Category: फिचर

  • निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो : राष्ट्रपति

    निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताएकी छिन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै राष्ट्रपतिबाट यस्तो आह्वान गरिएको हो । उनले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान समेत गरेकी छिन् । शुक्रवार हुन गइरहेको पालिका चुनावका सम्बन्धमा राष्ट्रपतिले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको उल्लेख गरेकी छिन् ।

  • निर्वाचन आयोगको आह्वान : लोभ र प्रलोभनमा नपरी भोट हालौं

    निर्वाचन आयोगको आह्वान : लोभ र प्रलोभनमा नपरी भोट हालौं

    काठमाडौं । निर्वाचन आयोगले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकार प्रयोग गर्न आम मतदातामा आह्वान गरेको छ । बिहीबार बसेको आयोगको आकस्मिक पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरे । उनका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पुरा भएको छ ।

    प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रबन्ध मिलाई सकिएको र मतपेटिकाको सुरक्षा र सकिएपछि सबै मतपेटिका लैजाने काममा पनि सुरक्षित तवरबाट गरिने व्यवस्था मिलाएको जानकारी समेत दिए । प्रमुख आयुक्त थपलियाले पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभ, लालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको सही तरिकाले प्रयोग गर्न मतदातासँग आह्वान गरेका हुन् ।

    निर्वाचनको सबै तयारी पूरा भइसकेको भन्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी गराए । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कली प्रमाणपत्रमध्ये कुनै एकको माध्यमबाट भोट हाल्न पाउने व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।

  • दाङमा नुहाउने क्रममा दुई जनाको मृत्यु, एक जना वेपत्ता

    दाङमा नुहाउने क्रममा दुई जनाको मृत्यु, एक जना वेपत्ता

    दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवाका १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न पुगेका सुवेदी डुबेको अवस्थामा मृत फेला परेका थिए । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

    बिहीबार नै घोराही उपमहानगरपालिका १७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर स्थानीय ३० वर्षीया विमला घर्तीमगरको मृत्यु भएको छ । बिहीबार बिहान जलाशयमा नुहाउन गएको बेला उनी चिप्लिएर डुबेकी थिइन् । उनको शवको पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको दाङका प्रहरी प्रवत्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।

    बवई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोर बेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजेतिर बबईमा नुहाउन गएको समयमा घोराही उपमहानगरपालिका १० नारायणपुरका १६ वर्षीय प्रसान्त वली बेपत्ता भएको समाचारमा उल्लेख छ ।

  • निर्वाचनको तयारी पूरा, २१ हजार ९०० मतदान केन्द्रबाट भोट हालिने

    निर्वाचनको तयारी पूरा, २१ हजार ९०० मतदान केन्द्रबाट भोट हालिने

    काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले यस्तो जानकारी गराएको हो । आयोगमा बिहीवार पत्रकार सम्मेलन गर्दै आयोगले देशभर २१ हजार ९०० मतदान केन्द्रबाट भोट हालिने आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।  देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको उनको भनाइ छ । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको उहाँले जानकारी दिए ।

    यस्तै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भए/नभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको सहप्रवक्ता अर्यालले बताए । आचारसंहिता लागू भएयता ६६ वटा स्पष्टीकरण सोधिएको, नौ वटा सचेत र एउटा ध्यानाकर्षणको निर्णय भएको आयोगले जनाएको छ । 

    देशभरका १० हजार सात सय ५६ मतदानस्थलमा रहेका २१ हजार नाै सय मतदान केन्द्रमा भाेलि बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

    चुनावबाट सात सय ५३ पालिकाका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडा सदस्य गरी ३५ हजार दुई सय २१ जना निर्वाचित हुनेछन् । 

  • काठमाडौं महानगरमा उम्मेदवारमध्ये कसले कहाँबाट हाल्ने छन् मत ?

    काठमाडौं महानगरमा उम्मेदवारमध्ये कसले कहाँबाट हाल्ने छन् मत ?


    काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका उम्मेदवारहरुले काठमाडौंका विभिन्न मतदान केन्द्रमा भोट हाल्दैछन । गठबन्धनकि सिर्जना सिंहले वडा नम्बर १६ बाट भोट दिने भएकि छिन । केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन्।

    सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएको सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने कार्यक्रम छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने  जनाइएको छ ।

    विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले कामपा वडा -३१ स्थित भ्याली भ्यू मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका बालेन्द्र साह (वालेन)ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्ने छन् ।

  • पूर्वसांसदसहित काङ्ग्रेसले पाँच जनालाई निलम्बन गर्यो

    पूर्वसांसदसहित काङ्ग्रेसले पाँच जनालाई निलम्बन गर्यो

    काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भरतपुर महानगरपालिका-१ घर भएका पूर्वसांसद श्रेष्ठसहित भरतपुर-४ का नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर-१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर-२ का तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर-८ का क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । पार्टीले गठबन्धन गरेपनि नमान्ने कार्यक्रतामाथि पार्टीले कारवाही गरेको हो ।

  • मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही

    मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही

    काठमाडौं । जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने भएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिने छैनन् । चुनावको निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

    मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु लैजान पाइने छैन । आयोगले यस्ता कार्य गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचना जारी गरेको छ ।

  • निर्वाचनको दिन स्वास्थ्यको आकस्मिक सेवा खुलै रहने

    निर्वाचनको दिन स्वास्थ्यको आकस्मिक सेवा खुलै रहने

    काठमाडौं । सरकारले वैशाख ३० गते हुने निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बुधबार प्रेस बिफ्रिमा प्रसूतिलगायत अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई दिर्नेशन दिएकी हुन् ।

    प्रसूतिलगायत अत्यावश्यक आकस्मिक सेवा संचालन गर्न सबै स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ । स्वास्थ्यकर्मीले पनि मतदान गर्नुपर्ने भएकोले सो दिन नियमित खोप केन्द्र, खोप अभियान भने संचालन नहुने भएको हो । सबै मतदातलाई भयरहित भएर जनस्वास्थ्यका मापदण्ड अपनाउँदै आफ्नो मतअधिकारको प्रयोग गर्न मन्त्रालयले आह्वान गरेको छ ।

  • दोहाबाट कुवेत ट्रान्जिट गरी सिधै भैरहवा आउन सक्ने भए यात्रु

    दोहाबाट कुवेत ट्रान्जिट गरी सिधै भैरहवा आउन सक्ने भए यात्रु

    काठमाडौं । यूरोप-अमेरिकाबाट कतारको दोहा झरेका वा दोहामै रहेका यात्रु समेत अब कुवेत ट्रान्जिट गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउन पाउने भएका छन् । जजिरा एयरवेजले जहाज दोहा–कुवेत–भैरहवा रुटमा उडाउने गरि तालिका सार्वजनिक गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान २ जेठमा हुने छ ।

    नियमित उडान भने २९ जेठबाट शुरु हुनेछ । २९ जेठबाट आइतबार, मंगलबार र बिहीबार यो जहाज भैरहवा आउने छ । जजिरा एयरवेजले अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको छ । जजिराले सार्वजनिक गरेको तालिका अनुसार भैरहवाका लागि उड्ने जहाज कतारको दोहाबाट कुवेत जानेछ । दोहामा साढे १ घण्टाको ट्रान्जिट हुने छ । त्यसपछि जहाज भैरहवाका लागि उड्ने छ । अर्थातः कतारबाट सिधै भैरहवा आउन चाहने यात्रुले समेत यस उडानमा सेवा लिन सक्ने भएका छन् ।

  • श्रीलंकामा थामिएन प्रदर्शन, देशभर सुरक्षाबल परिचालन

    श्रीलंकामा थामिएन प्रदर्शन, देशभर सुरक्षाबल परिचालन

    कोलम्बो । भयानक आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा प्रदर्शन नथामिएपछि देशभर सुरक्षा बल परिचालन गरिएको छ । उनीहरूलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार समेत दिइएको छ। गत महिनादेखि व्यापक विरोध प्रदर्शन सुरु भएपछिको पहिलो राष्ट्रिय सम्बोधनमा त्यहाँका राष्ट्रपति राष्ट्रपति गोटाबय राजपक्षले शान्ति-सुव्यवस्था पुनर्स्थापित गर्ने वाचा गरेका छन्।

