालयस्थित सुर्खेत जिल्लामा निर्वाचनको तयारी भइरहेको छ ।

    प्रदेश निर्वाचन कार्यालयका अधिकारी दुर्गाप्रसाद चालिसेका अनुुसार निर्वाचन सामग्री र मतपत्र प्याकिङ सम्पन्न भई वितरणका लागि तयारी गरिएको छ भने जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई वैशाख २४ र २५ गते तालिम दिइने कार्यक्रम रहेको छ । कार्यालयले शुक्रबार वीरेन्द्रनगर नगरपालिका वडा नं ७ को कृष्णसदन माध्यमिक साधारण विद्यालयमा नमूना मतदान गराइएको छ ।

    प्रमुख चालिसेले निर्वाचन आचारसंहिता कार्यान्वयन अवस्थाको अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयसहित सम्बद्ध निकायले काम गरिरहेका छन् भने आचारसंहिता उल्लङ्घन भएको पाइएमा सोबारे छलफल गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

    सुदूरपश्चिम प्रदेशको मुख्यालय रहेको कैलालीमा पनि मतदान अधिकृत र सहायकलाई तालिम जारी रहेको छ । हालसम्म ८१३ जनालाई तालिम दिइएको छ भने ४१३ लाई तालिम दिन बाँकी छ । कार्यालयले जिल्लाका सबै पालिकामा निर्वाचन सामग्री बुझाउन थालेको छ ।

    शुक्रबार मोहन्याल गाउँपालिकाबाट निर्वाचन सामग्री वितरण सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले सुरक्षा व्यवस्थापनका बारेमा प्रमुख जिल्ला अधिकारीले तालिममा प्रकाश पारेका छन् भने समग्र सुरक्षा, जनशक्ति र व्यवस्थापनको तयारी चुस्त र व्यवस्थित भएको छ ।

  • बाजुरामा समाजवादी र कांग्रेसका कार्यक्रताबीच झडप, प्रहरीले गर्यो हवाई फायर

    बाजुरामा समाजवादी र कांग्रेसका कार्यक्रताबीच झडप, प्रहरीले गर्यो हवाई फायर

    बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनमा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले बताएका छन् । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई लात्ताले हिर्काएको विषयमा विवाद झडपमा परिणत भएपछि समाजवादीका कार्यकर्ता गुहार माग्दै अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा पुगेका थिए । विवादले उग्ररुप लिएपछि उनीहरु अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा गुहार माग्न पुगेका थिए । अर्को समूहले उनीहरुलाई प्रहरी कार्यालयबाहिर आउने दबाव दिँदै प्रहरी चौकीमा नै आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन हवाइ फायर र अश्रुग्याँस नै प्रहार गर्नुपर्ने अवस्था आएको बताइएको हो ।

  • आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी

    आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ। बीबीसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले धेरै देशहरूले कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या कम गणना गरेको विश्वास गरेको छ। कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या ५४ लाख मात्रै गणनामा समावेश गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले भारतमा मात्रै कोभिड सङ्क्रमणका कारण ४७ लाख मानिसहरूको मृत्यु भएको हुनसक्ने जनाएको छ। यो सङ्ख्या भारतले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क भन्दा १० गुणाले बढी हो।


    यो विवरण अनुसार कोभिड महामारीबाट विश्वभर मृत्यु हुनेहरूको एक तिहाइ सङ्ख्या भारतमा देखिन्छ। तर भारत सरकारले विश्व स्वास्थ्य सङ्गठनको यो आकलनमा प्रश्न उठाएको छ। भारतले गणनाको विधिमा चिन्ताू रहेको बताए पनि अन्य अध्ययनहरूले पनि भारतमा कोभिडबाट मृत्यु हुनेहरूको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा बढी रहेको देखाएका छन्। विश्व स्वास्थ्य सङ्गठनले प्रयोग गरेको मापनलाई अतिरिक्त मृत्यु भनिएको छ। जसमा महामारी सुरु भएपछि मृत्यु हुने मानिसहरूको सङ्ख्या महामारी अघिको त्यही समयको मृत्युदर भन्दा कति बढी थियो भन्ने अन्तर हेरिएको छ।

    यो विधिले प्रत्यक्ष कोभिडकै कारण मृत्यु नभएका तर कोभिड महामारीले निम्त्याएका अप्रत्यक्ष समस्याहरूका कारण भएका मृत्युहरूलाई पनि गणना गर्छ। जसमा मानिसहरू कोभिडका कारण अस्पतालबाट आवश्यक सेवा लिन वञ्चित भएका कारण भएका मृत्यु जस्ता कारणहरू पर्छन्। यसले केही क्षेत्रहरूमा भएको कमजोर तथ्याङ्क सङ्कलन र महामारीको सुरुवाती समयमा देखिएको परीक्षण अभावजस्ता समस्याहरू पनि उजागर गरेको छ।