    बीबीसीका अनुसार उनले राजीनामाको मागलाई बेवास्ता गर्दै संसद्लाई केही थप अधिकार दिने र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका छन्। तर त्यसका लागि कुनै समयसीमा तोकेका छैनन्। मूल्यवृद्धि र उपभोग्य वस्तुको अभावले उत्पन्न गरेको आक्रोशबीच उनका दाइ महिन्दा राजपक्षले सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।


    खाद्यान्न र इन्धन जस्ता आधारभूत उपभोग्य वस्तुहरू सकिएर वा किन्न नसकिने भएपछि श्रीलङ्काका नागरिकहरू हताश बनेका छन्। राष्ट्रव्यापी कर्फ्यूबीच भीडले लगातार दोस्रो रात पनि आगजनी र आक्रमणहरू गरेका छन्। धेरैले राजपक्ष र अन्य राजनीतिज्ञका सम्पत्तिलाई निशानामा पारेका छन्। उनीहरूले देशमा देखिएको सङ्कटका लागि जनताले दोषी ठान्छन्।

    कोलम्बो नजिकैका पसलहरू र पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षका छोराको स्वामित्वमा रहेको रिसोर्टमा आगजनी भएको छ। राष्ट्रपतिका दाइ तथा दुईपटक राष्ट्रपति बनिसकेका महिन्दा राजपक्षलाई उनको सुरक्षाको लागि पूर्वोत्तर श्रीलङ्काको एउटा नौसेना आधार शिविरमा राखिएको सेनाले पुष्टि गरेको छ। सोमवारदेखि जारी हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन्।

  • कुन-कुन कागजातका आधारमा हाल्न पाइन्छ भोट ?

    कुन-कुन कागजातका आधारमा हाल्न पाइन्छ भोट ?

    काठमाडौं । मतदाता नामावलीमा नाम भएका सबैले कुनै पनि आधिकारिक प्रमाणपत्रको आधारमा मतदान दिन पाउने भएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने जनाएको हो। आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बिहीबार पनि मतदान केन्द्रहरूबाटै परिचय पत्र दिँदैछ।

    यस्तै, परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाइ यकिन गरेर मतदान गर्न सकिने जनाएको हो।

    ‘आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।

  • आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

    आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

    इलाम (रासस) । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् ।

    मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले नियन्त्रणमा लिएको र होहल्ला गर्दै लखेट्न थालेपछि सुरक्षाका लागि उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।

    मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरूले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरूले माग गरेका थिए ।

  • नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण

    नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण

    काठमाडौं । स्थानीय तह निर्वाचनको दौरान अहिले मौन अवधी जारी छ । तर, नेताहरुले जानेर वा नजानेर सामाजिक संजालमा बढी आचारसंहित उल्लंघनका घटना भएका छन् । निर्वाचन आयोगले नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई स्पष्टीकरण सोधेको छ । उपमहासचिव गुरुङले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको आयोगको भनाई छ ।

    एमाले उम्मेदवारलाई मत दिएर जिताउन फेसबुकबाट बुधबार बिहान भिडियो पोष्ट गरी आचारसंहिता विपरीत अपिल गरेको विषयमा आयोगले गुरुङलाई स्पष्टीकरण सोधेको हो । आयोगले वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार विजय सरावगीलाई समेत स्पष्टीकरण सोधेको छ । उनीविरुद्ध मल खरीदमा लेनदेन गरेको भन्दै उजुरी परेको छ । उता, पर्यटन मन्त्री प्रेम आले समेत आचारसंहिता उल्लघन गर्ने सूचीमा परेका छन् । उनले भड्काउ अभिव्यक्ति दिएको आरोप लागेको छ ।