    तर विश्व स्वास्थ्य सङ्गठनले देशहरूको तथ्याङ्कमा देखिएको ५४ लाखबाट आफ्नो आकलनमा थपिएको ९५ लाख मृत्युका अधिकांश घटना कोभिडको प्रत्यक्ष असरका कारण भएको दाबी गरेको छ। पछिल्लो तथ्याङ्कलाई विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क विभागकी समिरा आस्माले दुःखान्त भनेकी छिन्। भारत बाहेक सरकारी विवरणहरूमा भन्दा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा धेरै कोभिड मृत्यु देखिएका देशहरूमा रुस, इन्डोनेसिया, अमेरिका, ब्रजिल, मेक्सिको र पेरु छन्।

    रुसले सार्वजनिक गरेको कोभिड मृत्युको विवरणभन्दा विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो विवरण साढे तीन गुनाले बढी छ। प्रतिवेदनले देशको जनसङ्ख्याको आकारसँग समेत अतिरिक्त मृत्युको दरलाई तुलना गरेको छ। सन् २०२० र २०२१ मा यूके सहित अमेरिका, स्पेन र जर्मनी जस्ता देशहरूको अतिरिक्त मृत्युदर विश्वको औसतभन्दा बढी देखिएको छ।

  • ‘कसैको छोरी कसैको श्रीमती भनेर महिला भित्रको क्षमतालाई अवमूल्यन गरिँदैछ’-प्रचण्ड

    ‘कसैको छोरी कसैको श्रीमती भनेर महिला भित्रको क्षमतालाई अवमूल्यन गरिँदैछ’-प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिर्जना सिंह र रेणु दाहाललाई कसैको छोरी कसैको श्रीमती भनेर अवमूल्यन गरिएको बताएका छन् ।

    काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उत्तः कुरा बताएका हुन् । हुन त भरतपुर र काठमाडौंको मेयरका बारेमा अनावश्यक टिकाटीप्पणी भइरहेका छन्।

    कसैलाई छोरीको रुपमा कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको क्षमतामा अवमूल्यन गर्ने एक थरी मानिसका कोसिस छन्,’ प्रचण्डले भने, ‘म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु।

    उनले महिला कार्यकारी पदमा भएको ठाउँमा राम्रो काम भएकाले महिला नेतृत्वलाई विश्वास गर्न समेत आग्रह गरे । ‘

    अहिले घटनाक्रमले के देखाएको छ भने महिला जहाँ जहाँ कार्यकारी नेतृत्वमा नेतृत्वमा त्यहाँ त्यहाँ राम्रो काम भएको छ,’ उनले भने, ‘त्यसैले महिलाहरुलाई विश्वास गर्ने उनीहरुको योग्यतालाई सम्मान गर्ने देशकै आवश्यकता हो भन्छु ।’

    देशको पहिचान राजधानीले दिने भएकाले नेपाल कस्तो बन्छ भन्ने काठमाडौं कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने उनको भनाइ छ ।

    सम्पदाका दृष्टिले काठमाडौं सुन्दर भएपछि शासन र सुशासन भ्रष्टाचारको दृटिले गर्व गर्न नसक्ने स्थिति भएको उनले बताए । तर राजधानीलाई गर्व गर्न लायक बनाउन अहिलेका गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु पर्ने उनको भनाइ छ ।

  • ‘जित्नु हार्नु ठुलो कुरा होइन, यो प्रतिगमनविरुद्धको गठबन्धन हो, प्रतिगमन बलियो छ’- चित्रबहादुर केसी

    ‘जित्नु हार्नु ठुलो कुरा होइन, यो प्रतिगमनविरुद्धको गठबन्धन हो, प्रतिगमन बलियो छ’- चित्रबहादुर केसी

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई कमजोर नसोच्न आग्रह गरेका छन् ।

    गठबन्धनका तर्फबाट शान्तिबाटिकामा जारी सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनको विरुद्ध गठबन्धन बनेको भएपछि उनलाइृ कमजोर नठान्न आग्रह गरेका हुन् ।

    ‘निर्वाचन एक हप्ता बांकी छ। हुन्न कि भन्ने डर लागिरहेको थियो। कसले जित्छ हार्छु भन्ने ठूलो होइन। जनताबाट चुनिएका जनप्रतिनिधिबाट शासित हुनुपाउनुपर्छ’ उनले भने।