  • श्री एयरलाइन्सको जहाज जब सिंगल इन्जिनको सहारामा काठमाडौं डाइभर्ट भयो

    श्री एयरलाइन्सको जहाज जब सिंगल इन्जिनको सहारामा काठमाडौं डाइभर्ट भयो

    काठमाडौं । बुधबार श्री एयरलाइन्सको जहाजको इन्जिन आकासमै फेल हुँदा आकस्मिक अवतरण गर्नु परेको छ । काठमाडौंबाट धनगढीका लागि उढेको जहाजको इन्जिन फेल भएपछि बुधबार काठमाडौंमै डाइभर्ट गरिएको छ । जहाज काठमाडौंबाट २४ नटिकल माइल उडेपछि काठमाडौं फिर्ता भएको हो । जहाजमा ८७ जना मानिस थिए । उनहिरुलाई बुधबार नै अर्को उडानबाट धनगढी लगिएको छ । यो जहाज अब प्राविधिक जाँच पछि मात्र उड्न पाउने भएको छ ।

  • गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि खुकुरीसहित पक्राउ

    गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि खुकुरीसहित पक्राउ

    काठमाडौं । प्रहरीले गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका एकजना प्रतिनिधि खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

    स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसका प्रतिनिधि मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन्।

    बुधवार बिहान वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन झोला बोकेर पुगेका गुरुङलाई शंका लागेर झोला चेकजाँच गर्दा खुकुरी भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीको नियन्त्रणमा रहेका गुरुङ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

  • शैक्षिक संस्थाका हिउँदे, वर्षे र स्थानीय विदा कटौति

    शैक्षिक संस्थाका हिउँदे, वर्षे र स्थानीय विदा कटौति

    काठमाडौं । शैक्षिक संस्थामा हिउँदे, वर्षे र स्थानीय विदा नहुने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था कटौती गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयको अनुसार सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको हो ।

    शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।

  • अब बैंक बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने

    अब बैंक बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार २ दिनभन्दा बढी दिन नपाउने भएका छन् ।

    नेपाल राष्ट्रबैंकले विदा सम्बन्धी सूचना सार्वजनिक गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो ।

    दुई लगातार दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि सीमित कर्मचारी खटाएर बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने छ।

    यस्तै, सेवाग्राहीले एकै दिनमा सम्पन्न हुनै एकै सेवाको लागि थप अर्को साता कार्यलय आउनुपर्ने अवस्था सृजना हुन नदिने सुनिश्चितता गरी कार्य व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, राष्ट्र बैंकले हप्तामा २ दिन बिदा हुँदा हप्ताभरि सम्पन्न गरिएको कार्यहरुको सूची दैनिक तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्यांकनको लागि अभिलेख राख्न निर्देशन दिएको छ।

    त्यस्तै जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरु बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने भएका छन् ।

    सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था खुल्ने समयावधि लम्ब्याएको हो ।

    राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरु सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि बेलुका ५:३० बजेसम्म खुल्ने छन् भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९:३० देखि दिउँसो ३:३० बजेसम्म खुल्ने छन् ।

  • शेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकममा पनि सुधार

    शेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकममा पनि सुधार

    काठमाडौं । साताको कारोबार चौंथो दिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ५६.६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२९ कम्पनीको २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ बराबरको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । मंगलवार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ २३ , होटल तथा पर्यटन ५२ अंक, माइक्रोफाइनान्स १५३ अंकले बढेको छ । निर्जीवन बीमा २४३, जलविद्युत १३० अंकले बढेको छ ।

    विकास बैंक १५०, फाइनान्स ७४, उत्पादन समूह ७०,जीवन बीमा समूह २१७ ,अन्य उपसमूह ३१ अंक र लगानी समूह २ अंकले बढेको छ ।

    ९ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको सर्किट लेभलमा बढेको छ ।

    नेपाल फाइनान्स, नेशनल हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, राद्यी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    त्यस्तै, आज गणपति लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर कम्पनी, इमर्जीङ नेपाल, अरुण काबेली पावर कम्पनी र पाँचथर पावर कम्पनीको पनि शेयरूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलेपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड ५९ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

    तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

    नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ ।

    समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ । ०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।

    साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

    द्ध। २०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ ।

    २०७८ चैत महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ ।

  • देशभर साढे दुई लाख सुरक्षाकर्मी निर्वाचनमा खटिए, सेनाले हवाई र स्थलगस्ती गर्ने

    देशभर साढे दुई लाख सुरक्षाकर्मी निर्वाचनमा खटिए, सेनाले हवाई र स्थलगस्ती गर्ने

    काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरि देशभर साढे २ लाख सुरक्षाकर्मी खटिएका छन् । निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सुरक्षा प्रवन्धनको तयारी पुरा भएको बताइएको छ । गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षामा दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको मन्त्रालयको भनाई छ ।

    निर्वाचनमा तीन लाख हाराहारी कर्मचारी खटिएका छन् । मुलुकभर ७५३ स्थानीय तहमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशील सूचीमा छन् । सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ । अति संवेदनशील मतदान स्थलमा छ म्यादी पाँच प्रहरी गरी ११, संवेदनशीलमा पाँच म्यादी चार प्रहरी गरी नौ र अन्यमा चार म्यादी तीन प्रहरी गरी सात सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    थप मद्दतका लागि हतियारसहित नौदेखि ११ जना सशस्त्र प्रहरीको टोली खटिने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा परिचालन भएसँगै यसअघि यी सुरक्षा निकायले सम्हाल्दै आएको महत्वपूर्ण स्थान, संरचना तथा सम्पदाको सुरक्षामा सेना खटाइएको छ । निर्वाचन सुरक्षाका लागि सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड, मध्य कमाण्ड पोखरा, उपत्यका कमान्ड र पूर्वी कमान्ड इटहरीमा हेलिकप्टरसहितको विशेष टोली तयारी अवस्थामा राखिएको छ । सेनाले हवाई तथा पैदल गस्ती गर्ने भएको छ ।

  • रुसले युक्रेन युद्ध लम्ब्याउन चाहेको अमेरिकी गुप्तचरको निष्कर्ष

    रुसले युक्रेन युद्ध लम्ब्याउन चाहेको अमेरिकी गुप्तचरको निष्कर्ष

    काठमाडौं (बीबीसी) । अमेरिकी गुप्तचर अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको चेतावनी दिएका छन्।
    उनीहरूका भनाइमा पुटिनले पूर्वी युक्रेनमा जित हासिल गरे भने पनि त्यहाँ द्वन्द्व अन्त्य हुने सम्भावना रहेको देखिएको छैन। रुसले पूर्वी युक्रेनी भू-भाग कब्जा गर्न खोज्दा त्यहाँ ठूलो लडाइँ जारी रहेका बेला उनीहरूको यस्तो चेतावनी आएको हो। युक्रेनले उसको राजधानी किएभ कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरेपछि मस्कोले डोनबास क्षेत्रतर्फ आफ्ना सेनालाई पुनः केन्द्रित गरेको छ।

    त्यसका बावजूद पनि रुसी सेनाले गतिरोध सामना गरिरहेको अमेरिकी गुप्तचर निकायको भनाइ छ। गुप्तचर संयन्त्रका राष्ट्रिय निर्देशक एभ्रिल हेन्सले मङ्गलवार अमेरिकी सिनेटको एउटा समितिमा भएको सुनुवाइका क्रममा त्यस्तो विवरण दिएकी हुन्। उनले पुटिनले डोनबास क्षेत्रभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न चाहेको तर आफ्नो महत्वाकांक्षा र वर्तमान रुसी परम्परागत सैन्य क्षमताबीच बेमेल सामना गरिरहेको बताइन्। उनका भनाइमा रुसी राष्ट्रपतिले युक्रेनमा ईयू र अमेरिकाले दिइरहेको सहयोगको सम्भवतः मूल्याङ्कन गरिरहेको बताएकी छन्।

    यद्यपि रुसी राष्ट्रपतिले युद्ध जारी रहँदा थप कठोर माध्यम प्रयोग गर्नसक्ने उनको भनाइ छ। तर उनले रुसका लागि नै अस्तित्वको खतरा महसुस गरेको अवस्थामा मात्र पुटिनले परमाणु अस्त्रहरू प्रयोग गर्नसक्ने बताइन्। डिफेन्स इन्टलिजेन्स एजेन्सीका निर्देशक स्कट बेरियरले उक्त सुनुवाइका क्रममा रुसी र युक्रेनी दुवै अलिकति गतिरोधमा रहेका थिए भनेका छन्। पछिल्लो लडाइँमा युक्रेनले पूर्वोत्तरको खार्किभ क्षेत्रका चारवटा बस्तीहरू पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।

  • मतदान स्थलबाटै आज र भोली मतदान परिचय पत्र लिन सकिने

    मतदान स्थलबाटै आज र भोली मतदान परिचय पत्र लिन सकिने

    काठमाडौं । मतदान परिचय पत्र लिन बाँकी मतदाताले मतदान स्थलमा पुगेर आज र भोली मतदान परिचय पत्र लिन सक्ने भएका छन् । निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगको भनाई छ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुनेछन्।

    पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ मा मतदान स्थलहरूबाट मतदाता परिचय पत्र दिन लागिएको छ । यस अवधिमा आयोगले मतदाता शिक्षा कार्यक्रम चलाउँदैछ । जहाँ नमुना मतदान हुनेछन् ।

  • लुक्ला जान टिकट काटेका यात्रुलाई चुनावको दिन पनि नरोकिने

    लुक्ला जान टिकट काटेका यात्रुलाई चुनावको दिन पनि नरोकिने

    काठमाडौं । ३० वैशाखको दिन नेपालभर सार्वजनिक यातायात चल्ने छैनन् । जसले गर्दा आन्तरिक हवाई उडान समेत ठप्प हुने छ । यस दिन उद्धार उडान, मानवीय सहायताका उडान र सरकारको अनुमतिमा भने उडान हुनेछन् । समिट एयरका अनुसार यस दिन लुक्ला जान टिकट काटिसकेका यात्रुले उडान गर्न पाउने गरि व्यवस्था मिलाइएको छ ।

    सोहीकारण सम्बन्धित एजेन्सीले पर्यटकलाई होटेलबाट विमानस्थलसम्म लैजाने व्यवस्था मिलाउन कम्पनीले आग्रह समेत गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि भने उडान सूचारु हुनेछन् ।

  • तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जेठ ३ गते निर्वाचन हुने

    तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जेठ ३ गते निर्वाचन हुने

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जेठ तीन गते मात्र निर्वाचन हुने भएको छ । सो वडामा नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि निर्वाचनको मिति सरेको हो । अर्को उम्मेदवार मनोनयन गर्न बुधबार समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको हो ।

    बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुनेछ ।

  • निर्वाचन लक्षित मौन अवधि कार्यान्वयनमा, के के गर्न पाइदैन ?

    निर्वाचन लक्षित मौन अवधि कार्यान्वयनमा, के के गर्न पाइदैन ?

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरि मौन अवधि लागु भएको छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहने छ । यस पटक ३० वैशाखमा निर्वाचन हुँदैछ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।

    तर, यस अवधिमा मतदाता परिचयपत्र लिन जान पाउने छन् । मतदाता शिक्षाको कार्यक्रम समेत यस अवधिमा हुने छ । कसरी मतदान गर्ने, स्वस्तिक कसरी लगाउने र मतपत्र कसरी पट्याउने भनेर यस अवधिमा सिकाइन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ ।

    मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।’


    निर्वाचन आयोगले सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायत अन्य उपायबाट राजनीतिक दल, उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना र प्रचारप्रसार सामग्री राख्न र सेयर गर्न समेत रोक लगाएको छ । आचारसंहिता पालना र मौन अवधिमा पालनाको अनुगमन गर्न आयोगले १९ जिल्लामा सहसचिवको नेतृत्वमा टोली पठाएको छ ।

  • निर्वाचनको दिन हवाई यात्रुको सेवामा सटल बस चल्ने, यी हुन रुट

    निर्वाचनको दिन हवाई यात्रुको सेवामा सटल बस चल्ने, यी हुन रुट

    काठमाडौं । बैशाख ३० का दिन पर्यटक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सेवाका लागि काठमाडौंमा सःशुल्क सटल बस चलाइने भएको छ । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा यस्तो सेवा सञ्चालन गरिने जनाएको छ । हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको समन्वयमा यस्तो सुविधा दिन लागेको हो ।