    केसीले काठमाडौँ महानगरपालिकाबाट जाने सन्देशले देशभर असर पर्ने जिकिर गरेका छन्। महानगरपालिकाको सन्देशले देशभर असर पर्ने जिकिर उनले गरेका हुन्।

    ‘काठमाडौँ मुलुकको महत्वपूर्ण ठाउँ हो। महानगरपालिकाबाट जाने सन्देश देशभर र अन्तराष्ट्रिय स्तरमा असर पर्छ,’ अध्यक्ष केसीले भने, ‘मेयर महत्वपूर्ण ओहोदा हो।

    उनले राष्ट्रिय जनमोर्चा राष्ट्रवादी पार्टी भएको बताए। ‘अरु पार्टीसँग विक्यो भनेर अनर्गल प्रचार गरिएको छ । गणतन्त्र, धर्म निरपेक्षता सिद्धिने र हिजोका उपलब्धी सिद्धिने भएपछि हाम्रै पार्टीले प्रतिगमनका विरुद्धमा गठबन्धन गर्नुपर्छ भनेर आवाज उठाएको हो,’ उनले भने।

    नेता केसीले मेयरमा सिर्जना सिंहले विजयी प्राप्त गरेर काठमाडौं महानगरलाई सुशासन कायम गर्ने विश्वास व्यक्त गरे।

  • ‘काठमाडौं शहरलाई मतदाताको शिर निहुरिन नदिने गरी व्यवस्थित बनाउँछु’-सिर्जना सिंह

    ‘काठमाडौं शहरलाई मतदाताको शिर निहुरिन नदिने गरी व्यवस्थित बनाउँछु’-सिर्जना सिंह

    काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई व्यवस्थित शहर बनाउने प्रतिबद्धता जनाएकी छिन्।

    गठबन्धनका तर्फबाट शान्तिबाटिकामा जारी सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै सिंहले काठमाडौँलाई बस्न लयक शहर बनाउने प्रतिबद्धता जनाएकी हुन्।

    सिंहले गठबन्धनको पक्षमा माहोल बनिसकेको बताइन् । काठमाडौंमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत सिंहले व्यक्त गरिन् ।

    ‘पार्टीले मलाई काठमाडौँको मेयरका लागि अघि सारेको छ। यो हामी महिलाको जित भएको छ। सबै महिला आन्दोलनका लागि गौरवको कुरा हो,’ सिर्जनाले भनिन्, ‘म जितेर गएपछि महानगरलाई महान् घर बनाउने लक्ष्य रहेको छ।’

    उनले काठमाडौँको सम्पदा, सभ्यता, संस्कृति बचाउन सधैँ सक्रिय रहने प्रतिवद्धता पनि जनाइन्। सिर्जनाले महानगरको प्रमुख भएपछि सुशासन ल्याउनु पहिलो दायित्व हुने पनि बताइन्।

    आफू मेयर भएपछि काठमाडौंका सबै टोल र गल्लीमा सडक बत्ती र सीसी टिभी जडान गर्ने सिर्जनाको प्रतिवद्धता छ ।

    काठमाडौं महानगरका सबै वडामा ज्येष्ठ नागरिकका लागि भवन बनाउने उद्घोष गर्दै सिंहले सार्वजनिक स्थानमा निशुल्क खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

    ‘महानगरपालिकामा सुशासन ल्याउनु मेरो पहिलो दायित्व हुनेछ। घरभित्र सुशासन भएन भने बाहिर ठूला–ठूला कुरा गर्नुको कुनै औचित्य हुन्न,’ उनले भनिन्। सिर्जनाले महानगरका ३२ वटै वडामा कोशेलीघर स्थापना गर्ने पनि बताइन्।

  • सर्वोच्चद्वारा पूर्वमन्त्री आलमको मुद्दामा जिल्ला र उच्चकै आदेश सदर, थुनामुक्त गर्न नमिल्ने

    सर्वोच्चद्वारा पूर्वमन्त्री आलमको मुद्दामा जिल्ला र उच्चकै आदेश सदर, थुनामुक्त गर्न नमिल्ने

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दामा सर्वोच्च अदालतले जिल्ला तथा उच्च अदालतकै आदेश सदर गरेको छ।

    न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइ पछि सर्वोच्चले यस्तो आदेश गरेको हो।

    मुद्दाको अन्तिम फैसला नहुन्जेल आलमलाई थुनामै राख्ने जिल्ला अदालत र उच्चको आदेश सदर गरेको हो।

    जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालतमा गएका थिए।

    नेता आलममाथि २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको केही व्यक्तिको ज्यान लिएको आरोप लागेको छ।

    आलम नक्खु कारागारमा छन्। उनीमाथि तीन वटा मुद्दा लगाइएको छ। उनीविरुद्ध ३२ वर्ष कैदको माग गरिएको छ। मुद्दाको अन्तिम फैसला बाँकी नै रहेको छ । फैसला नहुन्जेल उनी कारागारमै रहने निश्चित भएको छ।

  • पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ सँग नेपाल पराजित

    पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ सँग नेपाल पराजित

    काठमाडौं । नेपाल र जिम्बावे ए बीचको पहिलो एक दिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल जिम्बावे एसँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावेले ७ विकेटको क्षतिमा २६ ओभरमा पूरा गर्‍यो।

    जिम्बाब्वेका लागि इनोसेन्ट केइयाले अविजित ४८ रनको योगदान दिए । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । ब्राड इभन्स १७ रनमा अविजित रहे ।

    केफस जुवाओले ३२ र रोय केइयाले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले दुई–दुई तथा सोमपाल कामी र सागर ढकालले एक–एक विकेट लिए ।

    यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो निम्तो पाएको नेपालले ३१।३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए । ७० बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे ।

    करण केसीले २५, कुशल भुर्तेलले १९ र दिपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    जिम्बाब्वेका लागि ब्राड इभन्सले चार तथा, भिक्टर न्याउची, ब्रेन्डन माभुता र केफस जुवाओले दुई–दुई विकेट हात पारे ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल खराब ब्याटिङ गर्दा ३१.३ ओभरमा १३६ रनमै अलआउट भयो।

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। करण केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्रसिंह ऐरी १८ रनमा आउट भए। बाँकी कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    आसिफ र आरिफ शेख समान ५-५, रोहित पौडेल ३ रन, आदिल आलम २ रन, सन्दीप लामिछाने ४ रन र शुसन भारी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा अविजित रहे।

    जिम्बावेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए। यस्तै भिक्टर न्याउची, ब्राण्डन माभुता र जुवाओले समान २-२ विकेट लिए।

    यो जितसँगै जिम्बाब्वेले सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

  • चीनमा हुने भनिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित

    चीनमा हुने भनिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । चीनको हाङ्चौमा हुने भनिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएको छ । ।

    एसियाली ओलम्पिक परिषद्ले आउँदो सेप्टेम्बर १० देखि २५ तारिखसम्मका लागि तय भएको १९औं एसियाली खेलकुद अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको हो ।

    आयोजकले एसियाकै सबैभन्दा ठूलो खेल प्रतियोगिता स्थगितको स्पष्ट कारण खुलाएको छैन । तर चीनमा बढ्दो कोरोना संक्रमणका कारण प्रतियोगिता स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

    प्रतियोगिताको नयाँ मिति स्थानीय आयोजकसँग छलफल गरेर तय गरिने ओसिएले जनाएको छ।

    यो प्रतियोगिताका लागि नेपालले पनि तयारी गरिरहेको थियो।

    राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय थियो। यी खेलका लागि प्रारम्भिक खेलाडी छनोट समेत गरिएको थियो।

    एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङमा नेपालले भाग लिने निर्णय गरेको थियो।

    पछिल्लो समय कोरोना महामारीसँग जुधिरहेको मुलुककै ठूलो सहर सांघाईनजिक नै पर्छ । ‘जिरो कोभिड’ को नीति अपनाएको चीनले सांघाईमा लामो समयदेखि लकडाउन गरेको छ ।

  • वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा बिक्री गर्न टेन्डर आहृवान

    वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा बिक्री गर्न टेन्डर आहृवान

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ ।

    प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

    प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९सम्म बिक्री गर्ने छ ।

    नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ ।

    इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ ।

    भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ ।

    देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।

    नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मध्यमस्र्याङ्दी, मस्र्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को लिखु–४बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।

  • मंगलबार मध्य रातदेखि  निर्वाचन नसकिएसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सिफारिस

    मंगलबार मध्य रातदेखि निर्वाचन नसकिएसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सिफारिस

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिबाटै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले सरकारलाई गरेको सिफारिस अनुसार वैशाख २७ गते मङ्गलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म सीमा नाका गराई आवतजावत रोक्नु पर्ने उल्लेख छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग सम्बन्धित व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन यस प्रकारको निर्णय गरेको हो । आयोगको आग्रहबमोजिम सरकारले निर्णय गरे नेपाल–भारत र नेपाल–चीन सीमामा आवतजावत तीन दिनसम्म पूर्ण रूपमा बन्द रहनेछ । आयोग पदाधिकारीको उक्त निर्णयपछि गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले उल्लेख गरेको छ ।