    बस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म चल्ने छ । यस्तो बसको शूल्क ३ सय रुपैयाँ तोकिएको छ । बोर्डका अनुसार एयरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-होटल याक एण्ड यति-ठमेल चोक-लैनचौर चोक-शंकर होटल -एम्बासडर होटल -एयरपोर्ट हुँदै एक रुट तोकिएको छ ।

    एयरपोर्ट-होटल र्याडिशन-सांग्रिला होटल-नारायण गोपाल चोक-महाराजगंज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्धारिका-एयरपोर्ट गुड्ने गरी अर्को रुट तय भएको छ ।

    एयरपोर्ट-तीनकुने चोक-होटल एभरेष्ट-माइतीघर चोक-होटल हिमालयन-होटल सोल्टी-ग्रान्ड होटल -एयरपोर्ट रुटमा समेत बस चल्ने छ । सटल बस सेवावापत तोकिएको शुल्क लाग्ने सेवा दिंदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने गरि तोकिएको छ ।

  • मौन अवधिमा भोजभतेर र पैसा बाँडे तत्काल कारवाही हुने

    मौन अवधिमा भोजभतेर र पैसा बाँडे तत्काल कारवाही हुने

    काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर,पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आज मध्यराति देखि मौन अवधि सुरू हुँदैछ। त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको हो। त्यसको लागि कारबाही गर्न सक्ने अधिकार दिएर १९ वटा उच्चस्तरीय टोली गठन समेत गरिएको आयोग प्रवक्ता सहसचिव पौडेलले बताए।

    उनका अनुसार आयोगले तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा सो टोलीलाई परिचालन गरिसकेको छ। ‘निर्वाचन आचार संहिताको पूर्ण पालनाको लागि आयोगले उल्लंघनका घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई १९ वटा उच्चस्तरीय टोली विभिन्न तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा परिचालन गरिएको छ,’ उनले भने। उक्त टोलीले आवश्यकताअनुसार निर्वाचनको गोपनीयतामा असर नपर्नेगरी निर्वाचनसँग सम्बन्धित दृश्यको छायाँकन गर्ने, भिडिओ क्यामरा वा अन्य विद्युतीय उपकरण समेत प्रयोग गर्न अधिकार दिएको छ। आयोगले मौन अवधिमा भोजभतेर, पैसा बाँड्ने काम पनि हुनसक्ने भन्दै तत्काल कारबाही गर्ने चेतावनी समेत दिएको छ।

  • स्वर्ण पदक विजेता सञ्जु चौधरीको आत्महत्या रहस्यमै, गृह जिल्लामा अन्त्येष्टी गरिने

    स्वर्ण पदक विजेता सञ्जु चौधरीको आत्महत्या रहस्यमै, गृह जिल्लामा अन्त्येष्टी गरिने

    काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले ‘आत्महत्या’ गरेसँगै उनको मृत्यु रहस्यमय बनेको छ । प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जुले सोमबार राति सोही घरको भुइँतलाको कोठामा सलको पासो लगाएर ‘आत्महत्या’ गरेको अवस्थामा फेला परेकी हुन् । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याएको थियो ।

    उनको शव अपरान्ह त्रिपरेश्वरमा राखिएको थियो । जहाँ खेलाडी तथा पदाधिकारीहरुले उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । उनको अन्तिम संस्कार भने गृह जिल्ला बाँकेमा हुने भएको छ । ६ महिनाअघि नेपाल प्रहरीको जागीर छाडेर बसेकी सञ्जु एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा छानिएकी थिइन् । १३औं सागमा स्वर्ण जित्ने पहिलो महिला भारत्तोलन खेलाडीको कीर्तिमान राखेकी उनको लक्ष्य एसियाली खेलकुदमा शीर्ष पाँचभित्र पर्ने थियो ।