  • नेपाल र जिम्बाब्वेबीच पहिलो वान डे क्रिकेट आज

    नेपाल र जिम्बाब्वेबीच पहिलो वान डे क्रिकेट आज

    काठमाडौं । नेपाल र जिम्बाब्वेको ‘ए’ बीच शुक्रबार पहिलो एक दिवसीय क्रिकेट खेल हुँदैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुने तालिका छ । नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्दैछ । दोस्रो खेल शनिबार र सोमवार तेस्रो एक दिवसीय हुने तालिका छ । वैशाख १७ गतेदेखि तय भएको एक दिवसीय श्रृङ्खला वर्षाका कारण प्रभावित भएपछि खेल तालिका परिवर्तन गरिएको हो । एक दिवसीय श्रृङ्खलाका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा फरक टोली घोषणा गरेको छ ।

    टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी रहेका छन् । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग खेलेको टी–२० श्रृङ्खला खेलेको छ । जुन बराबरीमा सकिएको छ ।

  • कांग्रेसको काठमाडौंमा चुनावी सभा आज

    कांग्रेसको काठमाडौंमा चुनावी सभा आज

    काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित गरि चुनावी सभा आयोजना गर्दैछ । दिउँसो १ बजे शान्तिबाटिकामा चुनावी सभा हुनेछ।
    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

    काठमाडौं महानगरमा सत्तागठबन्धनबाट कांग्रेस नेता सिर्जना सिंह मेयर उम्मेदवार छिन्। कांग्रेसले वैशाख २१ देखि २७ गतेसम्म देशका १० सहरमा चुनावी सभा गर्ने तालिका तोकेको थियो । सोही अनुसार आज काठमाडौंमा सभा गर्न लागिएको हो । यसअघि बिहीबार भरतपुरमा गठबन्धनले सभा आयोजना गरेको थियो ।

  • देशका विभिन्न स्थानमा वर्षा, आइतबारसम्म जारी रहने

    देशका विभिन्न स्थानमा वर्षा, आइतबारसम्म जारी रहने

    काठमाडौं । शुक्रबारु बिहानैबाट वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो अवस्था आइतबारसम्म नै लम्बिने सम्भावना रहेको छ । नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ। प्रदेश नम्बर १, वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

    बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, वाग्मती, गणडकीका केही स्थानहरूमा एवं लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    रातमा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अरू भूभागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने

    निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने

    काठमाडौं । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनको मतदान हुने दिन निजी सवारी साधन चलाउन पास अनिवार्य गरिएको छ । निर्वाचन आयोगले पास नभई सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारसँग अनुरोध गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले अनुमती पत्र लिनु पर्ने छैन ।

    शारीरिक अपाङ्गता भएका व्यक्तिले मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउनेछन् । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ। अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ। अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ।

    अन्य सवारी साधनहरुलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिईएको छ। पत्रकारको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछन्। मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु पर्ने छैन ।

  • स्थानीय तह निर्वाचनका लागि आज सबै मतपत्र जिल्लामा पठाइने

    स्थानीय तह निर्वाचनका लागि आज सबै मतपत्र जिल्लामा पठाइने

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम शुक्रबार सम्पन्न हुने भएको छ । निर्वाचन आयोगका अनुसार आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम पुरा भइसकेको छ । मतपत्र शुक्रबारसम्म सबै जिल्लामा पुग्ने भएको हो । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ ।

    त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् । ७५३ पालिकाका जनप्रतिनिधि चुन्न यही वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।

  • पाल्पामा घर जल्दा, एक जनाको मृत्यु

    पाल्पामा घर जल्दा, एक जनाको मृत्यु

    पाल्पा । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं। ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । सोमै घरमा एक्लै बस्दै आएका थिए ।

    उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो । आगोले घर पूरै जलेर नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन । क्षतिको पूरा विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण

    केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ । उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थापित नेपाल कम्युनिष्ट पार्टी एमालेका काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुन् ।

    स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार बालेन शाहको विषयमा अभिव्यक्ति दिएको विषय सञ्चारमाध्यम तथा सामाजिम सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको हो । यसअघि आयोगले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तामाथि गरेको टिप्पणीका विषयमा पनि प्रष्टीकरण सोधेको थियो ।

    १५ वैशाखमा काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । स्थापितले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनी टिप्पणी गरेका थिए । त्यस्तै स्थापितले बालेन शाहले ‘केशव स्थापितलाई जिताऔं, बालेनलाई भोट हालौं’ भनेर प्रचार गरेको पनि आरोप लगाएका थिए । निर्वाचन आयोगले हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।