    पुलिसको जागीर छाडेपछि भारत्तोलनका प्रशिक्षक र डाइट न्युट्रिसियनसमेत रहेका सञ्जय महर्जनले सञ्जुलाई आश्रय दिएका थिए । एशियाली खेलकुदमा छनोट भएपछि ललितपुरको लुभुस्थित महर्जनको घरमा बसेर उनले तयारी गरिरहेकी थिइन् । सोमबार राति १० बजेर ३ मिनेटमा सञ्जुले आफ्नो फेसबुक एकाउन्टमा एउटा भिडियो सेयर गरेर क्याप्सनमा लेखेकी छन्, ‘मिसिङ यू लभ ।’ उनले यो बाटो किन रोजिन, रहस्यमै छ ।

  • मौन अवधि शुरु हुनै लाग्दा गठबन्धनको अपिल, जनताको सुख:दुखमा साथ दिन्छौं

    मौन अवधि शुरु हुनै लाग्दा गठबन्धनको अपिल, जनताको सुख:दुखमा साथ दिन्छौं

    काठमाडौं । सत्तारुढ दलहरुले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा अपिल सार्वजनिक गरेका छन् । उनीहरुले गठबन्धनका उम्मेदवारको पक्षमा मत मागेका छन् । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । मंगलबार साँझ जारी गरिएको अपिलमा सत्तारुढ गठबन्धनका दल जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिवद्धता जाहेर गरिएको छ ।

    ‘स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ,’ अपिलमा भनिएको छ, ‘अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं । यस क्षणमा हामी सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दछौं ।’

    गठबन्धन दलका अध्यक्षहरुले जारी गरेको अपिलमा कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भन्दै गठबन्धनकै जित्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।

    ‘गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै छ,’ भनिएको छ, ‘मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं ।’

  • श्रीलंका संकटः रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण

    श्रीलंका संकटः रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण

    काठमाडौं । श्रीलंकामा आर्थिक संकटबाट उत्पन्न असन्तुष्टिले अब गृहयुद्ध निम्त्याउन सक्ने देखिएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएसँगै देशैभरि हिंसात्मक घटनाहरु बढ्न थालेका छन् । राजधानी केन्द्रीत हिंसात्मक घटना भएसँगै सोमबार पदबाट राजीनामा दिएका राजापाक्षेले कोलम्बो छाडेका छन् ।

    मिडिया रिपोर्टका अनुसार निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार पूर्वी श्रीलंकाको त्रिन्कोमाली नौसेना बेसमा शरण लिन पुगेको छ । उनीहरुलाई हेलिकप्टरबाट बेसमा लगिएको जनाइएको छ । तर, बेसमा लगिएको जानकारी पाएपछि आन्दोलनकारी बेसबाहिर जम्मा भएका छन् ।

    पछिल्लो हिंसामा मात्रै श्रीलंकामा ८ जनाको मृत्यु भइसकेको छ भने २०० भन्दा बढी घाइते भएका छन् । कोलम्बो नेसनल अस्पतालका अनुसार २ सय १७ जना घाइतेलाई उपचारका लागि भर्ना गरिएको छ ।

    महिन्दालाई पक्राउ गर्न माग

    विपक्षी नेताहरुले मंगलबार महिन्दालाई पक्राउ गर्न माग गरेका छन् । महिन्द्राले शान्तिपूर्ण प्रदर्शनकारीलाई उक्साएको र हिंसा भड्काएको उनीहरूको भनाइ छ। प्रदर्शनकारीले सोमबार हम्बनटोटामा महिन्दा राजापाक्षेको पुर्खाको घरमा आगजनी गरेका छन् ।

    यसैक्रममा राजधानी कोलम्बोमा पूर्वमन्त्री जोन्सन फर्नान्डोलाई कारसहित तालमा फालिएको थियो । प्रदर्शनकारीहरुले हालसम्म १२ जनाभन्दा बढी मन्त्रीको घर जलाइएका छन् ।

    प्रधानमन्त्री निवासभित्र गाेली हानाहान

    समाचार एजेन्सी एएफपीका अनुसार सोमबार हजारौं प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्री’ को मुख्य गेट तोडेर आगजनी गरेका थिए। प्रदर्शनकारीले प्रधानमन्त्री निवास नै जलाउने तयारी गरेपछि टेम्पल ट्रीभित्र गोली हानाहान भएकाे थियाे । बताइअनुसार प्रदर्शनकारीकाे तर्फबाट पनि गाेली चलाइएकाे थियाे ।